५६ अंकले बढ्याे सेयर बजार, १० कम्पनीमा लाग्याे सर्किट

काठमाडौं । बिहीबारको सेयर बजार ५६.८८ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार बिहीबार सेयर बजार बढ्दा २०२.०३ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार यसरी बजार बढ्दा १० कम्पनीको सेयर सकारात्मक सर्किट लागेकाे छ । सर्किट लाग्ने कम्पनीहरु क्रमश: हुर्जा, सानिमा लाइफ इन्स्योरेन्स, सृजनशिल लघुवित्त, धौलागिरी लघुवित्त, अजोड इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, स्वेत गंगा हाइड्रोपावर, रिलायन्स लाइफ इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र छ्याङ्दी हाइड्रोपावर रहेको छ । आज ८० लाख कित्ता सेयर किनबेच  हुँदा दुई अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । यस्तै, आज हिमालयन डिस्टिलरिले सबैभन्दा बढी १२ करोडको कारोबार गरेर छ ।

मंगलबार सेयर बजारमा उछाल : करिब ४ अर्बको कारोबार, ५ कम्पनीमा सर्किट

काठमाडौं । नयाँ सरकार गठन भएसँगै सेयर बजारमा उछाल आएको छ । निरन्तर ओरालो लागेर तल्लो बिन्दुमा पुगेको सेयर बजार अर्थमन्त्रीमा विष्णु पौडेल नियक्त भएसँगै उकालो लागेको हो । निजी क्षेत्रका उद्योगी व्यवसायीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्रीसँग भेट गरेर संकटमा परेको अर्थतन्त्र जोगाउन आग्रह गरेका थिए । सोही विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीले अर्थतन्त्र नै पहिलो प्राथमिकतामा राखेको बताएपछि लगानीकर्तामा उत्साह छाएको छ । मंगलबार सेयर बजार ४ महिना यता कै उच्च विन्दुमा पुगेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५९.८७ अंकले बढेर १९८३.९५ अंकमा बन्द भएको छ । यसअघि गत भदौ १४ गते नेप्से सूचक १९९५.३४ अंकमा थियो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार सेयर कारोबार झण्डै ४ अर्ब रुपैयाँको भएको छ । जुन ५ महिनायता कै उच्च कारोबार भएको हो । मंगलबार २६१ कम्पनीको १ करोड २० लाख २९ हजार ६०३ कित्ता सेयर ६३ हजार ६७ पटक किनबेच हुँदा ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार ९९७ रुपैयाँ बराबरको कारोबार भएको छ । सबै समूहमा हरियाली छाएको छ । मंगलबार ५ कम्पनीको सेयरमा सर्किट लागेको छ । सिद्धार्थ इन्स्योरेन्स, मल्टीपर्पस फाइनान्स, अजोड इन्स्योरेन्स, सृजनशिल लघुवित्त र धौलागिरी लघुवित्त रहेको सेयर मू्ल्य सकिर्ट लागेको हो । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । मंगलबार सबैभन्दा धेरै लक्ष्मी बैंकको कारोबार भएको छ । बैंकको २० करोड ९४ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, एनटीसीको १४ कोड २ लाख ८ हजार रुपैयाँ, हिमालयन डिस्टिलरीको १२ करोड १४ लाख ९६ हजार रुपैयाँ, नबिल बैंकको ११ करोड ३२ लाख २९ हजार रुपैयाँ र एनआईसी एशिया बैंकको १० करोड १२ लाख २० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अर्थ मन्त्रालयमा पौडेलको पुनरागमनले सेयर बजारका लागि हुन सक्छ सुखद, यस्तो छ विगत

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल अर्थमन्त्री बनेका छन् । उनले पद तथा गोपनियताको सपथ पनि लिइकसेका छन् । उनी अर्थमन्त्री बनेकै दिन सेयर बजार बढेको छ । यसअघि निरन्तर घट्दै आएको सेयर बजारले पनि उनलाई स्वागत गरेको होकि भन्ने महसुस धेरैले गरेका छन् । उनी अर्थमन्त्री बन्ने निश्चित भएपछि सोमबार सेयर बजार ५७ अंकले बढ्यो भने कारोबार २ अर्ब नाघ्यो । त्यसैले पनि उनी अर्थमन्त्री हुँदा लगानीकर्ता र समग्र उद्योगी व्यवसायी पनि खुसी भएकी भन्ने आभास दिलाएको छ । अर्थमन्त्रीको रुपमा उनको यो तेस्रो कार्यकाल हो । यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनी अर्थमन्त्री थिए । यसअघि एमाले र माओवादी एउटै दलमा हुँदा पनि पौडेल अर्थमन्त्री थिए । अर्थमन्त्री पौडेल समन्वयकारी भूमिका निभाउन सक्ने राजनीतिज्ञको रुपमा चिनिन्छन् । पछिल्लो समय निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीच आन्तरिक विवाद भएकै कारण अर्थतन्त्रले दुःख पाएको बुझाइ धेरैको थियो । तर, अब त्यो अवस्था रहेन । अर्थमन्त्री पौडेल गभर्नरलाई सँगै लिएर समन्वय गर्न सक्ने खुबी राख्छन् । उनी यसअघिको कार्यकालमा पनि कुनै विवादमा आएनन् । बरु विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसकोे समयमा पनि अर्थतन्त्रलाई सही दिशामा लैजान उनले प्रभावकारी भूमीका खेले । अर्थमन्त्रीका रुपमा ९ महिना भएपनि दोस्रो कार्यकाल सुखद रह्यो । अर्थमन्त्री बनेर के–के गरे राम्रा काम ? अर्थमन्त्री पौडेल दोस्रो कार्यकालका रुपमा २०७७ असोज २८ गते अर्थमन्त्रीमा नियुक्त भएपछि उनले पहिलो पटक तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल लगायतसँग बैठक राखेर प्रत्येक स्थानीय तहमा कम्तिमा १५ शैयाको अस्पताल निर्माण गर्ने निर्ण गरे । कात्तिक १२ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेल, तत्कालिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल लगायतको बैठक बस्यो । सो बैठकले २०७८ को असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय गर्यो । पौडेलको अध्यक्षतामा कात्तिक २८ गते कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी अर्थ मन्त्रालयमा बैठक बस्यो । सो बैठकले सात दिनभित्र कोरोना बीमाको दाबी भुक्तानी दिने निर्णय गर्यो । तर, हालसम्म अधिकांश कोरोना पीडितले भुक्तानी पाइसकेका छैनन् । अब उनी अर्थमन्त्रालयको बागडोर सम्हाल्न आएपछि कुनै प्रगति हुन्छ कि त्यो विषय भने हेर्न बाँकी नै छ । उनको अर्को महत्वपूर्ण कार्य भनेको पुस्तकको भन्सार कर हटाउने, कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने, मन्त्रीहरुको तलबको ५० प्रतिशत कोरोना कोषमा जम्मा गर्ने थियो । जुन निर्णयले उनको प्रशंसा समेत भएको थियो । यस्तै, उनले पूँजी बजारको ब्रोकर कमिसन घटाउने निर्णय गरे । नेपालमा पूर्वाधार, उत्पादनशिल लगायतका क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको पूँजी भएको एनआरएन नेपाल डेभलपमेन्ट फण्डको स्थापनाको घोषणा भयो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन मात्रै दिएनन् तदारुकताका साथ विदेशी दातृ नियकासँग पनि समधुर सम्बन्ध राखेर काम गरेर सहयोगको अपील गरे । यस्तै, उनको पहलमा अर्थ मन्त्रालयद्वारा १३ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियु जडानका लागि अर्थ मन्त्रालयले थप १७ करोड ८७ लाख ७० हजार रुपैयाँको सहमति भयो । जेठ १० गते अर्थ मन्त्रालयद्वारा अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडियु जडान र पिसिआर मेसिन खरिदका लागि अर्थ मन्त्रालयले १२ वटा अस्पतालका लागि थप ८ करोड १० लाख रुपैयाँको सहमति भयो । अर्थ मन्त्रालयद्वारा कोभिड–१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाहरुको उपचारका लागि पिडियाट्रिक आइसीयु र आइसीयु भेन्टिलेटरको थप व्यवस्था गर्न ४१ वटा अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँ सुनिश्चित पनि भयो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९का लागि १६ खर्ब ४७ अर्बको बजेट प्रस्तुत गरे । जसलाई धेरैले पपुलिष्ट बजेट भनेर चर्चा गरे । बजेटमार्फत् उद्योगी व्यवसायीहरुले राहत पाए । अर्थमन्त्री पौडेलको ९ महिने कार्यकाल सेयर बजारका लागि पनि सुखद नै बन्यो । सो अवधिमा सेयर बजारले पनि विभिन्न समयमा नयाँ रेकर्डहरु स्थापित गर्न सफल भयो । उद्योगी व्यवसायीहरु पनि उनीदेखि रुष्ट भएनन् । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यशैलीले आजित बनेका लगानीकर्ता र उद्योगी व्यवसायीका लागि अर्थमन्त्री पौडेल प्यारा बने । उनले विभिन्न नीतिहरु ल्याउँदा होस् बजेट नै ल्याउँदा किन नहोस् लगानीकर्ता र उद्योगी व्यवसायीको मर्म बुझेर ल्याए । परिणामस्वरुप उनीप्रति व्यवसायी खुसी भए । उनले बजेटमार्फत् कर्मचारीको तलब २ हजार रुपैयाँले बढाए भने वृद्धभत्ता चार हजार पुर्याए । उनी वृद्धवृद्धादेखि शिक्षककहरुको पनि प्यारा बने । भलै उनले ल्याएको बजेट भने कार्यान्वयन हुन सकेन । नयाँ सरकार बनेपछि शर्माले अध्यादेशमार्फत् बजेट ल्याएका थिए ।

सेयर बजार खुलेको १ घण्टामै दुई लघुवित्तमा लाग्यो सर्किट

काठमाडौं । सेयर बजार खुलेको करिब एक घण्टामै दुई कम्पनीको सेयरमा सर्किट लागेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सेयर बजार खुलेको एक घण्टामा दुई लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको हो । सर्किट लाग्नेमा आँधिखोला लघुवित्त वित्तिय संस्था र सृजनशिल लघुवित्त वित्तीय संस्थाको सेयर रहेको छ । आँधिखोला लघुवित्त वित्तिय संस्थाको सेयर आज १३७ रुपैयाँ र सृजनशिल लघुवित्त वित्तीय संस्थाको सेयर ९० रुपैयाँले बढेको छ ।

लघुबीमा कम्पनीले बैंकसँगै सेयर बजारमा पनि लगानी गर्न पाउने, घर जग्गामा भने नपाउने

काठमाडौं । लघुबीमा कम्पनीले विभिन्न ८ वटा क्षेत्रमा लगानी गर्न पाउने भएका छन् । लघुबीमा व्यवसाय सञ्चालन गर्ने जीवन र निर्जीवन बीमा कम्पनीले विभिन्न क्षेत्रमा कम्तीमा ५ प्रतिशतभन्दा बढी लगानी गर्न पाउने भएका हुन् । नेपाल बीमा प्राधिकरणले लघुजीवन तथा निर्जीवन बीमकको लगानी निर्देशिका सार्वजनिक गर्दै कम्पनीहरुलाई विभिन्न क्षेत्रमा लगानी गर्न शर्तसहित लगानीको सीमा समेत तोकिदिएको हो । जसमध्ये वाणिज्य बैंक तथा पूर्वाधार विकास बैंकको मुद्दति निक्षेपमा कम्तीमा ३० प्रतिशत लगानी गर्नैपर्ने छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर (साधारण सेयरमा परिणत नहुने), बन्ड, डिबेन्चर र ऋणपत्रमा भने बढीमा ३० प्रतिशतसम्म मात्रै लगानी गर्न पाइने छ । तर लगानी गरिने कम्पनीको चुक्ता पुँजीको १० प्रतिशतभन्दा बढी हुनेगरी लगानी गर्न पाइने छैन । यता नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त बचतपत्र वा ऋणपत्रमा कूल लगानीको कम्तीमा २५ प्रतिशतसम्म लगानी गर्न पाउने छन् । यदि यो क्षेत्रमा लगानी गर्न नसकेमा वाणिज्य बैंक वा पूर्वाधार विकास बैंकको मुद्दति निक्षेपमा भने लगानी गर्नुपर्ने छ । त्यस्तै, धितोपत्र विनिमय बजारमा सूचीकृत कम्पनीको बन्ड, डिवेन्चर र ऋणपत्रमा कूल लगानीको बढीमा २० प्रतिशतसम्म लगानी गर्न पाइने सीमा छ । त्यस्तै, ख वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दति र सेयर बजारमा बढीमा १० प्रतिशतसम्म मात्रै लगानी गर्न पाइने व्यवस्था छ । त्यसैगरी, ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दति र नागरिक लगानी कोष तथा म्युचुअल फण्डका लगानी योजनाहरुमा बढीमा ५ प्रतिशतसम्म लगानी गर्न पाइने छ । प्राधिकरणका अनुसार लघुबीमा कम्पनीले यी क्षेत्रबाहेक अन्य क्षेत्रमा भने लगानी गर्न नपाउने भएका छन् । त्यस्तै, सहायक कम्पनीमा लगानी गर्नुअघि प्राधिकरणको स्वीकृति भने लिनु पर्ने व्यवस्था छ । तोकिएको सीमाभन्दा कम वा बढी लगानी गरेमा के हुन्छ ? लघुबीमा कम्पनीहरुले बीमा प्राधिकरणले तोकिदिएको लगानी सीमा प्रत्येक दिन कायम गर्नुपर्ने छ । यदि कुनै कारणले तोकिएको सीमाभन्दा कम वा बढी लगानी भएमा सीमा नाघेको तीस कार्यदिनभित्र त्यस्तो लगानीलाई सीमाभित्र ल्याई सक्नु पर्ने प्राधिकरणको निर्देशन छ । तर मुद्दति निक्षेप वा डिबेन्चरमा गरिएको लगानी परिपक्व नभएसम्म सो रकम बराबरको लगानी यस निर्देशन बमोजिम भएको मानिने समेत प्राधिकरणले खुलाएको छ । बैंक तथा वित्तीय संस्थामा लगानी गर्न तीन शर्त लघुबीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थामा लगानी गर्दा कम्तीमा तीन वटा शर्त पालना गर्नुपर्ने छ । राष्ट्र बैंकले तोकेको पुँजीकोष कायम गरेको, तोकेको सीमाभन्दा बढी निष्कृय कर्जा नरहेको र शीघ्र सुधारात्मक कारवाहीमा नपरेको हुनुपर्ने छ ।  

३२ अंकले घट्यो सेयर बजार, सीवाईसीमा सर्किट

काठमाडौं । आईतबारको सेयर बजार दोहोर अंकले घटेको छ । साताको पहिलो दिनमै सेयरबजार ३१.९७ अंकले घटेर १ हजार ८८५.३१ बिन्दुमा झरेको छ । आइतबार सबै समूहका सेयर घटेको छ । जसमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक र अन्य समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ । आज तीन सय ५३ वटा कम्पनीको ३५ लाख १२ लाख कित्ता सेयर एक अर्ब १० करोड ३४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड ९३ लाख र नबिल बैंकको सात करोड ५८ लाख रुपैयाँको सेयर किनबेच भएकोे छ । आज सबैभन्दा धेरै नदिप लघुवित्तको सेयर १० प्रतिशत र पाँचथर पावर कम्पनीको सेयर सात प्रतिशतले घटेको छ । यस्तै, आइतबारको सेयर बरोबारमा सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र समिट लघुवित्तको सेयर मूल्यमा १० प्रतिशत सकारात्मक सर्किट लागेको छ । यस्तैगरी, मैलुङखोला जलविद्युत् कम्पनीको सेयर साढे नौ प्रतिशतले बढेको छ ।

सेयर बजार १६.५१ अंकले घट्दा दुई कम्पनीमा लाग्यो सर्किट, सानिमा बैंकको उच्च कारोबार

काठमाडौं । बुधबार सेयर बजार १६.५१ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार घट्दा नेप्से परिसुचक १९१७.२८ विन्दुमा पुगेको छ । घटेको बजारमा दुई कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । नकारात्मक सर्किट लाग्नेमा नाडेप लघुवित्त वित्तिय संस्था र ग्लोबल आइएमई बैंकको रहेको छ । यस्तै, आज सबैभन्दा बढी खप्तड लघुवित्त वित्तिय संस्थाका सेयरधनीले कमाएको छ । आज १८ औं वार्षिकोत्सवको मनाउँदै गरेको सानिमा बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको आज ६७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार ८० लाख ९२ हजार ७१९ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ ।

सेयर बजार सामान्य अंकले गिरावट, लाभांश घोषणा गरेको एनएमबि बैंकको सेयर मूल्य घट्यो

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ४.८७ अंकले घटेर १९३३.८८ अकंमा बन्द भएको हो । लाभांश वितरण गर्ने सिजन भएपनि नेप्से सामान्य अंकले घटेको हो । पछिल्लो समय निर्वाचन सम्पन्न भएपनि कुन पार्टीको सरकार बन्छ भन्ने अन्यौलता सेयर लगानीकर्ताहरुमा रहेकाले कारण बजार सामान्य घटेको लगानीकर्ताहरु बताउँछन् । मंगलबारबार दिनभरिमा २३८ कम्पनीको २५ लाख ८१ हजार कित्ता सेयर १९ हजार पटक किनबेच हुँदा ९६ करोड ५२ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । मंगलबार धौलागिरी लघुवित्तको सेयर मूल्य सर्वाधिक ८.१७ प्रतिशतले बढेको छ । लघुवित्तको सेयर मूल्य ३४८.१० रुपैयाँ पुगेको छ । यस्तै, आज शिवम् सिमेन्टको सर्वाधिक ८ करोड १२ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा एनएमबि बैंकको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । बैंकले मंगलबार लाभांश घोषणा गरेपनि ६.०७ प्रतिशतले सेयर मूल्य घटेको हो । बैंकको १५.३० रुपैयाँ घटेर २३६.७० रुपैयाँमा सिमित भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

दोहोरो अंकले घट्यो सेयर बजार, सर्वाधिक कारोबार गर्नेमा रिडी र शिवम्

काठमाडौं । सोमबारको सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज अनुसार सोमबार सेयर बजार २६.५२ अंकले घटेको हो । यसरी बजार घट्दा सेयर १९३६.६४ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज ४० लाख ६१ हजार ६५७ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६४ करोडको कारोबार भएको छ । जसमा सबैभन्दा धेरै रिडी पावर कम्पनीको ३० करोड २१ लाख बढीको कारोबार भएको छ । रिडीपछि सबैभन्दा बढी शिवम् सिमेन्टको कारोबार भएको छ । आज सबैभन्दा बढी कमाउनेमा सयपत्री हाइड्रोपावर रहेको छ । सयपत्रीको सेयर मूल्य आज ११ रुपैयाँले बढेको हो । यस्तै, सबैभन्दा बढी गुमाउनेमा अजोड इन्स्योरेन्स रेहको छ । आज अजोडले ३३ रुपैयाँ गुमाएको छ ।

सेयर बजारमा १७ बीमा कम्पनीको लगानी : अजोडले ३२९ प्रतिशतले बढाउँदा अन्यले कति ?

काठमाडौं । चालु आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुले पौने ३ अर्ब रुपैयाँ बढी सेयर बजारमा लगानी गरेका छन् । गत साउनदेखि असोज मसान्तसम्ममा १७ निर्जीवन बीमा कम्पनीले कूल २ अर्ब ८० करोड रुपैयाँ दोश्रो बजारमा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेका हुन् । जुन २०७९ असारसम्मको तुलनामा १६.२० प्रतिशतले बढी हो । सञ्चालनमा रहेका दी ओरियन्टल र नेशनल इन्स्योरेन्सबाहेक अन्य कम्पनीले गत असारसम्ममा २ अर्ब ४१ करोड ११ लाख रुपैयाँ बराबरको लगानी गरेका थिए । समीक्षा अवधिमा रकमका आधारमा सबैभन्दा बढी लगानी गर्नेमा राष्ट्रिय बीमा कम्पनी रहेकोे छ । कम्पनीले तीन महिनाको अवधिमा ८३ करोड ९७ लाख रुपैयाँ बराबरको लगानी गरेको छ । जुन गत असारको तुलनामा भने २.३० प्रतिशतले घटी हो । कम्पनीले २०७९ असारसम्ममा ८५ करोड ९५ लाख रुपैयाँ दोश्रो बजारमा लगानी गरेको थियो । प्रतिशतको आधारमा हेर्दा अजोड इन्स्योरेन्स आक्रामक बनेको छ । कम्पनीले गत असारको तुलनामा असोजसम्ममा ३२९.९१ प्रतिशतले सेयर बजारको लगानी बढाएको छ । गत असारमा २ करोड ५० लाख रुपैयाँ लगानी गरेको अजोडले असोजसम्ममा १० करोड ७५ लाख रुपैयाँ बराबरको लगानी गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । त्यस्तै, प्रिमियरले पनि १५५.८४ प्रतिशत लगानी सेयर बजारमा बढाएको छ । असारमा १२ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर लगानी गरेको कम्पनीले असोजसम्ममा ३१ करोड ६४ लाख रुपैयाँ गरेको छ । जुन राष्ट्रिय बीमा कम्पनीबाहेक अन्य कम्पनीको तुलनामा बढी हो । समीक्षा अवधिमा चार कम्पनीले भने सेयर बजारको लगानी घटाएका छन् । गत असारको तुलनामा प्रुडेन्सियल इन्स्योरेन्सले ७३.२६ प्रतिशत, नेपाल इन्स्योरेन्सले १५.५९ प्रतिशत, सगरमाथाले ४.२६ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीले २.३० प्रतिशतले सूचीकृत कम्पनीको सेयरमा लगानी घटाएका छन् । त्यस्तै, शिखर, नेको, युनाइटेड, आइएमई जनरल, साविकको जनरल र सानिमा जनरलको भने स्थिर लगानी रहेको छ । यीमध्ये साविकको जनरल र सानिमा जनरल मर्जर प्रकृयामा थिए । हाल मर्जर प्रकृया सम्पन्न भई सानिमा जीआईसी इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार समेत शुरु भइसकेको छ । बीमा कम्पनीहरुले नेप्सेमा सूचीकृत कम्पनीको साधारण सेयरमा बढीमा १० प्रतिशतसम्म मात्रै लगानी गर्न पाउने व्यवस्था रहेको छ । सोहि अनुसार उनीहरुले दोश्रो बजारमा लगानी गर्दै आएका छन् । कुन कम्पनीले कति बढाए/घटाए ?

निर्वाचनपछि पनि देखिएन सेयर बजारमा सुधारको संकेत

काठमाडौं । प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनपछि मंगलबार खुलेको सेयर बजार घटेको छ । मंगलबार सेयर बजार ७.१३ अंकले घटेर १९२९.७० विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार ३७ लाख ६३ हजार ८३६ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३५ करोडको कारोबार भएको छ । आज सबैभन्दा बढि कारोबार नेपाल बैंकको भएको छ । बैंकको आज १२ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै, आज सबैभन्दा बढी जानकी फाइनान्स कम्पनी रहेको छ भने गुमाउनेमा युनिलिभर नेपाल रहेको छ ।

सेयर बजार अब मङ्गलबार मात्रै खुल्ने

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार अब यही मङ्सिर ६ गते मङ्गलबार मात्रै हुने भएको छ । आज शुक्रबार कारोबार बन्द छ । शनिबार, आइतबार र सोमबारसमेत सार्वजनिक बिदा दिइएकाले शेयर कारोबारसमेत बन्द हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जनाएको छ । मङ्सिर ४ गते आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । सरकारले निर्वाचनलाई केन्द्रमा राखेर ४ र ५ गते बिदा सार्वजनिक बिदा दिएको छ । त्यसकारण सेयर कारोबार पनि ती दिनमा नहुने भएको हो । पछिल्ला दिनमा निर्वाचनको माहोल बढ्दै जाँदा त्यसको सकारात्मक प्रभाव बजारमा परेको थियो । वैदेशिक मुद्राको सञ्चितिमा वृद्धि भएको, शोधनान्तर नाफामा रहेको तथा विप्रेषण आप्रवाहमा उल्लेख्य सुधार भएलगायतका कारणले पनि मुलुकको अर्थतन्त्रमा सुधार भएको छ । त्यसको सकारात्मक प्रभाव शेयर बजारमा देखिएको हो । मङ्सिर १ गते बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ५७ अङ्कले उकालो लागेर एक हजार नौ सय ३६ दशमलव ८३ मा पुगेको थियो । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २७ खर्ब ८६ अर्ब दुई करोड ३४ लाख ५१ हजार तीन सय ८७ बराबर रहेको थियो ।

सेयर बजारमा छायो हरियाली, पौने दुई अर्बको कारोबार

काठमाडौं । बिहीबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार बिहीबार सेयर बजारमा हरियाली छाए सँगै सबै सूचक सकारत्मक देखिएको छ । आज सेयर बजार २५.५७ अंकले बढेर १९३६.८३ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार ४३ लाख ८४ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा बढी कमाउनेमा ५ कम्पनीमा चारवटा हाइड्रोपावर कम्पनी रहेको छ भने एउटा उत्पादन तथा प्रशोधन कम्पनी रहेको छ । सबैभन्दा बढी कमाउने हाइड्रोपावर कम्पनीहरु सिक्लेस, सयपत्री, रिदी र पन्चकन्या माइ रहेका छन् । यस्तै, आज सबैभन्दा बढी रिदी हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ ।  कम्पनीको आज १४ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।

बुधबार १३.४० अंकले बढ्यो सेयर बजार

काठमाडौं । बुधबार १३.४० अंकले सेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार बढेर १९११.२६ विन्दुमा पुगको छ । बुधबार केही अंकले सेयर बजार बढ्दा सबैभन्दा बढी सिक्लेस हाइड्रोपावरले कमाएको छ भने सबैभन्दा बढी गुमाउनेमा जनउत्थान सामुदायिक लघुवित्त रहेको छ । यस्तै, सबैभन्दा बढी कारोबार हुनेमा रिदी पावर कम्पनी रहेको छ । कम्पनीको बुधबार ६० करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेको अनुसार बुधबार २४ लाख ९४ हजार कित्ता सेयर किनबेच हुँदा ८५ करोड ९४ लाख रुपैयाँका कारोबार भएको छ ।

मंगलबार सेयर बजार घट्दा कारोबार रकम भने १ अर्ब नाघ्यो

काठमाडौं । सोमबार केही अंकले उकालो लागेको सेयर बजार मंगलबार पुन: ओराले लागेको छ । नेपल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार मंगलबार सेयर बजार ६.५९ अंकले घटेर १८९७.८६ विन्दुमा पुगेको छ । नेप्से यसरी ओरालो लाग्दा  मंगलबार २७ लाख ४५ हजार १०९ कित्ता सेयर किनबेच हुँदा एक अर्ब दुई करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कमाउनेमा सिदार्थ म्युचल फण्ड-१, गुमाउनेमा तारागाउँ रिजेन्सी होटल र कारोबार हुनेमा हिमालयन डिस्टिलरी रहेको छ ।

रोकिएन सेयर बजारको ओरालो लाग्ने क्रम, १८८३ विन्दुमा पुग्यो

काठमाडौं । गत सोमबारदेखि निरन्तर ओरालो लागेको सेयर बजार आइतबार पनि घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार आइतबार सेयर बजार १०.५४ अंकले घटेको छ । नेप्से यसरी घट्दा आज सेयर विन्दु १८८३.१६ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८३ अङ्कले ओरालो लागेर तीन सय ७० दशमलव ५३ मा सीमित भएको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको सेयर उकालो लाग्दा १२ उपसमूहको शेयर ओरालो लागेको छ । कूल दुई सय २५ कम्पनीको २० लाख २८ हजार तीन सय ४८ कित्ता सेयर ७७ करोड ४९ लाख ११ हजार सात सय छ मूल्यमा खरिद बिक्री भए । आइतबारको कारोबारपछि बजार पुँजीकरण २७ खर्ब आठ अर्ब ७० करोड १२ लाख ८२ हजार चार सय ३१ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । उक्त कम्पनीको १० करोड ३९ लाख ९६ हजार बराबरको कारोबार भएको छ । निर्धन उत्थान लघुवित्त दुई करोड ४० लाख ५२ हजार तीन सय ३९, नबिल बैंक दुई करोड ३८ लाख २५ हजार नौ सय ५०, हिमालयन पावर पाटनर रु दुई करोड २६ लाख ४६ हजार दुई सय ३७ र नेपाल पुर्नबीमा कम्पनी दुई करोड १६ लाख ३९ हजार छ सय सात मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार लक्ष्मी इक्विटी फण्ड सात दशमलव ९०, लक्ष्मी उन्नति कोष तीन दशमलव ७७, मन्दाकिनी हाइड्रोपावर तीन दशमलव ७४, सिँगटी हाइड्रोपावर तीन दशमलव ३६ र गुर्खाज फाइनान्सका लगानीकर्ताले तीन दशमलव १४ प्रतिशतले कमाएका छन् । त्यस्तै नवील ब्यालेन्स फण्ड दोस्रो छ दशमलव ९०, निर्धन उत्थान लघुवित्त छ दशमलव ४०, सिटिजन म्युचुअल फण्ड पहिलो पाँच दशमलव ४२, मनकामना स्मार्ट लघुवित्त पाँच दशमलव १८ र आशा लघुवित्तका लगानीकर्ताले चार दशमलव ८६ प्रतिशतले गुमाएका छन् ।

२३ अंकले घट्यो सेयर बजार, अत्याधिक गुमाउनेमा हाइड्रोपावर कम्पनी

काठमाडौं । बिहीबारको सेयर बजार २३.५२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बिहीबार उक्त अंकले सेयर बजार घट्दा सेयर विन्दु १८९३. ७० पुगेको छ । आज सेयर बजार घट्दा अत्याधिक गुमाउनेमा पाँच कम्पनीमा तीन हाइड्रोपावर र २ वित्तिय कम्पनीहरु रहेका छन् । अत्याधिक गुमाउनेमा क्रमशस् अपर हेवाखोला हाइड्रोपावर कम्पनी, किसान लघुवित्त वित्तिय संस्था, पन्चकन्या माइ हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स र इमर्जिङ नेपाल रहेको छ । नेप्सेको अनुसार आज ३१ लाख १४ हजार ६८९ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ११ करोड रुपैयाँको कारोबार भएको छ ।

३९ अंकले घट्यो सेयर बजार, अत्याधिक गुमाउनेमा वित्तिय संस्था

काठमाडौं । बुधबारको सेयर बजार ३९ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर बजार ३९.१५ अंकले घट्दा १९१७.२२ विन्दुमा पुगेको छ । यसरी सेयर बजार घट्दा ३६ लाख ९६ हजार ७२३ कित्ता सेयर एक अर्ब ४० करोड रुपैयाँमा किनबेच भएको छ । आज अत्याधिक कमाउनेमा उपर हावेखोला हाइड्रोपावर कम्पनीका साथै ४ म्युचल फण्डहरु रहेका छन् भने अत्याधिक गुमाउनेमा एक्सेल डेभलपमेन्ट बैंकसहित सबै ४ वटा वित्तिय संस्थाहरु रहेका छन् ।

अहिले लगानीको उचित क्षेत्र सेयर बजार हो, अब उत्साहपूर्ण हुन्छ : तिलक कोइराला

५४ लाख लगानीकर्ताको हित, पूँजी बजारको विस्तार र सुधारको लागि वि.स. २०७५ सालमा आमरण अनुसन बसे तिलक कोइराला र हरि ढकाल । त्यसबेलामा अर्थमन्त्री थिए युवराज खतिवडा । तिलक कोइराला र हरि ढकाल आमरण अनुसन बस्दा खतिवडाको पद नै धरापमा परेको थियो । खतिवडाको मन्त्री पद नै डगमगाए पछि मन्त्रीस्तरीय निर्णयबाट ५८ वटा बुँदा कार्यान्वयन गर्न निर्देशन दिए । जसमा ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेञ्ज लगायतका विषयहरु पनि उल्लेख थिए । तर, उक्त मुद्धाहरु कार्यान्वयन नभएको भन्दै गत असार १ गतेदेखिपुनः आमरण अनुसन बसेका थिए तिलक कोइराला । १० दिनसम्म आमरण अनसन बसेका कोइरालाले नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश हमालसँग १९ बुँदे सम्झौता गरेर अनसन तोडका थिए । सेबोनले लाइसेन्स प्रक्रिया खुला गरेपछि अदालतमा मुद्धा पर्याे । अदालतले लाइसेन्स प्रक्रिया तत्काल स्थगित गर्न अन्तरिम आदेश दिएको छ । यहि विषयमा केन्द्रित रहेर विकासन्युजका सीआर भण्डारीले लगानीकर्ता तिलक कोइरालासँग कुराकानी गरेका छन् । अदालतले तत्काल लाइसेन्स प्रक्रिया स्थगित गर्न आदेश दिएको छ, भोलिका दिनमा अदालतले यहि निर्णयलाई नै कार्यान्वयन गर्नु भनेर पूर्ण आदेश दियो भने के गर्नुहुन्छ ? अदालतको आदेशलाई सबैले मान्नुपर्छ, सबैले अदालतलाई सम्मान गर्नुपर्छ । हामीले पनि अदालतको आदेशलाई मान्छौं र सम्मान गर्छाै । कानुन, निती नियम, सहमति, प्रक्रियाहरुका आधारमा अदालतले आदेश दिनुपर्छ । अदालतको आदेश मनोगत चाहनामा आउने होइन । अदालतले नियम कानुन, प्रक्रिया हेर्छ, निर्णय हेर्छ, अनि त्यससम्वन्धि अरु आधार हेर्छ । त्यस आधारमा निर्णय दिन्छ भन्ने विश्वास छ । त्यहि विश्वास भएको हुनाले हामी अदालतको आदेश कुरेर बसेका छौं । अदालतमा प्रवेश गरिसकेको विषयलाई कानुनी अथवा अदालती प्रक्रिया मार्फत् नै टुंगो लगाउनुपर्छ । अदालतलाई प्रभाव पार्ने किसिमले सडक आन्दोलन गर्ने, अनसन गर्ने लगायतका गतिविधि गर्नु हुँदैन । तर, लगानीकर्ताको हित र पूँजी बजारको हितमा हुने कामलाई अदालतले रोक्दैन भन्ने हामी विश्वस्त छौं । कानुन, न्याय, समानतामा विश्वास गर्ने भएकाले विधि र प्रक्रियालाई मान्छौं । विधि र प्रक्रियाभन्दा बाहिर गएर कुनै पनि समाधान खोज्ने पक्षमा छैनौं । अहिले चुप लाग्यो की बोल्यो भन्ने कुरा अर्थहिन हो । अदालतमा गएको विषयलाई अदालतले नै टुंग्याउने हो । यसमा कोही बोल्ने र कोही चुप लाग्ने हुँदैन । अदालतमा परेको मुद्धालाई कसरी हेरिरहनु भएको छ ? चित्त नबुझ्नेहरुले अदालतमा मुद्धा हाल्न सक्छन् । प्रतिवाद गर्न सक्छन् । कसैले मुद्धा हाल्यो भने अदालतले मुद्धा हाल्ने पक्षको मात्रै कुरा सुन्छ भन्ने हुँदैन । त्यसका प्रतिवादीहरु हुन्छन् । प्रतिवादीहरुले आफ्नो सुरक्षा गर्छन् । त्यो आधारमा अदालतले एउटा निर्णय दिन्छ । कुनै कुरामा चित्त बुझेको छैन भने अदालतमा मुद्धा हाल्ने अधिकार सबैलाई छ । मुद्धा हाल्ने आधार छ की छैन, मुद्धा हालेपनि मुद्धा हाल्ने कै पक्षमा फैसला हुने आधार छ की छैन ? भन्ने कुरा अदालती कठघरामा हुने कुरा हो । नयाँ स्टक एक्सचेञ्जमा नेप्सेले र नयाँ ब्रोकर लाइसेन्समा ब्रोकर कम्पनीहरुले विरोध गरिरहेका छन्, यसका बाबजुत पनि धितोपत्र बोर्डले प्रक्रिया अगाडि बढायो, यसमा विरोधाभास भएन र ? लगानीकर्तार पूँजी बजार विस्तारको दृष्टिकोणबाट हेर्ने हो भने नेपाल धितोपत्र बोर्डले गरेको काम सहि छ । धितोपत्रले अगाडि सारेका निर्णयहरु जायज छन् । अर्काे स्टक एक्सचेञ्ज आउने भएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई टाउको दुख्नु स्वभाविक हो । उसले अर्काे स्टक नआओस् भन्नु नै ठिकै हो ।किनभने उसको प्रतिस्पर्धी आउने हो । आफ्नो प्रतिस्पर्धी आएको कसैलाई पनि राम्रो लाग्दैन । ब्रोकरहरुले पनि अरु धेरै ब्रोकर थपिए भने समस्या आउन सक्छ, हामी मात्रै भइरहँदा कारोबार गर्न पुगेको छैन, नयाँ आयो भने कारोबार खस्केर जान्छ, घाटामा जान्छौ भनेर रोक्न खोज्नु पनि स्वभाविक छ । यसमा ठूलठूला कर्पोरेटहरु जो अर्काे नयाँ स्टक एक्सचेञ्ज ल्याउन चाहन्छन् उनीहरुबीचकको स्वार्थको लडाईँ पनि हुन सक्छ । एउटा समूहले स्टक ल्याउन प्रयास गर्याे भने अर्काे समूहले भाग पाइन भनेर विरोध गरेको पनि हुन सक्छ । कतिपय मिडिया हाउसले मैले सित्तैमा सेयर पाउनुपर्छ भनेर बार्गेनिङ गरेको अवस्था पनि हुन सक्छ । यो सबै रणनीतिक कुरा हो । धितोपत्र बोर्डले पूँजी बजार र लगानीकर्ताको हितमा निर्णय गर्ने हो । गरेको पनि छ । त्यसमा बाधा गर्ने पक्ष वा त्यसबाट बेफाइदा हुने पक्षले रोक्न खोज्नु, अल्झाउन खोज्नु, आउनै नदिनु पनि स्वभाविक हो । यो कुरा कति जायज छ, कति नाजायज छ भन्ने कुरा अदालती परीक्षणमा गएको छ । अब हामीले अदालतबाट आउने आदेशलाई कुरेर बसिरहेका छौं । अदालती चरणमा गएको हुनाले धेरै बोल्न पनि मिल्दैन किनभने अन्तरिम आदेश जारी गरिसकेको अवस्थामा त्यो आदेश पालना सबैले गर्नुपर्छ । तर लगानकर्ता र पूँजी बजारको सवालमा धितोपत्र बोर्डले गरेको निर्णय आधारभूत रुपमा सही छ । नौ वटा लगानीकर्ता संघले पूँजी बजार विस्तारको कार्य रोकिए कडा प्रतिवाद गर्ने भनेर प्रेस विज्ञप्ति जारी गरेका छन् नी ? उहाँहरुले पनि लगानीकर्ताहरुको आवाज वा भावना बोल्नु भएको हो । लगानीकर्ताका नौ वटा संघले बक्तव्य जारी गरिसकेका छन् भने त्यसको गम्भिर्यता होला । लगानीकर्ता संघले पूँजी बजार विस्तारका कामहरु रोकिनु हुँदैन भन्नु जायज छ । पूँजी बजार विस्तार र सुधारका काम रोकियो भने लाखौं लगानीकर्तालाई हानी पुग्छ । पूँजी बजार विस्तार र विकास भएन भने पलायन सुरु हुन्छ । बोर्डले लाइसेन्स खुला गरेपनि अदालतले रोकेको छ, यसमा लगानीकर्ताको टाउको दुखाई किन ? लगानीकर्ताहरुले एकांकी वा एक पक्षीय भएर जानु हुँदैन । अहिलेका ब्रोकरहरुको विकास र विस्तार, उनीहरुले दिन सक्ने सुविधा, उनीहरुलाई दिनुपर्ने प्रोत्साहनमा पनि धितोपत्र बोर्ड चुक्नु हुँदैन । अहिलेका ब्रोकरहरुले पनि उनीहरुले पूँजी कायम गरेर, प्रविधि ल्याएर, पुर्वाधार बनाएर, जनशक्ति विकास गरेर गर्न सक्ने र गर्न पाउने कामहरु सबै गर्न दिनुपर्छ । यसलाई रोक्नु हुँदैन । नयाँ ब्रोकर आउने, नयाँ स्टक आउने र पूँजी बजार अझै राम्रो बनाउँछु भनेर आउनेहरुलाई पनि रोक्नु भएन । दुईवटा कुरा नै हुनुपर्छ । लगानीकर्ता एकल काँठे तरिकामा जानु हुन्न । अहिलेकालाई काम गर्न नदिने र नयाँ पनि आउन नदिने हो भने पूँजी बजारको कसरी विकास हुन्छ ? त्यसैले खुलामुखी प्रणाली हुनुपर्छ । नयाँलाई जे पनि गर्न दिने पुरानोलाई हात बाँधेर राख्ने गर्नु हुन्न । यसको हामी विरोधी नै हो । नयाँ आउनलाई बाटो छेक्नु गलत हो । यसको पनि विरोधी हौं । त्यसैले यी दुइवटैलाई सन्तुलन मिलाएर जानुपर्छ र सबैलाई पूँजी बजारमा आफ्नो क्षमता र कौशलताले भ्याएसम्म काम गर्न दिनुपर्छ । पूँजी बजार स्वतन्त्र हुनुपर्छ । कसैको पनि बन्धक हुनु हुन्न भन्ने लगानीकर्ताको माग हो । कसैलाई निषेध गर्ने होइन । सबैलाई समान अवसर दिनुपर्छ । टाउको कसको दुख्छ भन्ने कुरा आफ्नो ठाउँमा छ तर आधारभूत कुरा के हो भन्ने सबैले बुझ्नु पर्छ । पूँजी बजारको लागि धितोपत्र बोर्डले सोच्नुपर्ने हो, यसमा लगानीकर्ताहरुले आन्दोलन गरेर यो–यो गर भन्नु कति उपयुक्त छ ? लगानीकर्ताले आन्दोलन गरेर यो र त्यो गर भन्नु पर्ने अवस्था नै आउनु हुन्न । विश्वका अरु स्टक एक्सचेञ्जहरुमा पूँजी बजारमा कहिँ पनि लगानीकर्ताले यो र त्यो गर भनेर भनेको आधारमा काम हुने गरेको छैन । त्यहाँ सरकार र नियमनकारी निकायले सही किसिमको निती नियम, प्रविधि र पुर्वाधार ल्याउँछ र बजारलाई गाइड गर्छ । तर यहाँ सरकारले काम नगरेको हुनाले, आफैले म गर्छु भनेर भनेको काम पनि ४÷४ वर्षसम्म नगरेको हुनाले समस्या आएको हो । ४÷४ वर्षसम्म सरकारले काम गरेन । सरकारले काम नगरेका कारण पूँजी बजारमा समस्या आयो । पूँजी बजारमा समस्या आएपछि लगानीकर्ता आक्रोसित हुने, आन्दोलित हुने, अनसन बस्ने, यो÷त्यो गर भनेर दबाव दिनु स्वभाविक हो । यदि सरकारले सही किसिमको नीति नियम, प्रविधि र पुर्वाधार ल्याउँछ र कडा नियमन हुन्छ भने लगानीकर्ताहरु स्वतन्त्र ढंगले कारोबार गर्छन् । त्यसपछि किन आन्दोलन गर्न जाने ? आन्दोलन गर्नु पर्ने परिस्थितिले बनाएको हो, लगानीकर्ताको रहर होइन । पछिल्लो पटकको आमरण अनसनमा फेरिफेरि पनि आन्दोलन गर्नुपर्ने गरी परिस्थिति श्रृजना हुने छैन र फटाफट कामहरु हुनेछन् । अब लगानीकर्ताले कहिल्यै पनि आन्दोलन गर्न पाउँदैन भन्ने दृढ आत्मविस्वासका साथ आमरण अनसन टुंग्याएको हो । अब फेरि पनि लगानीकर्ताले आन्दोलन गर्नुपर्ने अवस्था आउँदैन जस्तो लाग्छ । पछिल्लो समय सहमति भएका मुद्धाहरुको कार्यान्वयन कति भयो ? १९ बुँदाहरुमा सि–आश्वा शुल्क घटाएको छ । ब्रोकर लाइसेन्स कार्यान्वयनमा आएको छ । मर्जरमा सेयर कारोबार रोकिने कुरालाई बोर्डले अन्तिम रुप दिइसकेको छ । सायद एक÷दुई हप्तामा कारोबार रोक्का भएका कम्पनीको कारोबार खुल्नेछ । प्रतिस्पर्धात्मक ब्रोकर कमिसन कार्यान्वयन गर्ने भनिरहेको छ । अहिले बजार समस्यामा रहेको हुनाले सबै पक्षलाई राहत पुग्ने गरी अलिपछि सम्बोधन हुन्छ । कतिपय दलहरुले आफ्नो चुनावी घोषणपत्रमा एजेण्डाका रुपमा उल्लेख गरेका छन् । हिजोका दिनमा राजनीतिक दलहरुले पूँजी बजारलाई नकारात्मक रुपमा लिन्थे भने अब समाप्त भएको छ । यो पनि उपलब्धिको कुरा हो । साना कम्पनीहरुको लागि एसएमई प्लेटफर्म ल्याउने पनि अन्तिम चरणमा छ । पूँजी बजारमा नयाँ उपकरण ल्याउने कुरामा नेप्सेले अध्ययन गरेर अगाडि बढाएको छ । ब्रोकरको शाखा विस्तार पनि भइरहेका छन् । बोर्डले रोकिएका धेरै ब्रोकरका शाखा विस्तारलाई अनुमति दिइसकेको छ । मार्जिन ट्रेडिङको काम सुरु भइसकेको छ । ५८ नम्बर ब्रोकरले मार्जिन ट्रेडिङ सुरु गरिसकेको छ । अरु ब्रोकरले पनि चाँडै सुरु गर्छन् । ४÷१२ करोडको मुद्धालाई राष्ट्र बैंकले सम्बोधन गरिसकेको छ । ४ करोडको सीमा हटाएर १२ करोड कायम गरेको छ । साना लगानीकर्ताको हितमा जोखिम भार शतप्रतिशतमा झारेको छ । पूँजीगत लाभको दीर्घकालिन लगानीकर्ताको लागि ३ प्रतिशत कायम गर्नुपर्छ भन्ने माग हो । आगामी आउने नयाँ सरकारले यसबारेमा सोच्ला नै । हाम्रा अधिकांश मागहरु कार्यान्वयनको चरणमा गइसकेका छन् । जो सहमति भएका थिए । नेप्सेको पुर्नसंरचनालाई सरकारले अगाडि बढाउनु पर्ने हो । तर, सरकारले त्यो गर्नै नचाहेपछि अहिले नयाँ स्टक एक्सचेञ्ज आएको हो । नयाँ स्टक आएपछि नेप्से पनि कुद्नु पर्ने अवस्था आउँछ । नेप्सेका कर्मचारीहरु र संचालकहरु सुतेर बस्नु हुँदैन । हामी पनि कुद्नु पर्छ नत्र हाम्रो अस्तित्व खत्रामा पर्छ भनेर दबाव सिर्जना भएको महसुस भएको छ । आगामी दिनमा सेयर बजार के होला ? बजारमा ठूलो गिरावट आउँदा धेरै लगानीकर्ताहरुले गुमाएर पूँजी बजार नै छाडेर भागे । अब विस्तारै फेरि भागेका लगानीकर्ताहरु फर्किदैछन् भने नयाँ लगानीकर्ताहरु पनि आउँदैछन् । ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका ४५ वटाकम्पनीहरुले अनुमति पाए नयाँ लगानीकर्ता लिएर आउँछन् । उनीहरुसँग रहेको १२ अर्ब भन्दा बढी रकम पूँजी बजारमा चलायमान हुन्छ । यसले एउटा नयाँ स्थिति सिर्जना गर्छ । केही सुधारका कामहरु भएकाले अवश्य नै पूँजी बजार लगानीकर्ताहरु थपिन्छन् । जस्तो धितोपत्र बोर्डले विदेशमा काम गर्न गएका नेपालीहरु जसले रेमिट्यान्स नियमित रुपमा पठाइरहेका छन् । उनीहरुलाई १० प्रतिशत सेयर आईपीओमा आरक्षण गर्ने निती कार्यान्वयन गरिसकेको छ । कम्पनीको सेयर मूल्य धेरै तल गएको हुनाले सस्तोमा सेयर उठाउन मानिसहरु अहिले सक्रिय छन् । अहिले दैनिक कारोबार रकम पनि बढेको छ । सेक्टरवाइज सेयर मूल्य बढ्ने गरेको छ । कुनै दिन लघुवित्तको सेयर मूल्य बढ्ने, कुनै दिन ठूला कम्पनीहरु वाणिज्य बैंकको सेयर मूल्य बढ्ने र भोलिपल्ट करेक्सनमा आउने जुन प्रवृत्ति देखिएको छ । यो एकदमै उत्साहजनक हो । यसबाट हामी लगानीकर्ताको मनोबल विस्तारै उकासिँदै भन्ने अनुमान गर्न सकिन्छ । बैंकहरुमा रहेको तरलता र आगामी राजनीतिक परिवर्तनले साथ दियो भने पूँजी बजारमा आगामी दिनमा उत्साहपूर्ण अवस्था अवश्य देखिनेछ । लगानीकर्ताहरुले आफूले धारण गरेको सेयरको मूल्य, कम्पनीको अवस्था, लाभांशको अवस्था, पूँजीगत लाभ हुनसक्ने अवस्था, आफ्नो जोखिम बहन क्षमता, आफूले लगानी गर्ने रकमको लागतलाई हेरेर राम्रोसँग बिचार गरेर चार÷पाँच वटा कम्पनी डाइभर्सीफाइ गरेर लगानी गरेको अवस्थामा आगामी दिनहरु अवश्य नै राम्रा हुनेछ । यसमा पनि राम्रा तर सस्ता कम्पनीहरुमा लगानीकर्ताहरु जाउन भन्ने सुझाव छ । सेयर कर्जा पाउन गाह्रो छ, महँगोमा कर्जा लिएर लगानीकर्ताले बजारमा लगानी गर्न सक्ने अवस्था छैन, केही दिनअघिसम्म ५०/६० करोड रुपैयाँको कारोबार हुन्थ्यो, तर अहिलेको कारोबार हेर्ने हो भने अर्ब भन्दा माथि देखिन्छ, यो रकम कहाँबाट एकदुई दिनमा कहाँबाट आयो ? अहिले अन्य क्षेत्रमा लगानी जान सक्ने अवस्था छैन । अन्तर्राष्ट्रिय ब्यापार,आयातमा धेरै पैसा प्रवाह हुन सक्ने अवस्था छैन । किनभने शतप्रतिशत मार्जिन कायम गर्नुपर्ने अवस्था राष्ट्र बैंकले गरेको छ । घरजग्गा कारोबारमा अन्यौलता भएकोले ठूलो रकम घरजग्गामा जान पाएको छैन । सिमेन्ट, डण्डी उद्योगहरु समस्यामा छन् । नयाँ सरकार कस्तो बन्ने हो ठेगान नभएको अवस्थामा ठूलो उद्योग खोल्नको लागि त्यो जोखिम लिएर पनि मानिसहरु गइरहने अवस्था छैन । सर्ट टर्ममा कहाँ कमाउन सकिन्छ भनेर मान्छेहरुले हेरिरहेका छन् । त्यो स्वभाविक रुपमा पूँजी बजार हुन सक्ने आँकलन गरेर लगानी बढाएका हुन् । जसले पूँजी बजारमा कारोबार रकम बढेको हो । कारोबार रकम बढेपछि सेयरको मूल्य वृद्धिमा पनि सघाउ पुगेको छ । पूँजी बजारमा लगानी गर्दा फाइदा हुन्छ भन्ने विश्वास बढ्यो भने पैसा कहाँबाट निकाल्छन् भन्ने कुरा यकिन गर्न सकिँदैन । श्रीमतिलाई गहना बिक्री गर्न लगाएर वा धितो राखेर, साथीभाइसँग सापटी मागेर, बैंकमा राखेको निक्षेपलाई झिकेर, आफ्नो घर सम्पत्ति बिक्री गरेर, गाडी बिक्री गरेर, विदेशबाट पैसा ल्याएर मानिसहरुले पूँजी बजारमा लगानी ल्याउँछन् भन्ने कुराको हिसाब गर्न कठिन छ । उद्योगधन्दामा लगानी गर्न जान नसक्ने, घरजग्गातिर लगानी बढ्न नसक्ने,आयातमा महँगो पैसा लगानी गरेर आम्दानी कम हुने, गाडी लगायत अन्य ब्यवसायमा सुस्तता, निर्माणका कामहरु अवरुद्ध भएको, सिमेन्ट कारखाना, छड, निर्माण उद्योगहरुले संचालन क्षमता घटाएको वा उद्योग नै डाउन गरेका छन् । पूँजी बजारबाट चाँडै कमाउन सकिन्छ भन्ने सोचेर मानिस आएका हुन सक्छन् । त्यसैले कहाँबाट रकम आयो भनेर आत्तिनु पर्ने छैन । बजारमा २१ अर्बको कारोबार भएको नै हो । आज ५०/६० करोडबाट २ अर्बको कारोबार हुँदैमा आकाश खस्यो, कहाँबाट आयो पैसा भनेर खोज्नुपर्ने स्थिति छैन । यसलाई सकारात्मक रुपमा लिनु पर्छ । लगानीकर्ताले चाहेभन्दा फरक अर्थात् अदालतले लाइसेन्स प्रक्रिया स्थगित गर्न आदेश दियो भने तपाईंहरुको आगामी योजना के हुन्छ ? अदालतमा मुद्धा विचाराधीन रहेकाले प्रभाव पार्ने गरेर सडकमा नाराजुलुस गर्ने, धर्ना गर्ने, अनसन बस्ने काम हुँदैन । अदालती प्रक्रियाबाट नै टुंगोमा लगाउनु पर्छ । यो तिलक कोइरालाको मात्रै ठेक्का लिएको विषय होइन । आम लगानीकर्ताले जे गर्ने भन्छन् त्यहि गरिन्छ । पूँजी बजार संवेदनशिल क्षेत्र हो । यो संवेदनशिल क्षेत्रमा लाखौं लगानीकर्ताको लगानी जोडिएको क्षेत्र भएको हुनाले अदालतले सतही रुपमा कमजोर आदेश वा निर्देशन दिँदैन भन्नेमा लगानीकर्ता विश्वस्त छन् । अदालतलाई प्रभावित पार्न सडकमा जानुपर्ने, हुलहुज्जत, अनसन गर्नुपर्ने अदालतको आदेश आउँछ भनेर सोच्नु पनि हुँदैन । अदालतको निर्णय आएपछि आम लगानीकर्ताहरुले एउटा धारणा बनाउलान् । त्यसले अवस्थालाई कसरी अगाडि लैजाला त्यहि बेला थाहा हुन्छ ।

सेयर बजारमा दुई अर्बको कारोबार, सबैभन्दा धेरै कमाउने र गुमाउने दुवै लघुवित्त

काठमाडौं । सोमबार सेयर बजार ६.४३ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार सेयर बजार घट्दा सेयर विन्दु १९५२.९४ मा पुगेको छ । नेप्सेको अनुसार केही अंकले घटेको सेयर बजारमा कारोबार रकम भने उच्च देखिएको छ । आज ४९ लाख ४४ हजार ७६ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब १० करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, सबैभन्दा कमाउन र गुमाउनेमा दुवै लघुवित्त रहेका छन् । सबैभन्दा बढी कमाउनेमा धौलागिरी लघुवित्त रहेको छ भने गुमाउनेमा ग्लोबल आइएमई लघुवित्त रहेको छ ।