राष्ट्र बैंकले ३.३० अर्ब लगानी गर्ने, खुद निष्क्रिय कर्जा ३ प्रतिशत हुनुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ३० करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले सूचनामार्फत ३६६ दिनका लागि उक्त रकम लगानी गर्न लागिएको जानकारी दिएको छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा उक्त रकम लगानी गर्न लागिएको जनाएको छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, बैंकबाट तोकिएको न्यूनतम् कूल पुँजी कोष कायम रहेको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने सर्त पूरा गरेको हुनुपर्ने जनाइएको छ । बैंक तथा वित्तीय संस्थाले यही असोज ३० गते आफूले लिन चाहेको र उक्त रकम लिनका लागि प्रस्ताव गरिएको व्याजदरसमेत तोकेर आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।
हिमालयन लाइफका सीईओ कर्णले दिए राजीनामा
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णले पदबाट राजीनामा दिएका छन् । बीमा अभिकर्ताहरूले प्रतिहजार ५० रुपैयाँ बोनसको माग गर्दै आएकोमा आफूले त्यसलाई सम्बोधन गर्न नसक्ने भएपछि विधानअनुसार नै राजीनामा दिएको सीईओ कर्णले विकासन्युजलाई जानकारी दिए । अभिकर्ताहरूले केही समयअघिदेखि बोनस, सुशासन र भ्रष्टाचारको विरुद्धमा आन्दोलन गर्दै आएका थिए । हिमालयन लाइफकी सिनियर एजेन्सी म्यानेजर एवं पेशागत बीमा अभिकर्ता संघ नेपालका केन्द्रीय सचिव अम्बिका गौतमले बोनससम्बन्धी माग सम्बोधन गर्न नसकेको कारण खुलाउँदै उनले राजीनामा दिएको बताइन् । सीईओले राजीनामा दिएसँगै अब अभिकर्तालाई गरेको व्यवहार, बीमितको बोनस दरमा सुधार आउने र सुशासन भएपछि बीमा कम्पनीले लय समात्ने उनको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयले जेनजी आन्दोलनका घाइतेको वर्गीकरण गर्ने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनमा घाइते भएककाहरुको वर्गीकरण गर्नेभएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरुको वर्गीकरण गर्नका लागि स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्माको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ । टोलीमा विभिन्न विज्ञ १० जनालाई समितिको सदस्यमा समावेश गरिएको छ । घाइतेहरुको वर्गीकरणको मापदण्ड बनाउने कार्य सुरु गरिएको संयोजक डा शर्माले जानकारी दिए । उनले भने, 'विशेषज्ञको टोलीसहित हामीले अधययन गरिरहेका छौँ । चोटपटक सामान्य, मध्यम वा गम्भीर भनेर ग्रेडिङ गर्ने काम भइरहेको छ ।' स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार हालसम्म अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेको सङ्ख्या दुई हजार ३१६ जना रहेको छ ।
पूर्वसभामुख महराविरुद्ध साढे ८ करोडको बिगो माग गर्दै मुद्दा दर्ता, ३ वर्ष बढी कैद सजाय माग
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ । उनीमाथि सुन तस्करी प्रकरण मुद्दा दर्ता भएको हो । जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्ले महराविरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए । उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्ष बढी अवधि कैद सजाय माग दाबी गरिएको छ। महरा आइतबार पक्राउ भएका थिए । के हो प्रकरण ? २०७९ पुस १० मा मा फ्लाई दुबईबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक लि हानसोङले २ वटा सुटकेश ल्याएका थिए । उक्त सुटकेशभित्र ७३ वटा बट्टामा रहेका ७३० थान भेप ल्याएका थिए । उक्त भेपमा भने सुन लुकाएर ल्याइएको थियो । सो सुटकेशमा ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन ल्याइएको बुझिएको थियो । यो प्रकरणका महराका छोरा राहुल महरा पक्राउ भएर पनि कारागार चलान भएका थिए । सुन भित्र्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग महरा र उनका छोरा राहुलको निरन्तर संवाद भएको खुलेको थियो । यसअघि नै अनुसन्धानको दायरामा तानिएका महरा पटक–पटक पक्राउ हुँदै छुट्ने गरेका थिए ।
एसबिआई मर्चेन्ट बैंकिङको दशौं वार्षिक साधारणसभा सम्पन्न, ५ करोड नगद लाभांश पारित
काठमाडौं। नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको दशौं वार्षिक साधारणसभा असोज २७ गते नेपाल एसबिआई बैंक लिमिटेडको प्रधान कार्यालय, कमलादीमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको प्रतिवेदन, आषाढ मसान्त २०८२ सम्मको वासलात, नाफा–नोक्सान विवरण र सम्बन्धित अनुसूचीहरू पारित गरेको छ । सभाले सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशतका दरले कुल ५ करोड बराबर रुपैयाँको नगद लाभांश (लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ । त्यसैगरी, आव २०८२/८३ को लेखापरीक्षणका लागि मेशर्स एपि एण्ड एशोसियट्स, चाटर्ड एकाउन्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्त गरी निजको पारिश्रमिक समेत निर्धारण गरिएको छ ।
भविष्य उज्वल छ, उच्च मनोबल र संयमित भएर कारोबार गर्नु ः ब्रोकर एसोसिएशन
काठमाडौं । स्टक ब्रोकर्स एसोसिएशन अफ नेपाल (एसबान)ले नेपालको पुँजी बजारको भविष्य दिगो र उज्वल रहेको भन्दै लगानीकर्तालाई उच्च मनोबलका साथ संयमित भएर कारोबार गर्न आग्रह गरेको छ । पछिल्लो समय अन्यौलतापूर्ण अवस्थामा लगानीकर्ताको मनोबल खस्किरहेको भन्दै अबका दिनमा उच्च मनोबलका साथ सेयर कारोबार गर्न ब्रोकर एसोसिएशनका अध्यक्ष सागर ढकालले आग्रह गरे । अहिले नेप्से परिसूचक न्यूनतम् विन्दुमा झरिसकेको र सरकारलगायत सरोकारवाला निकायले समेत पुँजी बजारको सुधार र विकासका लागि सक्दो प्रयास गरेको भन्दै सोही अनुरूप उच्च मनोबलका साथ कारोबार गर्न ढकालले आग्रह गरेका हुन् । ‘नयाँ सरकार गठनसँगै पूँजी बजारको सुधार र विकासका लागि पुँजी बजार सुधार सुझाव समिति बनाई पुँजी बजारको सुधार गर्नका लागि आवश्यक सुझावहरु लिई सो अनुसारको आवश्यक कदमहरूलाई तुरुन्त कार्यान्वयनमा लैजान आदेश दिएको र सोही अनुरूप नेपाल राष्ट्र बैंकबाट समेत आवश्यक कार्यान्वयन भइसकेको छ भने नेपाल धितोपत्र बोर्डबाट समेत आफ्ना काम अघि बढाएको छ,’ उनले भने, ‘बोर्ड लगायत सरोकारवाला निकायले लगानीकर्ताहरुले माग गरे बमोजिमको तत्कालै आवश्यक सबै सुधारका कार्यहरू अगाडि बढाइसकेको छ भने ब्रोकर एसोसिएशनले पनि पुँजी बजार सुधारका लागि सरोकारवाला निकायलाई दीर्घकालिन सुधारका काम गर्न झकझक्याउँदै आएको छ ।’ आन्दोलनले सरकारी सम्पत्ति र निजी क्षेत्रको व्यक्तिगत जनधन एवं व्यवसायमा क्षति पुर्याएपनि समग्र देशको अर्थतन्त्रका विभिन्न सूचकांकहरु, बैंक ब्याजदर, वैदेशिक मुद्राको बचत दर तथा मूल्यवृद्धि लगायतका तथ्यांकहरूका साथै वित्तीय तरलता समेत सुदृढ हुँदै गएकोले सेयर बजारमा सुधार आउनुको विकल्प नरहेको समेत उनले जानकारी दिए । साथै, असोज २३ र २४ गते भएको युवा समूहहरु (जेनजी) को आन्दोलन र सो आन्दोलन पश्चात् देखिएको राजनीतिक अस्थिरताले नेपालको पूँजी बजारलाई प्रभावित बनाएपनि अन्तरिम सरकारद्वारा समग्र शान्ति सुरक्षाको प्रबन्धका साथै अर्थतन्त्रको स्थायित्व तथा दिगो विकासका लागि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालिन नीतिहरू बनाई कार्यान्वयन गर्दै अघि बढेकाले अबका दिनमा लगानीहकर्ताहरू हतास हुन नपर्ने उनको भनाइ छ । अहिलेको सरकारले पुँजी बजारको वृद्धि र विकासका लागि यथासक्दो प्रयास गरेको छ भने हामीले पनि सोही अनुरूप सुधारका काम गर्न दबाब दिँदै आएका छौं,’ उनले भने, ‘यस्तो अवस्थामा लगानीकर्ताहरू आफ्नो सम्पत्तिको सुरक्षा गर्दै संययिमत भएर सेयर कारोबार गर्नुको विकल्प छैन ।’
नबिल एसएसईको नयाँ समूहका लागि आवेदन खुला, गरिबी निवारण र सशक्तीकरणमा जोड
काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ । सामाजिक उद्यमशीलताको प्रवर्द्धन गर्ने लक्ष्यका साथ सुरु गरेको यस कार्यक्रममा उद्यमशीलता मार्फत समाजमा सकारात्मक योगदान पुर्याउने सोच भएका व्यक्तिहरू सहभागी हुन सक्नेछन् । १८ वर्ष उमेर पूरा भएका इच्छुक नेपाली नागरिकहरूले आगामी कात्तिक २८ गते राति ११:५९ बजेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले यसपटकदेखि नबिल एसएसई कार्यक्रमलाई मुलुकको विकास, गरिबी निवारण र सशक्तीकरणको लक्ष्यसहित गरिब र विपन्न वर्गलाई केन्द्रित गरिएको बताए । ‘मुलुकको विकासप्रति हाम्रो प्रतिबद्धता पूरा गर्नका लागि सामाजिक उद्यमीको सशक्तीकरण सबैभन्दा प्रभावकारी माध्यम बनेको छ,’ उनले भने । नबिल एसएसई अन्तर्गतका कार्यक्रम उपलब्ध स्रोतलाई रणनीतिक रूपमा परिचालन गर्दै पछाडि पारिएका समुदायसम्म पुग्न तथा वित्तीय नवप्रवर्तन प्रवर्द्धन गर्दै समावेशी विकास र रोजगारी सृजनामा केन्द्रित भएको बताए । नबिल एसएसई अन्तर्गत दुई वटा कार्यक्रम फेलोसिप र सर्टिफिकेट कोर्स छन् । बैंकका अनुसार हाल नबिल एसएसईको फेलोसिप कोर्सको छैटौँ समूहका लागि आवेदन खुलाइएको हो । छ महिना अवधिको यो कार्यक्रम त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायसँगको सहकार्यमा सञ्चालन भइरहेको छ । फेलोसिप कार्यक्रम स्टार्टअप तथा नविनतम आइडियामा काम गरिरहेका सामाजिक उद्यमीहरुलाई लक्षित गरिएको छ । जसमा सहभागीले ६ महिनासम्म विश्वस्तरीय प्रशिक्षण र मेन्टरसिप पाउनेछन् । साथै नेटवर्क विस्तार, वित्तीय पहुँच सुविधा पनि पाउनेछन् । फेलोसिपअन्तर्गत हालसम्म ७६ जना सहभागी भइ ६२ उद्यम सञ्चालन भइरहेका छन् । त्यसैगरी सर्टिफिकेट कोर्स ७ वटै प्रदेशमा सञ्चालित छ । तीन महिना अवधिको यो कोर्स विभिन्न शैक्षिक संस्थाको सहकार्यमा सञ्चालन भइरहेको छ । बैंकका अनुसार हाल यो कोर्स कोशी प्रदेशमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, मधेस प्रदेशमा वीरगञ्ज पब्लिक कलेज र मोनास्टिक सेकेन्ड्री इङ्लिस बोर्डिङ स्कुल र बागमती प्रदेशमा क्याम्पियन कलेजमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । साथै लुम्बिनी प्रदेशमा क्षितिज इन्टरनेशनल कलेज, दिव्य ज्योति बहुमुखी क्याम्पस र कोहलपुर मोडल कलेज, कर्णाली प्रदेशको सुर्खेतस्थित सुर्खेत मोडल कलेज र सुदूरपश्चिममा सुदूरपश्चिमाञ्चल एकेडेमीमा यो कार्यक्रम सञ्चालित छ । सामाजिक उद्यमीमार्फत स्थानीय अर्थतन्त्रलाई सशक्त बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको बैंकको भनाइ छ । हालसम्म सर्टिफिकेट कोर्समा आबद्ध भइ १ हजार ६९ जनाले लाभ लिइसकेका छन् । बैंकले यस वर्षदेखि नबिल एसएसई सर्टिफिकेट कोर्सलाई प्रदेशअनुसार फरक फरक प्राथमिकताका क्षेत्रहरू निर्धारण गरी संचालन गर्ने भएको छ । जस अनुसार कोशी प्रदेशमा हाइ भ्यालु क्रपस्, मधेसमा एग्रो भ्यालु चेन, बागमतीमा डिजिटल नवप्रवर्तन तथा हरित उद्यम विकास र गण्डकीमा सामुदायिक होमस्टे र पर्यटन प्रवद्र्धन कार्यक्रमलाई मुख्य प्राथमिकता दिइनेछ । साथै लुम्बिनी प्रदेशमा एग्रो भ्यालु चेन, धार्मिक पर्यटन, संस्कृतिसँग सम्बन्धित उद्यमशीलता, कर्णालीमा पर्वतीय उद्यम अभियान-मौरीपालन, बाँस र जडीबुटीजन्य उद्यम प्रवर्द्धन र सुदूरपश्चिममा ग्राामीण पर्यटन र पशुपालन उद्यम प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ । बैंकका अनुसार नबिल एसएईका दुवै कार्यक्रममा सहभागी हुन चाहनेले नबिल बैंकको वेबसाइट, नबिल एसएईको सोसल मिडियामार्फत आवेदन दिन सक्नेछन् । बैंकले नबिल एसएसईलाई दिगो विकासमा योगदान पुर्याउने उद्यमशीलतालाई सुदृढ गर्न आफ्नो प्रतिबद्धताको एक मुख्य आधारका रूपमा लिएको छ । यस कार्यक्रममार्फत हालसम्म १७ हजार भन्दा बढी रोजगारी सृजनामा सहयोग पुगेको बैंकको भनाइ छ । नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक हो । नबिल बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ । बैंकले विशेष गरी वित्तीय साक्षरता, उद्यमशीलता विकास, स्वास्थ्य, शिक्षा, विपद् जोखिम न्यूनीकरण, व्यवस्थापन र जलवायु परिवर्तनका क्षेत्रमा प्राथमिकताका साथ काम गरिरहेको छ । बैंकको उक्त प्रयासबाट विभिन्न समुदायका हजारौं मानिसहरूको जीवनमा सकारात्मक सुधार हुनुका साथै वातावरण संरक्षणतर्फ ठोस कदम अगाडि बढाउन सहयोग पुगेको छ ।
बागलुङमा २ अर्बको आलु उत्पादन, कृषि ज्ञान केन्द्रको लगानीले किसान आकर्षित
काठमाडौं । यस वर्ष बागलुङ जिल्लामा १ अर्ब ९४ करोड ६० लाख मूल्य रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । बागलुङका किसानले बर्खे र हिउँदे गरी दुई याममा आलु खेती गर्दै आएका छन् । हिउँदे भन्दा बर्खे आलु उत्पादन बढी हुने गरेको छ । आलु उत्पादनका हिसाबले जिल्लाको माथिल्लो क्षेत्र उपयुक्त रहेकाले बर्सेनि करोडौं मूल्य बराबरको आलु उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्र बागलुङले आलु खेतीमा लगानी गर्दै आएपछि किसानसमेत यसतर्फ आकर्षित भएका छन् । बागलुङको तमानखोला, ताराखोला, निसीखोला, काठेखोला गाउँपालिका, ढोरपाटन र गलकोट नगरपालिकालगायत क्षेत्रमा आलु उत्पादन बढी हुने गर्छ । यस वर्ष २ हजार ८६० हेक्टर क्षेत्रफलमा आलु लगाइएकामा ५५ हजार ६०० मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी सन्तोष अधिकारीले जानकारी दिए । अघिल्लो वर्षको तुलनामा यसवर्ष खेती गरेको क्षेत्री र उत्पादनमा कमी आएको उनको भनाइ छ । उनका अनुसार गत वर्ष ३ हजार ७ सय हेक्टर क्षेत्रफलमा आलु लगाइएको थियो भने ५६ हजार २४० मेट्रिक टन उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष ८४० हेक्टर कम क्षेत्रफलमा आलु लगाइएको थियो । किसानले उत्पादन गरेको आलु प्रति किलो ३५ रुपैयाँमा बिक्री भएको अधिकारीले जानकारी दिए । ज्ञान केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा २ करोड ६० लाख रुपैयाँ, २०८१/८२ मा १ करोड ५९ लाख रुपैयाँ र चालु आर्थिक वर्षमा ५५ लाख ९० हजार रुपैयाँ लागतमा नयाँ क्षेत्र विस्तार गरेको छ । ‘बागलुङको माथिल्लो क्षेत्र आलु उत्पादनका लागि उपयुक्त हावापानी छ, यहाँ खायन आलु राम्रो उत्पादन हुने गरेको छ, किसानहरु उत्साहित भएर लाग्नुभएको छ, तीन वर्षदेखि यसको क्षेत्र विस्तार र उत्पादन बढाउनका लागि हामीहरु लागि रहेका छौँ,’ अधिकारीले भने, ‘खायन आलु क्षेत्र विस्तारसँगै नयाँ प्रविधिको प्रयोग, मलखाद व्यवस्थापन गर्ने, सिँचाइ व्यवस्थापन गरी उन्नत जातको बीउ लगाइने छ, यस वर्ष थप ४३ हेक्टर क्षेत्रफलमा खायन आलु लगाउने लक्ष्य छ ।’ उत्पादित आलु बागलुङ, बुटवल, चितवनलगायत सहरमा पुग्ने गरेको छ । किसानले अघिल्लो वर्ष हिउँदे आलु प्रतिकिलो ४० र बर्खे आलु प्रतिकिलो ५० रुपैयाँमा बिक्री गरे पनि यस वर्ष ३५ रुपैयाँ मात्रै मूल्य पाएको ज्ञान केन्द्रले जनाएको छ । आलु लगाउने बेला लामो समय खडेरी पर्दा यसवर्ष उत्पादनमा थोरै गिरावट आएको हो ।
अब साइकलबाटै वारपार गर्न मिल्ने, बन्दैछ ५ करोडमा साइकलमैत्री आकासे पुल
काठमाडौं । ललितपुर महानगरपालिकाको सुन्दरीघाट मार्गबाट चक्रपथमा साइकल बाटै वार पार गर्न मिल्ने आकासे पुल निर्माण हुने भएको छ । महानगर प्रमुख चिरी बाबु महर्जनले वडा नं ३ र ४ धोबिघाट चोकको रिङरोड सडकमा निर्माण गरिने ३६.६१ मिटर लामो साइकलमैत्री एवं अपाङ्गतामैत्री आकासे पुलको शिलान्यास गरे । त्यस क्रममा उनले सडकको दुवै तर्फबाट साइकलमा सडक वार पार गर्न मिल्ने गरी आकासे पुल निर्माण गरिने जानकारी गराए । ‘समयमै गुणस्तरीय काम हुने विश्वास छ, यस क्रममा सरकार र महानगरका तर्फबाट कुनै पनि तहबाट बाधा-व्यवधान हुँदैन । निर्माण व्यवसायी, परामर्शदाताहरूबाट पनि यो काममा कुनै विलम्ब नहोस्,’ महानगर प्रमुख महर्जनले भने, ‘सम्भवतः यो नेपालमै पहिलो काम हुन्छ । यसलाई समयमै निर्माण गरी ठेकेदारप्रति रहेको नकारात्मक धारणा पनि परिवर्तन गर्न लागौँ ।’ महानगरको ५ करोड ४ लाख ४८ हजार ४२६ रुपैयाँको लागतमा निर्माण हुने पुल एक वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको छ । लामा प्रगति-मनि बुद्ध जेभी, काभ्रेपलाञ्चोकले निर्माणको ठेक्का लिएको छ । गत असार २२ गते सम्झौता गरी १२ महिनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको महानगरका सिडिई प्रदीप पौडेलले जानकारी दिए । शिलान्यास कार्यक्रममा वडा नं ४ का अध्यक्ष सन्तोष केसी, वडा नं ३ का अध्यक्ष श्रीगोपाल महर्जन लगायतले आफ्नो धारणा राखे ।
करारका कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्छ : सञ्चारमन्त्री खरेल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले करारमा रहेका सरकारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्ने बताएका छन् । आइतबार काठमाडौंको सञ्चारग्रामस्थित न्युनतम पारिश्रमिक निर्धारण समितिको कार्यालयमा अनुगमन गर्ने क्रममा उनले करारमा रहेका सरकारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनका लागि तत्काल गृहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री खरेलले अन्य सरकारी कर्मचारीहरुले पेन्सन लगायतका सुविधा समेत पाउने भएकाले करारमा रहेका कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन आवश्यक रहेको तर्क समेत गरे । उनले सबै सञ्चारकर्मीहरुलाई सो कोषको दायरामा ल्याउन सरकार लागि परेको पनि बताए । सञ्चारमन्त्री खरेलले भने, ‘मैले सचिवज्युलाई म आएलगत्तैको हप्तामा यो कुरा राखेको पनि छु कि कसरी हामीले अव सामाजिक सुरक्षा कोषको दायरामा पत्रकारलाई, सञ्चारकर्मीलाई ल्याउन सकिन्छ । अब कसरी व्यवहारिक रुपमा सकिन्छ त ? यसको व्यवहारिक पाटो पनि हेर्दै कम्तिमा शुरुवात गरेर अगाडि बढियो । र एउटा फाउण्डेशन, बेसलाईन बनाइयो भने अगाडि बढन सकिन्छ ।’ मन्त्री खरेलले सामाजिक सुरक्षा कोषको दायरामा अनौपचारिक क्षेत्रलाई समेट्ने कामलाई सरकारले जोड दिएको पनि जानकारी दिए ।
कैलाली उद्योग वाणिज्य संघको नेतृत्व पुष्कर ओझालाई, रोचक प्रतिस्पर्धामा ६१ मतको जित
काठमाडौं । कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष पदमा पुष्कर ओझा विजयी भएका छन् । कुल १ हजार ९४० मत खसेकोमा ओझाले ९५० मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी रुपेश स्वाँरलाई ६१ मतको झिनो अन्तरले पराजित गरे । स्वाँरले ८८९ मत ल्याए । चुनावको प्रारम्भदेखि नै ओझा र स्वाँरबीच कडा टक्कर चलेको थियो । अन्तिमसम्म पनि अग्रता परिवर्तन भइरहेकै अवस्थामा ओझाले निर्णायक मत ल्याउँदै अध्यक्ष पद प्राप्त गरेका हुन् । यो निर्वाचनमा दुवै उम्मेदवार आफ्ना-आफ्ना प्यानलसहित चुनावी मैदानमा होमिएका थिए। निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्षको भूमिका निभाएका ओझाको नेतृत्वमा प्रस्तुत प्यानलका अधिकांश सदस्यहरू विजयी भएका छन् । यस जितसँगै ओझाले आगामी कार्यकालमा कैलाली उद्योग वाणिज्य संघको नेतृत्व गर्ने जिम्मेवारी पाएका छन् । संघभित्र आर्थिक, व्यापारिक र नीतिगत सुधारका अपेक्षा बढिरहेका बेला नयाँ नेतृत्वबाट सदस्यहरू आशावादी छन् । ओझा नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का उपाध्यक्षसमेत हुन् ।
जलविद्युत् र सडकले ल्यायो मकरीगाडमा आर्थिक क्रान्ति
दार्चुला । सडक यातायातको सहज पहुँचसँगै अपिहिमाल गाउँपालिका–५ स्थित मकरीगाड अहिले व्यापारिक केन्द्र बनेको छ । करिब २० वर्षअघि सामान्य होटल–पसलसम्म सीमित मकरीगाड अहिले दर्जनौं पसल, होटल र गोदामसहितको आधुनिक बजार बनेको छ । विसं २०७६ मा मकरीगाड जलविद्युत् आयोजना सुरु भएपछि सडक विस्तारले यहाँको आर्थिक रूपान्तरणलाई गति दिएको छ । विसं २०६० देखि मकरीगाडमा व्यापार गर्दै आएका धनसिंह लोथ्याल सडक पुगेपछि अहिले मकरीगाडमा बजार व्यवसाय बढेको बताउँछन् । ‘यो क्षेत्रमा २२ वर्षदेखि होटल व्यवसाय गर्दै आएको छु, पहिले खाना खाने र बास बस्नेमात्रै व्यापार थियो,’ लोथ्याल भन्छन्, ‘तर अहिले सबै किसिमको व्यापार मकरीगाडमा भइरहेको छ, बिहानदेखि साँझसम्म चहलपहल बढेको छ ।’ सडक पुगेपछि जिप र मालबाहक ट्रक दैनिक रूपमा मकरीगाडसम्म पुग्न थालेका छन् । पहिला मार्मा गाउँपालिकाको लटिनाथ–सेलविसा हुँदै हुने व्यापार अहिले मकरिगाडमा केन्द्रित भएको छ । लोथ्यालका अनुसार पारिबगरदेखि मकरीगाड सडक खण्डमा खुलेका अधिकांश होटल पसल बन्द भएका छन् । अपिहिमालका वडा नं १ देखि ५ सम्मका स्थानीयका लागि मकरीगाड अहिले मुख्य बजार केन्द्र बनेको छ । पहिले लटिनाथबाट पिठ्युँमा सामान बोकेर आउनुपर्ने बाध्यता हटेको छ । पहिले मार्माको सेलविसासम्म मात्रै सडक थियो । स्थानीय लटिनाथबाट पिठ्युँमा समान बोकेर आउँथे । सडक पुगेपछि सामान सबै यहीँ सहज पाउन थालेको लोथ्याल बताउँछन् । उहाँका अनुसार यहाँ व्यापारिक चाप बढेको छ। धनगढीबाट रात्रिकालीन आउने यात्रु जिपमार्फत बिहानै मकरीगाड पुग्छन् । अहिले विटुले–पारिबगर–मकरीगाड सडकखण्डमध्ये मार्माको पारिबगरसम्म सडक ग्राभेल गरिएको छ । पारिबगर क्षेत्रसम्म बस सेवा सञ्चालनमा छ । पारिबगरदेखि मकरीगाडसम्म सडक कच्ची भए पनि सामान बोकेका ट्रक मकरीगाडसम्म नियमित सञ्चालन हुने गरेका छन् । मकरीगाडभन्दा माथि सडक नहुँदा पनि अहिले यस क्षेत्रमा व्यापार व्यवसाय बढेको मकरीगाडमा व्यापार व्यवसाय गर्दै आएका विसनसिंह धामी बताउँछन् । अहिले यो क्षेत्र सबै प्रकारको व्यापारका लागि केन्द्रबिन्दु बनेको छ । स्थानीयले आफ्नो उत्पादन मकरीगाडसम्म बिक्री गर्न ल्याउँछन् । खण्डेश्वरी घुसाबाट स्थानीयले हरियो साँग, दूध दही मकरीकगाड बजारमा व्यापार गर्ने अवस्था बनेको छ । तराई क्षेत्रबाट खाद्यान्न लत्ताकपडा सहजै यहाँ पुग्ने गरेको छ । यहाँका होटल तथा पसल राम्रो चलेका छन् । ‘विद्युत् नबनेको भए सायदै अहिले नै सडक पुग्थ्यो,’ धामीले भने, ‘यो सडक कालोपत्र भयो भने अझै यहाँको व्यापार राम्रो हुन्थ्यो ।’ अहिलेको भन्दा सस्तो मूल्यमा सामान मकरीगाडमा उपलब्ध हुनेछ । खाद्यान्न उत्पादन न्यून हुने अपिहिमालका चार वडाका लागि अहिले तराईबाट सहजै खाद्यान्न मकरीगाड पुग्ने गरेको छ । विकास निर्माणमा चाहिने छड, सिमेन्टदेखि दैनिक उपभोग्य सामानको सहज उपलब्धता मकरीगाडमा पुगेको व्यापारी धनसिंह जागरी बताउँछन् । अहिलेको अवस्थामा अझै सडक स्तरोन्नतिको खाँचो छ । व्यापारी जागरीका अनुसार खाद्यान्न, लत्ताकपडा, सिमेन्ट, छडलगायत दैनिक उपभोग्य सामग्री मकरीगाडमै सहज उपलब्ध छन् । सडक स्तरोन्नति र भाडादर समायोजनको आवश्यकता अझै रहेको उनले बताए । तराईबाट आउने ट्रकहरूले अहिले अपिहिमालमा उत्पादित राज्मा, भटमास, आलु, कोदो, स्याउ र जडीबुटी धनगढीसम्म लैजान थालेका छन् । यसरी पहाड र तराईबीच दोहोरो व्यापार सहज बनेको छ । तराईबाट समान लिएर आउने ट्रकले सिजनमा पहाडको उत्पादन तराई पु¥याउन थालेका छन् । अपिहिमालमा उत्पादन हुने राज्मा, भटमास, कोदो, आलु, स्याउ र जडीबुटी तराई पठाउन सहज भएको जागरीले बताए । पहाडको आलु, दाल, स्याउ धनगढीसम्म पुग्न थालेको छ । यो क्षेत्रमा सडकका कारण दोहोरो व्यापार सहज बनेको छ । सडक माथि उक्लिँदै गर्दा व्यापार पनि माथि सर्ने गर्छ । पहिले लटिनाथ सेलविसा व्यापारिक केन्द्र चहलपहल हुन्थ्यो । अहिले मकरीगाड बनेको छ । मकरीगाडबाट झण्डै एक दशमलव पाँच किलोमिटर सडक माथि उक्लिएको छ । अपिहिमालको केन्द्रसम्म सडक पुग्यो भने व्यापार फेरि माथि सर्नेछ ।
वीरगञ्ज भन्सार : पेट्रोलियम पदार्थबाट ११ अर्ब १८ करोड राजस्व सकंलन
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट ११ अर्ब १८ करोड रुपैयाँ संकलन गरेको छ । कार्यालयले चालु आवको दुई महिनामा २६ अर्ब ३३ करोड रुपैयाँ खर्चिएर पाँच थरिका पेट्रोलियम पदार्थ आयात गरेको हो । आयातबाट प्राप्त कुल राजस्वमा मुख्य २० वस्तुबाट प्राप्त राजस्वको योगदानमा पेट्रोलियम पदार्थको हिस्सा भने २८ दशमलव ५६ प्रतिशत रहेको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार भन्सारको राजस्वमा पेट्रोलियम पदार्थ र सवारीसाधनको योगदान निकै उच्च रहेको जानकारी दिए । यहाँको भन्सार आयातमा निर्भर रहेको छ । जसमा पनि पेट्रोलियम पदार्थ र सवारीसाधनको हिस्सा भने महत्त्वपूर्ण छ । यस्तै, यातायातका साधन र तिनका पार्टपुर्जा आयातबाट भने छ अर्ब १४ करोड रुपैयाँ अर्थात् १५ दशमलव ६८ प्रतिशत रहेको छ । त्यसैगरी, फलाम तथा फलामबाट बनेका सामानबाट भने दुई अर्ब ५४ करोड रुपैयाँ अर्थात् छ दशमलव ४९ प्रतिशत राजस्वको हिस्सा रहेको छ । सबै प्रकारका कपडाबाट एक अर्ब ९८ करोड रुपैयाँ अर्थात् पाँच दशमलव ०६ प्रतिशत हिस्सा ओगटेको छ । वीरगञ्ज भन्सार कार्यालयले चालु आवको दुई महिनामा ३९ अर्ब १५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
राष्ट्र सेवक सहकारीको सम्पत्ति ५७ करोड भन्दा बढी
काठमाडौं । राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था विराटनगरको सम्पत्ति दायित्व ५७ करोड ३८ लाख रुपैयाँ पुगेको छ । शनिबार आयोजित संस्थाको २७औँ वार्षिक साधारणसभामा सहकारीको कुल सम्पत्ति दायित्व आर्थिक वर्ष २०८१/८२ मा ५७ करोड ३८ लाख ५७ हजार ४५४ रुपैयाँ पुगेको अध्यक्ष जीवन काफ्लेले बताए । संस्थाको अघिल्लो आव २०८०/८१ मा ४८ करोड ४ लाख रुपैयाँ रहेकामा गत आवमा त्यसमा सुधार गर्न सफल भइएको र चालु आव २०८२/८३ मा यसलाई वृद्धि गरेर ६३ करोड ९० लाख १७ हजार ३०२ रुपैयाँ पुर्याइने लक्ष्य रहेको बताए । गत आवमा वार्षिक लक्ष्यको ९४ प्रतिशत अर्थात् ५१ करोड ४३ लाख ५ हजार ५६९ रुपैयाँ आम्दानी गरेको उनले बताए । यस्तै, सहकारीको निक्षेप ४४ करोड ४३ लाख ११ हजार ७०९ रुपैयाँ रहेको छ भने ऋण लगानी ३५ करोड ८८ लाख ७२ हजार ९९४ रुपैयाँ रहेको छ । विसं २०५५ साउन ४ मा स्थापित सहकारीमा हाल १ हजार ८९३ जना सेयर सदस्य रहेका छन् । यस सहकारीले गत आवमा नेपाल निजामती कर्मचारी सङ्गठन केन्द्रीय समिति, राष्ट्रिय सहकारी बैंक र प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयबाट उत्कृष्ट सहकारीको पुरस्कारसमेत प्राप्त गरेको संस्थाका सचिव ओमराज सुवेदीले बताए ।
झापामा बाढीले ४ करोडको क्षति, साढे २ हजार बालबालिका प्रभावित
काठमाडौं । अविरल वर्षापछि आएको बाढीका कारण झापामा करिब २ हजार ५०० बालबालिका प्रभावित भएका छन् । बाढीले जिल्लाका विभिन्न स्थानका २ हजार ५ सय बालबालिका प्रभावित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईँले जानकारी दिए । ‘प्रभावित बालबालिकालाई शैक्षिक सामग्रीको व्यवस्थापन गर्ने काम भइरहेको छ । सम्बन्धित पालिकालाई पुस्तकको व्यवस्थापन गर्न भनि सकिएको छ,’ उनले भने । अविरल वर्षापछिको बाढीले जिल्लामा करिब ४ हजार ५०० घरपरिवार प्रभावित भएकामा झण्डै ३ हजार ४०० घरपरिवार झापा गाउँपालिकाका रहेको उनले बताए । गत २३ गते यता झापा गाउँपालिका वडा नं १ र २ का करिब १ हजार ७ सय बाढीपीडितलाई राहत प्याकेज वितरण गरिएको उनको भनाइ छ । बाढीपीडितलाई राहतसँगै कृषि, पशु, पूर्वाधारलगायत क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलनको काम भइरहेको छ । विपद्जन्य रोगबाट बचाउन मेची प्रादेशिक अस्पताल, स्वास्थ्य कार्यालयको टोली प्रभावित क्षेत्रमा खटिएको सहायक प्रजीअ प्रसाईँले बताए । पानी जन्य रोग नियन्त्रणका लागि पानी निर्मलीकरण गर्ने, शुद्ध खानेपानीको ट्याङ्ककी राख्ने काम भइरहेको जनाइएको छ । राहत वितरणका लागि विभिन्न व्यक्ति, सामाजिक सङ्घसंस्था, व्यावसायिक प्रतिष्ठानले सहयोग गरिरहेका छन् । करिब ४ हजार परिवारलाई वितरण गर्न सकिने गरी खाद्यान्न व्यवस्थापन भइसकेको सहायक प्रजीअ प्रसाईँले बताए । अहिले राहत वितरणका लागि खाद्यान्नको अभाव नरहेको उनको भनाइ छ । जिल्ला विपद् व्यवस्थापन समितिले ‘एकका लागि एक अभियान’सँगको सहकार्यमा एकद्वार प्रणालीमार्फत जिल्लाका बाढीपीडितलाई राहत वितरण गरिरहेको छ । एकका लागि एक अभियानका संयोजक महेन्द्र कुमार गिरीले २ हजार परिवारलाई राहत दिन पुग्ने गरी करिब ६० लाख विभिन्न दाताबाट प्राप्त भइसकेको बताए । बाढीपीडितलाई राहत प्याकेजअनुसार प्रतिपरिवार चामल १ बोरा, तेल एक लिटर, नुन दुई केजी, आलु ५ केजी, दाल २ केजी, पानी १ कार्टुन, म्याट २ थान र कम्बल २ थान वितरण गरिँदै आएको छ । कनकाईमा ४ करोडको क्षति यसैबीच, गत असोज १८ गते आएको बाढीले झापाको कनकाई नगरक्षेत्रमा करिब ४ करोड रुपैयाँ बराबरको क्षति भएको छ । नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरक्षेत्रमा बाढीका कारण करिब ४ करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए । कनकाईमा कनकाई माई नदीमा आएको बाढीले करिब २५ बिघा जमिन कटान गरेको छ भने करिब ८ सय मिटर सडकमा क्षति पुर्याएको छ । ‘नदी नियन्त्रणका लागि नगरपालिकाले कनकाई र बिरीङ नदीमा तटबन्धन गरेकाले धेरै क्षति हुन पाएन । नगरक्षेत्रमा बाढीका कारण करिब ५० घरपरिवार प्रभावित भएका छन्,’ नगर प्रमुख पोखरेलले भने । विभिन्न सामाजिक सङ्घसंस्थासँगको सहकार्यमा राहत वितरणको काम भइरहेको बताउँदै उनले तत्काल कार्यपालिकाको बैठकबाट निर्णय गरेर राहतका कार्यक्रम ल्याइने बताए ।
साल्ट ट्रेडिङ कर्पाेरेशनले भन्यो - जुम्लामा नुन अभाव छैन
जुम्ला । साल्ट ट्रेडिङ कर्पोरेशन शाखा कार्यालयले जिल्लामा पर्याप्त मात्रमा नुन रहेकोे जनाएको छ । यहाँस्थित डिपोमा अहिले करिब छ हजार क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख नगेन्द्रबहादुर थापाले जानकारी दिए । कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि सदरमुकाम खलङ्गा बजारमा रहेको डिपोमा पाँच हजार ५०० क्विन्टल, सिङ्जा गाउँपालिकाको नराकोट डिपोमा एक हजार ५०० क्विन्टल र कनकासुन्दरी गाउँपालिकाको गुरुचौर डिपोमा एक हजार ३०० क्विन्टल नुनको कोटा रहेको छ । उनले भने, ‘जिल्लामा नुनको अभाव रहेको छैन । जिल्लामा पर्याप्त मात्रमा नुन रहेकोे छ । दसैँको अवधिमा करिब ५४६ क्विन्टल नुन बिक्री भएको छ । यहाँका आठवटै स्थानीय तहका वडाको सिफारिसको आधारमा नुन वितरणहुने गरेको छ । वडाको मागबमोजिम नुन वितरण भइराखेको छ ।’ वितेका वर्षमा जिल्लामा करिब पाँच हजार ४०० क्विन्टलको हारहारीमा कोटाहुने गरेको थियो । नुन उपझोक्तालाई पुर्याउन केही कठिन हुने गरेकोमा यस वर्षदेखि जिल्लाका लागि नुनको कोटा वृद्धि भएसँगै यहाँका उपझोक्तालाई सहजरूपमा नुन वितरण भइरहेको कार्यालय प्रमुख थापाले बताए । सदरमुकाम सहित तीनै डिपोका लागि बाँकी कोटा नुनको ढुवानी भइरहेको छ । सबैभन्दा बढी चन्दनाथ नगरपालिका, गुठीचौर, पातारासी र तातोपानी गाउँपालिकाका उपझोक्ताले नुन लिने गरेको कार्यालयले जनाएको छ । जिल्लाका स्थानीय तहले वडाबाटै नुन वितरण गरेपछि यहाँका स्थानीयवासीलाई सहज भएको छ भने स्थानीयवासी पनि औधि खुसी छन् । रासस
जेनजी आन्दोलन : २३ अर्ब २२ करोडको बीमा दाबी, डेढ अर्ब भुक्तानी
काठमाडाैं। गत भदौ २३ र २४ गते देशभर जेनजी आन्दोलनका क्रममा हुलदंगाबाट क्षतिग्रस्त सम्पत्तिको बीमा कम्पनीहरुले १ अर्ब ५८ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीले १ अर्ब ५८ करोड ५६ लाख रुपैयाँ दाबी भुक्तानी (अग्रिम भुक्तानीसहित) गरेका हुन् । प्राधिकरणका अुनसार आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको कूल बीमा दाबी रकम करिब २३ अर्ब २२ करोड ८७ लाख पुगेको छ । १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ३ हजार ९९ वटा बीमाबाट कम्पनीहरुमा २३ अर्ब २२ करोड ८७ लाख पुगेको हो । आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको मूल्याङ्कन एवम् अनुगमनका लागि २ हजार ७१० वटा दाबीका लागि सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा ३७४ को सङ्ख्यामा सर्भे प्रतिवेदन पेश गरेको प्राधिकरणले जनाएको छ । तथ्यांकअनुसार कूल बीमा दाबीमध्ये सम्पत्ति बीमातर्फ ६५३ वटा दाबी परेको र दाबी रकम करिब १९ अर्ब ६ करोड ७६ लाख रुपैयाँ रहेको छ । यसैगरी, मोटर बीमामा २ हजार २०६ वटा दाबी परेको र दाबी रकम करिब ३ अर्ब ४१ करोड ६ लाख रूपैयाँ रहेको छ । बीमकहरूबाट मोटर बीमामा हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिब २४ करोड ९१ लाख रूपैयाँ दाबी भुक्तानी भएको छ । आन्दोलनका क्रममा मोटरहरूमा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि १ हजार ९३९ वटा दाबीका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा ३१४ को सङ्ख्यामा सर्भे प्रतिवेदन बुझाएको तथ्यांक प्राधिकरणमा प्राप्त भएको जनाएको छ । यस्तै, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १९० वटा दाबी परेको छ भने दाबी रकम करिव रू. ३८ करोड ३ लाख रहेको छ । बीमकहरूले इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमामा हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव ८७ लाख दाबी भुक्तानी गरेका छन् । आन्दोलनका क्रममा इञ्जिनीयरिङ तथा ठेक्कामा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि १२६ वटा दाबीका लागि बीमा सर्भेयर खटाइसकिएको र सर्भेयरहरूबाट हालसम्ममा ५ वटा सर्भे प्रतिवेदन प्राप्त भएको जानकारी बीमकहरूले दिएका छन् । यसैगरी, परिवहन बीमातर्फ बीमा दाबी १२ वटा र दाबी रकम करिव रू. १ करोड ६३ लाख रहेको छ । परिवहनमा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि बीमकहरूले ११ वटा दाबीका लागि बीमा सर्भेयर खटाएका छन् । अन्य बीमातर्फ बीमा दाबी ३८ वटा परी दाबी रकम करिव रू. ३५ करोड ३७ लाख रहेकोमा हालसम्ममा करिव रू. ५ लाख ५० हजार दाबी भुक्तानी भएको प्राधिकरणले जनाएकाे छ । अन्य बीमातर्फको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि ३६ वटा दाबीका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरहरूबाट ३ वटा सर्भे प्रतिवेदन प्राप्त भएको जानकारी निर्जीवन बीमा कम्पनीहरूले दिएका छन् । नेपाल बीमा प्राधिकरणले बीमितहरूको हित संरक्षणलाई प्रमुख प्राथमिकतामा राखी बीमा दाबी प्रक्रियालाई छरितो, पारदर्शी र प्रभावकारी बनाउन बीमा कम्पनीहरूलाई निर्देशन दिँदै आएको छ । बीमा दाबी भुक्तानी प्रक्रियालाई सहज बनाउन र समयमैं सम्पन्न गर्नका लागि सर्भे प्रतिवेदन प्रस्तुत गर्ने समयसीमा, दाबी छानविनको पारदर्शिता र बीमितको सहज पहुँचलाई विशेष प्राथमिकतामा राखिएको छ । साथै, प्राधिकरणले बीमकहरूबाट भइरहेको दाबी भुक्तानी प्रक्रियाको निरन्तर अनुगमन समेत गरिरहेको छ । बीमितहरूको अधिकार सुनिश्चित गर्नका लागि दाबी भुक्तानी सम्बन्धी कार्यमा थप सुधार ल्याउँदै तीब्रता दिन समेत प्राधिकरणले बीमा कम्पनीहरूलाई निर्देशन छ ।
भारतमा औषधि प्रकरण : २१ बालबालिकाको मृत्युमा औषधि कम्पनीका मालिक पक्राउ
काठमाडौं । भारतीय प्रहरीले २१ बालबालिकाको मृत्युमा संलग्न औषधि कम्पनीका मालिकलाई पक्राउ गरेको छ । अधिकारीहरूका अनुसार चेन्नाईस्थित आफ्नै घरमा पक्राउ परेका ७५ वर्षीय जी रंगनाथनलाई गैरकानूनी हत्या र लागुऔषधमा मिलावट गरेको आरोप लगाइएको छ । मध्य प्रदेश राज्यमा गत महिना कम उमेरका बालबालिकाहरूको घातक विषाक्त पदार्थले दूषित खोकी सिरप सेवनपछि मृत्यु भएको थियो । सो सिरप दक्षिणी भारतको तमिलनाडु राज्यस्थित स्रेसन फार्मा युनिटमा ‘कोल्ड्रिफ’ ब्रान्ड नामले उत्पादन गरिएको थियो । भारतीय स्वास्थ्य मन्त्रालयको परीक्षणले सिरपमा डाइथाइलिन ग्लाइकोल (डीईजी) भएको पुष्टि गरेको छ, जुन औद्योगिक सम्मिश्रण हो र थोरै मात्रामा सेवन गरे पनि घातक हुन सक्छ । यस प्रकरणपछि मध्य प्रदेश र अन्य राज्यहरूले उक्त सिरपमा प्रतिबन्ध लगाएका छन् । विश्व स्वास्थ्य संगठनले पनि भारतीय अधिकारीहरूलाई सो सिरप अन्य देशमा निर्यात गरिएको छ कि छैन भनेर स्पष्टीकरण मागेको छ । यो घटना भारतमामात्रै सीमित छैन । सन् २०२२ मा भारतबाट आयात गरिएको दूषित सिरप खाएपछि गाम्बियामा ७० भन्दा बढी बालबालिकाको मृत्यु भएको थियो । उज्बेकिस्तानमा पनि २०२२–२०२३ बीचमा भारतमा उत्पादित दूषित सिरप सेवन गर्दा ६८ बालबालिकाको मृत्यु भएको थियो । घटनाले भारतको औषधि उद्योगको प्रतिष्ठामा गम्भीर धक्का पुगेको छ र विश्वभरका स्वास्थ्य अधिकारीहरूलाई सतर्क बनाएको छ । रासस