निरन्तर बढेको सेयर बजारमा ‘ब्रेक’, २७०० बिन्दुमा पुगेर फर्कियो नेप्से परिसूचक
काठमाडौं । गत एक सातादेखि निरन्तर उकालो लागेको सेयर बजारमा ‘ब्रेक’ लागेको छ । गत पुस १४ गतेदेखि निरन्तर उकालो लागेको परिसूचक आज (पुस २१ गते) दोहोरो अंकले ओरालो लागेको हो । सेयर कारोबार मापक नेप्से परिसूचक ३०.७५ अंकले घटेर २६४९.२० बिन्दुमा झरेको छ । सो दिनको कारोबारमा परिसूचक बढेर अधिकतम २७००.२९ बिन्दुसम्म पुगेर फर्किएको हो । जुन गत मंसिर ९ गते यताकै उच्च बिन्दु थियो । गत मंसिर ९ गतेको बजारमा नेप्से परिसूचक २७३१.७८ बिन्दुमा पुगेको थियो । परिसूचक घटेको बजारमा कारोबार रकम भने बढेको छ । मंगलबार ४ अर्ब ३२ करोडको सेयर कारोबार भएको बजारमा बुधबार ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसमा सबैभन्दा बढी शिवम् सिमेन्टस्को सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १८ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य बढेर प्रतिकित्ता १५२३ रुपैयाँ पुगेको छ । बजारमा मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य सबैभन्दा बढीले बढेको छ । कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता २१४.२० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १९.४० रुपैयाँले बढेको हो । यता विजया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने सबैभन्दा बढी अर्थात ४.५५ प्रतिशतले घटेको छ । संस्थाको सेयर मूल्य प्रतिकित्ता ६३ रुपैयाँले घटेर प्रतिकित्ता १३२२ रुपैयाँमा झरेको छ । बुधबार फाइनान्स र हाइड्रोपावर समूह बढेको छ भने बाँकी समूह राताम्मे देखिएका छन् ।
सन् २०२२ लाई सेयर बजारको स्वागत, ६० अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से परिसूचक) साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले वृद्धि भएको छ । अघिल्लो साताको बुधबार सामान्य अंकले सुधार आएको नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन आइतबार ६०.४१ अंकले वृद्धि भएको हो । पछिल्लो समय शेयर बजारमा निरन्तर रुपमा उतारचढाव आउन थालेको छ । आज ठूला कम्पनीको शेयर मापक गर्ने सेन्सेटिभ इण्डेक्स पनि २.२९ प्रतिशत, फ्लोट इण्डेक्स २.३९ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४६ प्रतिशत बढेको छ । आज कारोबारमा आएका २४० कम्पनीको ७१ लाख ६० हजार ९८३ कित्ता शेयर ४ अर्ब १२ करोड ६९ लाख ८० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । गत बुधबार ३ अर्ब ६२ करोडको शेयर कारोबार भएको थियो । बुधबारको तुलनामा आइतबारको कारोबार रकममा पनि सुधार आएको हो । आइतबार १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको बाहेकका अन्य सबै उपसमूहका परिसूचकहरु बढेका छन् । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा धेरै ५.०८ प्रतिशत बढेको छ । त्यस्तै, निर्जीवन बीमा उपसमूहको परिसूचक ३.५४ प्रतिशत, विकास बैंकको ३.४२ प्रतिशत लगानी २.१७ प्रतिशत, जीवन बीमा २.४२ प्रतिशत, लघुवित्त २.८८ प्रतिशत र अन्य उपसमूहको परिसूचक २.३ प्रतिशत, बैंकिङ १.९९ प्रतिशत, होटल तथा पर्यटन १.४ प्रतिशत र जलविद्युत उपसमूहको परिसूचक १.७ प्रतिशतले बढेको छ । आइतबार हिमालयन डिष्टिलरीको शेयरमूल्य सबै भन्दा धेरै ९.९९ प्रतिशत बढेको छ । त्यस्तै, मध्य भोटेकोशीको शेयरमूल्य ९.९७ प्रतिशत र सूर्या लाइफ इन्स्योरेन्सको ९.२९ प्रतिशत बढेको छ । तर यता गोर्खाज फाइनान्सको शेयरमूल्य भने सर्वाधिक ५.१२ प्रतिशत घटेको छ । आज कारोबार रकमका आधारमा हिमालयन डिष्ट्रिलरीको ४४ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएर पहिलो शीर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानमा २९ करोड ७० लाख रुपैयाँको कारोबार गरेर नबिल बैंक रहेको छ ।
पूर्व गभर्नरको विचारः कम्युनिष्टहरुले सेयर बजार घटाए, राष्ट्र बैंकले हतारिएर निर्णय गर्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरिञ्जीवी नेपालले साम्यवादी र प्रगतिशित विचार भएकाहरुले सेयर बजारप्रति नकारात्मक टिप्पणी गर्दा बजार घटेकाे आराेप लगाएका छन् । उनले मन्त्रीहरु तथा माथिल्लाे तहमा रहेर काम गरिसकेका व्यक्तिहरुले शेयर बजार जुवा घर हो भन्ने अर्थात कसैले अनुउत्पादन क्षेत्र भन्ने गरेकाेले सेयर बजार घट्ने गरेकाे आराेप लगाएका हुन् । यसरी माथिल्लो तहका देश सञ्चालन गर्ने व्यक्तिहरुले बेलाबेलामा दिएका अभिव्यक्तिले सम्बेदनशिल शेयर बजार असर परेको उनकाे भनाई छ । उनले राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकता नपरेकाले सुरक्षित रुपमा विकास हुन नसेकेको पनि बताएका छन् । उनले विगत ७ वर्ष अगाडि गति सेयर बजारको विकास र विस्तारको लागि परिर्वतन भएको थियो त्यसपछि कुनै परिर्वतन नभएको बताए । पूर्वगभर्नर नेपालले लामो समयदेखि पुँजी बजारको विकासको लागि नियमावली ल्याउने तयारी भए पनि अहिलेसम्म ल्याउन नसक्नु सेयर लगानीकर्ताको लागि राम्रो नभएको बताए । उनले पछिल्लो समय सेयर बजार लगानीकर्ताहरु उत्साहका साथ प्रवेश गरे पनि बजार सुरक्षित तरिकाले अगाडि बढ्न नसकेको बताए । नेपालले बजारमा सुधार हुन नसक्नु सेयर बजारमा बदमासी गर्नेहरुलाई कारबाही गर्ने कानुन नहुनु रहेको उल्लेख गरे । उनले पछिल्लो समय नेपालमा सामाजवादी तथा प्रगतिशिल विचार भएका राजनीतिक दलका नेता सरकारका मन्त्री भए पनि सेयर बजारलाई जुवा घर, अनुउत्पादन क्षेत्र र सम्राराज्यवादको विस्तारित रुप जस्ता विचारले बजार विकास हुन नसकेको बताए । उनले सेयर बजार एकदमै सम्वेदनशिल क्षेत्र भएकाले माथिल्लो तहमा बसेका व्यक्तिहरुले सेयर बजारको विषयमा बोल्नु पर्ने जरुरी नभएको बताए । पछिल्लो समय नेपाल राष्ट्र बैंकले मोद्रिक नीति मार्फत सेयर बजारलाई सहयोग नगरेको भने पनि राष्ट्र बैंक सँधै बजारप्रति सकारात्मक रहेको बताए । उनले मौद्रिक नीतिमा ४/१२ करोडको सीमा तोक्ने समय गलत भएको बताए । अब नेप्सेलाई सरकारले नीजि साझेदारीका रुपमा अगाडि बढाएर विकास र विस्तार गर्नुपर्ने समय आएको बताए । पूर्वगभर्नर नेपालले विश्वमा नै सेयर बजार अन्तर्राष्ट्रिय रुपमा छरिएर रहेको पैसा बचत गरेर उद्योग व्यवसाय स्थापित गर्ने अत्यन्त उपयोगी संस्था भएको बताए । यस्ताे छ उनकाे विचार: सेयर बजारको विकास जुन गतिमा हुनु पर्ने भएको छैन । जती बेला म धितो बोर्डको अध्यक्ष भएको बेला मैले जे गरे त्यसपछि खासै केही भएको छैन । जुन बेला सेमिअटोमेशन ल्याएको थिए । त्यसपछि सेयर बजार सुधारको लागि शेयर नियमावली परिमार्जन गरेर ल्याउनु पर्ने थियो त्यो समेत ल्याउन सकिएको छैन । पहिला पहिला नागरिताको फोटोकपी बनाएर बोरा बोरामा पैसा बेकेर शेयरमा लगानी गर्ने गरिन्थियो । यस्तो व्यवस्था हटाएर मैले सबै बैंकमा खाता खोलेर बैंकिङ प्रणाली मार्फत कारोबार सुरु गर्ने काम गरेको थिएँ । तर त्यसपछि जुन गतिमा शेयर बजारको विकास हुनुपर्ने हो भएको छैन । बजारमा नयाँ नयाँ लगानीकर्ता प्रवेश गरे तर लगानीकर्ता बजारमा प्रवेश गरे पनि बजार सुरक्षित तवरले अगाडि बढ्न सकेको छैन । सुरक्षित तवरले अगाडि बढ्नको लागि विश्वमा शेयर बजारमा भएका नयाँनयाँ सफ्टवयरदेखि लिएर नियम कानुन समेत नेपालमा पनि ल्याउनु पर्छ । शेयर बजारमा बैंक तथा वित्तीय संस्था संस्थाले नराम्रो काम गरे कारवाही हुन्छ । सेयर बजारमा बदमासी गरेकोलाई अहिलेसम्म कुनै कारवाही गरेको छ । शेयर बजारमा बदमासी गर्नेलाई कसैले कारवाही गरेको छ । अहिलेसम्म त्यस्तो छैन । यो विषयमा सबैलाई थाहा छ । बदमासी गर्दा कारबाही पनि नहुने त्यसले गर्दा शेयर बजारको राम्रोसँग विस्तार विकास हुन सकेको छैन । सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डको आफ्नै भवन छैन । १० स्थानबाट कार्यालयको काम गरेर हिडेको छ । यो स्थितीमा सेयर बजारको प्रमुख नै छैन् । ४५ खर्बको बजार ४५ लाख लगानीकर्ता समावेश भएको ठाँउमा चार महिनासम्म प्रमुख नहुँदा कस्तो असर पर्छ । सेयर बजार सबै भन्दा धेरै आर्थिक क्रियाकलाप हुने क्षेत्रमा कसैको ध्यान गएको जस्तो लाग्दैन । त्यसैले ३२ सय अंकमा पुगेको नेप्से अहिले घटेर २३ सयको हाराहारीमा पुग्यो । ३२ देखि ३३ अर्बको मात्रै कारोबार भएको छ । त्यसले गर्दा हाम्रो देशमा प्रमुख मानिने राजनीतिक दलका प्रमुख नेतृत्व नै शेयर बजारको विषयमा गलत प्रचार गर्दछन् । जहाँ साम्मेवादी र प्रगतिशित विचार भएका मन्त्रीहरु कसैले शेयर बजार जुवा घर हो भन्ने कसैले अनउत्पादन क्षेत्र भन्ने गरेका छन् । यसरी माथिल्लो तहका देश सञ्चालन गर्ने व्यक्तिहरुले बेलाबेलामा दिएका अभिव्यक्तिले सम्बेदनशिल शेयर बजार असर परेको छ । सेयर बजार सम्बेदशिल क्षेत्र भएकाले सानो चिजले पनि लगानीकर्तामा असर गर्ने गरेको छ। लगानीकर्ता अत्तिरहेका पनि हुन्छन भने हैसिएका पनि हुन्छन्। त्यसैले शेयर बजारका विषयमा माथिल्लो तहमा बसेका देश सञ्चालन गर्ने व्यक्तिहरुले बोल्दै नबोल्दिए राम्रो हुन्छ । उहाँहरुले बोल्नु पर्ने जरुरी पनि रहेको हुँदैन । सेयर लगानीकर्ताहरुले भने जस्तो राष्ट्र बैंकले सेयर बजारलाई अवहेलना गरेको छैन । बैंकले अवहेलना नभई राष्ट्र बैंकले पुँजी वृद्धि गरेकाले नै अहिलेको अवस्थामा पुगेको हो । १८ सयसम्म पुँजी वृद्धिले पुर्याएको छ । पहिलो ७ सयको इन्डेक्स रहेको थियो । यहाँ पुग्ने अवस्था थिएन । पुँजी वृद्धि नभएको भए १५ सयको हाराहारीमा बजार रहने थियो । राष्ट्र बैंकले सेयर बजार मात्रै नभएर समग्र अर्थतन्त्र हेर्ने हो । तर, पनि सेयर बजारलाई सर्पोट गरेको छ । अहिले पनि गरेको छ । तर, कहिले कहिले राष्ट्र बैंकले लिएको नीतिले असर पर्छ । राष्ट्र बैंकले आर्थिक वर्षको मौद्रिक नीतीमा तुरुन्त ४/१२ को सिमा नल्याएको भए हुने थियो । तर ल्याउँदा केही असर पर्यो । जहाँसम्म बैंकले बजारमा बढी पैसा जान्छ की भन्ने लागेर हुन सक्छ । बजार बढी रहेको थियो राष्ट्र बैंकले विस्तारै थाहा नपाउने तरिकाले गर्नु पर्ने थियो । तर, त्यस्तो भएन यसमा सेयर लगानीकर्ता राष्ट्र बैंक प्रति दुःखी छन् । नेपाली सेयर बजारले अन्तराष्ट्रिय बजारमा सन्देश राम्रो दिँदैन । अरु देशमा सेयर बजारको मान्यता दिएर नीति निर्मातादेखि लिएर सबैले हेरेको हुन्छ । तर नेपालमा नीति निर्माताले सेयर बजारलाई त्यति महत्व नदिएको अवस्था हो । जो कोही सरकारमा गए पनि सेयर बजारलाई ध्यान दिने गरिएको छैन । मुलुकको अर्थतन्त्रमा आर्थिक वृद्धि गर्नेको लागि पनि महत्वपूर्ण योगदान रहेको छ । यसले छरिएर रहेको पुँजीलाई जम्मा गर्ने र कम्पनीको सेयर जनतालाई दिएर कम्पनीमाथि जनतालाई पनि जिम्मेवारी बनाएको छ । देशभरी छरिएर रहेको पुँजीलाई संकलन गरेर उद्योग पति व्यापारीहरुले व्यापार व्यवसाय विस्तार गर्ने सेयर बजारको संसार भएर नै उपयोग गर्ने गरेका छन् । हाम्रो जस्तो देशमा पैसा बचत गरेर उद्योग व्यवसाय सञ्चालन गर्ने स्थापित गर्ने अत्यन्त उपयोगी संस्था सेयर बजार हो । यसबाट नै रोजगारी वृद्धि समेत गरेर देशको आर्थिक विकासमा सहयोग पुर्याएको छ । मुलुकको जिडिपीमा समेत ठूलो योगदान रहेको छ । जीडिपी भन्दा बढीको कारोबार मात्रै गर्दछ । सुधारको लागि नयाँनयाँ सफ्टवयरहरु ल्याउने र नीजि साझेदारीको रुपमा नेप्सेलाई अगाडि लग्दा राम्रो हुन्छ ।
हिजो सेयर बजारमा बीमा क्षेत्रले बनायो इतिहास, किन देखियो यस्तो आकर्षण ?
काठमाडौं । हिजो (पुस १० गते) नेपालको सेयर बजारमा बीमा क्षेत्रले इतिहास बनायो । बीमा क्षेत्रका सुचिकृत कम्पनीमध्ये ५० प्रतिशतभन्दा बढीमा मूल्य बढेर सर्किट लेवलमा कारोबार भयो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सो दिन २९ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढ्यो । यी कम्पनीमध्ये अधिकांश त बीमा कम्पनीहरु नै छन् । बीमा क्षेत्रमा ४१ कम्पनी भएपनि जम्मा ३० कम्पनी मात्रै नेप्सेमा सुचिकृत छन् । नेप्सेमा सुचिकृत भएको नेपाल पुनर्बीमा कम्पनीलाई बीमा समुहमा राखिएको छैन, अन्य समुहमा राखिएको छ । हिजो नेसनल लाइफ, युनाइटेड, एभरेष्ट, प्रिमियर, प्रभु, प्रुडेन्सियल, लुम्बिनी जनरल, एसिएन लाइफ, प्राइम लाइफ, जुराँस लाइफ, रिलायन्स लाइफ, प्रभु लाइफ, ज्योति लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । यस्तै, ९ प्रतिशतभन्दा बढीले सेयर मूल्य बढेका अन्य बीमा कम्पनीहरुमा जनरल इन्स्यारेन्स, सूर्या लाइफ, एनएलजी, नेपाल लाइफ, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सानिमा जनरल, अजोड इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ । हिजो १४ वटा बीमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । अहिले कार्यान्वयनमा रहेको कानुनी व्यवस्था अनुसार कुनै पनि कम्पनीको सेयर मूल्य एकै दिनमा १० प्रतिशतभन्दा बढीले घट्न वा बढ्न पाउँदैन । यस्तै, ९ वटा कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ । हिजो जीवन बीमा समुहको परिसुचक ९.७४ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समुहको परिसुचक ८.२१ प्रतिशतले बढेको छ । हिजो बीमा क्षेत्रमा देखिएको उछाललाई कतिपय जानकारहरुले ऐतिहासिक घटनाको रुपमा लिएका छन् । सेयर बजारबारे जानकार दिलिप मुनंकर्मी कुनै एउटा क्षेत्रका सबै कम्पनीहरुको सेयर मूल्य बढेको विरलै पाइने र एउटा समुहको परिसुचक ९ प्रतिशतभन्दा बढीले बढेको यसअघि आफूलाई थाहा नभएको बताउँछन् । ‘बीमा क्षेत्रका सबै कम्पनीको मूल्य करिब सर्किट लेबलमा देखियो, यसअघि यस्तो भएको मलाई याद छैन, सम्भवतः यो ऐतिहासिक घटना हुनुपर्छ,’ मुनंकर्मीले भने । किन बढ्यो मूल्य ? नेपाल राष्ट्र बैंकले केही वस्तुको आयातमा कडाई गरिएको सुचना सार्वजनिक भएयता सेयर बजारमा सकारात्मक असर देखिएको छ । अघिल्लो साता नेप्से परिसुचक साताभर नै बृद्धि भएको थियो । बीमा क्षेत्रका कम्पनीहरुको मूल्य उच्च अंकले बढ्नुको कारण यो क्षेत्रमा पुँजी बृद्धि हुँदैछ भन्ने सुचनाले हो । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ३ अर्ब रुपैयाँको हाराहारीमा हुने गरी नीतिगत व्यवस्था गर्न लागेको छ । यही सुचनाको आधारमा कम्पनीहरुले हकप्रद सेयर जारी गर्लान भन्ने अनुमानका आधारमा बीमा क्षेत्रका कम्पनीहरुको मूल्य बढेको हो । सम्बन्धित समाचार नयाँ लाइसेन्स माग गर्दै ८ कम्पनी बीमा समितिमा, पुँजी ५ अर्ब र ३ अर्ब तोकिँदै बीमा समितिको सञ्चालक अस्वीकार गर्दै करका हाकिम बीमा कम्पनीहरुले पुँजी वृद्धि नगरी सुखै छैन: अध्यक्ष सिलवाल
सेयर बजार एक महिनायताकै उच्च बिन्दुमा, बीमामा उछाल, २६ कम्पनीमा लाग्यो सर्किट
काठमाडौं । पछिल्लो केही दिन यताको सेयर बजारमा दैनिक सुधार हुँदै आएको छ । आइतबारको सेयर बजारमा कारोबार रकम र नेप्से परिसूचक करिब एक महिना यताकै उच्च बिन्दुमा पुगेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७१.२० बिन्दुले बढेर २५९१.४२ बिन्दुसम्म पुगेको छ । जुन गत मंसिर १५ गते यताकै उच्च बिन्दु हो । सो दिनको परिसूचक २६३३.६६ बिन्दुमा थियो । आइतबारको बजारमा ५ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन गत मंसिर १२ गते यताकै उच्च हो । मंसिर १२ गतेको बजारमा भने ५ अर्ब ८३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बजारमा कुल २३१ वटा स्क्रीप्टको धितोपत्र कारोबार भएको थियो । जसमा उच्च कारोबार गर्नेको शीर्ष ५ स्थानमा नबिल बैंक, नेपाल लाइफ इन्स्योरेनन्स, हिमालयन डिष्टिलरी, शिवम् सिमेन्ट र एनटीसी रहेका छन् । जसमध्ये नबिल बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन ३२ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । र, सेयर मूल्य पनि बढेर प्रतिकित्ता १५२४ रुपैयाँ पुगेको छ । आइतबार २६ वटा कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । जसमा अधिकांश कम्पनीहरु बीमा समूहका रहेका छन् । त्यस्तै, १५ वटा कम्पनीको सेयर कारोबार १० प्रतिशतले बढेर किनबेच भएको छ । आइतबारको कारोबारमा फाइनान्स र हाइड्रोपावर समूह ओरालो लागेका छन् भने बाँकी समूह उकालो लागेको छ । उकालो लाग्नेमध्ये जीवन बीमा कम्पनी सबैभन्दा बढी अंक अर्थात १३०२.३१ अंकले बढेको छ । जुन अघिल्लो कारोबारको तुलनामा करिब १० प्रतिशतले बढी हो । त्यस्तै, निर्जीवन बीमा समूह ९०७ अंकले बढेको छ । एकाएक जीवन बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, अधिकांशको सेयर मूल्य बढ्यो पछिल्लो समय बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले सञ्चालित बीमा कम्पनीहरुको पुँजी बढाउन आवश्यक देखेसँगै दोश्रो बजारमा यी क्षेत्रका कम्पनीको सेयर मूल्यमा उछाल आएको हो । साथै, वाणिज्य बैंकहरुले लाभांश घोषणाको लहर सकाएसँगै लगानीकर्ताहरु लाभांश घोषणा गर्न बाँकी रहेका बीमा कम्पनीहरुमा झुम्मिएको बुझिन्छ । दोहोरो अंकले बढेको बजारमा भने गोर्खाज फाइनान्सको सेयर मूल्य सबैभन्दा बढीले घटेको छ । संस्थाको सेयर मूल्य ५.५७ प्रतिशत अर्थात ४७ रुपैयाँले घटेर प्रतिकित्ता ७९७ रुपैयाँमा झरेको छ ।
नेपालको सेयर बजार अहिल्यै सकिनु पर्छ भनेको होइन, मान्छेले मेरो कुरा बुझेनन्ः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकुमल दाहाल ‘प्रचण्ड’ले नेपालको सेयर बजार अहिले नै सकिनु पर्छ भन्ने आफ्नो आशय नभएको बताएका छन् । न्युज एजेन्सी नेपालका सविन धमलासँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अहिले पुँजीवादको स्वरुप कस्तो छ भनेर आफूले सैद्धान्तिक बहस सुरु गरेकोमा केही मान्छेहरुले नबुझेर र केही मानिसले जानीबुझीकन गलत व्याख्या गरेको बताए । ‘मैले पुँजीवाद अहिले वित्तीय पुँजीवादको रुपमा आएको छ भनेर सैद्धान्तिक वहस सुरु गरेको हूँ, त्यो विषयले धेरै तरंग पनि ल्यायो, मानिसहरु पैसाको लागि पैसामा लगानी गर्न थाले, उत्पादनको लागि लगानी हुन छोड्यो, छिटो पैसा कमाउनको लागि घरजग्गा जस्ता क्षेत्रमा लगानी गर्ने प्रवृत्ति देखियो, मैले यो विषय भनेको हूँ, नेपालको सेयर बजार अहिले नै सकिनु पर्छ भनेको होइन, नेपालको संरचनामाथि हमला गरेको होइन,’ अध्यक्ष प्रचण्डले भने । उनले अहिले नेपालमा जे जस्तो कार्य भइरहेको छ, त्यसले नेपालको तरक्की पनि नहुने वताए । युवा जनशक्तिलाई विदेश पठाएर रेमिटान्स भित्र्याएको भरमा नेपालको विकास नहुने र नेपालीको शिर उचो नहुने उनको भनाई छ । अध्यक्ष प्रचण्डले गत शनिवार पार्टीको प्रदेश सम्मेलन उद्घाटन गर्दै सेयर बजार पुँजीवादको नयाँ औजार भएको प्रतिक्रिया दिएका थिए । उनको यस्तो भनाईपछि सेयर बजारमा ठूलो गिरावट आएको थियो । प्रचण्डको सो अभिव्यक्तिको नेकपा एमालेका अध्यक्ष केपी ओलीले ‘प्रचण्ड माक्र्सभन्दा पनि जान्ने भएर बोलेको’ प्रतिक्रिया दिएका थिए । सम्बन्धित समाचार सेयर बजारमा संलग्न ४५ लाख नेपाली साम्राज्यवादका एजेन्ट हुन् र प्रचण्ड कामरेड ? सेयर साम्राज्यवादको साधन होइन, सेयर कर्जामा ४/१२ को नीतिप्रति म कन्भिन्स छैनः उपाध्यक्ष पौडेल प्रचण्डलाई कुन सेयर कारोबारीले चन्दा दिएन होला, अनि ध्वस्त पार्दिन्छु भनेः ओली कम्युनिष्टले राजनीति छिराए सेयर बजारमा, ओली बढाउने, प्रचण्ड घटाउने
हामी सेयर बजारप्रति सकारात्मक छौं: राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभागका प्रमुख डा. प्रकाश कुमार श्रेष्ठले राष्ट्र बैंक सेयर बजार प्रति सकारात्मक रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार आर्थिक पत्रकारहरुसँग समसामयिक विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले राष्ट्र बै्क सधैं पुँजि बजारप्रति सकारात्मक भएको धारणा राखेका हुन् । ‘हामी सेयर बजारप्रति सकारात्मक छौं, सेयर बजार पुँजी निर्माणको महत्वपूर्ण क्षेत्र हो,’ उनले भने । यस्तै, कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उच्च आयातकै कारण शोधान्तर घाटा बढेको र तरलता अभावको समस्या देखिएको बताए । उनले यी दुबै समस्या समाधान गर्नको लागि आयातमा कडाई गरिएको दाबी गरे । ‘हामीले अर्थतन्त्रलाई सही दिशामा लिनको लागि आवश्यक उपकरण लिएको छौं, सोही अनुसार नीति बनाइरहेका छौं तर त्यस्ता नीतिले समस्या हुन्छ भने त्यसबाट पछि हट्न तयार छौं,’ गभर्नर अधिकारीले भने । आयात प्रतिस्थापन र निर्यात प्रोत्साहन गर्नको लागि राष्ट्र बैंक सधैं अगाडि बढ्ने गरेको भन्दै उनले आयातको विषयमा अहिले गरिएको व्यवस्था आवश्यक रहेको गभर्नर अधिकारीको धारणा छ । उनले तरलताको समस्या समाधान र बजारलाई सहज बनाउनका लागि मौद्रिक औजारहरुको प्रयोग गरेर व्यवस्थापन भईरहेको बताए । वस्तु आयातमा गरिएको कडाई प्रतिबन्ध भने नभएको भन्दै उनले विलाशी वस्तुको आयातमा कडाई गर्नुपर्ने बताए । आयातमा व्यवसायीको पनि लगानी चाहिने भएकोले सोही प्रकारको व्यवस्था राष्ट्र बैंकले गरेको उनको भनाई छ ।
नबिल इन्भेष्टमेण्ट बैंकिंङद्वारा सेयर बजारबारे जानकारी दिन कार्यक्रम शुरु
काठमाडाैं । नबिल इन्भेष्टमेण्ट बैंकिंङ लिमिटेडले सेयर बजारबारे सम्पुर्ण जानकारी दिन जानकारी मुलक कार्यक्रम संचालन गर्न शुरु गरेको छ । कम्पनीले नेपालको शेयर बजारमा कसरी प्रवेश गर्न सकिन्छ, नेपाल धितोपत्र बोर्डबाट जारी गरिएको विद्यमान ऐन नियम तथा निर्देशन, धितोपत्र व्यावसायी तथा मर्चेन्ट बैंकरहरुको काम, कर्तव्य र अधिकारहरुका बारेमा जानकारी दिने उद्देश्यले प्रदेश नम्बर ४ गण्डकी प्रदेशबाट सो सम्बन्धि जानकारी मुलक कार्यक्रम संचालन गर्न शुरु गरेको हाे । निकट भविष्यमा देशको सातै प्रदेशमा यस्तो खाले कार्यक्रम संचालन गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले विद्यमान नेपालको धितोपत्र बजारबाट लिन सकिने फाईदाहरु र मर्चेन्ट बैंकरहरुले प्रदान गर्ने सेवाहरुका बारेमा जानकारी दिएका थिए । स्थापना कालको १२औं वर्ष प्रवेश गर्दै गर्दा कम्पनीले आफ्ना ग्राहकहरुलाई दक्ष तथा अनुभवी कर्मचारीहरु सहित उत्कृष्ट सेवा प्रदान गर्दै आएको जनाएको छ । ४५ लाख भन्दा बढी डिम्याट खाता खुली सकेको नेपालको धितोपत्र बजारमा २२ लाख भन्दा बढी प्राथमिक निष्काशनमा आवेदन पर्न थालिसकेको छ । यस्तो अवस्थामा धितोपत्र बजार सम्बन्धि यथार्थ जानकारी तथा यसमा कसरी प्रवेश गर्न सकिन्छ र यसबाट लिन सकिने फाईदाहरुको बारेमा जानकारी दिनु नै यस कार्यक्रमको पहिलो उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
सेयर बजारमा विशेष आरक्षण पाएका म्युचुअल फण्ड र स्टक डिलर संकटको बेलामा निष्प्रभावी
काठमाडौं । केही दिनयताको सेयर बजार हेर्नुभयो भने असाध्यै अस्थिर देखिन्छ । एक दिनमा १०० भन्दा बढी अंकले समेत परिसुचक तलमाथि भएको देखिन्छ । केही दिनयता बजार असाध्यै अस्थिर छ भन्ने तथ्य नेपाल स्टक एक्सचेन्ज (नेप्से) को तथ्यांकले पनि पुष्टी गर्छ । जस्तो कि मंसिर २९ गते नेप्से परिसुचक कारोबार समयमा ११३.९८ अंकले तलमाथि गर्यो । यस्तै, मंसिर २८ गते १३५.१७ अंकले तलमाथि भयो । जुन दिन परिसुचक ६ प्रतिशतले बढेको कारण सर्किट ब्रेकर लगाएर करिब साढे १ घण्टा अघि नै बजार बन्द गरिएको थियो । नेप्सेका अनुसार मंसिर २७ गते परिसुचक ९२.४२ अंकले तलमाथि गर्यो । त्यस्तै, मंसिर २६ गते ९५.७७ अंकले, मंसिर २६ गते ६२.९ अंकले र मंसिर २५ गते ८४.९ अंकले परिसुचक तलमाथि भएको थियो । आज (पुस १ गते) भने एकैदिन बजार ४७.१४ अंकले मात्रै तलमाथि भएको छ । छोटो समयका लागि कारोबार गर्ने सेयर कारोबारीको लागि अस्थिर बजार कमाउने अवसर पनि हो । किनभने दोस्रो बजार भनेकै जोखिमको बजार हो । जोखिम बढी लिन सक्दा फाइदा पनि बढी हुन सक्छ भने नोक्सानी पनि उस्तै धेरै लिन सक्नुपर्छ । अलि लामो समयको लागि लगानी गर्न चाहनेहरुका लागि अस्थिर बजार अनुपयुक्त हो । बजार असाध्यै अस्थिर छ भने बजारको अवको गति कस्तो हो भनेर अनुमान गर्न गाह्रो हुन्छ । असाध्यै अस्थिर भएको बजार धेरै बढ्ने दिशामा अघि बढ्न पनि सक्छ भने ठूलो अंकले घट्ने तयारी गरिरहेको पनि हुन सक्छ । तर, सरकार र नियामक निकायका लागि अस्थिर बजार चिन्ताको विषय हो । बजार यस्तै अस्थिर भयो र यसलाई स्थीर बनाउनु पर्छ भन्दै धितोपत्र बोर्डले विशेष सुविधा पाउने गरी म्युचुअल फण्ड र स्टक डिलर भित्र्याएको छ । सरकारले म्युचुअल फण्ड र स्टक डिलरलाई विशेष सुविधा दिएको छ, जुन अन्य लगानीकर्ता वा कारोबारीले पाउने गरेका छैनन् । म्युचुअल फण्डले सेयरबाट हुने लाभमा पुँजीगत लाभकर (सीजीटी), आयकर जस्ता कुनै पनि कर तिर्नु पर्दैन । यस्तै, कुनै पनि कम्पनीले साधारण सेयर (आईपीओ) जारी गर्दा ५ प्रतिशत म्युचुअल फण्डको लागि सुरक्षित गर्ने गरिएको छ । यस्तै, अन्य सेयर लगानीकर्ता वा कारोबारीले सेयर खरिदविक्री गर्दा ब्रोकर मार्फत गर्नुपर्छ । अनलाइनबाट नै सेयर खरिद विक्रीको अर्डर गरेपनि त्यसको सेटल ब्रोकरले गर्ने गरेका छन् भने प्रत्येक सेयर कारोबारमा ब्रोकर कमिसन पनि तिर्नुपर्छ । तर, स्टक डिलर कम्पनीले सेयर कारोबार गर्नको लागि बेग्लै विण्डो पाएका छन् । उनीहरुले सेयर कारोबार गर्दा ब्रोकरको च्यानलमा नपुगी आफैले कारोबार गर्न सक्छन् भने ब्रोकरलाई कमिसन पनि दिनु पर्दैन । बजार स्थिर बनाउनकै लागि म्युचुअल फण्ड र स्टक डिलरलाई राज्यले विशेष सुविधा दिएपनि बजार स्थिर गराउन यी दुबैको भूमिका कमजोर देखिएको छ । सरकारबाट विशेष सुविधा लिएका निकायहरुले सो अनुसारको कर्तव्य पालना गरेको नदेखिएको एक लगानीकर्ताले बताए । ‘अन्य लगानीकर्ताले नाफामा ध्यान दिएर आफ्नो पुँजीको मात्रै चिन्ता गर्ने हो, राज्यबाट विशेष सुविधा पाएका म्युचुअल फण्ड र स्टक डिलरले राज्यको चाहना बमोजिम बजार स्थिर बनाउन भूमिका निर्वाह गर्नुपर्ने हो तर, म्युचुअल फण्ड र स्टक डिलर पनि व्यक्तिगत लगानीकर्ता जस्तै गरी कसरी नाफा गर्ने र आफ्नो पुँजी सुरक्षित गर्ने भन्नेमै केन्द्रीत भए, यसैकारण बजारमा एकैदिन ठूलो अंकको तलमाथि हुने गरेको छ,’ एक लगानीकर्ताले भने । सेयर बजारमा हुने माग र आपूर्तिको सन्तुलन मिलाउन र धेरै नघटोस तथा धेरै नबढोस् भन्ने अभिप्रायले म्युचुअल फण्डलाई विशेष सुविधा दिएर संचालनमा ल्याइएको थियो । यस्तै, बजारमा सेयरको आपूर्ति बढी भएपछि माग र आपूर्ति सन्तुलन मिलाउन भन्दै स्टक डिलर कम्पनी संचालनमा ल्याइएको थियो । तर, पछिल्लो समय म्युचुअल फण्ड र स्टक डिलर कम्पनी आफ्नो उद्देश्यमा असफल भएको लगानीकर्ताहरु बताउँन थालेका छन् ।
कम्युनिष्टले राजनीति छिराए सेयर बजारमा, ओली बढाउने, प्रचण्ड घटाउने
काठमाडौं । गत शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेयर बजार सम्बन्धी विवादास्पद अभिव्यक्ति दिएका थिए । प्रचण्डको सो अभिव्यक्ति अहिले सेयर बजारमा मात्रै सिमित छैन । राजनीतिक विषय नै बनेको छ । प्रचण्डले गत शनिबार पार्टीको प्रदेश सम्मेलन उद्घाटन गर्दै पूँजी बजारलाई साम्राज्यवादीको विस्तारित रुप भन्दै औद्योगिक क्षेत्रमा जानुपर्ने पुँजी सेयर बजारमा गएकोप्रति चिन्ता पनि व्यक्त गरेका थिए । प्रचण्डको सो भनाई पुँजीबजारबाट बाहिर निस्केर राजनीतिक विषय बनेको छ । प्रचण्डाको अभिव्यक्तिलाई प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक लाभ प्राप्त हुने गरी प्रतिक्रिया दिएका छन् । ओलीले बुधबार प्रचण्डको अभिव्यक्तिप्रति कटाक्ष गर्दै भनेका थिए– प्रचण्डलाई कुन सेयर कारोबारीले चन्दा दिएनछ, अनि सेयर बजार नै ध्वस्त पार्छु भन्दै अभिव्यक्ति दिए । ओलीले प्रचण्डलाई लेलिनभन्दा पनि जान्ने भएर बोलेको आरोप पनि लगाए । ‘लेनिनले पूँजीवाद विकास भएर साम्राज्यवाद हुन्छ भनेका थिए, प्रचण्डले त्योभन्दा बढ्दा जान्ने भएर सेयर बजार साम्राज्यवादको विकसित रूप हो भनिदिए, त्यसबाट सेयरमा लगानी गर्ने जनताको जीवन के असर पर्छ कुनै मतलब छैन, कुन सेयर कारोबारीले चन्दा दिएन होला, अब म ध्वस्त पारिदिन्छु भनेर उनले त्यस्तो भनिदिए,’ ओलीले भनेका थिए । प्रचण्डको यस्तो अभिव्यक्तिपछि आइतबार सेयर बजारमा ठूलो गिरावट आएको थियो । प्रचण्डको अभिव्यक्तिपछिको पहिलो कारोबारको दिन अर्थात गत आइतबार सेयर बजार ८८.७० अंकले घटेको थियो । दोस्रो कारोबार दिन अर्थात गत सोमबार पनि ७९.२३ अंकले सेयर बजार ओरालो लागेको थियो । तर, मंगलबार भने सेयर बजार १३७ अंकले बढेर सकारात्मक सर्किट ब्रेक नै लागेको थियो । अध्यक्ष ओलीले प्रचण्डको अभिव्यक्तिको आलोचना गरेको दिन बुधबार सेयर बजारमा ४.२३ ले घट्यो । ओलीको आशय बजार बढ्ने प्रकारको थियो । आज (बिहीबार) ओलीको उक्त अभिव्यक्तिलाई कडा शब्दमा आलोचना गर्दै प्रचण्डले पुनः आफू सेयर बजारका लाखौं लगानीकर्ताहरुको पक्षमा रहेको र आफ्नो पुरानो धारणा तथा विश्लेषण सही भएको भन्दै विज्ञप्ति नै जारी गरे । उनको त्यो अभिव्यक्तिपछि पनि (यो समाचार तयार पार्दासम्म) सेयर बजार ३० अंकले घटिसकेको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रका अध्यक्षहरुको एक सातासम्मको आरोप–प्रत्यारोप सहितको वहस सेयर बजार केन्द्रित भएपछि दुई कम्युनिष्ट पार्टीका नेताहरुले सेयर बजारमा राजनीति छिराएको कतिपय विश्लेषकहरुले बताउन थालेका छन् । उनीहरुले सेयर बजारप्रति अनेकन अभिव्यक्तिहरु दिएर सेयर बजारमा राजनीति छिराउन खोजेको पनि प्रष्ट हुन्छ । नेप्सेका अनुसार हाल ४८ लाख मानिस सेयर बजारसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सेयर बजारसँग जोडिएका छन् । सेयर बजारप्रति सर्वसाधारणको आकर्षण बढी भएकै देखेर ओली र प्रचण्ड सेयर बजारबाट राजनीतिक लाभ लिने प्रयासमा लागेका पनि देखिन्छ ।
केपी ओली दलाल पुँजीपति वर्गको एजेण्ट, सेयर बजारबारे मेरो टिप्पणी सही छः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुँजी बजारका बारेमा आफूले गरेको टिप्पणी सही भएको बताएका छन् । प्रचण्डले गत शनिवार आफ्नो पार्टीको प्रदेशस्तरीय सम्मेलनको उद्घाटन गर्दै पुँजी बजार साम्राज्यवादको विस्तारित रुप भएको बताएका थिए । उनको सो भनाईपछि नेपालको सेयर बजारमा उच्च गिरावट आएको थियो भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आलोचना गरेका थिए । ‘माक्र्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु, आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको सेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु,’ अध्यक्ष प्रचण्डले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन् । उनले दलाल पूँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन सेयर होल्डर जनसमुदायसँग अनुरोध पनि गरेका छन् । प्रचण्डले सेयर बजारलाई साम्राज्यवादको विस्तारित रुप भनेपछि एमाले अध्यक्ष ओलीले प्रचण्डलाई कुनै सेयर कारोबारीले चन्दा नदिएकोले ध्वस्त पारिदिन्छु भनेर सो टिप्पणी गरेका होला भनेका थिए । यस्तै, फरक प्रसंगमा प्रचण्डले पूर्व राजा ज्ञानेन्द्रसँग आफूले कुनै सम्झौता नगरेको पनि बताएका थिए । एमाले अध्यक्ष ओलीले प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रसँग ५ बुँदे सहमती गरेपछि तत्कालिन राजा ज्ञानेन्द्रले तानाशाही व्यवस्था लागू गरेका दाबी गरेका थिए । ‘दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष केपी शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्काे नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुुनः प्रमाणित गरेका छन्, पूर्व राजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शतप्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन्, म केपी ओलीलाई ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु,’ प्रचण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सम्बन्धित समाचार प्रचण्डलाई कुन सेयर कारोबारीले चन्दा दिएन होला, अनि ध्वस्त पार्दिन्छु भनेः ओली सेयर बजारमा संलग्न ४५ लाख नेपाली साम्राज्यवादका एजेन्ट हुन् र प्रचण्ड कामरेड ?
राष्ट्र बैंकको नीतिले सेयर बजारमा ‘हिट’ गरेको होइनः डेपुटी गभर्नर ढुंगाना
काठमाडौं । नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानाले राष्ट्र बैंकको नीतिले सेयर बजारमा ‘हिट’ नगरेको दाबी गरेकी छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नवउत्थान सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ डेपुटी गभर्नर ढुंगानाले यस्तो बताएकी हुन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिको कर्जाको सीमा तोकेको थियो । चालु आर्थिक वर्षदेखि एउटै व्यक्ति वा संस्थाले एउटा बैंक तथा वित्तीय संस्थाबाट बढीमा ४ करोड रुपैयाँसम्म र सबै बैंक तथा वित्तीय संस्थाबाट गरी बढीमा १२ करोड रुपैयाँसम्म मात्रै सेयर खरिद गर्नको लागि मार्जिन प्रकृतिको कर्जा पाइने व्यवस्था गरिएको छ । यस्तो, व्यवस्थाले सेयर बजारमा प्रभाव पारेको भन्दै केही लगानीकर्ता र लगानीकर्ताको नाम जोडिएका संघ संस्थाहरुले विरोध गरेका थिए । राष्ट्र बैंकले गरेको सो नीतिगत व्यवस्थाले सेयर बजारमा नकारात्मक असर परेको भन्दै केही लगानीकर्ता र लगानीकर्ताको नाम जोडिएका संघ संस्थाहरु राष्ट्र बैंक विरुद्ध अर्थमन्त्री समक्ष उजुरी गर्न पनि पुगेका थिए । तर, नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दा सो व्यवस्थामा कुनै परिवर्तन गरेन । राष्ट्र बैंकले नीतिगत परिवर्तन नगरेपछि पहिला विरोध गर्ने लगानीकर्ता र लगानीकर्ताको नाम जोडिएका संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले सो व्यवस्था ठीकै रहेको प्रतिक्रिया दिएका थिए । मौद्रिक नीतिमार्फत र बैंक तथा वित्तीय संस्था नियमनका नाममा सेयर बजारमाथि राष्ट्र बैंकले हस्तक्षेप गर्ने गरेको आरोप लाग्दै आएको छ । यही प्रसंगमा वरिष्ठ डेपुटी गभर्नर ढुंगानाले राष्ट्र बैंकको नीतिका कारण सेयर बजारलाई ‘हिट’ नगर्ने दाबी गरेकी हुन् । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएको केही समययता सेयर बजार घट्ने क्रममा देखिएको छ । यस्तै, फरक प्रसंगमा वरिष्ठ डेपुटी गभर्नर ढुंगानाले बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाहको लागि गणना गर्न पाउने निक्षेप–पुँजी–कर्जा अनुपात (सीसीडी रेसिया) प्रावधानमा फर्कन नसक्ने बताएकी छन् । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकहरुले आफूसँग भएको निक्षेपको ९० प्रतिशतसम्म मात्रै कर्जा दिन पाउने व्यवस्था गरेको छ । यसलाई सीडी रेसियो सम्बन्धी व्यवस्था भनिन्छ । यसअघि बैंक तथा वित्तीय संस्थाहरुले आफूसँग भएको निक्षेप र आफ्नो पुँजी जोडेर त्यसको ८० प्रतिशतसम्म कर्जा दिन पाउथे । यसलाई सीसीडी रेसियो सम्बन्धी व्यवस्था भनिन्थ्यो । केही बैंकर तथा व्यवसायीहरुले सीडी सम्बन्धी नयाँ व्यवस्था हटाएर पुरानै सीसीडी सम्बन्धी व्यवस्था गर्नुपर्ने माग गरिरहेका समयमा वरिष्ठ डेपुटी गभर्नर ढुंगानाको यस्तो प्रतिक्रिया आएको हो । अहिलेको सीडी सम्बन्धी व्यवस्थाले नै बैंकिङ क्षेत्रमा तरलता अभावको अवस्था सिर्जना भएको यो व्यवस्था हटाउनु पर्छ भनेर माग गर्नेहरुको छ ।
साढे एक घण्टा अघि नै बन्द भयो मंगलबारको सेयर बजार
काठमाडौं । मंगलबारको सेयर बजार साढे एक घण्टा अघि नै बन्द भएको छ । नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि सेयर कारोबार आज दिनभरीको लागि बन्द भएको हो । दिउँसो १ बजेर २६ मिनेट जाँदा परिसूचक ६.०१ प्रतिशतले बढेपछि नेप्से आज दिनभरको लागि सेयर कारोबार बन्द गरेको हो । नेप्सेको सर्किट ब्रेकरको व्यवस्था अनुसार परिसूचक ६ प्रतिशतभन्दा बढी बढेमा वा घटेमा सो दिनको लागि कारोबार बन्द हुने छ । यससँगै अब बुधबार मात्रै सेयर कारोबार खुल्ने छ । मंगलबारको बजारमा दुई पटक सर्किट ब्रेक लाग्यो । यसअघि ५ प्रतिशत भन्दा बढीले परिसूचक बढेपछि सेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको थियो । त्यसपछि पुनः खुलेको बजारमा पनि परिसूचक ६.०१ प्रतिशतले बढेपछि दोश्रो पटक सर्किट लागेको हो । यससँगै एकैदिनमा परिसूचक १३७.१८ अंकले बढेर २४१८.८५ बिन्दुमा पुगेको छ । पछिल्लो समय निरन्तर घटेर २२०० को बिन्दुमा झरेको परिसूचकले मंगलबार एकैदिनमा २४०० बिन्दु पार गरेको छ । करिब २ घण्टा कारोबार भएको बजारमा एक अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २२० कम्पनीको ४० लाख ८५ हजार ९५६ कित्ता धितोपत्र किनबेच भएको हो । जसमध्ये सबैभन्दा बढी नबिल बैंकको सेयर कारोबार भएको छ । दुई घण्टामा बैंकको ९ करोड ८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । जसको सेयर मूल्य पनि बढेर प्रतिकित्ता १४६० रुपैयाँ पुगेको छ । जुन सोमबार १३६६ रुपैयाँमा झरेको थियो । त्यस्तै, कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् ।
सेयर बजारमा छायो हरियाली, एक घण्टामै ९० अंकले बढ्यो परिसूचक
काठमाडौं । लामो समयपछि मंगलबारको सेयर बजारमा हरियाली छाएको छ । सो दिन कारोबार खुलेको एक घण्टामै परिसूचक ९० अंकले बढेको छ । दिउँसो १२ बजेर १७ मिनेट जाँदा परिसूचक ९०.४३ अंकले बढेर २३७२.१० बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा करिब ४ प्रतिशत अर्थात ३.९६ प्रतिशतले बढी हो । यो अवधिसम्ममा बजारमा २१६ वटा कम्पनीको एक अर्ब १० करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भइसेको छ । जसमध्ये सबैभन्दा बढी कारोबार हुनेमा नबिल बैंक अग्रस्थानमा रहेको छ । त्यस्तै, मंगलबार कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । त्यस्तै, अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ भने केहीको घटेको छ । सेयर मूल्य बढेकोमध्ये १० कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भइरहेको छ ।
सेयर बजारमा संलग्न ४५ लाख नेपाली साम्राज्यवादका एजेन्ट हुन् र प्रचण्ड कामरेड ?
काठमाडौं । गत शनिवार प्रदेश सम्मेलन उद्घाटन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुँजी बजारबारे अनौठो र अप्रत्यासित अभिव्यक्ति दिए । उनले पुँजी बजारलाई साम्राज्यवादीको विस्तारित रुप भन्दै औद्योगिक क्षेत्रमा जानुपर्ने पुँजी सेयर बजारमा गएको प्रति चिन्ता पनि व्यक्त गरे । नेपालका कम्युनिष्टहरु वास्तवमै भाग्यमानी वर्ग हुन् । किनभने नेपालका कम्युनिष्टलाई सैद्धान्तिक प्रश्न खासै गरिदैन । उनीहरुलाई कम्युनिष्ट नै नमानेर प्रश्न नगरिएको हो वा उनीहरुको जवाफले कुनै अर्थ नराख्ने भएर प्रश्न नगरिएको भन्ने थाहा भएन । थाहा भएको कुरा यति हो– नेपालका कम्युनिष्टलाई सैद्धान्तिक प्रश्न खासै गरिदैन । नेपालमा कम्युनिष्ट हुनु भनेको कुनै पनि प्रश्नको सामना नगर्ने आरक्षण प्राप्त गर्नु जस्तै छ । नेपालका कम्युनिष्टलाई सैद्धान्तिक प्रश्न गरिन्थ्यो भने सोधिन्थ्यो होला– कम्युनिष्ट पार्टीभित्र लोकतन्त्रका कुरा गरिन्छ कि जनवादका ? कम्युनिष्ट पार्टीभित्र जनवादी केन्द्रीयता कि लोकतान्त्रिक अभ्यास ? प्रश्न अरु पनि हुने थिए होलान् । जस्तो कि, तपाईंहरु मार्क्रसवादी, लेनिनवादी र माओवादी भनाउनु हुन्छ । लेनिनकै अवधारण अनुसार बनेको तेस्रो कम्युनिष्ट इन्टरनेसनलको एसिया हेर्ने संयोजक एमएन रायले स्टालिनलाई रिपोर्टिङ गर्दा ‘माओ कम्युनिष्ट होइनन्, उनी राष्ट्रवादी हुन्’ भनेर किन रिपोर्टिङ गरे ? विश्वका शोसित पीडित वर्ग एक हौं भनेर तपाईंहरु भन्नुहुन्छ । त्यही लेख्नुहुन्छ । अनि आफूलाई राष्ट्रवादी पनि भनाउनु हुन्छ, देखाउनु हुन्छ । कम्युनिष्टहरु राष्ट्रवादी हुन्छन् कि अन्तराष्ट्रियवादी ? प्रश्न थपिन्थे होलान्– तपाईंहरु विश्वका मजदुर एक हौं भन्नुहुन्छ । अनि स्वदेशी श्रम, सीप र पुँजीलाई प्राथमिकता दिने भन्नुहुन्छ । पुँजी, श्रम र सीप भएपछि मात्रै मजदुर र मालिकको कुरा हुन्छ । विश्वका मजदुर एकै हुन् भने विश्वको पुँजी र प्रविधि किन फरक फरक ? किन स्वदेशी श्रम, शीप र पुँजीलाई प्राथमिकता दिने कुरा गर्नुभएको ? तपाईंहरुले जवाफमा भन्न सक्नुहुनेछ– हामी रुढीवादी कम्युनिष्ट होइनौं । एक्काइसौं शताब्दीका कम्युनिष्ट हौं । रुसी क्रान्तिको बेला जनतालाई सामन्त विरुद्धको आन्दोलनमा आउन उत्साहित गर्ने उदेश्यले भनियो रे– सामन्तहरु अग्लो ठाउँमा बसेका छन्, उनीहरु उभिएका छन्, त्यसैले हामीभन्दा अग्ला देखिएका छन् । हामीहरु पनि उनीहरुसँगै गएर उभियौं भने उचाई बराबर हुन्छ । नेपालका कम्युनिष्टहरुलाई पनि भन्नुपर्ने भएको छ– जसरी तपाईंहरु एक्काइसौं शताब्दीका कम्युनिष्ट हुनुहुन्छ, त्यसरी नै नागरिक पनि एक्काइसौं शताब्दीकै नागरिक हुन् । एक्काइसौं शताब्दीका नागरिकहरु तपाईं बसेकै ठाउँमा उभिएर प्रश्न गर्छन् । तर, तपाईंहरु नेपालका कम्युनिष्ट भएकैले प्रश्नहरुको सामना गरिरहनु परेको छैन । नत्र कसैले सोधिदिन्थ्यो होला– आफूलाई एक्काइसौं शताब्दीको कम्युनिष्ट भन्दै मार्क्रसवादी भएर पनि भैसी पूजा गर्दै हिँड्ने अनि पुँजी बजारलाई साम्राज्यवादीको औजार भनेर टिप्पणी गर्ने ? आफूलाई फाइदा हुने रहेछ भने एक्काइसौं शताब्दीको गफ चुट्ने, राजनीतिक फाइदा लिन सकिन्छ कि भनेर पुँजी बजारलाई साम्राज्यवादीको औजार भन्दै ढुंगे युगतिरको कुरा गर्ने ? धेरै मानिसले अहिले पनि बिर्सिएका छैनन् होला– शान्ति प्रक्रियामा आएपछि प्रचण्ड र बाबुराम भट्टराईले कान्तिपुर दैनिकमा दिएको अन्तरवार्ता । त्यो अन्तरवार्तामा प्रचण्डले भनेका थिए– शक्ति भनेको कि बन्दुकको नालमा रहेछ, कि पैसामा । प्रचण्ड कामरेड, तपाईंहरुले बन्दुकको बाटो छोडेको १५ वर्ष बित्यो । त्यसैले म ‘जनयुद्ध’कालिन कुरा उठाउन्न यहाँ । तपाईंहरुले जनताका छोराछोरीलाई बाँडेको बन्दुक फिर्ता लिइसक्नु भयो । तपाईंले बुझेको सत्य अनुसार नै बन्दुक फिर्तापछि जनता शक्ति विहिन भए । तपाईंकै बुझाई अनुसारको शक्तिको अर्काे स्रोत पैसा हो । पैसा दिएर जनतालाई शक्तिशाली बनाउन सकिँदैन । राज्यकोषबाट पैसा बाँडेर सम्भव छैन भन्ने तपाईले पनि बुझ्नु भएकै होला । तर, जनता शक्तिशाली बन्न तपाईंकै विचार अनुसार पनि पैसा अनिवार्य रहेछ । कुनै पनि उद्योग व्यवसायले राज्यका, या भनौं सार्वजनिक स्रोत साधनको उपयोग गर्छन् । उदाहरणको रुपमा केही साताअघि रामदेवको पतंजलीलाई नेपालमा उद्योग खोल्न सरकारको तर्फबाट जग्गा दिन्छौं भन्नुभएको थियो नि, हो त्यस्तै राज्यको स्रोत साधन भनेको । अर्काे उदाहरण पनि दिन्छु– तपाईंका घरबेटी शारदा प्रसाद अधिकारी पेशाले ठेकेदार रहेछन् । उनले बैंक वित्तीय संस्थाबाट ऋण लिन्छन् । ती बैंकमा तपाईंहरुले भन्ने गरेको मध्यम र न्यूनमध्यम वर्गले बढीमा ४ प्रतिशत व्याज पाउने गरी बचत खातामा पैसा राख्छन् । सर्वसाधारणले बैंकबाट ऋण लिनुपर्यो भने आधार दरमा ३ प्रतिशतसम्म प्रिमियम तिर्नुपर्छ । तपाईंका घरबेटी शारदा प्रसाद अधिकारीले आधार दरमा बढीमा ०.५ प्रतिशत प्रिमियम तिरेर बैंकबाट ऋण पाउँछन् । उद्योग व्यवसाय गर्नेहरुले यसरी नै उद्योग व्यवसाय गरेका हुन्छन् । अर्थात राज्यको या सार्वजनिक स्रोत साधनको उपभोग गरेका हुन्छन् । यी सामन्ती शोषकहरु त खत्तम नै रहेछन्, भाटे कारबाही गरिहाल्नु पर्ने भयो भन्ने तपाईंलाई लागिसकेको होला । तर, एकछिन पख्नुस् है प्रचण्ड कामरेड । ती उद्योगी व्यवसायीले सर्वसाधारणलाई रोजगारी दिन्छन् । आफूले कमाएको नाफाबाट ३० प्रतिशतसम्म कर सरकारलाई तिर्छन् । अर्थात, कुनै पनि उद्योग व्यवसायको नाफाको ३० प्रतिशत हिस्सेदार सरकार हो, जो नोक्सानमा भागिदार हुन्न, एक पैसा पनि लगानी गर्दैन । सरकारले लिएको ३० प्रतिशत करबाट तपाईंहरुले भनेका लोककल्याणका कामहरु गर्न पाउनु हुन्छ, देशलाई समाजवाद उन्मुख गराउन पाउनु हुन्छ । पुँजी बजारबारे कुरा गर्न खोजेको कहाँ पो पुगिएछ । कामरेड प्रचण्डले पुँजी बजारलाई साम्राज्यवादको औजार भन्नुभएछ । यो गलत भन्नुभयो कामरेड । कसले पढायो तपाईंलाई यस्तो वाइयात कुरा । पुँजी बजार भनेको साम्राज्यवादको औजार होइन कामरेड । उदाहरण दिए बुझ्नु हुन्छ होला । जस्तो कि, माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आयोजना अतिप्रभावित स्थानीयलाई प्रतिव्यक्ति १०० कित्ताको दरले सेयर दियो । प्रतिकित्ता १०० रुपैयाँको सो सेयर किन्न दोलखाका बासिन्दाले १० हजार रुपैयाँ लगानी गरे । अहिले दोस्रो बजारमा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर मूल्य प्रतिकित्ता ६०० रुपैयाँ छ । अर्थात १०० कित्ता सेयर किनेका दोलखाको लामाबगर, विगु जस्ता दुर्गम गाउँका बासिन्दाको सम्पत्ति ६० हजार रुपैयाँ पुगेको छ । तामाकोशीका सेयरधनी दोलखाली साम्रज्यवादका एजेन्ट हुन् ? माथिल्लो तामाकोशीको सेयर मूल्य कुनै बेला ९ सय रुपैयाँ पनि पुगेको थियो । १० हजार लगानी गरेको गरिब नेपालीसँग ९० हजार रुपैयाँको सम्पत्ति भएकोमा खुसी मान्नुको साटो उनीहरुलाई कहाँको गोरखकाली रबर उद्योग वा बासबारी छालाजुत्ता कारखाना खोल्न आग्रह गर्नुहुन्छ ? यो सम्भव छ ? माथिल्लो तामाकोशी आयोजना साम्राज्यवादको औजार हो कि स्वदेशी उद्योग ? चिमिले जलविद्युतको उदारहण तपाईंकै सचिवालयका कुनै कर्मचारीलाई भनेर बुझ्न लगाउनुस् न कामरेड । अहिले करिब ४५ लाख नेपाली पुँजी बजारमा प्रत्यक्ष परोक्ष रुपमा संलग्न छन् । यी सबै साम्राज्यवादका एजेन्ट हुन् त प्रचण्ड कामरेड ? बरु आईपीओ जारी नगर्ने उद्योग व्यवसायसँग प्रश्न गर्नुपर्ने अवस्था आएको छ । किनभने अघि उदाहरणमा भने जस्तै गरी उद्योग व्यवसायले राज्यका र सार्वजनिक स्रोत साधनको उपभोग गरेका हुन्छन् । यसरी स्रोत साधनको उपयोग हुँदा धन सम्पत्ति पनि ती उद्योग व्यवसाय संचालन गर्नेहरुकोमा जम्मा हुन सक्छ । त्यसरी जम्मा भएको स्रोत साधनलाई कम्पनीले वितरण गर्ने लाभांशको रुपमा फेरि सर्वसाधारणमै फर्किन्छ । यो कुराको पनि उदाहरण दिनुपर्छ जस्तो लाग्यो । जस्तो कि, बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले सेयरधनीलाई प्रतिकित्ता ६०० रुपैयाँको दरले लाभांश दियो । नविल बैंकले प्रतिकित्ता ३८ रुपैयाँको दरले लाभांश दियो । शिवम सिमेन्टले प्रतिकित्ता २९ प्रतिशतको दरले लाभांश दियो । नेपाल टेलिकमका सेयरधनीले ५० प्रतिशतभन्दा बढी प्रतिफल पाइरहेका छन् । कोकाकोलाले गरेको नाफा पनि लाभांशको रुपमा सर्वसाधारणसम्म आईपुग्छ । उनीहरुले कमाएको नाफाबाट सर्वसाधारणले प्रतिफल पाए । तर, एनसेलले कमाएको नाफाबाट सर्वसाधारणले लाभ पाएनन् । होङ्सी सिमेन्ट, सूर्य नेपाल, गोर्खा ब्रुअरी, डाबर नेपाल, अम्बे स्टिल, जगदम्बा स्टिल, पेप्सी (बरुण बेभरेज) जस्ता उद्योगले नाफा कमाए पनि राज्यलाई कर मात्रै आयो । उनीहरुले कमाएको नाफाबाट सर्वसाधारणमा स्रोतको पुन वितरण हुन पाएन । त्यसैले आईपीओ जारी गरेर स्रोत साधन पुन वितरणको प्रबन्ध हुने प्रणाली कार्यान्वयन गर्न गराउन लाग्नुपर्नेमा पुँजी बजारलाई साम्राज्यवादको औजार भनेर वाइयात कुरा गर्नुभयो । प्रचण्ड कामरेड, तपाईंको बुझाईको स्तर नै यही हो भने यो विषयमा तपाईं धेरै नै कमजोर हुनुहुदो रहेछ, बुझ्नुस् । कसैको उक्साहटमा वा दवाव या प्रभावमा परेर पुँजी बजारलाई साम्राज्यवादीको औजार भन्नुभएको हो भने तपाईंले कसैको गोटी बनेर नचाहिने कुरा गर्नुभयो, सच्याउनुस् । नेपालको पुँजी बजारमा कति नेपालीले कति लगानी गरेका छन्, तपाईंलाई थाहा छ ? पुँजी बजारबाट सर्वसाधारणले वार्षिक कति अर्ब प्रतिफल पाएका छन् ? तपाईंकै कति जना कार्यकर्ताले पुँजी बजारमा लगानी गरेका छन् ? पुँजी बजारबाट गत आर्थिक वर्षमा कति राजस्व संकलन भयो भन्ने सुचना लिनुभएको छ प्रचण्ड कामरेड ? पार्टीको आन्तरिक राजनीतिक कार्यक्रमका बेप्रसंग विषयमा अनावश्यक टिप्पणी गरेर गलत गर्नुभयो । आगे तपाईंकाे मर्जी है प्रचण्ड कामरेड ।
सेयर बजार विरोधी वक्तव्यमा प्रश्न उठेपछि प्रचण्डले भनेः मैले राखेको विषय एकदम सही छ
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले राखेको विषयमा उत्तिकै प्रतिबद्ध रहेको बताएका छन् । सेयर बजार विरोधी वक्तव्य आएको भन्दै प्रश्न उठेपछि अध्यक्ष प्रचण्डले आफूले सैद्धान्तिक रुपमा राखेको विषयमा उत्तिकै प्रतिबद्ध रहेको र त्यो एकदमै सही भएको दोहोर्याएका हुन् । शनिबार पार्टीको प्रदेश सम्मेलनको उद्घाटनका क्रममा उनले पूँजीको लगानी पूँजीमा नै हुँदा उद्योगधन्दाको विकास नभएको र वित्तीय पूँजीवादको विस्तारले समग्रमा जनताको हित नगर्ने बताएका थिए । औद्योगिक क्षेत्रमा लगाउनुपर्ने लगानी पुँजी बजारमा लगाएर साम्राज्यवादको रुप लियो- प्रचण्ड अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले भने, ‘अध्यक्ष प्रचण्डले मन्तव्यका क्रममा राखेको सैद्धान्तिक विषय एकदम सही छ ।’ उनले आफ्नो पार्टी सेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका छन् । साथै, उनले अहिलेको नेपाली पुँजी/सेयर बजारमा लगानीकर्ताको लगानी संरक्षण गर्न, त्यसमा अझ बढी साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताए । स्वकीय सचिव मल्लले साना लगानीकर्ताको हित र उनीहरुको लगानीको सुरक्षाका लागि पार्टीले सचेत पहल र प्रयत्न गर्ने स्पष्ट पारे । उनले कोही पनि भ्रमित हुन र यस विषयलाई अनावश्यक राजनीतिक मुद्दा बनाउनुको कुनै तुक नभएको उल्लेख गरेका छन् । रासस
‘फण्डामेन्टलभन्दा बाहिर रहेर सेयर बजार चल्यो, बुझेर लगानी गरौं’
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर बजारमा लगानी गर्नेहरुमा वित्तीय साक्षरताको कमि भएको बताएका छन् । बिहीबार अर्थसमितिमा भएको छलफलमा अधिकारीले सेयर बजारमा बुझेका भन्दा पनि नबुझेकाहरु बढी भएकोले यसले लगानीकर्तालाई जोखिम बढाएकाे बताएका हुन् । उनले सेयर लगानीकर्तालाई बुझेर मात्रै सेयर बजारमा लगानी गर्न पनि आग्रह गरेका छन् । यस्तै, उनले सेयर बजार हेर्न निकायको रुपमा रहेको नेपाल धितोपत्र बोर्डले वित्तीय साक्षरतामा पनि ध्यान दिनु पर्ने धारणा राखे । उनले फण्डामेन्टल बाहिर रहेर सेयर बजार चलेको पनि बताए छन् । ‘साना लगानीकर्ताहरुमा फण्डामेन्टल अध्ययन गरेर लगानी गर्ने चेत छैन, त्यसैले पनि जोखिम बढेको हो, साना लगानीकर्ताका लागि वित्तीय साक्षरताको आवश्यता छ,’ उनले भने । छलफलमा उनले नेपालमा आउने रेमिट्यान्स अनौपचारिक क्षेत्रबाट आउने गरेको पनि धारणा राखेका छन् । उनले सबैभन्दा बढी काेरिया र जापानबाट अनाैपचारिक रुपले रेमिट्यान्स आयात हुने बताए । उनका अनुसार काेरिया र जापानबाट आउने रेमिट्यान्सको ९/१० प्रतिशत मात्रै औपचारिक माध्यमबाट आउने गरेकाे छ । यस्तै, छलफलमा अर्थसचिव मधुकुमार मरासिनीले अहिलेको अवस्थालाई त्यति धेरै समस्याको रुपमा लिनु नपर्ने धारणा राखे । उनले विगत तीन वर्षको ट्रेण्ड हेर्दा यस वर्षको सुरुमा व्यापक उछाल आएको बताए । ‘नेप्से परिसूचक ११ सयबाट १३ सयबाट सिधै ३२ सय प्सलसम्म पुगको छ, राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितोमा ४/१२ करोड रुपैयाँको सीमा नराखेको भए झनै समस्या आउँथ्यो, यो स्वभाविक हो,’ उनले भने । उनले पनि लगानी गर्नेले कम्पनीको अवस्था हेरेर मात्रै लगानी गर्न पनि सुझाव दिए । ‘निर्माण सम्पन्न नभएका र ऋणमा चलेका कम्पनीहरुको सेयर मूल्यमा उछाल छ, राम्रो कम्पनीमा खासै चासो छैन, कमसेकम अध्ययन गर्ने बानी गर्नु पर्यो,’ उनले भने । यस्तै, छलफलमा सासंद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजारमा साना लगानीकर्तालाई जोखिम बढेको बताए । उनले ठूला लगानीकर्ताले साना लगानीकर्तालाई झुक्याउने खेल खेल्दा साना लगानीकर्ताको लगानी नै डुब्ने अवस्था र्सिजना भएकोले यो प्रवृतिको अन्त्य गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण पनि गराए ।
सेयर बजारमा उतारचढाव कायमै, प्राइम बैंकमा झुम्मिए लगानीकर्ता, टप गेनरमा अधिकांश म्युचुअल फण्ड
काठमाडौं । पछिल्लो केही दिनयता सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । सोमबाबर ११० अंकको उतारचढाव देखिएको बजारमा मंगलबार पनि ८४.९ बिन्दुको उतारचढाव देखिएको छ । मंगलबार कारोबार खुल्दा नेप्से परिसूचकले उकालोको यात्रा तय गरेको थियो । र, एक घण्टाको अवधिमै बढेर अधिकतम २५९०.७६ बिन्दुसम्म पुगेको थियो । तर, त्यसपछिको कारोबारमा भने परिसूचकले ओरालोको बाटो तय गर्यो । र, घटेर न्यूनतम २५०५.८६ बिन्दुसम्म पुग्यो । अन्त्यमा बजार बन्द हुँदा मंगलबारको नेप्से परिसूचक ३७.१८ बिन्दुले घटेर २५०८.९१ बिन्दुमा अडिएको छ । जुन अघिल्लो दिनको तुलनामा १.४६ प्रतिशतले घटी हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । दिनभरको कारोबारमा ३ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन सोमबारको तुलनामा एक अर्ब ४२ करोड रुपैयाँले घटी हो । सोमबारको बजारमा भने ४ अर्ब ५४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सोमबार नेप्से परिसूचक पनि दोहोरो अंकले बढेको थियो । यसकारण प्राइम बैंकमा झुम्मिए लगानीकर्ता मंगलबारको बजारमा लगानीकर्ताहरु प्राइम कमर्शियल बैंकको सेयरमा झुम्मिएका छन् । बैंकको एकैदिन १२ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बैंकको गत वर्षको प्रस्तावित लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन भएसँगै लगानीकर्ताको आकर्षण बैंकमा परेको हो । बैंकले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि भोलि अर्थात मंसिर २२ गते बुक क्लोज गर्दै छ । यससँगै आजसम्म बैंकको सेयर किन्ने तथा होल्ड गर्ने लगानीकर्ताले बैंकको प्रस्तावित लाभांश पाउने छन् । त्यसैले पनि मंगलबार बैंकको सर्वाधिक कारोबार भएको हो । उच्च कारोबार भएको बैंकको सेयर मूल्य पनि बढेर प्रतिकित्ता ४४३ रुपैयाँ पुगेको छ । प्राइम बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १६ प्रतिशत बोनस र ०.६३१३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई आगामी पुस ६ गते हुने बैंकको चौधौं वार्षिक साधारणसभाले पारित गर्दै छ । त्यस्तै, १० करोडभन्दा माथिको सेयर कारोबार हुनेमा अन्य ३ कम्पनी रहेका छन् । महालक्ष्मी विकास बैंकको ११ करोड ८६ लाख, आईसीएफसी फाइनान्सको ११ करोड १ लाख र अपि पावरको १० करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दुई समूहबाहेक सबै राताम्मे बजारमा १३ वटा समूह कारोबारमा आएका थिए । त्यसमध्ये म्युचुअल फण्ड र ट्रेडिङ्ग समूह बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । म्युचुअल फण्ड र ट्रेडिङ्ग समूह पनि क्रमशः ०.१२ र २१.५३ अंकले उकालो लागेका छन् । सबैभन्दा बढी घट्नेमा निर्जीवन बीमा समूह रहेको छ । उक्त समूह एकैदिन १६०.९८ बिन्दुले घटेको छ । टप गेनरमा अधिकांश म्युचुअल फण्ड मंगलबार टप गेनरको अग्रस्थानमा अधिकांश म्युचुअल फण्ड अन्तर्गतका कम्पनी रहेका छन् । जसको इकाई मूल्य ५ प्रतिशतभन्दा कमले बढेको छ । बजारमा सिटिजन्स म्युचुअल फण्ड २ को इकाई मूल्य सबैभन्दा बढी अर्थात ४.६५ प्रतिशतले बढेर प्रतिइकाई १०.१३ रुपैयाँ पुगेको छ । त्यस्तै, लक्ष्मी इक्विटी फण्डको ४.४९ प्रतिशत, एनआईबीएल प्रगति फण्डको ३.८९ र सिटिजन्स म्युचुअल फण्डको इकाई मूल्य ३.५० प्रतिशतले बढेको छ । यससँगै मंगलबारको बजारमा ५ प्रतिशत भन्दा बढी सेयर मूल्य बढ्नेमा कुनै पनि कम्पनी देखिएनन् । मंगलबार टप लुजरको अग्रस्थानमा आईसीएफसी फाइनान्स रहेको छ । संस्थाको सेयर मूल्य ७.६५ प्रतिशतले घटेर प्रतिकित्ता ७१२ रुपैयाँमा झरेको छ ।
सेयर बजार राताम्मे, ६४ अंकले ओरालो लाग्यो नेप्से परिसूचक
काठमाडौैं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा ओरालो लागेको छ । साताको पहिलो दिन अर्थात आइतबारको बजार पनि कारोबार खुलेदेखि नै निरन्तर रुपमा घटीरहेको छ । दिउँसो साढे एक बजेसम्ममा परिसूचक ६४.७५ अंकले घटेर २५२१.४४ बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.५० प्रतिशतले घटी हो । कारोबार खुलेको साढे २ घण्टामा २ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । हालसम्म कम्पनीको १९ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, न्यादी हाइड्रोपावरको सेयर सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४५४.४० रुपैयाँ पुगेको छ । बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।
सेयर बजारमा प्यानिक सेल, एकैदिन ८० अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आइतबारको सेयर बजारमा प्यानिक सेल देखिएको छ । मौद्रिक नीतिको समिक्षा पछिको पहिलो दिनको कारोबारमा प्यानिक सेल देखिएको हो । गत शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षामा सेयर धितोमा गरिएको ४/१२ को सीमाको व्यवस्थामा कुनै हेरफेर नभएपछि लगानीकर्ताहरु डराएको देखिन्छ । उनीहरुले घाटामै सेयर बेच्न थालेपछि बजारमा प्यानिस सेल देखिएको हो । उक्त प्यानिक सेलको कारण बजारमा परिसूचक घट्यो र सेयर कारोबार बढ्न पुगेको छ । यससँगै सेयर मूल्य मापक नेप्से परिसूचक ८०.२९ अंकले घटेर २६५१.४९ बिन्दुमा झरेको छ । जुन गत बिहीबारको तुलनामा २.९४ प्रतिशतले बढी हो । त्यस्तै, बजारमा ५ अर्ब ८५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन गत बिहीबारको तुलनामा २ अर्ब ५ करोड रुपैयाँले बढी हो । गत बिहीबार ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आइतबार सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको कारोबार भएको छ । बैंकको एकैदिन २९ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । कारोबार खुलेदेखि निरन्तर घटेको बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जसमध्ये जीवन बीमा समूह सबैभन्दा बढी अर्थात ५३८.०३ अंकले घटेको छ । उच्च अंकले घटेको बजारमा पनि आईसीएफसी फाइनान्सको सेयर सर्किट लेभलमा कारोबार भएको छ । संस्थाको सेयर मूल्य ९.७८ प्रतिशतले बढेर प्रतिकित्ता ९३२ रुपैयाँ पुगेको छ । सबैभन्दा गुमाउनेमा हिमालयन पावर पार्टनर रहेको छ । संस्थाको सेयर मूल्य ८.४९ प्रतिशतले घटेर प्रतिकित्ता ४४३ रुपैयाँमा झरेको छ ।