जनता बैंक र त्रिवेणी विकास बैंक मर्ज हुने, ५ अर्ब ५० करोड पुँजी जुट्दै

काठमाडौं, १३ कात्तिक । जनता बैंक नेपाल र त्रिबेणी बिकास बैंक मर्ज हुने भएको छ । सो सम्बन्धी समझदारी पत्रमा शुक्रबार साँझ दुबै बैंकका अधिकारीहरुबीच हस्ताक्षर भएको छ । मर्जपछि बैंकको नाम, लोगो जनता बैंक नेपालकै हुने छ । सञ्चालक समितिमा त्रिबेणी विकास बैंकबाट दुई जना प्रतिनिधि हुनेछ । उच्च व्यवस्थापन समिति जनता बैंकको नै रहने छ । जतना बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालका अनुसार स्वाप रेसियो १०० बराबर १०० हुनेछ । यो मर्जसँगै जनता बैंकले ५ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजीको आधार तयार गरेको छ । ‘दुबै बैंकले प्रस्ताव गरेको हकप्रद सेयर निष्काशन र बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ५० करोड रुपैयाँ हुनेछ’ लाम्सालले देश विकासलाई भने । हाल जनता बैंकको चुक्ता पुँजी २ अर्ब ६ करोड रुपैयाँ छ । यस बैंकले १ अर्ब ३ करोड रुपैयाँको हकप्रद सेयर निष्काशन आह्वान गरेको छ भने ४१ करोड रुपैयाँ बराबरको बोनस सेयर छ । हकप्रद र बोनस सेयर जोड्दा जनता बैंकको सेयर पुँजी ३ अर्ब ५० करोड रुपैयाँ हुनेछ । जनता बैंकसँग मर्ज हुँदा त्रिबेणी विकास बैंकको चुक्ता पुँजी १ अर्ब ३७ करोड रुपैयाँ हुनेछ । यस बैंकमा हाल चुक्ता पुँजी ८२ करोड रुपैयाँ छ । यस बैंकले पनि चुक्ता पूँजीमा ५० प्रतिशत अर्थाक ४१ करोड रुपैयाँको हकप्रद जारी गर्न प्रक्रिया अघि बढाएको छ । उसले करिव १५ करोड रुपैयाँ बराबरको बोनस दिने प्रस्ताव अगाडि बढाएको छ । दुई बैंक मर्जपछि चुक्ता पुँजी ४ अर्ब ८८ करोड रुपैयाँ हुनेछ । चालु आर्थिक वर्षको नाफाबाट बोनस सेयर दिँदा ५ अर्ब ५० करोड रुपैयाँ पुँजी पुग्ने विश्वास गरिएको छ । यो मर्ज सकिएपछि पुन अर्को विकास बैंक एक्वाएर गर्ने रणनीतिमा जनता बैंक रहेको छ ।

नेपाल बंगलादेश बैंकले कमायो साढे २२ करोड नाफा

काठमाडौं, १३ कात्तिक । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा २२ करोड ५० लाख नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधीमा जम्मा १२ करोड ४८ लाख नाफा कमाएको बैंकले चालु आवको सोही अवधीमा भने १० कराेडले बढाएर साढे २२ कराेड नाफा कमाउन सफल भएको हो । बैंकले पहिलो तीन महिनामा ३९ अर्ब ६० करोड निक्षेप संकलन गरेर ३४ अर्ब २७ करोड कर्जा प्रवाह गरेको छ । ४ अर्ब चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब २५ करोड रुपैंयाँ रहेको छ । नेपाल बैंगलादेश बैंकको प्रति सेयर आम्दानी २२ रुपैंयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १५६ रुपैंयाँ रहेको छ । बैंकको सेयर ९०५ रुपैंयाँमा कारोबार भैरहेको छ ।

भारतीय कर्मचारीको ‘सहुलियत भ्रमण’ मा नेपाल, ५ लाखभन्दा बढी भारतीय कर्मचारीलाई यस्तो सुविधा

काठमाडौं १३, कात्तिक । भारत सरकारले आफ्ना कर्मचारीलाई उपलब्ध गराउने सहुलियतपूर्ण भ्रमण गन्तव्यको सूचीमा नेपाल पनि समावेश गर्ने भएको छ । अन्य विकसित मुलुकले झैं भारतले पनि आफ्ना कर्मचारीलाई वर्षमा केही दिन विदेश भ्रमणमा पठाउने र त्यसका लागि सुविधा उपलब्ध गराउने गरेको छ । प्रतिवर्ष ५ लाखभन्दा बढी भारतीय कर्मचारीले त्यस्तो सुविधा लिने गरेका छन् । भ्रमण सूचीमा नेपाल थिएन । नेपालका तर्फबाट आग्रह भएपछि भारतले सूचीमा राख्ने आश्वासन दिएको छ । गुणस्तरीय पर्यटकको संख्या वृद्धि गर्न नेपाल सरकारले त्यस्तो सूचीमा पार्न आग्रह गरेको थियो । परराष्ट्रमन्त्री प्रकाशशरण महतले यसले नेपालको पर्यटनमा फाइदा पुग्ने बताए । भारतले अन्य मुलुकबाट पनि नेपाल प्रवेश गर्न सक्ने सुविधासमेत उपलब्ध गराउन लागेको छ । चीनले आफ्ना कर्मचारीलाई नेपाल भ्रमणका लागि सहुलियत दिँदै आएको छ । नेपालको आग्रहबिनै चीनले दुई वर्षअघि सूचीमा नेपाललाई राखेको थियो । चिनियाँ कर्मचारीको नेपाल भ्रमणमा रुचि बढ्ने र युरोप अमेरिकाभन्दा सस्तो पनि हुने भएपछि उनीहरूको नेपाल मोह बढेको थियो । अघिल्लो वर्ष मंसिर र पुस महिनामा चीनका करिब पाँच सय सरकारी अधिकारीले नेपालको भ्रमण गरेको जानकारी परराष्ट्र मन्त्रालयसँग छ । अनौपचारिक रूपमा पर्यटक भएर आउनेहरूको सूची भने सरकारसँग हुँदैन । परिणाम चाँडै देखिनेछ ःमहत दिल्लीमा बिहीबार सम्पन्न नेपाल(भारत संयुक्त आयोगको बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर फर्केका परराष्ट्रमन्त्री महतले बैठक सफल र उपलब्धिमूलक रहेको बताए । ‘विगतमा भएका सम्झौता, आयोजना एवं सहयोगको कार्यान्वयनमा भारतीय पक्षबाट पनि सकारात्मक जवाफ पाएका छौं, यसको परिणाम चाँडै देखिन्छ,’ उनले भने । विगतमा सहमति भएर पनि कार्यान्वयनमा आउन नसकेका कैयौं आयोजना र सम्झौता कार्यान्वयनका लागि दुवै पक्षबाट जुटेको सहमतिको माइन्युटमा हस्ताक्षर गरिएको पनि उनले बताए । अघिल्लो बैठकमा जस्तै यसपटक संयुक्त वक्तव्य जारी नभएका बारे उनले भने, ‘हस्ताक्षर गरेर माइनुट साटासाट गरिसकेपछि किन आवश्यक रह्यो र संयुक्त वक्तव्य उल्लेख छ । कन्तिपुर दैनिकबाट ।

एनबी इन्स्योरेन्सले एकै दिन खोल्यो तीन वटा नयाँ शाखा, सेयर लिलामीबाट ४ कराेड प्रिमियम अाम्दानी

काठमाडौं, १२ कात्तिक । एनबी इन्स्योरेन्सले एकै दिन उपत्यकामा तीन वटा शाखा विस्तार गरेको छ । तिहारको अवसर पारेर एनबी इन्स्योरेन्सले कलंकी, कोटेश्वर र भक्तपुरको सलाघारीमा नयाँ शाखा सुरु गरेको हो । तीनवटै शाखाहरुको उद्घाटन बीमा समितिका अध्यक्ष डा. भक्त बहादुर केसीले गरेका थिए । तीन वटा नयाँ शाखा थपिएपछि एनबी इन्स्योरेन्सको शाखा संख्या १७ वटा पुगेको छ । शाखाको उद्घाटन कार्यक्रममा प्रा.डा.फत्तबहादुर के.सी.ज्यूले कम्पनीले छोटो समयमानै आफ्नो साख स्थापित गर्न सफल भएको बताए । उनले बीमा क्षेत्रको विकास र विस्तार साथै अनुभवी मानव संसाधनको उत्पादन गरेर बीमा क्षेत्रलाई टेवा दिनुका साथै ग्राहकहरुलाई छिटो र छरितो सेवा प्रदान गर्ने तर्फ ध्यान दिन कम्पनीको व्यवस्थापन र संचालक समितिलाई आग्रह गर्नुभयो । त्यसै गरी नेपाल सरकारले अघि सारेको कृर्षि तथा लघु बीमामा पनि आफ्नो सेवा विस्तार गर्न निर्देशन दिए । सोही अवसरमा कम्पनीका संचालक समितिका अध्यक्ष अम्बिका प्रसाद पौडेलले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए । कम्पनीको शुक्रबार उद्घाटन भएको ३ शाखा सहित १७ वटा शाखा, ५ वटा सम्पर्क कार्यालय तथा ११ वटा सेवा काउण्टरहरुबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्ने जानकारी दिए । कम्पनीले हालै १० शेयर बराबर ८ शेयरका दरले प्रदान गरेको हकप्रद शेयरको बांकी शेयर बोलकबोल मार्फत रु.४ करोड ५३ लाख शेयर प्रिमियम प्राप्त गरेको जानकारी दिए ।  हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्ता पूंजी रु. २७ करोड पुगेको पनि जानकारी दिंदै निकट भविष्यमा नै कम्पनीले थप शाखा खोलेर आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै सेवा प्रदान गर्ने जानकारी गराए । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले उद्घाटन भएका तीन शाखा मध्ये कोटोश्वर शाखामा शाखा प्रमुखदेखि तल्लो तहसम्मका सबै कर्मचारीहरु महिला रहेका र उक्त शाखालाई महिला शाखाको रुपमा स्थापना गरिएको जानकारी दिए । कम्पनीमा नयां लगानीकर्ताको रुपमा २०७१ साल माघबाट आई एम ई ग्रुप लगायत विभिन्न उद्योगी, व्यावसायी तथा प्रतिष्ठित व्यत्तित्वहरुको प्रवेशसंगै नयां व्यवस्थापनले कम्पनी संचालन गरे पश्चात भए गरेका कार्यहरुको बारेमा समेत जानकारी गराउंदै आ.ब. २०७२।०७३ मा ३५ करोड बीमा शुल्क आर्जन गरेको साथै करिब ४ करोड खुद नाफा आर्जन गरेको जानकारी गराए ।

लुम्बिनी जनरल इन्स्योरेन्सले १९ प्रतिशत लाभांश दिने, पूँजी ३९ करोड रुपैयाँ पुग्ने

काठमाडौं, १२ कात्तिक । लुम्बिनी जनरल इन्स्योरेन्सले सेयरधनीलाई १९ दशमलब १४२ प्रतिशत लाभांश दिने भएको छ । बैंकले १८ दशमलब १८२ प्रतिशत बोनस र ०.९६ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निणर्यलाई बीमा समिति तथा कम्पनीको आगामी साधारणसभाले अनुमोदन गर्नु पर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी ३३ करोड १२ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको पूँजी ३९ करोड १५ लाख रुपैयाँ पुग्ने छ । बिहीबार कम्पनीको प्रत्तिकित्ता सेयर करिब १८४४ रुपैयाँमा कारोबार भएको थियो ।

यति डेभलपमेन्ट बैंकको नाफा ५ करोड ३० लाखले वृद्धि

काठमाडौं, १२ कात्तिक । यति डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा आफ्नो नाफा ५ करोड ३० लाखले वृद्धि गरेको छ । गत आवको पहिलो त्रैमासिकमा जम्मा एक करोड ३२ लाख मात्रै नाफा कमाउन सफल यतिले चालु आवको सोही अवधीमा भने ६ करोड ६२ लाख नाफा कमाउन सफल भएको हो । बैंकले हाल २५ वटा शाखा तथा २० वटा एटिमबाट आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । गत आबमा बैंकको ३४ करोड ७८ लाखको ऋणात्मक जगेडाकोष रहेको थियो । हाल जगेडा कोषमा ११ करोड ५२ लाख जम्मा भएको छ । बैंकले १० अर्ब ८२ करोड निक्षेप संकलन गरेर ९ अर्ब १२ करोड कर्जा प्रवाह गरेको छ । गत आबमा रहेको ८ दशमब शुन्य २ प्रतिशतको खराब कर्जालाई घटाएर ४ दशमलब २९ प्रतिशतमा झार्न सफल भएको छ । बैंकले २ बराबर एक कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशनको एनसिएम मर्चेन्ट बैंकिङ्गलाई शेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको छ ।

क्यासिनोमा भटाभट विदेशी लगानी भित्रँदै, अन्नपूर्णमा भित्रियो ९० प्रतिशतको भारतीय लगानीकर्ता इम्पेरियल

काठमाडौं १२, कात्तिक। नेपाली लगानीकर्ताले सरकारलाई तिर्नुपर्ने रोयल्टी नै नतिरेपछि सरकराले कानुन कसेरै बन्द गराएको क्यासिनोमा भटाभट विदेशी लगानीकर्ता भित्रिएका छन् । राजधानी ८ वटा पाँचतारे होटलमध्ये चारवटा होटलमा विदेशी लगानीको क्यासिनो भित्रिसकेको छ । दुईवटा नेपाली लगानीले अदालतको आदेशबाट पुरानै नियममा क्यासिनो चलाईरहेको छ भने एउटा पाँचतारे होटल एभरेष्ट बन्द अवस्थामा रहेकोले त्यहाँ क्यासिनो नै संचालन छैन । यो साता मात्रै पाँचतारे होटल अन्नपूर्णमा विदेशी लगानीकर्ता भित्रिएको पर्यटन विभागका होटल शाखाका अधिकृत ओम देवकोटाले बताए । उनका अनुसार अन्नपूर्णमा भारतीय लगानीकर्ता भित्रिएको छ । क्यासिनो इम्पेरियलको नामले क्यासनो संचालको पूर्व स्वीकृति लिएर गएको हो क्यासिनोले होटलको कुमारी हल नामक होटलकै सबैभन्दा ठूलो व्याक्वेटमा क्यासिनो संचाल प्रक्रिया गाडि बढाइसकेको छ । मन्त्रालयका पूर्व स्वीकृति लिएको यो क्यासिनोमा १० प्रतिशत नेपाली लगानीकर्ता धिरेन मोक्तानको छ भने बाँकी ९० प्रतिशत लगानी भारतीय लगानीकर्ता इम्पेरियलकै छ । लामो समयको प्रयासपछि पनि दरबारमार्गमा रहेको याकएण्ड यतिमा क्यासिनो संचालन विवाद नमिलेपछि भारतीय लगानीको इम्पेरियल क्यासिनो अन्नपूर्ण भित्रिएको पनि विभागको भनाइ छ । अघिल्लो वर्ष बैशाखमा गएको भूकम्पका कारण पूरानो भवन भत्किएपछि अन्नपूर्णको क्यासिनोको कुमारी हलको व्याक्वेटमा संचालनको तयारी भएको छ । इम्पेरियलले अहिले पूर्व स्वीकृति पाएर होटलमा क्यासिनोको पूर्वाधार तय गरिरहेकोे छ । अब तिहारपछि नै क्यासिनो पूर्ण रुपमा संचलनको जानकारीसहित आउने र मन्त्रालयबाट अनुमित पनि पाउने विभागको भनाइ छ । देवकोटाका उनका अनुसार सरकारले तोकेको मापदण्ड पूरा गरेर आउने तथा क्यासिनो नियमावली २०७० को पालना गरेको अवस्थामा अनुमति पाउन सक्छ । हाल क्यासिनो मिलेनियर्स क्लव सांग्रीला होटलमा, क्यासिनो माजोङ सोल्टी होटलमा, क्यासिनो प्राइड ह्यात रिजेन्सीमा संचालनमा रहेको छ । क्यासिनो भेन मल्ल होटल र र्र्याडिसनमा क्यासिनो र्याड र याकएण्ड यतिको क्यासिनो रोयल भने अदालतको आदेशले संचालमा आएका क्यासिनो हुन । सरकाले विदेशीलाई प्राथमिकता राखेर ल्याउको मापदण्डर नियमावलीका नेपाली लगानीकर्ता डुबाएको क्यासिनो संघ नेपलाका अध्यक्ष किशोर सिलवलको भनाइ छ । उनका अनुसार सरकालाइ नेपालीको ५१ प्रतिशत शेयर रहने गरी क्यासिनो नियमावली संसोधन गर्न सरकारसँग माग गरिएको छ । नेपालका क्यासिनो तथा व्यवसायमा नेपालीकै बर्चश्व हुनुपर्ने बुझाई सिलवालको छ । विदेशीले संचालन गरेका क्यासिनोले नेपालीलाई लाभ नहुने र विदेशी मुद्रा बाहिर जाने भन्दै सिलवालले नेपालीलाई नै प्राथमिकता दिनुपर्ने बताएका छन्् ।

मानव तस्करीमा नयाँ रुटको प्रयोग हुन थाल्यो, श्रीलंका रुटको प्रयोग बढ्यो

काठमाडौं १२, कात्तिक । घरेलु कामदार (हाउसमेड) का लागि नेपाली महिलालाई भारतको बाटो हुँदै श्रीलंका पुर्‍याएर ओमन, कुवेत र कुर्दिस्तान पठाउने गिरोह सक्रिय देखिएको छ । कान्तिपुर दैनिकमा समाचार छापिएको छ । कात्तिक ७ गते चार र ८ गते तीनजना यसरी पठाइएका महिला श्रीलंकाबाट डिपोर्ट भएपछि गिरोहको सक्रियता प्रकाशमा आएको हो । नयाँदिल्लीबाट श्रीलंका पठाउने गरिएकोमा प्रहरीको निगरानी बढेपछि मानव तस्करहरूले दिल्लीबाट चेन्नई पुर्‍याएर श्रीलंका पठाउने गरेको पनि देखिएको छ । मानव तस्करीको जालोमा परेका १८ महिला र १ पुरुष गत असोजमा श्रीलंकाबाट फर्किएका थिए भने जेठमा १५ महिला फिरेका थिए । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार यसरी डिपोर्ट भएर फर्किनेमध्ये अधिकांश दलित र आर्थिक रूपमा विपन्न समुदायका महिलाहरू छन् । असोजमा फर्केकामध्ये अधिकांश एकल महिला थिए ।

भारतीय दूतावासद्वारा रु दुई करोड ६३ लाख सहयोग

जुम्ला, ११ कात्तिक । साना जलविद्युत् घुघुती जुम्लाको पुनःनिर्माणका लागि भारतीय दूतावासले रु दुई करोड ६३ लाख सहयोग गर्ने भएको छ । विसं २०४० मा ५०० घरधुरीका जीर्ण विद्युत्को क्षमता अभिवृद्धिका लागि दूतावासले यो सहयोग गर्ने भएको हो । ३३ वर्षअघि ५०० उपभोक्ताका लागि निर्माण भएको २०० किलोवाट बत्ती घटेर १०० किलोवाट पुगेको छ । अहिले उपभोक्ता बढेर दुई हजार ७०० पुग्दा विद्युत्भार कटौतीको चरम मार खेप्नुपरेको साना जलविद्युत् उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर महतले जानकारी दिए। “यही समस्यालाई गम्भीरताका साथ लिएर हामीले भारतीय दूतावासमा सहयोगका लागि अनुरोध गरेका थियौँ, सोहीअनुसार साना जलविद्युत् पुनःनिर्माणका लागि दूतावासले सहयोग गर्ने भएको छ र सम्झौता पनि भइसकेको छ” – उनले भने । राजेश ट्रान्सफर्मर उद्योग प्रालि धनगढीबाट आएको विज्ञ टोलीका प्रमुख पुस्करलाल दुवेदीले विद्युत्को लगत स्टिमेट तीन करोड १० लाख १० हजार लाग्ने प्रतिवेदन समितिलाई बुझाएको बताए । रासस

६० प्रतिशत कर्जा घरजग्गा धितोमा, दुई महिनामै १० खर्ब नाघ्यो

काठमाडौं, ११ कात्तिक । बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६० दशमलव ६२ प्रतिशत कर्जा घर जग्गाको धितोमा रहेको छ । चालू आर्थिक वर्षको दोस्रो महिनासम्म बैंक तथा वित्तीय संस्थाहरुले १७ अर्ब ३६ करोड कर्जा प्रभाव गरेका छन् । सो कर्जामध्ये १० खर्ब ५२ अर्ब घरजग्गा धितोमा रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । भदौ एकै महिनामा यस्तो धितोमा ३१ अर्बको कर्जा प्रवाह भएको हो । अघिल्लो महिना साउनसम्म यस्तो धितोमा कर्जा १० खर्ब २१ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले जानकारी दिए । अघिल्लो आर्थिक वर्षको भदौसम्म यस्तो कर्जा ८ खर्ब १४ अर्बमात्र थियो । गएको वर्षको भदौसम्म वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रभावित कुल कर्जामध्ये ४९ दशमलव ४ प्रतिशत घरजग्गाको घितो कर्जा रहेको छ । २०७३ भदौसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमा रहेको कर्जामध्ये घरजग्गा क्षेत्रमा दु्ई खर्ब ६० अर्ब एक करोड कर्जा भएको छ । उक्त कर्जा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल कर्जाको १५ प्रतिशत हो । उपत्यकालगायत देशका अन्य स्थानमा समेत पछिल्लो समय घर घरजग्गाको कारोबार बढ्दै गएकाले घरजग्गाको कर्जा प्रवाह पनि बढेको हो । गएको वर्ष अर्थात असार मसान्तसम्म यस्तो कर्जा २ खर्ब ५० अर्ब ८७ कर्जा प्रभाव भएको थियो । राजधानीलगायत देशका सहर केन्द्रित विभिन्न स्थानमा भौतिक पूर्वाधार निर्माणका कार्य तिव्र गतिमा बढी रहेको छ । सुविधासम्पन्न क्षेत्रमा बसाइको आकर्षणले बढेकाले जग्गा तथा घर खरीदविक्री पनि ह्वात्तै बढेको छ । जसका कारण यस क्षेत्रमा बैंक तथा वित्तीय क्षेत्रको कर्जा विस्तार हुँदै गएको हो । कुल कर्जाको १५ प्रतिशत कर्जा एकै क्षेत्रमा मात्र खर्च हुनु भनेको यसको विकास तथा विस्तारित रुपनै हो । साथै, जग्गामा गरिएको लगानीले आकर्षक प्रतिफल दिने भएकाले पनि वित्तीय संस्थाबाट कर्जा निकालेर भएपनि भूकम्पयता मानिसहरु उपत्यका लगायतका सुविधा सम्पन्न स्थानमा जग्गा किन्न तथा घर बनाउन हौसिएका छन् । जग्गाको कारोबार बढिरहेको भूमिसूधार तथा व्यवस्थापन विभागका निर्देशक सुशीलप्रसाद आचार्य बताँउछन । काठमाडौंसँग जोडिएको ललिपुर तथा भक्तपुरमा पनि जग्गा तथा घर खरीद÷विक्रीकर्ताहरू आउने क्रम बढिरहेको छ । अहिले बैंहरूले घरजग्गा खरीदका लागि कम दरमै ऋण दिइरहेकाले पनि कारोबार बढेको घरजग्गा एजेण्ट संघका नेपाल (रियान)का केन्द्रीय अध्यक्ष ईश्वरप्रसाद खरेल बताँउछन् । हाल बैंकहरुले साढे सातदेखि ११÷१२ प्रतिशतसम्म घरजग्गाका क्षेत्रमा ऋण प्रभाव गर्दे आएका छन् । ‘नेपालमा आफूले जम्मा गरेको पैसा सुरक्षित रूपमा राख्ने अन्य विकल्प नहुँदा पनि यसको कारोबार बढेको हो,’ उनले भने, ‘जग्गामा गरेको लगानीले उचित प्रतिफल दिन्छ भन्ने विश्वास बढेको छ ।’

६ ब्रोकर कम्पनीको सेयर कारोबार बन्द, नागरिक लगानी कोष सहित ४ मर्चेन्ट बैंकरलाई नयाँ कारोबार गर्न एक साता रोक

काठमाडौं, ११ कात्तिक । नेपाल धितोपत्र बोर्डले ६ वटा ब्रोकर कम्पनीहरुको कारोबार बन्द गरिदिएको छ भने नागरिक लगानी कोषसहित ४ वटा मर्चेन्ट बैंकरलाई नयाँ काम गर्न रोकिदिएको छ । नियम अनुसार आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र वित्तीय विवरण नबुझाएको र विवरण बुझाउन नभ्याएको अवस्थामा नियम अनुार थप तीन महिना समय माग समेत नगरी धितोपत्र सम्बन्धी कानुनको अवज्ञा गरेका कारणले उनीहरुलाई कारवाही गर्ने निर्णाय विहीबार गरिएको धितोपत्र बोर्डले जनाएको छ । बोर्डका सहायक प्रबक्ता निरञ्जय  घिमिरेका अनुसार सेयर ब्रोकर कम्पनीहरु प्रिमियर सेक्युरिटज, मार्केट सेक्युरिटज, अरुण सेक्युरिटज, जेफ सेक्युरिटज, सुमेरु सेक्युरिटज र सुन्धारा सेक्युरिटिज्लाई कारवाही गर्ने निर्णय भएको छ । उनीहरुलाई सात दिनसम्म सेयर कारोबार गर्न पूर्ण रुपमा रोक लगाउने निर्णय भएको उनले जानकारी दिए । त्यस्तै धितोपत्र बोर्डले नागरिक लगानी कोष, भिवोर क्यापिट, सिद्धार्थ क्यापिटल र विड इम्भेष्टमेन्टलाई पनि ७ दिनसम्म नयाँ काम लिन नपाउने, सम्झौता गर्न नपाउने गरि कारवाही गर्ने निर्णय गरेको छ । मर्चेन्ट बैकरले अरु काम गर्न पाउने तर नयाँ सम्झौता गर्न वा अरु नयाँ काम गर्न नपाउने गरि कारवाहीको निर्णय भएको उनले बताए ।

अख्तियार प्रमुखले पूर्व सभाभुख सुवास नेम्वाङको टेप रेकर्ड गरेछन्, संविधान निर्माणपनि अवरोधको मनसाय

काठमाडौं ११, कातिक । विघटित संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले संविधान निर्माण प्रक्रियामासमेत अवरोध गरेको खुलासा गरेका छन् । प्रेस चौतारी नेपाल ललितपुर जिल्ला शाखाले दशै, दीपावली, छठ, नेपाल सम्बत, ल्होसारलगायतका चाडपर्वको अवसरमा बुधबार लगनखेलमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले यस्तो खुलासा गरेका हुन् । आफू शक्तिशाली हुने गरी संविधान निर्माण हुनुपर्ने भन्दै कार्कीले दबाब दिएको नेम्वाङले स्मरण गरे । दबाब नमानेपछि कार्कीले पदीय जिम्मेवारीको समेत चरम दुरुपयोग गरेको उनले आरोप लगाए । ‘लोकमानले आफू शक्तिशाली हुने गरी संविधानको मस्यौदाका क्रममा अख्तियारको कार्यक्षेत्रबाट अनुचित कार्य भन्ने शब्द हटाउन नदिने दबाब दिएका थिए,’ नेम्वाङले भने, ‘उनको चाहना अनुसार नभएपछि संविधान मस्यौदा समितिका सचिव रविराज अर्याललाई अख्तियारले चिठी काटेर बयान लिने काम पनि गरेको थियो ।’ कार्कीले संविधान निर्माणका क्रममा विभिन्न तरिकाले आफू बलियो बन्ने उद्देश्यका साथ अनुचित रुपमा पदको दुरुपयोग गर्दै अघि बढेको उनले बताए । दलहरुले त्यसलाई अस्वीकार गरेपछि लोकमानले संविधान मस्यौदा समितिका सचिवलाई अख्तियारमा बोलाएर बयान लिँदै गलत नियतले दुःख दिएको नेम्वाङले बताए । संविधान सभाका सदस्यलाई प्रभावमा पार्न नसकेपछि कार्कीले सचिवालयका कर्मचारीलाई अख्तियारको प्रयोग गरी वयान लिदै धम्क्याउन शुरु गरेका थिए । अख्तियारमा बयान दिन जाने कर्मचारीले अख्तियार प्रमुखले भनेबमोजिम काम नगरेकाले अख्तियारले चिठी काटेको भन्दै धम्क्याउने गरेको नेम्वाङले बताए । कार्कीको यस्तो पदीय दुरुपयोगका बारेमा सर्वदलीय बैठक बोलाएर संविधान निर्माणमा अवरोध गरेको भनेर सार्वजनिक गर्ने तयारी गरेपछि अर्याललाई मुद्धा मामिलाबाट मुक्त गर्न अख्तियार बाध्य भएको उनले बताए । राजधानी दैनिकबाट।

प्याराग्लाइडिङप्रति पर्यटकको आकर्षण, दक्ष प्याराग्लाइडिङ पाइलटको अभाव हट्ने

पोखरा, १० कात्तिक । पर्वतीय पर्यटनमा पछिल्लो समय प्याराग्लाइडिङ प्रति स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढ्न थालेको छ । पर्वतीय पर्यटनको गन्तब्य बन्दै गएको नेपालमा भ्रमणमा आउने अधिकांश पर्यटक प्याराग्लाइडिङप्रति आकर्षित भएको फ्लाइङ बुद्ध प्याराग्लाइडिङ प्राइभेट लिमिटेडका सञ्चालक तारानाथ पहारीले जानकारी दिए । नेपाल प्याराग्लाइडिङका लागि आकर्षक गन्तव्य बने पनि त्यसको उडान गर्ने पाइलटको भने अझैसम्म पनि कमी रहेको उनको भनाइ छ । “पोखरालाई आधार बनाएर ६२ वटा प्याराग्लाइडिङ उडान गर्ने कम्पनी सञ्चालनमा आएका छन्,” उनले भने, “प्रत्येक कम्पनीले ६ जना पाइलट राख्न पाउने व्यवस्था भए पनि पोखरामा हालसम्म जम्मा १८० जना नेपाली, सात/आठजना मात्र विदेशी पाइलट छन् ।” प्याराग्लाइडिङको मुख्य समय अक्टोबर, नोभेम्बर भए पनि पछिल्ला वर्षमा प्रायशः सबै महिनाजसो प्याराग्लाइडिङ सञ्चालन भइरहेको सञ्चालक पहारीले बताए। नेपालमा प्याराग्लाइडिङ सुरु भएको लामो समयपछि पाइलट उत्पादनका लागि बाबु एडभेन्चर स्कुल र ब्लुस्काई फ्लाइङ स्कुलले अनुमति पाएसँगै ती स्कुल यतिखेर दक्ष पाइलट तयार गर्ने लक्ष्यका साथै क्रियाशील छन् । बाबु एड्भेन्चर स्कुलले स्याङ्जाको स्वरेकमा स्कुल सञ्चालनमा ल्याएको छ भने ब्लुस्काई फ्लाइङ स्कुलले तनहुँको बन्दीपुरमा प्याराग्लाइडिङ पाइलट तयार गर्न कक्षा सञ्चालन गरेको छ । विश्वकै सर्वोच्च शिखर सगरमाथालगायतका विश्वका उच्च हिमालबाट प्याराग्लाइडिङ गरी विश्व जगतमा कीर्तिमानी कायम गरेका सानुबाबु सुनुवारले स्याङजाको पर्यटकीय गाउँ स्वरेकमा प्याराग्लाइडिङ स्कुल सञ्चालन गरेसँगै उक्त स्कुलमा स्वदेशी तथा विदेशी नागरिकले प्याराग्लाइडिङ पाइलट बन्ने इच्छाका साथ तालिम लिन थालेका छन् । स्वरेकमा अत्यावश्यक पूर्वाधारसहितको प्याराग्लाइडिङ पाइलट तयार गर्नका लागि कक्षा सञ्चालन यसै वर्षदेखि सुरु गरिसकेको सञ्चालक सुनुवारले जानकारी दिए । दक्ष व्यावसायिक पाइलट बन्नका लागि लगभग साढे दुई वर्ष लाग्ने गर्दछ । बाबु एड्भेन्चर स्कुलका प्रशिक्षक बालकृष्ण बस्याल ९बालु०का अनुसार स्कुलमा दक्ष प्याराग्लाइडिङ पाइलट बन्ने उद्देश्यका साथ १४ वर्षका युवादेखिदेखि ५८ वर्षका वयस्क पनि आएका छन् । हाल सो स्कुलमा अष्ट्रियालगायतका विदेशी राष्ट्रका नागरिकका साथै स्वदेशी युवाले प्याराग्लाइडिङ पाइलटको तालिम लिइरहेको र अब चाँडै नै प्याराग्लाइडिङ पाइलटको अभाव समाधान हुँदै जाने उनले बताए । स्कुल सञ्चालनसँगै स्वरेक गाउँको पर्यटकीय आकर्षण समेत बढेको छ । अत्यन्त मनमोहक चौर तथा पहाडि भू–भाग रहेको स्वरेकको उच्च भू–भागमा प्याराग्लाइडिङ उडान हेर्नकै लागि पनि पर्यटक आउने गरेको एक्सवाइजेड होमस्टे, स्वरेकका सञ्जु थापाले जानकारी दिए । रासस

पुननिर्माणका लागि २० अर्ब ८१ करोड रुपैंयाँ बजेट स्विकृत

काठमाडौं, १० कात्तिक । अर्थमन्त्रालयले भूकम्पपछिको पुननिर्माणका लागि २० अर्ब ८१ करोड रुपैंयाँ बजेट स्विकृत गरेको छ । बुधबार बसेको राष्ट्रिय पुननिर्माण प्राधिकरण निर्देशक समितिको बैठकमा अर्थ सचिव शान्तराज सुवेदीले सो मात्रामा बजेटको अख्तियारी दिइएको जानकारी गराएका हुन् । अर्थसचिव सुवेदीले पुननिर्माणका लागि बजेटको अभाव हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विगतमा अनुदान रकम वितरणका लागि समय तोकेर सञ्चालन गरिएको ४५ दिने अभियान सफल भएको बताएका थिए । उनले भूकम्प प्रभावित थप १७ जिल्लाको सर्भेक्षण, प्राथमिक विद्यालय भवन निर्माण, पुरातात्विक महत्वका सम्पदाहरुको पुनर्निर्माणको कामलाई द्रुतगतिमा अघि बढाउन निर्देशन पनि दिए । प्राधिकरणका उपाध्यक्ष उपाध्यक्ष भीम रावलले पुनर्निर्माणको कामलाई सामान्य अवस्थामा जसरी नलिन र पुनर्निर्माण तथा पुनस्र्थापना ऐनको भावना र मर्म अनुरुप थप स्रोत साधन परिचालन गरी युद्धस्तरमा काम गर्नुपर्नेमा जोड दिएका थिए । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आगामी दिनमा पनि समयसीमा तोकी कार्यतालिका अनुसार पुनर्निर्माणका कामहरु अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले पुननिर्माणको काममा खटिने कर्मचारीहरुलाई प्रोत्साहन र सुबिधा थपिनु पर्नेमा जोड दिए । १७ जील्लामा प्रारम्भिक सर्वेक्षणको काम अघि बढेको जानकारी ज्ञवालीले गराएका थिए । बैठकमा मुख्य सचिव डा. सोमलाल सुवेदीले पुनर्निर्माणको कार्यमा खटिने कर्मचारीहरुलाई कार्यसम्पदान करार गरी उपलब्ध स्रोत साधन अनुरुप अतिरिक्त सुविधा दिने व्यवस्था गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएका थिए । प्राधिकरण निर्देशक समितिको बैठकले बिहिबार ३ बजे पुनः बस्ने गरि स्थगित भएको प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।

सेयर बजारमा सामान्य अंकको सुधार, ८१ करोडको सेयर कारोबार

काठमाडौं, १० कात्तिक । यो साताको शुरुदेखि नै निरन्तर घटेको बजारमा बुधबार भने सामान्य सुधार भएको छ । सो दिन बजार खुलेको दुई घण्टामा घटेर १७३५ अंकमा पुगेको बजारलाई बन्द हुँदा भने केही टेवा पुगेको छ । सो दिन बजार बन्द हुँदा परिसूचक २ दशमलब ४६ अंकले बढेर १७५३ मा पुगेको छ । बजारमा माच्छापुच्छ«े बैंक र शिखर इन्स्योरेन्सको ६ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, जनता बैंक नेपालको ४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । एभरेष्ट बैंक, नेपाल बङ्गलादेश बैंक र स्ट्याण्डार्ड चार्टड बैंकको ३ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । त्यस्तै, सिभिल बैंक र मेघा बैंक नेपालका लगानीकर्ताले क्रमशः ९.२९ र ८.४० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी राप्तीभरी विकास बैंकका लगानीकर्ताले ५ प्रतिशत गुमाएका छन् । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक १०५ अंकले उकालो लागेको छ । त्यस्तै, होटल, फाइनान्स र अन्य समूह सामान्य अंकले बढेका छन् । विकास बैंक, हाइड्रोपावर र बैंकिङ् समूहको परिसूचक क्रमशः ६, ०.५१ र ०.२ अंकले ओरालो लागेका छन् ।

प्रिमियर इन्स्योरेन्सले २० प्रतिशत बोनस दिने, पूँजी ४४ करोड रुपैयाँ पुग्ने

काठमाडौं, १० कात्तिक । प्रिमियर इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई २० प्रतिशत बोनस दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि १ दशमलब ०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकलले गरेको हो । बैठकको निर्णयलाई बीमा समितिको स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल कम्पनीको चुक्ता पूँजी ३७ करोड ३७ लाख रुपैयाँ रहेको छ । बोनस पश्चात कम्पनीको पूँजी ४४ करोड ८५ लाख रुपैयाँ पुग्ने छ । बुधबार कम्पनीको प्रतिकित्ता सेयर करिब २२८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्राइम कमर्सियल बैंकको नाफा २५ करोड नाघ्यो

काठमाडौं, १० कात्तिक । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा २५ करोड १० लाख नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधीमा जम्मा २२ करोड ५ लाख मात्रै नाफा कमाएको थियो । बैंकले चालु आवको पहिलो तीन महिनामा ५२ अर्ब निक्षेप संकलन गरेर ४२ अर्ब कर्जा तथा सापटी प्रवाह गरेको छ । ३ अर्ब ७० करोड पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब रुपैंयाँ रहेको छ । बैंकले एक दशमलब ७२ प्रतिशतमा रहेको खराब कर्जालाई पनि घटाएर एक दशमलब ३२ प्रतिशत कायम गराएको छ । प्राइम बैंकको प्रति सेयर आम्दानी २७ रुपैंयाँ १० पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ १५४ रुपैंयाँ १६ पैसा रहेको छ ।

काठमाडौंका १० स्थानमा पर्यटन गन्तव्य बनाइने, २ करोड ५० लाख रुपैयाँ विनियोजन

काठमाडौं १०, कात्तिक । काठमाडौंका १० स्थानमा पर्यटन गन्तव्य स्थलको विकास गरिने भएको छ ।जिल्ला विकास समिति काठमाडौं र १० वटा नगरपालिकाहरुबीच ‘एक नपा एक साझेदारी कार्यक्रम’ अनुसार १० स्थानलार्य पर्यटन गन्तव्य बनाइने भएको हो । काठमाडौं जिविसको वार्षिक जिल्ला विकास योजना ०७३/०७४ मा एक नगरपालिका एक उद्यान र एक नागरपालिका एक पोखरी कार्यक्रमलाई अघि बढाउने उल्लेख छ । आन्तरिक तथा स्थानीय पर्यटन प्रवर्द्धन गर्न र नपाभित्रका सार्वजनिक जमिनको संरक्षण गर्ने मुख्य उदेश्यले जिविसले पहिलोपटक कार्यक्रम ल्याएको हो । पर्यटकीय गन्तव्य बनाउन काठमाडौंका लागि जिल्ला विकास समितिले २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिसकेको उल्लेख छ ।  कारोबार दैनिकबाट ।

दोहोरो सुविधा लिएर ठगी गर्ने उद्योगका पूर्व कर्मचारी पक्राउ

उदयपु, ९ कात्तिक । उद्योगबाट अवकाश पाएपछि पनि उद्योग प्रशासनलाई झुक्याइ दोहोरो सुविधा लिएर ठगी गरेको आरोपमा उदयपुर सिमेन्ट उद्योगका द्वितीय तहका एक पूर्व कर्मचारी पक्राउ परेका छन् । डेढ वर्षअघि नै सो उद्योगबाट रु १२ लाख उपदान लिएर अवकाश लिएका त्रियुगा नगरपालिका–११ जलजले बस्ने ६१ वर्षीय शमशेरबहादुर तामाङले उद्योग प्रशासनलाई झुक्याएर नागरिक हितकोषबाट पुनः रु १२ लाख लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले तामाङलाई पक्राउ गरेर ठगीसम्मन्धी दर्ता गरेको छ । सो उद्योगका प्रवन्धक सुरेन्द्र पौडेल भन्छन् – “आफू नै प्रवन्धक भएको बेला यो कार्य यस्तो कार्य भएकामा छानबिन भइरहेको छ ।” तामाङले अवकाशसँगै आफूले पाउन पर्ने सेवा सुविधा सबै लिएर पनि फेरि पाएको छैन भनेर पुनः १२ लाख रुपैयाँ लिएर ठगी गर्नुको पछाडि उद्योगकै कर्मचारीको मिलेमतो हुनसक्ने अन्य कर्मचारीको धारणा छ । तामाङकी श्रीमती राजकुमारी तामाङले आफूले रु १२ लाख फर्काउन तयार भएपनि प्रहरीले जबर्जस्ती कारबाही अगाडि बढाएको बताइन् । रासस

एनएमबी बैंकले २० प्रतिशत लाभांश दिने, पूँजी ५ अर्ब ३३ करोड रुपैयाँ पुग्ने

काठमाडौं, ९ कात्तिक । एनएमबी बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । बैंकले १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय सोमबार बसेको ३२२औँ बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निणर्यलाई राष्ट्र बैंक तथा बैंकको आगामी साधारणसभाले अनुमोदन गर्नु पर्नेछ । हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको पूँजी ५ अर्ब ३३ करोड रुपैयाँ पुग्ने छ । मंगलबार बैंकको प्रत्तिकित्ता सेयर करिब ७७४ रुपैयाँमा कारोबार भइरहेको छ ।