एफएनसीसीआईका १२ जना पूर्व अध्यक्ष सम्मानित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ महासंघमा योगदान गरेका १२ जना पूर्व अध्यक्षहरु सम्मानित भएका छन् । महासंघको ५४औं वार्षिक साधारणसभा उद्घाटनका अवसरमा महासंघले १२ जना पूर्व अध्यक्षहरुलाई सम्मान तथा कदरपत्र प्रदान गरेको हो । महासंघले महासंघका पूर्व अध्यक्ष रवि श्रेष्ठलाई सम्मानित गरेको छ । यस्तै अन्य ११ जना पूर्व अध्यक्षहरुलाई कदरपत्र प्रदान गरी सम्मान गरेको हो । महासंघ एवं निजी क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान र्पुयाउँदै आएका भन्दै उनीहरुलाई सम्मान गरेको महासंघले जनाएको छ । सम्मानित हुनेमा पूर्व अध्यक्ष रविभक्त श्रेष्ठ, महेशलाल प्रधान, विनोद चौधरी, पद्यम ज्योति, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, चण्डीराज ढकाल, कुशकुमार जोशी, सुरज वैद्य, प्रदीपजंग पाण्डे, पशुपति मुरारका रहेका छन् । उनीहरुलाई लाई कदर पत्रसँगै महासंघको पिन प्रदान गरेर सम्मानित गरिएको हो ।

एफएनसीसीआईको साधारणसभा केही बेरपछि सुरु हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५४ औं साधारणसभा केही बेरपछि सुरु हुने भएको छ । चैत २७ र २८ गते हुनुपर्ने साधारणसभा कोभिडका कारण पटक–पटक रोकिएपछि यो पटक भने स्वास्थ्य मापदण्ड पालना गरी गर्न लागिएको हो । साधारणसभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने बताइएको छ । उनले भच्र्युअल माध्यमबाट साधारणसभाको उद्घाटन गर्ने बताइएको हो । आज साधारणसभा भइसकेपछि भोलि र पसीर्ए निर्वाचन हुनेछ । हालका वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा साधारणसभाबाट स्वतः अध्यक्ष बन्नेछन् । भोलि हुने निर्वाचनका लागि महासंघको केन्द्रीय कार्यालय टेकु, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी र कार्की ब्यांकेट बबरमहल तोकिएको छ । अब महासंघको वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा छन् । दुवै जना आफ्नो प्यानलसहित चुनावी प्रतिष्पर्धामा उत्रिएका हुन् । ढकालका समूहबाट जिल्लानगरतर्फको उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दिएका छन् । यस्तै, प्रधान समूहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र एशोसिएट उपाध्यक्षमा सौरभ ज्योतीले उम्मेदवारी दिएका छन् ।

११ बजे सुरु हुने एफएनसीसीआई अधिवेशन १० बजे सर्वोच्चको कठघरामा

काठमाडौं । मंसिर ११ गतेदेखि १३ गतेसम्म हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । महासंले कानुन विपरित र संस्थाको विधान विपरित निर्वाचन गर्न लागेको भन्दै निर्वाचन रोक्नका लागि सर्वोच्चमा रिट दायर गरिएको हो । नेपाल उद्योग वाणिजय महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर शाहले सर्वोच्चमा रिट दायर गरेका हुन् । यसअघि उनले निर्वाचन रोक्नैकै लागि भनेर गत बिहिबार जिल्ला प्रसाशन कार्यालय काठमाडौंमा रिट दायर गरेका थिए । प्रशासनले रिटको सुनुवाई नगरेपछि उनी सर्वोच्चको ढोकामा जान बाध्य भएको उनले बताएका छन् । उजुरीमा भनिएको छ, ‘उजुरीमा राष्ट्रिय निर्देशन ऐन २०१८ अन्तर्गत दर्ता भएको संस्थामा पदावधि सकिएका पदाधिकारी स्वतः अवैधानिक हुने र उनीहरूले गर्ने कुनै पनि निर्णय अवैधानिक हुने भएकोले आगामी निर्बाचन समेत अवैधानिक भएको हुन्छ ।’ महासंघको वर्तमान कार्यसमिति अवैधानिक भइसकेको छ, अवैधानिक कार्यसमितिले वार्षिक साधारसभा गर्न पाउँदैन, यस कारण मैले रिट दायर गरेको हुँ,’ उनले भने । दर्ता भएको निवेदनको बोधार्थ उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र गृह मन्त्रालयलाई समेत दिएका छन् । उनले निवेदनमा सदस्यहरुको सदस्यता नवीकरण नगरिएको, प्रदेश र जिल्लाको निर्वाचन नगरिएको लगायतका आरोप समेत लगाएका छन् । यति धेरै उद्योगी व्यवसायी छन् तपाइँले मात्र रिट दायर किन गर्नु भयो भन्ने जिज्ञासामामा उनले आफुले हिम्मत गरेकै कारण यो सम्भव भएको प्रतिक्रिया दिए । ‘व्यवसायी त धेरै छन्, तर हिम्मत मैले गरेँ, म मध्यम वर्ग परिवारको केटो, रिट दायर गर्ने आँट मैले मात्रै गर्न सकें,’ उनले विकासन्युजसँग भने । उनले सर्वोच्चले आफुलाई मंसिर ११ गते बिहान १० बजे पेशीका लागि बोलाएको पनि जानकारी दिए । महासंघको साधारणसभा पनि सोही दिन बिहान ११ बजेदेखि शुरु हुँदैछ । मंसिर ११, १२ र १३ गते हुने निर्वाचनमा महासंघको वरिष्ठ उपाध्यक्षको लागि किशोर प्रधान र चन्द्र ढकाल आफ्नोप्यानलसहित चुनावी मैदानमा छन् ।

एफएनसीसीआई चुनाव: ताम्राकारको समर्थन चन्द्र ढकाल समूहलाई

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकका पूर्व उपाध्यक्ष एवं प्रभावशाली व्यवसायी कृष्ण ताम्राकारले चन्द्र ढकाल समूहलाई समर्थन गर्ने भएका छन् । चन्द्र ढकाल समूहका उम्मेद्वारहरुलाई भक्तपुर स्थित निवासमै बोलाएर ताम्राकारले समर्थन गर्ने प्रतिवद्धता जनाएका हुन् । वस्तुगत उपाध्यक्ष एवं सोहि पदका उम्मेद्वार उमेशलाल श्रेष्ठको नेतृत्वमा उद्योगी व्यवसायीको टोलि ताम्राकारलाई भेट्न शनिबार उनको निवासमा पुगेको थियो । योग्य मान्छेलाई नै महासंघको नेतृत्व दिनुपर्ने भन्दै उनले चन्द्र ढकाल समूह यसका लागि योग्य भएको बताए । ‘महासंघको भूमिका अझै सशक्त हुनुपर्छ, यसका लागि सहि नेतृत्व पनि चाहिन्छ’ उनले भने, ‘तपाईहरु यसका लागि योग्य हुनुहुन्छ, महासंघलाई थप उचाई दिने गरी काम गर्नुहोला मेरो समर्थन छ ।’ विधान संशोधन भएर जिल्ला नगर उपाध्यक्ष पद सिर्जना भएपछिका पहिलो जिल्ला नगर उपाध्यक्ष बनेका ताम्राकार सुरज वैद्यसँग अध्यक्षमा चुनाव लड्ने तयारी गरेका थिए । पछि सहमतिमा उम्मेद्वारी नदिएका उनी त्यसयता महासंघको कार्यसमितिमा छैनन् । कार्यसमितिमा नभए पनि उनको भूमिका महासंघका प्रभावशाली मानिन्छ । देशभरमा जिल्ला नगर र वस्तुगतमा राम्रो उनको प्रभाव रहेको छ भने उनी भक्तपुरका व्यवसायीहरुका सर्वमान्य अग्रज नेता हुन् । ताम्राकारको समर्थन पछि चन्द्र ढकाल समुह थप वलियो बनेको उपाध्यक्ष उमेशलाल श्रेष्ठले बताए । ‘कृष्ण दाइको समर्थनले हामी थप मजबुद बनेका छौं, हामीले जित्ने निश्चित छ’ उनले भने । ताम्राकारको निवासमा उद्योगी व्यवसायीहरु हेमराज ढकाल, प्रकाशसिंह श्रेष्ठ, कमला श्रेष्ठ, बिनोद ढकाल, सुवास भण्डारी, किरण डंगोल, आकाश अधिकारी, सुर्य मगर, जय सिवाकोटी, हरिबहादुर कार्की, नरेशलाल श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, रवीनकुमार श्रेष्ठ, सुमित केडिया लगायत पुगेका थिए ।

एफएनसीसीआईको निर्वाचनमा को–सँग कसको भिडन्त ? (नामावलीसहित)

काठमाडौं । मंसिर ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआईं) को ५४ औं वार्षिक साधारणसभा आउन अब एक हप्ता पनि बाँकी छन् । महासंघको चुनावको लागि यतिखेर दुई पयानल चुनावी प्रचार—प्रसारका लागि मैदानमा उत्रिएका छन् । महासंघको वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधानको समूह अहिले आफ्नो पक्षमा विजयी हाँसिल गर्नको लागि मतदातासमक्ष भोटको अपिल गर्न व्यस्त छन् । महासंघको ५४औँ साधारणसभा मार्फत चयन हुने नयाँ कार्यसमितिका लागि १२७ जनाले उम्मेदवारी दिएका छन् । महासंघको निर्वाचन समितिले शुक्रबार जारी गरेको उम्मेदवारहरुको अन्तिम नामावली अनुसार ५४ औँ साधारणसभाबाट निर्वाचित हुने बरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरुसहित कार्यकारिणी समिति सदस्यहरुको कुल ६४ पदका लागि १२७ जनाको उम्मेदवारी परेको जनाएको हो । चन्द्र ढकालको प्यानलबाट वस्तुगत उपाध्यक्षतर्फ उमेशलाल श्रेष्ठ, जिल्लानगरतर्फ गुणनिधिी तिवारी र उसोसियटसतर्फ रामचन्द्र सघाईले उम्मेदारी दिएका छन् भने प्रधानको समूहबाट वस्तुगततर्फ अञ्जन श्रेष्ठ, जिल्लानगरतर्फ दिनेश श्रेष्ठ र एसोसियटसतर्फ शौरभ ज्योतीले उम्मेदवारी दिएका छन् । महासंघको निर्वाचनमा एशोसिएट तर्फको १९ पदका लागि ३३ जना, जिल्ला नगरतर्फको कुल १८ पदका लागि ३८ जनाको उम्मेदवारी परेको छ भने वस्तुगततर्फको अन्य १४ सदस्य पदका लागि २९ जना, र संस्थापक सदस्यबाट ३ जनाको उम्मेदवारी परेको छ । महासंघकाे जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ कुल १ सय ७ सदस्य रहेका छन् । जसमध्ये प्रदेश १ मा २३, प्रदेश २ मा १२, बागमती प्रदेशमा १६, गण्डकी प्रदेशमा १३, प्रदेश ५ मा २२, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा १० सदस्य तथा संघ संस्था रहेका छन् । यस्तै वस्तुगततर्फ १ सय १ सदस्य रहेका छन् भने निर्वाचनमा द्धिराष्ट्रिय उद्योग वाणिजय संघले पनि मतदान गर्न पाउने छन् । जसमा १२ वटा सदस्यहरु रहेका छन् । यस्तै, एसोसिएटतर्फ पनि ९ सय २३ सदस्य संस्थाहरु रहेका छन् भने निर्वाचनमा संस्थापक सदस्यहरुले पनि मतदान गर्न पाउने छन् । महासंघमा संस्थापक सदस्य तथा संघ/संस्थाहरु १२ रहेका छन् । [pdf id=246695]

एफएनसीसीआईको निर्वाचन हुनहुन्न भनेर उजुरी गर्ने को हुन् ?

काठमाडौं । मंसिर ११ गतेदेखि १३ गतेसम्म हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । महासंघको निर्वाचन कानुनविपरीत भएको भन्दै उजुरी आएको जिल्ला प्रशासन काठमाडौंले जनाएको छ । निर्वाचन रोक्ने मागसहित बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का अध्यक्ष शिवशंकर शाहले उजुरी गरेका हुन् । उजुरीमा भनिएको छ, ‘उजुरीमा राष्ट्रिय निर्देशन ऐन २०१८ अन्तर्गत दर्ता भएको संस्थामा पदावधि सकिएका पदाधिकारी स्वतः अवैधानिक हुने र उनीहरूले गर्ने कुनै पनि निर्णय अवैधानिक हुने भएकोले आगामी निर्बाचन समेत अवैधानिक भएको हुन्छ ।’ महासंघ पनि सोही ऐन अन्तर्गत दर्ता भएको र सो संस्थाको प्रतिनिधिहरुको समयावधि सकिएको र निर्वाचनका समयमा तदर्थ समिति गठन गरी निर्वाचनको काम अगाडि बढाउन सो उजुरीमा आग्रह गरिएको छ। दर्ता भएको निवेदनको बोधार्थ उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र गृह मन्त्रालयलाई समेत दिएका छन् । उनले निवेदनमा सदस्यहरुको सदस्यता नवीकरण नगरिएको, प्रदेश र जिल्लाको निर्वाचन नगरिएको लगायतका आरोप समेत लगाएका छन् । उनले आफुले उजुरी गरेको पनि स्वीकार गरिसकेका छन् । उनले महासंघको निर्वाचन कानुन विपरित हुन लागेकोले आफुले उजुरी गरेको विकासन्युजलाई बताए । मंसिर ११, १२ र १३ गते हुने निर्वाचनमा महासंघको वरिष्ठ उपाध्यक्षको लागि किशोर प्रधान र चन्द्र ढकाल आफ्नोप्यानलसहित चुनावी मैदानमा छन् ।

एफएनसीसीआई निर्वाचनः मतदान गर्ने सदस्यहरुको नामावली प्रकाशित, ११ गते बिहानसम्म प्रतिनिधि मनोनयन गर्न पाइने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन समितिले निर्वाचनमा मतदान गर्न पाउने सदस्यहरुको नामावली प्रकाशन गरेको छ । समतिले महासंघको जिल्ला नगर संघ, वस्तुगत र एसोसियटतर्फका सदस्यहरुको नामावली प्रकाशित गरेको हो । मंसिर ११ गतेदेखि १३ गतेसम्म हुने महासंघको ५४ औं साधारणसभाका लागि निर्वाचन समितिले मताधिकार प्रयोग गर्न पाउने सम्बन्धी मतदाता नामावली बमोजिम सदस्यहरुको नामावली प्रकाशित गरेको बताएको छ । साथै नामावलीमा रहेका तर नविकरण हुन बांकी सदस्य संघ/संस्थाहरुले मंसीर ११ गते विहान ९ बजेसम्म आर्थिक २०७६/७७ सम्मको वार्षिक शुल्क बुझाई तोकिए बमोजिम प्रतिनिधि मनोनयन गर्नु पर्ने पनि जनाएको छ । प्रतिनिधि मनोनय नगर्नेले मतदान गर्न नपाउने पनि सूचनामा उल्लेख गरिएको छ । सूचनामा प्रकाशित नामावली अनुसार जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ कुल १ सय ७ सदस्य रहेका छन् । जसमध्ये प्रदेश १ मा २३, प्रदेश २ मा १२, बागमती प्रदेशमा १६, गण्डकी प्रदेशमा १३, प्रदेश ५ मा २२, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा १० सदस्य तथा संघ संस्था रहेका छन् । यस्तै वस्तुगततर्फ १ सय १ सदस्य रहेका छन् भने निर्वाचनमा द्धिराष्ट्रिय उद्योग वाणिजय संघले पनि मतदान गर्न पाउने छन् । जसमा १२ वटा सदस्यहरु रहेका छन् । यस्तै, एसोसिएटतर्फ पनि ९ सय २३ सदस्य संस्थाहरु रहेका छन् भने निर्वाचनमा संस्थापक सदस्यहरुले पनि मतदान गर्न पाउने छन् । महासंघमा संस्थापक सदस्य तथा संघ/संस्थाहरु १२ रहेका छन् । महासंघको वरिष्ठ उपाध्यक्षका लागि यतिखेर दुई जना चुनावी प्रचारप्रसारमा छन् । चन्द्र ढकाल र किशोर प्रधान आफ्नो प्यानल सहित चुनावी मैदानमा उत्रिएका छन् । ढकालको प्यानलबाट जिल्लानगरतर्फ गुणनिधि तिवारी, वस्तुगत तर्फ उमेशलाल श्रेष्ठ र एसोसिएटसतर्फ रामचन्द्र सांघाईले उम्मेदवारी दिएका छन् । यस्तै, प्रधानको प्यानलबाट जिल्लानगरतर्फ दिनेश श्रेष्ठ, वस्तुगत तर्फ अञ्जन श्रेष्ठ र एसोसिएट्सतर्फ शौरभ ज्योतीले उम्मेदवारी दिएका छन् । दुवै पक्षले आफुसँग बहुमत रहेको दावी पनि गर्दै आएका छन् । [pdf id=246393]

करिब १८ करोडको परियोजना कार्यान्वयन गर्न एफएनसीसीआई र ब्रिटिश काउन्सिलबिच सम्झाैता, १४ महिनामा काम सक्ने

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र ब्रिटिश काउन्सिलबीच परियोजना कार्यान्वयनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । महासंघ सचिवालयमा बुधवार आयोजित कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणा र काउन्सिलका देशिय निर्देशक साहिदा म्याकडाउगलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल सरकारबाट स्वीकृत यस परियोजनाको कार्य अवधि १४ महिनाको रहेको छ भने परियोजनाको कूल बजेट १७ करोड ९० लाख ११ हजार ७३३ हुन उल्लेख गरिएको छ । परियोजना मार्फत व्यवसायिक वर्गिकरण मानकको विकास तथा श्रम बजार सूचना प्रणालीको विकास गरिने बताइएको छ महासंघको नेतृत्वमा साझेदार संस्थाहरू नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल र नेपाल निर्माण व्यवसायी महासंघको संलग्नतामा परियोजनाको कार्यान्वयन हुने छ । मुलुकभित्र औद्योगिक व्यवसायिक क्षेत्रले श्रम बजार सम्बन्धी आवश्यक तथ्यांक एव जानकारीको अभावमा भोग्नु परेको समस्यालाई यस परियोजनाले संवोधन गर्नुका साथै मुलुकको औद्योगिक विकासमा सहयोग पु¥याउने, श्रम बजार सम्बन्धी सूचना प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउने, उद्योग प्रतिष्ठानहरूको लागि आवश्यक दक्ष जनशक्ति उपलव्ध गराउने प्रत्याभुति दिलाउने, रोजगारी सृजना गर्ने, श्रम बजार सम्बन्धी तथ्यांक प्रणालीको विकास गर्ने कार्यमा परियोजना एक कोशेढुंगा हुनेछ भने समग्रमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम प्रणालीमा परिवर्तन ल्याउनुका साथै श्रम बजारमा माग र आपूर्तिको व्यवस्थापनमा ठूलो सहयोग गरी समग्रमा मुलुकको औद्योगिक विकासमा सघाउ पु¥याउने उद्धेश्य लिइएको छ । यसबाट श्रम बजारसंग सम्बन्धित सरकारको नीति निर्माण एवं कार्यक्रममा सघाउ पुग्नुको साथै उद्योग व्यवसाय क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा समेत मद्दत गर्ने छ । सम्झौतापत्र हस्ताक्षर कार्यक्रमलाई संबोधन गर्दै महासंघका अध्यक्ष राणाले मुलुकभित्र उद्योग व्यवसायको मागका आधारमा श्रम बजारमा जनशक्ति तयार गर्ने महासंघको लक्ष्यलाई पुरा गर्ने कार्यमा व्रिटिश काउन्सिलको सहयोगप्रति आभार प्रकट गरिन् । ‘टीभेट क्षेत्रको सुधार, गुणस्तरीय तालीम, क्षेत्रगत विशिष्टिकृत र उद्योगहरुको माग अनुसार श्रम बजारमा रहेको जनशक्तिको क्षमता अभिवृद्धि, तालीम पाठ्यक्रम निर्माण गर्दै समग्रमा दीगो र भरपर्दो रोजगारी सृजनामा ठूलो सहयोग पु¥याउने विश्वास व्यक्त गर्दछु, निजी क्षेत्रसंगको सहकार्यका लागि व्रिटिश काउन्सिल, दक्षता परियोजनालाई धन्यवाद दिन्छु,’ उनले भनिन् । नेपालका लागि यूरोपियन यूनियनका राजदूत नोना डेपरेजले प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालीमका क्षेत्रमा यूरोपियन यूनियन र ब्रिटिश काउन्सिल बीच सूचना प्रवाहमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै अर्थतन्त्रलाई प्रभावकारी ढंगबाट अगाढी बढाउन दक्ष जनशक्ति उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड दिनुपर्ने धारणा राखे । ब्रिटिश काउन्सिल र महासंघ बीच भएको यो सम्झौताबाट नेपालको श्रम बजारका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास प्रकट गरे । यसले समग्रमा बजारको माग र उत्पादित जनशक्तिलाई एकाकार गरी रोजगारीका अवसर सृजना गर्नुको साथै नेपालको आर्थिक विकासमा महत्वपूर्ण सहयोग पु¥याउने विश्वास प्रकट गरे । ब्रिटिश काउन्सिलका देशिय निर्देशक साहिदा म्याकडाउगलले नेपाली निजी क्षेत्रको चाहना अनुसारको कार्यक्रममा सहयोग गर्न पाएकोमा खुशी प्रकट गर्दै परियोजनाको सफलताको लागि शुभ–कामना दिए । साथै उनले यो परियोजना नेपालको व्यवसायिक क्षेत्रका नेतृत्वदायी संस्थाहरू एफएनसीसीआई, सीएनआई, एफक्यान, एफएनसीएसआई र हान बीचको सहकार्यको महत्वपूर्ण उदाहरण हुने बताए । दक्षता परियोजनाको साझेदारीमा ब्रिटिश काउन्सिलको सहयोगमा कार्यान्वयनमा आउने यो परियोजनाले दक्ष शीपयुक्त जनशक्ति उत्पादन मार्फत नेपालको आर्थिक विकास, लगानी आकर्षण र रोजगारी सृजनामा सघाउने विश्वास व्यक्त गरे । सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, महासंघका कोषाध्यक्ष निरक केसी, नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डे, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष मोहन कटुवाल, निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाह, व्रिटिश काउन्सिल अन्तरगतको दक्षता प्रोजेक्टका डेपुटी टिम लिडर राजेन्द्र श्रेष्ठ, परियोजना विकासमा प्रारम्भबाटै कार्य गर्नु भएका महासंघको कार्यकारिणी समितिका सदस्य रविन श्रेष्ठ र महासंघको वस्तुगत परिषद्का सहसभापति सुमित केडियाले परियोजनाको सफलताको कामना गर्नुको साथै आ–आफ्नो संस्थाका तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाए ।

एफएनसीसीआई निर्वाचनको माहोल तात्यो, उम्मेदवार प्रचारप्रचारमा व्यस्त, ढकालकाे टोली पश्चिम नेपाल पुग्यो

काठमाडौं । आगामी मंसिर ११ गतेदेखि १३ गतेसम्म हुने नेपाल उद्योग वाणिज्य महासंघको चुनावी सरगमी निकै बढेको छ । महासंघको वरिष्ठ उपाध्यक्ष लगायत अन्य पदमा उम्मेदारी दिएका व्यवसायीहरु यतिखेर चुनावी प्रचारप्रसारमा व्यस्त छन् । उम्मेदवारहरुले जित सुनिश्चित गर्नको लागि विभिन्न उद्योगी व्यवसायीहरुसँगको भेट तथा चुनावी प्रचारप्रसार बढाएका छन् । महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवारचन्द्र प्रसाद ढकाल चुनावी प्रचार प्रसारकै लागि सुदूरपश्चिम पुगेका छन् । पूर्वको ताप्लेजुङ देखि पश्चिमको दार्चुला सम्मका व्यवसायीहरु सहभागि चुनावी प्रचारप्रसार अभियान धनगढीबाट सुरु भएको छ । चुनावी प्रचारप्रसारको अभियान नेपालगन्ज ,बुटवल पोखरा हुदँै काठमाण्डौ सम्म पुग्ने बताइएको छ । आफ्नो जित सुनिश्चित गर्नको लागि उनी सुदूरपश्चिमका व्यवसायीहरुसँग भेटघाट तथा चुनावी प्रचारप्रसार गर्न धनगढी पुगेका हुन् । कैलालीको धनगढीमा चुनावी प्रचारप्रसार सभालाई सम्बोधन गर्दै ढकालले आफु वरिष्ठ उपाध्यक्षमा विजयी भए जिल्ला नगर, प्रदेश र केन्द्रका समस्यालाई समाधान गर्न तम्तयार रहेको र सदैव व्यवसायीहरुको हकहितको पक्षमा काम गर्ने गर्दै आएको समेत बताए । उनले सानादेखि ठुला उद्योगी व्यवसायीहरुका समस्यालाई राज्यसंगको सहकार्यमा नितिगतरुपमा निर्णय गराएर अगाडि बढने समेत बताए । ‘मैले महासंघमा लागेदेखिनै उद्योगी व्यवसायीका समस्याहरु बुझ्दै आएको छु, ती समस्या समाधान गर्नको लागि पनि लामो समयदेखि पहल गर्दै आएको छु, अझै पनि तपाईँहरुले विश्वास गरेर मलाई जिताउनु भयो भने, धेरै काम गर्न म तयार छु,’उनले भने । यस्तै उद्योग वाणिज्य महासघंका पुर्व अध्यक्ष चण्डी राज ढकालले ढकालको प्यालनले नै महासंघमा राम्रो काम गर्ने सक्ने दावी गरे । उनले ढकालको प्यानल बिजयी भए जिल्ला नगरका उद्योगी व्यवसायीका समस्याहरु समाधमान हुने पनि विश्वास दिलाए । कार्यक्रममा बोल्दै जिल्ला नगरका उपाध्यक्ष पदका उम्मेदवार गुणनिधि तिवारीले देशको वर्तमान अवस्थासगं महासघं हातेमालो गर्न तयार रहेको बताए । उनले जिल्ला नगरका समस्यालाई सम्बोधन गर्न आफु दिनरात लागि पर्ने बताए । चुनावी सभामा कैलाली उद्योग वाणिज्य सघंका अध्यक्ष पुष्पराज कुवरले प्रदेशबाट केन्द्रिय सदस्यका लागि उम्मेदवारी घोषणा समेत गरेका छन् ।

एफएनसीसीआईकाे वरिष्ठ उपाध्यक्षमा ढकाल समूहको उम्मेदवारी दर्ता

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहले जिल्ला तथा नगर, वस्तुगत र एशोसिएट्सतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालय समेत रहेको नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय कार्यालय पुगि ढकाल प्यानलका बिभिन्न ब्यक्तिहरुले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् । आज वस्तुगततर्फ केन्द्रीय सदस्यमा हेमराज ढकाल, आकाश अधिकारी, कमला श्रेष्ठ, जय शिवाकोटी, सुवास भण्डारी, प्रकाश सिंह कार्की, भक्त हमाल, सुवोध कुमार गुप्ता, सुमित केडिया, रविन कुमार श्रेष्ठ, नरेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै जिल्ला नगरतर्फबाट अशोक ताम्राकार, तारानाथ घिमिरे, उमेश डामियालगायतले उम्मेदवारी दर्ता गराएका छन् ।  साथै एशोसिएट्सतर्फ ढकाल प्यानलबाट अजित बस्नेत, अम्बिकाप्रसाद पौडेल, रामशरण थपलिया, भरत आचार्य, विनोद ढकाल, विराट थापा, गोपाल खनाल, कृष्णलाल महर्जन, बाबुकाजी कार्कीलगायतले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन स्थलमा पुगेका वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले नीजि क्षेत्रका आर्थिक मुद्दा उठाउन साना, मझौला र ठूला उद्योगि व्यवसायीहरु मिलेर अगाडी बढ्ने बताए । सबै प्रकारका व्यवसाय सञ्चालन गरी विदेशी लगानी समेत प्रवद्र्धन गर्ने उल्लेख गर्दै उनले देश विदेशमा रहेका लाखौ नेपालीहरुका लागि रोजगारी सिर्जना हुने औद्योगिक वातावरण सिर्जना गर्ने बताए । महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । महासंघको आसन्न वरिष्ठ उपाध्यक्ष पदका लागि चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गराइ सकेका छन् । ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला/नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोसियट उपाध्यक्षमा रामचन्द्र सांघाइले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । ढकाल प्यानलबाट जिल्ला तथा नगर, वस्तुगत र एशोसिएट्सतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी केहिले उम्मेदवारी दिन बाँकी रहेको बताइएको छ । केन्द्रीय सदस्य पदका उम्मेदवारहरुले पनि केहीदिनभित्रै उम्मेदवारी गर्दा गराउने पनि उपाध्यक्षका उम्मेदवार ढकालले जानकारी दिए ।

एफएनसीसीआई निर्वाचनः प्रधान समूहको प्यानल घोषणा, पूजारी बनेर महासंघमा काम गर्ने प्रतिवद्धता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । उनले आज काठमाडौंको भिभान्त होटलमा एक कार्यक्रमको आयोजना गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । उनले आफ्नो टीमको घोषणा गर्दै लामो समयदेखि उद्योग वाणिज्य क्षेत्रमा अनुभव हाँसिल गरेको बताउँदै महासंघको स्तरोन्नतीका लागि पूजारी बनेर काम गर्ने बताए । उनले आफूले नेपाल उद्योग वाणिज्य महासंघलमाई मन्दिर जस्तै ठानेकोले आफूले त्याे मन्दिरकाे पूजारी सम्झेर काम गर्ने प्रतिवद्धता गरे । ‘म २८ बर्षदेखि उद्योग वाणिज्य क्षेत्रमा काम गर्दै आएको छु, मैले महासंघलाई मन्दिर ठानेको छु, म यस संस्थाको वृद्धि विकासका लागि पूजारीझै काम गर्छु,’ उनले प्यानल घोषणा सभामा भने । उनको प्यानलबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतिले उमेद्वारी दिएका छन् । कार्यक्रममा अहिलेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, पूर्व अध्यक्ष कुशकुमार जोशी लगायतको सहभागिता रहेको छ । प्रधानको टीमलाई गोल्छा र जाेशीकाे साथ छ । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गोल्छाले अब आफ्नो नेतृत्वको महासंघबाट राजनीतिको क्यान्सर पनि हटाउने बताए । कुनै पनि काम नगर्नेलाई महासंघबाट हटाउनु पर्ने बताउँदै उनले महासंघमा राजनीति नभएर काम गर्नेको आवश्यकता भएको बताए । बरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार चन्द्र ढकाल समूहले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन् ।

एफएनसीसीआई निर्वाचनः काठमाडौंमा जम्मा हुँदै व्यवसायी, सहमतिको अन्तिम प्रयास गरिदै

काठमाडौं । मंसिर ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनको लागि व्यवसायी काठमाडौंमा भेला हुन थालेका छन् । काठमाडौं उपत्यका बाहिर रहेर उद्योग व्यवसाय गरिरहेका तथा दशैंको लागि काठमाडौं बाहिर गएका व्यवसायी काठमाडौंमा भेला हुन थालेका हुन् । महासंघको आगामी वार्षिक साधारणसभामा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार बनेका किशोर प्रधान आज (१४ कात्तिक) काठमाडौं आउँदै छन् । उनी विराटनगरमा रहेर व्यवसाय गर्छन् । यस्तै, महासंघ कोषाध्यक्ष निरक केसी पनि आइतबार काठमाडौं आउँदै छन् । उनी सुर्खेतमा व्यवसाय गर्छन् । महासंघमा आवद्ध अन्य उद्योगी व्यवसायी पनि काठमाडौंमा भेला हुन थालेका छन् । दशैंको माहोल सकिएको र निर्वाचन नजिएका कारण व्यवसायी काठमाडौंमा जम्मा हुन थालेका हुन् । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट केही उद्योगी व्यवसायी पीडित बनेका छन् । वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकाल कोराना संक्रमणबाट दशैं अघि मात्रै मुक्त भएका छन् । महासंघको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षमा ढकाल र प्रधानले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा जुटेका छन् । यो महामारीको समयमा चुनावी प्रतिस्पर्धामा उत्रनुको साटो सर्वसम्मत नेतृत्व चयनको प्रक्रियामा जादा सबै पक्षलाई फाइदा हुने भएकोले सर्वसम्मत नेतृत्व चयन गर्न दबाब बढिरहेको छ । यस्तै, दबाबको कारण वरिष्ठ उपाध्यक्षदेखि अन्य पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने अन्तिम पहल हुने व्यवसायीले बताएका छन् । ‘चुनावी प्रतिस्पर्धामा उत्रिने बेला अहिले छैन, चुनावकै कारण व्यवसायीलाई संक्रमण फैलियो वा कुनै उम्मेदवार नै विरामी पर्नुभयो भने त्यसले देशलाई नै घाटा गर्छ, त्यसैले सर्वसम्मत नेतृत्व चयन गरेर अघि बढ्दा सबैपक्षलाई फाइदा हुने देखेर सोही प्रकारको लविङ गरिरहेका छौं, सकारात्मक परिणाम आउने झिनो सम्भावना बाँकी छ,’ एक व्यवसायीले भने । सर्वसम्मतीको प्रयास कसरी भइरहेको छ भन्ने बारेमा उनले केही खुलाएनन् । ‘दुई जना उम्मेदवार भएको ठाउँमा सर्वसम्मती भनेको एक जनाले छोड्ने र अर्काेले नेतृत्व लिने भन्ने हो, तर कसले छोड्ने र कसले लिने, अहिले छोड्ने व्यक्तिलाई कसरी समेट्ने भन्ने जस्ता विषयमा छलफल भइरहेको छ, त्यसका विभिन्न मोडालिटीमा छलफल पनि भइरहेको छ, सर्वसम्मतीमा नेतृत्व चयन हुनुपर्छ भन्ने आवाज बलियो रुपमा उठेकोले सकारात्मक परिणाम निस्कने आशामा छौं, बाँकी कुरा अर्काे सातासम्ममा थप प्रष्ट हुँदै जाला,’ उनले थपे । [pdf id=244071]

व्यावसायिक आचार संहिताको पालना गरी व्यापार व्यवसाय गर्न एफएनसीसीआईको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) ले व्यावसायिक आचार संहिताको पालना गरी व्यापार व्यवसाय गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ । यस्तो परिस्थितिमा प्रचलित कानुन विपरितका कार्यहरू भएको भन्ने गुनासाहरु आएकोतर्फ ध्यानाकर्षण गराउँदै महासंघले उक्त आग्रह गरेको हो । कहिकतै कम गुणस्तरीय सामान विक्री वितरण भएको, उपभोग्य मिति गुज्रेका सामानको विक्रीवितरण, म्याद गुज्रेका वस्तुमा पुनःउपभोग्य मिति राखी बजारमा पठाइएको, निश्चित तौल नपुर्याई सामान बजारमा बिक्री गरेको लगायतका कार्यहरू भएकोमा महासंघले ध्यानाकर्षण गराएको हो । ‘कहिल्यै र कहिकतैबाट जनताको स्वास्थ्यसंग प्रत्यक्ष जोडिएका विषयमा लापरवाही हुनुहुँदैन । कसैलाई पनि जनताको प्रत्यक्ष स्वास्थ्यसंग खेलवाड हुने र प्रचलित कानून विपरित कार्य गर्ने छुट छैन ।’, संघले भन्यो- ‘यदि कहीकतैबाट भएको रहेछ भने कानून अनुसार कारवाहीको भागीदार हुनुपर्ने हुँदा प्रचलित कानून विपरितका कार्यमा संलग्न नहुन सम्बन्धित सबैमा आग्रह गर्दछ ।’ साथै, चाडवाड लक्षित गरी बजार अनुगमनको कार्यलाई तिव्रता दिनुभन्दा पनि अनुगमनको कार्यलाई वर्षैभरि निरन्तरता दिन र यस्ता कार्यमा महासंघका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरूलाई पनि एकसाथ लैजाने संरचना निर्माण गरी अनुगमन प्रणालीलाई विधिवतरूपमा अघि समेत महासंघले नेपाल सरकारसंग माग गरेको छ ।

एफएनसीसीआईको साधारणसभा मंसिर ११ र १२ गते काठमाडौंमा हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ गते काठमाडौंमा हुने भएको छ । शुक्रबार बसेको महासंघको पदाधिकारी बैठकले मंसिर ११ र १२ गते काठमाडौंमा साधारणसभा गर्ने निर्णय गरेको हो। कोरोना संक्रमणका कारण चैत २८ र २९ गते हुने साधारणसभा स्थगित भएको थियो । त्यसपश्चात पटक/पटक मिति तोकिए पनि लकडाउन र निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको छैन।  

एफएनसीसीआईका पूर्व अध्यक्ष कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा, भन्छन्ः ठूलो गल्ती गरेँ

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका कोरोना भाइरसको कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । आफ्नो व्यक्तिगत कारणले विराटनगर पुगेका उनी कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै आफु कोरोना भाइरसको कन्ट्याक्ट ट्रेसिङमा परेकाे जानकारी दिएका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘गल्ती गरेँ, ठूलो पाठ सिकेँ, अत्यन्त जरुरी कामले पूरै सर्तक र सुरक्षित भएर विराटनगर गएको कन्ट्याक्ट ट्रेसिङमा परियो । तुरुन्त सबै सम्पर्कमा आएकालाई खबर गरी टेष्ट गराएँ, नतिजा नेगेटिभ आयो । स्वास्थ्यभन्दा जरुरी केही छैन र अरुको जिम्मेवारी पनि आफुसँगै छ भन्ने सिकेँ । सर्तक रहौं, सुरक्षित रहौं ।’

एफएनसीसीआईकाे वरिष्ठ उपाध्यक्षका उम्मेदवार भन्छन्: अबकाे नेतृत्वले अर्थतन्त्रलाई चलायमान बनाउन सक्नु पर्छ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिएका दुवै जनाले अबकाे नेतृत्वले देशकाे अर्थतन्त्रलाई चलायमान बनाउन सक्नु पर्ने धारणा राखेका छन् । अब महासंघमा व्यवसायीक र सक्षम नेतृत्व आउनु पर्नेमा दुवै उम्मेद्वारले जोड दिएका छन् । वरिष्ठ उपाध्यक्षका लागि प्रत्यायसी दुवै उपाध्यक्षहरुले उद्योगी व्यवसायीका समस्या समाधान गर्न पहल गर्न सक्ने सक्षम व्यवसायीक नेतृत्व आउनुपर्नेमा जोड दिएका छन् । महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायीक व्यक्तित्व नै आउनुपर्ने बताए । उनले उद्योगी व्यवसायीका समस्या समाधानका लागि सकार र नियामक निकायसँग कुरा उठाउन सक्ने क्षमता भएको नेतृत्व आउनुपर्नेमा जोड दिए । उनले भने ‘नेपाल उद्योग वाणिज्य महासंघको साउन २७ गते चुनाव हुन गइरहेको छ । त्यो निर्वाचनमा व्यवसायीक व्यक्तित्व नै आउनप¥यो भन्ने मेरो भनाई हो । जसले गर्दा व्यवसायीक दुःख, सानो देखि ठूलो व्यवसायसम्मको इस्युहरु, दुःखहरु अथवा सरकारसँग, नियामक निकायसँग उठाउनुपर्ने इस्युहरु छ त्यो इस्युहरु उठाउन सकोस ।’ उपाध्यक्ष ढकालले आउने नेतृत्वले देशमा व्यसायीक क्रियाकलाप बढाउन, रोजगारी सिर्जना गर्न, विदेशबाट एफडिआई भित्र्याउन र समग्रमा अर्थतन्त्रलाई चलायमान बनाउन सक्नुपर्ने बताए । उनले नेतृत्वसँग सरकार र नियामक निकायलाई सही सुझाव दिन सक्ने क्षमता समेत हुनुपर्ने बताए । उनले भने ‘आउने नेतृत्व पनि त्यस्तो नेतृत्व हुनपर्याे जसले व्यवसायीक क्रियाकलाप बढाउनको लागि, नेपालमा रोजगारी सिर्जना गर्नको लागि, विदेशबाट एफडिआई भित्र्याउनको लागि, समग्र अर्थतन्त्र चलायमान बनाएर राजस्व रेभिन्यु कलेक्सन गरेर समृद्ध राष्ट्र बनाउनको लागि सहयोग पुग्ने किसिमको व्यवसायीक क्षमता भएको नेतृत्व आउनुपर्छ । नेतृत्वले सरकारसँग र सम्बन्धित नियामक निकायसँग एउटा व्यवसायीक क्रियाकलापको विषयमा सही सुझाव दिन सकोस र त्यो सुझाव कार्यान्वयन भएपछि समृद्ध नेपालको कल्पनालाई साकार पार्न सक्ने किसिमको सक्षम नेतृत्व आउनुपर्छ भन्ने मेरो भनाई हो ।’ वरिष्ठ उपाध्यक्षका अर्का उम्मेदवार, हालका उपाध्यक्ष किशोर प्रधानले वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्व सक्षम बन्ने बताए । कोभिड १९ ले उद्योग व्यवसायमा पारेको असरलाई कम गर्न गोल्छाले खेल्ने भुमिकाले सक्षम नेतृत्व पाउने प्रमाणित भइसकेको बताए । उनले अव निर्वाचन हुने नेतृत्वले हालको अवस्थामा मौद्रिक नीतिले दिएको सुविधाहरुलाई कार्यान्वयन गरी अगाडि बढ्न सक्ने क्षमता राख्नुपर्ने बताए । उनले सबै उद्योगी व्यवसायीलाई पुनरकर्जाको पहुँचमा पु¥याउन आफुहरुले काम गर्ने बताए । उनले आफु लगायत आफ्नो टिमले उद्योगी व्यवसायीको स्थिति बुझेकोले आर्थिक उन्नतीतिर लैजान कम्मर कसेर लाग्ने बताए । उपाध्यक्ष प्रधानले देशका सबै साना, मझौला र ठूला उद्योगी व्यवसायीको व्यापार प्रवर्दन देखि उत्पादन र निर्यात सहज बनाउन काम गर्ने नेतृत्व आउनुपर्ने बताए । त्यसका लागि आफ्नो टिम सक्षम भएको समेत उनले दावी गरे । ‘मौद्रिक नीतिको आश गरेर बजेटमा चित्त नबुझेर विरोध पनि गरेका थियौं यो समग्र कुरालाई अव विर्षेर अव देशको आर्थिक उन्नतीतिर कम्मर कसरेर लाग्छौं र नेपाल उद्योग वाणिज्य महासंघको हाम्रो नेतृत्वले चाहिं देशका समग्र साना, मझौला र ठूला सबै उद्योगी व्यवसायीको व्यापार प्रवद्र्धन देखि लिएर उत्पादन र निर्यात सम्म सम्पुर्ण कुरामा फोकस गरेर व्यक्तिगत उद्योग तथा व्यवसायी प्रति ध्यान दिने इच्छा छ । हामीले त्यो प्रण पनि गरेका छौं र गर्छौं भन्ने विश्वास छ ।’ महासंघको साउन २६ र २७ गते महाधिवेसन हुँदैछ । महाधिवेसनले नयाँ नेतृत्व चयन गर्ने छ । महासंघको अध्यक्षमा हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्दै छन् । वरिष्ठ उपाध्यक्ष पदका लागि हालका उपाध्यक्षहरु चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले प्यानल सहित उम्मेदवारी घोषणा गरिसकेका छन् ।

एफएनसीसीआई निर्वाचन फेरि अन्योलमा, वरिष्ठ उपाध्यक्ष गोल्छा भन्छन्ः चुनौति थपियो

काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचन थप अन्योलमा परेको छ । कोरोना भाइरस संक्रमण कै बीचमा साउन २६ र २७ गते हुने महासंघको निर्वाचन पछिल्लो समय थप अन्योलमा पर्दै गएको हो । महासंघको अध्यक्षको जिम्मेवारी लिन तयार भएर बसेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले तोकिएकै समयमा निर्वाचन हुनेमा शंका व्यक्त गरेका छन् । कोरोना भाइरस संक्रमणकै बीचमा देखिएको बाढी तथा पहिरोले महासंघ निर्वाचन सम्पन्न गर्न थप चुनौति थपिएको गोल्छाको भनाइ छ । ‘कोरोना संक्रमणको जोखिम कायमै रहनु र यही बेला आएको बाढी पहिरोले पछिल्लो पटक तोकिएको मितिमा एफएनसीसीआईको निर्वाचन गर्ने हाम्रो प्रयासमा चुनौति थपेको छ,’ गोल्छाले ट्वीट गर्दै भनेका छन् । महासंघले विधान अनुसार गत चैत २८ र २९ गते महासंघको निर्वाचन गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो । तर, कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण र रोकथामको लागि सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरेपछि महासंघको चुनाव सरेको थियो । कोरोना भाइरस संक्रमण बृद्धि भइरहेको समयमा सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो बनाउँदै लगेको छ । सरकारले लकडाउन खुकुलो बनाएसँगै महासंघले साउन २६ र २७ गते ललितपूरमा महासंघको निर्वाचन गर्ने निर्णय गरेको थियो । सरकारले लकडाउन केही खुकुलो बनाएर तोकिएबाहेकका क्षेत्र खुल्ला गर्ने निर्णय गरेपछि धेरै मानिस भिडभाड हुने सभा सम्मेलन तथा सेमिनार गर्न खुल्ला गरेको छैन । यद्यपि सरकारको भनाइ अनुसार सभा सम्मेलन भने रोकिएको छैन । महासंघकै चुनावी कार्यक्रमहरुमा सामाजिक दुरी कायम गरेर संक्रमण विस्तार रोक्न सजगता अनाइएको जस्तो देखिएको छैन । महासंघले तोके अनुसारको निर्वाचन गर्न सरकारले अनुमति दिने नदिने यकिन छैन । केही दिन अघिमात्रै महासंघ प्रतिनिधि, काठमाडौं र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा कोभिड–१९ (नोबल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिसँग छलफल गरेको थियो । सो छलफलमा पनि निर्वाचन हुन दिने नदिने भन्नेमा सरकारले स्पष्ट जवाफ नदिएको महासंघ प्रतिनिधिहरुले बताएका छन् । यो निर्वाचनले एक वरिष्ठ उपाध्यक्ष सहित ४ उपाध्यक्ष र ६३ सदस्य निर्वाचित गर्नेछ । यो निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी किशोर प्रधान र चन्द्रप्रसाद ढकाल प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन् । वरिष्ठ उपाध्यक्ष अर्काे कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था छ ।

एफएनसीसीआई निर्वाचनः यस्तो बन्यो टीम चन्द्र ढकाल

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को चुनावी सरगर्मी बढेको छ । साउन २६ र २७ गते हुने महासंघको निर्वाचनको लागि वरिष्ठ उपाध्यक्षद्वयले प्यानल बनाएर चुनावी अभियानमा लागेका छन् । बरिष्ठ उपाध्यक्ष प्रत्यदका उम्मेदवार चन्द्रप्रसाद ढकालले आफ्नो टीम घोषणा गरेका छन् । ढकालको टीममा जिल्ला/नगर उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसियट उपाध्यक्षमा रामचन्द्र संघाई रहेका छन् । बरिष्ठ उपाध्यक्ष पदका अर्का प्रत्यासी किशोर प्रधानले पनि प्यानलै बनाएर चुनाबी प्रतिस्पर्धा गरिरहेका छन् । प्रधानको प्यानलमा जिल्ला/नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसियट उपाध्यक्षमा सौरभ ज्योति प्रतिस्पर्धामा छन् ।

एफएनसीसीआईको चुनावी सरगर्मी बढ्यो, ढकाल समुहको प्यानल घोषणा भोलि

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी यतिखेर निकै तातेको छ । साउन २६ र २७ गते हुने भनिएको महासंघको चुनावी माहोल यतिखेर निकै बढेको छ । गत चैत २८ र २९ गते हुने भनिएको महासंघको चुनाव कोरोनाको स्थगित भएसँगै अब साउन २६ र २७ गतेका लागि तोकिएको छ । \चैतमा नै चुनावको माहोल तातेर पनि सेलाएको थियो । तर पुनः त्यो माहोलेल निरन्तरता पाएको छ । मतदाताहरुलाई आफ्नो पक्षमा पार्न आकांक्षीहरुले व्यक्तिगत तथा सामूहिक रुपमा भेटघाट तथा छलफल कार्यक्रमलाई तीव्रता दिइरहेका छन् । उनीहरु अहिले भेटघाटमै व्यस्त छन् । हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन् । महासंघको विधान बमोजिम आगामी कार्यकालको अध्यक्षको जिम्मेवारी हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई हस्तान्तरण हुनेछ । त्यसबाहेक वरिष्ठ उपाध्यक्ष, एशोसिएट्स, वस्तुगत र जिल्लारनगरको तर्फ गरी तीनजना विषयगत उपाध्यक्ष तथा ६५ जना कार्यकारिणी सदस्यका लागि भने निर्वाचन हुनेछ । वरिष्ठ उपाध्यक्षका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन् । ढकाल हाल एशोसिएट्सतर्फका उपाध्यक्ष हुन् भने प्रधान जिल्लारनगरतर्फका उपाध्यक्ष हुन् ।महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन्ने भएपछि निर्वाचनको सबैभन्दा आकर्षण वरिष्ठ उपाध्यक्ष पदका लागि हुनेछ । हाल उपाध्यक्ष रहेकाहरू नै वरिष्ठ उपाध्यक्षको दाबेदार देखिएका छन् । वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधान र चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरिसकेका छन् ।े ढकाल हाल एसोसिएट्सतर्फका उपाध्यक्ष हुन् भने प्रधान जिल्ला र नगरतर्फका उपाध्यक्ष हुन् । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका ढकाल आईएमई समूहका अध्यक्ष हुन् । हाल एसोसिएट्स उपाध्यक्ष रहेका उनी यसअघि सो पदमा सर्वसम्मत रूपमा निर्वाचित भएका थिए । महासंघको एसोसिएटबाट राजनीति सुरु गरेका ढकाल इन्डोनेसियाका लागि अवैतनिक वाणिज्य दूतसमेत हुन् ।  उनी एक सफल व्यवसायी भनेर पनि परिचित छन् । वरिष्ठ उपाध्यक्षका अर्का प्रतिस्पर्धी किशोर श्रेष्ठ जिल्ला तथा नगर सभापतिमा सर्वसम्मत रुपमै निर्वाचित भएका व्यक्ति हुन् । उद्योग वाणिज्य संंघ मोरङबाट २८ वर्षअघि महासंघको राजनीतिमा आएका उनी अघिल्लो कार्यकाल वरिष्ठ उपाध्यक्ष पदमा शेखर गोल्छासँग पराजित भएका थिए । तत्कालिन जिल्लारनगर उपाध्यक्ष प्रमोद श्रेष्ठ बेनी नगरपालिकाको मेयरमा चुनाब लड्न गएपछि रिक्त रहेको स्थानमा उनलाई सर्वसम्मत चयन गरिएको हो । ढकालले जिल्ला तथा नगरसम्मको व्यवसायिक नेटवर्कलाई नै आफ्नो जितको मुख्य आधार बताउँदै आएका छन् भने उनका प्रतिस्पर्धी प्रधानले साना तथा मझौला उद्योगहरुको तर्फबाट आफूलाई अत्यधिक समर्थन प्राप्त हुने अवस्था रहेको र त्यो नै आफ्नो जितको मुख्य आधार भएको बताउँदै आएक छन् । कसको प्यानलमा को ? नेपाल उद्योग वाणिज्य महासंघको प्रमुख पद वरिष्ठ उपाध्यक्षमा यस पटक रोचक भिडण्त हुन सक्ने अनुमान धेरैको छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल र प्रधानले आ–आफ्नो प्यानल तयार पारिसकेका छन् । ढकालको समूहबाट एसोसिएट्स उपाध्यक्षमा रामचन्द्र सांघाई, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ तथा जिल्ला र नगर उपाध्यक्षमा गुणनिधि तिवारी छन् । यस्तै, किशोर प्रधानको प्यानलमा एसोसिएट्स उपाध्यक्षमा सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला र नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले उम्मेदवारी घोषणा गरिसकेका छन् । महासंघमा एसोसिएट्स उपाध्यक्षमा रामचन्द्र सांघाइ र सौरभ ज्योति, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ र जिल्ला नगरतर्फको उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । ढकाल समूहबाट एसोसिएट्स उपाध्यक्षमा उम्मेदवार बनेका सांघाई एनआईसी एसिया बैंकका सञ्चालक हुन् । त्रिवेणी समूहका प्रवन्ध निर्देशक उनलाई निकासीमा राम्रो योगदान गरेको भन्दै सरकारले सम्मान पनि गरेको थियो । उनीको मारवाडी समुदायमा राम्रो छवि रहेको धेरैको बुझाई छ । एसोसिएट्सतर्फ उम्मेदवारी दिने सौरभ ज्योति ज्योति समूहका सञ्चालक हुन् । अघिल्लो निर्वाचनमा एसोसिएट्स उपाध्यक्षमा उम्मेदवारी दिएका उनले चन्द्र ढकालका लागि सो पद छाडिदिएका थिए । ज्योति महासंघकै पूर्वअध्यक्ष पद्म ज्योतिका जेठा छोरा हुन उनी नाडाको अध्यक्ष हुँदै महासंघ प्रवेश गरेका थिए । उनी हाल महासंघको राजस्व समितिका सभापति छन् । यस्तै, वस्तुगत उपाध्यक्ष अन्तर्गत उमेशलाल श्रेष्ठर अञ्जन श्रेष्ठ बीच प्रतिस्पर्धा हुने भएको छ । उमेशलाल श्रेष्ठ हालका उपाध्यक्ष हुन् । उनी सोही पदमा दोहोरिन चाहेका छन् । चन्द्र ढकाल वरिष्ठ उपाध्यक्षमा चुनाव लड्ने भएपछि उनकै समर्थनमा श्रेष्ठ उपाध्यक्षमा दोहोरिन लागेका हुन् । त्यस्तै अञ्जन श्रेष्ठ हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक हुन् । उनी यसअघि नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष समेत थिए । त्यस्तै जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । तिवारी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष हुन् । उनी विगत १५ वर्षदेखि महासंघको केन्द्रीय कार्यकारिणी सदस्यका रूपमा क्रियाशील छन् । श्रेष्ठ यसअघि प्रदीपजंग पाण्डे र पशुपति मुरारकाको कार्यकालमा वस्तुगत उपाध्यक्ष भइसकेका व्यक्ति हुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष समेत हुन् । ढकाल समूहको प्यानल घोषणा भोलि वरिष्ठ उपाध्यक्षका लागि मैदानमा उत्रिएका चन्द्र ढकाल समुहको प्यानलको उम्मेदवारी भोलि घोषणा हुने भएको छ । ढकाल समुह स्रोतका अनुसार उनले साउन २६ र २७ गते हुने साधारण सभार निर्वाचनका लागि भोलि प्यानल घोषणा गर्ने भएका हुन् । उनका प्रतिस्पर्धी अर्थात प्रधान समुहहले असार १६ गते नै सम्पर्क कार्यालय खोलेर नै प्रचार प्रसारमा तीव्रता दिएको छ ।

एफएनसीसीआईको चुनावी रस्साकस्सी सुरु, प्रधान पक्षले खोल्यो सम्पर्क कार्यालय

काठमाडाैं । आगमी साउन २६ र २७ गते हुने भनिएकाे नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनकाे रस्साकस्सी सुरु भएकाे छ । कोरोना भाइरसको कारणले हालसम्म हुन नसकेकाे महासंघको निर्वाचनकाे पुन: मिति तय गरेसँगै चुनावी माहाेल बढेकाे हाे । पछिल्लो समय लकडाउन मोडालिटी परिर्वतन भएपछि चुनावमा उठ्ने उम्मेदवारहरुले चुनावको तयारीमा लागेका छन् । महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समुहले चुनावका लागि सम्पर्क कार्यालय पनि खोलेका छन् । प्रधान समुहले ललितपुरको पुल्चोकस्थित याक पार्टी प्यालेसमा सम्पर्क कार्यालय स्थापना गरेको हाे । महासंघको बरिष्ठ उपाध्यक्षसहितका पदमा किशोर प्रधान र चन्द्र ढकालको आ–आफ्नो समुहको प्यानल नै बनाएर उमेद्वाारी दिने घोषणा नै गरेका छन् । महासंघको बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समुहको निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले गरेका छन् । उद्घाटन कार्यक्रममा निवर्तमान अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्षहरु कुशकुमार जोशी, विनोदबहादुर श्रेष्ठ सहभागी थिए। महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ। यसपटक शेखर गोल्छा स्वतः अध्यक्ष बन्दैछन्।