सेयर बजार ९.२२ अंकले घट्दा शिखर इन्स्योरेन्सको १६ करोडको सेयर कारोबार

काठमाडौं, २३ मंसिर । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । साताको अन्तिम दिन बिहीबार पनि नेप्से परिसूच करिब १० अंकले घटेको छ । परिसूचक ९ दशमलब २२ अंकले घटेर १५४४ अंकमा झरेको छ । सो दिन १३४ कम्पनीको ७ लाख ३ हजार कित्ता सेयर ६० करोड २५ लाख रुपैयाँमा कारोबार भएको छ । उक्त कारोबार रकम बुधबारको तुलनामा १० करोडले बढी हो । झण्डै दोहोरो अंकले झरेको बजारमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको १६ करोड ५५ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बिहीबार कम्पनीको प्रतिकित्ता सेयर ३ हजार ६०० रुपैयाँ रहेको छ । त्यस्तै, एभरेष्ट बैंक र छिमेक लघुवित्त विकास बैंकको ३ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । बजारमा फाइनान्स समूहको परिसूचक बाहेक कारोबार भएका बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । बीमा र जलविद्युत समूहको परिसूचक क्रमशः ४५ र २६ अंकले ओरालो लागेका छन् । फाइनान्स समूहको परिसूचक सामान्य शून्य दशमलब ७ अंकले उकालो लागेको छ भने अन्य बाँकी समूहको परिसूचक सामान्य अंकले घटेका छन् । बजारमा सबैभन्दा बढी अरुण फाइनान्सका लगानीकर्ताले ८ प्रतिशत गुमाएका छन् भने सबैभन्दा बढी नबिल इन्स्योरेन्सका लागानीकर्ताले ८ प्रतिशत कमाएका छन् ।

सेयर बजारमा आएको उतारचढाव सामान्य हो: गभर्नर डा.नेपाल

काठमाडौं, १५ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जीवी नेपालले सेयर बजारको उचारचढाव सामान्य भएको बताएका छन् । नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष समेत रहेका गभर्नर नेपालले बजार घट्नु र बढ्नु सामान्य रहेको बताउँदै त्यसलाई ठूलो रुपमा नलिन आग्रह गरे । नेपाल आर्थिक पत्रकार समाजको १९ औ स्थापना दिवसको अवसरमा बोल्दै गभर्नर नेपालले सेयर बजार विश्वव्यापी रुपमा घटबढ हुने भन्दै यसलाई दीर्घकालिन लगानीको रुपमा हेरिनुपर्ने बताए । उनले सेयर बजारमा सवैभन्दा बढी हिस्सा बैंक तथा वित्तिय संस्थाको रहेकोले राष्ट्र बैंकले नजिकबाट नियाली रहेको पनि दावी गरे । ‘पुँजी बजार भनेको छरिएर रहेको पैसा एकीकृत गर्ने हो । सेयरबजारमा जम्मा भएको पैसा पनि कुनै न कुनै संस्थाले कुनै स्थानमा लगानी गरिहेको हुन्छ गभर्नर,’ नेपालले भने । ‘बाणिज्य बैंकहरुको पुँजी आठ अर्व बनाउँदा ठूलो हाउगुजी थियो अहिले तिनै मानिसहरु पुँजी १६ अर्व पुर्याउनुपर्ने, १२ अर्व पुर्याउनुपर्ने भन्दै हिडेका छन्’ उनले भने । बाणिज्य बैंकहरुको पुँजी आठ अर्व बनाउँदा पनि नेपाली जनताले नै आफ्नो पैसा हालेको उनले स्पष्ट पारे । सोही अवसरमा गभर्नर डा.नेपालले भारतीय ५०० र एक हजार रुपैयाँको विषयमा दैनिकजसो रिजर्भ बैंक अफ इन्डिया र भारतीय राजदुतसँग आफ्नो कुराकानी भइरहेको बताए । उनले भने –‘ हाम्रो प्रधानमन्त्री र अर्थमन्त्रीले भारतीय समकक्षीसँग दुईपटक कुराकानी गरिसक्नु भएको छ यसबारे भारत सकारात्मक रहेको छ । त्यसैले ५०० र एक हजार दरका नोट साटिने व्यवस्था अव छिट्टै हुन्छ ।’ त्यस्तै उनले रेमिट्यान्सको बृद्धिदर घट्दो रहेको जनाउँदै आयातमा निर्भर राजस्व र रेमिट्यान्सको भरमा राज्य सञ्चालन हुदा ठूलो दुर्घटना हुन सक्ने पनि बताए । उनले आन्तरिक रुपमा उत्पादन बढाउनका लागि राष्ट्र बैंकले व्यवसायीलाई कर्जा सहजीकरण गरिएको पनि दावी गरे । त्यस्तै कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले देशको व्यापार घाटा चुलिदो रहेको बताए । उनले भने –‘हामीले गतवर्ष ८ अर्बको तरकारी र २३ अर्बको चामल छिमेकी मुलूकबाट आयात गरेछौँ । कृषिको लागि उर्बर भूमीमा बसिरहेका हामी नेपालीले यति ठूलो मात्रामा कृषिजन्य वस्तु आयात गर्नु हाम्रो लागि लज्जाको विषय नै हो । आयात वृद्धि भएर व्यापार घाटा उच्च हुनु द्रुत आर्थिक विकास खोजीरहेका हाम्रो लागि चुनौतीको विषय पक्कै हो । तर, हामी आत्तिनुपर्ने अवस्था मैले देखेको छैन । ’ सोही कार्यक्रममा उर्जामन्त्री जनार्दन शर्माले अव देश आर्थिक विकासमा लाग्नु पर्ने बताए । सो कार्यक्रममा सेजनद्धारा प्रकाशित गरिएको अर्थनीति पनि सार्वजनिक गरिएको थियो ।

सेयर बजारमा दोस्रो पटक पनि सर्किट ब्रेकर, १४०७ मा आइपुग्यो नेप्से

काठमाडौं, १३ मंसिर । कारोबार सुरु भएको पौने दुई घण्टा भित्र सोमबार सेयर बजार दुई पटक सर्किट ब्रेकर लाग्यो । सेयर बजार अस्वभाविक रुपमा घटेपछि आइतबार एक पटक मात्र सर्किट ब्रेकर लागेकोमा सोमबार दुई पटक लागिसकेको छ । दुईपटक सर्किट ब्रेकर लागेर खुलेको बजार ६१.६१ अंकले घटेर १४०७ अंकमा आइपुगेको छ । यसअघि बजार खुलेको ४० मिनेट पनि नपुग्दै नेप्से तीन प्रतिशतले घटेपछि १५ मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । त्यस्तै पुन खुलेको बजार १२ बजेर २७ मिनेट जादा पुन सर्किट ब्रेकर लागेको थियो । आइतबार पनि बजार खुलेको ४६ मिनेटमै बजार तीन प्रतिशतले घटेपछि सर्किट ब्रेकर लगाएर १५ मिनेट बजार स्थगित गरिएको थियो । बजार घट्दै जादा लगानीकर्ताहरु आत्तिएपछि सेयर आपुर्ति अत्यधिक बढ्न थालेको छ जसले गर्दा बजारले आपुर्तिलाई थेग्न सकिरहेको छैन ।

सेयर बजारमा ६५ अंकको गिरावट, कारोबार रकम भने बढ्यो

काठमाडौं, १० मंसिर । यो साता सेयर बजारमा नेप्से परिसूचक ६५ दशमलब ५९ अंकले घटेको छ । लगातार घटिरहेको बजारमा परिसूचक अन्तिम दिन १५३४ दशमलब ३ अंकमा आएर रोकिएको छ । यो साताभर बजारमा ५ अर्ब ७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सो अवधिमा ३१ हजार ३३६ कारोबारबाट ७३ लाख ३५ हजार तीन सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । नेपाल स्टक एक्सचेन्जमा १५२ कम्पनीहरुको कारोबार भएको छ । गत साताको तुलनामा नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार रकममा भने केहि सुधार भएको छ । कारोबार रकम गत साताको भन्दा ०.९ प्रतिशत बढी हो । गत साता जम्मा ५ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।  ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १४.१८ अंकले घटेर ३३१.१७ अंकमा आईपुगेको छ । साताभर सबैभन्दा बढी बीमा समूहको परिसूचक ७४७ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल समूहको १०५, विकास बैंकको ९९ र जलविद्युत समूहको ७० अंकले ओरालो लागेका छन् । वाणिज्य बैंक, उत्पादनमूलक, अन्य र व्यापार समूहको परिसूचक क्रमशः ४९, १३, १० र एक अंकले परिसूचक घटेका छन् । यस साता कारोबार रकमको आधारमा एभरेष्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । बैंकको ७१ करोड १५ लाख ८० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (चार लाख ६० हजार कित्ता) को आधारमा सिभिल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । यस साता पाँचै दिन खुलेको सेयर बजारमा ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

सेयर बजार घट्न थालेपछि म्यूचअल फन्ड कम्पनीहरुको काराेबारमा निगरानी, बजारलाई प्रभावित पारेको भेटेमा कारबाही

काठमाडौं, ८ मंसिर । नेपाल धितोपत्र बोर्डले म्याचुअल फन्ड कम्पनीहरुमा स्थलगत अनुगमन थालेको छ । म्युचुअल फन्ड कम्पनीहरुले सेयर नकिनेकाले बजार घटेको भन्ने आमगुनासो आउन थालेपछि बोर्डले म्याचुअल फन्ड कम्पनीहरुमा स्थलगत निरीक्षण थालेको हो । बोर्डका प्रबक्ता निरज गिरीका अनुसार म्याचुअल फण्ड कम्पनीहरु कै कारण बजार ओरालो लागेको लगानीकर्ताहरुको आरोप रहरेकोले आफूहरुले सत्यतथ्य पत्ता लगाउनका लागि ति कम्पनीहरुमा अनुगमन थालेको हो । बोर्डले मंगलबार दुई वटा म्युचुअल फन्ड कम्पनीमा छड्के लिएको थियो भने बुधबार पनि केही कम्पनीहरूमा बोर्डका अधिकारी निरीक्षण गर्न पुगेका छन् । गिरीले मंगलबार निरीक्षण गरिएका कम्पनीले क्षमता अनुसारको सेयर पहिल्यै किनिसकेको तथ्यांक देखाएको उनले जानकारी दिए । अनुगमनका क्रममा बजारलाई प्रभावित पार्ने काम म्युचुअल फन्डले गरेको पाइएमा कारवाही गर्ने रणनीति बोर्डले बनाएको छ ।

निरास र हतास देखिन्छन् सेयर बजारका लगानीकर्ता, तर्क आ-आफ्नै

काठमाडौं, ५ मंसिर । निभ सेम्युरिटिज प्रा.लि (ब्रोकर नम्वर ४७)मा लगानीकर्ताहरुको भीड थियो । तर उनीहरु सबै हतास र निरस देखिएका थिए । सबै जना एक अर्कासँग गानगुन कुरागर्दै थिए ऋण लिएर किनेको सेयर घट्न थाल्यो, ऋणको भारी बढ्छ अव बेच्नुपर्छ । यसैबीचमा रुपक विष्ट उठे र ग्लोवल आइएमइ बैंकको ५०० कित्ता सेयर बेचे । उनले भने राखेर के गर्नु व्याजको मात्र भारी सेयर बढ्ने होइन । सुमेरु सेक्युरीटीज प्रालिमा (ब्रोकर नम्वर ३९) पनि लगानीकर्ताहरु सेयरको कारोबारमा व्यस्त देखिन्थे । उही हतास र निरस मुद्रामा आफूसँग भएको सेयर धमाधम बेचिरहेका थिए । आइतबार लगानीकर्ताहरु अत्यन्त असुरक्षित महसुस भेटिए । यसको कारण हो बजार ह्वात्तै घट्नु । बैंक तथा वित्तीय संस्थाबाट ऋण गरेर बजारमा लगानी गरेका लगानीकर्ताहरु अत्तालिएका देखिन्थे । आइतबार सेयर बजार परिसुचक (नेप्से) ५८ अंकले ओरालो लागेको छ । त्यस्तै विहीबार पनि करिव ४० अंकले बजार घटेको थियो । जसले लगानीकर्ताहरुमा थप असुरक्षा पैदा गरेको छ । आइतबार सेयर बजार खुलेका केही घण्टामा नै नेप्से ८० अंकले तल झरेको थियो । कारोबार बन्द हुदा सम्म नेप्से ५८ अंकले तल झरेर १५९९दशमलव ६२ अंकमा अडिएको छ । सुमेरु सेक्युरिटिजका सञ्चालक प्रेम अग्रवाल नेप्से घट्नुमा व्याजदर बढ्नु र सेयरको आपूर्ति बढ्नु मुख्य कारण रहेको बताउँछन् । पछिल्लो समयमा कम्पनीहरुले राम्रो लाभांस तथा बोनसहरु दिइरहेका छन्, तैपनि बजार घटिरहेको छ । सेयर बजारमा लगानी गर्नेहरुमध्ये धेरैले बैंक तथा वित्तिय संस्थाबाट ऋण लिइरहेका छन् । व्याज बढ्दा त्यसको नकारात्मक असर बजारमा परेको हो । अग्रवाल भन्छन्–‘‘बजार घट्न थालेपछि निरन्तर घटिरहन्छ भन्ने हल्ला र सोचाईले पनि बजार गिरावटमा फ्यूलको काम गरिरहेको छ ।” सेयर बजार विश्लेषक हरिवोल काफ्ले भन्छन्–‘मैले सेयर मूल्य यति उच्च दरमा घट्नु पर्ने कुनै कारण देखेको छैन,’ लगानीकर्ताहरु त्यतिकै आत्तिएका छन् ।’ भारत सरकारले कालो धन नियन्त्रण भन्दै भारतीय ५०० र १००० को नोटमा लगाएको प्रतिबन्धको असर पनि सेयर बजारमा परेको अग्रवालको विश्लेषण छ । “हाम्रो भारतसँग नजिकको सम्बन्ध छ । भारतले लिएको नीतिले नेपाल अर्थतन्त्रमा असर परेको हुन्छ । नेपालमा पनि लगानीको स्रोत खोजी हुन्छ कि भन्ने डर लगानी कर्ता देखिन्छ’’ अग्रवालले भने । संस्थागत लगानीकर्ताले बजारबाट हात झिकेकाले पनि मूल्य घटिरहेको जानकारहरु बताउँछन् । विश्लेषक काफ्ले भन्छन्–‘यतिखेर बजारमा ठूला लगानीकर्ता, म्युचअल फण्डले सेयर उठाएका छैनन् । दशैंपछि कारोबारको भोल्युम कम हुनुले त्यहि संकेत गर्छ । दशैं अगाडि बजारमा दैनिक दुई अर्ब रुपैयाँभन्दा बढीसम्म कारोबार भएको थियो तर दशैपछि दैनिक एक अर्ब रुपैयाँभन्दा थोरै कारोबार भईरहेको छ ।’ उनका अनुसार राजनीतिक अवस्था अन्यौलपूर्ण रहेको र बजार घट्दा अव घट्न थाल्यो भन्ने लगानीकर्ताको मानसिकताले पनि बजारमा असर गरेको हो । यही बेला केही कम्पनीहरुको हकप्रद भर्नु पर्ने अबस्था छ । त्यसैले लगानीकर्ता त्यता रकम जोहो गर्नतिर लागेकोले पनि बजारमा सेयर बिक्रीको चाप बढ्दै गएको हो । आइतबार सबै परिसूचक राताम्मे भएका छन् । बजार घट्नुलाई स्वाभाविक रुपमा लिनुपर्ने बताउँछन् निभ सेक्युरिटिज प्रा.लिका ट्रेडिङ अधिकृत विष्णु सापकोटा । बजार ’पिक’मा पुगेको बेला छिरेका लगानीकर्ता अहिले आत्तिएर सेयर बेच्न थाल्दा बजारमा ठूलो गिरावट आएको उनको भनाई छ ।

सेयर बजार तिव्र रुपमा ओरालो लाग्दै, सवै उपसमूह पनि रातै

काठमाडौं, ५ मंसिर । साताको पहिलो दिन कारोबार खुलेदेखि नै बजार तिव्र रुपमा ओरालो लागेको छ । काराेबार खुलेकाे ढेड घणटामा नै नेप्से परिसूचक बजार ६१ अंकले ओरालो लागेको छ । बजार पुरै राताम्य भएकाे छ । लगानीकर्ताहरू अात्तिएकाे देखिएकाे छ । सबैभन्दा बढी बीमा समूहकाे परिसूचक ३११ अंकले ओरालो लागेको छ । बैंकिङ समूहको परिसूचक ६९ दशमलव ३६ अंकले ओरालो लागेको छ । सेयर बजारमा सबैभन्दा बढी हिस्सा बैकिङ समूहकाे रहेकाे छ । जलविद्युत ६६ दशमलव ४३, होटल ५९ दशमलव ७९, विकास बैंक ४८ अंकले ओरालो लागेको छ । मूल्यमा उच्च गिरावट अाएपनि काराेबार भने बढी देखिएकाे छ । काराेबार खुलेकाे ढेड घण्टामा करिव ४० कराेड रूपैयाँ बराबरकाे सेयर काराेबार भएकाे छ ।

वास्तविक क्षेत्रका कम्पनीले पुँजीको १० प्रतिशत मात्र सेयर निष्काशन गर्न पाउने, नयाँ नियमावलीमा सेयर बजारको ठगहरुलाई नियन्त्रणको प्रयास

बाेर्डका अध्यक्षा डा रेवतबहादुर कार्की काठमाडौं, २८ कात्तिक । नेपाल धितोपत्र बोर्डले पूँजी बजारको बिकास तथा बिस्तार गर्न, अन्तर्राष्ट्रिय वित्तीय संस्थाले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न तथा वास्तविक क्षेत्रका संगठित संस्थाहरुलाई पूँजीबजारमा सहभागी गराउनुका साथै साविकको नियमावलीमा देखिएका कमि कमजोरीहरुलाई सुधार गर्न धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ ल्याइएको छ । नयाँ नियमावलीले प्रमुख रुपमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्ने व्यवस्था गरेको छ । यसअघि इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी), एशियाली विकास बैंक (एडीबी), हिमाल पावर लगायत संस्था तथा कम्पनीले स्थानीय मुद्रामा ऋणपत्र जारी प्रयास गरे पनि ऋणपत्र दर्ता तथा निश्काशन सम्बन्धि व्यवस्था नहुँदा ती प्रक्रिया अगाडि बढ्न सकेको थिएन । नयाँ नियमावलीले वास्तविक क्षेत्रका संगठित संस्थाहरुले न्यूनतम दश प्रतिशत मात्र पनि सार्वजनिक निष्काशनमा जान पाउने व्यवस्था गरिएको छ । यसअघिको व्यवस्थामा चुक्ता पुँजीको कम्तिमा ३० प्रतिशत सेयर सर्बसाधारणलाई बेच्नुपर्ने व्यवस्था गरेको थियो । त्यस्तै, नयाँ नियमावलीमा प्रिमियममा धितोपत्र निष्काशन गर्न सक्ने व्यवस्था गरिएको छ । यसअघि साधारण सेयर निश्काशन गर्दा अंकित मूल्यमा सेयर निश्काशन गर्ने व्यवस्था थियो । नयाँ नियमावलीले स्वार्थ बाझिने गरी धितोपत्रको निष्काशन/वितरण गर्न नपाउने गरेको छ । गुरुप्रसाद न्यौपाने लगायत केही व्यवसायीले स्वार्थ बाझिने गरि सेयर निष्काशन गरेपछि बोर्ड यस्ता फटाहाहरुको ठगी धन्दा रोक्ने प्रयास गरेको छ । नयाँ नियमावलीमा धितोपत्रदर्ता तथा दस्तुर बुझाउने व्यवस्थालाई सरलीकृ गरिएको बोर्डले जनाएको छ । ‘संगठित संस्थाहरुले गर्ने सार्वजनिक निष्काशन, हकप्रद निष्काशन, नयाँ निष्काशन तथा अन्य निष्काशनलाई थप सरलीकृत गर्ने, सूचिकृत संगठित संस्थाहरुको विवरण प्रवाहलाई थप व्यवस्थित गर्ने, गाभ्ने गाभिने प्राप्ति कार्यपछिको धितोपत्रदर्ता कार्यलाई सहजीकरण गर्ने, परिपत्र विधिद्वारा गरिने निष्काशन कार्यलाई व्यवस्थित गरी स्वस्थ परिपाटीको विकास गर्ने’ जस्ता व्यवस्थाहरु नयाँ नियमावलीमा गरिएको धितोपत्रा बोर्डले जनाएको छ । नयाँ नियमावलीले स्वार्थ बाझिने गरी धितोपत्रको निष्काशन/वितरण गर्न नपाउने गरेको छ । गुरुप्रसाद न्यौपाने लगायत केही व्यवसायीले स्वार्थ बाझिने गरि सेयर निष्काशन गरेपछि बोर्ड यस्ता फटाहाहरुको ठगी धन्दा रोक्ने प्रयास गरेको छ । यो नियमावली लागू भएपश्चात वास्तविक क्षेत्रका संगठित संस्थाहरुको बजारमा प्रवेशलाई प्रोत्साहन हुने, दोस्रो बजार व्यापक भै बजारको संरचनात्मक सुधार हुने, आईएफसी, एडीबी जस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्दा बजारको विस्तार र गहिराई बढी नयाँ अध्याय थपिने, कन्फिक्ट अफ इन्ट्रेष्टलाई सम्बोध नहुने, धितोपत्रको निष्काशन कार्य थप व्यवस्थित तथा पारदर्शी हुने तथा बिगत पच्चीस वर्षदेखि निश्चित मूल्यमा सार्वजनिक निष्काशन हुने गरेकोमा निश्चित मापदण्ड पूरा गरी स्वतन्त्र मूल्यमा जानको लागि पूर्वाधार तयार हुने बोर्डको विश्वास रहेको छ । नयाँ नियमावली आगामी मंसिर १ गतेदेखि लागू हुने बोर्डले जनाएको छ । नयाँ नियमावली लागू भएपछि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ लाई प्रतिस्थापन हुने प्रवक्त निरज गिरीले जानकारी दिए ।

सेयर बजारमा सीघ्र सुधारात्मक कार्य गर्न सम्बन्धित कम्पनीहरूलार्इ धितोपत्र बोर्डको निर्देशन

काठमाडौं, २१ कात्तिक । नेपाल धितोपत्र बोर्डले सेयर बजारको समस्या पहिचाहनसहित सीघ्र सुधारात्मक कदम चालेको छ । बोर्ड धितोपत्र बजारमा काम गर्ने नेपाल स्टक एक्स्चेन्ज, सीडीएस एण्ड क्यिलरिङ, ब्रोकर कम्पनी, मर्चेन्ट बैंकर्सलगायत सबै संस्थालाई छुट्टाछुट्टै पत्र काट्दै सुधारका विभिन्न काम गर्न निर्देशन दिएको छ । बजारमा सुधार ल्याउनको लागि कम्पनीहरुले गर्नु पर्ने कामको सूचि नै तयार गरेर उल्लेखित काम तत्काल गर्न र प्रगति विवरण बोर्ड समक्ष पेश गर्न निर्देशन दिएको छ । दसैंपछि र तिहार अघि बोर्डले सबै कम्पनीहरुलाई सुधार गर्नु पर्ने कार्यहरुको सूचिसहित निर्देशनात्मक पत्र काटेको छ । बोर्डले असाेज ३० गते नेपाल स्टक एक्स्चेन्जलाई पत्र काट्दै क्लियरिङ बैंक थप गर्न, सिस्टम अडिट गर्न, कारोबार सफ्टवेयरमा आएको समस्या तत्काल समाधान गर्न, सेयर ब्रोकर कम्पनीहरुको पूर्वाधार सुधार र शाखा विस्तारको कार्य गराउन, ब्रोकर कम्पनीहरुको सुपरिवेक्षण तथा अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएको छ । साथै कम्पनीको लेखापरिक्षण गरी वार्षिक प्रतिवेदन ठिक समयमा पेस गर्न निर्देशन दिएको छ । धितोपत्र बोर्डले सीडीएस एण्ड क्लियरिङ कम्पनीलाई पनि पत्र काटेर क्लियरिङ बैंक थप गर्न, सिस्टम अडिट गर्न, निक्षेप सदस्यको सुपरिवेक्षण तथा अनुगमन गर्न, पे इन र पे आउट सिस्टम व्यवस्था मिलाउन, लगानीकर्ताको लागि इन्भेष्टर आईडी बनाउन, राफसाफ तथा फस्र्योट सम्बन्धि सफ्टवेयरमा आएको समस्या तत्काल समाधान गर्न, बोल्ड खोल्दा बैंक खाता समेत अद्यावधिक गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । साथै, बोर्डले यसअघि दिएको निर्देशन तथा नीतिको पालना नगरको विषयमा सीडीएक एण्ड क्लियरिङ कम्पनीलाई स्पष्टीकरण मागेको छ । ‘बोर्डले दिएका निर्देशन शीघ्र कार्यान्वयन गर्न र कार्यन्वयनमा भएका प्रगति बारे जानकारी गराउनु’ बोर्ड काटेको पत्रमा उल्लेख गरिएको छ । बोर्डले धितोपत्र ब्रोकर कम्पनीहरुलाई शंकास्पद सेयर कारोबारमा निगरानी बढाउन, त्यस्ता कारोबारको विवरणको जानकारी नियामक निकायलाई दिन, धितोपत्र दलाल व्यवसायलाई छिटो, छरितो र चुस्त बनाउन, लगानीकर्ताको गुनासो समाधान गर्न निर्देशन दिएको छ । यसैबीचमा नेपाल धितोपत्र बोर्डले तिहारअघि ६ वटा ब्रोकर कम्पनीहरुको कारोबार एक हप्तासम्म बन्द गरिदिएको थियो भने नागरिक लगानी कोषसहित ४ वटा मर्चेन्ट बैंकरलाई एक साता नयाँ काम गर्न रोकिदिएको छ । नियम अनुसार आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र वित्तीय विवरण नबुझाएको र विवरण बुझाउन नभ्याएको अवस्थामा नियम अनुार थप तीन महिना समय माग समेत नगरी धितोपत्र सम्बन्धी कानुनको अवज्ञा गरेका कारणले उनीहरुलाई कारवाही गरिएको धितोपत्र बोर्डले जनाएको छ । सच्याइएकाे ः यस समाचारकाे तेस्राे प्याराग्राफमा भुलबस कात्तिक ३० हुन गएकाेले सच्याइएकाे छ । सम्पादक

सेयर बजारमा सामान्य अंकको सुधार, दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि

काठमाडौं, १८ कात्तिक । लगातार ६ दिनसम्म बन्द भएर खुलेको सेयर बजारमा सामान्य अंकको सुधार भएको छ । सो दिन बजारमा निकै उतार चढाव देखिएको छ । बजार खुलेको एक घण्टामा घटेर १७५३ अंकमा पुगेको बजारलाई बन्द हुँदा भने केही टेवा पुगेको छ । सो दिन बजार बन्द हुँदा परिसूचक २ दशमलब ४८ अंकले बढेर १७६२ मा पुगेको छ । बिहीबार ५३ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोही दिन १२१ कम्पनीको ८७ लाख कित्ता सेयर कारोबार भएको हो । बजारमा सबैभन्दा बढी सिभिल बैंकको ११ करोड रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, छिमेक लघुवित्तिक विकास बैंकको ५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक र एभरेष्ट बैंकको ३ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । सो दिन एनएमबी माइक्रोफाइनान्स वित्तिय संस्था र जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । त्यस्तै, भिवोर सोसाइटी विकास बैंक र सिर्जना फाइनान्स (वित्तिय संस्था) का लगानीकर्ताले क्रमशः ८.९८ र ७.८८ प्रतिशत कमाएका छन् । सबैभन्दा बढी मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले करिब ७ प्रतिशत गुमाएका छन् । बजारमा सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक २५ अंकले उकालो लागेको छ । त्यस्तै, बैंक र फाइनान्स समूह सामान्य अंकले बढेका छन् । सबैभन्दा बढी बिमा समूहको परिसूचक ३१ अंकले घटेको छ । त्यस्तै, अन्य समूह, होटल र हाइड्रोपावर समूह क्रमशः ९, ७ र ६ अंकले घटेका छन् ।

सेयर बजारमा सामान्य अंकको सुधार, ८१ करोडको सेयर कारोबार

काठमाडौं, १० कात्तिक । यो साताको शुरुदेखि नै निरन्तर घटेको बजारमा बुधबार भने सामान्य सुधार भएको छ । सो दिन बजार खुलेको दुई घण्टामा घटेर १७३५ अंकमा पुगेको बजारलाई बन्द हुँदा भने केही टेवा पुगेको छ । सो दिन बजार बन्द हुँदा परिसूचक २ दशमलब ४६ अंकले बढेर १७५३ मा पुगेको छ । बजारमा माच्छापुच्छ«े बैंक र शिखर इन्स्योरेन्सको ६ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, जनता बैंक नेपालको ४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । एभरेष्ट बैंक, नेपाल बङ्गलादेश बैंक र स्ट्याण्डार्ड चार्टड बैंकको ३ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । त्यस्तै, सिभिल बैंक र मेघा बैंक नेपालका लगानीकर्ताले क्रमशः ९.२९ र ८.४० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी राप्तीभरी विकास बैंकका लगानीकर्ताले ५ प्रतिशत गुमाएका छन् । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक १०५ अंकले उकालो लागेको छ । त्यस्तै, होटल, फाइनान्स र अन्य समूह सामान्य अंकले बढेका छन् । विकास बैंक, हाइड्रोपावर र बैंकिङ् समूहको परिसूचक क्रमशः ६, ०.५१ र ०.२ अंकले ओरालो लागेका छन् ।

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि एक अर्ब कम

काठमाडौं, ७ कात्तिक । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार बजार १२ दशमलब शुन्य ८ अंकले घटेर १७८२ दशमलब ३९ अंकमा आइपुगेको हो । सो दिन होटल विकास बैंक समुह बाहेक सबै समुहका परिसूचकमा ओरालो लागेका छन् । बैंक समुह १७ दशमलब ९९ अंक, उर्जा २८ दशमलब ७६, फाइनान्स ४ दशमलब शुन्य ८, इन्स्योरेन्स १२ दशमलब १५ र अन्य समुह ९ दशमलब २५ अंकले घट्दा होटल समुह भने १५ दशमलब ८४ अंकले बढेको छ । विकास बैंक समुह पनि ८ दशमलब ७३ अंकले बढेको आइतबार १२६ कम्पनीको १० लाख कित्ता सेयर ९६ करोड ४५ लाख रुपैंयाँमा किनबेच भएको हो ।

सेयर बजारमा मन्दीको संकेत, व्याजदर वृद्धि र आपूर्ति वृद्धिसँगै सेयर मूल्यमा गिरावट

काठमाडौं, ७ कात्तिक । गत साता नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा १ करोड ३५ लाख २२ हजार कित्ता सेयर सूचिकृत भयो, जसको अंकित मूल्य हो १ अर्ब ३५ करोड रुपैयाँ हो । नेप्सेका अनुसार एनएमबी बैंकको ९४ लाख ३१ हजार कित्ता, साङग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर ३३ लाख ७५ हजार ५६० कित्ता र रिलायवल डेभलपमेन्ट बैंकको ७ लाख १६ हजार कित्ता सेयर सूचिकृत भएको हो । बजारमा सेयर आपूर्ति भएको बढ्दै गएको यो एउटा उदाहरण हो । अन्य तथ्याङ्कहरुले पनि बजारमा सेयर आपूर्ति निकै बढेको संकेत गर्छ । चालु आर्थिक वर्ष पहिलो तीन महिनामा मात्रै १० करोड कित्ता बराबरको हकप्रद सेयरलाई नेपाल धितोपत्र बोर्डले स्विकृति दिइसकेको छ । तीमध्ये अधिकांशले हकप्रद सेयर जारी गरिसकेका छन् । कृषि विकास बैंकले एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । हिमालयन बैंकले कात्तिक २६ गतेदेखि ६४ लाख कित्ता हकप्रद सेयर हकप्रद सेयर निष्काशन गरेको छ । सिद्धार्थ बैंकले ७५ लाख ५५ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । त्रिवेणी विकास बैंकले ४१ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । अरु १४ कम्पनीले ४ अर्ब रुपैंयाँ बराबरको हकप्रद सेयर निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका छन् । देवः विकास बैंक, कैलाश विकास बैंक, कामना विकास बैंक, अपि पावर कम्पनी, नेकोे इन्स्योरेन्स लगायतका कम्पनीले हकप्रद सेयर निष्काशनको अनुमति मागेका हुन् । त्यस्तै विभिन्न १० वटा कम्पनीले ७ अर्ब ५१ करोड मूल्य बराबरको आइपिओ जारी गरि पाउँ भन्दै बोर्डमा निवेदन दिएका छन् । यसरी निवेदन दिने कम्पनीहरु मध्ये नेपाल इन्स्योरेन्स कम्पनी र नेपाल एसबिआई बैंकले फर्दर पब्लिक अफरिङ (एफपिओ) जारी गर्ने भनेका छन् । अरुण कावेलीले ३० करोड बराबरको आइपिओ निष्काशनको अनुमति पाईसकेको छ । बजारमा सेयरको आपूर्ति बढेसँगै मू्ल्य घटिरहेको छ । पछिल्लो समय नेप्सेमा सूचिकृत अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले धमाधम हकप्रद सेयर घोषणादेखि निष्काशन गरिरहेका छन् । हकप्रद र नयाँ निश्काशन मात्र होइन, बोनस सेयरको रुपमा पनि धेरै सेयर बजारमा थपिदैछ । २८ वटा वाणिज्य बैंकले मात्र करिव २६ अर्ब रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्दैछन् । राष्ट्र बैंकले तोकेअनुसार पुँजी वृद्धिको चापले गर्दा वाणिज्य बैंक मात्र होइन, विकास बैंक, माइक्रो फाइनान्स र वित्त कम्पनीहरुले पनि गत वर्षको सबै नाफा बोनस सेयरको रुपमा वितरण गर्दैछन् । नेप्सेमा सूचिकृत सबै बीमा कम्पनीहरु नाफामा छन् तर उनीहरुले पनि सेयरधनीलाई नगद लाभांश वितरण गर्न बीमा समितिले रोकेकोले बोनस सेयर नै वितरण गर्नुपर्ने वाध्यता छ । सूचिकृत कम्पनीहरुले गत वर्षको नाफाबाट ५० अर्ब रुपैयाँ भन्दा बढीको बोनस सेयर नेप्सेमा सूचिकृत गर्ने सम्भावना देखिएको नेप्सेका एक अधिकारीले बताए । पुँजी वृद्धिको लागि चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले अर्बौ रुपैयाँ बराबरको हकप्रद सेयर निश्काशन गर्ने निश्चित छ । आपूर्ति बढेकाले मात्र होइन, बैंकको व्याजदर वृद्धिले पनि सेयर बजारलाई असर गरेको देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरुको व्याजदर समेत बढेपछि बैंकबाट ऋण लिएर सेयर बजारमा लगानी गर्नेहरु बजारबाट बाहिरिएका छन् । त्यसको प्रभाव पनि सेयर बजारमा परेको देखिन्छ । यसरी बजारमा निरन्तररुपमा सेयरको आपूर्र्ति बढिरहेपछि सेयर बजारमा ओरालो लाग्न थालेको देखिन्छ । गत साता मात्र नेप्से परिसूचक ९ दशमलब २७ अंकले घटेर अन्तिम दिन १७९४ दशमलव ४७ अंकमा झरेको थियो । मूल्य घटेसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ । पाँच दिन खुलेको सेयर बजारमा जम्मा ३८ लाख ८८ हजार कित्ता सेयर ३ अर्ब १ करोड २८ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको हो । जबकी तीन तीन महिना अघि सातामा ६/७ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार हुने गरेको थियो । मूल्य र कारोबार दुबै गिरावट हुनुले सेयर बजारमा मन्दीको संकेत गरेको जानकारहरु बताउँछन् । बजार सिद्धान्तमा माग र आपूर्तिले मूल्य श्रृंखला निर्धारण गर्छ । माग बढ्दा मूल्य बढ्छ भने आपुर्ति वृद्धि हुँदा मूल्य पनि घट्छ । अहिले सेयर बजारमा त्यहि माग र आपूर्ति श्रृंखलाको प्रभाव देखिइरहेको छ । अर्कोतिर बैंकको व्याजदर वृद्धिसँगै बैंकबाट ऋण लिएर सेयर कारोबार गर्ने लगानीकर्ता सेयर बजारबाट वाहिरीन थालेको अनुमान गरिएको छ । घरजग्गा कारोबार र मूल्यमा वृद्धि देखिएकोले सम्पत्ति बजारमा लगानी गरेर नाफा खोज्नेहरु सेयर बिक्री गरेर जग्गामा लगानी गर्न थालेको जानकारहरु बताउँछन् । यसले सेयर बजारमा थप गरावट आउने सम्भावना बढेर गएको छ ।

साताभर सेयर बजारमा ३ अर्बको सेयर कारोबार, सबैभन्दा बढी कुमारी बैंकको

काठमाडौं, ५ कात्तिक । यो साता सेयर बजारको परिसूचक साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९.२७ अंकले घटेर अन्तिम दिन १७९४ दशमलव ४७ अंकमा पुगेको छ । साताको सुरुवात देखि नै निरन्तर घटेको बजार बिहीबार भने सामान्य अंकले बढेको थियो । यो साता परिसूचक जस्तै कारोबार रकममा पनि गिरावट आएको छ । साताभर ३८ लाख ८८ हजार कित्ता सेयर ३ अर्ब १ करोड २८ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको छ । सो अवधिमा १४९ कम्पनीहरुको कारोबार भएको नेप्सले जनाएको छ । कारोबार रकमको आधारमा कुमारी बैंक लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको साताभर ३८ करोड ६२ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा पनि कुमारी बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सेयर बजारमा बैंंकिङ समूह १५ दशमलव ५७ अंकले घट्दा विकास बैंंक ५ दशमलव ८, वित्त १२ दशमलव २९ अंकले, होटल ५७ दशमलव ८८, उत्पादनमूलक समूह १३ दशमलब ९१ अंकले ओरालो लागेका छन् । जलविद्युत २७ दशमलव ८, बीमा १७ दशमलव ५६ र अन्य समूह ५ दशमलव ४९ अंकले बढेका छन् । व्यापार समूह भने स्थिर रहेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २.१६ अंकले घटेर ३८९.२४ अंकमा आईपुगेको छ ।

साताको अन्तिम दिन सेयर बजारमा हरियाली, परिसूचक र कारोबार दुबैमा सुधार

काठमाडौं, ४ कात्तिक । यो साताको शुरुवात देखिनै राताम्मे भएको सेयर बजारले अन्तिम दिन भने हरियाली छाएको छ । बिहीबार नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार भएको छ । परिसूचक ६ दशमलब ५८ अंकले उकालो लागेर १७९४ दशमलब ४७ अंकमा पुगेको छ । बुधबारको तुलनामा बिहीबार करिब १५ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन १२६ कम्पनीको ७ लाख ८७ हजार कित्ता सेयर ७० करोड ३३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन होटल, उत्पादनमूलक र फाइनान्स समूह बाहेक बाँकी समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १२७ अंकले उकालो लागेको छ । त्यस्तै सबैभन्दा बढी होटल समूहको परिसूचक ४२ अंकले ओरालो लागेको छ । बजारमा एभरेष्ट बैंक र शिखर इन्स्योरेन्सको ६ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ६ करोड ३० लाख रुपैयाँ र शिखर इन्स्योरेन्सको ६ करोड २३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । स्ट्याण्डर्ड चार्टड बैंकको ५ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सो दिन रिलायवल माइक्रोफाइनान्स वित्तिय संस्था र कामना विकास बैंकका लागानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । स्वरोजगार लघु वित्त विकास बैंकका लागानीकर्ताले करिब ६ प्रतिशत गुमाएको छन् ।

सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट, ६३ करोडको कारोबार

काठमाडौं, १ कात्तिक । सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । सो दिन नेप्से परिसूचक १० दशमलब ३८ अंकले घटेर १७९३ दशमलब ३६ अंकमा झरेको छ । आइतबार परिसुचक १६ अंकले घटेको थियो । सोमबार ११६ कम्पनीको ७ लाख ८३ हजार कित्ता सेयर ६३ करोड ६७ लाख रुपैयाँमा कारोबार भएको छ । सो दिन हाइड्रोपावर र अन्य समूह बाहेक बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ६२ अंकले ओरालो लागेको छ । त्यस्तै, होटल र बैंकिङ् समूहको परिसूचक दोहोरो अंकले ओरालो लागेका छन् भने बाकी समूहको परिसूचक सामान्य अंकले घटेका छन् । हाइड्रोपावर र अन्य समूहको परिसूचक क्रमशः १७ र शून्य दशमलब ११ अंकले उकालो लागेका छन् । बजारमा सबैभन्दा बढी किसान माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले करिब ६ प्रतिशत गुमाएका छन् । ३ प्रतिशत गुमाउनेमा अन्य चार कम्पनीका लगानीकर्ताहरु रहेका छन् । सो दिन सबैभन्दा बढी कामना विकास बैंकले करिब ६ प्रतिशत कमाएको छ । मितेरी विकास बैंक, अपी पावर कम्पनी, ज्योति विकास बैंक लगायत अन्य दुई कम्पनीको सेयर मूल्य २ प्रतिशत भन्दा बढीले बढेको छ । कुमारी बैंकको सबैभन्दा बढी ७ करोड ५६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । प्रभु इन्स्योरेन्स र बैंक अफ काठमाडौं लुम्बिनीको ५ करोड बढी रुपैयाँको सेयर किनबेच भएको हो ।

दसैँ पछिको सेयर बजार राताम्मे, १६ अंकको गिरावट, ६० करोडको कारोबार

काठमाडौं, ३० असोज । दसैंअघि हरियाली छाएर बन्द भएको सेयर बजार दसैंपछि खुलेको बजार भने राताम्मे भएको छ । दसैंपछि आइतबार लगत्तै खुलेको बजार १६ दशमलब १४ अंकले घटेर १८०३ अंकमा झरेको छ । सो दिन जम्मा १२२ कम्पनीको ७ लाख ६७ हजार कित्ता सेयर ६० करोड रुपैयाँमा किनबेच भएको छ । सो दिन कारोबार भएका ७ वटै समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ८१ अंकले ओरालो लागेको छ । त्यस्तै होटल, हाइड्रोपावर, बैकिंङ् र अन्य समूह क्रमशः ७२, १८, १५ र ११ अंकले ओरालो लागेका छन् । बाकी विकास बैंक र फाइनान्स समूहको परिसूचक क्रमशः ९ र ५ अंकले घटेका छन् । सबैभन्दा बढी पुर्णिमा विकास बैंकको सेयर मूल्य करिब साढे ४ अंकले घटेको छ । त्यस्तै, प्रभु इन्स्योरेन्स, नेपाल ग्रामीण विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक र सोल्टी होटलका लागानीकर्ताले करिब ४ प्रतिशत गुमाएका छन् । सबैभन्दा बढी ज्योती विकास बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । त्यस्तै, कामना विकास बैंकका लगानीकर्ताले ७ प्रतिशत कमाएका छन् । बजारमा सबैभन्दा बढी कुमारी बैंकको १७ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । प्रभु इन्स्योरेन्सको ५ करोड २९ लाख रुपैयाँ र बिओकेको ४ करोड ४६ लाख रुपैयाँ बरावरको सेयर किनबेच भएको छ ।

बुधबार पनि बढ्यो सेयर बजार, नेप्से परिसूचकले नाघ्यो १८००

काठमाडौं, १९ असोज । यो साता सेयर बजार लगातार बढिरहेको छ । बुधबार पनि नेप्से परिसूचक ८ दशमलब १० अंकले बढेर १८०६ दशमलब ६० अंकमा पुगेको छ । यो साताभरिकै उच्च अंक हो । सो दिन १३२ कम्पनीको १० लाख कित्ता सेयर ९२ करोड ८४३ लाख रुपैयाँमा किनबेच भएको छ । मंगलबारको तुलनामा आज कारोबार रकममा भने गिरावट भएको छ । बुधबार बजारमा बैंक अफ काठमाडौं लुम्विनीको सबैभन्दा बढी २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन बैंकको सेयर मूल्य ७८७ रुपैयाँ रहेको छ । त्यस्तै, एभरेष्ट बैंकको १० करोड रुपैयाँको सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यस्तै, सेवा विकास बैंक, कुमारी बैंक र ज्योति विकास बैंकका लागानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी सानिमा माइ हाइड्रोपावरका लागानीकर्ताले करिब ८ प्रतिशत गुमाएका छन् । सो दिन उत्पादनमूलक, हाइड्रोपावर र बीमा समूहको परिसूचक बाहेक अन्य बाकी समूहको परिसूचक उकालो लागेका छन् । होटल, बैंकिङ्, विकास बैंक, फाइनान्स र अन्य समूहको परिसूचक क्रमशः ५८, १३, ४.८३, ४.६१ र २ अंकले बढेका छन् ।

सेयर बजार निरन्तर बढ्दै, परिसूचक १८०० नजिक, शिखरको २० करोडको कारोबार

काठमाडौं, १८ असोज । यो साता सेयर बजार शुरु भएको दिनदेखि निरन्तर बढ्दै गएको छ । मंगलबार नेप्से परिसूचक १८ दशमलब १० अंकले बढेर १७९८ अंकमा पुगेको छ । सो दिन १२७ कम्पनीको १० लाख २७ हजार कित्ता सेयर १ अर्ब १२ करोड ८७ लाख रुपैयाँमा किनबेच भएको छ । सो दिन सबैभन्दा बढी शिखर इन्स्योरेन्सको २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल बङ्गलादेश बैंकको १७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार ४ वटा कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । बैंक अफ काठमाडौं, कुमारी बैंक, प्रभु बैंक र ज्योति विकास बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी महिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले करिब ४ प्रतिशत गुमाएका छन् । सो दिन अन्य समूह र फाइनान्स समूह बाहेक बाकी समूह उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २३१ अंकले उकालो लागेको छ । हाइड्रोपावर र बैंकिङ् समूहको सूचक दोहोरो अंकले उकालो लागेका छन् ।

सेयर बजारमा सामान्य अंकको सुधार, ८१ करोडको करोबार, ३ कम्पनीको सेयर मूल्य १० प्रतिशले बृद्धि

काठमाडौं, १३ असोज । बुधबार घटेको सेयर बजार बिहीबार भने सामान्य अंकले सुधार भएको छ । बिहीबार नेप्से परिसूचक ४ दशमलब २८ अंकले बढेर १७५३ अंकमा पुगेको छ । सो दिन १४२ कम्पनीको ९२ लाख ६९ हजार कित्ता सेयर ८१ करोड २४ लाख ७४ हजार रुपैयाँमा किनबेच भएको छ । बिहीबार बैंक अफ काठमाडौं लुम्बिनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै ज्योति विकास बैंक र कुमारी बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी निर्धन उत्थान बैंकका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् । सो दिन कारोबार भएका ८ समूह मध्ये ३ समूहको परिसूचक उकालो लागेका छन् भने अन्य समूहको परिसूचक ओरालो लागेका छन् । उत्पादनमूलक, बैंकिङ् र होटल समूहको परिसूचक क्रमशः १८, १२ र ६ अंकले बढेका हुन् । बीमा र विकास बैंकको क्रमशः १९ र १८ अंकले घटेका छन् भने अन्य बाँकी समूहको सूचक सामान्य २ अंकले घटेको छ । बिहीबार नेपाल बङ्गलादेश बैंकको ८ करोड बढी रुपैयाँको सेयर किनबेच भएको छ । सनराइज बैंकको ४ करोड र एभरेष्ट बैंक, शिखर इन्स्योरेन्स कम्पनी र सिद्धार्थ बैंकको प्रति कम्पनी करिब ३ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।