नक्कली चिकित्सक बनेका छत्तीस सार्वजनिक
काठमाडौं, ५ असार । नक्कली प्रमाणपत्रका आधारमा चिकित्सक बनेका ३६ जनालाई गत शुक्रबार १० जिल्लाबाट प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ परेकाको विवरण आइतबार सार्वजनिक गर्दै प्रहरीले काठमाडौँबाट पुरुष आठ, महिला पाँच, ललितपुरबाट पुरुष दुई, झापाबाट पुरुष एक, सुनसरीबाट पुरुष एक, मोरङबाट पुरुष तीन, धनुषाबाट पुरुष दुई, पर्साबाट पुरुष नौ, चितवनबाट पुरुष दुई, महिला एक, कास्कीबाट पुरुष एक र दाङबाट पुरुष एक नक्कली चिकित्सकलाई पक्राउ गरेको जनाएको छ । उनीहरुलाई जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको ब्युरोले जनाएको छ । पक्राउपर्नेमा महोत्तरी बथ्नाहा घर भई हाल काठमाडौं बस्दै झरना फार्मेसी कपनमा कार्यरत पुनम कर्ण, स्याङ्जा कुवाकोट घर भई हाल काठमाडौं बस्दै कान्तिपुर जनरल एन्ड डेन्टल हस्पिटल, सामाखुसीमा कार्यरत बुद्धिमान श्रेष्ठ, झापा, चारपाने गाविस वडा नं ३ घर भई हाल तिलगङ्गा आँखा अस्पतालमा कार्यरत लिली राजवंशी रहेका छन् । यसैगरी, काठमाडौं, लैनचौर स्थायी घर भई ब्राइट स्माइल डेन्टल क्लिनिकमा कार्यरत बिनिता अधिकारी, महोत्तरी, पिपरा–३ घर भई हाल सोसाइटी डेन्टल क्लिनिकमा कार्यरत रावेत रञ्जनकुमार ठाकुर, काठमाडौं बत्तीसपुतली घर भई नेपाल परिवार नियोजन सङ्घ ललितपुरमा कार्यरत गजानन्दप्रसाद भण्डारी, धनुषा सपही घर भई हाल ट्रमा सेन्टरमा कार्यरत सन्तोषकुमार झा रहेका छन् । त्यस्तै, धनुषा, जनकपुर घर भई हाल लोकहित डेन्टल अस्पताल त्रिपुरेश्वरमा कार्यरत गणेश साह, धनुषा घर भई हाल आम्दा नेपाल जोरपाटी र हेल्दी डेन्टल क्लिनिकमा कार्यरत निलिमा खड्का महत, महोत्तरी, सरपल्लो–२ घर भई हाल रेशा फर्म, चाबहिलमा कार्यरत विनिता मण्डल, रूपन्देही, सिद्धार्थनगर घर भई हाल तनहुँ सेवा हस्पिटलमा कार्यरत राहिल फाज अन्सारी रहेका छन् । त्यसैगरी, भक्तपुर, दधिकोट घर भई हाम्रो सहयात्रा हस्पिटल भक्तपुरमा कार्यरत राम घिमिरे, पर्सा, बगही घर भई शान्ति क्लिनिक, वीरगन्जमा कार्यरत कुशराज गिरी, पर्सा, भवानीपुर घर भई गण्डक अस्पताल, वीरगन्जमा कार्यरत पन्नलालप्रसाद पटेल, सर्लाही, वसन्तपुर घर भई हाल मेरी स्टोप्स सेन्टर पोखरामा कार्यरत महेश्वर राय यादव, रौतहट, सकुअवा घर भई हाल नेशनल मेडिकल कलेज, वीरगन्जमा कार्यरत निमेषपाल रमन, रौतहट, तेजापाकड घर भई हाल नेशनल मेडिकल कलेज, वीरगन्जमा कार्यरत मोहम्मद रूहुल्लाह, झापा, अनारमनि घर भई बजरङ्ग क्लिनिक झापामा कार्यरत रन्धीर राजवंशी रहेका छन् । यस्तै, गोरखा घर भई हाल प्रगति पोलिक्लिनिक चितवनमा कार्यरत सुनिल आचार्य, सिरहा, मानपुर घर भई हाल विराटनगर ट्रमा अस्पतालमा कार्यरत मोहम्मद अबुल कलाम, पर्सा, वीरगन्ज घर भई हाल नेसनल मेडिकल कलेज एन्ड टिचिङ अस्पताल वीरगन्जमा कार्यरत इशादुल हक, पर्सामा कार्यरत सरोजकुमार सिंह, सुनसरी धरान घर भई हाल पुरानो मेडिकल कलेज, चितवनमा कार्यरत रजनी अग्रवाल रहेका छन् । अन्य पक्राउमा महोत्तरी पिपरा घर भई हाल केयर नरसिंह होम, जनकपुरमा कार्यरत रवीन्द्रकुमार पाण्डे, धनुषा, सिनुरजोडा घर भई पूजा मेडिकल हलमा कार्यरत रामजी यादव, बारा कलैया घर भई हाल नेसनल मेडिकल कलेज एन्ड टिचिङ अस्पतालमा कार्यरत रामकुमार प्रधान, दाङ, तुल्सीपुर घर भई हाल बीआर डेन्टल क्लिनिक तुल्सिपुरमा कार्यरत विष्णुप्रसाद भुसाल रहेका छन् । त्यसैगरी पर्सा, वीरगन्ज घर भई हाल नर्भिक अस्पताल थापाथली, बिएन्ड बि ग्वार्कोमा कार्यरत अरूणकुमार गुप्ता, सिरहा, भवानीपुर कालाबन्जर घर भई हाल राम डाइग्नोस्टिक क्लिनिक विराटनगरमा कार्यरत सञ्जयकुमार दास, पर्सा, वीरगन्ज घर भई कलेज अफ मेडिकल साइन्स भरतपुर र नेशनल मेडिकल कलेज वीरगन्जमा कार्यरत दिनेशकुमार साह पक्राउ परेका छन् । साथै, मोरङ, विराटनगर घर भई हाल सुनसरीमा एफपानमा कार्यरत मनिष अर्याल, पर्सा, सोनवर्षा घर भई चितवन मेडिकल कलेजमा कार्यरत राजन पुरी र नवादा, विहार, भारत घर भई हाल लाइफ गार्ड अस्पताल, विराटनगर, बरगाछीमा कार्यरत जावेद अख्तर अन्सारी पक्राउ परेका छन् । अनुसन्धान ब्युरो, नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषद्द्वारा संयुक्त रुपमा गरिएको छानबिनपश्चात् उनीहरुलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । यसअघि पनि दुई दर्जन नक्कली प्रमाणपत्रधारी चिकित्सकलाई ब्युरोले पक्राउ गरिसकेको छ । रासस
माथिल्लो कर्णाली जलविद्युत् आयोजना : प्रभावित क्षेत्रमा समर्थन, सुगम क्षेत्रमा विरोध
काठमाडौं, ५ असार । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको समर्थनमा प्रभावित क्षेत्रका जनता देखिएका छन् भने सहर तथा सदरमुकाममा रहेका केही व्यक्ति तथा समूह विरोधमा रहेको पाइएको छ । आयोजना अगाडि बढाउँदा स्थानीयवासीको माग र भावनालाई सम्बोधन गर्नुपर्ने स्थानीय प्रभावितको धारणा छ भने सुगम क्षेत्रका नागरिकले क्षमताको विषयमा कुरा उठाएर विरोध गर्ने गरेका छन् । स्थानीयवासीलाई मुआब्जा वितरण पारदर्शी हुन्छ कि हुँदैन भन्ने चिन्ता छ । स्थानीयवासीको रोजगार, उनीहरुको पुनःस्थापना सम्बन्धमा सरकार, लगानीकर्ता कम्पनीले ध्यान दिन्छ कि दिदैन भन्ने चिन्ता छ । आयोजना अगाडि बढे स्थानीयस्तरमा रोजगारी तथा अन्य आर्थिक गतिविधि बढ्ला र आफूहरुको आर्थिक अवस्था पनि सुध्रेला भन्ने चाहना स्थानीयको रहेको छ । तर दैलेख सदरमुकाम र सुर्खेतको विरेन्द्रनगरमाा भने केही भ्रम र केही जायज माग पनि रहेका छन् । भारतीय लगानीकर्ता गान्धी मााल्लिकार्जुन राव(जिएमआर)ले अगाडि बढाउन लागेको माथिल्लो कर्णाली जलविद्युत् आयोजना मुलुकको हकमा हालसम्मकै सबैभन्दा ठूलो आयोजना हो । लगानी बोर्डले पहिलो पटक जिएमआरसँग आयोजना विकास सम्झौता (पिडिए) गरेको छ । हाल लगानीकर्ता समूह विभिन्न बैंक तथा वित्तीय संस्थासँग लगानी जुटाउन छलफल गरिरहेको छ । भारतका विभिन्न राज्य सरकार र बङ्गलादेशसँग पनि विद्युत् बिक्रीको सम्बन्धमा छलफल गरिरहेको छ । तर सरकारले गरिदिनुपर्ने केही काम बाँकी रहेका कारण जग्गा प्राप्ति र वन क्षेत्रको प्रयोगमा समस्या देखिएको छ । स्थानीयवासीलाई विश्वासमा लिनसके आयोजनालाई सहजरुपमा अगाडि बढाउन सकिन्छ भन्ने विश्वास लगानीकर्ता र प्रवद्र्धकको रहेको छ । तर कतिपय मुद्दामा भने लगानीकर्ताले अगाडि बढाउनुपर्ने विषयमा प्रष्टताको अभाव रहेको पाइएको छ । राष्ट्रिय जनमोर्चा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा माओवादी, मजदुर किसान पार्टीलगायतका दल र माथिल्लो कर्णाली बचाउ अभियान माथिल्लो कर्णाली परियोजना नेपाल सरकारले नै अगाडि बढाउनुपर्ने धारणा राख्दै क्षमता अभिवृद्धि गर्नुपर्ने पक्षमा रहेको छ । आयोजना बनाउनुपर्नेमा ती समूह प्रतिवद्ध रहेको भए पनि चार हजार १८० मेगावाट क्षमताको आयोजनालाई नौ सय मेगावाटमा किन सीमित गरियो भन्ने उनीहरुको प्रश्न छ । तर स्थानीयवासी आयोजना अगाडि बढाउने हो भने आफूहरुको भावनालााई सम्बोधन गरेर तत्काल निर्माण सुरु गर्नुपर्ने पक्षमा छन् । स्थानीय प्रभावितलााई मुआब्जाको चिन्ता छ, उनीहरु आफूहरुले माग गरेको मूल्यमा जग्गा लिन प्रवद्र्धक तयार भए समस्या नरहने पक्षमा देखिन्छन । जिएमआरसँग तीन पटक भएको छलफलमा प्रभावितले प्रतिरोपनी रु २० लाख ५० हजार मुआब्जा माग गरेका छन् । जिमआर प्रतिरोपनी रु सात लाख ५० हजारसम्म दिन तयार देखिएको छ । आगामी ६ महिनाभित्र जग्गाको विषयमा टुङ्गो लगाउनैपर्ने बाध्यता छ । आयोजनाले विशेषगरी दैलेख, अछाम र सुर्खेतका केही गाविसलाई प्रत्यक्ष प्रभाव पार्दछ । नेकपा (क्रान्तिकारी माओवादी) दैलेखका नेता दीपकबहादुर शाही आयोजना बन्नुपर्ने पक्षमा नै छन् , तर उनी आयोजनाबाट उत्पादित विद्युत् भारत निर्यात गर्ने भन्दा पनि मुलुकभित्रै खपत गर्ने योजना बनाउनुपर्छ भन्ने धारणा राख्छन् । दैलेखकै एक प्रभावित कृष्णकुमार विसी भने आयोजनाको नाममा राजनीति भएकोमा खुसी छैनन् । आयोजना अगाडि बढे समग्र ६ नम्बर प्रदेशको विकास हुने उनको भनाइ छ । राष्ट्रिय जनमोर्चा दैलेखका अध्यक्ष मायाराम अधिकारी आयोजना मुलुकको हितमा नभएको धारणा राख्छन्। उनी आयोजना भारतीय कम्पनीले होइन नेपाल सरकारले नै अगाडि बढाउनुपर्ने पक्षमा छन् । तर महिला सङ्घ दैलेखकी सभापति सीता राना भने विरोधको नाममा आयोजनाको विरोध भएको बताए। नेपाल पत्रकार महासङ्घ दैलेखका सभापति नमनकुमार शाही आयोजनाको पक्ष र विपक्षमा कोही पनि नरहेको बताउछन् । आयोजनाको प्रवद्र्धक जिएमआरले नै स्थानीयसँग सघन छलफल गर्न नचाहेका कारण समस्या पैदा भएको बताउछन् । जिएमआरका उपाध्यक्ष एवम् आयोजना प्रमुख डिके सिंहले परियोजनालाई स्थानीय जनताको भावनालाई सम्बोधन गर्दै अगाडि बढाउन आफूहरु तयार रहेको बताए। “स्थानीयवासीको माग र भावनालाई सम्बोधन गर्न हामी तयार छौँ, नेपाल सरकार र लगानी बोर्डसँगको समन्वयमा नै हामी काम गर्छौ,” उनले भने । बोर्डका सहसचिव रवि भट्टराई अन्तर सरकारी निकायको समन्वयमा नै आयोजनालाई सहजीकरण गरिने बताए । वन तथा भू–संरक्षण मन्त्रालय, भूमिसुधार तथा व्यवस्था मन्त्रालय तथा अन्य साझेदार निकायको समन्वयमा नै आयोजना अगाडि बढ्ने उनको भनाइ छ । कृषि तथा जलस्रोत समितिका सभापति गगन थापा आयोजना तोकिएकै समयमा पूरा भएमा मुलुकको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण फड्को मार्नेमा आशावादी छन्। उनी भन्छन् “नेपाल सरकारले गर्नुपर्ने काम तत्काल पूरा गर्नुपर्छ, प्रवद्र्धक संस्थाले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । संसद्को तर्फबाट गर्नुपर्ने समन्वय गर्न हामी तयार छौँ ।” रासस
‘‘मिस टुरिजम–२०१६’’का लागि आज देखि आवेदन खुल्ला, अन्तिम म्याद साउन ५ गतेसम्म
काठमाडौं, ५ असार । प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी भदौ २५ (सेप्टेम्बर १० ) मा आयोजना गर्न गईरहेको “मिस टुरिजम–२०१६” का लागी आज असार ५ गतेदेखि देशभर आवेदन खुल्ला गरेको छ । “मिस टुरिजम–२०१६” लाई सभ्य र विवादरहित बनाउन सिंगो पर्यटन क्षेत्रसंग सहकार्य गरेर यसको आयोजना गरिने प्वाईन्ट मिडिया प्रा.लिका प्रबन्ध निर्देशक नविन काफ्लेले बताए । आगामी भाद्र २५ (सेप्टेम्वर १०) का दिन आयोजना हुने “मिस टुरिजम–२०१६” का लागी १८ देखि २५ वर्ष उमेर समुहका अविवाहित नेपाली महिलाहरुले आगामी साउन ५ गते सम्म आवेदन दिन पाउनेछन । आवेदन दिने मिति सकिएपश्चात काठमाडौंका साथै पर्यटकिय स्थलहरु पोखरा र चितवनमा अडिसन लिईने छ । मिस टुरिजम–२०१६ लाई एक स्कुटर, मिस टुरिजम फस्ट रनर अप–२०१६ लाई ३० हजार रुपैयाँ र मिस टुरिजम सेकेण्ड रनर अप–२०१६ लाई नगद २० हजार नगद रुपैयाँ प्रदान गर्नुका साथै पर्यटन क्षेत्रमा अन्य अवसर हरु प्रदान गरिने प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक काफ्लेले बताए । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय पर्यटन पत्रकार संघ(नाटोज) का अध्यक्ष शिव अधिकारीले मिस टुरिजम पर्यटन क्षेत्रकै नयाँ विषयवस्तु भएकोले यसलाई सफल पार्न नाटोजको सम्पूर्ण समर्थन रहने बताए । मिस टुरिजम लाई पर्यटकिय गन्तव्यहरुको प्रवद्र्धनमा नयाँ ढंगले प्रयोग गर्नुपर्ने र तामझाम गर्नुपर्नेमा जोड दिए । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियाले राज्यले गनुपर्ने धेरै कामहरु निजि क्षेत्रले गरेको बताउँदै मिस टुरिजमलाई सफल पार्न सवैको सहयोग रहनुपर्ने बताए । नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले मिस टुरिजमलाई सफल पार्न नेपाल पर्वतारोहण संघको सहकार्य रहने बताए । नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य पूर्ण कुँवरले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धन गर्न मिस टुरिजम निकै सान्दर्भिक रहेको बताए । सरकारले घोषणा गरेको घुमफिर वर्षलाई सहयोग गर्न प्वाईन्ट मिडिया प्रा.लि.ले एउटा पाटो सम्हालेकोमा बधाई दिँदै मिस टुरिजमलाई सफल पार्न नेपाल पर्यटन वोर्डले सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । प्वाईन्ट मिडियाले राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धन गर्ने र सरकारले घोषणा गरेको घुमफिर वर्ष २०७३ लाई सहयोग पुर्याउने उद्देश्यले “मिस टुरिजम–२०१६” को आयोजना गर्न लागेको जनाएको छ ।