किन बढ्यो सेयर बजार ? यस्तो भन्छन् लगानीकर्ता

काठमाडौं । साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४३.२० अंकले बढेर १९६५.३६ विन्दुमा बन्द भएको छ । गत साता ७८.०२ अंकले बढेको सेयर बजार आइतबार एकैदिन ४३ अंकले बढ्यो । आज दिनभरिमा २२८ कम्पनीको ३९ लाख १३ हजार कित्ता सेयर २७ हजार पटक किनबेच हुँदा १ अर्ब ५४ करोड ८० लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार म्युचुअल फण्ड बाहेक सबै समूहमा हरियाली छाएको छ । आज लघुवित्त समूह ४.५८ प्रतिशत बढेको छ । साथै सेयर बजारमा विभिन्न ५ वटा लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्टिक लागेको छ । आइतबार एभरेष्ट बैंक र जाल्पा सामुदायिक लघुवित्तले राम्रो लाभांश घोषणा गरेका थिए । जाल्पा लघुवित्तले आकर्षक लाभांश घोषणा गरेपछि लगानीकर्तामा उत्साह छाएको हो । जाल्पा सामुदायिक लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ७६.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमध्ये लघुवित्तले ७३ प्रतिशत बोनस सेयर र ३.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । यस्तै, एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये बैंकले १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । तिहारअघिसम्म सेयर बजारमा अन्यौलता थियो । तिहारपछि खुलेको पहिलो दिनको बजार बढेपछि निरन्तर बढ्दै आएको छ । यसअघि मनोबल कमजोर बनाएका लगानीकर्ताहरु सूचीकृत कम्पनीहरुले आकर्षक लाभांश घोषणा गर्न थालेपछि भने उत्साहित भएका हुन् । जसकार बजारमा हरियाली छाएको सेयर जानकारहरुको भनाइ छ । सेयर बजारले उकालो यात्रा सुरु गरेको संकेत लगानीकर्ताहरुले आँकलन गरेका छन् । बजारमा सेयर बजार मैत्री वातावरण नभएपनि एकाएक बजार बढेपछि लगानीकर्ता उत्साहित भएको सेयर विश्लेषकहरुले बताएका छन् । लगानीकर्ता राजन लम्साल लाभांश घोषणा गरेका कम्पनीहरुले सेयरधनीहरुको मनोबल बढाउँदा अन्य कम्पनीले पनि राम्रो लाभांश दिने अपेक्षा गरेको कारण सेयर बजार बढेको बताउँछन् । धेरै घटेर तल्लो तहमा पुगेको बजारमा आकर्षक लाभांश घोषणाले बढेको उनको बुझाइ छ । तिहारपश्चात् लगानीकर्ताहरु आआफ्नो काममा फर्किएको हुँदा बजार बढेको उनले बताए । ‘बजार अहिले बुल र वियरिस भन्ने छैन, लगातार बढेपछि बुलमा गएको हुन्छ, बुलमा लागेको भनेर आज एकदिनको बढाइले भन्न सकिँदैन तर लाभांश घोषणाले बढ्नलाई मद्दत गरेको हो, अन्य कम्पनी पनि लाभांश घोषणा गर्ने तयारीमा छन्, राम्रो लाभांश आउँछ भन्ने अनुमानले लगानीकर्ता उत्साहित भएका हुन्,’ उनले भने । केही लगानीकर्ताहरु भने बैंकहरुको निक्षेपको ब्याजदर घट्न संकेत पाएकाले बजार बढेको बताउँछन् । पूँजी बजारमा लगानीकर्ताको मनोबलका आधारमा कारोबार हुने भएकाले यदि लगानीकर्ताको मनोबल उच्च छ भने बजार बढ्ने र कमजोर बनाएको छ भने घट्ने लगानीकर्ता आकाश बस्नेत बताउँछन् । अहिले बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर उच्च छ । उक्त ब्याजदरलाई बजारले पचाएको उनको दाबी छ । साथै उच्च रहेको ब्याजदर अब घट्ने चर्चा बजारमा चलेपछि पनि नेप्से बढेको उनको तर्क छ । नाम उल्लेख नगर्ने शर्तमा एक जना सेयर विश्लेषकका अनुसार जब १८ सय अंकलाई पार गर्दै १९ सय अंकमा मेन्टेन गरेर बस्यो, त्यतिबेला लगानीकर्तामा बजार अब २ हजार अंक पुग्ने भयो भन्ने अनुमान थियो । यसबीचमा लगानीकर्ताहरुमा बजार २ सय अंक बढ्छ भन्ने अनुमान गरेका थिए । आइतबार लगानीकर्तामा एउटा डर थियो १९ सय अंकभन्दा तल झरेर फेरि घट्छ की भन्ने । तर त्यो भएन । यसकारण बजार बढेको उनको तर्क छ । आजबाट १९४० अंकभन्दा माथि जानथालेपछि लगानीकर्तामा बजार बढ्ने मनोबल उच्च रहेको उनले बताए । यसको फण्डामेन्टल कारण भनेको बजार धेरै तल झरेको थियो । १८ सय अंकबाट पनि तल आउला भन्ने लगानीकर्तामा एउटा शंका उत्पन्न थियो । तर अहिलेलाई १८ सय अंकभन्दा तल आउँछ भन्नेहरुका लागि बोली नै बन्द भएको उनले बताए । जाल्पा लघुवित्तले एकैपटक ७७ प्रतिशत लाभांश घोषणा गरेपछि माइक्रोफाइनान्स इण्डेक्समा माहोल सृजना गर्याे र जसकारण अन्य लघुवित्तको सेयर मूल्य पनि बढेको उनको तर्क छ । साथै चुनावको माहोलमा बजार माथि जाने संकेत गरेको भएपनि बजारमा बुल भने सुरु नभएको उनले बताए ।

४३ अंकले बढ्यो सेयर बजार, कारोबार डेढ महिना यताकै उच्च

काठमाडौं । साताको पहिलो दिन सेयर बजार ४३ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार आइतबार सेयर बजार ४३.२० अंकले बढेर नेप्से १९६५.३६ विन्दमा पुगेको छ । यस्तै, आज असोज २ गते यताकै सबैभन्दा धेरै कारोबार भएको छ । असाेज २ गते एक अर्ब ६० कराेड काराेबार भएकाे थियाे भने आज एक अर्ब ५४ करोडको कारोबार भएकाे छ । यसरी सेयर बजार बढ्दा म्युचल फण्ड बाहेक सबै उप-समुहहरूमा हरियाली छाएको छ भने लगानीकर्ताहरु सबैभन्दा धेरै लघुवित्तको सेयरमा झुम्मिएका छन् । नेप्सेको अनुसार आज ४ वटा लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा विन नेपाल लघुवित्त, जाल्पा लघुवित्त र नेष्डो समृद्ध लघुवित्त र उपकार लघुवित्त रहेका छन् । शनिबार जाल्पा लघुवित्तले सेयरधनीलाई ७६.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसँगै लघुवित्तहरुमा लगानीकर्ताको आकर्षण देखिएको जानकारहरु बताउँछन् ।

बिहीबार १६.१४ अंकले घट्यो सेयर बजार, एभरेष्ट बैंकको सबैभन्दा बढी कारोबार

काठमाडौं । लगातार तीन दिन उकालो लागेको सेयर बजार बिहीबार भने घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसर बिहीबार नेप्से १६.१४ अंकले घटेर १९२२.१६ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार १३ वटा उप-सूचांकहरूमा बीमा बाहेक सबै राताम्मे भएको छ । बिहीबारको सेयर बजारमा सबैभन्दा बढी सेयर मूल्य बढ्नेमा युनिलिभर नेपाल लिमिटेड र सबैभन्दा बढी घट्नेमा विन नेपाल लघुवित्त वित्तिय संस्था रहेको छ । यस्तै, सबैभन्दा बढी कारोबार गर्नेमा एभरेष्ट बैंक लिमिटेड रहेको छ । आज २७ लाख ६७ हजार ५३९ लाख कित्ता सेयर किनबेच हुँदा ८९ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ ।  

‘सेयर बजार धेरै घटिसक्यो, एक/डेढ महिनामै छलाङ मार्छ’

काठमाडौं । गत वर्ष नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आफ्ना पुराना रेकर्डलाई तोड्दै एकपछि अर्को नयाँ–नयाँ रेकर्ड बनायो । गत वर्ष सेयर बजारमा साढे २१ अर्ब रुपैयाँ बढीको कारोबार भएर आफ्ना सबै रेकर्ड ब्रेक गर्याे । सोही वर्ष नेप्से परिसूचक ३२ सय अंक बढी पुगेर अर्काे रेकर्ड पनि कायम गर्न सफल भयो । साथै गत वर्षको २० भदौमा नेप्से परिसूचक ११० अंकले घटेको थियो । जुन एकैदिन यति फराकिलो अंकको गिरावट आएको सेयर बजार इतिहासमै पहिलो पटक हो । यस वर्ष भने सेयर बजार घटेको घट्यै छ । सेयर बजारमा धेरै ठूलो गिरावटकै कारण लगानीकर्ताहरुले ठूलो मात्रामा घाटा ब्यहोर्नु परेको छ । ३२ सय अंकबाट १८ सय अंकमा झर्दा सेयर बजार झण्डै ८० प्रतिशतले घटेको छ । कारोबार रकममा पनि संकुचन आएको छ । एक वर्षको अवधिमा यति धेरै अंकले सेयर बजार घटेको इतिहासमा नै पहिलो पटक भएको लगानीकर्ताहरु बताउँछन् । दशैं तिहार पनि सकिएको छ । धेरैले चाडपर्वको समयमा पैसा बैंकिङ प्रणालीमा पनि आउने बताउँनछन् । यही समयमा फेरि सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तोकेको छ । चाडपर्वपछि र निर्वाचनको समयमा बजारमा ठूलो रकम आउने र सेयर बजार पनि बढ्ने अपेक्षा लगानीकर्ताहरुले गरेका छन् । यही समयमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर उच्च छ । जसको प्रभाव सेयर बजारमा परेको भएपनि लगानीकर्ताहरुले ब्याजदरलाई पचाइसकेकाले सेयर बजार अब धेरै नघट्ने उनीहरुको तर्क छ । लगानीकर्ता कमला गिरी आगामी दिनमा सेयर बजार बढ्ने वा नबढ्ने भनेर लगानीकर्ताको मनोबलमा भर पर्ने बताउँछिन् । उनका अनुसार बजारमा भएका ठूला कम्पनीहरुको वित्तीय विवरण राम्रो आएको छ भने बजार केही समयको लागि बढ्छ । जसले गर्दा ठूला लगानीकर्ता बिक्री गर्छन् भने साना लगानीकर्ताले खरिद गर्छन् । तर ठ्याक्क उल्टो भयो भने ठूला लगानीकर्ताले बजारमा खरिद गर्छन र साना लागनीकर्ताले बिक्री गर्छन् । लगानीकर्ता विष्णु बस्याल सेयर बजारमा सुधार आउने अपेक्षा गर्छन् । अब बैंक तथा वित्तीय संस्थाको ब्याजदर धेरै नबढ्ने आशा गरेका उनी बरु ब्याजदर घट्ने अपेक्षा गरिरहेका छन् । महँगो ब्याजदर हुँदा बैंकको ब्यापार पनि घट्ने हुँदा घटाउनु पर्ने बाध्यता रहेको उनले बताए । पहिलो त्रैमासको वित्तीय विवरणले सर्टटर्ममा प्रभाव पारेपनि दीर्घकालमा भने यसले खासै असर नगर्ने उनको बुझाइ छ । ‘निक्षेप तर्फको ब्याजदर घट्नेक्रम सुरु हुन्छ, कर्जातर्फको ब्याज एक त्रैमास थप बढ्न सक्छ तर कर्जाको ब्याज पनि धेरै बढ्ने ठाउँ छैन, अहिले कर्जाको ब्याजदर १८ प्रतिशतभन्दा बढी छ, कहाँबाट कर्जाको महँगो ब्याज तिर्ने र लगानी गर्ने कुरा हुँदैन, अब कर्जाको माग कम हुँदै जाने, बैंकहरुलाई ब्यापार गर्न निक्षेपको कस्ट घटाउने र ब्याजदर तल झार्नु पर्ने बाध्यता आउँछ, यो भन्दा धेरै भयावह स्थिति आउँदैन,’ उनले भने, ‘एक डेढ महिना बजार यतिकै रहन सक्छ, बजार माथि जाने संकेत गरिरहेको छ, पहिलो त्रैमासमा ब्यापार गर्न नपाएपछि बैंक तथा वित्तीय संस्थाको नाफा वृद्धिदर घटेको हो, अघिल्लो वर्षको तुलनामा यो वर्ष कम नाफा कमाएका मात्रै हुन् ।’ लगानीकर्ता बस्यालका अनुसार बैंकहरुको नाफा बढ्दैन भनेर सेयर मूल्य हेरेर नै थाहा हुने उनको भनाइ छ । नाफा घट्छ भनेर नै बैंकहरुको सेयर मूल्य पनि कम भएको उनको बुझाइ छ । ‘बैंकहरुको नाफा वृद्धि हुँदैन भनेर पहिल्यै बजारले थाहा पाइसकेको थियो, बैंकहरुले मज्जाले नाफा कमाउँछन् भनेको भए बैंकहरुको सेयर मूल्य पनि माथि हुन्थ्यो होला, यो कुरा बजारले पहिला नै आँकलन गरिसकेको थियो, अब असर नै नपर्ला भन्न सकिन्न, यसको असर सर्टटर्ममा हुन्छ, सोमबार बजार खुलेपछि केही तलमाथि हुन सक्छ तर लामो समयसम्म यसको असर परिरहने भन्ने हुँदैन,’उनले भने । अबको एक डेढ महिनापछि बजारको उकालो यात्रा सुरु हुने लगानीकर्ता बस्यालको भनाइ छ । यस अवधिमा बजार घटेपनि १ हजार ७ सय अंकसम्म मात्रै झर्ने उनको दाबी छ । एक दुइ हप्ता बजार घटबढ मात्रै भइरहने उनले बताए । ‘एक/डेढ महिनापछि बजारले लय लिन्छ, बैंकहरुको वित्तीय विवरण राम्रो आएको छैन भनेर सर्टटम रियाक्सन गर्ने आफ्नो ठाउँमा छ, आउने हप्ता नेप्से तल आउने मोटामोटी अनुमान छ, तल नै आयो भनेपनि धेरै अंकले तल आउने ठाउँ देख्दिन, कहिले तल कहिले माथि गर्दै एक डेढ महिनामा एक/डेढ सय अंक तल भयो भनेपनि यसलाई धेरै ठूलो सरप्राइज मान्नु पर्दैन, त्यति नै अंकमा बजार सम्हालिने मेरो अपेक्षा छ, तल आयो भने १७००/१७५० अंकभन्दा तल आउँदैन,’ उनले भने, ‘उच्च ब्याजदर बजारले पचाइसक्यो, बेस रेट बढ्यो भन्दैमा कर्जाको ब्याजदर बढाउने क्षमता बैंकहरुको छैन किनभने बजारमा कर्जाको माग नै छैन, पुराना ऋणीहरुलाई महँगो ब्याज तिर्नुपर्ने बाध्यता भएपनि नयाँ कर्जा लिएर नयाँ बिजनेश गर्छु भन्नेले यो महँगो कर्जा तिर्न सक्दैन, कर्जाको माग नभएपछि बैंकहरुले निक्षेपमा मात्रै बढी ब्याज दिन सक्दैनन्, निक्षेपको रेट घटेपछि बजार बढेको इतिहास नै छ ।’ यसअघि १८ सय अंकबाट सेयर बजार घटेर ११ सय अंकमा झर्दा र अहिले ३२ सय अंकबाट घटेर १८ सय अंकमा झर्दाको अवस्था एउटै छ । ११ सय अंकमा झर्ने बेलामा केही लगानीकर्ताहरुले बजार घटेर ९ सय अंकमा पुग्ने बताएका थिए । तर, बजार घट्न मानेको थिएन । ११ सय अंकबाट नै बजार बढेर ३२ सय अंकमा पुगेको लगानीकर्ता छोटेलाल रौनियारको बुझाइ छ । अहिले पनि सेयर बजार ३२२७ अंकबाट घटेर १८ सयसम्म झरेकाले लगानीकर्ताहरु सेयर बिक्री गर्न नमानेर बजार घट्न नमानेको उनले बताए । अहिलेको अवस्था भनेको पनि १८ सय अंकबाट घटेर ११ सयमा झरेको जस्तै रहेको उनको भनाइ छ । ‘५ वर्ष अघि १८६० अंकमा पुगेको सेयर बजार घटेर ११ सय अंकमा झरेको थियो, त्यो बेलामा पनि ब्याजदर बढेर १६/१७ प्रतिशत पुगेको थियो, १८ सय अंकमा पुग्दा मास साइकोलोजी बलियो थियो, त्यसपछि बैंकहरुको ब्याजदर बढेपछि बजार घटेको हो, बजार घटेर ११ सय अंकमा झरेको थियो तर त्यो बेलामा लगानीकर्ताले सेयर बिक्री मानेका थिएनन्,’ लगानीकर्ता रौनियारले स्मरण गर्दै भने, ‘त्यो बेलामा १५/२० करोड रुपैयाँको मात्रै कारोबार हुन्थ्यो, सेयर बजार ९ सय अंकमा झर्छ भनेर केही लगानीकर्ताले भन्थे,उनीहरुले महँगोमा सेयर बिक्री गरेर बजार घटाएर आम लगानीकर्ताको पैसा लुट्न खोजेका थिए तर बजार घट्न मानेन, धेरै लगानीकर्ता सेयर बिक्री गरेनन्, ११ सय अंकमा आएर ३२ सय अंकमा पुगेको हो ।’

प्रभु क्यापिटलले रोटर्याक्ट क्लब अफ पाटनका सदस्यलाई दियो सेयर बजारबारे तालिम

काठमाडौं । प्रभु क्यापिटलले रोटर्याक्ट क्लब अफ पाटन वेस्टका सदस्यहरुलाई तालिम दिएकाे छ । क्यापिटलले सेयर बजार सम्बन्धी बेसिक, फण्डामेन्टल एण्ड टेक्निकल एन्यालाइसिस अफ सेक्युरिटी मार्केट विषयमा १ दिने तालिम दिएकाे हाे । विश्व लगानीकर्ता सप्ताह – २०२२ को अवसरमा विविध लगानीकर्ता सचेतना अभिवृद्धि गर्ने उद्देश्यले क्यापिटलले उक्त तालिम दिएकाे जनाएकाे छ । रोटर्याक्ट क्लब अफ पाटन वेस्टका करिब २० जना सदस्यहरुको सहभागिता भएको उक्त तालिम कार्यक्रममा प्रशिक्षण क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले दिएका थिए । प्रशिक्षणमा शेयर बजार तथा प्राथमिक तथा दोश्रो बजार सम्बन्धी आधारभुत कुराहरु, शेयर बजारमा दिर्घकालिन लगानी गर्दा पाईने प्रतिफल, आधारभूत तथा प्राविधिक विश्लेषण तथा पोर्टफोलियो व्यवस्थापन तथा लगानीमा हुने जोखिम व्यवस्थापन सम्बन्धी विषयहरु समेटिएको थियो । प्रभु क्यापिटलले सेयर लगानीमा सचेतना अभिवृद्धिका लागिे समय समयमा शेयर तथा पूँजी बजारसंग सम्बन्धित तालिम कार्यक्रमहरु, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।  

बुधबार सेयर बजारको दुई बाहेक सबै समुहमा छायो हरियाली

काठमाडौं । बुधबार सेयर बजारमा दुई समूह बोहक सबैमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आजको सेयर बजारमा ट्रेडिङ र म्युचल फण्ड बाहेक सबैमा  हरियाली छाएको छ । बुधबार नेप्से सूचक ११।३६ अंकले बढ्दा १८६६।५२ अंकमा उक्लिएको छ । आज कुल ६९ करोड १७ लाख ३७ हजार रुपैयाँको २० लाख ८५ हजार २८४ कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिन १६ अंकले घटेको बजारमा ५५ करोडको कारोबार भएको थियो ।

राताम्य सेयर बजारमा हिमालयन एभरेष्टको सर्वाधिक कारोबार

काठमाडौं । दशैं पछिको पहिलो दिन खुलेको सेयर बजारमा हरियाली छाएको थियो । तर, सेयर बजार बढेको दोस्रो दिन नै फेरि घटेको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.१६ अंकले घटेर १८७१.२२ अंकमा बन्द भएको छ । यस्तै, सोमबार दिनभरिमा २३३ कम्पनीको ३१ लाख ५५ हजार ६९५ कित्ता सेयर १७ हजार ८७६ पटक खरिदबिक्री हुँदा ९७ करोड १७ लाख ६७ लाख ७१ हजार ४४४ रुपैयाँ बराबरको कारोबार भएको छ । आज म्युचुअल फण्ड बाहेक सबै समूहमा राताम्य छाएको छ । म्युचुअल फण्ड समूह ०.८४ प्रतिशत बढेको छ । सोमबार हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको १६ करोड ५८ लाख ७७ हजार ४१४ रुपैयाँ बराबरको कारोबार भएको छ । हालै आईपीओ जारी गरेर नेप्सेमा सूचीकृत भएको अभियान लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशत बढेको छ । यस्तै, गरिमा डिवेञ्चर २०८५ को सेयर मूल्य ८.१३ प्रतिशत घटेर ७४५ रुपैयाँमा सिमित भएको छ ।

के अब सेयर बजार उकालो लागेको हो ? यस्तो भन्छन् लगानीकर्ता

काठमाडौं । दशैंअघिसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८५३.७६ अकंमा थियो । तर, दशैंपछिको पहिलो दिन अर्थात् आइतबार ४४.६२ अंक बढेर १८९८.३८ अंकमा बन्द भयो । कारोबार रकम पनि रकम पनि दशैं अघिभन्दा केही बढी नै भएको छ । दशैंपछि खुलेको बजारमा हरियाली छाउँदा लगानीकर्तामा उत्साह छाएको छ । दशैं अघिसम्म ओरालो लाग्दै आएको सेयर बजार दशैं पछि भने बढ्ने अपेक्षा गरिएको छ । पछिल्लो सयम अर्थतन्त्र चलायमान र सूचकहरु बलियो बन्दै गएपछि सेयर बजार पनि बढ्ने अपेक्षा लगानीकर्ताहरुले गरेका हुन् । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन २०७९ को रौनक पनि जनतामाझ बढेको हुँदा सेयर बजार आगामी दिनमा बढ्ने सेयर विश्लेषकहरु बताउँछन् । बजारलाई अन्तराष्ट्रिय र राष्ट्रिय घटनाहरुले पनि प्रभाव पार्ने भएकाले विश्व अर्थतन्त्र चलायनमान भइरहेकाले सेयर बजार बढ्ने धारणा उनीहरुको छ । एक जना सेयर विश्लेषकका अनुसार दशैं पछिको सेयर बजार तरलताका आधारमा घटबढ हुन सक्ने बताउँछन् । हाल तरलता सहज भइरहेकाले सेयर बजार पनि माथि जाने उनको बुझाइ छ । आफ्नो नाम उल्लेख नगर्ने शर्तमा उनले दशैं पछि सेयर बजार लो लिक्वीडिटीमा अघि बढ्ने भएकाले कम भोलुममा चलखेल हुन सक्ने बताए । ग्लोबल रेसियो हेर्दा अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने किसिमका गतिविधि भइरहेकाले सेयर बजार घट्न सक्ने उनको बुझाइ छ । ‘दशैं पछि माहोल हेर्दा सेयर बजार लो लिक्वीडिटीमा अगाडि बढ्छ, लो लिक्वीडिटीमा अगाडि बढ्दा कारोबार रकम कम हुने भएकाले चलखेल गर्ने सम्भावना बढी हुन्छ, कारोबार रकम तन्केर अघि बढ्छ तर, बजार बढेपछि बुलिसमा गयो भनेर निष्कार्ष निकाल्नु भने हुँदैन,’ उनले भने, ‘ग्लोबल रेसियो हेर्दा लास्ट टाइममा बजारमा प्रभाव परेको थियो, ताइवान र चाइना, रुस र यूक्रेनको युद्ध चलिरहेको छ, अमेरिकाले ताइवानलाई सहयोग गरेका कारण चाइनासँग पनि अमेरिकाको मनमुटाव छ, विश्व गतिविधि हेर्दा विश्व युद्ध नै नहोला भन्न सकिन्न ।’ अबको एक महिनाभित्र सेयर बजार २ हजार माथि जान सक्दैन भने बजारमा गाह्रो अवस्था आउन सक्ने उनको बुझाइ छ । अहिलेको अवस्थामा गाह्रो नपर्दा सम्म सेयर बिक्री नगर्ने सोच लगानीकर्तामा हुनु पर्ने उनले बताए । ‘सेयर बजार १६ सय इण्डेक्समा आएपनि खरिद गर्ने अवसरका रुपमा लिनुपर्छ, ३२ सयबाट धेरै ठूलो अंक तल झरिसकेको छ, २८ सयमा झर्दा बिक्री गर्नै पर्छ भन्ने थियो, गुजारा चलाउन गाह्रो भएको छ भने मात्रै बिक्री गर्ने हो तर बिक्री गर्नुपर्ने जरुरी छैन भने लगानीकर्ताले सेयर होल्ड गरेर बस्नुपर्छ, बजार अझै तल झरेको बेलामा खरिद गर्ने मुडमा हुनुपर्छ,’ उनले भने, ‘ट्रेडरले अहिलेको सिनारियोमा बजार घट्यो भने किन्ने र बजार बढेको छ भने बिक्री गर्नुपर्ने हुन्छ, टे«डरको काम भने बजारमा लिक्वीडिटी प्रोभाइड गर्ने हो ।’ लगानीकर्ता राधा पोखरेल बजारमा तरलता सहज हुँदै गएकाले बढ्ने अपेक्षा गरेको बताउँछिन् । अहिले लाभांश वितरणको सिजन पनि चलिरहेकाले पनि सेयर बजार सकारात्म रुपमा अघि बढ्ने उनको भनाइ छ । ‘बजारमा तरलता सहज अवस्थामा आयो भने सेयर बजार सकारात्मक रुपमा अघि बढ्न सक्छ, अहिले तरलता सहज अवस्थामा नै रहेकाले बढ्ने अपेक्षा छ, लाभांश वितरण गर्न सिजन पनि हो, बैंकहरुले नगद दिइरहेका छन्, यदि बैंकहरुले बोनस सेयर दियो ने सकारात्मक हुन्थ्यो तर बैंकहरुले नगदमा जोड दिएका छन्,’ उनले भने, ‘चुनाव पनि नजिक आइरहेको छ, यी सबै कुराहरु हेर्दा बजार बढ्ने अपेक्षा छ तर तरलता असहज भयो भने बढ्न नसक्न पनि सक्छ ।’ लगानीकर्ता विष्णु अग्रावल बजार अहिलेदेखि नै बढ्ने तर्क गर्छन् । यदि अहिले बजार नबढे मंसिरमा बढ्ने उनको धारणा छ । ब्याजदर किक आउट र तरलता सहज अवस्थामा रहेकाले सेयर बजार बढ्ने उनको अनुमान छ । ‘आइतबार बजार बढ्दा आगामी दिनमा पनि बढ्छ, ब्याजदर पनि किक आउट भइसकेको छ, ब्याजदर योभन्दा माथि बढ्न सक्ने अवस्था छैन, बरु अर्काे महिनादेखि ब्याजदर घट्ने सम्भावना छ, तरलता अभाव पनि पहिला जस्तो चर्काे छैन,’ उनले भने, ‘केही कुरमा तलमाथि भएपछि छुट्टै कुरा हो नत्र बजार बढ्छ, कि अहिलेदेखि बजार बढ्न सुरु गर्छ, होइन भने मंसिरको चुनावपछि बजार बढ्छ नै ।’ अहिले लाभांश सिजन र चुनाव पनि नजिक आइरहेकाले बजार बढ्ने उनको बुझाइ छ । अन्तराष्ट्रि अर्थतन्त्र हेर्दा केही दिनसम्म तल रहेपनि सबै ठिक अवस्थामा आउने उनले बताए ।

दशैंपछिको सेयर बजारमा छायो हरियाली, कारोबारमा नबिलको अग्रता

काठमाडौ. । दशैंको बिदा पछि खुलेको सेयर बजारमा हरियाली छाएको छ । करिब एक सातापछि आइतबार खुलेको बजारमा नेप्से परिसूचक कारोबार खुलेदेखि नै उकालो लागिरहेको छ । यो समाचार तयार पार्दा (करिब १ बजे) सम्म परिसूचक २८.४३ अंकले उकालो लागिसकेको छ । जुन पछिल्लो कारोबारको तुलनामा १.५३ प्रतिशतले बढी हो । यो अवधिसम्म नबिल बैंकको सर्वाधिक कारोबार भइरहेको छ । हालसम्म बैंकको १ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भइसकेको छ । बैंकको सेयरसँगै सेयर मूल्यपनि बढेको छ । अघिल्लो दिनको तुलनामा बैंकको सेयर मूल्य २१ रुपैयाँले बढेर प्रतिकित्ता ८०१ रुपैयाँ नाघिसकेको छ । त्यस्तै, सबैभन्दा बढी सेयर मूल्य बढ्नेमा सबैको लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाको सेयर मूल्य ७.६४ प्रतिशतले बढेर प्रतिकित्ता १०२८ रुपैयाँ पुगेको छ । बजारमा म्युचुअल फण्ड बाहेक कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । यो समाचार तयार पर्दासम्म म्युचुअल फण्ड समूह सामान्य अर्थात ०.०१ अंकले घटेको छ ।

कहिले खुल्छ सेयर बजार ?

काठमाडौं । दशैं लागेसँगै सेयर बजार पनि पूर्ण रुपमा बन्द छ । नेपाल सरकारले नेपालीहरुको ठूलो चाड विजया दशमीको अवसरमा गत असोज १६ गतेदेखि नै सरकारी बिदा दिएको थियो । सरकारले सो दिन अर्थात फूलपातीको दिनदेखि असोज २१ गतेसम्म बिदा दिएको छ । सरकारी बिदा भएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पनि पूर्ण रुपमा बन्द भएको छ । तर, उक्त बिदा भने असोज २१ गते अर्थात शुक्रबारदेखि सकिँदै छ । असोज २२ गते शनिबार । सेयर कारोबार खुल्दैन । यससँगै अब असार २३ गते अर्थात आइतबारदेखि मात्रै सेयर बजार खुल्ने छ । सो दिन भने दशैंको अन्तिम दिन अर्थात कोजाग्रात पूर्णिमा रहेको छ । नेप्सेको दशैं क्यालेन्डर अनुसार सेयर बजार लगातार रुपमा बन्द भएको ९ दिन पुरा भएको छ । यससँगै गत असोज १४ गतेदेखि नै पूर्ण रुपमा बन्द रहेको सेयर बजार आगामी असोज २३ गते आइतबारदेखि खुल्ने छ ।

हरियाली छाएर बन्द भयो दशैंअघिको सेयर बजार, परिसूचक र कारोबार दुबैमा सुधार

काठमाडौं । दशैं अघिको सेयर बजारमा हरियाली छाएको छ । दशैंअघि अन्तिम दिन खुलेको बिहीबारको सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार देखिएको छ । परिसूचक १६.२९ अंकले बढेर १८५३.७६ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.८९ प्रतिशतले बढी हो । बुधबारको तुलनामा बिहीबारको सेयर कारोबार पनि बढेको छ । बुधबार ४८ करोडको कारोबार भएको बजारमा बिहीबार भने ६३ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन सबैभन्दा बढी कारोबार गर्नेको अग्रस्थानमा नेपाल इन्स्योरेन्सको संस्थापक सेयर रहेको छ । इन्स्योरेन्सको एकैदिन ४ करोड ४८ लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ३६६ रुपैयाँ छ । बजारमा अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सर्किट लागेको छ । संस्थाको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४३८.७० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३९.८० रुपैयाँले बढी हो । यता टप लुजरको शीर्ष स्थानमा भने साम्लिङ पावर कम्पनी रहेको छ । जसको सेयर मूल्य ७.९४ प्रतिशतले घटेर प्रतिकित्ता ४६४ रुपैयाँमा झरेको छ । बिहीबार जीवन बीमा समूह बाहेक सबै समूह हरिया देखिएका छन् । जीवन बीमा समूह भने सामान्य ५.६१ अंकले घटेको छ ।

सेयर बजार निरन्तर ओरालो लाग्दै, कालिका पावरको सेयर मूल्य १० प्रतिशत घट्यो

काठमाडौं । सेयर बजारको ओरालो यात्राले मंगलबार पनि निरन्तरता पाएको छ । मंगलबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको हो । यसअघि हिजो आइतबार दोहोरो अंकले घटेको सेयर बजार मंगलबार पनि दोहोरो अंकले गिरवाट आएको हो । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएपछि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको लगानीकर्ताहरु बताउँछन् । बैंक तथा वित्तीय संस्थाहरुले लाभांश वितरण गर्ने समय र चाडपर्व नजिक आएका बेला सेयर बजार बढ्नुपर्ने भएपनि ब्याजदर वृद्धिका कारण पूँजी बजार घटेको लगानीकर्ताको धारणा छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८.८१ अंकले घटेर १८३७.६० अंकमा बन्द भएको छ । अघिल्लो दिनको तुलनामा सोमबकार २.०७ प्रतिशत घटेको हो । आइतबार नेप्से परिसूचक ३३.९७ अंकले घटेर १८७६.४१ अंकमा बन्द भएको थियो । यस्तै, मंगलबार दिनभरिमा २३१ कम्पनीको ३८ लाख ५६ हजार ५३८ कित्ता सेयर ३० हजार १३५ पटक खरिदबिक्री हुँदा १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२ रुपैयाँ बराबरको कारोबार भएको छ । यअिसअघि आइतबारका दिन १ अर्ब ६० करोड १८ लाख २२ हजार ९५४ रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार सेयर बजारमा राताम्य छाएको छ । कुनै पनि समूहमा हरियो देखिएको छैन । यस्तै, स्वाभिमान लघुवित्तको सेयर मूल्य ३.९२ प्रतिशत अर्थात् ५८ रुपैयाँ बढेर १ हजार ५३८ रुपैयाँ पुगेको छ भने कालिका पावर कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात् ३३.४० रुपैयाँ घटेर ३००.६० रुपैयाँमा सीमित भएको छ । आज हिमालयन डिस्टीलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ५ करोड ६५ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

‘ब्याजदर बढ्दा सेयर बजारमा आतंक मच्चियो, तत्काल भद्र सहमति गर्नुपर्छ’

छोटेलाल रौनियार- पूर्वअध्यक्ष, इन्भेष्टर्स फोरम ब्रोकर लाइसेन्स र नयाँ स्टक मार्केटको लाइसेन्स खुल्ने भनेपछि दुई दिन मार्केट राम्रो बढेको थियो । तर, बजार बढेको तेस्रो दिन नेपाल बैंकर्स एशोसिएसनले भद्र सहमति तोड्यो । भद्र सहमति तोडेर आफूखुसी ब्याजदर तोक्ने भनेपछि बजार फेरी ओरालो लागेको हो । दुई तीन वटा बैंकहरुले किचलो गरेका कारण ब्याजदर खुकुलो पारेको भन्ने सुनिएको छ । राष्ट्र बैंकले पनि नयाँ सिस्टम अनुसार बोनस वितरण गर्न रोकिरहेको छ । एउटा सिस्टम खडा गरेर बैंकहरुलाई वित्तीय विवरणमा एनपीएल वा एनपीए बढाउन लगाउने कुराहरु गरिरहेको छ । बोनस सेयर वितरण गर्ने धेरै बैंकले राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाइसकेका छन् । यसमा राष्ट्र बैंकले पनि स्वीकृति गरिरहेको होला । यसअघि पनि पहिला बैंकहरुले आफूखुसी ब्याजदर बढाएका थिए । त्यसपछि त्यसको ठूलो विवाद भयो । आफूखसी ब्याजदर तोक्दा कम्प्लेन आएको थियो । त्यसको छानबिन गरेर बैंकहरुले रकम तिर्नुपरेको थियो । फेरि यसपटक बैंकहरुले भद्र सहमति तोडेका छन् । बैंकहरुले भद्र सहमति तोडेर ब्याजदर बढाएर कमाउन खोजिरहेका छन् । पहिलादेखि नै दुई तीनवटा बैंकले ब्याजदर बढाउन किचकिच गरेको हामीले सुन्दै आएका थियौं । अहिलेपनि यी दुईतीनवटा बैंकले कचकच गर्दा ब्याजदरको भद्र सहमति तोडिएको हुनसक्छ । अहिले ब्याजदरको भद्र सहमति तोडिएर वृद्धि गर्दा सेयर बजार घटेको हो । यस्तै, केही बैंकर्सहरुले नै ब्याजदर १८ प्रतिशत पुग्छ भनेर सार्वजनिक बक्तव्य दिइरहेका हुन्छन् । बैंकर्सहरुले बजारलाई नकारात्मक प्रभाव पार्ने कुराहरु सार्वजनिक रुपमा बोल्नु हुँदैनथ्यो । ब्याजदर बढ्यो भने पूँजी बजारका लगानीकर्ताले नेगेटिभ रोल खेल्छन् । ब्याजदर बढ्यो भने पूँजी बजार घट्छ, ब्याजदर घट्यो भने पूँजी बजार बढ्छ । अहिले भएको पनि यहि हो, ब्याजदर बढ्यो पूँजी बजार घट्यो । जुन दिन नेपाल बैंकर्स एसोशिएसनले ब्याजदरमा भद्र सहमति तोड्यो त्यो दिनदेखि पूँजी बजार घटिरहेको छ । यसमा लगानीकर्ताको मास साइकोलोजी बुझ्न जरुरी हुन्छ । एक वर्षअघि ३२ सय बढी इण्डेक्स हुँदा त्यो बेला लगानीकर्ताहरुको मास साइकोलोजी बुलिस थियो । त्यसपछि नियमनकारी निकाय सेबोनले ५१ कम्पनीको सूचीहरु सार्वजनिक गर्नु, राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयर धितोकर्जामा ४/१२ को सीमा तोक्नु, अर्थमन्त्रालयबाट पनि यस्तै प्रकारका सार्वजनिक बक्तव्य आइरहनु, योजना आयोग, गभर्नर, पूर्व गभर्नर लगायतका जिम्मेवार ब्यक्तिहरुले बजारप्रति नकारात्मक टिप्पणी गर्दा आम लगानीकर्ताको मास साइकोलोजी मनोविज्ञान कमजोर बनेको छ । १३ महिनादेखि बजार घटिरहेकाले लगानीकर्ता डराएका छन् । सार्वजनिक रुपमा टिप्पणी गरेको अभिब्यक्तिले बजारमा असर नगर्ने भए केही सामाजिक सञ्जालमा ब्रोकरले आफ्नो भाषा प्रयोग गर्न सक्छन् । कोही लगानकर्ता ट्रेडर छन् उनीहरुले बजार घटाउन विभिन्न हतियार प्रयोग गरेका छन् । यस्तै कुराले गर्दा बजारको मास साइकोलोजी कमजोर बनेको छ । सेयर बजारको मास साइकोलोजी सबैभन्दा महत्वपूर्ण हो । बजार सेन्सेटिभ हो । लगानीकर्ताको मनोबल कमजोर भएकाले खराब समाचार चाहीँ एकदम छिटो मनस्थितिमा हिट गर्छ । ब्याजदरको कुराले पनि सबैभन्दा छिटो हिट गरेको हो । हामीले १२/१४ वर्षदेखि ब्रोकरको लाइसेन्स खुलाउनुपर्ने माग गर्दै आएका थियौं । त्यो कार्यान्वयनमा आइसकेको छ । हामीले नयाँ स्टक ल्याउनुपर्छ भनेर माग गरेका थियौं । हामीले सिआश्वा शुल्क घटाउनुपर्ने लगायतका मागहरु राखेका थियौं । ती सबै कुराहरु पुरा हुँदै गएका छन् । यस्तै, दशैंतिहारपछि ब्रोकर, सिडिएस, नेप्से, सेबोन लगायतको कमिशन घटाउने पनि भनेको छ । हाम्रा राम्रा मागहरु पुरा भइरहेका छन् । अहिले लगानीकर्ता आत्तिनुपर्ने अवस्था नै छैन । तर मास साइकोलोजी वीक भएपछि अलिकति गाह्रो भएको हो । यस्तो अवस्थामा सकारात्मक कुरा आएपनि लगानीकर्तालाई त्यति छिटो असर गर्दैन । तर नेगेटिभ कुराहरु आयो भने एकैपल्ट त्रसित हुने देखिएको छ । अहिले त्रसित वातावरणको अवस्था छ । त्यसकारण बजार घटेको हो । तर म बजार देख्ने कारण देख्दिन । १३ महिनामा निरन्तर १३ सय अंकले बजार घटेको छ । यो भनेको धेरै ठूलो घटाइ हो । जुन नहुनुपर्न थियो । आजको सेयर बजारमा ३ सय रुपैयाँमा सेयर किनेको छ भने करिब त्यसमा ६० रुपैयाँ ब्याजको पैसा छ । केहीकेही ब्यक्तिहरुले त्यो पैसा तिरिसक्यो । ३ सय रुपैयाँको सेयर किन्दा कष्ट ६० रुपैयाँ हो भने २४० रुपैयाँ वास्तविक हो नी त । १३ महिनाको त ब्याज तिरिसक्यो त्यहाँ । दशैं तिहार लगत्तै बोनस सेयर वितरण गर्ने समय हो । अब पाकेको रोटी खाने समय हो । बालिनाली भित्र्याउने समयमा सेयर बिक्री गर्नु भनेको घाटा हुन्छ । सेयर कारोबार घटेर ७०/८० करोड रुपैयाँमा झरेको छ । यसअघि १८ सयको इण्डेक्सबाट ११ सयको इण्डेक्समा झर्दा धेरैले त्यो बेलामा ९ सयमा झथ्र्याे भनेको थिए । तर ९ सयमा झरेन त्यो बेलामा । त्योबेला लगानीकर्ताले सेयर बिक्री गर्न मानेन् । त्यो बेलामा १५/२० करोड रुपैयाँको मात्रै कारोबार हुने गरेको थियो । त्यसपछि विस्तारै बजार बढ्न थाल्यो । अहिलेको अवस्था पनि त्यहि देखिरहेको छु । अहिले सेयर लगानीकर्ता बिक्री गर्न मानिरहेका छैनन् । बजारमा नयाँ लगानीकर्ता धेरै भएकाले उनीहरु आत्तिएका छन् । अहिले जसलाई जरुरी उनीहरुले बिक्री गरिरहेका छन् । नयाँ लगानीकर्ताका लागि सेयर शिक्षाको कमी छ । ५४ लाख डिम्याट खाता खोल्ने पुगिसकेका छन् । अनलाई टिएमस लिने १३ लाख बढी पुगेका छन् । यसअघि आईपीओमा २७ लाखले आईपीओमा आवेदन दिएपनि अहिले । धेरै लगानीकर्ता शिक्षित छैनन् । उनीहरुलाई सेयर शिक्षा पुगेको छैन् । त्यसैले उनीहरु आत्तिने र मात्तिने गरेका छन् । हरियो वा पोजेटिभ सर्किट लाग्यो भने किन्न जान्छन् । अनि नेगेटिभ सर्किट लागेर बजार घट्दै गयो भने झन् आत्तिएर बिक्री गरेर आत्तिन्छन् । विदेशमा रातो भयो भने किन्छन् हरियो भने बिक्री गर्छन् । वारेन वफेटले लगानी गर्दा हरियोमा भन्दा रातोमा बढी रमाइलो गर्नुपर्छ भनेका छन् । रातो भएका बेलामा लगानी गर्ने समय हो । हरियोमा बिक्री गरेर रमाइलो गर्ने हो । तर यहाँ रातो भयो भने सबैभन्दा बढी बिक्री गर्न हतार गर्छन् । अहिले किन्नु पर्ने बेला हो । अहिले रिस्क १५/२० प्रतिशत छ भने अवसर ७५/८० प्रतिशत छ । यसकारण अहिले लगानी गर्ने समय हो । वारेन बफेटले दीर्घकालका लागि लगानी गर्दा प्रतिफलमा धेरै हुन सक्छ भनेका छन् । ३२ सय विन्दुमा सेयर बजार हुँदा लगानी गरेको छ भने यो व्यवस्था लागू गर्ने हो भने केही फाइदा हुँदैन । यदि १८ सयमा बजार मूल्य हेर्ने हो भने यो सिस्टम पनि लागू भयो । अहिलेको सेयर बजारमा वारेन बफेटको दुईवटा सिद्धान्त नै लागू हुन्छन् । यसकारण अहिले लगानी गर्ने समय हो । अवसर पनि धेरै छ । सेयर बजारमा सधैं रिस्क भएपनि अहिले १५/२० प्रतिशत मात्रै छ भने अवसर ७५/८० प्रतिशत छ । वारेन बफेटले सबै डराएको समयमा सेयर किन्नुपर्छ भनेका छन् । राम्रो सेयर लगानीकर्ताहरु जोसँग पैसा छ उनीहरुले सेयर बिक्री गरिरहेका छैनन् । पैसा हुनेहरुले अहिले सेयर खरिद गरिरहेका छन् । अहिले आत्तिने र डराउनेहरुले सेयर बिक्री गरिरहेका छन् । अहिले बैंकको लोन लिएर सेयर किन्ने समय होइन । बैंकहरुले पनि यति महँगो ब्याजदरमा कर्जा दिनु हुँदैन । आफ्नो पैसा बचत छ भने लगानी गर्ने हो । बैंक तथा वित्तीय संस्थाको ब्याजदर उच्च भएका बेलामा ब्याज खाने किन सेयर किन्ने भन्ने पनि हुन सक्छ । तर उद्यमी ब्यापारीहरुले ब्याजको पैसा खानेभन्दा पनि ब्यापार उद्यम गरेर पनि खान्छन् । ब्याजदर उच्च केही समयको लागि मात्रै हो । बजार बढ्ने नै हो, सधैं घट्दैन । बजार बढ्नुपर्छ । अहिले लगानीकर्ताले १३ महिनाको ब्याज तिरिसकेको, बोनस सेयर वितरण गर्ने समय, १३ महिनामा १३ सय अंक घटेको लगायतका सबै कुराहरुलाई राम्रो गरी बुद्धि पुर्याउने हो भने सेयर किनेर राख्ने हो । बोनस सेयर वितरण गर्छ, बजार पनि बढ्छ अनि बहुआयामीक रुपमा लगानीकर्तालाई फाइदा हुन्छ । २/३ वर्षमा डबल त्रिबल फाइदा हुन बेर लाग्दैन । तर, बैंक तथा वित्तीय संस्थामा राख्यो भने त्यो हुँदैन । बैंकबाट १२/१५ प्रतिशभन्दा बढी ब्याज पाइँदैन । त्यहि पनि उच्च ब्याज दिने भनेको रेमिट्यान्स खातामा मात्रै हो । नेपाल बैंकर्स एसोशिएसनले तोडेको भद्र सहमति पुनः भद्र सहमति गर्छन् । किनभने यसले बजारमा आतंक मच्चाएको छ । बैंकर्सहरुले पनि सर्भिस दिएर कमाउने हो । यसरी लुटेर मनपरी गरेर हुँदैन । बैंकहरुले एनपीए/एनपीएल बढाएर राष्ट्र बैंकले कारवाही गर्दा कर्जा लिने लगानीकर्तालाइ समस्यामा पार्ने काम गर्नु हुँदैन । अहिले वेट एण्ड वाच गरेर बजार स्थिर भइसकेपछि सेयर खरिद गर्ने हो । केही दिन अघिसम्म बजार स्थिर भइसकेको अवस्था थियो । दुईचार विन्दु घट्नेबढ्ने भइरहेको थियो । त्यसपछि विस्तारै दुई दिन राम्रोसँग बढ्यो । बजार स्थिर हुन खोजिरहेको छ । बजार बढ्दा ट्रेडर्स पनि प्रवेश गरेका थिए । बैंकर्सहरुले पनि असोजसम्म हामी ब्याजदर बढाउँदैनौ भनेका थिए । तर अचानक यो भद्र सहमति तोड्दाखेरि बजार घटेको हो । यो निर्णय फिर्ता लिनै पर्छ । नेपाल बैंकर्स एशोसियसन, राष्ट्र बैंक, अर्थ मन्त्रालय लगायत सबैले हातेमालो गरेर २ कदम अघि बढ्नुपर्छ । यत्रो महँगो ब्याज लिँदा खेरि अन्ततः यसको फायर ब्याक बैंकलाई नै हुन्छ । एनपीएल धेरै नै बढ्छ । कर्जा लिनेहरुले महँगो ब्याज तिरेपछि उसले आफ्नो उद्योगधन्दा चलाउन सक्दैन । ब्याजदर नि तिर्न नसक्दा कम्पनी पनि डुब्छ । बैंकको एनपीएल बढ्ने भएपछि बैंक पनि यस कुरामा सावधान हुनुपर्छ । ब्याजदर बढायो भने बैंकलाई दूरगामी परिणाम हुन्छ । छोटो समयमा नाफा होला तर दीर्घकालमा बैंकलाई नै ब्याक फायर हुन्छ । बैंकहरुको सिडी रेसियो ८८ प्रतिशतको हाराहारीमा छ । ४/१२ को नीतिमा राष्ट्र बैंकले १२ सम्म दिने भनेको छ । अहिले कतिपय बैंकले पैसा लिन आउ भनरिहेका छन् । बैंकमा पैसा प्रयाप्त भएकाले लगानीकर्ताले सेयर धितो कर्जा पाइरहेका छन् । अहिले ब्याज मात्रै बढाएका हुन् । १ सय खर्बको हाराहारीमा बैंकले सेयर धितो कर्जा ब्याजदर बढ्दा घटेर ६०/७० अर्बको हाराहारीमा झरेको छ । बजार घटिरहेको बेलामा मार्जिन कल आइरहेको हुन्छ । १८ सय विन्दुमा झरेर माथि गइसकेपछि मार्जिन कल कम आएको थियो । बैंकहरुले सानोतिनो मार्जिन कल गर्नु हुँदैन भनेर बुझ्नुपर्ने हुन्छ । यस्तो बेलामा लगानीकर्तालाई चारैतिरबाट घेरबन्दी हुँदा गाह्रो हुन्छ । सानोतिनो कर्जामा हामी मार्जिन कल गर्दैनौ भनेर बैंसर्कहरुले भनिरहेका छन् । अहिले धेरै ठूला-ठूला कर्जा धेरैले तिरिसके । अहिले लगानीकर्ताका राम्रो अवसर आएको छ । अब बजार यो भन्दा कम घट्दैन । अब बजार धेरै घट्ने ठाउँ पनि छैन । बजारको यथावत स्थिति सधैं रहँदैन । रेमिट्यान्स बढिरहेको छ, चुनावी खर्च आइरहेको छ, राष्ट्र बैंकले पनि बैंकहरुलाई यसरी काम गर्न दिँदैन । बैंकको असहमति भयो भन्दैमा यस्तो निर्दयीतरिकाले हिन्दैन । पहिला पनि भद्र सहमति तोडेर फेरि मिलेकै हो । सेयर बजारमा गैरआवासिय नेपाली पनि भित्र्याउने र विदेशमा जाने नेपालीहरुले आईपीओमा १० प्रतिशत आरक्षण पाउँदा लगानी बढ्छ । (नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष रौनियासँग सीआर भण्डारीले गरेको कुराकानीमा आधारित )

आइतबारको सेयर बजारमा यी १० कम्पनीको सेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ३३.९७ अंकले घटेर १८७६.४१ अंकमा बन्द भएको हो । शुक्रबारको तुलनामा १.७८ प्रतिशत घटेको हो । यस्तै, आज दिनभरिमा २२९ कम्पनीको ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर २७ हजार ७९० पटक खरिद बिक्री हुँदा १ अर्ब ६० करोड १८ लाख २२ हजार ९५४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आइतबार सेयर बजार घटेपनि ग्लोबल आइएमई समुन्नत स्किम–१ को सेयर मूल्य ५.४५ प्रतिशत अर्थात् ०.४५ रुपैयाँ बढेर ८.८६ रुपैयाँ, नेपाल ल्यूव आयलको ४ प्रतिशत अर्थात् १०.५० रुपैयाँ बढेर २७३.३० रुपैयाँ, लक्ष्मी बैंकको ३.६६ प्रतिशत अर्थात् ७ रुपैयाँ बढेर १९८ रुपैयाँ, आदर्श लघुवित्तको १.९७ प्रतिशत अर्थात् ५.८० रुपैयाँ बढेर ३००.४० रुपैयाँ, एनआईसी एशिया ब्यालेन्स्ड फण्डको १.९७ प्रतिशत अर्थात् ०.२१ रुपैयाँ बढेर १०.८९ रुपैयाँ पुगेको छ । यस्तै, वीन नेपाल लघुवित्तको १.९६ प्रतिशत अर्थात् १८ रुपैयाँ बढेर ९३७ रुपैयाँ, शिवश्री हाइड्रोको १.४६ प्रतिशत अर्थात् २.९० रुपैयाँ बढेर २०१.९० रुपैयाँ, सानिमा लार्ज क्याप फण्डको सेयर मूल्य १.३३ प्रतिशत अर्थात् ०.१० रुपैयाँ बढेर ७.६० रुपैयाँ, १० प्रतिशत प्राइम डिवेञ्चर २०८८ को सेयर मूलय १.२० प्रतिशत अर्थात् ९.८० रुपैयाँ बढेर ८२५ रुपैयाँ र मानुषी लघुवित्तको १ प्रतिशत अर्थात् ११ रुपैयाँ बढेर १ हजार ११५ रुपैयाँ पुगेको छ ।

सेयर बजारमा दोहोरो अंकको गिरावट, लक्ष्मी बैंकको सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएपछि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको लगानीकर्ताहरु बताउँछन् । बैंक तथा वित्तीय संस्थाहरुले लाभांश वितरण गर्ने समय र चाडपर्व नजिक आएका बेला सेयर बजार बढ्नुपर्ने भएपनि ब्याजदर वृद्धिका कारण पूँजी बजार घटेको लगानीकर्ताको धारणा छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ३३.९७ अंकले घटेर १८७६.४१ अंकमा बन्द भएको हो । शुक्रबारको तुलनामा १.७८ प्रतिशत घटेको हो । यस्तै, आज दिनभरिमा २२९ कम्पनीको ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर २७ हजार ७९० पटक खरिद बिक्री हुँदा १ अर्ब ६० करोड १८ लाख २२ हजार ९५४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आइतबार लक्ष्मी बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको २१ करोड ३८ लाख ४४ हजार १८२ रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, प्रभु बैंकको संस्थापक सेयरको १९ करोड ५८ लाख ४५ हजार ८४८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

ब्याजदर बढ्ने प्रभाव सेयर बजारमा, २३ दिनपछि उच्च कारोबार

काठमाडौं । सेयर बजार भारि अंकले गिरावट आएको छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर खुकुलो भएसँगै बढ्न सक्ने भएकाले यसको प्रभाव सेयर बजारमा परेको हो । यसअघि दुई दिन दोहोरो अंकले बढेको सेयर बजारमा ब्याजदर बढ्ने भएपछि पूँजी बजारमा पुनः राताम्य छाउन थालेको हो । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७ अंकले घटेर १९२४.४८ अंकमा बन्द भएको छ । हिजोको तुलनामा बिहीबार २.८८ प्रतिशत सेयर बजार घटेको हो । नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । ब्याजदर बढ्ने संकेत पाएका लगानीकर्ताले सेयर बिक्री गर्न खोज्दा कारोबार रकम बढेको जानकारहरु बताउँछन् । बिहीबार दिनभरिमा २३२ कम्पनीको ६९ लाख ४० हजार ५९६ कित्ता सेयर ३५ हजार ५३७ पटक खरिद बिक्री हुँदा २ अर्ब १२ करोड ५६ लाख ५५ हजार ७८७ रुपैयाँ बराबरको कारोबार भएको छ । २१ दिनपछि कारोबार रकम धेरै भएको यसअघि साउन २४ गतेका दिन नेप्सेमा २ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

ब्याजदर बढ्ने भएपछि सेयर बजारमा पहिरो, ३ कम्पनीको मात्रै सेयर मूल्य बढ्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्ने संकेत पाएपछि पूँजी बजारमा ठूलो प्रभाव परेको छ । लामो समयदेखि स्थिर रहेको बैंकको ब्याजदर असोज महिनादेखि खुला हुने भएपछि सेयर बजार राताम्य भएको छ । वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघ (एनबीए) ले बिहीबार ब्याजदर खुला छाड्ने निर्णय गरेको हो । लामो समयदेखि स्थीर रहेको बैंकको ब्याजदर असोज महिनामा भने खुला छोड्ने निर्णय गरेपछि ब्याजदर बढ्न सक्ने भएको छ । बिहीबार दिउँसो १ः५५ बजेसम्ममा सेयर बजारमा भारि गिरावट आएको छ भने सबै समूहमा राताम्य छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७ अंकले घटेर १९२४ मा झरेको छ । यस्तै, सोही समय अवधिसम्ममा २२८ कम्पनीको ४१ लाख २८ हजार ६८६ कित्ता सेयर खरिदबिक्र हुँदा १ अर्ब ३४ करोड ६६ लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सबै समूहमा राताम्य छाएको छ भने विभिन्न ३ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ ।

सेयर बजार उकालो यात्रामा, नबिल बैंकको सर्वाधिक सेयर कारोबार

काठमाडौं । दशैं तिहार चाडपर्व नजिकिएसँगै पूँजी बजारमा हरियाली छाएको छ । नेपालको अर्थतन्त्रक सूचकहरुमा सकारात्मक परिवर्तन देखिन थालेपछि पनि सेयर बजार बढेको लगानीकर्ताहरु बताउँछन् । यस्तै, केन्द्र सरकार र प्रदेश सरकारको चुनाव नजिक आएसँगै सकारात्मक प्रभाव सेयर बजामा नै थालेको सेयर जानकारहरु बताउँछन् । सेयर बजार उकालो लाग्ने संकेत देखेपछि कारोबार रकम पनि बढिरहेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७.४४ अंकले बढेर १९८१.४८ अंकमा बन्द भएको छ । यसअघि हिजो मंगलबार नेप्से परिसूचक २१.३० अंकले बढेर १९३४.०४ अंकमा बन्द भएको थियो । आज दिनभरिमा २२७ कम्पनीको ४६ लाख १८ हजार ५१६ कित्ता सेयर ३१ हजार २३ पटक खरिदबिक्री हुँदा १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६४९ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार बैंकिङ समूह १.८६ प्रतिशत, विकास बैंक समूह ४.८२ प्रतिशत, फाइनान्स समूह ५.९३ प्रतिशत, होटल तथा पर्यटन समूह २.५६ प्रतिशत, जलविद्युत समूह ३.६२ प्रतिशत, लगानी समूह २.५५ प्रतिशत, जीवन बीमा समूह १.४५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह २.२७ प्रतिशत, लघुवित्त समूह २.४३ प्रतिशत, म्युचुअल फण्ड समूह १.२४ प्रतिशत, निर्जीवन बीमा समूह १.४९ प्रतिशत, ब्यापार समूह ५.७५ प्रतिशत र अन्य समूह २.९ प्रतिशतले बढेको छ । आज ग्रीन डेभलपमेन्ट बैंक सेयर मूल्य १० प्रतिशत, लिवर्टी इनर्जीको सेयर मूल्य ८.३२ प्रतिशत र युनाइटेड मोदी हाइड्रोको सेयर मूल्य ७.८१ प्रतिशत बढेको छ । यस्तै, एनआईसी एशिया फ्लेक्स क्याप फण्डको सेयर मूल्य भने १० प्रतिशत घटेको छ । यस्तै, नबिल बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । बैंकको ६ करोड ५१ लाख ६९ हजार ३२८ रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, गोर्खाज फाइनान्सको ४ करोड ५७ लाख ७ हजार ७२२ रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ३४ लाख ४७ हजार ९९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

२० वर्षका विद्यार्थीले सेयर बजारबाट एक महिनामै कमाए पौने ९ अर्ब

काठमाडौं । सेयर बजारबाट लगानीकर्ताले ठूलो नाफा गर्ने गर्छन् । सेयर बजारमा लगानीकर्ताले एक वर्षमा होइन एक महिना र एक दिनमा पनि करोडौं रुपैयाँ कमाउन सक्छन् । त्यसका लागि पैसा भएर मात्रै हुँदैन, लगानीर्तासँग प्राविधिक ज्ञानसँगै बजारको अनुभव र आरोह अवरोहका विषयमा राम्रो जानकारी हुन आवश्यक हुन्छ । नेपाल, भारतसँगै विश्व बजारमा पनि लगानीकर्ता करोडपति बन्दै गएका छन् भने कतिपय नराम्रोसँग फसेका समाचारहरु पनि कहिलेकाहीँ बाहिरिन्छन् । आज हामी तपाईंलाई सेयर बजारमा २१५ करोड रुपैयाँ लगानी गर्ने विद्यार्थीको बारेमा बताउँदैछौं । ती विद्यार्थीले सेयर किनेर महिनापछि मात्र बेच्दा करिब ८७८ करोड रुपैयाँ कमाए अर्थात् ती विद्यार्थीले एक महिनामा ६६४ करोड रुपैयाँ कमाएका छन् । यो घटना अमेरिकाको हो । जेक फ्रीमैन नाम गरेका अमेरिकाका २० वर्षीय ती विद्यार्थीले एक महिनाको अवधिमा सो आम्दानी गरेका हुन् । उनी युनिभर्सिटी अफ साउथ क्यालिफोर्नियाका विद्यार्थी हुन् । यी विद्यार्थीले बेड बाथ एन्ड बियोन्ड कम्पनीको सेयर किनेका थिए, जसबाट उनले करोडौं आम्दानी गरेका हुन् । उनले ५० लाख कित्ता सेयर ४४० रुपैयाँमा किनेका थिए । एक महिनामै सो स्टकको मूल्य २१६० को स्तरमा पुगेपछि उनले सेयर बिक्री गरे । उनले आफ्नो परिवार र साथीभाइबाट ऋण लिएर सेयर बजारमा लगानी गरेको विभिनन सञ्चार माध्यममा बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा

नयाँ स्टक आउने खबरले बढ्यो सेयर बजार

काठमाडौं । निरन्तरको ओरालो यात्रामा रहेको सेयर बजारमा आइतबार हरियाली छाएको छ । नेपालको अर्थतन्त्रमा देखिएको समस्या विस्तारै सुधार उन्मुख हुँदै गएपछि लगानीकर्तामा उत्साह देखिएको छ । यस्तै, नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्ज ल्याउनलाई नियमावली संशोधन गरेको विषयले पनि बजारमा सकारात्मक प्रभाव पारेको सेयर जानकार बताउँछन् । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सूचकमा सकारात्मक सुधार आएको र देशलाई आर्थिक संकटबाट हुनबाट जोगाएको बताएपछि यसको प्रत्यक्ष प्रभाव सेयर बजामा परेको सेयर विज्ञहरुले बताएका छन् । साताको पहिलो दिन नेपा स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.६८ अंकले बढेर १९७७.३० अंकमा बन्द भएको छ । यस्तै, आइतबार दिनभरिमा २२७ कम्पनीको २८ लाख ७६ हजार २८८ कित्ता सेयर २५ हजार ३७ पटक खरिद बिक्री हुँदा १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँ बराबरको कारोबार भएको छ । बैंकिङ्ग समूह ०.१२ प्रतिशत, विकास बैंक समूह १.५७ प्रतिशत, फाइनान्स समूह ०.६३ प्रतिशत, हाइड्रोपवार समूह ०.९५ प्रतिशत, इन्भेष्टमेन्ट समूह ०.११ प्रतिशत, जीवन बीमा समूह ०.५० प्रतिशत, माइक्रोफाइनान्स समूह ०.४९ प्रतिशत, निर्जीवन बीमा समूह १.८५ प्रतिशत र ट्रेडिङ समूह ०.२५ प्रतिशत बढेको छ । यस्तै, होटल तथा पर्यटन समूह ०.६२ प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूह ०.१७ प्रतिशत, म्युचुअल फण्ड समूह ०.३४ प्रतिशत र अन्य समूह ०.८९ प्रतिशत घटेको छ । आइतबार रुरु जलविद्युत परियोजनाको सेयरमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य ९.१८ प्रतिशत र जोशी हाइड्रोपवार डेभलपमेन्टको सेयर मूल्य ८.१२ प्रतिशत बढेको छ । यस्तै सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य २.८६ प्रतिशत र सोल्टी होटलको १.९१ प्रतिशत सेयर मूल्य घटेको हो । यस्तै, रिडी पावर कम्पनीको ८ करोड ९१ लाख ८६४ रुपैयाँ र एनटीसीको ६ करोड ५३ लाख ३७ हजार ८२ रुपैयाँ बराबरको कारोबार भएको छ ।