पेट्रोलियम पदार्थ भण्डारणको जिम्मा लिन साल्ट ट्रेडिङ कम्पनीलाई आग्रह
काठमाडौं, २७ भदौ । सरकारले पेट्रोलियम पदार्थ भण्डारणको जिम्मा लिन साल्ट ट्रेडिङ कम्पनीलाई आग्रह गरेको छ । सात प्रदेशमा ९० दिनसम्म पुग्ने गरी पेट्रोलियम पदार्थ भण्डारणका लागि कार्यअगाडि बढाउने तयारी संगै सरकारले सार्वजानिक निजी साझेदारी अवधारणामा तेल भण्डार स्थापना गर्न लागेको हो । आपूर्तिमन्त्री दीपक बोहराले साल्ट ट्रेडिङ कम्पनी लिमिटेडको ५४औँ वार्षिकोत्सव समारोहलाई सोमबार सम्बोधन गर्दै सात प्रदेशमा ९० दिनसम्म पुग्ने गरी पेट्रोलियम पदार्थको भण्डारको कार्यअगाडि बढाउने नीतिगत निर्णय सरकारले गरिसकेकाले कम्पनीले यो कार्य गर्न सकेमा जिम्मा दिन तयार रहेको जानकारी दिए । उनले भने– “मैले महाप्रबन्धकलाई प्रस्ताव ल्याउन आग्रह गरिसकेको छु, राम्रो प्रस्ताव आएमा सरकारले कम्पनीलाई जिम्मादिन तयार छ । यो सेवाभित्रको नाफामूलक काम हो ।” आपूर्तिमन्त्री बोहराले कम्पनीले वितरण गरिराखेको ग्यास व्यवसायले उपभोक्तामा सकारात्मक प्रभाव पारेको हुँदा अगामी दिनमा ग्यास उत्पादन प्लान्ट नै राख्न कम्पनीलाई निर्देशन दिँदै यसका लागि सरकारले सहयोग समेत गर्ने जानकारी दिए । हाल कम्पनीले विशेषगरी दैनिक उपभोग्यवस्तु नुन, चिनी, चामल, गेडागुडीका अतिरिक्त कृषिका मल, गहुँका बीउ सुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको छ । गत आर्थिक वर्षमा कम्पनीले एक लाख ८० हजार मेट्रिक टन नुन, १५ हजार गहुँका बीउ, ३० हजार मेट्रिक टन चिनी तथा ८५ हजार मेट्रिक टन रासायनिक मल बिक्री वितरण गरेको थियो । उनले सरकारले भूकम्प प्रभावित १४ जिल्लामा आवास निर्माणका लागि निर्माण सामग्री बैंक स्थापना गर्न लागेको जानकारी दिँदै यसमा कम्पनीलाई सहभागी हुन आग्रह गरेका छन् । बैंकले खासगरी निर्माणमा आवश्यक पर्ने छड, सिमेन्ट लगायतका वस्तु एउटै छानामुनि सुपथ मूल्यमा बिक्री–वितरण गर्नु रहेको मन्त्री बोहराले जानकारी दिए । कम्पनी सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धर र महाप्रबन्धक उर्मिला श्रेष्ठले सरकारको नीतिनियममा रही कम्पनीले आम उपभोक्तालाई सर्वसुलभ रुपमा दैनिक उपभोगका वस्तु बिक्री–वितरण गर्दै आएको जानकारी दिए । कम्पनीले शत्प्रतिशत रुपमा सबै जनतालाई आयोडिनयुक्त नुन पुर्याएको नायब महाप्रबन्धक ब्रजेश झाले जानकारी दिए । सो अवसरमा कम्पनीद्वारा स्थापित बालहितकारी पुरस्कार नेपाल बाल सङ्गठन धनगढी जिल्ला शाखालाई प्रदान गरिएको थियो । सो पुरस्कारको राशि रु ५० हजारसहित प्रमाणपत्र रहेको छ । यसैगरी हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार कम्पनीमा कार्यरत अनुप श्रेष्ठ र काशीन्द्र श्रेष्ठ तथा ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कार नवीन्द्रचन्द्र झा, मोहन थापा र लालबहादुर तमाङलाई प्रदान गर्नुका साथै कम्पनीमा २० वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घसेवा पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा कम्पनी सञ्चालक समितिका सदस्य एवम् आपूर्ति मन्त्रालयका सहसचिव आनन्दराज रेग्मी र आधिकारीक ट्रेड युनियनका अध्यक्ष मेघराज घिमिरेले भूकम्प र नाकाबन्दीमा कम्पनीले आम उपभोक्तालाई राम्रो सेवा दिएको चर्चा गरेका छन् । हाल कम्पनीले शत्प्रतिशत रुपमा सबै जनतालाई आयोडिनयुक्त नुन सेवा पुर्याएको नायब महाप्रबन्धक ब्रजेश झाले जानकारी दिए ।
बन्द भएका सरकारी उद्योग पुनः सञ्चालन गरिने – उद्योगमन्त्री जोशी
काठमाडौ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले सरकारले बन्द भएका सरकारी उद्योगहरु पुनः सञ्चालन गर्न लागेको बताएका छन् । उद्योग मन्त्रालयद्वारा तयार ‘उद्योग क्षेत्र सुधार कार्ययोजना’ सार्वजनिक गर्दै मन्त्री जोशीले विगतमा जेसुकै कारणले बन्द भएको भएपनि अब त्यस्ता उद्योगले पुनर्जीवन पाउने बताए । पहिलो चरणमा नेपाल औषधी लिमिटेडलाई सुचारु गर्न तयारी भएको मन्त्री जोशीले बताए । उनका अनुसार पहिलो चरणमा औषधी लिमिटेडसहित वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना, गोरखकाली रबर उद्योग, नेपाल मेटल कम्पनी, बुटवल धागो उद्योग जस्ता उद्योगहरु पुनः सञ्चालन गरिनेछ । ‘जेसुकै कारणले बन्द भएको भएपनि त्यहाँ राज्यको ठूलो लगानी छ । त्यसलाई खेर जान नदिन सार्वजनिक नीजि साझेदारी गरेर भएपनि बन्द उद्योग सुचारु गर्छौ ।’, जोशीले भने । मन्त्रालयले तयार पारेको ‘उद्योग क्षेत्र सुधार कार्ययोजना’ अनुसार कार्य सम्पन्न गर्ने बताउँदै मन्त्री जोशीले साना उद्योगको संरक्षण र ठूला उद्योगको प्रबर्धनमा सरकारको जोड रहने बताए । उनले आफ्नो कार्यकालमा प्रत्येक जनतामा उद्योगप्रति आकर्षण बढाउने, उद्यमशीलता विकास गर्ने लक्ष्य राखेको बताए । औद्योगिकीकरणबाट मात्रै आर्थिक समृद्धि सम्भव भएको भन्दै मन्त्री जोशीले उद्योग मन्त्रालयलाई ‘अगुवा मन्त्रालय’ बनाउने घोषणा गरे । ‘उद्योग मन्त्रालय अरु मन्त्रालयको पछि लाग्ने होइन की आर्थिक समृद्धिको सन्दर्भमा आफै लिड गर्ने मन्त्रालय बनाउँछु ।’, उनले भने । जनतासंग उद्यमको योजना मागिने उद्योग मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजना अनुसार ७५ वटै जिल्लामा समुदायमा आधारित उद्योग सञ्चालनका लागि सर्वसाधारणको आशयपत्र मागिने भएको छ । आफूले गर्न चाहेको उद्योगको प्रकृति, स्रोत व्यवस्थापन र त्यसको निरन्तरताका बारेमा मन्त्रालयले आशयपत्र आव्हान गर्ने र आवश्यक सहयोग गर्ने जनाइएको छ । ‘यदि कोही नागरिक उद्योग खोल्न र उद्यमशीलता विकास गर्न ईच्छा राख्छ भने हामी सहयोग गर्छौ । योजनाका आधारमा सिड मनी पनि दिन्छौ, प्रविधि पनि उपलब्ध गराउँछौं ।’, मन्त्री जोशीले भने । महत्वाकांक्षीजस्तो देखिएपनि सो योजनाबाट देशरभका युवा तथा महिलामा नेपालमै उद्यम गर्न सकिन्छ भन्ने सन्देश प्रवाह हुने बताए । मन्त्रालयले तयार पारेको कार्ययोजना अनुसार ७५ वटै जिल्लामा ‘उद्यमी मोटिभेटर’ खटाइने भएको छ । उद्यमशीलताका बारेमा जिल्ला तहमै अभियान सञ्चालन गर्न तथा औद्योगिक विकासमा मन्त्रालयलाई सहयोग पु¥याउन सबै जिल्लामा ‘उद्यमी मोटिभेटर’ का रुपमा प्रेरक व्यक्तिलाई खटाइने मन्त्रालयले जनाएको छ । कार्ययोजनामा नीतिगत तथा कानुनी सुधार ,संरचना तथा प्रक्रियागत सुधार, लघु,घरेलु तथा साना उद्योग विकास प्रबद्र्धन तथा औद्योगिक क्षेत्र तथा विशेष आर्थिक क्षेत्र स्थापना तथा विस्तार गरी ४ तहको सुधार योजना उल्लेख गरिएको छ ।
उद्योग र होटलमा एक हजार करोड रुपैयाँ लगानी भईसक्यो-शशिकान्त अग्रवाल
शशिकान्त अग्रवाल नेपालको एक चर्चित उद्यमी हुनुहुन्छ । धागो उत्पादन गर्ने रिलाइन्स कम्पनी, एभरेष्ट सुगर मिल्स, हिमालय सुगर मिल्स, भगवती स्टील्स लगायत ठूला उद्योग सञ्चालन गरिरहेको औद्योगिक समूहले पछिल्लो समयमा होटल क्षेत्रमा ठूलो लगानी गर्दैछ । साथै शशिकान्त अग्रवाललाई सेयर बजारको ठूलो लगानीकर्ताको रुपमा मानिसहरुले नाम लिन थालेका छन् । देशविकाससँगको कुराकानीमा उहाँले अहिलेसम्म उद्योग तथा सेवाको क्षेत्रमा १ हजार करोड लगानी गरिसकेको बताउनु भयो । के छन् उहाँको नयाँ योजनाहरु ? कुन कुन हुन् लगानीको सुरक्षित क्षेत्र ? प्रस्तुत छ उहाँसँग गरिएको विकास वहस । शशिकान्त अग्रवाल, अध्यक्ष, एमएस ग्रुप तपाईकोे व्यवसायिक यात्रा कस्तो भईराखेको छ ? म विजनेशमा आएको ४० वर्ष भयो । हाम्रो कपडा पसल थियो । स्कूलबाट कलेज सुरु गर्दादेखि नै व्यापारमा लागेको हुँ । मेरो हजुरबुवाले भारतबाट कपडा ल्याएर बेच्नुहुन्थ्यो । बुवाले तेश्रो मुलुकबाट कपडा ल्याउन थाल्नु भयो । हामी पुरानो कपडा व्यापारी हौं । पछि कपडाको व्यापार बन्द गरियो र मैले टेक्सटाईलको व्यापार सुरु गरेँ धोवीघाटमा । शहरी विकासका कारण समस्या भएपछि टेक्सटाईल कम्पनी बन्द गरियो । त्यसपछि धागो बनाउने काम सुरु गरियो । अहिले बिराटनगरमा रिलायन्स कम्पनी छ । एउटै छानामुनी ३७ सय मजदुर काम गर्छन् । यस उद्योगको कुल उत्पादनको ३० प्रतिशत नेपालमै खपत हुन्छ । २० प्रतिशत टर्कीमा निर्यात हुन्छ । ५० प्रतिशत अरु देशमा निर्यात गर्छौ । बिरगञ्जमा भगवती स्टील्स छ । महोत्तरी र सिराहामा दुई वटा चिनी उद्योग छन् । एभरेष्ट सुगर र हिमालयन सुगर मिल्स छन् । हिमालयन सुगरले भर्खर उत्पादन सुरु गरेको हो । यस उद्योगमा नेपालमै पहिलो पटक सल्फर फ्री सुगर बनाउँदैछौं । चुना र सल्फर नलाग्ने चिनी हो त्यो । कोका कोला, पेप्सी, डाबर नेपाल र औषधीमा प्रयोग हुनेगरि त्यस्तो चिनी उत्पादन गर्न लागेका हौं । होटल तथा रेष्टुरेन्टको कफीमा त्यस्तो चिनी प्रयोग गरिन्छ । तपाई चिनी उत्पादक संघको अध्यक्ष पनि हुनुहुन्छ, पछिल्लो समय चिनीको भाउ किन बढेको हो ? नेपालमा १० वर्षदेखि मूल्य नबढेको एउटै मात्र खाद्यान्न हो चिनी । १० वर्षअघि प्रतिकिलो ७० रुपैंयाँ थियो होला आज जम्मा ८० रुपैंयाँ मात्रै पुगेको छ । धान, चामल, दालको मूल्य १० वर्षमा तीन गुणाले बढ्यो होला तर चीनीको मूल्य बढेको छैन । पछिल्लो समय केहि मूल्य बढेको देखिन्छ यो विश्व बजारकै कारण हो । तेल, लगायतका कच्चा पदार्थको मूल्य पनि वृद्धि भयो । त्यसकारण चिनीको मूल्य केहि बढेको हो । नेपालमा प्रति वर्ष प्रति व्यक्ति चिनीको खपत १२ किलोग्राम छ । चिनीको मुल्य १५ रुपैंयाँ वृद्धि भयो भने बार्षिक १८० रुपैंयाँ मात्रै व्ययभार थपिन्छ । त्यसकारण यो त्यति ठूलो कुरा होइन । चिनीको मूल्यमा सामान्य हेरफेर हुँदा उपभोक्तालाई खासै असर गर्दैन । तर चिनीको मूल्य बढ्दा विरोधका आवाज धेरै उठेको सुनिन्छ, यस्तो किन भयो ? चामल र दालमा मूल्य वृद्धि हुँदा कोही बोल्दैनन् । तर चिनीको मूल्य बढ्दा हामीलाई गाली गर्छन् । १० वर्षमा अरु समानको मूल्य कति बढ्यो होला ? कामदारको तलब कति बढ्यो ? मेसिनको मूल्य बढेको बढ्यै छ । तैपनि चिनीको मूल्य खासै बढाएका छैनौं । धान उत्पादक किसान संगठित छैनन् । तर उखु उत्पादक किसान संगठित भएका छन् । चिनीको उत्पादनमा दुई लाख किसान छन् र ती सबै जागरुक छन् । अहिलेको संसदमा ४० जना त उखु किसान नै छन् । यस्तो पृष्ठभूमिका कारण पनि चिनीको मूल्यमा राजनीति हुने गरेको छ । उखुको मूल्यमा पनि राजनीतिक रंग देखिन्छ । केही वर्षअघि तपाईले होटल क्षेत्रमा नयाँ लगानीको घोषणा गर्नु भएको थियो, ती योजनाहरु अहिले कुन अवस्थामा छन् ? ठमेलमा १५० कोठा भएको डाउन टाउन होटल निर्माण हुँदैछ । ठमेलमा बन्ने यो होटल तिहारबाट सञ्चालनमा आउँछ । संसारमा ६ हजार होटल रहेको मेरियट होटलको चेनमा त्यो होटल सुरु हुन्छ । अहिलेसम्म ठमेलमा अन्तराष्ट्रिय होटलको चेन नै छैन । यो होटल ठमेलमा खुल्ने वित्तिकै ठमेलमा पर्यटकका लागि नयाँ आयाम थपिन्छ । ठमेलको परिचय नै बदलिन्छ । ठमेलको मेरियट सञ्चालन गरेको १५ महिनापछि नक्सालमा १३० कोठाको अर्काे मेरियट होटल सञ्चालन गर्छाै । यो चाँही फाइब स्टार हुनेछ । रेष्टुरेण्ट, स्पा, क्यासिनो र विभिन्न प्रकारका अन्य सुबिधा आउनेछन् । भक्तपुरमा पनि एउटा रिसोर्ट खोल्ने योजना बनिरहेको छ । त्यसको लागि ६० रोपनी जग्गा लिईसकेका छौं । रिसोर्टको डिजाइन भैरहेको छ । हामीले जुन स्तरको रिसोर्ट बनाउँने योजना बनाएका छौ त्यो स्तरको रिसोर्ट काठमाडौंमा बनेकै छैन । त्यो रिसोर्टमा एउटा कोठाको एक रात बसेको सय देखि ४ सय डलर लाग्छ । यो रिसोर्ट हामी करिव १ वर्षपछि बनाउन थाल्नेछौं । यी होटलहरुमा गरिएको लगानी तपाई एक्लैको हो वा साझेदारीमा हो ? होटलहरुमा हाम्रो एकल लगानी हो । विभिन्न बैंकहरुले फाइनान्स गरेका छन् । ठमेलको होटलमा नेपाल इन्भेष्टमेन्ट बैंक र विश्व बैंकले फाइनान्स गरेका छन् । नक्सालका लागि प्रभु बैंक, सिटिजन्स बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले फाइनान्स गरेका छन् । होटलहरुमा लगानी कति गर्नुभयो ? होटलहरुको लगानीमा ८० प्रतिशत ऋण र २० प्रतिशत हाम्रो क्यास हुन्छ । ठ्याक्कै यति लगानी गरिएको छ भन्न सकिन्न । ठमेलमा एक अर्बको लगानी हो भने नक्सालमा ३ अर्बको लगानी हो । पर्यटन क्षेत्रमा यति ठूलो लगानी गर्दै हुनुहुन्छ, यस क्षेत्र भविष्य कस्तो देख्नु भएको छ ? नेपालका लागि २/३ अर्बको लगानी खासै ठूलो होइन । अर्थतन्त्र निकै अघि बढिसकेको छ । त्यसकारण यो मध्यमस्तरको लगानीको हो । नेपालको पर्यटन उद्योगप्रति म त निकै आशावादी छु । नेपालमा पर्यटकलाई आकर्षित गर्ने जति पनि चिजहरु छन् तिनको प्रचारप्रसार नै भएको छैन । लाजमर्दाे कुरा बर्षमा जम्मा सात/आठ लाख पर्यटक आईरहेका छन् । नेपालमा संसारका सबैखाले पर्यटनको सम्भावना छ । र्याफ्टिङ, ट्रेकिङ, जंगल सफारी, हेरिटेज, सस्कृति, हिमाल लगायतका सबै खाले पर्यटनको सम्भावना छ । मेरो विचारमा नेपालको पर्यटन क्षेत्रलाई ६/८ आठ गुणा बढाउन सकिने सम्भवना रहेको छ । त्यसका लागि प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्नुपर्छ । पछिल्लो समय सेयर बजारमा तपाईलाई ठूलो लगानीकर्ता भन्छन्, कति छ लगानी ? तपाईले जस्तै अरु केही मान्छेले यो प्रश्न गरे । उद्योग उद्योग व्यवसायमा लागेको मान्छे म कहाँ सेयर बजारमा लगानी गर्छु र ? सेयर बजारको लगानी मलाई सुहाउँदैन । औद्योगिक क्षेत्रमा सफल भएको मान्छे सेयर बजारको खेलाडीको रुपमा परिचित हुन चाहान्न । त्यसले राम्रो ब्राण्ड इमेज चाँही दिँदैन । म केही कम्पनीको संस्थापक लगानीकर्ता छु । तर मैले पब्लिक सेयरको कारोबार गर्दिन । बर्षभरीमा दुई चार करोडको साधारण सेयर पनि किन्दिन । मलाई सेयर बजारबारे केहि पनि थाहै छैन । प्रमोटर सेयरमा पनि सधै र सबै अवस्थामा लगानी गर्दिन । त्यसमा पनि प्रमोटर सेयर किन्न ६ महिना लाग्छ । प्रक्रिया नै लामो छ । नेपालका सबै जसो औद्योगिक घराना व्यापारमा केन्द्रीत भएको देखिन्छ, यसतर्फ तपाईको योजना के छ ? अहिलेसम्म हामी व्यापारको कुनै पनि क्षेत्रमा हात हालेको छैन । सर्भिस सेक्टरमा होटलमा लगानी गर्न लागेका हौं । सनराइज हाउजिङ पनि हाम्रै हो । बैंक र इन्स्योरेन्समा केहीमा प्रमोटर बनेका छौं । ग्राण्डमा केही लगानी थियो अहिले प्रभुमा मर्ज भएको छ । शिखर इस्योरेन्सको पनि हामी संस्थापक लगानी कर्ता हौं । होटल तथा रिपोर्टहरु नयाँ योजना हुन् । अहिलेसम्म एमएस ग्रुपको लगानी कति छ ? सबैमा गरेर एक हजार करोडको लगानी गरेको छु । केही नयाँ योजना बन्दैछन् । पुराना उद्योगको अपग्रेडेसनको काम पनि भईराखेको छ । व्यवसाय विस्तारसँगै लगानी बढ्दै जान्छ । कुनै योजना सोचेभन्दा ढिला काम भईराखेको हुन्छ ।