काबुलमा मारिएका प्रतिपरिवारलाई दश लाख रुपैयाँ राहत

काठमाडौं, १० असार । सरकारले काबुल घटनामा परी मृत्यु हुने परिवारलाई राहतस्वरुप प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानको काबुल घटनामा परी मुत्यु भएका १३ नेपालीका परिवारलाई प्रतिपरिवार १० रुपैयाँ लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिए । बैठकले अफगानिस्तानको काबुलमा यही असार ६ गते आतङ्ककारी आक्रमणमा १३ नेपालीको मृत्यु भएको घटनाको निन्दा र भत्र्सना गर्दै घटनामा परी मृत्यु हुनेप्रति श्रद्धाञ्जलिका सार्थ सबै परिवारजनमा समवेदनासहित शोक प्रस्ताव पारित गरेको छ । काबुलमा भएको आतङ्ककारी आक्रमणमा नेपालीको मृत्यु भएको घटनालगत्तै सरकारले काबुलबाट तिनको शव बुधबार नेपाल एयरलाइन्सको एयरबस चार्टर गरी काठमाडौं ल्याएर आफन्तलाई बुझाएको थियो । बैठकले काबुल घटनाका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारको प्रबन्ध गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले नेपालीका लागि तत्काल अफगानिस्तान जान रोक लगाई श्रम स्वीकृति बन्द गर्ने र त्यहाँ रहेका नेपालीको सुरक्षाबारे अफगान सरकारसँग कूटनीतिक वार्तालाप गरी सुरक्षाको सुनिश्चितता गर्ने तथा असुरक्षित महसुस गरी नेपाल फर्कन चाहने नेपालीलाई आवश्यक सहयोग गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले लिबिया, इराक र सिरिया जान पूर्ण रोक लगाउने समेत निर्णय गरेको छ । उक्त घटनाबारे अन्य समग्र पक्षको विस्तृत अध्ययन गरी प्रतिवेदन बुझाउन श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिइएको छ । त्यसैगरी लगानी बोर्डको कार्यकारी प्रमुखमा महाप्रसाद अधिकारीलाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरिएको छ । सरकारले नेपाल फिलाटेलिक सोसाइटीको स्वर्ण महोत्सवका अवसरमा एक हजार रुपैयाँका दरको चाँदीको १२ ग्रामको दुई हजार थान र १०० रुपैयाँका दरले क्युप्रोलिकेल धातुको ८.५ ग्रामको चार हजार थान स्मारिका टकमरी निस्काशन गरिने निर्णय पनि गरेको सूचना तथा सञ्चारमन्त्री राईले बताए । बैठकले भारतीय आशिष चटर्जीले बाँके र मोहन पाण्डेले पर्सा जिल्ला प्रशासन कार्यालयबाट झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएकामा ती नागरिकता ऐन बमोजिम रद्द गरी नेपाली नागरिकताबाट हटाउने र सो नागरिकता प्रदान गर्ने अधिकारीलाई छानबिन गरी तत्काल कारबाही गर्ने निर्णय गरेको छ । रासस

अनलाइन निर्देशिका संशोधन हुन्छ : मन्त्री राई

काठमाडौं, ९ असार । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सरकारले जारी गरेको अनलाइन सञ्चारमाध्यम निर्देशिका– २०७३ लाई आवश्यक संशोधन गरिने बताएका छन् । प्रेस चौतारी नेपालले बिहीबार सो निर्देशिका तत्कालका लागि फिर्ता लिन ध्यानाकर्षण गराएपछि मन्त्री राईले अनलाइन सञ्चार क्षेत्रको मूल प्रवाहमा आइसकेको सन्दर्भमा यसलाई व्यवस्थित गर्न हाल कानुन नभएकाले निर्देशिका ल्याइएको स्पष्ट गरे। राईले निर्देशिकामा भएका संविधानको मर्मसँग बाझिएका केही बुँदाका सम्बन्धमा प्रश्न उठेकाले संशोधनका लागि गठित कार्यदलको सुझाव बमोजिम चाँडै निर्णयमा पुगिने जनाए । मन्त्रालयले नेपाल पत्रकार महासङ्घ, प्रेस काउन्सिल नेपाल र अनलाइन पत्रकार सङ्घका अध्यक्ष रहेका कार्यदल गठन भएको छ । सरकारका प्रवक्ता राईले भने, “यो सरकार प्रेसलाई अङ्कुश लगाउन खोज्दैछ भनेर जुन ढङ्गले हल्ला मच्चाइएको छ, त्यस्तो होइन, निर्देशिका आवश्यक भएरै ल्याइएको हो, यो खारेज वा फिर्ता होइन, संशोधन हुन्छ ।” चौतारीका अध्यक्ष गणेश बस्नेतले संविधानको मर्म र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मान्यताविपरीत निर्देशिका आएकाले अविलम्ब फिर्ता गरी सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिले तय गर्ने आमसञ्चार नीतिभित्र अनलाइनको व्यवस्थापनको विषय राख्न माग गरे। रासस

उपत्यकाका प्रमुख सडक झिलीमिली हुँदै, एक हजार भन्दा बढी सौर्यबत्ती जडान गरिने

काठमाडौं, ९ जेठ । आगामी डेढ वर्षभित्र काठमाडौं उपत्यकाका प्रमुख सडकमा सौर्य ऊर्जा जडान गरी झिलिमिली गराइने भएको छ । महानगरपालिकाका सार्वजनिक निजी साझेदारीका प्रमुख शिव अधिकारीका अनुसार उपत्यकाका मुख्य सडकमा सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत उपत्यकामा एक हजार ८५ सौर्यबत्ती जडान गर्न लागिएको हो । काठमाडौंंका मुख्य सडकलाई उज्यालो बनाउने उद्देश्यका साथ ल्याइएको उक्त कार्यक्रमका लागि कामपाले गत जेठ २७ गते सूचना बोलपत्र आह्वान गरिसकेको छ । बोलपत्रका लागि हालसम्म २० भन्दा बढी कम्पनीले फाराम भरिसकेका छन् । कामपाले यही असार १२ गतेसम्मका लागि आवेदन खुला गरेको छ । सौर्यबत्ती जडानका लागि महानगरले तीन छुट्टाछुट्टै खण्ड पहिचान गरेको छ । सोअनुसार कलङ्कीदेखि माइतीघर, केशरमहल चोकदेखि ठमेल तथा क्षेत्रपाटी हुँदै सोह्रखुट्टेसम्म सौर्यबत्ती राखिने छ । त्यस्तै सोह्रखुट्टेबाट बालाजु र नयाँ बसपार्कमा गरी पहिलो चरणमा चार सय खम्बा गाडिने कामपाको भनाइ छ । त्यस्तै दोस्रोे चरणमा दरबारमार्गदेखि काठमाडौं प्लाजा, कृष्ण पाउरोटी सडक तथा गौशालामा सौर्यबत्ती राखिने छ । त्यस्तै ज्ञानेश्वरदेखि मैतीदेवी, बत्तीसपुतली, मैतीदेवी, डिल्लीबजार र पुतलीसडकमा तीन सय सौर्यबत्ती जडान गरिने छ । महानगरले पहिचान गरेको तेस्रो चरणमा ती सय ८५ खम्बा राखिने छ । सो चरण अन्तर्गत पुरानो बानेश्वर, रत्नराज्य स्कुल हुँदै शङ्खमूल पुलसम्म, तीनकुने कोटेश्वर हुँदै नरेफाँट र पुरानो बानेश्वर, भीमसेनगोला हुँदै सिनामङ्ल चोकसम्म सौर्य बत्ती जडान गरिने बताइएको छ । रासस