विद्युत प्राधिकरणले किन्यो विद्युतिय गाडी, के कुलमान घिसिङले चढ्लान् ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले महिन्द्राको ई२० प्लस विद्युतिय गाडी खरिद गरेको छ । प्राधिकरणले अग्नि इनर्जी मार्फत विद्युतिय गाडी खरिद गरेको हो । प्राधिकरणका उप प्रबन्धक राजिव शर्माले हरियाली तथा स्वच्छ भविष्यको लागि डिजेल र पेट्रोलबाट चल्ने गाडिहरुलाई निरुत्साहित गर्ने योजना अनुसार विद्युतिय सवारी खरिद गरेको बताए । नेपालमा हालसम्म ४० भन्दा बढी ई२० गाडी गैर सरकारी संस्थाहरुले प्रयोग गर्दै आएका छन् । यसलाई एक पटक पूरा चार्ज गरेपछि १४० किलोमिटरसम्म ८५ किलोमिटर प्रति घण्टाको दरमा कुद्न सक्छ । अब प्रश्न उठ्छ, लोडसेडिङ घटाएर चर्चाको शिखरमा पुगेका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ई२० प्लस विद्युतिय कार चढ्लान् त ? प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार ई२० कारको मूल्य २८ लाख रुपैंयाँ परेको छ । १३ युनिट विद्युतले सो कार फुल चार्ज हुनेछ । सो कार प्राधिकरणको इञ्जिनियरिङ निर्देशनालयको आयोजना विकास विभागका अधिकारीले चढ्नेछन् । प्राधिकरणले हालसम्म रत्नपार्कमा चार्जिङ स्टेशन निर्माण गरिसकेको छ । पहिलो विद्युतिय सवारी सधान खरिद गरेको प्राधिकरणले अब त्यस्ता सवारी साधनहरुको खरिदलाई बढाउँदै लैजाने पनि प्रवक्ता अधिकारीले जानकारी दिए ।

सिटिजन्स बैंकको नाफा १०० करोड

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको नाफा १०० करोड पुगेको छ । २०७४ चैत मसान्तमा ८८ करोड नाफा कमाएको बैंकले २०७५ चैतमा १२ करोडले बढाएर १०० करोड पुर्याएको हो । बैंकले ५५ अर्ब निक्षेपलाई पनि बढाएर ६० अर्ब पुर्याएको छ । बैंकको खुद ब्याज आम्दानी एक अर्ब ४६ करोड पुगेको छ । बैंक राइट ब्याकबाट ४० करोड प्राप्त गरेको छ भने २४ करोड प्रोभिजन गरेको छ । बैंकको खराब कर्जा १.४६ प्रतिशत छ भने स्प्रेड दर ३.७४ प्रतिशत रहेको छ । बैंकको आधार ब्याजदर भने ११.१५ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी १६.७६ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १२९.५६ रुपैंयाँ रहेको छ ।

सिद्धार्थ बैंकले नौं महिनामा कमायो एक अर्ब २२ करोड नाफा

काठमाडौं । सिद्धार्थ बैंकले ९ महिनामा आफ्नो नाफा २८.४२ प्रतिशतले बढाएर एक अर्ब २२ करोड पुर्याएको छ । २०७४ चैत मसान्तसम्ममा ९५ करोड नाफा कमाएको बैंकले २०७५ चैतमा २५ करोड रुपैंयाँ बढाएको हो । सिद्धार्थले ७५ अर्बमा रहेको निक्षेपलाई बढाएर ८९ अर्ब पुर्याएको छ भने खुद ब्याज आम्दानी पनि एक अर्ब ८६ करोडबाट बढाएर २ अर्ब २० करोड पुर्याएको देखिन्छ । बैंकले ३८ करोेड प्रोभिजन गर्दा २६ करोड राइट ब्याक प्राप्त गरेको छ । १.७१ प्रतिशतमा रहेको खराब कर्जालाई पनि घटाएर १.३१ प्रतिशतमा झारेको छ । बैंकको स्प्रेड दर ३.६८ प्रतिशत कायम छ भने सिसिडी रेसियो ७८.१० प्रतिशत रहेको छ । बैंकको आधार ब्याजदर ११.३० प्रतिशत रहेको छ । सिद्धार्थ बैंकको प्रति सेयर आम्दानी २०.५२ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १४४.९५ रुपैंयाँ रहेको छ ।

सिटी एक्सप्रेस फाइनान्सको साधारणसभा बैंशाख ३१ मा, २५ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं। सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको १२ औं वार्षिक साधारणसभा बैंशाख ३१ गते हुने भएको छ । साधारणसभाले चुक्तापुँजी बढाउन १६७ प्रतिशत हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्ने छ । कम्पनीले १ सय रुपैयाँ अंकित दरका २५ करोड रुपैयाँ बराबरको २५ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । यस्तै जारी पुँजी पनि वृद्धि गर्ने प्रस्ताव सभाले अनुमोदन गर्ने कार्यक्रम रहेकाे छ ।

एभरेष्ट बैंकको नाफा १ अर्ब ८० करोड, ३ महिनामा १ अर्ब बढी ब्याज आम्दानी

  काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा एभरेष्ट बैंकको नाफा बढेको छ । गत चैतसम्म बैंकले १ अर्ब ८० करोड ३४ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५२ करोड ५८ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको ९ महिनाको वित्तीय विवरणमा नाफा, कर्जा लगानी र निक्षेप परिचालनमा वृद्धि भएको बैंकले जनाएको छ । बैंकको खराब कर्जा घटेर ०.२३ प्रतिशतमा सीमित भएको छ । गत पुसमा २५ प्रतिशत थियो । यस्तै निक्षेप लागत ५.३९, कर्जा र निक्षेपबीचको अन्तर (स्प्रेड) दर ४.७५ र आधार व्याजदर ८.१८ प्रतिशत छ । कर्जा निक्षेपअनुपात (सीडी रेसियो) ७५.६५ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी बढेर २९.७६ रुपैयाँ पुगेको छ । गत पुसमा २८.४१ प्रतिशत थियो । समीक्षा अवधिमा बैंकले ३ अर्ब २५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत पुसमा २ अर्ब ९ करोड रुपैयाँ थियो । ३ महिनामा बैंकले १ अर्ब रुपैयाँ बढी ब्याज आम्दानी गरेको छ । समीक्षा अवधिम बैंकको निक्षेप बढेर १ खर्ब ६ अर्ब ९४ करोड रुपैयाँ गरेको छ । गत पुसमा १ खर्ब ३ अर्ब २९ करोड रुपैयाँ छ । यस्तै कर्जा लगानी विस्तार भई ८८ अर्ब १७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत पुसमा बैंकले ८४ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको बैंकले जनाएको छ ।

११ कम्पनीको ६ करोड ३६ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, सबैभन्दा बढी बोनस सेयर

काठमाडौं । बिहीबार मात्रै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न बैंक तथा वित्तीय संस्थाको कुल ६ करोड ३६ लाख ३ हजार १३१ कित्ता सेयर सूचिकृत भएको छ । नेप्सेमा एकैदिन ११ वटा वित्तीय संस्थाको बोनस र हकप्रद गरी सो मात्राको सेयर थपिएका हुन् । सो मध्ये सबैभन्दा बढी बोनस सेयर सूचिकृत भएका छन् । उक्त दिन ८ कम्पनीको ४ करोड ६५ लाख ६३ हजार २८० कित्ता सेयर सूचिकृत भएका छन् । त्यस्तै, बाँकी ३ कम्पनीको एक करोड ७० लाख ३९ हजार ८५१ कित्ता हकप्रद सेयर थपिएका छन् । सबैभन्दा बढी एभरेष्ट बैंकको एक करोड ९९ लाख कित्ता थपिएको छ । त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकको एक करोड ८ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । सेयर सूचिकृत गर्ने ११ कम्पनी:

२०७५ सालमा सेयर बजारलाई ग्रीन सिग्नल, लगानीकर्ता भन्छन्- अब सुनौला दिन आउँछन्

काठमाडौं । नयाँ वर्ष सुरु भएपछि सेयर बजारमा सकरात्मक संकेत देखापरेको छ ।  गत वर्षको चैतसम्म बजार निरन्तर घट्दै गएर लगानीकर्तामा निराशा देखापरेकोमा बैशाख लागेपछि बजारमा सुधारको संकेत देखिएको छ । कारोबार भएको ५ दिनमा सेयर बजार १११ अंकले बढेको छ । गत बिहीबार सेयर बजार घटेर १ हजार २७७ अंकमा रहेकोमा बढेर १ हजार ३८८ अंक पुगेको छ । आइतबारदेखि सुरु भएको वृद्धि बिहीबारसम्म कायम रहेको छ । सेयर बजार बढ्ने संकेत देखिएको लगानीकर्ताको भनाई छ । बजारमा लगानीयोग्य पुँजीमा केही सुधार हुनुका साथै नेपाल राष्ट्र बैंकले विदेशी बैंकबाट लगानी ल्याउन वाणिज्य बैंकलाई खुला गरेपछि यसको सकरात्मक प्रभाव बजारमा परेको सेयर लगानीकर्ता छोटेलाल रौनियार बताउछन् । आगामी दिनमा बैंक ब्याजदरमा पनि गिरावट आउने भएकाले ठुला लगानीकर्ताको प्रवेश भएपछि बजारले अझ गति लिने उनको तर्क छ । लगानीकर्तामा रहेको मार्जिन कलको ह्याङ हट्नुका साथै कम्पनीको वित्तीय विवरण धमाधम आउने क्रममा रहेको आगामी दिनमा सुधार हुने देखिने उनको तर्क छ । मार्जिन कलको ह्याङ ३ महिनालाई हटेको उनको भनाई छ । यस्तै ब्रोकर सेमीअटोमेसनमा गएको र आउदो ३ महिनामा सेयर बजार अनलाईनमा जाने भएकाले आगामी दिन सेयर बजारका लागि सुनौलो दिन भएको उनको भनाई छ । पछिल्लो समयमा नेप्से परिसूचकमा भएको वृद्धिसंगै कारोबार रकम पनि बढेर १ अर्ब १२ करोडको रुपैयाँसम्म पुगेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको सेयरबजार प्रतिको नकरात्मक टिप्पणीले पनि बजार घटाउन सहयोग पुगेको लगानीकर्ताको भनाई छ । सेयर बजारलाई अनुत्पादक भनेपछि बजारमा भारी गिरावट आएको थियो । यता बैंकसंग लगानीयोग्य पुँजी नभएपछि ब्याजदर बढेर १५ प्रतिशत पुगेको छ ।

नारायणगढ-मुग्लिन सडकको साँघुरो ठाउँमा रड एङ्करिङ, सडक फराकिलो हुने

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको साँघुरो १२३ मिटर क्षेत्रमा रड एङ्करिङ गरेर सडक फराकिलो बनाउन थालिएकोे छ । मुग्लिन नजिकको सो क्षेत्रमा यसअघि भित्तो काट्ने वा क्यान्टिलिभर राख्ने भन्ने विषयमा लामो समय बहस भएको थियो । काम सम्पन्न गर्नुपर्ने समय नजिँकिदै गर्दा ठेकेदार कम्पनी रड एङ्करिङ गर्ने कुरामा सहमत भएपछि काम शुरु भएको हो । नारायणगढ-मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट १.५ किलोमिटर नारायणगढतर्फ २ नम्बर र ३ नम्बर पुलको बीचमा नौ ठाउँमा गरी १२३ मिटर सडक साँघुरो रहेको छ । ती ठाउँमा सातदेखि आठ मिटरमात्रै सडक चौडा छ । साँघुरो सडक भएको ठाउँमा सेफ्टी बेल्ट बाँधेर सडकमुनि भिरको चट्टानमा ड्रिल गरेर रड घुसाउन थालिएकोे छ । २५ एमएम र ३२ एमएम मोटाइका रड ड्रिल गरेर एकदेखि दुई मिटर भित्र छिराएपछि सोही रडमा थप रड बाँधेर वाल उठाइँदैछ । यसरी उठाउँदा एकदेखि १.५ मिटरसम्म सडक फराकिलो बनाउन सकिने उनले बताए । फराकिलोको आधारमा पाँचदेखि आठ मिटर तलबाट वाल उठाइँदैछ । तीन सय मिटर लामो सडकका ठाउँठाउँमा गरी १२३ मिटर सडक साँघुरोे छ । बीस मिटर सडकमा ड्रिल गर्ने काम सम्पन्न भइसकेको छ भने अन्य ठाउँमा ड्रिल हुँदैछ । सो सडकको नारायणगढबाट १६ किलोमिटरसम्म ११ मिटर चौडा र त्यसपछि मुग्लिनसम्म नौ मिटर चौडा सडक बनाइँदैछ । ३३.२ किलोमिटर लामो उक्त सडकखण्डको हालसम्म ३० किलोमिटर सडक कालोपत्रे भएको र अन्य क्षेत्रको भित्तो काट्ने काम पनि सम्पन्न भएको छ । हालसम्म समग्रमा सडकको ९० प्रतिशत काम सम्पन्न भएको इञ्जिनियर खनालले बताए । उनका अनुसार ड्रिल गरेर फराकिलो बनाइँदै गरेको क्षेत्रबाहेक अन्यत्र वैशाख १५ सम्ममा कालोपत्रे गरी सक्ने लक्ष्य राखिएको छ । सो सडकको नारायणगढबाट मुग्लिनतर्फको पहिलो खण्ड १० मे २०१८, दोस्रो खण्ड २० मे २०१८ र तेस्रो खण्ड ३० मे २०१८ सम्म काम सक्नु पर्ने छ । हालसम्म पहिलो खण्डको ८८ प्रतिशत, दोस्रो खण्डको ९६ प्रतिशत र तेस्रो खण्डको ८१ प्रतिशत सम्पन्न भइसकेको छ । सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी सो सडक ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म वर्षात् बढी भएका कारण समय थप गरिँदै आएको थियो । रासस

छिनछिनमै बिजुली जान्छ, के यो लोडसेडिङको संकेत हो ? प्राधिकरणका प्रवक्ता भन्छन्- होइन

काठमाडौं । छिनछिनमै बिद्युत काटिन थालेपछि नागरिकमा फेरी लोडसेडिङको त्रास उत्पन्न भएको छ । केहि दिनदेखि दैनिक पाँच/सात पटक बिजुली जाने/आउने क्रम प्रक्रिया जारी छ । के यो लोड सेडिङको संकेत हो ? भन्ने प्रश्नको जवाफमा नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी भन्छन,‘होइन् ।’ उनले चैत बैशाख महिनामा हावा हुरीले विद्युत प्रसारणलाइनमा समस्या उत्पन्न गरेकाले छिनछिनमै विद्युत जाने र आउने क्रम बढेको बताए । ‘लोडसेडिङ हुँदैन्, हावा हुरीले समस्या आएको हो, हामी उचित व्यवस्थापन गरिरहेका छौं’, प्राधिकरणका प्रवक्ता अधिकारीले भने । ढल्केबर देखि हेटौडासम्मको विद्युत प्रसारणलाइनमा अधिक समस्या देखिएको उनले बताए । सो प्रसारणलाइनले १९० मेगावाट विद्युत बोक्ने क्षमता राख्छ । हावा हुरीले विद्युतका पोल ढाल्ने क्रम नरोकिएकाले केहि समस्या देखिएको उनले स्वीकार गरे । उनले विद्युत लाइन ट्रिपिङको समस्या पनि देखिएको बताए । विद्युतको भाषामा उर्जाको मात्रामा हुने घटबढको मात्रालाई ट्रिपिङ भनिन्छ । विद्युत उत्पादन र आयातमा कुनै समस्या नरहेको पनि उनले स्पष्टीकरण दिए । हाल आन्तरिक उत्पादन र भारतबाट आयात गरेर १०५० मेगावाट विद्युतको आपुर्ति भैरहेको छ । भारतबाट ४५० मेगावाटसम्म विद्युत आपुर्ति भैरहेको छ । विद्युतको माग भने १२५० मेगावाट रहेको छ । वितरण प्रणालीमा गरिएको व्यवस्थापनका कारण नागरिकले लोडसेडिङ व्यहोर्नु नपर्ने अधिकारले बताए ।

गोकर्ण बिष्ट भन्छन्- अब खाडीमा भेडा चराउन धाउनु पर्दैन

गुल्मी । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले अब युवाहरुले खाडी मुलुकमा भेडा चराउन धाउनु नपर्ने बताएका छन् । गुल्मीको मुसीकोट नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले भने, “अब युवा खाडीमा भेडा चराउन जानु पर्दैन ।” उनले देशमै पर्याप्त रोजगारीको अवसर सृजना गर्न दावी गर्दै भने,“गाउँमै हजारौं रोजगारी सिर्जना गरी युवालाई देशमै लगाउँछौँ, खाडीमा भेडा चराउन जानु पर्दैन ।” मन्त्री विष्टले चुनावको समयमा आफूहरुले बोलेको कुरा पूरा गर्नबाट पछाडि नहट्ने धारणा पनि राखे । “हामीले बोल्दै जाने, बिर्सँदै जाने होइन, हामीले बोलेका कुरा, केन्द्र, प्रदेश र स्थानीय सरकारमार्फत पूरा गर्नेछौँ” उनले भने, “अबको केही वर्षमा हामी अरुले दिएको खाने होइन, गरीब देशलाई सहयोग गर्न सक्ने बन्नेछौँ ।”

कालिका पावर कम्पनीले १२ करोडको आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डमा दियो निवेदन

काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित कालिका पावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा बुधबार निवेदन दिएको छ । बोर्डबाट स्वीकृति पाएपछि कालिकाले आईपीओ निष्कासन गर्नेछ । कालिकाले आईपीओ निष्कासन गर्न काठमाडौं क्यापिटल मार्केटस लिमिटेड र ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रवन्धक नियुक्त गरेको छ । यसअघि कालिकाले गत माघ २१ देखि आयोजना प्रभावित स्थानीयबासिन्दालाई छुट्टाएको १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपीओ निष्कासन गरिसकेको छ । निजी क्षेत्रको कालिका ग्रुपबाट प्रवद्र्धित आयोजनाको उत्पादन लागत प्रति मेगावाट २३ करोड १२ लाख रुपैयाँ छ । आयोजनाको प्रतिमेगावाट लागत अन्य आयोजनाको तुलनामा बढेको छ । कम्पनीले ६ मेगावाट क्षमताको दरौदी ए जलविद्युत आयोजना निर्माण गरी हाल सञ्चालनमा ल्याएको छ । कम्पनीमा संस्थापकको ४२ करोड, ६ करोड आयोजना प्रभावित र १२ करोड रुपैयाँ सर्वसाधारणका लागि हुने गरी लगानी संरचना तयार पारिएको छ । जसअनुसार सर्वसाधारणको १८ करोड स्वामित्व हुने छ ।

विश्व बैंकको निश्कर्षः वामपन्थी बजेटले आर्थिक तथा मौद्रिक क्षेत्रमा समस्या

काठमाडौं । विश्व बैंकले बामपन्थी सरकारहरुले ल्याएका बजेटहरुले नेपालको आर्थिक तथा मौद्रिक क्षेत्रमा समस्या आएको निष्कर्ष निकालेको छ । विश्व बैंकले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै केपी ओली नेतृत्वको सरकार र प्रचण्ड नेतृत्वको सरकारले ल्याएको बजेटकै कारण आर्थिक तथा वित्तिय क्षेत्रमा वेथितीहरु देखा परेको निष्कर्ष निकालेको हो । हाल कार्यान्वयनमा रहेको बजेट माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले ल्याएका हुन भने गत आर्थिक बर्षको बजेट एमाले नेता विष्णु पौडेलले तयार पारेका थिए । सो भन्दा अगाडीको बजेट भने काँग्रेस नेता डा. रामशरण महतले ल्याएका थिए । विश्व बैंकले यस अघिका तीन वटा बजेटले आर्थिक तथा वित्तिय क्षेत्रलाई सहि ढंगले सम्बोधन गर्न नसकेको दावी गरेको हो । विकास साझेदार विश्व बैंकले नेपालको विकास अद्यावधिक प्रतिवेदन सार्वजनिक गर्दै अवास्तविक तरिकाले बजेट निर्माण हुदा बैंकिङ क्षेत्रमा तरलताको संकट र समग्र आर्थिक क्षेत्रमा नकरात्मक प्रभाव पारेको बैंकले औल्याएको हो । बैंकका वरिष्ठ अर्थशास्त्री दामिर कोशिकले सन् २०१५ यता बजेट तयारीमा वेथिती रहेको भन्दै अवास्तविक तवरले बजेट निर्माण भएको औल्याएको छ । ३ वर्षयता बनेका सबै बजेटमा उनले प्रश्न गरेका छन् । मुलुकको ढिकुटी रित्तियो भनेर आर्थिक श्वेतपत्र जारी गरेका डा. खतिवडा आफै सहभागी भएर बनाएको बजेटको कारण बैंकमा तरलताको संकट आएको हो । अव्यवस्थित ढंगले बजेट तर्जुमा गर्दा बजारमा लगानीयोग्य पुँजीको अभाव हुन पुगेको र त्यसको असर ब्याजदरमा पर्दा उत्पादन लागत महंगियएको अर्थशास्त्री कोसिकको भनाई छ । कोसिकले खर्च गर्नका नाममा सरकारले महंगो ब्याजदरमा आन्तरिक ऋण उठाउन वाध्य भएको बताए ।  

राष्ट्र बैंकमा जागिर मोहः १५१ जनाको कोटामा ५६ हजार आवेदन, ४ करोड राजश्व, कहिले हुन्छ परीक्षा ?

काठमाडौं । राष्ट्र बैंकको १ सय ५१ जनाको विज्ञापनमा ५६ हजार ५ सय ६१ जनाको आवेदन परेको छ । राष्ट्र बैंकले ३ तहको लागि खुलाएको विज्ञापनमा ठुलो संख्यामा दरखास्त परेको हो । बैंकले २ महिनाअघि खुलाएको असिस्टेन्ट सहयकमा ९६ जना, अफिसर तृतिय ४५ जना र अफिसरमा १० जना माग गरी विज्ञापन गरेको थियो । असिस्टेन्ट सहायकमा सबैभन्दा धेरै ४३ हजार ६ सय ६६ जनाले आवेदन दिएका छन् । त्यस्तै अधिकृत तृतिया तर्फ ४ हजार ३२ जनाले आवेदन दिएका छन् । त्यसैगरी अफिसरमा १ हजार १ सय ४४ जनाको आवेदन परेको छ । आवेदन दिएकामध्ये ७ हजार ६ सय ४८ जनाले परिक्षा दिन नपाउने भएका छन् । बैंकका निर्देशक गुरु पौडेलका अनुसार आवश्यक कागजपत्र नपुगेपछि उनीहरुले परिक्षा दिन नपाउने भएका हुन् । यसरी आवेदन रद्ध गरिएका व्यक्तिहरुलाई मोबाइलमा सूचना जाने निर्देशक पौडेलले जानकारी दिए । बैंकले आवेदन दस्तुरबाट मात्रै ४ करोड रुपैयाँ राजस्व उठाएको छ । बैंकका अनुसार परिक्षा सञ्चालन गर्न बैंकले लोकसेवालाई १५ दिनअघि पत्र काटिसकेको छ । लोकसेवाले नै अब परिक्षा सञ्चालन गर्ने निर्देशक पौडेलले बताए ।

युनाइटेड इन्स्योरेन्समा लगानीकर्ता झुम्मिदा सबैभन्दा बढी सेयर कारोबार, यस्तो छ कारण

काठमाडौं । सेयर बजार बढेपछि यूनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर किन्न लगानीकर्ता झुम्मिएका छन । कम्पनीले चुक्तापुँजी बढाउन २४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएपछि लगानीकर्ता सेयर किन्न झुम्मिएका हुन् । यस्तै कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १० बराबर २४ कित्ता सेयर निष्कासन गरी पूँजी वृद्धि गर्ने प्रस्ताव गरेको छ ।लगानीकर्ता लोभिएपछि कम्पनीको बुधबार प्रतिकित्ता १ हजार १९० रुपैयाँ मात्रै ५ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सो मात्राको सेयरको बिक्री खुला हुनेछ । १ हजार १९० रुपैयाँ पर्ने सेयर १ सय रुपैयाँमा किन्न पाइने भएपछि लगानीकर्ता यूनाइटेडको सेयरमा लोभिएका हुन् । हाल कम्पनीको चुक्ता पूँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ । १२४ प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ नाघ्ने छ । युनाइटेडपछि चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर बढी कारोबार भएको छ । चिलिमेको प्रतिकित्ता ८३५ मा २ कम्पनीको ३ करोड १५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सेयर बजार ३१ अंकले बढ्दा १ अर्बबढीको कारोबार, लगानीकर्ताको विश्वास बढेकै हो ?

काठमाडौं । नयाँ वर्ष शुरु भएपछि सेयर बजार बढ्न थालेको छ । बजारमा सुधार आएपछि लगानीकर्ताको विश्वास पनि बढेको छ । लगातार घट्दै गएको बजारले निराशा बनाएको लगानीकर्तालाई आइतबारदेखिको वृद्धिले आशा जगाएको छ । निरन्तर बढ्दै गएको बजार बुधबार पनि ३१ अंकले बढेर १३६३ अंकमा पुगेको छ । बजारमा नेप्से परिसूचकका साथै सेयर कारोबारमा वृद्धि देखिएको छ । बुधबार मात्रै सेयर बजारमा १ अर्ब १२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन रकम एकवर्ष यताकै उच्च हो । सो दिनको बजारमा १६५ कम्पनीको २४ लाख ४० हजार कित्ता सेयर किनबेच भएको छ । केही दिनयता सेयर लगानीकर्ताको विश्वास बढ्दै गएकाले बजारमा सुधार आएको विश्लेषकहरु बताउछन् । बुधबार ११ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सबैभन्दा बढी न्याङदी ग्रुप पावर, हिमालयन पावर पार्टनर र नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर ९.९५, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ९.९०, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ९.८६, कर्णाली डेभलपमेन्ट बैंकको ९.८४ र सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.६८ प्रतिशतले बढेको छ । त्यसैगरी, हथवे फाइनान्स कम्पनी, सिनजी पावर डेभलपमेन्ट र राधी विद्युत कम्पनीका लगानीकर्ताले क्रमशः ९.६६, ९.५६ र ९.५४ प्रतिशत कमाएका छन् । बजारमा सबैभन्दा बढी एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ४.२७ प्रतिशतले घटेको छ । बुधबार कारोबारमा आएका १० वटै समूहको सूचक हरिया भएका छन् । त्यसमध्ये सबैभन्दा बढी हाइड्रो समूहको सूचक १०७ अंकले उकालो लागेको छ । ट्रेडिङ, माइक्रोफाइनान्स र अन्य समूह सामान्य अंकले बढेका छन् भने बाँकी समूहहरु दोहोरो अंकले बढेका छन् ।

वृद्धभत्ता र कर्मचारीको पेन्सन घटाउन विश्व बैंकको सुझाव

काठमाडौं । विकास साझेदार विश्व बैंकले नयाँ संघीय प्रणालीले आगामी दिनमा थप वित्तीय दायित्व सिर्जना भई खर्चको दवाव बढ्ने भन्दै खर्च कटौती गर्न सरकारलाई सुझाएको छ । बैंकले बुधबार नेपाल विकास परिदृष्य सार्वजनिक गर्दै खर्च व्यवस्थापन नगरे समस्या आउनेतर्फ सचेत गराउदै खर्च कटौती नै अहिलेको समधान भएको उल्लेख गरेको छ । दायित्व बढ्दै गएर बजेट घाटा कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) को ५.९ प्रतिशत पुगेको बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । बैंकले खर्च व्यवस्थापन गर्न अनावश्यक खर्च कटौती, पेन्सन प्रणालीमा सुधार र सामाजिक सुरक्षा खर्च व्यवस्थापन गर्न सुझाएको छ । पेन्सन र सामाजिक सुरक्षा खर्च वर्षेनी बढ्दै गएर थप दायित्व सिर्जना गरेको उल्लेख गर्दै यसलाई व्यवस्थापन गर्न सुझाएको हो । यी ३ कुरामा सरकारले सुधार गरे आगामी दिनमा देशको अर्थतन्त्र सही दिशामा जाने विश्व बैंकको ठहर रहेको छ । अवकासपछि कर्मचारीलाई वितरण हुने पेन्सनले थप दायित्व सिर्जन गरेको बताउदै यसलाई पुनसंरचना गर्न बैंकले सुझाएको हो । बैंकले एक दशकअघि कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) को ०.५ प्रतिशत अंश रहेको पेन्सन अहिले बढेर १.५ प्रतिशत पुगेको भन्दै यसलाइै व्यवस्थापन गर्न सुझाएको हो । बैंकका वरिष्ठ अर्थशास्त्री ड्यामिर कसिकले पछिल्ला ३ वर्षयताका वजेट वास्तविक धरातलबाट बाहिर गएर तर्जुमा गरिएको बताउदै यसले गर्दा वित्तीय क्षेत्रमा केही संकट आएको जानकारी दिए । यसले बैंकिङ प्रणालीमा तरलताको अवस्था कमजोर र ब्याजदर बढाउन सहयोग पुर्याएको उनको ठहर छ । बैंकको ब्याजदरले उत्पादन लागत बढाएको बताउदै यसले पनि अर्थतन्त्रमा केही असर गरेको उनले बताए । पछिल्लो समयमा सेयर, गाडी र रियलस्टेट कर्जा खुम्चिएको ठहर गरेको छ । बैंकले आगामी दिनमा नेपालले वृहत संक्रमणकालिन योजना बनाएर लागु गर्नुपर्ने सुझाएको छ । यस्तै यो योजना भरपर्दौ र विश्वसनिय हुनुपर्ने र नयाँ संक्रमणकालिन योजना सफलतापुर्वक लागु गर्नुपर्ने बताएको छ । पछिल्लो समयमा रेमिट्यान्स आप्रवाहमा कमी, आयातमा वृद्धिले गर्दा समग्र शोधानान्तर घटामा गएको बैंकको ठहर छ । बैंकका अर्का अर्थशास्त्री सुदम्यन दाहालले यो वर्ष नेपालको आर्थिक वृद्धिदर खुम्चिएर ४.६, आगामी वर्ष ४.५ र अर्को वर्ष ४.२ प्रतिशत हुने प्रक्षेपण गरेको जानकारी दिए । वाढी र डुवानले कृषि उत्पादनमा गिरावट आउदा आर्थिक वृद्धिदर घटेको उनको सुझाव छ । आगामी केही वर्ष नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत तल हुने बैंकको प्रक्षेपण छ ।  

२० करोड मुद्धति निक्षेपमा राख्न बैंक खोज्दै दुरसञ्चार प्राधिकरण

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले आफुसंग रहेको वचत रकम १ वर्षे मुद्धति निक्षेपमा राख्नका लागि बैंकसंग प्रस्ताव मागेको छ । प्राधिकरणले ब्याजदर खुलाई प्रस्ताव बैशाख ११ गते पेश गर्न बैंकलाई भनेको छ । प्राधिकरणले न्युनतम २० करोड रुपैयाँका लागि प्रस्ताव पेश गर्न अनुरोध गरेको छ । बैंकहरुले मुद्धतिमा ११ र साधारण वचतमा ८ प्रतिशतसम्म ब्याज दिने आन्तरिक सहमति गरेका छन् ।

मुक्तिनाथ विकास बैंकको नाफा ४२ करोड ७५ लाख, खराव कर्जा शुन्य

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा मुक्तिनाथ विकास बैंकको नाफा बढेको छ । गत चैतसम्म बैकले ४२ करोड ७५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ३५ करोड ५१ लाख रुपैयाँ नाफा गरेको थियो । यो वर्ष ७ करोड रुपैयाँ नाफा बढेको बैंकले बुधबार सार्वजनिक गरेको चालु आवको ९ महिनाको वित्तीय विवरणमा उल्लेख छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा १ प्रतिशत भन्दा कम रहको जनाएको छ । निक्षेप लागत बढेर ८.७५, आधार ब्याजदर १२.३१, स्प्रेड दर ६.४९ प्रतिशत छ । यस्तै प्रतिसेयर आम्दानी २२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ रहेको बैंकले जनाएको छ । बैंकले समीक्षा अवधिमा निक्षेप परिचालन साढे ६ अर्ब रुपैयाँ बढाएर २४ अर्ब ५४ करोड रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा बैंकको निक्षेप १५ अर्ब १४ करोड रुपैयाँ थियो । गत चैतसम्म कर्जा लगानी पनि साढे ६ अर्ब विस्तार भई २१ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको कर्जा लगानी १४ अर्ब १७ करोड रुपैयाँ थियो । बैंकको चुक्तापुँजी २ अर्ब ५९ करोड र संचित कोषमा ८० करोड ४६ लाख रुपैयाँ रहेको बैंकले जनाएको छ ।

बैंकमा जागिर खाने हो ? एनआइसी एसिया बैंकले माग्यो १७५ कर्मचारी

काठमाडौं । बैंकमा जागिर खाने सोँचमा हुनुहुन्छ ? त्यसो भए अब आवेदन दिन तयार हुनुस् । एनआइसी एसिया बैंकमा करिब २ सय जनाका लागि जागिर खुलेको छ ।  बैंकले १० वटा पदमा १७५ जना र अन्य पदमा केहि संख्या गरि करिब २ सय जना कर्मचारी मागेको हो । कुन कुन पदमा खुल्यो जागिर ? कसरी भर्ने आवेदन ? हेर्न यहाँ क्लिक गर्नुहोस आक्रामक रुपमा बजार विस्तार गरिरहेको बैंकले नयाँ विस्तार गर्न लागिएका शाखाहरुका लागि कर्मचारी मागेको जनाएको छ । व्यापार, बाणिज्य र व्यवस्थापन र अर्थशास्त्रमा स्नातकोत्तर उतिर्ण गरेका देखि प्लस टु पास गरेकाहरुले आवेदन दिन सक्नेछन् । बैंकले आगामी मे महिनाको २ तारिख भित्र आवेदन दिनुपर्ने जनाएको छ ।

सिण्डिकेट विरुद्ध सरकार झनै कठोर, यातायात समितिको नविकरण नहुने र सेवा बन्द गरे कडा कार्वाही गर्ने चेतावनी

काठमाडौं । सरकारले यातायात व्यवसायीको सिण्डिकेट तोड्न कडा रुपमा प्रस्तुत भएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले यातायात क्षेत्रसग सम्बन्धित संघ संस्थाको दर्ता र नवीकरण जिल्ला प्रशासन कार्यालयबाट नगर्ने/नगराउने निर्णय गरेको हो। संघ संस्था ऐन, २०३४ अनुसार दर्ता हृदै आएकामा अब त्यो व्यवस्था रोकिएको छ । त्यस्ता संघ संस्थाले कम्पनी रजिस्टारको कार्यालय वा सम्बन्धित मन्त्रालयबाट दर्ता अनुमति लिनुपर्ने छ । सिण्डिकेट पक्षधर व्यवसायीले यातायात बन्दको चेतावनी दिएपछि सरकार अझ कडा रुपमा प्रस्तुत भएको हो । यातायात बन्द गर्ने व्यवसायीको सवारी सञ्चालन इजजतपत्र पनि खारेज हुने भएको छ । अब समितिका नाममा यातायात सञ्चालन गर्न नपाइने भएको छ । यातायात बन्द गरे कडा कार्वाही गर्ने चेतावनी सरकारले दिएको छ ।