
काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याज अनुदानसहितको सहुलियत कर्जा लिई उद्यम गर्न सार्वजनिक आह्वान गरेको छ । राष्ट्र बैंकले शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्किएका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च प्राविधिक तथा व्यवसायिक शिक्षा, भूकम्प पीडितहरुको निजी आवास निर्माण तथा व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा प्रयोजनका लागि तोकिएको ब्याज अनुदान प्रदान गर्नेगरी ऋण प्रवाह गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरिसकिएको भन्दै आफ्नो पायक पर्ने जुनसुकै बैंक तथा वित्तीय संस्थाहरुका शाखाहरुमार्फत् कर्जा लिन आह्वान गरेको हो । बैंक तथा वित्तीय संस्थाहरुले उक्त कर्जा प्रवाहमा आनाकानी गरे नेपाल राष्ट्र बैंकमा गुनासो गर्न समेत नेपाल राष्ट्र बैंकले अनुरोध समेत गरेको छ ।
आर्थिक वर्ष २०७५/७६ मार्फत् घोषणा भएको ब्याज सहुलियतसम्बन्धी उक्त व्यवस्थालाई पूर्णता दिन अर्थ मन्त्रालयले गत साउनमा नै सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ जारी गरे पनि बैंक तथा वित्तीय संस्थाले उक्त स्वरुपको कर्जा दिन आनाकानी गर्दै आएका छन् ।
कार्यविधिमार्फत् मन्त्रालयले भुकम्पपीडितहरुको निजी आवास निर्माण कर्जाका लागि ३ लाख, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जाका लागि ५ लाख, शिक्षित युवा स्वरोजगार कर्जाका लागि ७ लाख, विदेशबाट फर्केका युवा परिचालनका कर्जाका लागि १० लाख, दलित समुदाय विकास कर्जाका लागि १० लाख, महिला उद्यमशील कर्जाका लागि १५ लाख र व्यवसायिक कृषि तथा पशुपन्छी कर्जाका लागि ५ करोड रुपैंयासम्मको कर्जा दिने व्यवस्था गरिसकेको छ । उक्त प्रकृतिको कर्जामा कर्जाको प्रकृतिअनुसार उद्यमीले सञ्चालन गरेको परियोजना वा शैक्षिक प्रमाणपत्र धितो रहनेछ भने ब्याज २ प्रतिशतभन्दा बढी हुनेछैन भने सेवाशुल्क लगायत अन्य कुनै पनि शुल्कहरु समेत लिन पाइने छैन ।