स्विङ क्षेत्र काठमाडौं–८ मा विराजभक्तले जोगाउलान् त विरासत ?

काठमाडौं । काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ८ फेरि एकपटक चुनावी बहसको केन्द्रमा छ । राजधानीको सबैभन्दा कोरभित्र पर्ने यो क्षेत्रलाई राजनीतिक रूपमा स्विङ क्षेत्रका रूपमा हेरिँदै आएको छ । यस क्षेत्रका मतदाताको निर्णय प्रत्येक निर्वाचनपिच्छे बदलिँदै आएको देखिन्छ । विगतका निर्वाचन परिणाम हेर्दा काठमाडौं– ८ मा कुनै एक दलको निरन्तर वर्चस्व स्थापित हुन सकेको देखिँदैन । २०६३ पछि काठमाडौंलाई १० निर्वाचन क्षेत्रमा विभाजन गरियो । त्यसपछि यस क्षेत्रमा काठमाडौं महानगरपालिकाका १३, १५, १९, २०, २३ र २४ नम्बर वडाहरू समावेश गरिएको छ । यस्तै, नागार्जुन नगरपालिकाका ४ र ५ वडा यस क्षेत्रमा पारिएको छ । काठमाडौंलाई १० निर्वाचन क्षेत्रमा विभाजन गरिएपछि २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए । कांग्रेसका उम्मेदवार नवीन्द्रराज जोशी यस क्षेत्रबाट निर्वाचित भएर पहिलो संविधान सभामा प्रतिनिधित्व गरेका थिए । त्यसपछि २०७० सालको संविधानसभा निर्वाचनमा पनि जोशी नै निर्वाचित भए ।  २०७४ मा भने नेकपा एमालेले कांग्रेसलाई पराजित गर्दै सिट आफ्नो पक्षमा पारेको थियो । यस निर्वाचनमा जीवनराम श्रेष्ठ निर्वाचित भए । यी नतिजाले कांग्रेस र एमालेबीचको प्रतिस्पर्धा यस क्षेत्रमा लामो समयदेखि चल्दै आएको देखिन्छ । तर २०७९ सालको प्रतिनिधिसभा निर्वाचनले काठमाडौं–८ को राजनीतिक चरित्रमा नयाँ मोड ल्यायो । परम्परागत ठूला दललाई पछि पार्दै वैकल्पिक धारका उम्मेदवारले सफलता हासिल गरेपछि यस क्षेत्रका मतदाताले नयाँ अनुहार र फरक राजनीतिक एजेन्डालाई पनि अवसर दिन सक्ने सन्देश गएको थियो । २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठ विजयी भएका थिए । यसले काठमाडौं–८ लाई केवल कांग्रेस–एमालेको प्रतिस्पर्धामा सीमित नराखी बहुपक्षीय प्रतिस्पर्धाको क्षेत्रका रूपमा स्थापित गरिदिएको छ । हाल यस क्षेत्रमा पर्ने अधिकांश स्थान विगतमा एमालेकी साहना प्रधानले जितिरहेको क्षेत्र पर्दछ । २०४८ र ०५१ मा गरेर दुई पटक प्रतिनिधि सभा सदस्यमा प्रधानले जित हासिल गरेकी थिइन् । ०५६ मा भने एमालेकै अष्टलक्ष्मी शाक्य विजयी भएकी थिइन् । स्थानीय सावित्रा राजभण्डारीका अनुसार यस क्षेत्रका हरेक टोल र वडामा कांग्रेस, एमाले र रास्वपाको उस्तैउस्तै प्रभाव र पकड रहेको छ । यी दलबाहेक नेपाली कम्युनिष्ट पार्टी (नेकपा) तथा स्वतन्त्र समूहको उपस्थिति कमजोर नरहेको राजभण्डारीले जानकारी दिइन् । यही कारण आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारको व्यक्तित्व, स्थानीय मुद्दाप्रतिको पकडले निर्णायक भूमिका खेल्ने राजभण्डारीको तर्क रहेको छ । आगामी निर्वाचनलाई हेर्दा काठमाडौ–८ मा पुनः कडा प्रतिस्पर्धा हुने लगभग निश्चित देखिन्छ । परम्परागत दलहरू आ-आफ्नो संगठन बलियो बनाउन प्रयासरत छन् । नयाँ र वैकल्पिक शक्तिहरूले अघिल्लो निर्वाचनको सफलतालाई निरन्तरता दिन खोजिरहेका छन् । सबै दलले यस क्षेत्रका मतदाताको मन जित्न विकास, सुशासन र सहरी व्यवस्थापनजस्ता मुद्दा मुख्य एजेन्डा बनाउने अनुमान गरिएको छ । विगतको उतारचढावपूर्ण नतिजा र वर्तमान राजनीतिक अवस्थालाई हेर्दा काठमाडौं–८ को चुनावी परिणाम अन्तिम समयसम्म अनिश्चित रहने सम्भावना उच्च छ । यही अनिश्चितताले यो क्षेत्रलाई आगामी निर्वाचनको सबैभन्दा चासोका साथ हेरिने निर्वाचन क्षेत्रमध्ये एक बनाएको छ ।  यस क्षेत्रका निवर्तमान सांसद विराजभक्त श्रेष्ठ दोस्रोपटक लोकप्रिय मतसहित पुनः प्रतिनिधि सभा पुग्ने लक्ष्यसहित निर्वाचनमा होमिएका छन् । गत निर्वाचनमा ८ हजार १०४ मतसहित निर्वाचित श्रेष्ठ यस पटकका पनि प्रबल दावेदार हुन् । अघिल्लो निर्वाचनमा हाम्रो नेपाली पार्टीबाट मैदानमा उत्रिएका सुमन सायमी नेकपा प्रवेश गरेर मैदानमा उत्रिएका छन् । अघिल्लोपटक उपविजेता बनेका सायमी अहिले जित निकाल्न चाहन्छन् । पहिलोपटक प्रतिनिधि सभाको मैदानमा देखिएका एमालेका राजेश शाक्य ०४८ देखिको विरासत फर्काउने ध्यानमा छन् । स्थानीय स्तरमा निकै सक्रिय साहना शाक्य र अष्टलक्ष्मीको विरासत फर्काउने मेसोमा उनी मैदानमा उत्रिएका छन् । नेपाली कांग्रेसले नवीन्द्रराज जोशीकी श्रीमती सपना राजभण्डारीलाई उम्मेदवार बनाएको छ । राजभण्डारीले पनि आफ्ना श्रीमानले दुईपटक जितेको स्थानमा पुन जित निकाल्न चाहन्छिन् ।  २२ प्रतिस्पर्धी उम्मेदवारहरू विभिन्न दल र स्वतन्त्र हैसियतमा मैदानमा रहेको यस क्षेत्रमा रास्वपा, एमाले र कांग्रेस मुख्य दाबेदार रहेको नागार्जुन ५ का प्रकाश गिरी बताउँछन् । सामान्यतया निर्वाचन यिनै दलका अगाडि पछाडि नै घुमेको जस्तो देखिन्छ । कालीमाटीका सरोज श्रेष्ठ भने यो क्षेत्रका मतदाताको ट्रेण्ड बागी रहेकोले अहिलेसम्म नामै नसुनिएको उम्मेदवार पनि अगाडि आउन सक्ने दाबी गर्छन् । यस क्षेत्रका उम्मेदवारहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट नवीन शाही, जनता समाजवादी पार्टी (जसपा) बाट सरोजराज वैद्म, नेपाल मजदुर किसान पार्टीबाट बन्दना श्रेष्ठ उम्मेदवार रहेका छन् । यसैगरी, दिनेश शाहीले नेपाल जनता संरक्षण पार्टीबाट उम्मेदवारी दिएका छन् । रेशमबहादुर सुनार संयुक्त नागरिक पार्टीबाट मैदानमा छन् । राजेन्द्रप्रसाद शाहले नेपाल कम्युनिष्ट पार्टी संयुक्त र शिव सुन्दर कर्माचार्यले श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दिएका छन् ।     सलाम सिंह लामा, राजन खड्गी, विजय डंगोल, छत्र कुमार पाख्रिन, मुक्तिनाथ शर्मा,  खगेश रंजितकार, मुना न्यौपाने पाण्डे, तुलसा श्रेष्ठ महर्जन, विकास खड्गी, सुनिता महर्जन र सुशीला नेपालीले स्वतन्त्र उम्मेदवारी दिँदै मैदानमा छन् ।    

क्षेत्र नम्बर ९२ देखि गुल्मी–२ सम्म बदलिँदो जनमतको कथा

काठमाडौं । गुल्मी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ का घरघरमा अहिले चुनावको रौनक छ । स्थानीय ९५ वर्षीय बुद्धिप्रसाद भुसाल भन्छन्, ‘यो क्षेत्रमा २००४ सालको पञ्चायत चुनावमा पनि उत्तिकै रौनक थियो । त्यो रौनक अहिलेपनि उस्तै छ । भुसालको अनुभवमा २०१५ को आमचुनाव त वडादशैंजस्तै थियो ।’  जिल्लाको तत्कालीन ९२ नम्बर निर्वाचन क्षेत्र हालको निर्वाचन क्षेत्र नम्बर २ हो । उक्त क्षेत्र २०१५ मा पनि हाईप्रोफाइल उम्मेदवारका कारण चर्चामा रहेको थियो । २०१५ को पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेसका चर्चित नेता नीलाम्बर पन्थीका कारण चर्चामा थियो । २०१५ मा उच्च मतसहित निर्वाचित भएका पन्थी २०४८ मा राष्ट्रिय सभा सदस्यसमेत भएका थिए भने हाल यस निर्वाचन क्षेत्रमा नेकपा एमालेका गोकर्ण विष्ट चौथो जित र एक हारसहित पाँचवटा निर्वाचनको अनुभव बोकेर छैटौं प्रतिस्पर्धामा रहेका छन् ।  फर्केर हेर्दा  २०१५ सालको आमनिर्वाचनमा देशलाई १०९ निर्वाचन क्षेत्रमा विभाजन गरिएको थियो । यो निर्वाचनमा ७८६ जना उम्मेदवारले भाग लिएका थिए । देशको कुल जनसंख्या करिब ८५ लाख ५० हजार रहेको थियो । यस निर्वाचनमा ४२ दशमलव १८ प्रतिशत मत खसेको थियो । गुल्मीको हाल निर्वाचन क्षेत्र नम्बर २ त्यतिखेर निर्वाचन क्षेत्र नम्बर ९२ थियो । उक्त ९२ नं निर्वाचन क्षेत्रमा धुर्कोट, इस्मा, मुसिकोट र मदाने समावेश थिए । यस क्षेत्रका प्रमुख दलहरूमा नेपाली कांग्रेस, राष्ट्रवादी गोर्खा परिषद, संयुक्त प्रजातान्त्रिक पार्टी, नेपाल प्रजा परिषद र प्रजातान्त्रिक महासभा पार्टीका उम्मेदवारहरू मैदानमा थिए । नेपाली कांग्रेसका उम्मेदवार नीलाम्बर पन्थीले ८ हजार मत प्राप्त गरेको डा. हरिप्रसाद भण्डारीले वस्तु स्मारिकाको यस क्षेत्रको निर्वाचन इतिहास भन्ने लेखमा उल्लेख गरेका छन् ।  पन्थीलाई टक्कर दिएका राष्ट्रवादी गोर्खा परिषद्का प्रेमबहादुर मल्लले    झुपडी चिन्हमा ६ हजार मत ल्याएका थिए । संयुक्त प्रजातान्त्रिक पार्टीका केशरजङ माझीले    ३ हजार मत प्राप्त गरेको डा. भण्डारीले उल्लेख गरेका छन् । उक्त निर्वाचनमा निर्वाचन क्षेत्र नम्वर ९२ बाट नेपाल प्रजा परिषद्का गोपालप्रसाद श्रेष्ठले २ हजार र प्रजातान्त्रिक महासभाका शमशेरबहादुर मल्लले १ हजार मत प्राप्त गरेका थिए । डा. भण्डारीका अनसार निर्वाचनअघि मतदाताको सूची गाउँगाउँमा संकलन गरिएको थियो । त्यो बेलामा करिब ४० हजार मतदाता थिए । मतदान नोट–समान टिकटमा गरिन्थ्यो । मतपत्र बाकसमा खसालिएपछि बाकसहरू इस्मा रजस्थल लगेर खुला चौरमा सर्वसाधारणको उपस्थितिमा मतगणना गरिएको भण्डारीले लेखेका छन् । उक्त निर्वाचनको परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार निलाम्बर पन्थी सबैभन्दा बढी मत प्राप्त गरी विजयी भएका थिए । संयुक्त जनआन्दोलन २०४६ को सफलतापछि कांग्रेस, वाम मोर्चा र नागरिक समाज सम्मिलित अन्तरिम सरकार बन्यो ।  सोही सरकारले जारी गरेको नेपाल अधिराज्यको संविधान २०४७ अनुसार २०४८ बैशाख २९ गते आम निर्वाचन सम्पन्न भयो ।  यस अघि २०१५ को निर्वाचनमा क्षेत्र नम्बर ९२ रहेको निर्वाचन क्षेत्र गुल्मी निर्वाचन क्षेत्र नम्बर ३ बन्यो । २०१५ मा कांग्रेसले जितेको उक्त क्षेत्रमा २०४८ मा पनि आफ्नो जित निकाल्यो । कांग्रेसका रुद्रमणि शर्माले १३ हजार ७३२ मत प्राप्त गरेका थिए । शर्माका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका टंकप्रसाद पोखरेलले शर्माले भन्दा ३३५ मत कम ल्याएका थिए । पोखरेलले १३ हजार ३९७ मत पाएका थिए ।  २०१५ र २०४८ मा जित निकालेको कांग्रेसले यसपछि भने लय गुमाउँदै गयो । २०५१ को मध्यावधि निर्वाचनमा यस क्षेत्रमा नेकपा एमालेले पहिलो पटक जित निकाल्न सफल भयो । यस क्षेत्रमा २०४८ कै उम्मेदवार २०५१ मा पनि प्रतिस्पर्धामा थिए । मध्यावधि निर्वाचन २०५१ मा एमालेका पोखरेलले १४ हजार ३९७ मत ल्याएर विजयी बन्दा नेपाली कांग्रेसका शर्मा ७३२ मत कम ल्याएर पराजित भए । शर्माले १३ हजार ६६५ मत ल्याएका थिए । ०५६ मा पनि एमालेकै गोकर्णराज विष्ट उक्त क्षेत्रबाट निर्वाचित भए । विष्टले १८ हजार २० मत ल्याउँदा कांग्रेसका त्रैलोक्य प्रताप सेनले १५ हजार ७६४ मत प्राप्त गरेका थिए ।  तर २०६४ को पहिलो संविधान सभा निर्वाचनमा यस क्षेत्रमा एमाले ह्याट्रिक जित निकाल्नबाट भने चुक्यो । उक्त निर्वाचनमा तत्कालीन नेकपा माओवादीका चन्द्रबहादुर थापा सागरले विष्टलाई पराजित गरेका थिए । कांग्रेसका सुरेश भुसाल भने तेस्रो भएका थिए ।  थापा १६ हजार ५८१ मत प्राप्त गरी विजयी हुँदा विष्टले १५ हजार ८८१ मत प्राप्त गरेका थिए भने भुसालले १० हजार मत पाएका थिए । २०७० मा भने विष्टले सानदार कमब्याक गरे । उक्त निर्वाचनमा विष्टले १५ हजार १२ मत ल्याए भने नेपाली कांग्रेसका सेनले ८ हजार ७४५ मत प्राप्त गरेका थिए । माओवादीका उम्मेदवार बामदेव क्षेत्रीले ५ हजार २४२ मत ल्याएका थिए । यसपछि भने एमालेले लगातार जित हासिल गर्दै आएको छ । राज्य पुनर्संरचनापछि पहिलोपटक साविककाे ३ नं. क्षेत्र सबै र १ र २ निर्वाचन क्षेत्रका केही भाग जोडेर निर्वाचन क्षेत्र नम्बर २ भएपछि भएको आम निर्वाचन २०७४ मा एमालेका विष्टले ३४ हजार ६१८ मत पाएर जित निकालेका थिए । विष्टसँग पराजित कांग्रेसका चन्द्रबहादुर केसीले २० हजार १५७ मत ल्याएका थिए । यस्तै, २०७९ मा पनि एमालेका विष्टले पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेकी रामकुमारी झाँक्रीलाई पराजित गरेका थिए । विजेता विष्टले २८ हजार ५८५ मत ल्याएका थिए । उपविजेता बनेकी झाँक्रीले २६ हजार ४४१ मत प्राप्त गरेकी थिइन् ।  एमालेकै अग्रता कायम रहन सक्ने सम्भावना गुल्मी जिल्ला आगामी प्रतिनिधि सभा निर्वाचनको प्राथमिक दृष्टिकोणमा राजनीतिक प्रतिस्पर्धाको केन्द्र बनेको छ । विगतका निर्वाचनमा क्षेत्रीय मतदाताले एमालेका उम्मेदवारलाई लगातार विजयी बनाएका थिए र २०७९ को नतिजाले यस ट्रेन्डलाई पुष्टिसमेत गरेको छ । यस आधारमा आगामी निर्वाचनमा पनि एमालेले यस क्षेत्रमा अग्रता कायम राख्न सक्ने सम्भावना उच्च देखिन्छ । एमाले नेताहरूका अनुसार गुल्मी‑२ मा एमालेप्रतिको जनसमर्थन बलियो रहेको छ । यहाँका ग्रामीण क्षेत्रका मतदाताले परम्परागत रूपमा पार्टीको स्थायित्व र विकासमूलक अभियानमा विश्वास देखाउँदै आएको एमालेका स्थानीय नेता विमल घिमिरेले दाबी गरे । यस क्षेत्रमा एमालेले पार्टी उपाध्यक्ष समेत रहेका निवर्तमान सांसद विष्टलाई नै उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसले पनि केही वडामा आफ्नो समर्थन बढाउन सक्ने सम्भावना रहेको कांग्रेसका स्थानीय नेताहरू बताउँछन् । कांग्रेसले विगतमा हेर्‍यौं अरूलाई, यसपटक भने कांग्रेसलाई हेर्न आग्रह गरेको स्थानीय नेता रविन्द्र घिमिरेले बताए । कांग्रेसले लुम्बिनी प्रदेशका उपसभापति भुवन श्रेष्ठलाई उम्मेदवार बनाएको छ । श्रेष्ठ २०७४ मा भएको स्थानीय चुनावमा रेसुंगा नगरपालिकाको मेयर पदमा पराजित भएका थिए । यसैगरी, २०७९ मा सम्पन्न आमनिर्वाचनमा प्रदेश सभा सदस्यमा उनी पराजित भएका थिए । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका गोविन्द पन्थीलाई उम्मेदवार बनाएको छ । पन्थी नेपाल प्रहरीका निवृत्त प्रहरी नायव उपरीक्षक हुन् ।  त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले केन्द्रीय सदस्य श्रीराम महतलाई उम्मेदवार बनाएको छ । उनी निजी विद्यालय सञ्चालक हुन् । उनी विशेषगरी मुसिकोट नगरपालिका क्षेत्रमा परिचित नेता हुन् ।

धनकुटामा राईबीच कडा प्रतिस्पर्धा, कांग्रेस र एमालेलाई प्रतिष्ठाको लडाइँ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले घरदैलो अभियान तीव्र पारेका छन् । हाल उनीहरू मतदाताको घरदैलोमा गई मतदातासँग भोट मागिरहेका छन् । धनकुटामा पनि चुनावी चहलपहल बढ्दै गइरहेको छ । एकमात्र क्षेत्र रहेको यस जिल्लामा नेपाली कांग्रेसबाट दिनेश राई उम्मेदवार बनेका छन् । उनी कांग्रेस जिल्ला सभापति पनि हुन् । धनकुटामा कांग्रेसको तर्फबाट शक्तिशाली दाबेदार मानिएका सुनिलबहादुर थापा राष्ट्रिय सभामा निर्विरोध निर्वाचित भएपछि राईले टिकट पाएका हुन् । २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसबाट उम्मेदवारी दिएका थापा नेकपा एमालेका उम्मेदवार राजेन्द्र राईसँग पराजित भएका थिए । जबकि २०७० को निर्वाचनमा तिनै राईलाई पराजित गर्दै थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट निर्वाचित भएका थिए ।  थापा राप्रपाका तत्कालीन अध्यक्ष सूर्यबहादुर थापाका छोरा हुन् । पिताको विरासत थाम्न नसकेर उनी नेपाली कांग्रेसमा समाहित भएका हुन् । कांग्रेसबाट टिकट पाएका राई धनकुटा तरुण दलको पूर्वअध्यक्ष, धनकुटा क्याम्पसको नेविसंघ पूर्वसभापति र महाधिवेशन प्रतिनिधिसमेत हुन् । यसपालि कोशी प्रदेशबाट नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको अगुवाइ पनि उनै राईले गरेका थिए ।  राई धनकुटा कांग्रेसमा आफ्नो बेग्लै पहिचान बनाउन सफल छन् । पार्टीभित्र फरक विचार र विरोधी स्वभाव भएकैले उनी धनकुटाको भूगोलमा भिजेका छन् । आगामी निर्वाचनमा आफ्नो पक्षमा मत पार्ने गरी उनी हाल घरदैलो अभियानमा पुगिसकेका छन् । कांग्रेसले फ्रेस र विवादरहित उम्मेदवार उठाएकाले निर्वाचित हुन सक्ने स्थनीय बताउँछन् । कांग्रेसका उम्मेदवार राईले पनि आफूले सहजै जित हासिल गर्ने बताए । ‘हाम्रो प्रतिस्पर्धा नेकपा एमालेसँग हो । नयाँ वा पुरानो कुनै दलसँग प्रतिस्पर्धा गर्नुपर्ने छैन मात्र एमालेसँग हो,’ उनले भने । गत निर्वाचनमा वाम गठबन्धनको विरुद्धमा बागी उम्मेदवार खडा गरिएकाले पनि कांग्रेसको उम्मेदवार पराजित भएको उनको भनाइ छ । यसपटक सबै दलका सिंगल-सिंगल उम्मेदवार उठेकाले कांग्रेसले जित हासिल गर्ने उनको दावी छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत निर्वाचनमा धेरै मत लिए पनि आफ्नो जित सुनिश्चित रहेको राईले जिकिर गरे ।  नेकपा एमालेले भने दुई पटक विजयी भइसकेका उम्मेदवार राजेन्द्र राईलाई उठाएको छ । राई धनकुटाबाट तीन पटक चुनाव लडिसकेका नेता हुन् । २०७० को संविधान सभा निर्वाचनमा पराजित भएपनि उनले २०७४ र २०७९ को निर्वाचनमा जित हासिल गरेका थिए । गत निर्वाचनमा राईले ३० हजार १०१ मत प्राप्त गरेका थिए । राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीसमेत भइसकेका छन् । धनकुटाको मतदातालाई रिझाउन सकेकै कारण उनी दुई पटक निर्वाचित भएका हुन् । राई २०४७ सालमा अनेरास्ववियूको धनकुटा अध्यक्ष थिए । एमालेका तर्फबाट २०४९ मा तत्कालीन जिल्ला विकास समिति सदस्य बनेका उनी २०५४ मा जिविस उप-सभापतिसमेत भएका थिए ।  २०६४ पछि तीन पटक गरी करिब १३ वर्ष जिल्ला अध्यक्ष भएर पार्टीमा काम गरेको अनुभव राईसँग छ । राईले निर्वाचित भएर गएपछि विकासका काम धेरै गरेकाले उनीप्रति धेरै मतदाताहरू आशावादी रहेकाे एमालेका नेताहरू बताउँछन् ।  तर कर्मचारीवृत्तमा भने राईको छवि राम्रो देखिँदैन । दुई वर्षअघि उनले पाख्रिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेललाई ज्यान मार्ने धम्कीसमेत दिएका थिए । राईले पौडेलको अस्तित्व समाप्त पारिदिने धम्की दिएको अडियो सार्वजनिक भएको थियो । यद्यपि पार्टीले उनै राईलाई पुनः टिकट दिएको छ । उनी अहिले मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन् । राईलाई तेस्रोपटक विजयी गराउन धनकुटा एमालेले वडा-वडामा निर्वाचन कमिटी बनाएर प्रचारप्रसार अभियान सुरु गरिसकेको एमाले धनकुटा जिल्ला कमिटीका अध्यक्ष शिव आङ्ला लिम्बु बताउँछन् । एमालेको उम्मेदवारले हार्नुपर्ने कुनै कारण नभएको उनले दाबी गरे ।  ‘अन्य राजनीतिक दलका कार्यकर्ताहरू पनि एमालेमा प्रवेश गर्न थालिसकेका छन् । राम्रो उम्मेदवार भएकैले अरू दलका कार्यकर्ता एमालेमा आकर्षित भएका छन्,’ अध्यक्ष लिम्बु भन्छन्, ‘जिल्लाभरका अधिकांश मतदाताहरू हाम्रो उम्मेदवारप्रति सकारात्मक छन् । हाम्रो उम्मेदवार विजयी हुनेमा सतप्रतिशत ढुक्क छौं ।’ गत निर्वाचनमा अन्य दलले गठबन्धन गर्दा पनि जित्न सफल भएको उनले स्मरण गराए ।  ‘फागुन २१ गते हुने निर्वाचनमा सबै दलका उम्मेदवारहरू सिंगल-सिंगल चुनावी मैदानमा छन् । सहजै विजयी हासिल गर्नेमा हामी विश्वस्त छौं,’ उनले प्रस्ट पारे । एमालेको उम्मेदवारसँग प्रतिस्पर्धा गर्न अन्य दलका उम्मेदवार नभएको लिम्बुले जिकिर गरे । ‘हाम्रो प्रतिस्पर्धा भयो भने कांग्रेसको उम्मेदवारसँग मात्र हुन्छ । नयाँ दलका कुनै पनि उम्मेदवारसँग प्रतिस्पर्धा हुन्न । हामीसँग प्रतिस्पर्धा गर्ने कुनै पनि योग्य उम्मेदवार देखा परेका छैनन्,’ उनले सुनाए । रास्वपाको तर्फबाट उम्मेदवार दिनेश भण्डारी छन् । २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाले धनकुटामा उम्मेदवार उठाएको थिएन ।  धनकुटा रास्वपाका सभापति बालानन्द दाहालले पार्टीले तोकेको उम्मेदवारीलाई विजयी बनाउने गरी चुनावी प्रचारप्रसार गरिरहेको बताए । मतदाताको प्रतिक्रिया सकारात्मक पाइएकाले रास्वपा उम्मेदवारले राम्रो मत प्राप्त गर्न सक्ने उनको बुझाइ छ । ‘मतदातालाई पटक-पटक झुक्याउने काम भएको छ,’ उनले भने, ‘पुराना दलले मतदातालाई झुक्याएको कारण हाम्रो दलप्रति धेरै मतदाताहरू सकारात्मक रहेका छन् ।’ ‘रास्वपासँग ठूला दलका उम्मेदवारहरू आत्तिएका छन् । हाम्रो उम्मेदवारको प्रतिस्पर्धा ठूला दलसँग हुनेछ,’ उनको दाबी छ । क-कसले दिए उम्मेदवारी ? नेकपा एमालेबाट राजेन्द्र राई, नेपाली कांग्रेसबाट दिनेश राई, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट धर्मराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विभत्सु थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दिनेश भण्डारी, जनता समाजवादी पार्टीबाट निशान राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट रविवन कुमार राई, जनता समाजवादी पार्टी नेपालबाट आइतराज लिम्बु, राष्ट्रिय परिवर्तन पार्टीबाट शालिकराम राई, मंगोल नेशनल अर्गनाइजेशनबाट सागर राईले उम्मेदवारी दर्ता गराएका छन् । मनकुमार योञ्जन, जीतेन्द्र राई, गंगाराम गोम्देन र लाक्पा तामाङले स्वतन्त्र उम्मेदवारी दिएका छन् । जिल्ला निर्वाचन कार्यालय, धनकुटाका अनुसार १ लाख १८ हजार ४२५ मतदाता रहेका छन् । ११९ वटा मतदानस्थल र १६६ वटा मतदान केन्द्र रहेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईंलाई प्रश्न– झापामा सुरक्षा चुनौती बढेकै हो ?

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, झापाले सोमबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल या उम्मेदवारलाई जुलुस र घरदैलो नगर्न निर्देशन दियो । फागुन ३ गतेसम्म कुनै राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस तथा आमसभा गर्न नपाउने भएका छन् । यही सिलसिलामा झापामा निर्वाचनको माहोल बढिरहँदा जुलुसजस्ता अन्य गतिविधि गर्न नपाउने भएपछि विकासन्युजले झापाका सहायक जिल्ला प्रमुख अधिकारी तेज प्रकाश प्रसाईंसँग गरेको संक्षिप्त संवाद गरेको छ । अहिले पनि झापाका विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवारहरू बिहानदेखि मतदातासँग भेटघाट गरिरहनु भएको छ ? निर्वाचन आयोगले सबै राजनीतिक दलका उम्मेदवारसँग निर्वाचन आचार संहिताको विषयलाई लिएर पर्याप्त छलफल गरेको थियो । तर राजनीतिक दलले निर्वाचन आचारसंहिता पालना नगरेकाले जिल्ला प्रशासन कार्यालयले बाध्य भएर विज्ञप्ति निकाल्नु परेको हो । झापा जिल्लाको चुनावी माहोल हेर्दा सुरक्षाको दृष्टिकोणले अलिक संवेदनशील जस्तो देखिएको छ । सुरक्षाको दृष्टिकोणले अति संवेदनशीले मतदानस्थलसमेत बढेका छन् । यसरी विज्ञप्ति निकाल्नुमा हामीले कसैलाई अवरोध गर्नु होइन । दलले गरेको वाचाहरू पुरा गर्नलाई स्मरण मात्र गराएका हौं । उम्मेदवारहरूको सुरक्षा र गर्न नसकेकाले नै जुलुस तथा घरदैलो कार्यक्रम रोक्न निर्देशन दिनु भएको हो ? निर्वाचनका लागि दलका उम्मेदवारले प्रारम्भिक घरदैलो सुरु गरिसकेका छन् । धेरै स्थानीयले विभिन्न दलका उम्मेदवारले घरदैलो अभियान चलाइसकेको भनेर खबर गर्ने गरेका छन् । यहाँ त्यस्तो छिटफुट घटना घटेमा हामी जिम्मेवार हुँदैनौं भनेर फोनमार्फत जानकारी गराउने कार्य भइरहेको छ । बाटो छेकेर सभा वा भेला गर्ने गरेको सुरक्षाको संवेदनशीलतालाई ख्याल गरेर हामीले सुरक्षा संवेदनशीलतालाई ध्यान दिएका हौं । निर्वाचन आचारसंहितालाई देखाएर उम्मेदवारको स्वतन्त्र रूपमा हिँडडुल गर्न पाउने अधिकार रोक्न मिल्छ र ? उम्मेदवारलाई हामीले स्वतन्त्र रूपमा हिँडडुल गर्न रोकेका छैनौं । विभिन्न दलका उम्मेदवारलाई निर्वाचन आयोगले दिएको निर्देशनअनुसार मात्र काम गर्नलाई निर्देशन दिएका छौं । दलले जारी गरेको घोषणापत्र निर्वाचन आयोगको निर्वाचन अधिकृत कार्यालयमा बुझाएपछि मात्र उम्मेदवारले घरदैलो गर्न पाउँछन् । धेरै उम्मेदवारहरूले अहिले घरदैलो कार्यक्रम गर्न थालिसक्नु भएको छ । हामीले निर्वाचन आचारसंहिता मात्र पालना गर्न भनेका छौं । दलले आफ्नो पार्टीको कमिटी गठन गर्न विभिन्न भेटघाट गर्न पाउने छन् । दलका सामान्य भेटघाटलाई हामीले रोक्न मिल्दैन ।  झापामा सुरक्षा चुनौती बढेकै हो ? निर्वाचनको सुरक्षालाई लिएरमा झापामा जोखिम बढेकै छ । कता–कता दलको गतिविधिलाई लिएर हामीले अलिक शंकास्पद दृष्टिले हेरिरहेका छौं । सुरक्षालाई हामीले एकदमै ध्यान दिएका छौं । निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न र भयरहित वातावरणमा होस भनेर हामीले अगाडिबाट सचेत गराएका छौं । यसपालिको निर्वाचनमा झापामा अति संवेदनशील मतदानस्थलको संख्या वृद्धि भएको छ । सम्भावित दुर्घटना हुन नसकोस भनेर हामीले विभिन्न सुरक्षाका रणनीति अपनाएका छौं । निर्वाचनमा सहभागी दललाई संयमित हुन पनि आग्रह गरिरहेका छौं । झापामा २८५ वटा मतदान स्थल र ८१५ मतदान केन्द्र रहेका छन् । सामान्य मतदान स्थल ४३, संवेदनशील १४७ र अति संवेदनशील ९५ मतदानस्थल रहेका छन् ।

सुनसरी ४ मा पूर्वमन्त्रीको भीडन्त : ह्याट्रिक दौडमा कार्की र बदला लिने दाउमा जगदीश

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले घरदैलो अभियान तीव्र पारेका छन् । हाल उनीहरू मतदाताको घरदैलो कार्यक्रममा व्यस्त छन् ।  सुनसरीको क्षेत्र नम्बर ४ मा पनि चुनावी चहलपहल बढ्दै गइरहेको छ । यहाँ नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीले टिकट पाएका छन् । २०७९ र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कार्की सोही क्षेत्रबाट विजयी भएका थिए । दुई पटक निर्वाचित भइसकेका कार्की फागुन २१ गते हुने निर्वाचनमा ह्याट्रिक बनाउने तामझामसहित चुनावी मैदानमा कार्की कस्सेर लागिपरेका छन् । गत निर्वाचनमा कार्कीले ३० हजार ४८३ मत प्राप्त गरी विजयी भएका थिए । उनी तत्कालीन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धनको उम्मेदवार थिए । पार्टी र सत्तामा पहुँच राख्दै आइरहेका खोज्ने कार्की लाई गत निर्वाचनमा जस्तो सहज छैन । गठबन्धन हुँदा पनि उनी नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतसँग झिनो मतान्तरले मात्र विजयी भएका थिए । ४ नम्बर क्षेत्रका स्थानीयहरू उनलाई पर्यटक उम्मेदवार भन्ने गर्दछन् । भोजपुरमा पटक–पटक पराजित भएपछि कार्की सुनसरीतिर झरेका थिए ।  २०५१, २०५६ र २०६४ सालका तीनपटक चुनाव लडे पनि उनी पराजित भए ।  पहाडबाट तराई झरेसँगै उनी दुईपटक निर्वाचित भइसकेका छन् । स्थानीयहरू कार्कीसँग असन्तुष्ट छन् । दुई–दुई पटक सांसद भइसक्दा पनि केही गर्न नसकेको गुनासो उनीहरूको छ । घरदैलो अभियान व्यस्त कार्कीले हाल मतदाताहरूको प्रश्नको सामना गरिरहेका छन् ।  ४ नम्बर क्षेत्रबाट जितेर गएका व्यक्ति देशको प्रधानमन्त्री र मन्त्री बनिसके पनि यस क्षेत्रको विकास र समृद्धिमा नेताले ध्यान नदिएको मतदाताहरूले आरोप लगाउने गरेका छन् । अहिलेको चुनावी घरदैलो कार्यक्रममा पहिलाजस्तो छैन । मतदाताहरूले उम्मेदवारहरूलाई विभिन्न प्रश्न गर्न थालेका छन् । धेरैले ‘पुरानाले केही गर्न सकेनन्’ भनी परिवर्तनलाई आत्मसाथ गर्नुपर्छ भन्दै आएको सुनिन्छ । सुनसरी ४ मा यसपटक कार्कीले पाइरहेको मत अन्यत्र जान सक्ने सम्भावना धेरै छ । किनभने स्थानीय स्तरका नेताहरूले टिकट नपाएकाले धेरैजना उनीप्रति रुष्ट बनेका छन् । नेपाली कांग्रेसमा नेतृत्त्व परिवर्तन भएको छ । गगन थापा सभापति भएका छन् । प्रतिनिधि सभाको निर्वाचन दिने टिकटमा उनै थापाले हस्ताक्षर गरेका छन् । यद्यपि कार्की विशेष महाधिवेशनको विपक्षमा थिए । उनी देउवा समूहमा भए पनि टिकट पाएका छन् । कार्यकर्ता र मतदाताले साथ दिएमा ४ नम्बर क्षेत्रमा पुनः ह्याट्रिक गर्ने प्रयासमा उनी छन् । यसैगरी, एमालेले पनि पुनः गत प्रतिनिधि सभाको निर्वाचनमा पराजित उम्मेदवारलाई दोहोर्याएको छ । कोशी प्रदेशका पूर्व वन वातावरण तथा पर्यटनमन्त्री जगदीशप्रसाद कुसियैत चुनावी मैदानमा छन् । एमालेले उनलाई अन्तिम समयमा आएर टिकट प्रदान गरेको थियो । उनको ठाउँमा कांग्रेसबाट एमालेमा प्रवेश गरेका आब्बुल हुसेन अन्सारीलाई उम्मेदवारीको टिकट दिएको थियो । हुसेन कांग्रेसबाट टिकट नपाएपछि एमाले प्रवेश गरेका थिए । जगदीशको क्षेत्र र जिल्लाबाट एकल नाम सिफारिस भएको थियो । एकल नाम सिफारिस हुँदा पनि पार्टी फेरेर आएकालाई उम्मेदवार बनाइएको भन्दै उनी आक्रोशित बनेका थिए ।  पार्टीले सुरुमा कुसियैतलाई नै टिकट दिएको थियो । पछि एमालेमा प्रवेश गरेका हुसेनलाई टिकट दिएपछि सुनसरी एमालेमा तरंग फैलियो । चौतर्फी विरोधस्वरूप भएपछि कुसियैतले टिकट पाएका छन् ।  पार्टीले पनि यसवर्ष नेपाली कांग्रेसको उम्मेदवार कार्र्कीलाई टक्कर दिनसक्ने उम्मेदवारको रूपमा ठानेर उनैलाई टिकट दियो । २०७९ को निर्वाचनमा मात्र ११२ मतले कुसियैत पराजित भएका थिए । उनले ३० हजार ३७१ मत प्राप्त गरेका थिए । सुनसरी– ४ कुसियैतको स्थानीय क्षेत्र भएकाले पनि उनलाई यस पटकको निर्वाचनमा मत प्राप्त गर्न कुनै कठिनाइ नहुने बुझिएको छ । उक्त निर्वाचन क्षेत्रमा कुसियैत समुदायका मानिसहरूको बाहुल्याता रहेको छ ।  गत निर्वाचनमा भन्दा एमालेको मत बढ्ने अपेक्षा पनि गरिएको छ । भर्खरै पार्टी परिवर्तन गरेका अब्दुल हुसेनका कारण कांग्रेसको मत कुसियैततर्फ जानसक्ने आंकलन स्थानीयस्तरमा हुन थालेको छ । प्रदेश सभामा निर्वाचित भएर गइसकेका कारण पाउने मत नहराउनेमा उनी विश्वस्त छन् । हेभीवेटको उम्मेदवार भएकाले कांग्रेसको जित पक्का नेपाली कांग्रेसका ४ नम्बरको क्षेत्रीय सभापति ऐयुब अन्सारीले यस पटकको निर्वाचनमा सहजै जित हासिल गर्ने बताए । ‘नेपाली कांग्रेसका उम्मदेवार मत माग्न घरदैलोमा लागिसक्नु भएको छ,’ उनले भने, ‘पटक–पटक जितेको उम्मेदवार हुनु भएकाले हाम्रो उम्मेदवारको विजयी हुने विश्वास छ ।’ धेरै उम्मेदवार उठेकाले मत विभाजन हुने भएकाले कांग्रेसको उम्मेदवारलाई फाइदा हुने देखिएको उनले बताए । ‘कांग्रेसले उठाएको उम्मेदवार हेभीवेटको हुनुहुन्छ र मन्त्रीसमेत भइसकेकाले यसपटक पनि यहाँको मतदाताले उहाँलाई विजयी गराउनु हुने कुरामा म ढुक्क छु,’ अन्सारीले भने । कांग्रेसको नेतृत्व फेरिएकाले हाम्रो उम्मेदवारले मत बढाउने उनको भनाइ छ । कांग्रेसको उम्मेदवारप्रति बाहिर कहीँ कतै नकरात्मक टिप्पणी नआएको उनको दावी छ ।  यसपटकको जित एमालेकै हो एमाले रामधुनी नगरपालिका नगर कमिटी सचिवालय  सदस्य कमल कार्कीले गत निर्वाचनमा एमालेको उम्मेदवार झिनो मतले पराजित भएकाले यसपटक विजयी हुने विश्वास व्यक्त गरे ।  अहिले एमालेका संगठित कार्यकर्ताहरू टोल–टोलमा आफ्नो उम्मेदवारलाई कसरी विजयी गराउने भनेर गृहकार्य गरिरहेको उनले बताए । ‘गत निर्वाचनमा कसरी एमालेका उम्मेदवार पराजित भए त्यसको समीक्षा गरेर अगाडि बढ्नेछौ,’ उनले भने, ‘हाम्रा कमजोरी कहाँ–कहाँ भए त्यसको पहिचान गरेर उम्मेदवारलाई विजयी बनाउने छौं ।’ कांग्रेसका उम्मेदवारप्रति यस क्षेत्रका मतदाता सन्तुष्ट नभएकाले एमालेको उम्मेदवारको विजयी सुनिश्चित भएको उनले दाबी गरे । ४ नम्बर क्षेत्रमा नयाँ दलले पुराना दलका उम्मेदवारलाई चुनौती दिन नसक्ने उनको ठहर छ । ‘एमालेको उम्मेदवारले पाउने मत यसपालि बढ्नेछ,’ नगर कमिटी सचिवालय सदस्य कार्की भन्छन्, ‘मत बढ्नु भनेको हाम्रो जित सुनिश्चित हो । एमालेबाट निर्वाचित स्थानीय तहका उम्मेदवारले कहाँ-कहाँ के-के  विकास त्यसको समीक्षा भइरहेको छ ।’ स्थानीय तहमा एमालेका जनप्रतिनिधिले विकासका मुद्दालाई लिएर उठाएकाले यस क्षेत्रमा एमालेको उम्मेदवारले जित्ने विश्वास व्यक्त गरे । अन्य को–को छन् उम्मेदवार ? महमद महफुज अन्सारी नेपाल कम्युनिष्ट पार्टी, दीपक कुमार साह रास्वपा, प्रेमप्रसाद भट्टराई राप्रपा, सबिता यादव जनता समाजवादी पार्टी, नेपाल,  कपलेश्वर यादव जनमत पार्टी, चन्चला न्हिसुतु नेपाल मजदुर किसान पार्टी, मनकुमार राई मंगोल नेशनल अर्गनाइजेशन, रमेश कुमार शाह नेपाल जनता पार्टी, सत्य नारायण लहुटिया नेपाल कम्युनिष्ट पार्टी संयुक्त, एयुव अंसारी समावेशी समाजवादी पार्टी नेपाल, मो सदिक मिया संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, विष्णुर राना श्रम संस्कृति पार्टी,  भेषराज बजगाई नेपाल कम्युनिष्ट पार्टी माओवादी, समिद खान राष्ट्र निर्माण दल नेपाल, तवरेज आलम अंसारी आम जनता पार्टी, शर्मानन्द खतिवडा स्वतन्त्र, तेजनारायण गोईत स्वतन्त्र, बुधेश्वर यादव स्वतन्त्र, मो गुलाब अंसारी स्वतन्त्र, पार्वती मुखिया स्वतन्त्र, मो तजमुल मिया स्वतन्त्र, अंकित कार्की स्वतन्त्र, हरि पराजुली स्वतन्त्र, महेन्द्र सुनचौरी स्वतन्त्र, रोजन विश्वकर्मा स्वतन्त्र, देवनारायण महत्तो स्वतन्त्र, कुन्दन कौसिक स्वतन्त्र, जलाल मिया स्वतन्त्र, फुल कुमारी खान स्वतन्त्र, उपेन्द्र कुमार साह स्वतन्त्र र स्वतन्त्र यमुना केसी लगायतका उम्मेदवार छन् । सुनसरी निर्वाचन कार्यालयका अनुसार ४ नम्बर क्षेत्रमा ४२ वटा मतदानस्थल छन् । १५० वटा मतदान केन्द्र रहेका छन् ।  उक्त क्षेत्रमा कोशी गाउँपालिकाको १ देखि ७ नम्बर वडा,  बराहक्षेत्र नगरपालिकाको ६ देखि ११ नम्बर वडा, रामधुनी नगरपालिका ४,  इनरूवा नगरपालिकाको ३,४ र ८ नम्बर वडा, भोक्राहा नरसिंह गाउँपालिकाको १ देखि ८ नम्बर वडा र हरिनगर गाउँपालिकाको १, २, ४, ५,६ र ७ नम्बर वडा पर्छन् ।

बैतडीमा मन्त्रीदेखि पूर्वप्रधानमन्त्रीका छोरासम्म चुनावी मैदानमा, कसले मार्ला बाजी ?

काठमाडौं । यति बेला देशभर निर्वाचनको रौनक बढ्दै गइरहेको छ । विभिन्न राजनीतिक दलका उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त छन् । आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा सुदूरपश्चिमको बैतडीको चुनावी माहोल पनि झनै तातेको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा दुई पटक मन्त्री र एक पटक राज्यमन्त्री बनेका उम्मेदवारदेखि पूर्वप्रधानमन्त्रीका छोरासम्म चुनावी मैदानमा छन् । उसो त बैतडी नेपाली कांग्रेस र नेकपा एमालेको बलियो आधार भएको किल्ला हो । एमालेले पूर्वउद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं केन्द्रीय सदस्य दामोदर भण्डारीलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई मैदानमा उतारेको छ । भण्डारी दुईपटक उद्योग तथा वाणिज्य आपूर्तिमन्त्री समेत भइसकेका छन् । बैतडीको पाटन घर भएका उनी २०७० देखि सो क्षेत्रमा जित्दै आएका छन् ।  २०७० सालको निर्वाचनमा भण्डारी बैतडी १ बाट नरेन्द्र कुँवरलाई पराजित गरेका थिए । त्यतिबेला बैतडीमा २ वटा निर्वाचन क्षेत्र थिए । पछि २०७४ सालमा भने एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रको तालमेल भएका थियो जसमा उमेदवार दामोदर नै रहेका थिए ।  २०७४ सालको निर्वाचनमा भण्डारीले कांग्रेसका नरबहादुर चन्दलाई ११ हजार २३३ मतान्तरले पराजित गरेका थिए । भण्डारीले ३९ हजार ५२४ मत ल्याउँदा चन्दले २८ हजार २९१ मत मात्रै पाएका थिए । त्यसपछि २०७९ को प्रतिनिधि सभा निर्वाचनमा भण्डारीले ३३ हजार ६११ मत प्राप्त गरेका थिए भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका नरेन्द्र कुँवरले ३२ हजार ८० मत पाएका थिए । कुँवरलाई एक हजार ५३१ मतले पछि पार्दै भण्डारीले निर्वाचन जितेका थिए ।  २०७० सालदेखि निरन्तर तीन पटक चुनाव जितेका भण्डारी यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । १० स्थानीय तह, ८४ वडा र १२९ बुथहरूमा एमालेको विजय अभियान लिएर आफू घरदैलो अभियानमा होमिएको भण्डारीको भनाइ छ । उनले आफ्नो कार्यकालमा बैतडीमा विकासको ठोस आधार तयार भएको दाबी गरे ।  १० वटै पालिका केन्द्र जोड्ने सडकको आधारभूत रूपरेखा आफ्नै पालामा तयार भएको जिकिर उनको छ । त्यसैगरी, जिल्लाभर तीव्र रूपमा विद्युतीकरणको काम अघि बढेको पनि उनले बताए । त्यस्तै, तीनवटा आङ्गिक क्याम्पसको स्थापना, विद्यालयमा भौतिक पूर्वाधार सुधार र जिल्ला अस्पताललाई विशेषज्ञ सेवासहितको बनाउने कार्य आफ्नो पालामा अघि बढेको उनले सुनाए । ‘हामीले धेरै कामको सुरुवात गरेका छौं, अब त्यसलाई तार्किक निष्कर्षमा पुर्‍याउनु छ,’ भण्डारीले विकासन्युजसँग भने ।  उनले आफ्नो आगामी कार्यकालको पहिलो प्राथमिकतामा अघिल्ला कार्यकालमा सुरु भएका तर सम्पन्न हुन बाँकी रहेका अधुरा योजनाहरूलाई पूरा गर्ने दावी गरे ।  जनताले भोग्दै आएको प्रशासनिक झन्झट र सेवा प्रवाहमा देखिएका कमजोरीहरूप्रति भण्डारी सचेत रहेको बताउँछन् । उनी भन्छन, ‘अहिलेको प्रशासनिक स्वरूपमा रहेका कमजोरीका कारण जनताले चाहेजस्तो सेवा पाउन सकेका छैनन् । एमालेको बहुमतको सरकार बनेपछि सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउनु हाम्रो मुख्य उद्देश्य हुनेछ ।’ भण्डारीका अनुसार सबै वडामा व्यवस्थित सडक सञ्जाल पुर्याउने विशेषज्ञ सेवासहितको जिल्ला अस्पताल, जनमुखी र झन्झटरहित प्रशासनिक सेवा तथा भौतिक संरचना र जनशक्तिको उचित व्यवस्थापनलगायत एजेण्डा अघि सारिएको छ । नेपाली कांग्रेसले भने भण्डारीको विरासतलाई टक्कर दिन यसपटक बैतडीका नेता तथा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई मैदानमा उतारेको छ । उनी सहिद दशरथ चन्दका नाति हुन् । शिक्षक संघको राजनीतिबाट उदाएका चन्द पहिलोपटक चुनावी मैदानमा होमिएका हुन् । उनी बैतडी जिल्ला सभापतिसमेत हुन् । बैतडीमा चन्दको पडक राम्रो रहेको धेरैको बुझाइ छ । तीन दशकदेखि क्रिकेटको विकासमा लागिपरेका चन्द जित्ने दाउमा छन् । सहिद दशरथ चन्दको विरासत जोगाउने मेसोमा चन्द बैतडीबाट चुनाव लड्न पाउनुलाई चन्दले आफ्नो लागि ऐतिहासिक अवसर रहेको बताउँछन् । उनी भन्छन्, ‘म पार्टीमा पुरानो भए पनि जनताको मत माग्न पहिलोपटक आएको छु । बैतडीले पटक-पटक मन्त्री त पायो, तर विकास र न्याय पाएन । अबको लडाइँ बैतडीको स्वाभिमान र समग्र समृद्धिका लागि हो ।’ दशरथचन्द नगरपालिका घर भएका चन्द बैतडीको विकास इच्छाशक्तिको कमीले रोकिएको दावी गर्छन् । ‘महाकाली नदीको झुलाघाटमा पक्की पुल बन्नुपर्ने ३० वर्ष पहिले नै हो । तर पुराना प्रतिनिधिहरूको प्राथमिकतामा यो परेन । बैतडीबाट भइरहेको पलायन र बाँझिदै गएका खेतबारी रोक्न कनेक्टिभिटी अनिवार्य छ,’ उनी भन्छन् ।  धार्मिक पर्यटनको प्रचुर सम्भावनालाई उजागर गर्दै बैतडीलाई राष्ट्रिय मूलधारमा जोड्ने उनको मुख्य एजेण्डा छ । आफ्नो राजनीतिक दर्शन ‘सामाजिक न्याय’ मा आधारित रहेको बताउँदै चन्द भन्छन्, ‘अहिले शक्तिको आडमा कार्यकर्ता पोस्न सामुदायिक भवन बनाउने चलन छ, जहाँ स्कुलको भवन आवश्यक छ । नेताले चाहेको विकास होइन, जनताले खोजेको विकास मेरो प्राथमिकता हो ।’ बैतडीमा योग्य र शक्तिशाली प्रतिनिधित्वको अभाव रहेको चन्दको दावी छ । ‘म केन्द्रसँग विकास खोसेर ल्याउन सक्ने क्षमता राख्छु । म परिणाम दिन आएको हुँ, समय कटाउने खेलोमा लाग्दिनँ,’ उनले भने । अरु प्रतिस्पर्धीहरूको तुलनामा आफूले धेरै काम गरेको उनी बताउँछन् ।  ‘म क्रिकेट संघमा हुँदा नेपालले दुई पटक विश्वकप खेल्ने अवसर पायो । शिक्षक संघमा हुँदा ५४३ विद्यालयको शैक्षिक सुधारमा काम गरें । मसँग अनुभव र विज्ञता दुवै छ । मलाई समस्या बुझ्न अध्ययन गरिरहनु पर्दैन, म आफै त्यो भोगाइबाट आएको मान्छे हुँ,’ उनले भने । उनी अमर सहिददशरथ चन्दका नाति हुन् । सहिदको जन्मघरको संरक्षण उनले गर्दै आएका छन् । २० वर्षदेखिको प्रतीक्षामा रहेको झुलाघाट पक्की पुलको निर्माण सम्पन्न गर्ने, बैतडीलाई सुदूरपश्चिमकै शैक्षिक र खेलकुद हब बनाउने, बाँझो जमिन उपयोग गरी पलायन रोक्ने तथा पहुँचको आधारमा नभई आवश्यकताका आधारमा बजेट वितरण गर्ने लगायतका एजेण्डा चन्दले अघि सारेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट एमाले उम्मेदवार भण्डारीकै नाता पर्ने हरिमोहन भण्डारी मैदानमा छन् । दामोदर र हरिमोहन पाटन नगरपालिकाका एउटै गाउँका भण्डारी बन्धु हुन् । हरिमोहनले २०७९ सालको प्रदेशसभा निर्वाचनमा प्रदेशसभा (क) बाट स्वतन्त्र उम्मेदवारी दिँदै ११ हजार १८ मत प्राप्त गरेका थिए । उनी एमालेका उम्मेदवार तथा जिल्ला अध्यक्ष सुरेन्द्रबहादुर पालसँग पराजित भएका थिए । स्वतन्त्र उम्मेदवार भएर पनि उल्लेख्य मत प्राप्त गर्न सफल भण्डारीको राजनीतिक प्रभाव भने कमजोर नरहेको स्थानीयहरू बताउँछन्।  २०७४ सालको निर्वाचनमा हरिमोहन नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा उनले १५ हजार १२६ मत प्राप्त गरे पनि तत्कालीन नेकपा माओवादी केन्द्रका प्रेमप्रकाश भट्टसँग पराजित भएका थिए । लगातार दुई निर्वाचनमा पराजय भोगेका हरिमोहन यसपटक भने आफू जित्ने दावी गर्छन् । विद्यमान राजनीतिक अभ्यासप्रति असन्तुष्टि जनाउँदै हरिमोहन नयाँ सोच र जवाफदेही राजनीति हुनुपर्नेमा जोड दिन्छन्  । उनले सुशासन, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र संस्थागत सुधारलाई आफ्नो प्रमुख राजनीतिक एजेण्डा बनाएका छन् । हरिमोहन पूर्वाधार विकास, कृषि क्रान्ति, पर्यटन प्रवद्र्धन, स्वास्थ्य सेवा सुधार र रोजगारी सिर्जना अब भाषणमा सीमित नभई कार्यान्वयनको चरणमा पुग्नुपर्ने बताउँछन् । ‘विगतका मन्त्री र उम्मेदवारहरूले जस्तो खोक्रो आश्वासन दिने होइन, त्यसलाई पूर्ण रूपमा पूरा गर्ने राजनीति मेरो बाटो हो,’ हरिमोहनले भने । परम्परागत दलहरूको असफलता र त्यसबाट जनतामा पैदा भएको निराशालाई चिर्दै नयाँ सोच, नयाँ शैली र जवाफदेही राजनीतिक अभ्यासमार्फत मात्र परिवर्तन सम्भव हुने उनले दावी गरे ।  ‘जनताको बहुमतबाट निर्वाचित हुनेमा म पूर्ण विश्वस्त छु,’ उनले भने । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई उनले केवल विरोधको कार्यक्रम नभई दशकौंदेखि मौलाउँदै आएको सिन्डिकेट, भ्रष्टाचार र अवसरविहीनताको विरुद्धको ऐतिहासिक संघर्षको संज्ञा दिए । हरिमोहन पनि बैतडीको राजनीतिमा परिचित र प्रभावशाली नेताका रूपमा चिनिँदै आएका छन् । यसपटक चन्द र दुई भण्डारीबीच नै कडा टक्कर हुने धेरैको आँकलन छ ।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले परमान्नद भट्टलाई मैदानमा उतारेको छ । उनी चुनावी मैदानमा पहिलो पटक होमिएका हुन् । सुर्नयाँ गाउँपालिकाका भट्टलाई जिल्लामा बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको छ । आफू बैतडीमा लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय रहेको उनको भनाइ छ । एमाले बैतडीका संस्थापक नेतासमेत रहेका भट्ट यसअघि जिल्ला विकास समितिको सभापतिको जिम्मेवारी पनि सम्हालेका थिए । उम्मेदवार भट्टले निर्वाचन जितेपछि बैतडीको समग्र विकासलाई प्राथमिकतामा राख्दै सडक, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा ठोस पहल गर्ने बताए । ‘बैतडीलाई पछि पारिएको जिल्लाको रूपमा होइन, सम्भावनायुक्त जिल्लाको रूपमा स्थापित गर्ने मेरो लक्ष्य हो । यसअघि बैतडीले प्रधानमन्त्री, मन्त्री पायो तर विकास पाएन । हामी बन्न आएका होइनौं, बनाउन आएका हौं,’ भट्टले विकासन्युजसँग भने । उनी पनि यति बेला घरदैलो अभियानमा व्यस्त छन् ।  यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भूपेन चन्दलाई मैदानमा उतारेको छ । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका कान्छा छोरा भूपेन पाइलट, आईटी इन्जिनियर र कलाकार पनि हुन् । उनको उम्मेदवारीले जिल्लाका स्थापित र हेभीवेट नेताहरूलाई बलियो चुनौती दिने आँकलन देखिएको स्थानीयहरू बताउँछन् । लामो समय विदेशमा विज्ञता हासिल गरेर स्वदेश फर्किएका चन्द अहिले राजनीतिको माध्यमबाट देशको सेवा गर्ने अठोटका साथ चुनावी मैदानमा होमिएका हुन् । चन्दको चुनावी अभियानले युवाका मुद्दालाई केन्द्रमा राखेको छ । राप्रपा बैतडीका अध्यक्ष इन्द्रशरण देव भट्टका अनुसार पुराना दल र नेताहरूको कार्यशैलीबाट जनता वाक्क-दिक्क भएकाले नयाँ अनुहारको खोजी भएको हो । ‘विगतमा उहाँहरूले गरेका काम देखेर जनतामा निराशा छ, त्यसैले अहिले मतदाताहरूले परिवर्तन खोजिरहेका छन्,’ भट्टले विकासन्युजसँग भने । ‘जहाँ गए पनि राम्रो उत्साह पाएका छौं, पुराना दलबाट निराश भएका मानिसहरू हामीसँग जोडिइरहनुभएको छ । हाम्रो जित्ने सम्भावना ९० प्रतिशत छ,’ उनले थपे । चन्दले देशमै रोजगारीका अवसर सिर्जना गरी युवाहरूलाई विदेश पलायन हुनबाट रोक्ने, भ्रष्टाचारलाई जरैदेखि उन्मूलन गरी सुशासन कायम गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा ठोस नीति निर्माण गरी कार्यान्वयन गर्नेलगायतका एजेण्डा अघि सारेका छन् । एक दशभन्दा बढी समय विदेशमा बिताएर नेपाल आएका चन्दले देशको लागि केही गर्ने भन्दै चुनावमा होमिएको बताउँछन् ।  उनले भने, ‘पहिलेका बाट पार लाग्ने देखिएन । त्यसैले म चुनावमा होमिएको हुँ । सबैले यसपटक मलाई भोट दिएर जिताउनुहुन्छ भन्नेमा विश्वस्त छु । अब देशलाई पार्टीको कार्यकर्ता होइन, देशको सेवक चाहिएको छ ।’ उनले आफ्ना बुवा तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले प्रधानमन्त्री भएपछि मेचीदेखि महाकालीसम्मका सबै जनता मेरा हुन् भन्ने भावना राखेर अघि बढेको दाबी गरे ।  आफ्नो क्षेत्रलाई मात्र काखी च्यापेर राष्ट्रिय नेता बन्न नसकिने उनको भनाइ छ ।  कस्तो छ निर्वाचन तयारी ? जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख खकेन्द्र भारतीले निर्वाचनका लागि आवश्यक जनशक्ति व्यवस्थापन, मतदान सामग्री र अन्य लजिस्टिक तयारीहरू अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘हाम्रो तयारी अन्तिम चरणमा पुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयदेखि सबैतिर धमाधम काम भइरहेको छ । हामी निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गर्न कटिबद्ध छौं,’ भारतीले विकासन्युजसँग भने ।  भारतीका अनुसार बैतडीमा कुल मतदाता संख्या १ लाख ५६ हजार ३७२ जना मतदाता रहेका छन् । तीमध्ये ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई अन्य मतदाता रहेका छन् । जिल्लाभर १२९ मतदान स्थल र २१४ मतदान केन्द्र तोकिएको छ । जिल्लाभरि रहेका २१४ ओटा मतदान केन्द्रमा १ हजार ४४२ जना कर्मचारी खटाउने तयारी रहेको जिल्ला निर्वाचन कार्यालयको भनाइ छ ।  सुरक्षाको हिसाबले बैतडीका ३३ ओटा मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । जिल्ला सुरक्षा समितिका अनुसार १२९ मतदानस्थलमध्ये ३३ अतिसंवेदनशील, २८ संवेदनशील र ६८ सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ । सुरक्षाका लागि सबै ठाउँमा शान्तिपूर्ण मतदानको व्यवस्था मिलाइएको भारतीको भनाइ छ । ‘हाम्रो लागि सबै मतदान केन्द्रहरू उत्तिकै महत्त्वपूर्ण र सुरक्षित छन्,’ उनले भने, ‘हामीले सबै मतदाताले निर्धक्क भएर मतदान गर्ने वातावरण सुनिश्चित गरेका छौं ।’ बैतडीमा १० वटा राजनीतिक दल र एक जना स्वतन्त्रसहित ११ जनाले मनोनयन दर्ता गराएका छन् ।  एमालेबाट दामोदर भण्डारी, नेपाली कांग्रेसबाट चतुरबहादुर चन्द, जनता समाजवादी पार्टी नेपालबाट आन सिंह भण्डारी, श्रम संस्कृति पार्टीबाट गजेन्द्र राज पाण्डेय, नेपाल मजदुर किसान पार्टीबाट नबराज कोइराला, नेपाली कम्युनिष्ट पार्टीबाट प्रमानन्द भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भुपेन बहादुर चन्द, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट राम बहादुर कुवँर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हरिमोहन भण्डारी, आमजनता पार्टीबाट बिशन सिंह बोहरा तथा जयप्रकाश बोहराले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कोशी प्रदेश : जनजाति प्रतिनिधित्वमा कुन दल कति अगाडि ?

काठमाडौं । नेपाल चार वर्ण छत्तीस जातको साझा फुलबारी हो । नेपाल एकीकरणका नायक राजा पृथ्वीनारायण शाहले भनेको यही भनाइ आज पनि राजनीतिक प्रतिनिधित्व र समावेशिताको बहसमा उत्तिकै सान्दर्भिक छ । यही मर्मलाई आधार मानेर हामीले कोशी प्रदेशबाट संसद भवन पुग्ने अभियानमा रहेका उम्मेदवारहरू कुन दलका र कुन जातीय क्लस्टरका हुन् भन्नेबारेमा खोज्ने प्रयत्न गरेका छौं । हिमाल, पहाड र तराई भूगोल समेटिएको कोशी प्रदेशमा १४ जिल्ला र २५ वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रदेशको कुल जनसंख्या ४९ लाख ६१ हजार ४१२ छ । यसमध्ये करिब ७२ प्रतिशत अर्थात ३५ लाख ७४ हजार ३१० जना मतदाता छन् । तीमध्ये १८ लाख २८ हजार २१३ पुरुष र १७ लाख ४६ हजार ६३ महिला मतदाता रहेका छन् । कोशी प्रदेशको कुल जनसंख्याको ४४ दशमलव ६ प्रतिशत जनजाति समुदायको हिस्सा छ । जनजाति समुदायभित्र राई १० दशमलव २ प्रतिशत, लिम्बु ७ दशमलव ८ प्रतिशत छन् । तामाङ, थारु र मगरको संयुक्त हिस्सा १२ दशमलव ८ प्रतिशत छ भने नेवार, राजवंशी र हिमाली जनजातिको जनसंख्या १२ दशमलव ५ प्रतिशत रहेको छ । यही जनसांख्यिक आधारलाई मध्यनजर गर्दै चार ठूला दलहरूले कोशी प्रदेशमा जनजाति समुदायबाट कति उम्मेदवार उठाए भन्ने तथ्य हामीले खोजेका छौं । नेकपा एमालेले यस प्रदेशमा सबैभन्दा धेरै उम्मेदवार जनजाति समुदायवाट उठाएको छ । उक्त दलका २५ मध्ये १७ जना उम्मेदवार यस प्रदेशमा जनजाति समुदायबाट रहेका छन् । यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले १६ जना र नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १०–१० जना उम्मेदवार जनजाति पृष्ठभूमिका रहेका छन् । एमालेले सबैभन्दा धेरै जनजाति उम्मेदवार उठाएको छ । एमाले कोशी प्रदेशकै सबैभन्दा ठूलो दल पनि हो । एमालेका अधिकांश जिल्लामा जनजाति प्रत्यासी रहेको एमालेका केन्द्रीय सदस्य नरेन्द्र श्रेष्ठले बताए । एमालेले ताप्लेजुङ, पाँचथर, इलामका दुवै निर्वाचन क्षेत्र, झापाका ३ र ४ नम्बर क्षेत्र, मोरङका दुई क्षेत्र, धनकुटा, सुनसरी ३, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा र उदयपुर–२ मा जनजाति उम्मेदवार मैदानमा उतारेको छ । नेपाली कांग्रेसले ताप्लेजुङ, पाँचथर, इलाम–१, झापा–४, सुनसरी–१ र ३, मोरङ–१, खोटाङ र उदयपुर–२ मा जनजाति उम्मेदवार खटाएको छ । कांग्रेस नेता रामहरि खतिवडाले कांग्रेसको जनजाति उम्मेदवारी सीमित भएपनि भूगोलमा फैलिएको जानकारी दिए । नेकपाले संखुवासभा, इलामका दुवै निर्वाचन क्षेत्र, झापा–२ र ५, भोजपुर, सोलुखुम्बु, मोरङका चारवटै र सुनसरीका दुई निर्वाचन क्षेत्र, उदयपुर–२ तथा ओखलढुंगामा जनजाति उम्मेदवारलाई नै प्रत्यासी बनाएको छ । नेकपाले पूर्वी तराई र पहाडमा बलियोगरी जनजाति उम्मेदवार उठाएको तत्कालीन नेकपा माओवादी कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले बताए । समावेशिताको दृष्टिले हेर्दा रास्वपाले संखुवासभा, ताप्लेजुङ र इलामका दुई निर्वाचन क्षेत्रमा जनजाति उम्मेदवार अघि सारेको छ । मोरङ–१, सुनसरी–३ तथा उदयपुरका दुवै निर्वाचन क्षेत्रमा पनि जनजाति उम्मेदवार छन् । तर, झापाबाट भने रास्वपाले कुनै पनि जनजाति उम्मेदवार उठाएको छैन । रास्वपा समावेशितामा सचेत रहेको केन्द्रीय सदस्य निशा डाँगीले बताइन् । कोशी प्रदेशको जनसांख्यिक बनोट हेर्दा जनजाति समुदायको प्रतिनिधित्व राजनीतिको केन्द्रमा हुनु स्वाभाविक देखिन्छ । चार ठूला दलमध्ये एमाले र नेकपाले संख्यात्मक रूपमा अग्रता लिएका छन् भने कांग्रेस र रास्वपाको उपस्थिति तुलनात्मक रूपमा कम छ ।  फुलबारीमा सबै रंगका फूल फुल्नु नै समावेशी लोकतन्त्रको सौन्दर्य हो । अब प्रश्न यही हो—उम्मेदवारीको संख्या मात्र पर्याप्त पक्कै होइन । तीमध्ये जनमतबाट को को अनुमोदित होलान् ? यसको उत्तर फागुनको अन्तिम साताले नै बताउला ।

सुनसरी-२ मा एमालेभित्रको द्वन्द्वले कांग्रेस र रास्वपालाई राहत, यस्तो छ चुनावी अंकगणित

काठमाडौं । सुनसरी २ मा फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन रोचक  हुँदैछ । किनभने गत निर्वाचनमा जस्तै पुराना दलले नयाँ र टेस्टेड उम्मेदवार उठाएका छन् । नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्यका लागि प्रदेश सभा सदस्य भइसकेका राजीव कोइरालालाई उठाएको छ ।  कोइराला जिल्लामा कांग्रेसवृत्तमा राम्रो नेता मानिन्छन् । उनी सुनसरी कांग्रेसको दुई पटक सभापति भइसकेका छन् । गत प्रतिनिधि सभाको निर्वाचनमा २ नम्बर क्षेत्रबाट नेकपा एमालेका भीम आचार्य निर्वाचित भएका थिए । उनले ३२ हजार ८ सय मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका उम्मेदवार सीताराम मेहताले २६ हजार ५८ पाएका थिए । प्रदेश सभाकै निर्वाचनमा कोइरालासमेत पराजित भएका थिए । उनी एमालेका उम्मेदवार रामप्रसाद मेहतासँग पराजित भएका थिए । एमालेका उम्मेदवार मेहताले १८ हजार १९१ मत प्राप्त गरेका थिए । कोइरालाले १७ हजार ६३६ मत प्राप्त गरेका थिए । यतिखेर कांग्रेसका उम्मेदवार कोइरालाले घरदैलो अभियान सुरु गरिसकेका छन् । उनलाई यसपटक प्रदेशसभाको निर्वाचनमा पराजित भएको बदला लिनु छ । कोइराला निर्वाचित भए यात्रा विराटनगरबाट काठमाडौंतर्फ मोडिनेछ । यसअघि उनी प्रदेशसभाका लागि विराटनगर जाने गर्थे । उनी कोशी प्रदेश सभा कांग्रेसबाट संसदीय दलका नेतासमेत भएका थिए । कांग्रेसका कार्यकर्ता तथा शुभ चिन्तकहरूले एमालेले कमजोर उम्मेदवार उठाएकाले पनि राजीव कोइरालाले सहजै जित हासिल गर्ने अनुमान गरेका छन् । २ नम्बर क्षेत्रमा पर्ने रामधुनी नगरपालिकाका कांग्रेस सभापति सुदीप अधिकारी कांग्रेस र रास्वपाको उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने बताउँछन् ।  ‘कांग्रेसको विशेष महाधिवेशनको कारण हामीलाई मतदाताको घरमा जान सहज भएको छ,’ उनले भने, ‘पुराना नेताहरूलाई विशेष अधिवेशनबाट नेतृत्वबाट विदा गरेका छौं भनेर भन्न पाइएको छ । यसपटक कांग्रेसको उम्मेदवार निर्वाचित भएमा युवा नेतृत्वले मुलुक हाँक्न सक्छन् ।’ पार्टीले विवादरहित र निष्कलंक उम्मेदवार उठाएको अधिकारी दाबी गर्छन् । उनले भने, ‘अन्य दलका व्यक्तिहरू पनि कांग्रेसको उम्मेदवारप्रति सकारात्मक रहेको पाइएको छ । प्रदेश सभा सदस्य भइसकेको र दुई पटक जिल्ला सभापति भइसकेकाले उहाँप्रति सबैको भरोसा छ ।’ कार्यकर्ताहरूले मिहिनेत गरेमा यसपटक कांग्रेसको उम्मेदवार विजयी हुने सम्भावना रहेको उनको भनाइ छ । जति धेरै जितको सम्भावना भए पनि कोइरालालाई चुनौती उत्तिकै रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य नयाँ दलहरूले भोट काट्ने जोखिम उत्तिकै छ । गत प्रतिनिधि सभाको निर्वाचनमा रास्वापाले करिब २० हजार मत हासिल गरेको थियो । यस पटकको निर्वाचन झन रास्वपामय भएको चुनावी माहोलले देखाइरहेको छ । सुनसरी २ मा आलोपालो कांग्रेस एमालेको जित हुँदै आएको इतिहास छ । प्रतिनिधि सभाको अघिल्लो निर्वाचनमा कांग्रेसका सीताराम मेहताले जित हासिल गरेका थिए । गत निर्वाचनमा भने एमालेका भीम आचार्य निर्वाचित भएका थिए । त्यहीँ भएर पनि कांग्रेसका उम्मेदवार निर्वाचित हुनेमा कार्यकर्ताहरू ढुक्क छन् । कतिपय कार्यकर्ताहरू आत्मविश्वासका साथ निर्वाचन प्रचारप्रसारमा लागेका छन् । त्रिपक्षीय प्रतिस्पर्धा सुनसरी २ मा भने एमालेले कोशी प्रदेश युवा संघका संयोजक सुजन लामालाई टिकट दिएको छ । सुरुमा एमालेले प्रदेश सभा सदस्य रेवतीरमण भण्डारीलाई त्यस क्षेत्रमा टिकट दिइएको थियो । तर, पछि उनको टिकट खोसेर लामालाई दिइएको थियो । उनले टिकट पाउनासाथ सुनसरी एमालेमा विरोध भएको थियो । लामा एमाले युवाहरूमा मात्र परिचित छन् । २ नम्बर क्षेत्रमा युवाको भन्दा वयस्क उमेरका एमालेहरूको बाहुल्यता रहेकाले उनीमाथि अन्तर्घात हुन सक्ने सम्भावना देखिन्छ । लामा युवा उम्मेदवार भएकाले समाज र राजनीतिक चेतना समेत नभएको भन्दै स्थानीयहरू असन्तुष्टि छन् । उनलाई निर्वाचनमा सबैभन्दा धेरै धोका एमालेका कार्यकर्ताबाट हुने बताइएको छ ।   इटहरीको १० वटा वडामा एमालेको मत राम्रो रहेको छ । सोही क्षेत्रमा एमालेको मतदाता रहे पनि तल्लो क्षेत्रमा भने एमालेको उपस्थिति न्यून छ ।  अन्य स्थानीय तहका वडामा एमालेको मत कमजोर रहेको छ । अन्य भेगमा एमालेको भन्दा कांग्रेसको मतदाताहरूको संख्या बढी छ । एमाले जिल्ला कमिटी सचिवालय सदस्य डेगराज फुँयालले २ नम्बर क्षेत्रमा २० भन्दा बढी वडामा एमाले जनप्रतिनिधि रहेकाले आफ्नो उम्मेदवारले सहजै जित हासिल गर्ने दाबी गरे । ‘एमालेको उम्मेदवारलाई जिताउन घरदैलो अभियान सुरु भइसकेको छ,’ उनले भने, ‘हाम्रो क्षेत्रबाट युवा उम्मेदवार रहेकाले अन्य दलका युवाहरू एमालेमा प्रवेश गर्ने लहर बढेको छ ।’ २ नम्बर क्षेत्रका एमालेहरू उम्मेदवारलाई विजयी गराउन एकढिक्का भएर लागिसकेको फुँयालले बताए । पार्टीका पुराना तथा अग्रज कार्यकर्ताहरूमा अहिलेको उम्मेदवारमा कुनै तुष नभएको दाबी गरे । कार्यकर्ता एक भएर सबै वडामा निर्वाचन कमिटी बनाएर प्रचारप्रसारमा लागिसकेको फुँयालले बताए । ‘२ नम्बर क्षेत्रमा एमालेको प्रतिस्पर्धा कांग्रेसको उम्मेदवारसँग हुन्छ,’ उनले भने । गत निर्वाचनमा रास्वपाका उम्मेदवार लालविक्रम थापाले १९ हजार ३९१ मत प्राप्त गरेका थिए । यस पटक पनि पार्टीबाट तिनै उम्मेदवार पुनः दोहोरिएका छन । मुलुकभर रास्वपातर्फ मतदाताहरू आकर्षित भएकाले उनले पनि जित हासिल गर्न सक्ने सम्भावना बढी देखिन्छ ।  यी हुन् अन्य उम्मेदवारहरू  सुनसरी २ मा २८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमालेबाट सुजना लामा, नेपाली कांग्रेसबाट राजीव कोइराला, नेपाल कम्युनिस्ट पार्टीबाट रामकुमारी चौधरी, रास्वपाबाट लालविक्रम थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दिनेशकुमार बस्नेत, जनता समाजवादी पार्टी नेपालबाट रामचन्द्र मेहता, जनमत पार्टीबाट महावीर मेहता,  नेमकिपाबाट गीता मैया बाजीको उम्मेदवारी परेको छ ।  यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट ताजिना विष्ट, नेपाल लोकतान्त्रिक पार्टीबाट नुनुराम चौधरी, मंगल नेशनल अर्गनाइजेशनबाट सन्तहिरा राई, नेपाल कम्युनिष्ट पार्टी संयुक्तबाट अतित नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट तुलसा लिम्बु, श्रम संस्कृति राईबाट चेतन राई, नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट कृष्णकुमारी दनुवार, उज्यालो नेपाल पार्टी गोपाल तामाङ, राष्ट्रिय मुक्ति नेपाल सन्तोष कुमार मेहता, राष्ट्र निर्माण दल नेपालबाट आदित्य आचार्य र आम जनता पार्टीबाट निरञ्जन ठाकुर चुनावी प्रतिस्पर्धामा छन् ।  सुनसरी–२ मा स्वतन्त्र उम्मेदवारका रुपमा अन्जनता देवी गुप्ता, इफतखार हसन (इकवाल), डम्बरबहादुर बराइली, देवेन्द्र पौडेल, नवराज पौडेल, भीमबहादुर दाहाल, रोसनी राई, राजकुमार खत्री रसत्यनारायण पण्डित उम्मेदवार बनेका छन् ।  जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार यस निर्वाचन क्षेत्रमा १ लाख ५८ हजार ९१० मतदाता रहेका छन् भने ४० वटा मतदानस्थल र मतदान केन्द्र १६१ वटा रहेका छन् । २ नम्बर क्षेत्रमा इटहरी उपमहानगरपालिकाको १० वटा वडा, रामधुनी नगरपालिकाको ६ वटा वडा,  इनरूवा नगरपालिकाको ६ वटा वडा, देवानगञ्ज गाउँपालिकाको ७ वटा वडा  र हरिनगर गाउँपालिका १ वटा वडा पर्छन् ।

गण्डकी : एमालेलाई लोकप्रिय मत प्रत्यक्ष सिटमा बदल्ने चुनौती, प्रत्यक्ष जित जोगाउने रणनीतिमा कांग्रेस

काठमाडौं । गण्डकी प्रदेशले २०७९ को आमनिर्वाचनमार्फत एक सन्देश दिएको थियो– लोकप्रिय मत र प्रत्यक्ष सिटको गणित सधैं एउटै दिशामा हिँड्दैन । तीन वर्ष नबित्दै मुलुक मध्यावधि निर्वाचनको संघारमा पुग्दा त्यही असन्तुलन, नयाँ दलको उदय र गठबन्धन राजनीतिले दिएको संकेत २०८२ को चुनाव बुझ्ने आधार बनेको छ ।  राजनीतिक अस्थिरता र जनअसन्तोषको यो समय गण्डकीका दलहरूका लागि यो चुनाव केवल चुनाव मात्रै होइन, अस्तित्व र विश्वसनीयताको परीक्षासमेत बनेको छ । आमनिर्वाचन सम्पन्न भएको तीन वर्ष नबित्दै देश मध्यावधि निर्वाचनतर्फ उन्मुख हुनु आफैमा असाधारण राजनीतिक परिघटना हो । यही अस्थिरता, सरकारप्रतिको असन्तोष र परिवर्तनको चाहनाले गण्डकी प्रदेशमा दलहरूलाई नयाँ रणनीति बनाउन बाध्य बनाएको छ ।  गण्डकीमा जम्मा १८ निर्वाचन क्षेत्र रहेका छन् । सबैभन्दा धेरै कास्कीमा तीन निर्वाचन क्षेत्र रहेका छन् । स्याङ्जा, बागलुङ, नवलपुर, तनहुँ र गोरखामा दुई–दुई निर्वाचन क्षेत्र छन् । त्यसबाहेक लमजुङ, मनाङ, पर्वत, मुस्ताङ र म्याग्दीमा एक–एक निर्वाचन क्षेत्र रहेका छन् । यस प्रदेशमा १८ लाख ७० हजार ६५ मतदाता रहेका छन् । जसमा महिला ९ लाख ५५ हजार ५१६, पुरुष ९ लाख १४ हजार ५३४ र अन्य १४ मतदाता रहेका छन् । ०७९ मा लोकप्रिय मत र प्रत्यक्ष सिट २०७९ को आमनिर्वाचनमा गण्डकी प्रदेशमा लोकप्रिय मतको आधारमा सबैभन्दा ठूलो दल नेकपा एमाले बनेको थियो । एमालेले समानुपातिकतर्फ ३ लाख २४ हजार ८८२ मत प्राप्त ग‍रेको थियो । तर प्रत्यक्षतर्फ भने उसले जम्मा ५ सिटमा मात्र चित्त बुझाउनु परेको थियो । लोकप्रिय मतमा पहिलो भएर पनि प्रत्यक्षतर्फ कमजोर प्रदर्शन हुनु एमालेका लागि गम्भीर आत्ममूल्यांकनको विषय बन्यो । गठबन्धनको प्रभाव, उम्मेदवार चयनमा कमजोरी र केही क्षेत्रमा आन्तरिक असन्तुलन यसका प्रमुख कारण मान्दै एमालेले ती गल्ती नदाहोराउने प्रण त्यतिखेरै गरेको थियो । दोस्रो ठूलो लोकप्रिय मत नेपाली कांग्रेसले प्राप्त गरेको थियो । कांग्रेसले ३ लाख १२ हजार ७२० मत पाएको थियो । लोकप्रिय मतमा दोस्रो भए पनि प्रत्यक्षतर्फ भने कांग्रेस सबैभन्दा अगाडि रहँदै १० जना प्रतिनिधि सभा सदस्य गण्डकीबाट पठाउन सफल भएको थियो । पाँचदलीय गठबन्धनको लाभ, स्थानीय प्रभाव भएका उम्मेदवार र मध्यमार्गी मतदाताको समर्थन त्यतिबेला कांग्रेसको बलियो पक्ष बनेको थियो । २०७९ को सबैभन्दा रोचक पक्ष भनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदय थियो । प्रत्यक्षतर्फ कुनै सिट जित्न नसके पनि रास्वपाले १ लाख ७७ हजार २५ मत ल्याउँदै गण्डकी प्रदेशमा तेस्रो लोकप्रिय शक्ति बनेको थियो । जन्मिएको चार महिनामै यस्तो परिणाम ल्याउनु रास्वपाका लागि ऐतिहासिक उपलब्धी थियो । यस्तै, तत्कालीन नेकपा माओवादी केन्द्रले १ लाख ८ हजार ४६७ मत प्राप्त गर्दै चौथो शक्ति बन्न पुगेको थियो । लोकप्रिय मत घट्दो क्रममा रहे पनि माओवादीले गण्डकीमा २ वटा प्रत्यक्ष सिट जित्न सफल भएको थियो । के भन्छन् दलहरू ? यो निर्वाचनमा प्रदेशको सवैभन्दा ठुलो दल एमाले लोकप्रिय मतलाई प्रत्यक्ष सिटमा बदल्ने चुनौतीमा रहेको छ । २०८२ को निर्वाचनमा नेकपा एमाले सबै दल एक्लाएक्लै मैदानमा उत्रिनुबाट सबैभन्दा बढी फाइदा लिने दाउमा देखिन्छ । २०७९ मा गठबन्धनका कारण रोकिएको एमालेको विस्तार अब सम्भव हुने उसको ठम्याइ छ । एमालेका प्रद्रेश अध्यक्ष नवराज शर्माका अनुसार एमालेको मुख्य आधार भनेको गण्डकीका ग्रामीण र सहरी क्षेत्रमा बलियो संगठन र स्थानीय तहमा लामो समयदेखि कायम प्रभाव हो । शर्माले स्थिर सरकार र विकासको राजनीतिक सन्देशसहित एमाले गण्डकीको चुनावमा होमिएको जानकारी दिए । एमाले नेतृत्व २०७९ को कमजोरी दोहोरिन नदिने तयारीमा देखिन्छ । उसले उम्मेदवार चयनदेखि स्थानीय मुद्दासम्म केन्द्रित रणनीति बनाएको शर्माले बताए । राजनीतिक विश्लेषकहरूका अनुसार यदि एमालेले आन्तरिक विवाद नियन्त्रण गर्न र स्थानीय रूपमा कार्यकर्तालाई एकढिक्का पार्न सक्यो भने लोकप्रिय मतको आधारमा प्रत्यक्ष सिट उल्लेखनीय रूपमा बढ्न सक्छ । गण्डकीमा कांग्रेस प्रत्यक्ष जित जोगाउने र लोकप्रिय मत विस्तार गर्ने रणनितिमा रहेको छ । नेपाली कांग्रेस २०८२ को निर्वाचनमा फरक मनोविज्ञानसहित मैदानमा उत्रिएको बताउँछन् प्रदेश सभापति शुक्रराज शर्मा । विशेष महाधिवेशनपछि पार्टीले अपेक्षाकृत युवा नेतृत्व पाएको र युवा उम्मेदवारसहित मैदानमा उत्रिएकोले कांग्रेसले यो निर्वाचनलाई अनुकूलतामा परिणत गर्ने शर्माले दाबी गरे । नेतृत्व परिवर्तनको सकारात्मक प्रभाव चुनावी परिणाममा देखिने उनको विश्वास छ । तर चुनौती पनि कम छैनन् । गठबन्धन बिना चुनाव लड्दा २०७९ जस्तो सहजता नहुने र एमाले र रास्वपाबाट दोहोरो दबाब पनि कांग्रेसलाई पर्ने देखिन्छ । सभापति शर्माका अनुसार कांग्रेसको शक्ति अझै पनि प्रत्यक्ष चुनावी प्रणालीमै केन्द्रित देखिन्छ । स्थानीय तहमा जरा गाडेका नेताहरू कांग्रेसका मुख्य अस्त्र हुन् । यता आफूलाई नयाँ दल भने पनि अब रास्वपा नयाँ दल होइन । यस चुनाववाट लोकप्रिय मतसहित सत्ता नजिक पुग्ने संघर्षमा रास्वपा रहेको छ । संसद प्रवेश, सरकारमा सहभागिता र राजनीतिक अभ्यासपछि रास्वपा परीक्षणको चरणबाट मूल्यांकनको चरणमा पुगेको छ । रास्वपाको मुख्य आधार भनेको सुशासन र भ्रष्टाचारविरोधी एजेण्डा भएकोले सहरी तथा युवा मतदाता पार्टीको मुख्य आधार भएको केन्द्रीय सदस्य शिव नेपालीको धारणा छ । प्रदेश अध्यक्ष राजन गौतम पुराना दलप्रतिको वितृष्णासँगै पार्टीको सुशासन प्रतिको अडान नै मतदाता आकर्षित गर्ने स्रोत रहेको बताउछन् । गौतमका अनुसार गतसाल स्थापनाको केही महिनामा नै प्रदेशमा तेस्रो लोकप्रिय मत प्राप्त गर्न सफल भएकोले त्यसैलाई आधार बनाउदै अझ उचाइ छुने रणनीतिमा रास्वपा रहेको छ ।  तर प्रत्यक्ष चुनावमा जित निकाल्न संगठनात्मक कमजोरी र ग्रामीण क्षेत्रमा पहुँचको अभाव रहेको बुझिन्छ । नेकपा भने वाम एकीकृत धारसहित पुनरुत्थानको प्रयासमा रहेको केन्द्रीय सदस्य नीलकण्ठ तिवारीको दाबी छ । दुई वाम दलसहित साना समूहलाई एकाकार गरेर बनेको नयाँ कम्युनिष्ट धारले २०८२ लाई पुनरुत्थानको चुनावका रूपमा चित्रित गरिरहेकोले पार्टी यस प्रदेशमा गर या मरको तवरबाट निर्वाचनमा होमिएको तिवारीले बताए ।  २०७९ मा चौथो भएर पनि माओवादी धारले गण्डकीमा आफ्नो आधार पूर्ण रूपमा नगुमाएको तिवारीको दाबी रहेको छ ।  २०८२ को गण्डकी प्रदेशको निर्वाचन साधारण सिटको प्रतिस्पर्धा मात्रै होइन । यो त पुराना दलहरूको विश्वसनीयताको परीक्षण र नयाँ दलको क्षमतामा कसी लगाउने कसौटी पनि हो । आफूलाई नयाँ दल भन्ने शक्तिहरूको क्षमताको परीक्षासँगै गठबन्धनविहीन राजनीतिमा जनमतको दिशा पनि गण्डकीमा यस निर्वाचनले दिने स्थानीय बुद्धिजीवी डा. कृष्णबहादुर केसीले बताए । उनका अनुसार यो निर्वाचनले सबैको परीक्षण गर्नेछ । २०७९ ले दिएको संकेतलाई २०८२ ले कसरी रूपान्तरण गर्छ भन्ने प्रश्नको उत्तर गण्डकी प्रदेशले आफ्नै तवरले दिने डा. केसीको मत छ ।

चुनाव मुस्ताङमा, प्रचार पोखरा, बागलुङ र काठमाडौंमा

काठमाडौं । फागुन २१ मा हुने निर्वाचनको माहोल देशभर उत्कर्षमा पुगेको भए पनि हिमाली जिल्ला मुस्ताङमा भने चुनावी सरगर्मी लगभग शून्यजस्तै देखिएको छ । निर्वाचन मुस्ताङमा हुने भएपनि मुस्ताङको चुनावी चहलपहल भने जिल्ला बाहिर रहेको छ ।  माथिल्लो मुस्ताङ त हिमपातका कारण अहिले करिब जनसंख्याविहीनजस्तै रहेको छ भने तल्लो मुस्ताङमा पनि पछिल्लो समय हिमपातले गर्दा निर्वाचन चहलपहल रोकिएको जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीले जानकारी दिए । जिल्लामा ८ राजनीतिक दलले उम्मेदवारी दिएपनि मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपा एमालेबीच हुने स्थानीयहरू बताउँछन् । यस निर्वाचनमा नेकपा एमालेले इन्द्रधरा विष्ट र नेपाली कांग्रेसले योगेश गौचन थकालीलाई मैदानमा उतारेको छ ।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ङुटुक गुरुङ र अधितिय चन्द्र थकालीलाई उम्मेदवार बनाउँदा कमला लालचनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उम्मेदवार बनाएको छ । अजय विक आम जनता पार्टी, सुरेन्द्र नेपाल उज्यालो नेपाल पार्टी र यमबहादुर गुरुङ मंगोल नेशनल अर्गनाइजेसनबाट उम्मेदवार बनेका छन् । जिल्लामा आठ दलका उम्मेदवार रहेपनि निर्वाचन माहोल भने सुस्त रहेको छ । जिल्लाको निर्वाचन प्रचार अहिले जिल्ला बाहिर भइरहेको छ । नेपाली कांग्रेसका उम्मेदवार थकाली काठमाडौंमा रहेका छन् । थकाली मुस्ताङमा अझै निर्वाचन सुरु नभएको बताउँछन् ।  ‘यो समय माथिका मानिस तल झर्ने सदियौंदेखिको नियमित प्रक्रिया हो । अहिले जिल्लामा हिउँ परिरहेको छ । त्यसैले आफन्त सबै तल रहेकाले भेटघाट पनि तलतिरै हुनु स्वाभाविक हो,’ थकालीले भने । एमाले उम्मेदवार इन्द्रधारा विष्ट अहिले पोखरामा रहेका छन् । विष्ट भन्छन्, ‘हामी उम्मेदवारभन्दा पहिले आफन्त हौं । आफन्त जहाँ हामी त्यहाँ हुनु स्वभाविक हो । हामीलाई अझै निर्वाचन लागेको छैन ।’ भौगोलिक रूपमा विकट र धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले अन्य जिल्लाभन्दा फरक पहिचान बोकेको मुस्ताङमा चुनावी माहोल हत्तपत्त सिर्जना नहुने स्थानीयहरू बताउँछन् । कम जनसंख्या, पर्यटनमुखी जीवनशैली र समुदायको आफ्नै व्यस्तताका कारण यहाँ निर्वाचनलाई अन्य जिल्लाजस्तो ठूलो महत्त्व नदिने प्रवृत्ति रहेको बताउँछन् लोमाङथान गाउँपालिकाका अध्यक्ष टासी नोर्वु गुरुङ । नेपाली कांग्रेसका उम्मेदवार गौचनका अनुसार मुस्ताङमा एउटै प्रकृतिको समुदाय, पृथक भूगोल, न्यून जनसंख्यासँगै यहाँको मौसमले चुनावी चहलपहल हुन नसकेको हो ।  लोमाङथाङका अध्यक्ष टासी पनि गौचनसँग सहमत छन् । उनी भन्छन्, ‘दलभित्र आन्तरिक खिचातानी कम र विवादरहित वातावरण भएका कारण चुनावी माहोल सिर्जना हुन नसकेको हो । हाम्रो भूगोल र प्रकृतिले पनि अहिले भूगोलमै गएर चुनाव प्रचार गर्ने वातावरण नबनेको हो ।’  यता नेकपा एमालेका उम्मेदवार विष्टले पार्टी अहिले आन्तरिक तयारीमै केन्द्रित रहेको जानकारी दिए । उनले भने, ‘हामीले आन्तरिक छलफल गरिरहेका छौं । तत्काल औपचारिक चुनावी कार्यक्रम छैन ।’ निर्वाचन मिति नजिकिँदै जाँदा जिल्ला निर्वाचन कार्यालय, मुस्ताङले भने आवश्यक प्रशासनिक तयारी तीव्र पारेको जनाएको छ । कार्यालय प्रमुख ज्ञवालीका अनुसार मतदान केन्द्रको अनुगमन तथा सुपरिवेक्षणका साथै मतदाता शिक्षा कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी गरिएको छ । फागुन लागेपछि उक्लने उपल्लो मुस्ताङको ल्होमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका करिब ८० प्रतिशत स्थानीय बासिन्दा कडा जाडोका कारण बेंसी झरेका छन् । छोसेरका छेप्टेङ गुरुङ, वङ्दी गुरुङ र टस्सी गुरुङजस्ता स्थानीयहरू जाडो छल्न जिल्लाबाहिर गएका भए पनि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्न गाउँ फर्किने तयारीमा छन् । स्थानीयवासीहरूले यस निर्वाचनलाई भविष्य निर्माणसँग जोडेर हेरेका छन् । स्थानीय वङ्दी गुरुङ भन्छन्, ‘उम्मेदवारको विगतको कामको मूल्याङ्कन गरेर मात्र भोट हाल्ने हो । थोरै मतदाता भएकाले उम्मेदवारहरू स्वयं मतदाता खोज्दै आउन थालेका छन् ।’ निर्वाचन नजिकिँदै जाँदा जाडो छल्न गएकासँग राजनीतिक दलका नेताहरू अनौपचारिक भेटघाटमा सक्रिय हुने तयारीमा रहेका छन् । कांग्रेसका गौचन र एमालेका विष्ट दुवैले अव भेटघाटमा औपचारिक रूपमा लाग्ने तयारीमा रहेको बताएका छन् । निर्वाचन २०७९ लाई फर्केर हेर्दा विसं २०७९ सालमा प्रत्यक्ष निर्वाचनतर्फ नेपाली कांग्रेसका योगेश गौचनले ३ हजार ९९२ मत ल्याई चुनाव जितेका थिए । पाँच दलीय गठबन्धनका गौचनलाई एमालेका प्रेमप्रकाश तुलाचनले ३ हजार ७४ मत प्राप्त गरी पछ्याएका थिए भने रास्वपाका उम्मेदवार सुदेश गुरुङले ८७ मत ल्याएका थिए । समानुपातिकतर्फ भने एमालेले पहिलो र कांग्रेसले दोस्रो लोकप्रिय महत पाएको थियो । एमालेले ३ हजार ४०४ मत ल्याउँदा कांग्रेसले २ हजार ४८६ मत ल्याएको थियो । रास्वपाले समानुपातिकतर्फ २९९ मत प्राप्त गरेको थियो ।  जिल्लामा ३९ मतदान केन्द्र रहेका छन् भने कुल १० हजार ९ सय ५७ जना मतदाता रहेका छन् । मुस्ताङमा स्थानीय तह निर्वाचनका लागि २ सय ३२ जना म्यादी प्रहरी तथा सोही अनुपातमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मधेशी मैदानमा पूर्वप्रधानमन्त्रीदेखि भावी प्रधानमन्त्रीसम्म, कसकसका लागि खुल्ला सिंहदरबारको ढोका ?

काठमाडौं । आगामी २१ फागुनमा हुने निर्वाचनमा मधेश क्षेत्र राजनीतिको केन्द्रबिन्दु बनेको छ । यहाँ पुराना राजनीतिक हस्ती, युवा नेता, दलका शीर्ष नेताहरू र भावी प्रधानमन्त्रीका दाबेदार आमनेसामने छन् । सर्लाही, सप्तरी, धनुषा र रौतहट लगायतका जिल्ला निर्वाचन २०८२ को इपिसेन्टर जस्तै भएका छन् । यी जिल्लाको निर्वाचन परिणामले केवल एक नेताको हारजितको मात्रै अर्थ राख्दैनन् । ती जिल्लाको परिणामले देशको आगामी राजनीतिक समीकरणमा समेत महत्वपूर्ण भूमिका खेल्ने आँकलनसमेत गरिएको छ । यस प्रदेशबाट देशकै राजनीतिक खेलाडी माधवकुमार नेपाल, काठमाडौंबाट मधेश झरेका गगनकुमार थापा र अहिलेसम्म प्रतिनिधि सभाको मुखसम्म देख्न नपाएका नारायणकाजी श्रेष्ठ समेतले मधेशमा आफ्नो भाग्य खोजिरहेका छन् । मधेशका रैथाने नेता अनिल झा, महिन्द्रराय यादव, राजेन्द्र महतो , उपेन्द्र यादव समेतले प्रतिनिधि सभा प्रवेशका लागि मधेशका जनतासँग भोट मागिरहेका छन् ।   महाभीडन्तमा पूर्वसहकर्मी सर्लाही ४ मा कांग्रेस सभापति गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता अमरेशकुमार सिंह आमनेसामने छन् । लामो समयका सहकर्मी थापा र सिंह ह यसपटक एकले अर्कोको बाटो छेक्नेगरी लागेका छन्। यसकारण सर्लाही ४ यसपालि चुनावी हटसिटको रूपमा चिनिएको छ । लामो समयदेखि कांग्रेसवाटै निर्वाचन जित्दै आफ्नो सिंहदरवार यात्रा सहज बनाउँदै आएका सिंह २०७९ को आम निर्वाचनपछि कांग्रेसबाट बिरक्तिएका नेता हुन् । विद्यार्थी राजनितिबाट उदाएका थापा र २०६३ मा सम्पन्न सरकार र माओवादी शान्ति प्रक्रियासँगै राजनीतिक रजतपटमा उदाएका सिंहको संसदीय अनुभव उस्तैउस्तै देखिन्छ । थापाजस्तै सिंहको संसद यात्रा २०६४ को पहिलो संविधान सभाबाटै भएको हो । दुवै समानुपातिक सांसदको रूमा सिंहदरबार प्रवेश गरेका हुन् । २०७० को आमचुनावमा सिंह सर्लाहीबाट र थापा काठमाडौबाट प्रत्यक्ष निर्वाचित भए । दुवैजना तीन÷तीन पटक प्रत्यक्षबाट र एकएक पटक समानुपातिकबाट सिंहदरवारको यात्रा तय गरिसकेका छन् । २०७९ को आम निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि सिंह स्वतन्त्र उम्मेदवार भएर प्रतिस्पर्धामा उत्रिएका थिए । उनले नेपाली कांग्रेसका नागेन्द्र कुमारलाई १ हजार ७६४ मतले पराजित गरेका थिए । उक्त निर्वाचनमा सिंहले २० हजार १७ मत ल्याएका थिए भने नागेन्द्रले १८ हजार २५३ मत ल्याएका थिए । उक्त निर्वाचनको समानुपातिकतर्फ १६ हजार २३ मत ल्याएर कांग्रेस पहिलो भएको थियो । जनमत पार्टी १२ हजार ५९५ मतसहित दोस्रो हुँदा ९ हजार ४७१ मतसहित एमाले तेस्रो भएको थियो । थापा र यादवबाहेक यस क्षेत्रमा अन्य दलका पनि उम्मेदवार मैदानमा छन् । यस निर्वाचनमा एमालेले उम्मेदवारको रूपमा अमनिष यादवलाई अघि सारेको छ । यादव पूर्वसांसद शिवपुजन यादवका छोरा हुन् । यादवको यस क्षेत्रमा आफ्नै पकेट मत रहेको मधेशका जानकार धिरेन्द्र साहले बताए । यसरी पुराना नेता र शीर्ष दलका सभापतिबीचको आमनेसामने प्रतिस्पर्धाले सर्लाही ४ मा  मतदाताको उच्च उत्साह सिर्जना गरेको साहले जानकारी दिए । उनका अनुसार यहाँको मत वितरणले मधेशको आगामी राजनीतिक दिशा निर्धारण गर्न सक्छ । सप्तरी २ : सहकर्मीलाई चुनौती सप्तरी निर्वाचन क्षेत्र नम्वर २ ले यसपालि राजनीतिक प्रतिस्पर्धाको अर्को रूप देखाउने पक्का भएको छ । यस क्षेत्रका प्रमुख उम्मेदवारहरू जनमत पार्टीका अध्यक्ष सिके राउत र स्वाभिमान पार्टीका सतिशकुमार सिंह हुन् । राउत र सिंह निर्वाचन पहिलेसम्म एउटै दलका नेता थिए । राउत जनमत पार्टीका अध्यक्ष र सिंह सोही पार्टीबाटै मधेश प्रदेशको मुख्यमन्त्री थिए । जसपा नेपालका उमेशकुमार यादव र कांग्रेसका रामकुमार यादवसहित एमालेका मोहम्मद जियाउल रहमान पनि यसै क्षेत्रका उम्मेदवार हुन् । यस क्षेत्रमा जनमुक्तिका राउतलाई आफ्नै सहकर्मीले चुनौती दिएका कारण सप्तरी २ को निर्वाचन रोचक मोडमा प्रवेश गरेको छ । गत निर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई हराएका राउतका लागि यो निर्वाचन व्यक्तिगत र पार्टी दुवै दृष्टिले चुनौतीपूर्ण हुनेछ । साहका अनुसार दुई पूर्वसहकर्मीको प्रतिस्पर्धाका कारण मतदाता विभाजित हुन सक्ने सम्भावना छ ।  जसले अन्तिम नतिजामा अप्रत्याशित मोड ल्याउन सक्ने मधेशका जानकार साहले बताए। धनुषा ३ : निवर्तमान सांसद र पार्टी प्रभाव धनुषा ३ मा तीनैजना निवर्तमान सांसद आमनेसामने छन् । यहाँ उम्मेदवारहरू कांग्रेसका पूर्वउपसभापति तथा पूर्वमन्त्री विमलेन्द्र निधि, एमालेका पूर्वमन्त्री जुली महतो र रास्वपाका प्रवक्ता मनीष झा मैदानमा छन् । विधायक र सांसदको अनुभव भएका निधि, महतो र झा तीनैजनाको परिचय यहाँका मतदातामाझ व्यापक छ । विघटित संसदमा निधि र झा समानुपातिकतर्फबाट सांसद थिए भने महतो प्रत्यक्ष निर्वाचित सांसद हुन् । यसपालि रास्वपाको प्रवेशले धनुषा ३ मा मधेशको राजनीतिमा थप उत्साह थपेको छ । गत आम निर्वाचनलाई फर्केर हेर्दा यस निर्वाचन क्षेत्रमा कांग्रेस बलियो शक्तिको रूपमा रहेको देखिन्छ ।  गत निर्वाचनमा प्रत्यक्षमा एमालेकी महतोले जित निकालेपनि समानुपातिक मतमा कांग्रेसको प्रभावशाली लिड रहेको देखिन्छ । यस क्षेत्रमा समानुपातिक तर्फ कांग्रेसले २५ हजार १९५ मत प्राप्त गरेको थियो । एमालेले दोस्रो हुँदै १७ हजार ८७४ मत ल्याएको थियो । रास्वपाले १ हजार ८२९ मत ल्याएर आठौं स्थान प्राप्त गरेको थियो । स्थानीय मतदातासमेत रहेका विश्लेषक साहका अनुसार यहाँको निर्वाचन मतदाताको विवेकशील निर्णयमा आधारित हुने अपेक्षा छ । पुराना सांसद र युवा नेताबीचको प्रतिस्पर्धाले यहाँको राजनीति मतदाता केन्द्रित रहने साहले बताए । रौतहटमा नेपाल र झाको भीडन्त रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव नेपाल र कांग्रेसका अनिल झाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा एमालेका पूर्वमहासचिव समेत रहेका र एमालेबाटै प्रधानमन्त्री समेत भएका नेपाल पछिल्लो समय नेकपा माओवादी केन्द्रसँग एकता गर्दै रौतहटबाट सिंहदरबारको टिकट पक्का गर्ने दाउमा छन् । उनी यसभन्दा अगाडि नेपाललाई काउन्टर गर्ने झा पनि नेपाल सद्भावना पार्टी, राजपा नेपाल हुँदै मनोनयनभन्दा केही समय पहिले कांग्रेस प्रवेश गरेर टिकट पाएका नेता हुन् । मधेशको समग्र राजनीतिक परिदृश्य मधेश क्षेत्रको निर्वाचनले पुराना नेता र नयाँ नेतृत्व, पार्टी, शीर्ष नेताहरू र भावी प्रधानमन्त्रीका दाबेदारहरूलाई आमनेसामने ल्याएको छ । सर्लाही, सप्तरी, धनुषा र रौतहट क्षेत्रमा यसपटक भेट्रान उम्मेदवारहरू मैदानमा छन् । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, पूर्वमन्त्री राजेन्द्र महतोले पनि यसै प्रदेशबाट आफ्नो राजनीतिक भविष्य खोज्दैछन् । विशेषतः सर्लाही ४ र सर्लाही २ मा पुराना र नयाँ नेतृत्वको भीडन्तले मतदातामा उत्साह बढाएको मधेशका अर्का जानकार डा. शिवशंकर यादवले जानकारी दिए । सप्तरी २ र धनुषा ३ मा सहकर्मी तथा निवर्तमान सांसदबीचको द्वन्द्वले प्रतिस्पर्धालाई अझ रोचक बनाएको उनको दाबी छ । डा. यादवका अनुसार मधेश क्षेत्रको परिणामले आगामी संघीय सरकार गठनमा महत्वपूर्ण असर पार्ने सम्भावना छ ।

विजय र भगवतीको टक्करमा रास्वपाको फरक रणनीति, यस्तो छ सुनसरी-३ को चुनावी विश्लेषण

काठमाडौं । विजय गच्छदारको सुनसरी-३ मा प्रतिनिधि सभाको निर्वाचनमा टिकट अनिश्चितजस्तै थियो । किनभने नेपाली कांग्रेसमा शक्तिको सत्ता फेरिएको थियो । गच्छदार राजनीतिमा निर्वतमान सभापति शेरबहादुर पक्षधर थिए । उनी पूर्वउपसभापति समेत थिए ।  कांग्रेसको विशेष महाधिवेशनले नेतृत्व फेरिसकेको छ । गगन थापा सभापति बनेर टिकट बाँडेका छन् । टिकट पाइसकेर धेरै उम्मेदवार चुनावी मैदानमा पुगिसकेका छन् । विजय गच्छदारले सुनसरी–३ बाट उम्मेदवारी दिँदै आएका थिए । आफ्नो गढ मानिएको ठाउँमा उनलाई जान सधैं हतारो हुन्थ्यो । यसपालि पनि त्यस्तै भयो जहाँ उनलाई उम्मेदवारी दर्ता गर्नु थियो ।  यसपटक भने गच्छदार अलमलमा परेका थिए, टिकट पाउने हुँ कि नपाउने भनेर । किनभने उनलाई पार्टीभित्र शक्तिक्षीण भएको महसुस भएको थियो । उनी सधैं राज्य र पार्टीको शक्तिमा थिए । पार्टीले पनि सुनसरी ३ नम्बर क्षेत्रमा दुई जनाको नाममा टिकट वितरण गर्‍यो ।  विजयकुमार गच्छदार र नगर सभापति वेदनारायण गच्छदारले टिकट पाए । दुवै जना टिकट लिएर निर्वाचन क्षेत्र पुगे । निर्वाचन आयोगमा केही समय उम्मेदवारी दर्ता हुन सकेन । वेदनारायण गच्छदार दुहबी नगरपालिकाका मेयरसमेत हुन् । गच्छदारले अन्तिम पटक भएको भन्दै सबैलाई सहयोग गर्न आग्रह गरे । उनको आग्रहपछि विजयकुमार मनोनयन दर्ता गराउन निर्वाचन कार्यालय पुगे । विजय गच्छदार गत प्रतिनिधि सभाको निर्वाचनमा एमालेकी उम्मेदवार भगवती चौधरीसँग पराजित बनेका थिए । उनले ३५ हजार ६०० मत पाएका थिए । गत निर्वाचनमा उनले चुनावी इतिहासमा पहिलोपटक हार बेहोरेका थिए । छैठौं पटक जित हासिल गरेपछि गच्छदारले सातौं पटकमा निर्वाचनको परिणाममा फेल खाएका हुन् ।  यसपटक भने उनै गच्छदार एमालेकी उम्मेदवारसँग बदला लिने तयारीमा छन् । जसले गर्दा राज्य शक्तिबाट च्युत भए पनि पार्टीबाट शक्ति गुमाएनन् । कुनै समय सुनसरीमा कांग्रेस भन्नु नै गच्छदार थिए । गच्छदारले आफ्नो शक्ति र मत चिन्न नसक्दा जनताको पराजित बन्न पुगेका थिए । अन्तिम पटकको चुनावी लडाइँमा लागेका उनी आफ्नो पक्ष मत ल्याउने छन् । उनी इतिहास दोहोर्‍याउने दाउमा छन् । गच्छदारको सत्ता तोड्ने चौधरी नेकपा एमालेकी उम्मेदवार भगवती चौधरी यसपटक पुनः जित हासिल गर्न कस्सिएकी छन् । गत निर्वाचनमा उनी ४० हजार ७८८ मत प्राप्त गरी विजयी भएकी थिइन् । उनले गच्छदारलाई निर्वाचनमा हराइनन् मात्र उनको सुनसरीमा देखिने सत्ताको शक्तिलाई समेत हराएकी थिइन् ।  ३ नम्बर क्षेत्रमा चौधरी समुदायको बाहुल्यता रहेको छ । चौधरीलाई आदिवासी समुदायको सूचीमा राखिएको छ । सोही ठाउँबाट उनले साहसी महिलाको रूपमा विजयी झण्डा फहराउँदै र हात हल्लाउँदै संसदमा छिरिन् ।  चौधरीले संसदमा मात्र पाइला राखिनन् । पहिलोपटक बालुवाटारमा मन्त्रीको हैसियतले आफ्नो उपस्थिति जनाइन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसमेत भइन् । आफ्नो कार्यकालमा सामाजिक न्याय, समावेशीकरण र संरक्षणका क्षेत्रमा उल्लेखनीय नीतिगत पहल गरेको चौधरीको भनाइ छ । उनले महिला उद्यमशीलता, सामाजिक न्याय र सुशासनका सवालमा छोटो कार्यकालमा सार्वजनिक स्थानमा राम्रो काम गरेको दाबी गर्दै आएकी छन् । एमालेकी उम्मेदवार भगवती चौधरी ।  चौधरी अर्थतन्त्र, सामाजिक विकास र अन्तर्राष्ट्रिय समन्वयमा अनुभव हासिल गरेकी उनी युवाहरू तथा महिलाहरूको स्वरोजगार र आत्मनिर्भरताको सवालमा निरन्तर क्रियाशील रहँदै आएकी छन् । राजनीतिलाई पेसा–व्यवसायभन्दा पनि समाजसेवा र नीति निर्माणमा काम गर्ने थलो बनाइनु पर्ने नेतृ चौधरी बेला–बेलामा बताउने गर्छिन् । असफल नेताहरूको मत तान्ने रणनीतिमा रास्वपा सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट अशोककुमार चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । यसपटक उनी सोही क्षेत्रमा विगतमा विजयी भएकाहरू असफल भएको भन्दै आएका छन् । उक्त क्षेत्रलाई सबैभन्दा बढी रोचक मानिएको छ ।  जेनजी आन्दोलनपछि नेपालको राजनीति परिदृश्य बदलिएको छ । नयाँ–नयाँ राजनीतिक दलको उदय भएकाले आफ्नो स्थान बलियो बनाउन खोजेका छन् । गत निर्वाचनमा ठूला दलले गठबन्धन गरेका थिए । यसपटक सबै दलले आफ्नो उम्मेदवार उठाएका छन् । गठबन्धन नगरेका कारण पनि आगामी निर्वाचनमा आफ्नो पक्षमा परिणाम हासिल गर्ने गरेर हौसिएका छन् । सुनसरी ३ का मतदातासँग मत माग्दै रास्वपाका उम्मेदवार अशोककुमार चौधरी ।  चुनावी एजेण्डामा नयाँ-नयाँ मुद्दा र अनुहार देखिएका छन् । निर्वाचनमा युवा उम्मेदवारको संख्या बढी छ । पछिल्लो समय मुलुकमा रास्वपाको माहोल राम्रो बन्दै गएको देखिन्छ । राम्रो माहोल बनिरहेका बेला रास्वपाका उम्मेदवार अशोककुमार आफ्नो पक्षमा मत परिणाम ल्याउन खोजिरहेका छन् । गत निर्वाचनमा रास्वपाका उम्मेदवारले ६ हजार चार सय ५३ मत प्राप्त गरेका थिए । चौधरी असन्तुष्ट मतदाताहरूको मत आफूतिर तान्ने पक्षमा छन् । गच्छदार र चौधरीसँग रुष्ट बनेका मतदाताहरूलाई घण्टीमा मत हाल्न लगाएर चौधरी विजयीको पथमा लम्किने दाउमा छन् । कस्तो छ पार्टीको माहोल ? नेपाली कांग्रेस दुहबी नगर कार्य समितिका सभापति वेदनारायण गच्छदारले यसपटक नेपाली कांग्रेसको उम्मेदवारले सहजै विजयी हासिल गर्ने दाबी गरेका छन् । ०४८ सालदेखि निर्वाचित भएको उम्मेदवार यस क्षेत्रमा उम्मेदवार रहेकाले विजयी हुनेमा कांग्रेस ढुक्क रहेको उनी बताउँछन् । एमालेको मत पनि धेरै बिग्रेकाले कांग्रेसले मत बढाउन सक्ने गच्छदारले विश्वास व्यक्त गरे । गत निर्वाचनमा विजयी भएको उम्मेदवारले यस क्षेत्रमा केही नगरेकाले मतदाताहरू सचेत भइसकेको उनले बताए । उनी भन्छन्, ‘यसपालि रास्वपाले मत बढाउँछ । तर, हामीलाई असर पर्दैन । दुवै ठूला–ठूला दलको मत काट्ने छ ।’ नेपाली कांग्रेस रूपान्तरित भएर निर्वाचनमा गएकाले जित सुनिश्चित रहेको उनको बुझाइ छ । विकासप्रेमी र अनुभवी राजनीतिज्ञ रहेकाले यस क्षेत्रका लागि योग्य उम्मेदवार पार्टीले उठाएको उनको ठहर छ ।  ३ नम्बर क्षेत्रका मतदाता कपिल घिमिरे यस क्षेत्रमा निर्वाचन कडा प्रतिस्पर्धा हुने देखिएको बताउँछन् । एमालेकी उम्मेदवार भगवती चौधरीलाई हेभीवेटको रूपमा लिएको उनले बताए । ‘उनले राम्रो काम गरेकाले पनि एमालेकी उम्मेदवारको विजयी हुने सम्भावना रहेको छ,’ घिमिरेले भने, ‘नेपाली कांग्रेसका विजय गच्छदार अर्का उम्मेदवार भए पनि सर्वसाधारणप्रति राम्रो धारणा बनेको छैन ।’ घिमिरेले काम र कार्यक्रमको आधारमा भगवती चौधरी क्षमतावान भएको उनको विश्लेषण छ । रास्वपाले एमालेको मत नकाट्ने उनले विश्वास व्यक्त गरे । रास्वपाले कांग्रेसको मत काट्ने उनको तर्क छ ।  रास्वपा समर्थित स्थानीय हीरामणि घिमिरेले पार्टीको संगठन विस्तार गरिरहेको बताए । ‘गत निर्वाचनमा उम्मेदवारीको मनोनयन गर्दा ५ जना थिए अहिले सयौंको भीड छ,’ उनले भने । रास्वपाप्रति स्थानीय मतदाता सकारात्मक रहेको घिमिरेले बताए । यस क्षेत्रको मतदाताले परिवर्तन खोजेको उनले उल्लेख गरे । रास्वपाकै ठूल्ठूला राजनीति दलका उम्मेदवारलाई मतदाता प्रश्न गर्न सक्ने भइसकेको उनको भनाइ छ । ३ नम्बर क्षेत्रमा चौधरी समुदायको बाहुल्यता रहेकाले ठूला दलका उम्मेदवारले प्रभावमा पार्न नसकेमा रास्वपाकै उम्मेदवारले सहजै जित हासिल गर्न सक्ने घिमिरेले बताए ।  सुनसरी ३ नम्बर क्षेत्रमा २३ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेपाल कम्युनिष्ट पार्टीबाट दुर्गेश कुमार चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट घनश्याम गुरुङ्, जनता समाजवादी पार्टी नेपालबाट बद्रीप्रसाद यादव, जनमत पार्टी राम नारायण थारु, नेपाल मजदुर किसान पार्टीबाट प्रकृति बासी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रमोद पौड्याल, मंगोल नेशनल अर्गनाइजेशनबाट दिप बहादुर तामाङ्ग, समावेशी समाजवादी पार्टी नेपाल किशोर कुमार विश्वास, श्रम संस्कृति पार्टीबाट रामप्रसाद सदा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट आसुतोष ढुङ्गेल चुनावी मैदानमा छन् ।  यस्तै, सार्वभौम नागरिक पार्टीबाट कृष्ण कुमार चौधरी,  उज्यालो नेपाल पार्टीबाट जागेश्वर यादव,  नागरिक उन्मुक्ति पार्टीबाट बासुदेव साहु तेली, आम जनता पार्टीबाट रोहन कुमार शाह, स्वतन्त्र उम्मेदवार कासनी थरुनी,  स्वतन्त्र उम्मेदवार कुमारी उराव, स्वतन्त्र उम्मेदवार चीतनारायण चौधरी, स्वतन्त्र उम्मेदवार राजन कुमार गौतम, स्वतन्त्र उम्मेदवार श्याम कुमार मुडियारी र स्वतन्त्र उम्मेदवार सुमन कुमार चौधरी रहेका छन् । जिल्ला निर्वाचन आयोग सुनसरीका अनुसार ३ नम्बर क्षेत्रमा कुल १ लाख ३४ हजार ३०२ मतदाता रहेका छन् । सोही क्षेत्रमा ४४ मतदान स्थल र १ सय ४६ मतदान केन्द्र रहेका छन् ।

अछाम- १ मा एमालेका संस्थापकविरुद्ध एमालेकै उम्मेदवार, कसले मार्ला बाजी ?

काठमाडौं । नेकपा एमालेसँगको करिब ५१ वर्ष लामो राजनीतिक यात्रा टुंग्याएर भीम रावल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उम्मेदवार बनेसँगै अछाम–१ को चुनावी माहोल असाधारण रूपमा तातेको छ । अछाममा एमालेको राजनीतिक जग बसाल्ने नेताकै रूपमा चिनिएका रावल आज त्यही दलविरुद्ध मैदानमा उत्रिँदा यो निर्वाचन व्यक्ति, विरासत र दलगत रणनीतिको त्रिकोणीय संघर्षमा रूपान्तरित भएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा अछाम–१ बाट रावलसहित आठ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । अछाम–१ मा नेकपाका भीम रावलले उम्मेदवारी दिएका छन् ।  रमाइलो त के भने जीवन एमालेमा बिताएका रावल पहिलोपटक एमाले विरुद्ध मैदानमा छन् । रावललाई एमालेबाट काउन्टर गर्दैछन् पूर्व माओवादी नेता दीपकबहादुर साउदले । यस्तै, नेपाली कांग्रेसले भरतकुमार स्वाँरलाई उम्मेदवार बनाउदा ओमप्रकाश रावल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मैदानमा उत्रिएका छन् । नेपाल मजदुर किसान पार्टीले सुरेन्द्र शाही र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लोकेन्द्र शाहलाई मैदानमा उतारेका छन् । लोकेन्द्रबहादुर शाही नेकपा माओवादीको उम्मेदवार छन् भने भीमबहादुर कुँवरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ०७९ को निर्वाचनमा भीम रावल उम्मेदवार थिएनन् । उक्त निर्वाचनमा पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै अछाम–१ बाट तत्कालीन नेकपा एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुर कुँवर मैदानमा थिए । उक्त निर्वाचनमा प्रत्यक्षतर्फ कुँवरले १९ हजार ५३४ मत ल्याएर नेकपा एमालेका झपटबहादुर बोहरालाई पराजित गरेका थिए । उक्त निर्वाचनमा बोहोराले १५ हजार ४५ मत ल्याएका थिए । तेस्रो लोकप्रिय मत स्वतन्त्र उम्मेदवार राजन कुँवरले पाएका थिए । उनले ४ हजार ३९२ मत प्राप्त गरेका थिए । यसपटक भने नेकपाले भीम रावललाई मैदानमा उतारेको छ, जसले समीकरणलाई पूर्णतः नयाँ दिशामा धकेलेको स्थानीय बताउँछन्। राजनीतिक विरासतका हिसाबले रावल बलिया देखिए पनि संगठनात्मक पक्षमा कांग्रेस र एमाले यसपटक भारी देखिन्छन् । स्थानीय मोती विकका अनुसार अछाम १ मा प्रतिस्पर्धा एमाले र कांग्रेसकै बीचमा हुन्छ । यी दुई पार्टीबीच नै प्रतिस्पर्धा हुने आँकलन विकको रहेको छ । गत आमनिर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेसले १४ हजार ५२५ मत ल्याएर पहिलो स्थान हासिल गरेको थियो । उक्त निर्वाचनमा एमालेले १३ हजार ९३८ मत प्राप्त गरेको थियो । तत्कालीन नेकपा माओवादीले तेस्रो स्थान प्राप्त गर्दा उसले ७ हजार २२८ मत प्राप्त गरेको थियो । रास्वपाले ७८५ मत प्राप्त गरेको थियो । कुल १० पालिका रहेको अछामका निर्वाचन क्षेत्र–१ मा साँफेबगर नगरपालिका, मेल्लेख, चौरपाटी, बान्नीगढी जयगढ र रामारोशन गाउँपालिका समावेश रहेका छन् । २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसले ४ पालिका प्रमुख जितेको छ भने तत्कालीन माओवादी केन्द्रले १ पालिका प्रमुखमा विजय हासिल गरेको छ । तत्कालीन गठबन्धनमा रहेका कांग्रेस र नेकपा एकीकृत समाजवादीले पूर्ण जित निकाल्दा अछाम १ मा एमाले शून्यको अवस्थामा रहेको छ । ४२ वडामध्ये कांग्रेसले १९, एमाले १३, माओवादी ५, एकीकृत समाजवादी २ र स्वतन्त्रले ३  वडामा जित निकालेका छन् । नेकपा उम्मेदवार रावलले राष्ट्रिय छवि र अछाममा गरेको योगदानका आधारमा जित सहज हुने दाबी गर्छन् । रावल स्वयं मतदाताले आफूलाई निर्वाचित गराउनेमा विश्वस्त देखिन्छन् । कांग्रेस उम्मेदवार भरतकुमार स्वाँर मुख्य प्रतिस्पर्धा एमालेसँग रहेको बताउँछन् ।  एमाले उम्मेदवार दीपक साउद जनाधार, संगठन र नयाँ अनुहार आफ्नो बलियो पक्ष भएको दाबी गर्छन् । रास्वपा उम्मेदवार ओमप्रकाश रावल अछाम–१ मा पनि घण्टी बज्ने दाबी गर्दै भन्छन्, ‘यस पटक जित रास्वपाकै हो ।’ अछाम–१ को चुनाव यसपटक प्रतीकात्मक रूपमा पनि रोचक बनेको छ । एमाले स्थापना गराएका भीम रावल आज तारा बोकेर नेकपाको उम्मेदवारको रूपमा मैदानमा छन् । हिजो एमालेसँग ‘कि तँ छैनस् कि म छैन’ भन्दै भिड्ने माओवादीबाट उदाएका दीपक साउद सूर्य बोकेर एमालेका उम्मेदवार बनेका छन् । २०७० मा रावलसँग सूर्य थियो, साउदसँग हँसिया–हथौडा । अहिले १२ वर्षपछि प्रतीक उल्टिएका छन् । अछाम–१ को मा टक्कर एमाले र कांग्रेसकै हुने स्थानीय विश्लेषक रतन चुँदाराको दावी छ ।

आयोगले १० दिनमा २ संस्थासहित १५ जनालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले १० दिनमा विभिन्न राजनीतिक दलका उम्मेदवार र संस्था गरेर १५ जनालाई स्पष्टीकरण सोधेको छ । मंगलबार (आज) मात्र आयोगले प्रतिनिधि सभा सदस्यका विभिन्न उम्मेदवारलाई स्पष्टीकरण सोधेको हो । हालसम्म स्पष्टीकरण सोधिएका उम्मेदवारहरूमा झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बालेन्द्र साह (बालेन), भक्तपुर–२ मा नेकपा एमालेबाट उम्मेदवार रहेका महेश बस्नेत, सुनसरी–१ मा श्रम संस्कृति पार्टीबाट उम्मेदवार रहेका हर्कराज राई (हर्क साम्पाङ), रुपन्देही–२ मा जनसेवा पार्टीबाट उम्मेदवार रहेका कमल भुसाल (निकोलस), भक्तपुर–२ मा जनसेवा पार्टीबाट उम्मेदवार जानुका पाठक (शोभा) रहेका छन् ।  आज मात्रै बालेन शाह, हर्क साम्पाङ, महेश बस्नेत र जानुका पाठकलाई स्पष्टिकरण सोधिएको निर्वाचन आयोगका निर्वाचन आचारसंहिता अनुगमन शाखाका अधिकृत विष्णु पौडेलले जानकारी दिए । सबै उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको उनले बताए ।  त्यसैगरी, स्वास्थ्य स्वयंसेवक संघ र आधारभूत विद्यालयलाई पनि सरुवा गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको छ । आयोगका अनुसार रास्वपा वरिष्ठ नेता बालेनले सामाजिक सञ्जालमार्फत झापा–५ मै उम्मेदवार रहेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अमर्यादित शब्द प्रयोग गरेर दिएको अभिव्यक्तिका कारण स्पष्टीकरण सोधिएको हो ।  एमाले सचिव बस्नेतलाई बालेनले बोलेको मैथिली भाषाको शब्द ‘छौरा’बारे अनर्गल व्याख्या गरेकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । उता हर्क साम्पाङलाई चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको र टी–सर्ट लगाउन लगाएको विषयमा उजुरी परेको आयोगले बताएका छ । त्यसैगरी, निकोलस भुसालले जेनजी आन्दोलनमा रगतले लतपतिएको जुत्तालाई चुनाव चिह्नसरह प्रयोग गरी प्रचार गरेको आरोपमा उजुरी परेको थियो । सोही कारण उनलाई आयोगले स्पष्टिकरण सोधेको हो ।  त्यस्तै, शोभा पाठकले एमाले सचिव बस्नेत र एमाले विरुद्ध घृणाजन्य अभिव्यक्ति दिँदै ‘हत्यारा’ र ‘बलात्कारी’जस्ता शब्द प्रयोग गरेकामा आयोगले स्पष्टिकरण सोधेको छ । आयोगले दोलखाबाट उम्मेदवार बनेका रास्वपाका जगदीश खरेललाई पनि स्पष्टिकरण सोधेको थियो । गत बिहीबार आयोगले दोलखाबाट उम्मेदवार बनेका खरेललाई निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गरेको भन्दै स्पष्टीकरण सोधेको हो ।

मोरङ ३ : जित दोहोर्याउने दाउमा सुनिल, एमालेका उम्मेदवार पहाड उक्लिँदा मतदाता फकाउँदै रास्वपा

काठमाडौं । फागुन २१ गते १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । धेरै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारलाई चुनाव लागिसकेको छ । अधिकांश उम्मेदवारहरू घरदैलो र चुनाव प्रचारप्रसारमा लागिसकेका छन् ।  यस पटकको निर्वाचनमा पनि केही उम्मेदवारहरू पुनः चुनावी मैदानमा छन् । मोरङ ३ मा गत चुनावको भन्दा फरक प्रतिस्पर्धा हुनेछ । २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उम्मेदवारको रूपमा कलाकार रेखा थापासमेत चुनावी प्रतिस्पर्धामा थिइन् । यो पटक उनी उम्मेदवार छैनिन् । उनले १० हजार ९८८ मत ल्याएकी थिइन् । नायिका थापा हारेकी ठाउँमा नायक बन्ने दाउमा मोरङ ३ उम्मेदवारहरूको रोचक रस्साकस्सी चल्ने भएको छ । मेडिकल व्यवसायी, साहित्यकार र बौद्धिक युवा उम्मेदवारहरू चुनावी मैदानमा होम्मिएका छन् । तर, नेपाली कांग्रेसका हेभीवेट मानिएका मेडिकल व्यवसायी तथा चर्चित  नेता सुनिल शर्माले पुनः टिकट पाएर चुनावी दौडमा छन् । गत प्रतिनिधि सभाको निर्वाचनमा शर्मा ४८ हजार ६३१ मत प्राप्त गरी विजयी भएका थिए । यसपालि पनि उनी विजयी हुने दौडमा लागिसकेका छन् । यतिखेर उनी मतदाताको घर आँगनमा पुगिरहेका छन्। २०७४ को चुनावमा एमालेका नेता भानुभक्त ढकालसँग उनी पराजित भएका थिए । उनले २५ हजार ८९५ मत प्राप्त गरेका थिए । ढकाल विजयीपश्चात पुनः त्यस क्षेत्रमा फर्केनन् । उनलाई मतदाताले विश्वास नगर्दा हार बेहोरेका थिए । यसपटक भने ढकाल आफ्नो पुरानो थातथलो तेह्रथुमतर्फ उक्लिएका छन् । उनलाई मोरङ–३ का मतदाताले टुरिस्ट उम्मेदवार भन्दै आएका थिए । शर्मा मेडिकल व्यवसायी तथा विराटनगरस्थित नोबेल मेडिकल कलेजका सञ्चालक समेत हुन् । उनले संसदीय प्रणालीको स्वाद चाखिसकेकाले पनि होला पुनः जितको दाबी गर्दै चुनावी मैदानमा छन् । शर्मा संसदमा उग्र र उट्पट्याङ शैलीमा बोल्थे । पार्टीका कार्यक्रममा सबैभन्दा बढी चर्को स्वरमा उनैको आवाज सुनिन्थ्यो । पार्टीका कार्यक्रममा वा सार्वजनिक स्थानमा उनी आफूलाई फरक शैलीमा प्रस्तुत गर्थे । शर्मा नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा नेपाल प्रहरीको सीआइबी टोलीले नियन्त्रणमासमेत लिएको थियो । सीआईबीको हिरासतमा एक रात बसेर काठमाडौं जिल्ला अदालतको आदेशमा उनी छुटेका थिए। अहिले उनले घरदैलोकै क्रममा भन्ने गरेका छन्, ‘मलाई यसपटक ७० हजार मतले विजयी गराइदिनु होला ।’  उनले विराटनगरस्थित नोबेल मेडिकल कलेजमा गरिब, विपन्न तथा सिमान्तकृत समुदायका मतदातालाई निःशुल्क उपचार गराइ दिने गरेका छन् । ३ नम्बर क्षेत्रका धेरै ठाउँमा निःशुल्क एम्बुलेन्स उपलब्ध गराएका छन् । कोभिड-१९ को महामारीमा पनि शर्माले एम्बुलेन्स उपलब्ध गराएका थिए । जसको कारण त्यस क्षेत्रका बिरामीहरू सहजै अस्पतालसम्म पुगेका थिए । सोही क्षेत्रमा शर्माले ४ वटा एम्बुलेन्स उपलब्ध गराइसकेका छन् । निःशुल्क उपचार गरिदिने प्रलोभनमा पनि शर्माको पक्षमा मतदाताहरूले मत दिने गरेको पाइएको छ । सिनामंगलस्थित केएमसी अस्पतालमा शर्माको क्षेत्रका मतदाताले खान बस्नसहित सुविधा लिएर पाउने गर्छन् ।  अस्पतालमा सहजै उपचार पाइने प्रलोभनमा मतदाताको रोजाइमा शर्मा पर्ने गरेका छन् । एमालेले उठाएका अर्का उम्मेदवार इरान राई हुन् । उनी बेलबारीमा विवादरहित मानिन्छ । शिक्षासेवी र साहित्यप्रेमीको रूपमा उनी परिचित छन् । यस क्षेत्रमा एमालेको राम्रो संगठन भएको मानिन्छ । यद्यपि गत निर्वाचनमा एमालेको उम्मेदवार पराजित भएका थिए । तर, प्रदेश सभाको एक क्षेत्रमा भने उम्मेदवार विजयी बनेका थिए । ३ नम्बर क्षेत्रमा प्रदेश सभाको २ वटा क्षेत्र रहेका छन् ।  राईले बेलबारी क्षेत्रमा शालिन र भद्र शैलीको परिचय बनाएका छन् । शिक्षा तथा साहित्यमा पुर्‍याएको योगदान मुलुकको शासनसत्तामा पुर्‍याउने धोकोसहित चुनावी मैदानमा छन् । साहित्यमार्फत समाजका समस्यालाई उतार्ने राई यस पटक संसदमा पुगेर मुलुकलाई फेर्ने अभियानमा लागेका छन् । हाइकु लेखनमा रुचि राख्ने संसदीय राजनीतिमा चाख जगाएर निर्वाचनको नतिजा आफ्नो पक्षमा उनी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मोरङको ३ नम्बर क्षेत्रमा  युवा गणेश कार्कीलाई उम्मेदवार उठाएको छ । गत निर्वाचनमा भने रास्वपाका उम्मेदवार विकास उप्रेतीले ३ हजार १७२ मत प्राप्त गरेका थिए । यस पटक भने रास्वापाले आफ्नो मत बढाउने आंकलनसहित कार्की चुनावी मैदानमा छन् ।  रास्वपाका उम्मेदवार कार्की काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहका निकट मानिन्छन् । बालेन महानगरको निर्वाचनमा रहँदा कार्की केही समय उनको सहयोगी रूपमा काम गरेका थिए । मुलुकभर नेतृत्व परिवर्तनको स्वर गुञ्जिरहँदा कार्की पनि समाज र मुलुकलाई बदल्ने एजेण्डा बोक्दै हिँडेका छन् । गत निर्वाचनमा जस्तो यसपटक मतदाताले परिवर्तन खोजेको सन्देश दिन थालिसकेका छन् ।  सोही अवसरको मौका छोपेर कार्की असन्तुष्ट मतदाताको मत आफ्नो पक्षमा पार्न खोजिरहेका छन् । मुलुकभर नयाँ नेतृत्त्व बदल्ने माग चलिरहँदा पथरी शनिश्चरेका कार्की मत आफ्नो पोल्टामा पार्ने पक्षमा छन् । उनी कांग्रेस, एमालेका असन्तुष्ट मत प्राप्त गर्ने आशामा छन् । कार्की ठूला दलबाट थाकेका, निराश भएका र गलेका मतदाताहरूलाई फकाउने दाउमा लागेका छन् । उनी घरदैलोकै क्रममा स्थानीयको समस्या सुन्ने र युवाहरूको कुरालाई बढी ध्यान दिने गरेको देखिन्छन् । मोरङ जिल्ला निर्वाचन कार्यालयका अनुसार मोरङ ३ मा विभिन्न राजनीतिक दलका १६ जनासहित ३ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा रहेका छन् । श्रम संस्कृति पार्टीबाट अमिर मगर, आम जनता पार्टीबाट कमल कुमार राई,  नेपाल कम्युनिष्ट पार्टीबाट खड्ग बहादुर कार्की, स्वतन्त्र उम्मेदवार गणेश मिश्र, डा. देउमान सम्बाहाम्फे  नेपाल कम्युनिष्ट पार्टी,  डिल्लीबहादुर जबेगु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, तेज प्रसाद भण्डारी स्वतन्त्र,  नवराज मास्के जय मातृभूमि पार्टी,  परशुराम थारु नेपाल मजदुर किसान पार्टी, प्रेम प्रसाद सुवेदी राष्ट्रिय प्रजातन्त्र पार्टी, विकेन्द्र राई मंगोल नेशनल अर्गनाइजेशन,  भुवन कुमार आले राष्ट्रिय ऊर्जाशील पार्टी नेपाल, मजेबुल रहमान जनता समाजवादी पार्टी नेपाल, मित्रसेन योञ्जन उज्यालो नेपाल पार्टी र संयुक्त नागरिक पार्टी विदुर अधिकारी लगायतका उम्मेदवारहरू मोरङको ३ नम्बर क्षेत्रमा चुनावी मैदानमा उत्रिएका छन् । एमाले बेलबारी कमिटीका अध्यक्ष शंकर गुरुङ गत प्रतिनिधि सभाको निर्वाचनमा दलहरूले गठबन्धन गरेकाले विजयी उम्मेदवारलाई सहज भएको बताउँछन् । यसपटक सबै दलका उम्मेदवार सिङ्गल–सिङ्गल भीडेकाले पनि गत निर्वाचनभन्दा एमालेको उम्मेदवारलाई सहज हुने उनको भनाइ छ । ‘हाम्रो पार्टीको उम्मेदवार सरल, इमान्दार तथा बहुप्रतिभाशाली र भुइँ मानिस हुन्,’ उनले भने, ‘शिक्षासेवी भएकाले पनि हाम्रो उम्मेदवारको सम्भावना राम्रो रहेको छ ।’ एमालेको उम्मेदवारले गत निर्वाचनमा २४ हजार मत पाएको अध्यक्ष गुरुङले जानकारी दिए । यसपटक भने एमालेको उम्मेदवारले ५ हजार बढी मत ल्याएर विजयी हुने अनुमान उनको छ ।  मोरङ ३ क्षेत्र प्रदेश सभा को कार्यसमितिका सभापति गंगा याख्खाले सुनिल शर्माको माहोल राम्रो रहेक बताए । यस क्षेत्रमा मतदाताका लागि राम्रो काम गरेकाले पनि सहजै विजयी हासिल गर्न सकिने उनले दाबी गरे ।  ‘शर्माले यस क्षेत्रका जनतालाई दुःख सुखमा साथ दिएकाले पनि विजयी हुने सम्भावना छ,’ सभापति याख्खाले भने, ‘कांग्रेसका उम्मेदवारसँग गरेको कामहरू भन्न सकिने खालको रहेको छ । नामले भन्दा पनि कामले स्थापित भएका उम्मेदवार रहेकाले जितको नजिक रहेका छौं ।’ नयाँ दललाई कमजोर नठानिएको याख्खा बताउँछन् । नेपाली कांग्रेसको यस क्षेत्रमा राम्रो संगठन भएको दाबी उनको छ । जेनजी आन्दोलनपछि नयाँ नेतृत्वसहित कांग्रेस आएकाले पनि पार्टीप्रति सबैको झुकाव रहेको उनले उल्लेख गरे । यसैगरी, सोही क्षेत्रका रास्वपाका स्थानीय एक नेताले रास्वपाको उम्मेदवारप्रति मतदाताहरू सकारात्मक रहेको बताए । टोल–टोल र चिया पसलमा कुराकानी हुँदा नयाँ उम्मेदवारलाई छनोट गर्ने चर्चा भइरहेको सुन्न सकिने उनको भनाइ छ । गत निर्वाचनमा रास्वपाको उम्मेदवारले ४ हजार मत ल्याएको थियो । ‘यस निर्वाचनमा भने युवा उम्मेदवार भएकाले हाम्रो जितको सम्भावना छ,’ स्थानीय नेता भन्छन्, ‘हामीले जित गर्नका लागि कुनै पनि अप्ठयारो महसुस गरेका छैनौं ।’ मोरङ– ३ मा कुल १ लाख ५८ हजार ५७ जना मतदाता छन् । महिला मतदाता ८० हजार ८८३ र पुरुष मतदाता ७७ हजार १७० जना मतदाता रहेका तथा अन्य ५ जना मतदाता रहेका छन् । मोरङ् जिल्ला निर्वाचन कार्यालयका अनुसार ३ नम्बर क्षेत्रमा ५५ वटा मतदानस्थल र १ सय ७९ मतदान केन्द्र रहेका छन् । कुन वडामा कति मतदाता छन् ? कानेपोखरी गाउँपालिका वडा ४ – २६१० पुरुष, २६०४ महिला वडा ५  – ३०८१ पुरुष, ३०१२ महिला वडा ६ – २९३० पुरुष, ३०२२ महिला वडा ७ – २०६८ पुरुष, २१९५ महिला पथरी शनिश्चरे नगरपालिका वडा १ – ३८३४ पुरुष, ४१९१ महिला वडा २ – २८२० पुरुष, २९६९ महिला वडा ३ – २९४१ पुरुष, २९५४ महिला वडा ४ – ३०३८ पुरुष,  ३२५१ महिला वडा ७ – २१११ पुरुष, २२६४ महिला वडा ८ – २४०८ पुरुष,  २३७७ महिला वडा ९ – २६०६ पुरुष, २८११ महिला वडा १० – २५९५ पुरुष, २७९३ महिला बेलबारी नगरपालिका वडा १ – २६०९ पुरुष, २८०१ महिला वडा २ – २५२९ पुरुष, २७६३ महिला वडा ३ – २६२२ पुरुष, २८०६ महिला  वडा ४ – ३५६७ पुरुष, ३८१४ महिला वडा ८  – ३३८३ पुरुष, ३३७२ महिला वडा ९ – ३६२८ पुरुष, ३६६७ महिला वडा १० – २५७४ पुरुष,  २६६८ महिला वडा ११ – ३१६९ पुरुष, ३४५४ महिला सुन्दरहरैंचा नगरपालिका वडा १ – ३०५२ पुरुष, ३०५७ महिला वडा ८ – २७४८ पुरुष, २९८२ महिला वडा ९ – ३८०१ पुरुष, ३८६३ महिला वडा १० – ४०५० पुरुष, ४४८० महिला वडा ११ – ३५८२ पुरुष,  ३७१० महिला वडा १२ – २८१४ पुरुष, ३००३ महिला

हेभीवेटहरूको गृह प्रदेश कोशीमा २०७९ को मत ट्रेन्ड र २०८२ को चुनावी मोड

काठमाडौं । २०७९ सालको संघीय संसद् निर्वाचनले कोशी प्रदेशको राजनीतिक चरित्रलाई स्पष्ट रूपमा परिभाषित गरेको थियो । समानुपातिक मत परिणामले प्रदेश अझै पनि परम्परागत दलहरूको प्रभावमा रहेको देखाए पनि नयाँ राजनीतिक शक्तिको उदयले भविष्यको चुनावी समीकरण बदलिन थालेको संकेत समेत त्यतिबेलै देखिएको थियो ।  यही पृष्ठभूमिमा २०८२ को आमनिर्वाचन नजिकिँदै गर्दा कोशी प्रदेशको राजनीति पुनः निर्णायक मोडमा उभिएको छ । कोशी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव योगेश भट्टराई सचिवहरू शेरधन राई र भानुभक्त ढकालको गृह प्रदेश पनि हो । यस्तै, नेपाली कांग्रेसका हेभीवेटहरू कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छेदार, डा. शेखर कोइराला पनि यसै प्रदेशका नेता हुन् ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन पनि यही प्रदेशका नेता हुन् । हेभीवेटहरूको गृह प्रदेशको समानुपातिक मत परिणामले नेताहरूको प्रभावसमेत देखाउने भएकाले यस प्रदेशको समानुपातिक मत परिणामको विशेष महत्त्वसमेत रहेको छ । २०७९ को निर्वाचनमा कोशी प्रदेशमा नेकपा एमालेले ६ लाख ४२ हजार ३४ मत प्राप्त गर्दै समानुपातिकतर्फ पहिलो स्थान हासिल गर्‍यो । यो परिणामले प्रदेशमा एमालेको संगठनात्मक सुदृढता र ग्रामीण र सहरी दुवै क्षेत्रमा फैलिएको मत आधार एमालेको रहेको पुष्टि समानुपातिक मत परिणामले गरेको एमाले केन्द्रीय सदस्य इन्द्र भण्डारी बताउँछन् । नेपाली कांग्रेस ५ लाख ५५ हजार २२७ मतसहित दोस्रो स्थानमा रह्यो । कांग्रेसको मत परिणामले पार्टी अझै पनि बलियो प्रतिस्पर्धी भएको देखाए पनि अघिल्ला निर्वाचनहरूको तुलनामा मत विस्तार गर्न नसकेको सन्देश दियो । गत आम चुनावको भन्दा यसपटक मत बढ्ने आशामा छन् कांग्रेस प्रदेश सभापति उद्धव थापा ।  उनका अनुसार गत निर्वाचनमा भन्दा बढी मत ल्याउने आधार कांग्रेसको एकमना एकता हो । उनी भन्छन्, ‘कोशीमा हामी अभूतपूर्व एकतासहित निर्वाचनमा होमिएका छौं ।’ गत निर्वाचनको सबैभन्दा उल्लेखनीय पक्ष भनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवेश थियो । पहिलो सहभागितामै रास्वपाले २ लाख १४ हजार ८१० मत प्राप्त गर्दै तेस्रो शक्ति बन्न सफल भयो । यसले कोशी प्रदेशमा वैकल्पिक राजनीतिक धारप्रति बढ्दो आकर्षणलाई देखाउँछ । रास्वपाका स्थानीय नेताहरू यस पटक अघिल्लो निर्वाचनको भन्दा सुधारिएको प्रदर्शन गर्ने बताउँछन् । पार्टीको कोशी प्रदेश समिति सदस्य रहेका निरज कटुवालका अनुसार रास्वपाले कोशीमा राम्रो परिणाम दिनेगरी आन्तरिक रणनीतिहरू तय गरेको छ । त्यसैगरी, यस प्रदेशमा तत्कालीन नेकपा माओवादी केन्द्रले १ लाख ८८ हजार ६८२ मत प्राप्त ग¥यो भने राप्रपाले १ लाख ३० हजार ४०३ मत ल्यायो । यी दुवै दलको परिणामले उनीहरूको मत आधार अझै कायम रहे पनि विस्तारमा चुनौती देखाएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार २०७९ को समानुपातिक मत परिणामले कोशी प्रदेशमा तीन तहको राजनीतिक संरचना देखायो । पहिलो तहमा एमाले र कांग्रेसजस्ता ठूला दलहरू, दोस्रो तहमा रास्वपाजस्तो उदीयमान शक्ति र तेस्रो तहमा तत्कालीन नेकपा माओवादी केन्द्र र राप्रपाजस्ता परम्परागत दलहरू रहेको उक्त निर्वाचनले देखाएको तस्विर हो । यसले प्रदेशको राजनीति अब केवल दुई दलको प्रतिस्पर्धामा सीमित नरही बहुध्रुवीय बन्दै गएको संकेत समेत दिएको स्थानिय विश्लेषकहरू बताउँछन् । बदलिँदो राजनीतिक वातावरण २०७९ पछि देशले सरकार परिवर्तन, गठबन्धन फेरबदल, नीति विवाद र जनआक्रोशका थुप्रै चरणहरू भोगिसकेको छ । कोशी प्रदेशमा यसको प्रत्यक्ष असर देखिन थालेको छ । पछिल्ला सरकारप्रतिको बढ्दो असन्तुष्टि र युवा मतदाताको राजनीतिक चेतनाले २०८२ को माहोल परिवर्तन गर्न सक्छ । साथै नयाँ मतदाताको प्रवेश र सामाजिक सञ्जालमार्फत धारणा निर्माणले पनि निर्वाचन २०८२ लाई अछुतो नछोड्ने निश्चित छ । यी सबै कारणले २०८२ को निर्वाचन २०७९ भन्दा फरक बन्ने सम्भावना बढाएको छ । एमालेले २०७९ मा प्राप्त गरेको मत अग्रता अझै पनि उसको बलियो पक्ष हो । तर २०८२ तर्फ जाँदा पार्टीले केही चुनौतीहरू पनि सामना गरिरहेको छ । सरकार सञ्चालनप्रति उठेका प्रश्न, युवा मतदाताको बदलिँदो प्राथमिकता र रास्वपाको बढ्दो प्रभावले एमालेको समानुपातिक मतमा स्थिरता वा हल्का गिरावट आउन सक्ने अनुमान स्थानीय नेता तथा कार्यकर्ताको छ । तर बलियो संगठन, स्थानीय तहसम्मको पहुँच र परम्परागत मत आधारका कारण एमाले अझै पनि पहिलो स्थानको मुख्य दाबेदार रहने देखिन्छ । कांग्रेसले कोशी प्रदेशमा उल्लेख्य मत आधार जोगाइरहेको छ । तर पार्टीभित्रको गुटबन्दी, नयाँ मतको कम आकर्षणले कांग्रेसको मत विस्तारलाई चुनौती दिएको छ । यस प्रदेशमा रास्वपाको प्रवेशले एमालेलाई भन्दा कांग्रेसलाई प्रभाव पार्न सक्ने कांग्रेसको आँकलन रहेको छ । यस प्रदेशमा कांग्रेसले संगठन सुदृढीकरण, स्पष्ट राजनीतिक एजेन्डा र युवा मतदातासँग संवाद गर्न सके मात्र मत वृद्धि सम्भव देखिन्छ । अन्यथा २०७९ को स्तर वरिपरि सीमित हुने वा केही घट्ने सम्भावना प्रबल छ । २०८२ को निर्वाचनमा सबैभन्दा धेरै चर्चा हुने दल रास्वपा हुने संकेत देखिन्छ । २०७९ मा पाएको २ लाखभन्दा बढी मत पार्टीको आधार मात्र नभई सम्भावनाको संकेत थियो । कोशी प्रदेशका सहरी क्षेत्र, शिक्षित युवा र पुराना दलप्रति असन्तुष्ट मतदातामा रास्वपाको प्रभाव बढ्दो छ । यही कारण २०८२ मा रास्वपाले समानुपातिक मत उल्लेख्य रूपमा बढाउन सक्ने विश्लेषण गरिँदै आएको छ । यदि यही ट्रेन्ड कायम रह्यो भने रास्वपा एमाले र कांग्रेस दुवैका लागि निर्णायक चुनौती बन्न सक्छ । राप्रपाको अवस्था भने फरक देखिन्छ । राजसंस्था र सांस्कृतिक मुद्दाको उठानले राप्रपाले २०८२ मा मत हिस्सा विस्तार गर्ने अवसर देखिरहेको छ, विशेषगरी ग्रामीण र परम्परावादी मतदातामा उसले मत विस्तार गर्न सक्ने देखिन्छ । २०७९ को समानुपातिक मत परिणामले कोशी प्रदेशमा परम्परागत शक्तिको वर्चस्व देखाए पनि २०८२ तर्फ जाँदा त्यो संरचना केही हल्लिन सक्छ भन्ने पूर्वानुमान गर्न सकिन्छ । एमाले र कांग्रेस अझै पनि यस प्रदेशका मुख्य शक्ति हुन् । रास्वपा निर्णायक ‘स्विङ फ्याक्टर’ बन्न सक्छ । यस प्रदेशमा माओवादी कमजोर रहेको र वर्ष २०८२ को निर्वाचनमा अझ कमजोर बन्न सक्छ । यता राप्रपा भने विस्तारको खोजीमा रहेको देखिन्छ । यस अर्थमा कोशी प्रदेश अब दुई दलीय प्रतिस्पर्धाबाट बहुध्रुवीय राजनीतितर्फ निर्णायक चरणमा प्रवेश गरेको छ, जहाँ २०८२ को निर्वाचनले प्रदेशको आगामी राजनीतिक मार्गचित्र कोर्नेछ । यो प्रदेशको मत परिणामले नेतृत्वको परीक्षणसमेत गर्नेछ ।

आमनिर्वाचन २०८२ : पाल्पामा पुराना शक्ति आमने-सामने, नयाँ दलको सीमित चुनौती

काठमाडौं । पाल्पा जिल्ला पश्चिम नेपालको पहाडी राजनीतिमा प्रभावशाली जिल्लाका रूपमा चिनिन्छ । लामो समयदेखि  नेकपा एमाले र नेपाली कांग्रेसको बलियो प्रतिस्पर्धा रहेको पाल्पामा पछिल्ला निर्वाचनहरूमा मतदाताको व्यवहारमा स्थिरता देखिएको छ । २०७९ को आमनिर्वाचनले पुराना दलहरूमाथि दबाब बढ्दै गएको देखाए पनि नयाँ शक्तिहरू हस्तक्षेपकारी भएको संकेत पाल्पामा देखिएको थिएन । तर नयाँ राजनीतिक विकल्पप्रति सीमित तर उल्लेखनीय आकर्षण देखाएको संकेत भने गरेको थियो ।  पाल्पा जिल्लामा प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेका छन् । जिल्लाका दुवै निर्वाचन क्षेत्रमा लामो समयदेखि कांग्रेस र एमाले बीचको प्रतिस्पर्धा रहँदै आएको छ । ग्रामीण क्षेत्रको बाहुल्यता र परम्परागत मताधारका कारण यहाँ मतदाताको झुकाव तुलनात्मक रूपमा स्थिर देखिन्छ । सिंगो पाल्पामा २०७९ को निर्वाचनमा मुख्य प्रतिस्पर्धा कांग्रेस र एमाले दुई दलबीच सीमित रह्यो भने तत्कालीन नेकपा माओवादी केन्द्र र अन्य साना दलहरू सहायक भूमिकामा देखिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अघिल्लो निर्वाचनमा तुलनात्मक कमजोर रहे पनि यस निर्वाचनमा उसको उपस्थिति यस क्षेत्रमा कस्तो रहन्छ भन्ने विषयले निर्वाचनको परिणाम प्रभावित हुने पाल्पाका राजनीतिक विश्लेषक भगवान भण्डारी बताउँछन् । पाल्पाको १ नम्बर निर्वाचन क्षेत्र तुलनात्मक ग्रामीण क्षेत्र हो भने दुई नम्बर निर्वाचन क्षेत्र तानसेन नगरपालिकासहितको सहरी क्षेत्र हो । पाल्पाका दुवै निर्वाचन क्षेत्रको परिणाम हेर्दा नेकपा एमालेले जित हासिल गर्दै आएको देखिन्छ । अघिल्लो निर्वाचनमा पाल्पा १ मा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्यले ३१ हजार १०३ मत ल्याउँदा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेसका ज्ञानबहादुर गाहाले २० हजार २५६ मत प्राप्त गरेका थिए ।  पाल्पा–२ लाई भने जिल्लाकै सबैभन्दा प्रतिस्पर्धी क्षेत्र मानिन्छ । यहाँ सहरीकरण, वैदेशिक रोजगारीको प्रभाव र युवाको राजनीतिक चेतनाले मतदाताको निर्णयमा भूमिका खेलेको देखिन्छ ।  २०७९ मा मतान्तर साँघुरो रहेकोले यस क्षेत्रलाई स्विङ क्षेत्रका रूपमा समेत व्याख्या गर्न सकिन्छ । अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट एमालेका ठाकुर गैरेले २८ हजार ७४५ मत ल्याएका थिए । उनलाई पाँच दलीय गठबन्धनमा उम्मेदवार रहेका तत्कालीन नेकपा एकीकृत समाजवादीका हेभिवेट उम्मेदवार सोमप्रसाद पाण्डेले २४ हजार ८९९ मतसहित टक्कर दिएका थिए ।  अर्गलीको फाँटदेखि तिनाउको काखसम्म फैलिएको पाल्पामा २०४८ मा तीन निर्वाचन क्षेत्र रहँदा तीनै क्षेत्रमा कांग्रेसले जित हासिल गरेको थियो । ०५१ मा भने एमालेले तीनै सिटमा विजयी हासिल गर्यो । ०५१ को मध्यावधिपछि यस जिल्लामा एमालेले पछाडि फर्केर हेर्नु परेको छैन । ०६५ मा देशैभर तत्कालीन नेकपा माओवादीको माहोलका बाबजुद पनि पाल्पाका तीन क्षेत्रमध्ये दुई क्षेत्रमा एमालेले निर्वाचन आफ्नो पक्षमा पारेको थियो । पछिल्लो राज्य पुनर्संरचनापछि २०७४ र २०७९ का दुवै निर्वाचनमा जित हासिल गरेको एमाले अहिले पनि जित निकाल्ने रणनीतिमा रहेको छ । आमनिर्वाचन २०८२ मा एमालेले दुवै निर्वाचन क्षेत्रमा पुरानै उम्मेदवार दाहोर्‍याएको छ । एमालेले निर्वाचन क्षेत्र नम्बर २ बाट चर्चित विद्यार्थी नेता ठाकुर गैरेलाई उम्मेदवार बनाएको छ भने एकबाट नारायणप्रसाद आचार्यलाई मैदानमा उतारेको छ । कांग्रेसले युवा नेता हिमालदत्त श्रेष्ठलाई दुई नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाएको छ । अर्को एक नम्बर क्षेत्रबाट सन्दीप रानालाई मैदानमा उतारेको छ । संघीय निर्वाचनका लागि कांग्रेसका दुवै नयाँ अनुहार हुन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले दुई नम्बर निर्वाचन क्षेत्रबाट वरिष्ठ नेता सोमप्रसाद पाण्डेलाई उम्मेदवार बनाउँदा निर्वाचन क्षेत्र नम्बर १ बाट होमप्रसाद सुनारी मगरलाई मैदानमा उतारेको छ । पाण्डे ०५१ को आमनिर्वाचनदेखिका अनुहार हुन् भने सुनारी नयाँ अनुहार हुन् । स्थानीय विश्लेषक गाेविन्द भट्टराईका अनुसार पाण्डेको संगठन कमजोर भए पनि उनी हेभिवेट नेता हुन् । सुनारी भने संगठन र व्यक्तित्व दुवैमा कम प्रभावशाली मानिन्छन् । रास्वपाले पाल्पाको दुई नम्बर निर्वाचन क्षेत्रबाट माधवबहादुर थापा र एकबाट विमल पन्तलाई उम्मेदवार बनाएको छ । थापा बुटवलका मेडिकल व्यवसायी हुन् भने पन्त स्थानीय बासिन्दा हुन् । पाल्पामा एमाले र नेकपाबाट पुरानै उम्मेदवार दाहोरिँदा कांग्रेस, रास्वपाका उम्मेदवार भने पहिलोपटक प्रतिनिधि सभाका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । कांग्रेसको अवस्था कस्तो छ ? पाल्पामा कांग्रेसको संगठन पुरानो र संरचनागत रूपमा बलियो छ । स्थानीय तहमा पहुँच र सामाजिक सञ्जालका कारण कांग्रेसले स्थिर मताधार जोगाउँदै आएको स्थानीय कांग्रेस कार्यकर्ताहरू बताउँछन् । कांग्रेसका जिल्ला नेता अजय कर्माचार्यले पाल्पाली जनताले यस निर्वाचनमा स्थिर शक्ति र नयाँ नेता खोजेकोले कांग्रेस मतदाताको रोजाइमा पर्ने दाबी गर्छन् ।  २०४८ पछि उत्साहजनक परिणाम दिन नसकेको कांग्रेस यसपटक नयाँ इतिहास लेख्ने दौडमा धेरै अगाडि बढेको कर्माचार्यको कथन रहेको छ । २०७९ मा कांग्रेसले कुल समानुपातिक मततर्फ कुल ३८ हजार ९०९ मत प्राप्त गरेको थियो । उक्त निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर एकबाट १८ हजार ७५५ र दुईबाट २० हजार १५४ मत प्राप्त गरेको निर्वाचन आयोगले बताएको छ । एमालेको अवस्था कस्तो ? एमालेको पकड जिल्लाभर सशक्त देखिन्छ । सांगठनिक अनुशासन र कार्यकर्ता परिचालन यसको मुख्य शक्ति रहेको एमाले नेता घनेन्द्र घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार एमाले जिल्लाको पहिलो शक्ति हो । अरूको प्रतिष्पर्धा दोस्रो बन्नका लागि भएको दावी उनको छ । पछिल्लो आमचुनाव २०७९ मा गठबन्धनका उम्मेदवारलाई हराएर एमालेले निर्वाचन जितेको थियो । उक्त निर्वाचनमा समानुपातिकतर्फ एमालेको मत ५१ हजार ४३९ रहेको थियो । पाल्पा एकबाट एमालेले २८ हजार ९१० र दुईबाट २२ हजार ५२९ मत प्राप्त गरेको थियो। नयाँ दल तथा स्वतन्त्र उम्मेदवार २०७९ मा पाल्पामा युवामाझ असन्तुष्टि बढ्दो रहेको संकेत नयाँ दलहरूको मत परिणामले देखाएको थियो । तर उक्त निर्वाचनमा समानुपातिकतर्फ १२ हजार ६६२ मत प्राप्त गर्दै तेस्रो स्थान सुरक्षित गर्न रास्वपा सफल भएको थियो । रास्वपा उपसभापति सुमन गैरे अघिल्लोपटक राखेको बीउ यसपटक फल्ने दावी गर्छन् । उनले भने, ‘दुईवटा निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नम्बर दुई जित्छौं, एकमा राम्रै प्रतिस्पर्धा गर्छौं ।’ मतदाता प्रवृत्ति र मुद्दा पाल्पाली मतदाताका प्रमुख चासोका विषयहरू सडक, स्वास्थ्य र शिक्षा, पूर्वाधार कृषि र रोजगारी रहेको पाल्पाको माडीफाँटकी स्थानीय कल्पना काफ्ले बताउँछिन् । उनका अनुसार स्थानीय विकास र बजेट वितरणमा समानतासँगै युवाको विदेश पलायन रोक्ने पहल गर्ने नेतृत्व पाल्पाली जनतालाई चाहिएको छ । काफ्ले पाल्पाली जनताले राजनीतिक दलभन्दा पनि उम्मेदवारको छवि र पहुँच हेर्ने दाबी गर्छिन् । आगामी निर्वाचनको संकेत आमनिर्वाचन २०८२ मा पाल्पामा कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी हुन् । स्थानीय राजनीतिक विश्लेषक गोविन्द भट्टराईका अनुसार निर्वाचनको समग्र परिस्थिति एमाले र कांग्रेस वरिपरि नै घुम्छ । नयाँ दलले सीमित क्षेत्रमा मात्र चुनौती दिने संकेत देखिएको भट्टराई दावी गर्छन् । स्थानीय विश्लेषकहरूका अनुसार पाल्पा एकमा एमाले अहिले राम्रो मतसहित अग्रस्थानमै रहने सम्भावना छ भने पाल्पा–२ मा मत परिणाम स्विङ भोटरको प्रवृत्तिमा निर्भर रहन्छ । 

मीन प्रसाद र भरतराज 'नेक टु नेक' : पहिले सहकार्य, अहिले प्रतिस्पर्धा

काठमाडौं । मीन प्रसाद गुरुङ मुक्तिनाथ विकास बैंकका संस्थापक हुन् भने भरतराज ढकाल साेही बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) । विसं २०६२ चैत २२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई विसं २०६३ पुस १८ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबारको इजाजतपत्र प्राप्त गरेको मुक्तिनाथ विकास बैंक पुस १९ गतेदेखि सञ्चालनमा आएको हो । बैंक सञ्चालनमा आउँदा २९ जना संस्थापक सेयरधनीमध्ये गुरुङ पनि एक थिए । बैंकका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मी र संस्थापक सीईओ ढकाल थिए । पछि रेग्मी बैंकको प्रमुख सल्लाहकार बने भने गुरुङ सञ्चालक समिति अध्यक्ष । गुरुङ र ढकालको संयुक्त नेतृत्वमा बैंकले उल्लेखनीय प्रगति हासिल गर्दै राष्ट्रियस्तरको विकास बैंकको हैसियत बनायो । तर २०७४ सालको निर्वाचनमा गुरुङ प्रदेश सांसदको उम्मेदवार बनेपछि बैंकको अध्यक्ष पदबाट राजीनामा दिए । साथै सोही समयमा ढकालको पनि सीईओ कार्यकाल सकिएसँगै उनी पनि बैंकबाट बाहिरिए । त्यसपछि बैंकको अध्यक्षमा खिमप्रकाश मल्ल र सीईओमा प्रद्युमन पोखरेल नियुक्त भए । केही समयपछि ढकाल पुनः अध्यक्ष बनेर मुक्तिनाथ विकास बैंकमा फर्किए । तर दोस्रो कार्यकालको बीचमै विसं २०८१ फागुन २१ गते उनले राजीनामा दिएपछि पुनः खिम प्रकाश मल्ल नै बैंकको अध्यक्ष बनेका छन् । हाल देशभर प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को माहोल तातिरहेको छ । कुनै समय एउटै सपनाबाट जन्मिएको मुक्तिनाथ विकास बैंक, एउटै नेतृत्वमा हुर्किएको संस्था र एउटै टिममा बसेर काम गरेका गुरुङ र ढकाल आज राजनीतिक मैदानमा आमनेसामने छन् । मुक्तिनाथ बैंक स्थापनादेखि नेतृत्वसम्म सहयात्रा गरेका यी दुई पूर्वबैंकर राजनीतिक मैदानमा प्रतिद्वन्द्वी बनेपछि स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ चासोको विषय बनेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जा-१ बाट गुरुङ नेकपा एमाले र ढकाल नेपाली काँग्रेसबाट उम्मेदवार बनेका छन् ।  स्याङ्जा-१ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गुरुङले ढकालसँगको प्रतिस्पर्धालाई अनपेक्षित बताउँदै स्वस्थ र सौहार्दपूर्ण ढंगले चुनावी प्रतिस्पर्धा गर्ने प्रतिबद्धता जनाए । ‘प्रतिस्पर्धा नभएको भए राम्रो हुन्थ्यो, तर अब भइसकेको छ,’ उनले भने, ‘यसलाई सहज रूपमा लिएको छु । सौहार्दपूर्ण रूपमा अगाडि बढ्छु ।’  गुरुङले जनताको निगरानीमा सार्वजनिक पदमा रहेका व्यक्तिहरू रहनुपर्ने बताए । साथै उनले आफ्नो उम्मेदवारीलाई सुशासन र विकाससँग जोडिएको अभियानका रूपमा अघि बढाएको बताए । संविधानलाई पूर्ण रूपमा कार्यान्वयन गर्ने, सुशासन कायम गर्ने, पारदर्शिता बढाउने र भ्रष्टाचारमुक्त राज्य बनाउने विषयलाई आफ्नो प्रमुख राष्ट्रिय एजेण्डा बनाएको उनको भनाइ छ ।  उम्मेदवारी दर्ता गर्ने क्रममा आफ्नो सम्पत्ति बन्दसूचीमा राखिएको उल्लेख गर्दै उनले यस्तो प्रावधान सच्याउनुपर्ने धारणा राखे । ‘सार्वजनिक पदमा जाने व्यक्तिको सम्पत्ति जनताले जान्ने गरी खुला हुनुपर्छ । प्रवेश गर्दा र बाहिरिँदा के कस्तो परिवर्तन आयो भन्ने कुरा स्पष्ट देखिनुपर्छ,’ गुरुङले भने, ‘यसरी अहिले नै सार्वजनिक गरियो भने कार्यकालभरि पारदर्शिता सुनिश्चित हुन्छ ।’ संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गर्ने विषय पनि आफ्नो प्राथमिकतामा रहेको उनले बताए । स्थानीयस्तरमा भने विकास निर्माणका कामलाई मुख्य मुद्दा बनाइएको उनको भनाइ छ । विशेषगरी सिद्धार्थ राजमार्गलाई मूल एजेण्डाका रूपमा अघि सारेको उल्लेख गर्दै उनले जनतालाई साना तर प्रत्यक्ष सरोकारका विषयले छोइरहेको बताए । ‘ग्रामीण पर्यटनलाई उद्गमस्थल बनाउने, कृषि पर्यटनसँग जोड्ने योजना छ,’ गुरुङले भने, ‘गाउँमै मानिस बस्न सक्ने वातावरण बनाउन खानेपानी, सडक, बाटो जस्ता आधारभूत पूर्वाधारलाई प्राथमिकतामा राखेका छौँ । उत्पादन र रोजगारी पनि हाम्रो एजेण्डामा छन् ।’ उनले धेरै आश्वासन दिनेभन्दा पनि काम गरेर देखाउने आफ्नो शैली रहेको बताए । प्रदेशसभा सदस्य हुँदा पनि आफूले गर्न सक्ने काम मात्रै जनतालाई प्रतिबद्धता जनाएको स्मरण गर्दै उनले भने, ‘धेरै वाचा गर्ने तर पाँच प्रतिशत पनि कार्यान्वयन नहुने अवस्था देखिन्छ । म त्यस्तो राजनीति गर्दिनँ ।’ प्रदेशसभा सदस्य रहँदा पाएको सेवा-सुविधा निर्वाचन क्षेत्रका विभिन्न सार्वजनिक काममा खर्च गरेको जानकारी दिँदै उनले यसपटक भने सुरुमै त्यो कुरा सार्वजनिक रूपमा घोषणा गरेको बताए । ‘सामाजिक र शैक्षिक व्यक्तित्वको नेतृत्वमा समिति बनाएर पाएको सेवा-सुविधा सार्वजनिक काममा खर्च गर्ने घोषणा गरेको छु,’ उनले भने, ‘पूर्वाधार विकासका काम त सरकारसँग पहल गरेर हुन्छन्, तर कतिपय व्यक्तिगत समस्यामा पनि ध्यान दिनुपर्ने देखिएको छ ।’ कांग्रेसका उम्मेदवार ढकालले एमालेका उम्मेदवारसँग मुख्य प्रतिस्पर्धा हुने बताए । गुरुङसँग विगतमा एउटै समूहमा काम गरेको उल्लेख गर्दै उनले भने, ‘एउटै ग्रुपका मान्छेहरू चुनाव लड्दा अलि अप्ठ्यारो लाग्नु स्वाभाविक हो । तर यो राजनीतिक प्रतिस्पर्धा मात्रै हो ।’ गुरुङको उम्मेदवारी स्वाभाविक भएको बताउँदै ढकालले आफू पनि बाल्यकालदेखि नै नेपाली काँग्रेसमा आबद्ध रहेको स्मरण गरे । ‘पार्टीले परम्परागत शैलीभन्दा फरक तरिकाले जिल्लाको नेतृत्व अगाडि बढाउनुपर्छ भन्ने निष्कर्षमा पुगेर सर्वसम्मत निर्णय गर्‍यो,’ उनले भने । व्यावसायिक संलग्नता र व्यक्तिगत सम्बन्ध राम्रो रहेको उल्लेख गर्दै ढकालले चुनावी प्रतिस्पर्धाले आपसी सौहार्दतामा असर नपार्ने दाबी गरे । ‘श्रीमान-श्रीमती, दाजुभाइ फरक-फरक पार्टीबाट चुनाव लडिरहेका उदाहरण पनि छन्,’ उनले भने, ‘हाम्रो प्रतिस्पर्धा राजनीतिक मात्रै हो, सौहार्दता भने कायम रहन्छ ।’ ढकालले युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने, कृषि रूपान्तरण गर्ने र गाउँ केन्द्रित विकासलाई आफ्नो मुख्य एजेण्डा बनाएको बताए । भदौ २३ र २४ गते युवाहरूले गरेको आन्दोलनलाई स्मरण गर्दै ढकालले त्यसले पुराना राजनीतिक दल, वृद्ध नेतृत्व र बेरोजगारी तथा भ्रष्टाचारविरुद्धको गहिरो असन्तोषलाई उजागर गरेको बताए । ‘युवाहरूले रोजगारी नपाएको, भ्रष्टाचार बढेको र अहिलेको सरकारबाट केही अपेक्षा गर्न नसकिने भन्दै विद्रोह गरे,’ उनले भने, ‘जेनजी युवाहरूको मागलाई सबैभन्दा पहिला नेपाली कांग्रेसले आत्मसात गर्दै नेतृत्वमा रुपान्तरण गरेको छ ।’ ढकालका अनुसार अबका दिनमा राजनीतिक मुद्दाभन्दा आर्थिक र सामाजिक मुद्दा प्राथमिक हुनुपर्छ । युवालाई नेपालमै रोक्ने र स्वदेशमै रोजगारी दिने विषय ठूलो चुनौती भएको उल्लेख गर्दै उनले यही सोचका आधारमा नेपाली कांग्रेसले आफूलाई उम्मेदवार बनाएको बताए । ‘युवालाई खाडी जान बाध्य बनाउने अवस्थाको अन्त्य गर्नुपर्छ । रोजगारी सिर्जना नै मेरो प्रमुख एजेण्डा हो,’ उनले भने । ग्रामीण भेगमा आधारभूत पूर्वाधार पुगिसकेको तर गाउँका घर खाली हुँदै गएका, जग्गा बाँझो भएको र युवा विदेशिएको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै ढकालले अब गाउँ फर्क अभियान चलाउने योजना सुनाए । ‘नेपालको सबैभन्दा ठूलो सम्भावना कृषि हो । कृषिको रूपान्तरण नगरी रोजगारी सिर्जना सम्भव छैन,’ उनले भने, ‘म चुनाव जितेर गएँ भने गाउँलाई केन्द्रमा राखेर पूर्वाधारलाई जनताको जीवनसँग जोड्ने काम गर्छु ।’ सरकार र निजी क्षेत्रको सहकार्यमा रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउने उनको प्रतिबद्धता छ । मतदाताले आफ्नो सोच र दृष्टिकोणलाई गम्भीर रूपमा लिएको र उम्मेदवारहरूबीच तुलना गरिरहेको उनको दाबी छ । ‘कुन उम्मेदवार योग्य हो भनेर मतदाताले आफैं मूल्यांकन गरिरहेका छन्,’ उनले भने । नेपाली कांग्रेसभित्र पछिल्लो समय एकढिक्का भएको दाबी गर्दै ढकालले पार्टीभित्र कुनै गुट-उपगुट नरहेको बताए । ‘म जित्ने सम्भावना प्रबल छ, चुनावी माहोल बन्दै गएको छ,’ उनले भने । ढकालले आफ्नो उम्मेदवारीलाई युवामैत्री रोजगारी, कृषि रूपान्तरण र गाउँ केन्द्रित विकास अभियानका रूपमा अघि बढाएको बताए । साथै सोही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट पर्यटन बोर्डका पूर्वसीईओ धनञ्जय रेग्मी पनि उम्मेदवार छन् । यस आधारमा पनि स्याङ्जा-१ लाई विशेष चासोका साथ हेरिएको छ । साथै स्याङ्जा-१ मा नेपाली कम्युनिष्ट पार्टीबाट शैलेन्द्र घिमिरे, नेशनल रिपब्लिक नेपाल पार्टीबाट अर्जुनकुमार गुरुङ, मङ्गोल नेशनल अर्गानाइजेसनबाट यामबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हुकुमबहादुर राना, उज्यालो नेपाल पार्टीबाट रविन्द्र मल्ल, नेकपा माओवादीबाट सोमबहादुर परियार, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट रनबहादुर विक, श्रम संस्कृति पार्टीबाट पिरन गुरुङ र स्वतन्त्र उम्मेदवारका रूपमा अशोक बिष्ट चुनावी दौडमा छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जा-१ बाट कांग्रेसका राजु थापा विजयी भएका थिए । थापाले ३१ हजार ९९९ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका नारायणप्रसाद मरासिनीले २८ हजार ७४४ मत ल्याएका थिए । रास्वापाका उम्मेदवार बोधराज रेग्मीले ६ हजार ६५ मत ल्याएर तेस्रो बनेको थियो । यस निर्वाचन क्षेत्रमा कांग्रेस, एमाले र रास्वपाबीच प्रतिस्पर्धा हुने देखिएको छ । 

म्याग्दीमा कांग्रेस र एमालेलाई महावीरको चुनौती

काठमाडौं । जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको शिक्षामन्त्री बनेका महावीर पुन अहिले म्याग्दी जिल्लामा घरदैलो गरिरहेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागी मन्त्री पदबाट राजीनामा दिँदै स्वतन्त्र उम्मेदवार बनेका पुन अहिले मत मागिरहेका छन् । राजनीति र मन्त्री पदमा कहिले मोह नरहेको बताउँदै आउने पुन मन्त्री पद छोडेर चुनावी प्रतिस्पर्धामा आउँदा अधिकांशले उनीमाथि विभिन्न टिप्पणी गरिरहेका छन् ।  पुनको यो गतिविधिलाई कसैले राजनीतिक नसा लागेको भनेका छन् भने कतिपयले अवसरवादीको ट्याग भिडाइरहेका छन् । गत भदौमा शिक्षामन्त्रीको शपथ खाँदा आफूलाई मन्त्री हुने रहर नहुँदा पनि जेनजीहरूले गरेको विश्वास र जिम्मेवारीलाई आत्मसाथ गरेर मन्त्री हुनुपरेको जवाफ उनले दिने गरेका थिए ।  अहिले तिनै पुन कसैलाई थाहै नदिई एक्कासि म्याग्दी जिल्लाको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउन पुगेको देख्दा धेरैजना अचम्मित भए । राजनीतिप्रति रुचि नरहेको बताउने तिनै पुनलाई विकासन्युजले तपाईंलाई पनि सत्तामोहले छोएको हो भन्ने प्रश्न गर्यो । उनले जवाफमा भने, ‘म सत्तामोहले भन्दा पनि कसरी देशको विकास गरिन्छ, शिक्षा क्षेत्रमा अझ कसरी राम्रो गर्न सकिन्छ । देशको अर्थतन्त्र सुधार कसरी गर्न सकिन्छ भन्ने हेतुले राजनीतिमा आएको हुँ ।’ छोटो समयको सरकारमा बसेर आफूले चाहेका कुरा गर्न नसक्ने र सुधार गर्नुपर्ने विषय धेरै भएकाले जनताको भोटसहित फेरि त्यो ठाउँमा पुगेर अधुरा काम पुरा गर्ने पुनको भनाइ छ । मन्त्री हुँदाको बखत छोटो समयमा पनि केही गर्न सकिन्छ कि भन्ने हेतुले शिक्षा सुधारको लागि तीनवटा अध्यादेश र चारवटा नियमावली ल्याउन खोजेको तर ल्याउन नसकेपछि आफू निस्कनु परेको उनको धारणा छ ।   उनले गर्न चाहेका कामहरू पनि गर्न सकिने अवस्था शिक्षा मन्त्रालयमा नरहेको बताएका छन् । शिक्षा क्षेत्रका आफ्ना महत्त्वाकांक्षी  नीतिगत प्रयासहरू शक्ति केन्द्रकै तहबाट  अवरुद्ध भएको भन्दै बाध्यताले मन्त्रालयबाट निस्कनु परेको बताए । राष्ट्रपति कार्यालय, संसद्को  विधान समिति तथा  मुख्य सचिव तहबाटै  ऐन र नियमावलीमा काम गर्न रोक लगाइएको आरोप लगाए ।  ‘मैले ल्याउन खोजेको कुरा ल्याउन सकेको भए म यो निर्वाचनमा उम्मेदवार हुने थिइनँ, मैले गर्न खोजेको काम नसकिँदै निर्वाचन आचारसंहिता लागिसकेपछि कुर्सीमा बस्नुको विकल्प थिएन । मलाई कुर्सीमा बस्नुभन्दा शिक्षाको सुधारको लागि चुनावमा जानुपर्ने बाध्यता आइलाग्यो र म मन्त्री छोडेर उम्मे‍दवार बन्न पुगेको हुँ,’ उनले भने । पुनले आफ्नो मुख्य एजेण्डा शिक्षामा सुधार गर्ने, देशको अर्थतन्त्र राम्रो बनाउने र देशमा उद्योग धन्दा सञ्चालनका लागि राम्रो वातावरण बनाउने र देशमा विज्ञान प्रविधिको विकासका लागि प्रयास गर्ने रहेको बताए । ‘सुरुमा एजेण्डा बनाएर हिँडिँदैन, एजेण्डा भन्ने कुरा आउँदै गर्छन्,’ उनी भन्छन्, ‘अहिले म नागरिकसँग भेटघाटमा छु, छलफल गर्छु, उहाँहरूको कुरा सुन्छु एजेण्डा थपिँदै जान्छन् ।’ 'आलोचना गरे पनि फरक पर्दैन' जसरी शिक्षामन्त्रीको रूपमा महावीरले शपथ लिँदा वाहवाही पाएका थिए, त्यसैगरी सुटुक्क राजीनामा दिएर उम्मेदवार बन्दा आलोचना पनि भयो । धेरैले निर्वाचन गराउने जिम्मा लिएका व्यक्ति नै उम्मेदवार भएको भन्दै आलोचना गरे । कतिपयले त चार महिनाको अवधिमा राज्यबाट लिएको सेवासुविधा समेत फिर्ता माग्नुपर्ने दबाब दिइरहेका छन् । पुन आफू प्रतिनिधिसभाको उम्मेदवार बन्दा गरेको आलोचनालाई सामान्य रूपमा स्वीकार्छन् । ‘मलाई धोकेबाज भगौडा, मन्त्रिपरिषदलाई धोका दिएको, जेनजीलाई धोका दिएको आरोप लागिरहेको छ,’ उनी भन्छन्, ‘कतिपयले त सामाजिक सञ्जालमा महावीरको महा पनि हट्यो वीर पनि हट्यो  भनेका छन् । अब मलाई जेसुकै भन्न केही फरक पर्दैन, म भागेको होइन , धोका दिएको पनि होइन, बरु म आफैले धोका पाएको हुँ । आलोचना गर्नेले गरुन्, केही फरक पर्दैन । छोटो अवधिमा गर्न नसकेको काम पुरा गर्ने भनेर हिँडेको हुँ ।’    किन स्वतन्त्र उम्मेदवार भन्ने प्रश्नमा उनी  भन्छन्, ‘म सबै नेपालीको साझा मान्छे हुँ, राम्रा काम गर्न खोज्ने र चाहने मान्छे मलाई मन पर्छन् । पुराना फटाहा राजनीतिक दल मलाई मन पर्दैनन्, त्यसैले म स्वतन्त्र उम्मेदवार बनेको हुँ।’ आफ्नै तालमा चुनावी प्रचार फागुन २१ गते हुने निर्वाचनका लागि प्रतिस्पर्धामा रहेका उम्मेदवारहरू तामझामका साथ घरदैलो गरिरहेका छन् । बाजागाजा नाराबाजीसहित सयौं कार्यकर्ता लगाएर गाउँटोलमा पुगेका दृश्य सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती देखिरहेका छन् । मत पाइसकेपछि गाउँमा अनुहार नै नदेखाउने कतिपय उनै नेता पनि हात जोड्दै घरदैलोमा पुगिरहेका छन् ।  नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टीदेखि लिएर राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरूका उम्मेदवारहरू पनि तामझामसहित घरदैलो गरिरहेका छन् । सबैले आफ्ना एजेण्डा राख्दै गाउँठाउँको विकास गर्ने वाचासहित भोट मागिरहेका छन् ।  तर, स्वतन्त्र उम्मेदवारका रूपमा भोट मागिरहेका पुन भने म्याग्दी जिल्लामा आफ्नै तालमा चुनावी प्रचारमा देखिन्छन् । न हातमा माइक, न अगाडि पछाडि सयौं भीडभाड । उनी एक्लै भोट माग्न हिँड्छन् । उनले नागरिकलाई झुटा आश्वासन दिएर भोट माग्दैनन् बरु भन्छन्, ‘म महावीर पुन तपाईंलाई मनपर्छ भने मलाई भोट दिनुहोला । मन पर्दैन भने भोट नदिनुहोला ।’ ‘मलाई केही गर्छ भन्ने विश्वास लाग्छ र म मनपर्छ भने मलाई भोट दिन सक्नुहुन्छ, तर मन नपरी भोट नदिनुहोला । तर, मेरो आग्रह युवाहरूलाई भोट दिनुहोला,’ उनले चुनावी प्रचारप्रसार यसरी नै गरिरहेका छन् । नयाँको क्रेज र पुराना पार्टीमा देखिएका आन्तरिक कलह र वितृष्णाले महावीरको मत बढ्न सक्ने अनुमान सकिन्छ ।  चुनाव चिन्ह ‘त्रिभुज’, रास्वपाको सहयोग  स्वतन्त्र उम्मेदवार पुनले चुनाव चिन्ह ‘त्रिभुज’ पाएका छन् । निर्वाचन आयोगबाट ‘त्रिभुज’ चिन्ह पाएका पुनले देशको शिक्षा सुधारका लागि त्रिभुजमा भोट मागिरहेका छन् । ग्रामीण क्षेत्रमा प्रविधि विस्तार, सामुदायिक विकास तथा नवप्रवर्तनका क्षेत्रमा लामा समयदेखि सक्रिय रहँदै आएका महावीर वैकल्पिक राजनीतिक धारणासहित राजनीतिमा होमिएका छन् । म्याग्दीमा प्रतिनिधिसभा निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र छ । सो क्षेत्रमा पाँचजना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेसबाट कर्णबहादुर (केबी) भण्डारी, नेकपा एमालेबाट हरिकृष्ण श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीबाट अर्जुनबहादुर थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवराज रोका र स्वतन्त्र उम्मेदवार महावीर पुन चुनावी प्रतिस्पर्धामा छन् ।   उसो त पुनलाई रास्वपाले सघाउने बताइएको छ । रास्वपाका उम्मेदवारले उनलाई सघाउने उद्घोष गरिसकेका छन् । म्याग्दी नै गृहजिल्ला भएकोले त्यसको फाइदा पुनले लिन सक्छन् । म्याग्दीमा उनले सामाजिक कार्य पनि गरेका छन् ।  आफू जन्मेको म्याग्दीको नागी गाउँमा उनले सुरुमा वायरलेस इन्टरनेटको पहुँच पुर्याएका थिए । उनले नागी गाउँकै आफू सानो हुँदा पढेको विद्यालय पनि सुधार गरेर माध्यमिक स्तरको बनाउन सहयोग गरेका छन् । यसले पनि उनलाई चुनावी प्रतिस्पर्धामा सहयोग पुग्नेछ ।  २०७९ मा भएको चुनावमा म्याग्दीबाट नेपाली कांग्रेसले जितेको थियो । नेपाली कांग्रेसका उम्मेदवार खमबहादुर गर्बुजाले २४ हजार २१ मत ल्याएर विजयी हासिल गरेका थिए । उनले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई पराजित गरेका थिए । श्रेष्ठको मत २० हजार १८९ आएको थियो । त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो भएको थियो । अहिले रास्वपाको क्रेज देशभर बढेको छ । नयाँ भनिएका श्रम संस्कृति पार्टी र नेशनल रिपब्लिक नेपाल पार्टीले पनि उनलाई सघाउने प्रतिबद्धता गरेका छन् । नयाँको क्रेज र पुराना पार्टीमा देखिएका आन्तरिक कलह र वितृष्णाले पुनले मत बढ्न सक्ने अनुमान सकिन्छ ।  महावीर पुनको क्रेज र रास्वपाको सहयोगले उनलाई जित्न सक्ने आँकलन गरिए पनि चुनौती भने छ । यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमालेको २० हजार बढी मत छ । सबैले एक्लाएक्लै प्रतिस्पर्धा गर्दा र ती पार्टीका असन्तुष्ट पक्षले पनि महावीरलाई सहयोग गरेको खण्डमा उनले जित्न सक्ने आधार देखिन्छ । तर, पार्टीको मत एकलोटी रूपमा खसेको खण्डमा उनलाई चुनौती थपिन सक्छ । 

सुनसरी-१ मा त्रिपक्षीय प्रतिस्पर्धा, एमालेको गढमा हर्क र रास्वपाको लडाइँ

काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ ।  १६५ निर्वाचन क्षेत्रमा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता पनि भइसकेको छ । दलहरूले चुनावी घोषणापत्र बनाउने चटारोमा रहँदा उम्मेदवारहरू भने चुनावी प्रचारप्रसारमा होमिसकेका छन् ।  यस पटकको निर्वाचनमा सुनसरी-१ लाई पनि धेरैले चासोका रूपमा हेरेका छन् । सुनसरीको धरान उपमहानगरपालिका, बराहक्षेत्र र रामधुनी नगरपालिकाका केही वडाहरू सुनसरी–१ मा पर्छन् । बराह क्षेत्र १ देखि ५ र रामधुनी नगरपालिकाको ६ र ७ नम्बर वडा यो क्षेत्रमा पर्छन् । जहाँ धरानका निवर्तमान मेयर हर्क साम्पाङसमेत प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धामा छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका उनी मेयर पदबाट राजीनामा दिएर उम्मेदवार बनेका हुन् ।  सो क्षेत्रमा २६ जनाले मनोनयन पत्र दर्ता गराएका छन् । जसमा १९ जनाले विभिन्न राजनीतिक दलहरूबाट र ७ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सुनसरी-१ मा नेकपा एमालेको टीकाराम लिम्बू, नेपाली कांग्रेस पार्टीका सुजेन्द्र गोले तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीको गोमा तामाङ (सरिन), नेपाल मजदुर किसान पार्टीको उम्मेदवार महेश श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेसन राजेन्द्र गुरुङ, नेपाल कम्युनिस्ट पार्टी माओवादी (नेत्रविक्रम चन्द )का दिलबहादुर बास्तोला (नगेन्द्र), राष्ट्रिय साझा पार्टीको उम्मेदवार भूपी राई रहेका छन् । यसैगरी, नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार मनोज (सूर्यबहादुर) भट्टराई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार राजकुमार लिम्बू, नेपाली जनश्रमदान संस्कृति पार्टीको उम्मेदवार राजकुमार राई, संयुक्त नागरिक पार्टी नरेश विक, उज्यालो नेपाल पार्टीको डम्बर लावती, नेकपा संयुक्त पार्टीका श्याम नारायण राजधामी, नेपाल जनमुक्ति पार्टीका यामबहादुर लिम्बू, आम जनता पार्टीका राय बहादुर विष्ट , जनता समाजवादी पार्टी नेपालबाट सञ्जय राई, जनता समाजवादी पार्टीका नगेन्द्रबहादुर लिम्बू, राष्ट्रिय प्रजातन्त्र पाटीका उद्धव श्रेष्ठ र मितेरी पार्टी नेपालको डा.रक्षकुमार राई रहेका छन् । त्यस्तै, स्वतन्त्रबाट ओमकृष्ण उदास, शेषप्रसाद रेग्मी, सुवास विश्वकर्मा , चेतबहादुर राई, जीवनकला राई, सुमित राई र देउमान लिम्बूले मनोनयन पत्र दर्ता गराएका छन् । यो क्षेत्रमा त्रिपक्षीय भिडन्त हुने लगभग पक्का भएको छ । नेकपा एमालेका उम्मेदवार टीकाराम लिम्बु, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राई र रास्वपाकी उम्मेदवार गोमा तामाङबीच यो क्षेत्रमा प्रतिस्पर्धा हुने लगभग निश्चित भएको हो ।  अहिले राई सडकदेखि मतदाताको घरदैलोमा माइक बोकेर मत माग्न थालेका छन् । आफू स्थानीय भएको र धरानमा मेयर हुँदा धेरै विकास गरेको तथा खानेपानी समस्याको धेरै हदसम्म समाधान भएको दाबी गर्दै चुनावी मैदानमा छन् ।    मुलुक निर्माण गर्न श्रमको अभियानकर्ता आफू रहेको दाबी उनको छ । श्रम गरेरमात्र मुलुक बन्छ भन्ने विश्वास राख्ने राई सांसद बनेर मुलुक परिवर्तन गर्ने हुटहुटीले संसदमा छिर्ने अभिलाषा बोकिरहेका छन् ।  गत स्थानीय तहको निर्वाचनमा साम्पाङ्ले २० हजार ८२१ मत प्राप्त गरेका थिए । साम्पाङ्ले स्वतन्त्र उम्मेदवारीको रूपमा धरान उपमहानगरपालिकाका मतदाताहरूको मत पाएर विजयी भएका थिए । यस पटकको निर्वाचनमा भने उनलाई भने सहज छैन । उनले धरानमा लोकप्रिय नाराको नाममा विकास गर्न खोजे पनि धेरै विवादित जनप्रतिनिधिको रुपमा चिनिन्छन् ।   यो क्षेत्रमा २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा समाजवादी पार्टीका अशोककुमार राई निर्वाचित भएका थिए । उनले १७ हजार ५९ मत प्राप्त गरी विजयी भएका थिए । यद्यपि २०७९ को निर्वाचनमा उनलाई नेकपा एमालेले सहयोग गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवारी गोमा तामाङले १६ हजार ६०६ मत प्राप्त गरेकी थिइन् । यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट तिनै तामाङ उम्मेदवार बनेकी छन् । उनले चुनावमा राईलाई कडा टक्कर दिएकी थिइन् । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएका थिए । त्यसबखत नेकपा माओवादी र नेपाली कांग्रेसको संयुक्त गठबन्धनबाट उनी उम्मेदवार बनेका थिए । यसपटक भने सबै दलले आ-आफ्नो उम्मेदवारी उठाएका छन् । सुनसरी–१ लाई एमालेको गढ मानिन्छ । विगतका निर्वाचनमा यो क्षेत्रमा एमालेका उम्मेदवार वा एमालेले समर्थन गरेका उम्मेदवार विजयी हुँदै आइरहेका छन् ।  नेपाली कांग्रेसबाट उम्मेदवार बनेका सुजेन्द्र तामाङ धरान उपमहानगरपालिका १५ निवासी तथा पार्टीको क्षेत्रीय सभापतिसमेत हुन् । गत स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार बनेका किशोर राई मेयर साम्पाङ्सँग पराजित बनेका थिए । कांग्रेसले १६ हजार ५९ मत प्राप्त गरेका थिए । धरानका पूर्व मेयर तारा सुब्बाको निधन भएपछि उपनिर्वाचनमार्फत धरानको सत्तामा कांग्रेस उक्लिएको थियो । मेयरमा तिलक राई २६ हजार ७०९ मत प्राप्त गरी विजयी भएका थिए । सोही बेला प्राप्त गरेको मत पुनः लिने आशामा कांग्रेसका उम्मेदवार तामाङ् चुनावी मैदानमा छन् । माओवादीको तर्फबाट धरान उपमहानगरको वडा नं. १७ का वडाध्यक्ष मनोज भट्टराई राजीनामा दिएर चुनावी मैदानमा छन् । भट्टराई र मेयर साम्पाङ उपमहानगरपालिकामा जनप्रतिनिधि हुँदा विवादमा आइरहन्थे । हालसम्मको प्रचारप्रसार, मतदाताको मनोविज्ञान र विगतको मतको विश्लेषण गर्दा यस क्षेत्रमा नेकपा एमाले, रास्वपा र हर्क साम्पाङबीच प्रतिस्पर्धा हुने देखिन्छ । सुनसरी-१ मा १ लाख ५० हजार ३९३ मतदाता छन् । यो क्षेत्रमा १६१ मतदान केन्द्र र ४१ वटा मतदान केन्द्र रहेका छन् ।