काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरुलाई बोलाएर सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको योजना मागेका छन् ।
शुक्रबार सबै मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सदस्यहरु र सबै सचिवहरुलाई बोलाएर बजेट कार्यान्वयनको योजना मागेका हुन् ।
‘प्रधानमन्त्रीज्यूले असार १५ गतेभित्रै बजेट कार्यान्वयनको ठोस योजना पेश गर्न सबै मन्त्रालयहरुलाई निर्देशन दिनु भएको छ, मन्त्रालयहरुले समय तालिकासहितको कार्ययोजना पेश गर्नेछन्’, प्रधानमन्त्री ओलीको निर्देशन सुनेर बाहिरीएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले भने ।
कर्मचारी व्यवस्थापन, कानुन निर्माण, जिम्मेवार निकाय र सहायक निकाय, अनुगमन गर्नुपर्ने सूचकहरुको कार्यायोजना पेश गर्न निर्देशन दिएको डा. खतिवडाले जानकारी दिए । सचिवहरुले आफ्ना मन्त्रालयहरुको बजेट कार्यान्वयनको योजना पेश गर्नेछन् । ती कार्ययोजनाहरुमाथी असार २५ गते पुनः बैठक बसेर प्रधानमन्त्रीले थप निर्देशन दिनेछन् ।
मन्त्रिहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले भनेका थिए–‘अब पुरानै शैलीमा काम गरेर हुनेवाला छैन्, जनतासँग क्षमा माग्ने छुट पनि छैन, त्यसैले नयाँ शैलीले काम गर्नुस’, ओलीले भने । ओलीले बजेट कार्यान्वयनका लागि इन्नोभेटिभ आइडिया अघि सार्न समेत निर्देशन दिएका थिए ।