१२ कम्पनीका २९ करोड १८ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, कसको कति ?

काठमाडौं । यस साता नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न १२ कम्पनी(ऋणपत्र सहित)का २९ करोड १८ लाख २० हजार ५५० कित्ता सेयर सूचिकृत भएका छन् । सो अवधिमा साधारण, हकप्रद र बोनस सेयर गरी सो मात्राको सेयर सूचिकृत भएका हुन् । कुल सूचिकृत सेयर मध्ये २८ करोड १४ लाख कित्ता साधारण सेयर, १३ लाख ६४ हजार २०४ कित्ता बोनस सेयर र ९० लाख ५६ हजार ३४६ कित्ता हकप्रद सेयर रहेका छन् । साताभर विभिन्न ६ वटा विकास ऋणपत्रको साधारण सेयर, ४ बैंक तथा फाइनान्सको हकप्रद र २ बीमा कम्पनीको बोनस सेयर थपिएका छन् । यस साता सेयर सूचिकृत भएका १२ कम्पनी:

नेप्से परिसूचक १२ अंकले उकालो, दुई अर्ब ९२ करोडको सेयर कारोबार

काठमाडौं । साताको नेप्से परिसूचक करिब १२ अंकले उकालो लागेको छ । यस साता नेप्से पहिलो दिनको तुलनामा ११.९२ अंकले उकालो लागेर १४८९.०६ अंकमा पुगेको छ । गत सातको तुलनामा बजारमा नेप्से परिसूचक सँगै कारोबार रकममा पनि वृद्धि भएको छ । यस साता नेपाल स्टक एक्स्चेञ्जमा दुई अर्ब ९२ करोड रुपैयाँ बराबरका सेयर कारोबार भएका छन् । जुन रकम गत साताको भन्दा १५.६ प्रतिशत बढी हो । यस साता बजारमा १८० कम्पनीका २७ हजार ६ सय कित्ता सेयरहरु बिक्री भएका छन् । यसैगरी, समूहगत परिसूचकहरुमा उतारचढाव रहेको छ । ९ समूहको कारोबार भएको यस साता ४ समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ५ वटा समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी उत्पादनमूलकको परिसूचक ७०.७१ अंकले उकालो लागेको छ । त्यस्तै, जलविद्युत ६०, अन्य समूह २६ र वाणिज्य बैंक समूहको परिसूचक ८ अंकले उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ४५ अंकले घटेको छ । सातामा चिलिमे हाइड्रोपावर कम्पनीको सबैभन्दा बढीको सेयर कारोबार भएको छ । सो अवधिमा यस कम्पनीको १६ करोड १९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यसैगरी, प्रभु बैंकको ६ लाख ९८ हजार कित्ता प्रमोटर सेयर बिक्री भएका छन् । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २.५८ अंकले बढेर ३१३.१२ अंकमा आईपुगेको छ । नियमित पाँच दिन कारोबार खुला रहेको बजारमा ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

राष्ट्र बैंकबाट ७ वाणिज्य बैंकले ७ अर्ब ९५ करोड उठाए, आइतबार पनि २० अर्ब पठाउने तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट विभिन्न ७ वाणिज्य बैंकले ७ अर्ब ९५ करोड रुपैयाँ उठाएका छन् । अन्तर बैंक ब्याजदर बढेर ५ प्रतिशत नाघेपछि राष्ट्र बैंकले बजारमा हस्तक्षेप गर्न शुक्रबार २० अर्ब रुपैयाँ रिपो ल्याएको हो । बैंकहरुले ५ प्रतिशत ब्याज दरमा सो रकम राष्ट्र बैंकबाट उठाएका हुन् । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) भएपनि अन्तर बैंक ब्याज दर बढ्न थालेपछि हस्तक्षेप गर्न रिपो ल्याएको राष्ट्र बैंकले जनाएको छ । हाल बैंकिङ प्रणालीमा २० अर्ब रुपैयाँ तरलता रहेको छ । केन्द्रीय बैंकले ५ प्रतिशत ब्याज दरमा २ साताका बजारमा रकम पठाउन रिपोे गरेको हो । आगामी मंसिर १५ गते रिपोको रकम परिपक्व हुने छ । केन्द्रीय बैंकले ब्याजदर करिडोर अन्तर्गत तरलता प्रवाह गर्नका लागि रिपो उपकरणमार्फत बजारमा पैसा पठाउन लागेको हो । ब्याज दर करिडोर लागु भएको दिन बुधबार राष्ट्र बैंकले ३ प्रतिशत ब्याज दरमा बजारबाट १५ अर्ब रुपैयाँ उठाएको थियो । राष्ट्र बैंकले शुक्रबार रिपो बिक्री नभएपछि पुनः आइतबार २० अर्ब रुपैयाँको जारी गर्ने भएको छ । शुक्रबार बजारमा लक्ष्य भन्दा धेरै कम रकम गएपछि आइतबार पुनः रिपो गर्न लागेको हो । शुक्रबार भएकाले कम माग भएको हुन सक्ने अनुमानका आधार केन्द्रीय बैंकले पुनः आइतबार रकम बजारमा पठाउने तयारी गरेको हो । मंसिर १७ गते आइतबार रिपो परिपक्व हुने छ । तरलताको अल्पकालीन व्याजदरमा आउने उतारचढावलाई न्यूनीकरण गर्दै ब्याजदर स्थायित्व कायम गर्ने आवश्यक पर्दा पैसा बजारमा पठाउने र बढी भएमा प्रशोचन गर्ने व्यवस्था छ । ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधाको दर ७ प्रतिशत छ । ब्याजदर करिडोर अन्तर्गत दुई हप्ता अवधिको रिपो दर नीतिगत दरको रुपमा ५ प्रतिशत रहेको छ । करिडोरको तल्लो सीमाको रुपमा दुई हप्ता अवधिको निक्षेप संकलनको दर ३ प्रतिशत तोकिएको छ । केन्द्रीय बैंकले बजारमा बढी भएको रकम प्रशोचन र कम भए पठाउने गर्छ ।

१४ निर्जीवन बीमा कम्पनीको नाफा ४७ करोड ९१ लाख(कसको कति सूचिसहित)

काठमाडौं । १४ वटा निर्जीवन बीमा कम्पनीहरुले तीन महिनामा ४७ करोड ९१ लाख नाफा कमाएका छन् । निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्ने १४ कम्पनीहरुले चालु आवको असोज मसान्तसम्ममा आफ्नो नाफा २१.२९ प्रतिशतले वृद्धि गरेर करिब ४८ करोड पुर्याएका हुन् । गत आवको असोज मसान्तसम्ममा यीनै कम्पनीहरुले जम्मा ३९ करोड ५० लाख मात्रै नाफा कमाउन सफल भएका थिए । शिखर इन्स्योरेन्सले सबै भन्दा धेरै नाफा कमाएको छ । कम्पनीको आफ्नो नाफालाई ८ करोड ७० लाखबाट बढाएर ९ करोड ५५ लाख पुर्याएको छ । एनएलजी इन्स्योरेन्सले पनि ४ करोड ३८ लाखबाट बढाएर ५ करोड २५ लाख नाफा पुर्याएको छ । राष्ट्रिय बीमा कम्पनीले ४ करोड ८० लाख नाफा कमाउँदा सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ४ करोड १२ लाख मुनाफा गरेको छ । एभरेष्ट इन्स्योरेन्सले भने सबै भन्दा थोरै ४४ लाख मात्रै नाफा कमाउन सफल भएको छ । एभरेष्टले गत आवको असोज मसान्त अवधीमा जम्मा १० लाख मात्रै नाफा कमाउन सफल भएको थियो ।  

सबैभन्दा बढी अाय कर तिर्ने व्यक्तिमा सिद्धार्थ शम्शेर राणा र संस्थामा सूर्य नेपाल प्रालि

  काठमाडौं । गत वर्ष सबैभन्दा बढी आयकर बुझाउनेमा व्यक्तिगततर्फ सिदार्थशम्शेर राणा भएका छन् । तारा म्यानेजमेन्ट समूहका अध्यक्ष रहेका राणा गत वर्ष सबैभन्दा बढी कर तिर्नेको सूचिमा परेका हुन् । यसअघि पनि राणा धेरै कर तिर्नेको सूचिमा पर्दे आएका छन् । यस्तै स्वास्थ्यतर्फ डा. उपेन्द्र देवकोटा परेका छन् । उनी वार्षिक ५ करोड रुपैयाँ कर तिर्नेका सुचिमा परेका छन् । उत्पादनतर्फ सबैभन्दा बढी कर तिर्नेमा सुर्य नेपाल प्रालि भएको छ । यस्तै भर्सेन्ड टेक्नोलोजिज प्रालि पनि सम्मानित भएकाे छ । बढी आयकर तिर्ने अन्य कम्पनीमा जलविद्युततर्फ हिमाल पावर लिमिटेड,कृषितर्फको राष्ट्रिय बिउँबिजन कम्पनी लिमिटेड, बैंकतर्फ हिमालयन बैंक, नेपाल पुर्नबीमा कम्पनी लिमिटेड, शिक्षातर्फ त्रियोग उच्च माध्यमिक विद्यालय र पर्यटनतर्फ टाइगर टप्स प्रालि परेका छन् । यस्तै व्यापारतर्फ सिप्रदी ट्रेडिङ प्रालि र मूल्य अभिवृद्धि कर (भ्याट) बढी तिर्नेनमा पवनकुमार इन्टरनेसनल प्रालि सम्मानित भएका छन् । छैठौं कर दिवसका अवसरमा शुक्रबार मुख्यसचिव लोकदर्शन रेग्मीले बढी करतिर्न १५ करदातालाई सम्मानित गरेका छन् ।

करको दायरामा आउनेको संख्या बढ्दो, १६ लाख ६८ हजारले सरकारलाई कर तिर्छन

काठमाडौं । सरकारले कर प्रशासनमा सुधार गरी दायरा बढाएपछि करदाताको संख्या ४५ हजार बढेको छ । कर दाताको संख्या बढेर हालसम्म १६ लाख ६८ हजार ६०७ पुगेको छ । गत वर्षसम्म मुलुकभर करको दायरामा रहेको संख्या १६ लाख २३ हजार २३१ थियो । गत आवमा मात्रै १ लाख ९२ हजार ७८६ नयाँ करदाता थप भएका थिए । अघिल्लो आवमा १४ लाख ३० हजार ४४५ करको दायरामा थिए । कुल जनसंख्याको झण्डै ७ प्रतिशत हारहारीमा मात्र करको दायरामा आएको सरकारी तथ्याँक छ । हालसम्म व्यवसायिक स्थाइ लेखा नम्बर (प्यान) लिएर व्यवसाय गर्नेको संख्या ९ लाख ६३ हजार ९९६ पुगेको आन्तरिक राजश्व विभागले जनाएको छ । यसैगरी व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ७ लाख ४ हजार ६११ छन् । प्यान लिनेतर्फ मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका १ लाख ८१ हजार ९२८ र अन्तशुल्कतर्फ ६० हजार २७४ रहेको विभागले जानकारी दिएको छ । गत आर्थिक वर्षमा सरकारले भ्याट, आयकर, अन्तशुल्क, स्वास्थ्य सेवा कर, शिक्षा सेवा शुल्क गरी कुल २ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ संकलन गरेको थियो । पछिल्लो ५ वर्षयता मदिरा र चुरोटजन्य बाहेक अन्य बस्तुको कर नीतिमा खासै परिवर्तन नगरी दायरा विस्तारमा जोड दिएकाले करदाताको संख्या थप भएको हो । पछिल्लो समय प्रशासनमा सुधार र दायरा विस्तारले कर असुली लक्ष्य भन्दा बढी हुन थालेको छ । पछिल्लो समयमा करधारको विस्तार र कर प्रणाली सुध्रिढीकरण हुदै गएको छ । करको दायरा विस्तार, कर परिपालनाको स्तरमा अभिवृद्धि, राजश्व प्रशासनमा प्रविधि उन्मुख सेवाको विकास र विस्तार, चुहावट नियन्त्रण र प्रशासकीय सुधारबाट लक्ष्य भन्दा बढी राजश्व संकलन भएको हो । ५ वर्षयता राजश्व प्रशासनमा भएकाले सुधारले वार्षिक राजश्व दर २७ प्रतिशतसम्म वृद्धि भएको छ ।

एक करोड चार लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, सबैभन्दा बढी हकप्रद सेयर

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एकैदिन एक करोड ४ लाख ४२ हजार ५५० कित्ता सेयर सूचिकृत भएका छन् । बिहीबार मात्रै विभिन्न ६ कम्पनीको हकप्रद र बोनस सेयर गरी सो मात्राको सेयर सूचिकृत भएका हुन् । सो मध्ये सबैभन्दा बढी हकप्रद सेयर थपिएका छन् । बजारमा तीन कम्पनीको ८३ लाख ४५ हजार कित्ता हकप्रद सेयर थपिएका छन् । कामना सेवा विकास बैंकको २४ लाख १३ हजार १३७ कित्ता, गुडविल फाइनान्सको २७ लाख २२ हजार ५०० कित्ता र कन्काई विकास बैंकको ३२ लाख १० हजार कित्ता हकप्रद सूचिकृत भएका छन् । त्यस्तै, दुई बीमा कम्पनीको १३ लाख ६४ हजार २०४ कित्ता बोनस सेयर सूचिकृत भएका छन् । बजारमा नेपाल इन्स्योरेन्स कम्पनीको एक लाख ४३ हजार ८०४ कित्ता र प्राइम लाइफ इन्स्योरेन्सको १२ लाख २० हजार ४०० कित्ता बोनस सेयर गरी सो मात्राको बोनस सेयर थपिएका हुन् । त्यसैगरी, सनराइज बैंकको लिलामीको ७ लाख १० हजार ७०९ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । यस बैंकको पनि बिहीबार मात्रै सो मात्राको सेयर नेप्सेमा थपिएको हो ।

गुडविल फाइनान्सले १०.७२९ प्रतिशत लाभांश दिने, चुक्ता पुँजी ८० करोड नाघ्ने

काठमाडौं । गुडविल फाइनान्सले सेयरधनीलाई १०.७२९ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत असारमा जारी गरेको ६० प्रतिशत हकप्रद सेयर पश्चात कायम हुने चुक्ता पुँजीमा सो मात्राको लाभांश दिने निर्णय गरेको हो । उक्त निर्णय कात्तिक २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले सेयरधनीलाई १०.१९२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५३७ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव राखेको हो । हाल कम्पनीको चुक्ता पुँजी ७२ करोड ६० लाख रुपैयाँ रहेको छ । १०.१९२ प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ८० करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ ।

७५० मेगावाटको पश्चिमसेती बनाउन विद्युत प्राधिकरण र थ्री गर्जेजबीच संयुक्त लगानी सम्झौता

काठमाडौं । पश्चिम सेती जलासययुक्त आयोजना बनाउन नेपाल विद्युत प्राधिकरण र चाइना थ्री गर्जेज इन्टरनेसनले कर्पोरेशनबीच संयक्त लगानी सम्झौता (जेभीए) भएको छ । जेभीएमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र थ्री गर्जेजका लगानी विभागका निर्देशक याओ फिक्लिङले हस्ताक्षर गरेका हुन् । जेभीएसंगै लामो समयदेखि चर्चामा रहेको आयोजना बन्नका लागि बाटो खुला भएको छ । जेभीएको प्रारम्भीक मस्र्यौदामा हस्ताक्षर भएको १० महिनापछि सम्झौता भएका हो । जेभीएअनुसार आयोजनामा थ्री गर्जेजको ६५, विद्युत प्राधिकरणको २५ र आयोजना प्रभावित स्थानियबासिन्दाको १० प्रतिशत लगानी हुने गरी सेयर संरचना तयार पारिएको छ । ६५ प्रतिशत मध्ये १४ प्रतिशत नेपाली लगानीकर्तालाई थ्री गर्जेजले स्वामित्व बेच्न सक्ने व्यवस्था गरेको छ । आयोजना निर्माण भई सञ्चालनमा आएको ५ वर्षसम्म ५१ प्रतिशत स्वामित्वबाट घट्न नपाइने व्यवस्था गरिएका विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए । उनका अनुसार आयोजना वेष्ट सेती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडमार्फत निर्माण हुने छ । विद्युत प्राधिकरणले लगानी गर्नुपर्ने २५ प्रतिशत स्वपँजी (इक्विटी) का लागि थ्री गर्जेजले चाइना निर्यात–आयात (एक्जिम) बैंकबाट सहुलियत दरमा कर्जा उपलब्ध गराउने उनले बताए । प्राधिकरणले लगानी गर्ने स्वपुँजीको व्यवस्था थ्री गर्जेजले गर्ने भएको छ । जेभीए भएपछि आयोजनाको काम अघि बढ्ने छ । यसअघि भएको जेभीए गर्ने प्रस्तावलाई प्राधिकरण र थ्री गर्जेजको बोर्ड बैठकले अनुमोदन गरिसकेको छ । ०६९ भदौमा भएको समझदारीपत्र (एमओयू) भएको हो । आयोजना निर्माणका लागि १ खर्ब ६० अर्ब रुपैयाँसम्म लगानी सरकारबाट ल्याउन स्वीकृति पाइसकेको छ । आयोजनाबाट वार्षिक ३ अर्ब ३३ करोड युनिट बिजुली उत्पादन हुने सम्भाव्यता अध्ययनले देखाएको छ । आयोजना सुदूरपश्चिमका डोटी, डडेलधुरा, बैतडी र बझाङ जिल्लामा पर्छ । आयोजा निर्माणपछि खपत केन्द्रसम्म बिजुली पु¥याउन आवश्यक ४ सय किलोमिटर लामो ४ सय केभीए क्षमताका प्रसारणलाइन बनाउन थप ४० अर्ब रुपैयाँ बढी लगानी लाग्ने छ । सरकारले जलासययुक्त आयोजनाको पीपीए दर सार्वजनिक गरिसकेको छ । आयोजना अघि बढाउन २ हजार ३२० हेक्टर क्षेत्रफल अधिग्रहण गर्नुपर्ने देखिएको छ ।

मेगा बैंकमा खुल्यो जागिरको अवसर, प्रबन्धकसहित ११३ कर्मचारीको माग

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ११३ जना कर्मचारी माग गरेको छ । बैंकले शाखा प्रबन्धक सहित ११३ जना कर्मचारीको माग सहित सुचना जारी गरेको हो । बैंकका अनुसार शाखा प्रबन्धक हुन कम्तिमा स्नातकोत्तर गरी १ वर्षको प्रबन्धक तह वा ११ वर्षको वाणिज्य बैंकमा ३ वर्ष काम गरेको हुनुपर्नेछ । त्यस्तै बैंकले २९ जना अधिकृत तहका कर्मचारी र ६६ जना सहायक अधिकृत माग गरेको छ । यसका लागि क्रमश वाणिज्य बैंकमा पाँच वर्ष र तीन वर्ष काम गरेको हुनुपर्नेछ । बैंकले १६ नयाँ ठाँउका नयाँ शाखाका लागि पनि धेरै संख्यामा कर्मचारी माग गरेको छ । जसका लागि २२ जना कर्मचारीको माग गरेको छ । त्यस्तै नयाँ शाखाका लागि १७ जना प्रशिक्षार्थी कर्मचारीको पनि माग गरेको छ । यसका लागि कम्तिमा स्नातक गरेको हुनुपर्ने बैंकले जानकारी दिएको छ । ईच्छुक आवेदकले मंसिर १४ गतेसम्म बैंकमा आवेदन बुझाउनुपर्ने बैंकले जनाएको छ ।

२० अर्ब कर हिनामिना गर्ने फछ्र्याेट आयोगका अध्यक्ष महत र ढकालले गरे आत्मसमर्पण

काठमाडौं । तत्कालिन कर फछ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाल जेलमा पुगेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेपछि फरार रहेका महत र ढकाल सम्पर्कमा आएपछि उनीहरुलाई जेल चलान गरिएको हो । विशेष अदालतले महत र ढकालसंग बुधबार बयान लिएको थियो । गत असोजमा दुबैले वयानका लागि पत्र बुझे पनि नआएपछि पक्राउ परेका हुन् । छानविनपछि परार भएका महत र ढकाललाई अख्तियारले गत असार ८ गते एक साताभित्र उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको थियो । कर फच्यौट आयोगको सदस्य चुडामणि शर्माले आर्थिक अनियमितता गरी राज्यलाई २० अर्ब रुपैयाँ नोक्सान पुर्याएको भन्दै अख्तियारले दायर गरेको आरोपपत्र विचारधिन रहेको छ । अख्तियारले साउनको पहिलो साता नै अध्यक्ष महत, आयुत्त ढकाल र सदस्यसचिव शर्मा विरुद्द १० अर्ब २ करोड बिगोदाबीसहितको मुद्दा दायर गरेको थियो । अनियमित ढंगले व्यवसायीलाई कर छुट दिएर दिई साढे २० अर्ब रुपैयाँ बढी नोक्सानी पुर्याएको आरोपमा अख्तियारले जेठको दोस्रो साता तत्कालिन आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मालाई पक्राउ गरेको थियो । कर असुलीमा विवाद आएपछि सरकारले २०७१ मा चाटर्ड एकाउन्टेट लुम्बध्वज महतको अध्यक्षतामा ३ सदस्य कर फछ्यौट आयोग गठन गरेको थियो । आयोगले १ हजार ६९ करदाताबाट असुल हुनुपर्ने ३० अर्ब ५२ करोड ५८ लाख रुपैयाँमा ९ अर्ब ५४ करोड ६१ लाख रुपैयाँमा सम्झौता गरी ०७२ मंसिरमा तत्कालिन अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई विवरण बुझाएको थियो । यो समग्र राजश्व उठाउने वक्यौता रकमको ६८.७३ प्रतिशत मिनाहा दिइ सम्झौता भएको थियो । महालेखा परीक्षकको कार्यलय र संसदीय समितिले भ्रष्टचार भएको देखाएपछि अख्तियारले अनुसन्धान थालेको हो । आयोग तत्कालि प्रधानमन्त्री सुशील कोइरालाको सरकारका पालमा अर्थमन्त्री डा. रामशरण महतले गठन गरेका हुन् । डा. महतले आयोगको बचाउ गर्दे आएका छन् । यता शेरबहादुर देउवा नेतृत्वको सरकारले महत र ढकाललाई जेल पठाएको छ ।  

ओरियन्टल होटलका नाफा बढेर २ करोड ५५ लाख

काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडको खुदनाफा ०.१४ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षको ३ महिनामा होटलले २ करोड ५५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २५ करोड ५१ लाख रुपैयाँ नाफा गरेको थियो । आम्दानीमा कमी आएपनि खर्च कटौतीले नाफामा सामान्य वृद्धि भएको ओरियन्टलले जनाएको छ । समीक्षा अवधिमा कम्पनीको आम्दानीमा ०.११ प्रतिशत कमी आएको छ । गत आवको सोही अवधिमा कम्पनीले २ करोड ५५ लाख १६ हजार नाफा गरेको थियो । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी घटेर ३ रुपैयाँ २३ पैसामा सीमित भएको छ । गत असारमा ईपीएस ३० रुपैयाँ थियो । कम्पनीको संचित कोषमा १ अर्ब ४ करोड ६० लाख रुपैयाँ छ ।

सानिमामाई हाइड्रोपावरको खुदनाफा घटेर १५ करोड १९ लाख

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा सानिमामाई हाइड्रोपावर लिमिटेडको नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले १५ करोड १९ लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा सानिमाको नाफा १७ करोड रुपैयाँ थियो । गत वर्षको तुलनामा यो वर्ष सानिमामाईको नाफा झण्डै २ करोड रुपैयाँ घटेको छ । कम्पनीले बिजुली बेचेर गर्ने आम्दानीमा पनि गिरावट आएको छ । चालु आवको असोजसम्म कम्पनीले बिजुली बिक्री र अन्य स्रोतबाट गरी २९ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३० करोड रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १४ रुपैयाँ ४१ पैसा छ । कम्पनीको संचित कोषमा ४४ करोड १७ लाख रुपैयाँ रहेको छ । कम्पनीले २२ मेगावाटको सानिमामाई र ७ मेगावाटका सानिमा क्यासकेड आयोजना सञ्चालन गरिरहेको छ ।

प्राइम लाइफ र नेसनल लाइफले १ अर्ब ६० करोडको हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं । दुई जीवन बीमा कम्पनीले चुक्ता पुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्ने भएका छन् । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ६० करोड ३८ लाख ४७ हजार ७५४ रुपैयाँको १ करोड ६० लाख ३८ हजार ४७४ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् । जसअनुसार प्राइम लाइफले १ बराबर १ अनुपातमा ६१ करोड २ लाख रुपैयाँ बराबरको ६१ लाख २ हजार कित्ता र नेसनल लाइफले १० बराबर ६ अनुपातमा ९९ करोड ३६ लाख ४७ हजार ७५४ रुपैयाँ बराबरको ९९ लाख ३६ हजार ४७७ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएका छन् । हकप्रद निष्कासनका लागि दुवै कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिएका छन् । नियामक बीमा समितिले आउदो असारसम्म जीवन बीमा कम्पनीले २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनु पर्ने नीतिगत व्यवस्था गरेपछि दुबै कम्पनीले हकप्रदबाट पुँजी बढाउन लागेका हुन् । प्राइम लाइफको चुक्तापुँजी ६१ करोड २ लाख रुपैयाँ छ । यस्तै नेसनल लाइफको १ अर्ब ६६ करोड ४१ लाख रुपैयाँ छ । हालसम्म १८ कम्पनीले ११ अर्ब ६४ करोड ५५ लाख रुपैयाँ बराबरको ११ करोड ६४ लाख ५५ हजार कित्ता हकप्रद सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएका छन् । साउनयता बोर्डले १८ कम्पनीलाई ९ अर्ब ५३ करोड ३२ लाख रुपैयाँ बराबरको ९ करोड ५३ लाख ३२ हजार कित्ता हकप्रद निष्कासनका लागि अनुमति दिएको छ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले चुक्तापुँजी बढाउनु पर्ने बाध्यकारी व्यवस्था भएकाले यो वर्ष हकप्रद सेयरको बाढी आउने भएको छ ।

सर्वोच्चले उल्टायो मन्त्रिपरिषद्को निर्णय, २ वर्षपछि नेसनल ट्रेडिङको महाप्रबन्धकमा फर्किए पूर्णशंकर बसी

काठमाडौं । सर्वोच्च अदालतले नेसनल ट्रेडिङ लिमिटेडको महाप्रबन्धकबाट बर्खास्त गरिएका पूर्णशंकर बसीलाई पुनर्बहाली गर्न फैसला गरेको छ । सरकारले गरेको बर्खास्ती न्यायसंगत नभएको भन्दै सर्वोच्चले यस्तो फैसला गरेको हो । आइतबार न्यायधीश ओमप्रकाश मिश्र र अनिलकुमार सिन्हाको संयुक्त इजलासले बसीको रिटमा सुनुवाई गर्दै उनको माग अनुसार फैसला जारी गरेको सर्वोच्च अदालतले जनाएको छ । बसीले आफूलाई बर्खास्त गर्ने सरकारको निर्णय खारेज गर्न अन्तरिम आदेश माग गर्दै दुई वर्ष अगाडी सर्वोच्चमा रिट दिएका थिए । आफूलाई चार वर्षका लागि नियुक्त गरिएको र गैरकानुनीरुपमा हटाएको जिकिर उनले गरेका थिए । दुई वर्षअगाडी मन्त्रीपरिषदले ‘अयोग्य’ ठहर गर्दै बसीलाई पदच्यूत गरेको थियो । मन्त्रिपरिषदको निर्णय विरुद्ध बसी सर्वोच्च पुगेका थिए । किर्ते गरेको आरोपका आधारमा २०७२ असोज २२ मा सुशिल कोइराला नेतृत्वको सरकारले बसीलाई पदबाट बर्खास्त गरेको थियो । मन्त्रिपरिषदले उनलाई किर्ते गरेको आरोपमा बर्खास्त गरी सत्यनारायण मेहतालाई नियुक्त गरेको थियो । खाद्य संस्थानमा ११ औं तहको कर्मचारीबाट अवकाश पाएपछि उनले बज्रयोगिनी ट्रेडर्समार्फत एकल सञ्चालकको रुपमा कारोबार सुरु गरेका थिए । सोही बेलामा उनले चामलका लागि टेन्डर भर्दा स्टाण्डर्ड चार्टर्ड बैंकको ६० लाख रुपैयाँ बराबरको फर्जी भौंचर पेश गरेको आरोप थियो । सरकार परिवर्तन हुनु एक दिन अगाडी मन्त्रीपरिषदले आफूलाई बर्खास्त गरेको बसीले जानकारी दिए । उनले भने, ‘मलाई स्पष्टिकरण लिएको ९ महिनापछि नै पदबाट हटाइएको थियो ।’ २०७१ माघ १२ मा उनलाई तत्कालिन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादूर थापाले संस्थानमा महाप्रबन्धकका रुपमा भित्र्याएका थिए । मन्त्रीपरिषदले उनलाई चार वर्षको कार्यकाल रहने गरी महाप्रबन्धकको जिम्मेवारी दिएको थियो । सर्वोच्चको निर्णयपछि अब उनले करिब १६ महिना कार्यकाल चलाउनेछन् । यसैगरी उनले दुई वर्ष अवधिमा महाप्रबन्धकले पाउनुपर्ने तलबभत्ता पनि पाउने मन्त्रालयले जानकारी दिएको छ । आफुलाई हटाएर नेसनल ट्रेडिङलाई डुबाउने षड्यन्त्र गरेको आरोप लगाए । उनले नेसनल ट्रेडिङको  सम्पती लिलाम गर्दै बेचेकोमा सरकारको आलोचना गरेका छन् । उनले भने, ‘व्यापारिक संस्थानको क्लोजिङ गर्ने समयमा लिलामीका कामहरु भइरहेका छन् । भएका कर्मचारीहरुलाई पनि हटाइएका छन् ।’ सर्वोच्चको आदेशपछि बसीलाई प्रकृयागत हिसाबले मन्त्रालयले महाप्रबन्धकको जिम्मेवारी दिने तयारी गरेको आपूर्ति मन्त्रालयका प्रवक्ता मुकुन्दप्रसाद पौड्यालले जानकारी दिए । उनका अनुसार मन्त्रीपरिषदबाटै निर्णय गराएर बसीलाई पुनर्बहाली गराउनुपर्ने प्रावधान छ । आफूलाई तीन वर्षको नियुक्ती दिएपनि पुरा कार्यकाल काम गर्न नदिएको भन्दै सत्यनारायण मेहताले फेरि महाप्रबन्धकको जिम्मेवारी पाउनुपर्ने दाबी गरेका छन् । उनले भने, ‘सर्वोच्चले किर्ते गरेको प्रमाण नहेरी बसीलाई पुनर्बहाली दिएको छ । मन्त्रिपरिषदको निर्णय मात्र हेर्ने हो भने मेरो पनि कार्यकाल अझै बाकी छ ।’ करोडौं अनियमितताको आरोपपछि भर्खरै मेहतालाई महाप्रबन्धकबाट स्वैच्छिक अवकाश दिएर हटाइएका थिए । मन्त्रालयले अर्को व्यवस्था नभएसम्म महाप्रबन्धकको जिम्मेवारी उपसचिव लवराज जोशीलाई दिएको थियो । ‘नेशनल ट्रेडिङ डुबाउने मेहतालाई पुनःमहाप्रबन्धक बनाउन मन्त्री शिवकुमार मण्डलको चलखेल’

नेसनल ट्रेडिङका अवकाशप्राप्त कर्मचारीले दिए अख्तियारमा उजुरी

काठमाडौं । सरकारी स्वामित्वको संस्थान नेसनल ट्रेडिङ लिमिटेडमा ९ जना कर्मचारीलाई मात्र ग्रेड थप गरी स्वेच्छिक अवकाश दिएको भन्दै केही कर्मचारीले अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । उक्त उजुरीका आधारमा अख्तियारले मन्त्रालयसँग स्पष्टिकरण माग गरेको छ । स्वेच्छिक अवकास दिईएका कर्मचारीमध्ये ना.अ.व. गिता निरौला लगायत ९ जना कर्मचारीलाई मात्र २ ग्रेड थप गरी स्वेच्छिक अवकास दिएको भन्दै उजुरी परेको अख्तियारले जनाएको छ । अख्तियारले के आधारमा ग्रेड थप गरेको ? भन्दै स्पष्टिकरण सोधेको छ । त्यस्तै स्वेच्छिक अवकासपछि पनि ३६ जना कर्मचारी करारमा लिएको उजुरीमा उल्लेख छ । त्यस्तै गयल हाजिर गरी अन्तै निकायमा काम गरी रहेका ना.अ.व. कमल रेग्मीलाई कार्यालयमा हाजिर गराई २३० दिन गयल कट्टी सहित ९६१ दिन सेवा अवधिमा घटाई स्वेच्छिक अवकास दिइएको उजुरीमा उल्लेख छ । उल्लेखित उजुरी सम्बन्धित स्पष्टिकरण सहित पेश गर्न मन्त्रालयलाई अख्तियारले पत्राचार गरेको छ । नेसनल ट्रेडिङले गत असारमा आफ्ना कर्मचारीहरूलाई बिदावारी गरेको थियो । घाटा चुलिएपछि जग्गा बिक्री गरेर कर्मचारीलाई स्वैच्छिक अवकाश दिइएको थियो । आयस्रोत नभएपछि लिमिटेडको नोक्सानी बर्सेनि बढ्दै गएको थियो । नेसनलको घाटा १ अर्ब ३४ करोड रुपैयाँ छ । घाटाका कारण कर्मचारीहरूले ५ महिनादेखि तलब पाएका थिएनन् । उपदान र सञ्चय कोष करिब ४ वर्षदेखि नपाएको लिमिटेडले जनाएको छ । अवकाशका दिनका लागि चाहिने रकम जुटाउन लिमिटेडले टेकुमा रहेको ४९ रोपनी १० आना जग्गा बिक्री गरिसकेको छ । तलब सुविधा नपाएपछि गत वर्ष चैत ११ गते बसेको साधारणसभाले जग्गा बिक्री गरेर अवकाश हुने निर्णय गरेको थियो । सोहीअनुसार १८ गते मन्त्रालयमा पत्राचार गरेको थियो । मन्त्रालयबाट स्वीकृति भएपछि थप अनुमतिका लागि अर्थ मन्त्रालयमा पत्राचार भएको थियो । अर्थको अनुमतिसँगै जग्गा बिक्रीको फाइल मन्त्रिपरिषद्मा पेस गरिएको थियो । मन्त्रिपरिषद्बाट पनि स्वीकृत भएपछि टेकुमा रहेको नेसनलको जग्गा आयल निगमले किनेको छ । हाल नेसनलसँग धनगढी दुई बिघा, विराटनगरमा चार, वीरगन्जमा पाँच, दाङमा दुई, नेपालगन्जमा दुई र कञ्चनपुरमा पनि एक बिघा जग्गा छ । भद्रकालीमा पनि २५ रोपनी १५ आना जग्गा छ ।

सेञ्चुरी बैंकले ल्यायो थप तीन आधुनिक सेवा, नोक्सानी तथा नगद चोरी न्यूनिकरण गर्ने

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले आफ्नो सेवालाई विस्तार गर्ने क्रममा थप तीन वटा आधुनिक सेवा (टेक्नो बेसड) सेवाहरु ल्याएको छ । बैंकले “मल्टी करेन्सी कार्ड”, “इन्डो-नेपाल इजी रेमिट” र “मोबाइल एप्स” गरी थप तीन सेवाको शुरु गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बुधबार एक कार्यक्रमका बीच उक्त तीन सेवाको शुभारम्भ गरेका हुन् । बैंकले भारतको एक्सिस बैंकको सहकार्यमा नेपालमा नै पहिलो पटक “मल्टी करेन्सी कार्ड”को शुरुवात गरेको हो । जसअन्तर्गत ग्राहकले विदेश जादाँ विश्वका १६ देशमा ती देशहरुको मुद्रा एउटै कार्डमा लोड गरी लैजान सक्नेछन् । यसबाट नगद विदेशी मुद्रा अभाग झेलिरहेका ग्राहकहरुलाई केही राहत मिल्ने र अमेरिकी डलर सटही गरी अन्य मुद्रामा भुक्तानी गर्दा हुने विनिमयको नोक्सानी तथा नगद चोरी जस्ता जोखिमलाई समेत न्यूनिकरण गर्ने बैंकले जनाएको छ । यसैगरी, बैंकले एक्सिस बैंककै सहकार्यमा “इन्डो नेपाल इजी रेमिट” को शुरुवात गरेको छ । यो सेवाबाट भारतमा रहेका नेपालीहरुले एक्सिस् बैंकका ३,५०० शाखा कार्यालयहरुबाट नेपालमा पैसा पठाउन सक्नेछन् । यसले बैंकको ग्राहक संख्यामा वृद्धि हुन गई बैंकको शाख अभिवृद्धि हुने बैंकको अपेक्षा रहेको छ । साथै, बैंकले मोबाइल बैंकिङको नाममा “मोबाइल एप्स” को शुरुवात गरेको छ । यसबाट ग्राहकहरुले आफ्नो मोबाईलबाट रकम भुक्तानी ट्रान्सफर तथा यूटिलिटी बिलका साथै बैंकमा आवद्ध विभिन्न भेन्डरहरुको भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।

ब्याजदर करिडोर लागु, राष्ट्र बैंकले बुधबार १५ अर्ब बजारबाट उठाउदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याज दर करिडोर लागु गरेको दिन बुधबार बजारबाट १५ अर्ब रुपैयाँ उठाएको छ । केन्द्रीय बैंकले ३ प्रतिशत ब्याजदरमा बैंक तथा वित्तीय संस्थाबाट सो रकम उठाएको हो । ३ प्रतिशत भन्दा फरक ब्याज दर प्रस्ताव नगर्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । २ साताका लागि उठाइएको रकम आगामी मंसिर १३ गते परिपक्व हुने छ । केन्द्रीय बैंकले बजारमा बढी भएको तरलता प्रशोचन गर्न लागेको हो ।हाल बैकिङ प्रणालीमा २० अर्ब बढी तरलता रहेपछि बुधबार ठुलो रकम बैंकिङ प्रणालीबाट प्रशोचन गर्न लागेको राष्ट्र बैंककी निर्देशक सीता घिमिरेले जानकारी दिइन् । चालु आर्थिक वर्षको मौद्रिक नीति लागु भएको ४ महिनापछि केन्द्रीय बैंकले ब्याज दर करिडोर लागु गरेको हो । तरलताको अल्पकालीन व्याजदरमा आउने उतारचढावलाई न्यूनीकरण गर्दै ब्याजदर स्थायित्व कायम गर्ने मौद्रिक नीतिमा करिडोरको व्यवस्था गरिएको थियो । ब्याजदर करिडोर लागु गर्न दुई हप्ता अवधिको निक्षेप संकलन तथा रिपो उपकरण जारी गर्ने सम्बन्धी कार्यविधि गभर्नरले स्वीकृत गरेपछि बुधबारदेखि कार्यान्वयनमा आएको हो । ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा स्थायी तरलता सुविधाको दर ७ प्रतिशत छ । ब्याजदर करिडोर अन्तर्गत दुई हप्ता अवधिको रिपो दर नीतिगत दरको रुपमा ५ प्रतिशत रहेको छ । करिडोरको तल्लो सीमाको रुपमा दुई हप्ता अवधिको निक्षेप संकलनको दर ३ प्रतिशत तोकिएको छ ।  

आशा लघुवित्त संस्थाले ३ करोडको आईपीओ निष्कासन गर्ने, साधारणसभामा प्रस्ताव पेश हुदै

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कुल जारी पुँजीको ३० प्रतिशत अर्थात ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । संस्थाको जारी पुँजी १० करोड रुपैयाँ रहेको छ । संस्थापक ७० प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । आगामी मंसिर २३ गते हुने प्रथम वार्षिक साधारणसभामा आईपीओ निष्कासनका लागि प्रस्ताव पेश हुने आशाले जनाएको छ । सभाले आईपीओ निष्कासनको अख्तियारी सञ्चालक समितिलाई दिएपछि प्रक्रिया अघि बढ्ने छ । सभाले संस्थापक समूहको ४ जना सञ्चालकको निर्वाचन गर्ने भएको छ । संस्थाको केन्द्रीय कार्यलय नुवाकोटको मदानपुरमा रहेको छ ।  

माछापुच्छ्रे बैंकले कृषि तथा महिला उद्यमीलाई बिना धितो कर्जा प्रवाह गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंकले सक्षम एक्सेस् टु फाईनान्स परियोजना अन्तर्गत दाङ्गका कृषि तथा महिला उद्यमीलाई बिना धितो कर्जा प्रवाह गर्ने भएको छ । बैंकले मंगलबार यूकेएडद्धारा संचालित उक्त परियोजना अन्तर्गत धितो बिना नै कर्जा प्रवाह गर्न हेफर इन्टरनेसनल नेपालसँग सम्झौता गरेको हो । उक्त सम्झौता पछि बैंकले हेफर इन्टरनेसनल नेपालको सहकार्यमा लमही दाङ्गका चारवटा विभिन्न सहकारी संस्थामार्फत कर्जा प्रदान गर्ने छ । विपन्न परिवारलाई स्वरोजगार बनाउने उद्देश्यले संचालन हुने उक्त कार्यक्रमले कृषक तथा महिलाहरुको जीवन स्तरमा सुधार ल्याउने बैंकले जनाएको छ । हालसम्म बैंकले आफना् ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ७ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ७३ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा दिइरहेको छ ।