काठमाडौं । नागरिक लगानी कोषमा बचत गर्ने बचतकर्ताको लागि कर झमेला थपिएको छ । कोषले सञ्चालन गर्दै आएको अबकाश कोषमा बचत भएको रकममा ५ प्रतिशत कर लाग्ने भएको छ ।
यस्तो कोषमा बचत रकम मध्ये ५ लाख भन्दा बढी झिक्नु परेमा ५ प्रतिशत कर कट्टि गरिने कोषले जनाएको छ ।
कोषका सूचना अधिकृत उद्धव सिलवालका अनुसार ५ लाख भन्दा बढी र १० लाखभन्दा कम रकम फिर्ता लिँदा ५ प्रतिशत कर कट्टी हुनेछ । १० लाख रुपैयाँ भन्दा माथि जम्मा भएको रकम फिर्ता भुक्तानी हुँदा उक्त रकमको ५० प्रतिशत घटाई बाँकी रकमको ५ प्रतिशत कर कट्टि गरी भुक्तानी हुने ब्यवस्था गरिएको छ ।
सरकारले कर्मचारीको आम्दानीको ३३ प्रतिशत वा वार्षिक आएको ३ लाख रुपैयाँ सम्म नागरिक लगानी कोषमा जम्मा गरेमा कर नलाग्ने नीति लिएको थियो । सरकारको उक्त नीतिबाट कर बचत गर्ने उदेश्यले वार्षिक ४ लाख भन्दा बढी आम्दानी हुने कर्मचारीहरुले नागरिक लगानी कोषमा पैसा जम्मा गर्दै आएको छ । कोषको नयाँ व्यवस्था अनुसार शुरुमा कर बचत भएपनि पैसा फिर्ता लिने बेलामा ५ प्रति कर तिर्नु पर्ने देखिएको छ ।
तर ५ लाख रुपैयाँ भन्दा कम जम्मा भएको अवस्थामा उक्त रकम फिर्ता भुक्तानी गर्दा कुनै कर नलाग्ने कोषले जनाएको छ । बढी आम्दानी भई कर बचतका लागि कोषमा जाने कर्मचारीहरु पनि सरकारले घुमाउरो बाटोबाट अतिरिक्त ५ प्रतिशत कर लगाएको देखिएको छ ।