टिंकरमा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालन
काठमाडौं । नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती टिंकरमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । असोज १६ गतेदेखि मोबाइल सेवा सञ्चालनमा आएपछि अब सो क्षेत्रका जनताले सहज रुपमा आफ्नै मोबाइलमार्फत् फोन गर्न सक्ने भएका छन् । चीनको सिमानासँग जोडिएको दार्चुला जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर १ मा अवस्थित उत्तर पश्चिमी नाका टिंकरमा नेपाल टेलिकमले भिस्याट प्रविधिमार्फत् टुजी प्रविधिको सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीले यसका लागि आवश्यक सामग्री कैलालीको अत्तरिया र दार्चुलाको छाङरुबाट टिंकर पुर्याएको थियो । पहिले सो क्षेत्रमा भिस्याट प्रविधिका दुई लाइन टेलिफोन सञ्चालनमा थिए । अब भने टिंकर क्षेत्रमा रहेका करिब पाँच सय सेवाग्राहीले आफ्नै मोबाइलबाट कुराकानी गर्न सक्नेछन् । यो बाहेक सो क्षेत्रमा अवस्थित सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी तथा सो क्षेत्रमा आउने पर्यटकहरू समेत यसबाट लाभान्वित हुने कम्पनीले बताएको छ । करिब ३ हजार ७ सय मिटरको उचाइमा अवस्थित टिंकर भारत सहितको त्रिदेशीय सिमाना जोडिएको स्थान छाङरुबाट करिब १२ किलोमिटर र सदरमुकाम खलंगाबाट करिब ८० किलोमिटर दुरीमा अवस्थित छ। त्यहाँबाट करिब ८ किलोमिटर हिँडेपछि चीनको सिमानास्थित १ नम्बर पिलर पुग्न सकिन्छ । नेपाल टेलिकमले प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानहरूमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै टिंकरमा समेत सेवा सञ्चालनमा ल्याएको हो ।
नेपाल टेलिकमको सञ्चालकमा सुवेदी नियुक्त
काठमाडौं । नेपाल टेलिकमको सञ्चालकमा कोशलचन्द्र सुवेदी नियुक्त भएका छन् । असोज ४ गते बसेको सचिवस्तरको निर्णयले सुवेदीलाई टेलिकमको सञ्चालकमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक सुवेदीले असोज ८ गते गोपनीयता र इमान्दारीताको शपथ लिएका छन् । यसअघि उक्त पदमा सुशील कोइराला थिए । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको पत्रानुसार सञ्चालक परिवर्तन भएको हो । नेपाल दूरसञ्चार कम्पनीको नियमावलीमा पनि उक्त मन्त्रालयका सह सचिव कम्पनीको सञ्चालक बन्ने प्रावधान रहेकोले कोइरालाको ठाउँमा सुवेदीलाई नियुक्त गरिएको हो ।
नेपाल टेलिकमको टिकटक च्यालेन्ज, विजेताले ४० हजार पाउने
काठमाडौं । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ । नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने छ । नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने छ । सो च्यालेन्ज भाद्र २४ देखि प्रारम्भ भएको छ र आगामी असोज ७ गते सम्म सहभागी हुन सकिने छ । विजेताहरुलाई नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको छ । यस अनुसार सो च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने कम्पनीले जनाएको छ । त्यसैगरी सान्त्वना पुरस्कारको रुपमा १० जना सहभागीलाई ५०० रुपैयाँको टप अप प्रदान गरिने छ । नेपाली महिलाहरुको महान चाड तीजलाई रमणीय बनाई नेपाल टेलिकमसँग जोडिन समेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालन गरिएको हो । यसबाट तीज पर्व थप मनोरञ्जक बन्ने कम्पनीको अपेक्षा छ ।
पौने ८ अर्ब नाफा गरेको नेपाल टेलिकमको ईपीएस ४३.३६ रुपैयाँ
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (एनटिसी)ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ७ अर्ब ८० करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ४७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बिक्री आम्दानी घटेपछि अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा ७.८६ प्रतिशत घटेको हो । गत आर्थिक वर्षको असारसम्म कम्पनीको बिक्री आम्दानी २.९४ प्रतिशत घटेर ३६ अर्ब ८० करोड ३९ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३७ अर्ब ९१ करोड ९७ लाख रुपैयाँ बिक्री आम्दानी गरेको थियो । गत असारसम्म कम्पनीको वित्तीय आम्दानी ३१.४५ प्रतिशत बढेर ७ अर्ब ७६ करोड ५१ लाख रुपैयाँ, अन्य आम्दानी ४५.३४ प्रतिशत घटेर २९ करोठ ९२ लाख रुपैयाँ र कुल आम्दानी १.११ प्रतिशत बढेर ४४ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १८ अर्ब रुपैयाँ र जगेडा कोष १.८६ प्रतिशत घटेर ७५ अर्ब ८२ करोड ८१ लाख रुपैयाँ जम्मा रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ३.७० रुपैयाँ घटेर ४३.३६ रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५२१.२७ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २०.९२ गुणा रहेको छ ।
व्यावसायिक संस्थालाई लाभान्वित बनाउँदै नेपाल टेलिकम, बढायो इन्टरनेटको क्षमता
काठमाडौं । नेपाल टेलिकमले १ जीबीपीएस (१००० एमबीपीएस)सम्म उच्च गति भएको एफटीटीएच इन्टरनेट सेवा शुरु गरेको छ । यसअघि १०० एमबीपीएससम्म उच्च गति भएको एफटीटीएच सेवा उपलब्ध गराइरहेको कम्पनीले अब एकैपटक १ जीबीपीएस क्षमता भएको इन्टरनेट सेवा उपलब्ध गराएको हो । हाल कम्पनीले जीपोन प्रविधिमार्फत उपलब्ध गराइरहेको एनटी फाइबर इन्टरनेट मध्ये सबैभन्दा उच्च गति १०० एमबीपीएस रहेकोमा अब एक्सजीपोन प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएको हो । सो सेवा ५०० एमबीपीएस र १ जीबीपीएस गरी दुई वटा प्याकेजमा उलपब्ध हुनेछ । यसको डाउनस्ट्रिम क्षमता १० जीबीपीएस र अपस्ट्रिम क्षमता २.५ जीबीपीएस हुनेछ । प्रिमियम एफटीटीएच ५०० एमबीपीएस अन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना ३५० मिनेट कल गर्न सकिनेछ । यो प्याकमा ०.५ टीबी डाटा प्रतिदिन प्रयोग गर्न सकिने छ । प्रिमियम एफटीटीएच १ जीबीपीएस अन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना ५ सय मिनेट कल गर्न सकिनेछ । यो प्याकमा १ टीबी डाटा प्रतिदिन प्रयोग गर्न सकिनेछ । दुवै प्याकेजमा एउटा आईपीटीभी, सीपीई र सेटटप बक्स तथा ३०० मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध हुनेछ । ५०० एमबीपीएसको ‘प्रिमियम एफटीटीएच ५०० एमबीपीएस’ प्याकेज वार्षिक ८० हजार रुपैयाँ र १ जीबीपीएसको ‘प्रिमियम एफटीटीएच १ जीबीपीएस’ प्याकेज वार्षिक १ लाख १० हजार रुपैयाँमा उपलब्ध हुनेछ । यो सेवा वा अन्य एफटीटीएच सेवा प्राप्त गर्न चाहनुहुने मुलुकभरका सेवाग्राहीहरुले १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी) मा डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा जडान तथा मर्मतका लागि दर्ता गर्न सकिने व्यवस्था छ । हालका लागि काठमाडौं उपत्यकामा यो सेवा उपलब्ध गराइएको छ । व्यावसायिक संस्थाहरु यो सेवा प्रयोगबाट लाभान्वित हुने नेपाल टेलिकमले अपेक्षा गरेको छ ।
नेपाल टेलिकमका २० हजार रिचार्ज कार्ड हराए
काठमाडौं । नेपाल टेलिकमका रिचार्ज कार्ड हराएका छन् । टेलिकमले बुधबार जारी गरेको सूचना अनुसार ५० रुपैयाँ दरका रिचार्ज कार्ड हराएका हुन् । नेपाल टेलिकमका अनुसार ५० रुपैयाँ दरका २० हजार कार्ड अर्थात् १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएका हुन् । टेलिकमले ढुवानी गर्ने क्रममा ति कार्ड हराएको जनाएको छ । टेलिकमका अनुसार सि.नं ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएका हुन् । टेलिकमले यदी ति कार्ड कतै भेटिएमा नजिकैको दुरसंचार कार्यालयमा बुझाउन अनुरोध गरेको छ ।
मधेस प्रदेशमा नेपाल टेलिकमको अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । मधेस प्रदेशको जनकपुरधाम र सिमरामा नेपाल टेलिकमको सेवा सम्बन्धी जानकारी एवं अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । गत शुक्रबार जनकपुरधाम र शनिबार सिमरामा सो कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा मधेस प्रदेशमा नेपाल टेलिकमको सेवा सम्बन्धी संघ, प्रदेश र स्थानीय निकायका जनप्रतिनिधिहरूसँग विभिन्न विषयमा छलफल भएको थियो । कार्यक्रमको प्रमुख अतिथिको रूपमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रदेशमा प्रभावकारी र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउनका लागि जनप्रतिनिधिसँग आवश्यक सहकार्य गर्न आग्रह गरिन् ।सरकारले प्रत्येक प्रदेशका कम्तीमा दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाउने योजनाका साथ कार्य गरिरहेको र क्रमशः सबै जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त बनाइने धारणा राखिन् । मधेस प्रदेशकी पर्यटन मन्त्री सुनिता यादवले सरकारी निकायले नै सबै क्षेत्रमा सेवा पुर्याउनु पर्छ भन्ने मान्यता जनतामा रहेको र यसका लागि छिटो छरितो रूपमा सेवा उपलब्ध गराउनु पर्ने बताइन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं कम्पनी सञ्चालक समितिका निमित्त अध्यक्ष बाबुराम भण्डारीले नेपाल टेलिकमलाई कस्तो बनाउने र कता लैजाने भन्ने विषयमा महत्त्वपूर्ण सुझाव प्राप्त गरेको बताउँदै सुझाव र निर्देशनका लागि आभार व्यक्त गरे । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दूरसञ्चार सेवाको उपभोग गर्न पाउनु सबैको अधिकार भएको र यसका लागि समन्वयको भूमिकामा प्राधिकरण रहेको बताउँदै मधेस प्रदेशका राजमार्ग लगायतका स्थानमा टावर लगायतका संरचना निर्माणमा समन्वय गरिदिनका लागि जनप्रतिनिधिहरूको भूमिका हुने बताए । नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीले भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्न यस आर्थिक वर्ष २०८०।८१ मा मर्मत सम्भार कार्यलाई विशेष सेवाको रूपमा विकास गर्न आवश्यक रणनीति तथा कार्यक्रमहरू तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताए । मधेस प्रदेशका कुल ५५० भन्दा बढी स्थानबाट कम्पनीले जीएसएम प्रविधिको सेवा उपलब्ध गराइरहेको र ३० भन्दा बढी स्थानबाट एफटीटीएच वितरण गरिरहेको जानकारी दिए ।
नेपाल टेलिकमले ल्यायो समर अफर, ५०० रुपैयाँमा २० जीबी डाटा
काठमाडौं । नेपाल टेलिकमले शुक्रबारदेखि लागु हुनेगरी समर अफर उपलब्ध गराएको छ । यसमा सेवाग्राहीको रुची र चाहना बमोजिम केही नयाँ प्याकेजसहितका अफरहरु उपलब्ध गराइएको टेलिकमले जनाएको छ । त्यसैगरी एफटीटीएच, नमस्ते वाईफाई, सीयूजी लगायत विभिन्न भ्वाइस तथा डाटा प्याकेजहरुलाई थप आकर्षक टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समर अफर अन्तर्गत विभिन्न डाटा प्याक अफरहरु ल्याइएको छ । जसअनुसार अल टाइम डाटा प्याक अन्तर्गत ५०० रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जीबी डाटा प्याक उपलब्ध भइरहेकोमा अब २० जीबी र ८०० रुपैयाँमा २५ जीबी उपलब्ध भइरहेकोमा अब ३५ जीबी डाटा प्याक उपलब्ध हुनेछ । यस्तै प्रिपेड सस्तो कम्बो प्याक अन्तर्गत सस्तो कम्बो २९९ प्याकमा १५० मिनेट अन नेट भ्वाइस कल, २ जीबी डाटा र २० एसएमएसको सुविधा उपलब्ध भइरहेकोमा अब सोही मूल्यमा २ जीबीको सट्टा ४ जीबी डाटा उपलब्ध हुनेछ । यसैगरी सजिलो अनलिमिटेड ७९९ प्याक अन्तर्गत सबै नेटवर्कमा अनलिमिटेड भ्वाइस कल उपलब्ध हुने कम्पनीको भनाइ छ । मेसिन टु मेसिन सिमकार्डको प्रयोगलाई प्राथमिकतामा राखी यसका लागि विभिन्न प्याकेजको व्यवस्था गरिएको पनि टेलिकमले जनाएको छ । यसमा ३० दिनसम्म प्रयोग गर्न सकिने विभिन्न दरको प्याकेज उपलब्ध हुनेछ । कर्पोरेट वर्गमा लोकप्रिय सियुजी प्याकलाई थप आकर्षक बनाइएको जनाइएको छ । साथै, अनलिमिटेड डाटा प्याकमा प्रदान गरिँदै आएको फेयर युजेज पोलिसी बमोजिम तोकिएको परिमाण उपभोग पछि लागू हुने थ्रोटलिङ स्पिड लिमिट बढाइएको कम्पनीले जनाएको छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने जनाइएको छ ।
ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम
काठमाडौं । नेपाल टेलिकमले यही जेठ २२ गते एक अनलाइन न्यूज पोर्टलमा टेलिकमका सेवाका सुरक्षाप्रति शङ्का व्यक्त गर्दै प्रकाशित समाचारप्रति खण्डन गरेको छ । टेलिकमले ग्राहकको गोपनीयतालाई सधै सम्मान गर्ने र त्यसको सुरक्षा र गोपनीयतामा एकरत्ति पनि सम्झौता हुन नदिने भन्दै ग्राहकलाई आश्वस्त हुन अनुरोध समेत गरेको छ । ‘यही जेठ २२ मा एक अनलाइन न्यूज पोर्टलमा टेलिकमका सेवाका सुरक्षाप्रति शङ्का व्यक्त गर्दै प्रकाशित समाचारप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ, कम्पनीका सेवा अत्यन्त भरपर्दा र सुरक्षित बनाइ ग्राहकवर्गको गोप्यता कायम गर्न हामी अत्यन्त संवेदनशील रहेको व्यहोरा जानकारी गराउँदै कम्पनीका सेवा निर्धक्क भएर प्रयोग गर्नुहुन अनुरोध छ’, टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाल टेलिकमले राज्यका अधिकारप्राप्त निकायबाट हुने कुनै अनुसन्धानको प्रक्रियामा प्रचलित कानुन बमोजिम सम्मानित अदालतको आदेशपछि मात्र अन्य दूरसञ्चार सेवा प्रदायकले झैँ कम्पनीले विवरण उपलब्ध गराउने समेत प्रष्ट पारेको छ । पछिल्लो समयमा कम्पनीका सेवाका संस्थागत प्रयोगकर्ता उल्लेख्यरुपमा बढिरहेको व्यहोरासमेत जानकारी गराइएको छ ।
नेपाल टेलिकममा अब नमस्ते पे क्युआरबाटै बील भुक्तानी गर्न सकिने
काठमाडौं । नेपाल टेलिकमले ‘नमस्ते पे’ को क्युआर कोडमार्फत विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्न सक्ने सुविधाको शुभारम्भ गरेको छ । कम्पनीले नेपाल टेलिकमको सुन्धारा र बबरमहल शाखामा रहेका सम्पूर्ण काउन्टरहरुमा क्युआर मार्फत भुक्तानीको सुविधा संचालनमा ल्याएको छ । नेपाल टेलिकमले एक कार्यक्रमकाबीच आज सो सेवाको शुभारम्भ गरेको हो । नेपाल टेलिकमकी निर्देशक सबिना मास्के प्रधान र नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सीईओ प्रवीणराज पोखरेलले यस सम्बन्धी सम्झौता पत्र आदानप्रदान गरे । सो अबसरमा निर्देशक प्रधानले क्युआर कोडमार्फत बिल भुक्तानी गरी सेवाको शुभारम्भ गरे । उनले भने, ‘नेपाल टेलिकमले आफ्नो काउन्टरहरुमा डिजिटल भुक्तानीलाइ प्रोत्साहन गर्न पहिलो पाइला चालेको छ । अब प्रयोगकर्ताहरूले नगद झिक्न बैंकमा जानु पर्ने झन्झटलाई कम गरी बिल भुक्तानीलाई सजिलो र छिटो बनाउन मद्दत गर्नेछ ।’ नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सीईओ प्रवीणराज पोखरेलले भने, ‘डिजिटल भुक्तानी सेवा प्रदान गर्ने अवसर पाएकोमा हामी खुसी भएका छौ र आगामी दिनमा थप सहकार्य गर्न प्रोत्साहित भएका छौँ । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नका लागि यसले महत्वपूर्ण भूमिका खेल्ने छ ।’ हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल काउन्टरमा गई नमस्ते पे को क्युआर प्रयोग गरी बिल भुक्तानी गर्न सकिने छ । कम्पनीका नयाँ र विद्यमान दुवै प्रयोगकर्ताले क्युआर मार्फत भुक्तानी गरे बापत आफ्नो वालेटमा १० प्रतिशत क्यासब्याक पाउने व्यवस्था समेत गरिएको कम्पनीले जनाएको छ । नेपाल टेलिकम र राष्ट्रिय बाणिज्य बैंकको सहकार्यमा सञ्चालित नेपाल डिजिटल पेमेन्ट्स कम्पनीले ‘नमस्ते पे’ सञ्चालन गरिरहेको छ ।
नेपाल टेलिकमले रोजिरोटी खोसेको भन्दै निष्कासित कर्मचारीद्वारा धर्ना
काठमाडौं । नेपाल टेलिकमले २१७ जना प्राविधिक सहायकलाई कामबाट हटाएको भन्दै विरोध प्रदर्शन भएको छ । आइतबार दिउँसो टेलिकम बाहिर निष्कासित कर्मचारीहरुले विरोध प्रदर्शनसहित धर्ना दिएका हुन् । उनीहरुले लामो समयसम्म काम गरेका कर्मचारीहरुलाई सरकारी निकायले स्वेच्छारी ढंगबाट हटाएको भन्दै पुनःबहालीको माग गरेका छन् । प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रदर्शनकारी भीमबहादुर खड्काले नेपाल टेलिकममा कार्यरत २१७ जना प्राविधिक सहायकहरुलाई टेलिकमले स्वेच्छारी हटाएको र पुनः बहालीको माग गर्दै आन्दोलनमा उत्रिनुपरेको बताए । ‘१५ वर्ष लामो समयसम्म टेलिकममा काम गरेका कर्मचारीहरुलाई हटाउनु भनेको उनीहरुको रोजीरोटी खोस्नु हो, कर्मचारीहरुको पुनः बहाली नगरीकन आन्दोलन बन्द गर्दैनौं,’ उनले भने । रोजगारीको ग्यारेन्टीको विषय संविधानको हक भएको उल्लेख गर्दै रोजगारी गरिरहेको कर्मचारीलाई सरकारी निकयाले निकाल्नु गलत भएको उनले बताए । ‘लिखित माग सम्बोधन नभएपछि बाध्य भएर धर्ना दिनुपरेको हो,’ उनले भने । उनीहरुले निस्काषित कर्मचारीहरु पुनःबहाली गर्, सबैखाले ठेकदारी प्रथाको अन्त्य गर्, स्वेच्छाचारिताको अन्त्य गर्, संसारका मजदुर एक हौँ लगायतका नारा लगाएर प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले टाउकोमा कालोपट्टीसमेत बाँधेर नेपाल टेलिकमको विरोध जनाएका थिए ।
नेपाल टेलिकमका ग्राहकले हिमालयन बैंकको एप निःशुल्क चलाउन पाउने
काठमाडौं । नेपाल टेलिकमका सिम प्रयोगकर्ताहरुले हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाउने भएका छन् । नेपाल टेलिकम र हिमालयन बैंकको सहकार्यमा हिमालयन बैंकका ग्राहकले सो बैंकको एप निःशुल्क चलाउन सक्ने व्यवस्था गरिएको हो । यस सम्बन्धी गत चैत २० गते भएको सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र हिमालयन बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उज्वल राजभण्डारीले हस्ताक्षर गरेका छन् । सो अवसरमा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत पहाडीले बैंकका मोबाइल एप प्रयोगकर्ताहरुको सहजताका लागि नेपाल टेलिकमले सहजीकरण गर्ने कार्यलाई निरन्तरता दिइरहेको बताए ।
नेपाल टेलिकमले १४ करोडका पुराना कवाडी ब्याट्री लिलाम गर्दै
काठमाडौं । नेपाल टेलिकमले पुराना काम नलाग्ने कवाडी सामान लिलाममा बिक्री गर्ने भएको छ । टेलिकमको उपत्यकाभित्रका विभिन्न निर्देशनालय तथा कार्यालयहरुमा मौज्जात रहेका झण्डै १४ करोड रुपैयाँ बराबरका ब्याट्रीहरु लिलाम बिक्री गर्ने भएको हो । टेलिकमले डिसमेन्टलेड ब्याट्री कवाडी सामानहरूको न्यूनतम मूल्य १३ करोड ७६ लाख १५ हजार रुपैयाँ तोकेको छ । नेपाल टेलिकमको वयरलेस निर्देशनालय बबरमहल काठमाडौंमा बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र शुल्क १५ हजार रुपैयाँ तोकिएको छ । इच्छुक फर्म वा संस्था तथा कम्पनीले चैत १५ गतेभित्र बोलपत्र पेश गर्नुपर्नेछ ।
नेपाल टेलिकमसहित ८ इन्टरनेट कम्पनी कारबाहीमा, कति तिरायो जरिवाना ?
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न ८ वटा इन्टरनेट कम्पनीलाई कारबाही गरेको छ । प्राधिकरणले एकैपटक ८ वटा इन्टरनेट कम्पनी र एउटा दूरसञ्चार कम्पनीलाई कारबाही गरेको हो । इन्टरनेट सेवाको सम्पूर्ण प्याकेजको महसुल दर स्वीकृत नगराई बिक्री गरेको भेटिएपछि कारबाही गरिएको प्राधिकरणले बताएको छ । इन्टरनेट सेवाको प्याकेजको महसुल दर बिक्री गर्दा प्राधिकरणको स्वीकृति लिनुपर्ने हुन्छ । प्राधिकरण्का प्रवक्ता सन्तोष पौडेलका अनुसार महसुलदर स्वीकृत नगराउने वल्र्डलिङ्क कम्युनिकेसन, भायानेट कम्युनिकेसन, सुबिसु केबल नेट, क्लासिकटेक, वेबसर्फर नेपाल, सीजी कम्युनिकेसन, डिस होम मिडिया नेटवर्क र वाइफाई नेपाल रहेका छन् । यी कम्पनीले महसुल दर स्वीकृत नगरेकाले कारवाही गरिएको हो । यी कम्पनीलाई दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (२) बमोजिम १ लाख रुपैयाँ जरिवाना गरिएको प्राधिकरणले जनाएको छ । साथै, प्राधिकरणको निर्देशन विपरीत चाडपर्वमा प्रवर्द्धन तथा बन्डलिङ गरी सेवा सञ्चालन गर्ने वल्र्डलिङ्क कम्युनिकेसन्स, भायानेट कम्युनिकेसन र सुबिसु केबल नेटलाई ५० हजार रुपियाँ जरिवाना गरेको छ । यस्तै, प्राधिकरणको निर्देशनविपरीत भास सेवा स्वतः नवीकरण गरेको भन्दै नेपाल टेलिकमलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
नेपाल टेलिकममा काम गर्ने अवसर, यी १३ पदका लागि माग्यो कर्मचारी
काठमाडौं । जागिर खोज्नेहरुको लागि खुशीको खवर छ । नेपाल टेलिकमले विभिन्न १३ पदका लागि ७३ जना कर्मचारी माग गरेको छ । कम्पनीले जुनियर टेक्निसियनदेखि उपप्रबन्धक पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले उपप्रबन्धकमा १ जना कर्मचारी माग गरेको छ । त्यस्तै, कम्पनीले वरिष्ठ इन्जिनियर पदमा २ जना, वरिष्ठ लेखा अधिकृतमा १ जना, टेलिकम इन्जिनियर पद (इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन) मा १० जना, टेलिकम इन्जिनियर (कम्प्युटर) पदमा ५ जना, टेलिमक इन्जिनियर (इलेक्ट्रिकल) पदमा ३ जना र सिभिल इन्जिनियरमा १ जना कर्मचारीको माग गरेको छ । त्यसैगरी, कम्पनीले सहायक लेखा अधिकृत पदमा ४ जना, सहायक प्रशासनिक अधिकृत पदमा ३ जना, सहायक व्यापार अधिकृत ४ जना, टेक्निसियन पदमा ११ जना, सहायक पदमा ११ जना र जुनियर टेक्निसियन पदमा १७ जना कर्मचारी माग गरेको छ । कम्पनीले महिला, आदिवासी जनाजाती, मधेशी, दलित, अपाङ्ग र पिछडिएको क्षेत्रलाई समावेश गरेर विभिन्न पदमा कर्मचारी माग गरेको हो । टेलिकमअनुसार ईच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुले चैत २ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर चैत ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
नेपाल टेलिकमको नेटवर्कमा समस्या, नियामकले बनायो छानबिन समिति
काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा पटक/पटक समस्या देखिएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले छानबिन समिति गठन गरेको छ । नियामक निकायको रुपमा रहेको प्राधिकरणले टेलिकमको नेटवर्कमा पछिल्लो समय धेरै समस्या देखिएको भन्दै विजयकुमार रोयको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । प्राधिकरणले मंगलबार अनुगमन विभागका निर्देशक रहेका रोयको संयोजकत्वमा समिति गठन गरेको हो । सरकारी स्वामित्वको लगानीमा सञ्चालीत नेपाल टेलिकमको नेटवर्कमा निरन्तर समस्या आएपछि किन र कसरी समस्या आउँछ, एक पटक समस्या आउँदा कति नोक्सान भयो लगायतका विषयमा उक्त समितिले छानबीन गर्नेछ । संयोजक रोय उक्त समितिले सोमबारसम्म प्रतिवेदन सार्वजनिक गर्ने बताए । यसअघि आएको समस्याका बारेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले छानवीन गरेको थियो । बुधबार दिउँसो १ बजेदेखि टेलिकमको नेटवर्कमा समस्या देखिएको थियो । दिउँसो टेलिकमको कुनैपनि नेटवर्कमा फोन गर्दा फोन नै नलागी काटिने, म्यासेजिङ र डेटामा समेत समस्या देखिएको थियो ।
नेपाल टेलिकमको नेटवर्कमा समस्या
काठमाडाैं । नेपाल टेलिकमकाे नेटवर्कमा समस्या आएको छ । बुधबार दिउँसाेदेखि टेलिकमको नेटवर्कमा समस्या देखिएको हो । दिउँसोदेखि टेलिकमको कुनैपनि नेटवर्कमा फोन गर्दा फोन नै नलागी काटिने भइरहेको छ । त्यस्तै, फोन कलसँगै म्यासेजिङ र डेटामा समेत समस्या आइरहेको छ ।
नेपाल टेलिकमका हाकिमले बुझे साढे ९ करोड तलब, सञ्चालकको भत्ता कति ?
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)का हाकिम तथा प्रबन्ध सञ्चालकलाई साढे ९ करोड रुपैयाँ पारिश्रमिक प्रदान गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ का १० औं तह र सो भन्दा माथिका पदाधिकारीहरुलाई पारिश्रमिक तथा अन्य सुविधावापत ९ करोड ६८ लाख २१ हजार ५४ रुपैयाँ भुक्तानी गरेको हो । कम्पनीका अनुसार गत आर्थिक वर्ष २०७८/७९मा सञ्चालकहरुले बैठक भत्ता वापत ११ लाख २ हजार ५ सय रुपैयाँ बुझेका छन् । जसमा सबैभन्दा धेरै सर्वसाधारण सेयरधनीबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्य अम्बिका प्रसाद पौडेलले भत्ता वापत बुझेका छन् । सञ्चालक पौडेललाई कम्पनीले ४२ वटा बैठकमा उपस्थित भएवापत १ लाख ९२ हजार ५ सय रुपैयाँ भत्ता भुक्तानी गरेको हो । यस्तै, सञ्चालक समितिका अध्यक्ष डा.बैकुण्ठ अर्यालले १ लाख ८८ हजार रुपैयाँ, पूर्व अध्यक्ष हरिप्रसाद बस्यालले १२ हजार रुपैयाँ बैठक भत्ता बुझेका छन् । यस्तै, सञ्चालकहरु भुपाल बरालले ६९ हजार रुपैयाँ, रामेश्वर दंगालले १ लाख ८ हजार रुपैयाँ, उत्तर कुमार खत्रीले १ लाख ३६ हजार रुपैयाँ, डिल्लीराम शर्माले १२ हजार रुपैयाँ, फणीन्द्र गौतमले १ लाख ८५ हजार रुपैयाँ, सुनिल पौडेलले ६० हजार रुपैयाँ, प्रतिभा बैद्यले ६० हजार रुपैयाँ र डिल्लीराम अधिकारीले ८० हजार रुपैयाँ भत्ता वापत बुझेका हुन् । गत आर्थिक वर्ष २०७८/७९ मा सञ्चालक समितिको ४३ वटा बैठक बसेका थिए । गत आर्थिक वर्ष २०७८/७९ मा कम्पनीका सेयरधनीहरुले ३१ करोड ३६ लाख ५७ हजार ५० रुपैयाँ बराबरको लाभांश रकम बुझिलिन बाँकी रहेको कम्पनीका सञ्चालक समिति अध्यक्ष बैकुण्ठ अर्यालले जानकारी दिए ।
आम्दानीमा कैंची लगाएर सूचना बजाउने भाँडो बन्दै नेपाल टेलिकम
काठमाडौं । तपाईं नेपाल टेलिकमको सीम प्रयोग गर्नुहुन्छ भने तपाईंले कुनै व्यक्तिलाई फोन गर्दा एउटा आवाज आउँछ । कहिले कोरोना महामारी विरुद्ध बच्ने उपाय, कहिले भ्रष्टाचार विरुद्दको सूचना, कहिले राजश्व संकलन त कहिले कुनै दिवसको सूचनासहितको आवाज बज्छ । कतिपयले त्यो आवाज ध्यान दिएर सुन्छन् त कतिले सुन्नै नपाए पनि हुन्थ्यो नि भन्ने दिक्दारी पोख्छन् । कतिपय तपाईं हामीसँग सरोकार नभएका सूचना पनि हामीले फोन गर्दा सुन्नु पर्ने बाध्यता रहन्छ । त्यसमा सुन्ने वा नसुन्ने विषयमा कुनै विकल्प हुँदैन । तर, फोन गर्नैका लागि भएपनि पर्खेर सुन्नु बाहेकको विकल्प तपाईं हामी सामू हुन्न । हो, मुलुकभर सर्वसुलभ र भरपर्दाे दूरसञ्चार सेवा उपलब्ध गराउने उद्देश्य बोकेको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) पछिल्लाे समय अनेकन सूचना प्रसारण गर्ने माध्यम बन्न थालेको छ । कम्पनीले फोन कल सेवामा सूचनाहरु प्रसारण गरेर जनतालाई सुन्नै पर्ने बाध्यात्मक परिस्थिति सिर्जना गरिरहेको गुनासो सेवाग्राहीहरुबाट आएको छ । नेपाल टेलिकमले कोरोना महामारीका बेलामा न्यूनीकरण सम्बन्धी सूचनाहरु प्रसारण गरेर राज्यलाई ठूलो योगदान गरेको थियो । महामारी तथा प्रकोपबारे जनतालाई सुसूचित गर्ने उद्देश्यले सरकारका नियकाहरुले टेलिकमको भ्वाइस सेवालाई प्रयोग गरेको पाइएको छ । तर, राज्यको नै बहुमत स्वामित्व रहेकै आधारमा अन्य सरकारी निकायले पनि आफ्ना सूचनाहरुलाई प्रसारण गर्ने माध्यमका रुपमा टेलिकमलाई लिँदा यसले सेवाग्राहीलाई मर्का पुगेको छ । टेलिकममा नेपाल सरकारको ९१ प्रतिशत सेयर स्वामित्व छ । सरकारी संस्थान भएकाले टेलिकमलाई सूचना प्रसारण गर्ने माध्यमका रुपमा लिने गरेको जानकारहरु बताउँछन् । नेपालको दूरसञ्चार क्षेत्रमा मुख्य भूमिका निर्वाह गरिरहेको कम्पनीले ग्राहकबाट मात्रै नभएर अन्य सूचना तथा सर्ट म्यासेज सर्भिस (एसएमएस) पठाएर आम्दानी पनि गर्ने गरेको छ । टेलिकमले ग्राहकको इच्छा विपरित वा बाध्यात्मक परिस्थिती बनाएर उक्त सन्देशमुलक सामाग्री प्रसारण गर्ने गरेको आरोप लाग्ने गरेको छ । ग्राहकले शुल्क तिरेको सेवामा टेलिकमले सूचनाहरु प्रसारण गर्दा दिक्क लाग्ने गरेको एक सेवाग्राहीले बताए । यसरी ग्राहकलाई दिक्क लाग्ने किसिमका सन्देशहरु प्रसारणमा टेलिकम चुकेको सेवाग्राहीको गुनासो छ । यद्यपि, टेलिकमले सरकारी सन्देशमुलक सूचनाहरुलाई भने निःशुल्क प्रसारण गर्ने गरेको छ । नेपाल दूरसञ्चार कम्पनीका (नेपाल टेलिकम) सोभन अधिकारी सरकारका सन्देशमुलक वा सूचनामुलक सूचना प्रसारण गर्दा नेपाल टेलिकमलाई शुन्य फाइदा हुने गरेको बताउँछन् । जनहितमा जारी सन्देश वा सूचना प्रसारण गर्दा उल्टै आफ्नो सेवालाई कटौति गर्नु परेको उनको भनाइ छ । ‘टेलिकमको कलर रिङ्ग ब्याक टोन (सीआरबीटी) र एसएमएस अलर्टबाट मात्रै आम्दानी हुन्छ, जस्तो फोनमा गीत सुनाउन कुनै सीआरबीटी प्रयोग गरिन्छ, सीआरबीटीबाट संकलन हुने रकम कम्पनीको आम्दानीमा जोडिन्छ,’ उनले भने । सरकारी निकायले दिएका सूचनाहरु जस्तो कोरोना, डेङ्गु महामारी न्यूनीकरण लगायतका सन्देश बजाउने गरिएको छ । सरकारी निकायले रेकर्ड गरेर पठाएको सन्देश नै कम्पनीले प्रसारण गर्दछ । सन्देशमुलक, सूचनामुलक बाहेक ग्राहकहरुले सीआरबीटी प्रयोग गर्दा कम्पनीलाई ठूलो रकम आम्दानी हुने गरेको टेलिकमले बताएको छ । सरकारी सूचना प्रसारण गर्दा ठूलो लागत नलाग्ने भएकाले कम्पनीलाई धेरै घाटा नलाग्ने अधिकारीले बताए । ‘सरकारी सूचना सिस्टममा अपडेट गराउँदा धेरै लागत लाग्दैन, उहाँहरु रेकर्ड गरेर पठाउनु हुन्छ, अपडेट वा लोड गर्नलागत नलागे पनि सीआरबिटी प्रयोगकर्ताहरुबाट भइरहेको आम्दानी भने घट्छ, सरकारी सूचनाहरु बजाउँदा सीआरबिटी सेवा बन्द हुन्छ,’ उनले भने, ‘कोरोना महामारीको बेला लामो समय न्यूनीकरण सम्बन्धी सूचना बजाउनु पर्याे, त्यो बेला सीआरबीटी धुनहरु बन्द गर्दा आम्दानी घट्यो, घाटा भएको होइन तर आम्दानीमा ब्रेक लागेको हो ।’ उनले ग्राहकलाई दिक्क लाग्ने सूचनाहरुमा टेलिकम सचेत रहेको बताए । सूचना बजाउने भाँडोको रुपमा लिने भन्दा पनि राज्यको निकाय भएकाले जिम्मेवारी बहन गरेको उनको भनाइ छ । राज्यको नीति र आवश्यकता अनुसार यस्ता सन्देशहरु बजाइने गरेको उनले बताए । विकट ठाउँमा कम्पनीले लागत भन्दा सस्तो सेवा दिइरहेको प्रवक्ता अधिकारी बताउँछन् । देशभर सञ्चार सेवा सुलभ दरमा पुर्याउने कम्पनीको दायित्व रहेको उनले बताए । ‘नेपाल टेलिकमले अहिलेसम्म कुनै कम्पनी वा ब्यक्तिको विज्ञापन गर्ने गरेको छैन, एनटिसीले सन्देशमुलक सूचना मात्रै सरकारको तर्फबट बजाएको हो, विदेशमा टेलिकम कम्पनीहरुले पनि विज्ञापन गरिरहेका उदाहरण छन्, कतिपय देशमा सञ्चार सेवा प्रदायक कम्पनीले विज्ञापन प्रसारण गरेका हुन्छन्,’ उनले भने । सरकारका सूचना तथा अन्य माध्यमभन्दा सजिलो र छोटो अवधिमा धेरै भन्दा धेरै जनतामाझ पुर्याउन टेलिकमको सेवा सबैभन्दा बढी प्रभावकारी रहेको उनले बताए । तर, टेलिकमले सूचना बजाउँदा अरुको भाग खोसेको जस्तो देखिएपनि कम्पनीले आफ्नो उत्तरदायित्व मात्रै निर्वाह गरेको बताए । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं उपभोक्ताको सन्तुष्टिलाई ध्यानमा राखेर सूचना सन्देश प्रसारण गर्नुपर्ने बताउँछन् । विज्ञापन बोर्डले जारी गरेको आचार संहिता अनुसार कुन-कुन सूचना कुन माध्यमबाट बजाउने भनेर स्पष्ट खुलाएको उनको भनाइ छ । दैविक प्रकोप, सामाजिक र सार्वजनिक हीतको सूचना, अत्यावश्यक सेवा वा जनधनको क्षति हुने अवस्था आयो भने जुनसुकै माध्यमबाट पनि सूचना प्रकाशन/सारण गर्ने चलन संसारभरी रहेको उनले बताए । ‘टेलिकमले उपभोक्ताको सन्तुष्टिलाई ध्यान दिनुपर्छ, ग्राहकको सन्तुष्टि नै सबैभन्दा ठूलो कुरा हो, यदि त्यस्ता सूचनाले ग्राहकलाई दिक्क लाग्ने वा मन पराएका छैनन् भने टेलिकम सजग हुनुपर्छ,’ उनले भने, ‘तपाई हामीले प्रयोग गरेको फोनको शुल्क तिरेको हुन्छ, यसमा हाम्रो अनुमति र अत्यावश्यक बेगर प्रसारण गर्नु हुँदैन, ग्राहकको सन्तुष्टिलाई बुझ्ने दायित्व कम्पनीको नै हो ।’ कम्पनीले प्रसारण गरेको सूचना वा सन्देशले ग्राहकलाई आकर्षण वा विकर्षण के गरेको छ भनेर सचेत हुनुपर्ने उनले बताए । उनका अनुसार नेपाली भाषा नबुझ्ने कुनै एक ग्राहक छ भने उसले त्यो सूचना केही बुझ्दैन भने यस्ता सन्देश आउँदा झनै दुविधा बनाउँछ । त्यसले ग्राहकलाई सही ढंगले सेवा दियो की दिएन भनेर विश्लेषण गर्ने जिम्मा कम्पनीको नै रहेको उनले बताए । कम्पनीले आफ्नो विज्ञापन पनि आफ्नै माध्यमबाट गर्न नपाइने अध्यक्ष हुमागाईंले बताए । विज्ञापनमा सूचीकरण भएका सञ्चार माध्यममा मात्रै विज्ञापनको कारोबार गर्नुपर्ने उनको भनाइ छ । टेलिकम र एनसेल सेवा प्रदायक कम्पनी भएकाले आफ्नो विज्ञापन आफ्नै माध्यमबाट गर्न नहुने उनले बताए । ‘ग्राहकले शुल्क तिरेको हुँदा विज्ञापन बजाउन पाउँदैन, विज्ञापन बजाएर यति छुट दिन्छु भनेको हुँदैन, ग्राहकको तर्फबाट पनि कम्पनीले हेर्नुपर्ने हुन्छ, यो विषयमा टेलिकमले ग्राहकमैत्री रुपमा हेर्नुपर्छ,’ उनले भने, ‘विज्ञापन गर्ने अन्य माध्यम पनि छन्, विज्ञापन गर्ने माध्यम टेलिकम्युनिकेसन क्षेत्र होइन, विज्ञापन गर्ने प्ल्याटफर्म पनि होइन ।’ सार्वजनिक हितको लागि टेलिकमले बजाएको सन्देशमा कुनै आपत्ति नजानएको बोर्ड अध्यक्ष हुमागाईंले बताए । यदि कुनै ब्राण्ड वा प्रडक्ट (आफ्नो बाहेक)को विज्ञापन गर्याे भने विज्ञापन बोर्डले कारवाही गर्ने उनको भनाइ छ ।
४.२५ अर्ब नाफा गरेसँगै नेपाल टेलिकमको ईपीएस ४७.२८ रुपैयाँ
काठमाडौं । नेपाल टेलिकमको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ९.१६ प्रतिशत बढेर ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ८९ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको बिक्री वितरण आम्दानी ५.८८ प्रतिशत घटेर १८ अर्ब ७ करोड ७३ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ अर्ब २० करोड ७१ लाख रुपैयाँ बिक्री आम्दानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ४४.६४ प्रतिशत बढेर ४ अर्ब २ करोड ३७ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ७८ करोड १९ लाख रुपैयाँ अन्य आम्दानी गरेको थियो । पुस मसान्तसम्म कम्पनीको कुल आम्दानी ०.५१ प्रतिशत बढेर २२ अर्ब १० करोड ११ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ अर्ब ९८ करोड ९१ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १८ अर्ब रुपैयाँ र जगेडा कोष ३.८१ प्रतिशत घटेर ७४ अर्ब ३२ करोड ५९ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३.९७ रुपैयाँ बढेर ४७.२८ रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४३.३१ रुपैयाँ रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ५१२.९२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १८.३७ गुणा रहेको छ ।