सेयर ब्रोकर कम्पनीसंग भ्याट उठाउन महालेखाको पुनः निर्देशन
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सेयर ब्रोकरबाट मूल्य अभिवृद्धि कर (भ्याट) उठाउन निर्देशन दिएको छ ।सेयर कारोबारमा भ्याट लगाउने चर्चा चलिरहेका बेला संवैधानिक अंग महालेखाले सेयर कारोबारमा भ्याट छुटको व्यवस्था नभएको स्पष्टपारेको छ । महालेखाले बिहीबार सार्वजनिक गरेको ५५ औं वार्षिक प्रतिवेदनमा धितोपत्र मध्यस्तकर्ता सेवा प्रदान गर्ने करदाताले सेवा उपलब्ध गराए वापत प्राप्त गर्ने दलाली कमिशनमा अनुसुचिले भ्याट छुट नदिएको जानकारी गराएको छ । महालेखाले सेयर कारोबार गर्ने २५ ब्रोकर कम्पनीबाट लाग्ने १६ करोड ६२ लाख भ्याट असुल नभएको भन्दै उठाउन भनेको छ । महालेखाले धितोपत्र व्यवसायी कमिसनमा भ्याट लाग्ने स्पष्ट पारेको छ । ब्रोकर व्यवसायी भ्याट लागु गरेपछि लागत बढ्ने बताउदै आएका छन् । हाल सेयर कारोबारमा ५ प्रतिशत पुँजीगत लाभकर मात्र असुल भएको छ । भ्याट लगाएमा सेयर बजारमा असर गर्ने र लागु गर्न नुहुने दवाव बढेपछि सरकारले अहिले अघि बढाएको छैन् ।
नविल ब्यालेन्स फण्ड खारेज, लगानीकर्तालाई रकम फिर्ता दिने
काठमाडौं । नविल बैंकले प्रवद्र्धन गरेको नविल व्यालेन्स फण्ड १ खारेज हुने भएको छ । ब्यालेन्स फण्ड शुक्रबार परिपक्व भई सामूहिक लगानी कोषअनुसार खारेजीमा लैजान लागेको हो । शुक्रबारदेखि नविल व्यालेन्स फण्डका इकाईको कारोबार नहुने योजना व्यवस्थापक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ । योजना खारेज भएपछि इकाईधनीलाई लगानी फिर्ता भुक्तानी दिने बैंकले जनाएको छ । ब्यालेन्स फण्डले इकाईधनीहरुलाई ४२ प्रतिशत नगद लाभांश दिएको छ ।
सरकारले दियो घिउ तेल, मोबाइलमा ३ अर्ब ३२ करोड ५५ लाख भ्याट फिर्ता
काठमाडौं । सरकारले उपभोत्ताबाट उठाएको मूल्य अभिवृद्धि कर (भ्याट) उद्योगलाई छुट दिएको छ । १ वर्षमा सरकारले घिउतेल र मोवाइलमा ३ अर्ब ३२ करोड ५५ लाख बराबरको मूल्य अभिवृद्धि करको छुट गरेको छ । सरकारले घिउ तेल, मोबाइल र कुटनितिक नियोगलाई गरी सो रकमको कर छुट दिइएको हो । सबैभन्दा धेरै कर छुट घिउ तेलमा २ अर्ब ४२ करोड रुपैयाँ छुट दिएको छ भने मोबाइलमा ८९ करोड २७ लाख छुट दिएको छ । त्यसैगरी कुटनितिक नियोगलाई ८१ लाख मूल्य अभिवृद्धि कर छुट दिएको छ । महालेखा परिक्षकको अनुसार हाल इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी नब्बर लिनुपर्ने अवस्थामा पनि मोबाइलको मूल्य अभिवृद्धि कर फिर्ता दिने विषयमा पुनरावलोकन गर्नुपर्ने जनाएको छ ।
तरलता संकटको बचाउ गर्दै अर्थमन्त्री खतिवडाले भनेः आन्तरिक निक्षेपले मात्र पुग्दैन, लगानी बढाउन विदेशबाट कर्जा ल्याउनुपर्छ
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आन्तरिक निक्षेपले मात्र कर्जाको माग नधान्ने भन्दै विदेशबाट ऋण ल्याउनु पर्ने बताएका छन् । निक्षेप परिचालनको तुलनामा कर्जाको माग बढी भएकाले बैंकिङ प्रणालीमा तरलताको संकट देखिएको भन्दै उनले आन्तरिक निक्षेपले मात्र कर्जाको माग नधान्ने उनले स्पष्टपारेका छन् । “तरलताको समस्या बढेपछि ब्याजदर माथि गएको हो” उनले भने आन्तरिक वचतले मात्र अब पुग्दैन । अब बाहिरबाट ऋण ल्याउनुपर्छ ।” गत वर्षदेखि बाहिर आएको लगानीयोग्य पुँजीको समस्या यो वर्ष पनि दोहरिएपछि आन्तरिक वचतले मात्र बैंकलाई लगानी गर्न नपुग्ने निष्कर्षमा अर्थमन्त्री पुगेका हुन् । राष्ट्र बैंकले व्यवस्थापन गर्न नसक्दा बजारमा तरलताको संकट देखिएको आरोप गभर्नर डा. चिरन्जीवि नेपालमाथि लाग्दै आएको छ । नेपाल राष्ट्र बैंकले विदेशबाट कर्जा ल्याउन वाणिज्य बैंकले खुला गरिसकेको उनले जानकारी दिए । विदेशबाट लगानी ल्याउन अभैm १,२ वटा काम गर्न बाँकी रहेको उनले सुनाए । नेपाल उद्योग वाणिज्य महासंघको ५२ औ वार्षिक साधारणसभामा व्यवसायीको जिज्ञाशालाई मेट्दै उनले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी ल्याउन सुझाए । “तपाईहरु जति छिटो बैदेशिक लगानी ल्याउनु हुन्छ त्यति नै सरकारले सहजीकरण गरिदिने छ” उनले भने । सरकार आन्तरिक ऋणले मात्र नपुग्ने भएपछि वैदेशिक ऋण बढी ल्याउने तयारीमा रहेको उनले जानकारी दिए । चालु आर्थिक वर्षको ७ महिनामा बैंकहरुले निक्षेप परिचालन भन्दा कर्जा लगानी १ खर्ब रुपैयाँ बढी गरेकाले आन्तरिक बचतले नपुग्ने देखिएको हो । निक्षेप सुस्त गतिमा र कर्जाको माग अधिक बढेकाले अहिले बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव देखिएको हो । बैंकिङ प्रणालीमा २७ अर्ब रुपैयाँ हारहारीमा अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । अधिकाँश बैंकको प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७८ प्रतिशत रहेपछि लगानी गर्न सकेका छैनन् । एनएमबी बैंक र एनआईसी एसिया बैंकले विदेशबाट ऋण ल्याउनका लागि राष्ट्र बैंकमा निवेदन दिएका छन् ।गत फागुन मसान्तमा वार्षिक विन्दुगत आधारमा १३ प्रतिशतले विस्तार भएको निक्षेप भन्दा कर्जा वृद्धिदर १७.४ प्रतिशत रहेबाट वित्तीय स्थिति कसिलो रहेको देखिएको राष्ट्र बैंकले जनाएको छ ।
नवीकरणीय ऊर्जा प्रविधिमा दिइने अनुदानमा लक्षित लाभान्वित थपिँदै
काठमाडौं । नेपालमा नवीकरणीय ऊर्जा प्रविधिहरुको प्रवद्र्धनका लागि नेपाल सरकारले नवीकरणीय ऊर्जा अनुदान नीतिअनुसार अनुदान उपलव्ध गराउदै आएको छ । २०७३ साल मंसिरमा परिमार्जित यस नीतिले लघु तथा साना जलविद्युत, सोलार, वायोग्यांस, फलामे सुधारीएको चुलो, वायु ऊर्जा, सुधारीएको पानी घट्टाका साथै सोलार मिनिग्रिड, सोलार र वायु मिश्रीत प्रणाली, जैविक फोहोरबाट ऊर्जा उत्पादनमा अनुदान दिने व्यवस्था गरेको बताइएको छ । नवीकरणीय ऊर्जाका प्रविधिहरुमा लक्षित लाभान्वित वर्ग जस्तै वालवालिका समेत पालन पोषण गर्नुपर्ने घरमुली महिला, भुकम्पबाट पिडित, लोपोन्मुख आदिवासी जनजाति तथा दलित लगायतका लागि समेत थप अनुदानको व्यवस्था गरिएको नेपाल सरकार ऊर्जा, जलस्रोत वैकल्पिक ऊर्जाले जानकारी दिएको छ ।
आयात र विदेशी लगानीको लाभांश भुक्तानीले मुलुक २४ अर्ब ७३ करोड घाटामा
काठमाडौं । आयात तथा विदेशी लगानीको लाभाशं भुक्तानीमा भएको उच्च वृद्धिका कारण मुलक झण्डै २५ अर्ब रुपैयाँ घाटामा गएको छ । अघिल्लो वर्षको ८ महिनामा चालु खाता ६ अर्ब ३१ करोडले घाटामा रहेकोमा समीक्षा अवधिमा भारी विस्तार भई १ खर्ब ५३ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा आयात तथा विदेशी लगानीको लाभाशं भुक्तानीमा भएको उच्च वृद्धिका कारण चालू खाता उल्लेख्य घाटामा भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आयात र लाभांशले गर्दा अघिल्लो वर्षको ८ महिनामा ५० अर्ब २ करोड रुपैयाँले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा २४ अर्ब ७३ करोड रुपैयाँ घाटामा रहेको छ । चालु आवमा विभिन्न एक दजर्न विदेशी लगानीमा सञ्चालित कम्पनीले ३३ अर्ब रुपैयाँ बढी लाभांश विदेश लगेका छन् । सबैभन्दा बढी लाभांश विदेश लैजानेमा मोवाइल सेवा प्रदायक एनसेल प्राइभेट लिमिटेड रहेको छ । समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह झण्डै दोब्बर बढेर १४ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ८ अर्ब ३५ करोड रुपैयाँ थियो । विदेशी विनिमय सञ्चिति पनि घट्यो गत असार मसान्तको तुलनमा फागुनमा विदेशी विनिमय संचिति पनि २.८ प्रतिशत कमी आएको छ । गत असारमा १० खर्ब ७९ अर्ब ४३ करोड रुपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति फागुन मसान्तमा कमी आई १० खर्ब ४९ अर्ब २२ करोड रुपैयाँमा सीमित भएको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.७ प्रतिशत छ । आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.१ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
लगानीकर्तालाई तान्यो नविल बैंकको संस्थापक सेयरले : बिहीबार सबैभन्दा बढी कारोबार, यस्तो छ कारण
काठमाडौं । सेयर बजार उतारचढाव आइरहेका बेला लगानीकतालाई नविल बैंकको संस्थापक सेयरले तानेको छ ।बिहीबार नविल बैंकको संस्थापक सेयर सबैभन्दा बढी कारोबार भएको छ । नविलको सेयर प्रतिकित्ता ८०४ रुपैयाँमा ३१ हजार २०८ कित्ता सेयर किनबेच भएको छ । बिहीबार नविलको मात्रै २ करोड ४६ लाख ६० हजार रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ । बुधबारको तुलनमा बिहीबार नविलको संस्थापक सेयर प्रतिकित्ता १४ रुपैयाँ बढेको छ । बुधबार नविलको संस्थापक सेयर प्रतिकित्ता ७९० रुपैयाँमा किनबेच भएको थियो । बुधबार नविलको ३ करोड ५१ लाख रुपैयाँमा किनबेच भएको थियो । नविलको सेयर सस्तो भएपछि सबैभन्दा खरिद भएको हो । नविलको वित्तीय अवस्था राम्रो भएको र प्रतिफल पनि आर्कष हुने देखिएपछि लगानीकर्ताको आँखा संस्थापक सेयरमा गएको हो । यस्तै ओम डेभलपमेन्टको सेयर सस्तो भएपछि बढी सेयर खरिद भएको छ । बिहीबार ओमको प्रतिकित्ता १८३ रुपैयाँमा कारोबार भएको छ । बजार ४ अंक बढ्यो बिहीबार सेयर बजार ४ अंकले बढेर नेप्से परिसुचक १ हजार २७७ अंकमा पुगेको छ । बिहीबार कारोबारमा सुधार आई ४४ करोड ३० लाख रुपैयाँको सेयर किनबेच भएको छ । बुधबार २८ करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । बहीबार बैंक र वित्तको सेयर मूल्य घटेको छ ।
९ कम्पनीको ३ करोड १० लाख कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत, अब कारोबार हुने
काठमाडौं । विभिन्न ९ कम्पनीको बोनस र हकप्रद सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भएको छ । ९ कम्पनीको ३ अर्ब १० करोड ४४ लाख रुपैयाँ बराबरको ३ करोड १० लाख ४४ हजार २२९ कित्ता रुपैयाँ बराबरको हकप्रद सेयर सुचिकृत भएको हो । जसअनुसार सनराइज बैंकको १ करोड ६ लाख ३३ हजार ७६८, जानकी फाइनान्स कम्पनी लिमिटेडको ६ लाख १५ हजार ३४६, अपी पावर कम्पनी लिमिटेडको ८ लाख ४० हजार कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो । यस्तै तिनाउ डेभलपमेन्ट बैंकको ४ लाख ६० हजार ८४९, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १० लाख, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख २० हजार ३०४ कित्ता हकप्रद, नागवेली लघुवित्त विकास बैंकको २ लाख ४० हजार, प्राइम कमर्शियल बैंकको १ करोड ७० लाख ७८ हजार ६६६ र सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड ४७ हजार २५० कित्ता बोनस सेयर सुचिकृत भएको हो ।
आक्रामक बन्दै अख्तियार, भ्रष्ट्राचार गरेको आरोपमा २६० जना पक्राउ, १० अर्ब ४६ करोड भ्रष्ट्राचार गरेको ठहर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो ९ महिनामा विभिन्न क्षेत्रमा कार्यरत २६० जना सरकारी कर्मचारीलाई भ्रष्ट्राचारको आरोपमा प्रक्राउ गरेको छ । भ्रष्टाचार गर्नेहरुमा कर्मचारीहरुमा खरिदारदेखि नायाब सुब्बा, अधिकृत, उपसचिव, सचिवसम्म रहेको अख्तियारले जनाएको छ । पक्राउ परेका २६० जना मध्ये अधिकांश निजामति कर्मचारी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता दीर्घराज मैनालीले बताए । ‘अख्तियारले आफ्नो मिसनलाई सुरो बनाएर अघि बढाएको छ, प्रक्राउ गरिएका व्यक्तिहरु ९० प्रतिशत भन्दा बढी निजामति कर्मचारी रहेका छन्, उपसचिवदेखी कार्यालय सहयोगी समेत घुस रकम लिदादिदैं पक्राउ परेका छन्, नजिकबाट यिनीहरुको गतिविधि नियालिरहेका छौं,’ मैनालीले विकासन्युजसँग भने । पक्राउ परेका व्यक्तिहरु मध्येबाट १० अर्ब ४६ करोड बिगो माग अख्तियारले उनी विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायार गरेको छ । पक्राउ पर्ने कुनै पनि व्यक्ति उम्कन नसक्ने प्रवक्ता मैनालीले बताए । गत चैत २६ गते बुढानिलकण्ठ नगरपालिका कार्यलय, काठमाडौंका उपसचिव प्रमुख प्रशासकिय अधिकृत लिला अधिकारी र इन्जिनियर विरेन्द्र श्रेष्ठ ५ लाख घुस सहित पक्राउ परे । गोप्य स्रोतका अनुसार उनीहरु पहिलेदेखि नै भ्रष्टाचार गर्दै आएको र पछिल्लो समय नगरपालिका वडा नं २ बाँडेपाखामा रिजर्भ वायर पानी ट्याङकी निर्माण कार्य सम्पन्न गरे पश्चात कार्य अनुभव पत्र दिलाइदिने भन्दै निर्माणकर्तासँग घुस मागिरहेका थिए । उनीहरु घुस लिनको लागि काठमाडौं वडा नं ३ मा निर्माणकर्तालाई बोलाएका थिए । यसरी रकम लिदाँलिदै उनीहरु पक्राउ परे । यो एउटा उदाहरण घटना मात्र हो तर यस्ता घटना दिनहु हुने गरेको अख्तियारका एक अधिकृत बताउछन् । पक्राउ पर्नेमा नेपाल प्रहरीका जवानदेखि प्रहरी निरीक्षक समेत रहेका छन् । सीमावर्ती क्षेत्रमा भारतीय गाडी छुटाइदिने भन्दै २५ हजार घुस लिदाँलिदै सुनसरीमा कार्यरत शसस्त्र प्रहरी निरीक्षक काले बम्जन लामा सहित ठाकुर खत्री र नविन खड्का पक्राउ परे । यस्तैगरी यातायात व्यवस्था कार्यलय सुकेधाराका कार्यलय प्रमुख उपसचिव सुन्दर भट्टराई शाखा अधिकृत यामलाल ढकाल र नायब सुब्बा यादव पौडेल विरुद्ध चैत ६ गते भ्रष्टाचारको मुद्दा दर्ता गरिएको छ । उनीहरु बिरुद्ध ८५५ जनाको विदेशी सवारी चालक अनुमति पत्र नेपालीकरण गरेको अभियोग लगाइएको छ । उनीहरु विरुद्ध ५ लाख बराबरको बिगो दाबी सहित कैदको माग गरी मुद्दा दायार गरिएको छ । त्यस्तै, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, विभिन्न संस्थान तथा नगरपालिकाका कर्मचारी समेत भ्रष्ट्राचारमा तानिएका छन् । अख्तियारको आखाँ अब स्थानीय तहमा अख्तियारले ७ सय ५३ नै वटा स्थानीय तहमा कर्मचारी खटाइसकेको जनाएको छ । नेपालको संविधान २०७२ को भाग २१ को धारा २३८ देखि २३९ सम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कतव्र्य र अधिकारबारे उल्लेख गरिएको छ । संघीयतामा अख्तियार केन्द्रबाटै सञ्चालन हुनेछ । संविधानको धारा २३९ को उपधारा ६ अनुसार अधिकृत सरह खटिएको कर्मचारीलाई अधिकार प्रत्यायोजन गरी कुनै क्षेत्रमा खटाउन सक्छ । स्थानीय तहमा हुन सक्ने भ्रष्टाचार रोक्न अख्तियारले सम्पूर्ण तयारी गरिसकेको प्रवक्ता मैनालीले बताए । सन् २०१७ को ट्रान्फरेन्सी इन्टरनेश्नल भ्रष्ट्राचारको सूचिमा नेपाल ३१ अंक प्राप्त गर्दै १२२ औं स्थानमा रहेको छ । यो विगतको वर्ष भन्दा ९ स्थान सुधार हो । दक्षिण एसियामा भुटान सबैभन्दा कम भ्रष्ट्राचार हुने मुलुक हो भने अफगानस्थान सबैभन्दा धेरै भ्रष्ट्राचार हुने देश हो ।
जोशी र शुभम् हाईड्रोपावरले पाए ५ करोड ७१ लाखको आईपीओ निष्कासन गर्न अनुमति, कहिले आउछ ? हेर्नुस
काठमाडौं । दुई जलविद्युत कम्पनीले ५ करोड ७१ लाख रुपैयाँको साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले बुधबार जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई ३ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको ३ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशतका दरले आईपीओ निष्कासन गर्न बोर्डबाट स्वीकृती पाएका हुन् । यस्तै शुभम् पावर कम्पनी लिमिटेडलाई २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता निष्कासनका लागि अनुमति दिएको हो । जोशीको सिद्धार्थ क्यापिटल लिमिटेड र शुभम्को सीबीआईएल क्यापिटल लिमिटेडले आईपीओ निष्कासन गर्नेछन् । हालसम्म १५ कम्पनीले आईपीओ र थप निष्कासन (एफपीओ) गरी १५ कम्पनीले २ अर्ब ६६ करोड ९० लाख रुपैयाँको अनुमति पाएका छन् ।
बुधबार सनराइज बैंकको १ करोड ६ लाख कित्ता शेयर नेप्सेमा सूचिकरण
काठमाडौं । सनराइज बैंक लिमिटेडको पौष ३ गते सम्पन्न दशौ बार्षिक साधारण सभाबाट पारित विशेष प्रस्ताव बमोजिम शेयरधनीहरुलाई वितरण गरिएको १५ प्रतिशतका दरले हुने १ करोड ६ लाख ३३ हजार ७६८ कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको चैत २८ गतेको निर्णयानुसार सूचिकरण भएको छ । उक्त बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब १५ करोड भन्दा बढी भएको बैंकले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको बाणिज्य बैंकहरुलाई न्यूनतम चुक्ता पूँजी रु. ८ अर्ब पुर्याउन निर्देशन भए अनुसार बैंकले गत आब २०७३/०७४ को मुनाफाबाट बोनस शेयर जारी गरी नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिमको समय सिमा भित्र तोके बमोजिमको चुक्ता पूँजी पुर्याउन सक्षम भएको बताएको छ ।
नक्कली स्टीकर प्रयोग गरी राजश्व छल्ने ११ वटा मदिरा कम्पनी बन्द, अरु कम्पनीमाथि पनि अनुसन्धान शुरु
काठमाडौं । उत्पादित मदिरामा अन्तुल्कको नक्कली स्टीकर प्रयोग गर्ने ११ वटा कम्पनीलाई आन्तरिक राजश्व विभागले बन्द गरिदिएको छ । यसरी बन्द गरिएका कम्पनीहरु मध्ये अधिकांश तराई क्षेत्रमा सञ्चालित रहेको पाइएको छ । आन्तरिक राजश्व विभागका महानिर्देशक किशोर जंङ कार्कीका अनुसार झापा जिल्लामा रहेको विनर लिकर्स, भोलेबाब डिस्ट्रलरी, सुनसरीस्थित पूर्वाञ्चल डिस्ट्रलरी, धनुषाको नारायणी डिस्ट्रलरी र सांग्रिला डिस्ट्रलरी, सर्लाहीको अभिनव डिस्ट्रीलरीले आफ्ना उत्पादनमा नक्कली स्टीकर प्रयोग गरि बिक्री वितरण गर्दै आएको पाईएको छ । त्यस्तै, काभ्रेको शिखर डिस्ट्रलरी, रौतहतको एभरेष्ट डिस्ट्रलरी, धादिङको रसुवा डिस्ट्रलरी, रुपन्देहीको सुनछहारी डिस्ट्रलरी र दोभान डिस्ट्रलरीले पनि नक्कली स्टीकर प्रयोग गरी राजश्व छलेको पाइएको छ । ती सबै कम्पनीमाथि छानविन भईरहेको कार्कीले बताए । ‘११ वटै उद्योग बन्द गरिएको छ र उनीहरुको कारोबारमाथि सुस्म छानविन भइरहेको छ’ कार्कीले भने–‘११ वटा मध्ये एउटा उद्योगले अरु कम्पनीको अडरमा उनीहरुकै ब्राण्ड उत्पादन गर्ने र त्यसमा नक्कली स्टीकर लगाएर बजारमा पठाउने गरेको पाइएको छ ।’ अनुसन्धानका क्रममा बन्द गरिएको कम्पनीहरु कानुन बमोजिम जरिवाना तिरेपछि पुन सञ्चालनमा आउन सक्ने उनले बताए । विभागका महानिर्देशक कार्कीले अन्तशुल्कको नक्कली स्टीकर कारोबारीको सञ्जाल माथि गम्भिर रुपमा अनुसन्धान भईरहेको बताए । ‘नक्कली स्टीकर कसले बनायो ? कसले बनाउने आदेश दियो ? कसले ल्यायो ? क–कसले प्रयोग गरिरहेका छन् ? सबै पक्षको अनुसन्धान भईरहेको छ’ कार्कीले भने–‘अनुसन्धानमा सम्बन्धित क्षेत्रका कर कार्यालय प्रमुख, तोकिएका कर अधिकृतहरुले काम गरिरहेको छन् । आवश्यकता अनुसार नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान व्यूरोको सहयोग लिईरहेका छौं ।’ नक्कली स्टीकर आयात गर्ने समूहका केही व्यक्तिलाई पक्राउ गरी उनीहरुमाथि अनुसन्धान भईरहेको उनले बताए । मदिरा उत्पादन गर्ने अन्य कम्पनीहरुले पनि नक्कली स्टीकर प्रयोग गरेको हुन सक्ने आशंका गरिएको र बजारमा सुस्म अध्ययन तथा निगरानी बढाईएको उनले जानकारी दिए ।
महालक्ष्मी विकास बैंकको साधारणसभा बैंशाख २१ मा, २३ करोड ७० लाख नगद लाभांश बाँड्ने
काठमाडौं । महालक्ष्मी विकास बैंकको १६ औं वार्षिक साधारणसभा बैशाख २१ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ९ प्रतिशत अर्थात २३ करोड ७० लाख ४१ हजार रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । संस्थापक सेयरधनीका तर्फबाट ३ र सर्वसाधारणबाट ३ गरी ६ जना सञ्चालक समितिको निर्वाचन गर्ने कार्यक्रम रहेको बैंकले जनाएको छ । यस्तै सञ्चालकको बैठकभक्ता र सुविधा वृद्धिको प्रस्ताव सभामा पेश हुने छ । बैंक अन्य कुनै बैंकसंग एकआपसमा गाभिने वा प्राप्तिका लागि उपर्यत बैंक तथा वित्तीय संस्थाको पहिचान गरी सहमतिपत्रमा हस्ताक्षर गर्न सोका आधारमा सहमतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने प्रस्ताव सभामा पेश हुने छ । यस्तै चलअचल सम्पत्ति दायित्व र कारोबार मूल्याँकन (डीडीए) नियुत्तः गर्न र प्राप्ती र एकआपसमा गाभिन प्रयोजनका लागि निर्णय लिन सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ ।
एनआईसी एशिया बैंक र आईएफसीबीच दीर्घकालीन कर्जा सम्झौतापत्र आदानप्रदान, लगानी बढ्ने
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड तथा आईएफसीबीच दीर्घकालीन कर्जा लिने दिने सम्बनधमा कर्जा सम्झौता पत्र आदान प्रदान गरिएको छ । उक्त कर्जा सम्झौतापत्र आदान प्रदान समारोहमा बैंककोतर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा आईएफसीकातर्फबाट संस्थाका आवासीय प्रतिनिधि रोहन रशिद सहभागी भएको जनाइएको छ । दीर्घकालीन कर्जा सापट लिनको लागि बैंकले नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृतिको लागि आवेदन गरिसकेको छ । बैंकको अनुसार देशमा विद्यमान तरलताको अभावको अवस्था तथा शोधनान्तर खातामा परेको उच्च चाप जस्ता कारणलहरुले स्वदेशी बजारबाट पर्याप्त स्रोत परिचालन गरी सरकारले निर्दिष्ट गरेको आर्थिक वृद्धि हासिल गर्न आजको आवश्यकता छ । चाहिने कर्जाको मागलाई पूर्ति गर्न नसकिने वातावरणलाई मध्यनजर गर्दै बैंकले अन्तर्राष्ट्रिय बैंक तथा विक्तीय संस्थाबाट दीर्घकालीन कर्जा लिने सम्बन्धमा पहल गरेको जानकारी गराएको छ । उक्त कर्जा वापत प्राप्त हुने रकम बैंकले आईएफसी तथा नियमकारी निकाय नेपाल राष्ट्र बैंकले तोकेको क्षेत्रमा लगानी गर्ने । त्यस क्षेत्रमा लगानी बृद्धि हुनाले देशको आर्थिक वृद्धिमा सकरात्मक प्राभाव पर्ने बैंकले विश्वास लिएको छ । हाल बैंकले १९२ शाखा कार्यालयहरु, १९५ एटीएम, ४ एक्स्टेन्सन काउनटर एवं ४ वटा शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
बीपीसीको लाभांशमा लगानीकर्ता लोभिए, मंगलबार सबैभन्दा बढी सेयर कारोबार
काठमाडौं । सेयर बजार घटेपनि मंगलबार लगानीकर्ता बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) को लाभांशमा लोभिएका छन् । बीपीसीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २० प्रतिशतका दरले नगद लाभांश दिने घोषणा गरेपछि लगानीकर्ताको आकर्षण बढेको हो । मंगलबार बीपीसीको प्रतिकित्ता ४६१ रुपैयाँमा १ करोड ३६ लाख ८९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बीपीसीको २९ हजार ८०० कित्ता सेयर किनबेच भएको छ । कम्पनीलको सेयर मूल्य घटेर थप निष्कासन (एफपीओ) भन्दा कम भएको छ । बीपीसीले प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ बिक्री गरेको थियो । ५०१ रुपैयाँमा एफपीओ किन्ने लगानीकर्ताले २० रुपैयाँ नगद लाभांश पाउने छन् । सोमबारको तुलनमा मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ रुपैयाँ घटेको छ । एफपीओ निष्कासन गर्नुअघि कम्पनीको सेयर बढेर प्रतिकित्ता ७ सय रुपैयाँ कटेको थियो । पछि विस्तारै घट्न थालेको हो । चीनबाट २ खर्ब रुपैयाँ वैदेशिक लगानी ल्याएर ५ वर्षमा १ हजार मेगावाट थप बिजुली उत्पादनको योजना ल्याएपछि बीपीसको सेयर मूल्य उकालो लागेको थियो । नगद लाभांश दिने प्रस्ताव पारित गर्न बीपीसीले जेठ ८ गते वार्षिक साधारणसभा बोलाएको छ । वार्षिक साधारणसभाबाट पारित भएपछि लाभांश वितरण गर्ने बीपीसीले जनाएको छ । साधारणसभा प्रयोजनका लागि वैशाख २७ देखि जेठ ८ गतेसम्म सेयरधनी दर्ता किताव बन्द हुने भएको छ ।
लगानीकर्ताको विश्वास गुम्दा सेयर बजार साढे १७ अंक घटेयो
काठमाडौं । लगानीकर्ताले विश्वास गुमाउदा मंगलबार पनि सेयर बजार साढे १७ अंकले घटेको छ । केही दिनदेखि लगातार बढेको सेयर बजार सोमबारदेखि लागेको ब्रेक मंगलबार पनि निरन्तर रहेको छ । २ दिनमा बजार झण्डै २४ अंकले घटेको छ । नेप्से परिसुचकमा पनि गिरावट आई १ हजार २७० अंकमा झरेको छ । मंगलबार बैंक, वित्त, होटल, जलविद्युत, बीमा, उत्पादनमुलक र लघुवित्तलगायत सबै क्षेत्रको सेयर मूल्यमा गिरावट आएको छ । बजार घटेपछि करोबार रकम घटेर ३४ करोड ९० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोमबार बजार घटेपनि ९४ करोड ९० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
कर तिर्न अटेर चर्चित व्यवसायीहरूकाे नाम सार्वजनिक, ३३६ कम्पनीका बैंक खाता र सरकारी सुविधा बन्द गरिने
काठमाडौं । सरकारी ढुकुटी रित्तिएपछि अर्थ मन्त्रालय र राजश्व प्रशासन कर असुलीतर्फ अाक्रामक रूपमा अगाडि बढेकाे छ । डा युवराज खतिवडा अर्थमन्त्री लगत्तै भन्सार नाकामा कडार्इ गरेकाे अर्थ मन्त्रालयले बाँकी बक्याैता असुलीलार्इ पनि जाेड दिएकाे छ । अर्थमन्त्री खतिवडाले अब राजश्व प्रशासन इमान्दार बन्ने बताउँदै व्यवसायीलार्इ पनि इमान्दार बन्न अाग्रह गरेका छन् । सरकारले ३० जना सचिव सरूवा गर्दा मन्त्री खतिवडाले राजश्व प्रशासनमा लामाे समय काम गरेका अनुभवी सचिवहरू राजन खनाल र शिशिर ढुंगानालार्इ अर्थ मन्त्रालयमा राखेकाे छन् । मंगलबार आन्तरिक राजस्व कार्यालय क्षेत्र न २ ले मुल्य अभिवृद्धि कर, अाय कर लगायतका कर बक्याैता रहेका २५ ठूला संस्था तथा व्यक्तिरहित ३३६ कम्पनीलार्इ बाँकी बक्याैता तिर्न सावर्जनिक सूचना प्रकाशित गरेकाे छ । आयकर र मुल्य अभिवृद्धि कर नर्तिने ३३६ वटा कम्पनीलाई कर तिर्न पत्र र टेलिफोन गर्दा समेत कुनै प्रतिक्रिया नआएपछि राजस्व कार्यलयले सार्वजनिक सूचना प्रकाशित गरेकाे उक्त कर कार्यालयका कर अधिकृत कपिल नेपालले बताए । ‘३३६ वटै कम्पनीले बक्यौता रकम तिरेका छैनन, १५ दिन भित्र कर तिर्न कम्पनीहरुलाई समय दिएका छौं, यदि तिरिसकेको अवस्था छ भने सोको प्रमाणपत्र समेत तोकिएको मितिमा कार्यालमा पेश गर्नुपर्छ’, अधिकृत नेपालले विकासन्युजसँग भने । समय अवधि भित्र नतिर्नेलाई कानूनी प्रक्रिया अघि बढ्ने उनले बताए । कर नतिरेमा कर नतिर्ने कम्पनीहरुलाई बैंक खाता बन्द गर्ने, आयात निर्यातमा रोक लगाउने, कम्पनीको नाममा रहेको जिन्सी सामाग्री लिलामी गर्ने तयारी कर कार्यालयले गरेकाे उनले बताए । कर नर्तिनेहरुमा खाद्य संस्थान, चीनीयाँ हाइड्रो कर्पोरेशन, एनजेएस कन्सल्टायन्टस, शर्मा युनाइटेड विल्डर्स, दिवा निर्माण जेभी लगायत ३३६ वटा कम्पनी रहेको छ । त्यसमा चर्चित व्यवसायीहरू अरुण कुमार चौंधरी, राहुल अग्रवाल,ओम बहादुर राजभण्डारी, सुकुन्त लाल हिराचन, किरण कुमार मुडभरी, मेघा अग्रवाल, सुभेन्द्र कुमार राजभण्डारी, भवानीराज पाण्डे, प्रकाश रुद्र श्रेष्ठ, संजिव गोयल, लाल बहादुर तामाङ, भुवनेश्वर पन्त, किसुन ध्वज कार्की, शिवेक अग्रवाल, सुनिता बोहरा, भवानी तुलाधर, महेश कमार गुप्ता, रजनी तुलाधर, मशमविर प्रसाद अग्रवाल, विवेक शर्मा, नरेन्द्र कुमार श्रेष्ठ, देवी बहादुर श्रेष्ठ, श्रीराज सिंह शहर्जन, संजय चमडिया लगायतकाे नाम सार्वजनिक गरिएकाे छ । यसमध्ये खाद्य संथानले १५ करोड आयकर तिरेको छैन भने चीनीयाँ सिनोहाइड्रो कम्पनीले १५ लाख मुल्य अभिवृद्धि कर तिरेको छैन । ३३६ वटा कम्पनीबाट अर्बौ रकम उठन बाकीँ रहेको राजस्व कार्यालयले जनाएको छ ।
विद्युत प्राधिकरणले जग्गा विवाद नमिलाउदा तामाकोसी पाँचौको डीपीआर काम प्रभावित
काठमाडौं । जग्गा मुआब्जाको विषयलाई लिएर स्थानीयबासिन्दाले अवरोध गरेपछि प्रस्तावित १०२ मेगावाटको तामाकोसी पाँचौ जलविद्युत आयोजनाको विस्तृत अध्ययनको काम रोकिएको छ । नेपाल विद्युत प्राधिकरणले तामाकोसी जलविद्युत कम्पनी लिमिटेडमार्फत निर्माण अघि बढाएको सो आयोजनामा जग्गाको मुआब्जाको विषयमा कुरा नमिलेपछि स्थानीयबासिन्दाले परामर्शदाता ल्याह्मेयर इन्टरनेसनलाई विस्तृत अध्ययनको काम अघि बढाउन दिएका छैनन् । स्थानीयको अवरोध भएपछि ल्याह्मेयरले काम गर्न पाएको छैन् । विद्युत प्राधिकरणले नै स्थानीय समस्या समधान गर्न ढिलाइ गरेको छ । आयोजनामा अवरोध आएको अयोजना प्रमुख नसिवमान प्रधानले बताए । उनले जग्गा विवादको काम मिलाउन लागि परेको बताए । उनले ५ महिनामा डीपीआर तयारी भई निर्माणका लागि बोलपत्र डकुमेन्टको काम सुरु हुने जानकारी दिए । परामर्शदाताले भुगर्भको बारेमा जानकारी लिनका लागि खन्नुपर्ने १७० मिटर अडिट सुरुङको काम पनि प्रभावित भएको छ । यता विगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले स्थानीयकासिन्दाको अवरोधले आयोजनाको अध्ययन रोकिएको बताउदै सहमतिको प्रयास गरिने बताए । “म यो समस्याको समधान गरिदिने थिए, तर आयोजना सम्बद्ध कसैले पनि भन्न आएको छैन” उनले भने उनीहरु नआएसम्म मैले कसरी मिलाउने ?”उनले स्थानीको समस्या चाँडै समधान हुने प्रतिवद्धता जनाए । ९६ मेगावाट जडित क्षमताको आयोजनामा ५ मेगावाटको क्याप्टिभ प्लाण्ट जडान गरेर १०२ मेगावाट पुर्याइएको छ । निर्माणधिन माथिल्लो तामाकोसी आयोजनाको पानी टेलेरेसबाट सिधै सुरुङमा लैजाने योजना छ । आयोजनामा बाँध बनाउनु पर्दैन । आगामी वर्ष सुरु गरी सन् २०२३ मा सम्पन्न गर्ने लक्ष्य रहेको प्रधानले सुनाए । आयोजनाको अनुमानित लागत १५ अर्ब रुपैयाँ रहेको छ । आयोजनामा अपरतामाकोसी हाइड्रोपावर लिमिटेडले पनि सेयर लगानी गर्ने भएको छ । आयोजना निर्माणका लागि आवश्यक रकम जुटाउने काम भइरहेको प्रधानले जानकारी दिए । उनकाअनुसार जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलगायत विभिन्न बैंकसंग छलफल भइरहेको उनले बताए ।
प्रिमियर इन्सोरेन्सले ६ करोड ९५ लाख बोनस शेयर जारी गर्यो, अब चुक्ता पूँजी ५८ करोड ४० लाख पुग्ने
काठमाडौं । सोमबार प्रिमियर इन्स्योरेनस कम्पनीको २४ औं वार्षिक साधारण सभा नक्साल व्याङ्क्वेट, नक्सालको सभा कक्षमा सम्पन्न भएको छ । कम्पनीको गएको आर्थिक वर्ष २०७३/७४ मा कुल बीमा शुल्क १ अर्ब ३४ करोड ८८ लाख २१ हजार रुपैयाँ आर्जन गरि खुद मुनाफा रु १५ करोड ५८ लाख आर्जन गरेको जनाएको छ । उक्त मुनाफाबाट बीमा कोषमा रु ७ करोड ७९ लाख सारी बाँकी रकम तथा गत आर्थिक वर्षसम्मको वितरण नभएको जगेडा समावेश गरि हाल हकप्रद शेयर जारी पश्चात कामय चुक्ता पूँजीको १३.५२ प्रतिशतका दरले रु ६ करोड ९५ लाख रकम बराबरको बोन शेयर जारी गरेको छ । साथै बोनश शेयरको कर प्रयोजनको लागि ३६ लाख ५९हजार ७४९ रुपैयाँ नगद लाभांशको व्यवस्था साधारण सभाबाट पारित भएको कम्पनीले जानकारी गराएको छ । कम्पनीको अनुसार सो जारी बोनस शेयर पश्चात कम्पनीको चुक्ता पूँजी रु ५८ करोड ४० लाख पुग्नेछ । साथै कम्पनीले चालु आर्थिक वर्ष २०७४/७५ मा हालसम्म १ अर्ब १० करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको कम्पनीको भनाइ छ ।
ग्लोबल आईएमई र नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ७० करोडको म्युचअल फण्ड बजारमा ल्याउदै
काठमाडौं । दुई वाणिज्य बैंकले १ अर्ब ७० करोड रुपैयाँ बराबरको १७ करोड एकाई सामूहिक लगानी कोष (म्युचअल फण्ड) निष्कासन गर्न लागेका छन् । ग्लोबल आईएमई बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड कित्ता ग्लोबल आईएमई व्यालेन्स फण्ड १ र नेपाल इन्भेष्टमेन्ट बैंकले ५० करोड रुपैयाँ बराबरको ५ करो एकाईको एनआईबीएल सहभागिता फण्ड निष्कासन गर्न लागेका छन् । म्युचअल फण्ड निष्कासन गर्न दुबै बैंकले धितोपत्र बोर्डमा निवेदन दिएका छन् । बैंकको प्रस्तावको अध्ययन भइरहेको बोर्डले जानकारी दिएको छ । दुई कम्पनीले प्रति इकाई १० रुपैयाँका दरले कुल १७ करोड इकाई निष्कासन गर्ने प्रक्रिया अघि बढाएका हुन् । बोर्डले अनुमति दिए पश्चात बजारमा यी दुई कम्पनीले म्यूचल फण्डको बिक्री गर्ने छन् । ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ ग्लोबल आइएमई क्यापिटल लिमिटेड र एनआइबिएल सहभागिता फण्ड एनआईबिएल क्यापिटल लिमिटेडले जारी गर्नेछन् । बैंकको ब्याजदर बढेको र ऋण पनि नपाउने अवस्था आएपछि ठुला लगानीकर्ताले लगानी गर्न नसक्दा एनआईसी एसिया बैंकले १ अर्ब रुपैयाँको एनआईसी एसिया ग्रोथ फण्ड बिक्री नभएपछि समय थप गरिएको थियो । यस्तै सिटिजन्स बैंकले ल्याएको १ अर्ब रुपैयाँको फण्ड पनि बिक्री भएन । चालु आर्थिक वर्षमा सिद्धार्थ इक्विटी फण्ड, सानिमा इक्विटी फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड र सिटिजन म्यूचल फण्ड १ ले म्यूचल फण्ड निष्काशन गर्ने बोर्डको अनुमति पाई बिक्री पनि गरिसकेका छन् । बजारमा सिद्धार्थ इक्विटी फण्ड र सानिमा इक्विटी फण्डले बिक्रीमा ल्याएको म्यूचल फण्डको सजिलै बिक्री भएको थियो ।