कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोग निष्पक्ष छानबिनका उद्देश्यले गठन नभएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले कार्की आयोगको प्रतिवेदनले नै आयोग निष्पक्ष छानबिनका लागि नबनेको पुष्टि गरेको दाबी गरेका छन् । पोखरेलले आयोगको प्रतिवेदन र निर्वाचन प्रक्रियामा प्रयोग गरिएको भनिएको ‘अल्गोरिदम’ मार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक तथा कानुनी वैधानिकता दिने प्रयास गरिएको स्पष्ट भएको उल्लेख गरेका छन् । सोही प्रयासअनुसार निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको उनको भनाइ छ । उनका अनुसार निर्वाचन र आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर भएको छ । अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणमार्फत नयाँ शक्तिको उदय भएको उनले टिप्पणी गरेका छन् । पोखरेलले आगामी राजनीतिक यात्रा सहज नहुने उल्लेख गर्दै राष्ट्र र लोकतन्त्रले केही समय चुनौती सामना गर्नुपर्ने अवस्था आउने बताएका छन् । यस्तो अवस्थामा नयाँ शक्ति र नेतृत्वलाई आफ्नो दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु तथा जनतालाई प्रत्यक्ष अनुभवमार्फत मूल्याङ्कन गर्न दिनु विवेकपूर्ण कदम हुन सक्ने उनले बताएका छन् । यद्यपि लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद दीर्घकालीन रूपमा समस्याको समाधान वा विचारधारात्मक राजनीतिको विकल्प हुन नसक्ने उनको धारणा छ ।   

जीविकोपार्जन सुधारका लागि २ करोड २५ लाखको भैँसीपालन कार्यक्रम

अत्तरिया । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जीविकोपार्जन सुधारका लागि जिल्लाका नौ स्थानीय तहमा भैँसीपालन कार्यक्रम सञ्चालन गर्ने भएको छ । उक्त कार्यक्रम जिल्लाको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, गौरीगङ्गा नगरपालिका, टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिका, जानकी गाउँपालिका र मोहन्याल गाउँपालिकामा आगामी महिनादेखि सञ्चालन हुने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीका प्रमुख चन्द्रकान्त पन्तले जानकारी दिए । उक्त कार्यक्रम सञ्चालनका लागि दुई करोड २५ लाख रुपैयाँ बजेट रहेको उनले जानकारी दिए । भैँसीपालनलाई प्रवद्र्धन गर्ने, स्वस्थ पाडापाडी उत्पादन, दूध र मासु निर्यात, युवालाई भैँसीपालनमा प्रेरित गर्ने तथा भैँसीपालक किसानको आम्दानी वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताए । उनले भने, 'भैँसीपालक किसानको उत्पादन बढाउने, किसानको जीविकोपार्जनमा मद्दत पु¥याउने कार्यक्रमको उद्देश्य हो । यस कार्यक्रमबाट साना कृषक पनि लाभान्वित हुनेछन् ।'  कार्यक्रमअन्तर्गत पाडापाडी उत्पादनका लागि माउ भैँसी खरिद, सामुदायिक पशु प्रजनन केन्द्र स्थापना, गोठ निर्माण तथा सुधार, आहारा व्यवस्थापनलगायतमा किसानलाई अनुदान दिइने छ । अनुदान प्राप्त गर्न कृषक समूह वा महिला कृषक समूह हुनुपर्ने तथा समूहमा आबद्ध भई कम्तीमा १० वटा भैँसी पालेको हुनुपर्नेछ ।      

सडकमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि, दीर्घकालीन समाधान गर्न ६० करोड आवश्यक

काठमाडौं । भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडक अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ सिरुबारीमा ‘बेञ्चिङ’ विधिबाट पहिरो रोकथाम थालिएको छ । भिरालो जमिनमा सिँढी जस्तो तहको ढाँचारमा स्थिर बनाएर पहिरो नियन्त्रण गर्ने विधिलाई प्राविधिक भाषामा ‘बेञ्चिङ’ भनिन्छ । बेनी-जोमसोम-कोरला सडक आयोजनाले सिरूबारीमा वर्खायाममा पहिरो खसेर सडक अवरुद्ध हुने समस्याको अस्थायी समाधानका लागि अल्पकालीन रुपमा कम खर्चमा पहिरो रोकथाम गर्न सकिने उक्त विधि अपनाएको हो । आयोजना प्रमुख तेजस्वी शर्माले अस्थायी रुपमा सिरूबारीको पहिरो रोकथाम गरेर आगामी बर्खामा बेनी-जोमसोम-कोरला सडकमा नियमित यातायात सञ्चालन गरिने जानकारी दिए ।  ‘सिरुबारीको ३०० मिटर दुरीको पहिरोको दीर्घकालीन समाधानका लागि आवश्यक ६० करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चितता हुन नसकेपछि आयोजनाले आन्तरिक स्रोतबाट अस्थायी रुपमा पहिरो रोकथाम सिरु गरेको हो,’ उनले भने, ‘भिरालो पाखाको पहिरोलाई सिधै सडकमा खस्न नदिनका लागि डोजर परिचालन गरेर काम थालिएको छ ।’ सिरूबारीमा सडकदेखि एक किलोमिटर माथिसम्मको जमिन पहिरोमा परिणत भएको छ । सडकभन्दा तल कालीगण्डकी नदी छ । पछिल्लो तीन वर्षयता बर्खायाममा सिरूबारीको सडकमाथिबाट पहिरो खसेर दैनिक जसो बेनी-जोमसोम सडक अवरुद्ध हुने गरेको छ । सडक अवरुद्ध हुँदा कोरला नाकाबाट नेपाली बजारमा सामान ल्याएर आउने कन्टेनर, मुस्ताङ जाने आउने पर्यटक, तीर्थयात्री र स्थानीयहरू बीच बाटोमै रोकिएर अलपत्र पर्ने समस्या छ । बेनी-जोमसोम सडकको अन्य ठाउँका ठूला पहिरो नियन्त्रणका लागि काम थालिए पनि सबैभन्दा ठूलो सिरूबारीको पहिरो रोकथामका लागि बजेट अभावमा काम हुन सकेको थिएन । सडकभन्दा माथि बीच भागमा दुई ठाउँमा डोजरले सम्माएर पहिरोलाई सिधै खस्न नपाउने गरी सम्माइएको छ । करिब १७ मिटर फराकिलो पारिने सडकको डिलतर्फ ७ मिटर छाडेर कुनातर्फको १० मिटरमा पर्खाल लगाएर पहिरो थुप्रिने ठाउँ बनाइने आयोजना प्रमुख शर्माले बताए । 

चितवनका दुग्ध उत्पादक किसानले पाएनन् ५५ करोड भुक्तानी

काठमाडौं । चितवन जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत ५५ करोड  भुक्तानी पाउन सकेका छैनन् । उनीहरूले विगत ६ महिनादेखिको भुक्तानी पाउन नसकेका हुन् ।   जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर वगालेका अनुसार गत कात्तिकदेखिको दूधको भुक्तानी नपाउँदा किसान समस्यामा छन् । बजारको समस्या नभए पनि दुग्ध विकास संस्थानसहित ठूला दूध उद्योगले रकम भूक्तानी नगर्दा दुग्ध उत्पादक किसान समस्यामा परेका हुन् ।  उनले भने, ‘संस्थानको ६ महिनादेखि र अन्य उद्योगको तीन महिनादेखिको भुत्तानी बाँकी छ ।’ साना उद्योगले नियमित भूक्तानी गर्ने गरेको भए पनि ठूला उद्योगको भुक्तानी बाँकी रहेको अध्यक्ष वगालेले जानकारी दिए । जिल्लामा अहिले दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । जसमध्ये ५० प्रतिशतभन्दा बढी दूध बिक्री गर्न जिल्ला बाहिर लैजाने गरिन्छ । यहाँका ११५ दुग्ध उत्पादक सहकारी सङ्घले दैनिक दूध सङ्कलन गरेर ठूला उद्योगलाई बिक्री वितरण गर्ने गरेका छन् ।  ती सहकारीले समयमा भुक्तानी नपाउँदा किसानलाई भूक्तानी गर्न कठिन भएको उनले जानकारी दिए । जिल्लामा ४० हजार किसानले दूग्ध उत्पादन गर्दै आएका छन् ।

मन्त्रालयले ४ महिनादेखि कर्मचारी नपठाउँदा तिला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन

काठमाडौं । जुम्लाको तिला गाउँपालिका चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ ।  सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृतको रिक्त स्थानमा सम्बन्धित मन्त्रालयले अर्को कर्मचारी नपठाएपछि गाउँपालिकाको दैनिक कामकाज नै प्रभावित भएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए । प्रशासकीय अधिकृत नहुँदा कतिपय सम्पन्न भइसकेका योजनाको भुक्तानीलगायतका काम ठप्प छन् । सम्बन्धित मन्त्रालयसँग प्रशासकीय अधिकृत पठाइदिन गाउँपालिकादेखि पत्र पठाएपनि सुनुवाइ नभएको गुनासो छ ।  नयाँ सरकार गठन भएपछि मात्र प्रमुख प्रशासकीय अधिकृत पठाउने भनी मन्त्रालयबाट जवाफ पाएको गाउँपालिका अध्यक्ष रोकायाले बताए । यसअघिका प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराई गत माघको दोस्रो साता सरुवा भएका थिए । प्रमुख प्रशासकीय नहुँदा फागुनदेखि कर्मचारीको तलबसमेत निकासा हुन सकेको छैन । रासस

८ महिनामा सत्ती भन्सारले उठायो साढे ९ करोड रुपैयाँ राजस्व

काठमाडौं । कैलालीको टीकापुर नगरपालिका-९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा लक्ष्यको ६० प्रतिशत राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले वार्षिक लक्ष्यको ६० प्रतिशत राजस्व सङ्कलन गरे पनि बाँकी चार महिनामा ४० प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने देखिएको हो । कार्यालयले चालु आवमा १५ करोड ८४ लाख ४९ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा फागुनसम्म ९ करोड ६२ लाख ४१ हजार रुपैयाँ सङ्कलन गरेको छ । कार्यालयले लक्ष्यको सबैभन्दा कम साउनमा ६३ लाख ३७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । साउनमा १ करोड २८ लाख ९० हजार रुपैयाँ राजस्व सङ्कलन गर्नुपर्ने भए पनि लक्ष्यको ४९.१७ प्रतिशत मात्रै सङ्कलन भएको कार्यालय प्रमुख चक्रबहादुर सोनीले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी मङ्सिरमा १ करोड ६७ लाख ७४ हजार रुपैयाँ अर्थात् लक्ष्यको १३८.५१ प्रतिशत राजस्व सङ्कलन भएको छ । मङ्सिरमा भन्सारले १ करोड २१ लाख १० हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य पाएको थियो । गत वर्ष भन्सारले लक्ष्यको ११९ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । १२ करोड ७ लाख ३२ हजार रुपैयाँको लक्ष्य रहेकामा १४ करोड ३७ लाख ८२ लाख रुपैयाँ राजस्व उठाएको थियो । त्यसअघिका ३ वर्ष भन्सारले लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ । आव २०८०/८१ मा १२ करोड १ लाख ४७ हजार रुपैयाँ लक्ष्य रहेकामा १० करोड २ लाख ४२ हजार रुपैयाँ सङ्कलन भएको थियो । त्यसैगरी, आव २०७९/८० मा १६ करोड ९४ लाख ४१ हजार रुपैयाँ राजस्वको लक्ष्य पाएको भन्सार कार्यालयले ७ करोड ५० लाख ४० हजार रुपैयाँ मात्रै सङ्कलन गरेको थियो ।  आव २०७८/७९ मा पनि सत्ती भन्सारले राजस्व लक्ष्य हासिल गर्न सकेन । २० करोड ५८ लाख ६१ हजार रुपैयाँको लक्ष्य पछ्याएको भन्सार कार्यालयले १० करोड ६७ लाख ९३ हजार रुपैयाँ मात्र सङ्कलन गरेको थियो । १४ करोड २३ लाख ४८ हजार रुपैयाँको लक्ष्य आव २०७७/७८ मा पाएको भन्सारले १५ करोड ८३ लाख ७ हजार राजस्व रुपैयाँ सङ्कलन गरेको थियो ।

वर्षाका कारण ३० इँटा उद्योगमा साढे ७ करोड बढी क्षति

काठमाडौं । गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा उद्योगमा क्षति पुगेको छ । इँटा व्यवसायी समितिका जिल्ला अध्यक्ष रोम वलीका अनुसार बेमौसमी वर्षाले सुकाएर राखेका काँचो इँटामा क्षति पुर्याएको हो । सुकाउनका लागि राखेका इँटा पानीले भिजाएर माटोमा परिणत भएपछि व्यवसायी मारमा परेका छन् । अध्यक्ष वलीले जिल्लाको तुलसीपुर, घोराही र देउखुरी क्षेत्रमा रहेका प्रायः सबै इँटा उद्योगले ठूलो क्षति पुगेको बताए । हाल जिल्लाभरको क्षति विवरण सङ्कलन भइरहेको छ । प्रारम्भिक तथ्याङ्कअनुसार तुलसीपुर र घोराही क्षेत्रका २२ वटा उद्योगबाट मात्रै एक करोड रुपैयाँ बराबरको काँचो इँटा नष्ट भएको समितिका कोषाध्यक्ष केवल खत्रीले जानकारी दिए ।  देउखुरी क्षेत्रका ८ वटा इँटा उद्योगमा पनि क्षति भएको  प्रारम्भिक  विवरण प्राप्त भएको छ । हरेक इँटा उद्योगका पाँचदेखि ६ लाखसम्म कच्ची इँटा नष्ट भएको जनाइएको छ । काँचो इँटा सुकाउने सुरक्षित व्यवस्था र प्रविधि नहुँदा आफूहरूका करोडौं रुपैयाँ लगानी गरी सञ्चालन गरेका इँटा उद्योगको लगानी डुब्ने खतरा रहेको व्यवसायी बताउँछन् ।  हालसम्म प्राप्त विवरणअनुसार जिल्लाभर साढे ७ करोड रुपैयाँभन्दा बढी क्षति भएको इँटा व्यवसायी समितिका कोषाध्यक्ष खत्रीले बताए । ती उद्योगमा ३ हजार मजदुर कार्यरत छन् । 

पर्यटन पूर्वाधारका २७ आयोजना, २ करोड ३० लाख रुपैयाँ बजेट

काठमाडौं र मुस्ताङका पाँच पालिकामा चालु आव २०८२/८३ का लागि धार्मिक तथा पर्यटन पूर्वाधार निर्माण तथा स्तरोन्नतिसम्बन्धी २७ वटा आयोजना कार्यान्वयनमा ल्याइएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत एकीकृत सेवा कार्यालयले मुस्ताङका धार्मिक तथा पर्यटकीयस्थलको पर्यटनसम्बन्धी पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि चालु आवमा २ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो । धार्मिक तथा पर्यटकीय पूर्वाधार निर्माण, मर्मत तथा स्तरोन्नतिका लागि २४ वटा आयोजना कार्यान्वयन गर्न एकीकृत सेवा कार्यालयलाई बजेट सुनिश्चित गरिएको हो भने बाँकी ३ वटा आयोजना प्रदेश सरकारअन्तर्गत कार्यान्वयन गर्ने गरी बजेट सुनिश्चित गरेको एकीकृत सेवा कार्यालय मुस्ताङका प्रमुख निरपति दर्जीले जानकारी दिए । उनका अनुसार कार्यालयलाई धार्मिक तथा पर्यटकीयस्थलको मर्मत, स्तरोन्तिका लागि १ करोड ५० लाख रुपैयाँ र प्रदेश सरकारबाट अख्तियारी प्राप्त ३ वटा आयोजनाका लागि ८० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । चालु आवका लागि लोमान्थाङ गाउँपालिकामा ५, लोघेकर दामोदरकुण्ड गाउँपालिकामा १, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा २, घरपझोङ गाउँपालिकामा ९ र थासाङ गाउँपालिकामा ७ वटा आयोजना परेका एकीकृत सेवा कार्यालयले जनाएको छ । यसैगरी, प्रदेश सरकारबाट अख्तियारी प्राप्त भई कार्यान्वयनको चरणमा रहेका ३ आयोजनामध्ये थासाङ, घरपझोङ र लोमान्थाङ गाउँपालिकामा १/१ वटा परेका प्रमुख दर्जीले जानकारी दिए । धार्मिक तथा पर्यटन पूर्वाधारसम्बन्धी ५ वटा आयोजनाका लागि २५ लाख रुपैयाँ बजेट परेको छ । सोमध्ये लोमान्थाङमा रहेका ऐतिहासिक तथा धार्मिक ४ वटा गुम्बाको मर्मत तथा स्तरोन्नति र १ पर्यटकीयस्थलको पूर्वाधार स्तरोन्नतिका लागि उक्त बजेट विनियोजन भएको उनको भनाइ छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकामा चराङ गुम्बा मर्मत तथा स्तरोन्नति गर्न ५ लाख रुपैयाँ बजेट छुट्याइएको जनाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा २ आयोजनाका लागि १० लाख रुपैयाँ बजेट परेको छ । यहाँ बारागुङ मुक्तिक्षेत्र–४ तिरीस्थित गुम्बा मर्मत तथा स्तरोन्नति र बारागुङ मुक्तिक्षेत्र–३ छुसाङदेखि लोघेकर दामोदरकुण्डको ताङ्ग्या जाने पर्यटकीय पदमार्ग स्तरोन्नति गर्न उक्त बजेट विनियोजन भएको हो । घरपझोङ गाउँपालिकामा ९ वटा आयोजनाका लागि ५० लाख रुपैयाँ बजेट परेको छ । घरपझोङस्थित एयरपोर्ट पुथाङ भिरमा पर्यटकीय पूर्वाधार, जोमसोम पर्यटक पार्क निर्माण, इको म्युजियममा आवश्यक पर्यटकीय पूर्वाधार, छैरो छहरामा पर्यटन पूर्वाधार, ठिनी पर्यटकीय पूर्वाधार, ढुम्बाताल संरक्षण तथा सौन्दर्यीकरण, नीलगिरि भ्यू पार्क र रिसुम गुम्बा जाने पदमार्ग निर्माण गर्न उक्त बजेट परेको हो । थासाङ गाउँपालिकामा ७ आयोजनाका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यहाँ गुरुसाङ्बो धार्मिक क्षेत्रमा जीर्ण अवस्थामा रहेको ध्यान गर्ने कोठा निर्माण, नाखेधारा झरना पर्यटन पूर्वाधार निर्माण र छाक्ताङदेखि खल्ह्यु गोरेटो पदमार्ग निर्माण गरिने एकीकृत सेवा कार्यालयले उल्लेख गरेको छ । थासाङमा थकाली सामुदायिक ऐतिहासिक कोतघरको तला थप्ने, नाङसुङ गुम्बा मर्मतसम्भार, कालोपानी स्याकुप्रा पर्यटन मार्ग निर्माण र कालोपानी धुलो डाँडा भ्यू टावर पर्यटन मार्ग विस्तारलगायत आयोजना छन् । गण्डकी प्रदेश सरकारमार्फत यहाँस्थित एकीकृत सेवा कार्यालयले कार्यान्वयन गर्ने थासाङ गाउँपालिकामा अवस्थित धौलागिरि आइसफल पर्यटकीय पदमार्ग तथा पर्यटकीय पूर्वाधार निर्माणमा ४० लाख रुपैयाँ, घरपझोङ–४ जोमसोमस्थित कालीगण्डकी नदीमा रहेको ठूला चट्टानमा मूर्तिकला र शालिग्रामलगायत आकृति निर्माणमा २० लाख रुपैयाँ र लोमान्थाङ–१ छोसेरस्थित झोङ केपमा पर्यटकीय पार्क निर्माणमा २० लाख रुपैयाँ बजेट कार्यान्वयनको चरणमा रहेका कार्यालय प्रमुख दर्जीले जानकारी दिए । 

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेस र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बादल लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भेगमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू-भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी र हिमाली भू-भागका केही स्थानका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।  त्यसैगरी, आज राति देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भू-भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू-भागका केही स्थान तथा बाँकी हिमाली तथा पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

कार्यकर्ता र समर्थकसँग एमाले उपमहासचिव योगेश भट्टराईले मागे प्रत्यक्ष सुझाव

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचन २०८२ को निराशाजनक परिणामपछि पार्टीभित्र व्यापक समीक्षा र रूपान्तरणको बहस सुरु गरेका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को अन्तिम परिणाम सार्वजनिक भएसँगै एमालेले अपेक्षाकृत कमजोर प्रदर्शन गरेपछि भट्टराईले देश तथा प्रवासमा रहेका कार्यकर्ता, बुद्धिजीवी र समर्थकहरूसँग प्रत्यक्ष सुझाव मागेका हुन् । उनले सार्वजनिक अपिल जारी गर्दै एमाले जस्तो लोकप्रिय र सुदृढ संगठन भएको पार्टी किन कमजोर अवस्थामा पुग्यो भन्ने विषयमा वस्तुनिष्ठ समीक्षा आवश्यक रहेको बताएका छन् । समीक्षा आग्रहभन्दा माथि उठेर हुनुपर्ने उनको भनाइ छ । भट्टराईले पार्टीको एकता, रूपान्तरण, पुनर्गठन र पुनर्जागरणका लागि नयाँ संकल्प आवश्यक रहेको औंल्याएका छन् ।  उनले समीक्षामार्फत जिम्मेवारी किटान र जवाफदेहिताको प्रश्न समाधान गर्नुपर्नेमा जोड दिएका छन् । उनले सुझावका लागि तीन प्रमुख विषय पनि अघि सारेका छन् । उनले निर्वाचनमा कमजोर परिणाम आउनुका आन्तरिक र बाह्य कारणहरूसमेत माग गरेका छन् ।  एमालेका सबल, कमजोर पक्ष र भविष्यको सम्भावनाबारे समेत उपमहासचिव भट्टराईले सुझाव माग गरेका हुन् ।

प्राधिकरणको कारबाहीमा परे ८ बीमा कम्पनी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ८ बीमा कम्पनीलाई कारबाही गरेको छ । बीमा प्राधिकरणले बीमा ऐनअन्तर्गत काम नगर्ने कम्पनीलाई कारबाही गरेको प्राधिकरणका प्रवक्ता पुजन ढुंगेलले जानकारी दिइन् । प्राधिकरणकाे कारवाहीमा पर्ने बीमा कम्पनीहरूमा नेपाल लाइफ इन्स्योरेन्स, एशिएन लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रि इन्स्योरेन्स, नेको इन्स्योरेन्स, एलियन्ट इन्स्योरेन्स ब्रोकर कम्पनी, हिमालयन लाइफ र ओरियन्टल इन्स्योरेन्स रहेका छन् ।  प्रवक्ता ढुंगेलका अनुसार प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापालाई  सुधारको लागि सचेत गराउने वा निर्देशन दिने खालको कारबाही भएको छ । त्यस्तै, एलियन्ट इन्स्योरेन्सलाई तीन महिनाको लागि निलम्बन गरिएको छ । अरू बाँकी बीमा कम्पनीलाई  ऐनअनुसार २ लाख जरिवाना गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार कम्पनीहरूलाई बीमा ऐन, २०७९ को दफा १३८ को उपदफा ४ अनुसार कारबाही गरेको हो । उक्त दफामा प्राधिकरणको निर्देशनविपरीत काम गरेमा दुई लाखदेखि ५० लाखसम्म जरिवाना हुने व्यवस्था छ ।  ‘यो ऐन वा ऐन अन्तर्गत बनेको नियम, विनियम वा आदेश पालना नगरेमा वा  यस ऐन बमोजिमको रीत नपुर्याई बिमा व्यवसाय गरेमा वा झुटा विवरण तयार गरेमा प्राधिकरणले देहाय बमोजिमको जरिवाना गर्न सक्नेछ ।   दफा १३८ को उपदफा ४ अनुसार (क) पहिलोपटकका लागि दुई लाख रुपैयाँ, (ख) दोस्रोपटकको लागि पच्चीस लाख रुपैयाँ र (ग) तेस्रोपटक वा सोभन्दा बढीको लागि पटकैपिच्छे पचास लाख रुपैयाँ  जरिवानाको व्यवस्था गरिएको छ ।

२७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाखको कारोबार

काठमाडौं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पोमा रु एक करोड २२ लाखको आर्थिक कारोबार भएको छ । फ्लोरिकल्चर एशोसिएशन नेपालले भृकुटीमण्डपमा यही चैत पाँच गतेदेखि सुरु भएको मेलामा आइतबारसम्ममा कूल ६० हजार ७०० जनाले अवलोकन गरेका छन् । रु एक करोड २२ लाख ६० हजार बराबरको कारोबार भएको आयोजकले जनाएको छ ।  फ्यानका कोषाध्यक्ष राजकृष्ण बजगाईंका अनुसार पहिलो दिन नौ हजार ५०० जनाले अवलोकन गरेका थिए भने रु २१ लाख ५० हजार बराबरको कारोबार भएको थियो । दोस्रो दिन १७ हजार ५०० दर्शकको सहभागिता रु २९ लाख ५० हजार कारोबार भएको थियो । तेस्रो दिन २१ हजार ५०० दर्शकले मेला अवलोकन गरेका थिए भने रु ३९ लाख ८० हजार बराबरको कारोबार भएको थियो । अन्तिम दिन आइतबार १२ हजार २०० जना दर्शकले मेला अवलोकन गर्दा रु ३१ लाख ८० हजार कारोबार भएको थियो ।    ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नारासहित चैत ५ गतेदेखि सुरु भएको मेला आइतबार सकिएको हो । मेलामा व्यावसायिक ६५, अफिसियल ११, प्रतिस्पर्धात्मक दुई, फुड दुई, ल्याण्डस्केप एक, सेल्फी एक तथा बीवाइडी ईभी कारसहित गरी कूल ८३ वटा स्टल रहेका थिए । प्रदर्शनीमा सहभागी व्यवसायीले उत्पादन गरेका फूल तथा बिरुवाहरू विभिन्न विधामा प्रतिस्पर्धामा समावेश गरिएको बजगाईंले जानकारी दिए ।   हाल देशभर ५२ जिल्लामा २७० हेक्टर क्षेत्रफलमा फैलिएको पुष्प व्यवसायमा रु आठ अर्ब ८३ करोडभन्दा बढी लगानी रहेको र करिब ५३ हजार ५०० भन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाएको तथ्याङ्क छ । पछिल्लो समय विदेशी फूलको आयातमा भने उल्लेख्य गिरावट आएको छ ।  अघिल्लो वर्ष रु २७ करोड ७९ लाख बराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात भएकोमा यस वर्ष ५४.२७ प्रतिशतले घटेर रु १२ करोड ७० लाखमा सीमित भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । निर्याततर्फ भने १०९.१६ प्रतिशतले वृद्धि भई रु दुई करोड १३ लाख पुगेको छ । रासस

महासङ्घको निर्वाचनमा स्टक ब्रोकर एशोसिएशनकोतर्फबाट सागर ढकालको उम्मेदवारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको आसन्न निर्वाचनमा सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष ढकालले उक्त संस्थाको तर्फबाट महासङ्घको वस्तुगत तर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । एसोसिएसनको कार्यसमिति बैठकले सर्वसम्मति रूपमा अध्यक्ष ढकाललाई केन्द्रीय सदस्यमा उम्मेदवारी बनाउने निर्णय गरेको हो । एसोसिएसनको केही समयअघि बसेको कार्यसमिति बैठकले अध्यक्ष ढकाललाई केन्द्रीय सदस्य बनाउन आफूहरूले उल्लेखनीय भूमिका खेल्ने समेत जानकारी दिएको छ । नेपालको पुजी बजारमा ७२ लाख भन्दा बढी लगानीकर्ताहरू आबद्ध रहेको र अबको अर्थतन्त्रको मेरुदण्डको रुपमा पुँजी बजारलाई सशक्त रुपमा अघि बढाउने उद्देश्य अनुरुप स्टक बस ब्रोकर एसोसिएसको तर्फबाट आफूले महासङ्घको केन्द्रीय कार्यकारी सदस्य पदमा उम्मेदवारी दिएको अध्यक्ष ढकालले जानकारी दिए । 'अहिले पुँजी बजारमा ७२ लाख भन्दा बढी लगानीकर्ताहरू आबद्ध छन् भने पुजीबजारको मार्केट क्याप करिब ५० खर्बको हाराहारीमा छ,' उनले भने, 'यसलाई नेपालको पुँजी बजार मात्र नभई समग्र अर्थतन्त्रको ऐनाको रूपमा अघि बढाउनुपर्छ । समग्र लगानीकर्ता र नेपालको पुँजी बजारलाई मुख्य रूपमा अघि बढाउनकै लागि मैले महासङ्घको आसन निर्वाचनमा संस्थाको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको हुँ ।'  करिब दुई वर्षदेखि नेपालको पुँजी बजारमा आबद्ध अध्यक्ष ढकालको पुँजीबजारको साथै जलविद्युत, होटल पर्यटन, कृषि लगायतका क्षेत्रमा आबद्ध छन् । आफू महासङ्घको केन्द्रीय कार्यसमितिमा गएर नेपालका उद्योगी व्यवसायीको समस्या समाधानका लागि सरकारसँग नीतिगत लबिङमा लाग्ने समेत उनले जानकारी दिए । 'अहिले पुँजीबजारका साथै नेपालका उद्योग व्यवसायमा धेरै समस्या छन्,' उनले भने, 'सरकारले ती समस्या समाधान गर्न आलटाल गर्दै आएको छ । जेन्जी आन्दोलनपछि दुईतिहाइको नयाँ सरकार बन्ने क्रममा रहेको र अब बन्ने सरकारलाई व्यवसायीका समस्या समाधान गरी माग सम्बोधन गराउनका लागि पनि मैले महासङ्घको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हुँ ।'

६० हजार ७०० जनाले अवलोकन गरे फ्लोरा एक्स्पो, १ करोड २२ लाखको कारोबार

काठमाडौं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो १ करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै आइतबार सम्पन्न भएको छ । ४ दिनसम्म सञ्चालन भएको मेलामा दर्शकको उल्लेखनीय सहभागिता रहेको मेला संयोजक तथा फ्लोरिकल्चर एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले जानकारी दिए । ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नारासहित चैत ५ गतेदेखि मेला सुरु भएको थियो । कुल ६० हजार ७०० जनाले मेला अवलोकन गरेका थिए ।  मेलामा व्यावसायिक ६५, अफिसियल ११, प्रतिस्पर्धात्मक २ स्टल रहेका थिए । पुष्प व्यवसायमा ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा बढी लगानी रहेको र करिब ५३ हजार ५०० बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरेको जनाइएको छ । गत आर्थिक वर्षमा २७ करोड ७९ लाख रुपैयाँ बराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात भएकोमा यस वर्ष ५४.२७ प्रतिशतले घटेर १२ करोड ७० लाख रुपैयाँमा सीमित भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । निर्याततर्फ भने १०९.१६ प्रतिशतले वृद्धि भई २ करोड १३ लाख रुपैयाँ पुगेको एसोसिएसन अध्यक्ष राजेश भक्त श्रेष्ठले जानकारी दिए । 

पोखरा विमानस्थलमा ४६ करोड भ्रष्टाचार, २१ जनामाथि मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको बहुचर्चित भ्रष्टाचार प्रकरणमा पूर्वसचिव केदारबहादुर अधिकारीसहित २१ जना र ठेकेदार कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  पूर्वसचिव अधिकारी प्रतिनिधि सभाको पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मुख्यसचिव समेत हुन्। आयोगका अनुसार तत्कालीन सचिव अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका पूर्वमहानिर्देशकहरू सञ्जीव गौतम, राजन पोखरेल र प्रदीप अधिकारीसमेतलाई प्रतिवादी बनाइएको भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएको छ ।  साथै क्यानका वरिष्ठ इन्जिनियरहरू, लेखा अधिकृतहरू, चिनियाँ ठेकेदार कम्पनी चाइना सिम्याक इन्जिनियरीङ कम्पनि तथा परामर्शदाताकम्पनीका प्रतिनिधिहरूलाई पनि अभियोगमा समेटिएको छ । अख्तियारले ४६ करोड १५ लाख ८४ हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ ।

८ महिनामै भित्रिए करिब साढे ६ हजार ईभी, ९ अर्ब राजस्व

काठमाडौं । नेपाली सडकमा विद्युतीय सवारी साधन (ईभी) को उपस्थिति उल्लेखनीय रूपमा बढ्न थालेको छ । चालु आर्थिक वर्षको पहिलो ८ महिना (साउनदेखि फागुनसम्म) को तथ्यांकले नेपालमा ईभी प्रतिको आकर्षण लहरकै रूपमा देखिएको हो । भन्सार विभागले आइतबार (आज) सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार फागुन मसान्तसम्म देशभर ६ हजार ३ सय ९८ वटा विद्युतीय कार, जीप र भ्यान भित्रिएका छन् । जसमा २ वटा अन–एसेम्बल (जडान नगरिएका) गाडी समेत समावेश छन् ।  विद्युतीय गाडीको आयात बढ्दै जाँदा राज्यको ढुकुटीमा पनि उल्लेख्य योगदान पुगेको छ । विभागका अनुसार फागुनसम्म १४ अर्ब ९६ करोड १ लाख २७ हजार रुपैयाँ बराबरका ईभी आयात भएका छन् । यसरी ठुलो मात्रामा गाडी भित्रिँदा सरकारले ९ अर्ब ११ करोड ९ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।  अघिल्लो महिना माघसम्म ५ हजार ८ सय ९६ वटा ईभी भित्रिएका थिए । फागुन महिनामा मात्र थप ५ सय २ वटा ईभी नेपाल भित्रिएका हुन्, जसले बजारमा ईभीको माग स्थिर र उच्च रहेको देखाउँछ ।  नेपाली बजारमा मध्यम क्षमताका विद्युतीय गाडीको माग सबैभन्दा बढी देखिएको छ । विशेषगरी ५१ देखि १०० किलोवाट क्षमताका ईभी नेपाली उपभोक्ताको पहिलो रोजाइमा परेका छन् । जसमा ५० किलोवाटसम्मका २ हजार १९८ वटा ईभी आयात भएका छन् भने ५१ देखि १०० किलोवाटसम्मका ३ हजार ६७२ वटा अर्थात् सबैभन्दा धेरै आयात भएका छन् । यस्तै, १०१ देखि २०० किलोवाटसम्मका ५१९ वटा, २०१ देखि ३०० किलोवाटसम्मका ७ वटा तथा अन-एसेम्बल (५० किलोवाट) का २ वटा आयात भएका छन् ।  ठुला ईभीसँगै तीन पाङ्ग्रे विद्युतीय सवारीको आयात बढ्दै गएको छ । तथ्याङ्क अनुसार फागुन महिनासम्म ६ हजार १५ वटा तीन पाङ्ग्रे ईभी नेपाल भित्रिएका छन् । यसको आयात मूल्य ६५ करोड ५९ लाख ७५ हजार रुपैयाँ रहेको छ । विशेषगरी तराईका क्षेत्रमा ई–रिक्सा र तीन पाङ्ग्रे ईभीको प्रयोग बढ्दो छ । वातावरणमैत्री, न्यून सञ्चालन खर्च र सरकारले भन्सार महसुलमा दिएको सहुलियतका कारण सर्वसाधारणदेखि व्यवसायीसम्मको रोजाइमा ईभी पर्न थालेको हुन् । चार्जिङ स्टेशनको विस्तार र बैंकहरूको सहज फाइनान्सिङ सुविधाले पनि ईभी आयात उकालोतिर लागेको अटो व्यवसायीहरू बताउँछन् । 

बेमौसमी वर्षाका कारण ९ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगञ्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड बराबरको काँचो इँटामा क्षति पुगेको छ ।  इँटा व्यवसायीका अनुसार पोल्नका लागि तयारी अवस्थामा राखिएको ठूलो परिमाणको काँचो इँटा वर्षाले नष्ट भएपछि व्यवसायीलाई आठ करोड ७५ लाख रुपैयाँ बराबरको क्षति भएको इँटा उद्योग व्यवसायी सङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा बाँकेको पिबिसी इँटा उद्योगका सञ्चालक दीपक अधिकारीले जानकारी दिए । उनले बेमौसमी वर्षाले एउटा उद्योगमा मात्र करिब पाँच लाख काँचो इँटा नष्ट भएको उल्लेख गरे ।       व्यवसायी अधिकारीले जिल्लामा रहेका ७० वटा इँटा उद्योगमा तीन करोड ५० लाख काँचो इँटा नष्ट भएकाले आठ करोड ७५ लाख रुपैयाँ बराबरको क्षति भएको बताए । एउटा काँचो इँटाको मूल्य २.५० पैसा रुपैयाँ पर्ने अधिकारीले बताए ।      व्यवसायीका अनुसार खुलाचौरमा भर्खरै तयार पारेर सुक्नका लागि राखिएका अधिकांश इँटा पानीले भिजेर माटोमा परिणत भएका छन् । कर्णालीमा हिमपात भएसँगै बाँकेमा भएको वर्षाले यहाँका व्यवसायीले ठूलो क्षति बेहोर्नु परेको बाँकेका व्यवसायीहरूको भनाइ छ ।      इँटा उद्योग व्यवसायी सङ्घ बाँकेका अध्यक्ष देवबहादुर केसीले हरेक वर्ष बेमौसमी वर्षाको चपेटामा परेर जिल्लाका उद्योगीले ठूलो क्षति बेहोर्नु परेको बताए । उनले सरकारले काँचो इँटाको बिमा पनि नगर्ने र क्षतिपूर्ति पनि नदिने हुँदा व्यवसायीलाई ठूलो मर्का परेको उल्लेख गरे । रासस    

८ महिनामा करिब ११ खर्ब व्यापार घाटा, भारत र चीनसँग मात्रै ८ खर्ब बढी

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब ११ खर्ब रुपैयाँको व्यापार घाटा बेहारेको छ ।    भन्सार विभागले आइतबार (आज) सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार उक्त अवधिमा कुल १४ खर्ब ४० अर्ब ३६ करोड २२ लाखको कुल वैदेशिक व्यापारमा मुलुकले  १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख घाटा बेहोरेको हो ।  पछिल्लो आठ महिनामा १२ खर्ब ८९ अर्ब २५ करोडको आयात र १ खर्ब ९१ अर्ब ११ करोड २० लाख बराबरको निर्यात भएको विभागले जनाएको छ ।  गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा आयात १२ दशमलव ५४ र निर्यात २९ दशमलव ८३ प्रतिशतले बढेको छ ।       गत फागुन मसान्तसम्ममा भारतसँगको व्यापार घाटा मात्र ५ खर्ब ६७ अर्ब ३९ करोड छ । यस अवधिसम्ममा भारतबाट ७ खर्ब २४ अर्ब छ करोडको वस्तु आयात भएको छ भने १ खर्ब ५६ अर्ब ६६ करोड बराबरको निर्यात भएको छ।  त्यस्तै, छिमेकी मुलुक चीनसँग २ खर्ब ७५ अर्ब ६६ करोड ७० लाखको आयात र ९८ करोड ३३ लाखको निर्यात हुँदा २ खर्ब ६४ अर्ब ६८ करोड ३६ लाखको व्यापार घाटा बेहोर्नुपरेको विभागले जनाएको छ । नेपालले बढी व्यापार घाटा बेहोरेका मुलुकमा अर्जेन्टिना तेस्रो, संयुक्त अरब इमिरेट्स चौथो र इन्डोनेसिया पाँचौं स्थानमा छन् । नेपालको वैदेशिक व्यापारमा नाफा भएका मुलुकमा भने रोमानिया, नर्वे, आइसल्याण्ड, नाइजर, इराक, केन्यालगायत छन् । पछिल्लो आठ महिनामा रोमानियासँग ५० करोड ६५ लाख, नर्वेसँग रू तीन करोड ३३ लाख र आइसल्याण्डसँग २ करोड ५७ लाख बराबर व्यापार नाफा देखिएको छ । यस अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । विभागका अनुसार पछिल्लो आठ महिनामा  ८२ अर्ब १० करोड ५१ लाखको डिजेल, ४३ अर्ब ८९ करोड ७३ लाखको पेट्रोल ३७ अर्ब ३१ करोड ३७ लाख बराबरको एलपी ग्यास आयात भएको छ ।  त्यस्तै, ८१ अर्ब १८ करोड ६४ लाख बराबरको कच्चा भटमास तेल आयात भएको छ भने २९ अर्ब ९३ करोड ५९ लाख बराबरको स्मार्टफोन, ३६ अर्ब ८२ करोड ३० लाखको फलामजन्य वस्तु,  २३ अर्ब ४९ करोड ६७ लाखको सुन, १८ अर्ब ४४ करोड ७८ लाखको चाँदी आयात भएको छ । नेपालले बढी निर्यात गरेका वस्तुमा भटमास तेल पहिलो स्थानमा छ । पछिल्लो आठ महिनामा रू ७५ अर्ब ७७ करोड ४१ लाख बराबरको भटमास तेल निर्यात भएको छ ।  त्यस्तै, ९ अर्ब ४९ करोड, ६१ लाखको अलैंची,  ६ अर्ब ५३ करोड ९६ लाखको कार्पेट, ६ अर्ब २० करोड २३ लाखको सूर्यमुखी तेल, ४अर्ब ३२ करोडको पाम तेल निर्यात भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ साढे ५ करोड घाटामा

काठमाडौं । निजी क्षेत्रका उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) साढे ५ करोड रुपैयाँ घाटामा रहेको देखिएकाे छ । महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा महासंघ ५ करोड ३९ लाख ९४ हजार रुपैयाँ खुद घाटामा रहेको देखिएकाे हाे । जबकि अघिल्लो वर्ष महासंघ ३ करोड २६ लाख ६० हजार रुपैयाँ घाटामा थियो । तर, महासंघका महानिर्देशक गोकर्ण अवस्थीले वार्षिक तथ्यांकमात्र हेरेर संस्थालाई घाटामा रहेको निष्कर्ष निकाल्न नमिल्ने जानकारी दिए । उनका अनुसार महासंघको आय संरचना तीन वर्षे चक्रमा आधारित भएकाले प्रत्येक वर्ष नाफा-घाटा फरक देखिन सक्छ । ‘हाम्रो घाटा-नाफा भन्ने हुँदैन । सदस्यकाे नवीकरण चुनावी वर्षमा गर्ने अभ्यास छ । सदस्यता नै हाम्रो मुख्य आम्दानी हो, जुन हरेक वर्ष उठ्दैन,’ उनले भने, ‘कुनै वर्ष आम्दानीभन्दा खर्च बढी देखिए पनि समग्र अवधिमा संस्था घाटामा हुँदैन ।’  महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले पनि सदस्यता शुल्क संकलनको ढाँचाका कारण यस्तो अवस्था देखिएको हुन सक्ने बताए । ‘सदस्यता शुल्क प्रायः निर्वाचन वर्षमा एकै पटक उठ्छ । त्यसैले कुनै वर्ष घाटा र अर्को वर्ष नाफा देखिनु स्वाभाविक हो,’ उनले भने ।  तर, विगतमा महासंघ कुनै पनि वर्ष घाटामा गएको अनुभव आफूसँग नरहेको उनले सुनाए । ‘संस्थाले धान्ने गरी खर्च गर्नुपर्छ । खर्च धान्न नसक्ने हो भने कसले दिन्छ ?,’ उनले भने, ‘सामान्यतया संस्था घाटामा हुँदैन । निर्वाचनको वर्ष सबै व्यवस्थापन हुन्छ । तर, विगतमा कुनै पनि वर्ष महासंघ घाटामा थिएन ।’ उनका अनुसार महासंघका एशोसिएट सदस्य संख्या उल्लेख्य रूपमा बढेको छ र हाल करिब १ हजार ९ सय पुगेको छ । प्रतिवर्ष २० हजार रुपैयाँ सदस्यता शुल्क तिर्नुपर्ने व्यवस्था रहे पनि अधिकांश सदस्यले तीन वर्षको शुल्क एकैपटक बुझाउने गरेका छन् ।  महासंघले सदस्यता शुल्कबापत १ करोड ७९ लाख ११ हजार रुपैयाँ संकलन गरेको छ, जुन अघिल्लो वर्षको ८६ लाख ९० हजार रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो । उत्पत्तिको प्रमाणपत्र आयबापत ३ करोड ४ लाख २९ हजार रुपैयाँ आम्दानी भएको छ भने अघिल्लो वर्ष यो २ करोड २२ लाख ७९ हजार रुपैयाँ थियो । यस्तै, अनुदान आय घटेर २ करोड ५५ लाख ४२ हजार रुपैयाँमा सीमित भएको छ, जबकि अघिल्लो वर्ष ४ करोड ९३ लाख ९० हजार रुपैयाँ थियो । वित्तीय आम्दानी पनि घटेर १ करोड १२ लाख २३ हजार रुपैयाँमा झरेको छ । जबकि अघिल्लो वर्ष १ करोड ९० लाख ८४ हजार रुपैयाँ वित्तीय आम्दानी थियो । अन्य आम्दानी ४९ लाख ३६ हजार रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्ष ५१ लाख ८८ हजार रुपैयाँ थियो। समग्रमा महासंघको कुल आम्दानी घटेर ९ करोड ४३ हजार रुपैयाँमा पुगेको छ, जुन अघिल्लो वर्ष १० करोड ४६ लाख ३२ हजार रुपैयाँ थियो । खर्चतर्फ, महासंघले कर्मचारी खर्चमा ४ करोड २३ लाख ८० हजार रुपैयाँ बेहोरेको छ, जुन अघिल्लो वर्ष ५ करोड १७ लाख १८ हजार रुपैयाँ थियो । कार्यक्रम खर्च ३ करोड ६३ लाख ८४ हजार रुपैयाँ रहेको छ भने अघिल्लो वर्ष ५ करोड १० लाख रुपैयाँ खर्च गरिएको थियो ।  अघिल्लो वर्ष २ करोड ६ लाख ५४ हजार रुपैयाँ रहेको प्रशासनिक खर्च गत वर्ष बढेर २ करोड ४२ लाख १४ हजार रुपैयाँ पुगेको छ । महासंघका अनुसार गैर-प्रशासनिक खर्च ५५ लाख ८९ हजार रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्ष ३८ लाख ७४ हजार रुपैयाँ थियो । महासंघका अनुसार गत वर्ष विविध खर्च ५७ लाख २ हजार रुपैयाँ, प्रदेश उद्योग वाणिज्य संघतर्फ १ करोड ७ लाख १० हजार रुपैयाँ तथा बिदा व्यवस्थापनतर्फ १ करोड २७ लाख ६९ हजार रुपैयाँ खर्च भएको छ । समग्रमा गत वर्ष महासंघको कुल खर्च घटेको छ । गत वर्ष महासंघले १३ करोड ७७ लाख ५१ हजार रुपैयाँ कुल खर्च गरेको छ । जबकि अघिल्लो वर्ष १४ करोड ४३ लाख ९३ हजार रुपैयाँ कुल खर्च गरेको थियो ।  महासंघले काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा ९ लाख रुपैयाँ सेयर लगानी गरेको छ भने एनएमबि बैंकमा ३ करोड रुपैयाँ निक्षेप राखेकाे वार्षिक प्रतिवेदनमा उल्लेख छ । 

३६ करोडमा सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति सुरु

गोदावरी । कैलालीको चुरे गाउँपालिकास्थित  सहजपुर–घरखेडा–निगाली सडकको  स्तरोन्नति सुरु भएको छ । कैलालीको चुरे गाउँपालिका–३ सहजपुरबाट वडा नं १ स्थित गाउँपालिकाको केन्द्र रहेको घरखेडा–निगाली हुँदै धनगढी –दिपायल फाष्ट ट्र्याक जोड्ने १४.८३५ किलोमिटर सडकको स्तरोन्नति सुरु भएको पूर्वाधार विकास कार्यालय कैलालीले जनाएको छ ।       कार्यालयका इञ्जीनीयर सूर्यप्रकाश जोशीले विश्व बैंकको आर्थिक सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत स्तरोन्नति भइरहेको हो । उक्त सडक स्तरोन्नतिका लागि ३६ करोड ३० लाख ९९ हजार रुपैयाँमा ठेक्का सम्झौता भई काम सुरु भएको हो ।      सहजपुर–घरखेडा–निगाली सडक स्तरोन्नतिका लागि गत वैशाख १ गते ढुकेचु एएनके जोशी जेभी महेन्द्रनगरस्थित निर्माण कम्पनीसँग २०८४ जेठ ३ मा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको जोशीले बताए ।       सम्झौताअनुसार सहजपुदेखि गाउँपालिकाको केन्द्र रहेको घरखेडासम्म ६ किलोमिटर सडकमा कालोपत्र गरिनेछ भने घरखेडादेखि निगालीसम्म बाँकी ८.८३५ किलोमिटरमा पनि कालोपत्र गरिने पूर्वाधार विकास कार्यालय कैलालीले जनाएको छ ।