पर्यटन बोर्डमा २५ जनालाई जागिर खुल्यो, पीपीपीको उत्कृष्ट संस्था भएकोले पारिश्रमिक आकर्षक हुने

काठमाडौं १०, माघ। नेपालको एकमात्र सार्वजनिक निजी साझेदारी (पीपीपी) उत्कृष्ट नमूना मानिएको संस्था नेपाल पर्यटनमा २५ जना अधिकृतको लागि जागिर खुला भएको छ । खुलाबाट १४ जना र ११ जनालाई रोजगारी दिने गरी बोर्डले पदपूर्तिको सूचना जारी गरेको छ । यसमध्ये समावेशीतर्फ ४ जना महिला, ३ जना आदिवासी जनजाती, २ जना मधेसी, र एकएक जना दलित र अपांग रहेको पनि बोर्डले जारी गरेको पदपूर्ति सूचनामा उल्लेख छ । यसबाहेक बोर्डले १० जना प्रवन्धकको पनि बढुवा गर्ने भएको छ । ८ जना प्रवन्धक वरिष्ठताका आधारमा र २ जना भने आन्तरिक प्रतियोगिताबाट बढुवा गर्ने भएको बोर्डले जानकारी दिएको छ  बोर्डले गत कात्तिक अन्तिम साता लोकसेवा आयोगबाट बोर्डमा कर्मचारी दरबन्दी पूरा गर्न अनुमति पाएको थियो । सोही अनुमति पछि पर्यटन बोर्ड संचालक समितिले गरेको निर्णय अनुसार आन्तरिक बढुवा र खुला प्रतिस्पर्धाको लागि सूचना जारी भएको पनि बोर्डले जानकारी दिएको छ । २१  दिनभित्रै आवेदन दिनुपर्ने बोर्डले स्नातकोत्तर तह उर्तिण गरेकालाई मात्रै आवेदन दिन सक्ने जानकारी दिएको छ । बोर्डले आगामी २१ दिनभित्र र दोब्बर दस्तुर तिरेर अर्को एक साता रोजगारीको लागि आवेदन दिन पाउँने व्यवस्था गरेको छ । बोर्डमा आवेदन दिन अधिकृततहको लागि अनिवार्य स्नातकोत्तर तह उर्तिण हुनुपर्ने व्यवास्था भएकोले सो भन्द कमको शैक्षिक योग्यताका नागरिकले आवदेन दिन पाउँने छैनन् । बोर्डले अधिकृतको लागि १ हजार रुपैयाँको आवेदन दस्तुर तोकेको छ । नेपाल पर्यटन बोर्ड करीब दुई दशक अगाडि स्थापना भएको पीपीपी मोडलको संस्था हो । बोर्डले ६२ जना कर्मचारीको दरबन्दी रहेको भएपनि पछिल्लो समय अख्तियार दुरपयोग अनुसान्धान आयोगको कारवाहीका कारण चार जना निर्देशकसहित बोर्डका आधा दर्जन भन्दा बढी कर्मचारी निलम्बनमा भने दरबन्दीको आधा मात्रै कर्मचारी बोर्डमा कार्यरत छन् । तल्लो तहका कर्मचारी मात्रै हुदाँ बोर्डलाई काम गर्न निकै असहज भएकोले पनि आन्तरिक बढुवा गर्ने र खाली भएको तल्लो तह अर्थात अधिकृत स्तरका कर्मचारी भने नयाँ भर्ना गर्ने गरी बोर्डले तयारी गरिरहेको छ । बोर्डमा सीईओ भन्दा तल वरिष्ठ निर्देशक तथा निर्देशक अहिले खाली छन भने दुई जना प्रवन्धक मात्रै रहेका छन् । बोर्डमा कर्मचारी अभावकै कारण चाहेर पनि बोर्डले गति लिन नसकेको उल्लेख छ । बोर्डले नेपाल आउने विदेशी पर्यटक फर्कदा प्रति पर्यटक एक हजार रुपैयाँ सेवा शुल्क लिने गरेको छ । बोर्डको आम्दानीको प्रमुख स्रोत पनि यहि हो । बोर्डले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड विक्री गर्ने र बोर्डको अन्य स्रोतबाट गरेर बार्षिक एक अर्ब रुपैयाँ भन्दा बढीको बजेट बनाउने गरेको छ । बोर्डको प्रमुख उद्देश्य नै अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन र विकास गर्ने भएकोले बोर्ड नेपालको पर्यटनको प्रमुख निकाय पनि हो । नेपालकै पर्यटनको आकर्षणको केन्द्र पनि बोर्ड नै हो । बोर्डमा अधिकृत स्तरका कर्मचारीको पनि आकर्षक सेवा र सुविका हुने भएकोले बोर्डको जागिरप्रतिको आकर्षण बढेको उल्लेख छ । बोर्ड स्रोतका अनुसार अन्य निजी तथा सरकारी संस्थाको तुलनामा निकै आकर्षक सेवा सुविधा बोर्डका कर्मचारीलाई हुने गरेको छ ।

श्रम स्वीकृतिको अनलाइन सेवाः ‘बाँदरको हातमा नरिवल’ सरह, सेवा सुरु नै हुन सकेन

काठमाडौं १०, माघ । यो महिनाको सुरुवातदेखि नै थालनी गर्ने भनिएको व्यक्तिगत श्रम स्वीकृतिको अनलाइन सेवा अन्योलमा परेको छ । निकै लामो प्रयास र ठूलो लागानीमा तयार गरिएको अनलाईन सेवा सुरु हुन नसकेपछि सेवाग्राहीले त्यसको दोष कर्मचारीलाइ दिन थालेका छन् । वैदेशिक रोजगारीमा जाने कामदारलाई सहजता दिन तथा यस क्षेत्रमा भइरहेको विकृति रोक्ने उपायस्वरुप सुरु गरिएको अनलाईन सेवा थाल्न नसक्दा कतिपयले बाँदरको हातमा नरिवल‘ भन्न थलेका छन् । वैदेशिक रोजागरीको क्षेत्र अस्तव्यस्त र वदनाम हुनुका विभिन्न कारणमध्ये पूर्वस्वीकृति र अन्तिम स्वीकृति कागजी प्रक्रियाबाटै दिइनुलाई मुख्य रुपमा लिने गरिएको छ । अघिल्लो महिनाको पुस ३ गते श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा जाने लाई सहज दिन अनलाइन सेवा सुरु भएको घोषणा गरेको थियो । नागरिक दैनिकबाट ।

पतञ्जली उद्योगमा मालिक नेपाली, रोजगारी भारतीयलाई

विरगन्ज ७, माघ । गएको मंसीर १ गते निकै तामझमका साथ उद्घाटन भएको पतञ्जली आयुर्वेदिक उद्योग वीरगन्जको मालिक भने नेपाली रहेको पाइएको छ । रामदेव आफैंले लगानी गर्ने अवस्था नरहेपछि नेपालको सिरहा जिल्लाका एक स्थानिय महिलालाई कम्पनीको मालिक बनाई उनलाई जिम्मेवारी दिईएको उद्योग स्रोतले जनाएको छ । हुन त वीरगन्जमा भनिएपनि यो उद्योग वीरगन्जसँग सीमा जोडिएको बाराको प्रसौनी गावसको वडा नम्बर ९ मा सञ्चालि छ । उद्योगमा अधिकांश भारतीय मूलका नागरिक कार्यरत रहेको पाइएको छ । यद्यपि उद्योगका बिक्री तथा बजार व्यवस्थापक प्रमुख विकास बिडारीले भने प्राविधिक काम बाहेक सकै काममा नेपालीलाई राखिएको जिकिर गरेका छन् । उनले केहि कर्मचारी मात्रै भारतीय रहेको र सबै नेपाली रहेको जिकिर गरेका छन् । नेपाल समाचारपत्र दैनिकबाट ।