कोरियाबाट फर्केका नेपालीलाई नेपालमै रोजगारीको अवसर, यी पाँच कम्पनीले यस्तो काम दिंदैछन्
काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा काम गरी फर्केका युवालाई नेपालमै रोजगारीको अवसर उपलब्ध गराउनेसम्बन्धी समझदारी भएको छ । नेपाल भ्रमणमा रहेका कोरियाको मानव संशाधन विभागका उपाध्यक्ष र नेपालमा रहेका विभिन्न कोरियाली कम्पनीका प्रमुखबीच कोरियाबाट फर्केका नेपाली युवालाई काम दिलाउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीसँगै कोरियाबाट फर्केका नेपालीले कोरियाली प्रवद्र्धक रहेका विभिन्न पाँच वटा कम्पनीमा रोजगारीको अवसर प्राप्त गर्ने वैदेशिक रोजगार विभाग, इपिएस शाखाका प्रमुख कृष्णप्रसाद खनालले जानकारी दिए । उनले भने, “भाषा परीक्षा उतीर्ण गरी कोरिया गएका नेपालीले त्यहाँका भाषा, कला संस्कृतिका बारेमा जानकारी हासिल गरेका हुन्छन्, उनीहरुलाई नै विभिन्न कोरियाली प्रवर्तक रहेको कम्पनीमा रोजगार उपलब्ध गराउने समझदारी भएको हो ।” कोरियाबाट फर्केका नेपालीले पर्यटक पथप्रदर्शक, कोरियाली लगानी भएको जलविद्युत् आयोजनालगायत विभिन्न क्षेत्रमा रोजगारको अवसर प्राप्त गर्ने उनले बताए । मानव संशाधन विभागका उपाध्यक्ष र वल्र्डवक्ता नेपाल शाखा, कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल, इयु योङहोङ फाउनण्डेसन, नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कर्पोरेशन लिमिटेडका प्रतिनिधबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
कर्मचारी समायोजनका लागि सूचना सार्वजनिक, २१ दिनभित्र अनलाइन फारम भर्नै पर्ने
काठमाण्डौ । सरकारले निजामती कर्मचारी समायोजनका लागि सूचना सार्वजनिक गरेको छ। सामान्य प्रशासन मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै सूचना सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा समायोजनमा जाने कर्मचारीले मन्त्रालयको वेबसाइटबाट फारम भर्नुपर्ने बतायो । मन्त्रालयले २१ दिनभित्र अनलाइन फारम भर्न बाध्यकारी सूचना जारी गरेको हो । कर्मचारी समायोजन अध्यादेश २०७५ दफा ५ को उपदफा १ बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समयोजन गर्न समायोजन डट जिओभी डट एनपीमार्फत् अनलाइन फारम भर्नु पर्नेछ । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा अध्यादेशअनुसार अनलाइन फारम नभर्ने कर्मचारीलाई जर्बजस्ती समायोजन प्रक्रियामा सामेल गराइने उल्लेख छ। मन्त्रालयले देशभर १ लाख ३८ हजार १७८ दरबन्दी कायम गरिएको जानकारी दिएको छ। नयाँ दरबन्दीअनुसार संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ दरबन्दी रहने छन्।
बेलायतमा साना उद्योग बन्द हुँदा १५० हजार रोजगारी गुम्यो, कति नेपाली प्रभावित ?
बेलायत । संयुक्त अधिराज्य (यूके) मा समस्याग्रस्त अवस्थामा रहेका फुटकर व्यवसायीहरुले सन् २०१८ मा एक लाख ५० हजार रोजगारका अबसरको कटौति गरेका छन् । व्यवसायिक सम्पत्तिमाथि लगाइएको उच्च कर, फुटपाथ व्यवसायको विकास र बढ्दो अनलाइन कारोबारका कारण रोजगारीका अबसरलाई कटौति गर्नुपरेको सोमबार सार्वजनिक एक अध्ययनले देखाएको छ । बेलायतमा करिब २० हजार पसल तथा रेष्टुरेण्ट बन्द भएपछि एक लाख ४८ हजार १३२ जनाको जागिरमा कटौति गरिएको बेलायतको प्रेस एसोसिएसन न्यूज एजेन्सीले सेन्टर फर रिटेल रिसर्च (सिसिअनर) जनाएको छ । बेलायतको यूरोपेली यूनियनबाट हुन लागेको बहिर्गमनले पार्ने प्रभाबबारे विभिन्न प्रक्षेपणहरू भइरहँदा फुटकर व्यवसायको भविष्य थप अन्धकारतर्फ धकेलिइरहेको बताइएको छ । “बेलायती संसदमा बहिर्गमनका प्रभावबारे छलफलहरू चलिरहेका समय व्यापार दर र निम्न वृद्धिदरका कारण फुटकर र महङ्गा पसलहरूमा निकै नकारात्मक प्रभाव परिरहेको छ,” सीआरआरका निर्देशक प्राध्यापक जोसुवा बामफिल्डले बताए । “हामीलाई के कुराको महशुस भएको छ भने यदि सरकारबाट अनलाइन व्यापारी र ‘आइ स्ट्रिट’ कुनै प्रभावकारी कदम चालिएन भने सन् २०१९ मा पनि व्यापकरूपमा रोजगारका अवसर कटौति हुने खतरा देखिएको छ ।” यो बर्ष व्यवसायिक करमा गरिएको वृद्धि तथा घरभाडामा बजेट विस्तारका कारण बेलायती फुटकर व्यापारीहरूले अनलाइन व्यापारीसँगको प्रतिस्पर्धामा पीडित बन्नुपरेको छ र यि सबै घटना ब्रेक्जिटबारे अन्यौल देखिइरहेका समय भएका छन् । नेपालबाट अध्ययनका लागि बेलायत गएका धेरै विद्यार्थीहरुले त्यस्तै साना उद्योग व्यवसायमा काम गर्दै आईरहेका छन् । साना उद्योग व्यवसाय बन्द हुन थालेपछि नेपाली विद्यार्थीलाई समेत प्रभाव पर्ने बताइन्छ ।