काठमाडौं । अर्थ मन्त्रालयले बजेट निर्माणको आन्तरिक प्रक्रिया अघि बढाएको छ । अर्थ मन्त्री डा. युवराज खतिवडाले यस अघि नै कानुनले निर्दिष्ट गरेका राजश्व परामर्श लगायतका समिति गठन गरिसकेका थिए । कानुनतः गठित समितिहरुले धमाधम काम गरिरहेका बेला अर्थमन्त्री डा. खतिवडाले बिहिबार आन्तरिक तयारी अघि बढाएका हुन् ।

मन्त्री खतिवडाले बजेट निर्माणको गृह कार्यका लागि दुई जना सहसचिवलाई आन्तरिक नेतृत्व सुम्पिएका छन् । बजेटको मस्यौदा लेख्ने जिम्मेवारी बजेट तथा कार्यक्रम महाशाखा प्रमुख हरिशरण पुडासैनीलाई दिईएको छ । त्यस्तै, नीतिगत सुधारका लागि आवश्यक सुझाव लिने जिम्मेवारी भने वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख तोयम रायालाई तोकिएको छ ।
‘दुई जना सहसचिवको नेतृत्वमा बजेटको मस्यौदा समिति र नितीगत समिति गठन गरिएको छ, यी समितिहरुले बजेट निर्माणको आन्तरिक गृहकार्य गर्नेछन’, अर्थमन्त्रालय श्रोतले भन्यो । पुडासैनी र राया नेतृत्वमा बनेको समितिमा अन्य केहि सह सचिवलाई समेत समावेश गरिएको छ । अब यहि टिमले बजेटको मेरुदण्ड तयार पारेर अर्थमन्त्रीलाई बुझाउनेछ ।
अर्थमन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्रीले पनि बजेट निर्माणको आन्तरिक गृहकार्यका लागि अर्थमन्त्रीले कोर टिम तयार गरेको बताए ।‘यो औपचारिक समिति होेइन तर अर्थमन्त्रीज्यूले बजेटको तयारीका लागि कोर टिम तयार पार्नु भएको छ, यहि टिमले मस्यौदा लेख्ने, बुँदा टिपोट गर्ने लगायतका काम गर्नेछ’, अर्थका प्रवक्ता खत्रीले भने ।
सर्व साधारणलाई अर्थमन्त्रालय प्रवेशमा कडाई
बजेट निर्माणको आन्तरिक गृहकार्यमा जुटेको अर्थ मन्त्रालयले सर्वसाधारणलाई प्रवेशमा कडाई गरेको छ । अर्थमन्त्राय प्रवेश गर्ने सबै गेटमा प्रहरी तैनाथ गरिएको छ । केहि ढोकाहरुमा लकिङ सिस्टम जडान समेत गरिएको छ ।
सर्व साधारणलाई कुन प्रयोजनका लागि मन्त्रालय आएको हो त्यसको विस्तृत विवरण फाइलमा टिपाएपछि मात्रै मन्त्रालय प्रवेश गर्न पाउने व्यवस्था लागु गरिएको छ । त्यसका लागि अर्थमन्त्रालयका मुल गेटलाई मात्रै प्रयोग गर्न पाइन्छ ।