प्रभु इन्स्योरेन्स २३ औं वर्षमा, संस्थागत सुशासन र व्यवसाय वृद्धि दुबै पक्ष राम्राे

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड स्थापनाको २२ औं वर्ष पुरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीको २३ औं स्थापना दिवसको कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईले निर्जीबन बीमा कम्पनीहरु मध्ये प्रभु इन्स्योरेन्सको व्यवसाय औषत भएता पनि दावी भुक्तानी न्यून रहेको तथा अन्य परिसूचकहरु धेरै राम्रो रहेको बताए । उनले कम्पनीको अवस्था धेरै राम्रो रहेको बताउँदै थप सुशासित र अब्बल बन्न शुभकामना पनि दिए । अध्यक्ष चापागाईले बीमा कम्पनीको सुपरिवेक्षण तथा अनुगमनका कारण कम्पनीहरुको सुशासन राम्रो हुंदै गएको र गत आर्थिक वर्षमा निर्जीवन बीमा व्यवसायमा १७ प्रतिशत बृद्धि भएको पनि बताए । साथै बीमा कम्पनीको पूँजी बृद्धिको लागि ३/३ महिना मात्र समय थप हुन सक्ने बताउँदै त्यसपछि मर्जरमा पठाउने पनि बताए । बीमा कम्पनीमा कार्यरत कर्मचारी, अभिकर्ता तथा सर्भेयरको बृद्धिबिकासको लागि बीमा तालिम केन्द्र स्थापना गरिएको पनि उनले जानकारी दिए । कम्पनीका अध्यक्ष कुसुम लामाले बीमा समितिले जारी गरेको संस्थागत सुशासन सम्वन्धी निर्देशिका बीमा कम्पनीहरुको हितमा रहेको र समितिको सहि मार्ग निर्देशनले कम्पनीको व्यवसाय बृद्धि हुने बताउदै बीमा तालिम केन्द्रको स्थापनाले बीमा क्षेत्रमा दक्ष जनशक्ति बिकास हुने बताइन् । बीमा समितिको निर्देशन अनुसार चुक्ता पुंजी बृद्धिको लागि हकप्रद शेयर निष्काशन भईसकेको र केही दिनमै हकप्रद शेयरको बाँडफाँड पश्चात तोकिएको चुक्ता पुँजी पुग्ने बताइन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले कम्पनीले गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा व्यवसाय बृद्धि गरेको बताए । ३५ वटा शाखा तथा उपशाखाबाट सेवा प्रदान गरिरहेको कम्पनीले केहि समयभित्रै ७ वटा शाखा विस्तर गर्ने जनाएकाे छ ।  

सूर्या लाइफ इन्स्योरेन्सले ७० प्रतिशत हकप्रद निष्कासन गर्ने

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको असार ३२ गते बसेको साधारणसभाले १० बराबर ७ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । ४० प्रतिशत हकप्रद र १२ प्रतिशत बोनस सेयरपछि पुनः हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्कासनपछि कम्पनीको चुत्तापुँजी १ अर्ब ९२ करोड ४२ लाख ३० हजार रुपैयाँ पुग्ने छ । जसअनुसार सर्वसाधारणको ५७ करोड ७२ लाख ६९ हजार रुपैयाँ र संस्थापकको १ अर्ब ३४ करोड ६९ लाख रुपैयाँ पुग्ने छ । सभाले अघिल्लो आर्थिक वर्षमा गरेकोन नाफाबाट सेयरधनीलाई चुक्तापूँजीको १२ प्रतिशत १२ करोड १२ लाख रुपैयाँ बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । नियामक बीमा समितिले जीवन बीमा व्यवसाय गर्ने कम्पनीको चुक्तापूँजी न्युनतम २ अर्ब रुपैयाँ तोकेको छ ।

राष्ट्रिय बीमा कम्पनीको नाफा ५५ करोड, लगानीकर्ताले कति पाउदैछन लाभांश ?

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७४/०७५ मा ५५ करोड रुपैयाँ नाफा गरको छ । समीक्षा अवधिमा कम्पनीले ९३ करोड ८८ लाख रुपैयाँ बराबरको निर्जीवन बीमा शुल्क आर्जन गरेको छ । यस्तै लगानी तथा कर्जाबाट ७४ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेपछि नाफा बढेको कम्पनीले जनाएको छ । गत वर्ष सबैभन्दा बढी बोनस सेयर दिएको कम्पनीको नाफा बढेकाले यो वर्ष पनि लगानीकर्ताले राम्रो प्रतिफल पाउने भएका छन् । गत आर्थिक वर्षमा लगानीकर्तालाई कम्पनीले १५ प्रतिशत बोनस सेयर दिएको छ । गत वर्ष १४ करोड २२ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेको थियो । कम्पनी ५ औं वर्षमा प्रवेश गरेको अवसरमा सार्वजनिक गरिएको विवरणमा बीमा व्यवसायमा आम्दानी र नाफा दुबै बढेको छ । गत असारसम्म कम्पनीको वाणिज्य र विकास बैंकमा गरी ३ अर्ब ३५ करोड रुपैयाँ मुद्धति निक्षेपमा लगानी रहेको जानकारी दिएको छ । कम्पनीको नाफा वर्षेनी बढ्दै गएको छ । कम्पनीले नविल बैंकको ७७ लाख ७८ हजार ५१६ कित्ता, नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ३२ लाख २६ हजार १७९ र नेपाल पुर्नबीमा कम्पनी लिमिटेडको १९ लाख ३२ हजार ५२२ कित्ता सेयर खरिद गरेको छ । अन्य बैंक तथा वित्तीय संस्थाको सेयरमा लगानी गरिरहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीमा सरकारको ४१, कर्मचारी संचय कोषको १९.३७, नेपाल बैंकको ९.६० र सर्वसाधारणको ३० प्रतिशत स्वामित्व छ ।