सेयर बजारमा ठूला लगानीकर्ता बाहिरिने खतरालाई टार्न सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्छ : सांसद रोकाय

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायले सेयर बजारमा ठूला लगानीकर्ता बाहिरिने खतरा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सेयर बजारमा सरकारकै त्रासका कारण ठूला लगानीकर्ताहरू बाहिरिने खतरा रहेको औँल्याउँदै त्यसलाई रोक्न सरकारले कदम चाल्नुपर्ने उनको भनाई थियो ।  सोमबार बसेको राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद रोकायले सेयर बजारमा आएको गिरावटले लगानी कर्तामा नकारात्मक भाष्य निर्माण भएको उल्लेख गर्दै त्यसलाई हटाउन सरकारले आवश्यक निर्णय लिनुपर्ने बताए ।  उनले भने, ‘सेयर बजारमा लगानी कर्ताले करिब ३ खर्ब गुमाएका छन् । नयाँ र बलियो सरकार आईसकेपछि उद्योगी, व्यवसायी उत्साही पनि थिए । तर सरकारले उद्योगी व्यवसायी माथि गरेको एक्सनले पुँजी बजार अव बढ्न पाउँदैन भन्ने नकारात्मक भाष्य सृजना भएकाले नेप्सेमा लगातार उच्च अंकको गिरावट देखिएको स्टक ब्रोकर एशोसिशनले जनाएको छ ।’ सांसद रोकायाले पूँजी बजार अब बढ्न नपाउने भन्ने आशंका पनि सरकारले तत्काल निवारण गर्नुपर्ने बताए । 

सरकारी कर्मचारीलाई दुई दिन सार्वजनिक बिदा दिने निर्णय तत्काल फिर्ता गर्नुपर्ने राष्ट्रिय सभामा माग

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन ।  सोमबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद विष्णुबहादुर विश्वकर्माले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग समेत गरे । उनले भने,‘मध्यपूर्वको युद्धलाई निहुँ बनाएर हाम्रो सरकारले सरकारी र शिक्षण संस्थालाई दुई दिन बिदा गराउनु राम्रो होइन । करिब ३ दिन कर्मचारी र विद्यार्थीलाई बेरोजगार राख्नु बेथिति सृजना गर्नु हुनसक्छ । यो निर्णय फिर्ता लिएर सहजता उपलब्ध गराउन म सरकारसँग जोडदार माग गर्दछु ।’ सांसद सावित्री मल्लले खाने पकाउने ग्याससहित पेट्रोललगायतका इन्धनमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन सरकारलाई दबाब दिइन् ।  उनले बजारमा महंगी र दैनिक उपभोग्य वस्तुको समेत अभाव भएकाले त्यसलाई सहज र सुलभ बनाउने काममा पनि सरकारले तत्काल आवश्यक निर्णय लिनुपर्ने बताइन् । सांसद मल्लले सरकारले मूल्य वृद्धि नियन्त्रण गरेर आम उपभोक्तालाई मारबाट पार लगाउनुपर्ने पनि बताइन् ।

ब्रोकर व्यवसायीहरूसँग अर्थमन्त्रीले भने- स्वर्णिम समय आउँदैछ, हल्लाको पछि नलागौँ

काठमाडौं । पुँजी बजारको वर्तमान अवस्था, सुधारका उपाय र बजार सुधार सम्बन्धी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल स्टक ब्रोकर एशोसिएसनबीच सोमबार (आज) सिंहदरबारमा भेटघाट सम्पन्न भएको छ । बैठकमा अर्थमन्त्री डा. वाग्लले नेपाललाई अन्तर्राष्ट्रिय ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउन सरकार गम्भीर रूपमा लागिरहेको बताए । त्यसका लागि सुशासन प्रवर्द्धन गर्ने काम प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले जनमत पनि यही दिशामा रहेको बताए । उनले केही अनुसन्धान पुराना भए पनि अहिले अन्तिम चरणमा पुगेको स्पष्ट पार्दै अपराध गर्ने कसैलाई उन्मुक्ति नदिइने तर छानीछानी प्रतिशोध पनि नलिइने बताए । साथै, सरकार निजी क्षेत्रमैत्री रहेको उल्लेख गर्दै आफ्नो पहिलो निर्णयबाटै त्यो स्पष्ट भएको दाबी गरे । ‘हामी अर्थतन्त्रलाई रूपान्तरण गर्ने दिशामा अघि बढेका छौँ,’ उनले भने, ‘आगामी बजेट २०४८ साल यताकै रूपान्तरणकारी र ऐतिहासिक हुनेछ ।’ उनले नेपालको अर्थतन्त्रका लागि अब ‘स्वर्णिम समय’ आउन लागेको दाबी गर्दै बजारमा फैलिएका हल्ला र गलत अफबाहको पछि नलाग्न सबैलाई आग्रह गरे । अर्थमन्त्री वाग्लेले आफ्नो राजनीतिक दलले सेयर बजारका विषयमा स्पष्ट र उदार धारणा राख्दै आएको उल्लेख गर्दै हाल बजारमा अनावश्यक अफबाह फैलाएकोप्रति चिन्ता व्यक्त गरे ।  महासचिव भक्तिराम घिमिरेले बजारमा केही समूहले जानाजानी गलत हल्ला फैलाइरहेको बताए । बजारमा सेयर बेचेर बाहिरिएका तथा पुनः सेयर उठाउन खोजिरहेका व्यक्तिहरूले भ्रम फैलाएको उनको भनाइ छ । ‘यस्ता गतिविधिले साना लगानीकर्तामा त्रास सिर्जना गरेको छ । साथै, संस्थागत लगानीकर्ताका लागि बजारमा सहज वातावरण बनाउनुपर्नेछ,’ उनले भने ।  उनले निजी क्षेत्रमाथिको अनुसन्धान जायज भए पनि त्यसलाई गोप्य रूपमा अगाडि बढाउनुपर्ने धारणा राख्दै हाल त्यसो हुन नसकेको गुनासो गरे ।  धितोपत्र दलाल व्यवसायीहरूले अर्थमन्त्रीसँग पुँजी बजारका समस्या समाधानका लागि विभिन्न माग समेत राखेका छन् । ७६ लाख लगानीकर्ता र ९२ ब्रोकरहरू सक्रिय  रहेकाे पुँजी बजारमा नयाँ सरकार र अर्थमन्त्रीको नेतृत्वपछि बजारमा नयाँ आशा र अपेक्षा रहेको घिमिरेको भनाइ छ। धितोपत्र दलाल व्यवसायीहरूले हालसम्म अनेकौं समस्या भोग्दै आएको भए पनि दोस्रो बजारमा आफ्नो कर्तव्य र दायित्व पूरा गर्दै आएकाे घिमिरेले बताए । ब्राेकरहरूले औंल्याएका मुख्य चुनौतीहरू समाधान भएमा पुँजीबजारको समग्र सुधार हुने र लगानीकर्ताहरूको मनोबल पनि बढ्ने उनकाे भनाइ छ । पुँजी बजार सुधार कार्यदलले दिएका कार्यान्वयन हुन बाँकी सुझावहरू अविलम्ब कार्यान्वयन गर्न ब्रोकर व्यवसायीहरूले माग गरेका छन् । साथै, बैंक तथा वित्तीय संस्थाहरूलाई सहज रूपमा पुँजीबजार प्रवेश र बाहिरिन सक्ने व्यवस्था लागू गर्नुपर्ने, गैर-आवासीय नेपाली नागरिकलाई पनि दोस्रो बजारमा सहज रूपमा सेयर कारोबार गर्ने व्यवस्था लागू गर्नुपर्ने माग उनीहरूको रहेको छ। आगामी बजेटमार्फत पूँजीगत लाभकर अन्तिम कर हो भनि स्पष्ट पार्नुपर्ने, बजारमा हाल साना लगानीकर्ताहरूको मनोबल बढाउन सरकारी संस्थानहरूमा रहेका विभिन्न कोषको रकमलाई दोस्रो बजारमा सहज रूपमा लगानी गर्ने वातावरण बनाउनुपर्ने माग पनि उनीहरूले गरेका छन् । यस्तै, बजारले धितोपत्र हस्तान्तरणको पूर्ण ग्यारेन्टी दिन नसकेको कारण बिक्री गरी हस्तान्तरण गर्न नसक्दा सिधै क्लोज आउटमा लगिने व्यवस्थाले लगानीकर्तामा असर पर्ने भएकाले यसलाई समाधान गर्न अक्सन मार्केट यथाशीघ्र सुरु गर्नुपर्ने, साथै सेटलमेन्ट ग्यारेन्टी फण्डको प्रयोगका लागि २०७५ सालमा विनियमावली र २०७९ सालमा कार्यविधि बनेको भए पनि लामो समयदेखि कार्यान्वयनमा नआएको कारण नियामक निकायलाई आवश्यक निर्देशन दिन माग गरिएको महासचिव घिमिरेले बताए ।

सम्पत्ति शुद्धीकरण निवारणबारे बीमा क्षेत्रका लागि दुईदिने अन्तरक्रिया सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी दुईदिने अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम चैत २० र २१ गते बर्दिवासमा आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक एवं नियमन महाशाखा प्रमुख शम्भु राज लामिछानेले वित्तीय प्रणालीलाई सुरक्षित, पारदर्शी र विश्वसनीय बनाउन AML/CFT को प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए । उनले बीमा क्षेत्रले ग्राहक पहिचान (KYC), जोखिम मूल्याङ्कन तथा शंकास्पद कारोबारको समयमै पहिचान र प्रतिवेदनमार्फत वित्तीय अपराध नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने उल्लेख गरे । त्यसैगरी, प्राधिकरणका उपनिर्देशक तथा सम्पत्ति शुद्धीकरण निवारण शाखा प्रमुख पदम प्रसाद सापकोटाले सम्पत्ति शुद्धीकरण तथा आतंककारी गतिविधिमा वित्तीय लगानी रोक्न बीमा क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको धारणा व्यक्त गरे । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै मधेश प्रदेश कार्यालय प्रमुख आर्या रावलले यस्तो कार्यक्रमले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी ज्ञान अभिवृद्धि, अनुभव आदानप्रदान तथा कानुनी अनुपालनमा एकरूपता ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । बीमा कम्पनीका शाखा प्रमुख तथा अन्डरराइटिङ कर्मचारीहरूको सहभागिता रहेको कार्यक्रममा विद्यमान कानुन तथा नियम, जोखिम पहिचान, ग्राहकको उचित पहिचान (KYC), शंकास्पद कारोबार प्रतिवेदन (STR) पेश गर्ने प्रक्रिया लगायत विषयमा विस्तृत छलफल गरिएको थियो। साथै AML/CFT सम्बन्धी कानुनी दायित्व, संस्थागत उत्तरदायित्व तथा आन्तरिक नियन्त्रण प्रणाली सुदृढीकरणका उपायबारे जानकारी प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका सहायक निर्देशक सुस्मा थापा र महेश मण्डलले गरेका थिए । कार्यक्रममा बीमा कम्पनीका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । 

ओली र लेखक पक्राउ प्रकरण : सर्वोच्चमा आज निर्णायक सुनुवाइ

काठमाडाै। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरण रिटमाथि सोमबार (आज) पनि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहने भएको छ। न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा आइतबारदेखि सुरु भएको सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।  हिजो आइतवार निवेदकतर्फका कानुन व्यवसायीहरूले लामो बहस गर्दै पक्राउको कानूनी तथा संवैधानिक आधार नै नरहेको दाबी गरेका थिए । उनीहरूले दुवै नेताको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधको कदमको संज्ञा दिएका छन् । इजलासले कार्यालय समय सकिएपछि निवेदक पक्षको बहस टुंग्याएको थियो । आज भने प्रतिवादीका तर्फबाट सरकारी वकिलहरूले आफ्नो पक्ष प्रस्तुत गर्नेछन् । त्यसपछि निवेदक पक्षले जवाफी बहस गर्ने कार्यतालिका छ । कानुनका जानकारहरूले आजको बहसपछि आदेश आउने सम्भावना उच्च रहेको बताएका छन् । ओली पत्नी राधिका शाक्य र लेखक पत्नी यशोदाले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन् । शाक्यको रिटमा पक्राउ गरेर थुनामा राख्ने कार्य गैरकानुनी र पूर्वाग्रही रहेको दाबी छ । त्यस्तै, लेखकलाई थुनामा राख्ने कार्य गैरकानुनी र पूर्वाग्रही रहेको दाबी गरिएको छ ।  गौरीबहादुर कार्की नेतृत्वको आयोगले चैत २४ मा बुझाएको प्रतिवेदनको आधारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई फौजदारी मुद्दामा कारबाही गर्ने सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार ओली र लेखक पक्राउ परेका हुन् । उनीहरूलाई दफा १८१ र १८२ बमोजिम कारबाही सिफारिस गरिएको थियो ।  मुलुकी फौजदारी संहिताको दफा १८१ मा ‘कसैले लापरबाहीपूर्ण काम गरेर कसैको ज्यान मार्न नहुने’ कसुर छ । त्यस्तो कसुर गर्ने व्यक्तिलाई ३ देखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि १ लाखसम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।  दफा १८२ मा ‘हेलचक्र्याइँपूर्ण कुनै काम गरी कसैको ज्यान मार्न नहुने भनिएको छ । यसमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने भनिएको छ । 

फेवाताल जग्गा प्रकरणमा गृहमन्त्री सुधन गुरुङ आफै ठगिएको दाबी, कानुनी लडाइँमा जाने घोषणा

काठमाडौं । भ्रष्टाचार, ठगी र अपराधविरुद्ध कडा अभियान चलाइरहेका गृहमन्त्री सुधन गुरुङ स्वयं नै पोखराको फेवाताल किनारको जग्गा प्रकरणमा ठगीको शिकार भएको उनको सचिवालयले बताएको छ । फेवाताल अतिक्रमण हटाउने अभियानलाई तीव्रता दिइरहेका गृहमन्त्री गुरुङकै नाम जोडिएको जग्गा लिज प्रकरणमा स्पष्टीकरण दिदै सचिवालयले कानुनी उपचारमा जाने बताएको हो । प्रारम्भिक विवरणअनुसार उनले लिजमा लिएको जग्गा नै ६५ मिटर मापदण्डभित्र पर्ने अतिक्रमित क्षेत्र भएको पुष्टि भएपछि उनी आफै ठगिएको दाबी गर्दै कानुनी उपचारको बाटो रोज्ने भएका हुन् । गृहमन्त्री गुरुङ पछिल्लो समय पोखरा महानगरपालिका सँग सहकार्य गर्दै फेवाताल वरपर मापदण्ड मिचेर बनेका संरचना हटाउने अभियानमा छन् । त्यही अभियानकै क्रममा विगतमा आफूले लिजमा लिएको जग्गा पनि अतिक्रमणभित्रै परेको तथ्य बाहिरिएपछि प्रकरण थप पेचिलो बनेको  हो । झुक्याएर ठगियो : गृहमन्त्रीको सचिवालय गृहमन्त्री गुरुङको सचिवालयका अनुसार करिब ८ वर्षअघि साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित एड्भेन्चर स्पोट्र्स नेपाल सञ्चालन गर्ने योजना अघि बढाइएको थियो । सो क्रममा जग्गा लिँदा जग्गाधनीले मापदण्डभित्र नपर्ने भन्दै विश्वास दिलाएको तर पछि वास्तविकता फरक रहेको पाइएको सचिवालयको दाबी छ । सचिवालयले भनेको छ देशमै केही गरौँ भन्ने सोचका साथ ठूलो लगानी र सपना बोकेर सुरु गरेको काममा हामीलाई गलत जानकारी दिइयो । लालपूर्जामा समेत सुरक्षित देखाइएको जग्गा पछि जाँदा ६५ मिटर मापदण्डभित्र पर्ने रहेछ भन्ने थाहा भयो । गुरुङको सचिवालयका अनुसार गुरुङले आफू ठगिएको थाहा पाउनेबित्तिकै नैतिकताका आधारमा सम्पूर्ण निर्माण र लगानी रोकिएको स्पष्ट पारेको छ । हामीलाई झुक्याइएको पुष्टि भएपछि तुरुन्तै काम रोकेको सचिवालयले जनाएको छ । एउटा युवा उद्यमीको सपना र लगानीमाथि खेलबाड भएको छ, यो स्वीकार्य छैन सचिवालयले भनेको छ । गृहमन्त्री गुरुङसहित उनका साझेदारहरू अब कानुनी प्रक्रियामा जाने तयारीमा रहेको वताइएको छ । ठगी भएको दाबी गर्दै सम्बन्धित जग्गाधनीविरुद्ध मुद्दा दायर गर्ने संकेत उनको सचिवालयले दिएको छ ।

सरकारले करिब २८ अर्ब ऋण लिने भएपछि रिसाए हर्क साम्पाङ

काठमाडौं । सांसद हर्क साम्पाङले सरकारले करिब २८ अर्ब रुपैयाँ वैदेशिक ऋण लिन लागेको विषयमा कडा आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै साम्पाङले सरकारले जनता र संसदलाई छलेर मनोमानी ढंगले ऋण लिन नहुने तर्क गरे ।  विभिन्न न्युज पोर्टल र सञ्चार माध्यमहरूमा सरकारले करिब २८ अर्ब ऋण लिन लागेको समाचार आएको उल्लेख गर्दै उनले भने,  ‘नेपाल सरकारले बहुमतको आडमा चार-पाँच जना मन्त्रीहरू मिलेर खुसी खुसी निर्णय गर्दैमा देश चल्दैन । सरकार त्यसरी चल्नु हुँदैन ।’ साम्पाङले ऋण लिने प्रक्रिया पारदर्शी हुनुपर्ने र यसको अनुमोदन सार्वभौम जनताको प्रतिनिधि संस्था सदनबाटै हुनुपर्नेमा जोड दिए ।  उनले अर्थमन्त्रीलाई लक्षित गर्दै भने, ‘त्यो ऋण केका लागि लिने हो, किन लिने हो, कुन प्रयोजनका लागि हो र कुन शीर्षकमा कसरी र कहिलेसम्म खर्च हुने हो ? यसको सबै चित्तबुझ्दो ब्रेकडाउन लिएर अर्थमन्त्रीज्यू सदनमा आउनुपर्छ ।’  

गोकर्णेश्वर नगरपालिकाको नगर अस्पतालले  बिदाको दिन पनि सेवा दिने

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको नगर अस्पतालले शनिवार बाहेक अन्य सार्वजनिक बिदाको दिन पनि सेवा दिने भएको छ । नगरपालिकाले आइतबार सूचना जारी गर्दै शनिबारबाहेक अन्य दिन नियमित रूपमा अस्पताल सञ्चालन हुने जनाएको हाे । सूचनाअनुसार अब अस्पताल आइतबारदेखि शुक्रबारसम्मका साथै सार्वजनिक बिदाको दिनमा समेत खुला रहनेछ । अस्पतालको ओपीडी सेवा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ । त्यस्तै, बिरामीको आकस्मिक अवस्थालाई ध्यानमा राख्दै इमर्जेन्सी सेवा भने २४ सै घण्टा सञ्चालनमा रहने व्यवस्था गरिएको छ । यसअघि पनि नगर अस्पतालमा आकस्मिक तथा विभिन्न स्वास्थ्य सेवाहरू चौबीसै घण्टा उपलब्ध रहेको जानकारी दिइँदै आएको छ ।

राष्ट्र बैंकले घटायो कर्जाको जोखिम भार, ६० प्रतिशत मात्रै कायम गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले साना तथा मझौला उद्योग (एसएमई) क्षेत्रका कर्जाको जोखिम भार घटाउने निर्णय गरेको छ । बैंक तथा वित्तीय संस्था नियमन विभागले जारी गरेको परिपत्रअनुसार, कृषि, सूचना प्रविधि वा उत्पादनमूलक उद्योगसँग सम्बन्धित एसएमईले प्राप्त गर्ने ३ करोड रुपैयाँसम्मका कर्जामा मात्र ६० प्रतिशत जोखिम भार कायम हुनेछ । यसअघि यस्तो विशिष्ट व्यवस्था थिएन, तर नयाँ नीतिले साना लगानीकर्ता र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेको देखिन्छ । राष्ट्र बैंकको क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५ र २००७ दुवैमा संशोधन गरी यो नयाँ प्रावधान थप गरिएको छ । सुविधा प्राप्त गर्नका लागि केही सर्तहरू पूरा हुनुपर्नेछ । जसमा सम्बन्धित कर्जा निक्षेप वा कर्जा सुरक्षण कोषबाट प्रत्याभूत हुनुपर्ने, वा घरजग्गा धितोमा कम्तीमा २५ प्रतिशतको मार्जिन सुरक्षित हुनुपर्ने, साथै कर्जा अनिवार्य रूपमा आयोजना बीमाअन्तर्गत समेटिएको हुनुपर्ने प्रावधानहरू रहेका छन् । नयाँ निर्देशन अनुसार बैंकहरूले ३ करोड रुपैयाँसम्मका यस्ता कर्जाहरूलाई ‘अन्य सम्पत्ति’ अन्तर्गत ६० प्रतिशत जोखिम भारमा गणना गर्न पाउनेछन् । यसले बैंकहरूको प्राथमिक पुँजी कोषमा परेको दबाबलाई केही हदसम्म कम गर्नेछ र साना तथा मझौला व्यवसायमा थप तरल पुँजी प्रवाहको बाटो खोल्नेछ।

प्राधिकरणलाई प्रश्न : हिमालयन रिलाई समस्याग्रस्त घोषणा गर्न लागिएको हो ?

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सलाई बीमा प्राधिकरणले समस्याग्रस्त घोषणा गर्न लागेको विषयमा बजारमा चर्चा चल्न थालेको छ । त्यो चर्चापछि आइतबार कम्पनीको सेयरमूल्यमा ठूलो गिरावट आयो । आइतबार ७६७ रुपैयाँमा सुरु भएको कारोबार बजार बन्द हुँदा सेयर मूल्य ७०४.७० रुपैयाँ कायम भयो । जुन वर्षकै न्यून विन्दुमा कम्पनीको सेयर मूल्य देखिएको छ ।  कम्पनी समस्याग्रस्त घोषणा हुन लागेको चर्चापछि हामीले यस विषयमा नेपाल बीमा प्राधिकरणसँग जिज्ञासा राख्यौं । प्राधिकरणले भने अहिले हल्ला मात्रै रहेको प्रतिक्रिया दिएको छ ।  प्राधिकरणका प्रवक्ता पुजन ढुंगेलले भने यस विषयमा अहिलेसम्म प्राधिकरणबाट कुनै निर्णय नभएको बताइन् । प्रवक्ता ढुंगेलले भनिन्, ‘यस विषयमा यो भन्दा अघि बसेको बोर्ड बैठकमा कुनै कुरा उठेको छैन, त्यसपछि बैठक बसको छैन ।’ केही दिनअघि मात्रै प्राधिकरणले हिमालयन रिलाई हिल्टन होटलको पुनर्बीमा प्रकरणमा कानुन विपरीत काम गरेको पाइएपछि कारबाही गरेको थियो । प्राधिकरणले कम्पनीलाई बीमा ऐन, २०७९ को दफा १३८ को उपदफा ४ अनुसार  २ लाख रुपैयाँ जरिवानासहित कारबाही गरेको हो ।  यो ऐन वा ऐन अन्तर्गत बनेको नियम, विनियम वा आदेश पालना नगरेमा वा  यस ऐन बमोजिमको रीत नपुर्याई बिमा व्यवसाय गरेमा वा झुटा विवरण तयार गरेमा प्राधिकरणले देहाय बमोजिमको जरिवाना गर्न सक्नेछ ।  कम्पनीका ठूला सेयरधनीहरु सम्पति शुद्धिकरणको अनुसनधानमा तानिएका छन् ।  कम्पनीका सेयरधनीहरु दिपक भट्ट र शाहिल अग्रवाल लगायत ठूला सेयरधनीहरु अनुसन्धानमा तानिएपछि कम्पनीका विषयमा अनेक बहसहरु हुन थालेका छन् ।  दुई ठूला संस्थापक लगानीकर्ता दिपक भट्ट र शाहिल अग्रवाल प्रहरी हिरासतमै पुगेका छन् । कम्पनीका सञ्चालक समिति अध्यक्षबाट शेखर गोल्छाले राजीनामा समेत दिइसकेका छन् । के छ समस्याग्रस्त सम्बन्धी व्यवस्था ? बीमा ऐन २०७९ अनुसार प्राधिकरणले बीमितको हक हित संरक्षणका लागि बीमकलाई समस्याग्रस्त बीमक घोषणा गर्न सक्ने व्यवस्था गरिएको छ । यो ऐन पुनर्बीमा कम्पनीको हकमा पनि लागू हुन्छ ।  बीमा ऐन २०७९ को परिच्छेद १३ को दफा १०१ मा सोसम्बन्धी व्यवस्था गरिएको छ ।  बीमकले कायम गर्नुपर्ने न्यूनतम चुक्ता पूँजी तथा पूँजीकोष कायम गर्न नसकेमा, बीमकको कूल सम्पत्ति र दायित्वको अनुपात (सल्भेन्सी मार्जिन) कायम नभएमा बीमकको संस्थापक शेयरधनीले ठगी, सम्पत्ति शुद्धिकरण, भ्रष्टाचार, आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी, मानव बेचबिखन गरी बीमा कम्पनी स्थापना गरेको प्रमाणित भएमा समस्याग्रस्त घोषणा गर्न सक्छ । जालसाजी, किर्ते, वा झुट्टा विवरण दिई वा गलत लिखत तयार गरी वा पेश गरी बीमा कम्पनी स्थापना गरेको वा इजाजतपत्रप्राप्त गरेको प्रमाणित भएमा  प्राधिकरणले समस्याग्रस्त घोषणा गर्न सक्छ ।  त्यस्तै बीमित, शेयरधनी, बीमकका साहू वा सर्वसाधारणको हित प्रतिकूल हुनेगरी पटक–पटक कार्य गरेमा, बीमकलाई अर्को बीमकमा गाभिन प्राधिकरणबाट निर्देशन भएकोमा त्यस्तो निर्देशनको पालना नभएमा समस्याग्रस्त घोषणा गर्न सक्छ । त्यसैगरी यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम, विनियम, प्रचलित कानून, इजाजतपत्र जारी गर्दाका बखत उल्लिखित शर्त वा प्राधिकरणबाट जारी भएका निर्देशन वा आदेश पटक पटक उल्लड्डन भएमा पनि समस्याग्रस्त घोषणा गर्न सक्छ । जसअनुसार बीमकबाट बीमा जालसाजी (इन्स्योरेन्स फ्रड) भएमा, प्राधिकरणबाट भएको नियमन, निरीक्षण, निरीक्षण, अनुगमन वा लेखापरीक्षकको प्रतिवेदन वा बीमाङ्कीको प्रतिवेदनबाट कुनै बीमकले आफ्नो दायित्व बहन गर्न नसक्ने देखिएमा वा नसक्ने सम्भावना भएमा, बीमकको सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा सञ्चालकहरु बीच विवाद उत्पन्न भई बीमा व्यवसाय सुचारु रुपमा सञ्चालन हुन नसक्ने देखिएमा समस्याग्रस्त घोषणा गर्न सक्छ । प्राधिकरणबाट बीमकले गर्दै आएको बीमा व्यवसायमा पूर्ण वा आंशिक रोक लगाउँदा दिइएको निर्देशन बमोजिम तोकिएको अवधिभित्र सुधार गरेको प्रमाण पेश नगरेमा बीमकलाई समस्याग्रस्त घोषणा गर्न सक्छ ।  समस्याग्रस्त घोषणा गर्नुअघि प्राधिकरणले त्यस्तो बीमकका रुपमा घोषणा गर्नु नपर्ने कुनै कारण भए सोको प्रमाण सहित आफ्नो स्पष्टीकरण पेश गर्न पन्ध्र दिनको सूचना सम्बन्धित बीमकलाई दिनु पर्नेछ ।  यदि बीमकले पेश नगरेमा वा पेश गरेको स्पष्टीकरण सन्तोषजनक र विश्वसनीय भएको नदेखिएमा प्राधिकरणले उक्त बीमकलाई समस्याग्रस्त बीमकको रुपमा घोषणा गरी त्यसको सूचना कम्तीमा दुईवटा राष्ट्रिय दैनिक पत्रिका र प्राधिकरणको वेबसाइट मार्फत सार्वजनिक गर्नुपर्र्ने कानुनी व्यवस्था छ । बजारमा चलको हल्ला र कम्पनीको वास्तविक अवस्था जानकारी लिनका लागि आइतबार प्राधिकरणको सञ्चालक समिति बैठक बस्दैछ ।   

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन हेर्दाहेर्दैमा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन हेर्दाहेर्दैमा राखिएको छ । आइतबार (आज) सुनुवाइ नसकिएपछि सोमबार (भोलि)का लागि हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीशद्वय विनोद शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।  ओली पत्नी राधिका शाक्य र लेखक पत्नी यशोदाले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन् । शाक्यको रिटमा पक्राउ गरेर थुनामा राख्ने कार्य गैरकानुनी र पूर्वाग्रही रहेको दाबी छ । त्यस्तै, लेखकलाई थुनामा राख्ने कार्य गैरकानुनी र पूर्वाग्रही रहेको दाबी गरिएको छ ।  गौरीबहादुर कार्की नेतृत्वको आयोगले चैत २४ मा बुझाएको प्रतिवेदनको आधारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई फौजदारी मुद्दामा कारबाही गर्ने सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार ओली र लेखक पक्राउ परेका हुन् । उनीहरूलाई दफा १८१ र १८२ बमोजिम कारबाही सिफारिस गरिएको थियो ।  मुलुकी फौजदारी संहिताको दफा १८१ मा ‘कसैले लापरबाहीपूर्ण काम गरेर कसैको ज्यान मार्न नहुने कसुर’ छ । त्यस्तो कसुर गर्ने व्यक्तिलाई ३ देखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि १ लाखसम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।  दफा १८२ मा ‘हेलचक्र्याइँपूर्ण कुनै काम गरी कसैको ज्यान मार्न नहुने भनिएको छ । यसमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने भनिएको छ । 

शंकर अग्रवाल छुटे, सुलभलाई म्याद थप्न लगियो

काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले छोडेको छ । आइतबार अपरान्ह विभागले उनलाई छाडेको हो । विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरले अग्रवाललाई छाडिएको विकासन्युजलाई जानकारी दिए  ।  ‘बयानको काम सकिएपछि उहाँलाई आज छाडेका हौं,’ ठाकुरले भने ।  उनले सुलभ अग्रवाललाई अदालतमा म्याद थप गर्न लगिएको पनि जानकारी दिए । आइतबार बिहान मात्र सुलभलाई विभागले नियन्त्रणमा लिएको थियो ।

व्यवसायी पक्राउ पर्न थालेपछि आत्तिए लगानीकर्ता, सस्तैमा बेच्दै सेयर

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६०.३३ अंकले घटेर २ हजार ६७६.६८ बिन्दुमा झरेको छ । यससँगै सेन्सेटिभ इण्डेक्स १५.६२ अंक, फ्लोट इण्डेक्स ७.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.६६ अंकले घटेका छन् । सूचक घटे पनि कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ । आइतबार ३४५ कम्पनीको ३ करोड १२ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल १२ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार भने ८ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । पछिल्लो समय सरकारद्वारा सुरु गरिएको धरपकड र सम्पत्ति शुद्धीकरण सम्बन्धी गतिविधिले पुँजी बजारमा मनोवैज्ञानिक दबाब सिर्जना गरेको लगानीकर्ता देव गुरागाईँ बताउँछन् । बलियो सरकार गठन भएकोमा सबै सकारात्मक भए पनि सरकारले चालेका कदम र त्यसको कार्यान्वयन शैलीका कारण बजार प्रभावित भएको उनको भनाइ छ ।  ‘गलत गर्नेहरूलाई कारबाही गर्नु आवश्यक छ, तर त्यसको समय र तरिकामा समन्वय हुनुपर्छ,’ उनले भने । गुरागाईँले लगानीमैत्री वातावरण आवश्यक रहेको उल्लेख गर्दै व्यवसायीहरूमा त्रास सिर्जना हुने गतिविधिले समग्र अर्थतन्त्रमा नकारात्मक असर पार्ने बताए । ‘देश निर्माणका लागि लगानी आवश्यक हुन्छ । तर, लगानीकर्तालाई नै तर्साउने अवस्था आयो भने त्यसले पुँजी बजारमा प्रत्यक्ष असर गर्छ,’ उनले भने ।  उनले सीमित व्यक्तिहरूमा केन्द्रित कारबाहीले पनि ठूलो आर्थिक प्रणाली प्रभावित हुन सक्ने चेतावनी दिए । ‘केही व्यक्तिको नियन्त्रणमा ठूला व्यापारिक संरचना छन् । यदि त्यस्तो समूहमा असर प¥यो भने बैंकिङ प्रणालीसम्म प्रभाव पर्न सक्छ,’ उनले भने । उनका अनुसार केही व्यक्तिको पक्राउले ब्रोकर कम्पनीहरू र ट्रेडरहरूमा समेत त्रास फैलिएको छ, जसका कारण नयाँ लगानी घट्ने र बजारमा तरलता कम हुने जोखिम देखिएको छ । ‘बजार तत्काल प्यानिक अवस्थामा देखिए पनि दीर्घकालमा सुधार हुने सम्भावना रहन्छ,’ उनले भने । गुरागाईंले अर्थमन्त्रीले बजारसम्बन्धी स्पष्ट धारणा नदिँदा लगानीकर्तामा अन्योलता बढेको पनि उल्लेख गरे । ‘शुद्धीकरण आवश्यक छ, तर त्यससँगै सुधारका अन्य उपायहरू पनि सँगसँगै अघि बढाउनुपर्छ,’ उनले भने । उनले राज्यले तत्काल सन्तुलित नीति अवलम्बन गर्दै लगानीकर्ताको विश्वास कायम गर्नुपर्ने आवश्यकता औंल्याए । आज ६ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ । रिलायन्स स्पिनिङ मिल्स, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्डा हाइड्रो इलेक्ट्रिकका सेयरमा उच्च वृद्धि देखिएको हो ।  यस्तै, नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रि-इन्स्योरेन्स, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पियोर इनर्जी र सान्भि इनर्जीका सेयरमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा हिमालयन रि-इन्स्योरेन्सको सबैभन्दा बढी ५८ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै शिवम् सिमेन्ट्सको ४५ करोडभन्दा बढी र ङादी ग्रुप पावरको करिब ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । पछिल्लो समय भइरहेको धरपकड अभियानले पुँजी बजारमा अन्योलता र त्रास सिर्जना गरेको लगानीकर्ता छोटेलाल रौनियारले बताए । उनका अनुसार कारबाहीमा परेका व्यक्तिहरूमध्ये सेयर बजारसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित लगानीकर्ता, संस्थापक सेयरधनी, व्यापारी तथा उद्योगीहरू समेत रहेका छन् । ‘यी व्यक्तिहरू बजारका हिस्सा हुन्, त्यसैले यस्तो कारबाहीले समग्र बजारमा प्रभाव पार्छ,’ उनले भने ।  रौनियारले धरपकडको दायरा कहिलेसम्म फैलिने र को-को यसमा पर्न सक्ने भन्ने विषयमा स्पष्टता नहुँदा लगानीकर्तामा अन्योलता बढेको बताए । ‘बजारले अनिश्चितता मन पराउँदैन। यस्तो अवस्थामा लगानीकर्ताहरू स्वाभाविक रूपमा त्रसित हुन्छन्,’ उनले भने । उनका अनुसार संवेदनशील विषयमा राजनीतिक गतिविधि बढ्दा विश्वभर नै पुँजी बजारमा गिरावट आउने प्रवृत्ति देखिन्छ । ‘यदि यही विषय सकारात्मक रूपमा अगाडि बढेको भए बजारमा सुधार आउन सक्थ्यो,’ उनले भने । सरकार गठन भएसँगै धरपकड सुरु भएको उल्लेख गर्दै उनले यस्तो अवस्थाले लगानीकर्तामा मनोवैज्ञानिक दबाब सिर्जना गरेको बताए । ‘गल्ती गर्ने केही व्यक्तिहरू हुन्छन्, तर त्यसको असर लाखौं लगानीकर्तामा पर्छ,’ उनले भने । 

हिमालयन रिको सेयर मूल्यमा ऐतिहासिक झट्का, प्राधिकरणले बोलायो बोर्ड बैठक

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य लगातार घट्दै वर्षकै न्यून विन्दु नजिक पुगेको छ । एक वर्ष अर्थात ५२ हप्ताअघि यस कम्पनीको उच्च मूल्य ११३९ रुपैयाँ र न्यून मूल्य ७४५ रुपैयाँमा कारोबार भएको थियो । आज ७६७ रुपैयाँमा कारोबार सुरु भएकोमा अन्तिम समयमा आउँदा घटेर ७०४.७० रुपैयाँ पुगेको छ । जुन वर्षकै न्यून विन्दुमा भएको कारोबार हो । आज सबैभन्दा धेरै हिमालयन रिको सेयरमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको १० प्रतिशतले सेयरमूल्य घटेको छ । कारोबार रकमको आधारमा पनि आज सबैभन्दा धेरै कारोबार हिमालय रि को रहेको छ । उक्त कम्पनीको ५८  करोड २८ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ ।  हिमालय रिलाई नेपाल बीमा प्राधिकरणले समस्याग्रस्त घोषणा गर्दैछ भन्ने हल्लाले सेयर मूल्य घटेको हो । यस विषयमा छलफलको लागि आज बीमा प्राधिकरणले बोर्ड बैठक समेत बोलाएको छ । 

बयानका लागि सम्पत्ति शुद्धीकरण विभाग पुगे सुलभ अग्रवाल

काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल बयान दिन सम्पत्ति शुद्धीकरण विभागको कार्यालय पुगेका छन् ।  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले अग्रवाललाई बयानका लागि बोलाइएको जानकारी दिए । ‘बयानका लागि बोलाएका थियौं । उहाँ यहाँ आउनुभएको छ,’ ठाकुरले भने, ‘हामीले प्रहरीजस्तो पक्राउ गर्ने भन्ने हुन्न । बयान भइरहेको छ । कतिपयलाई बयान लिएर फिर्ता पनि पठाएका छौं ।’ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अग्रवालविरुद्ध अनुसन्धान भइरहेको छ । 

नक्सालमा साढे ८१ करोडमा कुमारी बैंकको ११ तले हेड अफिस, ९० प्रतिशत सम्पन्न

काठमाडौं । कुमारी बैंकको नक्सालस्थित काठमाडौंमा नयाँ केन्द्रीय कार्यालय भवन निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । बैंकका चिफ इन्भेष्टमेन्ट एण्ड मार्केटिङ अफिसर चन्दन कुमार कार्कीका अनुसार भवनको संरचनागत (स्ट्रक्चर) काम ९० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ भने हाल इन्टेरियर निर्माण कार्य भइरहेको छ । उनका अनुसार भवन निर्माणका लागि स्ट्रक्चर र इन्टेरियर कार्य अलग-अलग सम्झौतामार्फत अघि बढाइएको छ र दुवै कार्य निर्धारित समयमै भइरहेको छ । बैंकले आगामी १२ देखि १४ महिनाभित्र नयाँ भवनमा सर्ने लक्ष्य राखेको उनको भनाइ छ ।  सम्झौता अनुसार भवन निर्माणको कुल लागत ८१ करोड ५० लाख ५६ हजार रुपैयाँ रहेको छ । उक्त भवन करिब १ लाख वर्गफिट (६४ आना) क्षेत्रफलको जग्गामा निर्माण भइरहेको हो, जहाँ यसअघि पनि बैंकको कार्यालय सञ्चालनमा थियो । निर्माण सम्पन्न भएपछि सो भवनमा कुमारी बैंकको केन्द्रीय कार्यालयसहित विभिन्न शाखा कार्यालय र विभागहरू सञ्चालनमा आउनेछन् । साथै, बैंकले डिजिटाइजेशनमा जोड दिँदै सहायक कम्पनीहरूलाई पनि सोही भवनमा राख्ने योजना अघि सारेको छ । भवन ११ तले हुने जानकारी दिँदै कार्कीले वातावरणीय प्रभाव मूल्यांकन तथा अन्य आवश्यक स्वीकृतिहरू लिएर निर्माण कार्य गरिएको बताए । कंक्रिट, स्टील र ग्लास प्रयोग गरी निर्माण गरिए पनि वातावरणमा नकारात्मक असर नपर्ने गरी काम गरिएको उनको भनाइ छ । हाल इन्टेरियरतर्फ करिब १० प्रतिशत प्रगति भएको छ भने तोकिएको समयसीमाभित्रै निर्माण सम्पन्न भई भवन पूर्ण रूपमा सञ्चालनमा आउने बैंकले जनाएको छ ।

बुद्धभुमी नेपाल हाइड्रोको ४० करोडको हकप्रद सेयर बिक्री खुला

काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आज चैत २२ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ४० करोड रुपैयाँको १०० प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले ४० करोड रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर बिक्री गरी बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत फागुन १ गते बुकक्लोज गरेको थियो । त्यसैले माघ २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीका सेयरधनीहरूले २०८३ वैशाख १३ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको सेयरमा बिक्री प्रबन्धकसँगै कम्पनीको पानीपोखरी, महाराजगञ्जस्थित कार्यालय, जलविद्युत गृह रहेको स्थान थप्रेक नुवाकोट, एनआईसी एशिया बैंकको विराटनगर, विरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । 

फोहोरबाट ग्यास र मल उत्पादन गर्ने, २० रोपनी जग्गामा बन्दैछ करोडको संरचना

काठमाडौं । सुर्खेतको भेरीगङ्गा नगरपालिका-१२ मा फोहोर प्रशोधन केन्द्र स्थापनाको काम अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकार र भेरीगङ्गा नगरपालिकाको संयुक्त आर्थिक सहयोगमा उक्त प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको हो । नगरप्रमुख यज्ञप्रसाद ढकालले भेरीगङ्गा, लेकबेँसी तथा गुर्भाकोट नगरपालिकाको फोहोरलाई एकै ठाउँमा राखेर प्रशोधन गर्न यो केन्द्र निर्माण गएिको जनाउँदै हालसम्म भेरीगङ्गासँग लेकबेँसी नगरपालिकाले मात्र सम्झौता गरेको बताए । उनका अनुसार भौतिक संरचना निर्माणको काम पूरा भएको छ । निर्माण भएका भवनमा पानी तथा बत्ती, पर्खाललगायत केही संरचना बनाउन बाँकी रहेको प्रमुख ढकालले बताए । उनले भने, ‘भौतिक पूर्वाधार तथा सडकको काम भए पनि अब कुहिने र नकुहिने फोहोरलाई प्रशोधन गर्ने उपकरण खरिद गर्ने रकम नहुँदा समस्या भएको छ । प्रदेश सरकारले सुरुमा सहयोग गरेको थियो । अहिले नगरपालिकाले एक्लै काम गर्नुपर्दा समस्या भएको छ ।’ भेरीगङ्गा-१२ स्थित रामजानकी सामुदायिक वनमा प्रशोधन केन्द्र छ । २० रोपनी जग्गामा उक्त संरचना निर्माण गरिएको हो । वि.सं २०७९ चैतमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानीमा निर्माण सुरु भएको नगर प्रमुख ढकालले जानकारी दिए । फोहोर व्यवस्थापन र प्रशोधन गरी ग्यास उत्पादन गर्ने योजनासमेत रहेको उनको भनाइ छ । ‘फोहोर प्रशोधन केन्द्रमा फोहोरको वर्गीकरण तथा प्रशोधनसमेत हुनेछन् । प्रशोधन केन्द्र पूर्ण रूपमा सम्पन्न भई सञ्चालनमा आएपछि नगरपालिकाको आन्तरिक आम्दानी पनि बढ्नेछ,’ नगर प्रमुख ढकालले भने । फोहोरलाई मोहर बनाउन प्रशोधन केन्द्र निर्माण थालिएको उनको भनाइ छ । फोहोरलाई व्यवस्थापन गर्दै फोहोरबाट ग्यास र मल उत्पादन गर्ने लक्ष्य राखिएको उनले बताए ।  प्रशोधन केन्द्रसम्म पुग्ने पहुँचमार्ग निर्माणलगायतका काम सकिएको नगरपालिकाले जनाएको छ । अन्य संरचना निर्माणसमेत भइसकेका छन् । केन्द्र निर्माणका लागि प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० मा  ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । आवमा उक्त आयोजनाको निरन्तरताका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरपालिकाले ४९ लाख ५० हजार रुपैयाँ बजेट छुट्याएर काम गरेको थियो । सडक, पानीलगायत पूर्वाधार निर्माणका लागि गत वैशाख २४ गते सौरव निर्माण सेवासँग ९९ लाख ९८ हजार ३५३ रुपैयाँमा बाँकी रहेको कामले निरन्तरता पाएको नगर प्रमुख ढकालले जानकारी दिए । आगामी असार १५ गतेसम्ममा काम पूरा गर्ने सम्झौतामा उल्लेख  छ । फोहोरलाई व्यवस्थापन गर्दै फोहोरबाट ग्यास र मल उत्पादन गर्ने लक्ष्य राखिएको छ । 

कोशी, गण्डकी र कर्णाली वर्षा हुँदै, आज दिउँसो यी प्रदेशमा सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ/असिना/हुरीबताससहित मध्यम वर्षा र हिमपात तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थान तथा बाँकी तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।  मधेस र कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हुरीबतासको समेत सम्भावना छ । त्यसैगरी, आज राति देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ । पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थान तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भाग, कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेस र कोशी प्रदेशका तराई भू-भागका केही स्थानमा हुरीबतासको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ

काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेका छन् । उनलाई शुक्रबार सीआइबीले पक्राउ गरेको हो । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा प्रहरीले पक्राउ गरेको जनाएइको छ । अहिले उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको प्रहरीले बताएको छ ।