अर्थमन्त्रीको प्रश्नः मन्त्रीले बोलेर सेयर बजार घट्ने हो र ?
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारका व्यक्तिहरुले सेयर बजार घटेकोप्रति आफुमाथि आरोप लागेको बताएका छन् । मंगलबार अर्थशास्त्र केन्द्रिय विभाग त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको सरकारको पुँजीगत खर्च तथा नेपालमा प्रत्यक्ष बैदेशिक लगानी सम्बन्धि कार्यक्रममा अर्थमन्त्री शर्माले केही व्यक्तिहरुले आफुमाथि बजार घटेको आरोप लागेको बताउँदै त्यस्तो नगर्न पनि आग्रह गरे । ‘मैले यसअघि चार्टर्ड एकाउण्टेडहरुको कार्यक्रममा सेयर बजारको बारेमा थोरै बोलेको थिएँ, मैले बोलेकै कारण सेयर बजार घटेको ममाथि आरोप लाग्यो, के मन्त्री बोल्ने बित्तिकै सेयर बजार घट्ने हो र ? उनले उपस्थितहरुसँग प्रश्न गरे’ सेयर बजारभित्र क-कसले के गरिरहेको छ भन्ने विषयमा अध्ययन नगरी अर्थात थाहै नपाई कसैमाथि आरोप लगाउन नहुने उनकाे भनाई छ। सेयर बजारभित्र के कस्तो भइरहेको छ ? कसले के गरिरहेको छ भनेर थाहा पाउनु पर्छ, मन्त्रीकाे बाेलेकै आधारमा यस्ताे भन्नु हुँदैन, तर, यहाँ कसले के गरिरहेको छ के थाहा,’ उनले भने । यस्तै, उनले उत्पादनमा आधारित अर्थतन्त्रमा ध्यान दिनु पर्ने बताए । उनले उद्योगभन्दा पनि ट्रेन्डका आधारमा अर्थतन्त्र चलेको बताउँदै त्यसमा सुधार गर्नु पर्ने धारणा पनि राखे । यस्तै, कार्यक्रममा बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन कुमार गोल्यानले सेयर बजारमा विदेशी लगानी भित्र्याउनु पर्ने बताए । गैर आवासीय नेपाली (एनआरएन)हरु मार्फत लगानी भित्र्याई मर्चेन्ट बैंकिङ च्यानलबाट सेयर बजारमा लगानी ल्याउनु पर्ने उनको धारणा छ । सबैले मिलेर बजारमा लगानीमैत्री वातावरण सिर्जना गर्नु पर्ने बताउँदै उनले बैंक तथा वित्तीय संस्थाहरुको संस्थापक सेयर साधारण सेयरमा परिणत गर्न पाउनु पर्ने व्यवस्था पनि गर्नु पर्ने बताए । यस्तै, उनले विदेशीबाट सस्तो व्याजदरमा विदेशी मुद्रामा ऋण ल्याई नेपाली मुद्रामा कर्जा प्रवाह गर्दा उत्पन्न हुने जोखिम राष्ट्र बैंकले व्यवस्थापन गर्ने गरी हेजिङ सम्बन्धी नीतिगत व्यवस्था गरिनु पर्ने पनि धारणा राखे ।
विश्लेषणः सेयर बजार अब कता जाला ?
काठमाडौं । आज सेयर बजार मापक नेप्से परिसुचक ४.०५ प्रतिशतले घटेर २६९८.२५ विन्दुमा आइपुग्यो । दिनभरमा ११४.०२ अंकले घटेको बजारले केही निश्चित संकेतहरु दिएको छ । आजको बजारले दिएको खास संकेत भनेको नेपाल स्टक एक्सचेन्जमा दैनिक कारोबार हुन सक्ने सेयरहरुको मापक फ्लोट इन्डेक्स पनि ४.०४ प्रतिशतले घट्यो भने १ करोड ७३ लाख ३० हजारभन्दा बढी संख्याका सेयर खरिद विक्री भए । फ्लोट इन्डेक्स ४ प्रतिशतले घट्नु र १ करोड ७३ लाख ३० हजारभन्दा बढी संख्यामा सेयर खरिद विक्री हुनुले बजारमा विक्री चाप सहजै अनुमान गर्न सकिन्छ । करिब ११ सय विन्दुको वरिपरीबाट बढ्न थालेको यो सिजनको बुल बजार ३१९८ विन्दुमा पुगेर फर्किएको छ । आजको दिनको मात्रै बजारलाई हेर्ने भने पनि परिसुचक २८ सय विन्दुको वरिपरीबाट एकै पटक २६९८ विन्दुमा झरेको छ । यो बीचमा नेप्से परिसुचक ३१९८ उच्चतम विन्दुबाट २६९८ विन्दुमा आइपुग्दा १५.६३ प्रतिशतले घटिसकेको छ । बजार बढेकै समयमा पुँजी बजारका नियामक निकायहरु धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जका उच्च अधिकारीहरु सेयर खरिद विक्रीको विवादमा तानिए । बोर्ड अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदमाथि बुक विल्डिङ प्रक्रियाबाट आईपीओ जारी गर्न लागेको सर्वाेत्तम सिमेन्टको सेयर आफन्तको नाममा खरिद गरेको आरोप लाग्यो । यही आरोपका कारण नेप्सेका सिईओ साउदले राजीनामा दिइसकेका छन् भने बोर्ड अध्यक्ष ढुंगानालाई सरकारले पदबाट हटाएर छानविन समिति बनाएको छ । यद्यपि, बोर्ड अध्यक्ष ढुंगाना भने सरकारको निर्णय विरुद्ध सर्वाेच्च अदालत गएका छन् । नियामक निकायका उच्च अधिकारीहरुमाथि गलत तरिकाले सेयर खरिद विक्री गरेको आरोप लागेपछि बजारमा संकास्पद गतिविधि भएको हुने रहेछ भनेर ‘जेन्युइन’ लगानीकर्ता ‘साइड’ लाग्न खोजेको पनि हुन सक्छ । अर्काे, नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सेयर धितोमा पाइने मार्जिन प्रकृतिको कर्जामा एक व्यक्ति वा संस्थाले एउटा बैंक वित्तीय संस्थाबाट ४ करोड रुपैयाँसम्म र सबै बैंक वित्तीय संस्थाहरुबाट १२ करोड रुपैयाँसम्म मात्रै कर्जा लिन पाइने व्यवस्था गर्यो । राष्ट्र बैंकले गरेको यस्तो व्यवस्था पनि सेयर बजारका लागि प्रतिकुल रहेको लगानीकर्ताहरु बताइरहेका छन् । बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंक र पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड पनि बजारको अहिलेको बृद्धिमा केही ‘करेक्सन’ आउनु अनिवार्य रहेको अनौपचारिक कुराकानीमा बताइरहेका थिए । यस्तै, अर्थमन्त्रीले राजनीतिक प्रयोजनका लागि बजार बढ्नु राम्रो कुरा भएको बताए पनि अर्थमन्त्रालयका अन्य अधिकारीहरु भने अब बजार धेरै माथि पुगेकोले केही ‘करेक्सन’ होस भन्ने चाहन्थे । नीति र नीति निर्माताहरु अब बजार धेरै माथि जानु हुदैन भन्ने मान्यतामा पुगिसकेको बेलामा लगानीकर्ताकै नाममा केही व्यक्तिहरु नेपाल राष्ट्र बैंकका गभर्नर र अर्थमन्त्री चिढ्याउने हर्कतमा सामेल भए । बजार बढाउन सहयोगी भूमिका निर्वाह नगरेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा र मार्जिन प्रकृतिको कर्जामा ४ करोड र १२ करोडको व्यवस्था ल्याएर बजारमा नकारात्मक असर पारेको भन्दै गभर्नर महाप्रसाद अधिकारीलाई हटाउनु पर्ने माग गर्दै एकथरी ‘लगानीकर्ता’ आन्दोलनमा सहभागी भए । यस्ता हर्कतले पनि बजारमा द्वन्द र अविश्वासको अवस्था सिर्जना गर्यो । यही समयमा संसदबाट चालु आर्थिक वर्षको बजेट पारित गराउन नसकेर सरकार आफै बेखर्ची बन्यो । सरकारले खर्च गर्न नपाउने अवस्था सिर्जना भएका कारण बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) को अभाव अझ चर्कियो । तरलता अभाव भएकै कारण बैंक तथा वित्तीय संस्थाहरु व्याज बढाउन वाध्य भए । अहिले केही वाणिज्य बैंकहरुले मुद्दति निक्षेपमा १० प्रतिशतभन्दा बढी व्याज दिने सुचना नै प्रकाशित गरिसकेका छन् । सेयर बजार बढ्नको लागि नीतिगत, नीति निर्माता र बजार परिस्थिति अनुकल नभएको अहिलेको अवस्थामा बजारमा फेरि रौनक देखिएर तत्काल बजार बढ्ने सम्भावना कम देखिएको छ । तत्काल बजार धेरै नघटे पनि बढिहाल्ने सम्भावना कम देखिएको बजार विश्लेषक मुक्ति अर्याल बताउँछन् । ‘गत सातासम्म बजार फेरि बढ्न सक्छ कि भनेर मैले पनि लगानीकर्तालाई हतोत्साही नहुनु भन्ने गरेको थिएँ तर, आजको बजारमा फरक परिदृश्य देखियो, बजार थप कमजोर देखियो, त्यसैले अब सचेत रहनुस् भन्ने मेरो सुझाव छ,’ अर्यालले भने । उनले ३१९८ को विन्दुबाट बजार थप बढ्न सक्ने सम्भावना बाँकी नै भए पनि अब तत्काल बढ्ने सम्भावना कम देखेका छन् । ‘११ सयको विन्दुबाट बढ्न थालेको बजार ४ हजारभन्दा माथि पुगेको थियो भने धेरै बढ्यो भन्न सकिन्थ्यो होला तर, ३२ सय विन्दुमा नपुग्दै तल झर्न थाल्यो, आजको परिसुचकलाई हेर्ने हो भने बजार ३१९८ विन्दुबाट १५ प्रतिशतले तल झरिसक्यो, अब थप ५ प्रतिशतले घटेर समग्रमा २० प्रतिशतले बजार घट्यो भने वियरिस ट्रेण्ड सुरु भएको अर्थमा बुझ्दा हुन्छ,’ अर्यालले भने । अहिले बजार घट्नुमा नीतिगत कारण र नियामक निकायहरुबाट आएको प्रतिक्रिया नै मुख्य कारण भएको उनको विश्लेषण छ । ‘अहिले व्याजदर १ प्रतिशत जतिले बढेको छ, १ प्रतिशतले व्याजदर बढ्दा बजारमा ५० देखि १०० अंकको करेक्सन देखिनु सामान्य कुरा हो तर, अहिले बजार त्योभन्दा पनि धेरै घटिसकेको छ, यो भनेको नीतिगत कारण र नीति निर्माताले दिएको प्रतिकुल अभिव्यक्ति नै मुख्य कारक हो भन्ने मेरो विश्लेषण छ,’ अर्यालले भने । अहिले दोस्रो बजारमा प्रतिकित्ता १५ सय रुपैयाँमा पाइने कम्पनीले ३० प्रतिशतको हाराहारीमा प्रतिफल दिने देखिन्छ । यता बैंकहरु भने निक्षेपमा १० प्रतिशत व्याज दिने भनिरहेका छन् । यस्तो परिस्थितिमा १५ सय रुपैयाँ हालेर ३० रुपैयाँ प्रतिफल लिने कि त्यही १५ सय रुपैयाँ बैंकमा राखेर १५० रुपैयाँ व्याज खाने भन्ने छनोट लगानीकर्ताले गरेका पनि हुन सक्छन् । नेपालको सेयर बजारमा वित्तीय क्षेत्रको बाहुल्यता बढी छ । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष लगानीकर्तालाई औसतमा १२ प्रतिशत डिभिडेन्ड दिन सक्ने देखिन्छ । कोभिड महामारीको सन्त्रास कम हुँदै गएको, बजार, उद्योग व्यवसाय खुल्ला भइसकेको, शहरी क्षेत्रका धेरै नेपालीले कोभिड विरुद्धको खोप लगाइसकेको जस्ता कारणले सेयर बजारबाट लगानी झिकेर आफ्नै मुल पेशमा लगानी बढाउने क्रम बढेका कारण बजार घटेको हो भने बजारमा अब धेरै उछाल आउन सक्ने सम्भावना कम हुन्छ । यद्यपि, अर्याल भने लगानीकर्ताले आजको प्रतिफल भन्दा पनि आगामी दिनमा कम्पनी कस्तो हुन सक्छ भन्ने विश्लेषणका आधारमा बजारको दिशा तय हुने बताउँछन् । ‘आज १५ प्रतिशत दिने कम्पनी अर्काे वर्ष २० प्रतिशत दिन सक्ने बन्न सक्छ, कम्पनीको प्रगति लगानीकर्ताको विश्लेषणमा राम्रो हुन्छ कि हुन्न भन्ने कुराले सेयर बजारमा लगानी गर्ने कि नगर्ने भन्ने तय गर्छ, त्यसैले सुचिकृत कम्पनीहरुले यो वर्ष कम डिभिडेण्ड दिने भए भनेर लगानीकर्ता भागेका त होइन होला, मैले पहिला भने जस्तै नीतिगत कारण र नीति निर्माताको अभिव्यक्तिले घट्दो बजारमा थप निरासा उत्पन्न भएको हुन सक्छ,’ अर्यालले भने ।
सेयर बजारमा चरम निराशा, १११ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । सोमबारको सेयर बजार निरन्तर रुपमा ओरालो लागिरहेको छ । कारोबार शुरु भएदेखि ओरालो लागेको नेप्से परिसूचक साँढे २ घण्टामा १११.४६ अंकले घटेको छ । दिउँसो १ बजेर ३३ मिनेट जाँदा परिसूचक ३.९६ प्रतिशतले घटेर २७००.८० बिन्दुमा झरेको छ । यो अवधिमा २२३ वटा स्क्रिप्सको ५ अर्ब २१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भइसकेको छ । त्यस्तै, यो समाचार तयार पार्दासम्म २ कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकी समूह १८३ कम्पनीको सेयर मूल्य घटेको छ ।
अर्थमन्त्रीले फेरि कुरा फेरे, ‘सेयर बजारको विषयमा गभर्नरसँग कुरा भएको साँचो हो’
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले फेरि कुरा फेरेका छन् । शुक्रबार प्रतिनिधिसभामा सेयर बजारको विषयमा उठेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले आफूले गभर्नरसँग फोनमा कुरा नगरेको बताएका थिए । तर, दुई दिन नबित्दै फेरि उनले आइबार गभर्नरसँग कुरा भएको स्पष्ट पारे । उनले शुक्रबार संसदमा सेयर बजारबारे नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र आफूबीच कुनै कुरा बताएका थिए । तर, आइतबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले गभर्नरसँग कुरा भएको सुनाए । ‘गभर्नर मेरो सल्लाहकार हो, उहाँसँग मेरो कुरा नहुने होइन, कुरा भइरहन्छ, तर कुन विषयमा भयो भन्ने हो । तर, सेयर बजार बढाउनुस्/ घटाउनुस् भनेर भनेको छैन,’ उनले भने । उनले ४२ लाख जनताको को लगानीको रक्षा गर्नु पर्ने अवस्था रहेको बताउँदै यस विषयमा आफुहरु गम्भीर रहेको बताए । सेयर बजामरमा देखिएका समस्या भएका विषयमा छानबिन पनि भइरहेकाे उनले बताए । उनले आइतकार संसदमा भनेका थिए, ‘मैले गभर्नरसँग फोनमा कुरा गरेको समाचारमा कतै आएको होला तर, त्यो सत्य होइन ।’ गत भदौ २१ गते अर्थमन्त्री शर्माको सचिवालयबाट प्रेसित प्रेस विज्ञप्तिमा ‘सेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थमन्त्रालयको ध्यानाकर्षण भएको’ जानकारी दिएको थियो । सम्बन्धित सामग्री: सेयर बजारबारे संसदमा झुट बोले अर्थमन्त्री शर्माले
संशोधित बजेटलाई सेयर बजारको स्वागत, बजारले बुलिस ट्रेण्ड समातेकै हो ?
काठमाडौं । केही सातादेखि निरन्तर आरोलो यात्रामा रहेकाे सेयर बजार आइतबार भने ७१.४३ अंकले बढेको छ । आतइबार सेयर बजार ७१.४३ अंकले बढेर २९४७.४२ अंकमा पुगेको हो । आज बजार २.४८ प्रतिशतले वृद्धि भएकाे हाे । आज सेयर बजारमा १ करोड ७१ लाख कित्ता सेयर किनबेचबाट कुल ९ अर्ब ४४ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दाम बढी कमाउने कम्पनीहरुमा नेश्नल हाइड्रोपावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी, अपी पावर, अरुण काबेली पावर, छ्याङ्दी हाइड्रोपावर, फष्ट माइक्रो फाइनान्स कम्पनी, पाँचथर पावर कम्पनी लगायतका रहेका छन् । केही दिनदेखि उच्च रुपमा घट्दै गएको सेयर बजार आज उकालो लाग्दा फेरि बजारले बुलिस ट्रेण्ड समातेको होकि भन्ने आकलन पनि कतिपय लगानीकर्ताले गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले शंसोधित बजेट ल्याएपछिको यो पहिलो दिन हो । सेयर बजारले शंसोधित बजेटलाई स्वागत गरेको बुझ्न सकिन्छ ।
सेयर बजारबारे संसदमा झुट बोले अर्थमन्त्री शर्माले
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजार बारे संसदमा झुट बोलेका छन् । सेयर बजारबारे नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र आफूबीच कुनै कुरा नभएको भनेर अर्थमन्त्री शर्माले झुट बोलेका हुन् । आज (शुक्रबार) प्रतिनिधिसभामा नेमकिपाका सांसद प्रेम सुवालले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले आफूले गभर्नरसँग फोनमा कुरा नगरेको भन्दै झुट बोलेका हुन् । ‘मैले गभर्नरसँग फोनमा कुरा गरेको समाचारमा कतै आएको होला तर, त्यो सत्य होइन,’ अर्थमन्त्री शर्माले प्रतिनिधिसभा बैठकमा भनेका छन् । तर, अर्थमन्त्री शर्माले यो विषयमा झुट बोलेका हुन् । गत भदौ २१ गते अर्थमन्त्री शर्माको सचिवालयबाट प्रेसित प्रेस विज्ञप्तिमा ‘सेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थमन्त्रालयको ध्यानाकर्षण भएको’ जानकारी दिएको थियो । यस्तो छ मन्त्रालयले पठाएको प्रेस विज्ञप्ति पुँजी बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह काठमाडौं, २१ भदौ शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गर्नुभएको छ । कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गर्नुभएको छ । उहाँले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भन्नु भएको छ । जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
गर्भनरलाई अर्थमन्त्रीले फोन गरेपछि सेयर बजारमा १६२ अंकको वृद्धि
काठमाडौं । सोमबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजारको मूल्य परिसूचिक नेप्से १६२ अंकले वृद्धि भई २९८० अंक भएको छ । दिनभरमा १८५ वटा कम्पनीको सेयर किनबेच भएकोमा सबै कम्पनीको सेयर मूल्य वढेको छ । त्यसमा ४२ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । प्रतिशतका आधारमा ५.७४ प्रतिशतले मूल्य वृद्धि भएको छ । सोमबार मूल्यमा उच्च वृद्धि आए पनि कारोबार भने ९ अर्ब ८२ करोड रुपैयाँ बराबर भएको छ । आइतबार सेयर बजारमा १०८ अंकको गिरावट आएको थियो । आइतबार पाँच प्रतिशतले बजार घटेपछि नेप्सेमा सर्किटब्रेक लागेको थियो । मूल्यमा उच्च गिरावट आएपछि लगानीकर्ता राष्ट्र बैंकसँग आक्रोशित बन्दै विरोधमा उत्रिएका थिए । लगानीकर्ताको एउटा समूहले आईतबार नै गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेको थियो भने सोमबार विरोध प्रर्दशन गर्दै राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाएको थियो । लगानीकर्ताको साहानुभूति लिन अर्थमन्त्री जनार्दन शर्माले सोमबार विहान गभर्नर अधिकारीसँग टेलिफोन कुराकानी गरेको र सेयर बजारप्रति नकारात्मक असर पार्ने नीतिमा परिमार्जन गर्न निर्देशन दिएको अर्थमन्त्रालयद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । मन्त्रालयको विज्ञप्ती सार्वजनिक भएपनि सेयर बजारमा हरियाली छाउन शुरु भएको थियो ।
गभर्नरलाई अर्थमन्त्रीको फोनः सेयर बजारलाई के गर्नु पर्ने हो गरिदिनुस्
काठमाडौं । शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका छन् । कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका छन् । उनले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भनेका छन् । जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् ।
सेयर बजार १३ अंकले घट्यो
काठमाडौं । सोमबार सेयर बजार १३.६६ अंकले घटेको छ । सोमबार ११ बजेर ३२ मिनेट जाँदा सेयर बजार ०.४८ प्रतिशतले घटेर २८०५.१९ अंकमा सीमित भएको हो । यो समाचार तयार पार्दासम्म ४१ लाख ४४ हजार कित्ता सेयर खरिदबिक्रीबाट कुल १ अर्ब २१ करोड ५६ लाख ६२ हजार रुपैयाँको कारोबार भएको छ ।
सेयर बजारमा नेगेटिभ सर्किट, ५ प्रतिशतले घट्यो नेप्से
काठमाडौं । आइतबारकाे सेयर बजारमा नकारात्मक सर्किट लागेको छ । कारोबार खुलेको २ घण्टका नबित्दै ५ प्रतिशतले घटेपछि बजारमा नकारात्मक सर्किट ब्रेक लागेको हो । १२ बजेर ५९ मिनेटको अवधिमा परिसूचक ५.०३ प्रतिशत अर्थात १४७ अंकले ओरालो लागेर सर्किट लागेकाे हाे । यससँगै सेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको छ । यो अवधिसम्म बजारमा २१५ कम्पनीको सेयर कारोबार भइसकेको छ । उनीहरुको १ करोड ४८ लाख ३१ हजार ७३८ कित्ता सेयर ७ अर्ब १९ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जसमध्ये स बैभन्दा बढी जीवन बीमा समूह ७२५ अंकले ओरालो लागेको छ । त्यस्तै, कारोबारमा आएका कम्पनीमध्ये ५ कम्पनी बाहेक बाँकी ओरालो लागेका छन् ।
ओपनिङमै ६४ अंकले घट्यो सेयर बजार, सबै समूह राताम्मे
काठमाडौं । आइतबार कोरोबार सुरु भएदेखि नै सेयर बजारमा आरालो यात्रा सुरु भएको छ । ११ बजेर १४ मिनेट जाँदा सेयर बजार ६४.२२ अंकले घटेको हो । सो अवधिसम्म २६ कित्ता सेयर कारोबारबाट कुल ६९ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । आज सबै समूहहरु राताम्मे भएका छन् ।
सेयर बजारमा ५० अंकको गिरावट, ९ अर्ब रुपैया मात्रै कारोबार
काठमाडौं । बिहीबार सेयर बजारमा ५०.२८ अंकको गिरावट आएको छ । बुधबार झिनो अंकका साथ बढेको सेयर बजार बिहीबार पुनः उच्च अंकले गिरावट आएको हो । आज सेयर बजारमा कुल १ करोड ८१ लाख ९ हजार कित्ता सेयर किनबेचबाट कुल ९ अर्ब ५० करोड ५९ लाख रुपैयाँको कारोबार भएको हो ।
ओपनिङमै राताम्मे बन्यो सेयर बजार, ३० अंकले घट्यो
काठमाडौं । सेयर बजारमा सुरुमै ३०.७२ अंकको गिरावाट आएको छ । यो समाचार तयार पार्दासम्म सेयर बजार ३०.७२ अंकले गिरावट आएको हो । ११ बजेर ८ मिनेट जाँदा ५ लाख ६५ कित्ता सेयर किनबेचबाट कुल ४१ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ ।
साताको सेयर बजार: ९५ अर्बको कारोबार, जलविद्युत कम्पनीको सेयर मूल्यमा उछाल
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक यस साता उतारचढावपूर्ण अवस्थामा रह्यो । उल्लेख्य मात्रामा नेप्सेमा परिवर्तन नभए पनि कारोबार रकमसमेत ठूलो परिमाणमा वृद्धि भयो । अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्य वृद्धि भयो । कमजोर भनिएका जलविद्युत् कम्पनीको शेयर मूल्य अस्वाभाविक रुपमा वृद्धि भएपछि विद्युत् नियमन आयोगसमेत बोल्नुपर्ने अवस्थामा पुग्यो । प्रतिफलसमेत असाध्यै कम दिन सक्ने भनेर प्रक्षेपण गरिएका जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखियो । सङ्घीय संसद्को अर्थ समितिमा नेपाल धितोपत्र बार्ड र नेपाल स्टक एक्सचेन्जका प्रमुखहरुले गैरकानूनी रुपमा खरिद गरिएको भनिएको एक कम्पनीको शेयरका बारेमा राम्रै बहस भयो । यद्यपि शेयर बजारमा भने केही कीर्तिमानसमेत कायम भयो । नेप्सेले तीन हजार दुई सयको विन्दु पछ्यायो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको सामान्य प्रभावमा बजारमा देखियो । बैंकले शेयर खरिदमा प्राप्त गर्दै आएको मार्जिन लेन्डिङको सीमामा कडाइ गरेको छ । यस्तै सिडी रेसियोमा पनि नयाँ व्यवस्था गरेको छ । कारोबारको अन्तिम दिन नेप्से दोहोरो अङ्कले घट्यो भने अन्य दिन सामान्य रुपमा मात्रै वृद्धि भए । कारोबार रकम औसतमा १८ अर्बको हाराहारीमा रहन पुग्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार यस साता कूल दुई सय २९ कम्पनीको १५ करोड ७१ लाख २६ हजार चार सय ८४ कित्ता शेयर ९५ अर्ब नौ करोड ५८ लाख १३ हजार पाँच सय ९२ मूल्यमा खरिद–बिक्री भए । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटे पनि कारोबार रकममा भने नयाँ कीर्तिमान कायम ग¥यो । त्यस दिन नेप्से २४.५७ अङ्कले घटेर तीन हजार १५४.३३ मा पुग्यो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९० विन्दुले घटेर ५८९.२८ मा पुग्यो । कूल दुई सय २२ कम्पनीको तीन करोड ५५ लाख ५० हजार ६ सय ८८ कित्ता शेयर २१ अर्ब ६४ करोड ७६ लाख ६ सय ५५ मूल्यमा खरिदबिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लागेको छ भने १० उपसमूहको शेयर भने ओरालो लाग्यो । कारोबारका आधारमा त्यस दिन नेपाल बैंक शीर्ष स्थानमा रही एक अर्ब पाँच करोड ४६ लाख ७८ हजार आठ सय १५ बराबरको कारोबार भयो । आइतबार तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । त्यसमा खानीखोला हाइड्रोपावर, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्सुरेन्स कम्पनी थिए । साताको दोस्रो दिन सोमबार नेप्सेमा झिनो सुधार भयो भने कारोबार रकम १५ अर्ब ९३ करोडमा सीमित भयो । त्यस दिन नेप्से परिसूचक झिनो अङ्कले उकालो लाग्यो । आइतबारको तुलनामा नेप्से सम्हालिएर ५.७२ विन्दुले वृद्धि हुँदा तीन हजार १६०.०५ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५६ विन्दुले बढेर ५९२.९३ मा पुग्यो । कूल दुई सय २७ कम्पनीको दुई करोड ८६ लाख १७ हजार आठ सय पाँच कित्ता शेयर १५ अर्ब ९३ करोड आठ लाख ९७ हजार नौ सय ३८ मूल्यमा खरिद–बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण ४४ खर्ब १४ अर्ब ११ करोड १० लाख पाँच हजार बराबर पुग्यो । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर ओरालो लाग्यो भने सात उपसमूहको शेयर उकालो लाग्यो । त्यस दिन कारोबारका आधारमा सोमबार नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रही ७४ करोड ९७ हजार चार सय ५६ बराबरको कारोबार गर्याे । सोमबार पनि विभिन्न पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । ती कम्पनीमा नेशनल हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जीवन विकास थिए । साताको तेस्रो दिन मङ्गलबार विकास बैंक, जलविद्युत् र वित्त क्षेत्रका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखियो । नेप्से ०.२३ विन्दुले बढेर तीन हजार १६०.३१ मा पुग्यो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३५ विन्दुले बढेर ५९३.२८ मा पुग्यो । कूल दुई सय २१ कम्पनीको तीन करोड छ लाख १३ हजार चार सय ३९ कित्ता शेयर १८ अर्ब २० करोड ४९ लाख ३९ हजार दुई सय ३७ मूल्यमा खरिद–बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण ४४ खर्ब १४ अर्ब ४३ करोड ७० लाख ९० हजार बराबर पुग्यो । कारोबार भएका १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने सात उपसमूहको शेयर ओरालो लाग्यो । कारोबारका अपी पावर कम्पनी शीर्ष स्थानमा रही ८६ करोड ३८ लाख २४ हजार सात सय १७ बराबरको शेयर खरिद–बिक्री भयो । मङ्गलबार विभिन्न १५ कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । कारोबार हुने साताको चौथो दिन बुधबार नेप्से ३२.०४ विन्दुले बढेर तीन हजार १९२.३५ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३८ विन्दुले बढेर ५९६.६६ मा पुग्यो । कूल दुई सय २५ कम्पनीको तीन करोड १४ लाख ३१ हजार आठ सय ५५ कित्ता शेयर १८ अर्ब ८१ करोड ३१ लाख ६४ हजार नौ सय ९५ मूल्य बराबरको कारोबार भए । कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर मूल्य बढ्यो । बुधबारको कारोबारपछि बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख ९२ हजार ९१ बराबर पुग्यो । कारोबारका आधारमा नेशनल हाइड्रोपावरक कम्पनी शीर्ष स्थानमा रही ७८ करोड ८७ लाख तीन हजार पाँच सय २० बराबरको शेयर खरिद–बिक्री भयो । त्यस दिन विभिन्न छ कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । लगातार कीर्तिमान कायम राख्दै आएको नेप्सेमा शेयर कारोबार हुने साताको अन्तिम बिहीबार भने करेक्शन देखियो । त्यस दिन नेप्सेमा १८.२४ विन्दुले गिरावट आई तीन हजार १८०.७८ मा ओर्लियो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.३३ विन्दुले घटेर ५९०.१५ विन्दुमा सीमित भयो । कूल दुई सय २९ कम्पनीको तीन करोड नौ लाख १२ हजार ६ सय ९७ कित्ता शेयर २० अर्ब ४९ करोड ९२ लाख १० हजार सात सय ६७ मूल्यमा खरिद–बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा वृद्धि भयो भने आठ उपसमूहको शेयर ओरालो लाग्यो । त्यस दिन कारोबारका आधारमा अरुण काबेली शीर्ष स्थानमा रही एक अर्ब १६ करोड ७८ लाख ३२ हजार चार सय ३५ बराबरको शेयर खरिद–बिक्री भयो । बिहीबार कारोबारका आधारमा जीवन विकास लघुवित्तको शेयरमा १० प्रतिशतले मूल्यवृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । रासस
सेयर बजारमा ३७ लाख आवद्ध, सय जनाले मात्रै लाभ लिए
यतिबेला नेपालको पुँजीबजार लाखौँको सहभागितामा अगाडि बढिरहेको छ । कारोबार भइरहेको छ । आर्थिक नीति घोषणासँगै करिब साढे २१ अर्बको कारोबार भएको थियो । एकातिर यसले सकारात्मक दिशा लिइरहेको अवस्था छ भने अर्कोतिर पुँजीबजारलाई सही ढंगले नियमन गर्नका लागि र आम जनतालाई यथार्थसमेत सुसूचित गर्नका लागि हामीले थप प्रयास गर्नुपर्ने मैले देखेको छु । यसै विषयमा धितोपत्र बोर्डको सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारहरू सार्वजनिक भए । नियामक संस्थाकै अधिकारीहरूले आफ्नो परिवार भित्रै सेयर खरिद बिक्रीका ठुलाठुला कारोबार भएका खबरहरू सार्वजनिक भए । त्यसलगत्तै अर्थ मन्त्रालयको ध्यानाकर्षित भयो । धितोपत्र बोर्डमा भएको के हो भनेर यथार्थ बुझ्नका लागि सर्वप्रथमतः पत्राचार गरियो । त्यसको जवाफ पनि प्राप्त भएको छ । त्यसले पनि नपुग्ने भएपछि मन्त्रीस्तरीय निर्णयबाट पाँच सदस्यीय छानबिन समिति बनाएर छानबिनको काम अगाडि बढेको छ । सञ्चारमाध्यममा आएका समाचार के हो त भनेर सत्य तथ्य जानकारी छानबिन समितिले दिनेछ । त्यसपछि आम नागरिकलाई जानकारी गराउनेछौँ । सोअनुसारको मन्त्रालयले आवश्यक कारबाही गर्नेछ । धितोपत्र बोर्ड र स्टक एक्स्चेन्ज लगायतमा देखिएका समस्याहरूको छानबिनबाट सत्य तथ्य बाहिर ल्याउनेछौँ । अहिले दिनानुदिन पूँजीबजार बढ्दो छ । धेरै आम सर्वसाधारणले पनि यसमा व्यापक लगानी गरेका छन् । त्यो लगानीको संरक्षण गर्ने र जनताको हितको संरक्षण गर्नलाई मन्त्रालय प्रतिबद्ध छ । सार्वजनिक रूपमा मैले यो कुरा भन्दै आइरहेको छु । आम लगानीकर्ताको हितमा मन्त्रालयले आवश्यक कदमहरू चाल्नेछ । यो कुरा बारम्बार भन्दै आइरहेको छु । यहाँ पनि यो भन्न चाहन्छु । अहिले अनियमिताको बारेमा उठेका प्रश्नका बारेमा यही नै भनेर निष्कर्ष निकाल्नुभन्दा पनि छानबिनबाट प्राप्त भएको रिपोर्टको आधारमा मात्रै भन्न सकिने भएको हुनाले त्यहाँको याथार्थ कुरा आइसकेपछि हामी त्यस बारेमा सार्वजनिक गर्न, आवश्यक प्रक्रिया चाल्न स्वभाविक हुने भएकाले हाम्रो ध्यान त्यसमा केन्द्रित भएको छ । छानबिन अगाडि बढेको छ । र हाम्रो ध्यान जनताको कारोबार र लगानी संरक्षण गर्नतिर छ । पूँजीबजार सम्बन्धी तपाईँहरूले अध्ययन गर्नुभएको रहेछ । त्यसको रिपोर्ट हामीले पनि अध्ययन गर्न पायौँ भने अझ हामीलाई सजिलो होला । जहाँसम्म धितोपत्र बोर्ड, नेप्सेलगायतका निकायहरू छन्, ती निकायहरूले गर्ने काम कारबाहीबारे आवश्यक नियमन गर्ने र त्यसलाई सही दिशातिर लैजाने एउटा जिम्मेवारी अर्थ मन्त्रालयमा रहेको कारणले विषय उठ्ने बित्तिकै हाम्रो ध्याकर्षण भयो । विषय उठ्ने बित्तिकै पत्राचार भयो । यहाँ स्पष्टीकरण संस्थालाई किन लेखियो भनेर प्रश्न उठेको छ । संस्थालाई चिठी लेख्दा अपूर्ण भएकाले व्यक्तिलाई फेरि चिठी लेखियो । व्यक्तिको स्पष्टीकरणले पनि हामीलाई चित्त नबुझेको हुँदा छानबिन समिति बनाइएको हो । छानबिन समितिलाई पनि हामीले धेरै समय दिएका छैनौँ । अब केही दिनमै समितिले हामीलाई रिपोर्ट बुझाउनेछ । छानबिन समितिको लागि पुनरावेदन वा उच्च अदालतको न्यायाधीशको नेतृत्वमा समिति बनाउने कानूनी व्यवस्था पनि एकातिर छ । फेरि अर्कातिर तपाईँहरू लगायत सबैलाई छिटो नतिजा आउनुपर्ने भन्ने भावना भएकाले हामीले छिटो गर्नका लागि समिति बनाइसकेका छौँ । तपाईँहरूलाई जति छिटो होस् भन्ने लागेको छ, त्यति नै हामीलाई पनि लागेको छ । यस किसिमका समस्यालाई समाधान गर्न कानूनमा भएका ‘लूप होल’हरूलाई समेत टाल्नुपर्ने अवस्था आएको छ । अब नयाँ कानूनको पनि खाँचो देखिएको छ । यो सबैलाई लागेको कुरा हो । हामी सदनमा प्रस्तुत गर्छौँ । अब त्यसलाई पास गर्ने काम तपाईँ माननीय सदस्यहरूको हो । हामीले छिटो गर्न खोज्नुको एउटै मात्र कारण छ, जनताको पैसा कतै डुब्ने हो कि भन्ने चिन्ता । अहिले पूँजीबजार किन बढ्यो भने कोरोनाका कारण भएका निषेधाज्ञाले गर्दा अन्य लगानीका वैकल्पिक बाटाहरू भएनन् । अनि इन्टरनेको पहुँच भएका आम मानिसहरूको ध्यान यतातिर आकर्षित भयो । यता आकर्षित हुँदा करिब ३७ लाखले कारोबार गरिरहेको रेकर्ड छ । त्यो ३७ लाखमध्ये अत्याधिक मानिस सामान्य हुन् । सय जना जति मात्रले यसको लाभ लिइरहेका छन् । त्यसैले ती सामान्य मानिसहरूको लगानी पनि नडुबोस् भन्नेमा हाम्रो ध्यान गम्भीर ढङ्गले गएको छ । अहिले समस्याका बारेमा धेरै कुरा भन्न नहुने अवस्थामा छ । म आफैँले निर्णय गरेर छानबिन गर्न लगाइएको छु । अहिले धेरै बोले त्यसमा प्रभाव पर्न सक्छ । त्यसैले छानबिन समितिको अन्तिम रिपोर्ट नआएसम्म यसमा धेरै कुरा बताउन नमिल्ने अवस्था छ । अर्को कुरा अस्वभाविक मूल्य वृद्धिको कुरा पनि आइरहेको छ । ती कुराहरूमा पनि हाम्रो ध्यान पुगेको छ । माननीय सदस्यहरूले हेर्नु भएको होला, विद्युत नियमन आयोगले यस्तो विषयमा सूचना जारी गरेको छ । आम लगानीकर्ताहरूलाई पनि भन्न चाहन्छु कि त्यो सूचना हेर्नुहोस् । आयोगले कम्पनीको बारेमा सत्य तथ्य बुझेर मात्र लगानी गर्न भनेको छ । लगानीलाई प्रेरित गर्ने हाम्रो काम हो । त्यसकारणले कहाँ लगानी गर्दा फाइदा हुन्छ, के अवस्था छ भनेर जानकारी दिने काम पनि विभिन्न नियमनकारी निकायहरूले गरिरहेको कुरा पनि यहाँ जानकारी गराउन चाहन्छु । यहाँ इन्साइडर ट्रेडिङसँग प्रविधिको समस्या पनि होला । हिजो कतिले कारोबार गर्थे, आज कतिले कारोबार गरिरहेका छन् भन्ने कुरामा पनि प्रविधि परिष्कृत गर्नुपर्ने आवश्यकता होला । अन्य कारणले आम लगानीकर्तालाई समस्या भएको होला । यी यावत विषयमा हाम्रो ध्यानाकर्षण भएको छ । यी सबै विषयमा छानबिन गर्न छानबिन समितिलाई कार्यादेश दिएका छौँ । यो छानबिन आम लगानीकर्ताको हितमा हुनेछ । ढुक्क हुन म माननीय सदस्यहरूलाई माननीय सभापति मार्फत आग्रह गर्न चाहन्छु । यो कुरा काम भएपछि देखिनेछ । (आज प्रतिनिधिसभा अन्तरगतको अर्थसमितिमा अर्थमन्त्री शर्माले व्यक्त गरेको धारणा)
मौद्रिक नीतिले हल्लायो सेयर बजार, दिनभर तीव्र उतारचढाव, हालसम्मकै उच्च कारोबार
काठमाडौं । आइतबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति पछिको पहिलो दिनको कारोबार मै बजारमा उच्च उतारचढाव देखिएको हो । दिनभरको कारोबारमा ८२.६२ अंकको उतारचढाव देखिएको छ । सो दिनको बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक अधिकतम ३१८७.४८ र न्युनतम ३१०४.८६ बिन्दुसम्म झरेको थियो । नियमित समयमा कारोबार खुल्दा (११ बजे) नेप्से परिसूचक ३१७१.१ बिन्दुमा थियो । त्यसको तीन मिनेट नबित्दै परिसूचक घटेर ३१४० बिन्दुसम्म झर्यो । त्यसपछि ११ बजेर १६ मिनेट जाँदा परिसूचक बढेर ३१८७.४१ बिन्दुसम्म पुगेको थियो । जुन सो दिनको अधिकतम बिन्दु हो । तर त्यसपछिको बजारमा करिब डेढ घण्टाको अवधिमा बजार निरन्तर घटेर ३१०५ बिन्दुसम्म घट्यो । जुन सो दिनको नियमित समयको न्युनतम बिन्दु हो । त्यस्तै, त्यसपछिको बजारले पुनः उकालोको बाटो तय गरेको थियो । र, २ बजेर ३० मिनेट जाँदा परिसूचक ३१७४.२८ बिन्दुसम्म पुगेको थियो । बजारका लगानीकर्ता संगठनका प्रतिनिधिले अर्थमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएसँगै बजारमा केही करेक्सन आएको देखिन्छ । भेटमा अर्थमन्त्रीले बजारलाई प्रभाव पर्ने कुनै पनि काम हुन नदिने जस्तो आश्वासन दिएसँगै लगानीकर्तालाई केही राहत भएको महसुस गरेसँगै अन्त्यमा बजारले उकालोको बाटो तय गरेको देखिन्छ । अन्ततः आइतबारको सेयर बजार २४.५७ बिन्दुले घटेर ३१५४.३४ बिन्दुमा अडिएको छ । जुन पछिल्लो कारोबारको तुलनामा ०.७७ प्रतिशतले घटी हो । तीव्र उतारचढाव देखिएको बजारमा हालसम्मकै उच्च कारोबार भएको छ । दिनभरको कारोबारमा २१ अर्ब ६४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । जुन नेपाली पुँजीबजारको इतिहासमै पहिलो रेकर्ड हो । सो दिन २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन १ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको देखिन्छ । बजारमा तीन कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ भने एक कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भएको छ । जसमध्ये खानीखोला हाइड्रोपावर कम्पनी, जीवन विकास लघुवित्त वित्तीय संस्था र यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ । त्यस्तै, आईसीएफसी फाइनान्स कम्पनीको सेयर मूल्य ९.५६ प्रतिशतले बढेर प्रतिकित्ता १०२० रुपैयाँ पुगेको छ । आइतबार सबैभन्दा बढी एनआईबिएल प्रगति फण्डको मूल्य घटेको छ । जसको एकैदिन ८.५४ प्रतिशतले घटेर प्रतिइकाई १२.८५ रुपैयाँमा झरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्र लिन सक्ने नयाँ व्यवस्था गरेको थियो । जसमा पुँजीबजारका लगानीकर्ताले आपत्ति जनाउँदै यसलाई हटाउन माग समेत गरिसकेका छन् ।
सेयर बजारमा पहिरो, दुई समूहबाहेक सबै राताम्मे
काठमाडौं । आइतबारको सेयर बजारमा पहिरो लागेको छ । नियमित कारोबार खुलेको पौने दुई घण्टामै सेयर कारोबारमा मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ । दिउँसो १२ बजेर ३९ मिनेट जाँदा नेप्से परिसूचक ७३ अंकले घटेर ३१०५ बिन्दुुसम्म झरेको छ । जुन पछिल्लो कारोबारको तुलनामा २ प्रतिशतभन्दा बढी हो । यो समाचार तयार पार्दासम्म बजारमा ९ अर्ब ८५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो अवधिसम्ममा २१५ कम्पनीको एक करोड ५८ लाख ७० हजार २९७ कित्ता सेयर किनबेच भइरहेको छ । दुई समूहबाहेक बाँकी समूह राताम्मे देखिएका छन् । उत्पादनमूलक र माइक्रोफाइनान्स समूह क्रमशः १०८ र २२ अंकले बढेका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् ।
सेयर बजारका विषयमा श्वेतपत्रमा के लेखिएको छ ?
काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र जारी गरेका छन् । उनले मंगलबार प्रतिनिधिसभा बैठकमा श्वेतपत्र जारी गरेका हुन् । उनले श्वेतपत्रमा सेयर बजारको बारेमा पनि बोलेका छन् । उनले सेयर बजारमा साना लगानीकर्ताको आकर्षण बढाउनु पर्ने र सेयर बजार पारदर्शी बनाउनु पर्ने बताएका हुन् । सेयर बजार सम्बन्धि श्वेतपत्रमा यस्तो लेखिएको छः विसं. २०७६ असार मसान्तमा १२५९.० विन्दुमा पुगेको नेप्से परिसूचक वि.सं. २०७७ असार मसान्तमा १३६२.४ विन्दु कायम रहेको थियो।वि.सं. २०७८ असार मसान्तमा उक्त परिसूचक २८२२.७ विन्दु कायम भएको छ। पुँजी बजारमा नयाँ लगानीकर्ताहरुको प्रवेश एवम्वित्तीय स्रोतको सहज उपलब्धता लगायतका कारण नेप्से सूचकाङ्कमा तीब्र वृद्धि भएकोछ.वि.सं. २०७७ असार मसान्तमा बजार पुँजीकरणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४५.८ प्रतिशत रहेकोमा वि.सं.२०७८ जेठ मसान्तमा उक्त अनुपात ९८.८प्रतिशत कायम भएको छ। पुँजी बजारमा सूचीकृत कम्पनीहरुमा वित्तीय संस्थाको संख्या अधिक रहेको छ भने उत्पादन क्षेत्रका कम्पनीहरुको उपस्थिति न्यून रहेको छ।पुँजी बजारमार्फत उत्पादनमूलक क्षेत्रको विकासका लागि पुँजी परिचालन गर्न आवश्यक संस्थागत तथा नीतिगत सुधारको खाँचो रहेको छ। लगानीकर्ताको मनोबल उच्च पार्न सम्बन्धित निकायबाट नियमन र अनुगमनलाई थप प्रभावकारी बनाई पुँजी बजारलाई सुशासनयुक्त, पारदर्शी, प्रविधिमैत्री र जवाफदेही बनाउनुपर्ने भएको छ।साथै, पुँजी बजारमा स्वचालित प्रणाली प्रवर्द्धन गर्ने र साना लगानीकर्ताको पहुँच बढाउँदै लगानीकर्ताको हित संरक्षण गरी स्वस्थ बजार प्रणाली विकास गर्दै लानुपर्ने देखिन्छ।
मौद्रिक नीतिको पर्खाइमा सेयर बजार, लगानीकर्ता पर्ख र हेरको अवस्थामा
काठमाडौं । लगानीकर्ता चालु आर्थिक वर्षको मौद्रिक नीतिको पखाईमा रहेका छन् । पछिल्लो समयमा सेयर बजार सामान्य अंकले वृद्धि हुनुले बजारका लगानीकर्ताले मौद्रिक नीति कुरेर बसेको भन्ने बुझिन्छ । बजारमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेकाले आइतबार जस्तै सोमबारको बजारमा पनि झिनो अंकको वृद्धि भएको छ । सोमबारको बजार अघिल्लो दिनको तुलनामा ०.०५ प्रतिशत अर्थात १.४७ अंकले बढेर ३१०९.६० बिन्दुमा पुगेको छ । बजारमा कुल २२४ कम्पनीको २ करोड ५३ लाख कित्ता सेयर १४ अर्ब १३ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन ६७ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता ६२८ रुपैयाँमा भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको अग्रस्थानामा अधिकांश हाइड्रो कम्पनी रहेका छन् । अरुण भ्यालीसहित बढी कारोबार गर्नेको शीर्ष ६ स्थानमा सबै हाइड्रो कम्पनी रहेका छन् । अपर तामाकोशीको ५८ करोड ९९ लाख, अपि पावरको ५३ करोड ८० लाख, सिनर्जी पावर डेभलपमेन्टको ५० करोड ४५ लाख, यूनाईटेड मोदी हाइड्रोपावरको ४५ करोड ९० लाख र नेशनल हाइड्रोपावरको ४२ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सामान्य अंकले बढेको बजारमा पनि ९ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । सो दिन आईसीएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डभेलपर्स, यूनियन हाइड्रोपावर र ज्योति विकास लघुवित्तको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ । त्यस्तै, नाङ्दी ग्रुप पावरको ९.९९, यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको ९.९८ र हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य ९.६७ प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भएको छ ।
सांसदलाई पनि सेयर बजारकै चिन्ताः प्रतिकूल प्रभाव नपर्ने मौद्रिक नीति ल्याउनु
काठमाडौं । संसदीय समितिले पनि सेयर बजारप्रति चासो देखाएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत गरेका व्यवस्थाले पुँजी बजारमा नकारात्मक असर पर्ने हो कि भन्ने चिन्ता व्यक्त गर्दै संसदीय समितिले त्यस्तो नगर्न राष्ट्र बैंकलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तरगतको अर्थसमितिले मौद्रिक नीतिको व्यवस्थाले पुँजी बजारको विकास र स्थायित्वमा प्रतिकूल प्रभाव पर्न नहुनेतर्फ राष्ट्र बैंकलाई सचेत गराएको छ । ‘मौद्रिक नीतिबाट पुँजी बजारको विकास र स्थायित्वमा प्रतिकूल प्रभाव नपर्ने गरी नीतिगत प्रबन्ध गर्ने,’ मौद्रिक नीतिको लागि दिइएको १७ बुँदे निर्देशनमध्ये एक बुँदामा भनिएको छ । समितिले चालु आर्थिक वर्षको मौद्रिक नीतिका बारेमा सुझाव दिन आज बैठक गरेको थियो । सो बैठकमा पूर्व अर्थमन्त्रीहरुले उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौैद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैैंकलाई सुझाव दिएका छन् । समितिको बैठकमा बोल्दै पूर्व अर्थमन्त्रीहरु डा. बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे र वर्षमान पुनले निर्यातमूलक उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौद्रिक नीति ल्याउन सरकारसँग आग्रह गरेका थिए । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका डा. भट्टराईले कर्जाको अभावमा अघि बढ्न नसकेका ग्रामीण क्षेत्रमा लगानीको वातावरण हुने गरी लगानी केन्द्रित नहुँदा बैंक मोटाउन तथा देश र जनता गरिव हुँदै जाने अवस्था आएको भन्दै त्यसको अन्त्य हुने गरी मौद्रिक नीति ल्याउनुपर्ने आवश्यक्ता औंल्याए । ‘खाली हामीले घरजग्गा किनबेचमा मात्रै कर्जा प्रवाह ग¥र्यौ । यसले देश र जनता सधैं गरिव भईरहने, बेरोजगार युवाहरु विदेश पलायन हुने अवस्था आयो । यसको अन्त्य गर्नका लागि ग्रामिण क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौद्रिक नीति आउनु प¥यो । अन्यथा देश र जनता सधैं गरिव हुने र बैंकहरुमाथि धनी हुने अवस्थाको अन्त्य हुन सक्दैन,’ डा. भट्टराईले भने । नेकपा एमालेका नेता एवम् पूर्व अर्थमन्त्री पाण्डेले निर्यातमूलक र उत्पादनमूलक क्षेत्रमा लगानी गरी रोजगारी सृजना हुने क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौद्रिक नीति ल्याउनुपर्ने धारणा राखे । ‘निर्यातमूलक र उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गरौं । अनुचित खर्च घटाऔं । यसैले सम्बोधन हुने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउनु पर्दछ,’ पूर्व अर्थमन्त्री पाण्डेले भने । नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्व अर्थमन्त्री पुनले उद्यमशीलताको क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौदिक नीति ल्याउनुपर्ने बताए । शैक्षिक प्रमाणपत्रको आधारमा कर्जा प्रवाह गर्ने व्यवस्थालाई सहजीकरण गरेर मुलुकलाई आर्थिक रुपले सवल बनाउने गरी अघि बढ्न नेपाल राष्ट्र बैैंकलाई उनको आग्रह थियो । ‘धनीलाई सस्तो व्याजदरमा कर्जा दिने तर गरिवलाई नदिने परिपाटीको अन्त्य नभएसम्म मुलुक समृद्ध हुन सक्दैन,’ पूर्व अर्थमन्त्री पाण्डेले भने । बैठकमा समितिका सदस्यहरुले बैंकहरु मोटाउने तथा जनता र देश गरिव हुने खालको बिडम्बनापूर्ण अवस्थाको अन्त्य हुने गरी नीतिगत र संरचनागत व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले ग्रामीण क्षेत्रमा लगानीको वातावरण बनाउने गरी मौद्रिक नीति ल्याउनुपर्ने पनि जोड दिएका छन । यस्तो छ समितिले दिएको १७ बुँदे सुझाव १. चालु आर्थिक वर्षको बजेटले घोषणा गरेका कोभिड महामारीको प्रतिकूल प्रभावले गर्दा शिथिल भएको अर्थतन्त्रलाई चलायमान बनाई अर्थतन्त्रका मुख्य परिचालन क्षेत्रलाई प्रवद्र्धन गर्न र तीव्र आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न राहत, सहुलियत र आर्थिक पुनरुत्थान कार्यक्रम कार्यान्वयन गर्न मौद्रिक नीतिमा प्रथामिकता निर्धारण गर्ने । २. घरेलु, साना, मझौला तथा ठुला उद्योग, पर्यटन, निजी शैक्षिक संस्था, यातायात, चलचित्र उद्योग तथा सञ्चार गृहमा कार्यरत श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि स्थापना गरिएको व्यवसायिक निरन्तरता कोषमा तोकिएको रकम समयमै जम्मा गरी प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने । ३. कोभिड–१९ प्रभावित व्यवसायीका लागि नेपाल राष्ट्र बैंकबाट ५ प्रतिशत व्याजदरमा प्रदान गरिँदै आएको सुविधालाई यसले धेरै असर पारेका व्यवसायको क्षेत्र र रकमको सीमा विस्तार गरी प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने । ४. लघु, साना तथा मझौला उद्योग र व्यवसायिक कृषि, युवा उद्यम तथा वैदेशिक रोजगारीबाट फर्किएका व्याक्तिहरुका लागि प्रदान गरिने सहुलियतपूर्ण कर्र्जाको क्षेत्र र सीमा विस्तार गरि प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउने । ५. युवा उद्यमीलाई स्टार्ट अप व्यवसायमा संलग्न हुन उत्प्रेरित गर्ने उद्देश्यले परियोजना धितो राखी एक प्रतिशत व्याज दरमा रु २५ लाखसम्म पुँजी कर्जा उपलब्ध गराउने कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने । ६. स्नातक वा सोभन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफूले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत व्याज दरमा २५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने गरी मौद्रिक नीतिले व्यवस्था गर्ने । ७. वित्तीय प्रणालीमा रहेको स्रोत साधनलाई आर्थिक वृद्धि, स्वदेशी उद्यमशीलता प्रवद्र्धन र रोजगारी सिर्जना हुने उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न मौद्रिक नीतिको प्रथामिकता केन्द्रित गर्ने र वित्तीय स्थायित्व कायम गर्ने तर्फ समेत सचेत रहने गरी नीतिगत प्रबन्ध गर्ने । ८. मौद्रिक नीतिबाट पुँजी बजारको विकास र स्थायित्वमा प्रतिकूल प्रभाव नपर्ने गरी नीतिगत प्रबन्ध गर्ने । ९. गत आर्थिक वर्षमा शोधनान्तर स्थिति घाटामा रहेको देखिएकाले अनावश्यक र विलासिताका वस्तुहरुको आयातलाई निरुत्साहित गरी विदेशी मुद्राको अपव्यय रोक्ने नीतिगत प्रबन्ध गर्ने। १०. बैंक तथा वित्तीय संस्थाहरुको आवश्यकता, क्षमता र प्रतिस्पर्धाको अवस्था विश्लेषण गरी मर्जर तथा एक्विजिसन गर्ने नीतिगत प्रबन्ध गर्ने । ११. बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने विविध सेवाहरुको शुल्क असल अभ्यास अवलम्बन गरेका मुलुकहरुमा जस्तै थप पारदर्शी बनाउन र सेवा शुल्क निर्धारण गर्दा मूलतः प्रतिस्पर्धात्मक वातावरणमा निर्धारण गर्ने नीति लिने साथै तोकिएको रकमभन्दा कम रकमको कारोबार गर्ने साना ग्राहकको प्रोत्साहन नघट्ने गरी नियमनको व्यवस्था मिलाउने । १२. कोभिड–१९ ले अर्थतन्त्रका विभिन्न क्षेत्रका उद्योग व्यवसायमा पारेको प्रभाव विश्लेषण गरी ती उद्योग व्यवसायमा प्रवाह भएको कर्जाको प्रभावको आधारमा चालु आर्थिक वर्षमा समेत पुनर्सरचना, व्याज पुँजीकरण र पुनर्तालिकीकरण गर्ने । १३. मौद्रिक नीतिले वृहत आर्थिक स्थायित्व कायम गर्ने, अर्थतन्त्रको तीव्र वृद्धिसमेत गर्दै दिगो विकासमा जोड दिने, वित्तीय सेवाको पहुँच अभिवृद्धि, वित्तीय क्षेत्रको स्थायित्व, सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास साथै समष्टिगत आर्थिक नीति र वित्त नीतिका लक्ष्य उद्देश्य पूरा गर्ने दिशातर्फ केन्द्रित प्राथमिकतालाई ध्यान दिने । १४. बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तर्गत वाणिज्य बैंकले प्रतिशाखा कम्तिमा १० र विकास बैंकले प्रतिशाखा कम्तिमा ५ जनाको दरले सहुलियतपूर्ण कर्जा उपलब्ध गराइ रोजगारी सिर्जना गर्ने विशिष्ट कार्ययोजना बनाई यथाशीघ्र लागू गर्ने । १५. विगतदेखि नै अनिवार्य रूपमा बैंकहरुले लगानी गर्नुपर्ने भनी छुट्याइएका क्षेत्र र बजेटले गरेका नयाँ व्यवस्था अनुरुपका क्षेत्रमा समेत अनिवार्य रूपमा लगानी हुने व्यवस्था गर्ने । १६. धेरै संख्याका साना व्यवसायीहरुले समेत पाउन सक्ने गरी पुनरकर्जा प्रवाह सम्बन्धी कार्यविधि बनाई लागू गर्ने । १७. वर्तमान परिस्थितिमा अर्थतन्त्रका हरेक क्षेत्रले अनुत्पादनशील क्षेत्रका खर्च कटौती गरी संघ संस्थाहरुलाई मितव्ययी र नतिजामुखी बनाउनुपर्ने आवश्यकता देखिएकाले बैंक तथा वित्तीय संस्थाहरुले समेत अनुचित खर्च कटौती गरी कोषको लागत कम गर्दै सुलभ र सहुलियतपूर्ण कर्जा साथै बैंक तथा वित्तीय संस्थाहरुको प्रतिफलमा सन्तुलन ल्याउने गरी मौद्रिक नीति ल्याउने ।