मेयर बालेनको सचिवालयले भन्यो : प्रहरीले मानवीय संवेदना ख्याल नगरी धम्क्यायो
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको सचिवालयले प्रहरीले सामान्य मानवीय संवेदनासमेत ख्याल नगरी असभ्य व्यवहार गरेको बताएको छ । शनिबार सरकारी गाडी प्रयोग भएको र मेयर साहले सोसल मिडियामार्फत दिएको ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्ने अभिव्यक्तिको बचाउ गर्दै मेयरका स्वकीय सचिव भुपदेव शाहले विज्ञप्ति प्रकाशन गरेका हुन् । काठमाडौं महानगरपालिका प्रमुख र धर्मपत्नी सबिना काफ्लेलाई सरकारी सवारी साधन उपयोगको विषयसँग जोडेर प्रकाशन/प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको साहको सचिवालयले बताएको छ । सुत्केरी अवस्थामा रहेकी बालेन पत्नी काफ्लेको स्वास्थ्यमा एकाएक जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको महानगरपालिकाको सरकारी गाडी प्रयोग गरिएको सचिवालयले बताएको छ । काफ्लेले स्वास्थ्य परीक्षण र एनआइसीयुमा भर्ना रहेको शिशुलाई स्तनपान गराइ फर्किने क्रममा राती करिब ९ बजे कोटेश्वरमा ट्राफिक प्रहरीले चेकजाँचको क्रममा असभ्य व्यवहार गरेको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे ।सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्वन नगरी प्रहरीले ‘ढोका खोल’, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सबिना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो’, विज्ञप्तिमा भनिएको छ, ‘प्रसव पीडा र शारीरिक समस्यामा एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको यस प्रकारको असभ्य व्यवहार अत्यन्त निन्दनीय तथा खेदजनक छ ।’ सवारी चालकले ट्राफिक प्रहरीलाई विशेष परिस्थितिमा सरकारी गाडी प्रयोग गर्नु परेको ब्यहोरा जानकारी गराएको, बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको जानकारी गराएको तर, नगर प्रमुखसहितको परिचय खुलाए पछि प्रहरीको व्यवहार झन् बढी आक्रामक भएको विज्ञप्तिमा उल्लेख छ । ट्राफिक प्रहरीलाई आपतकालिन अवस्थाको बारेमा जानकारी गराउँदा पनि ‘मैले चाहे भने यतै राख्न सक्छु’ भनेर धम्की दिएको स्वकीय सचिव शाहले विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘कर्तव्य पालनाका क्रममा मादक पदार्थ, गुट्खा लगायत सूर्तीजन्य पदार्थ सेवन गर्ने, सवारी साधन जाँच गर्दा रुखो बोलेर हप्काई दप्काइ गर्ने व्यवहार भयो । कानुनको उल्लङ्घन भएको भए चिट काटेर आवश्यक कारबाही गर्ने वैधानिक बाटो छोडेर सबिना काफ्लेलाई अस्वभाविक प्रश्न गरिएको थियो’, विज्ञप्तिमा भनिएको छ । प्रहरीले मेयर साहको गाडी रोकेको भन्दै बालेन साहले शनिबार राती सोसल मिडियाबाट सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका थिए । उनले सरकारलाई ‘चोर सरकार’ भनेका थिए । सोसल मिडियामा साहको अभिव्यक्तिबारे विभिन्न टिप्पणी भइरहेका छन् ।
रेल्वे कम्पनीको प्रबन्ध निर्देशकमा झा नियुक्त, भन्छन्-रेललाई नाफामा लान्छु
काठमाडौं । नेपाल रेल्वे कम्पनीको प्रबन्ध निर्देशकमा निरंजन कुमार झा नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले झालाई प्रबन्ध निर्देशकमा आइतबार नियुक्त गरेको हो । झाले दिउसो ३ बजे मन्त्रालयबाट नियुक्ति पत्र प्राप्त भएको बताए । ‘अहिले अपरेसनमा आइरहेको ठाउँलाई व्यवस्थित गर्ने छु, विराटनगर –बुद्धनगर–लहान–पट्नासम्म नियमित रूपमा कार्गो रेल सञ्चालन गर्ने पहल हुने छ,’ उनले भने । कम्पनीलाई नाफामा लैजानको लागि पनि आफ्नो भूमिका हुने झाले जानकारी दिए । झा कम्पनीमा पहिलो पटक भदौ २०७८ मा संघीय समाजवादीको कोटामा प्रबन्ध निर्देशकमा नियुक्त भएका थिए । उनको पदावधि सकिए लगत्तै मन्त्रालयले उनैलाई पुन नियुक्त गरेको हो ।
दानपत्रमा प्राप्त भएको जग्गा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार सो गाउँपालिका–२ को वडा कार्यालय भवन निर्माणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको पाइएपछि मुद्दा दायर गरिएको हो । निःशुल्क रुपमा दानपत्रमार्फत प्राप्त भएको जग्गालाई छ लाख खरिद गरेको भनी देखाइ भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जीवन सुवेदी र तत्कालीन वडा नं २ का तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेतविरुद्ध बिगो बमोजिमको कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।