काठमाडौंका बार तथा रेस्टुरेन्ट दर्ता नगर्नेलाई कारबाही गरिने, आजदेखि नै अनुगमन शुरु

काठमाडौं, १५ असार । काठमाडौंमा सञ्चालित बार, रेस्टुरेन्ट दर्ता नगर्नेलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले कारवाही गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले पटक–पटक प्रशासन कार्यालयले संस्था दर्ता गर्न सूचना जारी गरेपनि अटेर गरी बसिरहेका रेस्टुरेन्ट, बार, दोहोरी साँझ, मसाज पार्लरलाई अब भने दर्ता नगरे कारबाही गरिने बताए । मनोरञ्जन क्षेत्रमा कार्यरत महिला श्रमिकमाथि कार्यस्थलमा हुने यौन उत्पीडन नियन्त्रण गर्न जारी गरिएको निर्देशिका, २०६५ मा भएको व्यवस्थाबमोजिम उक्त दर्ता प्रक्रियालाई अगाडि बढाइएको हो । यसअघि २०७० साल चैत १० गते दर्ता हुन कार्यालयले सूचना जारी गरे पनि अधिकांश व्यवसायी दर्ता हुन नआएकाले मंगलबार बैठक बसी पुनः ३५ दिने म्याद दिई सूचना जारी गरिएको प्रमुख सुवेदीले जानकारी दिए । यसका लागि आजदेखि नै अनुगमन प्रक्रिया थालनी गरिनेछ । अब पनि दर्ता हुन नआए प्रचलित कानुनअनुसार कारबाही गरिने उनले बताए । दर्ता हुनका लागि व्यवसायीको प्रकार, व्यवसायमा संलग्न श्रमजीवी महिला एवम् पुरुषको नाम, थर गोप्य राखिनेछ । यसैगरी दर्ताका लागि व्यवसायमा कार्यरतले काम गरेबापत पाउने पारिश्रमिक, व्यवसाय, अन्य निकायमा दर्ता भएको भए प्रमाणपत्र तथा कर दाखिला समेतका विवरण पेस गर्नुपर्नेछ । रासस

कलङ्की–कोटेश्वर चक्रपथ विस्तारको समय डेढ वर्ष थप

काठमाडौँ, १४ असार । कलङ्की–कोटेश्वर १० किमी चक्रपथ विस्तारको अवधि एक वर्ष छ महिना २५ दिन थप गरिएको छ । विसं २०७३ पुसमा सम्पन्न हुनुपर्ने भए पनि भूकम्प, भारतको अघोषित नाकाबन्दी, बिजुली, टेलिफोनका तार एवम् खानेपानीको पाइप र कलङ्कीमा काठमाडौँ महानगरपालिकाले निर्माण गरेको आकाशेपुलको संरचना हटाउन नसक्दा निर्माण समय थप गर्नुपरेको चक्रपथ सुधार आयोजनाले जनाएको छ । पहिलो चरणको काम सम्पन्न गर्ने अवधि २०७५ साउनसम्मलाई थप गरिएको आयोजना प्रमुख राजेश दासले राससलाई जानकारी दिए । ‘प्रधानमन्त्रीको चीन भ्रमणका अवसरमा चिनियाँ पक्षले कलङ्कीकै विषय उठाएर दोस्रो चरणमा काम सुरु गर्ने १७ किमी खण्डको प्रस्तावका बारेमा छलफल गर्न नमानेपछि अवधि थप गर्नुपरेको हो’ उनले भने । चक्रपथ विस्तार हुने भन्ने थाहा हुँदाहुँदै पनि महानगरपालिकाको सार्वजनिक–निजी साझेदारीमा इनोभेटिभ कन्सेप्ट प्रालिले विसं २०७० मा कलङ्कीमा आकाशेपुल निर्माण गरेपछि समस्या आएको आयोजनाले जनाएको छ । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की चक्रपथ विस्तार हुने सूचना आउनुभन्दा अघि नै सार्वजनिक–निजी साझेदारीअन्तर्गत इनोभेटिभसँग सम्झौता भइसकेकाले रोक्न नसकिएको बताए । ‘आकाशेपुल जेठ मसान्तसम्म भत्काउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पत्र आएको छ, मन्त्रालय र इनोभेटिभ दुवैलाई राखेर छलफल गरी समस्या समाधानको पहल गरिरहेका छौँ’ उनले भने । आकाशेपुल भत्काएर कलङ्कीमै काम सुरु गरेपछि डेढ वर्ष समय लाग्ने भएकाले अवधि थप गर्नुपरेको प्रमुख दासले बताए । कलङ्कीमा चार लेनको ‘अण्डर पास’ निर्माण गरिने भएकाले बढी समय लाग्छ । आयोजनाले नेपालमै पहिलोपटक अण्डर पास निर्माण गर्न लागेको हो । चीन सरकारको करिब रु पाँच अर्ब (३१२ मिलियन युआन) अनुदान सहयोगमा २७ किमी चक्रपथमध्ये १० किमी खण्डलाई आठ लेन बनाउने काम भइरहेको छ । चक्रपथ विस्तारसँगै यस खण्डमा पर्ने चार स्थानका आठवटा पुललाई पनि आठ लेनको बनाइनेछ । रासस

सरकारी ढुकुटीमा साढे ३ खर्ब पुग्यो

काठमाडौं, १३ असार । सरकारले अत्याधिक रकम खर्च नगरी ढुकुटीमा थन्क्याएर राखेको छ । राजस्व तथा अन्य कर र शुल्कको माध्यमवाट सरकारी कोषमा जम्मा भएको रकम खर्च नगरी ढुकुटीमा थुपारिएको हो । नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार गत जेठ मसान्तसम्ममा सरकारले आफ्नो ढुकुटीमा २ खर्ब १७ अर्ब रुपैयाँभन्दा बढी रकम ढुकुटीमा राखेको छ । विकास निर्माणका कार्यले गति लिन नसक्दा र सरकारी खर्च थप कमजोर हुदा ढुकुटीमा रकम बढेको हो । यस्तै पछिल्लो समयमा बाणिज्य बैंकहरुमा निक्षेप पनि उल्लेख्य मात्रामा बढेको छ । सो अवधिसम्ममा बाणिज्य बैंकहरुका १ खर्ब ३२ अर्ब ४० करोड रुपैयाँ नेपाल राष्ट्र बैंकमा पुगेर थन्किएको छ । यो दुबै गरी झण्डै साढे ३ खर्ब रुपैयाँ विना प्रयोजन सरकारी ढुकुटीमा बसेको छ ।