ह्यात होटलका लगानीकर्ता ठगिँदै, ३९ प्रतिशत सेयर कसरी झर्यो १० प्रतिशतमा ?
काठमाडौं, ३० असाेज । पाँचतारे होटल ह्यात रिजेन्सीमा लगानी गरेको सरकारी निकाय अन्तर्गतको तारागाँउ विकास समिति र सर्वसाधारण लगानीकर्तालाई होटल व्यवस्थापनले ठगी गरिरहेको छ । ह्यात रिजेन्सी होटेलको वर्तमान अवस्थाको अध्ययन गर्न सरकारले गठन गरेको एक समितिले पनि होटलले गरेको अधिक खर्च नै लगानीकर्ताले लाभ नपाएको निष्कर्षसहितको प्रतिवदेन तयार पारेको छ । तारागाँउ विकास समितिले तयार पारेको यस्तो प्रतिवेदन अनुसार होटेल स्थापना हुँदा सरकारको तारागाँउ विकास समितिमार्फत १७ लाख कित्ता र सर्वसाधारणले ७४ लाख कित्ता सेयर लगानी गरेका थिए । यो लगानीले अहिलेसम्म कुनै प्रतिफल पाएकाे छैन । तर हाेटल व्यवस्थापनले समालेका प्रवर्दकले भने व्यवस्थापन खर्च अधिक देखाएर वार्षिक करोडौ रूपैयाँ लिन सफल भएका छन् । तारागाँउ विकास समितिका सदस्य मधुसुदन उपाध्याय भन्छन्- हाेटलले ३०५ रोपनीको सरकारी सम्पतिमा रजाइँ गरिरहेको भएपनि अहिलेसम्म हालसम्म कुनै प्रतिफल नदिनु र सरकारी सेयरको अधिकार खोज्दा पनि नदिनु नै होटलले ठगी गरिहेको प्रमाण हाे । होटेल स्थापना गर्न तारागाँउले गरेको ३९ प्रतिशत लगानीको सेयर हिस्सा अहिले १० प्रतिशतमा सीमित भएको छ । होटेलले अहिलेसम्म कुनै प्रतिफल नदिएपछि सरकारले यसको नाफा घाटाको अवस्थाका बारेमा छानबिन गर्न गत वैशाख पहिलो साता नै एक समिति गठन गरेको थियो । सोही समितिले एक अध्ययन प्रतिवेदन तयार पारेर पर्यटन मन्त्रालयसमक्ष पेश गरेको तारागाउँको भनाइ छ । प्रतिवेदनमा सरकारी स्वामित्व अनुसार ४० प्रतिशतको सेयर हुनुपर्ने, तीन जना संचालक समितिमा अनिवार्य हुनुपर्ने, सरकारी जग्गा ३०५ रोपनीमध्ये होटलले सबै ओगटेकोले सम्झौता अनुसार १४८ रोपनी फिर्ता गर्नुपर्ने, लगानीकर्ताले होटलको नाफा घाटाको स्पष्ट जानकारी पाउनुपर्ने तथा लाभको हिस्सोदार हुनुपर्नेसहितको विषय समेटिएको पनि उल्लेख छ । होटलको संचालक समितिमा तारागाँउको तीन जनाको प्रतिनिधित्व हुने व्यवस्थालाई एक जनामा सीमित गरेकोले जबसम्म तीनै जनाको अधिकार सुनिश्चित हुँदैन तबसम्म समितिले संचालक समितिको बैठक बहिष्कार गरेको उनले जानकारी दिए । होटलले विसं २०४९ सालमा नै सरकारसँग गरेको सम्झौता अनुसार १४८ रोपनी जग्गा सरकारलाई फिर्ता गर्नुपर्ने प्रस्तावसहितको प्रतिवेदन पर्यटन मन्त्रालयमा तारागाउँले बुझाएको छ । तारागाँउ विकास समितकिा अनुसार होटलले सञ्चालन खर्च बढी देखाएर होटेल वर्षेनी घाटामा रहेको प्रतिवेदन बनाउने गरेको छ । जसका कारण दुई दशक पुग्न लाग्दा पनि होटलका लगानीकर्ताले कुनै प्रतिफल नपाएको निष्कर्ष निकालेको छ । विसं २०४९ साल चैतमा स्थापना भएको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारागाउँ विकास समितिले ह्यात होटेलमा १७ लाख कित्ता (१७ करोड रुपैयाँको) सेयर लगानी गरेको थियो । तारागाँउ रिजेन्सी होटेल्स नामको ह्यातले पछिल्लो समय सरकारी लगानी घटाउँदै अहिले १७ सय कित्तामा सीमित राखेको छ भने होटेलको नाम पनि ह्यात रिजेन्सी बनाएको उल्लेख छ । नेप्सेमा यो होटेलको प्रतिकित्ता सेयर दुई सय ७२ रुपैयाँसम्मा कारोबार भएको छ । होटेलको बजारमा चार तहको सेयर छ । होटेलका राधेश्याम सर्राफसहितका सञ्चालक, तारागाँउ विकास समिति, सर्वसाधारण र विभिन्न वित्तीय संस्थाको ऋणलाई सेयरमा परिणत गरिएको छ । सञ्चालक बाहेकले हालसम्म कुनै पनि प्रतिफल र बोनस नपाएकोले छानबिन समितिले जानकारी दिएको छ । होटेलले सञ्चालक खर्च बढी देखाउने, द्वन्द्वकालको घाटा अझै पूर्ति नभएको बताउने र अनावश्यक खर्च देखाएर घाटाको विवरण दिने गरेको तारागाँउ विकास समितिले जानकारी दिएको छ । होटेलले आव २०६५/०६६ सम्ममा एक अर्ब रुपैयाँको घाटा देखाएको छ । यो घाटा होटेलसँग सम्बन्धित खर्च नै नभएको छानबिन समितिले बताएको छ । छानबिन समितिका अनुसार होटेल नाफामा भए पनि खर्च बढी देखाउने र घाटा देखाएर सञ्चालक समिति सदस्य बाहेकलाई कुनै प्रतिफल नदिएको उल्लेख छ । होटेलले वार्षिक आठ करोडको उधारो बिक्रीलाई खर्च देखाएको, होटेलले वार्षिक साढे पाँच करोड ह्यातको चेन शुल्क तिरेको र होटेल घाटामा सञ्चालन भइरहेकोले ह्यात इन्टरनेसनलबाट शुल्क मिनाहा गराउने प्रस्ताव एउटै प्रतिवेदनमा राखिएकोले यो विषयमा छानविन गरिएको हो । विगत १० वर्षमा होटेलले अधिक खर्च देखाएर र असम्बन्धित खर्च जोडेर होेटेल घाटामा गएको देखाएको प्रतिवेदन बनाएको पाइएको छ । होटेलले सन् २०१४ अगाडिको १० वर्षमा चेन मार्केटिङमा ३६ करोड, इन्टेन्सिभ फी ३१ करोड, ब्याज भुक्तानी एक अर्ब १२ करोड, ह्रास खर्च एक अर्ब ३१ करोड, अपकिपिङ एक्सपेन्सेस ११ करोड, कसिमसन ११ करोड, रिपेयरिङ बिल्डिङ ३२ करोड, रिपेयरिङ सफ्टवेयर ६ करोड र वार्षिक विद्युत् महशुल खर्च १० करोड रुपैयाँ देखाएको भएपनि सो विषयलाई पुष्टि गर्ने कुनै प्रमाण फेला नपरेको पनि समितिले जानकारी दिएको छ । होटेलले आव २०७०/७१ मा मात्रै राधेश्याम सराफलाई २३ करोड, अरुण र उमेश सर्राफलाई ८०/८० लाख, बरुण र देवश सर्राफलाई जनही दुई करोड १४ लाख गरी विभिन्न विदेशी निकाय तथा व्यक्तिलाई मात्रै ९५ करोड रुपैयाँ बाँडेको विषयमा गरिएको अनुसन्धानमा पनि खर्च पुष्टि गर्ने प्रमाण फेला नपरेको उल्लेख छ । तारा गाउँले सन् २०५४ मै ३९ प्रतिशत सेयर लगानी गरेको थियो । होटेलले २०६३ मा जारी गरेको हकप्रद सेयर तारागाउँले खरिद नगरेका कारण यसको र लगानी वृद्धि गर्दा तारागाँउ सहभागि नभएककोले पनि यसको सेयर स्वामित्व घटेको होटल ह्यातको भनाइ छ । होटेलले भने विगतको द्वन्द्वकालको असहज अवस्थामा सञ्चालन भएको होटेलको अवस्थामा तारागाउँमा आएका राजनीतिक व्यक्तिले नबुझेको र सोही समयको घाटा परिपूर्ति गर्न समय लागेकोले दुईतीन वर्षमा लाभ बाड्न सक्ने अवस्थामा पुगेको जानकारी दिएको पर्यटन मन्त्रालय स्रोतको भनाइ छ ।
दसैंमा बाँडियो ५८ अर्बका नयाँ नोट, साना नोटमात्र ९ अर्ब नौ करोडका
काठमाडौं २९, असोज । दसैंको अवसरमा नेपाल राष्ट्र बैंकले ५८ अर्ब नौ करोडका नयाँ नोट बजारमा प्रवाह गरेको छ । राष्ट्र बैंकका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरु र विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट असोज महिनामा उक्त मूल्यका नयाँ नोट साटिएको हो । राष्ट्र बैंकका सह प्रवक्त राजेन्द्र पण्डितका अनुसार दसैंको लागि बजारमा गएका नयाँ नोटमध्ये ४९ अर्ब रुपैयाँ पाँच सयका र एक हजारका नोट छन भने बाँकी नौ अर्ब साना नोट हुन । बैंक तथा वित्तीय संस्थाले बजारमाा पठाएका यी नोट तिहारपछि बैंकमा नै फिर्ता आइसक्ने पनि राष्ट्र बैंकले जानकारी दिएको छ । नेपालको अर्थतन्त्रको आकार अनुसार हाल बजारमा प्रवाह भएका नोटको हिस्सा सानो भएकोले यसले मुल्यबृद्धि नगर्ने उल्लेख छ । हाल नेपालको अर्थन्त्रको आकार साढे २२ अर्बको रहेको छ ।
बचतकर्तालाई दिने ब्याज बढ्यो, बैंकहरुले गत बर्षभन्दा दोब्बर ब्याज दिएर निक्षेप तान्न थाले
बैंक तथा वित्तीय संस्थाहरुले तत्काल लगानी गर्न मिल्ने रकम (तरलता) अभाव हुन थालेपछि बचतकर्तालाई दिने ब्याज बढाउन थालेका छन् । रकम कम हुँदै गएपछि बैंकहरुले गत बर्षभन्दा झन्डै दोब्बर ब्याज दिएर निक्षेप तान्न थालेका हुन । दसैंअघि बैंक तथा वित्तीय संस्थाले एकवर्षे मुद्धती खातामा साढे ८ प्रतिशतसम्म ब्याज दिएका छन् । बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले सुरुमा मुद्धती र त्यसपछि बचतको पनि व्याज बढ्दै जो संकेत देखिएको शनिबारको कान्तिपुर दैनिकमा समाचार छापिएको छ । गत बर्षको असोजमा मुद्धतीको ब्याजदर ४ प्रतिसत हाराहारीमा झरेको थियो । केहीअघि नागरिक लगानी कोषले ठुलो रकम ८ प्रतिसत ब्याज पाउने गरी बाणिज्य बैंकमा राखेको छ ।
१२ हजार दृष्टिविहीनले संसार देख्न पाए, ८० प्रतिशत दानकर्ता उपत्यकाभित्रका
काठमाडौं २९, असोज । नेपालमा आँखादान सुरु भएको २२ वर्षमा करिब १२ हजार दृष्टिविहीनले संसार देख्न पाएका छन् । तिलगंगा आँखा प्रतिष्ठानको तथ्यांकअनुसार हालसम्म ११ हजार नौ सय ८० दृष्टिविहीनमा आँखाको नानी प्रत्यारोपण गरिएको छ । आँखा दान गरेका व्यक्तिको मृत्युपछि आँखा निकालेर दृष्टिविहीनमा प्रत्यारोपण गरिन्छ । आँखा दान गर्ने ११ हजार दुई सय १७ नेपाली नागरिक छन् । त्यस्तै, सात सय ६३ विदेशी नागरिकले आफ्नै देशबाट सहयोगस्वरूप आँखाका नानी नेपाली दृष्टिविहीनलाई उपलब्ध गराएका छन् । हालसम्म आँखा प्रत्यारोपण गरिएकामध्ये ९६ प्रतिशतमा सफल भएको तिलगंगा आँखा प्रतिष्ठानले जनाएको छ । चार प्रतिशत पनि प्रत्यारोपण गरिएका व्यक्तिले चिकित्सकको सल्लाहलाई बेवास्ता गर्दा समस्या हुने गरेको आई बैंकका व्यवस्थापक त्वाएनाले बताए । प्रत्यारोपणपछि लामो समयसम्म अस्पतालमा नै बसेर उपचार गराउनुपर्नेमा हतार गरेर घर जाने र औषधिको राम्रोसँग प्रयोग नगर्नेहरूमा समस्या देखिएको उनले बताए । मृत्युपश्चात् आँखा संकलन गरिएका ८० प्रतिशत दानकर्ता उपत्यकाभित्रका छन् । उपत्यकाबाहिरबाट २० प्रतिशत आँखा संकलन भएको बैंकले जनाएको छ । काठमाडौंबाहिर विराटनगर, पोखरा, कैलाली र वीरगन्जमा आँखा संकलन केन्द्र छन् । संकलित आँखा आवश्यकताअनुसार प्रत्यारोपण गर्ने पूर्वाधार भएका सबै जिल्लामा पठाइने गरेको त्वाएनाले बताए । पूर्वप्रधानमन्त्री तथा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले पनि आँखादान गरेका थिए । मृत्युपश्चात् उनको आँखा निकालेर दृष्टिविहीनमा प्रत्यारोपण गरिएको थियो । त्यस्तै, कम्युनिस्ट नेता निर्मल लामा, साहित्यकार केदारमान व्यथित, सर्वोच्च अदालतका पूर्वन्यायाधीश भरतराज उप्रेती, साहित्यकार जगदीश घिमिरे, अभिनेत्री शान्ति मास्के, हास्य कलाकार हरिवंश आचार्यकी प्रथम पत्नी मिरा आचार्य, पूर्वप्रधानमन्त्री माधव नेपालका पिता मंगलकुमार उपाध्यायले पनि मृत्युपश्चात् आँखादान गरेका छन् ।
शिक्षकबाट अवकासपछिको तलब फिर्ता, तीन वर्षमा पाँच सय शिक्षकबाट सात करोड असुल
काठमाडौं २९, असोज । विद्यालय शिक्षक किताबखानाले अनिवार्य अवकाश पाउने उमेर पुगेर पनि लगातार काम गर्ने शिक्षकबाट बढी अवधिमा लिएको तलब फिर्ता गराउन थालेको छ । पछिल्लो तीन वर्षमा करिब पाँच सय शिक्षकबाट सात करोड रुपैयाँ जति असुल गरिसकेको छ । एउटै शिक्षकबाट १४ लाखभन्दा बढी रकम उठाएको छ । शिक्षकले ६० वर्ष उमेर पुगेपछि अनिवार्य अवकाश पाउँछन् । तर बढी समय काम गर्नेको संख्या ठूलै छ । आर्थिक वर्ष ०७२/७३ मा १ सय ३३ जनाले ६० वर्ष उमेर काटेपछि पनि काम गरेको पाइएपछि किताबखानाले तलब फिर्ता गराएको छ । किताबखानाका महानिर्देशक शेरबहादुर ढुंगानाका अनुसार गत आर्थिक वर्षमा एक सय ३३ जनाबाट दुई करोड २० लाख १६ हजार रुपैयाँ असुल गरिएको छ । कान्तिपुर दैनिकबाट ।
गुहेश्वरी मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सले ५ करोड ५६ लाख रुपैयाँ लाभांश दिने
काठमाडौं, २८ असोज । गुहेश्वरी मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सले ५ करोड ५६ लाख रुपैयाँ लाभांश दिने भएको छ । बैंकले ५ करोड २८ लाख ७३ हजार रुपैयाँ बोनस र कर प्रयोजनको लागि २७ लाख ८२ हजार ७९४ रुपैयाँ नगद लाभांश गरि साे मात्रामा लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय असोज २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंक तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो लाभांश पाउने छन् ।
दसैँबिदापछि खुले सरकारी कार्यालय, कर्मचारीको उपस्थिति भने न्यून
काठमाडौं, २८ असोज । दसैंको बिदाका कारण बन्द भएका सरकारी कार्यालय शुक्रबारदेखि खुलेका छन् । दसैँ बिदापछि सरकारी तथा निजी कार्यालय खुले पनि शुक्रबार भएकाले कर्मचारीको उपस्थिति न्यून देखिन्छ । मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र पनि कर्मचारीको उपस्थिति न्यून छ । दसैँ बिदापछि पहिलो दिन भएकाले पनि कर्मचारीको चहलपहल कम भएको गृहमन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिए । उनकाअनुसार भोलि शनिबार दसैँको पूर्णिमा र सार्वजनिक बिदा परेकाले टाढा रहेका कर्मचारी तथा सेवाग्राही पनि फर्कने क्रममा रहेकाले सामान्य बन्न अझै एक दुई दिन लाग्नेछ । दसैँमा छ दिन बन्द रहेका सरकारी कार्यालय खुलेपछि कामकाजी सर्वसाधारणले केही राहत महसुस गरेका छन् । दसैँमा सुनसान बनेको उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ, टीकाको दिनदेखि दैनिक एक लाखको हाराहारीमा यात्रु विभिन्न गन्तव्यबाट उपत्यका भित्रिरहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । उपत्यकामा सबैखाले सवारीसाधन बाक्लो रुपमा चलेका छन्, सर्वसाधारणको आवतजावत बाक्लो छ भने सडक, चोक गल्लीका पसल खुलेका छन् । उपत्यकाको सवारी आवागमन सामान्य रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । रासस
दसैंमा पाँच सय ७२ च्याङ्ग्रा संरक्षण, १ करोड २ लाख ९६ हजारमा किनेर संरक्षणमा
काठमाडौं २२, असोज । दसैंमा पशुबलि रोक्न छेटल साङ्गे दोर्जेका भक्त बताउने समूहले भक्तपुरको सल्लाघारीमा बिक्री गर्न राखेका च्याङ्ग्रा संरक्षणका लागि भन्दै किनेर हेलम्बुको तार्किघ्याङ लगेको बताएका छन् । बुधबार पाँच सय ७२ च्याङ्ग्रालाई १ करोड २ लाख ९६ हजारमा किनेर संरक्षणका लागि लागिएको समूहकी छुल्टिम साङमो बज्राचार्यले बताइन् । १४ वटा कन्टेनरमा राखेर लगिएका च्याङ्ग्रा तर्किघ्याङको जीवनदानका लागि बनाएको ठाउँमा राखिएको उनको भनाई छ । ‘गुरुको नाममा यस्तो काम गरेका हौं । विगतमा थोरै कलेक्सन गथ्र्यौं,’ उनले भनिन, ‘यसपाली फ्री लाईफ एसोसिएसन भन्ने संस्था पनि सहभागी छ ।’ बुधबार झन्डै ६ सय च्याङ्ग्रा लैजाने टोली शुक्रबार विहान पुनः ३ सय च्याङ्ग्रा किन्न सल्लाघारी पुगेका थिए । यसअघि १८ हजार प्रतिगोटा लगेकोमा व्यापारीहरुले शुक्रबार २० हजार मागेपछि उनीहरु बार्गेनिङ गरिरहेका थिए । ३ सय च्याङ्ग्रा लैजान सवारीसाधनको व्यवस्था गरेर आएका थियोँ । अस्ति १८ हजारमा लग्यौँ । अहिले त २० हजार भनिरहेको छ’ शुक्रबार सल्लाघारीमा भेटिएका उर्गेन जिग्मेले भने । कान्तिपुर दैनिकबाट ।
दैनिक ६ करोड राजस्व संकलन गर्ने विराटनगर भन्सार दुई दिन मात्रै बन्द हुने, गत वर्ष एक साता बन्द भएको कार्यालय यो वर्ष सेवामा खटिरहने
काठमाडौं २२, असोज । यस वर्षको दसैंमा विराटनगर भन्सार कार्यालय दुई दिन मात्र बन्द हुने भएको छ । अघिल्लो वर्षसम्म एक हप्तासम्म बन्द हुने भन्सार कार्यालय यस वर्ष टीकाको अघिल्लो दिन र टीकाको दिन मात्र बन्द हुने भएको हो । फाइल तस्बिर सर्वसाधारणको सहजताका लागि यही असोज २४ र २५ गते मात्र बन्द हुने र टीकाको भोलिपल्टदेखि कार्यालय सञ्चालनमा आउने कार्यालय प्रमुख कृष्ण बस्नेतले जानकारी दिए । विराटनगर भन्सार कार्यालयले दैनिक करिब छ करोड रुपैयाँको राजस्व सङ्कलन गर्दै आएको छ । बन्दका समयमा पनि उद्योगी व्यापारीलाई भन्सार निकासी पैठारीमा सहयोग पु¥याउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएकोे बस्नेतको भनाइ छ ।
कर्णालीमा पैसा छ, विकाश छैन, कर्णली विकास नहुनका मुख्य ४ कारण
काठमाडौं २२, असोज । कर्णालीमा गरिबी निवारण तथा सामाजिक अभिवृद्धिका लागि वार्षिक अर्बौँ खर्च हुन्छ, तर प्रतिफल देखिने गरेको छैन काठमाडौं– कर्णालीमा गरिबी निवारण तथा सामाजिक चेतना अभिवृद्धिका नाममा वार्षिक अर्बौं रुपैयाँ खर्च हुने गरेको छ । सरकार र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ)ले गरेको खर्चको प्रतिफल भने प्रस्ट देखिएको छैन । सरकारी र आइएनजिओको गरी कर्णालीका पाँच जिल्लामा वर्षमा १४ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च हुने गरेको छ । खर्च उत्साहजनक रहे पनि प्रगति त्यस्तो नभएको कर्णाली विकास आयोगकी कार्यकारी निर्देशक पवित्रा अर्यालले बताइन् । कर्णालीलाई चामल वितरणको फाइल तस्विर ‘विनियोजित बजेटको पुँजीगत खर्च करिब ८० प्रतिशत छ, जसलाई सन्तोषजनक मानिन्छ,’ अर्यालले नयाँ पत्रिकासँग भनिन्, ‘तर, त्यस अनुपातमा विकास भने हुन सकेको छैन ।’ उनका अनुसार कर्णालीका जुम्लामा ८२।६७ प्रतिशत, डोल्पामा ९५, मुगुमा ८८।३, कालिकोटमा ७४ र हुम्लामा ६३।६२ प्रतिशत पुँजीगत खर्च भएको छ । विकासका चार समस्या १- जनप्रतिनिधि सहरकेन्द्रित कर्णालीका पाँच जिल्लाबाट निर्वाचित जनप्रतिनिधि बढी काठमाडौं तथा नजिकका सहर सुर्खेत, नेपालगन्जमा केन्द्रित हुने गरेका छन् । आफ्नो जिल्लाको विकासतर्फ उनीहरूले चासो नदिएको आरोप लाग्ने गरेको छ । ‘कर्णालीका जनप्रतिनिधि काठमाडौँ वा यस्तै सहरमा केन्द्रित हुने गरेको देखिएको छ,’ त्रिविको ग्रामीण विकास केन्द्रीय विभागका प्रमुख प्रा।डा। प्रेम शर्माले भने, ‘कर्णाली विकासमा जनप्रतिनिधिको भूमिका नै कमजोर छ ।’ २- उत्पादनभन्दा आश्रितमुखी स्थानीय उत्पादनमा जोड दिने र त्यसबाट आर्थिक उपार्जन गर्ने सोचको विकासतर्फ सरकारी र गैरसरकारी क्षेत्रबाट प्रयत्न हुने गरेको छैन । ‘स्थानीय रातो चामलको उत्पादनलाई जोड दिएर बजारीकरण गर्नेभन्दा पनि कुहेका चामलमा आश्रित बनाउने काम भइरहेको छ,’ त्रिविको ग्रामीण विकास केन्द्रीय विभागका प्रमुख प्रा।डा। प्रेम शर्माले भने । कर्णाली विकास आयोगकी कार्यकारी निर्देशक पवित्रा अर्यालका अनुसार कर्णालीका उत्पादन– स्याउ, सिमी, रातो चामल, जडीबुटीलगायतको उत्पादन तथा विस्तारतर्फ जोड दिनेभन्दा बाहिरबाट खरिद गरिएका वस्तुमा आकर्षण बढ्दै गएको छ । यसले कर्णालीवासीलाई आश्रित बनाएको उनको भनाइ छ । ३- आइएनजिओको हेपाहा प्रवृत्ति स्थानीय बासिन्दाले केही पनि जान्दैनन् भन्ने मानसिकता बोकेर एनजिओ र आइएनजिओ कर्णालीमा जाने गरेको ग्रामीण विकासविज्ञ प्रा।डा। प्रेम शर्मा बताउँछन् । शर्माका अनुसार एनजिओ र आइएनजिओले हेपेर योजना लाद्ने गरेका छन् । त्यसो त स्थानीयमा पनि समस्या रहेको शर्माको भनाइ छ । उनले भने, ‘कर्णालीका मान्छेमा पनि एनजिओ÷आइएनजिओले कति पैसा लिएर आएका छन् भन्दै माग्ने प्रवृति विकास भएको छ ।’ ४- शासित मानसिकता कर्णालीका स्थानीयमा काठमाडौं वा अन्य क्षेत्रमा काम गर्न गएका कर्मचारी वा अन्य व्यक्तिलाई शासक भन्ने मानसिकता रहेको प्रा।डा। शर्मा बताउँछन् । उनी भन्छन्, ‘कर्णालीभन्दा बाहिरको जो गए पनि हामीलाई शासन गर्न आएको भन्दै विरोध गरिहाल्ने मानसिकता पनि कर्णालीवासीमा छ ।’ नयाँ पत्रिका दैनिकबाट ।
कृषि विकास बैंकको १ करोड ९६ लाख कित्ता हकप्रद सेयर आयो, ७०० रुपैयाँको सेयर १०० मा किन्न पाइने
काठमाडौं, २१ असोज । कृषि बैंकले सर्बसाधारण सेयरधनीको लागि १ करोड, ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । उक्त सेयरको लागि कात्तिक ३ गतेदेखि मंसिर ७ गतेसम्म आवेदन गर्न सकिने बैंकले जनाएको छ । बैंकले २ बराबर १ को अनुपानका हकप्रद सेयर जारी गरेको हो । कृषि विकास बैंकको १०० कित्ता सेयर हुनेले ५० कित्ता हकप्रद सेयरको लागि आवेदन गर्न सक्छन् । बैंकले हकप्रद सेयरमा प्रिमियम नराखी प्रतिकित्ता १०० रुपैयाँमा नै निष्काशन गरेको छ । हाल यो बैंकको सेयर प्रतिकित्ता ७०० सय रुपैयाँ भन्दा बढीमा कारोबार भईरहेको छ ।
कन्काई विकास बैंकले ३० प्रतिशत बोनस दिने, पूँजी १५ करोड रुपैयाँ पुग्ने
काठमाडौं, २० असोज । कन्काई विकास बैंकले २० प्रतिशत बोनस दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि १ दशमलब ३१५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय आइतबार बसेको बैंक सञ्चालक समितिले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकको स्वीकृत तथा बैंकको आगामी साधारणसभाले अनुमोदन गर्नुपर्ने छ । हाल बैंकको चुक्ता पूँजी १२ करोड ५० लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको चुक्ता पूँजी १५ करोड रुपैयाँ पुग्ने छ ।
सातवटा परियोजना सञ्चालनका लागि जापानको ६१ करोड रुपैयाँ सहयोग
काठमाडौं, १९ असोज । जापान सरकारले विभिन्न सातवटा परियोजना सञ्चालनका लागि नेपाल सरकारलाई ६१ करोड रुपैयाँ सहयोग गरेको छ । नेपालस्थित जापानी दूतावासका अनुसार जापानले हनुमानढोकास्थित पञ्चमुखी हनुमान मन्दिर र पाटनको देगु तलेजु मन्दिरको जीर्णोद्वार गर्न ३३ करोड रुपैयाँ र सिचाइँ प्रणाली सुधार कार्यक्रममा १५ करोड रुपैयाँ नगद सहयोग गर्नेछ । त्यस्तै, जापानले गोदामघर निर्माण गर्न तीन करोड रुपैयाँ, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकको पाँचखालमा प्लान्ट निर्माण गर्न पाँच करोड रुपैयाँ, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुई करोड रुपैयाँ तथा स्वास्थ्य क्षेत्र सुधार कार्यक्रममा तीन करोड रुपैयाँ प्रदान गर्नेछ । उक्त रकम जापानले प्रदान गर्ने खाद्य सहयोग कार्यक्रममार्फत उपलब्ध गराउने बताइएको छ । रासस
३९ करोड विनियोजनमा भारत र चीन जोड्ने लोकमार्गको निर्माण तीव्र गतिमा
पर्वत, २० असोज । करिब एक दशकदेखि अलपत्र बनेको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको निर्माण तीव्ररुपमा अघि बढेको छ । राष्ट्रिय गौरवका आयोजनाको रुपमा रहेको भारत र चीन जोड्ने कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा ट्र्याक खुलाउने तथा स्तरवृद्धिको काम तीव्र पारिएको छ । लोकमार्गअन्तर्गत सदरमुकाम कुश्मादेखि स्याङजाको मिर्मी सम्मको करिब ६८ किलोमिटर सडक खण्डमा ट्र्याक खुलाउने तथा स्तरवृद्धिको काम तीव्र पारिएको हो । उक्त सडकखण्डमा ट्र्याक खोल्ने, सडक चौडा बनाउने, तारजाली हाल्ने, कल्भर्ट बनाउने, नाली काट्नेलगायतको कामले तीव्रता पाएको छ । उक्त खण्डको स्तरवृद्धि गर्न ३९ करोड रुपैयाँ विनियोजन भइसकेको छ । सो सडकखण्डको काम २०७४ असारभित्र सम्पन्न गर्नेगरी दुई ओटा निर्माण कम्पनीमार्फत काम भइरहेका छन् । अहिले मिर्मी–रानीपानी खण्डमा काष्ठमान्डप निर्माण कम्पनी र रानीपानी–कुश्मा खण्डमा सूर्य कन्स्ट्रक्सन प्रालिले काम गरिरहेका छन् । सडकको स्तर १० मिटर फराकिलो बनाइनुका साथै मोड तथा ग्रेड सुधार र ह्युम पाइप, कल्भर्ट निर्माण गर्नु मुख्य रहेको सूर्य कन्स्ट्रक्सन प्रालिका सञ्चालक आरके थापाले जानकारी दिए। कालीगण्डकी लोकमार्ग दक्षिणमा रहेको पूर्वपश्चिम राजमार्गबाट प्रारम्भ भई तीन अञ्चल नौ जिल्ला हुँदै उत्तरी छिमेकी राष्ट्र चीनको कोरला नाकासम्म जोडिएकाले यस क्षेत्रको विकासका लागि मेरुदण्डका रुपमा लिइएको छ । लोकमार्गको निर्माणपश्चात् यस क्षेत्रको गरिबी निवारणमा ठूलो सहयोग पुग्ने पर्वत क्षेत्र नं २ का सांसद विकास लम्सालले बताए । रासस
कसमस डेभलपमेन्ट बैंकले २४ प्रतिशत लाभांश दिने, पूँजी १० करोड २९ लाख पुग्ने
काठमाडौं, २० असोज । कसमस डेभलपमेन्ट बैंकले २४ दशमलब ८४ प्रतिशत लाभांश दिने भएको छ । बैंकले २३ दशमलब ६० प्रतिशत बोनस र कर प्रयोजनका लागि १ दशमलब २४ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय बिहीबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकद्धारा स्वीकृत तथा बैंकको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको पूँजी १० करोड २९ लाख रुपैयाँ पुग्ने छ । सो दिन बैंकको प्रति कित्ता सेयर करिब ४३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
मठमन्दिरमा पूजा गर्न वार्षिक एक करोड बजेट, ६५ प्रतिशत बजेट दसैँको वेलामा हुने पूजा तथा बलिमा खर्च
काठमाडौं २०, असोज । देशभरका मठमन्दिरमा पूजा गर्न सरकारले वार्षिक एक करोड रुपैयाँ खर्च गर्ने गरेको छ ।सरकारले चालू आर्थिक वर्षमा मन्दिर र शक्तिपीठमा पूजा गर्न एक करोड १६ लाख ५२ हजार चार सय रुपैयाँ विनियोजन गरेको छ । विनियोजित रकममध्ये करिब ६५ प्रतिशत बजेट दसैँको वेलामा हुने पूजा तथा बलिमा खर्च हुने गरेको निवृत्तभरण व्यवस्थापन कार्यालयका प्रमुख शिवनाथ पौडेलले बताए । विनियोजित बजेट दसैँबाहेक अन्य विशेष पूजामा पनि खर्च हुने गरेको छ । पूजाआजाका लागि सरकारले विनियोजन गर्ने बजेट हरेक वर्ष बढ्ने गरेको छ । गत आर्थिक वर्षमा पूजा सामग्री तथा पशुबलिका लागि एक करोड १२ लाख ३२ हजार रुपैयाँ विनियोजन भएको थियो । चौपाया बलिका लागि साढे ८१ लाख बजेट सरकारले चालू आर्थिक वर्षमा चौपाया बलिका लागि ८१ लाख ४५ हजार सात सय रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, पूजाआजा गर्न ३४ लाख ९६ हजार सात सय रुपैयाँ छुट्याएको छ । धुप, धजा, प्रसादसहित २१६ प्रकारका पूजा सामग्री पूजामा प्रयोग गर्ने गरिन्छ । मल्लकालदेखि नै मन्दिर तथा विभिन्न शक्तिपीठका लागि बजेट विनयोजन हुँदै आएको निवृत्तभरण व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख पौडेलले भने, ‘हिन्दूधर्मका लागि निवृत्तभरण व्यवस्थापन कार्यालयले खर्च गर्दै आएको छ । अन्य धर्मावलम्बीका लागि छुट्टै निकायबाट पैसा व्यवस्थापन गरिन्छ ।’ नयाँ पत्रिका दैनिकबाट ।
हिमालयन बैंकद्धारा करिव ६ हजार भूकम्प पीडितलाई अनुदान वितरण
काठमाडौं, १९ असोज । हिमालयन बैंकले मंगलबार सम्म ५ हजार ५६५ जना भूकम्प पीडितलाई नीजि आवास पुनःनिर्माण अनुदान वितरण गरेको छ । बैंकले २०७३ जेष्ठमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग गत वर्षको भूकम्पमा क्षति भएका निजि आवास पुनःनिर्माणका लागि अनुदान वितरण गर्ने सम्झौता वमोजिम बैंकको उपत्यका बाहिरका ७ वटा जिल्ला शाखाहरुमा १३ हजार ९१७ वटा लाभग्राहीहरुको खाता खोलिसकेको छ । बैंकमा हालसम्म राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट ३९ करोड ५ लाख ५० हजार रुपैयाँ प्राप्त भई ७ हजार ८११ वटा खातामा जम्मा भइसकेको बैंकले जनाएको छ । बैंकमा खोलिएको खाता मध्येबाट हालसम्म ५ हजार ५६५ जना लाभग्राहीहरुले रकम बुझिसकेका छन् । बैंकले सकेसम्म छिटो भन्दा छिटो अनुदान वितरण गर्न सम्बन्धित जिल्ला विकास समिति तथा गा.वि.स. सचिवहरुसँग समन्वय गरी हरेक दिन विहान १० बजे देखि ४ बजे सम्म राहत वितरण गर्ने छ । साथै, यसै महिना देखि विदाको दिनमा पनि राहत वितरण गर्ने बैंकले जनाएको छ । बैंकले भूकम्प प्रभावित जिल्लामा नुवाकोटको बट्टार, रसुवाको वेत्रावती, धादिङ्गको धादिङ्गवेंशी, मकवानपुरको हेटौंडा, काभ्रेको बनेपा, सिन्धुपाल्चोकको वाह्रविसे तथा गोर्खा जिल्लाको गोर्खा नगरपालिकामा रहेका शाखाहरुबाट अनुदान वितरण गरिरहेको छ ।
मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ५० प्रतिशत बोनस दिने, पूँजी ३० करोड पुग्ने
काठमाडौं, १९ असोज । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले सेयरधनीलाई ५० प्रतिशत बोनस दिने भएको छ । साथै, कर लाभांशको लागि कम्पनीले २ दशमलब ६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्नेछ । हाल बैंकको चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको चुक्ता पूँजी ३० करोड रुपैयाँ पुग्ने छ । बुधबार बैंकको प्रतिकित्ता सेयर करिब २९०० रुपैयाँमा किनबेच भइरेहेको छ ।
पुनःनिर्माणका लागि ढुंगा, गीट्टी, बालुवा र इँटाको चरम अभाव, ६ अर्ब ९० करोड वटा इँटा नै पुगेन
काठमाडौं, १९ असोज । पुनः निर्माणका लागि आवश्यक पर्ने ९३८ अर्ब रुपैंयाँमध्ये ७४५ अर्ब अपुग हुने सन्दर्भले महत्व पाइरहेका बेला ढुंगा, माटो, इँटा र बालुवाको समेत ठुलो मात्रामा अभाव रहेको देखिएको छ । राष्ट्रिय पुनः निर्माण प्रधिकरणले तयार पारेको प्रगति विवरण अनुसार ६ अर्ब ९ करोड वटा इँटाको अभाव देखिएको छ । पुनः निर्माणका लागि १६ करोड १४ लाख इँटा आवश्यक रहेकोमा ९ अर्ब २४ वटा इँटा मात्रै आपुर्ति भएको छ । २ करोड ११ लाख ९० हजार घनमिटर ढुंगा आवश्यक छ । तर १ करोड ५६ करोड ६० लाख घनमिटर ढुंगा मात्रै आपुर्ति भएको छ । त्यसमध्ये ५४ लाख ६० हजार घनमिटर ढुंगा पनि अपुग हुने देखिएको हो । २४ लाख ३० हजार घनमिटर गीट्टी आवश्यक रहेका बेला ५ लाख ८० हजार घनमिटर गीट्टी अभाव भैरहेको छ । त्यस्तै, ६४ लाख ३० हजार घनमिटर बालुवाको माग रहेकोमा २२ लाख ८० हजार घनमिटर आपुर्ति भएको छ । त्यसबाहेक ४१ लाख ५० हजार घनमिटर बालुवा अभाव छ । पुनः निर्माणका लागि ४६ लाख ४० हजार घनमिटर काठको माग छ । सोमध्ये २५ लाख ५० हजार घनमिटर काठको मात्रै आपुर्ति भएको छ । त्यस बाहेक २० लाख ८० हजार घनमिटर काठ अभाव छ । पुनः निर्माणका लागि सिमेन्ट, छड र जस्तापाताको आपुर्ति भने पर्याप्त मात्रामा रहेको छ । सिइओले प्रस्तुत गरेको विवरण अनुसार ७४५ अर्ब रुपैंयाँ अपुग हुने देखिएको छ । कुल ९३८ अर्ब लागत अनुमान गरिएको पुननिर्माणका लागि दाताहरुले ३४३ अर्ब रुपैंयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यसमध्ये २७२ अर्ब रुपैंयाँको सम्झौता भैसकेको छ ।
अरनिको डेभलपमेन्ट बैंकको नौ लाख २८ हजार कित्ता शेयर निष्कासन, हकप्रद शेयरमा नौ करोडको लगानी अवसर
काठमाडौं १९, असोज । अरनिको डेभपलपेन्ट बैंकले नौ लाख २८ हजार १९० कित्ता शेयर हकप्रद शेयरको निष्कासन गर्ने भएको छ । यो बैंकले प्रतिकित्ता एक सय रुपैयाँ दरको यो शेयरबाट नौ करोड २८ लाख १९ हजार ३४ रुपैयाँ संकलन गर्ने भएको छ । यो बैंकको ९ लाख कित्ता शेयर खरीद गर्न चाहने हकप्रद शेयरका लागि नौ करोड रुपैयाँको लगानी अवसर रहेको छ । बैंकले आगामी कात्तिक ८ गतेबाट हकप्रद शेयर निष्कासन गर्ने भएकको छ । यो बैंकले १२ गते सम्मका लागि हकप्रद शेयर भर्ने सूचना जारी गरेको छ । बैंकले १० कित्ता साधारण शेयर बराबार ३ दशमलव ६ कित्ता साधारण शेयरको लागि हकप्रद निष्काशन गरेको हो । यो बैंकको २५ करोड ७८ लाख ३० हजार ६५० रुपैयाँको चुत्ता पूँजी रहेको छ । १० शेयर बराबार ३.६ को अनुपातमा एक सयका दरले नौ लाख २८ हजार १९०. ३४ कित्ता हकप्रद शेयर असोज २७ गतेसम्म नेपाल स्टक एक्चेन्जमा कारोबार भई कायम साविक शेयरधनीका लागि हकप्रद निकाष्काशन गरेको हो । यो बैंकको बजारमा ४ सय ६२ रुपैयाका प्रतिशेयरको कारोबार भइरहेको छ ।