लघुवित्तको कस्ट अफ फण्ड ५ बाट १३ प्रतिशत पुग्यो तर कर्जाको ब्याज बढेको छैन- ज्योतिचन्द्र ओझा

<p>राष्ट्रिय वाणिज्य बैंक, ग्रामीण विकास बैंक र आरएमडीसी लघुवित्तमा गरी करिब ३५ वर्ष बैकिङ क्षेत्रमा काम गर्नुभएका ज्योतिचन्द्र ओझा पछिल्लो समय नेपालमा लघुवित्तले दिएको सेवाको स्तर र लघुवित्त सेवाबाट लाभाञ्वित समुदायको सन्तुष्टि विषयमा विद्यावारिधि गर्दै हुनुहुन्छ । लघुवित्त सेवा दिने संस्थाहरुलाई होलसेल बैकिङ सुविधा दिँदै आएको आरएमडीसीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा दोस्रो कार्यकाल सेवा गर्दै [&hellip;]</p>

ज्योतिचन्द्र ओझा, प्रमुख कार्यकारी अधिकृत -आरएमडीसी लघुवित्त वित्तीय संस्था लि.

राष्ट्रिय वाणिज्य बैंक, ग्रामीण विकास बैंक र आरएमडीसी लघुवित्तमा गरी करिब ३५ वर्ष बैकिङ क्षेत्रमा काम गर्नुभएका ज्योतिचन्द्र ओझा पछिल्लो समय नेपालमा लघुवित्तले दिएको सेवाको स्तर र लघुवित्त सेवाबाट लाभाञ्वित समुदायको सन्तुष्टि विषयमा विद्यावारिधि गर्दै हुनुहुन्छ । लघुवित्त सेवा दिने संस्थाहरुलाई होलसेल बैकिङ सुविधा दिँदै आएको आरएमडीसीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा दोस्रो कार्यकाल सेवा गर्दै आउनु भएको ओझासँग हामीले नेपालमा लघुवित्त संस्थाले दिएको सेवा, ग्राहकले पाउने सुविधा र लघुवित्त संस्थाको पीडाबारे केन्द्रित रही विकास बहस गरेका छौं ।


पछिल्लो समय बैंकिङ क्षेत्र लगानीयोग्य पुँजीको अभाव र उच्च व्याजदरले ग्रसित छ । यसले लघुवित्त क्षेत्रमा चाहिँ कस्तो प्रभाव पारेको छ ?

लघुवित्त क्षेत्रको स्रोत परिचालनको मुख्य आधार नै बैंक तथा वित्तीय संस्था हुन् । त्यसमा वाणिज्य बैंकको हिस्सा झन् बढी छ । त्यसैले बैंकिङ क्षेत्रमा पर्ने असरले लघुवित्त क्षेत्रमा पनि केही न केही असर त पर्छ नै । अहिले लघुवित्त संस्थाहरुमा स्रोतको समस्या देखिन थालेका छन् । नेपालमा लघुवित्त संस्थाहरुको स्रोतको मुख्य आधार भनेको ‘क’ वर्गका वाणिज्य बैंकहरुले अनिवार्य रुपमा लगानी गर्नुपर्ने व्यवस्था गरिएको ‘विपन्न वर्ग कर्जा’ हो । त्यस्तो कर्जा ती बैंकहरुले लघुवित्त मार्फत् प्रवाह गर्छन् । त्यसैको आधारमा अधिकांश लघुवित्त संस्थाहरु चलेका छन् । केही लघुवित्त संस्थाले आफ्ना सदस्यहरुबाट बचत परिचालन गरे पनि त्यो पर्याप्त छैन । विगतका केही नीतिगत परिवर्तनका कारण केही वाणिज्य बैंकहरुले लघुवित्तमा काम गर्न छुट्टै संरचना समेत बनाएका छन् । त्यस्तै अहिले राज्यको पुनसंरचना पछि प्रत्येक स्थानीय तहमा अनिवार्य रुपमा वाणिज्य बैंकहरुको शाखा खोल्नु पर्ने भए पछि वाणिज्य बैंकहरुले आफै लघुवित्तमा लगानी गर्ने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा वाणिज्य बैंकहरुको लागि तोकिएको ५ प्रतिशत विपन्न वर्गमा गर्नु पर्ने लगानी अधिकांश भाग आफै पुर्याउन सक्ने अवस्था आउन सक्छ । यसले लघुवित्त संस्थाहरुलाई वित्तीय स्रोतको थप संकुचन हुन सक्दछ ।

त्यस्तो समस्याको समाधानको लागि कस्तो नीतिगत व्यवस्था गर्नुपर्ला ?

लघुवित्त संस्थारुलाई दिगो र दीर्घकालिन रुपमा संचालन गर्न वित्तीय स्रोत आत्मनिर्भरता तर्फ उन्मुख गराउनु पर्छ । अर्काको खुट्टामा टेकेर लामो यात्रा तय गर्न सकिदैन । लघुवित्त संस्थाहरुलाई निक्षेप परिचालन गर्ने व्यवस्था गर्नु दीर्घकालिन दृष्टिकोणले उपयुक्त हुन्छ । लघुवित्त कार्यक्रममा कर्जा प्रवाह र वचत परिचालन उत्तिकै महत्वपूर्ण पक्ष हुन् । तसर्थ वचत परिचालन पनि लघुवित्त संस्थाहरुले जोड दिनु पर्दछ ।

अल्पकालिन रुपले हेर्दा हाल वाणिज्य बैंकहरुबाट तोकिए बमोजिम लगानी हुन नसकेका केही क्षेत्रहरु छन् जस्तै कृषि, बैकल्पिक कर्जा आदि क्षेत्रमा लघुवित्त संस्था मार्फत यस्तो कर्जा प्रवाह गर्दा सजिलै लाभग्राही समक्ष पु¥याउन सकिन्छ भन्ने लाग्छ । यसबाट कृषि क्षेत्रको उत्पादन बृद्धि गरि यस क्षेत्रको परनिर्भरता कम गर्न सकिन्छ भने किसानहरुको जीवनस्तर उठाउन पनि सकिन्छ ।

लघुवित्तले जनतासँग निक्षेप उठाउनु पर्ने माग गरिरहँदा राष्ट्र बैंकले भने त्यसलाई किन स्वीकार गर्न नसकेको होला ?

सर्वसाधारणसंग लिइएको निक्षेप जनताको नासो हो । यसलाई सुरक्षित राखी भनेको वेलामा साँवा व्याज फिर्ता दिनु पर्ने हुन्छ । जनताको सम्पत्तीको सुरक्षा र उचित व्यवस्थापनको लागि केन्द्रीय बैंक संवेदनशिल हुनु स्वाभाविक हो भन्ने मलाई लाग्छ । देशको दुर्गम भागमा समेत बैकिङ्ग सेवाको पहुँच पुर्याउन र लघुवित्त संस्थाको दिगोपनको लागि लघुवित्त संस्थालाई निक्षेप परिचालन संलग्न गराउन उपयुक्त हुन्छ भन्ने मलाई लागेको छ ।

अहिले बैंक तथा वित्तीय संस्थाहरुले लघुवित्त मार्फत् प्रवाह गरेको कर्जाको आकार र त्यसको वृद्धिदरको अवस्था चाहिँ कस्तो छ ?

विगतमा वाणिज्य बैंकहरुको पूँजीबृद्धि र देशको अर्थतन्त्रको आयतनमा वृद्धिले पनि बैकहरुको कारोवारमा उल्लेख्य बृद्धि भएको छ । यसको परिणाम स्वरुप वाणिज्य बैंकहरुले विपन्न वर्गमा गर्ने लगानी रकमको पनि बृद्धि भएको छ । नेपालको लघुवित्त क्षेत्रमा संस्थाहरुको संख्या, सदस्यहरुको संख्या, ऋण लगानी, बचत परिचालन हरेक क्षेत्रमा निरन्तर बृद्धि हुँदै गएको छ ।

लघुवित्त कर्जामा जोखिमको अवस्था कस्तो छ ?

लघुवित्तमा कर्जा समूह जमानीमा घर जग्गा धितो नराखी दिने हुँदा यो क्षेत्र जोखिमपूर्ण होला भन्ने लाग्छ तर नियमित अनुगमनका कारणले व्यवहारमा त्यसो देखिएको छैन । लघुवित्तका ग्राहकहरुमध्ये ९५ प्रतिशत जति महिला छन्, उनीहरुमा ऋण नतिरौं भन्ने भावना तुलनात्मक रुपमा कम हुन्छ । अर्कोतर्फ कतिपय अवस्थामा बढ्दो रेमिट्यान्सको कारणले गर्दा व्यवसायमा डुबेका केही ग्राहकले परिवारको सदस्यले कमाएको सम्पत्तिबाट त्यस्ता ऋण चुक्ता गरेको हामी पाउँछौं ।त्यसैले, अहिले पनि लघुवित्त संस्थाहरुको औसत निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम छ । यस्तो अवस्थामा लघुवित्तहरुको मुनाफाको अवस्था राम्रो भएको हो । यो क्षेत्र उच्च प्रतिफलयुक्त हुँदै गएको देखेपछि बैंकहरुले समेत यो क्षेत्रमा लगानी बढाएका छन् ।

लघुवित्त संस्थाहरुको ‘कस्ट अफ फण्ड’ को समग्र अवस्था कस्तो छ ?

यो दर केही वर्षदेखि ह्वात्तै बढेको छ । पहिले ५/७ प्रतिशत रहेको यो दर अहिले बैंकको ब्याजदरमा आएको वृद्धिसँगै १२/१३ प्रतिशत पुगेको छ । यसले लघुवित्त संस्थाहरुलाई प्रभावकारिता वृद्धि गर्नुपर्ने दबाब बढाएको छ । प्रभावकारितासँगै प्रतिफलको दर समेत बढाउनुपर्ने दबाब छ । यस्तो दवावबीच काम गर्नुपर्दा हामीलाई अवसर र चुनौती दुवै थपिएका छन् ।

लघुवित्तको बजारचाहिँ विस्तारको क्रममा छ कि संकुचनको ?

लघुवित्तको बजार विस्तार भइरहेको छ । मानिसहरुमा केही ऋण लिएर भए पनि व्यवसाय गरौं भन्ने भावना पलाएको छ । अर्कोतर्फ विपन्न वर्गका महिलाहरुमा गरिने ऋण प्रवाह उच्च जोखिमयुक्त नहुने भएकोले सञ्चालित लघुवित्तहरुको वित्तीय अवस्था पनि राम्रो छ । त्यसैले गाउँगाउँमा लघुवित्त खोल्ने प्रवृत्ति बढेको छ । हाल करिब ६८ ओटा लघुवित्त संस्थाहरु सञ्चालित छन् । यसको संख्या बढ्दै जाँदा यो क्षेत्रको व्यवसायको कुल आकार बढ्दै गएको छ ।

तपाईँहरुका प्रोमोटर बैंकहरुले अन्य लघुवित्तमा समेत लगानी गरेका छन् । एउटै बैंकले धेरै लघुवित्तमा लगानी गर्दा अभिभावकत्वको अभाव भएको महसुस कत्तिको गर्नुहुन्छ ?

बैंकहरुले लगानी गर्दा भावनात्मक पक्षलाई भन्दा त्यसको जोखिम तथा प्रतिफल क्षमतालाई विचार गर्छन् । वास्तवमा हुनुपर्ने पनि त्यही हो । हाम्रो कुरा गर्ने हो भने हाम्रो वित्तीय अवस्था सन्तुलित छ भने र प्रतिफलमा प्रगति उन्मुख छ । हाम्रो निष्क्रिय कर्जा शुन्य छ । ग्राहकसँगको सम्बन्ध समेत दीर्घकालीन एवं सुमधुर भएकोले पनि हामीमार्फत् लगानी गर्न हाम्रा प्रवद्र्धकहरु इच्छुक हुन्छन् । हामी हाम्रो ग्राहकको ऋण तिर्ने क्षमता एवं सुशासन एवं पारदर्शिताको अनुगमन समेत गर्ने भएकोले पनि हाम्रा प्रवद्र्धकमा हामीप्रति ठूलो विश्वास छ । त्यसैले तपाईँले भन्नुभएजस्तो अभिभावकत्वविहीन अवस्था हामीले महशुस नै गर्दैनौं ।

लघुवित्त क्षेत्र गाउँका साहूमहाजन जस्तै भयो भन्ने चर्चा हुन्छ नि ?

यो एउटा भ्रम हो । विषयवस्तुको गहिराईमा प्रवेश नै नगरी सतही हल्का हेराई बाट यस्तो कुरा आएको हुन सक्छ ।

लघुवित्तमा गरिव विपन्न वर्गको आवश्यकता अनुसार स–साना कर्जा उनीहरुको घरदैलोमा उपलब्ध गराइन्छ । उनीहरुलाई वित्तीय साक्षरता मार्फत कर्जा लिने तिर्ने विषय, फजुल खर्च घटाई वचत गर्ने वानी बसाल्ने, शिक्षा, स्वास्थ्य सरसफाई वारे चेतना वृद्धि र कुरिती अन्धविश्वास वारे जनचेतना बढाई समग्र आर्थिक सामाजिक उत्थानमा मदत पु¥याएका हुन्छन । स–साना कर्जा, घरदैलोमा उपलब्ध गराउन पर्ने, नियमित अनुगमन गर्नु पर्ने र वित्तीय साक्षरता र जनचेतनाका कार्य गर्दा लघुवित्त संस्थाको लागत वढी हुन्छ । यसबाट लघुवित्तमा ब्याज अन्य बैंकको भन्दा बढी हुन गएको हो । यसलाई साहु महाजनसँग दाँज्नै मिल्दैन ।

पुँजीकोषको लागत ६/७ प्रतिशत हुँदा माइक्रोफाइनान्सहरुले ग्राहकसँग लिने ब्याजदर १८/२० प्रतिशत थियो । अहिले यो दर कति छ ?

मूलभूत रुपमा ब्याजदर अहिले पनि त्यही हाराहारीमा नै छ । पहिलो पटक लगानी गर्दा त्यसमा थप २ प्रतिशत सेवाशुल्क लिन पाउँछन् । त्यसैले गर्दा जम्मा ब्याज सामान्यतया १८ प्रतिशत को हाराहारीमा छ ।

स्रोतको अभावबाहेक लघुवित्त क्षेत्रभित्र देखिएका अन्य समस्याहरु के के हुन् ?

आजकल लघुवित्तक्षेत्रमा खासगरी ‘ओभर फाइनान्सिङ’ र ‘मल्टिपल लेन्डीङ्ग’को समस्या छ । यो समस्याले केही विकृति निम्त्याएको छ । यसैले लघुवित्तको योगदानलाई ओझेलमा पार्ने प्रयास गरेको छ ।

अब आरएमडीसीको कुरा गरौं, तपाईँहरुले दिने प्रतिफल र बजार मूल्य अन्य प्रतिस्पर्धीको भन्दा कम छ । १४ ओटा वाणिज्य बैंक, आईएफसीे तथा अन्य विभिन्न संस्थाको लगानी भएको बैंक किन अघि बढ्न नसकेको ?

आरएमडीसी निरन्तर अगाडी बढी रहेको छ । यसले संतोषजनक प्रतिफल दिएको छ । आरएमडीसीको प्रतिफल कम भयो भन्ने विषयमा यसका लगानीकर्तामा त्यस्तो गुनासो गरेका छैनन् र गर्ने ठाउँ छ जस्तो मलाई लाग्दैन । हाम्रो व्यवसाय विस्तार, लाभांश एवं बजारमा हामीप्रतिको विश्वासमा निरन्तर वृद्धि हुँदै गएकोले पनि त्यसरी गुनासो नआएका हुन सक्छन् । यस अतिरिक्त सबैभन्दा महत्वपूर्ण नेपालको लघुवित्त क्षेत्रको विकासमा यो संस्थाको अत्यन्त ठूलो योगदान रहेको छ ।

नेपालको गरिबी निवारणमा लघुवित्तको योगदान के देख्नु हुन्छ ?

लघुवित्त भन्नाले ऋण दिनुलाई मात्र संझिनु हुदैन यस भित्र वचत परिचालन, विप्रेषण, विमा, वित्तीय साक्षरता आदिका माध्यमबाट आर्थिक सामाजिक रुपान्तरणमा योगदान पु¥याएको विषयहरु पर्द्छन । लघुवित्तको लक्षित समूह नै ग्रामीण भेगमा वसोवास गर्ने विपन्न महिला वर्ग हुनु । नेपालका ग्रामीण क्षेत्रका विपन्न महिलाहरु विहान उज्यालो नहुदै देखि मध्यरात सम्म काम गर्छन उनीहरुलाई टीका, चुरा , पोते लगाउन पनि श्रीमानसंग पैसा माग्नु पर्छ । त्यस्ता महिलाहरुलाई लघुवित्तले उद्यमी व्यवसायी वनाएको छ । उनीहरु आफैले पैसा परिचालन गर्न पाएका छन । महिलाहरु आफ्नै आम्दानी हुँदा परिवारको आर्थिक अवस्था सुधार, वालवच्चाको पोषण, स्वास्थ्य, शिक्षामा योगदान पुगेको छ । अतः नेपालको गरिवी निवारणमा लघुवित्तको अतुलनिय योगदान रहेको छ ।

Share News