
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप तथा कर्जा प्रवाहमा उल्टो बाटो समात्दा बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको पहिलो २ महिनाको सार्वजनिक गरेको आर्थिक तथा मौद्रिक स्थितिसम्बन्धी तथ्याङ्कले यस्तो देखाएको हो ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले ७४ अर्ब ४९ करोड ७९ लाख रुपैंया बराबरको कर्जा प्रवाह वृद्धि गरेका छन् । यो दर अघिल्लो आर्थिक वर्षको अन्त्यको तुलनामा ३.१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा यो वृद्धिदर १.९ प्रतिशत थियो ।
निक्षेप संकलनतर्फ भने बैंक तथा वित्तीय संस्थाले खासै प्रगति गर्न सकेका छैनन् । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले कुल ३९ अर्ब १४ करोड ६१ हजार रुपैंया निक्षेप वृद्धि गरेका छन् । यो वृद्धिदर १.४ प्रतिशत हो । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा सो वृद्धिदर २.१ प्रतिशत थियो ।
अर्थतन्त्रमा मौद्रिक सन्तुलन कायम हुन निक्षेप तथा कर्जाको वृद्धिदर सामान्यतया बराबर हुनुपर्छ । तर निक्षेप वृद्धिमा कमजोर हुनु र अत्यधिक कर्जा प्रवाहतर्फ लाग्नुले बैकिङ क्षेत्रमा मौद्रिक संकट उत्पन्न हुने गरेको छ । केही सरकारी बैंकबाहेक अधिकांश बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाहको स्थिति सीमान्त अवस्थामा पुगिसकेको छ । बैंकहरुको प्राथमिक पृुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ८०ः२० को सीमा नजिक पुगिसकेको बैंकरले बताएका छन् । लगानीयोग्य पुँजीको अभाव कायम रहे केही दिनमै कर्जा प्रवाह बन्द हुने संभावना रहेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहालको भनाई छ । ‘निक्षेप बढ्न सकेन, कर्जाको माग अत्यधिक छ । हाम्रो बैंकको पनि सीसीडी रेसियोले सीमा भेट्न लागिसक्यो ।’ दाहालले भने– ‘यस्तै अवस्था आए कर्जा प्रवाह बन्द गर्नुपर्छ ।’ सानिमा बैंकले हालसम्म कर्जा लगानी गरिरहेको र सीसीडी रेसियो ७८ प्रतिशत पुगेको उनले जानकारी दिए ।
यता राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा यस्तो अवस्था आउनुमा बैंकर दोषी भएको जिकिर गर्छन । विकासन्युजसंग कुरा गर्दै थापाले भने “क्षमता भन्दा बढी लगानी गर्दा समस्या आएको हो । निक्षेप बढाएर कर्जा लगानी गर्न बाटो खुला छ ।”
बैंक तथा वित्तीय संस्थाले आर्थिक बर्षको अन्तिम त्रैमासमा कर्जा प्रवाह नगर्ने भएकोले कर्जा मागका फारामहरुको चाङ लाग्दा नयाँ आर्थिक बर्ष सुरु भएपछि बैंकहरुमा कर्जाको माग बढ्ने गरेको बैंकरहरु बताउँछन् । केही बैंकहरुले आफ्ना पुराना ग्राहकसँगको सम्बन्ध जोगाइ राख्नका लागि कम सीसीडी रेसियो भएका बैंकहरुलाई आफ्नो असल कर्जा किनिदिन अनुरोध समेत गर्न थालेका छन् ।
सामान्यतया १ रुपैंया निक्षेप संकलन हुँदा बैंक तथा वित्तीय संस्थाहरु ८० पैसा कर्जा प्रवाहका लागि योग्य हुन्छन् । तर बैंकहरु निक्षेप संकलनको अवस्था वास्ता नगरी कर्जा प्रवाहमै केन्द्रित हुनाले बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव देखिएको छ । यस्तो समस्या अनन्तकालसम्म लम्बिनसक्ने सम्भावना छ ।
पछिल्ला ३ वर्षयता पहिलो त्रैमाशपछि बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको संकट बढ्दै गएको छ । केन्द्रीय बैंकले लगानीयोग्य पुँजी बढाउन अनिवार्य नगद अनुपात (सीआरआर) को सीमा घटाउदा बजारमा ४८ अर्ब रुपैयाँ तरलता थपिएको छ । यस्तै विदेशबाट डलर र भारुमा ऋण लिन केन्द्रीय बैंकले खुला गरेको छ । आधादर्जन बैंकले विदेशबाट ऋण लिने तयार गरेपनि महंगो हुने अवस्था आएपछि आँट गर्न सकेका छैनन् ।