
काठमाडौ । नेपाल दुरसञ्चार कर्मचारी संंघ र नेपाल राष्ट्रिय कर्मचारी संगठनबीच बिहीबार एकता भएको छ । घोषणा सभा कार्यक्रम गरी संगठन एक भएका हुन् । दुई संगठन एक भएको संस्थाकोे नाम ‘नेपाल दुरसंञ्चार राष्ट्रिय कर्मचारी संगठन’ राखिएको छ । एकता पश्चात संगठनको संयोजकमा लोकबहादुर कटुवाल र सहसंयोजकमा दामोदर केसी चयन भएका छन् ।
बिहीबार राजधानीस्थित नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा एकता सभा सम्पन्न भएको हो । सोही कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भने–‘अहिलेको युग विज्ञान प्रविधिको युग भएकाले प्रविधिमा पछि परियो भने समृद्धिमा नै पछि पर्ने अवस्था आउँछ ।’ दाहालले प्रविधिको प्रयोग संमृद्धि मापनको आधार भएकोमा जोड दिए ।
उनले विश्वव्यापी प्रतिस्पर्धामा खरो रुपमा उत्रन प्रविधिको प्रयोग अपरिहार्य भएको बताए । साथै, पहिलेदेखि जरा गाडेर बसेका विकृतिलाई आगामी दिनमा सबैले भुलेर सकारात्मक प्रभाव पर्ने किसिमले काम गर्न आवश्यक रहेको बताए ।
कार्यक्रमका विषेश अतिथि गोकुलप्रसाद बास्कोटाले चाईनिजको घोडा बर्ष, बाख्रा बर्ष भएजस्तै नेपाल टेलिकमको लागि भने यो बर्ष चितुवा वर्ष घोषणा गर्दा फरक नपर्ने बताए । उनले रोकिएका काम सहायक सिद्ध हुँदै गएकाले यस्तो भन्दा फरक नपर्ने तर्क गरेका थिए । उनले एकतामा नै बल हुन्छ, शक्ती मिल्नु आफैमा राम्रो कुरा भएको जानकारी दिए ।
साथै, कपाल सेतै फुलाएपनि प्रविधिले फड्को मारेको अवस्थामा अनुभवसँगै सिपपनि आवश्यक हुनेमा जोड दिए । उनले जो कोहीले आफू १ नम्बर हुने गरेर काम गर्नेु पर्छ, अर्काको प्रगतीमा धारे हात लगाएर कोही पनि सफलताको बाटोमा प्रवेश गर्न नसक्ने मत समेत जाहेर गरेका थिए ।
कार्यक्रमा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी, टिनका अध्यक्ष लोकबहादुर कटुवाल, पेशागत महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेल लगायतको उपस्थिती रहेको थियो ।