काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको नयाँ बजेटप्रति पूर्वअर्थमन्त्री तथा अर्थशास्त्रीहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । बजेटले केही क्षेत्रमा आशा जगाए पनि कार्यान्वयन क्षमता, आर्थिक वृद्धि लक्ष्य र स्रोत व्यवस्थापनमा स्पष्टता नदेखिएको भन्दै उनीहरूले आलोचनात्मक टिप्पणी गरे ।
पूर्वअर्थमन्त्रीहरूका अनुसार बजेटमा नीति र नाराको स्तरमा आकर्षक पक्ष देखिए पनि त्यसलाई व्यवहारमा रूपान्तरण गर्ने ठोस योजना कमजोर देखिएको छ ।
पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेटलाई प्रारम्भिक रूपमा सकारात्मक संकेत दिने खालको भए पनि ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सक्ने स्पष्ट कार्यक्रम नभएको भन्दै आलोचना गरे ।
उनका अनुसार बजेटले केही क्षेत्रहरूमा सुधार र लगानी विस्तारको संकेत दिए पनि उत्पादन, रोजगारी र औद्योगिक विस्तारलाई तीव्र बनाउने ठोस रणनीति देखिँदैन ।
शर्माले औद्योगिक क्षेत्रमा भने आफूले अघि सारेका नीतिहरूको निरन्तरता रहेको दाबीसमेत गरेका छन् । उनका अनुसार औद्योगिक क्षेत्रका केही कार्यक्रमहरू निरन्तर छन् तर, समग्र अर्थतन्त्रलाई गति दिने नयाँ संरचनात्मक हस्तक्षेप कमजोर छ ।
पूर्वअर्थमन्त्री वर्षमान पुनले बजेटलाई विश्वसनीयतामा आधारित नभएको बताउँछन् । उनका अनुसार बजेटमा उल्लेख गरिएका केही लक्ष्य र स्रोत व्यवस्थापनबीच स्पष्ट समन्वय छैन ।
पुनले भने, ‘बजेटमा घोषणा धेरै छन् । तर त्यसलाई पूरा गर्ने वित्तीय आधार र कार्यान्वयन संयन्त्र स्पष्ट छैन ।’
उनले राजस्व संकलन, वैदेशिक ऋण तथा खर्च व्यवस्थापनबीच सन्तुलन नदेखिएको पनि उनको भनाइ छ ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्द पोखरेलले बजेटलाई कार्यान्वयन क्षमता बढाउने ठोस योजना विनाको दस्तावेजको रूपमा व्याख्या गरेका छन् ।
उनका अनुसार बजेटमा विकास परियोजनाहरूको सूची भए पनि तिनलाई समयमै सम्पन्न गर्ने संस्थागत संरचना र अनुगमन प्रणाली स्पष्ट छैन । पोखरेलले व्यापार घाटा कम गर्ने दिशामा समेत स्पष्ट रणनीति नआएको उल्लेख गर्दै भने, ‘निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापनको ठोस योजना नदेखिनु गम्भीर कमजोरी हो ।’
अर्थविद् डा. दिलनाथ दंगालले बजेटलाई स्रोत व्यवस्थापन बिना प्रस्तुत गरिएको झिल्के वजेटको रूपमा टिप्पणी गरेका छन् ।
उनका अनुसार एकातिर निजी क्षेत्रको विश्वास जित्ने भनिए पनि अर्कोतर्फ उद्योग धन्दा राज्यले चलाउने खालका घोषणा देखिनु बजेटको नीति स्पष्ट नभएको संकेत हो ।
दंगालले भने, ‘बजेटले आफ्नो लैंगिक पहिचान गुमाएको जस्तो देखिन्छ । निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भनिएको छ, तर व्यवहारमा राज्य हस्तक्षेप बढाउने संकेत पनि देखिन्छ ।’
उनले बजेटमा निजी क्षेत्रलाई आकर्षित गर्ने घोषणा भए पनि सरकारी भूमिका विस्तार गर्ने संकेतहरू पनि देखिनु नीतिगत दोहोरोपनको रूपमा देखिएको बताए । यसले लगानीकर्ताको विश्वासमा असर पार्न सक्ने उनको धारणा छ ।
त्यस्तै, बजेटमा रोजगारी सिर्जना, औद्योगिकीकरण र निर्यात विस्तारका लागि घोषणा भए पनि त्यसलाई कार्यान्वयन गर्ने स्पष्ट टाइमलाइन र संयन्त्र नदेखिएको डा. दंगालले वताए ।
सरकारले उच्च आर्थिक वृद्धिको लक्ष्य राखे पनि पूर्वअर्थमन्त्री तथा अर्थविद्हरूका अनुसार वर्तमान संरचनागत कमजोरी, कमजोर उत्पादन क्षेत्र र सीमित निर्यात क्षमताका कारण त्यो लक्ष्य हासिल गर्न कठिन देखिन्छ ।
विशेषगरी कृषि, ऊर्जा, पर्यटन र औद्योगिक क्षेत्रमा समन्वयकारी रणनीति नभएको भन्दै आलोचना गरिएको छ । समग्रमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटले केही सकारात्मक संकेतहरू दिएको भए पनि पूर्वअर्थमन्त्री र अर्थविद्हरूले यसलाई विश्वास, कार्यान्वयन र स्रोत व्यवस्थापनका दृष्टिले कमजोर भनेका छन् ।