साेमबार बैंक अफ काठमाण्डूको १२ करोड बढीको संस्थापक सेयर कारोबार, कसले किन्यो ?
काठमाडौं । सेयर बजार घटेको दिन बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडको ठूलो परिमाणमा संस्थापक सेयर किनबेच भएको छ । बीओकेको प्रतिकित्ता २१२ रुपैयाँमा ५ लाख ९७ हजार ९१४ कित्ता सेयर किनबेच भएको छ । ब्रोकर नम्बर ३५ र ५९ मार्फत बीओकेको १२ करोड २९ लाख ४१ हजार रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ । हालै मात्र कर्मचारी संचय कोषले २५१ रुपैयाँमा ६१ लाख ५० हजार कित्ता संस्थापक सेयर किनेको थियो । बीओकेको संस्थापक सेयर अहिले घटेर प्रतिकित्ता २१२ रुपैयाँमा झरेको छ । बीओकेपछि सबैभन्दा बढी सेयर नविल बैंकको कारोबार भएको छ । नविलको प्रतिकित्ता ९९४ रुपैयाँमा ३ करोड ५६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सस्तो मूल्य र राम्रो प्रतिफल पाउने आशामा लगानीकर्ताले नविलको सेयर किन्न थालेका हुन् । केही सातायता नविलको सेयर बढी कारोबार हुदै आएको छ । सेयर बजार ६.८७ अंकले घटेपनि सोमबार ९४ करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
सेयर बजारमा एक्कासी ब्रेक, ६.८७ अंकले घट्दा ९४ करोड ९६ लाखको कारोबार
काठमाडौं । निरन्तर बढीरहेको सेयर बजार सोमबार आएर ब्रेक लागेको छ । आइतबार ४४ अंकले बढेको बजार सोमबार ६.८७ अंकले बढेको छ । बजार खुल्दा २० अंक बढेकोमा बन्द हुदाँ ६.८७ अंकले घटेको छ । सोमबार नेप्स परिसुचक १ हजार २८७ मा झरेको छ । बजार घटेपनि कारोबार रकम भने बढेर ९४ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।सोमबार सबै क्षेत्रको सेयर मूल्य घटेको छ ।
बुटवल पावरले लगानीकर्तालाई २० प्रतिशत नगद लाभांश दिने, एपफपीअाे खरिद गर्नेले पाउने
काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले सेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । जेठ ८ गते हुने कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि लाभांश वितरण गर्ने बीपीसीले जनाएको छ । साधारणसभा प्रयोजनका लागि वैशाख २७ देखि जेठ ८ गतेसम्म सेयरधनी दर्ता किताव बन्द हुने भएको छ । थप निष्कासन (एफपीओ) खरिद गर्नेले पनि लाभांश पाउने भएका छन् ।
१८० करोड लागतमा विराटनगरमा पाँचतारे द सेन्चुरियन होटल निर्माण सुरु, १ वर्षमा सञ्चालनमा आउने
काठमाडौं । प्रदेश नम्बर १ को राजधानी विराटनगरमा १ अर्ब ८० करोड रुपैयाँ लागतमा ५ तारे सेन्चुरी होटल निर्माण सुरु भएको छ । विराटनगर महानगर पालिकाको वडा न ६ मा रहने होटलमा १०८ कोठा रहने छ । होटल आउदो १ वर्षमा सञ्चालनमा ल्याउने तयारी भएको होटलका वरिष्ठ प्रवन्धक राजेश मुन्द्राले बताए । उनकाअनुसार होटल १० तले हुनेछ । यो विराटनगरमा ठुलो लगानीमा निर्माण सुरु भएको पहिलो होटल हो । भृकुटी चोकमा रहेको ७८ हजार ११७ वर्ग फिट क्षेत्रफलमा ४ वटा ब्लकनिर्माण हुनेछन् । होटल परिसरमा मुख्य होटल, सपिंग मल, रेष्टुरेन्ट, पौडी पोखरी, सभा कक्षा, ब्याङकेट हल तथा क्यासिनो, बालक्रिडा स्थल र एम्पी थिएटर लगायतका सेवा सुविधाहरु निर्माण गरिनेछन् । अहिले होटलको वातावरणिय प्रभावमूल्याङकनको काम भैरहेको मुद्राले जानकारी दिए । यसको लागि आजको १५ दिनसम्ममा प्रालीलाई राय सुझाव दिन सक्नेछन् ।
ओलीले पनि साट्न सकेनन् ५०० र १००० दरका ७ करोड भारु नोट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रतिबन्धित ५०० र १००० को भारतीय नोट साट्न सकेनन् । तीन दिने भारत भ्रमण सकेर ओली आइतबार नेपाल फर्किएका छन् । भारत भ्रमणको विषयमा परराष्ट्रमन्त्री प्रदिप ज्ञावालीले दिएको विज्ञप्तीमा भारतीय मुद्रा सटहीबारे कुनै कुरा उल्लेख गरिएको छैन । भारतले पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपालका दुई जना प्रधानमन्त्री पुष्प कमल दाहाल र शेर बहादुर देउवाले पनि नोट साट्न सकेका थिएनन् । अहिले नेपालको वित्तिय प्रणालीमा रहेको ५०० र १०० हजार दरका ७ करोड भारु साटिएको छैन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०१६ को नोभेम्बर ९ तारिखदेखि ५ सय र एक हजार दरका भारतिय नोटमाथी प्रतिबन्ध लगाएका थिए । तर पनि नेपाली प्रणालीमा रहेको ५०० र १००० दरका भारु साटिएनन् । नेपालमा एक जना व्यक्तिले २५ हजारसम्म भारतीय मुद्रा राख्न पाउने व्यवस्था छ । भुटानले भने आफ्नो प्रणालीमा रहेको भारु साटिसकेको छ । राष्ट्र बैंकका एक उच्च अधिकारीले प्रधानमन्त्री ओलीको भारत भ्रमणमा भारु सटहीलाई उच्च प्राथमिकताका दिने बताइए पनि यो विषयमा कुरा नै उठान हुन नसकेको बताइएको छ । ओलीको भारत भ्रमण अगाडी भारु सटहीको मुद्दालाई महत्वका साथ उठाउने गरि राष्ट्र बैंकले सरकारलाई ब्रिफिङ गरेको राष्ट्र बैंकले बताएको थियो । यसअघि नोट बन्दीमा परेको भारतीय मुद्रा सटहीबारे छलफल गर्न नेपाल आएको रिजर्भ बैंक अफ इण्डियाको टोलीले प्रतिव्यक्ति ४५ सय भारु साटिदिने प्रस्ताव गरेको थियो । तर नेपाल राष्ट्र बैंकले प्रतिव्यक्ति २५ हजार नै साटिदिनुपर्ने अडान राखेको थियो ।
राष्ट्रिय पुनर्निमाण प्राधिकरणको संगठन समायोजन सुरु
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालै पारित नयाँ संगठनात्मक संरचनाअनुसारको समायोजन प्रक्रिया शुरु गरेको छ । प्रधानमन्त्री एवम् प्राधिकरणको निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा चैत्र २० गते बसेको प्राधिकरण निर्देशक समितिको बैठकले विभिन्न मन्त्रालयअन्तर्गत रहेका आयोजना कार्यान्वयन इकाईहरुलाई प्राधिकरणको प्रत्यक्ष मातहत ल्याउने निर्णय गरेको थियो । आइतबार प्राधिकरणका निमित्त सचिव राजुमान मानन्धरको अध्यक्षतामा बसेको बैठकमा अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका केन्द्रीय तथा जिल्ला आयोजना कार्यान्वयन इकाईहरुको कार्यालय समायोजन तथा दरबन्दी मिलानसम्बन्धमा बृहत् छलफल भयो । ३१ वटा भूकम्प प्रभावित जिल्लामा रहने इकाईले भूकम्प प्रभावित लाभग्राहीलाई अनुदान वितरण तथा स्थानीय पूर्वाधार पुनर्निर्माणसम्बन्धी कार्यहरु गर्दछ । त्यस्तै, अर्को छुट्टै बैठकमा शिक्षाको केन्द्रीय तथा जिल्ला आयोजना कार्यान्वयन इकाइको कर्मचारी समायोजन, दरबन्दी मिलान सम्बन्धमा छलफल भएको छ । शिक्षाको एउटा केन्द्रीय र २० वटा जिल्ला आयोजना कार्यान्वयन इकाइ रहने छन् जसले विद्यालय भवनहरुको पुनर्निर्माणको काम गर्दछन् । नयाँ संगठनात्मक संरचना २०७४ चैत्र २९ बाट क्रियाशील हुनेछ । प्राधिकरणले त्यसअघि सबै कार्यालय समायोजन तथा दरबन्दी मिलानको कार्य सम्पन्न गर्ने प्राधिकरणका प्रवक्ता यमलाल भूसालले जानकारी दिए । पुरानो संरचनाबाट संचालन भइरहेको आर्थिक कारोबारलाई नयाँ संरचना अनुसार समायोजन गर्न प्राधिकरणका जनशक्ति व्यवस्थापन महाशाखाका प्रमुख कृष्णप्रसाद दवाडीको अध्यक्षतामा अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, कोष तथा लेखा नियन्त्रकको कार्यालका प्रतिनिधि एवम् प्राधिकरणका आर्थिक प्रशासन शाखा प्रमुख कमान सिंह खत्री सदस्य रहेको कार्यदल गठन भएको छ । त्यस्तै, पुनर्निर्माण सम्बन्धी ऐन, नियमावली, निर्देशिका र कार्यविधिलाई परिमार्जन गरी नयाँ संरचना अनुकूल बनाउनका लागि सुझाव पेश गर्न जनशक्ति महाशाखाका प्रमुख दवाडीकै अध्यक्षतामा प्राधिकरणका पाँचवटै महाशाखाका उपसचिव सदस्य एवम् कानून तथा फैसला कार्यान्वयन शाखाका उपसचिव सदस्य–सचिव रहने गरी अर्को कार्यदल पनि गठन गरिएको छ । यी कार्यदलहरुले विषयवस्तुको विस्तृत अध्ययन पश्चात् यथाशीघ्र प्रतिवेदन बुझाउने गरी कार्य सुरु गरिसकेको प्रवक्ता भूसालले जानकारी दिए ।
जिससका सबै स्थायी कर्मचारी सिधैं स्थानीय तहमा समायोजित हुन सामान्य प्रशासनकाे निर्देशन
काठमाडौं । जिल्ला समन्वय समितीमा कार्यरत रहेका कर्मचारीहरु सिधै स्थानीय तहमा समाहित हुन सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ । स्थानीय तहमा कर्मचारीको अभाव भएपछि समन्वय समितीको कर्मचारी सिधैं स्थानीय तहमा समायोजन गर्न लागेको हो । कर्मचारी व्यवस्थापन ऐनको दफा १४ १ अनुसार समन्वय समितीको सम्पुर्ण स्थाई कर्मचारी स्वत स्थानीय तहमा समायोजन मानिने मन्त्रालयले जनाएको छ । यसरी कर्मचारी समायोजन गर्दा जिल्लाको सबैभन्दा टाढाको दुरीमा रहेको स्थानीय तहमा खटाउनु पर्नेछ । कर्मचारी खटाएको विवरण मन्त्रालयमा समन्वय समितीले बुझाउनु पर्नेछ ।
बीमासहित सिजीमोबाइल्सले ल्यायो आकर्षक ओमेगा सिरिजको स्मार्टफोन, मुल्य १३ हजार
काठमाडौं । सिजी मोबाइल्स प्रालि चौधरी इलेक्ट्रोनिक्सको सहायक कम्पनी इलेक्ट्रोनिक्स ब्राण्डले ओमेगा सिरिजमा नयाँ आकर्षण थप गर्दै ओमेगा ८ स्मार्टफोन ल्याएको छ । स्मार्टफोनमा २.५ डी कभ्र्ड ग्लास, एन्ड्रोयड नगेट ७.० अपरेटिंग सिस्टम समावेश गरिएको छ । जसमा ५.५ इन्चको एचडी–आईपीएस डिस्प्ले रहेको छ । डिस्प्ले १८ः९ रेसियो फुल भ्यूमा छ । फोटोग्राफीका लागि फोनमा रहेको उत्कृष्ट क्यामरा मध्ये मुख्य क्यामरा १३ मेगापिक्सेलको रहेको छ । सेल्फी खिच्नका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको कम्पनीको भनाइ छ । त्यस्तै फोनमा १.३ गीगाहर्जको क्वाडकोर प्रोसेसरका साथमा २ जीबी र्र्यामले फोनमा गेम खेल्न तथा विभिन्न एप्स चलाउन सहज हुने जनाएको छ । १६ जीबीको आन्तरिक स्टोरेज (रोम) मा प्रयोगकर्ताहरुले आफूले माइक्रो एसडी कार्डको सहयोगले फोनको स्टोरेज १२८ जीबीसम्म थप गर्न सक्ने कम्पनीको भनाइ छ । कम्पनीकोअनुसार फोनमा ३ हजार एमएएचको ब्याट्री ब्याकअप रहेको छ । जीपीएस सपोर्ट गर्ने ओमेगा ८ माजी सेन्सर, फिंगरप्रिन्ट सेन्सर, प्रोक्सिमिटि सेन्सर र लाइट सेन्सर राखिएको छ । स्टेट अफ आर्टमा आधारित आकर्षक देखिने फोनलाई १८ः९ फुल भ्यू डिस्प्लेले थप सुन्दर बनाएको जनाएको छ । फोनमा फोरजी नेटवर्क कम्प्याटिबल, गुगल प्रमाणित सफ्टवेयर र फिंगरप्रिन्ट स्मार्ट लक लगायतका विशेषताहरु रहेको बताइएको छ । उक्त स्मार्टफोन ओमेगा ८ को मूल्य कम्पनीले १२ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ । कम्पनीले सेट एक वर्षको बीमासहित उपलब्ध गराएको जानकारी दिएको छ । सिजी मोबाइल्सका सर्भिस सेन्टर नेपालभर रहेको कम्पनीको भनाइ छ ।
लगानीकर्ता नविल बैंकको सेयर किन्न झुम्मिए, यस्तो छ कारण
काठमाडौं । सेयर बजार बढेपछि लगानीकर्ता नविल बैंकको सेयर किन्न झुम्मिएका छन् । आइतबार सबैभन्दा बढी नविल बैंकको कारोबार भएको छ । नविलको प्रतिकित्ता ९९९ मा ३ करोड १४ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । पछिल्लो केही सातायता नविल बैंकको सेयर बढी किनबेच भइरहेको छ । आइतबार मात्रै नविलको सेयर प्रतिकित्ता २९ रुपैयाँ बढेको छ । गत बिहीबार बैंकको सेयर मूल्य ९७० रुपैयाँ थियो । कारोबार रकम बढेसंग सेयर मूल्य पनि वृद्धि भएको हो । वित्तीय अवस्था मजवुत भएको र लगातार राम्रो प्रतिफल दिदै आएकोले आगामी वर्ष पनि यसलाई निरन्तरता दिने अनुमानका आधारमा नविलको सेयर कारोबार बढेको हो । नविलको सेयर मूल्य सस्तो हुनुका साथै आगामी दिनमा बढ्ने अनुमान गर्दै लगानीकर्ताले होल्ड गरेका हुन् । नविलको सेयर मूल्य बढ्नुमा राम्रो प्रतिफल र सस्तो सेयर मूल्य मुल कारण भएको लगानीकर्ताको भनाई छ । नविलपछि प्रभु इन्स्योरेन्स कम्पनी लिमिटडको कारोबार बढी भएको छ । प्रभुको प्रतिकित्ता ६५२ रुपैयाँमा २ करोड ६६ लाख ९६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । प्रभुले हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदनपछि सेयर किन्नेको संख्या बढेको हो कम्पनीले ३१ करोड ६६ लाख ८७ हजार रुपैयाँ बराबरको ३१ लाख ६६ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यस्तै एभरेष्ट बैंकको प्रतिकित्ता ८०७ रुपैयाँमा सेयर सेयर किनबेच भएको छ । आइतबार एभरेष्टको २ करोड ४३ लाख १५ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
लगानीकर्ताको विश्वास बढेपछि सेयर बजारमा उछाल, एकैदिन ४४ अंककको वृद्धि
काठमाडौं । लगानीकर्ताको विश्वास बढेपछि आइतबार सेयर बजारमा उछाल आएको छ । बजारमा उछाल आउदा बजार ४४ अंक बढेको छ । नेप्से परिसुचक बढेर १ हजार २९४ अंकमा पुगेको छ । आइतबा ९१ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजार बढेर साढे ५१ अंकमा पुगेको थियो । त्यसपछि घटेर २६ अंकमा सीमित भएकोमा पुनः उकालो लागेर ४४ अंकमा पुगेको छ । यो एक महिनायताको सबैभन्दा बढी कारोबार हो । आइतबार बैंक, वित्त, होटल, जलविद्युत, बीमा, उत्पानमुलक, विकास बैंक र व्यापार सबै क्षेत्रको सेयर बढेको छ । गत मंगलबारदेखि बढ्न थालेको बजार आइतबासम्म कायम रहेको छ । ४ कार्यदिनमा सेयर बजार १०१ अंकले बढेको छ । आइतबार सबैभन्दा बढी सेयर सुर्यौदय लघुवित्त वित्तीय संस्था लिमिटेड र महुली सामुदायिक लघुवित्त संस्थाको सेयर १० प्रतिशत बढेको छ । एक दर्जन कम्पनीको सेयर मूल्य न्युनतम ७ देखि १० प्रतिशतसम्म बढेको छ । बजार बढ्न थालेपछि लगानीकर्ताको विश्वास बढ्न थालेको छ । नेपाल राष्ट्र बैंकले लगानीयोग्य पुँजी बढाउन विदेशी बैंकबाट कर्जा ल्याउन खुला गरेपछि ब्याजदर घट्ने अनुमानका आधारमा बजार बढेको हो । सरकारको खर्च बढेपछि बैंकिङ प्रणालीमा तरलता बढेको छ ।
ओरेन्टल को–अपरेटिभका वचतकर्ता र अपार्टमेन्ट किन्नेलाई पैसा फिर्ता लिन बोलाइयो, वैशाख ६ गतेसम्म दावी पेश गर्नुपर्ने
काठमाडौं । ओरेन्टेल को–अपरेटिभ लिमिटेडका वचतकर्ता र अपार्टमेन्ट खदिकर्ताले रकम फिर्ता पाउने भएका छन् । समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिले सहकारीका वचतकर्ता र अपार्टमेन्ट खरिदकर्तालाई पैसा लिन बोलाएको हो । समितिको कार्यालयले बैशाख २ देखि ६ गतेसम्म सहकारीका वचतकर्ता र ओरेन्टल अपार्टमेन्ट खरिदका लागि रकम भुक्तानी गरेकालाई प्रमाणसहित माग दावी पेश गर्न भनेको छ । प्रमाणका आधारमा रकम पाउने समितिको कार्यलयले जनाएको छ । समितिले जिल्ला समन्वय समितिको कार्यालय बिराटनगर, वीरगञ्ज, ललितपुर, भक्तपुर, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढीमा प्रमाणसहित आफुले पाउनुपर्ने रकम दावी गर्न भनेको छ । मागदावी पेश गर्दा आफुले वचत रकमको निस्सा, सेयर सदस्यताको प्रमाणपत्र, अपार्टमेन्ट बुकिङ गर्दा बुझाएको रकमको निस्सा, धितो राखेको चलअचल सम्पत्तिको विवरण र नागरिकता संलग्न गर्नुपर्ने समितिले जानकारी दिएको छ । माग दावी पुष्टि नभए रकम नपाउने समितिले स्पष्टपारेको छ । गत कात्तिक २० गते ओरेन्टललाई समस्याग्रस्त सहकारी घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुत्तानी गर्न सरकारले पुस २८ गते समस्या ग्रस्ता सहकारी संस्था वा संघको व्यवस्थापन समिति गठन गरी सम्पत्तिको मूल्याँकन गरेको थियो । समितिले ओरेन्टलको काठमाडौस्थित र देशभरी रहेका कार्यालयमा विभिन्न मितिमा जम्मा गरेको वचत रकम, संस्थाका तत्कालिन सञ्चालक सुधीर वस्नेत र सञ्चालकहरुबाट समेत सञ्चालित अपार्टमेन्ट बुकिङ गर्ने बुकिङकर्ता, सेयर सदस्य र साहु, संस्थाको विभिन्न परियोजनामा लगानी गर्ने बैंक तथा वित्तीय संस्था र संस्थाले लिनुपर्ने रकम उठाउने भएको छ । अपार्टमेन्ट समस्यामा परेपछि डुबेको ओरेन्टलका तत्कालिन अध्यक्ष वस्नेत अहिले जेलमा छन् । सम्पत्ति र जायजेथा बिक्री गरेर वचतकर्ता र हाउजिङ बुकिङ गर्नेको रकम फिर्ता दिन लागेको हो । वस्नेतले ५ अर्ब रुपैयाँ भन्दा बढी रकम डुवाएका छन् ।
भाटभटेनी सुपरमार्केटको आगलागी चार घण्टापछि नियन्त्रणमा, करोडौको क्षति
बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपर मार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान ४ बजेदेखि शुरु भएको आगलागी झण्डै चार घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक केशवकुमार भट्टराइले जानकारी दिए । सुपरमार्केटको पाँचौँ तलाको इलेक्ट्रोनिक्स कक्षबाट शुरु भएको आगो क्रमशः सबैतिर फैलिएको थियो । आगलागी नियन्त्रणमा बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर, रामग्राम, कपिलवस्तु र तानसेन नगरपालिकाका दमकल र स्थानीय व्यावसायिक पानी बोक्ने ट्यांकर आगो निभाउन प्रयोग गरिएको थियो । आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । आगलागी भएको केहीबेरमा नै बुटवल उपमहानगरको दमकल घटनास्थल आए पनि भाटभटेनीका व्यवस्थापनका कर्मचारी नभेटिएपछि निकैबेर दमकलका कर्मचारी अलमलमा परेका थिए । बिहान मर्निङवाकमा निस्केका स्थानीयले भाटभटेनीमा आगोको मुस्लोदेखेपछि प्रहरीलाई खबर गरेका थिए । आगलागी बढ्दै गएपछि वरिपरिका स्थानीय बासिन्दासमेत त्रसित बनेका थिए । आगलागीबाट के–कति क्षति भयो भन्ने अहिलेसम्म कुनै तथ्यांक आएको छैन तर आगलागीबाट पाँचौ तला र चौथो तलामा रहेको इलोट्रोनिक्स सामान जलेर पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट भएको क्षतिकाबारेमा आफू बुटवल बाहिर भएकाले अहिले नै कुनै अनुमान गर्न नसकिने र आगलागीको घटना कसरी भयो भन्नेमा समेत अहिले नै भन्न नसकिने सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले बताए। सुपरमार्केट गत वर्षमात्र ९५ करोडको लागतमा सञ्चालनमा आएको हो । सञ्चालनको छोटो समयमै दैनिकरुपमै राम्रो व्यावसायिक कारोबार गर्न सफल भएको थियो । आगलागी भएपछि घटनास्थलको अवलोकन र जानकारी लिन प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गोमादेवी आचार्यलगायत त्यहाँ पुगेका थिए । मुख्यमन्त्री पोखरेललाई आगलागीको घटना र यसको नियन्त्रणका लागि भएका प्रयासका बारेमा सुरक्षा अधिकारीले जानकारी गराएका थिए । रासस
बुटवलस्थित भाटभटेनी सुपरमार्केटमा भीषण आगलागी, करोडौंको क्षति
काठमाडौं ।बुटवलस्थित भाटभटेनी सुपर मार्केटमा आइतबार बिहान भीषण आगलागी हुदा करोडौं रुपैयाँको क्षति भएको छ । बुटवल उपमहानगरपालिका ८ नम्बर वडामा पर्ने सुपरमार्केटको ५ औ तल्लाबाट सुरु भएको आगलागी अन्य तलामा पनि लागेको थियो । आगलागीबाट करोडौ रुपैयाँको क्षति भएको सुपर मार्केटका प्रमुख कार्यकारी अधिकृत पानुप्रसाद पौडेलले बताए । उनकाअनुसार आज बिहान ४ बजेदेखि आगो लागेको उनले जानकारी दिए । आगो निभाउन स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित दमकल परिचालन गरिएको छ । धुवाँको मुस्लोले बुटवलको आकास ढाकेको छ । बुटवल र भैरहवाको दमकलले आगो निभाउने प्रयास जारी राखेका हुन् । कपिलबस्तु, परासी, रामग्रामबाट थप दमकल मगाइएको छ । विद्युत सर्ट भएर आगो लागेको प्रहरीको भनाइ छ । सुपरमार्केट गत बैशाख महिनाबाट सन्चालनमा आएको हो । सुपरमार्केट ९५ करोडको लागतमा सम्पन्न गरिएको थियो ।
एनआईसी एशिया बैंकद्वारा कर्णाली प्रदेशका ८ विद्यार्थीलाई २ लाख छात्रवृत्ति
काठमाडौं । एनआईसी एशिया बैंकले कर्णाली प्रदेशका ८ जना जेहेन्दार विद्यार्थीहरुलाई रू २ लाख रकम छात्रवृत्ति वितरण गरेको छ । उक्त छात्रवृत्ति विद्यार्थीहरुको आगामी दिनको अध्ययनका लागि सहजता होस् भन्ने उद्देश्यले कालिकोट जिल्लाबाट माध्यमिक शिक्षा हासिल गरी काठमाडौंमा अध्ययनरत जेहेन्दार तथा द्वन्द पीडित विद्यार्थीहरुलाई प्रदान गरिएको हो । बैंकले मुलुकभर फैलिएको आफ्नो १९२ वटा शाखा कार्यालयहरुमार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गर्दै आईरहेको जनाएको छ । बैंकले मुलुकभरका १९२ शाखा कार्यालयहरु, १९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङमार्पmत् सेवा प्रदान गर्दै आएको छ । बैंकको अनुसार बैंकको वासलातको आकार रू १५५ अर्ब भन्दा वढी र कुल कर्जा करिब रू १०६ अर्ब पुगेको छ । कुल निक्षेप करिब रू १३० अर्ब पुगीसकेको जनाएको छ ।
झारलाङ र रिगाँउ गाविसमा स्थानीय बाटो निर्माणको लागि ३ करोड ३१ लाख वितरण
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्व खाद्य कार्यक्रमको आयोजना र वेल्ट हङ्गर लाइफको सहकार्यमा चैत्र ११ देखि १८ गतेसम्म नगद वितरण कार्यक्रमको आयोजना गरेको थियो । विशेष गरि भुकम्प प्रभावित क्षेत्रमा स्थानीय बाटो निर्माण गरेवापतको कामका लागि नगद वितरण योजना अन्तर्गत नगद भुक्तानी गरिएको हो । धादिङ जिल्लाको झारलाङ र रिगाँउ गाविसमा नगद वितरण कार्यक्रमको आयोजना गरी बैंकले २ हजार ६५० परिवारलाई ३ करोड ३१ लाख १४ हजार वितरण गरेको छ । बैंकले देखाएको यस अग्रसरताले स्थानीय विकास निर्माणको काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने विश्वास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको भनाइ छ ।
पुननिर्माण प्राधिकरणद्धारा १ खर्बभन्दा बढी खर्च
काठमाडौ । राष्ट्रिय पुनःनिर्मााण प्राधिकरणले गत फागुन मसान्तसम्म १ खर्ब १ अर्ब ६२ करोड रुपैयाँ निर्माणका क्षेत्रमा खर्च गरेको छ । अतिप्रभावित १४ जिल्ला तथा कमप्रभावित १८ जिल्लामा गरी देशका ३२ जिल्लामा भूकम्पपीडितलाई घर, विद्यालय, सम्पदा निर्माणलगायत क्षेत्रमा सो रकम खर्च गरिएको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले ती ३२ जिल्लामा करीब १ लाख १३ हजार घर निर्माण भइसकेको जानकारी दिँदै ती लाख ८४ हजार घर निर्माणका क्रममा रहेको बताए । प्राधिकरणसँग पर्याप्त रकम नभएका कारण प्रभावितलाई ३ लाख रुपैयाँ उपलब्ध गराउन नसकिएको उनले बताए । विसं २०७२ मा गएको भूकम्पबाट ७ हजार ५५३ विद्यालयमा क्षति पुगेकामा ३ हजार विद्यालय बनिसकेको र १ हजार ७०० विद्यालय बन्ने क्रममा रहेको जनाइएको छ । त्यस्तै, ७५३ सांस्कृतिक सम्पदामा नोक्सान भएकामा करीब १०० सम्पदा निर्माण भइसकेको प्राधिकरणले जनाएको छ । रासस
बिना धितो १५ लाखसम्म प्रोफेशनल कर्जा प्रदान गर्ने ओमको शाखा अब कावासोती र बर्दघाटमा
काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडको नवलपरासीको कावासोती र बर्दघाट शाखाको बिहिबार बिधिवत उद्घाटन भएको छ । कावासोती शाखा उद्घाटन कावासोती नगरपालिका मेयर चन्द्र कुमारी पुनले कुमारवती बहुमुखी क्याम्पसका बिद्यार्थीलाई बैंककोतर्फबाट प्रदान गरिने छात्रबृद्धिको घोषणा गर्दै गरेकी थिइन् । बिहिबार नैे बर्दघाट शाखा उद्घाटन बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बसेलले गरेका थिए । उनले सो अवसरमा बहुमुखी क्याम्पसका बिद्यार्थीलाई बैंककोतर्फबाट प्रदान गरिने छात्रबृद्धिको घोषणा समेत गरेका छन् । बैंकको शाखा संख्या ५२, कर्मचारी संख्या ३९९, ग्राहक संख्या करिब २ लाख ३१ हजार, एटीएम संख्या ११ रहेको जानकारी दिएको छ । ग्राहकहरुलाई निशुल्क सि–आश्वा सेवा प्रदान गरिरहेको उक्त बैंकले बिना धितो १५ लाखसम्म प्रोफेशनल कर्जा प्रदान गर्दै आईराखेको बैंकका अध्यक्ष सुशीलकुमार गोशलीले कार्यक्रममा जानकारी गराएका थिए । बैंकले फाल्गुन मसान्तसम्म १८ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरि १६ अर्ब ३२ करोड रुपैयाँ कर्जा लगानी गरेको जनाएकाे छ ।
९ हजार घुस सहित विद्युत प्रधिकरणका इन्जिनियर रत्नेश चौधरी अख्तियारको फन्दामा
काठमाडौं । नेपाल विद्युत प्राधिकरण कलैया, बारामा कार्यरत इन्जिनियर रत्नेशकुमार चौधरी ९हजार ५ सय घुस सहित अख्तियाको फन्दामा परेका छन् । मिटरको विद्युत क्षमता बढाउने पावर अपग्रेड प्रयोजनको लागि घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीलाई पक्राउ गरेको हो । अख्तियार हेटौडा मकवानपुरको टोली कलैया पुग्दा चौधरी सेवाग्रहीसँग घुस रकम लिदैं रहेको अख्तियार प्रवक्ता दीर्घराज मैैनालीले जानकारी दिए । चौधरीमाथी थप अनुसन्धान कार्य भइरहेको अख्तियारले जनाएको छ ।
हिमालय ऊर्जा विकासले १० करोडको आईपीओ ल्याउदै, धितोपत्र बोर्डमा दियो निवेदन
काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि कम्पनीले बिहीबार धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ९ करोड ९० लाख रुपैयाँ बराबरको ९ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्न कम्पनीले नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । गत चैत २४ गते सम्पन्न वार्षिक साधारणसभाले प्रस्ताव पारित गरेपछि कम्पनीले बोर्डमा निवेदन दिएको हो । कम्पनीले स्थानियबासिन्दा र सर्वसाधारणका लागि २४ करोड ७५ लाख रुपैयाँ बराबरको २४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्नछ । दोस्रो चरणमा कम्पनीले सर्वसाधारणको १५ प्रतिशत अर्थात १४ करोड ७५ लाख रुपैयाँ बराबरको १४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीमा १ हजार ४२० जना संस्थापक लगानीकर्ता छन् । हिमालयले १२ मेगावाटको उपल्लोखिम्ती र ७ मेगावाटको तल्लो खिम्ती आयोजना एकसाथ निर्माण गरिरहेको छ । १९ मेगावाट क्षमताका दुई आयोजना बनाउन ३ अर्ब १५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आउदो १५ महिनाभित्र अर्थात ०७५ चैतसम्म आयोजना सम्पन्न हुने छ । आयोजना रामेछाप र दोलखा जिल्ला भएर बग्ने खिम्ती खोलामा छ ।
यूनाईटेड इन्स्योरेन्समा कर्मचारीमाथि शोषण, राजीनामा दिएका कर्मचारीलाई बर्खास्त गर्दै जरिवाना तिराउँदै
काठमाडौं । बारम्बार विवादमा आईरहेको यूनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले कर्मचारीमाथि चरम शोषण गरिरहेको छ । कम्पनीको सार्वजनिक छवि विग्रदै जाँदा कर्मचारीको मनोबल निकै खस्किएको छ । परिणाम स्वरुप कर्मचारीहरुले भटाभट राजीनामा दिन थालेका छन् । कर्मचारीहरुले राजीनामा थेग्न गाह्रो भएपछि कम्पनी व्यवस्थापन भने दमन र शोषणमा उत्रिएको छ । राजीनामा दिएका कर्मचारीको राजीनामा स्वीकृत नगर्ने, राजीनामा दिएको तीन महिनापछि कार्यालय हाजिर नहुने कर्मचारीहरुलाई ब्रखास्त गरिएको सूचना प्रकाशित गर्ने र ४ महिनाको तलव बराबर क्षतिपूर्ति तिराउने काम गरिरहेको पीडित कर्मचारीहरुले बताएका छन् । पछिल्लो समय कम्पनीको मुख्यालयको व्यापार शाखा प्रमुख बद्री अधिकारी, पोखराका शाखा प्रबन्धक शिव सुवेदी, नारायणगाढको शाखा प्रबन्धक रामबहादुर गुरुङ, बजार अधिकृत तिर्थबहादुर गुरुङ, सर्लाही शाखा प्रबन्धक दिनेश कार्की, जनकपुर शाखा प्रबन्धक मुकेश कुमार दाहालले राजीनामा दिएका छन् । त्यस्तै, केन्द्रीय कार्यालयका लेखा अधिृकत रविरञ्जन सराफ, धनगढीका शंकर कुमार भण्डारी, बनेपाका राधाकृष्ण श्रेष्ठ, इटहरीका पूजा निरौलाले राजीनामा दिएका छन् । यसअघि केन्द्रीय कार्यालय तथा विभिन्न शाखाबाट राकेश कर्माचार्य, प्रकाश गैरे, धिरेन्द्र जोशी, हरि चौधरी, प्रविण कोइराला, टंक रेग्मी, प्रकाश पन्त, ईश्वार भट्टराईले कम्पनी छोडेर हिडेका थिए । ‘कम्पनीको व्यापार खस्केको छ, कम्पनी नोक्सानमा गएको छ, नाफा नभएकोले कर्मचारीले बोनस पनि पाएका छैनन्, कम्पनीको ब्राण्ड इमेज खत्तम छ, बजारमा विश्वास गुम्दै गएको छ । कर्मचारीलाई काम गर्न गाह्रो भएको छ । राजीनामा दिएर छोड्दा ४ महिनासम्मको तलब फिर्ता गर्नु परेको छ’ एक जना पीडित कर्मचारीले विकासन्युजसँग दुःखेसो व्यक्त गरे । ‘शिखर इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स कम्पनीका कर्मचारीले १० महिनाको तलव बराबर बोनस पाएका छन् । अरु धेरै निर्जीवन बीमा कम्पनीहरुले आफ्ना कर्मचारीलाई हरेक वर्ष ४ देखि १० महिना अवधिको तलब बराबर बोनस खुवाएका छन्’ उनी भन्छन्–‘यूनाईटेडले आर्थिक २०७१/७२ को नाफाबाट २ महिनाको तलव बराबर बोनस खुवायो । त्यसपछि कम्पनी नोक्सानमा गएको छ । त्यसअघि पनि कर्मचारीले बोनस खान पाएका छैनन् ।’ कर्मचारीप्रति निर्मम छन् सीईओ यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बराल कर्मचारीप्रति निर्मम ढंगले प्रस्तुत हुने गरेका छन् । ‘कसैले राजीमाना दियो भने राजीनमा फिर्ता लिन भन्छन् । फिर्ता लिन नमानेपछि ‘त्यरो कर्मचारीलाई करिअर ध्वस्त बनाइदिन्छु भन्छन्’, एक पीडितले भने । पीडितका अनुसार कर्मचारीले कम्पनीलाई बुझाउने कुनै पनि पत्र दर्ता नभई सीईओ बरालले हेर्छन । सीईओले दर्ता गर्न तोक लगाएपछि मात्र दर्ता हुन्छ । कर्मचारीले दिएको राजीनामा पत्र दर्ता गर्न समेत गरिदैन । राजीनामा पत्र सीईओले हेरपछि उक्त कर्मचारीका लागि सबैभन्दा अप्ठ्यारो पर्ने शाखा छानेर सरुवा गर्ने निर्णय गराउँछन् । सरुवा गरिएको ठाउँमा नगएपछि बर्खास्तीको निर्णयमा जान्छन् र कर्मचारीलाई ४ महिनासम्मको तलब जतिवाना तिराउँछन् । पीडित मध्ये एक हुन् इटहरी शाखामा काम गर्ने पुजा निरौला । उनले कम्पनीमा जागिर खाएको ४ महिनापछि राजीनामा दिईन् । तर उनको राजीनामा स्वीकृत भएन । उनलाई बर्खास्ती गर्ने निर्णय गरियो र कम्पनीलाई क्षति पुर्याएको भन्दै २ महिनामा तलब फिर्ता गर्न बाध्य गराईयो । उनी जस्तै, पीडित हुन् पोखराका शाखा प्रबन्धक शिव सुवेदी, नारायणगाढको शाखा प्रबन्धक रामबहादुर गुरुङ, बजार अधिकृत तिर्थबहादुर गुरुङ, जसले कम्पनीमा राजीनामा दिएर सुख पाएनन्, ४/४ महिनाको तबल फिर्ता दिनुपर्यो । तलब फिर्ता गर्न नमान्नेका कारण केन्द्रीय कार्यालयका बजार प्रमुख बढी अधिकारीलाई कम्पनीले सार्वजनिक रुपमा बद्नाम गराउने गरि पत्रिकामा सूचना नै प्रकाशित गरेको छ । स्रोतका अनुसार बद्रीले २०७४ माग ७ गते राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गरिएन । उनलाई नारायणगढमा सरुवा गरियो । उनी जान मानेनन् । अन्ततः कम्पनीले चैत २१ गते उनलाई ब्रखास्त गरिएको सूचना प्रकाशित गरेको छ । जनकपुरको श्रम कार्यालय र काठमाडौंको श्रम कार्यलायले श्रम ऐन २०७४ को दफा १४१ (३) अनुसार श्रमिकको राजीनामा स्वीकृत नगरिएको भन्दै कम्पनीसँग प्रष्टिकरण मागेको छ । तर कम्पनी भने श्रम कार्यालयविरुद्ध पुनरावेदनमा जाने तयारीमा रहेको छ । याे पनि पढ्नुहाेस् । चौधरी ग्रुपसँग २४ करोड नलिने भन्दै यूनाईटेड इन्स्योरेन्स सर्वोच्चमा, दोहोरो तलबमा इमान्दार बने शेखर बराल