
काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नाफा झण्डै ३८ प्रतिशत बढाएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामामा ३८ करोड ६९ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा २८ करोड रुपैयाँ थियो । गत आवको तुलनामा यो आवमा नाफा १० करोड रुपैयाँ बढेको बैंकले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
ब्याज आम्दानी झण्डै ३ अर्ब रुपैयाँ बढाउँदा नाफामा उत्साहजनक प्रगति देखिएको छ । पहिलो त्रैमासमा बैंकले ८४ करोड २५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको आम्दानी ५६ करोड ९७ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ०.४७, निक्षेप लागत ७.९९, आधारदर ११.२१ प्रतिशत रहेको छ । कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) ७८.९२ प्रतिशत रहेको बैंकले जानकारी दिएको छ । बैंकको प्रतिसेयर आम्दानी बढेर १८ रुपैयाँ ४६ पैसा पुगेको छ ।
समीक्षा अवधिमा बैंकले ७७ अर्ब ९८ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा ६० अर्ब ३० करोड रुपैयाँ थियो । कर्जा लगानी पनि विस्तार भएको छ । बैंकले ७१ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ५४ अर्ब ९२ करोड रुपैयाँ लगानी गरेको थियो ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई अनिवार्य रुपमा नेपाल वित्तीय प्रतिवेदन मानक (एनएफआरएस) बमोजिम वित्तीय विवरण सार्वजनिक व्यवस्था गरेपछि वाणिज्य बैंकहरुको रिपोर्टहरु ढिलोगरी प्रकाशन हुन थालेका छन् । एनएफआएस प्रणालीअनुसार वित्तीय विवरण बनाउन तुलनात्मक रुपमा गाह्रो हुने र अझ प्रत्येक प्रदेशमा भएका वित्तीय गतिविधिहरुको समेत छुट्टाछुट्टै तथ्याङ्क देखाउनुपर्ने भएपछि बैंकहरुले विवरण सार्वजनिक गर्न ढिलाई गर्ने गरेका हुन् यस्तो अवस्थामा माछापुच्छे यो त्रैमासमै पहिलोपटक उक्त मानकअनुसारको वित्तीय विवरण सार्वजनिक गर्ने बैंक बनेको छ ।