
काठमाडौं । नेपाल बैंकले थप निष्कासन (एफपीओ) कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सुचिकरण गर्न ढिलाइ गरेको छ । समयमा एफपीओ सुचिकरण नहुदा लगानीकर्ताले गुमाउँदै गएका छन् ।
गत आइतबार नेपाल धितोपत्र बोर्डले सचेतसहित एफपीओ बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड, बैंक र प्रत्याभूतिकर्तालाई पत्राचार गरी एफपीओ बाँडफाँड गर्न भनेको थियो । तर बैंकले एफपीओ कारोबारका लागि सुचिकरणको काम सुरु गर्नुभन्दा नामसारीका सम्बन्धमा गरेको निर्णयमा पुनरबिचारका लागि आग्रह गर्न बोर्डमा पुगेको छ ।
सेयर निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सेयर बाँडफाँड भएको १५ दिनभित्र सेयर सूचिकरण हुनुपर्छ । तर नेपाल बैंकको सेयर बाँडफाँड भएको तीन महिना बित्दा पनि सूचिकरण हुन सकेको छैन । सेयर निष्काशन भएको लामो समय बित्दा समेत एफपीओ सूचीकरण नहुँदा लगानीकर्ताले गुमाउदै गएका हुन् ।
बोर्डले बाटो खुला गर्दा पनि बैंकले दोहरो चरित्र देखाएर लगानीकर्ता डुवाउने खेलमा लागेको प्रत्याभूतिकर्ता सीबीआईएल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीरप्रसाद दाहालको दावी छ । “नेपाल बैंक व्यवस्थापन सेयर सुचिकरणतर्फ भन्दा पनि ढिलाइ गर्न लागेको छ” सीईओ दाहालले भने “एफपीओ सुचिकरण छिटो गराउनु पर्ने भएपनि बैंक गैरजिम्मेबार बन्दा लगानीकर्तालाई समस्या भएको छ।”

यता बैंकका सीईओ देवेन्द्रप्रताप शाह बोर्डले गरेको निर्णय मान्ने बताए । “पहिलाको निर्णमा पुनरविचार गर्न बोर्डलाई आग्रह गरिएको हो, सेयर सुचिकरणमा ढिलाइ गर्ने बैंकको आशय छैन” उनले भने । एफपीओ निष्काशनका बेला भएका सम्झौता अनुसार काम नहुँदा समस्या देखिएकाले बोर्डलाई आफ्नो निर्देशनमा पुनर्विचार गरिदिन आग्रह गरेको शाहाको भनाई छ ।
एफपीओमा लगानी गर्ने लगानीकर्ताले मौका गुमाउदै आएका छन् । बैंकको सेयर सूचिकरणमा ढिलाइ हुदा लगानीकर्ताहरु सेयर मूल्य बढेको बेलामा बेच्नबाट बञ्चित भएका छन् । बिहीबारसम्म बैंकको सेयर मूल्य प्रतिकित्ता ३०९ रुपैयाँमा झरेको छ । लगानीकर्ताले बैंककको एफपीओ प्रतिकित्ता २८० रुपैयाँमा किनेका हुन् ।
बैंकले गत साउन २० गते सेयर बाँडफाँड गरेको थियो । उक्त एफपीओको अण्डरराईटिङ गर्ने कम्पनीहरुले गलत प्रक्रियाबाट सेयर बिक्री गरेको उजुरी नेपाल धितोपत्र बोर्डमा परेपछि सूचिकरण रोकिएको हो । सेयर सूचिकरण भईसक्नु पर्ने समयमा नेपाल बैंकको सेयर प्रतिकित्ता ३३४ रुपैयाँ पुगेको थियो । विहीबार उक्त सेयर प्रतिकित्ता ३०७ रुपैयाँमा झर्दा लगानीकर्ताले प्रतिकित्ता २५ रुपैयाँ गुमाएका छन् ।
बैंकले प्रतिकित्ता २८० रुपैयाँमा ४ अर्ब ९५ करोड बराबरको एफपीओ जारी गरेकोमा २ अर्ब ६२ करोड रुपैयाँको मात्र आवेदन परेको थियो । नबिकेको सेयर सीबीआईएल क्यापिटल, ग्लोबल आईएमई क्यापिटल, नेपाल एसबीआई मर्चेन्ट बैंकिङ, एनआईबीएल एस क्यापिटल, सिभिल, सनराइज, लक्ष्मी र सानिमा क्यापिटल लिमिटेडले सकारेको थिए ।