तीन करोडको मह उत्पादन

बागलुङ । जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा ३० टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार किसानले करिब  ३  करोड रूपैयाँको मह बिक्री गरेका छन् । व्यावसायिक मौरीपालन बढेसँगै मह उत्पादनमा वर्षेनी वृद्धि हुँदै गएको छ । अघिल्लो आवको तुलनामा गत आवमा मह उत्पादन ५ टन बढेको छ । मह प्रतिकिलो  ९०० देखि १ हजार रूपैयाँ सम्ममा बिक्री हुन्छ । दुई वर्षअघि २० जना व्यावसायिक मौरीपालक किसानले १ लाख ८० हजार रूपैयाँका दरले सरकारी अनुदान पाएका थिए । युवा लक्षित कार्यक्रमअन्तर्गत अनुदान पाएपछि किसानले मौरीपालनलाई विस्तार गरेका हुन् । हरेक वर्ष जिल्ला कृषि विकास कार्यालयले अनुदानमा मौरीका घार वितरण गर्दै आएको छ । कृषि प्रसार अधिकृत विप्लवप्रसाद अधिकारीका अनुसार जिल्लाभर करिब ४ हजार उन्नत घारमा मौरीपालन भइरहेको छ । परम्परागत घारमा मौरी पाल्ने किसानको संख्या पनि उत्तिकै छ । “कार्यालयबाट वितरण भएका उन्नत घारमात्रै चार हजारभन्दा बढी छन्, स्थानीय घारको संख्या यकिन छैन”, उहाँले भने । गत आवमा उत्पादन भएको ३० हजार किलो महमध्ये अधिकांश जिल्लाभित्रै खपत भएको थियो । अनुदान पाएपछि माहुरीपालनलाई किसानले उद्यमको रुपमा अघि बढाएका छन् । कम लगानीमा मनग्य आम्दानी हुनथालेछि किसान मौरीपालनतर्फ आकर्षित हँुदै गएका छन् । अनुदानले किसान उत्साहित छन् । जिल्ला कृषि विकास कार्यालयले २५ प्रतिशत अनुदानमा यस वर्ष ५५० वटा घार वितरण गरिसकेको छ । किसानले २ हजार ६०० पर्ने घार अनुदान सहयोगमा १ हजार ९५० मा प्राप्त गरेका छन् । रासस

३२०२ को सेयर १४२५ मा झरेपछि नेपाल बैंकले डिप्रोक्सको सेयर लिलामीमा राख्यो, २२ करोड आम्दानी गर्ने लक्ष्य

काठमाडौं । नेपाल बैंक लिमिटेडले डिप्रोक्स लघुवित्त विकास बैंकको १ लाख ८० हजार ३७८ कित्ता सेयर लिलामीमा राखेको छ । सर्वसाधारण समूहको उक्त सेयरको न्यूनतम मूल्य १ हजार २०० तोकेर बढाबढ मूल्यमा लिलामीमा राखिएको छ । एक वर्षअघि करिव ३ हजार २०० मा कारोबार भएको यो सेयरको मूल्य आधाभन्दा कम भएपछि नेपाल बैंकले लिलामीमा राखेको हो । एक वर्षअघि अर्थात २०७३ भदौ १९ गते यस लघुबित्तको सेयर प्रतिकित्ता ३ हजार २०२ रुपैयाँसम्ममा कारोबार भएको थियो । उक्त सेयर बुधबार प्रतिकित्ता १४२५ रुपैयाँमा कारोबार भएको छ । डिप्रोक्सको सेयर बेचेर नेपाल बैंकले कम्तिमा २२ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । सेयर आवदेनको लागि असोज ४ गतेसम्ममा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमा आवेदन गर्न सकिने नेपाल बैंकले जनाएको छ । उक्त सेयर न्यूनतम १०० र अधिकत सबै किन्नको लागि आवेदन गर्न सकिने बैंकले जनाएको छ ।

अख्तियारद्धारा चावहिल मालपोतका १२ कर्मचारी विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएर गैरकानूनी श्रेस्ता तयार पार्ने मालपोत कार्यलयका १२ जना कर्मचारी विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । मालपोतका १२ जना कर्मचारीले १८ लाख ८२ हजार रुपैयाँ लिएर गैरकानूनी श्रेस्ता तयार पार्ने कार्यमा सहयोगी भूमिका निर्बाह गरेको जिकिर गर्दे बुधबार अख्तियारले मालपोतका अधिकृतद्वय चेतनाथ ढकाल र तिर्खाराम अर्याल कम्प्युटर अधिकृत प्रमोद भट्टराई, तत्कालिन नायब सुब्बाद्वय भोजराज पोखरेल र रामबाबु प्रसाद अर्याल, नायब सुब्बात्रय सुन्दरकुमार कार्की, उमेश पोखरेल र शिवराम पुडासैनी विरुद्ध आरोपपत्र दायर भएको हो । यस्तै सहायक कम्प्युटर अपरेटर लक्ष्मणप्रसदा खतिवडा र खरिदार दिव्यराज घिमिरेको आपसी मिलेमतोमा अधिकार, हैसियत र अहोदाको दुरुपयोग गरेको ठहर अख्तियारको छ । कर्मचारी र अन्य व्यक्ति समेतको मिलेमतोमा काठमाडौ जिल्ला साविक गोठाटार, बालुवा, मुलपानी, विष्णु गा.वि.स लगायतका स्थानमा अवस्थित बिभिन्न जग्गाहरुको गैरकानूनी श्रेस्ता तयार गरी बिक्रिबितरण गरेको पाइएको अख्तियारले जनाएको छ । साविक गोठाटार, वालुवा, तथा मुलपानी लगायतका स्थानमा अवस्थित जग्गाको गैरकानूनी रुपमा श्रेस्ता खडा, कार्यालयमा रहेको दर्ता बाँकी श्रस्ता केरमेट, प्रमाणित, कार्यालयबाट बैधानिक रुपमा निर्णय नै नभएका जग्गाको विवरण ठिक छ भनि रुजु र स्वीकृत गरेको अख्तियारको दावी छ । यस्तै कानून बमोजिम हाल दर्ता नै नखुलेका र नभएका जग्गाहरुको अनलाईन सिस्टममा प्रबृष्टी समेत गरी बदनियतपूर्वक दर्ता नभएको फर्जी श्रेस्ता खडा गरी वैधानिकता प्रदान गर्ने गराउने र विक्रिरबितरण गर्ने कार्यमा संलग्न भई भ्रष्टाचार निवारण ऐन बमोजिमको कसूर गरेको पुष्टी हुन आएकाले विशेष अदालतमा आरोपपत्र दायर गरेको अख्तियारले स्पष्टपारेको छ ।  

घर घरमा पुस्तकालय कर थप्ने प्रस्ताव, राष्ट्रिय पुस्तकालय तीन वर्षदेखि बोरामा

काठमाडौं । ‘जापानको विकासमा पुस्तकालयको धेरै योगदान छ । १० मिनेट पैदल यात्रा गर्दा पुस्तकालय भेट्न सकिने नीति लिएर जापान सरकारले हरेक बस्तीमा पुस्ताकालय स्थापना गरेको रहेछ’ लाईब्रेरियन इन्दिरा दली भन्छिन्–त्यो देखेर मैले आफ्नो सम्पूर्ण जीवन लाईब्रेरी क्षेत्रमा बिताउने निधो गरे ।’ उमेरले सात दशक बिताउँदै गरिकी दली भन्छिन्–‘सभ्य र भव्य समाज निर्माणको आधार पुस्तकालय हो । पुस्तकालयको पनि जग भनेको बाल पुस्तकालय हो । जहाँ बालबालिकाको बढ्ने बानी विकास हुन्छ ।’ इन्दिरा जस्तै पुस्तकालयको महत्वको वर्णन गर्नेहरु धेरै पाईन्छन् । तर नेपालको पुस्तकालय क्षेत्रको विकासमा सन्तोष गर्ने ठाउँ नभएको अनुभवीहरु बताउँछन् । पृथ्वीनारयण शाहले नेपाल एकिकरणको लडाई युद्ध जितेपछि जम्मा भएका हस्तलिखित ग्रन्थ व्यवस्थित गर्न राजा गीर्वाणयुद्ध वीरविक्रम शाहको पालमामा विसं. १८६९ मा ‘पुस्तक चिताइ तहबिल’ स्थापना भएको इतिहासमा उल्लेख छ । यसैलाई नेपालको पहिलो पुस्तकालय मानिएको छ । सो पुस्तकालय स्थापना भएको २०५ वर्ष भयो । तर २०५ वर्ष लामो नेपालको पुस्तकालय इतिहास त्यति धेरै गर्विलो छैन । नेपालमा सामूदाहिक पुस्तकालय निर्माणमा अग्रणी भूमिका खेल्दै आएको रिड नेपालको अध्यक्ष भोलाकुुमार श्रेष्ठ भन्छन्–‘अझै पुस्तकालय सम्बन्धि कानुन छैन, नीति–नियम छैन । सरकारको वार्षिक बजेटमा पुस्तकालय पर्दैन ।’ राष्ट्रिय पुस्तकालय बोरामा थन्किएर बस्नु पुस्तकालय क्षेत्रको अगतिलो उदाहरण हो । ‘राष्ट्रिय पुस्तकालयको भवन भूकम्पनले भत्किएको तीन वर्ष भयो । नयाँ भवन बनाउनेतर्फ केही काम भएको छैन । पुस्तकहरु सबै बोरामा हालेर राखिएको छ’ शिक्षा मन्त्रालयको पुस्तकालय समन्वय शाखाका प्रमुख यादवचन्द्र निरौलाले भने । राष्ट्रिय पुस्तकालयको जस्तै देशभरका पुस्तकालयहरुको हालत नाजुक भएको यस क्षेत्रका अगुवाहरु बताउँछन् । नेपाल सामूदाकिय पुस्तकालय संघका अध्यक्ष गणेशप्रसाद न्योपानेका अनुसार देशभर करिव ८ हजार सामूदाहिक तथा सार्वजनिक पुस्तकालय छन् भन्ने अनुमान छ । तर यकिन तथ्याङ्क छैन । नीतिगत व्यवस्था, बजेट, दक्ष जनशक्तिको अभावमा पुस्तकालय क्षेत्रको विकास सन्तोषजनक रुपमा नभएको उनी बताउँछन् । १८६९ सालमा पुस्तक चिताइ तहबिल स्थापना भएपछि त्यसमा कर्मचारीका रुपमा भाद्र १५ गते केदारनाथ पण्डित झा नियुक्त भएका थिए । सोही दिनलाई आधार मानेर सरकारले विगत १० वर्षदेखि हरेक वर्ष भदौं १५ गते पुस्तकालय दिवस मनाईदै आएको छ । यसै सन्दर्भमा नेपाल सामूदाहिक पुस्तकाल संघले सोमबार राजधानीमा ‘समुन्नत समाजको लागि पुस्तकालय’ विषयक गोष्ठीको आयोजना गरेको छ । गोष्ठीमा सहभागी सभासद् तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले भदौ १५ गतेसम्ममा पुस्तकालय क्षेत्रको विकासका लागि आफूले संसद्मा सार्वजनिक महत्वको विशेष प्रस्ताव पेश गर्ने बताए । राज्यको नीति निर्माण गर्ने र राज्य सञ्चालन गर्नेहरुमा नै अध्ययन संस्कृति नभएको, ज्ञानमा आधारित हुनु पर्ने राजनीति धन हुँदै डनमा आधारित हुन पुगेको उनले बताए । ‘राजनीति ज्ञानमा आधारित हुनुपर्ने हो । तर राजनीति धन हुँदै डन (गैरकानुनी आर्जन र दादागिरी)मा आधारित हुन पुगको छ’ पाण्डेले भने । १० औ पुस्तकालय दिवसको नारा ‘जीवन पर्यन्त शिक्षाको लागि एक स्थानीय तह, एक नमूना पुस्ताकालय’ तय गरिएको छ । उक्त नारालाई सार्थक गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई जिम्मेवार बनाउनु पर्ने यस क्षेत्रका अभियान्तहरुको ठम्याई छ । सो कार्यक्रममा बोल्दै बुढानिलकण्ड नगरपालिका वडा नम्बर १०का अध्यक्ष नवराज भट्टराईले आफ्नो वडा क्षेत्रमा सुविधा सम्पन्न पुस्तकालय निर्माण गर्ने निर्णय गरिसकिएको र त्यसको लागि बजेट समेत विनियोजन गरिएको बताए । स्थानीय तहमा पुस्तकालय निर्माण र सञ्चालनको लागि स्रोत जुटाउन घर करसँगै पुस्तकालय कर लगाउने सकिने उनले बताए । घर करमा थोरै पुस्तकालय कर लगाउने हो भने त्यसबाट देशका ६ हजार ६०० भन्दा बढी वडामा पुस्तकालय निर्माण गर्न सकिने र दीगो रुपमा सञ्चालन गर्न सकिने उनको तर्क छ । भट्टराईको प्रस्तावलाई पुस्तकालय क्षेत्रका अगुवाहरुले स्वागत गरेका छन् ।

नाडा अटो शोमा डेढ लाख भन्दा कम मूल्यका बाइक, उपभोक्ता तान्न आकर्षक छुट

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शोमा विभिन्न सस्तादेखि महंगा बाइक तथा स्कुटरहरु प्रदर्शनीमा राखिएका छन् । बंगलादेशको कम्पनी रमन मोटर्सले  न्युन तथा मध्यम वर्गका उपभोक्तालाई लक्षित यस्ता बाइकहरु डेढ लाख भन्दा कम मूल्यमा बाइक राखेको छ । नेपालको टु ह्विलर बजारमा इन्ट्री लेबलका बाइकहरुको माग उच्च रहेको छ । अटो शोमा बाइकहरु आकर्षक छुटसहित प्रदर्शनीमा राखिएका छन् ।कम्पनीले सबै बाइकमा १२ हजार रुपैयाँ छुट दिएको छ । एडी ८० डिलक्स ८५ सिसि डिसप्लेसमेन्ट भएको यो बाइकको मूल्य १ लाख ४५ हजार रुपैयाँ रहेको छ । बजार मूल्य १ लाख ५७ हजार रुपैयाँ रहेको यो बाइकमा नाडा अटो शोको अवसरमा कम्पनीले १२ हजार छुट दिएको हो । ६.१४ बिपिएच क्षमताको पावर रहेको यो बाइकको फ्युल ट्यांक क्षमता ९ लिटरको छ । बाइक आरटी अटो मेलामा बाइक आरटी ८० सिसि बाइक एक लाख ३२ हजार रुपैयाँमा किन्न पाइन्छ ।  ८० सिसि डिसप्लेसमेन्ट रहेको छ । यसको बजार मूल्य भने १ लाख ४४ हजार रुपैयाँ रहेको छ । नाडा अटो शोको अवसरमा कम्पनीले यसमा १२ हजार रुपैयाँ छुट दिएको छ । चिता १०० सिसि शोमा रमन मोटर्सको चिता १०० सिसि बाइक एक लाख ४७ हजार रुपैयाँमा उपलब्ध छ ।  १०० सिसि डिसप्लेसमेन्ट भएको यो बाइकको फ्युल ट्यांक क्षमता १३ लिटरको छ । यसको ह्विलबेस १२२० एमएम छ भने ग्राउण्ड क्लियरेन्स १५० एमएमको छ । यसले ६० किलोमिटरसम्मको माइलेज दिने कम्पनीको दाबी छ । यसको बजार मूल्य भने १ लाख ६९ हजार रुपैयाँ रहेको छ । नाडा अटो शोको अवसरमा कम्पनीले यसमा १२ हजार रुपैयाँ छुट दिएको छ । एडी८० एलोइ रमन मोटर्सको बाइक एडी ८० एलोइ बाइक एक लाख ४२ हजार रुपैयाँमा किन्न पाइन्छ ।  यसको ८० सिसि डिसप्लेसमेन्ट रहेको छ । बजार मूल्य १ लाख ५४ हजार रुपैयाँ रहेको यो बाइकमा कम्पनीले १२ हजार रुपैयाँ छुट दिएको हो ।  

हिरो मोटकर्पले ल्यायो दुई माेडलका नयाँ स्कुटी, मुल्य १ लाख ८१ हजार रूपैयाँसम्म पर्ने

काठमाडौं । हिरो मोटोकर्प लिमिटेडले दुइपांग्रे सवारीमा माइस्ट्रो एज र नयाँ प्लेजर गरी दुई माेडलका नयाँ स्कुटी बजारमा ल्याएको छ । राजधानीमा मंगलबार आयोजित नाडा अटो सो कार्यक्रममा नयाँ इन्जिन र च्यासिसमा बनेको माइस्ट्रो एजल हिरोको नयाँ प्रविधि तथा आविष्कार प्रतिको कुशलतालाई जोड दिएको छ । बिएसफोर ११०.९ सिसीको एयर कुल्ड ४-स्ट्रोक सिंगल सिलिण्डर ओएचसी इन्जिनले हिरो माइस्ट्रो एजलाई ७५०० आरपीएममा ८ बिएचपीको अधिकतम पावर र ५५०० आरपीएममा ८.७ एनएमको अधिकतम दिने कम्पनीले जनाएको छ । उक्त बजारमा आएका स्कुटरहरुमा इ- कोड सहितको चाबी हुनुको साथै मोबाइल चार्जिङ पोटको पनि व्यवस्था रहेको छ । सिट र फ्युल –लिड खोल्न रिमोट कन्ट्रोलको व्यवस्था भएको स्कुटी हो । उक्त स्कुटीमा सर्भिस ड्यु र साइड स्ट्याण्ड इन्डिकेटर, फ्रन्ट र अन्डर सिट लगेज हुक्, स्कुटीको अगाडीका पांग्रा १२ इन्च भएकाले सन्तुलनमा वृद्धि हुने तथा आरामदायी यात्रा हुने कम्पनीले जानकारी दिएको छ । हिरो माइस्ट्रो एज तिन रङ्मा खरिद गर्न सकिने हुन्छ जसअन्तर्गत फायरी रेड, म्याट ग्रे, र सेतो रङमा उपलब्ध छ । साथै, उक्त स्कुटीको मुल्य १ लाख ८१ हजार रूपैयाँ कायम गरेको कम्पनीले जनाएको छ । बिएसफो १०२ सिसीको एयर कुल्ड ४–स्ट्रोक सिंगल सिलिण्डर ओएचसी इन्जिनले हिरो प्लेजर ७००० आरपीएममा ६.९ बिएचपीको अधिकतम पावर दिन्छ र ५००० आरपीएममा ८.१ एनएमको अधिकतम टर्क दिने उक्त जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । उक्त स्कुटरमा पनि मोबाइल चार्जर लगायत हिरो पेन्टेड इन्टिग्रेटेड ब्रेकिङ सिस्टम रहेको छ । साथै, उक्त स्कुटीको मुल्य १ लाख ६५ हजार ५०० रूपैयाँ रहेको हिरो मोटोकर्पले जानकारी दिएको छ ।  

टाटाको नयाँ गाडी योद्धामा अझ धेरै पिकअफ, दसैंका लागि आकर्षक अफरहरु

काठमाडौं । नाडा अटो शोमा टाटा मोटर्सको नयाँ पिकअप गाडी टाटा योद्धा आकर्षणको विषय बनेको छ । यसको मूल्य २० लाख ५० हजार रुपैयाँ रहेको छ । सिप्रदी ट्रेडिङका बिक्रेता शशिला मोटर्सका सेल्स अफिसर कृष्ण अर्यालका अनुसार यसको पिकअप क्षमता १२ सय ५० केजीसम्मको छ । जुन पिकअप गाडीमा सबैभन्दा बढी क्षमता हो ।सिप्रदीले यसलाई तीन महिना अगाडी नेपाली बजारमा सार्वजनिक गरेको थियो । टाटाको पछिल्लो डिआइ मोडलको पिक अपभन्दा योद्धाको पिकअप बढी रहेको अर्यालले बताए । उनले भने, ‘डिआइ पिकअपको लोड क्षमता जम्मा ११३० केजी मात्र थियो ।’ तीन लिटरको डिजल इञ्जिन भएको योद्धा कच्ची सडकका लागि उपयुक्त रहेको अर्यालले जानकारी दिए । यसले ८६ एचपी पावरका साथै २५० एनएम टर्क दिन्छ । यसमा भएको अन्तराष्ट्रिय स्तरमो क्याबिन स्पेसले चालक र यात्रु सबैलाई आरामदायी प्रदान गर्ने कम्पनीको दाबी छ । यसको ग्राउण्ड क्लियरेन्स २१० एमएम रहेको छ । यसमा तीन वर्ष वा तीन लाख किलोमिटरसम्मको वारेन्टी दिइएको छ । यस्ता छन् अफरहरु टाटाले दसैंका लागि गाडी किनौं उपहारै उपहारमा रमाऔं अफर ल्याएको छ । टाटाले बस तथा एमएचसी ट्रकको खरिदमा आइफोन सेभेन प्लस, ५० इञ्चको सोनी स्मार्ट एलइडी टिभी, १३ इञ्चको  म्याकबुक एयर, निकोनको नर्मल लेन्स भएको डि५५०० डिजिटल क्यामरा, सामसङको २५५ लिटर फ्रिज र बाली वा फुकेटका लागि चार रात र पाँच दिनको ट्राभल अफर ल्याएको छ । त्यस्तै आइएलसिभी, पिकअप वा प्यानल भ्यानको खरिदमा आइफोन सेभेन, ४८ इञ्चको इन्टरनेट टिभी, डेल ३४८० आइ५ ल्यापटप, निकोनको डिजिटल क्यामरा, सामसङको फ्रिज वा ब्याङकक वा दुबइको लागि टुरको अफर ल्याएको छ । त्यस्तै दुईको खरिदमा सुजुकी जिक्सर स्कुटर, सुजुकी लेट्स डिटी राखेको छ । बाली, सिंगापुर र मलेसियाको लागि आठ रात र नौ दिनको टुर अथवा मरिसस टावरमा चार रात पाँच दिनको टुर राखिएको कम्पनीले जानकारी दिएको छ ।

नाडा अटो शोमा नयाँ स्कोडा सुपर्ब सार्वजनिक, मूल्य एक करोड १६ लाख रुपैयाँ

काठमाडौं । नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता स्कोडा एमएडब्लुले आफ्नो निकै सफल र रुचाइएको मोडेल सुपर्बको तेस्रो पुस्तालाई १४ नाडा अटो शोमा सार्वजनिक गरेको छ । एमएडब्लुले नाडा अटो शोमा १८०० सीसी भएको स्कोडा सुपर्बको ‘स्टाइल’ भेरियन्टलाई प्रदर्शनीमा राखेको हो । सुपर्बको तेस्रो पुस्ता हालसम्मकै शक्तिशाली भए पनि अत्याधुनिक इन्जिन र सुध्रित एरोडाइनामिक्सका कारण यसको फ्युल इफिसेन्सी ३० प्रतिशतले बढी रहेको छ । स्कोडा सुपर्ब क्यान्डी ह्वाइट, ब्रिलियन्ट सिल्भर, म्याग्नेटिक ब्राउन र बिजनेस ग्रे गरी चार रंगमा उपलब्ध छ । नेपाली बजारमा यसको मूल्य एक करोड १६ लाख तय गरिएको कम्पनीले जनाएको छ । निकै स्पेसियस, नविनतम सुरक्षा प्रणाली, आरामदायी फिचर, पावरफुल इन्जिन र ‘सिम्प्ली क्लेभर’ सुविधाले भरिएको सुपर्बले एक पटक फेरि आफ्नो सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको अपेक्षा रहेको छ । स्कोडाको नयाँ कार ‘स्पेसियसनेस र प्राक्टिकेबिलिटी’ जस्ता ब्रान्डको मुख्य विशेषता रहेकाे कम्पनीले बताएको छ  । नयाँ स्कोडा कारमा २.० टिडीआई/१३२ किलोवाट (१७७ पीएस)को इन्जिन रहेको छ । ‘नयाँ सुपर्ब बार स्कोडा ब्रान्ड डिजाइन र इन्जिनियरिङमा निपुण छ भन्ने तथ्यको बलियो प्रमाण हो । ग्राहकले यसमा अतुलनीय प्रविधि, र अद्वितीय सुरक्षा व्यवस्था र आरामदायी सुविधाको अनुभव गर्न पाउनुहुनेछ,’ स्कोडा एमएडब्लुका चिफ जेनेरल म्यानेजर सुरज मानन्धरले भने, ‘हाम्रा ग्राहकको विश्वास हाम्रो सबैभन्दा बलियो आधार हो । नयाँ सुपर्बले यो विश्वासलाई अझ मजबुत बनाउनेमा हामी विश्वस्त छौं ।’ स्कोडा एमएडब्लुले सुपर्बमा चार वर्षको अवधि वा एक लाख किलोमिटरसम्म वारेन्टी दिने घोषणा समेत गरेको छ । सुपर्बको इन्टेरियर र एक्सटेयरियरमा क्रिस्टलाइन डिजाइन ल्याङवेजलाई पछ्याएको छ । यसको बडी म्याकफर्सन फ्रन्ट स्टर्ट र मल्टी–लिंक एक्सलमा निर्माण गरिएको छ जसले चुनौतीपूर्ण अवस्थामा पनि सन्तुलनलाई ग्यारेन्टी गर्छ । कम्पनीका अनुसार नयाँ सुपर्बमा मल्टि–कोलिन ब्रेकसहितको इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, , इलेक्ट्रिोनिक टायर प्रेसर मोनिटरिङ, आठ वटा एयर ब्याग, फास्टेनिङ एलर्ट जडान भएको पाँच वटा थ्रि–प्वाइन्ट सिट बल्ट, इलेक्ट्रिोनिक डिफेरेन्सियल लक सुविधा भएको एक्सडीए प्लस जस्ता सुरक्षा व्यवस्था राखिएका छन् । साथै, यसमा नविनतम लाइटिङ सिस्टम, बएएफएस फंक्सन र लि डेलाइट रनिङ लाइट भएको बाइ–जेनन ल्याम्प पनि रहेको छ जसले रातिको समयमा गाडी चलाउन निकै सहज पार्छ । यसमा सेग्मेन्टकै सबैभन्दा ठूलो बुट (६२५ लिटर) रहेको छ । साथै, यसमा इनबिल्ट रियर भ्यु क्यामेरा मात्र होइन पुरानो शैलीको ह्यान्ड ब्रेकलाई हटाएर अटोमेटिक इलेक्ट्रोमेकानिकल पाकिङ बै्रक जडान गरिएको छ । नयाँ स्कोडा सुपर्बमा थ्रि जोन एयर कन्डिसनिङ छ जसले कारभित्र एकै नासको तापक्रम कायम गर्छ । यो कारमा इलेक्ट्रिोनिक पनोरमिक ग्लास रुफ, अक्जिलरी हिटिङ, वायरलेस हिटेड विन्ड स्क्रिन, हिटेड वासर जेट जस्ता फिचर पनि रहेका छन् । साथै, ड्राइभिङ कम्फोर्टको लागि यो गाडीमा रेन/लाइट सेन्सर वाइपर राखिएको छ । मोबाइल फोनलाई मिरर लिंक/एप्पल कारप्ले वा एन्ड्रोइड अटोमार्फत कारको सिस्टममा जोड्न सकिन्छ । यसमा ६.५ इन्चको टच स्क्रिन समेत रहेको छ । स्कोडाको नयाँ कारमा यात्रालाई आरामदायी बनाउन २९ वटा ‘सिम्प्ली क्लेभर’ फिचर राखिएका छन । पछाडिको सिटमा ट्याब्लेट होल्डर, अगाडि जम्बो बक्स, युएसबी पोर्ट र २३० भोल्टको सकेट पनि रहेको कम्पनीले बताएको छ ।

विराटनगर जुट मिल्सको उपकरण मर्मत ७५ प्रतिशत सकियो, मंसिरदेखि सञ्चालनमा आउने

काठमाडौं । लामो समयदेखि बन्द नेपालको पहिलो उद्योग विराटनगर जुट मिल्स लिमिटेड आउदो मंसिरदेखि सञ्चालनमा आउने भएको छ । उद्योग सञ्चालनका लागि व्यवस्थापनले पुराना उपकरण मर्मतको काम सुरु गरेको छ । हाल ७५ प्रतिशत मर्मतको काम सम्पन्न भएको मिल्सका अध्यक्ष निलहरी काफलेले बताए । भदौभरी उद्योगको पुराना उपकरण मर्मत सक्ने लक्ष्य लिएको उनले जानकारी दिए । उपकरण मर्मतमा ४० लाख रुपैयाँ खर्च भएको छ । उपकरण मर्मत सकिएपछि जुट खरिद गरेर उद्योगलाई पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । उनकाअनुसार यो महिनामा उद्योगले १ हजार टन जुट खरिद गर्ने भएको छ । उद्योगमा नियमित रुपमा बिजुली आपूर्तिका लागि काम सुरु गरेको छ ।  उद्योगमा नियमित रुपमा बिजुली आपूर्ति गर्न ३३ केभी क्षमताको ट्रान्सफरम खरिद प्रक्रिया अघि बढाएको छ । ट्रान्सफरमर जडान गर्न २ महिना बढी समय लाग्ने भएकाले उद्योग मंसिरदेखि सञ्चालनमा आउने उनले स्पष्टपारे । विद्युत आपूर्तिका लागि डेढ करोड रुपैयाँ खर्च हुने भएको छ । उद्योग सञ्चालनमा ल्याउनका लागि तत्काल ५ करोड रुपैयाँ खर्च लाग्ने उनको भनाई छ । आफनै स्रोत व्यवस्थापन गरेर हाल उद्योग सञ्चालको काम भइरहेको काफलेले जानकारी दिए । हाल जुटको बोरा र धागो उत्पादन गर्ने र अर्को वर्ष नयाँ उपकरण खरिद गरेर जुटका झोलालगायत अन्य वस्तु उत्पादन सुरु गर्ने उद्योगको लक्ष्य छ । वि.स. १९९३ मा स्थापना भएको उद्योग ०६७ सालदेखि पुर्ण बन्द छ । यसअघि सरकारले उपकरण खरिदमा बजेट उपलब्ध नगराएपछि पुराना उपकरण मर्मत गरेर उद्योग सञ्चालनमा लागिएको हो । यसअघि भारतीय उद्योगपति विनसम इन्टरनेसनललाई २५ वर्षका लागि भाडामा सञ्चालन गर्न दिएकोमा हाल उसंगको सम्झौता रद्ध भइरकेको छ । उद्योग परिसरमा सशस्त्र प्रहरी वलको वेसक्याम्प छ । प्रहरी बललाई उद्योगको अर्को जग्गामा स्थानान्तर गर्ने र सो वापत सरकारले जुट मिल्सलाई २९ करोड ४१ लाख रुपैयाँ भुक्तानी गर्ने भनेपनि सरकारले बजेट नदिएपछि यो काम रोकिएको छ । हाल उद्योगको नाममा ६९ विगाहा जग्गा छ । यो जग्गा प्रयोगविहीन छ । उद्योग ३ अर्ब ९० करोड रुपैयाँ घाटामा देखाइएको छ । यसअघि नै कर्मचारीलाई दाइत्व भुक्तानी गरेर विदाइ गरिसकेको छ । उद्योगले जुटको धागो र त्यसबाट होसियन बोरा, सुतली आदी सामानहरु तयार गरी औद्योगिक साथै देशको आर्थिक विकासमा टेवा पु¥याउन सरकारले ८० वर्षअघि तत्कालिन राणा प्रधानमन्त्री जुद्धशम्शेरले विराटनगर जुटको स्थापना गरेका हुन् । १ करोड ७५ लाख ऋणको ब्याज मात्र १ अर्ब ५५ करोड उद्योग सञ्चालनका लागि नेपाल बैंकबाट लिएको १ करोड ७५ लाख रुपैयाँको ब्याज मात्र १ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । समयमा कर्जा चुक्ता नगर्दा ब्याज मात्र डेढ अर्ब रुपैयाँ नाघेको हो । उद्योगमा ५४ प्रतिशत सर्वसधारणको र ४६ प्रतिशत सरकारको स्वामित्व छ ।

नाडा अटो शोमा आकर्षक योजना, बीमादेखि इन्धनसम्म निःशुल्क

काठमाडौं । मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०१७ मा अटो व्यवसायी र बैंकहरुले उपभोक्तालाई आकर्षित गर्न विभिन्न आकर्षक उपहार योजना ल्याएका छन् । व्यवसायीले एक वर्षसम्म सडक कर, बीमा र इन्धन समेत निःशुल्क उपलब्ध गराउने योजना सार्वजनिक गरेका छन् । एनआईसी एसिया बैंकले नाडा अटो शोलाई लक्षित गरी स्पट फाइनान्सिङ योजना ल्याएको छ । साथीको साथ पाएपछि हाँक्नुहोस अब आफनो सपनाको गाडी नाराका साथ बैंकले स्पट फाइनान्सिङ योजना सार्वजनिक गरेको हो । सरल कर्जा प्रक्रिया, व्यक्तिगत र व्यवसायिक प्रयोजनका लागि ७ वर्षसम्मको कर्जा अवधि जस्ता विशेषता रहेको बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले अटोलोनको सीमा बढाएर ६५ प्रतिशतसम्म पुर्याएपछि व्यवसायीमा उत्साह थपिएको छ । हुण्डाइ अटोको अधिकृत बिक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टलले एक वर्षको बीमा, सुन, दुवई भ्रमण र ४ वर्षको निःशुल्क सर्भिसिङको व्यवस्था गरेको छ । लाखौको नगद छुट, निःशुल्क बीमा, लक्कि ड्रबाट २० जनालाई दुवई भ्रमण, १ सय जनालाई १० ग्राम सुन उपहार योजना ल्याएको छ । नेपालमा टाटा गाडीको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नाडा अटो शोलाई लक्षित गरी विभन्नि उपहार योजना ल्याएको छ । कम्पनीले टाटा कम्पनीको मोटर खरिदमा १० तोलासमम सुन दिने योजना सार्वजनिक गरेको छ । माछापुच्छे बैंकले अटो शोलाई लक्षित गरी एमबीएल इजी कार लोन योजना ल्याएको छ । बैंकले आकर्षक ब्याजदर र प्रासेसिङ फि, ८ वर्ष भन्दा बढी र निःशुल्क क्रेडिट कार्ड सहितको योजना ल्याएको जानकारी दिएको छ । हिरो मोटरसाइकलको अधिकृत बिक्रेता एनजीएमले नाडा अटो शो र दशै तिहारलाई लक्षित गरी भाग्यमानी भए योजना ल्याएको छ । न्युनतम ६ हजार रुपैयाँदेखि हरेक स्क्रयाचमा न्युनतम १ हजारदेखि १ लाख र साप्तिाहिक बम्बर योजनामा १ लाख रुपैयाासम्मको योजना सार्वजनिक गरेको छ । नयाँ हिरो बाइक घरमा ल्याउने भाग्यमानी डिस्काउन्टदेखि बम्बरसम्मको मनी नै मनी भन्ने नारा ल्याएको छ । यस्तै सुजुकीले जापनीज अल्ट्रा कम्प्याक्ट एसयुभी गाडीलाई मंगलबार सार्वजनिक गरी बुकिङ खुला गरेको छ । नाडालाई लक्षित गरी रेनोले ३ लाख नगद छुटका साथ एक वर्षसम्म निःशुल्क इन्धन, सडक कर, स्पट फाइनान्स गरी डबल उत्सव नगद पनि इन्धन पनि भन्ने योजना ल्याएको छ । आइएमई अटोमोटिभले पनि रेन्ज कमाण्डो ब्राण्ड बाइक खरिदमा १२ हजार रुपैयाँ नगद छुटदेखि सिंङापुर भ्रमण योजना ल्याएको जानकारी दिएको छ । टिभीएस मोटरले १२५ सीसीको नयाँ स्ट्राकेर मोटरसाइकल सार्वजनिक गरेको छ । नगद ७ हजारदेखि १ तोला सुनसहित १ सय दिनसम्म स्वर्ण सुनको वर्षा योजना ल्याएको छ । हिमालयन बैंकले व्यक्तिगत ८ र व्यवसायीक ५ वर्षसम्म हायर पर्चेज लोन योजना ल्याएको छ । बैंकले नाडा अटो शोमा आफनो नाम दर्ता गराई ब्याजमा विशेष सहुलियत लिन ग्राहकलाई भनेको छ । आफ्नो सपना साकार पार्नुहोस भन्दै आकर्षक ब्याज दरमा योजना ल्याएको हो । होन्डाले पनि १ लाखदेखि १० लाख रुपैयाँसम्म जित्ने योजना ल्याएको छ । होन्डाको बाइक खरिदमा स्क्रायाच कार्डमार्फत न्यनुतम ४ हजारदेखि १ लाख रुपैयाँसम्मको नगद छुट, १० वटा थप निःशुल्क सर्भिस कुपन, ठुलो बाइकमा ३० हजार रुपैयाँसम्म छुट दिने भएको छ । होण्डाको कारमा १ वर्षसम्म निःशुल्क सडक कर र सामाग्री, १ वर्षको वृहत बीमा र आकर्षक नगद छुटको व्यवस्था रहेको जनाएको छ । विभिन्न गाडीहरुको अफरमा नै प्रतिश्पर्द्धा जस्तो देखिएको छ । विश्वका ठुला गाडी कम्पनीहरुले गाडी विशेष छुटको पनि अफर ल्याएका छन् । महिन्द्राले गाडी किन्ने बित्तिकै स्क्र्याच मा एक तोलासम्मको सुन तथा महिन्द्रा गस्टो १२५ को अफर ल्याएको छ । कम्पनीले १५ दिने बम्परमा महिन्द्रा मोजो ३०० सिसिको अफ राइड बाइक राखेको छ । त्यस्तै इको फ्रेन्डली बम्परमा (वातावरणमैत्री अफर) महिन्द्रा इ २० प्रदान गर्नेछ । प्रिमियम बम्परमा महिन्द्रा एक्सयुभी ५०० रहेको छ । यो योजना नाडा अटो शोदेखि लागु हुने कम्पनीले जानकारी दिएको छ । शो अवधिभर बम्पर अफर बाहेक महिन्द्रका जुनसुकै शोरुमबाट गाडी किन्दा इ२० र गस्टो १२५ जित्ने सकिनेछ । त्यस्तै स्टलमा आएर गाडीमा राखेको क्यास गेस गरेर लक्की ड्र मार्फत गस्टो १२५ जित्न सकिने कम्पनीले जानकारी दिएको छ । डाट्सनले चाडपर्व केन्द्रित योजना अन्तरगत डाट्सन गाडीको खरिदमा २ लाख २५ हजारसम्मको नगद छुट, एक वर्षको निस्शुल्क बीमा, एक्सचेन्ज सुविधा, निस्शुल्क एक्सेसरिज् तथा लक्की(ड्र मार्फत पाँच लाख रुपैयाँसम्मको नगद छुट र बम्पर उपहारमा डाट्सन रेडिगो ल्याएको छ । डि लाइफस्टायलले आफ्ना दुई स्कुटर भेस्पा र अप्रेलियामा दसैं, तिहार र छठ २०७४ को ग्राण्ड फेस्टा अफर ल्याएको छ । भेस्पा स्कुटर खरिद गर्नेलाई लक्की ड्र मार्फत नयाँ आइफोन तथा अप्रेलिया स्कुटर खरिद गर्नेलाई बम्पर उपहार स्वरुप सामसङ ग्यालेक्सी एस८ राखिएको छ । नाडा अटो शोमा एक्सचेन्ज र टेस्टराइडपनि सुविधा राखिएको कम्पनीले जानकारी दिएको छ । साथै सुपर अफर अन्तर्गत नौ जनालाई पोलाराइड स्न्याप र क्युब क्यामरा प्रदान गरिनेछ । फोर्डको क्यासमा क्यास अफर अन्तर्गत गाडीमा सात लाख रुपैयाँसम्मको क्यास डिस्काउण्ट अफर राखेको छ । त्यस्तै ब्याजदर पनि ८.९९ प्रतिशत ब्याजदर राखेको छ । यामाहाले चाड दसैं र झिलिमिली पर्व तिहारलाई लक्षित गरी ‘क्यास इन्स्ट्यान्ट अफर’ नामक नयाँ योजना ल्याएको छ । यस योजनामा यमाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले तुरुन्तै सात हजार रुपैयाँ छुट, साप्ताहिक लकी ड्रमार्फत एक लाख रुपैयाँ पुरस्कार र बम्बर पुरस्कारमा ब्रान्ड न्यु स्कोडा र्या्पिड जित्न सक्ने कम्पनीले जनाएको छ । मेलामा साना ठूला गरी १३० वटा स्टलहरु रहने र १६ वटा ब्राण्डका ४ पाङ्ग्रे, १९ वटा ब्राण्डका २ पाङ्ग्रे तथा ६ वटा ब्राण्डका हेभी कमर्सियल सवारी साधनहरु प्रदर्शनमा रहेका छन् । प्रदर्शनी भदौ १८ गतेसम्म चल्नेछ।        

हुण्डी कारोवार गर्ने ७ जना विरुद्ध ४ अर्ब १४ करोडको मुद्दा, जेबो ट्राभल्सका मालिक फरार

काठमाडौ काठमाडौँ जिल्ला अदालतमा हुण्डी कारोवार गर्ने सात जनाविरुद्ध रु चार अर्ब १४ करोडको बिगो दावीसहित आज मुद्दा दायर गरिएको छ । राजश्व अनुसन्धान विभागले सोमबार सो राशिको बिगोसहित दलबहादुर पुन, लवकुमार नेपाल, मिलिमा थामी राई, राजेन्द्र गुरुङ, विद्यादेवी गुरुङ, मिलन गुरुङ र धरम गुरुङविरुद्ध मुद्दा दायर गरेको विभागका सूचना अधिकारी देवीप्रसाद थपलियाले जानकारी दिए । डेढ वर्षअघि काठमाडौँ प्रहरीले सुनधाराको जेबो ट्राभल्समा छापा मारी रु १२ लाख विदेश पठाउन लागिएको हुण्डी रकम जफत गरेको थियो । हुण्डीसहित कम्पनीबाट कामदार पुन र नेपाललाई पक्राउ गरिएको थियो । सो ट्राभल्सका मालिक मिलन र धरमले विदेशमा बसेर हुण्डी कारोवार गर्ने गरेका थिए । अहिले पनि उनीहरु फरार छन् । प्रहरीले छापा मार्दा ट्राभल्सबाट राजेन्द्र र विद्यादेवीका नाममा काटिएको रु ५० लाखको चेकसमेत जफत गरेको थियो । विभागले ट्राभल्सको तथ्यांक राख्ने कम्प्युटर जफत गरेर अध्ययन गर्दा साढे चार महिनाको तथ्यांकमा रु चार करोडको हुण्डी रकम देखिएको थियो ।

सेयर बजारमा ९ अंकको गिरावट, ९० करोड ९३ लाखको सेयर कारोबार

काठमाडौं । सोमबारको सेयर बजारमा ९ अंकको गिरावट आएको छ । आइतबार सामान्य अंकले उकालो लागेको नेप्से परिसूचक सोमबार ९.४१ अंकले ओरालो लागेर १६१२ अंकमा पुगेको छ । बजारमा ९० करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ९ करोड रुपैयाँ बढी हो । आइतबारको बजारमा ८१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आइतबार सबैभन्दा बढी स्वरोजगार लघुवित्त विकास बैंकको ६ करोढ रुपैयाँ बढीको सेयर किनबेच भएको छ । सो दिन तीन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । स्वरोजगार लघुवित्त विकास बैंकको ९.९९, हिमालयन डिष्टीलरीको ९.९६ र हिमालयन पावर पार्टनरको सेयर मूल्य ९.७९ प्रतिशतले बढेको छ । सबैभन्दा बढी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ का लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् । आइतबार उत्पादनमूलक र विकास बैंक समूहको परिसूचक क्रमशः २७ र ६ अंकले उकालो लागेका छन् । बीमा समूहको परिसूचकम भने ४५ अंकले ओरालो लागेको छ । त्यस्तै, सोमबार कारोबार भएका बाँकी समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् ।

कोरियन विद्युतिय कार नेपाली बजारमा, मूल्य आधा करोड

काठमाडौं । कोरियाली मोटर निर्माता कम्पनी कियाका विद्युतिय कार नेपाली बजारमा भित्रिएका छन् । कन्टिनेन्टल मल्टि ट्रेडिङ इन्टरप्राइजेज प्रालिले कियाको विद्युतिय कार नेपाली बजारमा भित्र्याएको हो । सोल इभी सेगमेन्टमा २ वटा विद्युतिय कारको मूल्य ५६ लाख र ५८ लाख तोकिएको छ । विद्युतिय कारसँगै कम्पनीले किया मोटरको नयाँ शोरुमको उद्घाटन पनि गरेको छ । कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष सुरिद घिमिरेले सोल इभी मोटरर्स अन्य मोटरको तुलनामा धेरै आरामदायी भएको बताए ।“बजारमा धेरै खालका मोटर छन, त्यसमा पनि विद्युतिय मोटरहरु केहि छन तीमध्ये सोल छुट्टै बिशेषता र सुबिधा भएको कार हो”, अध्यक्ष घिमिरेले भने । नेपाल आत्मनिर्भर बन्ने बाटोमा अघि बढेकाले विद्युतिय सवारी साधनको माग बढ्ने अनुमान सहित नयाँ कार भित्र्याएको उनले बताए ।“पेट्रोलियम इन्धनको अभाव भैरहने हाम्रो मुलुकमा विद्युतिय सवारी साधनको राम्रो सम्भावना छ, यसले देशलाई आत्मनिर्भर पनि बनाउनेछ भन्ने विश्वास लिएका छौं”, घिमिरले भने । किया मोटर कोरियाको पुरानो मोटर उत्पादक कम्पनी हो । कियाका विद्युतिय कार भारतमा भन्दा पहिले नेपाली बजारमा उपलब्ध गराएको पनि उनले बताए । यी विद्युतिय गाडीलाई घरमै चार्ज गरेर गुडाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीले ५ वर्ष पछि मोटर चार्ज गर्नको लागि दुर्गम तथा टाढाको ठाउँमा पनि चार्जीङ स्टेशनको व्यवस्था गर्ने लक्ष्य राखेको छ ।

सहकारीको बचत दुई अर्ब २१ करोड

पाल्पा। जिल्लाका सहकारी संस्थामा बचत बढेसँगै ऋण लगानीसमेत वृद्धि भएको छ । जिल्लाका विभिन्न सहकारी संस्थाले आव २०७३/७४ मा दुई अर्ब २१ करोड पाँच लाख ८४ हजार रुपैयाँ रकम बचत गरेका छन् भने दुई अर्ब ८० करोड ७९ लाख ४७ हजार रुपैयाँ ऋण लगानी गरेका छन् । सहकारीले लिएको ऋण १२ करोड १९ लाख ७२ हजार रुपैयाँ, कोष रकम १७ करोड ३२ लाख ४६ हजार रुपैयाँ र शेयर पूँजी ३० करोड १९ लाख ६८ हजार रुपैयाँ रहेको डिभिजन सहकारी कार्यालयका प्रमुख कृष्णबहादुर बोहोराले जानकारी दिए । आव २०७२/७३ मा सहकारीले एक अर्ब ४४ करोड १४ लाख ५६ हजार रुपैयाँ रकम बचत र एक अर्ब ६५ करोड ७१ लाख ४३ हजार रुपैयाँ ऋण लगानी गरेका थिए । सहकारीले लिएको ऋण रकम ११ करोड ६५ लाख आठ हजार रुपैयाँ , कोष रकम पाँच करोड ९६ लाख २९ हजार रुपैयाँ र शेयर पूँजी २१ करोड ५३ लाख ४८ रुपैयाँ रहेको प्रमुख बोहोराले बताए । जिल्लामा हाल बचत गर्ने शेयर सदस्यमध्ये महिलाको संख्या बढी छ । ८७ हजार ४०५ शेयर सदस्यमध्ये ५३ हजार ६०५ महिला र ३३ हजार ८०० पुरुष छन् । आव २०७२/७३ मा ७१ हजार ४११ जना शेयर सदस्य पुगेको डिभिजन सहकारी कार्यालयले जनाएको छ । आव २०७३÷७४ मा २९१ वटा सहकारी दर्ता भएपछि बचत तथा ऋण सहकारी ९०, दुग्ध सहकारी १९, बहुउद्देश्यीय सहकारी ३४, कृषि सहकारी १०५, अदुवा सहकारी नौ, कफी १२, सामाजिक उद्यमी १४, विद्युत् दुई, सञ्चार एक, मौरी एक, जडीबुटी एक, कोसेली घर एक, बीउबिजन एक, स्वास्थ्य सहकारी एक गरी जम्मा २९१ वटा सहकारी पुगेका छन् । अघिल्लो वर्षको तुलनामा २२ वटा सहकारी संस्था दर्ता भएका छन् । २०७२÷७३ मा २७१ वटा सहकारी सञ्चालन भएका थिए । यहाँ सञ्चालित सहकारीले रु ६० करोडभन्दा बढी कारोबार गर्न सफल भएका छन् । बचत तथा ऋण सहकारीतर्फ अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था रामपुर, कृषि क्षेत्रमा उत्पादन, संकलन र बजारीकरणमा मदनपोखरा कृषक बजार बहुउद्देश्यीय सहकारी संस्था, दूध उत्पादनतर्फ डुम्रे दुग्ध उत्पादक सहकारी संस्था डुम्रे, लुहुम दुग्ध उत्पादक सहकारी संस्था र किनारी दुग्ध उत्पादक सहकारी संस्था बौघापोखराथोक, कोकलधारा दुग्ध उत्पादक सहकारी संस्था सोमादीले राम्रो प्रगति गर्न सफल भएका छन् । सामाजिक उद्यमीतर्फ मिलनसार उद्यमी सहकारी संस्था बौघागुम्बा, मनकामना सामाजिक उद्यमी सहकारी संस्था सिलुवा र लगनशील सामाजिक उद्यमी सहकारी छहरालगायतका संस्थाले जिल्लामै नमूनाका रुपमा उत्कृष्ट काम गर्दै आइरहेका छन् । रासस

बाढीले कृषिमा ७७ करोड र शिक्षामा २१ लाखको क्षति

नवलपरासी । नवलपरासीमा गत साउन महिनामा आएको बाढीले कृषिमा ठूलो क्षति पुर्याएको छ । बाढीले करिब ७७ करोड ३३ लाख १९ हजार रुपैयाँ बराबरको क्षति भएको बताइएको छ । अविरल वर्षापछि बाढीका कारण परासीको सीमावर्ती तथा दक्षिणी क्षेत्रमा ठूलो क्षति भएको हो । सबैभन्दा बढी खाद्यान्न बालीमा बाढीले असर पारेको छ । खाद्यान्न बालीमा ६७ करोड ८७ लाख रुपैयाँ, तरकारीमा चार करोड २६ लाख रुपैयाँ र माछामा पाँच करोड १८ लाख रुपैयाँ बराबरको क्षति भएको कृषि विकास कार्यालयका प्रमुख तेजनारायण गैरेले बताए । बाढीले नवलपरासीको १५ वटा स्थानीय तहमध्ये विनयी त्रिवेणी, सुस्ता, प्रतापपुर र सरावल गाउँपालिकामा क्षति भएको छ । यस्तै मध्यबिन्दु, बर्दघाट र रामग्राम नगरपालिकाको कृषि क्षेत्रमा क्षति पुगेको छ । सबैभन्दा बढी सरावल गाउँपालिकामा रु २३ करोड ७८ लाख ६२ हजार रुपैयाँ, प्रतापपुरमा चार करोड २१ लाख ३३ हजाररुपैयाँ, पाल्हीनन्दनमा २५ करोड ९२ लाख ५४ हजार रुपैयाँ, विनयी त्रिवेणीमा ३४ लाख १० हजार रुपैयाँ, सुस्तामा २४ करोड एक लाख ७५ हजार रुपैयाँ बराबरको उपज क्षति भएको छ । यस्तै रामग्राम नगरपालिकामा ६६ लाख ४४ हजार रुपैयाँ, बर्दघाटमा ५८ लाख ४१ हजार रुपैयाँ र मध्यबिन्दुमा १७ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको कृषि उपज क्षति भएको हो । रासस

समयमै वार्षिक नविकरण शुल्क बुझाउन सूचिकृत कम्पनीलाई बोर्डको निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेप्सेमा सूचिकृत कम्पनीलाई वार्षिक नविकरण शूल्क बुझाउन निर्देशन दिएको छ । चालु आवको वार्षिक सूचिकरण नविकरण शूल्क प्रत्येक आवको आश्विन मसान्तसम्ममा बुझाउने पर्ने नियम अनुसार बोर्डले निर्देशन दिएको हो । सूचिकृत कम्पनीले आफ्नो चुक्ता पुँजी अनुसार वार्षिक सूचिकरण नविकरण शूल्क बोर्डले तोकेकै समयमै काठमाडौंको ग्लोबल आईएमई बैंकको खाता नं ७५०१०१००००७७५ मा जम्मा गर्न सक्नेछन् । साथै, कम्पनीले यस बैंकको जुनसुकै शाखा कार्यालयहरुमा जम्मा गरी सक्कल बैंक भौचर तत्काल पठाउन सक्ने बोर्डले जनाएको छ । नेप्सेमा सूचिकृत कम्पनीले बोर्डले तोकेको समय भित्र नविकरण शूल्क नबुझाएमा सोही कम्पनीको सेयर कारोबार रोकिने नेप्सेले जनाएको छ । बुझाउनु पर्ने शूल्क:

कर्णालीमा राष्ट्रिय प्रणालीमार्फत बिजुली आपूर्ति गर्न ४ सय केभी प्रसारणलाइन निर्माण हुदै

काठमाडौं । सरकारले कर्णाली क्षेत्रमा राष्ट्रिय प्रणालीबाट बिजुली आपूर्तिको काम थालेको छ । राष्ट्रिय प्रणालीको विद्युत आपूर्तिबाट बञ्चित कर्णालीबासीका लागि सरकार स्वामित्वको राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले कञ्चनपुरको कर्मादेवदेखि कालिकोटको फुकोटसम्म १३० किलोमिटर लामो ४ सय केभी क्षमताको प्रसारणलाइनको काम अघि बढाएको छ । प्रसारणलाइनको अध्ययन गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारीका लागि परामर्शदाता नियुक्तिको प्रक्रिया अघि बढेको छ । कम्पनीले पहिलो चरणमा परामर्शदाताबाट आशयपत्र (ईओआई) मागेको छ । यसका लागि आउदो भदौ ३० गते भित्र प्रस्ताव पेश गर्न भनेको छ । प्रसारणलाइन नेपाल–भारत सीमा न्युकर्मादेव, न्युलम्की, सुर्खेतको वेतान हुँदै कालिकोटको फुकोटसम्म पुग्ने छ । यस्तै सवस्टेशन निर्माणका लागि पनि काम सुरु हुने छ । कम्पनी गठन भएपछि यो पहिलो आयोजना हो । आयोजनाको लागत अध्ययनपछि मात्र तय हुने छ । पहिलो चरणमा यो प्रसारणलाइनको अध्ययन गर्न लागिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नेत्रप्रसाद ज्ञवालीले बताए । ईओआईको काम सकिएपछि बोलपत्र आब्हान गरेर परामर्शदाता छनौट गरिने उनले बताए । उनकाअनुसार केही महिनाभित्र परामर्शदाता छनौट हुने छ । प्रसारणलाइको सर्वेका लागि सरकारले बजेटको व्यवस्था गरेको उनले बताए । कम्पनीको यो पहिलो आयोजना हो । मुलुकभरी प्रसारणलाइनको काम यो कम्पनीमार्फत अघि बढाउन सरकारले बेग्लै संस्था स्थापना गरेको हो । चालु आर्थिक वर्षमा सरकारले थप १ किलोमिटर लामो विभिन्न क्षमताको प्रसारणलाइनको सम्पन्न गर्ने लक्ष्य लिएको छ । चालु आवमा प्रसारणलाइन थप भएर ३ हजार ३०४ किलोमिटर पुग्ने छ । गत आव सम्ममा ३ हजार २०४ किलोमिटर प्रसारणलाइन निर्माण भइसकेका छन् ।  

२२ करोड सरकारी अनुदान कुर्दै बीमा कम्पनी

काठमाडौं । गत आर्थिक बर्ष २०७३/०७४ मा निर्जीवन बीमा कम्पनीले कृषि र पशुधन बीमा वापत २९ करोड ७६ करोड भुक्तानी दिएका छन् । सरकारले कृषि तथा पशुधन बीमामा ७५ प्रतिशत अनुदान दिने व्यवस्था छ । कृषक तथा किसानसँग २५ प्रतिशत प्रिमियम असुली गरेपछि स्वतः कृषि तथा पशुधन बीमा हुने व्यवस्था छ । सोही व्यवस्था अन्तर्गत गत आवमा गरिएको बीमा र त्यसमा परेका दावी वापत निर्जीवन बीमा कम्पनीले २९ करोड ७६ करोड भुक्तानी गरेका हुन् । किसानलाई बीमा दावी वापत भुक्तानी गरिसकेको भएपनि कम्पनीहरुले भने अझै सरकारबाट अनुदान वापतको रकम पाएका छैनन् । बीमा कम्पनीले कृषि विकास मन्त्रालय र पशुपंक्षी विकास मन्त्रालयले दिनुपर्ने अनुदान वापतको २१ करोड ७९ लाख रुपैंया नपाएका हुन । ‘बीमा कम्पनीहरुले दावी वापतको भुक्तानी दिईसकेका छन्, अब सरकारको तर्फबाट कोषमा प्राप्त अनुदान वापतको रकम बीमा कम्पनीहरुलाई दिइनेछ’, बीमा समितिका उप–निर्देशक कुन्दन सापकोटाले भने । पशु पंक्षी विकास मन्त्रालयका अनुसार पशुधन बीमाको दावी भुक्तानी वापत मन्त्रालयले ९ करोड २४ लाख रकम बीमा समिति मातहतको कोषमा उपलब्ध गराईसकको छ । मन्त्रालयले पशुपंक्षी बीमाको दावी वापत कुल १९ करोड रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । उता, मन्त्रालयका अधिकृत शिरिश पुनका अनुसार सो मन्त्रालयमा कृषि बीमा वापत सरकारले दिने अनुदानका लागि ३ करोड १० लाख रुपैंयाँको दावी परेको छ । त्यसमा १ करोड रुपैयाँ थप हुने सम्भावना रहेको पनि उनले बताए । उता, पशुपंक्षी विकास मन्त्रालयमा भने ४ करोडको मात्रै बजेट रहेको थियो । ‘हामीले दावी वापतको भुक्तानी दिईसकेका छौं तर सरकारका तर्फबाट पाउनुपर्ने अनुदान पाउन सकेका छैनौं’, सगरमाथा इन्स्योरेन्स कम्पनीका पुर्वप्रमुख कार्यकारी अधिकृत तथा वर्तमान सल्लाहकार केबी बस्नेतले भने । बस्नेतका अनुसार कृषि तथा पशुधन बीमा वापत कम्पनीले आर्थिक बर्ष २०७२/०७३ कै ५ लाख ६० हजार रुपैंयाँ सरकारी अनुदान पाएको छैन् । गत आवमा मात्रै २ करोड ५० लाख रुपैंयाँ पाएको छैन् । बीमा समितिले बीमा पोलिसीको पुरा प्रिमियम तिरेपछि मात्रै बीमा गर्ने व्यवस्था रहेपनि कृषि तथा पशुधन बीमामा भने त्यो व्यवस्थामा छुट दिँदै आएको छ । २५÷२५ प्रतिशत प्रिमियम तिरेपछि बीमा गर्ने व्यवस्थालाई बीमा कम्पनीले भने उधारो बीमा मान्दै आएका छन् ।  

मन्त्री शाही नेतृत्वको टोलीद्वारा कर्णालीको ऊर्जा सम्भाव्यताको अध्ययन

जुम्ला । ऊर्जामन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको टोलीले आज कर्णाली क्षेत्रसहित जाजरकोट जिल्लाको ऊर्जा सम्भाव्यता अध्ययन गरेको छ ।  ऊर्जाको सम्भाव्यता बोकेको कर्णाली क्षेत्रको जलविद्युतको सम्भाव्यता अध्ययन, राष्ट्रिय प्रसारण लाइन जोड्न सकिने अवस्था र कर्णाली करिडोरको अनुगमनका क्रममा टोली जुम्ला आइपुगेको हो । हवाई मार्ग भएर अपरान्ह ३ः३० बजे जुम्ला आइपुग्नुभएका ऊर्जामन्त्री शाहीले जुम्लाका स्थानीय तहका प्रमुखसहित उच्च अधिकारीसँग कर्णाली अन्चलको मुख्य कर्णाली नदी, मुगुको राराताल, जुम्लाको तिला र हिमानदीको सम्भाव्यता अध्ययन गरेको बताए । मुख्य नदी कर्णाली र यसका सहायक नदीमा कतिवटा जलविद्युत आयोजना संचालन गर्न सकिन्छ भन्ने कुराको अध्ययन गरिएको उनले जानकारी िदए  । “आज गरेको कर्णाली क्षेत्रको ऊर्जाको अध्ययन तथा अनुगमनका विषयमा काठमाडौँै फर्केपछि छलफल गर्छौं, त्यसपछि मात्र कुन नदीको सम्भाव्यता अध्ययन गर्ने हो भन्ने कुराको यकिन गर्छौं,” मन्त्री शाहीले भने । उहाँले राष्ट्रिय प्रसारण लाइन दैलेख भएर आएको र त्यसको सब–स्टेशन कालीकोटको चिल्खायामा राखेर जुम्ला जोड्ने वचन दिए ।त्यसैगरी, उहाँले अहिले सरकारको मुख्य काम दुई तहको निर्वाचन सम्पन्न गराउने रहेको बताउनुभएको छ । मन्त्री शाहीले कर्णालीको समग्र विकासका लागि अर्काको भरमा नपर्न कर्णालीवासीलाई अपिल गर्नुभयो । त्यसका साथै विकासका लागि जनप्रतिनिधि स्वयंले घन सब्बल समातेर काम गर्न सुझाउनुभयो । एक फरक प्रसङ्गमा ऊर्जामन्त्री शाहीले कर्णालीको विकास र समृद्धिको सवालमा एनजिओ÷आइएनजिओले यहाँका नागरिकको बानी बिगारेको आरोप लगाए ।  हाइड्रोपावरको प्रचुर सम्भाव्यता बोकेको कर्णालीले अब हरेक कुरा आयात गर्ने मात्र नभई विद्युत् निर्यात गरेर देशलाई सहयोग पु¥याउने तर्क गरे। टोलीले आजै जाजरकोट जिल्लाको पनि जलस्रोतको सम्भाव्यता अध्ययन गरेको छ । ऊर्जामन्त्री शाहीसहित नेपाल विद्युत् प्राधिकरणका कायर्कारी िनदेशक  कुलमान घिसिङ, ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, पूर्वसभासद् नरेश भण्डारीसहितको प्राविधिक टोलीले कर्णाली क्षेत्रको अनुगमन गरेको हो । रासस

नेप्सेमा ८१ करोडको सेयर कारोबार, पाँच कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

काठमाडौं । आइतबार नेपाल स्टक एक्चेञ्ज(नेप्से)मा ८१ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । बजारमा १६५ कम्पनीको २७ लाख २६ हजार कित्ता सेयर किनबेच भएको छ । सो दिन नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएकोे छ । नेप्से पनि ४ दशमलब ५१ अंकले उकालो लागेर १६२२ अंकमा पुगेको छ । सो दिन सबैभन्दा बढी नबिल बैंकको सेयर कारोबार भएको छ । एकै दिन बैंकको ५ करोड ५२ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको हो । बैंकले आफ्ना लगानीकर्तालाई ३० प्रतिशत बोनस र १८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेपछि बैंकको सेयर कारोबार बढी भएको हो । त्यस्तै, बजारमा ५ कम्पनीका लागानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सिर्जना फाइनान्स, हिमालयन पावर पार्टनर र स्वरोजगार लघुवित्त विकास बैंकका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यसैगरी, सुमीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ९.९७ र हिमालयन डिष्टीलरीको ९.९३ प्रतिशतले सेयर मूल्य बढेको छ । बजारमा उत्पादनमूलक समूहको परिसूचक ३२ अंकले बढेको छ । त्यस्तै, विकास बैंक र हाइड्रो समूहको परिसूचक क्रमशः१२ र ११ अंकले उकालो लागेका छन् । उता बीमा, फाइनान्स र अन्य समूहको परिसूचक क्रमशः ३४, १ र ६ अंकले ओरालो लागेका छन् ।