लोकसेवाले कर्मचारीको बढुवामा विभेद गरेकाे छ: अध्यक्ष मैनाली
काठमाडाैं । लोकसेवा आयोगले कर्मचारीहरुको बढुवामा आन्तरिक प्रतियोगिता र खुला प्रतियोगितामा विभेद रहेको धारणा सार्वजनिक गरेको छ । आयोगका अध्यक्ष उमेश मैनालीले सेवामा रहेको व्यक्तिले खुला प्रतिस्पर्धामा आउने योग्य व्यक्तिभन्दा बढी सुविधा पाउने गरेको बताए । मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मैनालीले निजामति सेवा ऐनमा भएको व्यवस्थाले सेवामा निरन्तर रहेको व्यक्तिलाई उमेरको हदमा छुट दिएको तर त्यही पदमा खुलाबाट प्रतिस्पर्धा गर्नेलाई ३५ वर्षको उमेर हद रहेको बताए । संघीय संसदमा विचाराधिन रहेको विधेयकमा विभेद हटाउन आयोगले सुझाव दिएको पनि उनले बताए । लोकसेवा आयोग भोलीबाट पदाधिकारी विहिन हुने भएको छ । २०७१ चैत्र ११ गते नियुक्त सबै पदाधिकारीको चैत्र ११ बाट पदावधि सकिँदैछ । मंगलबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष मैनालीले आयोग पदाधिकारीविहिन हुँदा गम्भिर असर पर्ने अवस्था रहेको बताए । यसका कारण तत्काल बढुवाको सबै प्रक्रिया रोकिने, परिक्षाहरु रोकिने, नतिजा प्रकाशन गर्ने काम रोकिनुकाे साथै उच्च पदका सरकारी बढुवा र अन्तरवार्ताहरु पनि रोकिने अवस्था रहेको उनले बताए । स्व. शुशिल कोइराला नेतृत्वको सरकारले आयोगमा अध्यक्ष मैनाली सहितको पदाधिकारी नियुक्त गरेको थियो ।
नबिल बैंकमा काम गर्न अवसर, माग्यो ८९ जना कर्मचारी
काठमाडौं। नबिल बैंक लिमिटेडले एकैेपटक ठूलो मात्रामा कर्मचारीको माग गरेका छ । बैंकले एक सूचना प्रकाशन गर्दै विभिन्न पदमा ८९ जना कर्मचारीको माग गरेको हो । बैंकले खुला प्रतिस्पर्धाबाट म्यानेजमेन्ट ट्रेनी, ट्रेनी असिस्टेन्ट र सूचना प्रविधिमा कर्मचारीको माग गरेको हो । जसमा म्यानेजमेन्ट ट्रेनीमा १५ जना, ट्रेनी असिस्टेन्ट भनेर ७० जना र माग सूचना प्रविधि (आइटी) मा ४ जना कर्मचारी मागिएको छ । बैंकले सार्वजनिक गरेको सूचना अनुसार म्यानेजमेन्ट ट्रेनीका लागि एक वर्षको परीक्षण अवधि सकिएपछि अधिकृत तहमा पदस्थापन गरिनेछ । उक्त पदका लागि २८ वर्षभन्दा बढी उमेर भएका व्यवस्थापन, अर्थशास्त्र, कम्प्युटर साइन्स, इन्जिनियरिङ मा स्नातकोत्तर पास गरेका उम्मेद्वारले आवेदन दिन सक्नेछन् । यसैगरी, ट्रेनी असिस्टेन्टमा २५ वर्ष पूरा भएको तथा स्नातक पास गरेकाहरुले आवेदन दिन सक्नेछन । सूचना प्रविधि क्षेत्रमा आवेदन दिन आइटी/इन्जिनियरिङमा स्नातक पास गरेको हुनुपर्नेछ । सबै पदका लागि आवेदन गर्ने अन्तिम समय २३ मार्च अर्थात चैत १० सम्म रहेको छ । बैंककाे अनुसार नयाँ माग गरिएका कर्मचारी सातै प्रदेशका लागि रहनेछन् ।
करोड लगानीको रमाको नेभर माइन्ड रेष्ट्रो, कालिजको सुपदेखि बँदेलको तास, काठमाडौं बाहिर ब्राञ्च खोलिदैँ
काठमाडौं । अनामनगरको भाटभटेनीबाट ५० मिटर उत्तरतिर लम्किदा बाटैमा पर्छ, नेभर माइन्ड रेस्ट्रो । तीन महिनाअघि सञ्चालनमा आएको यो रेस्टुराँले छोटो अवधिभित्र बेग्लै छाप छोडिसकेको छ । १३ आना क्षेत्रफलमा नयाँ संरचनामा नेभर माइन्ड रेस्ट्रो सञ्चालनमा आएको हो । पार्किङ सुविधा भएको यो रेस्टुराँको सञ्चालक हुन्, रमाकुमारी शाही । एक चोटी यो रेस्टुराँ पसेपछि ग्राहकले नर्बिसियुन् भनेर युनिक नाम राखेको उनले बताइन् । ९ वर्षका लागि भाडामा लिएर यो रेस्टुराँ सञ्चालनमा आएको हो । राजधानीमा सबैभन्दा बढी समस्या पार्किङकै हुन्छ । यो रेस्टुराँ आउनेहरूले त्यो समस्या भोग्नु पर्दैन । रेस्टुराँको आफ्नै पार्किङ एरिया छ । यहाँ एकै पटक १ सय वटा सवारीसाधन अटाउने क्षमता छ । नेभर माइन्डको मेनु नेभर माइन्डको मेनु अन्यत्र भन्दा फरक छ । ११ वर्ष अनुभव बटुलेका सेफ सूर्य तिमिल्सिना फरक र बेग्लै स्वाद पस्किन सिपालु छन् । रेस्टुराँ सञ्चालक शाहीको दक्षिणकाली र किर्तिपुरमा उनको कालिजको आफ्नै फार्म छ । त्यसै फार्मबाट ल्याइएको कालिजको सुप चखाईन्छ । यहाँ थरीथरी बिर्यानीका आइटम पाइन्छन् । नेभर माइन्ड बिर्यानी, अम्मुर बिर्यानी, दम बिर्यानी जस्ता आइटम उपलब्ध छन् । यो रेस्टुराँमा बँदेलबाट बनाईएका बिभिन्न परिकारहरू चाख्न सकिन्छ । बँदेलबाट बनेको तास, सेकुवाका साथै बँदेल पोलेको, बँदेल डामेको, बँदेल टिम्बुरको स्वाद चाख्न सकिन्छ । यस्तै कालिजका पनि विविध आइटमहरू उपलब्ध छन् । ग्राहकले आफ्नो इच्छा अनुसार कालिजको सेकुवा, कालिजको तास, कालिज पोलेको, कालिजको झोल, कालिज टिम्बुर अर्डर गर्न सक्छन् । लोकल कुखुराका बनेका बिभिन्न परिकार पनि यहाँ उपलब्ध छन् । मम झानेको, नेभर माइन्ड स्पेशल चिल्ली, नेभर माइन्ड स्पाइसी स्पेशल, चिकेन स्ट्राइप्स, चिकेन डाइनामिक यो रेस्टुराँको मेनुमा रुचाइएका परिकार हुन् । ‘अरू रेस्टुराँमा पाइने आइटम पनि यहाँ फरक स्वादका साथ पस्किन्छौंऽ परिकारको सजावट देखेपछि पहिले आँखाले खान्छ, त्यसपछि मात्र मुखले,’ सेफ न्यौपाने भन्छन् । हरेक परिकारको स्वाद लिनका लागि ३५ मिनेट कुर्नुपर्छ । फ्रेस बनाएर पस्किने गरेको उनी बताउँछन् । आकर्षक सजावट नेभर माइन्डभित्र छिर्ने बित्तिकै यहाँको सजावटले आकर्षण गर्छ । भित्तामा कोरिएका आकर्षक पेन्टिङ, लाइटहरुले माहोल नै अर्कै बनाइदिन्छ । ८ वटा भिआइपी क्याबिन छन् । हरेक क्याबिनमा १० जना मानिस बस्न सक्ने क्षमता छ । एउटा ठूलो हल छ, जसमा २५ जना बस्न सक्छन् । बर्थ डे पार्टी र अन्य कार्यक्रम आयोजना गर्न सकिन्छ । भूँइ तलामा ५० जना अटाउने क्षमता छ । यस्तै बारमा ३० जना मानिस अटाउने क्षमता छ । ‘अनामनगर क्षेत्रमा यो ए ग्रेड रेस्टुराँ हो, यहाँ प्रयोग गरेका फर्निचरहरू फाइभ स्टारमा होटेलमा मात्र देख्न पाइन्छ,’ शाही भन्छिन् । लाइट र पेन्टिङमा धेरै लगानी गरेको उनी बताउँछन् । यो रेस्टुराँ एक पटक आएर परिकारको स्वाद चाखेको व्यक्ति फर्केर आउने गरेको शाही बताउँछिन् । सञ्चालक शाहीका अनुसार रेस्टुराँको सुरुवाती लगानी १ करोड रुपैयाँ छ । हाल दैनिक कारोबार ३० देखि ३५ हजार रुपैयाँसम्म हुन्छ । बिभिन्न राजनीतिज्ञ, ब्यापारी, कलाकार, खेलाडी, सेलिब्रिटीहरूले यो रेस्टुराँमा पाइला टेकिसकेका छन् । सबैले हौसला र उत्साह दिएको शाही बताउँछिन् । शाहीलाई उनको घर, परिवारबाट एकदमै सहयोग र साथ छ । रेस्टुराँ बिहान ९ बजेदेखि राती ११ बजेसम्म खुल्छ । नेभर माइन्डमा कर्पोरेट कल्चर छ । सबै स्टाफहरूको फाइभ स्टारकै जस्तो ड्रेस छ । सर्भिस विद् स्माइल भन्ने नीतिलाई अवलम्बन गरिएको छ । होटेल म्यानेजमेन्ट पढेका विद्यार्थीहरू नै यहाँ कार्यरत छन् । रेस्टुराँमा १६ जना स्टाफ छन् । किचेनमा ७ जना, ५ जना वेटर, मार्केटिङ म्यानेजर र क्यासमा ४ जना र रेस्टुराँको जिएम एक जना छन् । यहाँ हरेक हप्ता स्टाफहरुलाई टेबल सेटिङ, सजावट, टेबल म्यानर, खान सर्भ गर्ने तरिका, अतिथिलाई स्वागत, सत्कार गर्ने विषयमा प्रशिक्षण दिइन्छ । अबको केही समयपछि राजधानीमा नेभर माइन्ड रेस्टुराँका ब्राञ्च खोल्ने तयारी भईरहेको सञ्चालक शाही बताउँछिन् । ‘राम्रो बजार लिदै गए उपत्यका बाहिर पनि सुरु गर्ने योजना छ,’ शाही भन्छिन् ।