गभर्नरले आफूलाई असहयोग गरेको पूर्वअर्थमन्त्री महतको आरोप, ‘नयाँ अर्थमन्त्रीको कारण सेयर बजार बढेको होइन’
काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकको नेतृत्वबाट आफूलाई असयोग गरेको भन्दै असन्तुष्टि पोखेका छन् । शुक्रबार अर्थसमिति बैठकमा धारणा राख्दै उनले आफू अर्थमन्त्री हुँदा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट सहयोग नमिलेको बताएका हुन् । उनले आफू अर्थमन्त्री हुँदा गभर्नर अधिकारी समक्ष लचिलो नीति अगाडि सार्न र सेयर बजारमा लगाइएको सिमा हटाउन आग्रह गरेपनि उनले नमानेको बताएका हुन् । म अर्थमन्त्री हुँदा गभर्नरज्यूलाई केही लचिलो नीति ल्याउनु पर्यो भनेर आग्रह गरेँ । तर, उहाँले मान्नु भएन, अहिले नयाँ अर्थमन्त्रीज्यू आउनु भएको छ, सेयर बजार पनि बढेको छ । तर, अहिले सेयर बजार बढ्यो भन्दै अर्थतन्त्र सुधार भएको भन्न मिल्दैन,’ उनले भने । उनले आफू अर्थमन्त्री हुँदा पनि १८ सयमा रहेको सेयर बजार २२ सयसम्म पुगेको धारणा राखे । उनले अहिले नयाँ अर्थमन्त्री आएर सेयर बजार पनि बढेको र अर्थतन्त्र पनि सुधार भएको भाष्य सिर्जना भएपनि वास्तविकतामा त्यस्तो नभएको धारणा राखे । डा. महतले अर्थमन्त्री विष्णु पौडेल र गभर्नर अधिकराीबीच ट्युनिङ मिलेर लचिलो नीति अवलम्बन गरेको पनि बताएका छन् । अर्थमन्त्री विष्णु पौडेलले महतको धारणाको जवाफ दिँदै गभर्नर र आफूबीच अन्य हिसाबभन्दा पनि वित्तीय सुधारका लागि ट्युनिङ मिलेको बताए । उनले निरन्तर बढेको सेयर बजारमा भित्रि कारोबार पनि हुन सक्ने भएकोले यसमा सजग रहनु पर्ने पनि बताएका छन् । उनले बैठकमा पनि सेयर बजार अर्थतन्त्रको ऐना भएको धारणा राखे । उनले मौद्रिक नीति र बजेटलाई एकसाथ राखेर अगाडि बढ्नु पर्ने बताए ।
राष्ट्र बैंकको ७ नयाँ व्यवस्था : सेयर बजार बढ्नेदेखि क्रेडिट रेटिङमा सहजीकरणसम्म
काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताका लागि गरेको २० करोडको सेयरधितो कर्जाको सीमा खारेज गरेको छ । राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थाका लागि परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो । ‘मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमामा कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड रुपैयाँ कायम गरिएको छ । तर, धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि मात्र यस्तो सीमा लागु नहुने व्यवस्था गरेको छ,’ परिपत्रमा भनिएको छ । कर्जा प्रवाह भई स्थापना भएको उद्योग/परियोजना/व्यवसाय परिस्थितिजन्य कारणले संचालनमा नभएता पनि पूर्वनिर्धारित व्यवस्थाबमोजिम कर्जाको साँवाब्याज नियमित रुपमा भुक्तानी भइरहेको त्यस्तो उद्योग/परियोजना/व्यवसायमा प्रवाहित कर्जामान केही सहजीकरण गरेको छ । बैंक तथा वित्तीय संस्थाले यसरी कर्जा खरिद/बिक्री गर्दा कथंकदाचित खरिदकर्ता संस्थाले कर्जा उठाउन नसकेमा सो कर्जा पुनः आफँैले खरिद गर्ने क्रेडि रिपर्चेज शर्त रहेको अवस्थामा बिक्रीकर्ता संस्थाले त्यस्तो कर्जा रिपर्चेज नगरुञ्जेल कन्टिङगेन्ट लावाबिलिटीको रुपमा आफ्नो वित्तीय विवरणको सम्भावित दायित्व र लेखासम्बन्धी टिप्पणीको अनुसूचीमा देखाउनुपर्ने र यस्तो कन्टिङगेन्ट लावाबिलिटीलाई पुँजीकोष गणना गर्ने प्रयोजनको लागि २० प्रतिशत मात्र जोखिम भार प्रदान गर्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले निर्माण व्यवसायको हकमा मात्र ५० करोड रुपैयाँ वा सो भन्दा बढीको कोषमा आधारित कर्जा र÷वा १ अर्ब रुपैयाँ वा सो भन्दा बढीको गैरकोषमा आधारित कर्जा उपयोग गर्ने व्यवस्था गरेको छ । इजाजतपत्रप्राप्त संस्थाले २ करोड रुपैयाँसम्मको खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, कृषिका लागि सहयोगी उद्योग, कृषि औजार उत्पादन, निर्यातजन्य उद्योग, हस्तकला तथा सीपमूलक व्यवसाय, सूचना प्रविधि, पर्यटनलगायत आन्तरिक उत्पादनसँग सम्बन्धित उद्यम व्यवसाय र शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग सञ्चालनका लागि (आयात सम्बन्धी व्यवसाय बाहेक) कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ऋणको ब्याज तोक्नु पर्ने व्यवस्था गरेको छ । यस्तै, २० लाख रुपैयाँसम्मका माथि उल्लेखित बमोजिमका कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रुपमा स्वीकार गर्न सक्नेछन् । र, प्रत्येक शाखाले यस प्रकारको कर्जासम्बन्धी निवेदन प्राप्त भएको सात कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुननसक्ने भएमा सोको स्पष्ट कारण समेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रुपमा दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले निर्माण व्यवसायीको जमानत दावी भई सृजना भएको कर्जा फोर्स लोनको हकमा आर्थिक वर्ष २०८१/८२ मा एक वर्षले भाखा नाघेमा मात्र त्यस्ता ऋणी र सम्बन्धित पक्षलाई कालोसूचीमा समावेश गर्नुपर्ने व्यवस्था गरेको छ । उर्जा क्षेत्रसँग सम्बन्धित सार्वजनिक संस्थान र पब्लिक लिमिटेड कम्पनीहरुले जारी गरेका ऊर्जा बन्ड लगायतका ऊर्जासम्बन्धी ऋणपत्रमा गरेको लगानीलाई ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न पाइने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।
पाँच कम्पनीमा सर्किट लागेको सेयर बजार ५ अंकले घट्यो, लाइफ इन्स्योरेन्समा झुमिए लगानीकर्ता
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार नेप्से परिसूचक ५.२४ अंकले घटेर २७५५.६२ को विन्दुमा कायम भएको छ । बुधबार कारोबार रकममा नयाँ रेकर्ड कायम भएको सेयर बजारमा बिहीबार पनि दिनभरि ३३२ कम्पनीको २१ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जुन रकम बुधबारको कारोबार रकमको हाराहारी हो । बुधबार दिनभरि ३३२ कम्पनीको २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार हुँदा सेयर बजारमा नयाँ रेकर्ड कायम भएको थियो । यसअघि २०७८ सायन ३१ गते २१ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । बिहीबार लगानीकर्ताहरू लाइफ इन्स्योरेन्स समूहमा झुमिएका छन् । सो समूह ३.६९ प्रतिशतले बढेको छ । सूचीकृत १३ समूहमध्ये ६ समूहमा हरियाली छाउँदा बाँकी अन्य समूह राताम्मै भएका छन् । सबैभन्दा धेरै ट्रेडिङ समूह ३.५४ प्रतिशतले घटेको छ । कारोबार रकमको आधारमा यस दिन पनि सबैभन्दा धेरै हिमालयर रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको ५९ करोड ७५ लाख रुपौयाँको सेयर कारोबार भएको छ । बिहीबार ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट, नेपाल हाइड्रो, सुभम पावर, सिटी होटल र कुथेली ब्रुखरीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
सेयर बजार ३५ अंकले बढ्दा होटल र फाइनान्समा उछाल, १७ अर्बको कारोबार
काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकले बढेको छ । सेयर बजार नेप्से परिसूचक ३५.५५ अंकले बढेर २६६९.६५ को विन्दुमा कायम भएको छ । मंगलबार १८९ कम्पनीको सेयर बढेको छ भने ४७ कम्पनीको सेयर घटेको छ भने ७ कम्पनीको सेयर स्थिर रहेको छ । सेयर बढे पनि कारोबार रकम भने घटेको छ । दिनभरिमा ३२९ कम्पनीको १७ अर्ब २६ करोड रुपैयाँ बराबरको बारोबार भएको छ । सोमबार १९ अर्ब ६० करोड रुपैयाँको सेयर कारोबार भएको थियो । लगानीकर्ताहरू होटल तथा पर्यटन समूह र फाइनान्स समूहमा झुमिएका छन् । सो समूहहरू क्रमश ५.९९ र ५.९८ प्रतिशतले बढेको छ । त्यस्तै, सबैभन्दा धेरै बैंकिङ समूह ०.७६ प्रतिशतले घटेको छ । कारोबार रकमको आधारमा सबैभन्दा धेरै हिमालयर रिइन्स्याेरेन्स सेयर कारोबार भएको छ । कम्पनीको ६० करोड १० लाख रुपौयाँको सेयर कारोबार भएको छ । मंगलबार प्रोग्रेसिप फाइनान्स, बरुण हाइड्रोपावर, सानजेन जलविद्युत, नेपाल वेयरहाउसिङको सेयरमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा एशियन हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
सेयर बजारले ३२ सय बिन्दु पार गरेर कहिले रच्छ नयाँ रेकर्ड ?
काठमाडौं । पछिल्लो समय बढ्दै गइरहेको सेयर बजारले लगानीकर्ता हौसिएका छन् । मौद्रिक नीतिमार्फत् सेयर बजार लक्षित केही खुकुलो नीति राष्ट्र बैंकले अगाडि सारेपछि सेयर बजार निरन्तर उकालो यात्रामा छ । यसले लगानीकर्तामा खुसी ल्याइरहेको छ । उनीहरू अब सेयर बजारले नयाँ रेकर्ड कायम गर्ने बताइरहेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोड रूपैयाँको सीमा खारेज गरिने बताए । मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजी बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरूका लागि यस्तो व्यवस्था लागु भएको हो । तर, व्यक्तिगत सेयर कर्जाको सीमा भने १५ करोड रुपैयाँ यथावत रहेको छ । त्यस्तै राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकहरूले असल कर्जामा गर्नुपर्ने प्रोभिजनिङ १.२० बाट घटाएर १.१० प्रतिशतमा झारेको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूको २०८१ असार मसान्तसम्म पाकेको ब्याज २०८१ साउन मसान्तसम्म प्राप्त भएमा त्यस्तो रकमलाई आर्थिक वर्ष २०८०/८१ मा आम्दानीमा गणना गर्न पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले लिएको यी नीतिहरूका कारण अब सेयर बजार क्रमश सुधारको बाटोमा रहेको र निरन्तर बढ्ने सेयर लगानीकर्ताहरूले बताएका छन् । लगानीकर्ता तारा फुलेलका अनुसार हाल बैंकहरूमा पैसा थुप्रिएको, अर्थतन्त्र चलायमान भएको, राष्ट्र बैंकले लिएको दरिलो नीति खुकुलो बनाउँदै गएकोले अब क्रमश: सेयर बजार सुधारको बाटोमा रहेको उनी बताउँछन् । ‘अहिले जुन किसिमले दुई ठूला दल मिलेर सरकार बनेको छ, राष्ट्र बैंकले लिएको दरिलो नीतिलाई क्रमश खुकुलो बनाउँदै लगेको छ, बजार पनि चलायमान बन्दै गएको छ र बैंकहरूमा पैसा पनि थुप्रिएको छ । यी सबैकुरालाई नियाल्दा अब सेयर बजार केही समय निरन्तर बढ्ने देखिन्छ,’ उनी भन्छन्, ‘लगानीकर्ताहरूमा आशा पलाएको छ त्यसैले अब सेयर बजारले छिट्टै नयाँ रेकर्ड बनाउँछ ।’ सबै कुराहरूले गर्दा लगानीकर्तामा आशा पलाएको भन्दै अब सेयर बजार छिट्टै ३२ सय पार गरेर नयाँ रेकर्ड बनाउँने उनी बताउँछन् । लगानीकर्ता छोटेलाल रौनीयार पनि सेयर बजार अब छिट्टै ३२ सय बिन्दु पार गरेर नयाँ रेकर्ड बनाउने बाटोमा रहेको बताउँछन् । ‘सेयर बजार केही हदसम्म सुधारको बाटोमा आइसकेको थियो, राष्ट्र बैंकको नीतिको पर्खाइमा मात्रै थियो, मौद्रिक नीतिमार्फत खुकुलो नीति लिएसँगै अब करिब ३ बर्ष निरन्तर ओरालो यात्रामा रहेको सेयर बजार उकालो लाग्छ,’ उनी भन्छन्, ‘रेकर्ड भनेको ब्रेक गर्नको लागि हो अहिलेको बजारले पहिलेको रेकर्ड ब्रेक गरेर नयाँ रेकर्ड कायम गर्छ ।’ अहिले बैंकहरूमा पैसा थुप्रिएको छ, जुन पैसा बजारसम्म ल्याउन बैंकहरूलाई सकस परिरहेको अवस्था रहेको उनी बताउँछन् । ‘अहिले बजार बढ्नको लागि सबै कुराहरूको तालमेल मिलेको छ, त्यसैले पनि बजारले नयाँ रेकर्ड राख्नेमा विश्वस्त छौं,’ उनी भन्छन्, ‘सगरमाथा चढ्न भनेर हिडेको मान्छे कुदेर गयो भने पुग्दैन । तर, बेस क्याम्पमा बस्दै गयो भने केही ढिलो पुगिएला । तर, अवश्य पुगिन्छ सेयर बजार पनि त्यस्तै हो । बिचमा केही करेक्शन होला । तर, अब बजार उकालो यात्रामा जान्छ ।’ सेयर बजारले रातारात नयाँ रेकर्ड नबनाउने भएपनि ढिलोचाँडो ३२ सय पार गर्दै नयाँ रेकर्ड कायम गर्ने उनी बताउँछन् । मौद्रिक नीति मार्फत सेयर बजारमा सुधारको बाटो लिएसँगै केहीदिन यता सेयर बजार निरन्तर बढिरहेको छ । संस्थागत लगानीकर्ताले नाफा कमाउँदा त्यसबाट सरकारले ३० प्रतिशत कर पाउने भएकाले संस्थागत लगानीकर्ताले पाउने कर्जाको सीमा हटाइएको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकले लिएको यस किसिमको नीतिले धितोपत्र बजारमा सकारात्मक पार्ने लगानीकर्ताको भनाइ छ । त्यस्तै व्यक्तिहरूले पनि कम्पनी दर्ता गरी संस्थागत रुपमा लगानी गर्न सक्ने भएकाले यसलाई पनि सकारात्मक रुपमा लिइएको लगानीकर्ता बताउँछन् । बैंकबाट कर्जा लिएर सेयर बजारमा लगानी गर्ने उद्देश्यसहित खुलेका संस्थागत लगानीकर्ता कति छन् र उनीहरुले कति रकम कर्जा लिएका छन् भन्ने यकिन तथ्याङ्क नेपाल राष्ट्र बैंकसँग छैन । नेपाल राष्ट्र बैंकका अनुसार गत जेठ मसान्तसम्ममा मार्जिन प्रकृतिको कर्जा ८७ अर्ब ११ करोड रुपैयाँ छ । जुन एक वर्षअघिको तुलनामा २४ प्रतिशतले कम हो । तर, यस्तो कर्जा व्यक्तिको नाममा कति छ र संस्थागत कर्जा कति छ भनेर वर्गिकरण नभएको राष्ट्र बैंकले बताएको छ । बैंक तथा वित्तीय संस्थाहरुको २०८१ असार मसान्तसम्मको अवधिमा पाकेको ब्याज २०८१ साउन मसान्तसम्ममा प्राप्त भएमा विद्यमान लेखामानको अधीनमा रही त्यस्तो रकमलाई आर्थिक वर्ष २०८०/८१ मा आम्दानी बाँध्न पाउने व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ । यो व्यवस्थाले बैंक तथा वित्तीय संस्थाबाट सेयरधनीले पाउने लाभांश बढ्न मद्दत पुग्ने र बैंकहरूको सेयर मूल्य बढ्न योगदान पुग्ने देखिएको छ । सार्वजनिक मौद्रिक नीतिले लघुवित्त संस्थाहरूले लिन पाउने अधिकतम ब्याजदर १५ प्रतिशतमा पुनरावलोकन गर्ने भनेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो कर्जा गणनाको विधिलाई पनि यथावत राखेको छ । यी धेरै नयाँ व्यवस्थाले सेयर बजारलाई राहात मिलेको छ । अब सेयर बजारले छिट्टै नयाँ उचाइ हासिल गर्नेमा लगानीकर्ता विश्वस्त छन् ।
एआईबाट सेयर बजारको अनुगमन, तथ्यांक बैंक स्थापना
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एआईको माध्यमबाट पुँजी बजारको अनुगमन तथा सुपरिवेक्षण गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सेबोनले बजारमा हुने कारोबारको अनुगमन तथा सुपरिवेक्षण गर्न अन्तर्राष्ट्रिय रूपमा प्रयोग भइरहेका एआईमा आधारित एकीकृत वास्तविक समय सुपरिवेक्षण प्रणाली प्रयोगमा ल्याउने भएको हो । बोर्डको वेबसाइटलाई परिष्कृत गरी थप सूचनामूलक बनाउने, आईपीओ अलटमेन्ट सफ्टवेयरमा प्राविधिक सुधार गर्ने, पुँजी बजारसम्बन्धी तथ्यांकहरूको केन्द्रीय व्यवस्थापन तथा तथ्यांक उपलब्धताको सहज व्यवस्थापन गर्न केन्द्रीय पुँजी बजार तथ्यांक बैंक तथा पोर्टल स्थापना सम्बन्धमा अध्ययन गर्ने, धितोपत्र बजार सूचना प्रविधि निर्देशिका तयार गर्ने, सूचना प्रविधिका साधन तथा प्रणालीको सम्परीक्षण ढाँचा तयार गर्ने, सफ्टवेयर तथा हार्डवेयर खरिद, विकास तथा प्रयोग गर्ने र बोर्डको आफ्नै डाटा सेन्टर स्थापना गर्ने बोर्डले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । बजारलाई स्वच्छ, प्रतिस्पर्धी र पारदर्शी बनाइ स्थायित्व तथा लगानीकर्ताको हित प्रवर्द्धन गरी जन विश्वास बढाइने, बोर्डको संस्थागत सुदृढीकरण र संरचनागत सुधार तथा क्षमता अभिवृद्धि गर्ने, प्रभावकारी नियमन तथा सुपरिवेक्षणमार्फत गलत अभ्यासलाई निरुत्साहित गर्ने, बजेटमा उल्लेख भएका वस्तु विनिमय बजार सञ्चालन गर्न कानुनी र संस्थागत व्यवस्था मिलाइने, हरित बण्ड, उर्जा बण्ड लगायत अन्य नवीन वित्तीय औजारहरूको निष्कासन तथा कारोबारको सहज व्यवस्था गर्न आवश्यक कानुनी व्यवस्था गरिने बोर्डले जनाएको छ । पुँजी बजारसम्बन्धी राष्ट्रिय नीतिको मस्यौदा तर्जुमा गर्ने, वित्तीय क्षेत्रका नियामक लगायत पुँजी बजारमा प्रत्यक्ष/अप्रत्यक्ष प्रभाव पार्ने निकायसँग नीतिगत तथा कार्यगत समन्वय बढाउन अन्तर्क्रिया कार्यक्रम सञ्चालन गर्ने, बोर्डको घरजग्गा प्राप्ति प्रक्रिया अगाडि बढाउने, संघीय संरचनाअनुसार पुँजी बजारको नियमन पहुँच बढाउन प्रादेशिक कार्यालय स्थापना गर्न अध्ययन गर्ने नीति तथा कार्यक्रम रहेको बोर्डको भनाइ छ । धितोपत्र बजार, केन्द्रीय निक्षेप कम्पनी, धितोपत्र व्यवसायी (मर्चेण्ट बैंकर), क्रेडिट रेटिङ कम्पनी, धितोपत्र दलाल तथा धितोपत्र व्यापारी, निक्षेप सदस्य र सामूहिक लगानी कोष तथा विशिष्टीकृत लगानी कोषहरूको कुल संख्याको कम्तीमा १५ प्रतिशतको स्थलगत सुपरिवेक्षण गर्ने, वित्तीय विवरण, सूचना तथा जानकारी तथा अन्य काम कारबाहीहरूको गैरस्थलगत सुपरिवेक्षण गर्नेछ । वस्तु विनिमय बजारको अनुमतिपत्र प्रदान गर्ने, गैरआवासीय नेपालीहरूको लगानी खुला गर्न कानुन संशोधन गर्ने, बुक विल्डिङ विधिमार्फत आईपीओ निष्कासन थप व्यवस्थित बनाउन नियमावली तथा निर्देशिकामा आवश्यक परिमार्जन गर्ने, आईपीओ निष्कासनमा नेटवर्थ तथा प्रिमियम मूल्य निर्धारणसम्बन्धी एकरूपता कायम गर्न प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिको निर्देशन तथा अन्तर्राष्ट्रिय प्रचलन अध्ययन गरी कार्यान्वयन गरिने बोर्डको आगामी योजना छ । [pdf id=500546]
सेयर बजारमा दोस्रो सर्किट, ५ बैंकको सेयर मूल्य १० प्रतिशत बढ्यो
काठमाडौं । सेयर बजारमा पुनः अर्काे सर्किट लागेको छ । पहिलो सर्किट लागेर खुलेको केही मिनेटमै पुनः अर्काे सर्किट लागेर बन्द भएको हो । दोस्रो सर्किटमा ेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.०२ प्रतिशत अर्थात् १२९.०७ अंक बढेर २ हजार ६९७.२१ अंकमा पुगेको हो । यससँगै सेयर बजार पुनः ४० मिनेटका लागि बन्द भएको हो । चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पुँजी बजारमा देखिएको लगानीकर्ताहरूको भनाई छ । यसअवधिमा २४४ कम्पनीको १३ लाख २०५ कित्ता सेयर ४ हजार ७३३ पटक खरिदबिक्री हुँदा ५१ करोड ४९ लाख ६३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबी बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सेयर बजार खुलेको एक मिनेटमै बन्द
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) खुलेको एक मिनेटमै बन्द भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयर बजार सम्बन्धि खुकुलो नीति ल्याएसँगै सेयर बजार बढ्न पुगेको हो । नेप्से परिसूचक ३.९९ प्रतिशत अर्थात् १०२.६८ अंक बढेर २ हजा ६७०.८२ अंक पगुेको हो । नेप्से ४ प्रतिशत बढेपछि २० मिनेटका लागि बन्द भएको हो । साथै यस समयमा २३३ कम्पनीको ५ लाख ५६ हजार ५९३ कित्ता सेय र२ हजार ७५७ पटक खरिदबिक्री हुँदा २७ करोड २० लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबी बैंक र कुमारी बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
‘बन्द भएका हातखुट्टा खुल्छन्, सेयर बजारलाई असर गर्न चाहँदैनौं’
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बन्द भएका हातखुट्टा खोल्ने गरी मौद्रिक नीति ल्याएका बताएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारीले अब मौद्रिक नीतिले बन्द भएका हातखुट्टा चल्ने बताएका हुन् । लामो समयदेखि ठप्प रहेको अर्थतन्त्र चलायमान हुने र विकास निर्माणले गति लिने गरी मौद्रिक नीति ल्याएको गभर्नर अधिकारीको भनाइ छ । ‘ठूला घराना, सिमेन्ट व्यवसायीलाई मात्रै सुविधा दिन खोजेको होइन, निर्माण व्यवसायीलाई समावेश गर्न खोजिएको हो, निर्माण व्यवसायीहरूको चक्रमा समस्या छ, काम गरेर पनि भुक्तानी पाउन सकेका छैनन्,’ उनले भने, ‘रकम नपाएका कारण चेक बाउन्स भइरहेको छ, चेक बाउन्सका कारण कालोसूचीमा परेका छन्, कालोसूचीमा परेकाले बैंक खाता बन्द छन्, बैंक खाता बन्द हुँदा हातखुट्टा बन्द छन्, यो चक्रलाई समावेश गर्ने गरी सहजीकरण गरेको हो ।’ आर्थिक गतिविधि बढाउने स्पष्ट आधार मौद्रिक नीतिमा उल्लेख गरिएको उनको दाबी छ । सिथिलतापछि माग घटेको, निर्माण कार्य रोकिएको र निर्माणसँग सम्बन्धित अन्य उद्योग व्यवसायमा सिथिलता आएको उनले बताए । साथै सहकारी क्षेत्रमा पनि समस्या आउँदा अर्थतन्त्रमा असर परेको उनको भनाइ छ । यी सबै विषयलाई समावेश गर्ने गरी मौद्रिक नीति तय भएको उनकाे भनाइ छ । ‘मौद्रिक नीतिले सबै विषय समेट्न सक्दैन, यदि मौद्रिक नीतिले सबै विषयलाई समेट्न खोज्यो भने जोखिम निम्त्याउँछ, ब्याजदरलाई स्थिरता दिने, लगानीको वातावरण वा माहोल बनाउने काम गर्छ, अन्य निकायसँगको तादम्यता र क्रियाकलाप बढ्यो भने मात्रै मौद्रिक नीतिले दिएका सुविधाहरू उपयोग हुन्छन्,’ उनले भने । मौद्रिक नीति र म्याक्रो प्रुडेन्सियल नीतिबीच समन्वय गर्न खोजिरहेका उनले बताए । अहिले बैंकिङ क्षेत्रमा अधिक तरलता भएको भनि दाबी गरिएपनि कर्जा लगानीका लागि त्यो प्रयाप्त नभएको उनको भनाइ छ । ‘मौद्रिक नीति लचिलो र म्याक्रो प्रुडेन्सियल नीति कडा हुँदा राम्रो मानिदैँन, म्याक्रो प्रुडेन्सियल नीतिमा सहजीकरण गर्न खोजेका छौं, बैंकहरूलाई पुँजी कोषको दबाब छ, पुँजी कोषको दबाबलाई कम गर्ने गरी मुख्य ७ वटा बुँदा मौद्रिक नीतिमा समावेश छन्, त्यसले बैंकको पुँजी कोषलाई सहजीकरण गर्छ,’ उनले भने, ‘बैंकहरूलाइ कर्जा दिँदा सीमा तोकेको छ, बैंकिङ क्षेत्रमा ६/७ खर्ब तरलता छ भन्ने सुनिन्छ । तर, कोर क्यापिटलको हिसाबमा उक्त रकम प्रयाप्त होइन, बैंकसँग कर्जा दिने क्षमता छैन ।’ उनका अनुसार बैंकको कर्जा दिने क्षमता बढाउने गरी मौद्रिक नीतिमा नियामकीय व्यवस्था गरिएका छन् । असल कर्जामा राख्ने प्रोभिजनदेखि थुप्रै औजारलाई अनुमति दिइएको छ । टायर २ क्यापिटल गणना गर्दा रेगुलेटरी रिजर्भमा रहेको रकम गणना गर्न दिईएको छ । जसले कर्जा प्रवाहमा भएको सकसलाई समाधान गर्ने उनको दाबी छ । ‘बजारमा कर्जा बढोस् भनेर साढे १२ प्रतिशत लक्ष्य राखिएको छ, यसले बैंक र व्यवसायीलाई साहस बढाउन खोजिएको हो,’ गभर्नर अधिकारीले भने । निर्माणलाई सहयोग पुग्नेगरी निर्माण क्षेत्रमैत्री मौद्रिक नीति ल्याएको बताउँदै उनले भने, ‘सन्तुलन कायम गर्न खोजेका छौं, अब भोलिपर्सि सर्किट लाग्छ वा लाग्दैन थाहा छैन, हामी सकभर पुँजी बजारलाई असर गर्न चाहँदैनौं, बैंकबाट जाने ऋणलाई छुन खोजेको मात्रै हो, त्यो ऋणको आआफ्ना सीमा छन्, संस्थागत रूपमा कर्जा लिएर कारोबार गर्दा कर्पाेरेट ट्याक्स तिर्नुपर्ने हुन्छ, सेयरधितो कर्जाको सीमा संस्थागतलाई हटाइएको हो, व्यक्तिलाई होइन ।’ अहिले सबै नीति खुकुलो बनाउँदा भविष्यमा जोखिम निम्तिन सक्छ । नेपालको बजार परिपक्व नभएकाले त्यो जोखिमबाट जोगिन सबै शतर्क रहनुपर्ने उनको भनाइ छ । ‘हाम्रो बजार अपरिपक्व छ, हामी सबै शतर्क हुनुपर्छ, सचेतनाका लागि सेबोनसहित हामी सबै काम गर्नुपर्छ, कति फण्डामेन्टल र कति स्प्याकुलेसन गर्ने हो त्यो पार्टाेलाई सबैले सघाउनुपर्छ,’ उनले भने, ‘नियामकीय नीति एकैपटक खोल्दा अर्थतन्त्रमा नयाँ साइकल आउन नदिन हामी शतर्क छौं, समस्या आउन नदिने गरी सजगताका साथ लचकता मौद्रिक नीति ल्याएका हौं ।’
सेयर बजार २७ अंकले घट्यो, कारोबार १६ अर्ब नाघ्याे
काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सेयर बजार नेप्से परिसूचक २७.३२ अंकले घटेर २,५३६ को विन्दुमा कायम भएको छ । यस दिन ४६ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने १९४ कम्पनीको सेयर मूल्य घटेको छ । बुधबार ३११ कम्पनीको ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब २० करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको ३६ करोड ७ लाख रुपौयाँको सेयर कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टको ३४ करोड २२ लाख रुपौयाँको कारोबार हुँदा अपर तामाकोशीको २९ करोड ४७ लाख रुपौयाँको सेयर कारोबार भएको छ । बुधबार सबैभन्दा धेरै बोटलर्स नेपाल तराई र एशियन हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । चन्द्रगिरी हिल्सका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाए भने समृद्धि फाइनान्सका लगानीकर्ताले ९.६५ प्रतिशतका दरले कमाए । यस दिन सबैभन्दा धेरै गुमाउनेमा चिरख्वा हाइड्रोपावरका लगानीकर्ता छन् । यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।
दुई ठूला दल मिलेर सरकार बनाएकाले सेयर बजारमा उत्साह देखियो : पूर्वअर्थमन्त्री महत
काठमाडौं । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले एमाले–कांगेस दुई ठूला राजनीतिक दल मिलेर सरकार बनाएकाले सेयर बजारमा उत्साह देखिएको बताएका छन् । सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वअर्थमन्त्री महतले यस्तो बताएका हुन् । उनले मुख्य दुई राजनीतिक दल मिलेर सरकार बनाएकाले जनताको अपेक्षा ठूलो रहेको बताए । अब सेयर बजार मात्रै होइन समग्र अर्थतन्त्रमा उत्साह देखिनुपर्ने उनले भनाइ राखे । उनले मागभन्दा सप्लाई बढी भएकाले पनि समस्या देखिएकाले समस्या समाधान गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताए । उनले मौद्रिक नीतिले अर्थतन्त्रमा सहजता सिर्जना गर्ने गरी ल्याउनुपर्ने बताए । उनले मौद्रिक नीतिमा रिफर्म गर्नसक्ने ठाउँहरुमा रिर्फम गरेर ल्याउनुपर्नेमा जोड दिए । पूर्वअर्थमन्त्री महतले सेयर बजार, जग्गा कारोबार लगायत क्षेत्रमा कर्जा प्रवाहको लागि सिमाहरु कायम राखेर गरेको माइक्रोम्यानेजमेण्टलाई विचार गर्नु आवश्यक रहेको बताए । उनले बैंकको ब्याजदरमा सहजता आएको बताउँदै सेयर बजार र घरजग्गा कारोबारमा रहेका सीमालाई खुकुलो गर्नुपर्ने बताए । उनले कर्जामा अनुत्पादन क्षेत्र भनेर लगाएको सीमामा पनि पुनर्विचार गर्न आवश्यक रहेको बताए ।
सामान्य अंकले बढ्यो सेयर बजार, १३ अर्ब ९१ करोडको कारोबार
काठमाडौं । साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ । सोमबार सेयर बजार नेप्से परिसूचक २.१५ अंकले बढेर २,४८८ को विन्दुमा पुगेको छ । यस दिन ११५ कम्पनीको सेयर मूल्य बढ्दा १२१ कम्पनीको घट्यो भने ६ कम्पनीको सेयरमूल्य स्थिर रह्यो । सोमबार ३०९ कम्पनीको ३ करोड ९७ लाख ५४ हजार ७११ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ३६ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको हो । यस्तै शिवम् सिमेन्टको ३४ करोड ७८ लाख रुपैयाँको सेयर कारोबार हुँदा कुमारी बैंकको २८ करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । यस दिन सबैभन्दा धेरै गणपति लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । यस संस्थाका लगानीकर्ताले ९.९४ प्रतिशतका दरले गुमाएका हुन् ।
सेयर बजारमात्रै नभइ पुरै बजार चलायमान गर्ने दाबी, अर्थतन्त्र सुधारको कार्यक्रम के छ ? (पूर्णपाठ)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब सेयरबजारमात्रै होइन देशको पूरै बजार चलायमान हुने बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले अब सेयर बजार मात्र नभइ देशको पूरै बजार चलायमान हुने धारणा राखेका हुन् । प्रधानमन्त्री ओलीले आफू पछि नहट्ने प्रवृतिको व्यक्ति नभएको बताएका छन् । उनले आफू देश विकासका लागि काम गरिरहेको बताउँदै आफूमा ब्याक गियर नरहेको धारणा राखे । ‘म सधैं अघि बढ्ने मानिस हुँ, मैले आफ्नो यात्रामा व्याक गियर लगाउन र पछि सर्न जानेको छैन,’ ओलीले भने । उनले विकासको मुख्य तगारो अस्थिरता भएकाले त्यसलाई हटाउन संविधान संशोधन आवश्यक परेको पनि बताए । [pdf id=498620]
सेयर बजार साढे ६१ अंकले बढ्यो, कारोबार १५ अर्ब २३ करोडमाथि
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६१.६१ अकंले बढेर २४८५.९४ बिन्दुमा अडिएको छ । यस दिन ३ सय १५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार सबैभन्दा धेरै सोल्टी होटल्सको सेयर कारोबार भएको छ । सोल्टीको ३४ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको हो । हिमालयन रिइन्स्योरेन्सको ३० करोड ६७ लाख र कुमारी बैंकको २७ करोड रुपैयाँमाथि सेयर कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै यूनाइटेड मोदी र समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । हिमालयन बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । गणपति लघुवित्तका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । आइतबार सबैभन्दा धेरै सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
ब्रोकरसँगको भेटमा अर्थमन्त्री पौडेलले भने : सेयर बजारको विकासमा पहल गर्छु
काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारको विकासमा सक्रियतापूर्वक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालका तर्फबाट अध्यक्ष सागर ढकालको नेतृत्वमा अर्थ मन्त्रालय पुगेको ब्रोकरको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘पुँजीबजारप्रति म सकारात्मक छु’, उनले भने, ‘यस क्षेत्रको विकास र स्थायित्वका लागि सक्रियतापूर्वक पहल गर्नेछु ।’ भेटका क्रममा एसोसिएसनका पदाधिकारीहरुले नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाइ तथा शुभकामना प्रदान गरेका थिए । एसोसिएसनका अध्यक्ष ढकालले अर्थमन्त्री पौडेलबाट पुँजीबजारको सुधार र विकासका लागि अग्रगामी नेतृत्वको आशा व्यक्त गरेका थिए ।
अर्थमन्त्रीले सेयर बजारलाई अर्थतन्त्रको ऐना भनेपछि ९ अर्ब बढीको कारोबार, दर्जन कम्पनीमा सर्किट
काठमाडौं । नयाँ सरकार गठन भएको दोस्रो दिन सेयर बजारमा हरियाली छाएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसहित २२ जना मन्त्रीहरूले सपथ लिएका थिए । ओली नेतृत्वको सरकारका नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारलाई अर्थतन्त्रको ऐनाका रूपमा लिएको बताएपछि लगानीकर्ता उत्साहित भएका छन् । साथै विगतमा पनि पौडेल अर्थमन्त्री हुँदा पुँजी बजार सकारात्मक लयमा थियो । यसपटक पनि उनी अर्थमन्त्री हुने चर्चासँगै पुँजी बजार उकालो यात्रामा छ । अहिले पुँजी बजारमैत्री अर्थमन्त्री पाएको भन्दै लगानीकर्ता उत्साहित भएको मंगलबारको सेयर बजारले पनि प्रस्ट हुन्छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७०.१८ अंकले बढेर २ हजार ३१०.५९ अंकमा पुगेको हो । साढे २ वर्षपछि नेप्से परिसूचकले २३ सय अंक पार गरेको हो । मंगलबार २३४ कम्पनीको सेयर मूल्य बढ्दा एक दर्जन बढी कम्पनीमा सकारात्मक सर्किट लागेको छ । सिन्धु विकास बैंक, बरूण हाइड्रो, ग्रीन डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत कम्पनी, मन्दाकिनी हाइड्रोको सेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको हो । यस्तै सिक्लेस हाइड्रो, सिंगटी हाइड्रो, रिडी पावर कम्पनी, अरूण भ्याली हाइड्रो, इङ्ग्वा हाइड्रो, अपि पावर कम्पनीको सेयर मूल्य पनि सकारात्मक सर्किट लेभलमा बढेको छ । मंगलबार दिनभरिमा ३१५ कम्पनीको २ करोड ५८ लाख ३६ हजार कित्ता सेयर १ करोड १९ लाख बढी पटक खरिदबिक्री हुँदा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज न्याङ्दी ग्रुप पावरको सर्वाधिक २१ करोड ७७ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १८ करोड २७ लाख रुपैयाँ, अपि पावरको १७ करोड ९३ लाख रुपैयाँ, जानकी फाइनान्सको १७ करोड १७ लाख रुपैयाँ र अरूण भ्यालीको १६ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अर्थमन्त्री पौडेलले सोमबार पदभार ग्रहण गर्दै सेयर बजार अर्थतन्त्रको ऐना भएको र सहज नीतिगत व्यवस्था गर्न आवश्यक रहेको बताएका थिए । सेयर बजार सन्तुलित ढंगले अघि बढाउने र लगानीकर्तामा आत्मविश्वास जगाउने गरी काम गर्ने उनको भनाइ छ । साथै साउन महिनाका लागि बैंक तथा वित्तीय संस्थाहरूका ब्याजदर घटेका कारण पनि बजारमा सकारात्मक प्रभाव परेको बुझिएको छ ।
सेयर बजार अर्थतन्त्रको ऐना भएको अर्थमन्त्रीको दाबी, के गरे पहिलो निर्णय ?
काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना भएको बताएका छन् । पौडेलले सोमबार कार्यभार सम्हाल्दै सेयर बजार अर्थतन्त्रको ऐना भएको र यसमा सहज नीतिगत व्यवस्था गर्न आवश्यक भएको बताएका हुन् । उनले सेयर बजार सन्तुलित ढंगले अघि बढाउने गरी काम गर्ने पनि बताएका छन्। लगानीकर्तामा आत्मविश्वास जगाउने गरी काम गर्ने उनकाे प्रतिबद्दता छ । उनले अस्थिरताका कारण अर्थतन्त्रमा समस्या देखिएको बताउँदै नयाँ गठबन्धन आएपछि अब स्थिरता हुने धारणा राखे । उनले विगतमा जनताको आत्मविश्वास समेत टुटेको पाइए पनि अब भने निरासा चिर्ने र आशा जगाउने काम हुने बताए । उनले सोमबार अर्थमन्त्रीका रुपमा पदभार ग्रहण गर्दै वैकल्पिक वित्तसम्बन्धी कार्यविधि पनि स्वीकृत गरेका छन् । जुन उनको अर्थमन्त्रीका रुपमा पहिलो निर्णय हो । अर्थमन्त्री पौडेलले उनले ब्लेन्डेड फाइनान्स, ग्रिन क्लाइमेट फन्ड लगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोगसम्बन्धी कार्यविधिले ती स्रोत लिन सहज हुनेछ ।
सेयर बजारका हटकेक, राष्ट्र बैंकभन्दा बलिया !
काठमाडौं । जुनसुकै लगानीकर्ताले प्रतिफल पाउने उद्देश्यले लगानी गर्छन् । कम्पनीले दिने प्रतिफल सबैभन्दा महत्वपूर्ण विषय हो । तर, पुँजी बजारमा अधिकांश लगानीकर्ताहरूले जोखिम मोलेरै अर्बाैं लगानी गरिरहेको देखिन्छ । मनग्य कमाउने र उच्च दरको प्रतिफल पाउने अपेक्षाले लगानीकर्ताहरूले विभिन्न कम्पनीमा आफ्नो लगानी गर्छन् । तर, पुँजी बजारमा यस्ता कम्पनी छन्, जुन कम्पनीमा लगानी गर्दा प्रतिफलको सुनिश्चितता छैन । पछिल्लो तथ्यांकअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूको संख्या २७२ वटा छन् । सूचीकृतमध्ये अधिकांश कम्पनीहरू बलियो र प्रभावकारी नियामक नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र (लाइसेन्स) प्राप्त छन् । पुँजी बजारमा केही सूकीकृत कम्पनीहरूको आफ्नै नियामक नहुँदा बेलाबखत तिनीहरूको नियमनमा प्रश्न उठ्ने गर्छ । तर, राष्ट्र बैंक जस्तो प्रभावकारी नियामकबाट नियमन भइरहेका कम्पनीमा समेत लगानीकर्ताहरूले लामो समयदेखि ठूलो धोका पाउने गरेका छन् । राष्ट्र बैंकको नियमन भित्र रहेका केही विकास बैंक र वित्त (फाइनान्स) कम्पनीका लगानीकर्ताहरूले विगत लामाे समयदेखि प्रतिफल पाएका छैनन् । लाभांश कमाउने उद्देश्यले पुँजी बजारका यी कम्पनीमा लगानी गरेका लगानीकर्ताहरूले रित्तो हात बनाउनु परेको छ । लाभांशसँगै ती कम्पनीले वार्षिक रुपमा गर्नु पर्ने साधारणसभा तथा लेखापरीक्षण समेत हुन सकेको छैन । कम्पनीहरुले वार्षिकरुपमा साधारणसभा गर्नु पर्ने प्रावधान भएपनि नीतिको अटेर गर्दै राष्ट्र बैंकलाई समेत गुमराहमा राख्ने कम्पनीको संख्या लामै छ । जसले न कम्पलायन्स पालना गर्छन् नत लगानीकर्ताई प्रतिफल दिन्छन् । तर, तिनै कम्पनीको सेयर मूल्य भने उच्च छ । विगतमा संस्थागत सुशासन र खराब कर्जा अत्यधिक भएपछि समस्याग्रस्त घोषणा गरिएको कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ५८८ रुपैयाँ छ । यस बैंकको सेयर मूल्य विकास बैंक समूहमा उच्च हो । बैंकले एक पटक आर्थिक वर्ष २०७८/७९ मा ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसयता बैंकले सेयरधनीहरूलाई कुनै प्रतिफल वितरण गर्न सकेकाे छैन । तैपनि लगानीकर्ताहरूले बैंकको सेयर सहज रूपमा खरिदबिक्री गरिरहेका छन् । यस बैंकले आफ्नो वार्षिक साधारण सभा समेत नियमित गर्न सकेको छैन । यस विषयमा राष्ट्र बैंक समेत मौन छ । यस बैंकमा ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी र १७ करोड ५४ लाख रुपैयाँ जगेडा कोषमा जम्मा छ । चालु आर्थिक वर्ष २०८०/८१ को चैतसम्म बैंकले ८७ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने प्रतिसेयर आम्दानी १.६६ रुपैयाँ छ । चैतसम्म बैंकको खराब कर्जा ४.९५ प्रतिशत रहेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७५/७६ मा सेयरधनीहरूलाई ६ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसअघि र त्यसयता बैंकले सेयरधनीहरूलाई प्रतिफल वितरण गरेकाे कुनै तथ्याङ्क छैन । तर, बैंकको सेयर प्रतिकित्ता ४२२ रुपैयाँमा कारोबार भइरहेको छ । सेयरधनीहरूलाई प्रतिफल बाँड्न नसक्ने यस बैंकले आफ्नो वार्षिक साधारण सभा पनि समयमा गर्न नसकेको देखिन्छ । गत २०८० पुस २९ गते सम्पन्न १४औँ वार्षिक साधारण सभाले एकै पटक आर्थिक वर्ष २०७७/७८, २०७९ र २०८० साल वित्तीय विवरण पारित गर्यो । ८३ करोड ४३ लाख रुपैयाँ चुक्ता पुँजी र २० करोड ५६ लाख रुपैयाँ जगेडा कोषमा रहेको यो बैंक गत चैतमा ७ करोड ३१ लाख रुपैयाँ खुद नोक्सानीमा छ । गत वर्षको सोही अवधिमा २७ करोड ४९ लाख रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो । बैंकको प्रतिकित्ता सेयर आम्दानी ११.६८ रुपैयाँ ऋणात्मक छ भने खराब कर्जा १२.४० प्रतिशत रहेको छ । ग्रीन डेभलपमेन्ट बैंकले प्रत्येक वर्ष वार्षिक साधारण सभा समयमा गर्न सकेको छैन । २०८० चैत २७ गते सम्पन्न १०औं र ११औँ वार्षिक सभाले आर्थिक वर्ष २०७८/७९ र आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणसहित अन्य प्रतिवेदन पारित गरेको थियो । बैंकले हालसम्म २ पटक मात्रै सेयरधनीहरूलाई लाभांश बाँडेको छ । आर्थिक वर्ष २०७६/७७ र आर्थिक वर्ष २०७८/७९ मा गरी २ पटक बैंकले समान ४/४ प्रतिशत प्रतिफल बाँडेको थियो । यसअधिका वर्ष बैंकले सेयरधनीहरूको हात रित्तो बनाएको छ । तर, बैंकको सेयर मूल्य प्रतिकित्ता ४८९ रुपैयाँमा कारोबार भइरहेको छ । ५३ करोड ८७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ६ करोड ४७ लाख रुपैयाँ जम्मा छ । चैतसम्म बैंकले १ करोड ८१ लाख रुपैयाँ खुद नाफा गरेको छ भने बैंकको प्रतिसेयर आम्दानी ४.४९ रुपैयाँ छ । तर, बैंकको खराब कर्जा ५.८६ प्रतिशत पुगेको छ । कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीहरूको विगत ८ वर्षदेखि हात रित्तो राखेको छ । बैंकले आर्थिक वर्ष २०७२/७३ मा १३ प्रतिशत लाभांश बाँडेको थियो । त्यसपछि बैंकले निरन्तर हालसम्म कुनै प्रतिफल दिएको छैन । तर, यस बैंकको सेयर मूल्य प्रतिकित्ता ४८६ रुपैयाँमा कारोबार भइरहेको छ । बैंकको साधारण सभा समयमा अनियमित छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारण सभा २०७८ फागुन २० गते गरेको थियो । त्यसयता यस बैंकले साधारण सभा गरेको छैन । ५० करोड २८ लाख चुक्ता पुँजी र ५ करोड ३५ लाख रुपैयाँ जगेडा कोषमा सञ्चिति छ । चैतसम्म २ करोढड ८८ लाख रुपैयाँ खुद नाफा गरेको बैंकको खराब कर्जा ४.९६ प्रतिशत छ । बैंकको वितरणयोग्य नाफा २ करोड ५१ लाख रुपैयाँ ऋणात्मक छ । बैंकको प्रतिसेयर आम्दानी ५.७३ रुपैयाँ रहेको छ । नारायणी डेभलपमेन्ट बैंकको वित्तीय स्थिति हेर्दा नाजुक छ । २६ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी र १६ करोड ८ लाख रुपैयाँ जगेडा कोषमा सञ्चिति छ । गत चैतसम्म बैंकले ४२ लाख ७१ हजार रुपैयाँ खुद नोक्सानी बेहोर्नु परेको छ । साथै बैंकको खराब कर्जा ३१.७७ प्रतिशत पुगेको छ । निर्धातिर समयभन्दा ढिलागरी बैंकले २२औँ वार्षिक साधारण सभा गरेको छ । बैंकले हालसम्म सेयरधनीहरूलाई लाभांश बाँडेको छैन । खराब वित्तीय अवस्था र लाभांश नबाँडेपनि सेयरधनीहरू भने बैंकप्रति आकर्षित देखिन्छन् । किनभने बैंकको सेयर मूल्य ५८२ रुपैयाँ रहेको छ । एक्सल डेभलपमेन्ट बैंकले विगत तीन वर्षदेखि सेयरधनीहरूलाई लाभांश बाँडेको छैन । बैंकले पछिल्लो पटक आर्थिक वर्ष २०७७/७८ मा ८.९५ प्रतिशत लाभांश बाँडेको थियो । त्यस आर्थिक वर्षसम्म निरन्तर लाभांश बाँडेको थियो । पछिल्ला समय प्रतिफल बाँड्न छाडेको यस बैंकको सेयर मूल्य प्रतिकित्ता ४५० रुपैयाँमा कारोबार भइरहेको छ । यस बैंकले समयमा वार्षिक साधारण सभा समेत गर्न सकेको छैन । २०८१ असार २९ गते आह्वान गरेको १८औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण लगायतका प्रतिवेदन पारित गर्नेछ । १ अर्ब २४ करोड ९६ लाख रुपैयाँ चुक्ता पुँजी र ७१ करोड ८३ लाख रुपैयाँ जगेडा कोष रहेको छ । चैतसम्म बैंक ५ करोड ३७ लाख रुपैयाँ खुद नोक्सानीमा छ । साथै बैंकको वितरणयोग्य नाफा ८ करोड ३१ लाख रुपैयाँ ऋणात्मक छ । यस्तै प्रतिसेयर आम्दानी ५.७३ रुपैयाँ ऋणात्मक छ । बैंकको खराब कर्जा ७.३० प्रतिशत पुगेको छ । सिन्धु विकास बैंकले विगत ५ वर्षदेखि प्रतिफल बाँडेको छैन । बैंकले पछिल्लो पटक आर्थिक वर्ष २०७५/७६ मा १२.०९ प्रतिशत लाभांश बाँडेको थियो । उक्त वर्षसम्म निरन्तर लाभांश बाँडेको पनि थियो । त्यसयता बैंकले लगानीकर्ताको हात रित्तो बनाउँदै आएको छ । साथै बैंकको साधारण सभा समेत अनिश्चित छ । बैंकले आर्थिक वर्ष २०७८/७९ सम्मको १३औँ वार्षिक सभा गरेको छ । गत आर्थिक वर्षको साधारण सभा हालसम्म आह्वान गरेको छैन । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश नबाँड्ने निर्णय गरिसकेको छ । बैंकको चुक्ता पुँजी ५५ करोड ७४ लाख रुपैयाँ र जगेडा कोष १० करोड ६९ लाख रुपैयाँ रहेको छ । चैतसम्म खुद नाफा ५ करोड ४० लाख रुपैयाँ ऋणात्मक छ । यस्तै बैंकको वितरणयोग्य नाफा ७ करोड ३३ लाख रुपैयाँ नोक्सानीमा छ । तर, बैंकको सेयरमा लगानीकर्ताको आकर्षणभने राम्रो देखिन्छ । नेप्सेको तथ्याङ्क अनुसार सेयर मूल्य प्रतिकित्ता ४४६ रुपैयाँमा कारोबार भएको छ । फाइनान्स कम्पनी नेपाल फाइनान्सले १३ वर्षअघि आर्थिक वर्ष २०६७/६८ मा सेयरधनीहरूलाई २३.१६ प्रतिशत लाभांश बाँडेको थियो । त्यसअघि र त्यसपछि कम्पनीले सेयरधनीहरूलाई प्रतिफल दिएको छैन । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा १३ लाख १८ हजार रुपैयाँ खुद नाफा गरेको यस फाइनान्सले वितरणयोग्य नाफा २ करोड २१ लाख रुपैयाँ नोक्सानीमा छ । कम्पनीको चुक्ता पुँजी ७२ करोड ९४ लाख रुपैयाँ र जगेडा कोष ४२ करोड ३९ लाख रुपैयाँ रहेको छ । कमजोर वित्तीय अवस्था र शून्य लाभांशकाबीच कम्पनीको सेयर मूल्यमा लगानीकर्ता उत्साहित भएर लगानी गरिरहेका छन् । फाइनान्सको सेयर प्रतिकित्ता ८५७ रुपैयाँमा कारोबार भइरहेको छ । बेस्ट फाइनान्सले आर्थिक वर्ष २०६७/६८ मा सेयरधनीहरूलाई २० प्रतिशत लाभांश बाँडेको थियो । सेयरधनीहरूले सो वर्षपछि प्रतिफल पाएका छैनन् । कम्पनीको वार्षिक साधारण सभा समेत अनियमित छ । कम्पनीले गत बैशाख २९ गते सम्पन्न गरेको २६औँ वार्षिक साधारण सभामा आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणहरू मात्रै पारित गरेको छ । गत आर्थिक वर्षको साधारण सभा हालसम्म आह्वान गरेको छैन । ८५ करोड ४८ लाख रुपैयाँ चुक्ता पुँजी र ५७ करोड ५६ लाख रुपैयाँ जगेडा कोष रहेको यस फाइनान्सले गत चैतसम्म ८० लाख २६ हजार रुपैयाँ नाफा गरेको छ । तर, ३० करोड ८७ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक छ । फाइनान्सको खराब कर्जा ४.३५ प्रतिशत रहेको छ । यस फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ४९४ रुपैयाँमा कारोबार भइरहेको छ । निरन्तर प्रतिफल वितरण गर्दै आएको गुडविल फाइनान्सले पछिल्लोपटक आर्थिक वर्ष २०७७/७८ मा १३ प्रतिशत प्रतिफल बाँडेको थियो । त्यसपछिका २ वर्ष सेयरधनीहरूको हात रित्तो छ । ९४ करोड ६१ लाख रुपैयाँ चुक्ता पुँजी र ८२ करोड ५८ लाख रुपैयाँ जगेडा कोष रहेको यस फाइनान्सले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ८ करोड ६४ लाख रुपैयाँ खुद नोक्सानी बेहोर्नु परेको छ । साथै फाइनान्सको वितरणयोग्य नाफा ३९ करोड ५६ लाख रुपैयाँ ऋणात्मक छ । फाइनान्सको प्रतिसेयर आम्दानी १२.१९ रुपैयाँ माइनस छ भने खराब कर्जा ६.४८ प्रतिशत रहेको छ । तर, फाइनान्सको सेयर मूल्य ६३३ रुपैयाँमा कारोबार भइरहेको छ । जानकी फाइनान्सले आर्थिक वर्ष २०७७/७८ मा १५.७८ प्रतिशत लाभांश बाँडेको थियो । त्यसपछिका २ वर्ष सेयरधनीहरूको हात रित्तो छ । साथै कम्पनीको वार्षिक साधारण सभा समेत अनियमित छ । २०८० साउन १३ गते सम्पन्न २६औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण पारित गरेको छ । गत वर्षको साधारण सभा हालसम्म आह्वान गरेको छैन । फाइनान्सको ६९ करोड ४ लाख रुपैयाँ चुक्ता पुँजी र २९ करोड ८६ लाख रुपैयाँ जगेडा कोष रहेको छ । गत चैतसम्म फाइनान्सले १० करोड ८६ लाख रुपैयाँ खुद नोक्सानी बेहोर्नु परेको छ । यस्तै फाइनान्सको प्रतिसेयर आम्दानी २०.९८ रुपैयाँ ऋणात्मक छ भने खराब कर्जा २८.९१ प्रतिशत छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६८०.२० रुपैयाँमा कारोबार भइरहेको छ । समृद्धि फाइनान्सले हालसम्म सेयरधनीहरूलाई प्रतिफल दिएको छैन । जबकी फाइनान्सले २०८० पुस २८ गते २२औँ वार्षिक साधारण सभा सम्पन्न गर्याे । गत चैतसम्म फाइनान्सले ६ करोड ९३ लाख रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । ५ लाख ३६ हजार रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको यस फाइनान्सको खराब कर्जा १७.२३ प्रतिशत पुगेको छ । फाइनान्सको चुक्ता पुँजी ८१ करोड ८९ लाख रुपैयाँ र जगेडा कोष २६ करोड ५६ लाख रुपैयाँ रहेको छ । खराब वित्तीय अवस्था र २२औं साधारण सभासम्म पनि सेयरधनीहरूले प्रतिफल नपाउँदा लगानीकर्ताहरू भने फाइनान्सको सेयरमा आकर्षित भएर खरिदबिक्री गरिरहेका छन् । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४४९.७० रुपैयाँमा कारोबार भइरहेको छ । मल्टीपर्पस फाइनान्सले २ वर्षसम्म सेयरधनीहरूको गोजि रित्तो बनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा फाइनान्सले १३.६८ प्रतिशत लाभांश बाँडेको थियो । त्यसयता कम्पनीले सेयरधनीहरूको खल्ती रित्तो बनाएको हो । कम्पनीको वित्तीय स्थिति र साधारण सभा नियमित छ । कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता ५१७.५० रुपैयाँ रहेको छ । प्रोग्रेशिभ फाइनान्सले आर्थिक वर्ष २०७७/७८ मा ६.३१ लाभांश बाँडेको तथ्याङ्क छ । २६औँ वार्षिक सभा सम्पन्न गर्दा कम्पनीले एक पटक मात्रै प्रतिफल दिएको हो । ८४ करोड ८१ लाख रुपैयाँ चुक्ता पुँजी र १२ करोड ६३ लाख रुपैयाँ जगेडा कोष रहेको छ । गत चैतसम्म फाइनान्सले ५ करोड ४९ लाख रुपैयाँ खुद नोक्सानी बेहोरेको छ भने ४० करोड ४३ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक छ । फाइनान्सको प्रतिसेयर आम्दानी १२.९५ रुपैयाँ रहेको छ भने खराब कर्जा ९.३४ प्रतिशत रहेको छ । तर, कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४२१ रुपैयाँमा कारोबार भइरहेको छ । गोर्खाज फाइनान्सले एकपटक मात्रै सेयरधनीहरूलाई प्रतिफल वितरण गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७१/७२ मा ७ प्रतिशत लाभांश बाँडेको थियो । त्यसअघि र त्यसयता सेयरधनीहरूको हात रित्तो छ । फाइनान्सको साधारण सभा समेत नियमित देखिँदैन । २०८० चैत २ गते सम्पन्न २८ र २९औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को वितत्तीय विवरण पारित गरेको थियो । कम्पनीको चुक्ता पुँजी ८६ करोड ७९ लाख रुपैयाँ र १ अर्ब २ करोड ६० लाख रुपैयाँ जगेडा कोष छ । गत चैतसम्म कम्पनीले ५ करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेको छ । तर, कम्पनीको वितरणयोग्य नाफा ५९ करोड ४७ लाख रुपैयाँ ऋणात्मक रहेको छ । फाइनान्सको खराब कर्जा १४.५० रुपैयाँ रहेको छ । फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ७००.१० रुपैयाँमा कारोबार भइरहेको छ ।
सेयर बजारमा सामान्य गिरावट, ४ अर्ब ५६ करोडको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार घटेको छ । सोमबार सेयर बजार नेप्से परिसूचक ४.६२ अंकले घटेर २ हजार १३६ को विन्दुमा अडिएको छ । यस दिन ९५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ कम्पनीको सेयर मूल्य घटेको छ । सोमबार ३ सय २४ कम्पनीको १ करोड ४ लाख ७५ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ। यस दिन सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । कम्पनीको २८ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ । जानकी फाइनान्सको १५ करोड ५० लाख रुपैयाँ र सिइडीबी हाइड्रोको ९ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय सस्था लिमिटेडका लगानीकर्ताले ९.६८ प्रतिशतका दरले कमाएका छन् । यस्तै एनआईसी एशिया बैंक डिबेञ्चरका सेयरधनीले ६.०१ प्रतिशत, दोर्दी जलविद्युतका सेयरधनीले ५.०३ प्रतिशत र एनआईसी एशिया फ्लेक्सी क्याप फण्डका सेयरधनीले ४.७५ प्रतिशतका दरले कमाएका छन् । कालिका लघुवित्तका लगानीकर्ताले ४.५० प्रतिशतका दरले कमाएका छन् । यस दिन सबैभन्दा धेरै मैलुङ खोला जलविद्युतका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।
६ अर्बको कारोबार हुँदा सेयर बजार परिसूचक २१ सयको विन्दुमा
काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार सेयर बजार नेप्से परिसूचक २१.२७ अंकले बढेर २ हजार १४० को विन्दुमा कायम भएको छ । आइतबार १५० कम्पनीको सेयर मूल्य बढ्दा ८२ कम्पनीको घटेको छ भने १५ कम्पनीको स्थिर रहेको छ । यस्तै, ३२५ कम्पनीको १ करोड ४० लाख १४ हजार ६२२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २ करोड ९३ लाख बढीको सेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै सीइडीबी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यसदिन यो कम्पनीका लगानीकर्ताले ५.२५ प्रतिशतका दरले कमाएका छन् । नेशनल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.०९ प्रतिशतका दरले कमाएका छन् । यस दिन सबैभन्दा धेरै गुमाउनेमा मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ता छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।