आयल निगमको बदमासीः तीन वर्षमा उपभोक्तासँग असुलियो ५९ अर्ब १८ करोड अतिरिक्त शुल्क

काठमाडौं, २० पुस । नेपाल आयल निगमले तीन वर्षभित्रै उपभोक्तासँग ५९ अर्ब १८ करोड अतिरिक्त शुल्क असुलेको छ । निगमले आर्थिक बर्ष २०७०/७१ देखि हालसम्ममा बिभिन्न पाँच वटा शिर्षकमा उपभोक्तासँग आधा खर्ब भन्दा बढि रकम असुलि गरेको हो । निगमले अर्थिक बर्ष २०७०/७१ देखि सडक मर्मत सम्भार शुल्क, प्रदुषण शुल्क असुलिरहेको छ । त्यस्तै, आर्थिक बर्ष २०७१/७२ देखि मुल्यस्थिरिकरण कोष र निगम पुर्वाधार विकास कोषका लागि रकम असुलिरहेको छ । निगमले आर्थिक बर्ष २०७२/७२ देखि भने बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि भन्दै पुर्वाधार कर संकलन गरिरहेको छ । यी सबै शुल्क उपभोक्तामाथी थपिएको अतिरिक्त भार हो । निगमले यसरी तीन बर्षमा ५९ अर्ब १८ करोड रुपैंयाँ संकलन गरेको छ । तर त्यसरी संकलित रकम उचित ठाउँमा प्रयोग गरिरहेको छैन् । ‘उपभोक्तासँग जुन प्रयोजनका लागि रकम उठाइएको हो सोही प्रयोजनका लागि खर्च गर्नु पर्छ तर निगमले त्यस्तो गरेको देखिएन’, व्यवस्थापिका संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति अन्तर्गतको उप समितिका संयोजक सुभाषचन्द्र ठकुरीले भने । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले कुनै पनि प्रडक्टमा राजश्व बाहेक अन्य शुल्क असुल्न नपाउने बताउँछन् । आयल निगमले परल मुल्यमा जथाभावी शुःल्क लिने कुरा वित्तिय अपराध भएको आरोप समेत लगाए । आयल निगमले उपभोक्तासँग असुलेको अतिरिक्त शुल्क १) सडक मर्मत सम्भार शुल्क आर्थिक बर्ष २०७०/७१ मा २ अर्ब ६२ करोड आर्थिक बर्ष २०७१/७२ मा २ अर्ब ९३ करोड आर्थिक बर्ष २०७२/७३ मा २ अर्ब ५३ करोड आर्थिक बर्ष २०७३/७४(मंसिर १५सम्म) १ अर्ब ३५ करोड जम्मा ९ अर्ब ४३ करोड २) बुढिगण्डकी जलविद्युत आयोजनाको लागि पुर्वाधार कर आर्थिक बर्ष २०७२/७३(जेठ र असार) मा १ अर्ब १६ करोड आर्थिक बर्ष २०७३/७४ मा २ अर्ब ९२ करोड जम्मा ४ अर्ब ८ करोड ३) प्रदुषण शुल्क आर्थिक बर्ष २०७०/७१ मा ५३ करोड १० लाख आर्थिक बर्ष २०७१/७२ मा ५९ करोड १४ लाख आर्थिक बर्ष २०७२/७३ मा ५१ करोड ६६ लाख आर्थिक बर्ष २०७३/७४( मंसिर १५ सम्म) २६ करोड ४१ लाख जम्मा १ अर्ब ९० करोड ३१ लाख ४) मूल्य स्थिरिकरण कोष आर्थिक बर्ष २०७१/७२ मा २ अर्ब ६१ करोड आर्थिक बर्ष २०७२/७३ मा ६९ करोड ८१ लाख आर्थिक बर्ष २०७३/७४(मंसिर १५ सम्म) २० करोड ४९ लाख जम्मा ३ अर्ब ५१ करोड ३० लाख ५) निगम पुर्वाधार विकास कोष आर्थिक बर्ष २०७१/७२ मा १४ अर्ब ७९ करोड आर्थिक बर्ष २०७२/७३ मा २१ अर्ब ८८ करोड आर्थिक बर्ष २०७३/७४ (मंसिर १५ सम्म)मा ३ अर्ब ५९ करोड जम्मा ४० अर्ब २४ करोड

नेप्से परिसूचक सामान्य अंकले उकालो लाग्दा ३२ करोडको सेयर करोबार

काठमाडौं, २० पुस । बुधबार नेप्से परिसूचक सामान्य एक अंकले उकालो लागेको छ । बजार बन्द हुँदा परिसूचक एक अंकले बढेर १४५७ दशमलब ८२ अंकमा पुगेको छ । सो दिन बजारमा १२४ कम्पनीको ६ लाख ३८ हजार कित्ता सेयर कारोबार भएको छ । बुधबार बजारमा ३२ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । परिसूचकमा सामान्य अंकको सुधार आएपनि कारोबार रकममा भने अझै सुधार आउन सकेको छैन । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक ८६ दशमलब ४४ अंकले उकालो लागेको छ । त्यस्तै, हाइड्रोपावर र विकास बैंक समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् भने बाँकी कारोबार भएका समूहको परिसूचक ओरालो लागेका छन् । सो दिन सबैभन्दा बढी कर्नाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । त्यस्तै, मिथिला लघुवित्त विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । बजारमा कर्नाली डेभलपमेन्ट बैंकको सबैभन्दा बढी ३ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ५३९ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड बढी रुपैयाँको सेयर करोबार भएको छ ।

अग्निपीडितका लागि प्रधानमन्त्रीको राहत प्याकेज, पुनःनिर्माण कोषमा एक करोड दिने

तेह्रथुम, २० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेह्रथुमको सङ्क्रान्तिबजार पुनःनिर्माण तथा पुनःस्थापना कोषमा एक करोड रुपैयाँ दिने घोषणा गरेका छन् । मङ्गलबार सङ्क्रान्तिबजार पुगेर आगलागीस्थलको निरीक्षण तथा अग्निपीडितसँग भेटपछि प्रधानमन्त्री दाहालले प्रधानमन्त्री राहत कोषबाट एक करोड रुपैयाँ दिने बताएका छन् । उनले आगलागीपीडितका लागि राहत प्याकेजको घोषणा गर्दै अग्निपीडितको पुनःस्थापना तथा पुनःनिर्माणका लागि बिनाधितो सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने पनि बताए । सङ्क्रान्तिबजारमा खानेपानी आयोजना सञ्चालन, दमकल खरिद, विद्युतीकरण, एम्बुलेन्स खरिदमा पनि सरकारले निर्णय लिने प्रधानमन्त्री दाहालले घोषणा गरेका छन् । राहत वितरणमा सजिलो हुनेगरी तत्कालै नेपाल बैंक तथा कृषि विकास बैंकका शाखा पुनःस्थापनाको पहल तथा निर्णय गर्ने प्रधानमन्त्री दाहालले बताए । प्रधानमन्त्री दाहालले मुलुक अहिले सबैभन्दा बढी राजनीतिक सङ्कटको घडीमा रहेको भन्दै यसको समाधानतर्फ सबैको ध्यानाकर्षण हुनु जरुरी रहेको बताए । उनले आठराई क्षेत्र ऐतिहासिक र थुप्रै नेताको जन्मस्थान भएर पनि विकासमा पछि परिरहेको देखेको भन्दै आगलागीपछि राज्यकै ध्यानाकर्षण गर्न सकेकाले अब यस क्षेत्रको विकासले गति लिने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले जिल्लाको विकासका लागि तमोर जलाशययुक्त आयोजनाको निर्माण अघि बढाउन ऊर्जा मन्त्रालयलाई निर्देशनसमेत दिएको बताए । यस्तै, वसन्तपुर–म्याङलुङ सडकखण्ड कालोपत्र, मध्यपहाडी लोकमार्ग निर्माणमा तीव्रता, पाँचथर—तेह्रथुम जोडिने हाक्पारा घाटमा मोटरेबल पुल निर्माण, तमोर नदीका तटीय क्षेत्रका नौ गाविसमा खानेपानी योजना सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गर्ने प्रधानमन्त्री दाहालले घोषणा गरेका छन् । आठराईसँग पुरानो सम्बन्ध रहेको बताउँदै प्रधानमन्त्री दाहालले विद्यार्थी जीवनमा अभ्यास शिक्षणका लागि एक वर्ष यहाँको चुहानडाँडास्थित विद्यालयमा बिताएको स्मरण गरेका छन् । कार्यक्रममा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आठराईको विकासतर्फ आगलागीको घटनाले ध्यानाकर्षण गरेको बताएका छन् । आठराईको सङ्क्रान्तिबजारमा जन्मिएका नेता सिटौलाले जन्मभूमिको मायाले पटकपटक तान्ने गरेको र अग्निपीडितका माग, समस्या गुनासा सँगै आठराई क्षेत्रका समस्याबारे प्रधानमन्त्री दाहाललाई जानकारी भएकाले अब विकास निर्माणका काममा राज्यको ध्यान जाने विश्वास व्यक्त गरे । नेता सिटौला साताअघि मात्रै सङ्क्रान्तिबजार पुगेर अग्निपीडितलाई भेट गरी सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनुभएको थियो । नेकपा (एमाले) का प्रमुख सचेतक भानुभक्त ढकालले संसद्मा एमाले प्रमुख प्रतिपक्षी दल भए पनि सरकारका सकारात्मक कदम र समस्या सुल्झाउन सधैँ साथ र समर्थन रहने बताएका छन्। कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य तथा सभासद् सीता गुरुङ, सभासद् भवानीप्रसाद खापुङ र गणेश विमलीले मन्तव्य राखेका छन् । पुस १ गते भएको भीषण आगलागीमा परी सङ्क्रान्तिबजारका २४ घर पूर्णरुपमा जलेर नष्ट भएका थिए भने अन्य पाँच घरमा आंशिक क्षति पुगेको थियो । आगो निभाउन तीनवटा टहरा भत्काइएका थिए । आगलागीबाट ७३ परिवार विस्थापित भएका छन् । प्रहरी मुचुल्काअनुसार आगलागीबाट १४ करोड आठ लाख रुपैयाँको धनमाल जलेर खरानी भएको थियो । अग्निपिडितलाई धरान र दमकबाट राहत अग्निपिडित परिवारलाई धरान र दमकबाट पनि राहत उपलब्ध भएको छ । सङ्क्रान्तिबजार आइपुगेका धरानबाट सञ्चालित ‘हामी साथी साथी’ समूहका प्रतिनिधिले अग्निपिडित विद्यार्थीलाई ६० थान शैक्षिक सामग्री र न्यानो कपडा, विद्यालय जान उमेर नपुगेका बालबालिका र गर्भवती महिलालाई १९ थान न्यानो कपडा वितरण गरेका छन् । २ वर्षदेखि सामाजिक क्षेत्रमा क्रियाशील साथी साथी समूहको अभियानबाट सङ्कलित रु ८० हजार बराबरको राहत सामग्री उपलब्ध गराइएको समूहका अभियन्ता सुमन श्रेष्ठले जानकारी दिए । त्यस्तै, अग्निपीडित परिवारलाई दमक उद्योग वाणिज्य सङ्घ र दमक समाजबाट पनि राहत रकम उपलब्ध भएको छ । समाजबाट एक लाख तीन हजार रुपैयाँ र सङ्घबाट २५ हजार रुपैयाँ राहत रकम उपलब्ध भएको उद्योग वाणिज्य सङ्घ सङ्क्रान्तिबजारका अध्यक्ष प्रेम पौडेलले बताए । सङ्क्रान्तिबजार आइपुगेका सङ्घका कार्यालय सचिव ज्ञाननाथ पौडेल र समाजका प्रतिनिधि तीर्थराज बस्नेतले सो रकम हस्तान्तरण गरेका छन् । विभिन्न सङ्घसंस्थाबाट अग्निपीडित परिवारलाई सङ्क्रान्तिबजारमा उपलब्ध भएको ६ लाख एकहजार रुपैयाँ राहत रकम ‘सङ्क्रान्तिबजार पुनःनिर्माण तथा पुनःस्थापना कोष’मा जम्मा गर्न प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेको उपस्थितिमा जिविस र स्थानीय विकास कोषका कार्यकारी सचिव कृष्णप्रसाद घिमिरेलाई प्रदान गरिएको उद्योग वाणिज्य सङ्घ सङ्क्रान्तिबजारका अध्यक्ष पौडेलले जानकारी दिनुभयो । यो सँगै सो कोषमा १२ लाखभन्दा बढी रुपैयाँ जम्मा भएको छ । रासस

गरिमा विकास बैंकले २० प्रतिशत बोनस दिने, चुक्ता पूँजी एक अर्ब २९ करोड रुपैयाँ नाघ्ने

काठमाडौं, २० पुस । गरिमा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव बैंकको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले सो मात्राको बोनस पोउने छन् । हाल बैंकको चुक्ता पूँजी एक अर्ब आठ करोड रूपैयाँ रहेको छ । २० प्रतिशत बोनसपछि बैंकको पूँजी एक अर्ब २९ करोड रुपैयाँ नाघ्नेछ ।

१९ हजार कर्मचारीमाथि कारबाही सिफारिस, कारण सम्पती विवरण नबुझाएको

काठमाडौं २०, पुस । निजामती कर्मचारीसहित सार्वजनिक पद धारण गरेका १९ हजार २ सय १३ जनाले यो वर्ष सम्पत्ति विवरण बुझाएका छैनन्। विवरण नबुझाउनेमा बढी १० हजार २ सय १५० शिक्षक छन्।  राष्ट्रिय सतर्कता केन्द्रले निर्धारित समयमा सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई कारबाहीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोग समक्ष सिफारिस गरेको छ। फाइल तस्विर राष्ट्रिय सतर्कता केन्द्रले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार निजामती सेवाका ७८ हजार एक सय जना कर्मचारीले विवरण बुझाएका छन्। नबुझाउने कर्मचारी र अन्य सार्वजनिक पदमा रहेका व्यक्तिलाई ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ। साथै नबुझाउने व्यक्तिसँग गैरकानुनी सम्पत्ति रहेको आशंकामा अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइने कानुनी व्यवस्था समेत छ। केन्द्रका अनुसार देशभरका ७२ हजार ५ सय ७ जना शिक्षकले विवरण बुझाएका छन्। त्यस्तै ८९ हजार ४ सय ७३ जना सैनिक र ९६ हजार प्रहरीले सम्पत्ति विवरण बुझाएका छन्। २ हजार ६ सय १३ जना सैनिक र ४ सय ९२ जना प्रहरीले बुझाएका छैनन्। भ्रष्टाचार निवारण ऐन, २०५९ ले सार्वजनिक पद धारण गरेको व्यक्तिले समयमै सम्पत्ति विवरण बुझाएको अनुगमनको जिम्मेवारी सतर्कता केन्द्रलाई तोकेको छ। हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र सम्बन्धित व्यक्तिले तोकिएको निकायमा सम्पत्ति विवरण अद्यावधिक गरी बुझाउनुपर्ने कानुनी व्यवस्था छ। नबुझाउने व्यक्तिलाई आवश्यक कारबाहीका लागि केन्द्रले अख्तियारमा पठाउनेछ। शिक्षा, संघीय मामिला तथा स्थानीय विकास, ऊर्जा र सिँचाइ मन्त्रालय विवरण नबुझाउने धेरै कर्मचारी भएको मन्त्रालयमा पर्छन्। शिक्षाका ३ सय ४५, स्थानीय विकासका ६ सय ९०, ऊर्जाका एक सय २४ र सिँचाइ मन्त्रालयका एक सय ८२ जना कर्मचारीले विवरण बुझाएका छैनन्। कान्तिपुर दैनिकबाट ।

बोनस खान आयल निगमको मनपरी खर्च, गत वर्षको घाटामा पनि करिब ९० करोड रुपैयाँ बोनस खाने तयारी

काठमाडौं २०, पुस । नेपाल आयल निगमले उपभोक्ताबाट पूर्वाधार विकास शीर्षकमा संकलन गरेको अर्बौं रूपैयाँ रकम नियम मिचेर ऋण तिरेको तथ्य फेला परेको छ। | निगमलाई छिटो नाफामा लगेर बोनस खान पेट्रोलियम पदार्थमा उपभोक्तासँग पूर्वाधारको लागि भन्दै लिइएको रकम विधि मिचेर रकमान्तर गरी ऋण तिरेको हो। यसैगरी ऋण तिरेपछि निगम नाफामा गएको देखाइएको छ। निगमको विनियमावलीमा जुन शीर्षकमा उठाइएको हो, त्यसैमा खर्च गर्नुपर्ने व्यवस्था छ । निगम नाफामा गएपछि त्यहाका कर्मचारीले बोनस खान पाउने कानुनी व्यवस्था छ । गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन घाटामा रहँदारहँदै करिब ९० करोड रुपैयाँ बोनस खाने तयारीमा थिए। नागरिक दैनिकबाट ।

बैंक अफ काठमाण्डू लुम्बिनीले करिब ६० लाख कित्ता नयाँ सेयर निष्काशन गर्ने

काठमाडौं, १९ पुस । बैंक अफ काठमाण्डू लुम्बिनीले नयाँ सेयर निष्काशन गर्ने तयारी गरिरहेको छ । बैंकले करिब ६० लाख कित्ता प्रमोटर सेयर निष्काशन गर्न लागेको हो । यस बैंकमा हाल प्रमोटर सेयर करिव ४६ प्रतिशत छ । राष्ट्र बैंकको नियम अनुसार प्रमोटर सेयर कम्तिमा ५१ प्रतिशत हुनुपर्छ । सोही अनुपात मिलाउन बैंकले नयाँ सेयर निष्काशन गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठले बताए । बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्ज हुँदा राष्ट्र बैंकले प्रवद्र्धक सेयर र साधारण सेयर अनुपात ५१ र ४९ प्रतिशत कायम गर्न दिएको निर्देशन अनुसार नयाँ सेयर निष्काशन गर्ने तयारी भएको उनले बताए । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठका अनुसार नयाँ सेयर निष्काशन गर्ने प्रस्ताव आगामी साधारण सभामा लैजाने तयारी भएको छ । साधारणसभाको स्वीकृति, राष्ट्र बैंक, धितोपत्र बोर्ड लगायत नियामकको स्वीकृति लिएर आगामी असार मसान्तअघि नै नयाँ सेयर जारी गरिसक्ने बैंकको योजना रहेको छ । नयाँ सेयरको प्रिमियम मूल्य नियामक निकायसँगको समन्वय र सहमतिमा तय गरिने उनले बताए । हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ६३ करोड रुपैयाँ छ । बैंकले प्रस्ताव गरेको २३ प्रतिशत बोनस सेयर वितरणपछि पुँजी ५ अर्ब ६२ करोड रुपैयाँ हुनेछ । नयाँ सेयर निष्काशन पछि थपिने सेयर पुँजी, त्यसबाट आउने प्रिमियम र चालु आर्थिक वर्षको नाफाबाट बैंकको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्याउने योजना रहेको उनले बताए । असोज मसान्तसम्ममा बैंकको संचित कोषमा ४ अर्ब २० करोड रुपैयाँ छ ।

सेयर बजार राताम्मे, २६ अंकको गिरावट, ३९ करोडको सेयर कारोबार

काठमाडौं, १९ पुस । मंगलबार सेयर बजार पुरै राताम्मे भएको छ । बजारमा नेप्से परिसूचक २६ दशमलब ०३ अंकले घटेर १४५६ दशमलब ८२ अंकमा झरेको छ । परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । बजारमा जम्मा ३९ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १३० कम्पनीको ६ लाख ७१ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा कारोबार भएका सबै समूहका परिसूचकहरु राताम्मे भएका छन् । बीमा समूहको परिसूचक २१६ दशमलब ९६ अंकले ओरालो लागेको छ । त्यस्तै, बैंकिङ्, होटल र विकास बैंक समूहको परिसूचक क्रमशः २६, २५ र २४ अंकले घटेका छन् । दोहोरो अंकले घटेको बजारमा पनि दुई कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । अरुण फाइनान्स र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले क्रमशः ९.८९ र ९.६५ प्रतिशत कमाएका छन् । सबैभन्दा बढी साझा विकास बैंकका लगानीकर्ताले ७ प्रतिशत गुमाएका छन् ।

बैंक र मालपोत कर्मचारीसँग भूमाफिया, किर्ते गरेर जग्गा हडप्ने गिरोह सक्रिय

काठमाडौं १९, पुस । सार्वजनिक तथा निजी स्वामित्वका जग्गा तथा जमिन हडप्न मालपोत बैंकरवित्तीय संस्थाका कर्मचारी र भूमाफिया संगठित रुपमा सक्रिय हुन थालेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले त्यसविरुद्ध अपरेसन थालेको छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नापी विभाग तथा बैंकरबित्तीय संस्थासँग समन्वय गरेर व्यूरोले देशभर सक्रिय भूमाफियाको सञ्जाल भत्काउन अग्रसरता देखाएको हो । यसका लागि व्यूरो देशभरका सरकारी, सार्वजनिक तथा गुठीका जग्गाको विवरणदेखी धितो राखेर कर्जा प्रवाह गरिएको शंकास्पद कारोबारसम्मको अभिलेख संकलनमा जुटेको छ । । फाइल तस्बिर व्यूरोका निर्देशक डीआइजी नवराज सिलवालका अनुसार सार्वजनिकरगुठी तथा व्यक्तिका नाममा रहेका जग्गा हडप्न मालपोत, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र भू–माफियाबीच मिलेमतो हुने गरेको बताए । मालपोतका कर्मचारी र गिरोहले कागजात किर्ते गरेर सार्वजनिक तथा निजी जग्गा हडप्ने र उक्त जग्गा धितो राखेर बैंकबाट कर्जा झिक्न गिरोह सक्रिय रहेको प्रहरीको दाबी छ । “निजी, सार्वजनिक, सरकारी तथा गुठीका जग्गा हडप्न माफियाले त्रिकोणात्मक सञ्जाल विस्तार गरेको अनुसन्धानले देखाउँछ,” व्यूरो प्रमुख सिलवालले भने, “अनुसन्धानका क्रममा भेटिएका तथ्य र प्रमाणले यसमा भू–माफिया, मालपोतका कर्मचारी र कर्जा विभागका कार्यरत बैंकका अधिकारीबीचको मिलेमतो विना यस्तो ठगी अघि बढाउँन सम्भव नै हुदैन ।” दलालले मालपोत र नापी कार्यालयमार्फत व्यक्ति तथा सार्वजनिक जग्गाको विवरण पाएपछि नक्कली लालपुर्जा, नागरिकता, नाता प्रमाणित, मृत्युदर्ता प्रमाणपत्रलगायतका महत्वपूर्ण कागजात तयार पार्छन् । गिरोहको उक्त सेटिङलाई नापी र मालपोत कार्यालयका कर्मचारीले साथ दिँदै आएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् । नक्कली कागजात तयार भएपछि मालपोतका कर्मचारीले माफियाकै योजनामा नक्कली जग्गाधनी खडा गर्ने र त्यसपछि बैंकमा धीतो राखेर कर्जा निकाल्ने र विक्री गर्ने गर्छन् । त्यसक्रममा नाता प्रमाणीकरण, जन्मरमृत्युदर्ता, नक्कली पति–पत्नीको विवाह दर्ता प्रमाणपत्र, अपरिचित जग्गाधनीका लालपुर्जा फोटोकपी लगायतका गाविस सचिवदेखी मालपोतका कर्मचारी सम्मको मिलेमतो देखिएको व्यूरोको दाबी छ । माफियाले जग्गा हडपेको थाहा पाएपछि प्रहरीमा कारबाहीको माग गर्दै उजुरी दिनेको लर्को लागेको छ । भण्डारा गाविस–२ चितवनका लोकेन्द्रराज पाठकको करिव २२ करोड रुपैयाँ मूल्य बराबरको जग्गा माफियाले किर्ते कागजातका आधारमा हडप्न सफल भयो । १ लाख मूल्य राखेर माफियाले उक्त जग्गा आफ्नो स्वामित्वमा ल्याएपछि हिमालयन बैंक र प्राइम बैंकबाट क्रमशः ५ करोड र ८ करोड रुपैयाँ कर्जा लिएका थिए । कारोबार दैनिकबाट ।

सोमबारको सेयर बजारमा उतारचढाव, नेप्से १७ अंकले वृद्धि, ५१ करोडको सेयर कारोबार

काठमाडौ, १८ पुस । सोमबार सेयर बजारमा उतारचढाव देखिएको छ । सेयर कारोबार सुरु भएको आधा घन्टामै नेप्से परिसूचक बढेर १४८४ अंकमा पुगेको थियो । त्यसपछिको एक घण्टामा फेरि घटेर १४६६ अंकमा पुगेको थियो । त्यसपछिको सेयर कारोबार भने केही टेवा पुगेको देखिन्छ । कारोबार बन्द हुँदा नेप्से परिसूचक १७ दशमलब १३ अंकले बढेर १४८२ अंकमा अडेको छ । सोमबार बजारमा ५१ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोही दिन १३० कम्पनीको १० लाख १७ हजार कित्ता सेयर किनबेच भएको हो । सोमबार जस्तै आइतबार पनि सेयर बजार उकालो लागेको थियो । सो दिन होटल समूह बाहेक कारोबार भएका सबै समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २८ अंकले उकालो लागेको छ । त्यस्तै, बैंकिङ् र विकास बैंक समूहको परिसूचक क्रमशः २३ र १३ अंकले बढेका छन् । होटल समूहको परिसूचक ६ दशमलब ३७ अंकले ओरालो लागेको छ । बजारमा तीन कम्पनीका सेयर मूल्य करिब १० प्रतिशतले बढेका छन् । सप्तकोसी डेभलपमेन्ट बैंक, अरुण फाइनान्स र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले क्रमशः ९.७५, ९.६४ र ९.२९ प्रतिशत कमाएका छन् । मिथिला लघुवित्त विकास बैंकको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ । सो दिन सबैभन्दा बढी एभरेष्ट बैंकको ३ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, सिटिजन बैंक इन्टरनेशनल, बैंक अफ काठमाण्डू लुम्बिनी र सिद्धार्थ बैंकको २ करोड बढीको सेयर कारोबार भएको छ ।

सोमबार मात्रै ३ करोड कित्ता बोनस र एक लाख बढीको हकप्रद सेयर नेप्सेमा सूचिकृत

काठमाडौं, १८ पुस । सोमबार मात्रै २ करोड ९९ लाख ४४ हजार ६८१ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । साथै, सोही दिन मिथिला लघुवित्त विकास बैंकको एक लाख ६९ हजार ७४० कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । सोमबार ४ वटा बैंक तथा वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । नविल बैंकको एक करोड ४२ लाख ८९ हजार ३७४ कित्ता र अपी पावर कम्पनीको ५ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड ४९ लाख १४ हजार ०२७ कित्ता र कन्ट्रि डेभलपमेन्ट बैंकको २ लाख ४१ हजार २८० कित्ता गरि सो मात्राको बोनस सेयर नेप्सेमा सूचिकृति भएको छ ।

५ महिनामा उठ्यो ३ अर्ब ५९ करोड, १९ महिनाको आम्दानी कता हरायो ?

काठमाडौं, १८ पुस । नेपाल आयल निगमको पुर्वाधार कोषमा पाँच महिनामै ३ अर्ब ५९ करोड रुपैंयाँ संकलन भएको छ । निगमले आफ्नो पुर्वाधार सुदृढिकरणका लागि भन्दै स्थापना गरेको पुर्वाधार कोषमा चालु आर्थिक बर्षको पाँच महिनामा ३ अर्ब ५९ करोड रुपैंयाँ जम्मा भएको हो । निगम श्रोतका अनुसार साउन देखि मंसिर १५ गतेको अवधीमा सो रकम जम्मा भएको हो । तर निगमले पुर्वाधार विकासका नाममा २०१७१ माघ देखि नै उपभोक्तासँग शुल्क असुल्दै आएको थियो । ५ महिनामै साढे तीन अर्ब भन्दा बढि रकम संकलन गरेको निगमले १९ महिनाको हिसाब किताब भने तयार गरेको छैन् । निगमको पुर्वाधार कोषमा कति रकम जम्मा भएको छ ? भन्ने प्रश्नको जवाफमा निगमका प्रवक्ता भानुभक्त खनालले भने–‘कति पैसा उठेको छ, हिसाब गरेका छैनौं तर ऋण तिर्न प्रयोग गरेको भने सत्य हो ।’ कति उठाउँछ निगम ? निगमले हाल पूर्वाधार विकासका लागि भन्दै डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर पाँच÷पाँच रुपैंयाँ असुलिरहेको छ । त्यस्तै, हवाई इन्धन तर्फ आन्तरिक र वाह्यमा प्रतिलिटर दश/दश रुपैंयाँ उठाउँदै आएको छ । निगमले खाना पकाउने एलपी ग्यासमा भने प्रति सिलिण्डर ५० रुपैंयाँ उठाउँदै आएको छ । यसरी उपभोक्ताबाट संकलन गरिएको रकम हालसम्म अरबौं पुगिसकेको छ । उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जन भन्छन–‘पूर्वाधार विकास कोषका लागि उपभोक्तासँग उठाएको पैसा नाफामा राखेर ऋण तिर्ने अनि बोनस खाने प्रयोजनका लागि खर्चिको छ, यो सरासर वित्तिय अपराध हो ।’ के केमा उठाउँछ निगमले पैसा ? निगमले हाल पूर्वाधार विकास बाहेक अन्य चार शिर्षकमा पनि उपभोक्तासँग रकम असुलिरहेको छ । निगमले मूल्य स्थिरिकरण कोषका लागि पेट्रोलमा प्रति लिटर ५१ पैसा, डिजेल र मट्टितेलमा ३९/३९ पैसा, हवाई इन्धन आन्तरिक उडानमा ४३ पैसा र बाह्य उडानमा प्रति लिटर ४१ पैसा असुलिरहेको छ । त्यस बाहेक बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि पनि निगमले डिजेल, पेट्रोल र आन्तरिक तथा बाह्य उडानको हवाई इन्धनमा प्रतिलिटर ५ रुपैंयाँ असुल्दै आएको छ । त्यस्तै, डिजेल र पेट्रोलमा प्रदुषण शुल्कका नाममा प्रतिलिटर ५० पैसा असुलिएको छ । सडक मर्मत सम्भार करका नाममा पेट्रोलमा ४ रुपैंयाँ र डिजेलमा २ रुपैंयाँ असुल्दै आएको छ । बुढीगण्डकी जलविद्युत आयोजनाका लागि भने निगमको कोषमा ४ अर्ब संकलन भएको निगमले श्रोतले बतायो ।

३६ करोड खर्चेर नेपाल टेलिकमले शुरु गर्यो काठमाडौं र पोखरामा फोरजी

काठमाडौं, १७ पुस । नेपाल टेलिकमले ३६ करोड खर्चेर काठमाडौं र पोखरामा फोरजी सेवा सुरु गरेको छ । टेलिकमले काठमाडौंको रिङरोड, इन्द्रायणी नगरपालिका, गोकर्ण रिसोर्ट र भक्तपुरलाई कभर हुने गरि आइतबारबाट सेवा आरम्भ गरेको हो । त्यस्तै पोखराको महेन्द्रपुल, न्युरोड र लेकसाइड लगायतका क्षेत्रमा फोरजी सेवा उपलब्ध हुनेछ । काठमाडौंमा ३०८ र पोखारामा २५ वटा टावरबाट फोरजीको सिग्नल प्रसारण गरिएको टेलिकमले जनाएको छ । कम्पनीले तत्कालै काठमाडौंमा थप ७९ वटा बिटिएस टावरबाट फोरजी सिग्नल प्रसारण गर्ने जनाएको छ । टेलिकमले हुवावे टेक्नोलोजीसँगको सहकार्यमा फोरजी सेव आरम्भ गरेको हो । टेक्नोलोजी न्युट्रालीटी गरेर १८०० ब्रोडब्याण्डको ५ मेगाहर्जमा फोरजी सञ्चालन गरिएको हो । पहिलो चरणमा पोष्टपेड मोबाइल प्रयोग कर्ताहरुले मात्रै फोरजी सेवा प्राप्त गर्न सक्नेछन् । उनीहरुले पनि युनिर्भसल सिम(युसिम)बाट मात्रै यस्तो सेवा पाउने टेलिकमकी महाप्रबन्धक कामीनी राज भण्डारीले बताइन् । टेलिकमले आगामी माघ २२ गतेदेखि प्रिपेड सेवामा पनि फोरजी सञ्चालन गर्नेछ । त्यस्तै, सोही मितिदेखि काठमाडौं र पोखरा बाहेक १५ वटा महानगर तटा उप महानगरपालिकामा पनि फोरजी आरम्भ गर्नेछ । फोरजी सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले नेपालले नेपाल टेलिकम पनि जनकपुर चुरोट कारखानीको अवस्थामा नपुगोस भन्दै खबरदारी गरेका थिए । मन्त्री कार्कीले नेपालमा सरकारी स्वामित्वका उद्योग तथा कलकारखाना र संस्थाहरु आवश्यक रहेको बताउँदै सरकारी कम्पनीसँग निजी क्षेत्रका कम्पनीले प्रतिष्पर्धा गर्नै नसक्ने दावी पनि गरेका थिए । उनले आइसीटी र विकासलाई सँगै लैजान नसकिएको टिप्पणी गर्दै हुलाक सेवालाई सामुदायीक सूचना केन्द्रका रुपमा अघि बढाउने तयारीमा सरकार लागेको जानकारी पनि दिएका थिए । त्यस्तै, नेपालले आफ्नै स्याटेलाइट सञ्चालनको प्रक्रिया अघि बढाएको जानकारी दिँदै उनले २० वटा कम्पनीले आसय पत्र बुझाएको बताए ।

पाल्पामा बर्सेनि होटल थपिदै, एक करोडको लगानीमा झन्डै एकदर्जन होटल सञ्चालनमा

पाल्पा, १६ पुस । पर्यटकीय नगरी तानसेनमा बर्सेनि होटल थपिदैं गएको छ । झन्डै करोड भन्दा माथिको लगानीका होटल थपिदै गएपछि सुविधा सम्पन्न होटलको समस्या यहाँ टरेको छ । पछिल्लो तीन वर्षको अवधिमा एक करोड भन्दा बढी रुपैयाँको लगानीमा झन्डै एकदर्जन होटल सञ्चालनमा आएका छन् । सुविधा सम्पन्न होटल निर्माण भएपछि यहाँ पर्यटकको बसाईमा पनि बृद्धि भएको पर्यटन व्यवसायीहरु बताउँछन् । पछिल्लो समयमा निर्माण हुने होटलमा पार्किङ, सभाहल, टिभी, फ्रिज वाइफाइ, चिसो तातो पानीलगायतका प्रशस्त सेवा सुविधा रहेको होटल व्यवसायी जीवलाल सुवेदी बताउँछन् । सुविधा सम्पन्न होटलमा खुलेपछि साना ठूला गोष्ठी तथा सेमिनार गर्नसमेत सजिलो भएको छ । चैत, वैशाखमा यहाँ अत्यधिक गर्मी नहुने भएपछि नेपालगञ्ज, पोखरा, काठमाडौंलगायतका स्थानबाट गोष्ठी तथा सेमिनार सञ्चालनका लागि आउने गरेको व्यवसायीहरु बताउँछन् । तानसेनमा होटल ‘द’ ह्वाइटलेक, होेटल श्रीनगर, रोज रिसोर्ट, होटल इन्दे्रणी एन्ड रेष्टुरेन्ट, पाल्पाली छे, मोनिका होटल, होटल अमृत, रक रिजेन्सि गेष्ट हाउस, शुभरात्री गेष्ट हाउस लगायतका दर्जनौं होटल सञ्चालनमा छन् । होटलमा पाल्पाली स्वादमा खाना नास्ताको सुविधाले पर्यटकको मन जित्न सफल भएका हुन । पाल्पामा आन्तरिक तथा बाह्य पर्यटक बढी आउने भएकाले होटल व्यवसाय फस्टाएको बताउँदै पाल्पा उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले होटल व्यवसायमा हालसम्म तानसेनमा एक अर्ब भन्दा बढी रुपैयाँ लगानीको भएको बताएका छन् । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी र रुपन्देही जिल्लाको भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्न लागेकाले अगामी वर्षहरुमा यहाँ विदेशी पर्यटक आउने सम्भावना बढी रहेको हुँदा यहाँ होटल व्यवसाय फस्टाउन लागेका छन् । रासस

१०६५ जनालाई एक दिनको भत्ता १५ दिनको तलव सरह, भत्तामा सवा करोड खर्चदै उड्डयन प्राधिकरण

काठमाडौं १६, पुस । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज मनाउँदै गरेको १८ औं वार्षिकोत्सवबाट यसले आफ्ना कर्मचारीलाई १५ दिनको तलवबराबरको भत्ता बाड्ने भएको छ । अर्थ मन्त्रालयले प्राधिकरणका कर्मचारीलाई १५ दिनको तलब बराबरको भत्ता दिन स्वीकृति दिएको आज घोषणा हुने प्राधिकरणका महानिर्देशक सञ्जिब गौतमले बताए । उनका अनुसार कर्मचारीलाई प्रोत्साहन भत्ता वापत यो रकम दिइने भएको छ । प्राधिकरका कर्मचारीले यो वर्षबाट हरेक वर्ष आफ्नै संस्थाको वार्षिकोत्सव मनाउँदा १५ दिनको तलव भत्तावापत पाउने छन् । यस अघि १६ वर्षदेखि प्राधिकरणका कर्मचारीले वार्षिकोत्सव भत्ता बापत जम्मा पाँच सय रुपैयाँ पाउँदैन आएका थिए । कर्मचारीले एक दिनको भत्ता करीब अवा करोड रूपैयाँ खर्च हुने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका कर्मचारीले हरेक वर्ष डिसेम्बर ३१ का दिन मनाउने प्राधिकरणको वार्षिकोत्सवमा एक दिनको भत्ता वापत यो पैसा पाउने भएका छन् । हाल प्राधिकरणमा १०६५ जनाको दरवन्दी भएपछि करीब नौ सय जना मात्रै कार्यरत रहेको प्राधिकरणले जानकारी दिएको छ । बाँकी पदपूर्ति भएको अवस्थामा पनि सबैले पाउने यो सुविधा सबै स्थायी कर्मचारीको हकमा लागू हुने छ । यस अघि प्राधिकरणले एक दिनको भत्ता एक महिनाकै तलवरसर अर्थात दुई करोड ४२ लाख रुपैयाँ माग गरेका थिए । अर्थ मन्त्रालयले १५ दिनको तलव बराबरको भत्ता मात्रै स्वीकृत गरेकोले सोही अनुसार हुने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले आफ्ना कर्मचारीलाई आव २०६८र७९ को नाफाबाट १० प्रतिशतसम्म बोनस खुवाउने तयारी गरिरहेको छ । प्राधिकरणका कर्मचारीले अहिले पनि १४ महिनाको तलब पाइरहेकामा अझै एक दिनको वार्षिकोत्सवको भत्ता पनि एक महिनाको तलब बराबार नै माग गरेका थिए। प्राधिकरणका अनुसार आजकै वार्षिकोत्सव कार्यक्रममार्फत कर्मचारीलाई बोनसको पनि घोषणा हुने उल्लेख छ । प्राधिकरण स्रोतका अनुसार दुई वर्ष अगाडि नै प्राधिकरणका विभिन्न पाँच वटा टे«ड युनियन र सात वटा पेशागत संगठनले एक महिनाको भत्ता माग गर्दै १६ औं वार्षिकोत्सव बहिस्कार गरेका थिए । एक दिनको वार्षिकोत्सव मनाउन एक महिनाको तलव भत्तासहितको सबै सुविधा माग गरेपपछि प्राधिकरण संचालक समितिले कर्मचाारीको दबाब थेग्न नसकेर निर्णय पनि गरिसकेको भएपनि औपचारिक लागू भने दुई वर्ष पछि हुँदै छ । कर्मचारीले प्राधिकरणको सुधारको लागि नीतिगत, पेशागत र संस्थागत माग पूरा नगरेको बताउँदै कार्यक्रम बहिस्कार गर्ने बताए । एक महिनाको तलव नपाए आफ्नै संस्थाको जन्मदिन बिर्सिन बाध्य हुने पनि कर्मचारीको चेतावनी यो वर्ष पनि दिएका थिए । प्राधिकरणका कर्मचारीले युनियले गरेको यो माग पूरा भए श्रेणीविहिन कर्मचारीदेखि १२ औं तहका कर्मचारीसम्मका लागि लाभ हुन्छ । प्राधिकरण स्रोतले भन्यो । कर्मचारीको सेवा सुविधा दिने विषय ठीक भएको, संस्थासँग पैसा पनि भएको र वार्षिक अर्ब नाफा कमाउने संस्थाले कर्मचारीको लागि सवा करोड खर्च गर्नु ठूलो विषय नभएको प्राधिकरणको भनाइ छ । प्राधिकरणले कर्मचारीको भत्तामा नै त्यति धेरै खर्च गरेर बार्षिकोत्सव मनाउनुको कुनै तुक नभएको पर्यटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको भनाइ छ ।

न्यूरोड मोबाइल महोत्सवमा तीन दिनमा १० करोड रुपैंयाभन्दा बढीको कारोबार

काठमाडौं, १५ पुस । नेपाल मोबाइल व्यवसायी संघले पुस १३ गतेदेखि आयोजना गरिरहेको न्यूरोड मोबाइल महोत्सव २०७३ मा ग्राहकहरुको अधिक चहलपहल देखिएको छ । महोत्सव शुरु भएको तेस्रो दिनसम्म ग्राहकहरुले विभिन्न ब्राण्डका स्मार्टफोनहरु भारी छुटमा अफरसहित किनिरहेका छन जहाँ १० करोड रुपैंया भन्दा बढीको कारोबार भएको आयोजकले जनाएको छ । मोबाइल महोत्सवमा ग्राहकहरुले आफूले चाहेको मोबाइल फोन सूपथ मूल्यमा किन्न पाएको अनुभव सुनाए । नेपालको आर्थिक केन्द्र तथा मोबाइल हबको रुपमा चिनिने पाको, न्यूरोड क्षेत्रमा भव्यरुपमा शुरु भएको न्यूरोड मोबाइल महोत्सव २०७३ मा स्मार्टफोन, एसेसरिजका साथै विभिन्न मनोरन्जनात्मक गतिबिधि पनि आयोजना गरिएको छ । पुस १९ गतेसम्म आयोजना हुने मोबाइल महोत्सवमा ग्राहकहरुको सहभागिता उल्लेखनिय हुँदा उत्साहित भएको महोत्सवका संयोजक पुरुषोत्तम बस्नेतले बताए । “यो मोबाइल महोत्सवमा मोबाइल किन्ने मात्र नभई ग्राहकहरुलाई विभिन्न आकर्षक अफर पनि दिएका छौं, जसले हाम्रो अनुमान भन्दा पनि बढि ग्राहकहरुको भीड देखियो” उनले भने, “महोत्सवमा नयाँ प्रविधि सहितका मोबाइल फोनहरुमा ग्राहकहरुको रुचि अधिक देखिएको छ ।” संघले अंग्रेजी नयाँ वर्ष २०१७ को अवसर पारेर नेपालको सबैभन्दा ठूलो र पुरानो मोबाइल केन्द्र–पाको, न्यूरोड, ताम्राकार कम्प्लेस, पिपुल्स प्लाजा क्षेत्रमा आयोजना भईरहेको मोबाइल महोत्सवमा सडकलाई पनि सजाईएको छ भने ग्राहकहरुलाई आकर्षित गर्न विभिन्न मोबाइल ब्राण्डहरुले उपहार योजनाका साथमा विभिन्न छुट पनि प्रदान गरिरहेका छन् । महोत्सवका सह संयोजक आविश्कारलाल श्रेष्ठले न्यूरोड क्षेत्रमा प्रवेश गर्ने हरेक ग्राहकहरुले उपहार प्राप्त गर्ने जानकारी दिए । उनले भने, “हामीले हात खाली नहुने अफर ल्याएका छौं जसमा ग्राहकहरुले विभिन्न सामाग्री तथा उपहारहरु प्राप्त गर्नेछन् ।”

प्रसारण लाइनमा करिब १०० मेगावाट विद्युत् जडान, आइतबारदेखि थप ४० मेगावाट जोडिने

काठमाडौँ, १५ पुस । चालु आर्थिक वर्षको पाँच महिनामा निजी क्षेत्रका आयोजनाबाट कुल ९७ मेगावाट विद्युत् उत्पादन भएको छ । ऊर्जा मन्त्रालयकाअनुसार सरकारी आयोजना निर्माणमा ढिलाइ भइरहेको बेला निजी क्षेत्रका आयोजनाले भने एकपछि अर्को गर्दै राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जोड्न थालेका छन् । ऊर्जा मन्त्रालयमा निजी प्रवद्र्धकहरुले पछिल्लो पटक गराएको जानकारी अनुसार ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरु गरेको छ । नेपाली र चिनियाँ संयुक्त लगानीमा अगाडि बढाइएको सो आयोजनाले विगत केही दिन पहिलेबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन शुरु गरेको छ । यस्तै २५ मेगावाट क्षमताको माथिल्लो मादी आयोजना पनि निर्माण भएको छ । त्यसैगरी १५ मेगावाटको हेवाखोला, ६ मेगावाटको दरौदी र १ मेगावाटको नियाखोला जलविद्युत् आयोजना सम्पन्न भएका छन् ।  नदी प्रवाहमा आधारित ती जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गरेको जनाए पनि अवस्था भने त्यस्तो नरहेको बताइन्छ । ऊर्जा मन्त्रालयले ९७ मेगावाट विद्युत् उत्पादन सुरु भएको जनाए पनि हाल ५० मेगावाट क्षमता मात्रै जोडिएको बताइन्छ । चिनियाँ लगानीकर्ता सिनो हाइड्रो कर्पोरेसन र नेपालको सगरमाथा पावर कम्पनीको संयुक्त लगानीमा निर्माण भएको माथिल्लो मस्र्याङदीको विद्युत् जोडिएपछि कास्की, तनहुँ र पोखरामा थप सहजता भएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले परीक्षण उत्पादनबाट जोडिएको विद्युत्ले पनि राष्ट्रिय प्रसारण प्रणालीमा सहज भएको जानकारी दिएका छन् । यस्तै चीनको चाइना वाटर एन्ड इलेक्ट्रक कर्पोरेसन र नेपालको गोरखा कन्ट्रक्सन कम्पनीको साझेदारमा निर्माण भएको मादीको परीक्षण उत्पादन सुरु भएको छ । आयोजनाको शुक्रबार ऊर्जा मन्त्री जनार्दन शर्माले उद्घाटन गरेका छन् । यस्तै नेपालको पाँचथर पावर कम्पनीले निर्माण गरेको हेवाखोला आयोजना निर्माण सम्पन्न भएको छ । पाँचथरको फिदीममा सव स्टेसन निर्माण सकिएकाले केही दिनभित्रै आयोजनाले व्यापारिक उत्पादन सुरु गर्ने जानकारी आफूहरुलाई दिएको प्रवक्ता अधिकारीले बताए । कालीका कन्ट्रक्सन प्रालिले निर्माण गरेको कालीका दरौदी जलविद्युत् कम्पनीले निर्माण गरेको ६ मेगावाट क्षमताको दरौदी ‘ए’ जलविद्युत् आयोजनाले पनि व्यापारिक उत्पादन सुरु गरिसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिन पहिले सो आयोजनाको उद्घाटन गरेका थिए । सरकारले चालु आवको अन्त्यसम्म दुई सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेकामा हालसम्म करिब एक सय मेगावाट विद्युत् उत्पादन भइसकेको छ । प्राधिकरणको भार प्रेषण केन्द्रकाअनुसार हाल मुलुकभर विद्युत्को माग एक हजार २४५ मेगावाटमा झरेको छ । यसअघि एक हजार २८६ मेगावाट रहेको थियो । भारतबाट आयात गरिएको समेत गरेर ८५५ मेगावाट विद्युत् उपलब्ध भइरहेको छ । यस आधारमा प्रणालीमा ३९० मेगावाट विद्युत् अपुग हुन पुगेको छ । थप विद्युत् उपलब्ध गराउने लक्ष्यका साथ यही पुस १७ गतेदेखि भारतबाट थप ४० मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । रासस

पुनर्निर्माण प्राधिकरणका सीइओ ज्ञवालीले दिए प्रष्टिकरण, ‘यथार्थ स्पष्टिकरण यथासमयमा’

काठमाडौं, १४ पुस । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्पष्टीकरण बुझाएको छ । स्पष्टीकरणमा लेखिएका विषय ‘यथासमयमा सार्वजनिक’ गर्ने जनाउँदै ज्ञवालीले विहीबार प्रेस विज्ञप्ति जारी गरेका छन् । भूकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण, पीडितहरुलाई रकम वितरण तथा यसका लागि काम गर्नुपर्ने निकायहरुलाई क्रियाशील तुल्याउने लगायतका कार्यहरु अघि बढिरहेको समयमा नेपाल सरकारको तर्फबाट मैले सम्पादन गरेको कार्य बारे स्पष्टिकरण माग गरिएको सम्बन्धमा उठेका सार्वजनिक जिज्ञासाका सम्बन्धमा आफूले प्रेस नोट जारी गर्नु परेको उनले बताएका छन् । तर ‘पत्रमा उठाइएका विषयवस्तुहरुका सम्बन्धमा यथार्थ स्पष्टिकरण यथासमयमा प्रस्तुत हुने नै छ’ भन्दै उनले स्पष्टिकरणमा उल्लेख विवरण सार्वजनिक गरेका छैनन् । स्थापनाको एक वर्षमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्ना कामहरु व्यवस्थित र योजनाबद्ध रुपमा अघि बढाएकाले त्यसका परिणामहरु एकपछि अर्काे गर्दै बाहिर आइरहेको उनले बताएका छन् । ‘यस अवस्थामा वस्तुस्थितिको यथार्थ चित्रण सहित पेश गरिने स्पष्टिकरणले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा सम्बद्ध सरकारी निकायले गरेका तथा गर्नुपर्ने कार्यहरु, चुनौती र समस्याहरुको सम्बन्धमा थप स्पष्ट हुने तथा पुनर्निर्माण कार्यलाई अघि बढाउन थप सहयोग पुग्नेछ भन्ने मैले अपेक्षा गरेको छु’ ज्ञवालीले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

‘हुण्डाई विइन्टर डिलाइट’ योजना शुरु, गाडी खरिदमा विभिन्न आकर्षक प्याकेजहरु

काठमाडौं, १४ पुस । नेपालका लागि हुण्डाई गाडिको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुण्डाई विइन्टर डिलाइट’ नामक नयाँ योजना ल्याएको छ । उक्त योजनामा ग्राहक वर्गहरुले हरेक हुण्डाई गाडीको खरिदमा आकर्षक प्याकेजका साथ लाभान्वीत हुन अवसर पाउन सक्ने कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत हरेक हुण्डाई गाडिको खरिदमा ग्राहकले एक शुनिश्चित बचतको प्याकेज पाउने छन् । जस अन्तर्गत आकर्षक नगद छुट, निःशुल्क १ बर्षे बिमा सुबिधा, आकर्षक ब्याजदर, निःशुल्क सडक कर, लोएलटी बोनस एवं एक्स्चेञ्ज बोनस रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो योजना पौष १४ गतेदेखि नेपाल अधिराज्यभरि सिमीत अवधिसम्मको लागी लागु हुनेछ । हुण्डाईका १६ शोरुमहरु नेपालको प्रमुख शहरहरुमा रहेका छन् जस अन्तर्गत ३ काठमाडौँ उपत्यका भित्र र १३ उपत्यका बाहिर छन् । जाडो मौसमको शुरुसँगै लक्ष्मी हुण्डाईले आफ्ना ग्राहकहरुलाइ न्यानोपनको अनुभूति दिने उद्देश्यले यो योजना ल्याएकोे ल्याएको हो । यो योजनामार्फत लक्ष्मी इन्टरकन्टिनेन्टलले यस जाडो याममा पनि सर्वसाधारणमा उत्साह जगाउने प्रयास गरेको छ । सदाझै आगामी दिनहरुमा पनि ग्राहकवर्गलाई उच्च सेवा तथा सुविधा प्रदान गर्ने लक्ष्मी इन्टरकन्टिनेन्टलको प्रतिबद्घता रहेको छ ।

चीनमा यस वर्ष एक करोड तीस लाख रोजगारी सृजना

बेइजिङ, १३ पुस । चीनले सन् २०१६ मा एक करोड तीस लाख रोजगारी सिर्जना गरेको अधिकारीहरुले जनाएका छन् । मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्री यीन वैमिनले बुधबार आयोजित मन्त्रालयको वार्षिक पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् । यो तथ्याङ्क मन्त्रालयको वार्षिक लक्ष्य एक करोडभन्दा बढी हो । स्थीर रोजगारीले मुलुकको आर्थिक विकास र सामाजिक दायित्व पूरा गराउन सहयोग पुग्ने उनले बताए। यद्यपि मुलुकको आर्थिक वृद्धिदर सुस्त नै भएको सरकारी अधिकारीहरुको भनाई छ । आगामी वर्ष सन् २०१७ मा मजदुरहरुको तलब वितरणमा सुधार गर्ने र पेन्सनको लगानी बढाउने मन्त्री यीनले बताए । रासस/सिन्ह्वा