मंगलबारकाे सेयर बजार दोहोरो अंकले ओरालो, ५० करोड माथिको सेयर कारोबार
काठमाडौं । मंगलबार सेयर बजार करिब दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक ९ दशमलब ९९ अंकले ओरालो लागेर १६४९ दशमलब २४ अंकमा झरेको छ । परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । दोहोरो अंकले घटेको बजारमा ५० करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १४० कम्पनीको २८ लाख २१ करोड कित्ता सेयर किनबेच भएको छ । मंगलबार उत्पादनमूलक समूह बाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ४६ अंकले ओरालो लागेको छ । उत्पादनमूलक समूहको परिसूचक भने ३० अंकले उकालो लागेको हो ।
काठमाडौं महानगरमा काँग्रेस एमाले/टक्कर, पछि परे साझा र विवेकशिल
काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली काँग्रेस र नेकपा(एमाले)बिच कडा प्रतिष्पर्धा सुरु भएको छ । केहि समयसम्म काँग्रेसलाई पछि पारेर एमालेसँग प्रतिष्पर्धामा देखिएका साझा पार्टीका किशोर थापा र विवेकशिलकी रञ्जु दर्शनालाई काँग्रेसले धेरैपछि छाडेको छ । अपरान्ह २ बजेको मत परिणाम अनुसार एमालेका विद्या सुन्दर शाक्यले ३२५ मत पाएका छन भने काँग्रेसका राजुराज जोशीले ३१४ मत ल्याएका छन् । साझा पार्टीका किशोर थापाले २०४ मत ल्याउँदा विवेकशिलकी रञ्जु दर्शनाले १६८ मत ल्याएकी छिन् । हाल काठमाडौं महानगरपालिकाको वडा नम्बर र १ र ३२ को मत गणना भैरहेको छ ।
मंगलबार मात्रै २ करोड ४९ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, क- कसको कति?
काठमाडौं । मंगलबार मात्रै २ करोड ४९ लाख २६ हजार ५०० कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । एकै दिन एक करोड १३ लाख ३३ हजार ७७५ कित्ता बोनस र एक करोड ३५ लाख ९२ हजार ७२५ कित्ता हकप्रद सेयर गरि सो मात्राको सेयर सूचिकृत भएको हो । मंगलबारको बजारमा करिब ८ कम्पनीको सेयर सूचिकृत भएको छ । त्यसमध्ये ५ वटा कम्पनीको बोनस सेयर र बाँकी कम्पनीको हकप्रद सेयर सुचिकृत भएकोे छ । सेती फाइनान्सको ८ लाख ३४ हजार ४०० कित्ता बोनस र हिमालयन बैंक लि को ६४ लाख कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । त्यस्तै, प्राइम कमर्सियल बैंकको ८५ लाख २२ हजार १०३ कित्ता बोनस सेयर सूचिकृत भएको छ । उता वेष्र्टन डेभलपमेन्ट बैंकको १५ लाख ६९ हजार ६०० कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ । नमस्ते वित्तीय संस्थाको बोनस र हकप्रद दुबै सेयर सूचिकृत भएको छ । कम्पनीको ९० हजार कित्ता बोनस र ३ लाख ७५ हजार कित्ता हकप्रद सेयर सुचिकृत भएको हो । सोही दिन जेबिल्स फाइनान्स र फेवा विकास बैंकको क्रमशः ३ लाख २१ हजार ६२ कित्ता र २० लाख ४९ हजार ७०० कित्ता बोनस सेयर सूचिकृत भएका छन् । त्यसैगरि, मञ्जुश्री फाइनान्सको पनि बोनस र हकप्रद गरि ४७ लाख ३७ हजार २८५ कित्ता सेयर नेप्सेमा थपिएको छ । कम्पनीको ३ लाख ५० हजार ९१० कित्ता बोनस र ४३ लाख ८६ हजार ३७५ कित्ता हकप्रद सेयर गरि सो मात्राको सेयर एकै दिन नेप्सेमा थपिएको हो ।
सनराइज बैंकको एक अर्ब ६३ करोडको हकप्रद सेयर
काठमाडौं । सनराइज बैंकले १० बराबर ३ कित्ताको अनुपातमा हकप्रद सेय निष्काशन गर्ने भएको छ । बैंकले जेठ १६ गतेदेखि असार १९ गतेसम्म प्रति १० कित्ता बराबर ३ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकले प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । सनराइज बैंकका शाखा र कार्यालय र प्रभु क्यापिटलबाट आवेदन दिन सक्नेछन् । बैंकले एक अर्ब ६३ करोड ५९ लाख ६३ हजार ६०० रुपैंयाँ मुल्यको हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
राष्ट्रिय बाणिज्य बैंकको नाफा २ अर्ब ७ करोड
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले नौ महिनामा २ अर्ब ७ करोड नाफा कमाएको छ । बैंकले गत आवको सोही अवधीमा भन्दा ४६ करोड बढि नाफा यसपालीक आर्जन गरेको हो । गत आवको नौ माहिनामा राष्ट्रिय बाणिज्य बैंकले जम्मा एक अर्ब ६१ करोड मात्रै नाफा कमाएको थियो । बैंकले ६ अर्ब ३ करोड ब्याज आम्दानी गरेर एक अर्ब ३५ करोड मात्रै ब्याज खर्च गरेको छ । ८ अर्ब ५८ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ९ करोड रुपैंयाँ रहेको छ । बैंकले ३ दशमलब ५२ प्रतिशतमा रहेको खराब कर्जालाई पनि घटाएर २ दशमलब ७० प्रतिशतमा ल्याएको छ ।
काठमाडौं महानगरमा काँग्रेस/एमाले टक्कर, पछिपछि रञ्जु दर्शना
काठमाडौं । काठमाडौं महानगरपालिकामा काँग्रेस र एमालेबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । परिणाम अनुसार मेयरमा काँग्रेस राजुराज जाेशीले २३ मत पाएका छन् । एमालेका उम्मेदवार बिद्यासुन्दर शाक्यले ३५ मत पाएका छन् । काँग्रेस र एमालेलाई पच्छाउदै साझा पाटीको उम्मेदवार किशोर थापाले २६ मत पाएका छन् भने विवेकशिलकी रञ्जु दर्शनाले २५ मत ल्याएकी छिन् ।
माउन्ट मकालु विकास बैंक काबेली विकास बैंकमा विलय हुने, ५० करोड पुँजी पुर्याउने
काठमाडौं । माउन्ट मकालु विकास बैंकले काबेली विकास बैंकमा विलय हुने भएको छ । माउन्ट मकालु विकास बैंकले काबेली विकास बैंकमा विलय हुने भएको छ । प्राप्ति तथा विलय सम्बन्धमा शुक्रबार सम्झौता भएको काबेली विकास बैंकका कामु प्रमुख कार्यकारी अधिकृत शैलेन्द्रबादे श्रेष्ठले बताए । माउन्ट मकालुलाई काबेलीले एक्वाएर गर्ने सहमति भएपछि नेपाल स्टक एक्स्चेञ्जमा माउन्ट मकालुको सेयर कारोबार बन्द भएको छ । ६ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी भएको माउन्ट मकालु थेह्रथुम जिल्ला कार्यक्षेत्र भएको एक जिल्ले विकास बैंक हो । यस बैंकको सेयर प्रतिकित्ता ६७० रुपैयाँमा कारोबार भईरहेको छ । यस बैंकले चैत मसान्तसम्ममा १५ करोड ५८ लाख निक्षेप परिचालन गरी १५ करोड ५४ लाख कर्जा प्रवाह गरेको छ । यस्तै, ८ करोड ४२ लाख रुपैयाँ चुक्ता पुँजी भएको काबेली विकास बैंक धनकुटा कार्यक्षेत्र भएको एक जिल्ले विकास बैंक हो । पछिल्लो समय यस बैंकको सेयर प्रतिकित्ता ५६० रुपैयाँका किनबेच भईराखेको छ । गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर दिएको यस बैंकले गत बैशाख २७ गते साधारणसभा गरी ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ । दुई विकास बैंक मर्जभई तीन जिल्ला स्तरको विकास बैंक बन्न लागेको काबेली विकास बैंकका कामु प्रमुख कार्यकारी अधिकृत शैलेन्द्रबादे श्रेष्ठले बताए । दुबै बैंकले ३ करोड ५० लाखका दरले हकप्रद सेयर जारी गर्न लागेको र हकप्रद जारी गरिसकेपछि सेयर पुँजी २६ करोड रुपैयाँ हुने उनले बताए । त्यसपछि फेरी १ बराबर १ मत जारी गरी ५० करोड रुपैयाँ पुर्याउने तयारी रहेको उनले बताए ।
काठमाडौंमा बजार खोज्दै कर्णालीको खाद्यान्न, ५० रुपैंयाँ सस्तो बेच्दा पनि अर्ग्यानिक सिमी र फापरले बजार पाएन
काठमाडौं । के तपाईंलाई थाहा छ ? सरकारी स्वामित्वको खाद्य संस्थानले कर्णालीको अर्गानिक सिमी र तिते फापर बेच्ने गरेको छ । खाद्य संस्थानले बेच्ने खाद्यान्न बजार मुल्यभन्दा किलोमा पचास रुपैयाँ सस्तो छ । कर्णालीको कृषी क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले खाद्य संस्थानले वार्षिकरुपमा कर्णालीबाट अर्गानिक खाद्यान्न खरिद गरेर काठमाडौंमा बिक्री गरिरहेको छ । यसपालीपनि सरकारले आगामी आर्थिक वर्षमा कर्णालीबाट एक करोड रुपैयाँ बराबरको खाद्यान्न खरिद तयारी गरेको छ । संस्थानका सूचना अधिकारी शंकर सापकोटाका अनुसार काठमाडौंको धान गोदामबाट प्रति किलो एक सय ५० रुपैयाँमा सिमी र ९० रुपैयाँ प्रति किलोमा फापरको बिक्री भइरहेको छ । उनले भने, ‘ आजभोली बजारमा अर्गानिक खाद्यान्नका नाममा महंगोमा तरकारी बिक्री भइरहेका छन्। तर हामीले बेच्ने सिमी र फापर कर्णालीको शुद्ध अर्गानिक खाद्यान्न हो । सिमी बजार मूल्यभन्दा पचास रुपैयाँ सस्तो र फापर तीस रुपैयाँ सस्तो पर्न आउँछ ।’ बजारको अभाव चालु आवमा संस्थानले झन्डै डेढ करोड रुपैयाँ खर्चेर ल्याएको आठ सय २० क्विन्टल सिमी र फापर पर्याप्त बजारीकरणको अभावमा धान गोदाममा थन्किएर बसेको छ । प्रचार प्रसारको अभाव र एक ठाँउबाट मात्र बिक्री भइरहेकाले कर्णालीको खाद्यान्न बिक्न नसकेको संस्थानका प्रमुख गोकुल धिताले बताए । पोहोर साल कर्णालीबाट आएको बठ सय २० क्विन्टल खाद्यान्न बिक्री नभएको उद्दृत गर्दै धितालले भने, ‘धेरैलाई संस्थानले सस्तोमा अर्गानिक खाद्यान्न बेच्छ भन्ने नै थाहा छैन । त्यसमाथी यहाँ बजारको पनि त्यतिकै अभाव छ । सबैजना धानगोदाममा धाएर अर्गानिक खाद्यान्न किन्न आउदैनन् ।’ चालु आवमा डेढ करोड रुपैयाँ बराबरको खाद्यान्न खरिद गरेको संस्थान आगामी आवमा कम खरिद गर्ने भएको छ । यसपाली करिब एक करोड रुपैयाँ मात्र खरिद गर्ने तयारी रहेको सापकोटाले जानकारि दिए । बजारीकरणको प्रयास सिमित बिक्री कक्षका कारण खाद्यान्न बेच्न नसकिरहेको संस्थानले उपत्यकामा बिक्री कक्ष विस्तार गर्ने भएको छ । सापकोटाका अनुसार उपत्यकाका ६ वटा स्थानमा बिक्री कक्ष सञ्चालन गर्ने तयारी छ । उपत्यकामा संस्थानको दुईवटा स्थानमा मात्र डिपो छ – नखु र थापाथली, जसमध्ये थापाथलीमा बिक्री कक्ष छ । उनले भने, ‘हाम्रो एकै ठाँउमा मात्र बिक्री कक्ष भएकाले खाद्यान्न बिक्रीमा कठिनाई भइरहेको छ । अब उपत्यकाको कलंकीऽ सातदोबाटो, ललितपुर, भक्तपुर लगायतका ६ वटा स्थानहरुमा बिक्री कक्ष सञ्चालनका लागि सटर भाडामा लिँदै छौं ।’ घुम्ती सेवा लामो समयदेखि बन्द रहेको संस्थानको घर घरमा घुम्ती सेवा फेरि सञ्चालन मा आएको छ । जनशक्ती अभाव जस्ता विभिन्न कारणले बन्द रहेको घुम्ती सेवा बैशाखदेखि सूचारु भएको संस्थानका प्रमुख धितालले बताए । गत वर्ष घरैमा ट्रकमा संस्थानले सस्तोमा खाद्यान्न बिक्री गर्न ल्याएपछि यो सेवाले निकै लोकप्रियता पाएको थियो । तर उचित व्यवस्थापनको अभावका कारण बिचमा बन्द भएको धितालले बताए । उनले भने, ‘यो सेवा पुन सुचारु भएको करिब १०/१५ दिन भएको छ। ‘ तीनवटा गाडीका दरले खाद्यान्नको बिक्री भइरहेको सापकोटाले जानकारी दिए । उनका अनुसार एउटा गाडीबाट दैनिक तीन लाख रुपैयाँ बराबरको कारोबार भइरहेको छ।
भोट नदिएको भन्दै एमाले कार्यकर्ताको हत्या, झडपमा चार घाइते
धादिङ । दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ जोगिमारास्थित पिपलभन्ज्याङमा आइतबार राति एमाले कार्यकर्ताको हत्या भएको छ । पिलभन्ज्याङमा रहेको बन्दै गरेको झ्यालढोका नहालिएको घरमा आइतबार राति ३० वर्षीय लक्ष्मण चेपाङलाई लठ्ठीले हानेर हत्या गरिएको र त्रिपालसँगै जस्तापाताले समेत छोपेर छाडिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । स्थानीय तह निर्वाचनको मतदान गरेपछि घरको काम गरेर बसेका चेपाङलाई हानिएको लठ्ठी सोही स्थानमा रगत लतपतिएको अवस्थामा भेटिएको छ । सोही घरसँगै रहेको रेशम चेपाङको पसल फोरेर सामान लुटिएको सोही गाउँका प्रदीप श्रेष्ठले जानकारी दिए । राति घटना भएपछि छिमेकीले प्रहरीलाई खबर गरेको तर प्रहरी घटनास्थलपुग्न ढिलाइ हुँदा गाउँवासीेले घटनास्थलको सुरक्षा गरेर राखेकोे र प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यायलले जानकारी दिएको छ । केही दिनदेखि लक्ष्मण चेपाङ र उनका भाइलाई भोट नहालेमा मार्ने धम्की आइरहेकाले सोही आधारमा हत्या भएको मृतकका भाइ लालबहादुर चेपाङले बताए । यसैगरी मतदान सकिएपछि नीलकण्ठ नगरपालिका–५ देयरालीमा काँग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा चार जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेमा एमालेका ४२ वर्षीय राजेन्द्र थापामगर, २५ वर्षीय ललितबहादुर थापामगर र १९ वर्षीय गणेशबहादुर थापामगर र नेपाली काँग्रेसका २४ वर्षीय रामबहादुर थापामगर रहेका छन् । आइतबार मतदान सकिएपछि साँझ घर फर्किने क्रममा झडप भएको थियो । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । रासस
पहिलोपटक स्थानीय जनप्रतिनिधि छान्दै वनकरिया
हेटौँडा । मकवानपुरको मकहरी गाउँपालिका–४ मा रहेको लोपोन्मुख जाति वनकरियाले पहिलोपटक स्थानीय निर्वाचनमा मतदान गरेका छन् । मकवानपुरको एकमात्र स्थानमा रहेको ५४ जना वनकरियाले मतदान गरेका हुन् । देशमा मकवानपुरको हाँडीखोला, ट्वाङ्ग्रास्थित मुसेधापमा मात्र बसोबास गर्दैै आएका लोपोन्मुख २० घर वनकरिया रहेका छन् । स्थानीय पशुपतिनाथ माविमा राखिएको केन्द्रमा उनीहरुले पहिलोपटक मतदान गरेको मतदान अधिकृत गणेश भण्डारीले बताए । लोपोन्मुख वनकरिया जातिमा पुरुषभन्दा महिलाको अवस्था राम्रो छ । वनकरिया समुदायका पुरुष चुलोचौको र जङ्गल छाडेर अन्यत्र जान अझै रुचाउँदैनन् भन्ने मान्यता यसपटक उनीहरुले ताडेको स्थानीयले बताएका छन् । भोट हाल्न अनौठो लागेको तर खुसी भएको ३६ वर्षीया पार्वती वनकरियाले बताए । ५८ वर्षीया ठूलीमाया वनकरियाले यो चुनावले गाउँ विकास हुन्छ भनेकाले खुसी लागेको बताए । यस गाउँको पुरुष गाउँ बाहिरका काममा जानै नमान्ने भए पनि भोट हाल्न भने ल्याएको उनको भनाइ छ । रासस
नेप्सेमा २ करोड ४० लाख कित्ता सेयर सूचिकृत, हेरौँ क-कसको कति ?
काठमाडौं । यस साता मात्रै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा ६ कम्पनीको २ करोड ४० लाख २२ हजार ७१४ कित्ता सेयर सूचिकृत भएको छ । सो अवधिमा नेप्सेमा ९५ लाख २९ हजार १७० कित्ता बोनस, ५४ लाख ९३ हजार ५४४ कित्ता हकप्रद र ९० लाख कित्ता साधारण सेयर गरि सो मात्राको सेयर सूचिकृत भएको हो । साताभर ४ कम्पनीको बोनस र हकप्रद गरि कुल १ करोड ५० लाख २२ हजार ७१४ कित्ता सेयर नेप्सेमा थपिएको छ । सेवा विकास र मेगा बैंकको बोनस र हकप्रद दुबै सेयर थपिएको छ । त्यस्तै, ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंकको बोनस सेयर मात्रै थपिएको छ । त्यस्तै, सेवा विकास बैंकको ८ लाख ८ हजार ५५४ कित्ता बोनस र ५१ लाख ६ हजार ६६२ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो । मेगा बैंक नेपालको पनि ५३ लाख १५ हजार ९४० बोनस र ३ लाख ८६ हजार ८८२ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । त्यस्तै, ओम डेभलपमेन्ट बैंकको ३० लाख ७४ हजार ६२१ कित्ता बोनर र मनास्लु विकास बैंकको ३ लाख ३० हजार ३५४ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड र फर्वाड कम्युनिटी माइक्रोफाइनान्सको गरि ९० लाख कित्ता साधारण सेयर सूचिकृत भएको हो । सिनर्जी पावरको मात्रै ७० लाख कित्ता र बाँकी २० लाख फर्वाड कम्युनिटीको गरि सो मात्राको साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेसनको साधारणसभा जेठ १९ गते, ५ गतेदेखि बुक क्लोज
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसनले आफ्नो वार्षिक साधारणसभा आगामी जेठ १९ गते गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको समितिको बैठकले गरेको हो । साथै, सो प्रयोजनको लागि जेठ ५ गतेदेखि जेठ १९ गतेसम्म कम्पनीको बुक क्लोज हुने भएको छ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ६ करोड रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार ८७० रुपैयाँ रहेको छ ।
औषधिको चर्को मूल्य रोक्न समिति गठन, आयातकर्ता विरोधमा
काठमाडौं । आयातित औषधि चर्को मूल्यमा बिक्री भइरहेको तथ्य फेला परेपछि त्यसको मूल्य निर्धारणका लागि सरकारले बनाएको उच्चस्तरीय समितिको नेपाल औषधि आयातकर्ता सङ्घले विरोध गरेको छ । स्वास्थ्य मन्त्रालयको टोलीले गरेको नियमनमा आयातित औषधिको मूल्य रु ४०० देखि रु दुई हजार २०० प्रतिशतसम्म महङ्गो भएको तथ्य फेला परेको थियो । आयातित औषधि मूल्य निर्धारण र सुपथ मूल्यमा सरकारले खरिद गरी बिक्री वितरण गर्नका सुझाव दिन यही वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले तीन सदस्य उच्चस्तरीय समिति गठन गरेको थियो । सार्वजनिक खरिद व्यवस्थापन कार्यालयका सचिवको संयोजकत्वमा गठित सो उच्चस्तरीय समितिमा अर्थमन्त्रालय र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि रहने छ । नेपाल औषधि आयातकर्ता सङ्घले आज पत्रकार सम्मलेन गरी आयातित औषधिको मूल्य २५ प्रतिशतदेखि हदैसम्म घटाउन तयार रहेको जनाएको छ । तर मन्त्रालयको नियमनलाई आधार मान्ने हो भने आयातकर्ताले १०० प्रतिशत नै मूल्य घटाए पनि बिरामीले करिब दुई हजार १०० महङ्गो मूल्यमा औषधि खरिद गर्नुपर्ने बाध्यता देखिन्छ । मन्त्रालयका अनुसार विशेषगरी कडा रोग क्यान्सर र मिर्गौलालगायत उपचारमा लाग्ने आयातित औषधिमा विक्रेताले परल मूल्यभन्दा चर्को लिइने गरेका छन् । सङ्घका अध्यक्ष अञ्जन पुडासैनीले स्वदेशी उद्योगीलाई प्रोत्साहन गर्ने बहानामा आफूहरुलाई औषधि आयातमा रोक लगाउन नहुने बताए । सङ्घका महासचिव पवन आचार्यले मन्त्रालयले गठन गरेको स्वदेशी उद्योगीको कार्यदलले बुझाएको प्रतिवेदनलाई आधार मानी करिब ३५ प्रकारका औषधि आयातमा रोक लगाउने निर्णयप्रति विरोध गरेका छन् । रासस
जनता बैंकको नाफा ३८ करोड
काठमाडौं । जनता बैंकले चालु आर्थिक बर्षको नौ महिनामा ३८ करोड १८ लाख नाफा कमाएको छ । यो बैंकले गत आवको सोही अवधीमा जम्मा २२ करोड ६६ लाख नाफा कमाएको थियो । जनता बैंकले नौ महिनामा ३५ अर्ब ४६ करोड निक्षेप संकलन गरेर ३३ अर्ब २४ करोड कर्जा लगानी गरेको छ । बैंकको ब्याज आम्दानी एक अर्ब ७३ करोड छ भने ब्याज खर्च ९८ करोड रहेको छ । ४ अर्ब ६४ करोड चुक्ता पुँजी रहेको जनता बैंकको जगेडा कोषमा ८४ करोड रुपैंयाँ रहेको छ । जनता बैंकको खराब कर्जा १ दशमलब २३ प्रतिशतबाट बढेर एक दशमलब ९८ प्रतिशत पुगेको छ । बैंकले राइटब्याकबाट १४ करोड रुपैंयाँ प्राप्त गरेको छ । जनता बैंकको प्रति सेयर आम्दानी १० रुपैंयाँ ९६ पैसा छ भने प्रति सेयर नेटवर्थ ११८ रुपैंयाँ ९ पैसा रहेको छ ।
हिमालय उर्जा विकासले २४ करोड ७५ लाख रुपैयाँको साधारण शेयर निष्काशन गर्ने
काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लि.ले १०० रुपैयाँ दरका २४ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले निर्माण गरिरहेको उपल्लो र अप्पर खिम्ती-२ जलविद्युत आयोजनाको शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ । १२ र ७ मेगावाटको दुई आयोजनाका १०० रुपैयाँ दरका २४ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर बिक्रीको लागि हिमालय उर्जा विकास कम्पनी लि. र निष्काशन तथा बिक्री प्रबन्धक बीच सम्झौता सम्पन्न भएको छ । सो सम्झौतापत्रमा कम्पनीका तर्फबाट अध्यक्ष हरिप्रसाद पाण्डे र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले हस्ताक्षर गरेका छन् । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दामा ९ लाख ९० हजार कित्ता तथा सर्वसाधारणमा १४ लाख ८५ हजार कित्ता शेयर जारी गर्नेछ । कुल ३ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको यी आयोजनाहरुमा नबिल बैंकको अगुवाईमा एभरेष्ट बैंक, नेपाल बैंक र एस डेभलपमेन्ट बैंकको २ अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी रहेको छ । हिमालय उर्जा विकास कम्पनीले २०७५ अषाढमा उपल्लो खिम्ती र २०७५ असोजमा अप्पर खिम्तीबाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ कार्य गरिरहेको छ । हाल यी आयोजनाको सिभिल र हाईड्रो मेकानिकलको कार्य भईरहेको छ भने इलेक्ट्रो मेकानिकलको लागि जापानको तोसिबा कम्पनीसँग सम्झौता भएको छ ।
आठ बीमा कम्पनीको नाफा एक अर्ब १४ करोड, कसले कति कमाए ?
काठमाडौं । आठ वटा बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको नौ महिनामा एक अर्ब १४ करोेड ९० लाख रुपैंयाँ नाफा कमाएका छन् । यस्तो नाफा बीमांकिय मुल्यांकन अघिको हो । हालसम्म पाँच वटा निर्जिवन बीमा कम्पनी र ३ वटा जिवन बीमा कम्पनीले तेश्रो त्रैमासिकसम्मको वित्तिय विवरण सार्वजनिक गरेका छन । नौ महिनामा तीन वटा जिवन बीमा कम्पनीको नाफा ५७ करोड ७३ लाख पुगेको छ भने पाँच वटा निर्जिवन बीमा कम्पनीको नाफा पनि ५७ करोड १७ लाख पुगेको छ । तीन वटा जिवन बीमा कम्पनीले गत बर्षको सोही अवधीको तुलनामा ६९ दशमलब ६४ प्रतिशत नाफा बढाउन सफल भएका छन् । ती कम्पनीले गत आवको तेश्रो त्रैमासिकमा ३४ करोड ३ लाख नाफा कमाएका थिए । पाँच निर्जिबन बीमा कम्पनीको नाफा भने ६० दशमलब ४५ प्रतिशतले वृद्धि भएको छ । यी कम्पनीले गत आवको नौ महिनामा ४० करोड ९६ लाख नाफा कमाएका थिए । हालसम्म निर्जिबन तर्फ एनएलजी, नेको, युनाइटेड, एनबी र ओरियन्टल इन्स्योरेन्स कम्पनीले तेश्रो त्रैमासिकको वित्तिय विवरण सार्वजनिक गरेका छन् । त्यस्तै जिवन बीमा तर्फ नेपाल लाइफ, सुर्या लाइफ र प्राइम लाइफले नौ महिनाको वित्तिय विवरण सार्वजनिक गरेका छन् । निर्जिबन बीमा १) एनएलजी इन्स्योरेन्स कम्पनीले नौ महिनामा १२ करोड ९७ लाख नाफा कमाएको छ । कम्पनीले गत आवको सोही अवधीमा ११ करोड ६ लाख नाफा कमाएको थियो । २) नेको इन्स्योरेन्स कम्पनीले नौ महिनामा १२ करोड ८८ लाख नाफा कमाएको छ । यो कम्पनीले गत आवको सोही अवधीमा ७ करोड नाफा कमाएको थियो । ३) युनाइटेड इन्स्योरेन्सले ४ करोड ८९ लाख नाफा कमाएको छ । गत आवको सोही अवधीमा कम्पनीले २ करोड ३२ लाख नाफा कमाएको थियो । ४) एनबी इन्स्योरेन्स कम्पनीले नौ महिनमा ६ करोड २० लाख नाफा कमाएको छ । यसले गत आवको सोही अवधीमा जम्मा २ करोड २० लाख मात्रै नाफा कमाएको थियो । ५) ओरियन्टल इन्स्योरेन्स कम्पनीले २० करोड ४१ लाख नाफा कमाएको छ । अघिल्लो आवको नौ महिनामा कम्पनीले १३ करोड ५ लाख नाफा कमाएको थियो । जिवन बीमा कम्पनी १) नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा ४० करोड ९६ लाख पुगेको छ । कम्पनीले गत आवको सोही अवधीमा २३ करोड ८० लाख नाफा कमाएको थियो । २) सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले ६ करोड ३ लाख नाफा कमाएको छ । सुर्याले गत आवको नौ महिनामा ७९ लाख मात्रै नाफा कमाउन सफल भएको थियो । ३) प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको नाफा चालु आवको नौ महिनामा १० करोड ७४ लाख पुगेको छ । कम्पनीले गत आवको सोही अवधीमा जम्मा ९ करोड ४४ लाख आम्दानी गरेको थियो ।
भिवोर सोसाइटीमा लुम्बिनी फाईनान्स गाभिने प्रस्ताव पारित, पूँजी २ अर्ब ३७ करोड नाघ्ने
काठमाडौं । भिवोर सोसाइटी डेभलपमेन्ट बैंकमा लुम्बिनी फाईनान्स एण्ड लिजिङ्ग कम्पनी लिमिटेड गाभिने प्रस्ताव पारित भएको छ । बिहीबार बसेको बैंकको नवौं वार्षिक साधारण सभाले उक्त दुई कम्पनी एक आपसमा गाभिने प्रस्तावलाई पारित गरेको हो । दुई कम्पनी गाभिए पश्चात लुम्बिनी बिकास बैक नामबाट एकिकृत कारोबार शुरु हुने भएको छ । गाभिए पश्चात बन्ने लुम्बिनी बिकास बैकको पूँजी २ अर्ब ३७ करोड १८ लाख रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । साथै, सभाले गाभिए पश्चात कायम हुने चुक्ता पूँजीको १० प्रतिशत (१०ः१) को दरले हकप्रद सेयर निष्काशन गर्ने निर्णय पारित गरेको छ । हाल बैंकको कुलनिक्षेप १५ अर्व ६ करोड रुपैयाँ र कर्जा १३ अर्व ५६ करोड रुपैयाँ रहेको छ । साथै, बैंकले आर्थिक वर्षको तेश्रो क्रैमास सम्ममा २२ करोड खुद मुनाफा गर्न सफल भएको जनाएको छ । त्यसैगरी, बैकका ४४ शाखा र १२ ओटा एटीएम रहेका छन् । डिल्लीबजारमा केन्द्रिय कार्यालय रहेको बिकास बैंकको संचालक समितिको अध्यक्षमा सुशीलराज पराजुली र प्रमुख कार्यकारी अधिकृतमा झलक प्रसाद खनाल रहेका छन् । यसैगरी संचालक समितिका सदस्यमा अशोकराज पाण्डे, डा. रुप ज्योति, हरिप्रसाद रिमाल, राजेशकुमार अग्रवाल र प्रेमराज तिवारी रेहेका छन् ।
सेयर बजारमा ९० करोड माथिको सेयर कारोबार, सबैभन्दा बढी सनराइज बैंकको
काठमाडौं । साताको अन्तिम दिन कारोबार हुने बिहीबारको बजारमा ९० करोड ३८ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो कारोबारको तुलनामा २९ करोड रुपैयाँ बढी हो । यस अघि मंगलबारको बजारमा ६१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बिहीबार सबैभन्दा बढी सनराइज बैंकको सेयर कारोबार भएको छ । बैंकको ७ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ , जसको सेयर मूल्य प्रतिकित्ता ५२९ रुपैयाँ रहेको छ । त्यस्तै, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लि. प्रमोटर सेयरको ५ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन १४७ कम्पनीको २० लाख कित्ता सेयर किनबेच भएको छ । बजारमा कारोबार भएका सबै समूहका परिसूचक हरिया भएका छन् । बीमा, हाइड्रोपावर र अन्य समूहको परिसूचक दोहोरो अंक अर्थात क्रमशः ४५, १९ र १८ अंकले उकालो लागेका छन् । त्यस्तै, बाँकी ६ समूहको परिसूचक सामान्य अंकले बढेका छन् । समग्रमा बिहीबार नेप्से परिसूचक ७ दशमलब ७७ अंकले उकालो लागेर १६५८ दशमलब ५८ अंकलमा पुगेको छ । केही दिन यता सेयर बजार निरन्तर उकालो लागिरहेको छ ।
३५ लाख उपभोक्ताको घरघरमा बल्ब पुर्याएर २ सय मेगावाट विद्युत खपत कम गर्ने प्राधिकरणको योजना
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभरका ३५ लाख उपभोक्तालाई एलईडी बल्ब वितरण गर्ने भएको छ । उच्च विद्युत् मागलाई व्यवस्थापन गर्न प्राधिकरणले देशभरका आफ्नै दुई सय काउन्टरबाट एलईडी बल्ब वितरण गर्न लागेको हो । यसका साथै उपभोक्ताको सहजताको लागि अर्थात ग्राहकको घरमै बल्ब पुर्याउने मिटर रिडरबाट पनि वितरण गर्न सक्ने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका काउन्टर र मिटर रिडरमार्फत वितरण गरिने ९ वाटको बल्ब उपभोक्ताले एक सय ४० रुपैयाँमा प्राप्त गर्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘उक्त बल्बको ६५ भारतीय रुपैयाँ पर्ने भएपनि भन्सार महसुल र मूल्य अभिवृद्धि कर गरी सो मूल्य पर्न जान्छ ।’ नेपालमा एलईडी बल्ब आयात गर्दा २० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिबृद्धि कर तिर्नुपर्ने व्यवस्था छ । भारतले भारु ६५ मा प्राधिकरणको हेटौंडास्थित केन्द्रीय भण्डारण केन्द्रसम्म बल्ब ढुवानी गरिदिने प्राधिकरणसँग समझदारी गरेको छ । २०६३ चैत्र ११ गते प्राधिकरण र भारती कम्पनीसँग ९ वाटको २ करोड बल्ब खरिद बिक्री गर्ने सम्झौता गर्ने सम्झौता भएको थियो । प्राधिकरणका सुख्खा मौसमलाई मध्येनजर गर्दै विद्युत् खपत कम गराउन २ करोड बल्ब आयात गर्न लागेको छ । सो बल्ब प्रतिघर १० का दरले वितरण गर्ने प्राधिकरणले योजना बनाएको छ । प्राधिकरणले सो बल्ब उपभोक्ताको घरघरमा तथा कार्यालयमा पु¥याउन सके हिउँदमा करिब २ सय मेगावाट बिजुली बचत हुने अनुमान गरिएको छ ।
उद्योग मन्त्रालयले माग्यो थप ६ अर्ब ३५ करोड बजेट, १८ नयाँ कार्यक्रम थप्ने योजना
काठमाडौं । उद्योग मन्त्रालयले आगामी आर्थिक बर्ष २०७४/७५ का लागि ६ अर्ब ३५ करोड थप बजेट मागेको छ । उद्योग मन्त्रालयलाई ८ अर्ब २६ करोडको बजेट सिलिङ तोकिएको थियो । सो सिलिङको कार्यक्रम अर्थ मन्त्रालय पठाएपछि उद्योगले १८ वटा नयाँ कार्यक्रम बनाएर ६ अर्ब ३५ करोड थप बजेट मागेको हो । ‘पुरानो बजेट सिलिङ र कार्यक्रमले देशमा औद्योगीकरण हुने सम्भावना छैन, त्यसकारण नयाँ कार्यक्रम समेटेर थप बजेट मागेका हौं’, उद्योग मन्त्री नविन्द्रराज जोशीले भने । के के छन नयाँ कार्यक्रममा मन्त्रालयले पेश गरेको १८ वटा नयाँ कार्यक्रममा मनोरञ्जन उद्योगदेखि औद्योगीक स्मार्ट सिटीसम्मका कार्यक्रम समेटिएका छन् । मन्त्रालयले बिराटनगर, गोर्खा र धनगढीमा बिशेष आर्थिक क्षेत्र बनाउने, चिन र भारतको सिमा क्षेत्रमा क्रस बोर्डरमा निर्यात प्रवद्र्धन केन्द्र बनाउने, निजी क्षेत्रको लगानीमा एकल बस्तु उत्पादन बिशेष क्षेत्र बनाउने, उद्यमशिल महिलाहरुको आर्थिक सबलीकरणका लागि सामुहिक जमानीमा २५ लाख ऋण दिने, त्रिुपरेश्वरमा काठमाडौं औद्योगीक टावर बनाउने, लैनचौरमा भूकम्पिय तथा भौगर्भिक टावर बनाउने, अल्लो प्रसोधन केन्द्रको निमौण गर्ने, साना तथा मझौला उद्योगका लागि शिप विकास कार्यक्रम सञ्चालन गर्ने, प्रबिधी विकास कोष र औद्योगीक प्रबिधी मेला आयोजना गर्ने लगायतका नयाँ कार्यक्रम अघि सारेको हो । त्यस्तै, आँखामा लगाउने लेन्सको निर्माण गर्न आयात गरिने प्रबिधीका लागि सहुलियत दिने, राजधानीमा मनोरञ्जन उद्योग स्थापना गर्ने, औद्योगिक स्मार्ट सिटीको निर्माण गर्ने, एक स्थानिय तह एक औद्योगीक ग्रामको निर्माण गर्ने लगायतका नयाँ कार्यक्रम समेटिएका छन् । ‘हामीले अघि बढाएका नयाँ कार्यक्रमबारे अर्थ मन्त्रालयबाट सकारात्मक प्रतिक्रिया आएको छ’, मन्त्री जोशीले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा भने ।