काठमाडौंमा जब फेयर हुने, ३ हजारलाई रोजगारी दिने एस्पायर जब्सको दावी

काठमाडौं । काठमाडौंमा नेपाल जब फेयर–२०२१ को आयोजना हुँदैछ । एस्पायर जब्सले भोली बिहिबारदेखीदेखी आयोजना गर्न लागेको जब फेयर तीन दिनसम्म सञ्चालन हुनेछ । रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाता कम्पनीलाई एकै स्थानमा भेला गराउने उद्देश्यले कार्यक्रम आयोजना हुन लागेको हो । यस फेयरले कामको खोजीमा रहेका युवा र रोजगारदाता कम्पनीबिच सिधै छलफल, अन्र्तक्रिया गर्ने अवसर जुराउँदैछ । यसमा करिब फेयरमा एक सय भन्दा बढी रोजगारदाता कम्पनीको सहभागिता रहनेछ । आयोजक एस्पायर जब्सले ३ हजार बढीलाई रोजगारी प्रदान गर्ने दावी गरेको छ । फेयरमा भर्चुअल तथा भौतिक रुपमा सहभागी बन्न सकिनेछ । कम्पनीले अन्तवार्ताका माध्यमबाट दक्ष कामदार छनौट गर्नेछन् । फेयरमा हस्पिटालिटी, एभियसन, उद्यमशीलता, वैदेशिक अध्ययन लगायत विविध क्षेत्रसँग सम्बन्धित करिअर सेमिनार सेसनहरु चल्नेछन् । अशक्त नागरिकहरुका लागी विशेष अवसर रहेको आयोजकले बताएको छ । यस बाहेक कार्यालय सहयोग, रिसेस्सनिष्ट, कल सेन्टर एजेन्ट, डाटा इन्कोडर जस्ता क्षेत्रमा जागिरको अवसर रहेको छ । काठमाडौंको सोल्टि क्राउन प्लाजामा  फेयर सञ्चालन हुने छ । यस फेयरमा राजनीतिक विश्लेषक एवं अर्थशास्त्री हरि रोका, रोजगार विज्ञ प्रा.डा.रमेशप्रसाद कोइराला, नेपाल विद्युत प्राधिकरकणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ नोट स्पिकरका रुपमा रहनेछन् । यस्तै सिएनएन हिरो अनुराधा कोइराला, पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य, रोजगारविद् डा. गणेश गुरुङ, बैंकर रविना देशराज श्रेष्ठलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । आयोजक एस्पायर जब्सका अनुसार यो नेपालकै ठूलो मानव शंसाधन सम्बन्धीको फेयर हो । यस कार्यक्रमलाई नर्दन लाइट् एकेडिमी अफ एभियसन एण्ड टेक्नोलोजी, इन्टरस्काफ सेफ्टी ट्रेनिङ सोल्युसनले प्रायोजन गरेको छ ।

सरकारले दिदैछ ६० विषयमा नि:शुल्क सीपमूलक तालिम, यसरी दिन सकिन्छ अनलाईन आवेदन

काठमाडौं । नेपाल सरकारले बिभिन्न ६० वटा विषयमा नि:शुल्क सीपमूलक तालिम प्रदान गर्दैछ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलुु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले विभिन्न ६० वटा विषयमा सीपमुलक, सीप अभिवृद्धि एवं उद्यमशीलता विकास तालीम सञ्चालन गर्न लागेको हो । हाउस वायरिङ, फेसन डिजाइन, बेकरी एड्भान्स, मोबाइल मर्मत, मोटरसाइकल मर्मत, कफी वारिस्टा, फेस मास्क बनाउने लगायत विभिन्न ६० वटा शिर्षकहरुमध्ये आफ्नो रुचिको विषयमा आवेदन दिन सकिनेछ । भविष्यमा उद्यम व्यवसाय गर्न इच्छुक व्यक्तिले अनलाइन आवेदनका माध्यमबाट यस तालीममा भाग लिन सक्नेछन् । आवेदकले केन्द्रको वेवसाइट www.mcsipc.gov.np मा गएर आवेदन पेश गर्न सक्नेछन् । मंसिर १९ गते आवेदन खुलाएको यस तालिममा २१ दिनभित्र आवेदन पेश गर्न आह्वान गरिएको छ । १८ वर्ष पुगेका नेपाली नागरिकले माघ १३ गतेभित्र यस तालीमका लागी आवेदन दिन सक्न्ेछन् । केन्द्रका अनुसार एक जनाले दुई भन्दा बढी तालिममा आवेदन दिन पाईने छैन । देशभरबाट आवेदन दिने मध्ये छनौटमा परेकालाई वेवसाइट तथा ईमेलमार्फत तालीम हुने स्थान र मितिबारे जानकारी गराईने केन्द्रले जनाएको छ ।

नेपालका सबैभन्दा बढी कर तिर्ने प्रोफेसनलहरुः गत वर्ष कुन बैंकका सिइओले कति तलब बुझे ?

काठमाडौं । नेपालमा सबैभन्दा बढी तलब भत्ता बुझ्ने प्रोफेसनलहरुमा बैंकर अगाडि छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुको तलब भत्ता तथा आर्थिक सेवा सुविधा अन्य क्षेत्रका प्रफेसनलकोभन्दा बढी भएको चर्चा हुने गर्छ । बैंक तथा वित्तीय संस्थाहरुको सबै आम्दानी र खर्च पारदर्शी हुने भएकोले पनि बैंकरको तलब तथा भत्ता सार्वजनिक हुने गरेको छ । अन्य क्षेत्रका प्रफेसनलहरुले प्राप्त गर्ने सेवा सुविधा गोप्य नै रहने भएकोले पनि बैंकरको आम्दानीमा सबैको आँखा लाग्ने गरेको हो । बैंकका सिइओहरुको तलबमा ३६ प्रतिशतसम्म कर लाग्छ । त्यसकारण यहाँ उल्लेख गरिएजति रकम उनीहरुले लान पाउने भने होइनन् । तर, बैंकहरुले भने सिइओको लागि सो बराबरको रकम तिरेको भने हुन्छ । बैंकहरुले प्रकाशित गरेको वार्षिक प्रतिवेदनमा प्रमुख कार्यकारी अधिकृतहरुलाई कति रकम दिइयो भनेर उल्लेख गरिएको हुन्छ । यहाँ उल्लेख गरिएको तलब तथा भत्ता रकम गत आर्थिक वर्षभरीमा बैंकहरुले प्रदान गरेको रकम हो । बैंकको वार्षिक प्रतिवेदन अनुसार सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले गत आर्थिक वर्षमा १ करोड ४६ लाख रुपैयाँ तलब भत्ता बुझेका छन् । यस्तै, बैंक अफ काठमाडूका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले २ करोड ८१ लाख रुपैयाँ बुझेका छन् । एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई बैंकले गत आर्थिक वर्षमा २ करोड ५० लाख रुपैयाँ तलब भत्ता प्रदान गरेको छ । गत आर्थिक वर्षको बैशाख १ गतेदेखि लागु हुने गरी माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष कोइरालाले पाएका थिए । सोभन्दा अघि माछापुच्छ्रे बैंकको सिइओ सुमन शर्मा थिए । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष आफ्नो प्रमुख कार्यकारी अधिकृतलाई २ करोड २३ लाख रुपैयाँ तलब भत्ता प्रदान गरेको छ । मेगा बैंकले प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीलाई १ करोड ७० लाख रुपैयाँ तलब भत्ता प्रदान गरेको छ । खुञ्जेली अहिले संचालनमा रहेका २७ वाणिज्य बैंकमध्ये एक्ली प्रमुख कार्यकारी अधिकृत महिला हुन् । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले गत आर्थिक वर्षमा १ करोड ७५ लाख रुपैयाँ तलब भत्ता बुझेका छन् । यस्तै, लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहलाई बैंकले १ करोड ९ लाख रुपैयाँ तलब भत्ता प्रदान गरेको छ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले गत आर्थिक वर्षमा २ करोड ५८ लाख रुपैयाँ तलब भत्ता बुझेका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनिर्भन घोष दस्तियारले तलब तथा भत्ता २ करोड ८७ लाख र अन्य सुविधा १ करोड १० लाख रुपैयाँ बुझेका छन् । सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले १ करोड ३१ लाख रुपैयाँ तलब तथा भत्ता बुझेका छन् ।