प्रहरी कर्मचारीले मीठो बोली वचनसहित काम गर्नूः महानिरीक्षक कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीहरूले आफ्नो उच्च व्यावसायिकता प्रदर्शन गर्दै काम गर्नुपर्ने बताएका छन् ।    बुधबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा उनले अनुशासित, निष्ठावान एवं इमानदार भइ बोली बचनलाई आत्मसात गरी नागरिकको अपेक्षा अनुरूप जिम्मेवारी बहन गर्न निर्देशन दिएका हुन् । उनले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित एवम् निष्पक्ष वातावरणमा सफलतापूवर्क सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको र यसले संगठनमा महत्त्वपूर्ण योगदान पुगेको बताए । धर्म र कर्म नै प्रहरी कार्य भएको उल्लेख गर्दै उनले आ-आफ्नो जिम्मेवारी क्षेत्रको विस्तृत जानकारी राखी योजनावद्ध रूपमा सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउँदै लैजानुपर्नेमा जोड दिए । महानिरीक्षक कार्कीले आ-आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन सूचना संकलन तथा विश्लेषणलाई प्राथमिकतामा राखि प्रहरी कर्मचारीहरू सदैव तयारी हालतमा रहनुपर्ने पनि बताए ।  सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि, फरार प्रतिवादी पक्राउ, हातहतियार बरामद लगायतमा विशेष सुरक्षा योजना अपनाई कार्यान्वयन गर्न उनले निर्देशनसमेत दिए । 

नाडामा कस्तो रह्यो करण चौधरीको कार्यकाल ?

काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) मा करणकुमार चौधरीको कार्यकाल औपचारिक रूपमा सम्पन्न भएको छ । यो दुई वर्षको कार्यकाल नेपालको अटोमोबाइल इतिहासमा स्मरणीय रहने अटो व्यवसायीहरू बताउँछन् ।  करणको कार्यकालमा भएको संस्थाको ऐतिहासिक फुट अर्थात् विभाजनले करणले राम्रा गरेका काम पनि छायाँमा परेका छन् । उनकै कार्यकालमा विद्युतीय सवारी (ईभी)को प्रयोगमा क्रान्ति नै भएको छ ।  करण चौधरीको कार्यकालमा नाडाले आफूलाई केवल एउटा व्यापारिक संस्थामा मात्र सीमित नराखी नीतिगत बहसको केन्द्रमा उभ्याउन सफल भए पनि त्यो विषय उनै करणको कारण छायामा पर्‍यो ।  उनकै नेतृत्वमा नाडाले नेपाललाई क्षेत्रीयस्तरमै उदीयमान ईभी बजारका रूपमा स्थापित गर्न भूमिका खेल्यो । नीतिगत तहमा भएका पहलले विद्युतीय सवारीको पूर्वाधार र प्रविधिमैत्री वातावरण निर्माणमा टेवा पुर्‍यायो । नाडाको प्रशासनिक संरचनालाई आधुनिक र प्रभावकारी बनाउँदै सदस्यहरूसँगको समन्वयलाई डिजिटल प्रविधिसँग जोड्ने प्रयास भयो । राजस्व नीति र वातावरणीय मापदण्डका जटिलताहरूका बीच नाडाले सरकारसँग निरन्तर पैरवी गर्दै अटोमोबाइल क्षेत्रलाई आर्थिक विकासको मेरुदण्डको रूपमा स्थापित गर्ने प्रयास पनि गर्‍यो ।   अटो क्षेत्र तीव्र परिवर्तनको चरणमा रहेको बेला नाडाको नेतृत्व सम्हालेका चौधरीले आफ्नो कार्यकाललाई संस्थागत सुदृढीकरण, नीतिगत संवाद र नवप्रवर्तन प्रवर्द्धनमा मा केन्द्रित गर्दै सफलतापूर्वक सम्पन्न गरेको दाबी गरे ।   करणका अनुसार नाडाले संगठनात्मक क्षमतामा उल्लेखनीय सुधार गर्दै सदस्यहरूसँगको समन्वय र सार्वजनिक–निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाएको छ । यसले नाडालाई अटोमोबाइल उद्योगको विश्वसनीय र प्रतिनिधिमूलक संस्थाका रूपमा थप स्थापित गरेको छ । आफ्नो कार्यकालभर करणले उद्योग र सरकारबीच सशक्त संवादलाई प्राथमिकता दिएको दाबी गरे । राजस्व नीति, वातावरणीय मापदण्ड तथा अन्तर्राष्ट्रिय व्यापारका जटिलताबीच उद्योगका मुद्दाहरूलाई स्पष्ट र रचनात्मक रूपमा प्रस्तुत गर्दै सन्तुलित नीतिगत वातावरण निर्माणमा योगदान पुर्‍याइएको उनको भनाइ छ ।  छोटो अवधिमै ईभी प्रयोगमा आएको वृद्धि नेपाललाई क्षेत्रीय स्तरमा उदीयमान बजारका रूपमा स्थापित गर्न सफल भएको उनी बताउँछन् । अटोमोबाइल उद्योगभित्रका विभिन्न सरोकारवालाहरू उत्पादक, वितरक, वित्तीय संस्था तथा सेवा प्रदायकहरूबीच सहकार्य सुदृढ बनाउने प्रयास पनि भएको उनले बताए । जसले उद्योगको सामूहिक आवाजलाई अझ बलियो बनाएको उनको बुझाइ छ ।  करणले भने, ‘नेतृत्व पद अस्थायी भए पनि यसको महत्त्व संस्थालाई बलियो बनाउने र उद्योगको दीर्घकालीन विकासमा योगदान दिने क्षमतामा निर्भर हुन्छ ।’ दुःखद नजीरको बीजारोपण  नाडाको नेतृत्वमा बसेर करण चौधरीले जे जति काम गरेका छन्, तिनको प्रशंसाको साटो उनले आलोचना बढी महसुस गरे । नाडाभित्रको आन्तरिक कलह र फुटले चौधरीको कार्यकालमाथि ठूलो प्रश्नमात्रै उठेको छैन, समग्र अटो व्यवसायीको छाता संस्थाको रूपमा रहेको नाडाकै इतिहासमा एउटा दुःखदायी नजीरको बिजारोपणसमेत भएको छ ।  लामो समयदेखि एक भएर हातेमालो गर्दै आएका अटो व्यवसायीहरू करणकै कार्यकालमा विभाजित हुन पुगे । जसलाई नाडाकै पूर्वअध्यक्षहरू र समग्र अटो व्यवसायीहरू सम्झिन पनि चाहँदैनन् । नाडाका पूर्वअध्यक्ष ध्रुव थापाले करण चौधरीमाथि विश्वासघात र अधिनायकवादको गम्भीर आरोप लगाए । थापाका अनुसार नाडालाई निर्विरोध लैजाने उद्देश्यले करण चौधरी र आकाश गोल्छाबीच आलोपालो नेतृत्व गर्ने जुन लिखित सहमति भएको थियो, नेतृत्वमा पुगेपछि चौधरीले त्यसलाई लत्याइदिए । ‘आकाश गोल्छाजी मेरो प्यानलको हुनुहुन्थ्यो । तर, संस्थाको हितका लागि मैले नै पहल गरेर यो पटक करणजीलाई अध्यक्ष स्वीकार्ने र अर्को पटक आकाशलाई दिने सहमति गराएको थिएँ,’ थापाले भने, ‘तर नेतृत्वमा पुगेपछि चौधरीजीले लिखित सम्झौताको धज्जी उडाउनुभयो र ठूलो विश्वासघात गर्नुभयो ।’ अध्यक्ष करण चौधरीले पदाधिकारी चयन, सदस्य मनोनयन र समिति गठनमा एकलौटी गरेको र पूर्वसहमति पालना नगरेकै कारण नाडाभित्र विद्रोह सुरु भएको थापाको बुझाइ छ । त्यही विवादका कारण नेपाल अटोमोबाइल इम्पोटर्स एशोसिएशन (नाइमा) गठन भएको र नाडा विभाजित भएको उनले बताए ।  थापाका अनुसार अध्यक्ष करणले पदाधिकारी चयन र समिति गठनमा एकलौटी गरेको भन्दै प्रमुख आयातकर्ताहरूले नाडाबाट अलग्गिएर नेपाल अटोमोबाइल इम्पोटर्स एशोसिएशन (नाइमा) गठन गरे । जसका कारण नाडा अहिले दुई विभाजित भएको छ । ‘नाडा अहिले पूर्णतः विभाजित छ, यो अवस्थामा पुग्नुको मुख्य कारक नै उहाँ हो,’ उनले भने ।  पूर्वअध्यक्ष थापाले करण चौधरीको कार्यकाललाई नाडाको इतिहासकै सबैभन्दा खराब कार्यकालको संज्ञा दिए । उनले भने, ‘जसको कार्यकालमा संस्था विभाजित हुन्छ, त्यो नेतृत्व पूर्ण रूपमा असफल हो । नाडाको जुन उचाइ र सम्मान थियो, त्यो सबै गुमेको छ ।’ उनले नाडाको पछिल्लो साधारणसभा र अधिवेशन पनि विधानसम्मत नभएको टिप्पणी गरे । ‘अधिवेशनमा एकजना पनि पूर्वअध्यक्ष सहभागी नहुनुले नै संस्था कति संकटमा छ भन्ने पुष्टि गर्छ । पूर्वअध्यक्ष नपाएर पुराना महासचिवलाई अतिथि बनाउनुपर्ने अवस्था आउनु लज्जास्पद हो,’ थापाले थपे ।  प्रमुख आयातकर्ताहरूले नाडा बहिष्कार गरेर नयाँ संस्था नाइमा बनाएपछि अब नाडाको हैसियत डिलर र पार्टस् एशोसिएसन जस्तो मात्रै भएको थापाको विश्लेषण छ ।  उनले भने, ‘ठुला आयातकर्ताहरू कोही पनि नाडामा छैनन्, अब यो संस्था पहिलाको जस्तो प्रभावशाली रहेन ।’ अदालतमा मुद्दा विचाराधीन रहेको र आकाश गोल्छाको टिमले नाडाका गतिविधि बहिष्कार गरिरहेको अवस्थामा नाडाको भविष्य नै संकटमा परेको थापाले बताए ।  यसैगरी, पूर्वअध्यक्ष कृष्ण दुलालले पनि चौधरीको कार्यशैलीप्रति असन्तुष्टि पोखेका छन् । उनले भने, ‘हामीलाई कुनै पनि कार्यक्रममा सहभागी गराइएन, जसका कारण हामी टाढिन बाध्य भयौं । अबको नयाँ नेतृत्वले यो फुटेको मन र संस्थालाई जोड्नुपर्ने ठूलो चुनौती छ ।’ असन्तुष्ट पक्षले भने उच्च अदालत पाटनले खारेज गरेको रिट पुनरावेदन गरेर सर्वोच्च अदालत जाने बताएको छ । करण चौधरीको बहिर्गमनसँगै सुरेन्द्र उप्रेतीले नाडाको कमाण्ड सम्हालेका छन् । उनले विभाजित संस्था र अदालतमा विचाराधीन मुद्दाहरूलाई अब कसरी अगाडि बढाउँछन् त्यो भने हेर्न बाँकी नै छ ।  एकातिर नयाँ सरकारसँग समन्वय गरेर थला परेको अटोमोबाइल बजारलाई चलायमान बनाउनुपर्नेछ भने अर्कोतिर नाडा छोडेर नाइमातिर लागेका प्रभावशाली आयातकर्ताहरूलाई पुनः विश्वासमा लिएर संस्थालाई एकताबद्ध बनाएर चलायमान बनाउनेपर्ने जिम्मेवारीमा उप्रेती छन् । 

नेपालीले करको ठूलो भार बेहोरिरहेका छन्, दोहोर कर हटाउनै पर्छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर प्रसाद खनालले अवकाश कोषमा लाग्दै आएको दोहोरो कर हटाउन आवश्यक रहेको बताएका छन् । नागरिक लगानी कोष को ३६औं वार्षिकोत्सवका अवसरमा बोल्दै उनले कर प्रणालीमा समानता र नीतिगत सहजता आवश्यक रहेको औंल्याए । उनले दोहोरो करको विषय आफ्नो कार्यकालमा समाधान गर्न नसकेको स्वीकार गर्दै आगामी अर्थमन्त्रीलाई यसबारे जानकारी गराएर जाने बताए । ‘ठूलो करको भार नेपाली करदाताले भोगिरहेका छन्, यसमा नीतिगत सुधार अपरिहार्य छ,’ उनले भने ।  खनालले नागरिक लगानी कोषको स्थापना तत्कालीन अन्तरिम सरकारको अवधिमा भएको स्मरण गर्दै त्यतिबेला स्थापना भएका धेरै वित्तीय संस्थाहरू समयसँगै कमजोर वा विलय भए पनि कोष भने सुदृढ रूपमा अघि बढ्दै ३६औं वर्षसम्म आइपुगेको उल्लेख गरे । उनले कृषि विकास बैंक लाई पटक–पटक उद्धार गर्नुपरेको प्रसंग उल्लेख गर्दै अहिले मात्र केही सुधारको अवस्थामा पुगेको बताए । आगामी राजनीतिक प्रक्रियाबारे बोल्दै उनले आगामी साताभित्र नयाँ सरकार गठन हुने संकेत गरेका छन् । उनका अनुसार निर्वाचन आयोगले छिट्टै प्रमाणपत्र वितरण गर्ने र त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । ‘म पनि अब केही समयमै जिम्मेवारीबाट विश्राम लिने तयारीमा छु,’ उनले भने ।  अर्थतन्त्रका सन्दर्भमा उनले प्रतिस्पर्धालाई सकारात्मक रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । ‘प्रतिस्पर्धा भयो भनेर गुनासो गर्नु उपयुक्त हुँदैन, खुला प्रतिस्पर्धा हुनुपर्छ, बन्द प्रतिस्पर्धा हुुनु हुँदैन, ’उनले भने ।  खनालले बैंक तथा वित्तीय संस्थामा हाल तरलता प्रचुर रहेको उल्लेख गर्दै निक्षेपको विकल्पका रूपमा दीर्घकालीन कोष विकास गर्नुपर्ने आवश्यकता औंल्याए । सरकारले १५–२० वर्ष अवधिका दीर्घकालीन फण्ड जारी गर्ने प्रक्रिया अघि बढाइसकेको जानकारी पनि उनले दिए।  ब्याजदर अत्यधिक घटेर ऋणात्मक हुन नदिन बुढीगण्डकी जस्ता ठूला आयोजना अघि बढाउने तयारी भइरहेको बताउँदै उनले यस्ता परियोजनाले निक्षेप परिचालनलाई सहज बनाउने विश्वास व्यक्त गरे । साथै, ठूला आयोजना कार्यान्वयनमा रहेका केही नीतिगत बन्देज हटाइएको र बाँकी रहेका अवरोधहरू पनि क्रमशः फुकाउनुपर्ने आवश्यकता उनले औंल्याए । अर्थमन्त्री खनालले वर्तमान आर्थिक सूचकहरू सकारात्मक देखिए पनि वास्तविक अर्थतन्त्रमा अझै चुनौती कायम रहेको बताए । विशेषगरी मध्यपूर्वमा भइरहेको द्वन्द्वले थप जोखिम सिर्जना गरेको उल्लेख गर्दै उनले सावधानीपूर्वक आर्थिक व्यवस्थापन आवश्यक रहेको धारणा राखे ।   

‘दोहोरो कर लाग्ने व्यवस्थाको सहजीकरण गर्नुपर्छ, अब मुद्दतिभन्दा पनि परियोजनामा लगानी बढाउँछौं’

काठमाडौं । नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले दोहोरो कर लाग्ने व्यवस्थाले सहभागीलाई अतिरिक्त भार परेको भन्दै यसको सहजीकरण गर्न आवश्यक रहेको बताएका छन् । कोषको ३६औं वार्षिकोत्सवका अवसरमा बोल्दै कार्कीले स्वरोजगारलाई पनि कोषमा आवद्ध गराउने गरि पेन्सन योजना ल्याएको बताउँदै त्यसमा दोहोरो करको भार पर्ने भएकाले सरकारले सहज बनाउन आवश्यक रहेको धारणा राखे ।  साथै, उनले अब मुद्दती निक्षेपमा केन्द्रित लगानीभन्दा परियोजनामुखी लगानीतर्फ कोष अघि बढ्ने स्पष्ट पारे । हाल कोषले सातवटा योजना सञ्चालन गर्दै करिब ३ सय अर्ब रुपैयाँ बराबरको कोष परिचालन गरिरहेको जानकारी दिए । उनका अनुसार करिब ७ लाख सहभागी आबद्ध रहेका छन् भने करिब ७ अर्ब रुपैयाँ पूँजी संकलन भएको छ । हाल कोषको करिब ५० प्रतिशत लगानी बैंकको मुद्दती निक्षेपमा रहेको र २२ प्रतिशत रकम कर्मचारीलाई कर्जाका रूपमा प्रवाह गरिएको उल्लेख गर्दै उनले अब यस्तो निर्भरता घटाउँदै सरकारले प्राथमिकतामा राखेका आयोजना तथा उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्ने रणनीति अपनाइएको बताए । उद्यमशीलता विकासलाई प्रवद्र्धन गर्न निजी इक्विटी (प्राइभेट इक्विटी) क्षेत्रमा समेत लगानी गर्ने तयारी भइरहेको उनको भनाइ छ । साथै, कोषले आफ्ना दैनिक कार्यलाई डिजिटलमैत्री बनाउँदै सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाइरहेको पनि उनले जानकारी दिए । कोषले सेयरधनी तथा सहभागीलाई दीगो र आकर्षक प्रतिफल दिँदै आएको दाबी गर्दै कार्कीले यस्तो प्रतिफल पूँजी बजारका अन्य कम्पनीहरूको तुलनामा प्रतिस्पर्धी रहेको बताए । तर, पछिल्लो समय ब्याजदरमा आएको गिरावटले कोषको आम्दानीमा असर परेको र बैंक तथा वित्तीय संस्थाबाट निक्षेपको माग घट्दा कोषमा रकम थुप्रिने अवस्था सिर्जना भएको उनले उल्लेख गरे । त्यस्तै, सामाजिक सुरक्षा कोष सँग कार्यक्षेत्र मिल्दोजुल्दो हुँदा प्रतिस्पर्धात्मक चुनौती थपिएको बताउँदै दुवै संस्थाको भूमिकामा स्पष्टता आवश्यक रहेकोमा उनले जोड दिए । सरकारको ग्यारेन्टीमा नेपाल वायुसेवा निगम लाई प्रवाह गरिएको करिब १२ अर्ब रुपैयाँ कर्जा बढेर २२ अर्ब रुपैयाँ पुगेको उल्लेख गर्दै यसको प्रभावकारी असुलीका लागि सरकारी सहजीकरण आवश्यक रहेको पनि उनले बताए । यसैबीच, स्वरोजगारमा रहेका नागरिकलाई समेट्ने उद्देश्यले ल्याइएको पेन्सन योजनामा दोहोरो कर लाग्ने समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न सरकारसँग सहकार्य आवश्यक रहेको उनले पुनः दोहो¥याए ।  

९ करोड २ लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

काठमाडौं । संघीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको बजेटसहित ९ करोड २ लाख रुपैयाँमा नगरपालिकाको ४२ कोठे भवन निर्माण भएको छ ।  नगरपालिकाका इन्जिनियर प्रवीण गौतमका अनुसार फलेवास-५ झकलकमा स्थानीयले निःशुल्क उपलब्ध गराएको ६० रोपनी आठ आना जग्गामा चारतले भवन निर्माण भएको हो ।  रङरोगन, झ्याल-ढोका जडान र साजसज्जाको काम सकेर विद्युत् ‘वाइरिङ’ जारी रहेको नगरप्रमुख गङ्गाधर तिवारीले जानकारी दिँदै यथाशीघ्र नयाँ भवनबाट सेवा प्रवाह गर्ने तयारी भएको बताए ।   

हावाहुरीले ३ करोड बढीको केरा खेतीमा क्षति, बीमा गर्न मान्दैनन् बीमा कम्पनी

काठमाडौं । केरा खेतीको बीमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बीमा नहुँदा यहाँका किसान प्रकृति प्रकोपबाट मारमा परेका हुन् । सोमबार साँझ आएको भीषण हावाहुरीका कारण चन्द्रपुर नगरपालिकामा अत्यधिक क्षति पुगेको छ । विशेष गरी चन्द्रपुर-३ मा लगाइएको करिब डेढ करोड रुपैयाँ बराबरको केरा खेती पूर्ण रूपमा नष्ट हुँदा किसान आर्थिक मारमा परेका छन् । चन्द्रपुर-१ को पौराई, चन्द्रपुर-२ को जुडिबेला, वार्ड नं ३ को गैडाटार, वार्ड नं ४ को चन्द्रनिगाहापुरलगायत गाउँमा हावाहुरीले केरा खेतीमा पूर्ण रुपमा क्षति पुर्याएको छ । चन्द्रपुर-३ को गैँडाटार गाउँ केरा उत्पादनको मुख्य क्षेत्रका रूपमा परिचित छ । यहाँका अधिकांश किसानले व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन् ।  सोमबार आएको हावाहुरीले हजारौं बोट केरा ढल्दा वर्षभरिको मेहनत एकछिनमा नष्ट भएको स्थानीय कृषक दीपक गौतमले बताए । लगानी, श्रम र समय सबै गुम्दा किसान आर्थिक रूपमा धराशायी हुने अवस्थामा पुगेका छन् । केरा खेती गर्ने किसानले बर्सेनि प्राकृतिक विपत्तिको सामना गर्नुपरेको छ । हावाहुरी, रोग र कहिलेकाही जङ्गली जनावरको आक्रमणले केरा खेती नष्ट हुने गरेको तर बीमा नहुँदा सबै क्षति किसानले बेहोर्नुपरेको गौतम बताउँछन् । यस क्षेत्रमा व्यावसायिक रुपमा केरा खेती गर्ने किसान बढेपछि केरा खेतीको बीमा गर्न पटकपटक चन्द्रपुर नगरपालिकामा आवाज उठाउँदा सुनुवाइ नभएको उहाँले बताए ।  बीमाका लागि चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जयकुमार काफ्ले तथा विभिन्न बीमा कम्पनीलाई आग्रह गर्दा बेवास्ता गरेको कृषक गौतमको गुनासो छ । उनले करिब ७ बिघा जमिनमा केरा खेती गर्दै आएका छन् । रौतहटमा करिब ४ सय बिघाभन्दा बढी जमिनमा केरा खेती भएको र हावाहुरीबाट ३ करोडभन्दा बढीको क्षति पुगेको छ । यस्तै चन्द्रपुर-३ का अर्का किसान रमेश घिमिरेले केरा खेतीको बीमा भएमा किसानको लगानी सुरक्षित हुने बताए । यहाँ बीमा नहुँदा किसान मारमा परेको उनको भनाइ छ । अहिलेको समयमा हरेक बालीको बीमा अपरिहार्य भएको घिमिरेले बताए । बीमा कम्पनीले जोखिम बढी हुने भन्दै केरा खेतीको बीमा गर्न आनाकानी गर्दै आएको उहाँको गुनासो छ । यसले हरेक वर्ष प्राकृतिक प्रकोप आउँदा किसान थप समस्यामा पर्ने गरेका छन् । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जयकुमार काफ्लेले कृषकको बाली बीमाका लागि नगरपालिका सबै किसिमको सहयोग गर्न तयार रहेको बताए । बालीका लागी बीमा अति आवश्यक भएकाले बीमाका लागि कुनै पनि किसिमको सहयोग गर्न तयार रहेको उनको भनाइ छ ।

राष्ट्र बैंकले बदल्यो प्राथमिकता क्षेत्रको कर्जा नियम, कृषि कर्जा सीमा घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह हुने कर्जासम्बन्धी व्यवस्थामा संशोधन गर्दै केही लचकता अपनाएको छ । राष्ट्र बैंकले तोकिएका क्षेत्रमा कर्जा प्रवाह सम्बन्धी व्यवस्थालाई परिमार्जन गरी बैंक तथा वित्तीय संस्थालाई केही सहजता दिएको हो ।  राष्ट्र बैंकका अनुसार अब वि.सं. २०८३ पुस मसान्तदेखि वाणिज्य बैंकहरूले कृषि क्षेत्रमा न्यूनतम १० प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि भने २०८३ असार मसान्तसम्म कृषि क्षेत्रमा न्यूनतम १२ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने प्रावधान रहेको थियो। यसैगरी, २०८३ पुस मसान्तदेखि कुल कर्जा तथा सापटको न्यूनतम २० प्रतिशत कर्जा तोकिएका प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ । ती क्षेत्रहरूमा पर्यटन, लघु, घरेलु, साना तथा मझौला उद्यम–व्यवसाय क्षेत्र (३ करोड रुपैयाँसम्मका कर्जा तथा उत्पादनमूलक उद्योगको हकमा ५ करोड रुपैयाँसम्म), ऊर्जा क्षेत्र, सूचना प्रविधि तथा सञ्चार प्रविधिमा आधारित उद्योग तथा स्वदेशी कच्चा पदार्थमा आधारित निर्यात उद्योग समावेश छन् । त्यसैगरी, कृषि क्षेत्रमा तोकिएको न्यूनतम १० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले अन्य तोकिएका क्षेत्रमा कर्जा प्रवाहको प्रतिशत नपुगेको अवस्थामा कृषि क्षेत्रमा बढी भएको कर्जालाई तोकिएको समग्र प्रतिशत गणनामा समायोजन गर्न सक्ने व्यवस्था गरिएको छ । राष्ट्र बैंकका अनुसार २०८३ पुस मसान्तदेखि विकास बैंकहरूले कुल कर्जा तथा सापटको न्यूनतम २० प्रतिशत र वित्त कम्पनीहरूले न्यूनतम १५ प्रतिशत कर्जा तोकिएका क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था लागू हुनेछ ।  तोकिएको क्षेत्रमा कर्जा लगानी अनुपात पूरा गर्नका लागि कम कर्जा प्रवाह गर्ने र बढी कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाहरूले आपसी सहमतिमा शुल्क दिई–लिई रिपोर्टिङ प्रयोजनका लागि मात्र कर्जा खरिद तथा बिक्री गर्न सक्ने व्यवस्था पनि गरिएको छ । खरिद गरिएको कर्जालाई तोकिएको क्षेत्रको कर्जाको रिपोर्टिङका लागि मात्र प्रयोग गर्न पाइनेछ । यस्तो अवस्थामा कर्जा खरिद गर्ने बैंक वा वित्तीय संस्थाले उक्त कर्जालाई थप गरेर तथा बिक्री गर्ने संस्थाले घटाएर आफ्नो विवरणमा देखाउनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।  रिपोर्टिङ राइट खरिद गर्ने संस्थाले भने तोकिएको कुल प्रतिशतको एक तिहाइ रकमसम्म मात्र खरिद गर्न पाउने व्यवस्था गरिएको छ । साथै, यस्तो खरिद–बिक्रीको अधिकतम अवधि ६ महिना वा सोही आर्थिक वर्षको असार मसान्तसम्म मात्र रहनेछ । यसरी हुने रिपोर्टिङ राइटको कर्जा बिक्री–खरिदमा कर्जा जोखिम, प्रतिफल, कर्जाको नियन्त्रण तथा वित्तीय विवरणसम्बन्धी दायित्व भने कर्जा बिक्री गर्ने संस्थामै रहने राष्ट्र बैंकले स्पष्ट पारेको छ । यस्तै, एकपटक बिक्री गरिसकेको कर्जाको रिपोर्टिङ राइट सोही अवधिभित्र पुनः अन्य बैंक तथा वित्तीय संस्थालाई बिक्री गर्न पाइने छैन । राष्ट्र बैंकले कृषि ऋणपत्र तथा ऊर्जा ऋणपत्रमा गरिएको लगानीलाई पनि तोकिएको क्षेत्रको कर्जामा गणना गर्न मिल्ने व्यवस्था गरेको छ । कृषि क्षेत्रसँग सम्बन्धित पब्लिक लिमिटेड कम्पनी तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित सार्वजनिक संस्थान र पब्लिक लिमिटेड कम्पनीहरूले जारी गरेका बन्ड तथा अन्य ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले गरेको लगानीलाई पनि तोकिएको क्षेत्रको कर्जामा गणना गर्न सकिने जनाएको छ ।

फोहोर प्रशोधन केन्द्र बनाउन भरतपुरले छुट्यायो ३ करोड

चितवन । भरतपुर महानगरपालिकाको फोहोर प्रशोधन केन्द्र निर्माणका लागि वन मन्त्रालयसँग जग्गा लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।  जग्गाको भोगाधिकार र वृक्षरोपणका लागि मन्त्रालयलाई भुक्तान गर्नुपर्ने रकम महानगरले विनियोजन गरेको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीका अनुसार भरतपुर महानगरपालिका–११ मा रहेको राष्ट्रिय वन क्षेत्रमा करिब १६ बिगाह जग्गा भोगाधिकारका लागि आवश्यक ३ करोड बजेट कार्यपालिकाले सुनिश्चित गरेको छ ।  महानगरपालिकाले यसअघि नै ५ करोड १९ लाख ७५ हजार भुक्तान गरिसकेको छ । मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन तयार भई स्वीकृत भएपछि रकम भुक्तान गर्न भनेको अधिकारीले जानकारी दिए ।  उनका अनुसार वातावरण प्रभाव मूल्याङ्कनका लागि आवश्यक तथ्याङ्क र कागजातहरू उपलब्ध गराइसकिएको छ । मन्त्रालयले वातावरण प्रभाव मूल्याङ्कन स्वीकृत भएपछि रूख कटान थाल्ने आश्वासन दिएको छ । जग्गा भोगाधिकार र एक बिरुवा कटान गरे बापत १० बिरुवा रोपेर पाँच वर्षसम्म संरक्षणका लागि महानगरले यसअघि नै ५ करोड १९ लाख ७५ हजार भुक्तान गरेको महानगरपालिकाको वातावरण महाशाखा प्रमुख विराट घिमिरेले बताए ।  अब रोपिने बिरुवा संरक्षणका लागि १ करोड ९० लाख विनियोजन गरिएको हो ।  हाल महानगरपालिकामा दैनिक ८० टन भन्दा बढी फोहोर सङ्कलन हुने गरेको छ जसलाई आँपटारीको नजिकै खोल्सामा व्यवस्थापन हुँदै आएको छ ।

दोहोरो अंकले बढ्यो नेप्से, १२ अर्ब ३ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेप्से दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.५१ अंकले बढेर २८१२.३४  विन्दुमा कायम भएको छ । आज नेप्से बढेसँगै कारोबार रकमसमेत बढेको छ । ३४० स्टकको १ लाख ६ हजार १४० पटकमा ३ करोड ४८ लाख ५२ हजार ७६० कित्ता सेयर खरिदबिक्री हुँदा १२ अर्ब ३ करोड ४४ लाख ६ हजार रुपैयाँको कारोबार भएको छ । आज दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ । त्यस्तै, एनआईसी एशिया ग्रोथ फण्ड २ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज कारोबार रकमको आधारमा रिदी पावर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । उक्त कम्पनीको ५६ करोड ३७ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ । दोस्रो धेरै कारोबार हुने कम्पनीमा आँखु खोला जलविद्युतमा ५१ करोड ७५ लाख ९३ हजार रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनी ४८ करोड ५ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ४६ करोड ३३ लाख रुपैयाँ र शि श्री हाइड्रोपावरको ४४ करोड ५९ लाख रुपैयाँको कारोबार भई शीर्ष पाँचमा प्रवेश गरेका छन् । आज ६ उपसमूह बढेको छ भने बाँकी घटेका छन् । बैंकिङ ०.८४, विकास बैंक ०.६४, जलविद्युत १.५९, लगानी ०.६१, उत्पादन ०.२९ र म्युचल फण्ड ०.२५ प्रतिशतले बढेको नेप्सेले जनाएकाे छ । 

देशभर पछिल्लो २४ घण्टामा ७३ विपद्का घटना, ४ जनाको मृत्यु, साढे २ करोडभन्दा बढीको क्षति

काठमाडौं । नेपालभर पछिल्लो २४ घण्टामा विभिन्न प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनामा परी ४ जनाले ज्यान गुमाएका छन् । साढे २ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ । नेपाल गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार देशका ४३ जिल्लामा विपद्का घटनाहरू रेकर्ड भएका हुन् ।  चैत २ गते बिहान १० बजेदेखि चैत ३ गते बिहान १० बजेसम्मको अवधिमा देशभर कुल ७३ वटा विपद्का घटना घटेका छन् । यी घटनामा परी ४ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा हावाहुरीबाट २ जना, सर्पदंशबाट १ जना र चट्याङ लागेर १ जना रहेका छन् ।  यस अवधिमा सबैभन्दा बढी हावाहुरीका ४६ वटा र आगलागीका १२ वटा घटना दर्ता भएका छन् । विपद्का कारण २ करोड ४१ लाख ६ हजार ९ सय रुपैयाँ बराबरको अनुमानित क्षति भएको प्राधिकरणले जनाएको छ । साथै, २७ वटा चौपायाको समेत क्षति भएको छ । यी घटनाहरूको उद्धार र व्यवस्थापनका लागि ३ सय ४९ जना प्रहरी परिचालन गरिएको थियो । प्राधिकरणको तथ्यांकअनुसार २०८२ साल वैशाख १ गतेदेखि चैत ३ गतेसम्म देशभर कुल ६ हजार ९ सय ५१ वटा विपद्का घटना भइसकेका छन् । यी घटनाहरूमा परी हालसम्म ४ सय ७५ जनाले ज्यान गुमाएका छन् भने ३८ जना अझै बेपत्ता छन् । त्यसैगरी, १ हजार ८ सय ४६ जना घाइते भएका छन् भने १२ हजार ६ सय ५० परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।  यस वर्ष सबैभन्दा बढी मानवीय क्षति आगलागीबाट भएको छ । जसमा १०० जनाको मृत्यु भएको छ । त्यसपछि सर्पदंशबाट ९८, पहिरोबाट ७४, जनावरको आक्रमणबाट ५४ र चट्याङबाट ४७ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।  पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा वर्षा भएको छ । प्राधिकरणका अनुसार ३ सय ३४ वटा वर्षा मापन केन्द्रमध्ये १२३ वटा केन्द्रमा वर्षा रेकर्ड गरिएको छ । सबैभन्दा बढी वर्षा धनकुटा जिल्लाको मुलघाट केन्द्रमा ३५.० मिलिमिटर मापन गरिएको छ । तापक्रमतर्फ, देशकै सबैभन्दा बढी गर्मी रुपन्देहीको भैरहवामा महसुस गरिएको छ, जहाँको अधिकतम तापक्रम ३४.५ डिग्री सेल्सियस पुगेको छ । त्यसैगरी, सबैभन्दा चिसो मनाङको हुम्देमा रेकर्ड गरिएको छ, जहाँको न्यूनतम तापक्रम माइनस ८.५ (–८.५) डिग्री सेल्सियस मापन गरिएको छ । 

नेपाल बैंकले ल्यायो ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्ने योजना

काठमाडौं । नेपाल बैंकले आफ्ना ऋणीहरूलाई लक्षित गर्दै ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न सकिने आकर्षक सहुलियत योजना सार्वजनिक गरेको छ । बैंकले जारी गरेको सूचना अनुसार विसं २०७९ साल चैत्र मसान्त अगावै खराब वर्गमा वर्गीकरण भएका १ करोड रुपैयाँसम्मको सावाँ बक्यौता रहेका ग्राहकहरूले यो योजनाको लाभ लिन सक्नेछन् ।  यस्ता ऋणीहरूले विसं २०८३ आषाढ मसान्तभित्र तोकिएका शर्तहरू पालना गरी कर्जा चुक्ता गरेमा विशेष ब्याज छुट प्राप्त गर्ने सुवर्ण अवसर प्रदान गरेको बैंकले जनाएको छ ।  बैंकले आफ्ना सम्बन्धित ग्राहकहरूलाई यस सहुलियतको उपयोग गरी वित्तीय भार कम गर्न र कर्जा राफसाफ गर्न अनुरोधसमेत गरेको छ । यसैगरी, बैंकले २०८० वैशाख १ गते पश्चात निष्कृय तथा सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूको हकमा पनि राहतको व्यवस्था गरेको छ । यस्ता ग्राहकहरूले विसं २०८२ चैत्र मसान्तभित्र आफ्नो बक्यौता सावाँ तथा ब्याज बुझाएर कर्जा चुक्ता गरेमा वा खाता नियमित गराएमा आकर्षक ब्याज छुट दिइने बैंकले जनाएको छ । इच्छुक ग्राहकहरूलाई थप जानकारी र सुविधाको लाभ लिनका लागि आ-आफ्नो सम्बन्धित शाखा कार्यालयमा यथाशीघ्र सम्पर्क राख्न बैंकले आग्रहसमेत गरेको छ ।

केयुका कर्मचारीको उपदान अब नागरिक लगानी कोषले व्यवस्थापन गर्ने

काठमाडौं । नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालयबीच उपदान कोष व्यवस्था एवम् सञ्चालनसम्बन्धी सम्झौता भएको छ ।  विश्वविद्यालयका उपकुलपति प्रा.डा.अच्युतप्रसाद वाग्लेसमेतको उपस्थितिमा सोमबार भएको उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र विश्वविद्यालयका तर्फबाट प्रा.डा.राजीव श्रेष्ठले हस्ताक्षर गरे । सम्झौतापश्चात विश्वविद्यालयबाट वार्षिक रूपमा कोष कट्टा गरी प्राप्त भएका रकम सम्बन्धित शिक्षक तथा कर्मचारीको खातामा कोषले अद्यावधिक गर्नेछ ।  कोष ऐनअनुसार कोषमा योगदान गरेको रकमबाट आर्जन गरेको ब्याज तथा प्रतिफल शिक्षक तथा कर्मचारीको कोषमा रहेको खातामा जम्मा गर्नेलगायतका अतिरिक्त सुविधा कोषले उपलब्ध गराउनेछ ।  विश्वविद्यालयका स्थायी शिक्षक तथा कर्मचारीहरूलाई कोषको नियमानुसार पाउने वा प्रदान गर्ने ऋण सापटी पनि कोषले प्रदान गर्नेछ ।  त्यसैगरी, विद्यालयको सिफारिसमा सेवानिवृत शिक्षक, कर्मचारीलाई उपदान रकम कोषले भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ । 

रास्वपाका नवनिर्वाचित सांसदहरूका लागि अभिमुखीकरण तालिम सुरु हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रम मंगलबार सवा ११ बजे सुरु हुने भएको छ । रास्वपाका नवनिर्वाचित सांसद प्रतिभा रावलका अनुसार नवनिर्वाचित सांसदहरू आउने क्रम जारी रहेको छ । १८२ सिटको आधारमा सरकार गठनको तयारीमा जुटेको रास्वपाले आफ्ना अधिकांश सांसद नयाँ भएकाले संसदीय अभ्यास र आचारसंहितासम्बन्धी ज्ञान अभिवृद्धि गर्न दुई दिने अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको रावलले बताइन् ।  ग्वार्कोस्थित होटल रोयल टुलिपमा भइरहेको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूले प्रशिक्षण दिने रावलले जानकारी दिइन् । रावलका अनुसार अभिमुखीकरण कार्यक्रममा सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण प्रक्रिया, संसद्को कार्यप्रणाली, जनप्रतिनिधिको भूमिका र जिम्मेवारीसँगै पार्टीले अघि सार्ने नीतिगत दिशाबारे विस्तृत प्रशिक्षण प्रदान गरिनेछ । अभिमुखीकरण कार्यक्रम आवासीय हुने रावलले जानकारी दिइन् । कार्यक्रममा मोवाइलसहित सञ्चारका साधनहरूलाई निषेध गरिएको छ ।

३६ जनाबाट सुरु १ हजार ५१ पुगे सेयर सदस्य, पुँजी ४ करोड २० लाख रुपैयाँ

काठमाडौं । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका भुरा छाडिएको छ । रुपाताल सहकारीले रजत वर्षको अवसर पारेर तालको आयआर्जनमा सहयोग पुग्ने गरी माछाका भुरा छाडिएको हो । रुपा गाउँपालिका र पोखरा महानगरपालिका-३२ मा पर्ने रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्थाले यस वर्षलाई रजत वर्षका रूपमा मनाउने योजनासहित तालमा विभिन्न जातका माछाका भुरा छाडिएको संस्थाका अध्यक्ष रामबहादुर थापाले जानकारी दिए ।  ‘वि.सं २०५८ मा ३६ जना सेयर सदस्यबाट सुरु गरिएको रुपाताल सहकारीले सफलतापूर्वक २५ वर्ष पार गरेको अवसरमा ‘प्राकृतिक सम्पदाको संरक्षण गरौँ, दिगो उत्पादनमा जोड दिउँ’ भन्ने मूल नाराका साथ यस वर्षलाई रजत वर्ष मनाउने घोषणा गरिएको हो,’ अध्यक्ष थापाले भने । स्थापनाकालमा ३६ जना सेयर सदस्यको ५ हजार रुपैयाँ संकलन गरेर १ लाख ८३ हजार ६०० पुँजीबाट सञ्चालित संस्था अहिलेसम्म आइपुग्दा १ हजार ५१ सेयर सदस्यमार्फत ४ करोड २० लाख ४० हजार रुपैयाँ सेयर पुँजी पुगेको उनले बताए । तालमा माछाको भुरा छोड्दै बेगनास मत्स्य अनुसन्धान केन्द्रका प्रमुख डा. मोहम्मद इकवाल हुसेनले तालको प्राकृतिक सौन्र्दयतालाई नबिगारी तालमार्फत आयआर्जनमा जोडिने गरी माछापालनलाई अगाडि बढाइएको बताए । ताल मानव जातिका साथै जलचर प्राणीका लागि अनिवार्य भएकाले यसको सौन्दर्यलाई नबिगारी भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिए । उनले तालमा माछाको साथमा सिपीबाट मोती निकाल्न सकिने परीक्षण सफल भएकाले रुपाताल माछाका लागि मात्र नभई सिपीका लागि पनि प्रमाणित भएको तथ्य प्रस्तुत गरे ।  सहकारीका संस्थापक अध्यक्ष लेखनाथ ढकालले स्थापनाकालदेखिको अवस्था र सहकारीको जोडबलमा नेपाल सरकारबाट रुपताल संरक्षणको परियोजना ल्याउन सफल भएको धारणा राखे । पूर्वअध्यक्ष शिवराज अधिकारीले पुराना अनुभवीको साथ र नयाँको जोशलाई भरपुर रूपमा उपयोग गरी यस ताललाई कसरी सुन्दर र आकर्षक बनाउन सकिन्छ भन्नेबारेमा साझा अवधारण बनाउनुपर्ने सुझाव दिए ।

नवनिर्वाचित सांसदहरूलाई रास्वपाको अभिमुखीकरण तालिम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित सांसदहरूलाई संसदीय भूमिका र जिम्मेवारीबारे जानकारी गराउन अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ । पार्टीका प्रवक्ता कविन्द्र बुर्लाकोटीका अनुसार मंगलबार र बुधबार दुई दिनसम्म चल्ने उक्त कार्यक्रममा प्रतिनिधिसभामा पहिलो पटक प्रवेश गरेका तथा नयाँ जिम्मेवारी सम्हाल्न लागेका सांसदहरूलाई संसदीय अभ्यास, विधायी प्रक्रिया, आचरण तथा पार्टीको नीतिगत दिशाबारे स्पष्ट जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताइएको छ । अभिमुखीकरण कार्यक्रममा संसदमा प्रभावकारी रूपमा भूमिका निर्वाह गर्ने तरिका, कानुन निर्माण प्रक्रियामा सांसदको जिम्मेवारी, संसदीय समितिहरूको काम, सार्वजनिक सरोकारका विषय उठाउने विधि तथा पार्टीको रणनीतिक प्राथमिकताबारे छलफल हुनेछ ।  यसका साथै जनतासँगको सम्बन्ध सुदृढ बनाउने, पारदर्शिता कायम राख्ने तथा सुशासन प्रवर्द्धन गर्ने विषयमा पनि प्रशिक्षण प्रदान गरिने जनाइएको छ । कार्यक्रममा सहभागी हुने सांसदहरूका लागि पार्टीले ७ बुँदे निर्देशनसमेत जारी गरेको छ। उक्त निर्देशनमा समयपालन, अनुशासन, गोपनीयता कायम गर्ने, कार्यक्रममा पूर्ण रूपमा सहभागी हुने तथा पार्टीको आचारसंहिताको पालना गर्ने विषय समेटिएको प्रवक्ता बुर्लाकोटीले जानकारी दिए । रास्वपाले संसदीय भूमिकालाई प्रभावकारी र व्यवस्थित बनाउन यस्ता अभिमुखीकरण कार्यक्रमलाई आवश्यक मान्दै आएको छ। पार्टीका अनुसार नयाँ सांसदहरूलाई नीति, प्रक्रिया र जिम्मेवारीबारे स्पष्ट बनाउँदै संसदमा प्रभावकारी उपस्थिति सुनिश्चित गर्न यो कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको छ ।

‘मेड इन नेपाल’ हुण्डाई कारः स्वदेशी औद्योगिकीकरणको नयाँ अध्यायको दिशामा

काठमाडौं । नेपालमा ‘मेड इन नेपाल’ अवधारणालाई व्यवहारमा उतार्दै नवलपरासीमा स्थापना गरिएको हुण्डाई एसेम्बली प्लान्टले देशको औद्योगिकीकरण यात्रामा महत्त्वपूर्ण मोड ल्याएको छ । करिब दुई वर्षअघि सञ्चालनमा आएको उक्त प्लान्टले छोटो अवधिमै आर्थिक, प्राविधिक र पेशागत क्षेत्रमा सकारात्मक प्रभाव देखाउन थालेको छ ।  लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महाप्रबन्धक दीपक थपलियाले हालसम्म करिब दुई हजारभन्दा बढी हुण्डाई गाडी नेपाली इञ्जिनियर र प्राविधिकहरूको सक्रिय सहभागितामा उत्पादन भइसकेको जानकारी दिए । उनका अनुसार यो उपलब्धि केवल उत्पादनको हिसाबले मात्र महत्त्वपूर्ण नभई नेपाली जनशक्तिको क्षमता, दक्षता र आत्मविश्वासको प्रमाण पनि हो ।  सन् २०२४ बाट औपचारिक उत्पादन सुरु गरेको यस उद्योगले अहिले ‘भेन्यू’ र ‘क्रेटा’ जस्ता लोकप्रिय मोडेलका गाडीहरू नेपालमै एसेम्बल गर्दै आएकाे छ । थपलियाका अनुसार हाल दैनिक ८ घण्टाको एउटै सिफ्टमा ८ वटा गाडी उत्पादन भइरहेका छन् ।  उद्योगको वार्षिक उत्पादन क्षमता ५ हजार युनिटसम्म रहेको कम्पनीका महाप्रबन्धक थपलियाले जानकारी दिए । उनले उत्पादन योजना, गुणस्तर सुनिश्चितता, उपकरण सञ्चालनदेखि अर्ध-रोबोटिक एसेम्बली प्रक्रियासम्मका काममा नेपाली प्राविधिकहरूले प्रत्यक्ष अनुभव हासिल गरिरहेको बताए । यसले नेपाली प्राविधिकहरूलाई आधुनिक औद्योगिक प्रणालीसँग परिचित गराउँदै भविष्यका ठूला औद्योगिक परियोजनाका लागि तयार बनाइरहेको उनको भनाइ छ ।  थपलियाका अनुसार यस पहलले कार उत्पादन मात्र होइन, औद्योगिक अनुशासन, प्रक्रियागत मानकीकरण र सूक्ष्म इञ्जिनियरिङ जस्ता पक्षहरूलाई पनि स्थानीय स्तरमै स्थापित गर्न मद्दत गरिरहेको छ । यस्तो अनुभवले दीर्घकालीन रूपमा नेपालको आफ्नै औद्योगिक क्षमता निर्माणका लागि महत्त्वपूर्ण आधार तयार गर्ने उनले बताए । थपलियाले स्थानीय प्रतिभामा आधारित यस्ता उद्योगहरूले अर्थतन्त्रका विभिन्न तहमा मूल्य अभिवृद्धि गर्दै आपूर्ति शृङ्खलालाई बलियो बनाउने र नेपाललाई क्रमशः आत्मनिर्भर औद्योगिक प्रणालीतर्फ लैजान सहयोग गर्ने उल्लेख गरे ।  उनका अनुसार अन्तर्राष्ट्रिय कम्पनीहरूको उपस्थितिले लगानीसँगै प्रविधि, व्यवस्थापन प्रणाली र औद्योगिक कार्यसंस्कृति पनि भित्र्याउँछ । जब नेपाली इञ्जिनियर र प्राविधिकहरूले यस्तो संरचित वातावरणमा काम गर्ने अवसर पाउँछन्, उनीहरूले उत्पादन प्रक्रिया, गुणस्तर नियन्त्रण र औद्योगिक सञ्चालनका आधुनिक तरिका प्रत्यक्ष रूपमा सिक्ने मौका पाउँछन् ।  यसका साथै यस्ता उद्योगहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गर्ने, प्राविधिक सीप विकास गर्ने तथा ढुवानी र सहायक सेवाजस्ता क्षेत्रलाई पनि सक्रिय बनाउने उनले बताए । यसबाट देशको समग्र आर्थिक गतिविधि विस्तार हुनुका साथै राष्ट्रिय अर्थतन्त्रमा योगदान बढ्ने विश्वास व्यक्त गरिएको छ ।  थपलियाले आगामी दिनमा सीप विकासलाई अझ गहिरो बनाउने, उत्पादन क्षमता विस्तार गर्ने र औद्योगिक उत्पादनको सटीकता सुधार गर्ने दिशामा ध्यान केन्द्रित गर्नुपर्ने बताए । उनका अनुसार यस्तो मोडललाई निरन्तरता दिन सकिएमा नेपाल व्यापारमा आधारित अर्थतन्त्रबाट उत्पादनमुखी, सीप–आधारित र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम अर्थतन्त्रतर्फ अघि बढ्न सक्नेछ ।  उनले ‘मेड इन नेपाल’ हुण्डाई कार उत्पादनको पहलले नेपालमा औद्योगिकीकरण सम्भव छ भन्ने स्पष्ट सन्देश दिएको र स्थानीय जनशक्ति, प्रविधि हस्तान्तरण तथा सीप विकासमार्फत देशको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने समेत बताए ।  सरकारले एसेम्बल उद्योगलाई प्रोत्साहन गर्न कर छुटलगायत अन्य सुविधा दिएपछि लक्ष्मी ग्रुपले हुण्डाईका कार नेपालमै एसेम्बलका लागि सीकेडी (कम्प्लिटली नक्ड डाउ) पार्ट्स आयात सुरु गरेको थियो । नेपालको अटोमोबाइल क्षेत्रमा ठूलो लगानी मानिएको यो प्लान्टमा ५ हजार गाडी वार्षिक उत्पादन क्षमता रहेको छ । एचएमसीको सबै मापदण्डहरूको पालना गर्दै नेपालभर मोटर गाडी उत्पादनलाई तीव्र गतिमा ल्याउने लक्ष्य कम्पनीको छ । लक्ष्मी ग्रुपले आधुनिक पूर्वाधारसहित स्थापना गरेको यो उद्योग १० बिघा क्षेत्रफल (६८ हजार वर्ग मिटर) मा फैलिएको छ भने एसेम्बली प्लान्टमा १४ हजार वर्ग मिटर क्षेत्रफलमा निर्माण गरिएको छ । कुल २ अर्ब ६५ करोड लगानीमा स्थापना गरिएको यस परियोजनाले औद्योगिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको लक्ष्मी ग्रुपले दाबी गरेको छ ।

हुन्डी र क्रिप्टो कारोबार गर्ने दुई युवा १ करोड १६ लाख रुपैयाँसहित पक्राउ

काठमाडौं । हुन्डी तथा क्रिप्टो कारोबार गर्ने दुई जना काठमाडौंबाट पक्राउ परेका छन् । १ करोड १६ लाख रुपैयाँ नगदसहित नागार्जुन नगरपालिका ८ भीमढुङ्गास्थित अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा उनीहरू पक्राउ परेका हुन् ।  जिल्ला काठमाडौं नागार्जुन नगरपालिका ८ भीमढुङ्गा घर बस्ने पक्राउ पर्नेमा २८ वर्षीय सागर गिरी र २८ वर्षीय प्रमोदप्रसाद धिताल रहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार विभिन्न बैंकको विभिन्न व्यक्तिको नाममा रहेको चेक बुक तीन थान, व्यक्तिको नाममा काटेको २७ लाख ३० हजार रुपैयाँको तीन थान चेकसमेत बरामद गरिएको छ । विभिन्न बैंकको एटीएम कार्ड चार थान, नागरिकता  एक थान,  दुई वटा चार पाङ्ग्रे सावरीसाधन, एक थान दुई पाङ्ग्रे सवारी साधन, सवारी दर्ता ब्लु बुक,३१ थान  एनसेल र एनटीसीको सीमकार्ड, कम्प्युटर एक थान र बैंक खातामा ७ हजार १७५ युएसडी डलरसमेत बरामद गरिएको छ ।

बैंककै कर्मचारीद्वारा ५ करोड हिनामिना, प्रहरीमा उजुरी

काठमाडौं । सिटिजन्स बैंकको मोरङस्थित विराटनगर कञ्चनबारी शाखामा कार्यरत कर्मचारीहरूले करोडौं रुपैयाँ हिनामिना गरेको आरोपमा बैंक प्रशासनले प्रहरीमा उजुरी दिएको छ । बैंकका कर्मचारीहरूले नै करिब ५ करोड रुपैयाँ हाराहारी रकम हिनामिना गरेको प्रारम्भिक तथ्य फेला परेपछि उजुरी परेको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख कविद कटुवालले जानकारी दिए । उनका अनुसार शाखामा कार्यरत कर्मचारीहरूको संलग्नतामा बैंकको रकम हिनामिना भएको भन्दै उजुरी आएको र घटनाबारे अनुसन्धान भइरहेको छ । ‘हामी अनुसन्धानको चरणमा छौं, संलग्न व्यक्तिहरूबारे विस्तृत विवरण अझै खुलिसकेको छैन,’ उनले भने । बैंक स्रोतका अनुसार आन्तरिक लेखापरीक्षणका क्रममा उक्त शाखामा करिब ५ करोड रुपैयाँ बराबरको रकम हिनामिना भएको भेटिएको हो । प्रारम्भिक विवरण अनुसार पाँच जनाभन्दा बढी कर्मचारी यस प्रकरणमा मुछिएको आशंका गरिएको छ ।  स्रोतका अनुसार शाखामा कार्यरत रोजी कँडेलको नेतृत्वमा रकम हिनामिना भएको प्रारम्भिक निष्कर्ष आन्तरिक अडिटबाट देखिएको बताइएको छ । बैंक स्रोतले साविक सृजना फाइनान्सबाट आएका केही कर्मचारीहरू यस प्रकरणमा संलग्न रहेको हुन सक्ने आशंका पनि व्यक्त गरेको छ । बैंकले नियमित आन्तरिक लेखापरीक्षण गर्ने क्रममा उक्त अनियमितता पत्ता लागेको जनाइएको छ । यसअघि आन्तरिक अडिट बाह्य संस्थामार्फत गरिँदै आएकोमा हाल बैंककै विभागले अडिट गर्दा घटना सार्वजनिक भएको स्रोतको भनाइ छ । घटनामा संलग्न आशंकामा रहेका कर्मचारीहरूलाई बैंक प्रशासनले निलम्बन गरिसकेको छ । हिनामिना भएको रकम असुलउपर गर्न र दोषीमाथि कारबाही गर्न बैंकले प्रहरीमा जाहेरी दिएको बैंकले जनाएको छ ।

बिर्तामोडमा ‘ग्लोबल मनी विक’, २५० भन्दा बढी बैंकर्सको वृहत् प्रभातफेरी

काठमाडौं । नेपाल राष्ट्र बैंकको आह्वानमा विश्वव्यापी रूपमा मनाइने ‘ग्लोबल मनी विक २०२६’ को अवसर पारेर झापाको बिर्तामोडमा भव्य प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।  ‘स्मार्ट मनी टक्स भन्ने मूल नाराका साथ आज चैत २ गते सोमबार आयोजित यस कार्यक्रमले स्थानीय स्तरमा वित्तीय साक्षरता र सचेतनाको नयाँ लहर ल्याएको छ ।  बिर्तामोडका विभिन्न स्थानको परिक्रमा गरेको उक्त प्रभातफेरीमा यहाँ सञ्चालित विभिन्न बैंक तथा वित्तीय संस्थाका करिब २५० जना कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो । प्रभातफेरीका सहभागीहरूले सर्वसाधारणलाई वित्तीय अनुशासन र आधुनिक बैंकिङका बारेमा सुसूचित गराएका थिए ।  विशेष गरी बचत गर्ने संस्कृतिको विकास, डिजिटल बैंकिङको सुरक्षित प्रयोग, जिम्मेवार ढंगले खर्च गर्ने बानी र सही ठाउँमा लगानी गर्ने जस्ता समसामयिक विषयमा प्लेकार्ड र नारासहित सन्देश प्रवाह गरिएको थियो ।  सन् २०१२ देखि सुरु भएको यो अभियान हाल विश्वका १७० भन्दा बढी देशहरूमा किशोर तथा युवा वर्गलाई लक्षित गरी सप्ताहव्यापी रूपमा मनाउने गरिन्छ, जसको मुख्य उद्देश्य युवा पुस्तामा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउनु हो । कार्यक्रमको महत्त्वबारे प्रष्ट पार्दै एक्सेल डेभलपमेण्ट बैंकका नायब महाप्रबन्धक अशोक क्षेत्रीले यस्ता अभियानले समाजमा सकारात्मक परिवर्तन ल्याउने बताए । उनका अनुसार वित्तीय साक्षरता कार्यक्रमले विशेष गरी युवा वर्गमा स्वस्थ वित्तीय बानीको विकास गर्न, भविष्यमा आउन सक्ने वित्तीय अनिश्चितताहरूप्रति सजग रहन र ठोस वित्तीय योजना निर्माण गर्न ठूलो मद्दत पुर्‍याउने विश्वास लिइएको छ।  बिर्तामोडमा आयोजित यस प्रभातफेरीले सर्वसाधारणलाई औपचारिक बैंकिङ प्रणालीसँग जोडिन र आर्थिक रूपमा सबल बन्न समेत प्रेरित गरेको छ ।

२६ अंकले घट्यो नेप्से, ११ अर्ब ९७ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार (आज) नेप्से दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.०७ अंकले घटेर २७९८.८३  विन्दुमा कायम भएको छ ।  आज ३४५ स्टकको १ लाख २ हजार ७५९ पटकमा ३ करोड ७ लाख ९० हजार २११ सेयर खरिदबिक्री हुँदा ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ ।  आज चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अप्पर हेवाखोला हाइड्रोपावर र सोलु हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सिद्धार्थ इक्युटी फण्डका लगानीकर्ताले सबैभन्दा धेरै ४.३९ प्रतिशतले गुमाएका छन् ।  आज कारोबार रकमको आधारमा आंखुखोला जलविद्युतको सबैभन्दा धेरै कारोबार भएको छ । उक्त कम्पनीको ६८ करोड ७७ लाख २४ हजार रुपैयाँको कारोबार भएको छ । दोस्रो धेरै कारोबार हुने कम्पनीमा नेशनल हाइड्रोपावरको ६६ करोड १४ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ । त्यसैगरी, अप्पर हेवाखोला हाइड्रोपावरको ४१ करोड ५० लाख, एसवाई प्यानल नेपालको ३७ करोड २३ लाख र रिदी पावरको ३५ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचमा प्रवेश गरेका छन् । आज उत्पानबाहेक सबै उपसमूह रताम्मे भएका छन् । उत्पादन ०.२५ प्रतिशतले बढेको छ ।