बैशाख १२ लाई सम्झँदै सरकार, भूकम्पको एक बर्षपछि युद्धस्तरमा पुननिर्माण ?

काठमाडौं, ५ बैशाख । सरकारले भूकम्प गएको एक बर्षपछि अर्थात बैशाख १२ गतेदेखि दोश्रो चरणको पुननिर्माण अभियान थाल्ने भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणको अगुवाईमा बैशाख १२ गतेदेखि निजी आवास तथा सार्वजनिक निर्माणको कामलाई तिब्रताका साथ अघि बढाउने तयारी भएको हो ।  यसअघि नै प्राधिकरणले माघ २ गतेदेखि पुननिर्माण महाअभियान सुरु गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र प्रधानमन्त्री केपी ओलीले बुङमति पुननिर्माणको सुभारम्भ गरेका थिए । ‘भूकम्प गएको एक बर्ष पुगेको दिनलाई आधार बनाएर निजी आवास र सार्वजनिक सम्पदाको पुननिर्माणलाई तिब्रता दिने कार्यक्रम तय भएको छ ।’ प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले भने । उनले कहाँ कस्तो कार्यक्रम गर्ने भन्नेबारे भने अझै निष्कर्षमा नपुगेको बताए । ‘कहाँ के गर्ने भन्ने एकिन भएको छैन, तर बैशाख १२ देखि पुननिर्माणको काम युद्धस्तरमा अघि बढ्छ ।’ प्रवक्ता थपलियाले भने । यस अघि प्राधिकरणले फागुन २२ गतेदेखि दोलखाको सिंगटीबाट निजी आवास निर्माणका अनुदान सम्झौत सुरु गरेको थियो । हाल ८ जिल्लाका ८ गाबिसका ५ हजार पाँच सय २ परिवारसँग अनुदान सम्झौता भैरहेको छ । निजी आवास पुननिर्माणका लागि सरकारले दुई लाख अनुदान दिने योजना बनाएको छ । त्यसको पहिलो किस्ता वापत अनुदान सम्झौता गरेर ५० हजार रुपैंयाँ उपलब्ध गराउँदैछ । त्यसपछि भवन निर्माणको अनुगमन गरेर दोश्रो किस्ता वापत ८० हजार र तेश्रो वापत ७० हजार रुपैंयाँ दिने व्यवस्था रहेको छ । राष्ट्रपति र प्रधानमन्त्रीलार्ई निम्त्याएर बैशाख १२, १३ र १४ गते पुननिर्माणको दोश्रो चरण अघि बढाउने तयारीमा प्राधिकरण लागिरहेको छ । तयार भयो भूकम्प पीडितको डिजिटल तथ्यांक केन्द्रिय तथ्यांक विभागले भूकम्पले अति प्रभावित ११ जिल्लाको डिजिटल तथ्यांक तयार पारेको छ । विभागका उपमहानिर्देशक रुद्र सुवालका अनुसार करिब ७ लाख परिवारको तथ्यांक तयार भैसकेको छ । ‘तथ्यांक संकलनको काम सम्पन्न भैसकेको छ, सात लाखको विवरण अपलोड गरिसक्यौं, केहि दिनभित्रै सबै तथ्यांक अपलोड भैसक्छ ।’ विभागका उप महानिर्देशक सुवालले भने । विभागले १६ सय इञ्जिनियर मार्फत पुसको मध्यदेखि भूकम्प पीडितको डिजिटल तथ्यांक संकलन सुरु गरेको थियो । काठमाडौं उपत्यकाका तीन जिल्लाको तथ्यांक भने अझै संकलन गरिएको छैन् ।

कसरी काम गर्दैछन पुननिर्माणमा एनजिओ/आइएनजिओले ?

काठमाडौँ, ३ वैशाख । भूकम्पपछिको पुनःनिर्माणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत प्राप्त हुने सहयोगलाई सरल, सहज, पारदर्शी, एकीकृत एवम् प्रभावकारी ढङ्गले परिचालन गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण र पुनःस्थापनाका लागि गैरसरकारी संस्था परिचालनसम्बन्धी कार्यविधि, २०७२ जारी गरेको छ । भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण गर्ने सम्बन्धमा बनेको ऐन, २०७२ को मर्म र भावनाअनुरुप कार्यक्रमको तर्जुमा, स्वीकृति, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्ने कार्यमा सहयोग पु¥याउन सो ऐनको दफा ३१ ले दिएको अधिकारको प्रयोग गरी प्राधिकरणले कार्यविधि बनाएको हो । प्राधिकरण निर्देशक समितिको केही दिनअघि बसेको बैठकले सो कार्यविधि पारित गरेको हो । पुनःनिर्माण तथा पुनःस्थापना कार्यका लागि प्राप्त हुने सहयोगलाई पारदर्शी एवम् प्रभावकारी ढङ्गले परिचालन गर्ने, गराउने तथा राष्ट्रिय एवम् अन्तर्र्राष्ट्रिय ज्ञान, सीप तथा स्रोतसाधनलाई भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माण, पुनःस्थापना तथा जीविकोपार्जनका कार्यमा अधिकतम रुपमा उपयोग गर्ने वातावरण सिर्जना गर्ने लक्ष्य सो कार्यविधिले राखेको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए । साझेदार संस्थाबाट पुनःनिर्माण तथा पुनःस्थापना कार्यमा सहयोग परिचालन गर्दा प्राधिकरणको उद्देश्यबाट निर्देशित हुने र साझेदार संस्थाबाट पुनःनिर्माण, पुनःस्थापना तथा जीविकोपार्जनसम्बन्धी कार्यक्रम सञ्चालन गर्दा एकद्वार प्रणाली अवलम्बन गरिने पनि कार्यविधिमा छ । संस्था परिचालन गर्दा प्राधिकरणले तोकेको भौगोलिक क्षेत्र एवम् विषयगत रुपमा निश्चित क्षतिग्रस्त क्षेत्र तथा लाभग्राहीलाई समेट्ने गरी गरिनेछ । ग्रामीण आवास तथा बस्ती विकास यसअन्तर्गत गाविसमा व्यवस्थित विकास गर्ने गरी पुनःस्थापना, पुनर्वास, निजी आवासको पुनःनिर्माण, मर्मत, प्रवलीकरण एवम् खानेपानी तथा सरसफाइलगायतका स्थानीय पूर्वाधारसम्बन्धी कार्य पनि ती संस्थाले गर्न सक्नेछन् । यस्तै सहरी आवास तथा सम्पदा संरक्षण, नगरपालिकामा संरचना एवम् बस्तीको पुनःस्थापना, पुनर्वास, मर्मत, प्रवलीकरण, खानेपानी तथा सरसफाइलगायत सहरी पूर्वाधार र सहरी तथा गाविसका ऐतिहासिक सम्पदा तथा स्मारकको पुनःनिर्माण तथा मर्मतसम्बन्धी कार्य पनि जिम्मा दिन सकिनेछ । सरकारी काममा ढिलाइ भएको गुनासो आएका बेला सो कार्यविधिले सरकारी भवन तथा अन्य संरचना, विद्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक भवन, स्रोत केन्द्र आदिको नमूना तथा निर्माणसम्बन्धी कार्यमा पनि गैससलाई परिचालन गर्ने भएको छ । निजी आवासमा काम गर्न चाहने सङ्घसंस्थाले ‘भूकम्पबाट क्षतिग्रस्त भएका निजी आवास पुनःनिर्माण अनुदान वितरणसम्बन्धी कार्यविधि, २०७२’ बमोजिम विस्तृत विवरणसहितको परियोजना प्रस्तावसहितको परियोजना प्रस्ताव प्राधिकरणबाट स्वीकृत गराउनुपर्नेछ । रासस

पोखरेलीको चार दशक लामो सपना साकार बन्दै, सुरु भयो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण

पोखरा, २ वैशाख । पोखरेली जनताको चार दशकदेखि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सपना बुधबार विमानस्थलको शिलान्याससँगै साकार हुने भएको छ । विमानस्थल निर्माणका लागि प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको ऋण सम्झौतासँगै निकै उत्साहित बनेका पोखरेली जनतालाई शिलान्यासले थप उत्साहित बनाएको छ । विश्वमा नै परिचित पर्यटकीय नगरी पोखरामा विमानस्थल निर्माणको प्रक्रिया अघि बढ्नुले यहाँको विकासका सम्भावनालाई अघि बढाएको विमानस्थल निर्माणका एक अभियन्ता एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मी बताउँछन। पोखरेली जनताले चार दशकदेखि विमानस्थल निर्माणका लागि देखाएको अग्रसरता एवम् सङ्घर्षले विमानस्थलको शिलान्याससँगै साकार रुप लिन लागेको उनले उल्लेख गरे । “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखराको मात्र नभएर ४ नं प्रदेश र समग्र नेपालकै लागि गौरवको विषय हो,” उनले भने, “विमानस्थल निर्माणसँगै सडक यातायात लगायतका पूर्वाधार विकासलाई पनि सँगसँगै लैजानुपर्छ ।” पूर्वसांसद एवम् नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा पोखरामा लामो प्रतीक्षापछि अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास हुनुले पोखरा र प्रदेश नं ४ का जनतालाई निकै हर्षित तुल्याएको बताउँछन । संविधान प्राप्त भएपछिको ठूलो उपहारका रुपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पोखरेलीले लिएको उनको भनाइ छ । विमानस्थल बनेसँगै लाखौँ विदेशी पर्यटक पोखरा भएर लुम्बिनी, मुक्तिनाथ, पशुपतिनाथ, कैलाशनाथ आदि धार्मिकस्थलको दर्शन र अवलोकनका लागि आउने शर्माले बताए । जिविस कास्कीका पूर्वसभापति पुण्यप्रसाद पौडेल पनि विमानस्थलले पोखराका धेरै सम्भावनालाई उजागर गर्ने धारणा राख्छन। २०३४ सालदेखि जग्गा अधिकरण गरे पनि लामो समयदेखि काम अघि बढ्न नसकेकामा चिन्तित पोखरावासीले विमानस्थलको शिलान्यासको अवस्थासम्म आइपुग्नुलाई अत्यन्त हर्षका साथ हेरेको पौडेलले बताए । राष्ट्रिय जनमोर्चा गण्डकी धवलागिरि क्षेत्रीय समिति अध्यक्ष शङ्करप्रसाद बरालले अन्तर्राष्ट्रिय विमानस्थल समग्र पश्चिमाञ्चल र यस क्षेत्रको विकासका लागि अत्यन्त उपयोगी हुने धारणा राखे । “लामो समयको सङ«घर्षपछि विमानस्थल शिलान्यास भएको छ,” उनले भने, “यसलाई सबैले मिलेर समयमा नै सम्पन्न गर्न लाग्नुपर्छ ।” पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणसँगै पोखरा र यस आसपासको धेरै सम्भावना खुल्ने बताए । उनले यसले स्थानीय विकासका धेरै सम्भावना खोल्ने विश्वास व्यक्त गरे । अबका दिनमा अन्तर्राष्ट्रिय विमानस्थल सुहाउँदा पूर्वाधार निर्माण गर्ने चुनौती थपिएको बताउँदै उनले विमानस्थल निर्माणका लागि ठूलो लगानी पोखरामा भित्रनु पनि आफैंमा यस क्षेत्रका लागि महत्वपूर्ण विषय भएको उल्लेख गरे । रासस