
काठमाडौँ । सनराइज बैंकले बुधबारदेखि एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रतियुनिट एक हजार रुपैयाँ अंकित दरमा १० लाख युनिट ऋणपत्र बिक्री खुला गर्न लागेको हो । बैंकले चैत १ गते ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
ऋणपत्र बिक्री गर्न प्रभु क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । इच्छुक लगानीकर्ताले सि आश्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरुबाट ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । छिटोमा चैत २५ गते र उक्त अवधिमा बिक्री नभएकोमा बैशाख १९ गतेसम्म आवेदन गर्न सक्ने प्रभु क्यापिटलले जनाएको छ । मेरो शेयरबाट पनि ऋणपत्र आवेदन भर्न सकिनेछ।
प्रभु क्यापिटलका अनुसार न्यूनतम २५ कित्ता युनिटको एक हजार रुपैयाँ दरले २५ हजार रुपैयाँदेखि ४ लाख कित्ता युनिट बराबरको ४० करोड रुपैयाँसम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ ।
यता, बैंकका अनुसार पाँच वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुने छ । कूल १० लाख युनिट मध्ये ४० प्रतिशत अर्थात ४ लाख युनिट सर्वसाधारणका लागि जारी गरिएको बैंकले जनाएको छ । बाँकी ६० प्रतिशत अर्थात ६ लाख युनिट भने व्यक्तिगत तवरबाट अन्य कम्पनीहरुलाई बिक्री गरिने छ।