बैंकर पन्थी बने राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओ, आईपीओबाट ५ अर्बको पुँजी पुर्याउने प्रतिबद्धता
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुन्दर पन्थी नियुक्त भएका छन् । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पन्थीलाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले मसिंर ६ गते सीईओको दरखास्त माग गर्दै सूचना सार्वजनिक गरेको थियो । सीईओ बन्नका लागि आठ जनाले आवेदन दिएका थिए । कम्पनीको पदपुर्ति समितिले चार जनाको नाम सर्टलिष्टमा राखेको थियो । पन्थीसँगै महेश रिमाल, राजुनाथ खनाल र रामदेव यादव सर्टलिष्टमा परेका थिए । अन्य प्रतिस्पर्धीलाई पछि पार्दै पन्थी सीईओ बनेका हुन् । तत्कालीन बीमा संस्थान २०८० सालको कात्तिकमा कम्पनीमा परिणत भएको थियो । त्यससँगै कम्पनी व्यवस्थापकीय नेतृत्वविहीन भएको थियो । कम्पनीको कार्यवाहक सीईओको रुपमा कम्पनीका नायब कार्यकारी अधिकृत (डीसीईओ) महेश रिमालले काम गर्दै आएका थिए । पन्थी बैंकरका रुपमा परिचित छन् । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका पन्थीसँग बैंकिङ क्षेत्रमा दुई दशक काम गरेको अनुभव छ । वि.सं २०६१ सालमा उनी बैंकिङ क्षेत्रमा प्रवेश गरेका थिए । वि.सं २०६१ सालमा नेपाल बैंकको उपप्रबन्धक पदबाट करिअर सुरु गरेका उनले सोही बैंकमा २० वर्षसम्म काम गरे । नेपाल बैंकमा उपप्रबन्धक, प्रबन्धक, वरिष्ठ प्रबन्धक हुँदै मुख्य प्रबन्धक भएर काम गरेका थिए । सो अवधिमा उनले बैंकको विभिन्न विभागमा रहेर काम गरे । अर्घाखाँचीको छत्रदेवमा जन्मिएका पन्थीले स्कुलसम्मको पढाइ गृहजिल्लामै गरे । उनले १२ कक्षासम्मको पढाइ भैरहवाबाट र स्नातकसम्मको पढाइ पोखराबाट पुरा गरे । पोखराको पीएनसी क्याम्पसबाट बीबीएसको अध्ययन पुरा गरेर उनी एमबीएस अध्ययनका लागि काठमाडौं आएका थिए । त्रिभुवन विश्वविद्यालयबाट एमबीएस पास गरेका उनीसँग वित्तीय क्षेत्रको राम्रो ज्ञान छ । नवनियुक्त सीईओ पन्थीले नयाँ चुनौती सामना गर्न बैंकिङ क्षेत्रबाट बीमामा प्रवेश गरेको धारणा राखे । बीमा संस्थान कम्पनीमा परिणत भएसँगै कम्पनीका रुपमा उभ्याउन धेरै कामहरु गर्न बाँकी रहेको बताउँदै उनले ती कामहरु आफ्नो नेतृत्वमा सम्पन्न गर्ने बताए । ‘कम्पनीको बाँकी रहेको लेखा परीक्षणको काम गर्छु, नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीका लागि तोकेको पुँजी ५ अर्बको चुक्ता पुँजी पुर्याउने मेरो पहिलो प्राथमिकता रहन्छ, त्यसका लागि आईपीओमा पनि जान सकिन्छ,’ उनले विकासन्युजसँग भने ।
‘इन्डस फूड २०२५’ मा ‘पहाडी फूड्स’ सहभागी, आगामी दिनमा व्यापार ५ गुणाले बढ्ने दावी
काठमाडौं । नेपाली फूड ब्रान्ड ‘पहाडी फूड्स’ एसियाको सबैभन्दा ठूलो फूड फेस्टिभल ‘इन्डस् फूड २०२५’ मा सहभागी भएको छ । भारतमा भएको फेस्टिभलमा यस ब्रान्डले दाल, नेपाली अचार, लप्सी, लप्सीको चकलेट, कोदो र फापरको कुकीजजस्ता नेपाली उत्पादनहरू प्रदर्शन गरेको संस्थापक प्रसान्त धिमिरेले जानकारी दिए । उनका अनुसार त्यस एक्स्पोमा विभिन्न देशबाट फूड्सका ब्रान्डहरू प्रदर्शन भएका थिए । पहाडीले नमुनाको लागि लगेको सामानहरू सुरु भएको २ घण्टामै सकिएको थियो । अवलोकनकर्ताले नेपाली फूड्सलाई धेरै मनपराएका उनी बताउँछन् । त्यस्तै, एक्स्पोबाट फर्किएपछि धेरै देशबाट माग आउन थालेको पनि उनले जानकारी दिए । आगामी दिनमा अहिले भइरहेको व्यापार भन्दा ५ गुणाले बढ्न सक्ने घिमिरेले दावी गरे । हाल पहाडी फूड्सका उत्पादनहरू भाटभटनी, सेल्सबेरी र नेपालका विभिन्न पसलहरूमा पनि उपलब्ध छन् । पहाडी फूड्सले मह, चामल, दाल र चियापत्ती गरी जम्मा चारवटा उत्पादनबाट व्यापार थालेको थियो । अहिले ७० भन्दा बढी उत्पादन यहाँ पाइन्छ । पर्वत र बागलुङको जेठो बुढो चामल र सिमी, जुम्लाको फापरको पिठो र मकैको च्याख्ला, पाल्पा, गुल्मी र अर्घाखाँचीको गेडागुडी, मकवानपुरको ताइचिन चिउरा, रसुवा, सिन्धुपाल्चोक र काभ्रेको राज्मालगायत थुप्रै जिल्लाका विशेष उत्पादन बिक्री गर्दै आएको छ ।
सुनचाँदी व्यवसायको प्रवर्द्धन र जोखिम व्यवस्थापनका लागि महासंघ र प्रभु इन्स्योरेन्सबीच सम्झौता
काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सुनचाँदी व्यवसायको प्रवर्द्धन र व्यवसायीहरूलाई आपतकालीन जोखिमबाट सुरक्षा प्रदान गर्ने उद्देश्यले हस्ताक्षर भएको हो । यस समझदारीपत्रले सुनचाँदी व्यवसायीहरूको आर्थिक सुरक्षामा सुदृढता ल्याउने र सम्भावित जोखिम व्यवस्थापनका लागि ठोस कदम चाल्ने दिशामा दुवै संस्थाबीच सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ । समझदारीअनुसार प्रभु इन्स्योरेन्सले सुनचाँदी व्यवसायीहरूका लागि विशेष बीमा योजना र सेवाहरू प्रदान गर्नेछ । यसले आगलागी, चोरी, प्राकृतिक प्रकोप लगायतका अनपेक्षित घटनाबाट हुने आर्थिक क्षतिलाई न्यून गर्न मद्दत पुर्याउनेछ । साथै, महासंघले व्यवसायीहरूबीच बीमाको महत्वबारे जनचेतना अभिवृद्धि गर्न र व्यवसायको दिगोपनालाई प्रवर्द्धन गर्न प्रभु इन्स्योरेन्ससँग सहकार्य गर्नेछ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघतर्फबाट महासचिव निरबहादुर विश्वकर्मा र महासंघका कार्यालय प्रमुख राम महर्जनका साथै प्रभु इन्स्योरेन्सको तर्फबाट बजार विभाग प्रमुखसमिर तामाङ र वित्त विभाग प्रमुख अरविन्दकुमार कर्णले समझदारी पत्रमा हस्ताक्षर गरे । समझदारीको उद्देश्य सुनचाँदी क्षेत्रको आर्थिक विकासलाई गति दिनुका साथै जोखिम व्यवस्थापनलाई व्यवस्थित बनाउनु हो । यो पहलले व्यवसायीहरूमाझ बीमाको पहुँच वृद्धि गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ । प्रभु इन्स्योरेन्स र महासंघले भविष्यमा पनि थप सेवा तथा कार्यक्रमहरूमार्फत व्यवसायीहरूको हितका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।