पृथ्वीराजमार्गमा दुई हजार ५० वटा गाडीमा व्यवसायीहरुको पाँच अर्व लगानी

पोखरा, २ मङ्सिर । मुलुकको मेचीदेखि महाकालीसम्मका सडकमा बस सञ्चालन गरेर यात्रुलाई सुविधा प्रदान गर्दै आएको पृथ्वीराजमार्ग बस व्यवसायी समितिमा हालसम्म व्यवसायीको पाँच अर्ब रुपैयाँ भन्दा वढी लगानी भइसकेको छ । विसं २०२९ मा सीमित सवारीसाधनलाई लिएर स्थापित समितिमा हाल मिनीबस, माइक्रोबस, नर्मल तथा डिलक्स एसी सेवासहित एक हजार दुई सय ५० वटा गाडीमा व्यवसायीको उक्त रकम लगानी भएको  पृथ्वी राजमार्ग बस व्यवसायी समितिका महासचिव योगेन्द्रबहादुर केसीले जानकारीदिए । पृथ्वी राजमार्ग बस व्यवसायी समितिअन्तर्गतको सेवा प्रवाहका क्रममा तीन हजार ६ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको जानकारी दिँदै उनले पछिल्लो समयमा अत्यधिक सेवा सुविधासहितका यातायात सेवा पनि सञ्चालन गर्न लागिएको बताए । उनले समितिअन्तर्गत शुभ अधिकारी ट्राभल्स प्रालिले यही मङ्सिर ६ गतेदेखि पृथ्वी राजमार्गअन्तर्गत पोखरा–काठमाडौँका लागि सुविधासम्पन्न दुईवटा बस सञ्चालन गर्न लागिएको जानकारी दिए । काठमाडौँको गौशाला र पोखराको हल्लनचोकबाट दैनिक सञ्चालन हुने ३१ सिट क्षमताको उक्त बसमा पत्रपत्रिका, मिनरल वाटर, निःशुल्क वाइफाइ, टेलिभिजन लगायतको सुविधा रहने र भाडादर जम्मा पाँच सय रुपैयाँ कायम गरिएको पत्रकारसम्मेलनमा जानकारी दिइएको थियो । महासचिव केसीका अनुसार वातावरणीय प्रदूषणलाई नियन्त्रण गर्न समितिले २००३ मोडल भन्दा अघिका सम्पूर्ण गाडी विस्थापित गरिसकेको छ भने गाडी विस्थापन गराउनका लागि व्यवसायीलाई पर्ने मर्कालाई दृष्टिगत गरी प्रतिगाडी रु ६ लाख ५० हजार आर्थिक सहयोग गर्ने गरिएको छ । समितिले स्थानीय कृषि र विद्यार्थीलाई लक्षित गरी कास्की, लम्जुङ, गोरखा, स्याङ्जा र तनहुँ जिल्लाका ग्रामीण सडकमा एक सयवटा गाडीबाट सुविधा दिइरहेको र समितिअन्तर्गत नै पोखरा–दिल्लीका लागि २२ वटा सुविधा सम्पन्न बस सञ्चालन गरिएको महासचिव केसीको भनाइ छ । रासस

विद्यालयका लागि दुई लाख रुपैयाँ सहयोग

पाल्पा, २ मङ्सिर । रामपुर नगरपालिका–८ सानीअमराईमा रहेको बालकल्याण प्राथमिक विद्यालयका लागि दुई लाख रुपैयाँ आर्थिक रकम सहयोग प्राप्त भएको छ । विद्यालयको स्तरोन्नतिका लागि जापानी नागरिक ताकासी होन्डाले दुई लाख रुपैयाँ सहयोग गरेका हुन् । शैक्षिक तथा भौतिक विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको सहयोगदाता होन्डाले बताए । सो रकम विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक क्षेत्रमा खर्च गरिने विद्यालयका शिक्षक नारायणप्रसाद खनालले बताए । रासस

मोटो धानको मूल्य प्रतिक्वीन्टल एक हजार नौ सय ५०

धनगढी, १ मङ्सिर । धान बिक्री गर्दा उचित मूल्य नपाएको गुनासो कृषकले गरिरहेको बेला नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयले धानको खरिद मूल्य निर्धारण गरेको छ । प्राथमिक खरिद समिति कैलालीको मङ्गलबार बसेको बैठकले मोटो धानको खरिद मूल्य प्रति क्वीन्टल रु एक हजार ९५० निर्धारण गरेको संस्थानका कार्यालय प्रमुख डिल्लीराज लम्सालले जानकारी दिए । खेती गर्दा लाग्ने लागत खर्च, उत्पादन परिमाण, र स्थानीय बजार मूल्यलाई आधार बनाई खरिद समितिले धानको खरिद मूल्य निर्धारण गर्ने गरेको छ । संस्थानको अत्तरिया नगरपालिकाको मोहनपुरमा रहेको गोदाममा आजैबाट काँटा सञ्चालन गरी किसानको धान खरिद गर्ने व्यवस्था मिलाइएको लम्सालले बताए । यस्तै जिल्लाका टीकापुर, सत्ती, भजनी र जोशीपुरमासमेत संस्थानले काँटा सञ्चालन गर्न लागेको छ । यस वर्ष नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयलाई ५० हजार क्वीन्टल धान खरिद गर्न केन्द्रबाट स्वीकृति प्राप्त भएको छ । विगतका वर्षमा संस्थानले मोटो, मध्यम र मसिनो धानको खरिद मूल्य निर्धारण गर्ने गरेकामा विगत दुई वर्षदेखि मोटो धानको मात्र खरिद मूल्य निर्धारण गर्ने गरेको छ । रासस