विद्युत प्राधिकरणद्वारा थप ८ सहिद परिवारलाई रोजगारी दिने निर्णय

काठमाडौं । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको १०२९औं बैठकले 'जेनजी' आन्दोलनका थप ८ सहिद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । प्राधिकरणले गत २०८२ भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका तर यसअघि रोजगारीका लागि नाम छुट भएका परिवारका सदस्यलाई नियुक्ति दिने प्रक्रिया अघि बढाएको छ । नेपाल राजपत्र (२०८२ कात्तिक १७ गते) मा भएको व्यवस्था र राहत उपलब्ध गराउने सम्बन्धी कार्यविधिको बुँदा नम्बर ११ अनुसार यो निर्णय लिइएको हो । रोजगारी पाउने सहिद परिवारका सदस्यहरूमा रोजित श्रेष्ठ (वनस्थली), अम्बिका विश्वकर्मा (उदयपुर),सुमित्रा महत (सिन्धुपाल्चोक), शितल पौडेल, मौसम कुलुङ (संखुवासभा), पार्वती अधिकारी (सर्लाही), हेमन्ती विष्ट (बझाङ) तथा मञ्जु पौडेल (लमजुङ) छन् । यसअघि प्राधिकरणले २७ जना सहिद परिवारलाई रोजगारी दिने प्रक्रिया सुरु गरिसकेको छ । बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको कार्य सम्पादन मूल्यांकनका बारेमा समेत जानकारी लिएको छ ।  प्राधिकरणको प्रशासनिक र प्राविधिक सुधारका लागि कार्यकारी निर्देशकको कार्य सम्पादनलाई सञ्चालक समितिले नियमित रूपमा अनुगमन गर्दै आएको छ । बैठकमा ऊर्जा मन्त्रालयका पदाधिकारीहरू र सञ्चालक समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।

नयाँ वर्ष नजिकिएसँगै होटलहरूले सार्वजनिक गरे आकर्षक प्याकेज

काठमाडौं । नयाँ वर्ष २०८३ नजिकिँदै गर्दा नेपालका विभिन्न होटल तथा रिसोर्टहरूले आकर्षक ‘न्यु इयर प्याकेज’ सार्वजनिक गर्न थालेका छन् । विशेषगरी परिवार, जोडी तथा घुमफिर गर्न चाहनेहरूलाई लक्षित गर्दै बसाइँ, खाना, मनोरञ्जन र अतिरिक्त सुविधासहितका प्याकेज ल्याइएका हुन् । दुषित प्रिन्स होटल  काठमाडौंको लाजिम्पाटमा अवस्थित पाँचतारे होटल दुषित प्रिन्सले नयाँ वर्ष लक्षित ‘न्यु इयर इभ’ अफर सार्वजनिक गरेको छ । प्रतिव्यक्ति ३ हजार ४९९ मा होटलले बफेट डिनर, पेयपदार्थसहित विभिन्न सुविधाहरू समावेश गरेको छ । होटलका अनुसार न्यु इयर इभ बेलुका सात बजेपछि सुरु हुने छ । लाइफ म्युजिक,  किवु स्काई लाउन्ज, एसएओआइर्ए र स्टे प्याकेजहरू उपलब्ध छन् । साथै वेवभरेजमा २० प्रतिशत डिस्काउन्ट हुने जनाएको छ । होटेल ले हिमालय लाजिम्पाटमा रहेको होटल ले हिमालयले नयाँ वर्षलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ । नयाँ वर्षलाई उल्लास र थप उत्साहित बनाउनका लागि होटलले न्यु ईयर इभको दिन ६ हजार रुपैयाँमा ब्रेकफास्ट, र वेलकम डिंक समावेश गरिएको छ । र्‍याडिसन होटल  लाजिम्पाटमै रहेको र्‍याडिसन होटलले पनि न्यु ईयर इभ प्याकेज सार्वजनिक गरेको छ । होटलले प्रतिव्यक्ति ३ हजार ९९९ रुपैयाँ र प्रतिजोडी ७ हजार ४९९ रुपैयाँमा ल्याभिस बफेड डिनरसहित विभिन्न सेवाहरु उपलब्ध हुने जनाएको छ । होटलका अनुसार उक्त प्याकेजभित्र लाइभ म्युजिक, स्नाक्स एण्ड डिर्जट काउन्टर, वान राउण्ड कक्टेल/मक्टेल समावेश गरिएको छ । त्यस्तै, वेभरेजमा २० प्रतिशत र ५ देखि १२ वर्षसम्मका बच्चाहरुको लागि ५० प्रतिशत छुट प्रदान गरेको छ ।  लेमन ट्री  बुढानीलकण्ठमा रहेको पाँचतारे होटल लेमन ट्री प्रिमियर होटलले ‘न्यु इयरर्स इभ गाला एण्ड स्टे’ प्याकेज ल्याएको छ ।  इभ गाला डिनर एण्ड स्टेको प्रति जोडी १८ हजार ९९९ र डिनर एण्ड स्टेको लागि मात्रै हो भने प्रति जोडी १५ हजार ४९९ तोकिएको छ । यी दुवै प्याकेजमा ब्रेकफास्ट पनि समावेश गरिएको छ ।  त्यस्तै, होटलले नयाँ वर्षको दिन न्यु ईयर ब्रञ्च प्याकेज ल्याएको छ । उक्त दिन होटलले प्रति व्यक्ति २ हजार ४९९ मा वेलकम ड्रिक, ल्याभिस बफेट ब्रञ्च र लाइभ काउन्टरर्समा पेयपदार्थमा १५ प्रतिशत छुट प्रदान गरेको छ । होटल मनाङ ठमेलमा रहेको चारतारे होटल होटल मनाङले न्यु इयर इभ कार्यक्रम सार्वजनिक गरेको छ । होटलले लाइभ म्युजिक, नेपाली कल्चरल सो आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा आउने पाहुनाले प्रतिव्यक्ति २ हजारस ९९० रुपैयाँ तिर्नुपर्ने हुन्छ । टिकट अनलाइनबाट समेत बुकिङ गर्न सकिने होटलले जनाएको छ । त्यस्तै, कार्यक्रम अवधिभरि अललिमिटेड स्नाक्स र बफेट डिनर हुने छ । त्यस्तै, डिनर पनि समावेश छ । माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट पोखरास्थित माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टले नयाँको अवसर पारेर विभिन्न प्याकेजहरू ल्याएको छ । नयाँ वर्षको पूर्वसन्ध्याका लागि प्रतिव्यक्ति ४ हजार ५०० रुपैयाँको विशेष प्याकेज सार्वजनिक गरेको छ । यस प्याकेजमा एक रात बसाइँ, विशेष पूर्वसन्ध्या डिनर र बुफे ब्रेकफास्ट समावेश छन् । साथै अतिथिहरूले इनडोर खेलहरू, स्विमिंग पूल, स्टीम, सौना र ज्याकुजी जस्ता सुविधाहरूको पनि उपयोग गर्न सक्नेछन् ।  त्यसैगरी, नयाँ वर्षको दिन ‘फ्यामिली डे प्याकेज’ अन्तर्गत प्रतिव्यक्ति १ हजार ९९९ रुपैयाँको व्यवस्था गरिएको छ । यस प्याकेजमा लाइभ संगीत तथा डिजे, स्विमिङ पूल पहुँच, अनुहार चित्रकला, घोडा सवारी र बालबालिकाका लागि खेल क्षेत्र जस्ता आकर्षक गतिविधिहरू समावेश छन् । रिसोर्टले थप सुविधा स्वरूप नयाँ वर्षको ब्रन्च १ हजार ५०० रुपैयाँमा एड–अनको रूपमा उपलब्ध गराउने जनाएको छ । साथै समूहमा आउने पाहुनाका लागि पिकअप तथा ड्रप सेवा समेत उपलब्ध गराइनेछ । चन्द्रगिरी हिल्स  चन्द्रागिरी हिल्स रिसोर्टले नयाँ वर्षको पूर्वसन्ध्यालाई लक्षित गरेर अकोमोडेसन प्याकेजसहित विभिन्न अफर सार्वजनिक गरेको छ । रिर्सोटले नयाँ वर्ष पूर्वसन्ध्यामा आउने पाहुनाहरूलाई होटल रुममा विशेष छुट आफर ल्याएको हो । रिर्सोटले स्टान्डर्ड डबल रुमको २१ हजार ९९९, डिलक्स डबल रुमको २२ हजार ९९९ र एक्जुक्युटिभ डबल रुमको २३ हजार ९९९ रुपैयाँ सार्वजनिक गरेको छ । यसबाहेक अन्य सेवाहरुमा पाहुनालाई स्वागत स्वरुप वेलकम ड्रिंक, राउन्ड–ट्रिप केबल कार सवारी, लाइभ म्युजिक, बीबीक्यू स्न्याक्स र गाला डिनरको व्यवस्था गरिएको छ । त्यस्तै, भोलि बिहान बुफे ब्रेकफास्ट स्प्रेड, विशेष खालका जस्तै बिलियड्र्स, ब्याडमिन्टनजस्ता गेमहरू पाहुनाहरूको लागि सार्वजनिक गरेको छ । त्यस्तै, स्पा सेवाहरूमा २० प्रतिशत छुट दिएको रिर्सोटले जनाएको छ। मनकामना हिलक्रेस्ट रिसोर्ट उपत्यका बाहिर अर्थात मनकामनामा अवस्थित मनकामना हिलक्रेस्ट रिसोर्टले ‘वान नाइट स्टे’ नयाँ प्याकेज सार्वजनिक गरेको छ । रिर्सोटले प्रति जोडी  १५ हजार ९९९ रुपैयाँ (करसहित) ल्याइएको उक्त अफरमा बसाइ, खानपान, मनोरञ्जनदेखि धार्मिक पर्यटनसम्म समेटिएको छ । रिर्सोटका अनुसार पहिलो दिन पर्यटकलाई स्वागतस्वरूप वेलकम ड्रिंक प्रदान गरिनेछ भने बसाइ अवधिभर विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू राखिएको छ । मनोरञ्जनात्मक प्याकेजअन्तर्गत बिङ्गो, राफेल ड्र, डिजे डान्स फ्लोरसहितको, लाइभ म्युजिक, विभिन्न खेलकुद गतिविधि तथा मगर कल्चरल कौरा सांस्कृतिक नृत्य जस्ता कार्यक्रम समावेश गरिएको छ । यो प्योकेजभित्र पाहुनाहरूका लागि एक ककटेल/मक्टेल निःशुल्क उपलब्ध गराइनेछ । साथै  बफेट डिनरको व्यवस्था गरिएको छ । भोलिपल्ट बिहान अर्थात नयाँ वर्षको दिन ११ बजेसम्म फुल इंग्लिस वा कन्टिनेन्टल बफेट ब्रेकफास्टको सुविधा समेत प्याकेजमा समावेश गरिएको होटलले जनाएको छ। प्याकेजको अर्को आकर्षणका रूपमा मनकामना केवलकारको दुईतर्फी टिकट प्रदान गरिएको छ । नयाँ वर्षको दिन खानपानमा १० प्रतिशत छुट दिएको रिर्सोटले जनाएको छ । त्यस्तै, अर्ली बर्ड अफर तथा जिम, स्विमिङ पुल, साउना र स्टीमको सुविधा पनि उपलब्ध गराएको छ । रिसोर्टका अनुसार यही प्याकेजअन्तर्गत परिवारसहित बस्न आउँदा १० वर्षभन्दा मुनिका बच्चाका लागि प्रति बच्चा ३ हजार रुपैयाँ अतिरिक्त शुल्क लाग्नेछ । त्यस्तै, १० वर्षभन्दा माथिका एडल्टका लागि प्रतिव्यक्ति ६ हजार रुपैयाँ शुल्क लाग्ने होटलले जनाएको छ । कान्तिपुर भिलेज होटल नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै कान्तिपुर भिलेज बुटिक होटलले आकर्षक अफर सार्वजनिक गरेको छ । होटलका अनुसार खुला आकाशमुनि छानामा तयार गरिएको सेटिङमा अतिथिहरूले उत्सवमय रातको अनुभव लिन सक्नेछन् । कार्यक्रम अन्तर्गत २ शट ह्विस्की वा २ गिलास बियर, लाइभ बारबेक्यू, संगीत तथा नयाँ वर्ष विशेष बुफे डिनरको व्यवस्था गरिएको छ । प्याकेजमा आगमनमा स्वागत पेय पदार्थ, ‘सारथी’ विशेष ककटेल वा मकटेलको एक गिलास, इन्फिनिटी स्विमिंग पूल तथा ज्याकुजी पहुँच, बिहानको नास्ता, सुरक्षित पार्किङ र न्यानो आतिथ्य समेत समावेश गरिएको छ । प्रिमियम भोजन, भावपूर्ण संगीत र स्मरणीय क्षणहरूको संयोजनसहितको यो अफर राजधानीमै नयाँ वर्ष मनाउन चाहनेका लागि आकर्षक विकल्प बन्ने होटलले जनाएको छ ।

नेशनल लाइफले अभिकर्ताहरुलाई दियो एकदिने तालिम

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न शाखा कार्यालयमा कार्यरत अभिकर्ता समूहलाई एक दिने तालिम प्रदान गरेको छ । कम्पनीले मासिक योजना 'मन्थन २०८२' अन्तर्गत बीमाशुल्क संकलनमा उत्कृष्ट प्रदर्शन गर्ने १६० जना अभिकर्तालाई महेन्द्रनगर, शुक्लाफाँटास्थित होटल ओपेरामा तालिम दिएको हो । तालिम अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमद द्वारा बीमा क्षेत्रमा चर्चित एमडिआरटी लक्ष्य पूरा गर्ने उपाय सम्बन्धी विभिन्न उदाहरणसहित सञ्चालन गरिएको थियो । सहायक महाप्रवन्धक विवेक शर्माले कार्यक्रमको उद्घाटन पानस प्रज्वलन गर्दै गरेका थिए । कार्यक्रममा सुदुर पश्चिम प्रदेश प्रमुख नविन किशोर भट्टले सहभागी अभिकर्तालाई स्वागत गरे भने एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले अभिकर्ता पेशागत उत्कृष्टता हासिल गर्न कम्पनीले विभिन्न प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिएका थिए । कार्यक्रममा विभिन्न शाखामा उत्कृष्ट कार्य गर्ने अभिकर्तालाई सहायक महाप्रवन्धक शर्माले मायाको चिनो प्रदान गरेका थिए । सहभागी अभिकर्ताले चर्चित प्रशिक्षकबाट तालिम लिन पाउँदा खुसी व्यक्त गरेका थिए भने सम्मानित अभिकर्ताले आफ्नो मेहनतको कदर भएकोमा खुशी व्यक्त गरेका थिए ।

शंकर ग्रुपको १ खर्ब रुपैयाँ ऋण, कुन कम्पनीको कति ?

काठमाडौं । व्यावसायिक घराना शंकर ग्रुप यतिबेला अनुसन्धानको केन्द्रमा छ । ग्रुपका अध्यक्ष शंकर अग्रवाल गत शुक्रबार (चैत २०) पक्राउ परेपछि आइतबार (चैत २२) रिहा भएका छन् भने सोही दिन उपाध्यक्ष तथा जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ परेका छन् । प्रहरीले दुवै जनालाई सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) सम्बन्धी कसूरमा अनुसन्धान गर्न पक्राउ गरेको जनाएको छ । सुलभ अग्रवाललाई अदालतले ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।  शंकर समूह अन्तर्गत दर्जनौं कम्पनीहरू सञ्चालनमा छन् । उद्योग, व्यापार, स्टील, सिमेन्ट, ऊर्जा लगायत विभिन्न क्षेत्रमा फैलिएको यो समूह देशको औद्योगिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । समूहको संरचना अनुसार यसको दुई प्रमुख इकाइ रहेका छन्– जगदम्बा होल्डिङ र जगदम्बा ग्रुप । जगदम्बा होल्डिङ्सको अध्यक्ष शुलभ अग्रवाल रहेका छन् भने जगदम्बा समूहको अध्यक्ष शाहिल अग्रवाल छन् । शाहिल अग्रवाल शंकर समूहका प्रबन्ध निर्देशक पनि हुन्, जसले समग्र समूहको नेतृत्व सम्हालिरहेका छन् । विकासन्युजलाई प्राप्त तथ्याङ्क अनुसार, शंकर समूहले दर्जनौं कम्पनी सञ्चालन गर्दै आएको छ र करिब एक खर्ब रुपैयाँ बराबर ऋण बैंक तथा वित्तीय संस्थाबाट लिएको छ ।  जगदम्बा स्टिल्स  नेपालको ठूलो इस्पात उत्पादक कम्पनी जगदम्बा स्टिल्स लिमिटेडले ३३ अर्ब १५ करोड ५२ लाख रुपैयाँ ऋण लिएको छ । कम्पनी सन् १९९३ अक्टोबर १ मा स्थापना भएको हो । बाराको सिमरामा रहेको यसको प्रमुख प्लान्टमा कोल्ड रोल्ड, रोलिङ मिल, तार तथा मेल्टिङ गरी चार प्रमुख उत्पादन लाइनमार्फत विभिन्न इस्पातजन्य सामग्री उत्पादन गरिन्छ । कम्पनीको कुल क्षमता २४ लाख ४४ हजार मेट्रिक टन रहेको छ, जसले देशको आवश्यकताभन्दा बढी स्टील उत्पादन तथा आपूर्ति गर्ने क्षमता राख्छ । यसको उत्पादन देशभरका करिब ५९० वितरकमार्फत बिक्री भइरहेको छ ।  सौर्य सिमेन्ट इन्डस्ट्रीज सौर्य सिमेन्ट इन्डस्ट्रीज लिमिटेडले १४ अर्ब ८६ करोड ९८ लाख रुपैयाँ ऋण लिएको छ । सन् २०१७ सेप्टेम्बरमा स्थापना भएको यस कम्पनीको प्रमुख उत्पादन प्लान्ट सिराहा जिल्लाको मिर्चैयामा अवस्थित छ । कम्पनीको कुल स्थापित क्षमता प्रतिदिन ३ हजार टन रहेको छ । यो कम्पनी शंकर समूह, आम्बे समूह र हुलास समूहसहित तीन प्रमुख व्यावसायिक समूहहरूको संयुक्त स्वामित्वमा रहेको छ ।  रिद्धि सिद्धि सिमेन्ट  रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले ११ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ ऋण लिएको छ । सन् २०१३ मा स्थापना भएको यो कम्पनी शंकर समूह र अम्बे समूहको संयुक्त लगानीमा सञ्चालनमा रहेको छ । कम्पनीको कुल ग्राइण्डिङ क्षमता ०.७३ मिलियन मेट्रिक टन रहेको छ भने क्लिङ्कर उत्पादन क्षमता ०.८४ मिलियन मेट्रिक टन रहेको छ । कम्पनीले ‘रिद्धि सिद्धि’ र ‘मकवानपुर सिमेन्ट’ ब्रान्ड अन्तर्गत उत्पादनहरू बजारमा बिक्री गर्दै आएको छ । कम्पनीको उत्पादन प्लान्ट मकवानपुर जिल्लाको हेटौंडा–रातोमाटेमा अवस्थित छ । शुभ श्री जगदम्बा सिमेन्ट मिल्स शुभ श्री जगदम्बा सिमेन्ट मिल्स लिमिटेडले २ अर्ब १४ करोड ८० लाख रुपैयाँ ऋण लिएको छ । सन् २००७ अगस्टमा स्थापना भएको यस कम्पनीको कुल ग्राइण्डिङ क्षमता प्रतिदिन २ हजार ६०० टन रहेको छ । कम्पनीमा सौरभ समूहको करिब ६० प्रतिशत र शंकर समूहको करिब ४० प्रतिशत स्वामित्व रहेको छ । यसको उत्पादन प्लान्ट पर्सा जिल्लाको छत्ता पिप्रा चोर्नी–४ मा अवस्थित छ, जुन काठमाडौंबाट करिब १२५ किलोमिटर टाढा पर्छ । जगदम्बा मोटर्स जगदम्बा मोटर्स प्रालिले ५ अर्ब ९६ करोड ७४ लाख रुपैयाँ ऋण लिएको छ । सन् २०१० डिसेम्बर २७ मा स्थापना भएको यो कम्पनी शंकर समूह अन्तर्गत सञ्चालनमा रहेको छ । कम्पनी शाहिल अग्रवालको व्यवस्थापनमा सञ्चालन हुँदै आएको छ । जगदम्बा मोटर्सले नेपालभर आफ्नो बिक्री तथा सेवा सञ्जाल विस्तार गर्दै दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको बजारमा महत्वपूर्ण उपस्थिति कायम गरेको छ । जगदम्बा हस्पिटालिटीमा  शंकर समूहले नक्सालमा पाँचतारे होटल हिल्टन काठमाडौं सञ्चालनमार्फत हस्पिटालिटी क्षेत्रमा पनि आफ्नो उपस्थिति जनाएको छ । जगदम्बा हस्पिटालिटी ग्रुप अन्तर्गत रहेको उक्त होटल आगलागीका कारण क्षतिग्रस्त भएपछि हाल पुनःनिर्माणको चरणमा रहेको छ । उपलब्ध तथ्याङ्क अनुसार होटल निर्माणका लागि कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब ३० करोड रुपैयाँ ऋण लिएको छ । होटल पूर्ण रूपमा सञ्चालनमा आउँदासम्म करिब ७ अर्ब रुपैयाँ लगानी भइसकेको दाबी गरिएको छ । होटलमा शाहिल अग्रवालको कम्पनीको ९० प्रतिशतभन्दा बढी स्वामित्व रहेको बताइएको छ । जगदम्बा अटो ग्रुप शंकर समूहअन्तर्गतको जगदम्बा अटो ग्रुपले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ९१ करोड रुपैयाँ ऋण लिएको छ । सन् २०१४ मा स्थापना भएको यो कम्पनी नेपालमा टीभीएस ब्रान्डका दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारी साधन एसेम्बल गर्ने अधिकृत कम्पनी हो । कम्पनीले एसेम्बल गरेका सवारी साधनहरू आफ्नै समूहअन्तर्गतको जगदम्बा मोटर्स प्रालिमार्फत बिक्री वितरण गर्दै आएको छ । जगदम्बा मोटर्स नेपालमा टीभीएस सवारी साधनको आधिकारिक वितरक पनि हो । जगदम्बा हायर पर्चेज जगदम्बा हायर पर्चेज लिमिटेडले १ अर्ब ७७ करोड २५ लाख रुपैयाँ ऋण लिएको छ । शंकर समूहको वित्तीय शाखाअन्तर्गत रहेको यो कम्पनी सन् २०१६ मेमा स्थापना भएको हो । कम्पनीले सन् २०१७ फेब्रुअरीमा नेपाल राष्ट्र बैंकबाट हायर पर्चेज कम्पनीका रूपमा सञ्चालन अनुमति प्राप्त गरेको थियो । यसको मुख्य उद्देश्य दुई पाङ्ग्रे, तीन पाङ्ग्रे (टेम्पो), चार पाङ्ग्रे सवारी साधन (अटो लोन) तथा भारी उपकरणका लागि हायर पर्चेज ऋण प्रदान गर्नु हो । उपलब्ध तथ्याङ्क अनुसार कम्पनीको अधिकांश सेयर स्वामित्व शाहिल अग्रवालसँग रहेको छ, जसले करिब ९९.८० प्रतिशत हिस्सा ओगटेका छन् ।  जगदम्बा मोबाइल शंकर समूहअन्तर्गतको जगदम्बा मोबाइलले ९० करोड रुपैयाँ ऋण लिएको छ । नेपालमा मोबाइल तथा प्रविधि उपकरणको व्यवसायमा सक्रिय यो कम्पनी सन् २०११ जुलाई ७ मा स्थापना गरिएको हो । कम्पनीले रियलमी मोबाइल टेलिकम्युनिकेशन्सको गैर–विशेष आधिकारिक वितरकका रूपमा रियलमी ब्रान्डका स्मार्टफोन तथा एक्सेसरीहरू बिक्री तथा वितरण गर्दै आएको छ । जगदम्बा सिन्थेटिक्स जगदम्बा सिन्थेटिक्स लिमिटेडले ३ अर्ब ५९ करोड रुपैयाँ ऋण लिएको छ । नेपालमा पोलिप्रोपाइलीन बुना कपडा र झोला उत्पादन गर्ने यो कम्पनी सन् २००२ मार्च २० मा स्थापना भएको हो । कम्पनीले नन-वान बुना एए र हाई डेंसिटी पोलिथिन (ज्म्एभ्) कपडा पनि उत्पादन गर्दै आएको छ, जुन झोला निर्माण र आवरण सामग्रीको रूपमा प्रयोग हुन्छ । यसको उत्पादन इकाई रुपन्देही जिल्लामा अवस्थित छ र मासिक ३ हजार मेट्रिकटन कपडा तथा झोला उत्पादन क्षमता राख्दछ । जगदम्बा फ्लोर एण्ड एग्रो जगदम्बा फ्लोर एण्ड एग्रो लिमिटेडले १ अर्ब २४ करोड १६ लाख रुपैयाँ ऋण लिएको छ। भैरहवा, रुपन्देहीमा अवस्थित यसको उत्पादन कारखानाबाट आटा तथा अन्य गहुँजन्य उत्पादनहरू उत्पादन हुँदै आएका छन् । कम्पनी सन् २०१५ अगस्टमा स्थापना भएको हो। यसले मैदा, आटा, सुजी, चोकर र अन्य सम्बन्धित उत्पादनहरू जगदम्बा र शक्ति भोग ब्रान्ड अन्तर्गत बजारमा उपलब्ध गराउँदै आएको छ । कम्पनीको कुल स्थापित क्षमता प्रतिवर्ष ३८ हजार २०० मेट्रिकटन रहेको छ । बलेफी हाइड्रोपावर लिमिटेड बलेफी हाइड्रोपावर लिमिटेडले ५ अर्ब ४८ करोड रुपैयाँ ऋण लिएको छ । सिन्धुपाल्चोक जिल्लामा अवस्थित ३६ मेगावाट क्षमताको अपर बलेफी-ए जलविद्युत आयोजना सफलतापूर्वक सञ्चालन भइरहेको छ । उक्त आयोजना सन् २०७९ मंसिर ६ गते (नोभेम्बर २२, २०२२) देखि व्यावसायिक उत्पादनमा रहेको छ । जनवरी २०२६ सम्म कम्पनीको चुक्ता पुँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ पुगेको छ, जसको सम्पूर्ण स्वामित्व सर्वसाधारणमा रहेको छ । यसले कम्पनीलाई पूर्ण सार्वजनिक स्वामित्वमा रहेको ऊर्जा कम्पनीको रूपमा स्थापित गरेको छ । हालका प्रमुख सेयरधनीहरूमा सुशील गुप्ताको ४.३४ प्रतिशत, प्रभा गोयनका भीमसरिया ३.९८ प्रतिशत, सन्दीप कुमार शारदा ३.७६ प्रतिशत र बच्‍छु पौडेल २.६० प्रतिशत रहेका छन्। यसअघि सुलभ अग्रवालको नाममा १४.६० प्रतिशत सेयर स्वामित्व रहेपनि हाल उनको नाममा देखिदैँन । मोदी इनर्जी लिमिटेड मोदी इनर्जी लिमिटेडले ३ अर्ब ६५ करोड ४६ लाख रुपैयाँ ऋण लिएको छ । कम्पनी पर्वत जिल्लामा २० मेगावाट क्षमताको तल्लो मोदी खोला जलविद्युत आयोजना निर्माण तथा सञ्चालनको उद्देश्यले क्रियाशील छ । सन् १९९६ नोभेम्बरमा ‘मनाङ ट्रेड लिंक प्राइभेट लिमिटेड’ का रूपमा स्थापना भएको कम्पनी सन् २०१७ मे २८ मा ‘मोदी इनर्जी प्राइभेट लिमिटेड’ मा रूपान्तरण गरिएको थियो । त्यसपछि सन् २०१८ जुन २१ मा कम्पनी सार्वजनिक लिमिटेड कम्पनी ‘मोदी इनर्जी लिमिटेड’ मा परिणत भएको हो । तल्लो मोदी खोला जलविद्युत आयोजना ‘रन अफ द रिभर’ प्रकारको आयोजना हो, जसले ५५२ वर्ग किलोमिटर जलाधार क्षेत्र समेटेको छ । आयोजनाको डिजाइन डिस्चार्ज २६.५२ घनमिटर प्रति सेकेन्ड रहेको छ, जुन ४० प्रतिशत एक्सिडेन्स फ्लोमा आधारित छ । कम्पनीको प्रमुख संस्थागत प्रवर्द्धक मोदी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड रहेको छ भने व्यक्तिगत प्रवर्द्धकमा पशुपति मुरारका र श्रीश कुमार मुरारका प्रमुख रहेका छन् । माथिल्लो बलेफी हाइड्रोपावर माथिल्लो बलेफी हाइड्रोपावर लिमिटेडले ७ अर्ब २४ करोड ८० लाख रुपैयाँ ऋण लिएको छ । कम्पनी जुगल गाउँपालिकामा ४६ मेगावाट क्षमताको माथिल्लो बलेफी जलविद्युत आयोजना निर्माणमा क्रियाशील छ । कम्पनी २०१७ जनवरी ४ मा स्थापना भएको हो । उक्त आयोजना ‘रन अफ द रिभर’ प्रकृतिको परियोजना हो र निर्माण, स्वामित्व, सञ्चालन तथा अन्ततः स्थानान्तरण मोडेलअनुसार सञ्चालन हुने व्यवस्था रहेको छ । माथिल्लो बलेफी हाइड्रोपावरका प्रवर्द्धकहरूमा गोल्यान समूह, एचआर गोयल समूह, सिद्धार्थ समूह र कसजु समूह प्रमुख रहेका छन् । शुलभ अग्रवाल सन् २०१० देखि शंकर समूहमा उपाध्यक्ष छन् । उनले समूह अन्तर्गत विभिन्न कम्पनीहरूमा सञ्चालक तथा निर्देशकको भूमिका निर्वाह गर्दै आएका छन् । उनी विशेषगरी जगदम्बा स्टील इण्डस्ट्रिज, जगदम्बा सिमेन्टमा प्रबन्ध सञ्चालकको भूमिकामा छन् । साथै, एसजी ग्लोबल, एसजी इन्जिनियरिङ, एसजी इलेक्ट्रोनिकमा पनि उनको सक्रिय भूमिका रहेको छ । शाहिल अग्रवालका विषयमा भने हालसम्म सरकारको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन । शंकर ग्रुपका प्रबन्ध सञ्चालक र जगदम्बा ग्रुपका अध्यक्ष रहेका शाहिलका विभिन्न ३३ वटा कम्पनी सञ्चालनमा रहेका देखिन्छन् । उनी विभिन्न २९ वटा कम्पनीको अध्यक्ष छन् भने ४ वटा कम्पनीमा सञ्चालकको भूमिकामा छन् ।  अकोड क्यापिन प्रा.लि.,काठमाडौं- अध्यक्ष अजन्त होल्ङ्गिस प्रा.लि.,काठमाडौं- अध्यक्ष अतल क्यापिटल प्रा.लि.,काठमाडौं- अध्यक्ष सेन्त्रम क्यापिटल प्रा.लि.,काठमाडौं- अध्यक्ष कालिका फिनकोर्प प्रा.लि., काठमाडौं- अध्यक्ष शुभश्री जगदम्बा सिमेन्ट मिलस् प्रा.लि.,काठमाडौं- अध्यक्ष जगदम्बा फुड प्रोसेसिङ प्रा.लि.,काठमाडौं- संचालक जगदम्बा फुडस् प्रा.लि.,काठमाडौं- अध्यक्ष जगदम्बा इस्पट प्रा.लि.,काठमाडौं- अध्यक्ष जगदम्बा एक्सप्लोरेसन प्रा.लि.,काठमाडौं- अध्यक्ष जगदम्बा रिसोर्सेस प्रा.लि.,काठमाडौं- अध्यक्ष कर्भी ग्लोबल प्रा.लि.,काठमाडौं- अध्यक्ष कृति एपेक्स प्रा.लि.,काठमाडौं- अध्यक्ष युजीवन मर्चेन्ट प्रा.लि.,काठमाडौं- अध्यक्ष वन्डर भेन्चर प्रा.लि.,काठमाडौं- अध्यक्ष जगदम्बा इस्पीरिचस् प्रा.लि.- अध्यक्ष जगदम्बा मोटरस् प्रा.लि.,काठमाडौं- अध्यक्ष जगदम्बा अटो गुप्र प्रा.लि.,काठमाडौं- अध्यक्ष शंकर अटोमोबाइलस् प्रा.लि., काठमाडौं- अध्यक्ष शैर्य अटोमोबाइलस् प्रा.लि., काठमाडौं- अध्यक्ष जगदम्बा अल्को वेभ प्रा.लि., काठमाडौं- अध्यक्ष जगदम्बा हस्पीट्यालिटी ग्रुप प्रा.लि., काठमाडौं- अध्यक्ष जगदम्बा माक्स प्रा.लि., काठमाडौं- अध्यक्ष ए. जि. इन्जिनियरिङ्ग प्रा.लि.,काठमाडौं-अध्यक्ष सगरमाथा लोजिस्टिकस् एण्ड त्रास्पोट प्रा.लि., काठमाडौं- अध्यक्ष एन.के. कस्मेटिकस् प्रा.लि., काठमाडौं- अध्यक्ष सगरमाथा माइनस् प्रा.लि., काठमाडौं- अध्यक्ष जगदम्बा सिमेन्ट प्रा.लि., काठमाडौं- अध्यक्ष नकासु मोटरस् प्रा.लि., काठमाडौं- अध्यक्ष एभरेष्ट साल्ट प्रा.लि., काठमाडौं- संचालक जगदम्बा केमिकलस् प्रा.लि.,काठमाडौं- संचालक नागरजुन क्यापिटलस् प्रा.लि.,काठमाडौं- संचालक जगदम्बा क्रेडिट एण्ड इन्भेष्टमेन्ट लिमिटेड,काठमाडौं- संचालक

ओम हस्पिटल अब २ सय शय्याको बन्ने, आम्दानी ८८ करोड, ऋण ५८.८५ करोड रुपैयाँ

काठमाडौं । चाबहिलस्थित ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिले सन् २०२५ मा ८८ करोड रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ ।  जुन अघिल्लो वर्षको तुलनामा ६.१५ प्रतिशत अर्थात् ५ करोड १० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले ८२ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको थियो । यसअघि सन् २०२३ मा ७२ करोड ४० लाख रुपैयाँ र सन् २०२२ मा ७० करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी भएको थियो । तीन दशकभन्दा लामो समयदेखि सञ्चालनमा रहेको अस्पतालले मुख्यतया गाइनेकोलोजी सेवाबाट आम्दानी वृद्धि गरेको जनाएको छ। सन् १९९५ डिसेम्बरमा स्थापना भएको ओम अस्पतालले १७५ शय्याको पूर्ण सेवा सुविधासहित विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्दै आएको छ। अस्पतालले सामान्य उपचारदेखि जटिल शल्यक्रिया र परीक्षण सेवासम्म प्रदान गर्दै आएको छ। २४ सै घण्टा आकस्मिक सेवा, आईसीयू तथा क्रिटिकल केयर सुविधा उपलब्ध रहेको अस्पतालले विभिन्न प्रमुख विधामा ओपीडी र आईपीडी सेवा सञ्चालन गरिरहेको छ। ओम अस्पताल अन्तर्गत आईभीएफ, डायलाइसिस, अन्कोलोजी, इमेजिङ तथा प्रयोगशाला सेवा, फिजियोथेरापी, वेलनेस तथा निवारक क्लिनिकहरू सञ्चालनमा छन् । कम्पनीका प्रमुख सेयरधनीमा भोलाप्रसाद रिजालको ५.८५ प्रतिशत र विजय मल्लको ५.०९ प्रतिशत सेयर स्वामित्व रहेको छ। अस्पतालको अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठ रहेका छन्, जो नेपालका अग्रणी रेडियोलोजिस्टमध्ये एक हुन् । सञ्चालक समितिमा प्रमुख विशेषज्ञ चिकित्सकहरू र अनुभवी व्यवसायीहरू रहेका छन् । व्यवस्थापकीय नेतृत्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) यम बहादुर महतले गर्दै आएका छन् । बढ्दो प्रति व्यक्ति आम्दानी, स्वास्थ्य बिमा पहुँच विस्तार, गुणस्तरीय स्वास्थ्य सेवाप्रति बढ्दो जागरूकता, प्रविधिमा सुधार र जीवनशैलीसँग सम्बन्धित रोगहरूको वृद्धिले व्यवस्थित स्वास्थ्य सेवाको मागलाई प्रोत्साहन गरेको अस्पतालले जनाएको छ। अस्पतालले घना बस्ती भएको काठमाडौं उपत्यकामा रणनीतिक रूपमा अवस्थित मल्टी-स्पेशलिटी संरचना मार्फत निरन्तर बिरामी आकर्षित गरिरहेको छ, जसले थप आम्दानी वृद्धि हुने अपेक्षा गरिएको छ। यससँगै हाल १७५ शय्याको अस्पताललाई विस्तार गर्दै २ सय शय्यामा पुर्याउने योजना बनाइएको छ । कुल ८ हजार ५५४.१९ वर्ग मिटर जग्गा क्षेत्रफलमा जम्मा १० हजार ४२३.२२ वर्ग मिटर बुल्ट अप एरिया भएको २०० शय्याको ओम हस्पिटल एन्ड रिसर्च सेन्टर सञ्चालन गर्न लागिएको हाे ।  अस्पतालले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ४२ करोड ८५ लाख रुपैयाँ दीर्घकालीन र १६ करोड रुपैयाँ अल्पकालीन गरी कुल ५८ करोड ८५ लाख रुपैयाँ ऋण लिएको छ।

वैदेशिक रोजगार कल्याणकारी कोषको ३ अर्ब ३२ करोड रुपैयाँ मुद्दतीमा लगानी गर्ने

काठमाडौं । वैदेशिक रोजगार कल्याणकारी कोषको सवा ३ अर्ब रुपैयाँ मुद्दनी निक्षेपमा लगानी गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार बोर्ड सचिवालयले वैदेशिक रोजगार कल्याणकारी कोषको ३ अर्ब ३२ करोड ५० लाख रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । यसका लागि नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंक र विकास बैंकहरूबाट सिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ । इच्छुक बैंकहरूले प्रस्तावित ब्याजदर र लिन चाहेको रकमसहित आवश्यक विवरण पेश गर्नुपर्नेछ । बैंकहरूले २०८३ वैशाख ९ गते दिउँसो १२ बजेसम्म दरभाउपत्र सचिवालयमा बुझाउनुपर्नेछ । प्राप्त प्रस्तावहरू सोही दिन दिउँसो ४ बजे खोलिने जनाइएको छ । 

एकै दिन ३९ वटा फर्ममा अनुगमन, शंकर र एमडिआरलाई २० हजार जरिवाना

काठमाडौं । नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन फर्मलाई जरिवाना गरेको छ । स्थलगत निरीक्षणको क्रममा कैफियत देखिएपछि विभागले कुलेश्वरमा अवस्थित शंकर खाद्य किराना स्टोरलाई २० हजार रुपैयाँ जरिवाना गरेको छ । यस्तै,कुलेश्वरकै एमडिआर स्टोरलाई पनि २० हजार रुपैयाँ जरिवाना गरेको छ । गोङ्गबुमा रहेको गुप्ता गुँदपाक भण्डारलाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ ।  ती फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारवाही गरिएको विभागले प्रष्ट पारेको छ । विभागले एकै दिन कूल ३९ वटा फर्ममा अनुगमन गरेकोमा ३६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ। उपभोक्ता अधिकारकर्मी र सरोकारवालाहरुको उपस्थितिमा विभागले नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको छ । 

८ अर्ब ५० करोडको लागतमा बिपी राजमार्गको कायापलट गरिँदै, गृहमन्त्री गुरुङले लिए प्रगति विवरण

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको क्षतिग्रस्त काभ्रेपलाञ्चोकको रोशी क्षेत्रको आज अनुगमन-निरीक्षण गरेका छन् । उनले राजमार्गको क्षति र आउने सम्भावित विपत्तिबारे सरोकारवालासँग स्थलगत छलफल गरेका छन् । क्षतिग्रस्त उक्त राजमार्गको अनुगमनका क्रममा गृहमन्त्री गुरुङले अब हुने सम्भावित विपत्तिबारे चासो दिँदै यसअघि कस्ता खालका विपत् भए, कस्तो व्यवस्थापन गरियो, त्यस अनुसारको पूर्वतयारी गर्नुपर्नेबारे सुरक्षा प्रमुखलाई रणनीतिक तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । ‘यसअघि कस्तो खालको विपत्ति भयो, त्यसलाई मध्यनजर गर्दै रेस्क्यू गर्ने तयारीबारे हामी सचेत रहनुपर्दछ, खोलामा डुबे गोताखोर तथा अन्य अवस्थाका लागि एम्बुलेन्स हैन, जाम हुनसक्छ, समय महत्त्वपूर्ण हो, अब हामीले हेलीबाट रेस्क्यू गर्नुपर्दछ, जियो-लोकेसन गरी त्यसबारे व्यवस्थापन गर्दै रेस्क्यू गर्ने हो, त्यसका लागि त्रिभुवन विमानस्थलमा केन्द्रीय विपद् व्यवस्थापनबाट एयरपोर्टमा जुन टोली चाहिने हो, त्यही परिचालन गर्नेछौँ, जे आवश्यक हो सोहीअनुसार तयारी गर्नेछौं’, उनले भने । गृहमन्त्री गुरुङले सोहीअनुसार तयारी गर्न केन्द्रीय सुरक्षाकर्मी तथा जिल्लास्थित सुरक्षाकर्मीलाई निर्देशन दिएका हुन् । अनुगमनका क्रममा गुरुङले डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेश, नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामा र रोशी गाउँपालिका अध्यक्ष दिनेश लामालगायत सरोकारवाला स्थानीय तहका प्रमुखसँग क्षतिग्रस्त राजमार्गबारे जानकारी लिएका थिए । त्यस अवसरमा योगेशले स्थायी निर्माणमा तीव्रता दिइएको तर हालको अवस्थामा पटकपटक भइरहेको वर्षाका कारण केही रोकिएको जानकारी गराए । यस्तै, योगेशले यसअघि अस्थायी रूपमा निर्माण गरिएको डाइभर्सन बगाउँदा पुनःनिर्माण गरी यातायातका साधनलाई पुनः सञ्चालन ग्रिएको जानकारी गराउँदै आगामी वर्षअघि पुरानै सडक लेनमा अस्थायी रूपमा भए पनि यातायात सञ्चालन गर्नेगरी ‘इक्युपमेन्ट’ थपेर निर्माण कार्यलाई तीव्रता दिइएको गृहमन्त्री गुरुङलाई जानकारी गराए । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट थालिएको स्थायी पुनःनिर्माण कार्यलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ । राजमार्गको जोखिमयुक्त स्थानमा आउँदो वर्षअघि नै पूर्वाधार निर्माण सक्ने र राजमार्गबाट नै यातायातका साधन सञ्चालन गर्नेगरी निर्माणलाई तीव्रता दिइएको योगेशले बताए । उनका अनुसार राजमार्गमा भइरहेको काम हेर्दा दुई वर्षभित्र सडक पुनःनिर्माणको काम सकिनेछ । हालसम्म काभ्रेपलाञ्चोकतर्फ ठेक्का लागेको तीन वटा सडक खण्डमा कुल २५ प्रतिशत काम भएको योगेशको भनाइ छ । विशेषगरी २०८१ असोजमा आएको बाढीपहिरो तथा यस वर्षको वर्षामा थप क्षति पुगेपछि गत मङ्सिरदेखि प्रक्रिया पुर्‍याएर स्थायी पुनःनिर्माण थालिएको हो । क्षतिग्रस्त चार खण्डमध्ये बाँकी एक खण्ड जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले पुनर्निर्माण गर्ने बर्खे खोलादेखि पिप्लेसम्मको ३ दशमलव २ किलोमिटर सडक निर्माणको काम यसै महिनाभित्र ठेक्का सम्झौता हुने योगेशले जानकारी दिए । क्षति पुर्‍याएको विभिन्न स्थानमा ‘आरसिसी’ पर्खाल लगाउने काम भइरहेको छ भने चौकीडाँडामा खोलाबाट प्लम्प पर्खाल लगाउन तथा चारसयबेँसी र भकुण्डेबेँसीमा पनि ‘आरसिसी’ पर्खाल लगाउन सुरु गरिएको छ ।  यस्तै डालाबेँसी, मङ्गलटार खण्ड, चारसयबेँसीदेखि नार्के खण्डमा सडक चौडा बनाउने काम भइरहेको योगेशले बताए । उनका अनुसार गत वर्ष र यस वर्षको बाढीले ‘वासआउट’ (सडक पूर्ण क्षति) भएको स्थानमा बाढीले क्षति नगर्ने संरचना निर्माणको डिजाइन गरिएको छ । राजमार्गको काभ्रेपलाञ्चोक र सिन्धुलीको क्षतिग्रस्त खण्डको आगामी दुई वर्षभित्र पुनर्निर्माणको काम सक्ने लक्ष्य राखिएको छ। यस वर्ष क्षतिग्रस्त स्थानमा संरचना निर्माण गर्ने, सडक चौडा गर्नेलगायतको काम सम्पन्न गर्ने र आगामी वर्ष बाँकी रहेका केही स्थानमा संरचना बनाई कालोपत्र गरी कामलाई तीव्रता दिइएको योगेशले बताए ।  बाढीपहिराले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पुर्‍याएको थियो । अबको पुनर्निर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने भएको हो । ‘पुनर्निर्माण हुने सडक खण्डमा दुई लेनको सडक बन्नेछ भने यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाई दुई लेनको निर्माण गरिनेछ’, योगेशले भने । उनका अनुसार पाँच वटा पुललाई दुई लेनमा परिणत गर्नेसमेत योजना बनाइएको छ। डालाबेँसीदेखि चारसयबेँसीसम्म ८ दशमलव ५ किमी सडक पुनर्निर्माणका लागि खानी–एवन–कमलजीत जेभीले एक अर्ब ४२ करोड ३७ लाख  रुपैयाँ (भ्याटसहित) मा निर्माण गर्ने गरी ठेक्का पाएको कार्यालयले जनायो। यस्तै चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११ दशमलव ०८ किमी सडक पुनर्निर्माणका लागि लामा-नवकान्तिपुर जेभीलाई एक अर्ब ३३ करोड ५३ लाख रुपैयाँमा ठेक्का दिइएको हो । नेपालथोकदेखि बर्खेखोलासम्म ४ दशमलव ९० किमी सडक पुनर्निर्माणका लागि ६१ करोड रुपैयाँ (भ्याटसहित) मा निर्माण गर्ने गरी खरिढुङ्गा-घिसिङ-क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको जनाइएको छ । क्षतिग्रस्त कुल २९ दशमलव ५ किमी सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३ दशमलव २ किमी सडकलाई जाइकाले दुई अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ। कार्यालयले जाइकाले निर्माण गर्ने सडक खण्डबाहेकका अन्य खण्डमा सरकारले गत असोजअघि नै ठेक्का लगाइसकेको थियो । क्षतिग्रस्त खण्ड पुनर्निर्माणका लागि सरकारले आठ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति दिएको हो। जसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई सात अर्ब ५० करोड रुपैयाँ र सिन्धुलीको एक सडकखण्डलाई एक अर्ब रुपैयाँको स्रोत सहमति दिइएको हो । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट बिपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिबास १६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो। खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा लिइएको छ । यसअघि गुरुङले अरनिको रामार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको १८ किलोमिटर सडक खण्डमा पर्ने भैंसेपाटीमा पुल तथा बनेपास्थित पुलबजारको पुन्यमाता खोलामा निर्माण सुरु गरिएको पुलको निरीक्षण गरी कामलाई तीव्रता दिन आग्रह गरे । 

ललितपुरमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौं । ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका-१४ थसीखेलस्थित सडकमा मधेस प्रदेश ०३-००१ ख ८०६८ नम्बरको ट्रकले एएए ३५४२ नम्बरको मोटरसाइकललाई (मंगलबार) आज दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक ललितपुर महानगरपालिका-२ सानेपा बस्ने सुनसरी घर भएका ६५ वर्षीय विदुर गुरुङ र मोटरसाइकलमा सवार उनकै आमा ८५ वर्षीया धनमाया गुरुङ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको अल्का अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी केन्द्रीय समाचार कक्ष नक्सालले जनाएको छ । ठक्कर दिने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।  

सरकारको निर्णयले पेट्रोल १८ रुपैयाँसम्म सस्तो पर्ने, यस्तो छ नयाँ कर

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मंगलबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलका अनुसार सरकारले पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।  सरकारको निर्णयपछि उपभोक्ताले तत्काल राहत पाउने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य अस्थिर भइरहेका बेला कर कटौतीमार्फत बजारमा मूल्य नियन्त्रण गर्ने प्रयासस्वरूप यो कदम चालिएको बताइएको छ । यसले दैनिक करोडौं घाटा बेहोरिरहेको नेपाल आयल निगमलाई पनि राहत मिल्ने भएको छ ।  पहिले पेट्रोलमा कुल कर ६६ रुपैयाँ ९८ पैसा लाग्दै आएको थियो । यसमध्ये भन्सार शुल्क २५ रुपैयाँ २३ पैसा रहेकोमा अब घटेर १२ रुपैयाँ १२ पैसा पुगेको छ । पूर्वाधार कर पनि १० रुपैयाँबाट घटेर ५ रुपैयाँ कायम गरिएको छ । भ्याट, सडक मर्मत सम्भार कर, प्रदूषण कर, हरित कर र मूल्य स्थिरीकरण कोष भने यथावत छन् ।  डिजेलमा पनि समान प्रकृतिको कटौती गरिएको छ । कुल कर ४९ रुपैयाँ २८ पैसा रहेकोमा भन्सार शुल्क १२ रुपैयाँ ३ पैसा बाट घटेर ६ रुपैयाँमा झरेको छ भने पूर्वाधार कर १० रुपैयाँबाट ५ रुपैयाँमा सीमित गरिएको छ । एलपी ग्यासमा भने हालसम्म २४ रुपैयाँ ९५ पैसा कर लाग्दै आएको छ, जसमा भन्सार, ढुवानी, भ्याट र मूल्य स्थिरीकरण कोषका शीर्षकहरू समावेश छन् । हवाई इन्धनमा प्रतिलिटर ३४ रुपैयाँ ४८ पैसा कर कायम छ । सरकारको यो निर्णय छोटो अवधिमा उपभोक्तालाई राहत दिने भए पनि अब निगमले मूल्य घटाउँछ वा घटाउँदैन भन्ने चासोका रुपमा हेरिएको छ । पेट्रोलियम पदार्थको मूल्य घट्दा यातायात खर्च कम हुने, जसले वस्तु तथा सेवाको मूल्यमा पनि केही हदसम्म कमी ल्याउन सक्छ । यसले महँगी नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ । पेट्रोलियम पदार्थ सरकारका लागि प्रमुख राजस्व स्रोत हो । भन्सार करमा ५० प्रतिशत कटौती गर्दा सरकारी आम्दानीमा उल्लेखनीय कमी आउन सक्ने विश्लेषण पनि भइरहेको छ ।  कर कटौतीले तत्काल राजनीतिक लोकप्रियता ल्याए पनि दीर्घकालीन ऊर्जा नीति, वैकल्पिक ऊर्जा प्रवद्र्धन र आत्मनिर्भरता लक्ष्यसँग यसको तालमेल कस्तो रहन्छ भन्ने प्रश्नपनि उठेको छ । सस्तो इन्धनले विद्युतीय सवारी साधन वा हरित ऊर्जातर्फको रूपान्तरणलाई ढिला गराउन सक्ने सम्भावना पनि रहन्छ । तर, सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा रुपान्तरण गर्नका लागि कानुनी व्यवस्था गर्ने निर्णय गरिसकेको छ । 

बुटवलमा कर्जा सुरक्षण गोष्ठी सम्पन्न, नयाँ सफ्टवेयरबारे अभिमुखिकरण

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले बुटवलमा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा कर्जा दाबीसम्बन्धी नयाँ सफ्टवेयरबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कोषको केन्द्रीय कार्यालय र शाखा कार्यालय बुटवलको संयुक्त आयोजनामा चैत २४ गते बुटवलस्थित एक होटलमा आयोजित एकदिने कार्यशाला गोष्ठीमा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, इन्फिनिटी लघुवित्त, ग्रामीण लघुवित्त, जनउत्थान लघुवित्त लगायतका संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए । कार्यक्रमको उद्घाटन तथा सञ्चालन शाखा कार्यालय बुटवलका प्रमुख बसन्त के.सी.ले गरेका थिए भने स्वागत मन्तव्य नायव प्रमुख कार्यकारी अधिकृत उषा पौडेलले व्यक्त गरेकी थिइन् । गोष्ठीमा कोषले सञ्चालन गर्दै आएको कर्जा सुरक्षण कार्यक्रम तथा भावी योजनाबारे कर्जा विभागका प्रमुख प्रबन्धक विक्रान्त आचार्यले जानकारी दिएका थिए । त्यस्तै, कोषले नयाँ रूपमा लागू गर्न लागेको कर्जा सुरक्षणसम्बन्धी सफ्टवेयरबारे सूचना प्रविधि विभाग प्रमुख राजु के.सी.ले प्रस्तुति दिएका थिए । कार्यक्रममा सहभागी संस्थाका प्रतिनिधिहरूले विभिन्न जिज्ञासा राखेका थिए, जसको समाधान कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले गरेका थिए । कोषले बैंक तथा वित्तीय संस्थासँग निरन्तर संवाद गर्दै कर्जा सुरक्षण प्रणालीलाई थप प्रभावकारी बनाउने तथा बजारको आवश्यकता अनुसार सुधारका लागि सुझाव संकलन गर्ने उद्देश्यले यस आर्थिक वर्षभर देशभर यस्ता गोष्ठी सञ्चालन गर्ने जनाएको छ ।   

योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ । मंगलबार (आज) बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने गरेको हो । डोटीका भट्टले अर्थशास्त्रमा पीएचडी गरेका छन् । राष्ट्र बैंकको कार्यकारी निर्देशक हुँदा उनले गभर्नर हुने चर्चाबीच पदबाट राजीनामा दिएका थिए । तर अन्तमा विश्व पाैडेल गभर्नरमा नियुक्त भएका थिए ।  भट्ट तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतका सल्लाहकार पनि हुन् । उनी नीति अनुसन्धानमा काविल अर्थशास्त्रीका रूपमा परिचित छन् । 

८ महिनामा बैंकहरूको नाफा ४४ अर्ब हाराहारी, अग्रस्थानमा नबिल, ३ बैंक करोडमै सीमित

काठमाडौं । ८ महिनामा वाणिज्य बैंकहरूले पौने ४४ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्ममा २० वटा वाणिज्य बैंकले ४३ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेका हुन्  ८ महिनाको अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ । चालु आवको फागुनसम्म नबिल बैंकले ६ अर्ब ७ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।  यस्तै, ग्लोबल आइएमई बैंकले ४ अर्ब ६२ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यस्तै, कुमारी बैंकले ३ अर्ब ६३ करोड ८ लाख रुपैयाँ, एभरेष्ट बैंकले २ अर्ब ९० करोड ७ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले २ अर्ब ८८ करोड ८ लाख रुपैयाँ, प्राइम बैंकले २ अर्ब ७४ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।  एनएमबि बैंकले २ अर्ब ६४ करोड ६६ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ३३ करोड ९० लाख रुपैयाँ, सानिमा बैंकले २ अर्ब ७ करोड ३९ लाख रुपैयाँ, सिद्धार्थ बैंकले २ अर्ब ४ करोड ८१ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ८० करोड ८२ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ७४ करोड ६९ लाख रुपैयाँ नाफा गरेका छन् ।   नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार माछापुच्छ्रे बैंकले १ अर्ब ४८ करोड ४४ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकले १ अर्ब ३८ करोड ५० लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ३२ करोड २५ लाख रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब २२ करोड १८ लाख रुपैयाँ, नेपाल बैंकले १ अर्ब १८ करोड ६८ लाख रुपैयाँ नाफा गरेका छन् ।  यस्तै, सिटिजन्स बैंकले ८० करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ६५ करोड ४ लाख रुपैयाँ, एनआईसी एशिया बैंकले ३० करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । 

काभ्रेका होटलहरूको गरियो स्तरीकरण, यी हुन तीन र दुइ तारे होटल

काठमाडौं । काभ्रेपलाञ्चोकका तीन नगरपालिकामा अनुगमन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले होटल तथा रेष्टुरेण्टको स्तरीकरण गरेको छ । कार्यालयले बनेपा, धुलिखेल र पनौती नगरपालिकाभित्र रहेका होटल तथा रेष्टुरेण्टको अनुगमन तथा मूल्याङ्कन गरी स्तरीकरण गर्नुका साथै लोगोसमेत वितरण गरेको हो । कार्यालयका डिभिजन प्रमुख मनिष चापागाईंको नेतृत्वमा गठित संयुक्त अनुगमन टोलीले सोमबार स्थलगत निरीक्षण गर्दै ‘खाद्य स्वच्छताका आधारमा होटल तथा रेष्टुरेण्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका, २०७४’ अनुसार अनुसूची-१ मा उल्लेखित मापदण्डका आधारमा मूल्याङ्कन गरेको हो । खाद्य स्वच्छता समूहले ५० वटा सूचकका आधारमा होटल तथा रेष्टुरेण्टको स्तरीकरण गर्ने व्यवस्था रहेको छ ।  टोलीमा धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जङ्गम, होटल एसोसिएसन अफ काभ्रेपलाञ्चोकका अध्यक्ष प्रह्‍लाद प्याकुरेल, जिल्लास्थित उद्योग वाणिज्य सङ्घका महासचिव रजित पलाञ्चोके, उपभोक्ता मञ्चका जिल्लाध्यक्ष माधव श्रेष्ठलगायतको सहभागिता थियो । अनुगमन टोलीका अनुसार प्रत्येक सूचकलाई दुई अङ्कका दरले मूल्याङ्कन गरी प्राप्त अङ्कका आधारमा होटललाई विभिन्न श्रेणीमा वर्गीकरण गरिन्छ । ९० भन्दा माथि अङ्क प्राप्त गर्ने होटललाई अति उत्तम (तीन तारे हरियो लोगो), ८०-८९ अङ्क प्राप्त गर्ने होटललाई उत्तम (दुई तारे हरियो लोगो), ६५-७९ अङ्क प्राप्त गर्ने होटललाई सन्तोषजनक (एक तारे हरियो लोगो), ५०-६४ अङ्क प्राप्त गर्ने होटललाई सामान्य (पहेँलो लोगो) प्रदान गर्ने व्यवस्था रहेको कार्यालय प्रमुख चापागाईंले जानकारी दिए । मूल्याङ्कनका क्रममा धुलिखेलका दुसित थानी, होटल सारथी, हिमालय होराइजन होटल, बनेपाको आगन्तुक रिसोर्ट, हिमालय दृश्य, तथा पनौती नगरपालिका-बल्थलीस्थित थुम्की रिसोर्टले अति उत्तम (तीन तारे) हरियो लोगो प्राप्त गरेका छन् । त्यस्तै, पनौतीस्थित बल्थलीका बल्थली माउन्टेन रिसोर्ट र बल्थली भिलेजले उत्तम (दुई तारे) हरियो लोगो प्राप्त गरेका छन् । यसअघि डिभिजन कार्यालयले गत फागुन १७ गते होटल तथा रेष्टुरेण्टका सञ्चालक तथा व्यवस्थापकलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा प्रमाणपत्र नवीकरण, सरसफाइ तथा ५० वटा सूचकसम्बन्धी मापदण्डबारे जानकारी गराइएको थियो । चापागाईंका अनुसार जिल्लाभर रहेका होटल तथा रेष्टुरेण्टको क्रमशः अनुगमन गरिनेछ । स्तरीकरण गरिएका होटल व्यवसायीलाई खाद्य स्वच्छतासम्बन्धी प्रतिबद्धता गराई प्रमाणपत्र प्रदान गरिएको छ । साथै, छ महिनाभित्र पुनः निरीक्षण गर्दा सुधार नभएको पाइए सम्बन्धित होटलको स्तरीकरण एक तह घटाइने पनि जनाइएको छ । 

एनपीएल दोस्रो संस्करणबाट क्यानले कमायो ४७ करोड ३६ लाख, खुद नाफा ९ करोड २१ लाख

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा नेपाल क्रिकेट संघ (क्यान) ले ४७ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।  सोमबार क्यानले दोस्रो संस्करणको एनपीएलमार्फत ४७ करोड ३६ लाख रुपैयाँ आम्दानी भएको जनाएको छ । एनपीएल दोस्रो संस्करणमार्फत क्यानको खुद आम्दानी भने ९ करोड २१ लाख २१ हजार रुपैयाँ रहेको छ ।  प्रतियोगिता सञ्चालन गर्न २१ करोड ९७ लाख ५ हजार रुपैयाँ खर्च भएको क्यानको आय(व्यय विवरणमा उल्लेख छ ।  क्यानले आम्दानीको ५० प्रतिशत रकम ८ फ्रेन्चाइ टिमसँग पनि वितरण गर्ने गर्छ । जसअन्तर्गत १६ करोड १८ लाख ७३ हजार रुपैयाँ ८ फ्रेन्चाइलाई दिएको छ ।  आम्दानी बाढ्नु अघि क्यानको खुद आम्दानी २५ करोड ३९ लाख ९५ हजार रुपैयाँ रहेको जनाइएको छ । 

सरकारी कर्मचारीको इन्धन सुविधामा कटौती: सचिवले ७० र सहसचिवले ५० लिटर मात्र पाउने

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा ब्यापक कटौती गर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इन्धन संकटबाट अर्थतन्त्रलाई जोगाउन इन्धन सुविधा कटौती गर्ने निर्णय स्वीकृत गरेका हुन् ।  अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि, आपूर्तिमा आएको कमी र चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेका कारण सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न यो निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।  आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २० र २४ ले दिएको अधिकार प्रयोग गरी अर्थ मन्त्रालयले ‘कार्य सञ्चालन निर्देशिका, २०८१’ को बुँदा नं. ४९ मा रहेका इन्धन सम्बन्धी व्यवस्थाहरू संशोधन गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज (चैत २३ गते) यो संशोधन स्वीकृत गरेका हुन् ।  उक्त संशोधन अनुसार १२५ लिटर इन्धन पाउँदै आएका सचिव तथा विशिष्ट श्रेणीका पदाधिकारीले अब ७० लिटर पाउने छन् । १०० लिटर इन्धन पाउँदै आएका सहसचिव स्तरका पदाधिकारीहरुले अब ५० लिटर पाउनेछन् । मन्त्री तथा संवैधानिक पदाधिकारी पदाधिकारीले भने प्रचलित कानुन अनुसार नै इन्धन सुविधा पाउनेछन् ।  त्यस्तै, केन्द्रीयस्तरका कार्यालयका पुल सवारी साधनहरुका लागि यसअघि उपलब्ध हुँदै आएको इन्धन सुविधा पनि कटौती भएको छ । ३० जनासम्म कर्मचारी भएका कार्यालयले ७५ लिटर पेट्रोल र १०० लिटर डिजेल पाउँदै आएकोमा अब ३५ लिटर पेट्रोल र ५० लिटर डिजेल पाउनेछन् ।  थप ५० जना कर्मचारीका भएका कार्यालयले यसअघि ७५ लिटर पेट्रोल र १०० लिटर डिजल पाउँदै आएकोमा कटौती गरी ३५ लिटर पेट्रोल र ५० लिटर डिजेल उपलब्ध गराइनेछ । त्यसपछिका थप प्रति १०० कर्मचारीका लागि ३५ लिटर पेट्रोल र ५० लिटर डिजल उपलब्ध हुनेछ ।  यसअघि थप १०० कर्मचारीको लागि ७५ लिटर पेट्रोल र १०० लिटर डिजेल दिइदै आएको थियो । त्यस्तै दुई पांग्रे सवारीले यसअघि प्रतिमहिना १२ लिटर पेट्रोल पाउँदै आएकोमा अब प्रतिमहिना ८ लिटर मात्र पाउनेछन् । 

उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको अध्यक्षमा धनबहादुर रावत सर्वसम्मत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको अध्यक्षमा धनबहादुर रावत चयन भएका छन् । सोमबार वीरेन्द्रनगरमा सम्पन्न नवौं सभाबाट रावत अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।  उपाध्यक्षमा जिल्ला नगर तर्फबाट सुधन श्रेष्ठ, एशोसिएटबाट कुलबहादुर विक र बस्तुगतबाट प्रेमबहादुर भण्डारी र कोषाध्यक्षमा कमल नेपाल चयन भएका छन् । यस्तै, निर्वाचन समितिका संयोजक बिवशकुमार बस्नेतले सदस्यहरुमा लक्ष्मी कार्की, कुमार प्याकुरेल, राजेन्द्रबहादुर भण्डारी, पवित्रा खड्का, दीपेन्द्रबहादुर खडका, सुन्दर शाही र सरिता रावल चयन भएको जानकारी दिए ।  अध्यक्ष सर्वसम्मत चयन भएपछि रावतले निजी क्षेत्रको व्यावसायिक विकासका लागि संस्थागत पहल कदमी गर्ने प्रतिबद्धता जाहेर गरे ।  उनले प्रदेश तहमा बन्ने नीति नियम, निजी सरकारी तथा सार्वजनिक साझेदारी कार्यक्रमहरूका लागि व्यावसाय मैत्री बनाउन पहलका साथै केन्द्रसँग समन्वयात्मक भूमिका निर्वाह गर्ने दाबी गरे ।  कर्णाली प्रदेशको आर्थिक विकासकामा निजी क्षेत्रको योगदान लगानी भित्र्याउनका लागि आवश्यक पहल गरिने बताए ।

बले पक्राउ प्रकरण : आरोप बलात्कारको, अनुसन्धान अभद्र व्यवहारको

काठमाडौं । ‘स्टाटसकै भरमा पक्राउ गर्ने ? यो सरकारलाई नीति नियम, कानुन, प्रकृया केही चाहिँदैन,’ सामाजिक सञ्जाल प्रयोगकर्ता मातृका बराल लेख्छन् । कमल आचार्य पनि सामाजिक सञ्जालमा लेख्छन्, ‘यसरी एउटा स्टाटसकै भरमा समाउने हो भने कदम कदाचित गृहमन्त्री, प्रधानमन्त्रीका विरुद्ध कसैले एउटा स्टाटस लेखिदियो भने समाउने कि नसमाउने ? यति प्रश्नको उत्तर चाहियो ।’ ‘फेसबुकमा लेखेको भरमा सबै मिडिया खनिएर दोषी साबित गरिदिने, त्यसैका आधारमा सरकारले हतकडी लगाइदिने कस्तो समय आयो ?’ जीवन सापकोटाले पनि कलाकार बले अर्थात् सागर लम्साललाई प्रहरीले पक्राउ गरेको विरोधमा फेसबुकमा लेखेका छन् । सागरविरुद्ध हालसम्म प्रहरीमा कुनै औपचारिक किटानी जाहेरी नपरेर पक्राउ गरेको भन्दै केशवराज पोख्रेल लेख्छन्, ‘सामाजिक सञ्जालको एउटा पोस्टलाई आधार मानेर प्रहरीले उनलाई पक्राउ गरेको हो, जाहेरी नभएकै कारण उनलाई बलात्कारको मुद्दामा नभई शान्ति सुरक्षा सम्बन्धी कसुरमा अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले ५ दिनको अनुमति दिएका छन् ।’ कलाकार ज्योति मगरले सामाजिक सञ्जालमा हल्ला चलेको र रिस उठेको भरमा च्याप्प समाउँदै भित्र कोच्दै जाहेरी, उजुरी र कसुर केही नचाहिने भन्दै टिप्पणी गरेकी छन् । ‘कानुन विपक्ष लाई गलहत्याउन मात्र लाग्ने यदि अदालतले कानुन, प्रमाण र कसुरको आधारमा विपक्षको पक्षमा फैसला गरे दुई तिहाइले न्यायाधीशलाई खारेज गर्न सक्ने हुँदा न्यायाधीश पनि डरले थुरथुर,’ उनले लेखेकी छन् ।  शनिबार कलाकार सागर लम्साललाई काठमाडौं जिल्ला प्रहरी परिसरले पक्राउ गर्यो । अमेरिकामा बस्ने एक युवतीले शुक्रबार मात्रै बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाउँदै लामो स्टाटस लेखेकी थिइन् ।    बलात्कारको आरोप लागेपछि पक्राउ परेका कलाकार सागर लम्सालका विषयमा भ्रामक र अप्रमाणित सूचनाहरू सम्प्रेषण नगर्न प्रहरीले अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले प्रेस विज्ञप्तिमार्फत् बलेमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको भन्दै उनको विषयमा भ्रामक र अप्रमाणित सूचनाहरू सम्प्रेषण नगर्न अनुरोध गरेको हो ।  बलेलाई पक्राउपछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।  सामाजिक सञ्जालमा उजुरीबिनै बलेलाई पक्राउ गरेको चर्चा भएपछि हामीले यस विषयमा जिल्ला प्रहरी परिसर काठमाडौंलाई जिज्ञासा राख्यौं । उनीविरुद्ध अहिलेसम्म कुनै उजुरी नपरेको प्रवक्ता पवन कुमार भट्टराईले बताए । अभद्र व्यवहार सम्बन्धीका मुद्दाहरू समाजलाई थोरै अशान्ति फैलाउने जस्तो महसुस भयो भने प्रहरीले त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिने गरेको उनको भनाइ छ । ‘प्रहरीले यस मुद्दामा अनुसन्धान गरिरहेको छ,’ उनले भने । काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रवक्ता मुक्तिराम रिजालले प्रहरीले कलाकार सागर लम्सालको म्याद थपका ल्याएको मात्र थाहा पाएको बताए । ‘सरकारी वकिल कार्यालयबाट पाँच दिनको म्याद थपका लागि कागजपत्रसहित प्रहरीहरू आउनु भएको थियो,’ उनले भने, ‘के कस्तो विषयमा हो सबै कुरा मलाई थाहा भएन ।’ प्रमुख जिल्ला अधिकारीले समय थपको अनुमति दिन सक्ने पनि रिजालले जानकारी दिए । काठमाडौं जिल्ला प्रहरी कार्यालयबाट अभद्र व्यवहारमा मुद्दामा पाँच दिनको म्याद थप गर्न प्रहरीसहित सागर लम्साल आएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहायक सूचना अधिकारीले श्रीराम ओझाले बताए । ‘प्रहरीले खाली अभद्र व्यवहारको मुद्दा थपको माग गरिएको थियो । प्रहरीले ठाडो प्रतिवेदन बनाएर अभद्र व्यवहारको मुद्दामा म्याद थप माग गरिएको थियो,’ उनले भने । प्रहरीले सामाजिक सञ्जालमा उठेका कुराले समाजमा प्रभाव पार्ने खालको देखेमा आवश्यक ठान्दै र गम्भीर मुद्दा जस्तो लागेमा अनुसन्धानसम्म गर्न सक्ने डिजिटल राइट्स नेपालका कार्यकारी निर्देशक तथा अधिवक्ता सन्तोष सिग्देलले जानकारी दिए । प्रहरीले अनुसन्धान गर्न पाउने तर नियन्त्रणमा लिएर वा नलिई गर्ने भन्ने प्रशासनको अधिकार रहने उनको भनाइ छ । ‘कानुनी प्रकृयामा सबैले काम गर्नुपर्छ,’ अधिवक्ता सिग्देलले भने, ‘कतिपय अवस्थामा एउटा कानुनलाई लिएर पछि अर्को कानुन आकर्षित गर्न हुँदैन । यस्तो अवस्थालाई कानुनको दुरुपयोग भएको मान्न सकिन्छ ।’ 

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण मुद्दामा आजै आदेश आउने सम्भावना

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण मुद्दाको बहस सकिएको छ ।  सर्वोच्च अदालत प्रशासनका अनुसार आजै आदेश आउने सम्भावना रहेको छ । आइतबारदेखि सुरु भएको उक्त मुद्दाको सुनुवाइ सोमबार पनि जारी रहेको थियो । आजको इजलासमा सरकार पक्षका कानुन व्यवसायीहरूले आफ्नो बहस प्रस्तुत गरेका छन् । त्यसपछि रिट निवेदकका पक्षबाट जवाफी बहस गरिएको थियो । दुवै पक्षको बहस सम्पन्न भइसकेकाले अदालतले आजै आदेश सुनाउने अपेक्षा गरिएको छ ।  ओली पत्नी राधिका शाक्य र लेखक पत्नी यशोदाले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन् । शाक्यको रिटमा पक्राउ गरेर थुनामा राख्ने कार्य गैरकानुनी र पूर्वाग्रही रहेको दाबी छ । त्यस्तै, लेखकलाई थुनामा राख्ने कार्य गैरकानुनी र पूर्वाग्रही रहेको दाबी गरिएको छ ।  गौरीबहादुर कार्की नेतृत्वको आयोगले चैत २४ मा बुझाएको प्रतिवेदनको आधारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई फौजदारी मुद्दामा कारबाही गर्ने सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार ओली र लेखक पक्राउ परेका हुन् । उनीहरूलाई दफा १८१ र १८२ बमोजिम कारबाही सिफारिस गरिएको थियो ।  मुलुकी फौजदारी संहिताको दफा १८१ मा ‘कसैले लापरबाहीपूर्ण काम गरेर कसैको ज्यान मार्न नहुने’ कसुर छ । त्यस्तो कसुर गर्ने व्यक्तिलाई ३ देखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि १ लाखसम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।  दफा १८२ मा हेलचक्र्याइँपूर्ण कुनै काम गरी कसैको ज्यान मार्न नहुने भनिएको छ । यसमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने भनिएको छ । 

अर्थमन्त्रीको सम्बोधनले सेयर बजारमा हरियाली : नेप्से ८३.३३ अंकले बढ्दा १० अर्ब ९२ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार (आज) नेप्सेमा हरियाली छाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजार सम्बन्धमा पहिलोपटक विस्तृत अभिव्यक्ति दिएसँगै बजारमा हरियाली छाएको हो । अर्थमन्त्री वाग्लेले पहिलो पटक लगानीकर्ताको मनोबल बढाउने गरी अभिव्यक्ति दिएसँगै बजारमा रौनक देखिएको सेयर विश्लेषकहरूको भनाइ छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से  ८३.३३ अंकले बढेर २७६०.०२ विन्दुमा कायम भएको छ ।आज ३४५ स्टकको १ लाख २४ हजार ९३ पटक कारोबारमा २ करोड ५१ लाख ५५ हजार ८५४ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ९२ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार कारोबारमा आएका सबै उपसमूह बढेका छन् । सबैभन्दा धेरे हाइड्रोपावरको ४.४९ प्रतिशतले बढेको छ । बैंकिङ ३.१८, विकास बैंक ३.६३, वित्त ४.०३, होटल तथा पर्यटन ३.२४, लगानी ३.३३, जीवन बीमा २.६६, उत्पादन १.५३, माइक्रोफाइनान्स २.४३, म्युचल फण्ड १.४०, निर्जीवन बीमा २.९४, अन्य २.३६ र व्यापार २.४० प्रतिशतले बढेको छ । कारोबार रकमको आधारमा आज रिलायन्स स्पिलिङ मिल्सको सबैभन्दा धेरै कारोबार भएको छ । उक्त कम्पनीको १ अर्ब १३ करोड ५८ लाख ५८ हजार रुपैयाँको कारोबार भएको छ ।  दोस्रो धेरै कारोबार भएको कम्पनी हिमालयन रिइन्स्योरेन्स कम्पनीको ५४ करोड ९२ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चरको ४८ करोड १९ लाख १८ हजार रुपैयाँ, अपि पावर कम्पनीको ३१ करोड ५२ लाख ९८ हजार रुपैयाँ र रिदी पावर कम्पनीको ३० करोड ७ लाख रुपैयाँको कारोबार भई शीर्ष पाँचमा प्रवेश गरेका छन् । आज चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त, भुजुङ हाइड्रोपावर, रिदी पावर कम्पनी र नेशनल हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । त्यस्तै शिखर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो र  होटल फरेस्ट इनका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।   पुँजी बजारको वर्तमान अवस्था, सुधारका उपाय र बजार सुधार सम्बन्धी अर्थमन्त्री डा. वाग्ले र नेपाल स्टक ब्रोकर एशोसिएसनबीच सोमबार बिहान सिंहदरबारमा भेटघाट भएको थियो । भेटघाटका क्रममा अर्थमन्त्री वाग्लेले आफ्नो राजनीतिक दलले सेयर बजारका विषयमा स्पष्ट र उदार धारणा राख्दै आएको उल्लेख गर्दै हाल बजारमा अनावश्यक अफबाह फैलाएकोप्रति चिन्ता व्यक्त गरेका थिए । साथै उनले नेपालको अर्थतन्त्रका लागि अब ‘स्वर्णिम समय’ आउन लागेको दाबी गर्दै बजारमा फैलिएका हल्ला र गलत अफबाहको पछि नलाग्न सबैलाई आग्रहसमेत गरेका थिए ।  ब्रोकर व्यवसायीहरूसँग अर्थमन्त्रीले भने- स्वर्णिम समय आउँदैछ, हल्लाको पछि नलागौँ