मौद्रिक नीतिले तर्सायो पुँजी बजारलाई, के होला अब सेयर बजार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ । समीक्षा मार्फत अधिविकर्ष (ओडी), सेयरधितो र रियलस्टेट कर्जाका विद्यमान व्यवस्था पुनरावलोकन गर्ने भनेको छ । कोभिड महामारीको कारण लगानीका अन्य क्षेत्रमा आकर्षण नदेखिए पनि ओडी कर्जा लिएर सेयर र घरजग्गा जस्ता रियलस्टेट क्षेत्रमा लगानी गर्नेहरु बढिरहेका थिए । यस्तै, सेयरधितो र रियलस्टेट शिर्षकमै कर्जा लिएर लगानी गर्ने क्रम पनि बढेको थियो । राष्ट्र बैंकले यी क्षेत्रमा कर्जा जाने विद्यमान व्यवस्था पुनरावलोकन गर्ने भनेको यो क्षेत्रतिर जाने कर्जामा केही कडाई गर्ने नै भनेको हो । ओडीको कर्जा पनि सेयर बजार र रियलस्टेटमा तथा सोही शिर्षकमा लिएको कर्जा पनि यिनै क्षेत्रमा जाने र सोको परिमाण ठूलो बन्दै गएपछि राष्ट्र बैंक सशंकित बनेको हो । अहिले सेयर बजारमा राम्रो उत्साह छ । बजारमा दिनदिनै नयाँ नयाँ रेकर्ड कायम भइरहेका छन् । दैनिक कारोबार रकम, परिसुचक जस्ता मापकले नयाँ नयाँ रेकर्ड कायम गरेका हुन् । तर, यही बेला राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा मार्फत कर्जा प्रवाहको विद्यमान व्यवस्था पुनरावलोकन गर्ने भनेपछि लगानीकर्ता तर्सिएका छन् । राष्ट्र बैंकले पुनरावलोकन गरी कडाई गर्न खोजेको लगानीकर्ताको बु्झाइ छ । ‘हिजोसम्म बैंक वित्तीय संस्थाहरु सस्तो व्याजमा ऋण अफर गर्दै अफिस अफिस आएर ऋण दिइरहेका थिए, यसले पुँजी बजारमा लगानी थप भएर उत्साह कायम भएको थियो, मौद्रिक नीतिको त्रैमासिक समीक्षा मार्फत विद्यमान व्यवस्था पुनरावलोकन गर्ने भनिएको छ, त्यो भनेको कडाई गर्ने नै होला, कस्तो खालको कडाई गरिन्छ, के कस्ता नयाँ व्यवस्थाहरु गरिन्छ, त्यसले दोस्रो बजारलाई असर पार्ने निश्चित नै छ, राष्ट्र बैंकले भने जस्तो विद्यमान व्यवस्थामा पुनरावलोकन नहुँदासम्म झनै अन्योल भयो,’ एक ठूला लगानीकर्ताले भने । गत असोज २८ गते अर्थमन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले सम्हालेदेखि नै पुँजी बजारमा रौनक छाएको छ । पुँजी बजार मापक नेप्से परिसुचक २ हजार विन्दुभन्दा माथि पुगिसकेको छ । दैनिक ९ अर्ब रुपैयाँभन्दा बढीको कारोबार पनि हुन थालेको छ । राष्ट्र बैंकले नीतिगत रुपमा यो क्षेत्रमा जाने कर्जामा कडाई गरेमा दोस्रो बजारमा नकारात्मक असर पर्ने लगानीकर्ताहरुले बताएका छन् । सम्बन्धित सामग्री जुरो हल्लाउँदै दौडिरहेको सेयर बजारको साँढेले कहाँ पुगेर थकाई मार्ला ?

जुरो हल्लाउँदै दौडिरहेको सेयर बजारको साँढेले कहाँ पुगेर थकाई मार्ला ?

काठमाडौं । पछिल्ला केही दिनयता नेपाली पुँजी बजारले प्रत्येक दिन नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । परिसुचकले छोएको उच्चतम बिन्दु, दैनिक कारोबार भएको सेयर संख्या र कारोबार रकम जस्ता सुचकले अघिल्लो दिनको रेकर्ड भत्काउदै नयाँ रेकर्ड बनाइरहेका छन् । खासगरी गत असोज २८ गते विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय नै पुँजी बजारको लागि ‘क्याटलिष्ट’ जस्तै देखियो । यसअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकले १८८१ को उच्चतम विन्दु चुम्दा (२०७३ साउन १२ गते) पनि अर्थमन्त्री विष्णु पौडेल नै थिए । संयोग, अहिले नेप्से परिसुचकले सो विन्दु पार गरेर २ हजारको वरिपरी घुमिरहँदा र दैनिक ९ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा पनि पौडेल नै अर्थमन्त्री छन् । बजारमैत्री व्यक्तिले अर्थमन्त्रालयको जिम्मेवारी पाउँदा लगानीकर्तामा मनोवैज्ञानिक असर कस्तो पर्ने रहेछ भनेर अध्ययन गर्ने एक पात्र पौडेल पनि बनेका छन् । तर, पौडेललाई छनोट गरेर गरिने अध्ययन सकारात्मक असरको लागि हुनुपर्छ, जसरी पूर्व अर्थमन्त्री डा. रामशरण महतलाई पनि लिने गरिन्छ । अर्थमन्त्री पौडेलले अर्थमन्त्रालय संहालेपछि पुँजी बजारमा सकारात्मक सन्देश प्रवाह हुने वा लगानीकर्तामा सकारात्मक मनोवैज्ञानिक असर पर्ने खास केही काम गरेकै छैनन् । अझ भनौं, पुँजी बजारका बारेमा अर्थमन्त्री पौडेलले केही गरेकै छैनन्, केही बोलेकै छैनन् । तर, बजारले अर्थमन्त्रालयको जिम्मेवारी पौडेलले सम्हाल्नुलाई खुसीयालीको रुपमा लिएको छ । दैनिक नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । लगानीकर्ताको सबैभन्दा चिन्ता र संशयको विषय बनेको सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर अन्तिम हो कि होइन भनेर अर्थमन्त्रालयले अझै प्रष्ट पारेकै छैन । लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधानको शब्दमा भन्ने हो भने कुनै पनि लगानीकर्तालाई कुनै पनि समय राजस्व प्रशासनले यति करोड रुपैयाँ कर तिर्न आउनु पर्यो भनेर पत्र पठायो भने आश्चर्य नमान्दा हुन्छ । यो संशय अर्थमन्त्रालयले निवारण गरेकै छैन । तर, सेयर बजारमा उत्सव देखिन्छ । किन ? सेयर बजार किन बढिरहेको छ भनेर विभिन्न विश्लेषण र धारणा आइरहेकै छन् । व्याजदर सस्तो भएको, लगानीका अन्य क्षेत्र समस्यामा परेकोले सेयर बजारमा पैसाको खोलो बगेको, बजारमैत्री व्यक्ति अर्थमन्त्री बनेको, बजारले एउटा चक्र पूरा गरेर बढ्ने चक्र कायम गरेको, सुचिकृत कम्पनीहरुमा कोभिडले खासै असर नपरेको वित्तीय विवरणहरु सार्वजनिक भएका जस्ता कारणले बजार बढेको हो भन्ने तर्क आइरहेका छन् । अनलाइन ट्रेडिङको कारण ब्रोकर अफिसको कुनै व्यक्तिलाई फोन गरेर सेयर खरिद वा बिक्रीको आदेश दिनुपर्ने परम्परागत प्रणालीबाट अनलाइन ट्रेडिङ आएको र त्यसले केही सय व्यक्तिको पकडमा रहेको बजार अनलाइन ट्रेडिङकै कारण केही लाखको हातमा पुगेको विश्लेषण पनि सुनिन्छ । कारण यिनै र यस्तै हुन सक्लान् । भलै, कसैकसैले केही खास कम्पनीको सेयर कर्नरिङ गरेर ‘स्पेकुलेसन’ गरिएको आरोप पनि लगाउन थालेका छन् । बजारमा यस्ता तिकडम हुन्छन् पनि । यस्ता तिकडम रोक्न नियामक चाहिने हो । नियामक निकायले आवश्यक अध्ययन, विश्लेषण र अनुगमन गरिरहेको पनि होला । अब यसअघिका ३ वटा बुलको परिवेश हेरौं । २०६५ सालमा नेप्से परिसुचक ११७५ विन्दुमा पुग्यो । सो विन्दु त्यो बेलासम्मको उच्चतम विन्दु थियो । सेयर विश्लेषक प्रकाश तिवारी यसअघिका २ बुल र अहिलेको अवस्थामा केही समानता देखिरहेका छन् । ‘परिसुचक ११७५ विन्दुमा पुगेको बेलामा देश राजनीतिक संक्रमणमा थियो, तत्कालिन विद्रोही शक्ति नेकपा माओवादी शान्ति प्रक्रियामा आएपनि संविधानसभाले संविधान बनाएको थिएन, माओवादी लडाकुलाई पनि नेपाली सेनामा समायोजन गर्ने राजनीतिक निर्णय भइसकेको थियो, अर्काे संयोग-त्यसको केही समय अघिदेखि मात्रै ‘ओपन क्राई’ (बोलकबोल) प्रणालीबाट नेपाली सेयर बजार सेमिअटोमेसनमा गएको थियो,’ तिवारी स्मरण गर्छन् । परिसुचक ११६५ मा पुगेको बेलामा अर्थमन्त्रीको जिम्मेवारीमा नेपाली काँग्रेसका नेता डा. रामशरण महत थिए । अर्काे बुल २०७३ साउन १२ गतेको हो । सो दिन नेप्से परिसुचक १८८१ विन्दुमा पुग्यो । त्यतिबेलाको संयोग-२०७२ को शक्तिशाली भूकम्पको कारण राजधानी काठमाडौंसहित देशका १४ जिल्ला अतिप्रभावित भएका थिए । ८ हजारभन्दा बढीको ज्यान गएको थियो । कयौं अंगभंग र घाइते भएका थिए । पुननिर्माणको लागि अर्बाैं रकम चाहिने आँकलन गरिएको थियो । देशमा भारतले लगाएको अघोषित नाकाबन्दी भने हटेको थियो । ‘भूकम्पको त्रासदी र त्यसले निम्त्याएका असरको सामना गरिरहेको प्रतिकुल अवस्था एकातिर थियो भने अर्काेतिर सोही समयमा डिम्याट सुरु भएको थियो, २०६५ को बुलमा राजनीतिक संक्रमण र सेमी अटोमेसन, २०७३ को बुलमा भूकम्पको त्रासदी र डिम्याट, यी अनौठा संयोग छन्,’ सेयर विश्लेषक तिवारी भन्छन् । नेपाल ब्रोकर एसोशिएसनका संस्थापक अध्यक्ष पर्मेश्वर भक्त मल्लले अर्काे रोचक कुरा पनि सुनाए । ‘२०६५ साल र २०७३ सालको बुलको परिवेश तपाईंले सुनाए जस्तै हो, २०६५ भन्दा अगाडिको बुल २०५८ सालको ६ सय ५५ हो (नेप्से परिसुचक ६५५ विन्दुमा), त्यो बेला ओपन क्राइ प्रणाली थियो, दरबार हत्याकाण्ड (तत्कालिन राजा वीरेन्द्रको बंश नास हुने गरी भएको हत्याकाण्ड) को केही समयपछि नै परिसुचक ६५५ मा पुगेको थियो,’ मल्लले भने । सेयर बजारको अहिलेको उत्सव पनि यी तिनवटा परिवेशसँग मिल्दोजुल्दो छ । अहिले राजनीतिक संक्रमण नभएपनि कोभिड महामारीको कारण अर्थतन्त्र धराशायी भएको छ । कोभिडका कारण नेपालमा साढे १ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । कोभिडको खोप आउन लागेको समाचार सार्वजनिक भएपनि नेपालमा कहिले आउने हो, कोभिड खतरा कहिलेदेखि सकिन्छ भन्ने यकिन छैन । आममानिस अझै पनि त्रासदीकै अवस्थामा छन् । यही बेला सेयर बजार बुलिस ट्रेण्डमा छ । दैनिक नयाँ नयाँ रेकर्ड बनिरहेका छन् । र, यही त्रासदीकै अवस्थामा पुँजी बजारमा नयाँ सन्देश प्रभाव भएको छ । अहिले पुँजी बजारमा अनलाइन ट्रेडिङ कार्यान्वयनमा आएको छ । अब यहाँसम्म आइपुग्दा के प्रष्ट भयो भने २०५८ को बुलमा राजनीतिक अवस्था प्रतिकुल थियो, पुँजी बजारलाई प्रविधिले थप उत्प्रेरणा दिएको थिएन । २०६५ को बुलमा राजनीतिक संक्रमण थियो, पुँजी बजार ओपन क्राइ प्रणालीबाट सेमी अटोमेसनमा गएको थियो । २०७३ को बुलमा भूकम्पको त्रासदी थियो, पुँजी बजारमा डिम्याट कार्यान्वयमा आएर प्रविधि अझ थप भएको थियो । अहिले कोभिड महामारीको बेला छ, पुँजी बजारमा अनलाइन ट्रेडिङ कार्यान्वयन भएर प्रविधिको उच्चतम प्रयोग हुन थालेको छ । संकटको बेलामा नियामक निकाय अलि लचिलो हुने र नेपाली पुँजी बजार नीतिगत रुपमा सानोतिनो परिवर्तनले पनि निकै हलचल हुने भएका कारण यसअघिका ३ र अहिलेको बुलमा पुँजी बजार समाहित भएको देखिन्छ । अहिलेको उत्सव कहिलेसम्म ? पुँजी बजार मापक नेप्से परिसुचक बढिरहेको छ । बढेको बजारलाई सांकेतिक रुपमा साढे र घटेको बजारलाई सांकेतिक रुपमा भालुको आकृति राख्ने चलन छ । अहिले तीब्र रुपमा बढिरहेको बजार (जुरो हल्लाउँदै दौडिरहेको साढे) ले कहाँ पुगेर विश्राम लेला (थकाई मार्ला) भन्ने चर्चा पनि सुरु भएको छ । आज (१६ मंसिर, २०७७) नेप्से परिसुचकले २००० विन्दु पार गर्यो । परिसुचक २०००.४० विन्दुमा पुगेको छ । आज दिनभर बजारमा निकै उतारचढाव देखियो । कुनै बेला नेप्से परिसुचक निकै बढेको देखिन्थ्यो भने कुनै बेला निकै घटेको । यद्यपि, बजार बन्द हुँदा परिसुचक ३.३५ अंकले बढ्यो । इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारका शब्द सापटी लिने हो भने आज दिनभर बुल र बियर फाइट गरिरहेका थिए । लगानीकर्ता ज्ञानेन्द्रलाल प्रधान अनौठो कुरा सुनाउँछन् । अनौठो यो अर्थमा कि लगानीकर्ताको लागि बजार बढ्नु राम्रो कुरा हो । सँधै बजार बढोस् भन्ने कामना लगानीकर्ताको हुन्छ । तर, प्रधान यस्तो कामना गर्नेमा छैनन् । ‘सेयर बजारमा बाउन्सिक इफेक्ट (जति जोडले तल गयो त्यति नै जोडले माथि जाने) हुन्छ, कोभिडका कारण सरकारले कर तिर्ने म्याद पुस मसान्तसम्म दिएको छ, कोभिडकै कारण राष्ट्र बैंकले कर्जाको व्याज तिर्ने समय पुस मसान्तसम्मलाई दिएको छ, कर र व्याज तिर्नुपर्ने पैसा पनि सेयर बजारमा आइरहेको छ, पुसपछि यो अवस्था आउँदैन, नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने पुँजीगत लाभकर अन्तिम हो कि होइन भन्ने यकिन अझै भएको छैन, अब बजार जति धेरै बढ्छ, त्योभन्दा निकै जोडले घट्ने खतरा देखिरहेको छु, त्यसैले अब पुग्यो, बजार योभन्दा नबढोस् भनेर प्रार्थना गरिरहेको छु,’ प्रधानले भने । अर्का लगानीकर्ता राकेश अडुकिया कोभिडको खोप नआउँदासम्म सेयर बजार बढ्ने सम्भावना देख्छन् । ‘कोभिडको खोप आएपछि स्वास्थ्य महामारीको अवस्था अन्त्य होला, त्यसपछि लगानीका अन्य क्षेत्र पनि चलायमान हुन्छन्, अनि मात्रै सेयर बजार केही स्थीर होला, त्यो भनेको अझै कम्तिमा २ महिना सेयर बजारमा उत्साह कायमै रहने देख्छु,’ अडुकियाले भने । इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार बजार अझै बढ्ने विश्लेषण सुनाउँछन् । ‘२०७३ को बुल (नेप्से परिसुचक १८८१ विन्दुमा पुगेको बेला) मा लगानी गर्नेहरु अझै पनि नोक्सानीमै छन्, सेयर बजारमा लगानी गरेको व्यक्ति अहिले त्यहाँबाट निस्केर जाने कुनै क्षेत्र नै छैन, त्यसैले बजार अझै बढ्ने अवस्था देख्छु,’ अध्यक्ष रौनियारले भने । लगानीकर्ता इन्द्रबहादुर थापा पनि बजार अझै बढ्ने आँकलन सुनाउँछन् । ‘मान्छेले जहिले पनि प्रतिफल हेरेको हुन्छ, बैंकमा पैसा राख्यो भने व्याज असाध्यै कम छ, व्यापार व्यवसाय पनि कम छ, तत्काल फाइदा लिन सक्ने भनेको सेयर बजारबाट नै हो, त्यसैले धेरैभन्दा धेरै मानिस बजारमा आएका छन्, अनलाइन ट्रेडिङले धेरै ठूलो सहयोग पनि गरेको छ, अझै बजार बढ्ने सम्भावना देख्छु, नभएपनि तत्काल बजार घट्दैन,’ लगानीकर्ता थापाले भने । सेयर विश्लेषक प्रकाश तिवारी पनि बजार बढ्ने सम्भावना अधिक देख्छन् । अहिलेको व्याजदर र अहिलेकै नीतिगत व्यवस्था रहुन्जेलसम्म बजार बृद्धिको सम्भावना देखिएको तिवारीले सुनाए । ‘यसअघिको बुलामा परिसुचक ७ सयभन्दा धेरै बढेको (नेप्से परिसुचक ११६५ बाट बढेर १८८१ मा पुगेको) थियो, त्यसलाई आधार मान्ने हो भने पनि १८८१ विन्दुबाट नेप्से परिसुचक ६/७ सय त बढ्छ होला, अहिले परिसुचक २ हजारको हाराहारीमा छ, त्यसैले यो विन्दु नै अधिकतम हो भन्ने मान्नु हतार होला,’ तिवारीले सुनाए । बैंकिङ क्षेत्र ‘अण्डरभ्यालुड’ ! लगानीकर्ता तथा विश्लेषकहरु बैंकिङ क्षेत्र अझै पनि अण्डरभ्यालुड (सस्तो मूल्यमा) रहेको बताउँछन् । बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने प्रतिफल, आगामी दिनमा उनीहरुको सम्भावित व्यवसायिक सफलता जस्ता विषयले उनीहरुको सेयर मूल्य अझै पनि तल भएको सरोकारवालाले बताएका छन् । नहौसिनुस् है ! नेप्से परिसुचक दिनदिनै बढिरहेको छ । कारोबार रकमले प्रत्येक दिनजसो रेकर्ड बनाउँदै तोड्दैछ । सेयर बजारका बारेमा सकारात्मक कुराहरु जो कसैले पनि सुनाउन थालेका छन् । ‘मेरो मामाले यति दिनमा यति कमाए रे, फलानोले यो साता यति कुम्ल्याएछ’ भन्ने जस्ता हल्ला सुनिरहनु भएको होला । नेप्से परिसुचक जति बढे वा घटेपनि, दैनिक जति रकम बराबरको जति कित्ता सेयर कारोबार भएपनि अथवा सेयर बजारमा जतिवटा रेकर्ड बन्दै तोडिदै गरेपनि लगानी गर्नेले ध्यान दिने विषय भनेको पोर्टफोलियो व्यवस्थापन नै हो । आफूले सेयर किनेको कम्पनीको मूल्य बढ्यो भने किन्नेलाई फाइदा हुने हो । पुँजी बजारबारे जानकार दिलिप मुनंकर्मी सेयर बजार घट्यो वा बढ्यो भनेर दौडनेभन्दा पनि आफूले लगानी गरेका कम्पनीको सेयर मूल्य के भयो भन्ने कुरालाई विशेष ध्यान दिनुपर्ने बताउँछन् । यस्तै, आफूले कुनै पनि कम्पनीको सेयर किन्नुअघि किन त्यही कम्पनीको सेयर त्यति मूल्यमा किन्दैछु भनेर विश्लेषण गर्नुपर्ने उनको सुझाव छ । ‘नेप्सेमा सुचिकृत कम्पनी २ सय बढी छन्, १ सय ९९ वटा कम्पनीको मूल्य बढ्यो, नेप्से परिसुचक पनि निकै माथि गयो, कारोबार रकमले पनि नयाँ रेकर्ड कायम गर्यो, तर मैले किनेको त्यही एउटा कम्पनीको मूल्य घट्यो भने (हुन त यस्तो अवस्था हुँदैन, तर उदाहरणको लागि) यी सबै कुराले मलाई के फाइदा भयो र ? त्यसैले आफूले कस्तो कम्पनीको सेयर किन्ने, त्यति मूल्य किन हाल्ने, महंगो मूल्यमा किनेको सेयर छ भने त्यही कम्पनीको सेयर सस्तो मूल्यमा पाउँदा किनेर त्यसलाई कसरी औसत लागत तल झार्ने भन्ने जस्ता प्राविधिक विषयमा ध्यान पुर्याएर मात्रै लगानी गर्नुपर्छ, बजार जोखिमप्रति चनाखो भएर लगानी गरिएन भने बढेको बजारमा पनि गुमाउनु पर्ने अवस्थामा पुगिन्छ भने घटेको बजारबाट पनि फाइदा लिन सकिन्छ,’ मुनंकर्मीले भने । अहिले नेपालमा रेमिटान्स आप्रवाह राम्रैसँग बढिरहेको छ । हिजोको दिनमा अनौपचारिक माध्यमबाट आउने रेमिटान्स पनि कोभिड महामारीको कारण औपचारिक माध्यमबाट आउन थालेपछि रेमिटान्स वृद्धि देखिएको हो । रेमिटान्स आप्रवाहमा कमी आयो वा बजारमा तरलता कम भयो भने पनि सेयर बजारमा अहिले देखिएको उत्साह घट्न सक्ने खतरा भने छ । पुँजी बजारको नियामक निकायले पनि कम्पनीको वित्तीय अवस्था, आगामी योजना, कम्पनीबाट प्राप्त हुन सक्ने प्रतिफल जस्ता विषयलाई अध्ययन गरेर मात्रै लगानी गर्नु भनेर आग्रह गरिरहेकोले यी पक्षको पनि विशेष ध्यान दिन भने जरुरी छ ।

सेयर बजारमा रेकर्ड ब्रेकः नेप्सेले पार गर्याे १९०० बिन्दु

काठमाडौं । बिहीबारको सेयर बजारले रेकर्ड ब्रेक गरेको छ । कारोबार शुरु भएको ५ मिनेटमै नेप्से परिसूचक दोहोरो अंकले बढेर परिसूचक १९०० माथि पुगेको छ । ११ बजेर ६ मिनेट जाँदा नेप्से परिसूचक ४०.३२ अंकले बढेर १९१५ अंक पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.१५ प्रतिशतले बढी हो भने हालसम्मकै उच्च बिन्दु हाे । यसअघि २०७३ साल साउन १२ गते नेप्से परिसूचक १८८१ अंकमा पुगेको थियो । त्यसयता नेप्से उक्त उचाईमा पुग्न सकेको थिएन । तर बिहीबारको बजारमा नेप्से परिसूचक नयाँ उचाईमा पुगेको छ र नयाँ रेकर्ड राख्न सफल भएको छ । याे अवधिमा सेयर बजारमा कूल २१ कराेड ६१ लाख रूपैयाँ बराबरकाे सेयर काराेबार भएकाे छ । याे समाचार तयार पार्दासम्म १३० कम्पनीकाे ३ लाख २९ हजार ९२८ कित्ता सेयर किनबेच भइसकेकाे छ ।  

लगानीकर्ता भन्छन्- सेयर बजारले थप नयाँ रेकर्ड राख्न सक्छ, नहौसिई लगानी गर्नुस्

काठमाडाैं । पछिल्लाे समय सेयर बजारमा राैनक देखिन थालेकाे छ । कुनै बेला ५० कराेड रूपैयाँकाे काराेबार हुन पनि धाैंधाैं हुने बजारमा अहिले दैनिक अर्बाैंकाे सेयर काराेबार हुन थालेकाे छ । गत बिहीबार अर्थात कार्तिक २७ गते मात्रै करिब ५ अर्बकाे सेयर काराेबार भएकाे थियाे । त्यसकाे हप्ता दिनमा अर्थात आज बिहीबार (मंसिर ४ गते) एकैदिन ६ अर्ब माथिकाे सेयर काराेबार भएकाे छ । जुन पुँजीबजारमा हालसम्मकै ऐतिहासिक रेकर्ड हो । हालसम्म ६ अर्ब त के ५ अर्ब माथिकाे सेयर काराेबार भएकाे थिएन । यसअघि २०७६ फागुन १८ गते ४ अर्ब ८४ कराेड रूपैयाँ बराबरकाे सेयर काराेबार भएकाे थियाे । जुन त्याे बेलाकाे उच्च काराेबार रकम थियाे । उक्त रेकर्डलाई आजकाे काराेबारले ताेडेकाे छ । आजकाे बजारमा  ६ अर्ब ११ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बिहान ११ बजेदेखि दिउँसाे ३ बजेसम्म अर्थात ४ घण्टा खुलेकाे बजारमा कूल १९८ कम्पनीको एक करोड ४० लाख ६२ हजार ५०७ कित्ता सेयर किनबेच भएको छ । बजारमा काराेबारसँगै नेप्से परिसूचकमा पनि सुधार आएकाे छ । परिसूचक बढेर पाैने १८०० अंक माथि पुगेकाे छ । पछिल्लाे समय बजार बढ्नुको मुख्य कारण भनेको अन्य क्षेत्रमा लगानी नभएको र बैंकमा तरलता प्रयाप्त रुपमा भएकोले बजारमा चमक आएको लगानीकर्ताहरु बताउँछन् । छोटेलाल रौनियार, अध्यक्ष-नेपाल इन्भेष्टर्स फोरम बजारमा चमक आउनुको राज विभिन्न कारण रहेका छन् । एक, लगानीकर्ताले ८ देखि साढे ८ प्रतिशत भित्रको व्याजदरमा पैसा पाइरहेका छन् । उनीहरुले छाेटाे समय अर्थात तीन चार दिन भित्र लगानी गर्नकाे लागि लोन पाइरहेका छन् । अर्को अनलाइन, जसले मजाले काम गरिरहेको छ । बेला बेलामा डिष्टर्ब आउँछ तर पहिलेको तुलनामा राम्रो काम गरिरहेको छ । अन्य क्षेत्रमा लगानी जाने ठाउँ कम भयो । पहिला परिसूचक १८८१ मा हुँदा व्याजदर पनि ८ प्रतिशतको रेञ्जमा थियो । जुन अहिले पनि त्यहि रेञ्जमा छ । त्यस्तै, परिसूचक उच्च अंकमा पुग्दा अर्थमन्त्री विष्णु पौडेल हुनुहुन्थ्यो । अहिले पनि उहाँ नै हुनुहुन्छ । हुन त पुँजीबजारको लागि उहाँले केही गर्नु त भएको छैन तर पनि उहाँले पुँजीबजार विपरित काम गर्नुभएको छैन र गर्नु हुन्न भन्ने आश्वासन छ । मैले पहिले पनि भनेको थिएँ । पुँजीबजारले ४ वर्षको चक्र पार गर्यो अब बढ्छ भनेर त्यहि भइरहेको छ । नयाँ लगानीकर्ताहरु बजारमा प्रवेश गरिरहेका छन् । त्यस्तै, कोभिडको समयमा अन्तर्राष्ट्रिय बजारमा पनि रेकर्ड ब्रेक भइरहेको छ । त्यसैले सबै कुरा सकारात्मक भएकोले पुँजीबजारमा उछाल आएको हो । केहि समय अघि अधिकांश हाइड्रोको सेयर अंकित मूल्यभन्दा तल झरेको थियो । अहिले बढेर २ सय माथि पुगेको छ । कारण कोभिडले उक्त क्षेत्रलाई असर गरेन । जीवन र निर्जीवन बीमा पनि त्यति असर गरेको देखिएन । बैंकिङ क्षेत्रमा हेर्ने हो भने चालु आवको पहिलो त्रैमासमा केही कम्पनीहरुले नाफा कम गरेको देखियो । राष्ट्र बैंकले व्याजको पैसा नउठाऊ भनेकोले बैंकहरुले व्याज नउठाएका हुन् । पछि उठाइहाल्छन् । त्यसकारण बैंकमा केहि असर देखिए पनि त्यति ठूलो असर पार्दैन । त्यसमा पनि कति बैंकको राम्रै विवरण देखिएको छ । मैले केहि दिन अघि भनेको थिए, अबको बजारमा दैनिक ७ अर्ब माथिको कारोबार हुन्छ । त्यसैले यसमा अचम्म मान्नु पर्दैन । आज कारोबारमा रेकर्ड, भोलि परिसूचकमा रेकर्ड होला, पर्सी अर्कोमा होला । त्यसैले बजारले रेकर्ड ब्रेक गर्दै जान्छ । यो पहिलो टाइम भएर धेरै उत्साहित भएका छौं । परिसूचकले ब्रेक गर्नै बाँकी छ । म के चाहन्छु भने कारोबार रकम ७ अर्ब माथि पुगोस् । किनभने म यसमा सकारात्मक छु र कारोबार पनि सो मात्राको हुनुपर्छ भन्ने मलाई लाग्छ । यस्तो छ सुझाव बजारमा नयाँ लगानीकर्ताको प्रवेश भइरहेको छ । यो बेलामा नयाँ वा पुरानो जोसुकैले पनि हौसियर लगानी गर्नु हुँदैन । हामीले सँधै भन्दै आएका छौं । लगानीकर्ताले राम्रो कम्पनी छानेर, कम्पनीको बारेमा बुझेर, अग्रजहरुसँग सल्लाह गरेर मात्र लगानी गर्ने । यो समयमा बुझेर लगानी गर्यो भने त्यति आत्तिनु पर्दैन । राधा पोखरेल, अध्यक्ष-नेपाल पुँजीबजार लगानीकर्ता संघ अन्य क्षेत्रमा लगानी एकदमै कम छ । लगानीकर्ताहरु बजार बढ्दै गएपछि हौसिएको र बजारमा लगानी गर्न लालायित भएका छन् । नयाँ लगानीकर्ताहरु पनि बजारमा प्रवेश गरेका छन् । यो सँगसँगै अन्य क्षेत्रमा लगानी गर्ने ठाउँ नहुँदा पैसा यतिकै राख्नुभन्दा सेयर बजारमा लगानी गरौं भन्ने भयो । यसका साथै अन्य क्षेत्रमा पैसा नगएकोले बैंकमा तरलता अधिक छ । बैंकहरुले एकदमै कम ब्याजमा पैसा दिइरहेका छन् । अझै विश्वासिलो लगानीकर्तालाई घरमै पैसा पुर्याउँला जस्तो गर्छन् । लगानी गर्नलाई बोलाई बोलाई पैसा दिइरहेका छन् । नेप्सेमा सूचीकृत सबै क्षेत्रका कम्पनीले धमाधम गत आर्थिक वर्षको लाभांश घोषणा गरी वितरण गर्ने समय भइरहेको छ । अरु बेला लगानी गर्दा धेरै समय पर्खिनुपर्थ्यो भने अहिले लगानी गर्दा हप्तादिन अथवा १०/१५ दिनमै पनि लाभांश पाइने भएको लगानीकर्ताको आकर्षण बढेको हो । बजार बढ्नुको मुख्य कारण भनेको अन्य क्षेत्रमा लगानी नभएको र बैंकमा तरलता प्रयाप्त रुपमा भएकोले बजारमा चमक आएको हो । यस्ताे छ सुझाव बजार बढ्दै गएपछि लगानीकर्ताहरु एकदमै उत्साहित हुन्छन् । र, लगानी गर्न थप हौसिन्छन् । अहिलेको अवस्थामा व्याजदर नबढ्दासम्म बजारमा ठूलो करेक्सन आउने सम्भावन न्युन नै देखिन्छ । तर पनि यो कोरोना कहिलेसम्म रहन्छ, अन्य क्षेत्र कहिलेदेखि खुल्छ, अन्य पैसा बाहिर भित्रिने हो की, विभिन्न बोर्डरहरु बन्द छन् जुन खुले पछि पैसा बाहिर भित्रिन सक्छन् । त्यसैले अन्य क्षेत्रमा पैसा जान थालेपछि बजार यहि अवस्थामा रहन्छ कि रहँदैन भन्ने लगानीकर्ताले विचार गर्नुपर्छ । अर्थतन्त्रको ऐना पुँजीबजार भन्छौं । देशको अर्थतन्त्र कस्तो छ । यहाँ मात्र होइन विश्व बजार नै अहिले कोभिडको मारमा छौं । भोलि गएर के कस्तो हुने हो । त्यो पनि हामी लगानीकर्ताले ख्याल गर्नु पर्छ । बजार घटेको बेलामा त हामीले आँखा चिम्लेर लगानी गर्दा पनि हुन्छ । यस्तै बजार बढेकाे बेलामा हो हामीले याद गर्नुपर्ने, एकदम सजकता अपनाउनु पर्ने । आफुले कति जोखिम बहन गर्न सक्छु भनेर हेर्नु पर्ने हुन्छ । किनभने अहिलेको बुल रन, जुन यो अवस्थामा स्वभाविक पनि होला । भोलि गएर कम्पनीले गर्न सक्ने प्रगति तथा देशको अर्थतन्त्रलाई हेरेर पनि लगानी गर्नुपर्ने हुन्छ । बजार घटेको बेलामा भन्दा पनि यस्तो बढेको बेलामा धेरै नै सजक हुनु पर्ने हुन्छ । र, लगानी गर्ने अवसर हो । लगानी गर्ने समय हो भनेर जहाँ पायो त्यहि लगानी नगरी राम्रो कम्पनीको छनोट गरेर लगानी गर्नु पर्यो । किनकी भोलि गएर सेयर बजारमा अलिकति करेक्सन आयो या त बजार घट्यो, वा सेयर रह्यो बेच्न पनि सकेनौं भने पनि त्यसले दिने प्रतिफलले हामीलाई घाटा नहोस् । (रौनियार र पाेखरेलसँग गरिएकाे कुराकानीमा आधारित) सम्बन्धित समाचारः पुँजीबजारमा रेकर्ड ब्रेक, एकैदिन ६ अर्ब माथिको सेयर कारोबार

कोरोना भ्याक्सिन बनेको खबरले भारतीय सेयर बजारमा उछाल, सेन्सेक्सले ४४ हजार पार गर्यो, नेपाली सेयर मार्केट के होला ?

काठमाडौं । आज भारतीय सेयर बजारमा निकै उछाल आएको छ । आज बजार खुला भएको केही समयमै बजार एकाएक वृद्धि भइहरेको छ । आज सेन्सेक्सले ४४ हजार पार गरेको छ । यस्तै, निफ्टीमा पनि ९० अंकको वृद्धि भएको छ अहिले यसले १२ हजार ८ सय ७० आसपासको कारोबार गरिरहेको छ । यो भारतीय सेयर बजारमा अहिले सम्मकै बढी वृद्धिदर हो । धेरैले यसलाई कोरोनाको भ्याक्सिनसँग जोडेका छन् भने कतिले अमेरिकी राष्ट्रपति जोन बाइडनको जितसँग जोडेका छन् । हिजो, अमेरिकी बजार पनि निकै उछाल आएको थियो । फार्मा कम्पनी मार्डाद्वारा कोरोना खोप उत्पादन गरेको घोषणापछि विश्वभरका सेयर मार्केटमा उछाल आइरहेको छ । विश्वका अधिकांश देशको सेयर बजारमा उछाल आइरहेको बेला अब नेपालको सेयर बजारले भने कुन रुप लिन्छ त्यो भने प्रतिक्षाको विषय बनेको छ । दशैंपछि खुलेको नेपाली बजारमा निकै उत्साह देखिएको थियो । विगत लामो समयदेखि खस्केको सेयर बजारमा दशैंपछि भने निकै उछाल आएको थियो । मार्केट बढेर १७ सय १८ विन्दु पार गरेको थियो । यसअघि २०७३ साल साउन १२ गते नेप्से परिसुचक १८ सय ८१.४५ विन्दुमा पुगेको थियो । अझै पनि सेयर बजार बढ्ने अपेक्षा धेरैको छ ।

सेयर बजारमा करिब ५ अर्बको कारोबार, नयाँ पैसा आयो २ करोड मात्रै

काठमाडौं । सेयर बजारमा पछिल्लो समय उत्साह देखिएको छ । दैनिक ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुन थालेको छ । बिहीबार (आज) सेयर बजारमा झण्डै ५ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज ४ अर्ब ८२ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आजको ४ अर्ब ८२ करोड रुपैयाँको कारोबार पनि नयाँ रकम थप लगानी खासै नभएको ब्रोकरहरु बताउँछन् । सेयर बजार बढ्दो क्रममा रहेको बेलामा कारोबारी (केही रकम फाइदा हुने वित्तिकै बेच्ने र फेरि किनिहाल्ने) व्यक्तिहरु हावी हुने भएकोले लगानीकर्ता (लामो समयको लागि सेयर किन्ने व्यक्तिहरु) खासै नआउने एक ब्रोकरले बताए । ‘बजार बढ्दो क्रममा रहेको बेलामा कारोबारी सक्रिय हुन्छन्, घट्दो बजारमा लगानीकर्ताको चहलपहल बढी हुन्छ, कारोबारीले आफूले किनेको सेयरमा केही फाइदा आउने वित्तिकै बेचिरहेका हुन्छन् भने त्यही पैसाले अर्काे कम्पनीको सस्तो सेयर खोजिरहेका हुन्छन्, त्यसैले कारोबार रकम धेरै देखिए पनि थप रकम भने आइरहेको हुँदैन,’ एक ब्रोकरले भने । मध्यम तथा ठूला लगानीकर्ताले पनि खासै थप लगानी नगरी सेयर खरिद विक्री गर्ने गर्छन् । ‘मैले अहिले ६ करोड रुपैयाँको सेयर किने भने सोही परिमाणको अर्काे कुनै कम्पनीको सेयर बेचेर किन्ने हो, लामो समयसम्म कुन कम्पनीको सेयर राख्दा फाइदा होला भन्ने मेरो अनुमान अनुसार नै मैले सेयर थप गर्न वा घटाउने हो, अहिले ६ करोड रुपैयाँको सेयर किनेँ भने मैले बढीमा ८/१० लाख रुपैयाँ थप लगानी गर्छु, सेयर बजारमा निश्चित रकम लगानी गरेपछि त्यही रकमबाट खेल्ने हो, सेयर बेचेर पैसा घर लाने वा झोलामा पैसा बोकेर सेयर किन्न जाने होइन,’ एक लगानीकर्ताले भने । अर्का एक ब्रोकरले भने अहिले साधारण सेयर (आइपीओ) भर्दा १० कित्ता पर्नेहरु बेच्न र त्यही पैसाले सस्तो सेयर खरिद गर्न चाहनेहरु सक्रिय भएका बताए । ती ब्रोकरले एक दिनमा सेयर बजारमा जति रकम बराबरको सेयर किनिएको हुन्छ, त्यसको १ देखि २ प्रतिशत मात्रै थप रकम आउने गरेको बताए । आजको २ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर खरिद हुँदा बढीमा २ करोड रुपैयाँ बजारमा थप आएको हुन सक्ने उनको अनुमान छ । नेप्से मालामाल, कामै नगरी पैसा पाउँछ सेबोनले सेयरको कारोबार हुने वित्तिकै लाभ मात्रैको हिस्सेदार भनेको नेप्से, पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड र ब्रोकर हुन् । सेयर कारोबारमा प्रतिकारोबार तथा रकमका आधारमा तोकिएको कमिसन नेप्से, धितोपत्र बोर्ड (सेबोन), ब्रोकर, सीडीएसी जस्ता निकायले तोकिए अनुसार लिने गर्छन् । अहिलेको व्यवस्था अनुसार सेयर खरिद विक्रीमा कारोबार रकमका आधारमा ०.४ देखि ०.६ प्रतिशतसम्म कमिसन दिनुपर्छ । यस्तो कमिसनको २० प्रतिशत नेप्सेले तथा ०.०१५ प्रतिशत सेबोनले लिन्छन् । सेयर कारोबारको औषत कमिसन ०.५५ प्रतिशत हुने सरोकारवाला बताउँछन् । अझै नोक्सानीमा लगानीकर्ता विगत लामो समयदेखि खस्केको सेयर बजार पछिल्ला केही दिनमा बढेर १७ सय १८ विन्दु पार गरेको छ । यसअघि २०७३ साल साउन १२ गते नेप्से परिसुचक १८ सय ८१.४५ विन्दुमा पुगेको थियो । परिसुचक पहिलाको विन्दुमा नै पुगेकोले लगानीकर्ता अब फाइदामा जान सक्ने चर्चा पनि सुरु भएको छ । तर, यसबीचमा थप भएको सेयर भने गणना नगरी चर्चा गर्दा यस्तो निष्कर्ष निकालिएको हो । थप भएको सेयर लगानी र बजार पुँजीकरणले परिसुचक माथि लान सहयोग गर्छ । यसअघिको उच्चतम विन्दु १८ सय ८१ विन्दुमा पुगेपछि थप भएका नेपाल पुनर्बीमा कम्पनीको ९० अर्ब, माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ३० अर्ब, जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) को २० अर्ब थप बजार पुँजीकरणको हिसाव गर्दा त्यो बेलाको जति मूल्य प्राप्त गर्न परिसुचक अझै निकै बढ्नुपर्ने सरोकारवालाले बताएका छन् । यस्तै, अन्य कम्पनी पनि नेप्सेमा थप सुचिकृत भएका छन् भने पुराना कम्पनीले जारी गरेको हकप्रद तथा बोनस सेयरले पनि परिसुचक बढाउन सहयोग गरेको छ ।

सेयर बजारमा उछाल कायमै, दोश्रो पटक पनि लाग्यो सकारात्मक सर्किट

काठमाडौं । सेयर बजारमा उछाल कायमै रहेको छ । बजार खुल्ने बित्तिकै सकारात्मक सर्किट लागेर खुलेको बजारमा पुनः करिब एक मिनेटमा दोश्रो पटक सर्किट लागेको हो । बिहान ११ बजेर २१ मिनेट जाँदा नेप्से परिसूचक ५ प्रतिशतले बढेर १५५३ अंकमा पुगेको छ । जुन ७४ अंक बढी हो । यससँगै सेयर कारोबार ४० मिनेटको लागि बन्द भएको छ । र, सो अवधिपछि कारोबार पुनः सुचारु हुने छ । यसअवधिमा कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूहमा उछाल आएको छ । ५ कम्पनी कृषि विकास बैंक, ग्लोबल आईएमई बैंक, मेगा बैंक, प्राइम कमर्सियल बैंक र एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ । सम्बन्धित समाचारः खुल्ने बित्तिकै सेयर बजारमा लाग्यो सर्किट

खुल्ने बित्तिकै सेयर बजारमा लाग्यो सर्किट

काठमाडौं । सोमबारको सेयर बजार खुल्ने बित्तिकै सकारात्मक सर्किट लागेको छ । बजार खुलेको एक मिनेट नबित्दै नेप्से परिसूचक ४ प्रतिशतले बढेसँगै पहिलो सकारात्मक सर्किट लागेको हो । यससँगै सेयर कारोबार २० मिनेटको लागि बन्द भएको छ । यसअवधिमा नेप्से परिसूचक ६०.३४ अंकले बढेर १५३९ अंकमा पुगेकाे छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ४.१७ प्रतिशतले बढेर ३२५ अंकमा पुगेको छ । बजारमा १०६ कम्पनीको ६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सेयर बजारमा पुनः सर्किट, ६९ अंकले बढ्यो नेप्से

काठमाडौं । सेयर बजारमा पुनः सकारात्मक सर्किट लागेको छ । पहिलाे सर्किट लागेर बजार खुलेकाे एक मिनेट नबित्दै दाेश्राे सर्किट लागेको हो । ११ बजेर २७ मिनेट जाँदा नेप्से परिसूचक ५.०१ प्रतिशतले बढेर एक हजार ४  सय ६४ अंकमा पुगेकाे छ । जुन पछिल्लाे काराेबारकाे तुलनामा ६९.९१ अंकले बढेकाे छ । आइतबार कारोबार खुलेको ६ मिनेट नबित्दै पहिलाे सर्किट लागेर काराेबार २० मिनेटकाे लागि बन्द भएकाे थियाे ।  त्यसपछि पुनः सर्किट लागेर अब ४० मिनेटकाे लागि सेयर काराेबार स्थगित भएकाे छ । यो अवधिमा सबैभन्दा बढी जीवन बीमा समूहमा उछाल आएको छ । जीवन बीमा ३४० अंकले बढेको छ । त्यस्तै, निर्जीवन बीमा १३३, उत्पादनमूलक १२३, माइक्रोफाइनान्स ८० र बैंकिङ ७९ अंकले बढेको छ । सो दिन कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । सम्बन्धित समाचारः मौद्रिक नीतिको असरः बजार खुलेको ६ मिनेटमै लाग्यो सर्किट ब्रेक

गुल्जार सेयर बजारमा उछाल ल्याउने काँग्रेसको प्रयास, यी सुझाव कार्यान्वयन भए कहाँ पुग्ला नेप्से परिसूचक ?

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण तथा रोकथामको लागि सरकारले गत चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गर्यो । सरकारले लकडाउन गर्नुअघिदेखि अथार्त चैत पहिलो सातादेखि नै बन्द भएको सेयर बजार असार १५ गतेदेखि मात्रै खुल्यो । सेयर बजार सय दिनभन्दा लामो समय बन्द हुनुमा लगानीकर्ताको मनोवैज्ञानिक त्रास पनि ठूलो थियो । सामुहिक सौदाबाजी तथा पहुँच र पहलको भरमा नीतिगत प्रभाव पार्न सकिने हाम्रो जस्तो राज्यप्रणालीमा लगानीकर्ताले बजार घट्ने डरको कारण पनि केही समय बजार खोल्नबाट रोके । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले पनि लगानीकर्ताका प्रमुख सरोकारका केही विषय सम्बोधन नभइ बजार नखोल्ने अड्डी लियो । बोर्डको अडानकै कारण पुँजीगत लाभकर अन्तिम कर हो भनेर व्याख्या गर्न कर प्रशासन वाध्य भयो । इलेक्ट्रोनिक पेमेन्टमा दैनिक १० लाखको सीमालाई सेयर कारोबार प्रयोजनको लागि सीमा नलाग्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरिदियो । यस्ता प्रमुख परिवर्तनपछि मात्रै खुलेको बजारमा लगानीकर्ताको धेरै आकर्षण देखियो । लकडाउनले अर्थतन्त्र थला परेको समयमा बजार खोल्दा बजार नै क्रयास हुने हो कि भन्ने लगानीकर्ताको चिन्ता विपरित बजार बढेको कारण सर्किट ब्रेकर लगाउनु पर्यो । असार १५ गते १२०१ विन्दुमा रहेको पुँजी बजार मापक नेप्से परिसुचक साउन १ गतेसम्ममा बढेर १३९४ विन्दु पार गरिसकेको छ । यो बीचमा बजार १९३ अंकले बढेको छ । यो बीचमा बजार बढ्नुमा अर्थतन्त्र सबल भएर होइन । लगानीकर्ताका खास समस्या समाधानको लागि नियामक निकाय धितोपत्र बोर्ड सक्षम छ भन्ने सन्देश प्रवाह भएको हो । बोर्ड आफैले सेयर धितो कर्जालाई अहिलेको ६५ प्रतिशतबाट बढाएर ७५ प्रतिशत पुर्याइदिन नेपाल राष्ट्र बैंकलाई औपचारिक पत्र नै पठायो । बोर्डको यो प्रकारको सक्रियताले सेयर बजार गुल्जार भयो । असार १५ देखियता बजार करिब प्रत्येक दिन बढेको छ । सेयर बजार बढ्नुमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को भूमिका पनि सकारात्मक रह्यो । सिबिफिन पदाधिकारीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सहितका उच्चपदाधिकारीलाई भेटी सेयरधितो कर्जाको सीमा बढाएर ८० प्रतिशत पुर्याउनु पर्ने सुझाव दिए । पुँजी बजारको नियामक निकाय बोर्डले बैंकिङ क्षेत्रको नियामक निकायलाई पत्राचार गरी सेयर धितो कर्जा ७५ प्रतिशत बनाउनु सुझाव दिनु र बैंक तथा वित्तीय संस्थाहरुको संचालक समिति अध्यक्षहरुको संस्थाले यस्तो कर्जालाई ८० प्रतिशत बनाउन सुझाव दिनुले सेयर बजारमा अझ राम्रो सन्देश प्रवाह भयो । यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकलाई दिएको सुझाव पुँजी बजारका लागि असाध्यै सकारात्मक छ । बैंकहरु स्वतःस्फूर्त रुपमा मर्जरको लागि तयार नभए फोर्सफुल मर्जर स्वीकार गर्न राष्ट्र बैंकका अधिकारीहरुले अनौपचारिक रुपमा चेतावनी दिएको गुनासो बैंक वित्तीय संस्थाका संचालक तथा प्रमुख कार्यकारी अधिकृतहरु अनौपचारिक रुपमा बताउँदै आएका थिए । तर, नेपाली काँग्रेसले फोर्सफुल मर्जरको बारेमा नसोच्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । काँग्रेसको यो सुझाव मौद्रिक नीतिले स्वीकार गरेमा यो बैंक राम्रो हो भनेर सेयर किनेका लगानीकर्तालाई वाध्यतावस अर्काे बैंकको सेयरधनी बन्नुपर्ने अवस्था आउने छैन । त्यसैले लगानीकर्ताको लागि यो सन्देश पनि सकारात्मक नै हो । काँग्रेसले आफ्नो सु्झावमा बैंकहरुबीच मर्जरको लागि कर छुटको व्यवस्था गर्न सुझाव दिएको छ । उसको सुझावमा मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाहरुलाई कम्तिमा पनि २ वर्षसम्म नाफामा लाग्ने करमा ‘भारी छुट’ दिनुपर्ने भनिएको छ । काँग्रेसले मागे जस्तै नाफामा ‘भारी कर छुट’ भए बैंकहरुले निकै मोटो रकम कर छुट पाउने छन् । अहिले बैंकहरुले नाफामा ३० प्रतिशत कर्पाेरेट कर तिर्छन् । नविल, नेपाल इन्भेष्टमेन्ट, कृषि विकास, नेपाल, ग्लोबल आइएमई, सानिमा, सिद्धार्थ, एभरेष्ट, हिमालयन जस्ता धेरै बैंकको नाफा १ अर्ब रुपैयाँभन्दा बढी छ । एक अर्ब रुपैयाँ खुद नाफा गर्ने बैंकहरुले कर्पाेरेट कर तिर्नु नपर्ने हो भने उनीहरुको ३० करोड रुपैयाँ स्वतः जोगिनेछ । अर्थात बैंकहरुको नाफा ३० प्रतिशतले बढ्ने हुन्छ । नेपाली सेयर बजारमा बैंक वित्तीय संस्थाको हिस्सा ७० प्रतिशतभन्दा बढी छ । यस्तो बजारमा मर्जरमा जाने बैंकले कर्पाेरेट कर तिर्नु नपर्ने व्यवस्था भयो भने सेयर बजारमा उछाल आउन सक्छ । यसअघिसम्म सरकारले मर्जरमा जाने बैंक वित्तीय संस्थालाई मर्जरपछिको २ आर्थिक वर्षसम्म डिभिडेन्ड बाढ्दा कर नलाग्ने व्यवस्था गरेको थियो । यो व्यवस्था सेयरधनीको लागि हो । तर, कर्पोरेट कर छुट भने दिइएको थिएन । काँग्रेसले राष्ट्र बैंकलाई भने कर्पाेरेट कर छुटको सुझाव दिएको छ । यद्यपि कर छुटको विषय मौद्रिक नीतिले सम्बोधन गर्न सक्दैन । काँग्रेसको सुझाव अनुसार कर्पाेरेट कर छुट दिनको लागि अर्काे बजेटसम्म कुनुपर्ने हुन्छ वा सरकारले बीचमै आयकर ऐन संशोधन गर्नुपर्ने भने हुन्छ । सम्बन्धित सामग्री काँग्रेसको सुझावः मर्जरलाई प्रोत्साहन गर्न २ वर्षसम्म नाफामा भारी कर छुट दिनुपर्छ यस्तो छ बिग मर्जरका लागि बैंकहरुले खोजेको बम्पर प्याकेज मर्जरका लागि मौद्रिक नीति कुर्दै इन्भेष्टमेन्ट र हिमालयन बैंक

निर्धारित समय अगावै बन्द भयाे सेयर बजार, कारोबार अब आइतबार मात्रै हुने

काठमाडौं । गत मंगलबारदेखि निरन्तर बढेको सेयर बजारमा बिहीबार ब्रेक लागेको छ । कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको बजारमा तीन पटक नकारात्मक सर्किट ब्रेक लागेर निर्धारित समय अगावै कारोबार बन्द भएको हो । दिउँसो १२ बजेर ४० मिनेटमा नेप्से परिसूचक ६.०२ प्रतिशतले घटेपछि बजारमा अर्को सर्किट ब्रेक लागेको हो । यससँगै आजको लागि कारोबार स्थगित भएको छ । यसअघि दुई दिन लगातार तीन पटक सम्म सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको बजारमा आज करेक्सन भएको छ । बजार खुलेको २३ मिनेटमै नेप्सेमा नेगेटिभ सर्किट लागेर २० मिनेट कारोबार स्थगित भएको थियो । त्यसपछि बजार खुलेको ४ मिनेट नबित्दै परिसूचक ५ प्रतिशतले घटेर दोश्रो पटक सर्किट लागेको थियो । यससँगै ४० मिनेट पछि खुलेको बजारमा नेप्से परिसूचक ६ प्रतिशतले घटेर पुनः सर्किट लागेर आजको कारोबार बन्द भएको हो । यो अवधिमा नेप्से परिसूचक ८०.४१ अंकले घटेर १२५६.११ अंकमा झरेको छ । सो दिन १४२ कम्पनीको ४७ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको ६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ३८३ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ५३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बिहीबार म्युचअल फण्ड बाहेक कारोबारमा आएका सबै समूहहरु ओरालो लागेका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ६०८ अंकले घटेको छ । तीन पटकसम्म नकारात्मक सर्किट लागेको बजारमा पनि स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८.०७ प्रतिशत कमाएका छन् । सबैभन्दा बढी सोल्टी होटलको सेयर मूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, ९ प्रतिशत बढी गुमाउनेमा प्रभु बैंक, हिमालयन डिष्टिलरी, लाईफ इन्स्योरेन्स कम्पनी र ग्लोबल आईएमई क्यापिटलका लगानीकर्ता रहेका छन् । यससँगै अब आइतबार(असार २१ गते) मात्रै सेयर कारोबार खुल्ने भएको छ ।

मौद्रिक नीति चुहिएपछि सेयर बजारमा उछाल !

काठमाडौं । तीन महिनादेखि बन्द रहेको बजार खुलेको दोश्रो दिनदेखि सर्किट ब्रेक लाग्दै आएको छ । बजार खुलेको पहिलो दिन गत सोमबार बजार घटेर एक पटक सर्किट ब्रेक लागे पनि पछि बाउन्स व्याक भयो । मंगलबार र बुधबार दुबै दिन भने बजारमा बढी उछाल देखिएपछि तीन पटकसम्म सर्किट ब्रेक लगाएर निर्धारित समय अगावै बन्द गर्नु पर्यो । कोभिड-१९ ले लगानीकर्ताको मनोबलमा असर परेको र आगामी वर्षकाे आर्थिक बजेटले पनि सेयर बजारलाई सम्बोधन नगरेकोले सेयर बजार अत्याधिक घट्छ भन्ने लगानीकर्ताले अनुमान गरेका थिए । तर उनीहरुको अनुमान विपरित बजार बढीरहेको छ । यस्ताे छ बजार बढ्नुकाे कारण बजारमा अधिक तरलता बढेपछि सेयर बजारमा उछाल देखिन थालेको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाको व्याजदर घट्नुले बजारमा सकारात्मक प्रभाव देखिएको हो । त्यस्तै, कोभिड-१९ ले गर्दा अन्य क्षेत्रमा लगानी गर्ने ठाउँ नभएकोले सेयर बजार नै लगानी गर्नको लागि सबैभन्दा उत्तम रहेकोले बजारमा उछाल आएको सेयर विश्लेषकहरु बताउँछन् । त्यसैगरी, अनलाइन सफ्टवेयरले खातामा भएको सेयर मात्रै बेच्न पाउने व्यवस्था रहेको छ । त्यसले बजारमा सेयर बिक्रीको आपूर्ति नआएको र किन्नको लागि अत्याधिक माग बढेको जानकारहरु बताउँछन् । आगामी आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति साउनको पहिलो साता आउँदै छ । जसले धितोपत्र बजारलाई सम्बोधन गर्ने अत्याधिक सम्भावना रहेको छ । नेपाल धितोपत्र बोर्डले ६५ प्रतिशत रहेको सेयर धितोमा मार्जिन सीमा ७५ प्रतिशत पुर्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ । राष्ट्र बैंकले पनि अबको मौद्रिक नीतिमा बोर्डको आग्रहलाई सम्बोधन गर्ने पक्कापक्की जस्तो भइसकेको बुझिएकाे छ । यसले पनि पुँजीबजारमा सकारात्मक प्रभाव पारेको हुन सक्छ । बुधबारको बजार खुलेको करिब डेढ घण्टामै बन्द भयो । तीन पटक सर्किट ब्रेक लागेको बजारमा करिब ३० मिनेटमात्रै सेयर कारोबार भयो । बजार खुलेको १३ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि कारोबार २० मिनेटको लागि स्थगित भएको थियो । त्यसपछि बजार खुलेको २ मिनेटमै नेप्से ५ प्रतिशतले बढेपछि पुनः सकारात्मक सर्किट ब्रेक लाग्यो र ४० मिनेटको लागि कारोबार बन्द भयो । उक्त समय पश्चात अर्थात १२ बजेर १५ मिनेटमा सेयर कारोबार पुनः सुचारु भएको थियो । तर त्यसपछि १५ मिनेट नबित्दै परिसूचक ६ प्रतिशतले बढेर १२ बजेर २४ मिनेट मै सो दिनको लागि कारोबार बन्द भएको हो । अर्थात बुधबारको बजार अढाई घण्टा अगाडि नै बन्द भएको हो । बुधबारकाे बजारमा अधिकांश कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । सबैभन्दा बढी जीवन बीमा कम्पनीका लगानीकर्ताले बढी कमाएका छन् । सिटिजन्स बैंक इन्टरनेशनलको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै, २७ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढेकाे छ । बुधबारको नेप्से परिसूचक ७२.७७ अंकले बढेर १३३६.५२ अंकमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १५.१० अंक अर्थात ५.५५ प्रतिशतले बढेर २८७.०२ अंकमा पुगेको छ । बजारमा कूल १३५ कम्पनीको ४० करोड ७३ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन कारोबारमा आएको १२ समूहमध्ये होटल समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् । सबैभन्दा बढी जीवन बीमाको सूचक ५४८.५३ अंकले उकालो लागेको छ ।  

९८ दिन थला परेको सेयर बजारः ४० मिनेट खुलेपछि २० मिनेट रेष्टमा

काठमाडौं । ९८ दिनपछि खुलेको बजारमा पहिलो सर्किट ब्रेक लागेको छ । कारोबार खुलेको ४० मिनेटमै सेयर बजार ४ प्रतिशतले घटेर सर्किट ब्रेक लागेको हो । यससँगै, सेयर कारोबार २० मिनेटको लागि रेष्टमा रहेको छ । अब १२ बजेपछि पुनः सेयर काराेबार शुरू हुने छ । यो अवधिमा नेप्से परिसूचक ४८.१७ अंकले घटेर ११५३ अंकमा झरेको छ । सो अवधिमा ६९ कम्पनीको ८ करोड ४२ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सेयर बजार सञ्चालनको लागि धितोपत्र बोर्डले के के काम गर्यो ?

काठमाडौं । लकडाउनको अवधिमा धितोपत्रकाे दाेश्राे बजार पूर्णरूपमा बन्द भयाे । याे अवधिमा दोश्रो बजार सञ्चालनको लागि नेपाल धितोपत्र बोर्डले विभिन्न कार्यहरु गरेको छ । लकडाउनको तीन महिनाको अवधिमा बोर्डले घरमै बसी कारोबार गर्न सक्ने व्यवस्थादेखि अनलाइन स्टक डिलर व्यवसाय सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको बाेर्डका उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीले जानकारी गराएका छन् । धितोपत्र बजारको विद्यमान अवस्था र सुधारका विषय तथा लगानीकर्ताहरुको माग सम्बन्धमा उच्च स्तरीय वित्तीय क्षेत्र समन्वय समितिमा छलफल र नियमन निकायहरुले सुधार गर्नुपर्ने कार्यहरु गर्न निर्देशन दिएको छ । विद्युतीय माध्यमबाट रकम भुक्तानी तथा प्राप्ति र लगानीकर्ताहरुको बैंक खाता तथा डिम्याट खाता आवद्ध गर्ने सम्बन्धमा नेप्सेलाई निर्देशन दिएको बोर्डले जनाएको छ । स्टक डिलर व्यवसाय सञ्चालनमा ल्याउने सम्बन्धमा निर्देशन तथा अनुमतिका लागि बोर्डमा निवेदन प्राप्त भएको बोर्डले जानकारी गराएको छ । त्यसैगरी, लगानीकर्ताले कारोबार गर्दा डिम्याट खातामा धितोपत्र रहे/नरहेको यकिन गर्ने व्यवस्था बोर्डले गराएको छ ।आफूले बिक्री गरेको धितोपत्र हस्तान्तरण गर्ने र धितोपत्रको भारित औषत लागत प्रविष्ट स्वचालितरुपमा गर्न सकिने व्यवस्था भएको छ । धितोपत्र दलालबाट युजर नेम तथा पासवर्ड लिई घरमै बसी कारोबार गर्न सक्ने र नलिने लगानीकर्ताले समेत घरमै बसी दलाललाई विद्युतीय माध्यमबाट धितोपत्र कारोबारका लागि फोन र एसएमएस, इमेल जस्ता विद्युतीय माध्यमबाट आदेश दिन सक्ने व्यवस्था भएको छ । क्ल्यिरिंग बैंकबाट अनलाईन भुक्तानी गर्ने सुविधा र नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आईपीएस वा आईपीएसको प्रयोग गर्न सक्ने व्यवस्था भएको छ । खरिद गरेको धितोपत्र लगानीकर्ताको डिम्याट खातामा विद्युतीय माध्यमबाट प्राप्त हुने र बिक्री गरेको धितोपत्रको रकम ब्रोकरले विद्युतीय माध्यमबाट लगानीकर्ताको बैंक खातामा जम्मा गरिदिने व्यवस्था भएको बोर्डले जनाएको छ । साथै, लगानीकर्ताले घरमै बसेर मेरो सेयर एप्लीकेशनको प्रयोग गरी विद्युतीय माध्यमबाट धितोपत्र हस्तान्तरण गर्न सक्ने व्यवस्था(ई-डीआईएस) गरिएको छ ।

सेयर बजार सोमबारदेखि खुल्ने

काठमाडौं । हाल बन्द रहेको सेयर बजार सोमबार(असार १५ गते) देखि खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले सोमबार(भोलि)देखि बजार खोल्न नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) लाई निर्देशन दिएको बताएका छन् । बजार खोल्ने विषयमा सेबोनद्वारा गठित समितिले गत शुक्रबार नै बजार खोल्नुपर्ने सुझाव पेस गरेको थियो । साेहि विषयमा आइतबार बसेको बोर्डको बैठकले भोलिबाट बजार खोल्ने निर्णय गरेको हो । यससँगै बजार के कसरी कति अवधि खोल्ने भन्ने मोडालिटीको बारेमा नेप्सेलाई नै जिम्मेवारी दिइएको अध्यक्ष ढुङ्गानाले विकासन्युजसँग भने । सरकारले लकडाउन गरेसँगै सूचीकृत कम्पनीहरुको सेयर कारोबार हुने दोश्रो बजार चैत १० गतेदेखि बन्द अवस्थामा रहेको थियो । यसबीचमा दुई दिन खुलेको बजार पुनः बन्द भएको थियो ।

राष्ट्र बैंकको व्यवहारप्रति धितोपत्र बोर्ड असन्तुष्ट, सेयर बजार खुल्ने टुंगो शुक्रबार

काठमाडौं । सेयर बजार कहिलेदेखि खुल्ने भन्ने टुंगो शुक्रबार लाग्ने भएको छ । लगानीकर्ताले उठाएका पुँजीगत लाभकर र इन्टरनेट बैंकिङबाट रकम भुक्तानी गर्ने सीमा बढाउन सरोकारबाला तयार भएपछि बजार खुलाउन दबाब परेको छ । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले पुँजीगत लाभकरलाई अन्तिम कर हो भनेर प्रष्ट पार्न अर्थमन्त्रालयलाई अनुरोध गरेको थियो । बोर्डको अनुरोध अनुसार अर्थमन्त्रालयले पुँजीगत लाभकर अन्तिम नै रहेको व्यहोराको पत्र बोर्डमा पठाएको छ । यस्तै, बोर्डले सेयर कारोबारमा इन्टरनेट बैंकिङबाट हुने भुक्तानीको सीमा हटाइदिन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । बोर्डको सुझाव अनुसार राष्ट्र बैंकले इन्टरनेट र मोबाइल बैंकिङको सीमा पनि हटाइदिएको छ । तर, राष्ट्र बैंकले इन्टरनेट र मोबाइल बैंकिङ भुक्तानीको सम्बन्धमा गरेको व्यवस्थाप्रति बोर्ड अझै पनि सन्तुष्ट छैन । राष्ट्र बैंकले सेयर खरिद विक्रीको भुक्तानीका लागि मोबाइल बैंकिङबाट एक पटकमा लागि १ लाख रुपैयाँ र इन्टरनेट भुक्तानीको लागि एक पटकमा १० लाख रुपैयाँको सीमा कायमै राखेको छ । यद्यपि यसरी कारोबार गर्दा एक दिनमा जति रकम बराबरको पनि सेयर कारोबार गर्न पाउने राष्ट्र बैंकको भनाइ छ । मोबाइल बैंकिङमा एक पटकमा १ लाख रुपैयाँ र इन्टरनेट बैंकिङको माध्यमबाट एक पटकमा १० लाख रुपैयाँ मात्रै भुक्तानी गर्न पाउने व्यवस्थाले लगानीकर्तालाई अनावश्यक झन्झट मात्रै हुने बोर्डको भनाइ छ । नियामकीय दायरमा रहेको र प्रभावकारी नियमन भइरहेको सेयर बजारमा एक पटकमा एक लाख र १० लाख रुपैयाँको सीमा कायम गरेर अनावश्यक झन्झट मात्रै सिर्जना हुने बोर्डको भनाइ छ । पुँजीगत लाभकरको विषयमा भने धितोपत्र बोर्डले सन्तुष्टी जनाएको छ । बोर्डले उठाएका प्रमुख विषयको सम्बोधन भएपछि बोर्डलाई बजार खोल्न दबाब परेको छ । तर, बजार कहिलेदेखि कसरी खोल्ने भन्ने विषयमा बोर्डले अध्ययन समिति नै गठन गरेकोले सो समितिको प्रतिबेदन प्राप्त भएपछि आवश्यक निर्णय हुने बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए । ‘शुक्रबार अध्ययन समितिले प्रतिबेदन दिन्छ, समितिको प्रतिबेदन प्राप्त भएपछि बोर्डको संचालक समिति बैठक बसेर आवश्यक निर्णय गरिन्छ,’ अध्यक्ष ढुंगानाले भने ।

सेयर बजारमा विद्युतीय कारोबारको सीमा हट्यो, अब जति पनि भुक्तानी गर्न सकिने

काठमाडौं । सेयर बजारमा विद्युतीय तथा मोबाइल बैंकिङ प्रणालीबाट हुने कारोबारको सीमा हटेको छ । यस्तो कारोबारमा लगाइएको सीमाको कारण सेयर बजार खोल्न सकिने भन्दै धितोपत्र बोर्डले नै बजार बन्द गराएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गरी हाल विद्युतीय र मोबाइल बैंकिङ प्रणालीबाट हुने भुक्तानीको सीमा हटाएको हो । यसअघि मोबाइल बैंकिङमा दैनिक १ लाख रुपैयाँ र मासिक १० लाख रुपैयाँसम्म कारोबार गर्न पाइने व्यवस्था थियो । यस्तै, इन्टरनेट बैंकिङको मर्चेन्ट पेमेन्टमा दैनिक १० लाख रुपैयाँ र मासिक ३० लाख रुपैयाँ तथा अकाउन्ट ट्रान्सफरमा दैनिक १० लाख रुपैयाँ र मासिक ५० लाख रुपैयाँसम्मको सीमा तोकिएको थियो । तर, कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न भन्दै सरकारले जारी गरेको लकडाउनको समयमा कारोबार गर्न अप्ठेरो परेकोले सेयर कारोबारमा यस्तो सीमा हटाउनु पर्ने सुझाव पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले नेपाल राष्ट्र बैंकलाई दिएको थियो । बोर्डको सुझाव अनुसार नै राष्ट्र बैंकले सेयर कारोबारको भुक्तानीमा हुने सीमा हटाएको छ । कारोबारको सीमा हटाइएपनि एक पटकमा कति रकम भुक्तानी गर्न पाइने भन्ने विषयमा भने राष्ट्र बैंकले सीमा तोकेको छ । भुक्तानी प्रक्रियमा अपनाउनु पर्ने सावधानी र कारोबार सहज पनि बनाउनु पर्ने अवस्थाको कारण एक पटकमा कति रकम मात्रै ट्रान्सफर गर्न पाइने भनेर सीमा अझै कायम रहेको राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कडेलले जानकारी दिए । ‘सेयर किन्ने व्यक्तिले मोबाइल बैंकिङबाट रकम भुक्तानी गर्ने हो भने एक पटकमा १ लाख रुपैयाँ र इन्टरनेट बैंकिङबाट भुक्तानी गर्ने हो भने एक पटकमा १० लाख रुपैयाँ मात्रै भुक्तानी गर्न पाइन्छ, त्योभन्दा बढी रकम भुक्तानी गर्नुपर्यो भने अर्काे पटक पठाउनु पर्ने भयो, पहिला एक दिनमा १ लाख रुपैयाँ र १० लाख रुपैयाँको सीमा थियो, अब त्यो सीमा छैन, एक पटकमा १ लाख र १० लाखको सीमा छ, एक दिनमा जतिपटक पनि यसरी रकम भुक्तानी गर्न पाउने व्यवस्था मिलाएर सीमा हटाएका छौं,’ कार्यकारी निर्देशक कडेलले भने ।

सेयर बजार नखुल्नुमा अर्थमन्त्री र धिताेपत्र बाेर्ड दाेषी

नेपाल सरकारले गरेको लकडाउनको अवधि कायम रहदासम्म सेयर बजार नखुलाउने नेपाल धितोपत्र बोर्डबाट निर्देशन प्राप्त भएको भन्दै कारोबार स्थगन गर्ने निर्णय भएको जानकारी हिजो शनिबार नेपाल स्टक एक्सचेन्ज नेप्सले गराएको छ । लकडाउन पछाडि अहिलेसम्म बीचमा दुईदिन बजार खुलेपनि बजार घट्यो भनेर बन्द गरियो । लकडाउनको अवधिमा सबैभन्दा लामो समय सेयर बजार बन्द गर्ने देश हाम्रो मुलुक हो । कारोबार शुरु गर्दा सेयर बजार घट्छ भनेर अनुमान लगाएको भरमा वा घटेको आधारमा खुला बजारलाई बन्धक बनाउन पाईदैन । नियमक निकायको यो निर्णयले के सबै लगानीकर्ताको हकलाई सम्बोधन गरेको छ ? बजार घट्दा कारोबार नै अनिश्चतकालको लागि बन्द गर्ने तरिका के ससांरको प्रचलित प्रचलन हो ? केही सीमित लगानीकर्ताको बजार बन्द गराउने ईच्छाको मतियार नियमक निकाय बन्न मिल्छ ? भन्ने जस्ता धेरै प्रश्न अहिले उब्जिएका छन् । अहिलेको नियमक निकायको गतिबिधि हेर्दा नियमक निकाय नै केही सीमित लगानीकर्ताको चङ्गोलमा परेको प्रष्ट हुन्छ । सेयर बजारको विकासका लागि चाहिने भौतिक पूर्वाधारको विकासका लागि ध्यान नदिने तर केही सीमित लगानीकर्ताको समूहको पछि लागेर बजार बन्द गरिएको कार्यले मुलुकको अर्थतन्त्रलाई फाईदा पुग्दैन । केही व्यक्तिहरुको लहडको भरमा बजारलाई लामो समय सम्म बन्द गर्नु भनेको नियमक निकाय नेपाल धितोपत्र बोर्डको नेतृत्वकोे असक्षमता हो । अहिलेको समय भनेको हचुवाको भरका कुनै समूहले बजार बन्द गर्न आवश्यक भनेर हल्ला गरेको भरमा बजार बन्द गर्ने समय होइन । लामो समयसम्म बजार बन्द हुँदा त्यसको असर राज्यलाई कति परेको छ भनेर लेखाजोखा गर्ने समय अहिले आएको छ । लामो समय बजार बन्द हुँदा सेयर बजारमा करिअर छ भन्ने लगानीकर्तामा निराशा छाउन थालेको छ । अझै पनि नेपालको सेयर बजारलाई सीमित लगानीकर्ताको चाहानामा बढाउने र घटाउने गरेको देखिन्छ । नेपालको सेयर बजार स्वार्थी समूहले चलाएको हल्ला र लहडको भरमा चल्ने गरेको देखिन्छ । हो केही समय मुलुकमा आईपरेको असहज परिस्थितिका कारण सेयर बजार पनि खुल्न सक्ने अवस्थामा थिएन । सिङ्गो मुलुक नै ठप्प थियो । तर अहिले लकडाउन खुकुलो भएर प्रायः सबै कार्यालयहरु खुल्न थालिसकेको अवस्थामा शेयर बजार भने खुल्न सकेको छैन । अहिले सरकारले नै खोल्न नदिने भनेको सार्वजनिक यातायात, डिस्को, क्लब सिनेमाघर र विद्यालय बाहेक सबै क्षेत्र खुलेको अवस्था छ । यस्तो अवस्थामा पनि शेयर बजारलाई बन्द गर्नु भनेको देशको अर्थतन्त्रलाई चलायमान हुन नदिने र सीमित समूहको स्वार्थसिद्ध गर्ने षडयन्त्र मात्र हो । लेखक चैत ११ अगाडि जुन तरिकाले सेयर खरिदबिक्री भएको थियो त्यसरी सेयर खरिदबिक्री गर्न अब कुनै समस्या छैन । विभिन्न बाहनामा यति लामो समय बजार बन्द गराउँदा मुलुकको अर्थतन्त्र नै अहिले ठप्प रहेको छ । सेयर बजारलाई अर्थतन्त्रको मापकको रुपमा पनि लिइन्छ । त्यसकारण पनि यसलाई चलायमान गराउनु जरुरी छ । अहिलेको समयमा सेयर बजारको नीतिगत सुधारको काम छिटो हुन जरुरी छ । पूर्णअनलाइन समयको माग हो । यसमा नियामक निकायले ध्यान दिन सकेको छैन । कनेक्ट आइर्एपीएइसबाट कारोबार गर्दा अनलाइन कारोबारको सीमा तोक्नु नहुने, हालकै अवस्थामा बजार खोलिए लगानीकर्ताले ब्रोकर कार्यालय नै पुग्नु पर्ने अवस्था भएको हुनाले असहजता पैदा हुने, सेयर लोनमा रहेको चर्को ब्याज घटाउनुपर्ने, मार्जिक लोनको सीमा ८० प्रतिशत राख्नुपर्ने माग लगानीकर्ताको छ । लामो समयदेखि लगानीकर्ताले सेयर कारोबार गर्दा तिर्ने करलाई अन्तिम कर मान्न आग्रह गरिरहेका थिए । उनीहरूको माग बमोजिम नै अर्थ मन्त्रालयले उक्त व्यवस्था गरिदिएको भनाई छ । लगानीकर्ताका जायज मागलाई राज्यका निकाय पनि सम्बोधन गर्न ढिलाई गर्नु हुदैन । तर यही मागको निहुमा अनिश्चितकालसम्म बजार बन्द गराउन खोज्नु राम्रो पक्ष होइन् । कारोबार नै नगरेपछि कस्तो राहत सेयर बजारलाई चाहिने हो त्यो नै प्रष्ट देखिन्न । त्यसकारण पनि पहिला कारोबार शुरु गर्न जरुरी छ । अहिले दवाव समूहमा रहेका बाहेकका लगानीकर्ताहरु बजार खोलेरै सुधारका कामहरु गर्नुपर्छ भन्ने मनस्थितिमा देखिएका छन् । शेयर बजारको सबै भन्दा सुन्दर रुप भनेको कारोवारमा हुने मूल्यको घटबढ हो । बजार घट्ने वा बढ्ने भनेको स्वभाविक प्रक्रिया हो । बजार धेरै नघट्न पनि सक्छ । किनभने अहिले बैंकिङ क्षेत्रमा तरलता बढिरहेको छ । लगानीकर्ताले जहिले पनि जोखिम बहन गर्न सक्नुपर्दछ । सेयर बजार भनेको जोखिमको क्षेत्र पनि हो । जोखिम लिन सक्ने क्षमता भएकाहरु मात्र सेयर बजारमा प्रवेश गर्ने हो । लगानीको पछाडि सधैभरी नाफा मात्र हुदैन । स्वभाविक हो आफूले गरेको लगानीमा नोक्सान हुदाँ सबैलाई दुःख लाग्छ । तर,जोखिमको क्षेत्रमा लगानी गर्ने भनेर आएपछि जोखिम लिन पनि सक्नुपर्छ । अहिले ससांरभर कोरोना भाइरसका कारण हजारौ कम्पनीहरु बन्द भएका कारण लाखौले रोजगारी गुमाएका छन् । ससांरभर अर्थतन्त्रमा कल्पना गर्न नसकिने क्षति पुगेको छ । यस्तो अवस्थामा सेयर बजार घट्न हुँदैन, बढ्ने ग्यारेन्टी नहुँदासम्म खोल्न दिनु हुँदैन भनेर माग राख्नु तर्कपूर्ण हुदैन । यस्ता मागले सेयर बजारको बिकासलाई टेवा पुयाउदैन । अर्थतन्त्रमा सामान्य सुधार आउन साथ सबैभन्दा छिटो सुधार सेयर बजारमा नै हुने हो । त्यसको पछिल्लो उदाहरण भारतको सेयर बजारलाई हेरेमा पुग्छ । पछिल्लो अवस्था संसारका धेरै देशमा सेयर बजारले गति लिदै गएको छ । धेरै लगानीकर्ताको लगानी बैंक तथा वित्तीय संस्थामा रहेको र राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थाको हितमा मौद्रिक नीति ल्याएको खण्डमा त्यसको सकारात्मक प्रभाव बजारमा पर्ने छ । बजार खोल्ने माग गरेर लगानीकर्ताले राहतको सुविधा माग्नु जायज हुन्थ्यो । बजार बन्द मात्र समस्याको निकास हुनसक्दैन । नेपालमा तीन महिनाको सेयर बजार बन्द भएको अवस्थालाई हेर्दा नेपालमा सेयर बजारप्रति कसैलाई चासो नभएको देखिन्छ । सबै भन्दा बढी चासो अर्थ मन्त्रालय र अर्थमन्त्रीलाई हुनुपर्ने हो तर यस्तो महत्वपूर्ण बिषयमा अर्थमन्त्री मौन देखिएका छन । अर्थमन्त्री युवराज खतिवडा सेयर बजारको विकासको लागि कुनैपनि हिसाबले संवेदनशिल देखिएका छैनन् । नेपालको सेयर बजारबारे कुनै समय अर्थमन्त्री डा बाबुराम भटराईले जुवाघर जस्तो भनेर प्रतिक्रिया दिदाँ उनको धेरैले बिरोध गरे । उनको भनाइले लगानीकर्ता डराए । सेयर बजार ओरोलो लाग्यो । तर लगानीकर्ताले आफनो धैर्यता कहिल्लै गुमाएनन् । लगानीकर्ताको उच्च मनोबलका कारणले बजार पुनः बुलिस ट्रेनमा गयो । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुकुलो बनाएर व्यापार व्यवसाय सहज बनाउन व्यवसायिक संस्थाहरुले माग गरे । उनीहरुको पहिलो माग आफ्नो व्यवसाय खोल्न दिनुपर्छ भन्ने थियो । तर, नेपालको सेयर बजारमा त्यसको विपरित भयो । यसले नेपालको सेयर बजार अझै पनि परिपक्क भएको छैन भनेर प्रष्ट देखाएको छ । अहिले दोस्रो बजारमा सेयर कारोबार गर्नको लागि ब्रोकरकोमा जानको लागि समस्या देखाईएको छ । अधिकांश लगानीकर्तासँग निजी नै सवारीसाधन छ । अर्को सेयर कारोबार गर्नका लागि ब्रोकरको कार्यालयसम्म जानुपर्ने अनिवार्य बाध्यता छैन । यदि जानु परे पनि ब्रोकर कार्यालयले पनि सामाजिक दूरी कायम राखेर सेवा दिन सक्छन् । सेयर बजारको कारोबार शुरु भयोे भने घट्छ भन्ने डरले बजार नै बन्द गर्ने ढिपी केही लगानीकर्ताको पाइन्छ । तर बजार नखुल्दासम्म लगानीकर्ताले राखेका सुधारका कार्यक्रम नआउने जस्तै देखिन्छ । बजार खोल्ने माग गरेर लगानीकर्ताले राहतको सुविधा माग्नु जायज हुन्थ्यो । बजार बन्द मात्र समस्याको निकास हुनसक्दैन । नेपालमा तीन महिनाको सेयर बजार बन्द भएको अवस्थालाई हेर्दा नेपालमा सेयर बजारप्रति कसैलाई चासो नभएको देखिन्छ । सबै भन्दा बढी चासो अर्थ मन्त्रालय र अर्थमन्त्रीलाई हुनुपर्ने हो तर यस्तो महत्वपूर्ण बिषयमा अर्थमन्त्री मौन देखिएका छन । अर्थमन्त्री युवराज खतिवडा सेयर बजारको विकासको लागि कुनैपनि हिसाबले संवेदनशिल देखिएका छैनन् । यस प्रकरणमा सबैभन्दा बढी दोषी धितोपत्र बोर्ड रहेको छ । सम्बन्धित निकायका यस्ता गतिविधिले नेपालको सेयर बजार सट्टेवाजी मात्रै त होइन भन्ने प्रश्नलाई बलियो बनाएको छ ।

सेयर बजार बन्धक बनाएर करोडौं कुम्ल्याउने दाऊ, अर्थमन्त्रीमाथि पनि हावी हुने व्यक्ति को हो ?

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न सरकारले देशव्यापी लकडाउन गरेको चैत ११ गतेदेखि नेपाली सेयर बजार बन्द छ । सरकारले लकडाउन खुकुलो पारेपछि सामान्य चिया पसलसमेत खुलिसक्दा पनि दैनिक अर्ब रुपैयाँको हाराहारीमा कारोबार हुने बजार अनिश्चित कालको लागि बन्द भएको छ । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले बजार बन्द गर्नुका पछाडि दुईटा कारण देखाएको छ । एउटा कारण, कनेक्ट आइपीएसबाट दैनिक १० लाख रुपैयाँसम्म मात्रै भुक्तानी गर्न पाइने भएकोले यो सीमा नेपाल राष्ट्र बैंकले हटाइदिएपछि मात्रै बजार खोल्न सकिन्छ । अर्काे, सेयर कारोबारमा लाग्दै आएको पुँजीगत लाभकर अन्तिम हो कि होइन भन्नेमा अन्योल छ, अर्थमन्त्रालयले पुँजीगत लाभकर अन्तिम हो भनेर स्पष्ट पारेपछि लगानीकर्ता सेयर कारोबार गर्न तयार हुन्छन्, अनिमात्र बजार खोल्न सकिन्छ । धितोपत्र बोर्डले सार्वजनिक रुपमा देखाएका यी कारण सेयर बजार बन्द गर्नुपर्ने तहका छैनन् । किनभने दैनिक १० लाख रुपैयाँसम्म मात्रै भुक्तानी गर्न पाइने कनेक्ट आइपीएसको व्यवस्था र पुँजीगत लाभकर अन्तिम हो कि होइन भन्ने अन्योलले मात्रै बजार खोल्न नसकिने होइन भन्ने सरोकारवालाको दाबी छ । एक व्यक्तिले दैनिक १० लाख रुपैयाँसम्मको कारोबार गर्ने सीमा भनेको अहिलेको नेपाली बजारका लागि पर्याप्त रहेको लगानीकर्ता बताउँछन् । १० लाख रुपैयाँभन्दा बढीको सेयर किन्ने व्यक्तिको लागि पनि अहिले कुनै समस्या नभएको ब्रोकरको भनाई छ । ‘दैनिक १० लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच गर्ने व्यक्ति सामान्यतः हामीले चिनेकै हुन्छन्, उनीहरुसँग सो परिमाणको सेयर किनबेचको अर्डर स्वीकार गर्ने कि नगर्ने भन्ने हामीले सजिलै निक्र्योल गर्न सक्छौं, र १० लाख रुपैयाँभन्दा बढीको सेयर किन्ने व्यक्तिले चेक लिन आऊ भनेर हामीलाई भन्छ भने काठमाडौं उपत्यकाको कुनै पनि ठाउँमा कर्मचारी पठाएर चेक ल्याउने व्यवस्था मिलाउँछौं, त्यसैले दैनिक १० लाख रुपैयाँसम्मको मात्रै भुक्तानी गर्न सकिने सीमाको कारण असजिलो भएर बजार बन्द गरियो भन्ने तर्क मलाई त सुन्दै हाँसो लाग्छ,’ एक ब्रोकरले भने । अब पुँजीगत लाभकर अन्तिम हो कि होइन भन्ने ‘अन्योल’को कुरा गरौं । यो विषय उठेको लकडाउनको बीचमा मात्रै होइन । विगतदेखि नै चल्दै आएको यो वहसले अहिले बजार बन्द गर्ने अवस्थामा पुर्याएकै छैन । र, अहिले बजार बन्द भएको पनि पुँजीगत लाभकरको अन्योलताको कारण होइन । बजारमा लगानीकर्ताको विश्वास बृद्धि गर्न अस्पष्ट भएका विषय प्रष्ट पार्दै जाऔं भन्ने लगानीकर्ताको माग हो । पुँजीगत लाभकर अन्तिम हो कि होइन भन्ने दुविधा बजार खुलाएर पनि प्रष्ट पार्न सकिन्छ । अर्थमन्त्री रमिते पुँजी बजारलाई अनुत्पादक क्षेत्र भनेर आलोचना गर्दै आएका अर्थमन्त्री डा. युवराज खतिवडा बजारलाई बन्दक बनाउने अहिलेको खेलमा रमिते बनेका छन् । धितोपत्र बोर्डले सार्वजनिक रुपमा बताएका दुबै समस्या समाधान गर्ने सबैभन्दा माथिल्लो जिम्मेवारीमा अर्थमन्त्री खतिवडा नै छन् । बोर्डले भनेको कनेक्ट आइपिएसबाट दैनिक १० लाख रुपैयाँ मात्रै भुक्तानी हुने अहिलेको व्यवस्था नै बजार खुल्ला गर्नको लागि बाधक हो भने अर्थमन्त्री डा. खतिवडाले नेपाल राष्ट्र बैंकलाई भनेर सो सीमा हटाउने व्यवस्था गराउन सक्थे । एउटा बैंकको एउटा खातावालाको पैसा बैंककै अर्काे खातावालकोमा जाने व्यवस्था रहेको कनेक्ट आइपिएसको भुक्तानीमा सीमा तोकेर अनावश्यक झन्झट कायम राखिरहनु पर्ने नै थिएन । अर्थमन्त्री खतिवडाले गभर्नर महाप्रसाद अधिकारीलाई एक कल फोन गरे मात्रै पनि यो सीमा हटाउन काफी हुन्छ । र, गभर्नरले सम्बन्धित विभागको कार्यकारी निर्देशकलाई तत्काल निर्देशन दिन सक्छन् । यो समस्या समाधान गर्न एक घण्टा पनि समय नलाग्नु पर्ने हो । तर, सरोकारवाला भने कनेक्ट आइपिएसबाट १० लाख रुपैयाँ मात्रै भुक्तानी गर्न पाइने सीमा नै बजार खोल्नको लागि बाधक हो भनेर स्वीकार गर्न तयार छैनन् । पुँजीगत लाभकर अन्तिम हो कि होइन भनेर प्रष्ट पार्ने काम पनि अर्थमन्त्रालय अन्तरगतकै निकायको हो । नेपालको कर कानुनले कर ऐनमा भएका व्यवस्थाको व्याख्या गर्ने अधिकार सम्बन्धित विभागको महानिर्देशकलाई दिएको छ । भन्सार महसुल सम्बन्धी विषयमा कुनै अस्पष्टता वा दुविधा भयो भने भन्सार विभागको महानिर्देशकले र आयकर तथा पुँजीगत लाभकर सम्बन्धी विषयमा कुनै दुविधा उत्पन्न भयो भने त्यसको व्याख्या आन्तरिक राजस्व विभागका महानिर्देशकले गर्ने व्यवस्था कानुनमै छ । त्यसैले पुँजीगत लाभकरको विषयमा आन्तरिक राजस्व विभागका महानिर्देशकले एक घण्टा पनि समय नलगाई स्पष्ट पार्न सक्छन् । समस्या समाधान गर्न साँच्चिकै तयार हुने भने एक घण्टा पनि समय नलाग्ने विषयलाई देखाएर ३ महिनादेखि बजार बन्द हुनसक्नु भनेको अर्थमन्त्री रमित बनेकैले हो । यसमा अर्थमन्त्री डा. खतिवडालाई मनको बाघले खाएको आभाष मिलेको लगानीकर्ता बताउँछन् । गैरसांसदको रुपमा फागुन तेस्रो सातादेखि अर्थमन्त्री पदमा बहाल रहेका डा. खतिवडालाई आफ्नो पद जोगाईराख्न भदौ तेस्रो साताभित्रमा सांसद बनिसक्नुपर्छ । सत्तारुढ नेकपा सचिवालय बैठकले राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनित हुने सांसदमा पार्टी उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्न प्रधानमन्त्रीलाई भनिसकेकोले उनले पार्टीको विश्वास पाएका छैनन् । भलै, प्रधानमन्त्री केपी शर्मा ओली दाहिना भएकोले मात्रै डा खतिवडा अर्थमन्त्री पदमा बहाल छन् । सेयर बजार धेरै घट्यो भने आफूविरुद्ध अर्काे नकारात्मक अंक थपिने आकलन अर्थमन्त्रीको छ । ‘बजार खुल्यो भने सेयरको मूल्य घट्छ, सेयर बजार घटेपछि आफूविरुद्ध नाराबाजी र मोर्चाबन्दी हुन्छ, त्यो मोर्चाबन्दी र नाराबाजीले मेरो पद धरापमा पर्छ भन्ने त्रास अर्थमन्त्रीमा देखिएको छ,’ एक लगानीकर्ताले भने । बजार घट्ने वा बढ्ने भनेको स्वभाविक प्रक्रिया हो । अर्थमन्त्री तर्सिए जस्तै गरी बजार धेरै घट्ने सम्भावना पनि कम छ । किनभने अहिले बैंकिङ क्षेत्रमा तरलता बढिरहेको छ । बैंकको व्याज घट्दो क्रममा छ । भन्सार महसुल बढेको कारण सुन महंगिएको छ । लगानीका अन्य क्षेत्र प्रायः सबै बन्द छन् । यस्तो बेलामा घर बसेर लगानी गर्न पाइने क्षेत्र भनेको सेयर बजार मात्रै हो । र, संसारका धेरै देशमा सेयर बजारले गति लिदै गरेको पछिल्लो अवस्था पनि देखिएको छ । अर्कै छ प्रपञ्च सेयर बजार बन्दक बनाएर अनुचित लाभ लिन ठूलै योजना तयार भएको स्रोतको दाबी छ । यो योजना कार्यान्वयन गर्नको लागि नेपाली बजार जस्तै संसारभरको इक्वीटी क्यास डेलिभरी प्रणालीमा लागू नभएको रियल टाइम सेटलमेन्ट अर्थात ‘टी प्लस जेरो’ प्रणालीको विषय उठाइएको छ । ‘संसारको सबैभन्दा विकसित र पुँजीबादी देश भनिने अमेरिकामा हाम्रो जस्तो इक्वीटी क्यास डेलिभरीमा २ दिन (टी प्लस टू) मा सेटलमेन्ट हुन्छ, हाम्रोमा रियल टाइम सेटलमेन्ट (टी प्लस जेरो) लागू गर्ने कुरा किन आयो ? यसको पछाडिको कारण खोज्ने हो भने सेयर बजार किन बन्द भइरहेको छ भन्ने प्रश्नको जवाफ भेटिन्छ,’ अर्का एक लगानीकर्ताले भने । ती लगानीकर्ताको शंका पुष्टी गर्ने केही गतिविधि पनि देखिएको छ । जस्तो कि सरकारले जेठ २५ गतेदेखि लकडाउन खुकुलो बनाउने निर्णय गर्यो । सो निर्णय गर्दा कोरोेना भाइरस संक्रमण रोक्न सावधानी अपनाउँदै सेयर बजार पनि खोल्ने प्रस्ताव अर्थमन्त्रालयबाट मन्त्रिपरिषदमा गएको स्रोतको दाबी छ । तर, मन्त्रिपरिषदबाट निर्णय भएर आउँदा सहकारी संस्था खोल्ने भनियो, सेयर बजार खुल्ला गर्ने विषय समावेश भएन । त्यसैले अर्थमन्त्रीभन्दा पनि माथि कसैले सेयर बजारका बारेमा केही योजना बनाइरहेकोे शंकालाई बल मिलेको छ । अर्थमन्त्री डा. खतिवडाले सेयरको अनलाइन कारोबारमा बेग्लै कम्पनी आवश्यक भएको आशय धितोपत्र बोर्डको वार्षिकोत्सव समारोहलाई गरेको सम्बोधनमा समावेश गरेका थिए । सो सम्बोधनमा उनले अनलाइन कारोबारमा बैंक खाता र डिम्याट खाता इन्ट्रिगेसन गर्न अहिलेको संरचना बाधक भए छुट्टै कम्पनी स्थापना गरेर भएपनि अघि बढ्नुपर्ने बताएका थिए । अर्थमन्त्री खतिवडाले यस्तो आशय व्यक्त गर्ने वित्तिकै धितोपत्र बोर्डले आगामी साउन १ गतेदेखि रियल टाइम सेटलमेन्टको लागि तयार रहन सरोकारवाला सबैलाई निर्देशन जारी गरेको छ । बोर्डको यस्तो निर्देशनपछि रियल टाइम सेटलमेन्टको काम अहिलेको संरचनाबाट नहुने भन्दै बेग्लै सिस्टम बनाउने तयारी भएको स्रोतको दाबी छ । यसमा सिडिएसमा काम गरिसकेका एकजना व्यक्तिको समेत संलग्नतामा नेपालकै सबैभन्दा प्रभावकारी भनिने एक भुक्तानी सेवा प्रदायक कम्पनीकाे माउ कम्पनी, भारतीय ब्रोकरलाई सफ्टवयर प्रदान गर्ने भनिएको एक भारतीय सफ्टवयर कम्पनीको नेपाली एजेन्ट र एक श्रीलंकाली सफ्टवयर कम्पनीको नेपाली एजेन्ट दौडधुपमा रहेको बताइएको छ । यसरी रियल टाइम सेटलमेन्टको लागि बेग्लै सिस्टम बनेर लागू भएमा त्यस्तो सिस्टम बनाउनेले करोडौं रुपैयाँ आम्दानी गर्ने सरोकारवालाले बताए ।

फेरि अनिश्चितकालका लागि बन्द भयाे सेयर बजार

काठमाडौं । सेयर बजार अनिश्चितका लागि बन्द गरिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले शनिबार एक सूचना सार्वजनिक गर्दै सेयरबजार अनिश्चितका लागि बन्द गरिएको जनाएको हो । स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार असार ७ गतेदेखि धितोपत्रको दोस्रो कारोबार स्थगन गर्ने निर्णय गरिएको हो । नेप्सेले धितोपत्र बोर्डबाट अर्को सूचना नभएसम्मका लागि बन्द हुने सूचनामार्फत जनाएको छ । गत साता नेप्सेले बोर्डको निर्देशनमा बिहीबारसम्मका लागि कारोबार बन्द गरेको थियो । अब आइतबारबाट बजार खुला हुन सक्ने सम्भावना रहेको भन्दै नेप्सेले तयारीमा रहन सरोकारवाला सबैलाई सूचना जारी गरेको थियो । तर शनिबार फेरि सूचना जारी गर्दै धितोपत्र बोर्डको अर्को निर्देशन प्राप्त नभएसम्म बजार बन्द रहने बताएको हो । अब बजार खुला हुने मिति अनिश्चित बनेको छ ।