नेपाल सेवा लघुवित्तले एक करोड ८० लाखको आईपीओ निष्काशन गर्ने

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधरणको लागि एक करोड ८० लाख रुपैयाँको आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले एक लाख ८० हजार कित्ता सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको हो । लघुवित्तले मंसिर ७ गते धितोपत्र बोर्डमा निवेदन दिएर सो मात्राको आइपीओ निष्काशन गर्ने अनुमति मागेको हो । कम्पनीले एनएमबी क्यापिटल मार्फत आइपीओ निष्काशन गर्ने भएको छ ।

युनियन लाइफ इन्स्योरेन्सले ६४ करोड ५० लाखको आईपीओ निष्कासन गर्ने

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारणसभाले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पारित गरेको । युनियनको  पहिलो साधारणसभाले सम्बन्धित निकायबाट स्वीकृति लिएर सर्वसाधारणका लागि छुट्टाइएको आईपीओ निष्कासनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । युनियनलाई आईपीओ निष्कासनका लागि बाटो खुलाएको छ । साधारणसभाबाट स्वीकृति पाएकाले युनियनले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । बीमा समितिले जीवन बीमा कम्पनीको चुक्तापुँजी २ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ । गत असोजमा युनियनले जीवन बीमा कारोबार सुरु गरेको हो । २ अर्ब १५ करोड रुपैयाँ जारी पुँजी रहेको यस कम्पनीका प्रवद्र्धकमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, टिवडेवाल ग्रुप र राजेश हार्डवेयरको संस्थापक लगानी छ । साभाले शुलभ अग्रवाल, शेखर गोल्छा, संदिपकुमार अग्रवाल र जीवनकुमार अग्रवाललाई सर्वसम्मत रुपमा सञ्चालकमा निर्वाचित गरेको युनियनले जनाएको छ । सभाले अध्यक्षका लागि ६ हजार ५ सय र सञ्चालकका लागि ६ हजार रुपैयाँ बैठक भक्ता दिने प्रस्ताव पनि पारित गरेको छ ।  

नेप्से सामान्य अंकले घट्दा ६५ करोडको सेयर कारोबार

काठमाडौं । आइतबार दोहोरो अंकले उकालो लागेको सेयर बजार सोमबार भने सामान्य अंकले ओरालो लागेको छ । सोमबारको नेप्से परिसूचक ०.६० अंकले ओरालो लागेर १५१३.७४ अंकमा अडेको छ । सामान्य अंकले घटेको बजारमा कुल ६५ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५९ कम्पनीको १२ लाख ६७ हजार कित्ता सेयर कारोबार भएको छ । सबैभन्दा बढी चिलिमे हाइड्रोपावर कम्पनीको सेयर किनबेच भएको छ । यस कम्पनीको ६ करोड ४८ लाख रुपयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९३९ रुपैयाँ रहेको छ । त्यस्तै, स्ट्याडार्ण्ड चार्टर्ड बैंकको ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बागदरबारमा प्राधिकरणको हस्तक्षेपः महानगर र पुरातत्वसँग मागियो प्रतिवेदन

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बागदरबार पुनर्निर्माण सम्बन्धी काममा हस्तक्षेप गरेको छ । पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाबिच बागदरबार पुननिर्माण वा प्रबलीकरण गर्ने भन्नेबारे विवाद उत्पन्न भएपछि प्राधिकरणले हस्तक्षेप गरेको हो । बागदरबार भत्काएर काठमाडौं महानगरपालिकाले बनाउन लागेको भवनको डिजाइन प्राधिकरणले पुरातत्व विभाग र काठमाडौं महानगरपालिकासँग बागदरबार पुननिर्माण वा प्रबलीकरण गर्ने भन्नेबारेको अध्ययन प्रतिवेदन उपलब्ध गराउने निर्देशन दिएको छ । प्रमुख कार्यकारी अधिकृत युवराज भूसालको अध्यक्षतामा आइतवार बसेको पुरातत्व विभाग, काठमाण्डौ महानगरपालिका, शिक्षा मन्त्रालय अन्र्तगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई लगायत सरोकारवाला निकायको बैठकले भूकम्पले क्षति पुगेको सुन्धारास्थित ऐतिहासिक बागदरवारको प्रबलीकरण गर्ने वा पुनर्निर्माण गर्ने बिषयको अध्ययन प्रतिवेदन बुझाउन निर्देशन दिएको हो । पुरातत्व विभागले बागदरबारमा रेक्ट्रो फिटिङ गर्नुपर्ने बताउँदै आएको छ भने काठमाडौं महानगरपालिकाले बागदरबार भत्काएर नयाँ भवन बनाउने प्रक्रिया अघि बढाईसकेको छ । दुई निकायबिच विवाद बढेपछि प्राधिकरणले हस्तक्षेप गरेर अध्ययनहरुका सक्कल फाइलहरु बुझाउन निर्देशन दिएको प्राधिकरणका प्रवक्ता यमलाल भुषालले जानकारी दिए ।

सोलुखुम्बुका तिङलावासीले फेरि गरे चुनाव बहिष्कार, निर्वाचन शान्तिपूर्ण रहेको आयोगको निश्कर्ष

काठमाडौं । सोलुखुम्बुको तिङलाका बासिन्दाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन बहिष्कार गरेका छन् । स्थानीय तहको निर्वाचनमा जसरी बहिष्कार गरेका थिए त्यसरी नै यस निर्वाचनलाई पनि बहिष्कार गरेको निर्वाचन आयोगले  जनाएको छ । उक्त बहिष्कारको कारणमा क्षेत्र निर्धारण गर्दा आयोगला साबिकको भन्दा अपाएक परेको जनाइएको छ । धेरै स्थानहरुमा मतदाता परिचय पत्र भएको तर मतदाता नामावलीको सूचीमा नभएका कारण मतदाताहरु आफ्नो मताधिकारबाट बञ्चित रहेको समेत पाइएको आयोगले जनाएको छ । आज बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि ३२ जिल्लाहरुमा पहिलो चरणको निर्वाचन बेलुकी ५ बजे सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भएको हो । संविधान, २०७२ जारी भएपछि पहिलो र ऐतिहासिक निर्वाचनले लोकतन्त्रलाई संस्थागत गर्ने सुनिश्चितता प्रदान गर्ने देखिएको आयोगले जानकारी दिएको छ । केही समय पहिले भएको स्थानीय तहको निर्वाचनको तुलनामा आजको सम्पन्न भएको निर्वाचनमा मतदातालाई आतंकित पार्ने घटनाहरु निर्वाचन पूर्व र निर्वाचनका्े दिनमा छिटपुट रहेको पाइयो र केहि स्थानमा झडपका कारण केही सर्वसाधारण तथा उम्मेदवारहरु समेत घाइते भएको र उक्त घटनाहरु भएतापनि निर्वाचनमा आम जनताहरुको उत्साहप्रद सहभागिता पाइएको आयोगले बताएको छ । विभिन्न स्थानमा भएका झडपलाई सुरक्षा निकायको उपस्थीतिमा सहजै व्ययवस्थापन गरेको पाइयो । यो निर्वाचनमा महिलाहरुको उल्लेख्य सहभागिता रहेको समेत पाइयो । स्थानीय तहको निर्वाचनको  तुलनामा मतदाताहरुलाई मतदान गर्न सहज भएको देखियो जसका कारण मतपत्र बदरमा कमी आउने सक्नेछ । हाम्रा पर्यवेक्षकहरुले पठाएको सूचनाको आधारमा सामान्य छिटपुट घटना भएको जानकारी आएता पनि तुलनात्मक रुपमा निर्वाचन शान्तिपूर्वक भएको पाईएको छ ।

राधी विद्युत कम्पनीले पुसको पहिलो साता ७ करोड ६४ लाखको आईपीओ निष्कासन गर्ने

काठमाडौं । निजी क्षेत्रबाट प्रवद्धित राधी विद्युत कम्पनी लिमिटेडले पुसको पहिलो साता सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । धितोपत्र बोर्डबाट गत कात्तिकको पहिलो साता आईपीओ निष्कासन गर्न स्वीकृति पाएकोमा केन्द्र र प्रदेशको निर्वाचनले गर्दा ढिलोमा पुसको पहिलो सातासम्म आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन गर्न कम्पनीले विवरणपत्र तयार पारिसकेको छ । यसअघि आयोजना प्रभावित स्थानियबासिन्दालाई १० प्रतिशत आईपीओ निष्कासन गरेको राधीले १५ प्रतिशत अर्थात ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको ७ लाख ६ हजार ५५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको कम्पनीमा लम्जुङ इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड(लेड्को) को ६३.५ प्रतिशत स्वामित्व छ । राधीको चुक्तापुँजी ३३ करोड ३५ लाख ४० हजार रुपैयाँ छ । यस्तै पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले स्थानीयवासीका लागि शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले इलामस्थित १२ मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजना प्रभावित सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका स्थानीयवासीलाई छुट्याइएको १० प्रतिशत शेयर निष्कासन गर्न अनुमति पाएको हो । ११ करोड बराबरको ११ लाख कित्ता शेयर निष्कासन गर्न बोर्डले स्वीकृति दिएको कम्पनीका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले बताए । शेयर निष्कासन गर्न आवेदन गरेको पाँच महिनापछि बोर्डबाट स्वीकृत भएको कम्पनीले जनाएको छ । कम्पनीले निर्माण गरेको माथिल्लो माई ‘सी’ ले गत असारबाट विद्युत् उत्पादन गरिरहेको छ । यसअघि निर्माण भएको १२ मेगावाटको माथिल्लो माई पनि सञ्चालनमा छ ।

विदा नहुँदा हजारौ कर्मचारी मतदानबाट बञ्चित, निर्वाचन आयोग भन्छ विदा लिएर जान पाइन्छ

काठमाडौं । निर्वाचन हुने क्षेत्रमा मात्र सरकारले विदा दिएपछि अधिकाँश जिल्लामा कार्यरत कर्मचारी मतदानबाट बञ्चित भएका छन् । सरकारले पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लामा मात्र विदा दिएको छ । ती जिल्लामा मतदाता नामवली हुने अधिकाँश सरकारी र बैंक तथा वित्तीय संस्थालगायत निजी व्यवसायीक प्रतिष्ठानका कर्मचारीले आफनो मतको प्रयोग गर्नबाट बञ्चित हुने अवस्था आएको हो ।सरकारले सार्वजनिक विदा नदिएका कारण काठमाडौ कार्यरत कर्मचारीले मतदान गर्न नुवाकोट, सिन्धुपाल्चोक र रसुवालगायत जिल्लामा मतदान गर्न विदा नपाएका हुन् । विदा नपाएर निर्वाचनमा मतदान गर्न नपाउने यस्ता कर्मचारीको संख्या हजारौ छ । निर्वाचन आयोगको शिफारिशमा सरकारले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा मात्र सार्वजनिक विदा दिएको छ । बाँकी जिल्लामा विदा दिइएको छैन् । विदा नभएपछि कर्मचारीले मतदानमा भाग लिन नपाउने भएका हुन् । यस्तै २१ गते बाँकी ४५ जिल्लामा हुने दोस्रो चरणको निर्वाचनमा ३२ जिल्लामा कार्यरत कर्मचारी पनि मतदानबाट बञ्चित हुने भएका छन् । आयोगका सहायक प्रवत्ता मुकुन्द शर्मा सार्वजनिक विदा नभएको बताउन् । आफनो कार्यलयबाट विदा लिएर मतदान गर्न जान सक्ने उनले बताए । विदा लिएर जानेलाई खासै अप्ठेरो नपर्ने उनको तर्क छ ।

कसले किन्यो एकै दिन २२ करोडको सेयर ?

  काठमाडौं । गत बिहीबार एकै दिनमा साना विकास विकास बैंकको संस्थापक सेयर २२ करोड मूल्य बराबरको किनबेच भएको छ ।बैंकको प्रतिकित्ता ९ सय रुपैयाँमा २१ करोड ९९ लाख १५ हजार ९ सय रुपैयाँको २ लाख ४४ हजार ३५१ कित्ता नेपाल बैकको संस्थापक सेयर किनबेच भएको हो । यो सबै सेयरको बिक्रि ३४ नम्बर ब्रोकरबाट भएको छ भने ४० नम्बर ब्रोकरबाट खरिद भएको देखिन्छ । सेयर १९९ जनाले खरिद गरेका थिए । बिहीबार साना किसानको संस्थापक सेयरले कारोबार बढाएको छ । बजार १३ अंकले बढेको थयो । सो दिन ६८ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भएको थियो । एउटै कम्पनीको सेयर कारोबार १९९ पटक हुनु, एउटा ब्रोकरबाट मात्रै बिक्रि हुनु र अर्काे एउटाबाट मात्रै खरिद हुनुलाई संस्कास्पद मानिएको हो ।    

निर्वाचन आयोगले माग्यो उपप्रधानमन्त्री थापासँग स्पष्टिकरण

काठमाडौं । निर्वाचन आचार संहिता केन्द्रीय अनुगमन समितिले निर्वाचन आचारसंहिता विपरीत मौन अवधिमा आफ्नो पार्टीको पक्षमा मत मागेकोमा उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । मंसिर १० गते प्रथम चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मंसिर ७ गते राति १२ बजेदेखि मौन अवधि सुरु भएपछि उपप्रधानमन्त्री थापाले निर्वाचन आचारसंहिताविपरीत सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो पार्टीको पक्षमा मत मागेपछि आयोगले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । स्पष्टीकरणको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौं र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत दिइएको छ । निर्वाचन आयोगको निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिले माननीय उपप्रधानमन्त्रीसँग सोधेको स्पष्टीकरण यस प्रकार छ : ‘‘आगामी मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको सन्दर्भमा मिति २०७४/०५/१४ गतेदेखि निर्वाचन आचार संहिता लागू भइरहेको व्यहोरा विदित नै छ । आगामी मंसिर १० गते हुन गइरहेको प्रथम चरणको निर्वाचनको सन्दर्भमा यही मंसिर ७ गते राति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको अवस्थामा माननीयज्यूले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो पार्टीको पक्षमा मत मागेको सूचना आयोगमा प्राप्त हुन आएको छ । उक्त कार्य निर्वाचन आचारसंहिता, २०७२ को दफा ५ को खण्ड (घ) को उपखण्ड (१) विपरीत देखिएको हुँदा यहाँलाई निर्वाचन आचार संहिता उल्लङ्घन गरेबापत कारबाही हुनुपर्ने हो, होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नु हुन निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको मिति २०७४÷०८÷०८ को निर्णयानुसार अनुरोध छ ।’’ आयोगले स्पष्टिकरण माग गरेपछि थापाले आफ्नो ट्विट डिलिट गरेका छन् । निर्वाचन आयोगले ध्यान आकर्षित गराएको हुंदा आज बिहान मैले गरेको चुनाव केन्द्रित ट्विटहरु डिलिट गरेको छु। निर्वाचन आचारसंहिताको पालनामा म पुर्ण प्रतिबद्ध छु। — Kamal Thapa (@KTnepal) November 24, 2017

२ वर्षपछि तयार हुँदैछ डिजिटल नेपालको आधार, ९ अर्ब ८९ करोडमा इन्फरमेसन सुपर हाइवे

काठमाडौं । आगामी २ वर्षपछि डिजिटल नेपाल निर्माणको आधार तयार हुने भएको छ । नेपाल दुर सञ्चार प्राधिकरणले ९ अर्ब ८९ करोड रुपैंयाँ खर्च गरेर डिजिटल नेपाल निर्माणको आधारका रुपमा इन्फरमेशन सुपर हाइवे तयार गर्न काम अघि बढाईसकेको छ । प्राधिकरणले मध्य पहाडी लोकमार्गमा ९६ कोर क्षमताको अप्टिकल फाइबर बिछ्याउने जिम्मेवारी बाडफाँट गरिसकेको छ । त्यस्तै ७५ वटै जिल्ला सदरमुकामहरुलेमा ४८ कोर क्षमताका अप्टिकल फाइबर बिछ्याइदैछ । प्राधिकरणले नेपाल टेलिकमलाई ४ अर्ब ८८ करोड(कर बाहेक) को अप्टिकल फाइबर बिछ्याउने जिम्मेवारी दिएको छ । टेलिकमले १, २ र ३ नम्बर प्रदेशमा अप्टिकल फाइबर बिछ्याउनेछ । टेलिकमले आफ्नो भागमा परेको क्षेत्रमा अप्टिकल फाइबर बिछ्याउन टेण्डर प्रक्रिया अघि बढाईसकेको छ । युटिएल २ अर्ब १ करोडमा प्रदेश ४ र ५ को जिम्मेवारी पाएको छ । प्रदेश ६ र ७ मा स्मार्ट टेलिकमले ३ अर्ब ९४ करोडको ठेक्का हात पारेको छ । यी तीनै कम्पनीहरुले ठेक्का पाएको २ बर्षभित्र अप्टिकल फाइबर बिछ्याईसक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । ‘टेलिकमले ठेक्का प्रक्रिया अघि बढाएको छ, अरु कम्पनीले भने काम सुरु गरिसकेको बताएका छन, ठेक्का पाएको २ बर्षमा काम सक्नुपर्ने व्यवस्था छ’, प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले भने । जिल्ला सदरमुकामहरुमा २४ वा ४८ कोरका अप्टिकल फाइबर जडान हुनेछन् । सरकारी स्कुल, उच्च मावी र माबीमा ५१२ केबिपिएस क्षमताको ब्रोडब्याण्ड इन्टरनेट सुबिधा पुर्याउन दोश्रो चरणको काम पनि अघि बढिसकेको उनले बताए । १८ वटा प्याकेजमध्ये ४० वटाको सम्झौता भैसकेको छ । ३५ वटा प्याकेजको टेण्डर डकुमेन्ट तयार भैरहेको प्रवक्ता अर्यालले जानकारी दिए । २०१६ को ग्लोबल आइसीटी इन्डेक्समा नेपाल १४२ औं स्थानमा रहेको छ । आगामी २ बर्षपछि यसमा उल्लेख्य सुधार गर्ने योजना बनेको पनि उनले बताए । ग्लोबल आइसीटी इन्डेक्समा दक्षिण कोरिया पहिलो नम्बरमा रहेको छ । अप्टिकल फाइबर बिछ्याउने काम सम्पन्न भएपछि डीजीटल नेपाल निर्माणको अभियानमा उल्लेख्य सहयोग पुग्ने पनि उनले बताए ।

चार कम्पनीको एक करोड ४२ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, क-कसको भयो ?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न चार कम्पनीका एक करोड ४२ लाख ९६ हजार ४०२ कित्ता सेयर सूचिकृत भएका छन् । नेप्सेमा शुक्रबार मात्रै ज्योति विकास बैंक, अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी, लक्ष्मी बैंक र वेष्ट्रन डेभलपमेन्ट बैंकको साधारण र बोनस सेयर गरी सो मात्राको सेयर सूचिकृत भएका हुन् । सबैभन्दा बढी लक्ष्मी बैंकको बोनस सेयर सूचिकृत भएको छ । यस बैंकको एक करोड १५ लाख ६३ हजार ६५२ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । नेप्सेले ज्योति विकास बैंकको १५ लाख ७० हजार ६३७ कित्ता सेयर सूचिकृत गराएको हो । राप्ती विकास बैंकलाई एक्वायर(प्राप्ती) गरेपश्चात यस बैंकको सो मात्राको सेयर सूचिकृत भएकोे हो । त्यस्तै, अरुण भ्याली हाइड्रोले ८ लाख ४८ हजार १९३ कित्ता र वेष्ट्रन डेभलपमेन्ट बैंकको ३ लाख १३ हजार ९२० कित्ता बोनस सेयर नेप्सेमा थपिएका छन् ।

३ महिनामा आरबीआईलाई ९४ करोड डलर बिक्री

काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनामा नेपाल राष्ट्र बैंकले अमेरिकी डलर र युरो गरी रिजर्व बैंक अफ इन्डिया (आरबीआई) लाई ९४ करोड रुपैयाँ बिक्री गरेको छ । चालु आवको असोजसम्म केन्द्रीय बैंकले ९० करोड डलर र ४ करोड रुपैयाँ युरो बिक्री गरी ९७ अर्ब ४९ करोड भारु खरिद गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ९० करोड डलर र ९ करोड ५० लाख युरो बिक्री गरी १ खर्ब ७ अर्ब ५९ करोड भारु खरिद गरेको राष्ट्र बैंकले जनाएको छ । भारतसंग भारुमा मात्र कारोबार हुने व्यवस्थाका कारण राष्ट्र बैंकले डलर बेचेर आरबीआईबाट भारु खरिद गर्दै आएको छ ।  

चुनाव लगत्तै बीपीसीको २ अर्ब ४ करोडको एफपीओ आउने, प्रतिकित्ता मूल्य ५०१ रुपैयाँ

काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले चुनावलगतै थप निष्कासन (एफपीओ) ल्याउने भएको छ । प्रति कित्ता ५०१ रुपैयाँ प्रिमियम मूल्यमा ४० लाख ८१ हजार कित्ता एफपीओ ल्याउन लागेको हो । यसअघि बीपीसीले धितोपत्र बोर्डमा प्रतिकित्ता ५१८ रुपैयाँमा एफपीओ निष्कासन गर्ने प्रस्ताव गरेकोमा परिमार्जन गरी ५०१ कायम गरिएको हो । पछिल्लो व्यवस्थाअनुसार नयाँ मूल्य प्रस्ताव गरेका बीपीसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठले बताए । उनले बोर्डले स्वीकृति दिने काम अन्तिम चरणमा पुगेकाले चुनाव सकिएलगतै एफपीओ निष्कासन थाल्ने उनले बताए । बीपीसीले २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको एफपीओ आउने भएको छ । कम्पनीले सेयर निश्कासन(अण्डर राइटर)का लागि लक्ष्मी क्यापिटल र एनएमबी क्यापिटललाई नियुक्त गरेको छ । गत आर्थिक वर्ष ०७३/०७४ मा बीपीसीले ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ । चालु आवको पहिलो त्रैमाशमा बीपीसीको नाफा २३५ प्रतिशतले बढेर ७ करोड २२ लाख रुपैयाँ पुगेको छ । बीपीसीले साढे ६६ मेगावाटका न्यादी र कावेली ए आयोजना निर्माणमा थप लगानी जुटाउन बीपीसीले प्रिमियम दरमा एफपीओ निश्कासन गर्न लागेको उनले जानकारी दिए । धितोपत्र बोर्डले उत्पादनमूलक लगायत अन्य क्षेत्रका संगठित संस्थाले पनि एफपीओ निष्कासन गर्न पाउने नीतिगत व्यवस्था गरेपछि बीपीसीले एफपीओ निष्कासन गर्न लागेको हो । सहायक कम्पनी कावेली इनर्जी लिमिटेड र न्यादी हाइड्रोपावर लिमिटेडमार्फत निर्माण हुन लागेका २ आयोजनामा बीपीसीले २ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ लगानी गर्नेछ । यी आयोजनामा हालसम्म ९५ करोड ३६ लाख रुपैयाँ लगानी भैसकेको छ । १ अर्ब ३९ करोड ५० लाख रुपैयाँ लगानी गर्न बाँकी छ ।बीपीसीले  कायम रहेको चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँबाट बढाएर २ अर्ब २२ करोड पुयाउने तयारी छ । बीपीसीले ४ मेगावटको खुदी, ९ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिम्रुक आयोजना सञ्चालन गरिरहेको छ । आउँदो ४ वर्षमा बीपीसीको जडित क्षमता ९५ मेगावाट पुग्नेछ । कम्पनीमा सरकार, युनाइटेड मिसन टु नेपाल, एनआईडीसी डेभलपमेन्ट बैंक र नेपाल विद्युत प्राधिकरणको गरी १३ प्रतिशत, सांग्रिला इनर्जी लिमिटेड र आईकेएन नेपाल एसको ७५ र सर्वसाधारण र कर्मचारीको गरी १२ प्रतिशत स्वामित्व छ ।  

एनसेलद्धारा ‘डिजिटल ज्याम’ आयोजना, कर्मचारीको डिजिटल प्रतिभालाई निखार्ने

काठमाडौं । एनसेल प्राइभेट लिमिटेड (एनसेल) ले आफ्ना सबै कर्मचारीहरुमा बिहीबार ‘डिजिटल ज्याम’कार्यक्रम आयोजना गरेको छ । कर्मचारीहरुमा डिजिटल प्रतिभाको विकास गर्दै कम्पनीको सेवालाई थप परिस्कृत तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उद्देश्यले कम्पनीले यस कार्यक्रमको आयोजना गरेको हो । आजिआटा ग्रुपको पहलअन्तर्गत आयोजित सो कार्यक्रममा एनसेलका सबै कर्मचारीले अनलाइन र अफलाइन माध्यमबाट सिक्दै डिजिटल मानसिकताको विकास र काम गर्ने नयाँ तरिकाका बारेमा परिक्षण गरे । साथै, डिजिटल टुल्सहरुको प्रयोग गर्दै मोबाइल एप, च्याटबट र वेबसाइट लगायतका विभिन्न सोलुसन्सहरु बनाएका थिए । ‘‘कनेक्टिभिटी र कम्युनिकेसन्स्ले यो विश्व द्रुतगतिमा परिवर्तन भइरहेको छ र दूरसञ्चार क्षेत्रका लागि नयाँ तरिका अवलम्बन गर्दै ग्राहकसँग निरन्तर आबद्ध रहनु, नयाँ सोलुसन्स्को विकास गर्नु र नवीन सोचाइका साथ सेवाहरुको सिर्जना गर्दै ग्राहकको जीवन सुधार्न सिक्नु बाहेक अरु कुनै विकल्प छैन,’’ आजियाटा गु्रपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृततान जमालुद्दिन इब्राहिमले भने । आजियाटाले आफ्ना कर्मचारीहरुको डिजिटल प्रतिभा विकासका अभ्यासलाई अघि बढाउन आउदो ३ वर्षमा ६० लाख अमेरिकी डलर लगानी गर्ने प्रतिवद्घता जनाएको छ । यस अन्तर्गत आजियाटाले आफ्ना सबै तहका कर्मचारीहरुको प्रतिभामा निखार ल्याउन र महत्वपूर्ण डिजिटल विकास एवं तिनीहरुको क्षमता अभिवृद्धिमा लगानी गर्ने कम्पनीले जनाएको छ ।  

नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि, बिहीबार मात्रै ६८ करोडको सेयर किनबेच

काठमाडौं । बिहीबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । बुधबार सामान्य ८ अंकले उकालो लागेको नेप्से आज(बिहीबार) १३.०३ अंकले उकालो लागेर १४९३.२९ अंकमा पुगेको छ । दोहोरो अंकले उकालो लागेको बजारमा ६८ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा करिब ३४ करोड रुपैयाँ बढी हो । अघिल्लो दिन(बुधबार)को बजारमा जम्मा ३४ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बिहीबार १६५ कम्पनीको १३ लाख ९१ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी साना किसान विकास बैंकको २१ करोड ९९ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएको छ । सो दिन यस कम्पनीको प्रमोटर सेयरको मूल्य प्रतिकित्ता ९०० रुपैयाँ रहेको छ । दोहोरो अंकले उकालो लागेको बजारमा ट्रेडिङ समूहको परिसूचक बाहेक कारोबारमा आएका बाँकी समूहको परिसूचक दोहोरो अंकले उकालो लागेका छन् । सबैभन्दा बढी हाइड्रो समूहको परिसूचक ४६ अंकले उकालो लागेको छ । त्यस्तै, सबैभन्दा बढी सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ८.६७ प्रतिशत कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले अघिल्लो दिनको तुलनामा प्रतिकित्ता १३ रुपैयाँ बढी कमाएका छन् । उता, सबैभन्दा बढी हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ३.८७ प्रतिशत गुमाएका छन् ।

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग उत्कृष्ट करदाताको रुपमा सम्मानित

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. विगत बर्षमा झै यस वर्ष पनि उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । आयकर तर्फ फाइनान्स कम्पनीहरु मध्येबाट सबैभन्दा बढी कर दाखिला गरेको र कर विभागबाट उत्कृष्ट करदाता छनौट मापदण्डको आधारमा सो संस्थालाई उक्त सम्मान प्रदान गरिएको हो । ललितपुरको आन्तरिक राजश्व कार्यालयले छैठौं राष्ट्रिय कर दिवस २०७४ को उपलक्ष्यमा सम्मान गरेको हो । संस्थाका तर्फबाट महाप्रबन्धक दिनेश लाल श्रेष्ठले उक्त पुरस्कार प्राप्त गरेका हुन् । यस संस्थाले २०७४ असोज मसान्तसम्म २ अर्ब ५२ करोड रुपैयाँ निक्षेप तथा २ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी परिचालन गरेको छ । सो अवधिमा कम्पनीले २ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले हाल जारी गरिरहेको ४० प्रतिशत हकप्रद सेयर र गत आवको बोनस सेयर वितरण पश्चात चुक्ता पूँजी ८० करोड पुग्ने फाइनान्सद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । ललितपुरको पुल्चोकमा मुख्य कार्यालय रहेको गुहेश्वरी फाइनान्सको चावहिल, हेटौडा, चारअली, विरगञ्ज, कलैया, दमक र जीतपुरमा शाखा कार्यालय रहेको छ ।

युनाईटेड मोदीले ५ करोड ७५ लाख रुपैयाँ नगद लभांश वितरण गर्ने

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावरले ५ करोड ७५ लाख रुपैयाँ नगद लभांश वितरण गर्ने भएको छ । यस हाइड्रोले चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने कर सहित सोे मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । मंसिर ७ गते बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ५ प्रतिशत नगद लभांश दिने प्रस्ताव राखेको हो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ रहेको छ ।

विद्युतीय प्रणालीमार्फत कर तिर्ने व्यवस्था हुदै, एकिकृत कर कोड पनि लागुको तयारीमा

काठमाडौं । चालु आर्थिक वर्षका लागि उठाउने लक्ष्य राखिएका राजश्वले प्रदेश र स्थानिय तहका लागि आवश्यक पुर्वाधार निर्माणका लागि नपुग्ने देखिएको छ । ७५३ तहमा भवनलगायत अन्य पुर्वाधार बनाउन ८ खर्ब २० अर्ब रुपैयाँ तत्काल बजेट आवश्यक भएको अर्थ मन्त्रालयका राजश्व सचिव शिशीरकुमार ढुङानाले बताए । उनले चालु आवमा लिएको ७ खर्ब ३० अर्ब रुपैयाँले नभ्याउने भन्दै स्थानिय पुर्वाधार निर्माणका लागि थप बजेट आवश्यक भएको बताए । नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बुधबार राजधानीमा आयोजना गरेको लगानी प्रवद्र्धनका लागि करमा सुधार विषयक छलफलमा बोल्दै सचिव ढुङानाले ५ वर्षयता करको दरमा कुनै परिवर्तन नगरेको बताए । सरकारले करको दर भन्दा दायरा बढाउन जोड दिएको भन्दै करको दर मात्र बढाउने पक्षमा सरकार नभएको उनले स्पष्टपारे । सरकार कर प्रणालीलाई सुधारेर उद्योग व्यवसायमैत्री बनाउने सरकारको योजना रहेको उनले सुनाए । अझै पनि न्युनविजिकरणको समस्या रहेको भन्दै सचिव ढुङानाले बताए । कर प्रणालीमा देखिएका समस्या समधान गर्न सरकारले एकिकृत कर कोडको तयारी गरेको छ । यस्तै कर तिर्नका लागि एबीबीए प्रणाली र विद्युतीय प्रणालीमार्फत कर तिर्ने व्यवस्था गर्न लागेको उनले सुनाए । सो अवसरमा परिसंघका अध्यक्ष हरिभक्त शर्माले अहिलेको कर प्रणालीले निकासीमैत्री उद्योग सञ्चालन गर्न कठिनाइ भएको गुनासो गरेका थिए । उनले व्यवसायीले कर ठग्ने दिन गएको बताए । कर भुक्तानीलाई सहजीकरण गरी सबै कारोबार विद्युतीय प्रणालीमार्फत गर्न उनले सुझाए । कारोबार दैनिकका सम्पादक कुवेर चालिसेले कार्यपत्र प्रस्तुत गर्दै अझै पनि न्युन बिजिकरणले भ्रष्टचारलाई बढवा दिएकाले यसलाई रोक्नु सुझाए । सरकारले राजश्व वृद्धिलाई मात्र आधार मानेको उनको आरोप थियो । आन्तरिक राजश्व विभागका उपमहानिर्देशक शंकरप्रसाद खकुरेलले कर प्रणालीमा सुधार भइरहेको बताए ।

बैंकबीच निष्क्रिय कर्जा घटाउने प्रतिष्पर्धाः सबैभन्दा कम नेपाल एसबीआई र बढी सिभिल

काठमाडौं । नाफा बढाउने प्रतिष्पर्धामा रहेका बाणिज्य बैंकहरु खराब कर्जा घटाउने प्रतिष्पर्धामा पनि कडा रुपमा उत्रिएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा सबैभन्दा कम निष्क्रिय कर्जा नेपाल एसबीआई बैंकले कायम गरेको छ । एसबीआईको निष्क्रिय कर्जा ०.१३ प्रतिशत मात्र छ । यद्यपी गत आर्थिक वर्षको असारमा बैंकको यस्तो कर्जा ०.१० प्रतिशत मात्र थियो । एसबीआईपछि कम निष्क्रिय कर्जा हुनेमा सानिमा बैंक दोश्रो नम्बरमा रहेको छ । सानिमाको निष्क्रिय कर्जा ०.१४ प्रतिशत छ । यद्यपी यसघि बैंकको यस्तो कर्जा ०.०५ प्रतिशत मात्र थियो । खराब कर्जा न्युन राख्ने प्रतिष्पर्धामा बैंकहरु लागिपरेको भएपनि अधिकांश बैंकको खराब कर्जा भने बढेकै देखिन्छ । स्ट्यान्डर्ड चाटर्ड बैंकको निष्क्रिय कर्जा ०.१८, एभरेष्ट बैंकको ०.२६, एनआईसी एसिया बैंकको निष्क्रिय कर्जा ०.२९ प्रतिशत मात्र रहेका छ । १ प्रतिशत भन्दा कम निष्क्रिय कर्जा हुने अन्य बैंकमा माछापुच्छ्रेको ०.४५,नेपाल बंगलादेशको ०.७३ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ । चालु आवको पहिलो त्रैमाशमा सबैभन्दा बढी निष्क्रिय कर्जा सिभिल बैंकको छ । सिभिलको कर्जा बढेर ४.६९ प्रतिशत पुगेको छ । गत असारमा बैंकको निक्रिय कर्जा ४ प्रतिशत मात्र थियो । ३ महिनामा बैंकको कर्जा ०.६९ प्रतिशत बढेको छ । यस्तै नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको निष्क्रिय कर्जा ४.२९ प्रतिशत छ । प्रभु बैंकको ४.२३ प्रतिशत छ । ४ प्रतिशत भन्दा बढी निष्क्रिय कर्जा हुनेमा सिभिल र एनसीसी र प्रभु बैंक मात्र छन् । यस्तै सरकारी स्वामित्वका कृषि विकास बैंकको ३.५४, राष्ट्रिय वाणिज्य बैंकको २.९२ र नेपाल बैंकको ३.४२ प्रतिशत छ । कुमारी बैंकको १.९७, लक्ष्मी बैंकको १.७८, नेपाल इन्भेष्टमेन्ट बैंककको १.०४, सिद्धार्थ बैंकको २, हिमालयन बैंकको १.२४, एनएमबी बैंकको १.६७, जनता बैंकको १.८५, नविल बैंकको १.११, सिटिजन्स बैंकको १.९९ प्रतिशत रहेको छ । यसैगरी प्राइम कमर्शियल बैंकको १.३७, मेगा बैंकको १.६७, ग्लोबल आइएमईको १.५७, सेन्चुरी बैंकको १.७०, सनराइज बैंकको १.४९ र बैंक अफ काठमाण्डुको २ प्रतिशत रहेको छ । ५ प्रतिशत बढी निष्क्रिय कर्जा भएका बैंक तथा वित्तीय संस्थालाई जोखिमयुक्त मानिन्छ । हाल सञ्चालनमा रहेका बैंकको निष्क्रिय कर्जा ५ प्रतिशत तल रहेको छ । बैंक तथा वित्तीय संस्थाको जोखिम कम हुदै गएको देखिन्छ । कर्जा दिने बेला ग्राहहको छनौट, नियमन र अनुगमन निरन्तर गर्दा निष्क्रिय कर्जा कम हुने सानिमाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहाल बताउछन् । निष्क्रिय कर्जा घटाउन बैंकलाई दवाव बढेको उनी बताउँछन् ।

नागरिक उड्डयन प्राधिकरणमा १४१ जनालाई रोजगारी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणमा १४१ जनालाई जागिर खुलेको छ । प्राधिकरणले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै बिभिन्न पदहरुमा १४१ जनाका लागि दरखास्त आव्हान गरेको हो । प्रशासन, लेखा, सिभिल इञ्जिनियरिङ, मेकानिकल इञ्जिनियरिङ, इलेक्ट्रिकल इञ्जिनियरिङ लगायतका पदमा खुल्ला तथा आरक्षित कोटामा दरखास्त आव्हान गरिएको हो । प्राधिकरणले निर्देशक देखि सहायकस्तरसम्मका लागि आगामी ३० दिनभित्र आवेदन दिन सकिने जनाएको छ ।