सडक अवरुद्ध हुँदा खाद्यान्न ढुवानीमा समस्या

भोजपुर, ७ साउन । वर्षात्का कारण सडक अवरुद्ध भएपछि भोजपुरको पूर्वी चम्पे गाविसका स्थानीयवासीलाई खाद्यान्नलगायतका सामग्री ढुवानीमा समस्या भएको छ । प्याउलीदेखि चम्पे हुँदै हिलेभन्ज्याङ जोड्ने करिब सात किमी सडक पहिरोका कारण अवरुद्ध हुँदा स्थानीयवासी मारमा परेका हुन् । त्यसैगरी, प्याउली, याङपाङ हुँदै बोक्ताम जोड्ने सडक पनि वर्षात्को कारण भत्केको छ । चम्पे गाविसको वडा नंं ४ र ५ का मानिस करिब तीन घन्टाभन्दा बढी समय लगाएर दैनिक उपभोग्य सामग्री पिँठ्युमा बोक्न बाध्य बनेको स्थानीय सरस्वती फुँयालले बताए । गाविसको टोल–टोलमा सडक पु¥याउने उद्देश्यका साथ खनिएका विभिन्न सडक एकपटक एस्काभेटर लगाएर छोडेकाले लाभभन्दा बढी हानी व्यहोर्नुपरेको स्थानीयवासीको गुनासो छ । विभिन्न सडक विस्तार तथा स्तरोन्नतीका लागि बजेट विनियोजन भएपनि सार्वजनिक सुनुवाइ नगर्ने तथा ठेकेदारले आफुखुसी काम गरेकाले स्थानीयवासी अझ मारमा परेको अर्का स्थानीय रामचन्द्र्र दाहालले गुनासो गरे । रासस

उपत्यकाका तीन जिल्लामा शुक्रबारदेखि सर्भेक्षण सुरु

काठमाडौं, ६ साउन । काठमाडौं उपत्यकाका तीन जिल्लामा शुक्रबारदेखि भूकम्पपीडितको वास्तविक लगत लिन सर्भेक्षण सुरु हुने भएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले काठमाडौँमा एक महानगरपालिकासहित ११, भक्तपुरमा छ, ललितपुरमा पाँच नगरपालिका तथा १९ गाविसका भूकम्पपीडितको सर्भेक्षण गर्न कम्तीमा पनि डेढ महिना लाग्ने जानकारी दिए । सर्भेक्षण सकी विभागले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई प्रतिवेदन दिएपछि छानबिन गरी अन्तिम नामावली प्रकाशन गरेर पीडितलाई अनुदान वितरण प्रक्रिया सुरु हुने बताइएको छ । विभागले यसअघि उपत्यका बाहिरका अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा र नुवाकोटाम सर्भेक्षण गरी प्राधिकरणलाई बुझाएको प्रतिवेदनका आधारमा सम्झौता गरी पहिलो किस्ताको अनुदान वितरण प्रक्रिया सुरु भएको छ । रासस

चिनियाँ राष्ट्रपतिको भ्रमण रोक्न सरकार ढाल्ने खेलः मन्त्री राई

भक्तपुर, ६ साउन । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण नगराउने षडयन्त्रले वर्तमान सरकार विघटन गराउन माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिएको बताएको छ । रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि नेपालको कायापलट हुने डरले नेपाली काँग्रेस र माओवादी केन्द्रले वर्तमान सरकार विघटन गराउन खोजेको आरोप लगाए । काँग्रेस र माओवादीले गलत नियतले अँध्यारो कोठामा बसेर गरेको सम्झौताले सकारात्मक परिणाम नल्याउने दाबी गर्दै उनले यो गठबन्धन नेपाल र नेपालीको हितमा नभएको जिकिर गरेका छन्। वर्तमान समयमा सभामुखले संसद्मा आफ्नो भूमिका निष्पक्ष राख्न नसक्दा राजनीतिक दलहरुबीच झडपको स्थिति उत्पन्न भएको बताउँदै उनले सभामुखका कारण संसद्को मर्यादामा समेत प्रश्न उठेको उल्लेख गरेका छन् । संसद्मा सभामुखले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने भए तापनि हाल उनको भूमिकालाई नियाल्ने हो भने निष्पक्ष नरहेको उनको भनाइ थियो । वर्तमान सरकारले ल्याएको नीति र कार्यक्रम अब बन्ने सरकारले जस्ताको त्यस्तै कार्यान्वयन गर्ने मन्त्री राईको भनाइ छ । सरकारको नीति तथा कार्यक्रम दुई करोड ८० लाख नेपाली जनताले अनुमोदन गरिसकेकाले यसलाई कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए । आर्थिक विधेयक पारित गरेर मात्रै संसद्मा सरकारविरुद्ध अविश्वासको प्रस्तावमा छलफल हुनुपर्ने एमालेको अडान रहेको बताउँदै उनले यसो नगरी बलजफ्ती गर्न खोजे अविश्वासको प्रस्तावमाथि छलफल नहुने बताए । वर्तमान सरकारले सञ्चार क्षेत्रमा देखिएका विभिन्न अवरोधलाई नियन्त्रण गर्दै सञ्चार नीति सार्वजनिक गरेको र यसले सञ्चार क्षेत्रको विकासमा अहम् भूमिका निर्वाह गर्ने भएकाले जस्ताको तस्तै कार्यान्वयन गरिनुपर्नेमा उनले जोड दिए। रासस